'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Sunday, 11 May 2025

बौद्ध दर्शन जीवनलाई मध्यमार्गी बनाउने सर्वोत्कृष्ट ज्ञान हो, खण्ड -१

  डा. सिर्जना भण्डारी

#अध्यात्म_दर्शन #जीवन_दर्शन   #बौद्ध दर्शन



विषय प्रवेश: सनातन तथा वैदिक दर्शन र ऐतिहासिक पृष्ठभूमि

सनातन धर्म तथा सनातन दर्शनलाई संसारकै सबैभन्दा पुरानो धर्म तथा दर्शनको रुपमा मान्दै आइरहिएको छ । सनातनको अर्थ हो ‘अनन्त’ अर्थात ‘न आदि न अन्त्य’ अर्थात न कहिलेबाट शुरु शुरुभयो भन्ने थाहा छ न कहिले अन्त्य हुन्छ भन्ने नै थाहा छ । ब्रम्हाण्ड तथा प्रकृति, यसको शुरुआत, विकासक्रम(प्राणी, वनस्पति, पदार्थहरुको) र अन्त्यकोबारेमा शाश्वत(अन्तिम) सत्य आजसम्म कसैले पनि तथ्यगत रुपमा जान्न तथा पत्ता लगाउन सकेको छैन र भविश्यमा पनि जान्न तथा पत्ता लगाउन सकिने कुनै सम्भावना छैन किनकी यो अनन्त छ, सनातन छ तसर्थ सनातन धर्म ब्रम्हाण्डिय तथा प्राकृतिक धर्म हो । वेदको लिखित रचना तथा लिपिबद्ध संकलन गरिएको कालखण्डलाई वैदिक काल भनियो । समयको विकासक्रम संगै सनातन वेदको विकास तथा प्रवद्र्धन गर्ने क्रममा सनातन धर्म तथा सनातन दर्शनलाई नै वैदिक धर्म तथा वैदिक दर्शन भनियो । सरल तथा सहज तरिकाले मनुष्यको जीवन जिउने कला(आर्ट अफ लिभिगं) सिकाउने वेदका सांसारीक(भौतिक, प्रकृति) र पारमार्थिक(पराभौतिक, पुरुष अर्थात चेतना)  ज्ञान,  महाज्ञान तथा विज्ञान नै वैदिक दर्शन तथा वैदिक धर्म हो । वेद सनातन हो किनकी अनेक कालखण्डमा वेदको निरन्तरता श्रुती(शव्द, वाचन, श्रवण)को माध्यमबाट हुदै आइरहेको थियो र यसरी वेदको शुरुआत र निरन्तरता कहिलेदेखि हुदै आएको हो भन्ने एकिन समय कसैलाई पनि थाहा छैन र भविश्यमा पनि थाहा पाउन सकिने कुनै सम्भावना देखिदैन । वेदका यीनै सांसारीक तथा पारमार्थिक ज्ञान,  महाज्ञान तथा विज्ञानलाई अनुशरण गर्दै जीवनयापन गर्ने आमजनसमुदाय तथा समाजलाई सनातन धर्मी तथा सनातनी भनियो । 



इतिहासको मोटामोटी अनुमान अनुसार इशापूर्व २६०० वर्षअघिसम्म पृथ्वीमा सनातन धर्म तथा सनातन दर्शन मात्र अस्तित्वमा रहेको देखिन्छ जो प्राकृतिक तथा जिव(सबै प्राणीहरु) धर्म हो । सनातन प्राकृतिक तथा जिव धर्म हो भन्ने मान्यता अनुसार विश्वमा विभिन्न कालखण्डदेखि आजसम्म अस्तित्वमा रहेका तथा अस्तित्वबाट विलुप्त भैसकेका सबै धर्म तथा सम्प्रदायहरु सनातन धर्म अन्तर्गत नै पर्दछन् किनकी सनातन धर्म कुनै वर्ण, जाति, प्रजाति, वर्ग, वंश, लिंग, समुदाय, सम्प्रदाय, संस्कृति, परम्परा तथा रहनसहन विशेषसंग सम्वन्धित छैन, यो ब्रम्हाण्ड तथा प्रकृतिको नियम अनुसार चल्छ र अध्यात्म विज्ञान यसको मूल कानून तथा संविधान हो । वास्तविक अर्थमा अधि+आत्म=अध्यात्म अर्थात अधिको अर्थ ‘श्रेष्ठतम अर्थात परम’ र आत्मको अर्थ ‘आत्मा(चेतना अर्थात पुरुष)’ अर्थात परमात्मा अर्थात परब्रम्ह अर्थात परमेश्वर अर्थात इश्वर–गड–अल्ला–खुदा अर्थात ब्रम्हाण्ड(युनिभर्स) अर्थात प्रकृति(नेचर) हो । यसर्थ सनातन धर्म तथा सनातन दर्शन स्वयं परमात्माद्वारा सिर्जित धर्म तथा दर्शन हो र सबै जिवहरुको साझा मूलश्रोत हो । वर्तमान समयमा विश्वमा अस्तित्वमा रहेका तथा लोप भैसकेका सबै दर्शन तथा धर्म, सम्प्रदायहरु सनातन दर्शन तथा सनातन धर्मकै अंश हुन् । हिन्दु, जैन, बौद्ध, ताव, ज्यूस(यहूदि), इसाई, इस्लाम, सिख आदि जुन–जुन भएपनि र भविश्यमा नयाँ–नयाँ जे–जे धर्म, सम्प्रदायहरु ल्याइए तथा खडागरिए पनि । स्मरण रहोस, माथि उल्लेखित दर्शन, धर्म तथा सम्प्रदायहरुमा हिन्दु दर्शन को ‘हिन्दु’ शव्द भौगोलिक क्षेत्र(सिन्धु उपत्यका, पाकिस्तान)संग सम्वन्धित छ र यो वैदिक दर्शनकै निरन्तरता हो अर्थात हिन्दु दर्शन नै वैदिक दर्शन हो । बाँकी सबै जैन, बौद्ध, ताव, ज्यूस(यहूदि), इसाई, इस्लाम, सिख दर्शन, धर्म तथा सम्प्रदायहरु एक–एक व्यक्ति, अभियन्ता तथा गुरुसंग सम्वन्धित छन् । 


