'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Friday, 9 May 2025

म चेतना हुँ, मेरो चेतनाको तह जस्तो छ मेरो जीवन त्यस्तै हुन्छ, खण्ड -१

                                                  डा. सिर्जना भण्डारी

                                                  #अध्यात्म_दर्शन #जीवन_दर्शन   



विषय प्रवेश

ब्रम्हाण्डको अन्तिम सत्य के हो अर्थात ब्रम्हाण्ड के चिजले बनेको छ भन्ने सन्दर्भमा २१ औं शताव्दीसम्म आइपुग्दा अध्यात्म विज्ञान र आधूनिक भौतिक विज्ञानको बुझाइ तथा निष्कर्ष लगभग एउटै कित्तामा आइपुगेको छ । दुवै विज्ञानले ब्रम्हाण्ड चेतनाले बनेको छ अर्थात ब्रम्हाण्डमा भएका सबै प्रजातिका प्राणी, वनस्पति तथा पदार्थहरुको मूल कच्चा पदार्थ चेतना हो जो सबै प्राणी, वनस्पति तथा पदार्थहरुमा समान रुपले व्याप्त छ र यही चेतनाबाटनै उर्जा र पदार्थ(एटम) बन्दछ भन्ने अन्तिम निष्कर्ष निकालेका छन् । ब्रम्हाण्डमा रहेका प्राणी, वनस्पति तथा पदार्थहरु आ–आफ्नो प्राकृतिक स्वाभाव अनुसार फरक–फरक प्रकारले जिवित तथा चेतनशील रहेका हुन्छन् । अध्यात्म विज्ञान र भौतिक विज्ञान दुवैले वनस्पति र पदार्थहरुको चेतनामा भन्दा ब्रम्हाण्डका चेतनशील प्राणी र प्राणीहरु मध्य पनि मानिसको चेतनाको तह तथा स्तरकाबारेमा ज्यादातर खोज, अनुसन्धान, अध्ययन तथा व्याख्या गरेका छन् । मानिसको मानसिक(मेन्टल) तथा भावनात्मक(इमोसनल) अवस्थाको अध्ययन गर्ने आधूनिक विज्ञानको नयाँ शाखा मनोविज्ञानले मानिसको मन, भाव र चेतनाका अवस्थाहरुको गहिरो खोज, अनुसन्धान तथा अध्ययन गरेको छ र अध्यात्म विज्ञानले दशौं हजार वर्षअघि उजागर गरेका मानसिक तथा भावनात्मक विषयका निष्कर्षहरुलाई नै परिमार्जन गर्दै पुनःपरिभाषित गर्दै आएको छ । तर मानिसको मन, भाव, चेतना र यीनको उर्जाक्तिको सम्भावनाको सन्दर्भमा अध्यात्म विज्ञानले खोजेर उजागर गरेजति उचाई तथा गहिराइसम्म आधूनिक विज्ञान, आधूनिक चिकित्सा विज्ञान, आधूनिक मनोचिकित्सा विज्ञान तथा आधूनिक मनोविज्ञान पुग्न सकेको छैन किनकी यी विज्ञानहरुले मन, भाव र चेतनाको न्युन तह तथा तह घटेको अवस्थाहरुको विश्लेषण ज्यादा गर्दै आएका छन् खासगरि मानिसहरुको मानसिक, भावनात्मक,चेतनात्मक तथा व्यवहारिक समस्याहरुको समाधान गर्ने उद्देश्यले । आधूनिक मनोविज्ञान मानिसको चेतनाको तह घटेको कारण उसको मानसिक तथा भावनात्मक असन्तुलन तथा समस्याहरुको समाधानका गतिविधिहरुमा आफ्नो अध्ययनलाई बढि केन्द्रित गर्दै आएको छ भने अध्यात्म विज्ञानले मानिसको चेतनाको उच्चतम सम्भावना तथा चेतनाको श्रेष्ठतम उचाइ(सुपर कन्स्योस)को गहन प्रयोगात्मक तथा व्यवहारिक अभ्यासमा आफ्नो अध्ययनलाई केन्द्रित गर्दै आएको छ । 


मानिसको चेतनाको तह मापन बुझ्न सहज होस भन्ने उद्देश्यले आधूनिक विज्ञानले मानिसको चेतनाको तहलाई ० देखि १००० अंकको विचमा प्रस्तुत गरेर बुझाउने प्रयास गर्दै आएको छ । चेतनाको शुन्य अवस्था मृत्यु हो र १००० पूर्ण प्रकाशित अर्थात मस्तिष्कको पुर्ण उपयोग भएको अवस्था मानिएको छ । अध्यात्म विज्ञानका अनुसार, चेतनाको तह १००० को हाराहारीमा भएका अर्थात बुद्धत्व हासिल गरेका महापुरुष(महान आत्मा अर्थात चेतना)हरुलाई ध्यान तथा समाधिको गहिराईमा ब्रम्हाण्डको अन्तिम शाश्वत सत्य वैश्विक अर्थात ब्राम्ही अर्थात ब्रम्ह चेतना अर्थात सुपर कन्स्योसको ज्ञान हुन्छ र शरीरमा रहदै आफू ब्रम्ह अर्थात वैश्विक चेतनाको महासागरमा योगस्थ हुन्छन्, मोक्ष प्राप्त गर्छन अर्थात निर्वाणमा उपलब्ध हुन्छन् र जन्म–मृत्युको चक्रबाट वाहिर निस्कन्छन् भने चेतनाको तह न्युन भएका मानिसहरु बारबार जन्म–मृत्युको चक्रमा घुमिरहन्छ र जन्म, मृत्यु, जरा, व्याधिको दुःख खेपिरहन्छन् ।


