डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन #बौद्ध दर्शन
बौद्ध दर्शन जीवनलाई मध्यमार्गी बनाउने सर्वोत्कृष्ट ज्ञान हो, खण्ड -१ को निरन्तरता
समावेस
भएका विषयहरु:
सनातन तथा
वैदिक दर्शन
र ऐतिहासिक पृष्ठभूमि;
अध्यात्म,
धर्म र
संस्कृतिमा भिन्न; बौद्ध दर्शनको पृष्ठभूमि; बौद्ध दर्शन किन
र कसरी
सर्वमान्य तथा
सर्वोत्कृष्ट दर्शन; बौद्ध दर्शनको सन्दर्भमा पाश्चात्य मत; बौद्ध दर्शन र सामाजिक उत्थान; सनातन वैदिक दर्शनको पुनःरोत्थान; बौद्ध
दर्शनका मूल आधार स्तम्भहरु; चार
आर्य सत्य,
अष्टांगीक मार्ग…
अष्टांगीक मार्ग
वर्तमान समयमा बौद्ध दर्शनलाई विश्वभरीनै मानवीय दर्शन, नैतिक दर्शन, सामाजिक दर्शन, मध्यमार्गी दर्शन, व्यवहारिक दर्शन तथा वास्तविक दर्शनको मान्यता प्रदान गर्दै आइएको छ र यसको प्रभाव तथा विस्तार विश्वभर निरन्तर बढिरहेको छ । बौद्ध दर्शनको मूलसार मानिसको जीवनलाई हर प्रकारले सहज र सरल बनाउनु हो, यसकालागि भगवान बुद्धले सम्यक तथा मध्यमार्गी उपायहरुको अनुशरण गर्न सुझाउनु भएको छ जसलाई बौद्ध दर्शनमा उल्लेखित अष्टांगीक मार्गले विस्तृतमा व्याख्या गरेको छ । अष्टांगीक मार्गको मूलज्ञान नैतिकवान तथा अनुशासित रुपमा सम्यक अर्थात मध्यमार्गी(न अति न कम, विचमा) भएर जीवनमा अगाडि बढ भन्ने हो ।
(१)सम्यक दृष्टि अर्थात सही हेराइ (Right View)
जीवनमा वास्तविकता र व्यवहारीक पक्षलाई जोड दिन सुझाउदै भगवान बुद्धले भन्नुभएको छ, “आफ्नो जीवन सहज र सरल बनाउन जीवनको दृष्टि अर्थात हेराइ तथा बुझाई सम्यक अर्थात सन्तुलित अर्थात मध्यमार्गी बनाउनु पर्छ ।” मानिसको दृष्टि, हेराइ तथा बुझाइ सम्यक तथा सही नहुनु नै उसको जीवनमा दुःख ल्याउने पहिलो कारण हो । मैले मेरो अगाडिका विषय तथा घटनाहरुलाई ती जस्ता छन् त्यस्तै रुपमा तथा सही प्रकारले हेर्नु तथा बुझ्नु पर्दछ र ती विषय तथा घटनाका सन्दर्भमा मेरो मानसिकता तथा भावना सकारात्मक बनाउनु नै सम्यक दृष्टि हो । यसकालागि सर्वप्रथम, भगवान बुद्धले सुझाउनु भए अनुसार अध्यात्म दर्शन तथा जीवन दर्शनका ज्ञान तथा विज्ञानहरु– नित्य, सत्य, धर्मलाई म त्यही स्वरुपमा जस्ताको तस्तै देखौं तथा बुझौं र अनित्य, अनात्म, असत्य, अधर्मलाई पनि त्यही स्वरुपमा जस्ताको तस्तै देखौं तथा बुझौं र आफ्नोलािग सही र गलतको पहिचान गरौं । तव मात्र मेरो दृष्टि सम्यक बन्न सक्छ र मेरो जीवन सहज तथा सरल हुदै जान्छ । मानिसको शरीर, मन, भावना अनित्य, अनात्म, असत्य छ, जो जन्मन्छ त्यो अवस्य मर्छ, निश्चित समयावधिपछि शरीर नासिएर तथा मरेर जान्छ, त्यसैले शरीर, मन, भावनामा उत्पन्न हुने अनेक प्रकारका तृष्णा(इच्छा, कामना, वासना, आकांक्षा)हरुको पछि नलागौं, मानिसका अन्त्यहिन तृष्णाहरु कहिल्यै(जन्म–जन्मान्तरसम्म पनि) पूरा हुदैनन्, एकपछि अर्को आइरहन्छन् निरन्तर र त्यसको प्राप्तिका लागि मनलाई भड्काइ रहन्छन् तसर्थ ती सबै तृष्णाहरु प्रति सम्यक दृष्टि राख्दै आधारभूत आवश्यकताका आधारमा(निडबेस नट वीलबेस) जीवनयापन गरौं, आफैंतिर फर्किएर आफ्नो आन्तरीक जीवनको विकास गारौं ।