अध्यात्म, धर्म र संस्कृतिमा भिन्नता

कहिलेकाहीं अस्पष्ट बुझाइले विषयको गरिराइमा पुग्न बाधा गर्दछ तसर्थ हामीले दैनिक रुपमा सुन्दै तथा व्यवहार गर्दै आइरहेका विषयहरुमा स्पष्ट भएर अगाडि बढ्नु आवश्यक हुन्छ । ‘अध्यात्म(स्पृचुवालीटीे हुबहु अंग्रेजीकरण होइन)’ भनेको आफूभित्र अन्तरयात्रा गर्नु हो अर्थात अन्तरआत्मा हुदै परमात्मासंग एकाकार हुनु तथा मोक्ष हासिल गरि जन्म–मृत्युको दुःखदायि चक्रबाट सदाकालागि मुक्त हुनु हो । ‘धर्म(रिलिजन धर्म होइन)’ भनेको वहिरयात्रा हो । मानव हुनुको कर्तव्य, जिम्मेदारी, उत्तरदायित्व र मानवीयताको निर्वाह गर्दै पुर्णरुपमा नैतिकवान, अनुशासित र मानवीय भएर आफूलाई वाहिरी तथा आन्तरीक रुपमा खुशी, शान्त र आनन्दित राख्नु हो किनकी खुशी, शान्त र आनन्दित मानिसले मात्र सहजसंग अन्तरआत्माको यात्रा गर्न र परमात्मा साक्षातकारसम्म पुग्न सक्छ । ‘संस्कृति’ भनेको सर्वकल्याणको हितकालागि आममानिसहरुको समुह, समुदाय तथा सम्प्रदाय(रिलिजन)ले तय गरेका संस्कारहरु(हिन्दुका १६ संस्कार), मूल्य–मान्यताहरु, कुल–परम्परा, रीतिरीवाज, रहनसहन आदिलाई निष्ठापूर्वक अनुशरण गर्नु र तीनको संरक्षण र युग सान्दर्भिक हुनेगरि विकास तथा प्रवद्र्धन गर्नु हो । संस्कृति निष्ठापूर्वक अनुशरण गर्ने मानिस 'सांस्कृतिक' हो; मानवीय धर्म(कर्तव्य, उत्तरदायित्व, मानवीयता) निष्ठापूर्वक अनुशरण गर्ने मानिस 'धार्मिक' हो; र सांस्कृतिक तथा धार्मिक हुदै सनातन वेद दर्शनका सांसारिक तथा पारमार्थिक ज्ञान तथा विज्ञानका महत्वपूर्ण वियषहरु योग साधना तथा ध्यान साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुलाई दैनिक जीवनमा निष्ठापूर्वक अनुशरण गर्दै अन्तरआत्माको मार्ग हुदै परमात्मा साक्षातकारको मुमुक्षा राखेर अघि बढेको मानिस 'आध्यात्मिक' हो । समग्रमा, हरेक मानिसको आत्यन्तिक लक्ष्य तथा मूल गन्तव्य अध्यात्म अर्थात परमात्मा साक्षातकार हो र धर्म तथा संस्कृति मूल गन्तव्य अध्यात्म अर्थात परमात्मा साक्षातकारसम्म पुर्याउने प्रमुख मार्गहरु हुन् ।


बौद्ध दर्शनको पृष्ठभूमि

परिवर्तन प्रकृतिमा निरन्तर चलिरहने शाश्वत नियम तथा प्रक्रिया हो किनकी परिवर्तनबाट नै विकास आउछ, विकास नै प्रकृतिको मूल लक्ष्य हो र मनुष्य तथा मनुष्यसमाज प्रकृतिको एक अभिन्न अंश हो । समयक्रमसंगै तत्कालीन आवश्यकता र परिस्थिति अनुसार प्रकृतिमा स्वतः परिवर्तन आउछ र यो परिवर्तनले तत्कालीन समय तथा पस्थितिसंग असान्दर्भिक भएका विषयहरुलाई प्रकृतिबाट हटाएर समय सान्दर्भिक अर्थात युग सुहाउदा नयाँ–नयाँ आयामहरु स्थापित गर्दै जान्छ । प्रकृतिको विकासवादी सिद्धान्तका महान वैज्ञानिक तथा दार्शनिक चाल्र्स डार्विनले यो प्रकृयालाई “सर्भाइभल अफ दि फिटेस्ट” भनेका छन् अर्थात तत्कालीन प्राकृतिक परिस्थितिमा जसले आफ्नो अस्तित्व बचाउन तथा प्रभुत्व बढाउन सक्छ उही नै त्यस परिस्थिति तथा कालखण्डका लागि उपयुक्त तथा युग सान्दर्भिक मानिन्छ । प्राकृतिक रुपमा मनुष्यको सभ्यता तथा समाजको विकासक्रमा बौद्ध दर्शनको प्रादुर्भाब प्राकृतिक परिवर्तनको एउटा अत्यन्तै आवश्यक, सकारात्मक, महत्वपूर्ण र प्रभावशाली खुडकिलो तथा कडी थियो र हो । 


