कथा
लामो समयदेखि बन्द कोठाभित्र चलिरहेको दोहोरो संवादको आवाज वाहिरसम्म पुगिरहेको थियो किनकी संवाद अलि असामान्य भएको थियो । जहाँ आत्मसम्मान र स्वाभिमानको सन्दर्भ आउछ त्यहाँ अनायासै सबैको आवाज स्वतः प्रतिवादमा परिणत हुन्छ ।
“...हजूर, हो, सहि सुन्नुभयो हजूरले, म एक्काइसौं शताव्दीकी गार्गी हुँ... ।”
अलि प्रतिवादले भरिएको भावमा लैंगिक विभेदको सन्दर्भमा एक योगी पुरुष(लोग्ने मान्छे)लाई म यो भावमा आफ्नो परिचय दिरहेको थिएं । प्रतिवादको भाव त्यहाँ स्वतः प्रष्फुटित हुन्छ जव कसैको क्षमतामाथि उसका अनुभव तथा गुणहरुको परख नगरिकन उमाथि शंकाको नजरले हेरिन्छ र उसको उपलव्धिलाई स्वीकार गरिदैन । सामुन्नेको व्यक्तिसंग नजर जुधाएर मैले सवालको जवाफ दिदै अझै थपें,
“हो..., एउटी गार्गी सनातन वैदिक समाजमा थिइन आज भन्दा तीन हजार वर्ष अगाडि र म आजकी गार्गी हुँ... ।”
यस्ता प्रतिवाद भावले भरिएका अभिव्यक्तिहरु नचाहेर पनि बोल्नुपर्ने बाध्यता हुनेगर्छ मलाई कहिलेकाहीं किनकी म मनुष्यको नैसर्गीक स्वतन्त्रता र समानताको सम्मान गर्ने र व्यवकारिक रुपमा त्यसलाई अनुशरण गर्ने व्यक्ति हुँ । म आफूलाई लिंग, वर्ग, जात-जातिको, सानो-ठूलोको संकीर्ण घेराभित्र कहिल्यै पनि राख्दिन । सबै मनुष्य हुन्, सबैको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक प्रक्रियाहरु उसैगरि चल्छन् । यही नै प्रकृतिको सबैभन्दा अकाट्य नियम हो र सर्वाधिक महत्वपूर्ण विषय हो । आकार, रंग, रुप, नाम यी त सबै कृत्रिम विषय हुन् जो असत्य र अनित्य छन्, माया र भ्रमयुक्त छन् ।
मेरो पिताजी अत्यन्तै धार्मिक तथा आध्यात्मिक प्रकृतिको व्यक्ति हुनुहुन्छ । माटोका झिंगटीले छाएको घरको बरण्डामा बसेर पश्चिममा डुब्न लागेका सूर्यनाराणले छरिरहेका सगरमा आगो लागे जस्तो देखिने सुन्तले आकाशको सन्ध्या रुपको कान्तिको आनन्द लिदै एक साँझ हामी सनातन अध्यात्म दर्शनका केही विषयहरुमा सवाल–जवाफ गरेर बसिरहेको थियौं । मैले पिताजीलाई जन्म र पूनरजन्मबारे केही सनातन शास्त्रमा उल्लेख गरिएका ज्ञानमाथि प्रकाश पार्न अनुरोध गरें । वहाँ आध्यत्मिक विषयमा वातचित गर्न बढो रुचि मान्नुहुन्छ ।
“...जन्म र पूनरजन्मबारे... !?”