अध्यात्म दर्शन तथा जीवन दर्शनको सन्दर्भमा अरुले जे भनिरहेका छन् ती सबै अन्धधुन्ध मानेर तीनको पछाडि नलागौं । यसो गर्दा जीवनमा अनेक प्रकारका समस्या, चुनौती तथा दुःखहरु आउछन् । यस्ता विषयहरु उपर सम्यक दृष्टि राखेर आफ्नो वुद्धि, विवेक, तर्कको प्रयोग गरौं । आफूलाई स्पष्ट नभएका तथा चित्त नबुझेका विषय तथा घटनाहरुबारे सम्यक तथा सन्तुलित किसिमले प्रतिक्रिया तथा अन्तरक्रिया गरौं र सबै कुरा गहनताकासाथ देखौं तथा बुझौं र सही लाग्यो भने आफ्नो जीवनमा व्यवहारीक रुपमा अनुशरण गरौं, सही लागेन तथा अन्धविश्वास हो, मनगणन्ते हो, त्यसमा कुनै तार्किकता तथा वैज्ञानिकता छैन भन्ने लाग्यो भने त्यसलाई त्यहीकोत्यहीं छोडौं र जीवनमा विलकुल अनुशरण नगरौं अर्थात त्यसलाई व्यवहारीकतामा नल्याउँ । यसो गर्दा जीवनमा असहजता, जटिलता, समस्या, चुनौती तथा दुःखहरु बढ्दैनन् र जीवन सहज, सरल र सफल हुदै जान्छ । यस अतिरिक्त आफू वास्तविक मानव बनौं, वास्ताविकतामा तथा व्यवहारीतामा विश्वास गरौं र आफ्नो जीवनलाई पनि त्यस्तै बनाउँ, सबैलाई आफू समान देखौं, अरुका समस्या तथा दुःख बुझौं र क मगर्ने प्रयास गरौं । अरुले आफुप्रति गरेका सकारात्मक भाव तथा आफूलाई लगाएका गुणहरु देखौं र सबैप्रति कृतज्ञाता तथा धन्यवादले भरीयौं । सबैप्रति प्रेम, सदभाव, मानवीयताको भावले भरीयौं र नैतिकवान तथा अनुशासित भएर निरन्तर सर्वकल्याणको काम गरौं । यहीनै हो वास्तविक तथा व्यवहारिक अध्यात्म दर्शन तथा जीवन दर्शन र यहीनै हो आध्यात्मिक तथा धार्मिक हुनु भनेको पनि । तसर्थ ज्ञान तथा दर्शनप्रतिको दृष्टिकोण सम्यक र व्यवहारीक बनाउँ । इश्वर, स्वर्ग, नर्क, मोक्ष पराभौतिक विषयहरु हुन्, यसबारे आममानिस कसैले देखेका, जानेका, बुझेका, अनुभव तथा अनुभूति गरेका छैनन् । अरुले भनेका भरमा यस्ता विषयहरुको तार्किकता र वैज्ञानिकता विचार नगरी अन्धधुन्ध रुपमा अन्धविश्वास नगरौं; यसले जीवनमा दुःख मात्र ल्याउछ । यस्ता विषयहरुको सन्दर्भमा आफ्नो दृष्टिकोण, हेराइ तथा बुझाई सम्यक राखौं, न पुरै अविश्वास गर्नु न पुरै विश्वास तथा अनुशरण; आफनो वुद्धि, विवेक, तर्क लगाउँ र जीवनलाई सदा सहज तथा सरल बनाउँ । सम्यक दृष्टि अर्थात सही हेराईको मुलसार जसको जीवनको दृष्टि, हेराई तथा बुझाईहरु सम्यक तथा सही हुन्छन् उसैको जीवन विस्तारै सहज, सरल र सफल हुदै जान्छ भन्ने हो ।
(२)सम्यक संकल्प अर्थात सही आशय (Right Intention)
मानिसहरुमा सम्यक संकल्प अर्थात सही आशय नहुनु जीवनमा दुःख आउने अर्को प्रमुख कारण हो । जव मेरो दृष्टि, हेराइ तथा बुझाई सम्यक तथा सही हुन्छ तव मेरो जीवनको संकल्प अर्थात आशय तथा नियत पनि सम्यक हुन थाल्छ । तव म जीवनमा के गर्ने, कहिले गर्ने, कसरी गर्ने आदि संकल्प तथा लक्ष्यहरु लिन थाल्छु, संकल्प तथा लक्ष्यहरु पूरा गर्न तत्परता, प्रेरणा, जाँगर, दृढता, क्षमता बढ्दै जान्छ, म विस्तारै सक्षम हुदै जान्छु र जीवन सहज, सरल र सफल हुदैजान्छ । मेरो दृष्टि सम्यक भएपछि मेरो जीवनको संकल्प तथा लक्ष्यहरु नित्य, धर्म, सत्यको मार्गचित्र अनुसार निर्माण हुदै जान्छन् । स्वतःस्फूर्त रुपमा म जीवनमा यसो–यसो गर्छु, यसरी–यसरी जीवन जिउँछु, अरुलाई यो–यो सिकाउछु, यसरी–यसरी र यति–यति सेवा तथा दान प्रदान गर्छु, सर्वकल्याणको काम गर्छु, संधै नैतिकवान, अनुशासित र उत्तरदायि भएर नित्य, सत्य, धर्म, मानवीयताको मार्गमा हिड्छु भन्ने सकारात्मक तथा जीवनलाई प्रगतितिर लाने संकल्प, लक्ष्य तथा आशयहरु निर्माण हुदै जान्छन् र जीवन प्रगतिउन्मुख हुदै जान्छ । मेरो संकल्प सम्यक भएपछि आफ्नो जीवनकोलागि आवश्यक, मूल्यवान तथा महत्वपूर्ण विषयहरुको पहिचान तथा तीनको व्यवहारिक अनुशरण ममा बढ्दै जान्छ र जीवनकोलागि आवश्यक, मूल्यवान तथा महत्वपूर्ण नरहेका विषयहरु आफैं छुट्दै तथा प्राथमिकताबाट हट्दै जान्छन् । मेरो सोच, विचार, आचरण, व्यवहार, कर्ममा सकारात्मक आशय स्वतःस्फुर्त आउन थाल्छ । सम्यक संकल्प अर्थात सही आशयको मुलसार जसको जीवनको संकल्प, आशय, लक्ष्य, प्राथमिकताहरु सम्यक तथा सही हुन्छन् उसैको जीवन विस्तारै सहज, सरल र सफल हुदै जान्छ भन्ने हो ।