बौद्ध दर्शनको प्रादुर्भाब हुनु र यसको लोकप्रियता बढ्नु तथा विस्तार हुनुको मुख्य कारण तत्कालीन समयमा वैदिक दर्शन तथा वैदिक धर्ममा आएका कमीकमजोरी तथा विकृतिहरुलाई मानिन्छ । तत्कालीन स्वघोषित ज्ञानी, ब्राम्हण, पंडित, पुरोहितहरुले केहीले अज्ञानतावस र केहीले स्वार्थवस सनातन वेदमा उल्लेखित सांसारीक तथा पारमार्थिक ज्ञान, विज्ञानको गलत अर्थ तथा परिभाषा लगाएर आममानिसहरुलाई पाप र पुण्य, स्वर्ग र नर्क, धर्म र कर्म, मुक्ति र मोक्षको हवाला दिदै तर्साउने तथा शोषण गर्ने गर्नथाले । ब्राम्हणहरुका यस्ता कुकृत्यहरुका कारण वैदिक धर्म मान्ने समाजमा वैज्ञानिक तर्कबिनाका अवैज्ञानिक तथा अव्यवहारिक अन्धविश्वासका परम्पराहरु बढ्दै गए जसका कुनै चित्तबुझ्दा वैज्ञानिक तर्क र व्यवहारिक पुष्टि थिएनन् । निहित स्वार्थ र अभिमानले भरिएका ब्राम्हणहरुका अधार्मिक तथा असामाजिक कुकृत्यहरुका कारण दिनप्रतिदिन तत्कालनीन समाज तथा आममानिसहरु आक्रान्त हुदै गैरहेका थिए । पुरै समाज यस्तो भयानक असन्तुलन, अलमल र दिशाबिहिन अवस्थाबाट गुज्रिरहेको समयमा समाज सुधारक, आध्यात्मिक, धार्मिक तथा सामाजिक अभियन्ता, महापुरुष तथा युगपुरुष भगवान बुद्धको उदय भएको थियो तत्कालीन समाजका फोहरमैलाहरु सफा गरेर समाजमा नयाँ युग तथा नयाँ आयामको शुरुआत गर्दै मानव र मानवीयताको कल्याण गर्न । भगवान बुद्धको ज्ञान युगको परम आवश्यकता थियो । भनिन्छ, "जे भयो राम्रोकालागि भयो, जे हुन्छ राम्रोकैलागि हुन्छ र जे हुनेवाला छ त्यो पनि राम्रोकैलागि हुनेछ ।" तसर्थ तत्कालीन समयमा बौद्ध दर्शनको प्रादुर्भाव राम्रोकोलागि भएको थियो र यो प्रकृतिको आवश्यकता तथा युगको माग थियो । बौद्ध दर्शनको पादुर्भाब प्राकृतिक नियम  तथा सनातन वेदकै निरन्तरता र परिमार्जित स्वरुव हो किनकी सनातन वेद सबैको साझा हो ।


तत्कालीन वैदिक धर्मका अयोग्य र स्वार्थी ब्राम्हणहरुका कुकृत्यकै कारण एकसमयमा उत्कृष्ट दर्शन ठहरिएको सनातन वैदिक दर्शन बौद्ध दर्शनको प्रादुर्भावपछि अझ खस्केर अत्यन्तै तल्लो अवस्थामा पुग्यो र विस्तारै वैदिक दर्शनको पतनउन्मुख हुदै गयो र यही पृष्ठभूमिमा बौद्ध दर्शनको लोप्रियता विश्वव्यापि दायरामा बढ्दै तथा विस्तार हुदै गयो जो अधावधिक सोही गतिमा अगाडि बढिरहेको छ । यद्धपि विश्वव्यापि रुपमा बौद्ध दर्शनको लोकप्रियता तथा विस्तार बढ्दै जानुको पहिलो कारण वैदिक दर्शनको अलोकप्रियता मानिएपनि इमान्दारिपूर्वक भन्ने हो भने यसको प्रमुख कारण बौद्ध दर्शनमा सबैले स्पष्ट बुझ्नेगरि समावेश गरिएका जीवन जिउने कलाका मानवीय मूल्य–मान्यताहरु, कर्मको सिद्धान्तको अनुशरण, नैतिकता तथा अनुशासन, वास्तविकताका विषयहरुमाथि विशेष जोड दिइनु हो । यही मौलिकताको कारण वर्तमान समयमा विश्वमै बौद्ध दर्शनलाई सर्वमान्य तथा सर्वोत्कृष्ट मानवीय दर्शन, नैतिक दर्शन, सामाजिक दर्शन, मध्यमार्गी दर्शन, व्यवहारिक दर्शन तथा वास्तविक दर्शनका रुपमा लिने तथा बुझ्ने र अनुशरण गर्ने गर्दै आइएको छ ।


बौद्ध दर्शन किन र कसरी सर्वमान्य तथा सर्वोत्कृष्ट दर्शन 

विश्वव्यापि रुपमा मतऐक्यता तथा सर्वमान्य मान्यता रहदै आएको छ कि अध्यात्म तथा धर्मको आकाशमा बौद्ध दर्शनले अत्यन्तै उच्चकोटीको अध्याय तथा सर्वोत्कृष्ट ज्ञान तथा विज्ञानको प्रकाश जोडिदिएको छ । यद्धपि बौद्ध दर्शनले सनातन वेद र वेदले व्याख्या गरेको इश्वर तथा परमात्मालाई पूर्णतः मान्न इन्कार गरेकोकारण यसलाई नास्तिक दर्शन भनिन्छ तर वास्ताविकतामा बौद्ध दर्शन नास्तिक होइन र छैन । बौद्ध दर्शनले पनि सनातन वेदमा उल्लेख गरिएका आध्यात्मिक आख्यानहरु हुबहु उतारेको नभएपनि सारमा उस्तै अर्थ आउने, उस्तै भावार्थ लाग्ने तथा उस्तै निष्कर्ष आउने शव्दावलीहरु, नैतिकता तथा अनुशासनका नियमहरु समावेश गरेको छ । सत्य–असत्य, आत्म–अनात्म, नित्य–अनित्य, धर्म–अधर्म, कर्म–अकर्म, शुन्य(निराकारको अर्थ शुन्य हो जहाँ परमात्माको पूर्णता भरिएको हुन्छ), निर्वाण(वेदको सार श्रीमद् भगवद् गीताको अध्याय २ मा ‘ब्रम्हनिर्वाण’ शव्दको प्रयोग गरिएको छ) आदि सनातन वेदमा इश्वर अर्थात परमात्मा अर्थात ब्रम्ह अर्थात ब्रम्हाण्डकालागि उल्लेख गरिएका मूल विषयहरु हुन् तसर्थ बौद्ध दर्शन तत्कालील असहज परिस्थितिका कारण थोरै फरक तथा अलग धारमा प्रादुर्भाव भएको तथा व्यवहारमा आएको भएपनि सनातन वैदिक दर्शनकै निरन्तरता हो भनेर मान्न सकिने तथ्यगत आधारहरु प्रसस्त छन् । विश्वले आज सनातन वैदिक दर्शनलाई भन्दा सहजै र राम्ररी बुझेर बौद्ध दर्शनमा समावेश गरिएका विषयहरु- मानवीय दर्शन, नैतिक दर्शन, सामाजिक दर्शन, मध्यमार्गी दर्शन, व्यवहारिक दर्शन, वास्तविक दर्शनलाई व्यवहारिक जीवनमा अनुशरण गर्दै तथा प्रयोग गर्दै आएकोले यसलाई सर्वमान्य तथा सर्वोत्कृष्ट दर्शनको रुपमा मानिन्छ तथा गणना गरिन्छ ।