मेरो अनुरोधको विषयलाई दोहोर्याउदै, पचास वसन्त पार गरिसकेको चम्किलो आभा भएको चेहरामा मिठो र मन्द प्रौढ मुस्कान भर्दै वहाँले प्रसन्न मुद्रामा भन्न शुरु गर्नुभयो,
“पूर्वीय सनातन अध्यात्म दर्शनका मूल ग्रन्थहरुमा उल्लेख भएअनुसार यस्तो मान्यता रहदै आएको छ कि मनुष्यले आफ्नो नयाँ जन्मसंगै पूराना जन्मका धेरै संस्कार तथा गुणहरु लिएर आएको हुन्छ । हुर्कदै जाने क्रममा उभित्र अघिल्ला जन्महरुका पूराना संस्कार तथा गुणहरु उमाथि हावी हुदै जान्छन् र सहि वातावरण तथा अवसरहरु प्राप्त भएपछि उसको व्यवहार तथा जीवनमा ती संस्कार तथा गुणहरु प्रष्फुटित हुन थान्छन् । यस्ता संस्कार तथा गुणहरु सकारात्मक र नकारात्मक दुवै प्रकारका हुन सक्दछन् । यहीकारण वर्तमान जीवनमा हरेक मनुष्यका संस्कार तथा गुणहरु एकआपसमा मिल्दैनन् । जीवनका विभिन्न आयामहरुमा एक व्यक्तिबाट अर्को व्यक्ति अलग देखिन्छन् उनीहरु एकै प्रकारको वातावरणमा हुर्किएका भएपनि । तिमीहरु दाजु, बहिनीहरुको पनि त सोच, विचार, रुचि, बानी, व्यवहार एकको अर्कोसंग मेल खादैन नि त... ! हो यही नै हो शास्त्रमा उल्लेख गरिएको जन्म र पूनरजन्मको विषय । यस्तो अवस्था मनुष्यको संचित कर्म तथा प्रारव्ध कर्म का कारणले हुने गर्दछ । संचित कर्म र प्रारव्ध कर्मकाबारे पछि फेरी वातचित गरौंला... ।”
पिताजीकै ज्ञान दोहार्याछु म पनि, ‘अकाट्य प्राकृतिक नियम अनुसार प्रकृतिमा जन्मिएका सबै जिवित मनुष्य, जीव, प्राणीको मृत्यु निश्चित छ, अनि जहाँ मृत्यु निश्चित छ त्यहाँ पूनरजन्म सुनिश्चित छ ।’ यही ऋत अनुसार मेरो पनि जन्म भएको थियो प्राकृतिक रुपमा तर एक अत्यन्तै अलग प्रकारले अविश्वसनिय अवस्थामा । माता–पिता र परिवारका अग्रज व्यक्तित्वहरुले त्यसताका गर्नु भएको अनुभव अनुसार मेरो जन्म आमशिशुहरुको जन्म भन्दा फरक अवस्थामा भएको थियो रे । यो सबैको अनुभवमा आएको सर्वाधिक प्रामाणिक विषय हो कि हरेक शिशुहरु प्राकृतिक रुपमा जन्मदा माताको प्रनजनन् अंगबाट रातो रगत बहन्छ र शिशुको शरीरमा पोतिएको माताको शरीरको रगत पनि रातो नै हुन्छ र शिशुको शरीरको छालाको रंग माता–पिता तथा निकट परिवारका सदस्यहरुसंग मिल्दोजुल्दो हुन्छ । तर मेरो जन्मको सन्दर्भ यो वास्तविकता भन्दा निकै फरक थियो रे ।
विगतका वातचित भैरहेको मौन समयको सन्नाटा चिर्दै म पट्टि हेर्दै अनायसै माताजीले भन्नुभयो,
“मेरो मनमा अहिलेसम्म स्पष्ट नभएको कुरा र बेलाबेलामा त्यो के भएको थियो अहिलेसम्म कहिं, कतै नदेखेको र नसुनेको कुरा तेरो जन्मको सन्दर्भमा रहेको छ । यो सवाल अझैसम्म मेरो मनमा उठिरहन्छ र अझै पनि शरीरभरि काँढा उम्रिन्छन् ती दृश्यहरुलाई सम्झदा । हत्तेरीका मरेर बाचिएको थियो, साँच्चिनै के भएको थियो होला त्यो... !?”