(३)सम्यक वाक अर्थात सही वाणी (Right Speech)
मानिसहरुमा सम्यक वाक अर्थात सही वाणीको अभाव हुनु जीवनमा दुःख आउने अर्को प्रमुख कारण हो । जव दृष्टि र संकल्प सम्यक हुन्छन् तव मेरो वाक अर्थात वाणी तथा शव्द पनि सम्यक हुन्छन् । सम्यक वाकका सन्दर्भमा भगवान बुद्धले महत्वपूर्ण तीन सुत्रहरु सुझाउनु भएको छ– अनावश्यक, असान्दर्भिक र अर्थहीन तथा अनुपयोगी वाणीनै मानिसको जीवनको प्रमुख कारण हो तसर्थ-
(१)जहाँ आवश्यक छ त्यहाँ मात्र बोल, जहाँ आवश्यक छैन त्यहाँ बोल्दैनबोल, मौन बस । अरुका विषयमा अनावश्यक रुपमा आफूलाई नघुसाउ, तटस्थ बस ।
(२)जे कुरा आवश्यक छ त्यो कुरा मात्र बोल, अनावश्यक कुरा बोल्दैनबोल, मौन बस । आग्लोको प्रसंगमा गाग्रोको प्रसंग नघुसाउ अर्थात घटना तथा विषयसंग अप्रासंगीक हुने कुरा नगर ।
(३)जे बोल्छौ अर्थपूर्ण तथा काम लाग्ने विषय बोल, अर्थहिन कुरा बोल्दैनबोल, मौन बस । जे बोल्छौ त्यो सार्थक र उपयोगी होस अफू र अरुकालागि ।
यी तीन अवस्थाका अतिरिक्त मानिसले क्रोधमा बोलेर; नसोचीकन बोलेर; गाली, बेइज्यति तथा अश्लिल शव्दहरु बोलेर; अरुको निन्दा गरेर; कुरा काटेर; चुगली लगाएर; अभद्र बोलेर पनि आफ्ना असम्यक वाक तथा वाणीकाकारण जीवनमा अनेक प्रकारका दुःखहरु आफैं निम्त्याउछ । आधूनिक मनोविज्ञानमा समय–समयमा गरिएका थुप्रै खोजमूलक अध्ययनहरुले देखाए अनुसार, धेरैजसो काम, कुरा तथा सम्वन्धहरु मानिसको अनावश्यक, असान्दर्भिक र अर्थहीन तथा अनुपयोगी वाक अर्थात वाणीहरुकाकारण बिग्रिएका तथ्यांकहरुले देखाएका छन् । यीनै अध्ययनहरुले नै मानिसको जीवनमा सबैभन्दा बढि दुःख तथा पिडाहरु यीनै ब्रिग्रीएका सम्वन्धहरुका कारण आउनेगरेको तथ्यांकहरुमा स्पष्ट रुपमा देखिएका छन् । हामीले माथि उल्लेखित तीन सुत्रहरुमा गंभिरतापूर्वक ध्यान दियौं भने हाम्रो वाक अर्थात वाणी सम्यक हुन्छ र आफ्नो वाणीकाकारण जीवनमा आइपर्ने दुःखहरुबाट निवृति मिल्छ ।
(४)सम्यक कर्मान्त अर्थात सही कर्म (Right Action)
मानिसले आफ्नो जीवनमा सम्यक कर्मान्त अर्थात सही कर्म गरेको छैन भने उसको जीवनबाट दुःखहरु कहिल्यै समाप्त हुदैनन् । कर्मका प्रकार, नियम र सिद्धान्तहरु जानेर कर्म गर्न सके मात्र कर्म सम्यक अर्थात सही बन्न सक्छ । यसबारे आवश्यक ज्ञान भएन भने मानिस आफूले नगरीनहुने अत्यावश्यक तथा कर्तव्यमुलक कर्महरु तथा आफ्ना उत्तरदायित्वहरु पूरा गनैतिर लाग्दैन, बरु उल्टो अनावश्यक, नगरेपनि हुने तथा गर्नै नहुने निषेधित कर्म गर्नतिर लाग्न सक्छ, आफ्नो अमूल्य समय र जीवन बरबाद गर्न सक्छ र यस्ता कर्महरुले जीवनमा दुःख ल्याउछन् ।
(१)कर्मका प्रकार– कर्म(उपलव्धिमूलक केही काम गर्नु), अकर्म(केही काम नगर्र्नु तथा निश्कृय हुनु), बिकर्र्म(गर्नै नहुने निषेधित काम गर्नु) ।
(२)कर्मको नियम– मैले जे दिएं त्यही पाउँछु, यो कर्मको प्राकृतिक नियम हो, कोदो छरेर तोरी उम्रिदैन ।
(३)सिद्धान्त– मैले गरेका सबै प्रकारका कर्म, अकर्म, बिकर्मका फलहरु पाकेपछि यसका परिणामहरु जीवनमा ढिलोचाँढो हरहालमा मैले भोग्नु नै पर्छ चाहे यही जन्ममा चाहे आगामी जन्महरुमा ।