बौद्ध दर्शनको सन्दर्भमा पाश्चात्य मत

पाश्चात्य विद्वानहरुले बौद्ध दर्शनमाथि धेरै गहन खोज, अनुसन्धान तथा अध्ययनहरु गरेका छन् र यस उपर आफ्ना सकारात्मक भाव, मत तथा स्वीकारोक्तीहरु दिदै बौद्ध दर्शनलाई अहिलेसम्मकै सबैभन्दा उच्चकोटीको दर्शनको श्रेणीमा राखेका छन् । उनीहरुका अनुसार बौद्ध दर्शनले पराभौतिक(मेटाफिजिकल) विषयहरु(इश्वर, परमात्मा, आत्मा, स्वर्ग, मोक्ष जुन कुनै आममानिसले देखेको छैन, अनुभव गरेको छैन, जसको कुनै प्रमाण छैन)लाई ज्यादा मूल्य नदिएर त्यसको ठाउँमा मानवीयता, नैतिकता, अनुशासन, कर्तव्यनिष्ठता, कर्मवाद र वास्तविकतालाई दर्शनको मूलविषय बनाएको कारण वास्तविक धरातलमा खडा भएको ठहर गर्दै बौद्ध दर्शनलाई विश्वकै उत्कृष्ट दर्शन ठहराएका तथा मान्यता प्रदान गरेका छन् । पश्चिमका नाम चलेका विद्वान लेखक राइट डेभिस(पति–पत्नी) ले भगवान बुद्धको बारेमा एक यस्तो वाक्य तथा बक्तव्य लेखे जसले भगवान बुद्ध तथा बौद्ध दर्शनलाई पाश्चात्य जगतमा निकै उचाइमा पुर्याइदियो । उनीहरुका अनुुसार, “बुद्ध अन्धविश्वासी परम्परा मान्ने नभइ आफ्नो तर्क, वुद्धि, विवेकको प्रयोग गर्ने विवेकशील महापुरुष थिए जसले समाजमा नयाँ आयाम थपेर आममानिसको जीवनशैलीमा आमूल परिवर्तन ल्याइदिए र समाजलाई आक्रान्त पारीरहेको अन्धविश्वासको पर्दा च्यातिदिए ।” वास्तवमा राइट डेभिसले लेखेका यो वक्तव्य सत्य थियो । तत्कालीन समाजमा वैदिक दर्शन तथा वैदिक धर्म मान्ने समाजको बाहुल्यताता थियो तर विविध कारणले वैदिक दर्शनमा चरम विकृति छाएको थियो । स्वार्थी, स्वज्ञानी तथा स्वघोषित ज्ञानी तथा ब्राम्हणहरुले सनातन वेद जस्तो महाविज्ञानको वास्तविक शाश्वत सत्यमाथि पर्दा हालेर गलत परिभाषा गरेर तथा दिगभ्रमित गर्ने अर्थ लगाएर आममानिसहरुलाई कुबाटोमा लगिरहेका थिए र चरम शोषण गरिरहेका थिए । स्वार्थी ब्राम्हणहरुको कुकृत्यका काराण तत्कालीन समाज अन्धविश्वास, भाग्यवाद, स्वर्ग–नर्क, पाप–पुण्य, मुक्ति–मोक्षका विषयहरुका कारण आक्रान्त र अलमलमा परेको थियो । यी विषयहरुलाई स्वार्थी, स्वज्ञानी तथा स्वघोषित ब्राम्हणहरुले आ–आफ्नो ढंगले फरक–फरक परिस्थितिमा मनोमानि अर्थ लगाएर, वैदिक धर्मको सही अर्थलाई बंग्याएर तथा तोडमरोड गरेर आफूखुशी नयाँ–नयाँ कृत्रिम नियम बनाएर आममानिसहरुको शोषण गरिरहेका थिए पूजा–पाठ, कर्म–काण्ड, कर्म–यज्ञ, ब्रत–तीर्थ, स्वर्ग–नर्क आदि गतिविधिहरुको माध्यमबाट । तत्कालीन समाज धार्मिक तथा सामाजिक रुपले अप्ठ्यारो परिस्थितिबाट गुज्रीरहेको अवस्थामा भगवान बुद्ध तथा बौद्ध दर्शनको प्रादुर्भाव तत्कालीन समाजको उत्थान तथा प्रवद्र्धनकालागि प्रभावकारी सावित भयो र क्रमशः यसको मूल्य–मान्यता र प्रभावको लोकप्रियता विश्व समाजभरि विस्तार हुदै गयो । नढाटी भन्ने हो भने अहिलेको हिन्दु समाजको हालत पनि लगभग यस्तै विकृत, अन्धविश्वास र अराजकताको अवस्थाबाट गुज्रिरहेको छ जहाँ सामान्य अवस्था भएका आममानिसहरुले सहजसंग सबैभन्दा महत्वपूर्ण विवाह संस्कार र मृत्य संस्कार समेत गर्न नसक्ने अवस्था आइसकेको छ स्वज्ञानी ब्राम्हण, पंडित तथा पुरोहितहरुका आ–आफ्ना कृत्रिम नियमहरुका कारण । तसर्थ हिन्दु समाजमा वर्तमानमा चलिरहेको विकृतिको अवस्था सुधारकालागि पनि प्रभावकारी सामाजिक क्रान्तिको आवश्यकता अपरिहार्य भएको छ ।