म अचम्म मान्दै वहाँको विगतको भयले त्रसित चेहरा हेरेर अवाक बनिरहें, वहाँले भन्दै जानुभयो,
“तेरो जन्म हुदा मेरो प्रजनन् अंगबाट साग मिच्दा निस्कने जस्तो हरियो तरल पदार्थ बहेको थियो र तेरो शरीरमा पनि हरियो तरल पदार्थनै पोतिएको थियो, अनि तेरो शरीरको रंग कतै हरियो कतै निलो थियो । आजभन्दा तीस वर्षअघिको समय भएकोले तत्कालीन गाउँ, समाजमा गर्भमा रहेका केही भ्रूणहरुलाई पिशाचले, नाग-नागीनले, देवी-देवताले नजर लगाएका हुन्छन् भन्थे र विस्तारै उसलाई खान्छन् अथवा लान्छन् भन्ने विश्वास गरिन्थो । तेरो जन्म र शरीरको अवस्थाको सन्दर्भमा पनि यस्तै अनुमान र विश्वास गरेर यो शिशु बाच्दिन, यसकालागि धेरै मेहनत नगरौं, माउलाई चाहिं बचाउँ भन्ने पारिवारिक निर्णय अनुसार तिनै प्रयासहरुमा दिनहरु बित्दै गए । तर तँ मरिनस, बाँचिस र जन्म भएको छ महिना पश्चात अरु शिशुहरु जस्तै सामान्य देखिन थालिस र एकवर्ष पुग्दानपुग्दै आकर्षक र रहरलाग्दी देखिन थालिस् ।”
मेरो जन्मको अनौठो अवस्थाको स्मरण गर्दै यस सन्दर्भमा एकदिन मेरो जीवनका हरेक सकारात्मक उपलव्धिहरुमा हृदयदेखि नै प्रसन्नता व्यक्त गर्ने मेरो स्वर्गीय फुपूले मलाई अत्यत्नै प्रेमपूर्ण भावले हेर्दै, मेरो शरीरमा न्यानो स्नेहले भरिएका वहाँका कोमल हातहरु सलबलाउदै गहभरि अश्रु पारेर भन्नुभयो, “...यति सुन्दर हुनुरहेछ, यत्रो गर्नुरहेछ, यस्ती बन्नुरहेछ मेरी बाबा...! तँ जन्मेपछि तेरो अवस्था देखेर यो पिशाचले खाएको गर्भ रहेछ भनेर हामीले तँलाई स्वीकार गरेनौं, अलग्ग विस्तरामा पल्टाएर पर पन्सायौं, तँ हाम्री होइन रहिछस् भनेर तर मानवता चाहिं भुलेनौं हामीले, तैंले भोक व्यक्त गर्दा आमाकै दुध चुसायौं, नयाँ शिशुलाई आवश्यक पर्ने तातो न्यानो पनि प्रदान गर्यौं... अनि... अनि... स्तव्ध, सन्नाटा... ।”
फुपूका दुई आँखाबाट खसेका बलिन्द्र धारा आँशु गालाको मार्ग हुदै फुपूको पहेंलो चोली चिस्याउदै त्यहीं बिलाउथे । गला अवरुद्ध भएर फुपूले त्यसपछिका घटना तथा विषयहरु सुनाउनै सक्नु भएन । मेरो माता–पिताले पनि यस्तै अभिव्यक्तिहरु बारबार व्यक्त गर्नु भएको थियो मसंग ।
म छ महिना भएपछिका मेरा हुर्काइका दिनहरु परिवार तथा समाजकालागि सामान्य रहे तर माता–पिता र मेरोलागि असामान्य र रहस्यमय नै रहे । माताजी ती दिनहरु सम्झिरहनु हुन्छ र भन्नु हुन्छ,
"तँ आम बच्चाहरु जस्तो थिइनस्, तेरो रुचि, बानी, व्यवहार, बोलि, मिझास अलि फरक प्रकारको थियो । सन्तोकी, भलाद्मी, नरुने, जोसंग पनि मान्ने, आफ्नो मुस्कान, बोली र व्यवहारले अरुलाई मुग्ध पार्ने... ।"
कहिलेकाहीं पारिवारीक माहोलमा पुराना विषहरुलाई स्मरण गरेर समय बिताउने मन भएको बखतमा माता–पितासंग मेरो हुर्काइ र त्यतिबेलाका रमाइला गतिविधिहरुलाई स्मरण गर्दा वहाँहरुले बिर्सिनु भएका कुराहरु मैले थपिदिन्छु, त्यसो होइन यसो हो भनेर । अनि वहाँहरु अत्यन्तै अचम्मित पर्नुहुन्छ र भन्नुहुन्छ,
“तँ त्यतिबेला अढाइ वर्षकी मात्र थिस्, तँलाई कसरी थाहा हुन्छ त्यतिबेलाका कुरा !?”