मनिसमा रहने चेतना तथा उर्जाको तह 

आधूनिक विज्ञानले मानिसको चेतना तथा उर्जा(समग्रमा ह्युम्यान इनर्जी फिल्ड भनिन्छ) उसको मस्तिष्क(ब्रेन) र हृदय(हार्ट)बाट उत्सर्जित हुन्छ भन्दछ । अध्यात्म विज्ञानले मानिसको सुक्ष्म शरीरको मेरुदण्डमा उर्जाका मूल शक्तिकेन्द्र प्रमुख सात चक्रहरु(मूलाधार चक्र, स्वाधिष्ठान चक्र, मणिपूर चक्र, अनाहद चक्र, विशुद्धि चक्र, आज्ञा चक्र, सहश्रार चक्र) छन् जो ब्रम्हाण्डीय उर्जाशक्तिको मूलआधार तथा मूलकेन्द्र हुन् र यीनै सात चक्रहरुबाट मानिसको चेतना तथा उर्जा उत्सर्जित हुन्छ जसलाई प्रमात्रा विज्ञान(क्वान्टम साइन्स)ले इलेक्ट्रो म्याग्नेटीक फिल्ड भन्दछ । विज्ञानले चेतना तथा उर्जा उत्सर्जन गर्ने मानेका दुई प्रमुख अंग मस्तिष्क र हृदय यिनै सात चक्र अन्तर्गत पर्दछन् । 'मस्तिष्क' आज्ञा चक्र(आधूनिक विज्ञानका अनुसार टाउकोमा रहेको पिटियोटरी ग्ल्याण्ड) र सहश्रार चक्र(आधूनिक विज्ञानका अनुसार टाउकोमा रहेको पिनियल ग्ल्याण्ड) अन्तर्गत पर्दछ र 'हृदय' अनाहद चक्र अन्तर्गत पर्दछ(आधूनिक विज्ञानका अनुसार छातिमा रहेको थाइमस ग्ल्याण्ड)।


‘चेतना(कन्स्योस)’ र ‘उर्जा(इनर्जी)’को शाव्दीक अर्थ फरक भएपनि आधूनिक विज्ञानले यी दुई शव्दलाई पर्यायवाची(सिनोनिम्स) शव्दका रुपमा प्रयोग गर्दै आएको छ तर अध्यात्मले चेतना शव्दलाई प्रयोगमा ल्याएको छ । हरेक मानिसमा चेतना तथा उर्जाको तह, स्तर, प्रवाह, आवृत्ति तथा तरंगहरुको मात्रा फरक–फरक प्रकारले रहेको हुन्छ । मानिसको चेतना तथा उर्जाको तह जति छ(न्यून, मध्यम, उच्च) त्यसकै आधारमा उसले आफूलाई आफू तथा संसारसमक्ष व्यक्त गर्दछ । मानिसमा रहेको चेतना तथा उर्जाको तहलाई दुई प्रकारमा बिभाजन गरिएको छ– (१)उच्च तहको चेतना(हायर फ्रीक्वेन्सी अफ कन्स्योसनेस), र (२)न्युन तहको चेतना(लोअर फ्रिक्वेन्सी अफ कन्स्योसनेस) । मानिसको चेतना तथा उर्जाको तह ० देखि १००० सम्ममा जति उच्च तहमा हुन्छ उ त्यतिनै सुखी, खुशी, शान्त र आनन्दमा प्रतिष्ठित रहन्छ र चेतना तथा उर्जाको तह जति तलतिर झर्छ उ त्यतिनै दुःखी, बेखुशी, अशान्त र गुनासोले भरिएको असन्तुष्ट, तनावग्रस्त, चिन्ताग्रस्त, अवसादग्रस्त रहन्छ । तसर्थ व्यक्तिलाई खराव नठानौं, उसको चेतना तथा उर्जाको तह न्यून भएको कारण उसमा शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक तथा व्यवहारगत समस्याहरु देखिएका हुन्, अध्यात्म विज्ञान र मनोविज्ञानका वैज्ञानिकतामा आधारीत विधि तथा प्रक्रियाहरुको अनुशरण गरेर उसको चेतना तथा उर्जाको तह बढाउन सहयोग गरौं र आफ्नो मानवीय धर्म निभाउँ, सबै अस्वस्थता तथा समस्याहरु आफैं समाधान हुदै जान्छन् । 


मानिसको चेतना तथा उर्जाको तहलाई बुझ्न तथा बुझाउन सहज गराउने उद्देश्यले ० देखि १००० अंक सम्मको मान्यता राखेर मानिसका मानसिक, भावनात्म तथा चेतनात्मक समस्याहरु पत्ता लगाउन र तीनको सही ढंगले उपचार गर्न मोटामोटी रुपमा चेतना तथा उर्जाको तह १८ अवस्थामा विभाजन गरिएको छ । चेतना तथा उर्जाको तहको आधारमा कुन तहमा रहदा मानिसको शरीर, मन, भावना र चेतनामा कस्ता परिवर्तन तथा अवस्थाहरु देखिन्छन्, उसको दैनिक जीवनयापन तथा उसका नियमित व्यवहारहरुमा कस्ता परिवर्तन तथा बदलावहरु आउछन् भन्ने सन्दर्भमा आधूनिक विज्ञान तथा मनोविज्ञानले गहिरो अध्ययन गरेको छ । यी अध्ययनहरुका अनुसार, मानिसले आन्तरीक तथा सांसारीक जीवन जिउने क्रममा तत्कालीन अवस्था तथा परिस्थिति अनुसार मानिसको चेतना तथा उर्जाको तह तथा स्तरमा उतार–चढाउ आइरहन्छ र यही उतार–चढाउको अवस्था अनुसारनै उसको जीवनका हरेक शारीरिक, मानसिक, भावनात्मक र चेतनात्मक गतिविधिहरुका साथै उसको व्यवहार सम्वन्ध, अध्ययन, पेशा, व्यवसाय आदि सबैको अवस्थाहरु तय हुने गर्दछन् । समय–समयमा आइपर्ने आकस्मीक अवस्था तथा परिस्थितिका कारण जो–कोही मानिस चेतना तथा उर्जाका विभिन्न तहहरुबाट गुज्रीन सक्छ किनकी सबैको जीवनमा उतार–चढाव, सुख–दुःख, नाफा–नोक्सान, सफलता–असफलता, राम्रो–नराम्रो अवस्था तथा परिस्थितीहरु आउछन नै किनकी जीवन भनेकै हाम्रा यस्तै–यस्तै अनुभवहरुको संगालो हो । जीवनमा कुनै न कुनै समयमा हरेक मानिसलाई चेतना तथा उर्जाको न्युनतम तहबाट गुज्रीनु पर्ने अवस्था आउछ तथा आउन सक्छ । तसर्थ यस्तो अवस्थाबाट वाहिर आउन आफू र अरुलाई सक्दो मद्धत गर्नुपर्दछ । समयमै उचित समाधान तथा व्यवस्थापनको उपाय अपनाउन सकियो भने सबै प्रकारका चुनौती, समस्या तथा अस्वस्थताहरुबाट वाहिर निस्कन तथा निकाल्न सकिन्छ । यी सबै अवस्थाहरु मानिसको मानसिक, भावनात्मक तथा चेतनात्मक अवस्थाहरु हुन् जसको प्रत्यक्ष प्रभाव उसको भौतिक शरीर र भौतिक शरीरले गर्ने हरेक गतिविधिहरुमा प्रत्यक्ष रुपमा परिरहेको हन्छ । आधूनिक विज्ञानले बुभाउने प्रयास गर्दै आएको मानिसको चेतना तथा उर्जाको तह ० देखि १००० अंकको विचमा पर्ने १८ अवस्थाहरु निन्नानुसार रहेका छन्– 