बौद्ध दर्शन र सामाजिक उत्थान

भगवान बुद्ध आफू महाज्ञान तथा निर्वाण(इटरनल लिवरेसन)मा उपलव्ध हुनुभएपछि वहाँ आफूले प्राप्त गरेको ज्ञानलाई आममानिसहरु समक्ष पुर्याउन ठाउँ–ठाउँमा गएर सोही स्थानको लोकभाषामा उपदेश तथा देशना(प्रवचन) दिदै मानिसहरुलाई सत्य–तथ्य विषयहरुमाथि सुसुचित गराउन थाल्नुभयो । यसक्रममा सर्वप्रथम भगवान बुद्धले पराभौतिक जगतका परालौकिक विषयहरुमाथि तिक्ष्ण प्रहार गर्दै भन्नुभयो, “पराभौतिक जगत घना जंगल हो, जो कहिल्यै निष्कर्षमा पुग्न नसकिने र कहिल्यै जवाफ नआउने विषयहरुले भरिएको तथा घेरिएको छ, यसमा नउल्झ, यसबाट आफूलाई वाहिर निकाल र मानवीय मूल्यमान्यता, नैतिकता, अनुशासन, कर्मनिष्ठता, कर्तव्यनिष्ठता र वास्तविकतामा आधारीत जीवन जिउन शुरु गर, अरुलाई पनि यस्तो जीवन जिउन मद्धत तथा प्रेरित गर ।” वहाँले थप स्पष्ट पार्नुभयो, “निश्चित स्वार्थी वर्गले समाजमा जे कुरा स्वलाभकालागि नियतवस फैलाएका छन् परमात्मावाद, इश्वरवाद, भगवानवाद तथा भाग्यवादका विषयमा ती सबै अन्धविश्वास र मनगणन्ते कुरा हुन् तीनमा कुनै सत्यताको आधार छैन, इश्वर भन्ने कोही छैन, भाग्य दिने इश्वरले होइन, हाम्रो आफ्नै सम्यक कर्मले हाम्रो भाग्य निर्धारण गर्छ, पाप–पुण्य र स्वर्ग–नर्क भन्ने कुनै अर्को स्थान छैन, यो हाम्रै शुद्ध–अशुद्ध मनमा छ, हाम्रै नैतिकता र अनुशासनमा छ । 


समाजमा बिकृति फैलाएर शोषण गरिरहेका स्वघोषित ज्ञानी ब्राम्हण, पंडित, पुरोहितहरुको आश्वासन, डर, धम्की, प्रलोभनमा नपर, उनीहरुले गरिरहेका शोषण र अत्याचारमाथि प्रश्न उठाउ, आफ्नो तर्क, वुद्धि, विवेकको उपयोग गर” भन्दै आममानिसहरुलाई सचेत गराउन थाल्नुभयो र स्वघोषित ज्ञानी ब्राम्हण, पंडित, पुरोहितहरुसंग साक्षातकार र तर्क गरेर निष्कर्ष निकालेर सबैको जिज्ञासा मेटाउन र सवालको चित्तबुझेदो जवाफ दिन ठाडो चुनौती दिदै सबैलाई सत्यबाट जागरुक गराउने महाअभियानमा लाग्नु भयो । भगवान बुद्धका तर्क तथा सवालहरुमाथि चित्तबुझ्दो जवाफ दिन नसकेपछि वैदिक दर्शन तथा धर्मको आडमा समाजमा राज गरिरहेका स्वघोषित ज्ञानी, ब्राम्हण, पंडित, पुरोहितहरुको पतन शुरु हुनथाल्यो, आममानिसहरुले उनीहरुका कुरा तथा तर्कमा विश्वास गर्न तथा उनीहरुका कृत्रिम नियमहरुलाई अनुशरण गर्न छाडे र बुद्धको वास्तविकतामा आधारीत तर्कसंगत विषयमाथि विश्वास गर्न र अनुशरण गर्नथाले । भगवान बुद्धले टाढा–टाढाका, अन्य मुलुक तथा समाजका सबै आममानिसहरुलाई जागरुक गराउने अभियानलाई निरन्तरता दिनुभयो जसले विश्व समाजमा एकप्रकारको धार्मिक क्रान्ति नै ल्याइदियो । पुराना असान्दर्भिक, अन्धविश्वास, भाग्यवाद, इश्वरवाद, स्वर्ग–नर्कवाद, पाप–पुण्यवादका सबै अव्यवहरिक मूल्य–मान्यताहरुलाई हटाएर समाजमा मावीयता, नैतिकता, अनुशासन, कर्मनिष्ठता, कर्तव्यनिष्ठतामा आधारीत वास्तविक सामाजिक मूल्यमान्यता स्थापना गरेर सामाजिक उत्थान गर्नुभयो । 