म झन उत्सुकता मानेर पुरै इतिहास खोल्दिन्छु त्यो पछि त्यो भयो, त्यसलेले त्यसो भन्यो, उसले त्यसो गर्यो... आदि । अनि वहाँहरु हाँस्दै मान्न तयार हुनुहन्छ र अढाइ वर्षको उमेरदेखिको मेरो स्मरण क्षमताको प्रशंशा गर्दै भन्नुहुन्छ,
“यो असामान्य कुरा हो, परिवारका अरु बच्चाहरुको बातचितमा अढाइ वर्षदेखिका कुरा स्मृतिमा आएको थाहा पाएका छैनौं हामीले अहिलेसम्म ।”
सामान्य हुर्काइमा हुर्कदै प्राकृतिक विकासक्रमको नियम अनुसार म किशोरावस्थामा प्रवेश गर्ने संघारम थिएं । विद्यालय, शैक्षिक संस्था, परिवार, समाज र प्रकृतिबाट सिकाइने तथा सिक्ने औपचारिक तथा अनौपचारिक शिक्षा लिदै म हुर्कदै गएं । शुरुशुरुमा त मैले थाहा पाइन आफू कस्तो छु भनेर, आफूलाई अरु सबै जस्तो नै छु तथा अरु पनि म जस्तै छन्, मैले अनुभव गरिरहेका दृश्य तथा विषयहरु उनीहरुले पनि अनुभव गर्छन होला भन्ने जस्तो लाग्थ्यो । १२ वर्षको उमेर अर्थात प्रथम रजश्वलाको समय पश्चात मेरो आफ्नै बुझाइमा एकपछि अर्को गर्दै मैले आफूलाई अरुको दाँजोमा फरक प्रकृतिमा पाउदै गएं र यो शिलशिला अझैसम्म यसैगरि चलिरहेको छ । म आफैंले आफैंलाई राम्ररी जान्न तथा चिन्न सकेको छैन र म आफ्नैलागि झनझन रहस्यमय बन्दै गैरहेको छु । यो रहस्यको विषय हो मेरा चर्मचक्षु बन्द हुदा मलाई आउने दृश्यहरु र मेरो सपनामा आउने अलौकिक दृश्यहरु । म ६–७ वर्षको उमेरमा हुदा राति ओछ्यानमा सुत्न गएपछि निदाउनुअघि बन्द आँखामा हरेक दिन मलाई ब्रम्हाण्डका अनौठा-अनौठा दृश्यहरु आउथे– तारा, नक्षेत्र, कालो सुरुङ, तारैतारा भएको अनन्त आकाश, निरन्तर आफ्नो गतिमा चलिरहेका आकाशीय पिण्डहरु...। त्यस्तै, सपनामा म आफूलाई एक्लै कहिं गहिरो गुफाको अध्यारो कुनामा पाउथें र त्यहाँ अरु केही हुदैनथ्यो वरिपरि, मात्र कालो रंगको झण्डै एकफिट अग्लो शिवलिंग देख्थें सानो चट्टानको थुम्कोमाथि गहिरो गुफाभित्र । कहिले उच्च पहाडको चचुरोमा पुग्थें, काग, गीद्ध र अरु पंक्षीहरु मेरो शिरमाथि उडिरहेका हुन्थे कराउदै, केही मेरो शिरमा बस्न खोज्ने दृश्यहरु आउथे, केहीले टोक्न खोजेका दृश्यहरु आउथे । कहिले पानीको ठूलो जलासय अगाडि आफूलाई एक्लै जलका लहरहरुलाई नियालीरहेको देख्थें । कहिले विशाल मुसलधारे वर्षामा एक्लै रुझ्दै बाटो हराएर घरि यता घरि उता हिडिरहन्थें, आत्तिन्थे । ठूलो वर्षाको कारण टेकेको ठाउँको माटो मेरो शरीरको बोझले थिचिएर पहिरो जान्थ्यो र म चिप्लेर काल्लामूनि तलसम्म पुग्थें, बल्ल-बल्ल उठेर जराबुटा समाउदै माथि आउथें... । सपनामा धर्म शास्त्रहरु, पढ्न नजान्ने अक्षरहरु देख्थें । ती शास्त्रहरु आफैं पल्टिन्थे, कहिलेकाही पानाहरु आर्फैं लामा हुन्थे बाटोमा गलैंचा बिच्छ्याए जस्तो अनि ती पानामाथि ७–८ वर्षकी सेतो पहिरन पहिरिएकी कन्या उभिन्थिन् र मलाई पिठ्यु फर्काएर शास्त्रको पानामाथि सुस्तरी हिड्दै टाढा पुगेर अदृश्य हुन्थिन्...।