(१)मृत्यु(डेथ)– चेतना तथा उर्जाको ० अवस्थामा मृत्यु हो, यस अवस्थाबारे केही व्याख्या गरिरहनु आवश्यक छैन, स्वयं स्पष्ट छ । चेतना तथा उर्जाको तह मृत अर्थात ० अवस्था भन्दामाथि रहेको छ तथा मानिस जिवित तथा चेतनशील छ भने उसको चेतना तथा उर्जाको तहमा उसको मानसिक तथा भावनात्मक अवस्था अनुसार उतार–चढाव आइरहन्छ जुन सामान्य विषय हो । चेतना तथा उर्जाको तह कहिले विशेष कारण तथा विशेष परिस्थितिबस न्युन तहमा पुग्छ भने चेतना तथा उर्जाको उचित व्यवस्थापन गर्न सक्यो भने फेरी सामान्य अवस्थामा पनि आउन सक्छ र मानिस समान्य बन्न सक्छ । सामान्यतया चेतना तथा उर्जाका १८ अवस्थाहरु मध्य १० औं अवस्था साहस(करेज) तथा सो भन्दा अगाडिका अवस्थाहरु- (११)निष्पक्षता(न्युट्रालीटी), (१२)तत्परता(विलिंगनेस), (१३)स्वीकार(एसेप्टेसन), (१४)विवेक(विजडम), (१५)प्रेम(लभ), (१६)खुशी(जोय), (१७)परम शान्ति(कम्प्लीट पिश), (१८)बुद्धत्व प्राप्ति तथा प्रकाशित(इनलाइटमेन्ट) लाई सामान्य तथा उच्च अवस्था मानिन्छ । चेतना तथा उर्जाको अवस्था ० अर्थात मृत भन्दा माथिको तहमा छ भने चेतना तथा उर्जाको व्यवस्थापनको अवस्था तथा आवश्यकता अनुसार उचित तथा प्रभावकारी उपाय अपनाएर मानिसको खस्किएको मानसिकता तथा चेतना तथा उर्जाको न्युन तहलाई माथि उठाएर उसलाई फेरी सामान्य अवस्थामा फर्काएर नयाँ जीवन प्रदान गर्न सकिन्छ । 


(२)हिनातावोध(सेम)– दैनिक जीवयापन गर्ने क्रममा मानिसले विभिन्न कारणले शरम तथा लज्जाको अवस्था सामना गर्नुपर्ने हुनसक्छ र यस्तो परिस्थितिमा उभित्र हिनतावोधको भाव आउछ । यस्तो अवस्थामा चेतना तथा उर्जाको तह सबैभन्दा कम २० को हाराहारीमा झर्न सक्छ । चेतना तथा उर्जाको तह २० को हाराहारीमा झरेको अवस्थामा मानिस अत्यन्तै तनाव, चिन्ता, अवसाद, विक्षिप्तताको समस्याबाट ग्रसित भैरहेको हुन्छ र मानसिक तथा भावनात्मक बिमारीको शिकार भएको हुन्छ । यस्तो अवस्थामा मानिसभित्रका सबै प्रकारका सकारात्मक, आशावादी, आस्थावान हुने राम्रा क्षमताहरु मर्दछन् र मानिस आफू र अरुलाई नोक्सान गर्न सक्ने हिंसक बन्न पनि सक्छ । बाल्यकाल तथा किशोर अवस्थामा शरम तथा लज्जाको अवस्थामा हुर्केका मानिसहरु अरुप्रति कठोर तथा निर्दयी हुन्छन्, उनीहरुमा सहयोग, दया, करुणा, सेवा, मैत्री, प्रेम, श्रद्धाको भाव पटक्कै हुदैन । आफ्नै जीवनप्रति, परिवार तथा समाजप्रति गुनासोले भरिन्छन् । उनीहरुले आफ्ना सबै प्रकारका असन्तोष, गुनासो, समस्या तथा असफलताहरुको दोष अरुलाई लगाउछन् र आफूलाई निर्दोष सावित गर्ने प्रयास गर्दछन् । उदाहरणले बुझौं, घरको पुरुष सदस्य मादक पदार्थ तथा लागू पदार्थ सेवन गर्छ, जिविकाको काम केही पनि गर्दैन, परिवारप्रतिको उत्तरदायित्व निभाउदैन, उल्टै घरमा मारपिट गर्छ, चोरी गर्छ र भन्छ म यस्तो भएको तिमीहरुको कारणले हो, मैले श्रीमती तथा छोराछोरी कुटेको उनीहरुकै कारणले हो भनेर आफूलाई नै निर्दोष, असल साबित गर्न खोज्छ सबैमाझ र परिवारका सदस्यहरु पनि अलमलमा पर्छन र सोचमग्न हुन्छन विचराहरु कतै हामी नै पो दोषी हौं कि यस्तो हुनुको पछाडि भनेर । यस्ता घटनाहरु हाम्रो समाजमा आमरुपमा देखिन्छन् । यस्ता मानिसले आफू लगायत अरुलाई पनि नकारात्मक किसिमले नोक्सान पुर्याउछन् । मानिसको नकारात्मक हुर्काइ, पारिवारीक, सामाजिक तथा अन्य वाहिरी वातावरण नकारात्मक प्रकारको छ तथा जीवनका उतार–चढावहरुमा धेरै नकारात्मक अवस्था र यसका दुःखद परिणामहरु खेपेको तथा भोगेको छ भने सानैदेखि उसले त्यही सिक्ने हुनाले पछि गएर त्यसैलाई आफ्नो जिविका तथा जीवनशैली बनाउछ र संधै चेतना तथा उर्जाको यही तहमा जीवन जिउछ ।  चेतना तथा उर्जा व्यवस्थापनसंग सम्वन्धित अध्यात्म विज्ञान र मनोविज्ञानका वैज्ञानिकतामा आधारीत विधि तथा प्रक्रियाहरुको अनुशरण गरेर यस्तो अवस्थाका मानिसहरुको चेतना तथा उर्जाको तह बढाउन र उनीहरुलाई सामान्य जीवनमा फर्काउन सकिन्छ ।