मेरा दृष्टि, संकल्प तथा वाणीहरु सम्यक भएका छन् भने मेरो जीवनमा स्वतः सम्यक कर्म आउन थाल्छ विस्तारै र म आफू तथा अरुकालागि लाभ हुने सकारात्मक कर्महरु गर्न थाल्छु अन्यथा म आलश्यले भरिएको हुन्छु र कुनै प्रकारका सकारात्मक उपलव्धिमूलक कर्महरु गर्दिन; परिवार, समाज, धर्म–संस्कृति तथा राज्यले निषेधित गरेका गर्न नहुने तथा अरुको भलाई नगर्ने नकारात्मक कर्म गर्छु र मेरो यो जन्म लगायत जन्म–जन्मका कर्मका श्रृंखलाहरु बिगार्छु; आफ्ना दुःखहरु आफैं बढाउछु र जीवनभर संधै दुःखको भुमरीमा रुमल्लिरहन्छु । अरुलाई नोक्सान पुर्याउने उद्देश्यले तथा अज्ञानताका कारण असत्य बोल्नु, हिंसा गर्नु, चोरी गर्नु, धोका दिनु, संग्रह गर्नु, कर्तव्य पूरा नगर्नु, विषयभोगको पछाडि आशक्त हुनु आदि गतिविधहरु बिकर्म अन्तर्गत पर्दछन जसले जीवनमा दुःख निम्त्याउछन् । अकर्म तथा बिकर्मबाट टाढा रहेर सबैको हित हुने उपलव्धिमूलक सकारात्मक कर्म तथा सतकर्म गर्नु सम्यक कर्मान्त अर्थात सही कर्म हो ।
(५)सम्यक आजिविका अर्थात सही धन (Right Livelihood)
मानिसले आफ्नो जीवनमा सम्यक आजिविका नअपनाउनु अर्थात सही प्रकारले नैतिकवान तथा अनुशासित भएर धन नकमाउनु उसको जीवनमा दुःख ल्याउने अर्को प्रमुख कारण हो । समाजमा प्रचलित एउटा वाक्य छ, ‘बेइमानी गरेर कमाएको धन दुईवटा डा.मा खर्च हुन्छ, कि डाक्टरले लान्छ कि डाकुले लान्छ ।’ यो वाक्य व्यवहारिक रुपमा सत्य सावित भएको पनि देख्न सकिन्छ किनकी बेइमानी गरेर कमाएको धनमा मानिसको अपनत्व, स्वामित्व, प्रेम, लगाव तथा जुगाड भाव हुदैन, बेपरवाह किसिमले खर्च गर्छ खानपान, मोजमस्तीमा र लापरवाही किसिमले जीवन जीउछ जसकाकारण स्वास्थ्य, सम्वन्ध, मानप्रतिष्ठा, शान्ति खलबलिन्छ र मानिसको जीवनमा अनेक प्रकारका दुःखहरु आइपर्छन । साथै धन धेरै भएका मानिसहरुप्रति चोर, डाकाहरुको आँखा परिरहेको हुन्छ र मौका मिलाएर चोर, डाकाहरुले धनाड्यहरुको धन लुट्छन् तथा चोरी गर्दछन् । बेइमानी गरेर कमाएको धन डाक्टरकहाँ तथा डाकुकहाँ नपुगुन्जेल आफैंले उक्त धनको सुरक्षा तथा रखबारी गरेर बसिराख्नु पर्छ संधै चिन्तित र असुरक्षित भएर र यस्तो अवस्थाले पनि मानिसको जीवनमा दुःख ल्याउछ । तसर्थ आफ्नो दैनिक सम्यक आजिविकाका लागि आफू लगायत अरु कसैलाई कुनै पनि प्रकारको हानि, नोक्सानी नपुर्याइकन, दुःख नदिइकन इमान्दार भएर धन कमाउनु पर्दछ । धेरै धन कमाउने होड तथा आशक्तिमा आफ्नो स्वास्थ्य, सम्वन्ध, इमान्दारिता, नैतिकता, अनुशासन, शान्ति, ज्ञान, ध्यानलाई नकारात्मक प्रभाव पुर्याउनु हुदैन, यसले जीवनमा दुःख ल्याउछ । यी सबै पक्षहरुमा पर्याप्त विचार पुर्याए र प्राथमिकतामा राखेर आफूप्रति, परिवार, समाज, राज्य, मानवीयता, प्रकृति तथा जगतप्रति इमान्दार र उत्तरदायि भएर सही प्रकारले शुद्ध धन कमाएर आफ्नो कमाइको केही प्रतिशत सेवा, दान, पुण्यमा खर्चेर आफ्नो आजिविका सम्यक बनाउनु पर्दछ तवमात्र जीवनबाट दुःख निवारण सम्भव हुन्छ । मेरो आजिविका सम्यक छ कि छैन भनेर म आफैंले मेरा हरेक गतिविधिहरुलाई सुक्ष्म रुपले नियालेर पत्ता लगाउन सक्छु । सर्वप्रथम, म मेरो थालको खाना हेरौं, त्यो कसरी मेरो थालसम्म आइपुगेको छ, कतै कसैको दुःख, पिडा, आँशु त म खाइरहेको छैन ? त्यसपछि क्रमशः मेरो पहिरन, मेरा सुख, सुविधाहरु, मेरो कोठा, मेरो घर आदि यी सबै कुराहरु कसरी–कसरी कुन–कुन प्रक्रियाबाट मेरो स्वामित्व तथा भोगसम्म आइपुगेका छन् यस विषयमा चिन्तन, मनन् गरौं र आफ्नो आजिविका सम्यक छैन भने बनाउने कामलाई प्राथमिकता दिउँ र सदाकालागि दुःखबाट निवृत्त बनौं ।