त्यतिबेला मलाई केहीपनि थाहा थिएन यो के भैरहेको थियो भनेर । मलाई लाग्थ्यो म जस्ता अरु बालबालिकाहरुले पनि यस्ता दृश्यहरु देख्छन् होला । आठ कक्षामा पुगेपछि विज्ञान विषय पढ्दा मलाई पहिलो पटक थाहा भयो ती दृश्यहरु ब्रम्हाण्डका र सनातन धर्म शास्त्रहरुका रहेछन् भनेर । अहिले आफैंलाई अनुमान मात्र होइन एकिननै भैरहेको छ १४-१५ वर्षयता निरन्तर गरिरहेको अध्यात्म साधनामा आफूलाई आइरहेका अलौकिक दृश्यहरुसंग जोडेर तथा तुलना गरेर हेर्दा । चेतन अवस्था र सपानमा आउने ती सबै दृश्यहरु ब्रम्हाण्ड तथा परमात्माकै संकेतहरु रहेछन् । तर ८–९ वर्षको उमेरपछि विस्तारै यी दृश्यहरु आउन कम हुदै गएका थिए, मेरो पहिलो रजश्वलापछि मलाई त्यस्ता अलौकिक दृश्य र सपनाहरु आउन पूर्ण रुपमा बन्द भए र म ३५ वर्षको भएपछि अर्थात १४-१५ वर्ष अघिदेखि मेरो जन्मकुण्डली अनुसार केतु छायाँ ग्रहको विमशोत्तरी अन्तरदशा प्रारम्भ भएपछि पुनः तीनै दृश्यहरु अझ घना र रहस्मयी भएर दोहोरिन थाले । तर सायद पहिलो रजश्वलापछि मेरो जीवन अर्को चरणमा प्रवेश गर्यो र ती अलौकिक दृश्यहरु आउन बन्द भए ।
म १२ वर्ष पुगेको थिएं, सात कक्षामा पढिरहदा मेरो पहिलो रजश्वला भएको थियो । यतिबेलासम्म म परिवारमा हरप्रकारले समान, स्वतन्त्र र स्वीकार्य थिएं तर यसपछिका दिनहरुमा ममाथि हाम्रा सनातन हिन्दु संस्कारका यस्तो र उस्तो भन्ने परम्परा र रहनसहनहरु थोपारिन थालियो र शुरुभयो छोरी मान्छेले गर्न हुने र गर्न नहुने विषयका श्रींखलाहरु । पहिलो रजश्वलामा आफ्नो घरबाट टाढा अरुको घरमा लुकेर बस्नुपर्छ १२ दिनसम्म, सूर्य हेर्नु हुदैन, घरका पुरुष सदव्यहरुको चेहरा देख्नु हुदैन आयु घट्छ, फूलेका तथा फलेका वनस्पतिहरु हेर्नु, छुनु तथा टेक्नु हुदैन, गाई छुनु हुदैन, गाइका गोरष खानु हदैन... । रजश्वलापछि छोरी मान्छे जवान भएको संकेत हो, यसपछि छोरी मान्छे यस्तो हुनुपर्छ, त्यस्तो हुनु हुदैन, यसो गर्नु हुदैन, त्यसो गर्नु हुदैन, यहाँ जानु हुन्छ, त्यहाँ जान हुदैन... आदि केके हो केके... । म किन भनेर सवाल गर्ने प्रयास गर्थें तर हाम्रो सनातन हिन्दु धर्म, संस्कृति मान्ने घरपरिवार तथा समाजमा खासगरि सांस्कृतिक, धार्मिक तथा सामाजिक विषयहरुमा उठाइएका सवाल तथा तर्कहरुलाई कुतर्क मान्ने गरिन्छ र जे चल्दै आइरहेको छ त्यसलाई चुपचाप अनुशरण गर्न आदेश दिइन्छ माता-पिता तथा अग्रजहरुबाट । जसले अनुशरण गर्दैन उ विविध प्रकारले जानेर या नजानेर दृश्य तथा अदृश्य रुपमा सजायको भागी हुनु पर्दछ ।