(३)अपराधवोध(गिल्ट)– मानिस अपराधवोध तथा प्रायश्चित भावमा रहेको अवस्थामा उसको चेतना तथा उर्जाको तह ३० को हाराहारीमा हुन्छ । यो अवस्थामा रहेका मानिसहरु अरुलाई दुःख दिने, सजाय दिने, बदला लिने, घृणा गर्ने र आफू भन्दा कमजोरहरुलाई हरप्रकारले सताउने आतंककारी मनोभावले ग्रस्त हुन्छन् । ठूला अपराधी, आतंककारी, सिरयल किलर, हत्याराहरुको चेतना तथा उर्जाको तह अति न्यून अवस्था ३० मा रहेका हुन्छ । हरपल अपराधवोधको अवस्थामा रहने हुदा यिनीहरुको मनलाई खुशी तथा शान्ति मिल्दैन र खुशी तथा शान्ति प्राप्त गर्न मादक पदार्थ, लागू पदार्थ तथा अन्य प्रकारका नशाको सेवन गर्ने र हरपल नशामा धुत भैहन्छन् र नशाको बेहोसिमा आपराधीक तथा नराम्रा कामहरु गर्दछन् कहिले आफैं उद्धत भएर त कहिले अर्काको प्रभाव, दवाव तथा लोभमा परेर । यस्ता मानिसले आफूलाई पनि र अरुलाई पनि खतरनाक किसिमले नोक्सान पुर्याउछन् । मानिसको नकारात्मक हुर्काइ, पारिवारीक, सामाजिक तथा अन्य वाहिरी वातावरण नकारात्मक प्रकारको छ तथा जीवनका उतार–चढावहरुमा धेरै नकारात्मक अवस्था र यसका दुःखद परिणामहरु भोगेको तथा खेपेको छ भने सानैदेखि उसले त्यही सिक्ने हुनाले पछि गएर त्यसैलाई आफ्नो जिविका तथा जीवनशैली बनाउछ । प्राय भेदभाव, झगडा, मारपिट, हिंसा, हत्याको वातावरणमा हुर्केका मानिसहरुमा दया, करुणा तथा प्रेमभावको कमी हुन्छ र अर्काको समस्या तथा दुःख बुझ्दैनन् । प्राय यस्तै मानिसहरु अपराधी, आतंककारी, हत्यारा तथा सिरयल किलर बन्ने गर्दछन् । चेतना तथा उर्जा व्यवस्थापनसंग सम्वन्धित अध्यात्म विज्ञान र मनोविज्ञानका वैज्ञानिकतामा आधारीत विधि तथा प्रक्रियाहरुको अनुशरण गरेर यस्तो अवस्थाका मानिसहरुको चेतना तथा उर्जाको तह बढाउन र उनीहरुलाई सामान्य जीवनमा फर्काउन सकिन्छ ।


(४)निराशावोध(एप्याथि)– अधिकांश समय उदाष रहने तथा जीवनप्रति निराश रहने मानिसको चेतना तथा उर्जाको तह ५० को हाराहारीमा हुन्छ । यस्तो मानिस आफू निराश हुन्छ, अरुलाई नोक्सान पुर्याउने प्रवृत्तिको त हुदैन तर आफू निष्कृय बस्छ, आलस्यमा बस्छ, जीवनमा केही काम गर्ने तथा नयाँ कामको शुरुआत गर्ने जाँगर, आत्मप्रेरणा, आत्मविश्वास तथा हिम्मत हुदैन । मैले गरेर केही हुदैन, म केही गर्न सक्दिन, म कमजोर छु, असक्षम छु, मलाई कसैले सहयोग गर्दैन, मलाई कसैले मन पराउदैन भन्ने निराशाको भावमा उसको मानसिकता रहेको हुन्छ । यस्तो मानिसको आत्मविश्वास, आत्मशक्ति, आत्मसम्मान नराम्रोसंग खस्किएको तथा टुटेको हुन्छ । उसको आत्माले नै हिम्मत हारीसकेको हुन्छ त्यसैले आफूलाई माथि उठाउने प्रयास नै गर्दैन, उसले केही काम गरेर केही सकारात्मक परिवर्तन आउछ उसको जीवनमा भन्ने आश नै उसमा पूर्णतः मरिसकेको हुन्छ । घरबारबिहीन, भिखारी तथा मगन्तेहरु, सानोतिनो चोरी गर्ने चोरहरु यो अवस्थाबाट गुज्रिरहेका हुन्छन् । यो अवस्थामा रहेको मानिसले अरुलाई नोक्सान पुर्याउदैनन् तर आफैंलाई नोक्सान पुर्याउन सक्छन्, उसमा आत्महत्या गर्ने सोच समेत आउन सक्छ । कतिले त चेतना तथा उर्जाको यो तहमा रहेको अवस्थामा आत्महत्या पनि गर्दछन् र जीवनलाई पूर्णबिराम लगाउछन् । सानैदेखिको हुर्काइमा परिवार ताथ समाजमा लिंगभेद, जातिभेद, वर्गभेद, भेदभाव, गाली, बेइज्जति, तुलना, होच्याउने, गिराउने, तुच्छ ठान्ने, मूल्य नदिने वातावरणमा हुर्केका मानिसहरुमा प्राय यो अवस्था देखिन्छ । अरुले उसलाई जसरी थिचेका तथा दबाएका छन्, जस्तो पहिचान दिएका छन् विस्तारै उसले आफूलाई त्यस्तै ठान्न थाल्छ र जीवनमा आशावादी भएर म यो काम गर्न सक्छु, आफ्नो गोडामा उभिन सक्छु भनेर अगाडि बढ्ने हिम्मत गर्न नै सक्दैन । चेतना तथा उर्जा व्यवस्थापनसंग सम्वन्धित अध्यात्म विज्ञान र मनोविज्ञानका वैज्ञानिकतामा आधारीत विधि तथा प्रक्रियाहरुको अनुशरण गरेर यस्तो अवस्थाका मानिसहरुको चेतना तथा उर्जाको तह बढाउन र उनीहरुलाई सामान्य जीवनमा फर्काउन सकिन्छ ।