(६)सम्यक व्यायाम अर्थात सही परिश्रम (Right Effort)
हरेक मानिससंग प्राकृतिक रुपमा शारीरिक, मानसिक, भावनात्मक र चेतनात्मक बल, शक्ति तथा क्षमता उपलव्ध छ । आफ्नो बल, शक्ति तथा क्षमताको सम्यक उपयोग तथा सदुपयोग नगरेर नकारात्मक क्षेत्रमा आफ्नो बल, शक्ति तथा क्षमताको दुरुपयोग गर्नु तथा आफ्नो बल, शक्ति तथा क्षमताको परिश्रम आफू र अरुलाई हानी, नोक्सानी हुनसक्ने क्षेत्रहरुमा खर्च गर्नु जीवनमा दुःख निम्त्याउने प्रमुख कारण हो । म भित्र रहेका मेरा हरप्रकारका बल, ज्ञान, वुद्धि, विवेक, तर्क, प्रतिभा, क्षमता, सिर्जनशीलताहरुको सही उपयोग गरौं, आफू र अरुलाई लाभ प्रदान गर्ने प्रकारका कामहरुमा आफ्नो परिश्रम खर्च गरौं तथा आफ्नो व्यायाम तथा परिश्रमलाई सम्यक बनाउँ जसले मेरो जीवनमा सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्द प्रदान गरोस् । तृष्णा जनित कामहरुलाई भगवान बुद्धले मार अर्थात शैतान भन्नु भएको छ । तृष्णा(अन्त्यहिन इच्छा) जनित कामहरुले शुरुमा त सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्द प्रदान गरेको जस्तो लाग्छ तर यी अनित्य अर्थात क्षणिक हुन्छन् र पछि यस्ता कामहरुले जीवनमा सम्हालिनसक्नुका दुःखहरु ल्याउछन् र जीवन नै तहसनहस गर्दिन सक्छन् । तसर्थ आफ्नो जीवनशैलीमा सम्यक व्यायाम अर्थात सही परिश्रमका नियमहरुलाई ध्यानपूर्वक चिन्तन्, मनन् गरौं, आफूलाई सही लागेका नियमहरु मात्र व्यवहारिक रुपमा अनुशरण गरौं र जीवनका दुःखहरुबाट निवृत्त बनौं ।
(७)सम्यक स्मृत्ति अर्थात सही विचार (Right Mindfulness)
मानिसका स्मृति अर्थात विचारहरु सबैभन्दा शक्तिशाली र प्रभावकारी हुन्छन् र यीनीहरु नै मानिसको जीवनमा ठूला–ठूला सकारात्मक तथा नकारात्मक परिवर्तनहरु ल्याउन जिम्मेदार हुन्छन् । सम्यक अर्थात सही तथा सकारात्मक विचारका प्रभाव र तीनका परिणामहरुले जीवनलाई सकारात्मक मोड दिन्छन् भने नकारात्मक विचारका प्रभाव र तीनका परिणामहरुले जीवनलाई नकारात्मक मोड दिन्छन् र जीवनमा विविध प्रकारका दुःखहरु ल्याउछन् । विचार शक्ति अत्यन्तै प्रभावशाली हुन्छ र विचारबाट नै मानिसको जीवन बन्दछ, विचार नै उसको आचरण, व्यवहार, कर्म, व्यक्तित्व र भाग्यको मूल श्रोत हो किनकी यी सबै कुराहरु प्रकृयामा आउनुअघि सबैभन्दा पहिला मानिसको मस्तिष्क तथा मनमा यसबारे विचार बन्दछन् तथा तयार हुन्छ र तीनै विचारहरु क्रमशः उसको बोली, व्यवहार, आचरण, कर्म, व्यक्तित्व र भाग्य बन्दछन् । तसर्थ सरल, सहज र सफल जीवनका लागि सम्यक स्मृति अर्थात सही विचार हुनु अति आवश्यक हुन्छ । भगवान बुद्धले भन्नु भएको छ, “त्यस्ता स्मृति तथा विचारहरुलाई मात्र आफ्नो मनमा राख जो सुखदायि छन्, जसले जीवनमा सकारात्मक परिणामहरु ल्याउछन् र त्यस्ता स्मृति तथा विचारहरुलाई पूर्णरुपमा भूल तथा त्याग जो दुःखदायि छन् र जसले जीवनमा नकारात्मक परिणामहरु ल्याउछन् । नराम्रा तथा जीवनमा दुःख ल्याउने प्रकारका स्मृति तथा विचारहरुलाई आफूभित्र तथा आफ्नो मन, विचार, भाव, वुद्धिमा आउनै नदेउ र त्यस्ता विचारहरुलाई भुल तथा आफ्नो मन, मस्तिष्क, हृदयबाट जान देउ(लेट गो), त्याग गर । कस्ता स्मृति तथा विचारहरुले तिमीलाई दुःख दिन्छन् जान र आफ्नो स्मृतिलाई सम्यक बनाउ ।” बौद्ध दर्शनमा कस्ता स्मृति तथा विचारहरुलाई मनमा ल्याउने तथा आउन दिने र कस्ता स्मृतिहरु त्याग्ने भन्ने सन्दर्भमा बुदागत रुपमा बताइएको छ–