सनातन वैदिक दर्शनको पुनःरोत्थान

भगवान बुद्धले आफ्नो तर्क पुष्टी गन सनातन वैदिक दर्शनका विषय तथा मूल्य–मान्यताहरुमाथि निर्मम आलोचना गर्दै अनइश्वरवादलाई वढावा दिएकाकारण वैदिक दर्शनका केही ज्ञानी महापुरुषहरुले अलौकिक ब्रम्हज्ञानले भरिपूर्ण सनातन वैदिक दर्शनमा भविश्यमा अप्ठ्यारो अवस्था आउनसक्ने आंकलन गरेर भगवान बुद्धलाई देशनिकाला गरे । देशबाट निकालिएपछि भगवान बुद्ध उत्तरपुर्वी एशिया(चीन, जापान, कोरिया) तथा दक्षिणपूर्वी एशिया(म्यानमार, थाइल्यान्ड, लाओस, कम्बोडिया आदि देशहरुमा आफ्नो ज्ञान प्रचार गर्न लाग्नु भयो । यी मुलुकहरुमा वर्तमान समयसम्म पनि बौद्ध दर्शनकै बाहुल्यता रहदै आएको छ र बौद्ध दर्शनको विस्तार अधावधिक भैरहेको छ । विश्वका धेरै समाज तथा समुदायहरुले बौद्ध दर्शनका मूल्य–मान्यताहरुलाई अनुशरण गर्ने क्रम पछिल्लो चरणमा अझै बढ्दै गैरहेको छ ।


बौद्ध दर्शनको प्रार्दुभाव आवश्यक थियो वा थिएन, सही थियो वा थिएन भन्ने विषय आफ्नो ठाउँमा छ तर यस अवधिमा बेहोर्नु परेको अत्यन्तै दुर्भाग्यको कुरा स्वघोषित ज्ञानी, ब्राम्हण, पंडित, पुरोहितहरुको पतनसंगै अल्पमतमा परेको कारण अध्यात्म विज्ञानका ब्रम्ह र ब्रम्हाण्डका शाश्वत तथा प्रामाणिक महाज्ञानहरु समावेस भएको सनातन वेदमा आधारीत वैदिक दर्शन र यसका अत्यन्तै मूल्यवान शास्त्रहरु पनि ओझेलमा तथा उपेक्षामा परे, अनाजसंगै घुन पिसिएझैं र त्यसयता सनातन वैदिक दर्शन तथा वैदिक धर्मका अप्ठ्यारा दिनहरु शुरु भए । समयको धेरै लामो अन्तरालपछि आठौं शताव्दीमा सनातन धर्मका प्रखर अनुयायी महापुरुष, जगतगुरु, आदिगुरु शंकराचार्यले सनातन वैदिक दर्शन तथा वैदिक धर्मको पुनरोत्थान गर्दै पुनः सनातन वेद, उपनिषद र वेदान्त सुत्रहरुमा भाष्य लेखेर र अनेकौं सुधारका कार्यहरु गरेर फरक प्रकारले तत्कालीन समाजमा पुनःस्थापित गराउनुभयो, वहाँलाई स्वयं भगवान शिवका अवतारको रुपमा मानिएको छ । यस सन्दर्भमा अर्को शिर्षक “वैदिक दर्शनको पुनःरोत्थानमा आदिगुरु शंकराचार्यको भूमिका”मा विस्तृतमा अध्ययन गर्नेछौं । 


बौद्ध दर्शनका मूलआधार स्तम्भहरु 

बुद्धको दर्शनबाट प्रभावित भएका र उनलाई अनुशरण गर्न तयार भएका आममानिसहरुले बुद्धलाई सवाल गरे, “हामीले हाम्रा पुराना मूल्य–मान्यताहरु छोड्यौं, तर अव अगाडि के गर्ने र कसरी अगाडि बढ्ने ?” भनेर, यसपश्चात भगवान बुद्धले ध्यान साधना तथा तपस्याको वलबाट आफूले प्राप्त गरेका सबै ज्ञानहरुलाई श्रींखलावद्ध गरेर आममानिसहरु समक्ष प्रस्तुत गर्नुभयो, उनीहरुलाई सिकाउन थाल्नुभयो र जीवनमा अनुशरण गर्न सैद्धान्तिक र व्यवहारिक दुवै प्रकारले पे्ररीत गर्नुभयो । भगवान बुद्धको पहिलो मूल ज्ञान वहाँले पत्ता लगाउनु भएको चार आर्य सत्य हो र चार आर्य सत्यका विषयहरुलाई मार्ग प्रसस्त गर्न अष्टांगीक मार्गको सिद्धान्त प्रतिपादन गर्नुभयो ।


चार आर्य सत्य र अष्टांगीक मार्ग

चार आर्य सत्य र अष्टांगीक मार्ग बौद्ध दर्शनका मूलआधार स्तम्भहरु हुन्, सारा बौद्ध दर्शन यीनै विषयहरुको वपरपरि घुम्दछ । चार आर्य सत्य निम्न प्रकारका रहेका छन्–
(१)सर्वम दुःखम– अर्थात सबै दुःखमा छन् ।
(२)प्रतित समुत्पाद– अर्थात दुःखको कारण छ ।
(३)दुःख निरोध– अर्थात दुःख निरोध गर्न सकिन्छ ।
(४)दुःख निरोध प्रतिपद गामिनी– दुःख निरोधका उपायहरु छन् 