(५)भावनात्मक चोट(इमोसनल हर्ट)– भावनात्मक चोट लागेको अवस्थामा मानिसको चेतना तथा उर्जाको तह ७५ को हाराहारीमा हुन्छ । आफन्तजनको मृत्यु, दुर्घटना, सम्वन्ध विच्छेद, धोका, ठूलो नोक्सान, नसोचेको नकारात्मक प्रकारको आकस्मीक घटना तथा विषयहरुको झटकाले मानिसलाई यो अवस्थामा पुर्याउछ । यस्तो अवस्थामा मानिस रुने, चिच्याउने, असहाय ठान्ने तथा बेहोस हुनेसम्म पनि हुन्छ । भावनात्मक चोट गहिरोसंग लागेको छ र यो अवस्था लामो समयसम्म रहिरह्यो भने मानिस तनाव, चिन्ता, अवसाद, विक्षिप्त, मानसिक असन्तुनको अवस्थासम्म पनि पुग्नसक्छ । यस्तो अवस्थामा मानिसमा नबोल्ने, एक्लै बस्ने, आफैंबाट र परिवारबाट टुट्ने, जीवनप्रति निराशा छाउने, आफन्तबाट, कामबाट दुर भाग्ने जस्ता बानी व्यवहार देखिन्छन् । धान्न नसक्ने कर्जा, धान्न नसक्ने घाटा तथा नोक्सान बेहोरेका व्यक्तिहरुमा पनि यस्तै प्रकारको भावनात्मक चोट लागेको हुन्छ । यस्तो अवस्थामा मानिसले आफू र आफ्ना नजिककाहरुलाई नोक्सान पुर्याउन सक्छ । यस्तो अवस्थामा जीवनप्रति निराशा छाउने, जोश जागर मर्ने, हिम्मत हराउने कारणले कसैले म छोराछोरी, श्रीमती तथा परिवार पाल्न सक्दिन भनेर छोराछोरी अरुलाई दान दिने, आजिवन नोकर बसाइदिने, अनाथ आश्रममा तथा लावारीस छोड्दीने, आफु घरपरिवारको जिम्मदारी छोडेर भाग्ने, छोड्न तथा भाग्न नसके आफू मर्ने तथा एकसाथ आफू र परिवारलाई पनि मोहवस मर्ने तथा मार्ने गर्दछन् । चेतना तथा उर्जा व्यवस्थापनसंग सम्वन्धित अध्यात्म विज्ञान र मनोविज्ञानका वैज्ञानिकतामा आधारीत विधि तथा प्रक्रियाहरुको अनुशरण गरेर यस्तो अवस्थाका मानिसहरुको चेतना तथा उर्जाको तह बढाउन र उनीहरुलाई सामान्य जीवनमा फर्काउन सकिन्छ ।


(६)डरको अवस्था(फियर)– मानसिकतामा डर, भय तथा असुरक्षाको अवस्था आयो भने मानिसको चेतना तथा उर्जाको तह १०० को हाराहारीमा हुन्छ । यो अवस्थामा मानिसले आफूमाथि समस्या, चुनौती, असुरक्षा, खतरा देख्छ र यहीकारण संधै तनाव र चिन्तामा डुबिरहन्छ । परिवार, समाज तथा वाहिरका परिस्थितिहरुसंग डराउछ, संसार उसलाई डरलाग्दो लाग्न थाल्छ । आफ्नो नाम लुकाएर तथा आफू लुकेर अरुलाई, घटना तथा परिस्थितिहरुलाई नराम्रो भन्ने तथा लेख्ने, गाली-बेइज्यती गर्ने, आफ्ना असन्तुष्टिहरु पोख्ने, भडास निकाल्ने मानिस चेतना तथा उर्जाको यो तहबाट गुज्रिरहेको हुन्छ । शरम तथा लज्जा र डर तथा असुरक्षामा त्यति फरक छैन, यी दुवै अवस्थामा मानिसको मानसिकता उस्तै–उस्तै हुन्छ तर डर तथा असुरक्षामा शरम तथा लज्जाको अवस्थामा भन्दा चेतना तथा उर्जाको तह अलिक उच्च हुने हुनाले यस्तो मानिसले आफू तथा अरुलाई त्यति ठूलो हानि नोक्सानी चाहिं पुर्याउदैन तर आफू, आफ्नो जीवन, अरु र अरुका व्यावहारहरुप्रति गुनासो तथा नकारात्मक भावले भरिएको हुन्छ । आफू र आफ्नो जीवनलाई सकारात्मक बनाउन सक्दैन, म केही गर्न सक्दिन, जीवनमा जोखिम लिन सक्दैन, हरकामकालागि असक्षम छु भन्ने डरको मानसिकताले सताइरहन्छ । यो अवस्थामा रहेको मानिस उचित संगत, जीवनप्रतिको आशा तथा सम्भावना र उसको परिस्थितिसंग मिल्दो प्रेरणा पायो भने यो अवस्थाबाट वाहिर निस्कन तथा माथि उठ्न सक्छ र उसको चेतना तथा उर्जाको तह माथि उठ् सक्छ र उ सामान्य जीवनमा फर्कन सक्छ ।  उसलाई अझ सामान्य बनाउन चेतना तथा उर्जा व्यवस्थापनसंग सम्वन्धित अध्यात्म विज्ञान र मनोविज्ञानका वैज्ञानिकतामा आधारीत विधि तथा प्रक्रियाहरुको अनुशरण गरेर यस्तो अवस्थाका मानिसहरुको चेतना तथा उर्जाको तह बढाउन र उनीहरुलाई सामान्य जीवनमा फर्काउन सकिन्छ ।  