(१)मैले यो गरें, त्यो गरें, यति दान गरें, उति पुण्य गरें, यति श्रम गरें, मैले कोहीमाथि यस्तो उपकार गरें भन्ने कर्ता तथा अहंकार भावका साथै त्यसको बापतमा मैले कुनै प्रकारको लाभ पाउनुपर्छ, जस पाउनु पर्छ, मानसम्मान पाउनुपर्छ भन्ने विचार मन तथा भावनामा कहिल्यै आउन नदेउ, बरु यो काम गर्ने अवसर पाएकोमा कृतज्ञ बन अरु र परिस्थितिप्रति र त्यस्ता प्रकारका भावहरुबाट टाढा बस तथा तिनलाई विलकुल मन र भावनाबाट निकाल, भूल तथा त्याग ।
(२)मैले जीवनमा यो गर्न सकिन, त्यो गर्न सकिन, अरुले यति–यति प्रगति गरे, सफलता आर्जन गरे भनेर अरुको प्रगतिमा रिस गर्ने, आफूलाई अरुसंग तुलना गर्दै आफूप्रति हिनभावना नराख र मनमा यस्ता विचारहरु नल्याउ, बरु जीवनमा के गर्न सकिन्छ, कसरी गर्न सकिन्छ त्यसप्रति तत्परता तथा जागरुकता देखाउ, अन्तर प्रेरणा जगाउ र व्यावहारमा अनुशरण गरेर परिणाम ल्याएर देखाउ ।
(३)मलाई अर्कोले यसो भन्यो, उसो भन्यो, मेरो नोक्सान गराइदियो, मेरो सम्वन्ध खराव गरिदियो, मलाई यो दिएन, त्यो दिएन, मद्धत गरेन, सम्मान गरेन जस्ता राग, द्वेष, गुनासा, घृणा, वदलाको भाव, असन्तुष्टी ल्याउने भावहरु आफ्नो विचारमा आउन नदेउ तथा त्यस्ता विचारहरु त्याग गरेर तथा भुलेर आफनो स्मृतिलाई सम्यक अर्थात सही तथा मध्यमार्गी बनाउ ।
(४)जसले मलाई सहयोग तथा उपकार गर्यो, आवश्यक परेको समयमा मद्धत गरेर मेरो जीवनलाई सजह बनायो, मलाई प्रेम, सम्मान गर्छ उसलाई कहिल्यै नुभुल, यो तिम्रालागि ऋण समान हो, तिमीले पनि आफ्नो जीवनमा यस्ता राम्रा कार्यहरु व्यवहारिक रुपमा अनुशरण गरेर अरुमाथि यस्तै प्रकारको उपकार गरेर मानवीयताको ऋण चुक्ता गर्नुपर्छ किनकी ऋण कहिल्यै पनि तिर्न बाँकी राख्नु हुदैन, यसले जीवनमा दुःख ल्याउछ चाहे मानवीय होस या धन सापटी होस् । मानवीय ऋण चुक्ता गर्दा यसले हाम्रो मन तथा भावनामा सुख, खुशी, शान्ति, आनन्दको संचार गर्छ र जीवनलाई सुखमय बनाउछ ।
आफ्नो विचारमा पर्याप्त ध्यान पुर्याउँ
मानिसको स्मृति अर्थात विचारहरु दुई प्रकारले उत्पन्न हुन्छन्– (१)ज्ञान इन्द्रियहरुबाट प्राप्त सूचनाबाट, र (२)अवचेतन तथा अचेतन मनमा संचित रहेका विगत तथा भविश्यका स्मृति तथा कल्पनाहरुबाट । अधिकांश(९५ प्रतिशत भन्दा बढि) मानिसहरु विगतका स्मृति र भविश्यका कल्पनाहरुमा डुबिरहेका हुन्छन् हरपल र वर्तमानका गतिविधिहरुमा कमै मानिसहरु सचेत तथा साक्षी(माइन्डफूल)भएका हुन्छन् । कुनै काम गरिरहदा समेत मानिसहरुको मन तथा विचारको होस तथा साक्षी उक्त काममा अर्थात वर्तमानमा नभएर विगत तथा भविश्यका स्मृति तथा कल्पनाहरुमा दौडिरहेको हुन्छ । आधूनिक मनोविज्ञानका खोजहरुले उजागर गरे अनुसार, मानिसका विचारहरु प्राय विगतका नकारात्मक घटना तथा विषयका स्मृतिहरुमा र भविश्यका असुरक्षाका डर तथा भयहरुमा चलिरहेका हुन्छन् जसको प्रत्यक्ष नकारात्मक प्रभाव उसको शरीर, मन, भावना, वुद्धि, विवेक, तर्क, सामथ्र्य, क्षमता, प्रतिभा, शिर्जनसिलता, सकारात्म गुण, स्वास्थ्य, सम्वन्ध, सफलता, सुख, खुशी, शान्ति, आनन्दमा पर्दछ र उसको जीवनमा विविध प्रकारका दुःखहरु आइपर्छन किनकी मानिसको मस्तिष्क तथा मन वास्तविक रुपमा निरन्तर वर्तमानमा चल्ने गर्दछ, यसले तत्काल चलिरहेका विचारहरु विगतका हुन् या भविश्यका हुन भनेर चिन्दैन, मस्तिस्कमा विगत र भविश्य भन्ने खण्ड नै हुदैन, मन तथा मतिष्कमा वर्तमान केवल खण्ड मात्र छ । त्यसैले मन तथा मस्तिष्कले तत्काल चलिरहेका सबै प्रकारका