(१)सर्वम दुःखम (Truth of Suffering)
धनवान, ज्ञानवान, प्रतिष्ठावान, ऐश्वर्यवान, सौन्दर्यवान सबैलाई जीवनमा केही न केही प्रकारको व्यवहारिक दुःख छ । भिन्न–भिन्न प्रकारका मानिसहरु भिन्न–भिन्न प्रकारकै दुःखहरु भोगीरहेका छन् आ–आफ्नो जीवनमा । धनवानलाई धन चोरी होलाकी, अरुले जालसाजीले हडप्लाकी भन्ने आफ्नो धन जोगाउने दुःख छ; प्रतिष्ठावानलाई अरुले नमस्कार नगर्लाकी, उचित सम्मान नपाइएलाकी भन्ने आफ्नो मानप्रतिष्ठा बचाउने दुःख छ; सुन्दरहरुलाई आफ्नो सौन्दर्यता खस्केलाकी, बिग्रेलाकी, कुरुप भैएलाकी भन्ने दुःख छ आदि आदि । यसप्रकारका क्षणिक प्रकारका दुःखहरुको अलवा मानव तथा प्राणी जगतका सम्पूर्णलाई उत्तिकै प्रभाव पार्ने साझा दुःख जन्म, मृत्यु, जरा, व्याधि हो । मानिस जतिनै धनवान, ज्ञानवान, प्रतिष्ठावान, ऐश्वर्यवान, सौन्दर्यवान भएपनि जन्म, मृत्यु, जरा(बृद्धावस्था), व्याधि(रोग)को दुःखबाट सबैले अनिवार्य रुपमा गुज्रिनु नै पर्छ । यी चार प्रकारका दुःखहरुबाट कोहीपनि कुनैपनि हालतमा  उम्किन सक्दैन । त्यसैले भगवान बुद्ध भन्नुहुन्छ, “आफू जस्तै सबैलाई ठान, आफ्नो र सबैको दुःखलाई चिन, बुझ र मानवीय भाव राखेर आफ्नो र अरुको दुःख हरण गर्न हरसम्भव प्रयास गर, सहयोग गर, सेवा गर हर प्रकारले मनमा मानवीयताको भाव राखेर ।” 

(२)प्रतित समुत्पाद (Cause of Suffering)
मानिसको जीवनमा जुन दुःख देखिइराखिएको छ त्यसको उत्पत्ति कहिं न कहींबाट भएको छ, दुःखको कारण खोज्ने प्रयास गर । जन्म, मृत्यु, जरा, व्याधि किन हुन्छ, यसको काराण खोज किनकी कारण नजानीकन त्यसको निवारण गर्न सकिदैन । बुद्ध भगवान भन्नुहुन्छ, “जन्म, मृत्यु, जरा, व्याधिको कारण जाति(बारबारको जन्म) हो । जातिको कारण भव(इच्छा) हो, इच्छाको कारण संस्कार हो र संस्कारको कारण षडायतन अर्थात छ इन्द्रियहरु(पाँच ज्ञान इन्द्रिय र एउटा मन)को स्पर्श(छुने, देख्ने, सुन्ने, सुघ्ने, स्वाद लिने) सुखको स्मृति हो जो मानिसले शरीरमा रहदा जीवन जिउने क्रममा इन्द्रियहरुको सुखानुभूतिको प्रभाव(इम्प्रेसन) बनेर स्मृतिमा भएर बस्दछ । इन्द्रियका सुखानुभूतिका स्मृतिहरु मानिसको सुक्ष्म शरीरमा संग्रहीत भएर बसेकाकारण मनुष्यलाई धर्तीमा जन्म लिएर त्यो सुखभोग गर्न आउने इच्छा भैरहन्छ र बारबार मनुष्यको जन्म हुन्छ । जन्मसंगै जरा, व्याधि र मृत्यु आउछन् । बारबार जन्म लिन इच्छा उत्पन्न गराउने स्पर्शको कारण मनको तृष्णा(कहिल्यै पूरा हुन नसक्ने अन्त्यहिन कामनाहरु) हो जसले इन्द्रियहरुलाई सुखभोगतिर जान बाध्य गरिरहन्छ तसर्थ सबै दुःखहरुको मूल कारण तृष्णाबाट बच, आप्mनो मनलाई बसमा राख । तृष्णाको कारण अविद्या(अज्ञानता) हो, आत्मलाई अनात्म देख्नु, नित्यलाई अनित्य देख्नु, सत्यलाई असत्य देख्नु, धर्मलाई अधर्म देख्नु अविद्या हो र अविद्या निवारणको उपाय ध्यान हो, ध्यानको मूलविधि विपश्यना(जस्तो छ त्यस्तै देख्नु) आनापान सति(आउदै–जादै गरेको श्वास–प्रश्वासलाई जस्ताको तस्तै हेरिरहनु) हो, आफनो जीवनमा ध्यान साधनालाई निष्ठापूर्वक अनुशरण गर ।”

(३)दुःख निरोध (End of Suffering)
बुद्ध भगवान भन्नुहुन्छ, “यदि मानिसले अन्तर हृदयदेखि चाह्यो भने उसको जीवनबाट स्थाइ रुपमा दुःख निरोध गर्न सकिन्छ । ध्यान साधनाको माध्यमबाट निर्वाण(इटरनल लिबरेसन) प्राप्त गरेर तृष्णाका श्रृंखलाहरुको अन्त्य गर्न सकिन्छ, यसपछि संस्कार उत्पन्न हुदैन र जन्म, मृत्यु, जरा, व्याधिको दुःखदायि चक्रबाट मुक्ति पाउन सकिन्छ । ध्यानको अग्निमा संस्कार उत्पन्न गर्ने तृष्णाका श्रृंखलाहरु जलाइदिएपछि फेरी जन्म लिनु पर्दैन । ध्यानबाट निर्वाण प्राप्त हुन्छ । निर्वाण प्राप्त गर्ने क्रममा निर्वाणको प्रभावले दुई प्रकारका महत्वपूर्ण प्रक्रियाहरु घटित गराउछ र मानिसलाई सदाकालागि परमशान्तिमा स्थित गराइदिन्छ । निर्वाणका दुई अर्थ तथा दुई प्रक्रिया रहेका छन्– (१)निभ्नु अर्थात निभाउनु– तृष्णाको आगो निभाउनु । मनका तृष्णाहरुको दन्किरहेको आगो अर्थात आशक्ति निभेपछि जन्म लिनुपर्ने सबै कारणहरुवाट मुक्ति मिल्छ । र (२)नाश अर्थात नाश गर्नु– अविद्याको नाश गर्नु । अविद्याको नाश भएपछि अज्ञानताका वादलहरुले घेर्न छोड्छन् र आत्मलाई आत्म, सत्यलाई सत्य, नित्यलाई नित्य, धर्मलाई धर्म कै रुपमा देख्न तथा बुझ्न सक्ने क्षमताको विकास हुन्छ र मनुष्यलाई निर्वाणमा उपलव्ध हुन मद्धत मिल्छ ।” 