(७)इच्छा(डिजाएर)– स्वाभाविक रुपमा जीवन जिउने क्रममा हरेक मानिसमा धन, सफलता, प्रसिद्धि कमाउने तथा हासिल गर्ने धेरै प्रकारका इच्छा, कामना, आकांक्षा तथा अपेक्षाहरु हुने गर्दछन् र ती सबै संधै पूरा नहुन सक्छन् । आफूले इच्छ्याएको कुरा पूरा नहुदा आफूलाई अरु समक्ष कमजोर तथा कमसल रहेको ठान्छ, लज्जावोधको मासिकतामा हुन्छ । यस्तो मानिसको चेतना तथा उर्जाको तह १२५ को हाराहारीमा रहेको हुन्छ । यस्तो मानिसले मैले अरुको जस्तो ब्रान्डेड पहिरन तथा सामानहरुको प्रयोग गर्न सकिन, अरुको जस्तो राम्रो घर बनाउन सकिन तथा अन्य सुख–सुविधाका बस्तुहरु जोड्न सकिन त्यसैले मलाई अरुले हेपिरहेका छन् भन्ने कमसल भावको मानसिकताले ग्रसित हुन्छ । यस्तो मानिसकालागि मनको शान्तिकालागि आवश्यक पर्ने सामान्य इच्छा तथा आवश्यकताहरु भन्दा शारीरिक तथा भौतिक इच्छा तथा आवश्यकताहरु पूरा हुनु महत्वपूर्ण हुन्छ तथा ठान्छ । उ अरु तथा समाज समक्ष आफ्नो धन तथा सम्पन्नता देखाउन, आवश्यकता भन्दा बढि सामग्रीहरु जम्मा गरेर देखावा गर्न चाहन्छ । बरु कमसल खान्छ, रोग पालेर बस्छ, वास्तविक अवस्था लुकाउछ तर वाहिर सम्पन्नताको ढोगं गर्छ, दिखावा गर्छ । यस्तो मान्छे संधै अशान्त रहन्छ, उसका आवश्यकताहरु पूरा भएपनि अन्त्यहिन इच्छाहरु सबै पूरा हुन सक्दैनन्, यसैकारण उ संधै निराश भैरहन्छ, कहिल्यै तृप्त हुदैन । संधै मैले अरुले जस्तो प्रगति गर्न सकिन जीवनमा, परिवारको इच्छा पुर्याउन तथा सोख पूरा गर्न सकिन भन्ने निराशा, हिनता, डर तथा असुरक्षाको भावले भरिइरन्छ । इच्छा र आवश्कताको महत्व तथा गहिराइ र जीवनको आन्तरीक खुशी तथा शान्ति र भौतिक जीवनको व्यर्थताबारे गहिरो ज्ञान बुझाएर उसको चेतना तथा उर्जाको तह उठएर उसलाई सामान्य जीवनमा फर्काउन तथा मद्धत गर्न सकिन्छ  ।उसलाई अझ सामान्य बनाउन चेतना तथा उर्जा व्यवस्थापनसंग सम्वन्धित अध्यात्म विज्ञान र मनोविज्ञानका वैज्ञानिकतामा आधारीत विधि तथा प्रक्रियाहरुको अनुशरण गरेर यस्तो अवस्थाका मानिसहरुको चेतना तथा उर्जाको तह बढाउन र उनीहरुलाई सामान्य जीवनमा फर्काउन सकिन्छ ।


(८)क्रोध(एंगर)– मानवीय विकारहरु– काम, क्रोध, लोभ, मोह, डर, इष्र्या, राग, द्वेश, घृणा, मद, मास्चर्य मध्य क्रोध र डरको अवस्थालाई सबैभन्दा बढि नोक्सान पुर्याउने अवस्थाको रुपमा हेर्ने गरिन्छ किनकी यो अवस्थामा मानिसले सबैभन्दा बढि नकारात्मक तथा आफू र आफ्नाहरुलाई हानि पुर्याउने तथा जीवनमा ठूला–ठूला नकारात्मक उतार–चढावहरु ल्याउने प्रकारका निर्णयहरु लिने गर्दछ । क्रोधको अवस्थामा मानिसको चेतना तथा उर्जाको तह १५० को हाराहारीमा रहेको हुन्छ । माथिका सात अवस्था भन्दा यो अलिक राम्रो अवस्था त हो तर सबैभन्दा बढि अस्थिर तथा परिवर्तनशील(भोलाटाइल) अवस्था हो जहाँ जुनसुकै समय जे पनि नकारात्मक परिणाम आउन तथा हुन सक्ने सम्भावना प्रवल रहन्छ । क्रोधले घेरीएको मानिस क्रोध शान्त भएपछि क्रोधको अवस्थामा आफू आफ्नो नियन्त्रणमा रहन नसकेको, आफ्नो वुद्धिले काम नगरेको, क्रोधवस गतल निर्णयहरु लिएको कारण आफूले आफूलाई निच ठान्दछ, प्रायश्चित तथा अपराधवोधले भरिन्छ र यस्तो अवस्थामा उसको चेतना तथा उर्जाको तह तिब्र गतिमा घट्छ । क्रोध शान्त गर्ने आध्यात्मिक तथा मनोवैज्ञानिक विधिहरु, योग साधना, सकारात्मक सोच, विचार, व्यवहार गर्न प्रेरणादायी भाव तथा कर्महरु सिकाएर चेतना तथा उर्जाको तह बढाएर क्रोधको अवस्थाबाट उसलाई सकारात्मक अवस्थामा ल्याएर सामान्य जीवनमा फर्काउन सकिन्छ । उसलाई अझ सामान्य बनाउन चेतना तथा उर्जा व्यवस्थापनसंग सम्वन्धित अध्यात्म विज्ञान र मनोविज्ञानका वैज्ञानिकतामा आधारीत विधि तथा प्रक्रियाहरुको अनुशरण गरेर यस्तो अवस्थाका मानिसहरुको चेतना तथा उर्जाको तह बढाउन र उनीहरुलाई सामान्य जीवनमा फर्काउन सकिन्छ ।