विचारहरु वर्तमानमा चलिरहेको मान्दछन् तथा बुझ्दछ र शरीरलाई त्यही अनुसारका रसायनहरु उत्पन्न गर्न तथा त्यही अनुसारका कार्यहरु गर्न निर्देशन तथा आदेश दिन्छ । नकारात्मक विचारहरुले मानिसको मस्तिष्क तथा शरीरमा शरीरलाई हानी गर्ने नकारात्मक रसायनहरु(स्ट्रेस हर्मोन्स्– कोर्टीशोल, एडरनलिन आदि) उत्पन्न गर्दछन् जसले मानिसमा विभिन्न प्रकारका शारीरिक तथा मानसिक रोगहरु उत्पन्न गर्दछन् । यसको विपरित हामी विगत र भविश्य विचारहरुलाई छोडेर वर्तमानमा जे भइरहेको छ त्यसमा जागरुक तथा साक्षी भएर होसपूर्वक ती पलहरुमा सुख, खुशी, शान्ति, आनन्दको महसुस गर्छौं भने यस्ता सकारात्मक विचारहरुले मानिसको मस्तिष्क तथा शरीरमा शरीरलाई लाभ गर्ने सकारात्मक रसायनहरु(ह्याप्पि हर्मोन्स्– एन्डोर्फीन, डोपामिन, मेलाटोनिन, सेरोटोनिन आदि) उत्पन्न गर्दछन् र यीनले मानिसको जीवनमा सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्द ल्याउछन् ।
विचारका तरंगहरुको प्रभाव
मेरा विचारका तरंगहरुले मलाई त प्रभाव पार्छन नै मेरा वरीपरि रहेका अरु मानिस, जीव, वनस्पति र पदार्थहरुलाई समेत पाँच फीटसम्म नजानिदो किसिमले अदृश्य रुपमा प्रत्यक्ष प्रभाव पार्दछन् र दुरी बढ्दै जाँदा विचारको तोरा(इन्टेनसीटी)को प्रभाव कम हुदै तथा अप्रत्यक्ष हुदै जान्छ । मेरा विचारका तरंगहरुले अरुलाई प्रभाव पारे जत्तिकै मात्रामा अरुका विचारका तरंगहरुको प्रभाव ममा पनि त्यही प्रकारले पर्दछ । आफूले धेरैजसो समय व्यतीत गर्ने स्थान तथा माहोलका अरु मानिसका विचारहरु सकारात्मक छन् भने यसले म लगायत सबैको जीवनमा सकारात्मक प्रभाव र परिणामहरु ल्याउछन् र यसको विपरीत भए नकारात्मक प्रभाव र परिणामहरु तथा दुःख ल्याउछन् । ब्रम्हाण्डको आकर्षणको नियम(ल अफ अट्रयाक्सन)को ‘समले समलाई आकर्षित गर्छ’ भन्ने सिद्धान्त अनुसार मेरो मनबाट जस्ता प्रकारका विचारका तरंगहरु वाहिर ब्रम्हाण्डमा गैरहेका छन् अरुको मनबाट निस्केका त्यस्तै प्रकारका विचारका तरंगहरु मेरो विचारका तरंगहरुसंग आकर्षित भएर मेरा विचाहरुसंग एकाकार हुन्छन् र मेरो जीवनमा ती विचारहरुको प्रभाव बढ्दै जान्छ । मैले सकारात्मक विचार गरेको छु भने मेरो वरीपरिको तथा ब्रम्हाण्डको वातावरणबाट सकारात्मक प्रकारकै विचारका तरंगहरु मतिर आकर्षित भएर मेरो विचारमा थप सकारात्मक बल प्रदान गर्दछन् र मेरो जीवनमा सकारात्मक प्रभाव तथा परिणामहरु ल्याउछन् तथा मेरो जीवन सफलता उन्मुख गराउछन् । यसको विपरीत मैले नकारात्मक विचार गरेकोछु भने मेरो जीवनमा त्यही अनुसारका नकारात्मक प्रभाव तथा परिणामहरु ल्याउछन् र मेरो जीवनलाई असफलता तथा वरवादी उन्मुख गराउछन् । तसर्थ आफ्ना स्मृति अर्थात विचारहरुलाई हरहालमा सम्यक अर्थात सही तथा सकारात्मक बनाउँ । लोकप्रिय दार्शनिक स्वर्गिय हिम्मत सिन्हा भन्नुहुन्छ, "Low
Thoughts means Lowering the Standard of Life अर्थात निकृष्ट विचार गर्नु तथा राख्नु भनेको आफ्नो जीवनको उच्चता, सम्भावना, सफलतालाई गिराउनु हो ।" जसका विचारहरु निकृष्ट तथा न्यून प्रकारका हुन्छन् उसको जीवनका हरेक पक्षहरु निकृष्ट हुन्छन् तथा हुदै जान्छन्, जीवनमा केहीपनि राम्रो काम तथा सफलता हासिल गर्न सक्दैन । जसको दृष्टि, संकल्प, वाणी, कर्म, आजिविका, परिश्रम सम्यक अर्थात सही हुुन्छ उसको विचार स्वतः सही हुन्छ तथा हुदैजान्छ र उसको जीवन पनि सरल, सहज र सफल बन्छ ।
(८)सम्यक समाधि अर्थात सही एकाग्रता (Right Concentration)