(४)दुःख निरोध प्रतिपद गामिनी (Path Leading to End of Suffering)
मानिसका सबै प्रकारका दुःखहरुको निरोध गर्ने उपायहरु छन् । दुःख उत्पन्न गर्ने तृष्णाको दन्किरहेको आगो निभाउन र अज्ञानतालाई नाश गर्न अनुशासनको पालना गर्नुपर्दछ र अनुशासन पालना गराउने आठ प्रकारका मार्ग तथा बाटाहरु छन् यसलाई बौद्ध दर्शनमा अष्टांगीक मार्गका रुपमा विस्तृत व्याख्या गरिएको छ कि के–के गरेर तथा नगरेर कसरी मानिसले जीवनमा आफूलाई नैतिकवान र अनुशासित बनाउन सक्छ र आफूलाई मानवीय धर्ममा लगाउन सक्छ । 

अष्टांगीक मार्ग (Eight Fold Path to End of Suffering)
मानिसको सांसारीक जीवनमा दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ र दुःख निवारणका उपायहरु छन् भन्दै उपाय स्वरुप भगवान बुद्धले मानिसको जीवनलाई सरल र सहज बनाउन निन्म आठ उपाय तथा मार्गहरु सुझाउनु भएको छ जसलाई बौद्ध दर्शनमा अष्टांगीक मार्गका रुपमा व्याख्या गरिएको छ– (१)सम्यक दृष्टि, (२)सम्यक संकल्प, (३)सम्यक वाक, (४)सम्यक कर्मान्त, (५)सम्यक आजिविका, (६)सम्यक व्यायाम, (७)सम्यक स्मृति, र (८)सम्यक समाधि । सम्यकको शाव्दिक अर्थ मध्यम मार्ग तथा सन्तुलित अवस्था हो । अष्टांगीक मार्गमा प्रयोग गरिएको सम्यक शव्दको वास्तविक अर्थ, मर्म तथा मान्यता आफ्नो जीवनलाई अतितिर अर्थात सुखसयल तथा सुखभोगप्रति ज्यादा आशक्त गराउनेतिर पनि नलैजाउ र आफ्नो जीवनलाई अति दुःख हुनेगरि अतिआवश्यक विषयहरुबाट बन्चित गराउने पनि नगर, मध्यमा तथा सन्तुलनमा बस तथा मध्यमार्गी बन भन्ने हो । 


वर्तमान समयमा विश्वमा प्रचलनमा रहेका प्रायजसो धर्म, सम्प्रदायहरुमा ध्यान तथा तप गर्ने भनेपछि जीवनलाई सबैतिरबाट अलग गर्ने, मनका सामान्य तथा प्राकृतिक आवश्यकताहरु समेत दबाउने र शरीरलाई तपाउने तथा शरीर नै समस्याको मूल जड हो यसलाई सताउनु पर्छ, सुकाउनु पर्छ भन्ने मान्यता राखेर शरीरका अति आवश्यकीय आधारभूत आवश्यकताहरु(खानपान, पोषण, न्युनतम सुविधा, सुरक्षा, हेरचाह तथा उपचार)बाट समेत बन्चित गर्ने तथा गराउने गरिन्छ । स्वयं भगवान बुद्धले पनि अज्ञानवस तपस्याको क्रममा आफ्नो शरीरलाई तपाउनु तथा सुकाउनु भएको थियो तर पछि वहाँ स्वयंलाई यो बोध(ज्ञान) भयो कि निर्वाण प्राप्त गर्नकालागि शरीर तपाउनु आवश्यक छैन । शरीरलाई तपाउनु हुदैन बरु उचित प्रकारले शरीरको सक्दो सेवा गर्नु पर्दछ किनकी शरीर नै माध्यम हो सबै कुरा प्राप्त गर्न सहयोग गर्ने । सांसारीक जीवनमा मानसिक तथा भावनात्मक शान्तिकालागि सुख, खुशीको अनुभूति गराउने शरीर तथा मनले नै हो । मनुष्य शान्त र आनन्दित नभइकन आफूभित्रको अन्तरयात्रा गर्न सक्दैन र आत्मातिरको अन्तरयात्रा नगरीकन मनुष्यको जीवनमा कुनैपनि प्रकारका आध्यात्मिक उपलव्धिहरु जीवनमा हासिल हुन सम्भव छैन । आफ्नो जीवनमा सांसारीक र पारमार्थिक दुवैतिरको प्रगतिकालागि सबैभन्दा महत्वपूर्ण सहयोगी साधननै शरीर हो तसर्थ शरीरलाई नतपाउ मध्यमार्गमा रहेर ध्यान साधनाको यात्रामा अगाडि बढौं । ध्यान साधना तथा तपोवलको माध्यमबाट निर्वाणमा उपलव्ध हुनकालागि शरीरलाई अति सुख तथा अति दुःखमा नराखी मध्यमार्गी भएर नैतिकवान हुनु, अनुशासित हुनु र मानवीय भावले भरिनु अति आवश्यक हुन्छ तसर्थ दुवै प्रकारका अति भावबाट बचौ र सम्यक अर्थात मध्यमार्गी बनेर सहज र सरल प्रकारले जीवन जिउँ र अरुलाई पनि यस्तै सम्यक प्रेरणा प्रदान गरौं, यति गरे ढिलो चाँढो अवश्य जीवनमा निर्वाण घटित हुनेछ ।  bsirjana@gmail.com


छिट्टै,
अष्टांगींक मार्ग- (१)सम्यक दृष्टि, (२)सम्यक संकल्प, (३)सम्यक वाक, (४)सम्यक कर्मान्त, (५)सम्यक आजिविका, (६)सम्यक व्यायाम, (७)सम्यक स्मृति, र (८)सम्यक समाधि ।

No comments:

Post a Comment