(९)अभिमान(प्राइड)– अभिमान तथा अहंकार लगायत माथि उल्लेखित आठवटै अवस्थाहरु मानिसको कमजोर मानसिक, भावनात्मक तथा चेतनात्मक अवस्था हो जसलाई समग्रमा मनोचिकित्सा विज्ञान तथा मनोविज्ञानले मानसिक रोगका विभिन्न अवस्थाहरुका रुपमा बुझ्ने तथा बुझाउने गर्दै आएको छ । अभिमान तथा अहंकारको अवस्थामा चेतना तथा उर्जाको तह १७५ को हाराहारीमा रहेको हुन्छ । ठिक्क मात्रामा अभिमान तथा अहंकार व्यवस्थित जीवनयापनकालागि आवश्यक हुन्छ तर बढि भयो भने यसले मानिसको जीवनमा विभिन्न प्रकारले हानि पुर्याउन तथा समस्याहरु खडा गर्न सक्छ । अभिमान तथा अहंकारले भरिएको मानिस आफूलाई सबैभन्दा ठूलो र संधै आफू सही छु भन्ठान्छ, आफूले भनेकै हुनुपर्छ, सबैले मैले भनेको मान्नु पर्छ तथा मलाई नै अनुशरण गर्नुपर्छ भन्ठान्छ । रुखो बोल्छ, अरुलाई तुच्छ व्यवहार गर्छ, अन्याय गर्छ, हेप्छ, अरुको बेइज्यत गर्छ । रुखो बोल्ने अभिभावक, विद्यार्थी पिट्ने शिक्षक, कर्मचारीलाई शोषण गर्ने हाकिमहरु अभिमान तथा अहंकारको मानसिकताबाट ग्रसित हुन्छन्, मनोविज्ञानका अनुसार यो एकप्रकारको मानसिक रोग हो । यस्ता मानिस आफूपनि अशान्त हुन्छन् र अरुको जीवनलाई पनि अशान्त गरिदिन्छन् । म यस्तो हुँ, फलानो हुँ, अरु भन्दा अलग हुँ भन्ने भाव अभिमान तथा अहंकार हो । यस्तो मान्छे समस्याको समाधान गर्नतिर भन्दा भिड्न तथा झगडा गर्न उतारु हुन्छ, निस्पक्ष ढंगले छानबीन गरेर न्याय दिनुपर्छ भन्ने भन्दा सजाय दिनुपर्छ भन्ने भाव राख्दछ । प्रेमपूर्वक न्याय, सतविचार, सतव्यवहार, सतकर्मका ज्ञानहरु सिकाएर तथा सम्झाएर यस्तो अवस्थामा रहेका मानिसहरुको चेतना तथा उर्जाको तह बढाउन र उनीहरुलाई सामान्य जीवनमा फर्काउन सकिन्छ । उनीहरुलाई अझ सामान्य बनाउन चेतना तथा उर्जा व्यवस्थापनसंग सम्वन्धित अध्यात्म विज्ञान र मनोविज्ञानका वैज्ञानिकतामा आधारीत विधि तथा प्रक्रियाहरुको अनुशरण गरेर यस्तो अवस्थाका मानिसहरुको चेतना तथा उर्जाको तह बढाउन र उनीहरुलाई सामान्य जीवनमा फर्काउन सकिन्छ ।


चेतना तथा उर्जाको तहका यी ९ अवस्थाहरुमा म कहाँ छु, कुन–कुन तहबाट गुज्रीएं, कसरी गुज्रिएं र कसरी वाहिर आएं, आफ्नो चेतना तथा उर्जाको सही व्यवस्थापन कसरी गरें आदि बारे चिन्तन, मनन् गरौं र आफ्ना उपयोगी अनुभवहरु अरुमाझ साझा गरेर अरुलाई पनि चेतना तथा उर्जाको न्यूनतम तहबाट वाहिर निकाल्ने तथा उनीहरुको चेतना तथा उर्जाको तह बढाउन प्रयास गरौं, सहयोगी बनौं । यो नै वास्ताविक सेवा हो, सेवा नै धर्म हो, कर्तव्य नै धर्म हो, आफूलाई धर्म तथा कर्तव्यको मार्गमा लैजाउँ र सबैलाई यो मार्गमा प्रेरित गरौं, सबैको प्रेरणाको श्रोत बनौं ।


चेतना तथा उर्जाको तह र यसको प्रभाव

महान वैज्ञानिक डेभिड हकिन्सका अनुसार विश्व भरिका अधिकांश(८५ प्रतिशत) मासिकहरुको चेतना तथा उर्जाको औषत तह २१० को हाराहारीमा रहेको छ र धेरैजसो मानिसहरुको चेतना तथा उर्जाको तह २०० भन्दा तलनै रहेको पाइएको छ । आजको विश्वको यो अवस्था भविश्यकोलागि खतराको सूचक हो किनकी अधिकांश मानिसहरु माथि उल्लेखित ९ अवस्थाहरु तथा असहज मानसिक परिस्थितिबाट गुज्रिरहेका छन् अशान्त छन्, तनावग्रस्त, चिन्ताग्रस्त, अवशादग्रस्त, विक्षिप्त छन् । भर्खरै विश्व स्वास्थ्य संगठनको एक अध्ययनको तथ्यांकले देखाएको छ कि अवका केही दशकमा तनाव(जो मानसिक रोगकै एक शाखा तथा शुरुआति अवस्था हो)ले महामारीको स्वरुप लिनेछ । यसको मतलव आजको विश्वका मानिसहरु यतिविधि नाजुक मानसिक अवस्थामा छन् कि समयमै यो समस्याको उचित दिशानिर्देश तथा समाधानको उपाय गरिएन भने अवको केही दशकमा मानसिक रोगले महामारीको रुप लिनेछ र यी मानिसहरुले आफू लगायत पुरै पृथ्वी तथा प्रकृतिलाई हानि पुर्याउने छन् तथा नष्ट गर्नेछन् । चेतना तथा उर्जाको तह २०० भन्दा कम भएका मानिसहरु अत्यन्तै कमजोर  र अज्ञानी हुन्छन्, उनीहरुलाई सकारात्मक भाव, सर्वकल्याणको भाव, मानवीय विकास, सामाजिक विकास, प्राकृतिक विकास तथा संरक्षणका विषयहरु सहजै बुझाउन सकिदैन र उनीहरुको माध्यमबाट सहजै व्यवहारमा उतार्न मुक्किल हुन्छ तसर्थ वर्तमान समयमा सर्वकल्याणकालागि सर्वप्रथम अधिकाधिक मानिसहरुको चेतना तथा उर्जाको तह २०० भन्दा माथि उठाउने अभियानमा क्रान्ति ल्याउनु अत्यावश्यक छ किनकी सकारात्मक भाव, सर्वकल्याणको भाव, मानवीय विकास, सामाजिक विकास, प्राकृतिक विकासका विषयहरुको आवश्यकता, महत्व, सान्दर्भिकता चेतना तथा उर्जाको तह ३०० तथा ३०० भन्दा माथि भएका मानिसहरुले मात्र राम्ररी बुझ्न र त्यसलाई सही ढंगले व्यवहारमा उतार्न सक्छन् ।