बौद्ध दर्शन अनुसार समाधिको अर्थ एकाग्रता हो । निरन्तर मेरो मन, विचार, भाव सकारात्मक विषयहरु (राम्रा विचार, गुरु तथा आराध्यको छवि तथा मन्त्रहरु, आफ्नो शरीरका वाहिय तथा आन्तरीक अंग तथा अंगका गतिविधिहरु, आफनो श्वास–प्रश्वास आदि)मा एकाग्र होस्, यही नै हो सम्यक समाधि अर्थात सही एकाग्रता तथा वास्तविक ध्यान साधना हो । बौद्ध दर्शनमा दुइ प्रकारका समाधि बताइएको छ– (१)स्थिर समाधि, र (२)चल समाधि । ध्यान साधनाको गहिराइमा विचार शुन्य हुनु, कैबल्य प्राप्त हुनु, परमानन्दको अनुभूति हुनु, अलौकिक तथा दिव्य अवस्था घटित हुनु स्थिर समाधि हो । आफूले ध्यान साधनाको माध्यमबाट जीवनमा हासिल गरेको ज्ञान, महाज्ञान तथा प्रज्ञाको माध्यमबाट लोक कल्याणको काम गर्नु; अरुको भलाइ हुने सर्बकल्णका कामहरु गरेर अरुको जीवन सहज बनाउनु चल समाधि हो । अरुको भलाइ हुने सर्बकल्णका कर्महरुले जीवनमा निस्काम तथा अकर्ता भाव जन्माउछन् र जीवनमा अकारण सुख, खुशी, समृद्धि, शान्ति, आनन्दको अवस्था घटित गराउछन् । चल समाधि नै सम्यक समाधि अर्थात सही एकाग्रता हो ।
आफूले कैबल्य तथा परमानन्द हासिल गरेपछि शरीरमा रहुन्जेल भगवान बुद्धले हजारौं सर्वकल्याणका कार्यहरु गर्नुभयो, जीवनभरि अरुको भलाइकालागि दौडधुप गर्नुभयो र सबैलाई यही ज्ञान बाडेर शरीर छोडेपनि आफ्नो नाम र महान काम छोडेर जानुभयो र मानवीयताको आकाशमा सदा अमर रहनुभयो । हजारौं वर्षपछिसम्म पनि वहाँले दिएर जानुभएको दर्शन, आदर्श, ज्ञान, विज्ञान, महाज्ञान, प्रज्ञा उत्तिकै सान्दर्भिक हुदै आइरहेको छ । विश्व शान्तिका अग्रदूत, महान आध्यात्मिक अभियन्ता, एशियाका तारा, युग पुरुष, अवतार पुरुष भगवान बुद्धका दर्शनहरुलाई जीवनमा अनुशरण गरौं र अष्टांगीक मार्गको अनुशरण गर्दै जीवनलाई नै पूर्णरुपमा सम्यक बनाउँ तथा सही मार्गमा लगाएर जीवनका सबै प्रकारका दुःखहरुबाट निवृत्त बनौं । ॐ नमो बुद्धाय ।। बुद्धं शरणं गच्छामि ! धम्मं शरणं गच्छामि !! संघं शरणं गच्छामि !!!
अन्त्यमा
यदि जीवनमा सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वाणी, सम्यक कर्मान्त, सम्यक आजिविका, सम्यक व्यायाम, सम्यक स्मृति, सम्यक समाधि छ भने वास्तविक स्वर्ग पनि त्यहीं छ किनकी स्वर्ग अन्त कतै अर्को भूगोलमा छैन, मरेर कोही फर्केर आएको छैन स्वर्गको बयान गर्न, स्वर्ग हाम्रो आफ्नै सम्यक अर्थात मध्यमार्गी जीवनशैलीमा छ जो हामी आफैंले कमाउनु पर्छ । सम्यक जीवनशैली अपनाउन सक्षम गराउने हरप्रकारका सक्षमताहरु हामी भित्रै निहित छन् । जीवनमा स्वस्थ रहन सक्ने; खुशी रहन सक्ने; उर्जावान रहन र सफल बन्न सक्ने; प्रेमल रहन र सम्वन्धहरु सुमधूर बनाउन सक्ने; ज्ञानवान, वुद्धिमान, विवेकवान, तर्कवान रहन सक्ने; अन्तरज्ञान तथा ब्रम्ह ज्ञान हाासिल गरेर निर्वाण(इटरनल लिवरेसन)मा उपलव्ध हुन सक्ने सबै समान्यदेखि अद्वीतिय दिव्य क्षमताहरु हामीभित्रै हाम्रो सुक्ष्म शरीरमा सुसुप्त अवस्थामा रहेका छन् । हरेक मानिसले आ-आफ्नो जीवनमा यी क्षमताहरुको जागरण गर्नु आवश्यक हुन्छ र ध्यान योग साधनाका विधिहरुबाट हामी भित्रै सुसुप्त अवस्थामा रहेका यी क्षमताहरु जागृत गरेर सदाकालागि जीवनमा सुख, खुशी, समृद्धि, शान्ति, आनन्दको प्राप्ति र सबै प्रकारका दुःखहरुबाट निवृति पाउन सकिन्छ । bsirjana@gmail.com
छिट्टै,
बुद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि, संघं शरणं गच्छामिको शाव्दिक अर्थ
No comments:
Post a Comment