चेतना तथा उर्जा सम्वन्धि केही तथ्य

@चेतना तथा उर्जाको तह ७०० भएका मानिसहरुले ७ करोड मानिसलाई सकारात्मक उर्जा प्रदान गर्न सक्छन् जो २०० भन्दा कम तहमा जीवन बाँचिरहेका छन् ।

@चेतना तथा उर्जाको तह ५०० भएका मानिसहरुले ७ लाख मानिसलाई सकारात्मक उर्जा प्रदान गर्न सक्छन् जो २०० भन्दा कम तहमा जीवन वाँचिरहेका छन् ।

@चेतना तथा उर्जाको तह ३०० भएका मानिसहरुले ९० हजार मानिसलाई सकारात्मक उर्जा प्रदान गर्न सक्छन् जो २०० भन्दा कम तहमा जीवन बाँचिरहेका छन् ।

चेतना तथा उर्जाको तह ६०० भन्दा माथि भएको मानिसलाई आदर्श पुरुष(आत्मा अर्थात चेतना)को श्रेणीमा राखिएको छ, उनीहरुकालागि सबै समान हुन, उसले सबैमा आफूलाई र आफूलाई सबैमा देख्छ, कणकणमा इश्वर देख्छ, अद्वेतको अनुभूति गर्छ, सारा प्रकृति तथा ब्रम्हाण्डलाई नै इश्वर मान्छ जुन अध्यात्म विज्ञानको मूल विषय तथा मूल सार हो 'वसुधैव कुटुम्वकम' अर्थात सारा पृथ्वी एक परिवार हो । 


समस्याको समाधानमा अध्यात्म विज्ञान महाविज्ञान हो

मानिसलाई जसरी हुन्छ सुखी, खुशी, शान्त तथा आनन्दित गराएर मात्र उनीहरुलाई मानसिक असन्तुलन बिकृति तथा मानसिक रोगको यो दलदलबाट वाहिर निकाल्न सकिन्छ र पृथ्वी तथा प्रकृतिको बचाउ गर्न तथा संररक्षण गर्न सकिन्छ । मानिसको बिग्रदो मानसिक अवस्थालाई सही गरेर पृथ्वी तथा पूरै प्रकृतिलाई बचाउन सक्ने महान सुत्र केवल अध्यात्म विज्ञानसंग छ किनकी अध्यात्म विज्ञान विज्ञानहरुको पनि विज्ञान महाविज्ञान हो, आधूनिक विज्ञानका सबै शाखाहरु सनातन अध्यात्म दर्शन(४ वेद नै सबै ज्ञानको मूलश्रोत हो)बाट नै सिर्जित भएका हुन् । अध्यात्म विज्ञानसंग मात्र वर्तमाामा विश्व तथा प्रकृतिमा देखिएका सारा समस्याहरुको उचित समाधान तथा व्यवस्थापन गर्ने महाज्ञान छ । पछिल्लो समयमा विकासका नाममा भौतिक विज्ञानकले गरेका सबै प्रकारका प्रगति तथा दुर्गतिहरु, यसले ल्याएका मानवीय तथा प्राकृतिक विध्वन्सहरु हामी सबैले हेरीसक्यौं । प्लास्टीक महामारी, सिओटु(कार्वनडाइ अक्साइड) ग्यास उत्सर्जनका कारण वातावरण प्रदुषण, पृथ्वीको बढ्दो तापमान, प्रशोधित तथा अखाद्य वस्तुहरुको महामारी, नयाँनयाँ रोगहरुको उत्पत्ति, रोग लाग्ननै नदिने, सदा आरोग्य राख्ने योग तथा व्यायामशालाहरु भन्दा रोग लागेपछि उपचार गर्ने अस्पतालहरुको बढ्दो पस्थिति, स्वाथ्यको व्यापार, शिक्षाको व्यारपार, युद्धको खेती र हतियारहरुको व्यापार यी सबै भौतिक विज्ञानका नकारात्मक देनहरु हुन जसले मानव जीवन र सारा प्रकृतिलाई विनासको दिशातिर उन्मुख गरिरहेको छ । जतिबेला संसारमा अध्यात्म विज्ञानका सुत्रहरुमा आधारीत जीवनशैली थियो सबै कुराकुरा पूर्ण रुपमा सन्तुलित थि तर आधूनिक भौतिक विज्ञानको विकासको दुईदिने रमझमले अध्यात्म विज्ञानले बसालेका 'वसुधैव कुटुम्वकम' जस्ता सर्वकल्याणका सर्वजन हिताय, सर्वसुख हितायका महान व्यवहारिक ज्ञानमा आधारीत सुत्र तथा व्यवस्थाहरु सबै तहसनहस गरिदियो तसर्थ अव फेरी हामी सबैको सामुहिक प्रयासले विश्वमा अध्यात्म विज्ञानका सम्यक जीवनशैली र सम्यक मानव विकास, समाज विकास, प्रकृति विकास, भौतिक विकासका अवधारधारणहरुलाई एकपछि अर्को गर्दै पुन:स्थापित गर्दै जानु अपरिहार्य भएको छ ।  bsirjana@gmail.com

***************************************

छिट्टै

@चेतना तथा उर्जाको तह

(१०)साहस(करेज)– चेतना तथा उर्जाको तह २००

(११)निष्पक्षता(न्युट्रालीटी)– चेतना तथा उर्जाको तह २५०

(१२)तत्परता(विलिंगनेस)– चेतना तथा उर्जाको तह ३००

(१३)स्वीकार(एसेप्टेसन)– चेतना तथा उर्जाको तह ३५०

(१४)विवेक(विजडम)– चेतना तथा उर्जाको तह ४००

(१५)प्रेम(लभ)– चेतना तथा उर्जाको तह ५००

(१६)खुशी(जोय)– चेतना तथा उर्जाको तह ५४०

(१७)परम शान्ति(कम्प्लीट पिश)– चेतना तथा उर्जाको तह ६००

(१८)वुद्धत्व प्राप्ति तथा प्रकाशित(इनलाइटमेन्ट)– चेतना तथा उर्जाको तह ७०० – १०००


@म चेतना तथा उर्जाको कुन तहमा छु भनेर कसरी जान्न सकिन्छ

@म कसरी मेरो चेतना तथा उर्जाको तह बढाउन सक्छु

@चेतना तथा उर्जाको तहका सन्दर्भमा आधूनिक विज्ञान र अध्यात्म विज्ञानको दृष्टिकोण



No comments:

Post a Comment