पहिलो रजश्वला अघिसम्म आवश्यक विषयहरुमा आफ्ना कुराहरु, इच्छाहरु, अनुभवहरु भन्ने, बोल्ने, हाँस्ने, अरुका कुरा सुन्ने, अरुलाई हँसाउने व्यक्ति म अव विस्तारै नबोल्ने, चुपचाप बस्ने, एकान्त प्रिय बन्दै गैरहेको थिएं र सात कक्षामा पढ्दादेखि नै मैले आफूले आफूलाई अरुबाट विस्तारै अलग गर्दै गएं । आफूलाई क्रमशः अक्षरहरुको माध्यमबाट व्यक्त गर्न थालें । अक्षर र पुस्तकहरुलाई नै आफ्ना साथीहरु बनाउन थालें को थिएं, म विस्तारै अन्तरमञखी बन्दै गैरहेको थिएं । एक्लै आफ्नो कोठमा बसेर म कविता, कथा, नाटक, निवन्ध, आख्यानहरु लेख्ने र अरुले लेखेका कृतिहरु पढ्न थालें । अधिकांश समय आफूलाई आफूभित्र र आफ्नो कोठाभित्र सिमित गर्न थालें । त्यसयता मेरो समय बिताउने माध्यम यीनै अक्षरले भरिएका कापिहरु, विद्यालयका पुस्तक तथा कापिहरु र तत्कालीन समयमा उपलव्ध हुनसक्ने पत्रपत्रिका तथा साहित्यिक पाठ्य सामग्रीहरु र रेडियो हुदै गएका थिए । विस्तारै म यति चुप भएंकी परिवारमा मलाई यसले बोल्नै बिर्सि, लाटी भइ भनेर मलाई बोलाउने सम्वोधन नै लाटी बन्यो ।
हो, म अरु समक्ष लाटी जस्तो देखिएं तर म आफ्नोलागि लाटी थिइन । मेरो साँघुरो समझ, सानो वुद्धिमा विशेषप्रकारका तर्क र सवालहरु जन्मिरहेका थिए । मभित्र एकप्रकारको अग्नि दन्किरहेको थियो घरपरिवार र समाजमा व्याप्त छोरी मान्छे र छोरो मान्छे तथा स्त्री र पुरुषविच गरिने विभेदका चांगहरु देखेर । यो किन, यस्तो किन, केकालागि यस्तो भन्ने सवालको जवाफ कसैले दिदैन्थ्यो, जवाफको साटो सबै हप्काउन उद्दत देखिन्थे र अवदेखि यस्ता के, किन जस्ता कुतर्कहरु नगरेर संस्कारी हुने पाठ सिकाउथे जसले मेरो आन्तरिक प्रतिवाद र विद्रोहमा दिनदिनै झनझन उच्च प्रज्वलनको वर्तन थपिरहेको थियो ।
‘प्रतिवाद र विद्रोह’ भन्ने शव्दावलीहरु सुन्दा अलि नकारात्मक र कठोर जस्तो लाग्न सक्छ तर यो वाहिरी रुपमा अरुसंग भैरहेको थिएन, मभित्र मात्र चलिरहेको वा अझ भनौं दन्किरहेको अतृप्त डढेलो थियो । यसले मेरो बाहेक अरु कसैको अमनचैन र शान्तिलाई बिथोलेको थिएन । प्रारम्भमा छोरी मान्छे र छोरो मान्छे, छोरी मान्छे यस्तो हुनुपर्छ र छोरो मान्छे यस्तो हुनुपर्छ भन्ने केही शव्दावली र विषयहरुले मात्र मेरो शान्ति भंग गरेका थिए तर विस्तारै यो फेहरीस्त बढ्दै गयो । ‘छोरी मान्छे’ र ‘छोरो मान्छे’ भन्ने परिवार र समाजले लगाएको परिभाषाको अर्थ र आधार खोज्न भ्याएकै थिइन मैले फेरी अर्को अझ ठूलो भार थपियो मेरो सानो मस्तिष्कमा, ‘छोरी मान्छे अर्थात श्रीमती दाषी हो छोरो मान्छे अर्थात श्रीमान मालिक हो ।’ मालिकको अर्थ त थोरैतिनै बुझेको थिएं घरमूलि हो भनेर किनकी गाउँ, समाजमा श्रीमतीहरुले आफ्नो श्रीमानलाई मालिक भनेर सम्वोधन गरेको सुन्दै आइरहेको थिएं, घरमा राखेका नोकरचारले पनि मालिक नै सम्वोधन गर्ने गर्थे घरमूलीलाई, यो मेरो समझ वाहिरको कुरा थियो । 'दाषी' शव्द मैले पहिलोपटक सुनेको थिएं, यो शव्द मेरोलागि विलकुल नयाँ थियो । मैले आफ्नै प्रयासले दाषी शव्दको अर्थ खोज्ने र बुझ्ने प्रयास गरें किनकी कसैलाई सोधे पनि मैले सहज रुपमा त्यसको जवाफ पाउने अवस्था थिएन ।
शुरुशुरुमा मालिक र दाषी भनेको मैले घरपरिवार, गाउँ, समाजमा कहिलेकाहीं देख्दै र सुन्दै आएका श्रीमान र श्रीमतीविचका अनौपचारिक संवाद तथा गतिविधिहरु हुनकी जस्तो लाग्यो मलाई । जस्तोकि, श्रीमतीले श्रीमानलाई मालिक, तपाईं, हजूर भनेर शिर झुकाएर नम्र स्वरमा सम्मान पूर्वक सम्वोधन गर्ने तर श्रीमानले श्रीमतीलाई उनको सग्लो मान समेत बिगारेर बिगारेको नामले ठाडो किसिमले बोलाउने, बिना नामले पनि अनौपचारिक किसिमले सम्वोधन गर्ने, तँ भन्ने, ठूलो श्वरमा बोल्ने, हप्काउने, अपमानजनक शव्दहरु प्रयोग गर्ने, आँखा तरेर हेर्ने आदि जस्ता गतिविधिहरु मालिक र दाषीका मापदण्डहरु होलान् जस्तो लागेको थियो । मैले परिवार र समाजका हरप्रकारका गतिविधिहरु अझै नियालिरहें मेरो मनभित्र उठेका सवालहरुको जवाफ खोज्न तर पाइरहेको थिइन । कसैलाई सोध्न पनि मन थिएन किनकी यस्ता कुरा सोध्नु पनि छोरी मान्छेकोलागि उपयुक्त होइन भन्ने संकेत मैले पाइसकेको थिएं । त्यसैले मैले परिवारभित्र र समाजका गतिविधिहरु अझै नियालिरहें आफ्नै प्रकारले मनभित्र उठेका सवालहरुको जवाफ खोज्न ।
झण्डै-झण्डै साँझको समयमा गाउँमा एउटा परिवारमा एकदिन अचानक मैले श्रीमानले श्रीमतीलाई जथाभावी पिट्दै गरेको देखें तर श्रीमतीले श्रीमानलाई हात फर्काएको देखिन । श्रीमानले श्रीमतीलाई भनिरहेका थिए,
"श्रीमतीलाई तँ मलाई छोड, कि अर्कोसंग पो...ल जा, कि माइत गएर उतै बस, कि आफूखुशी गर, मलाई तँ चाहिदैन, खुट्टा भए जुत्ता जतिपनि पाइन्छन्... ।"
श्रीमानले अत्यन्तै रिसाएर मालिकको भूमिका निर्वाह गर्दै गाली गरिरहेको थियो, लम्कीझम्की र बेलाबेलामा कुटपिट पनि गरिरहेको थियो तर श्रीमतीले रुदै र काप्दै अत्यन्तै डर र असुरक्षाको भावमा श्रीमानसंगै हारगुहार माग्दै उसका गोडा समातेर गिडगिडाइरहेकी थिइन्,
“हजूर नै मेरो मालिक हो, दाता हो, म हजूरको दाषी हुँ, म हजूरलाई छोडेर कहिं जान्न । मैले हजूरले भनेको सबै मानेकै छु त, हजूरले नगर, नला, नजा, नखा, नबोल भन्नु भएका सबै कुराहरु हुबहु अनुशरण गरेकै छु त, मलाई त्यसो नभन्नु बरु म मन परिन भने अर्को श्रीमती ल्याए पनि ल्याउनु तर म हजुरलाई छोडेर कहीं जान्न मेरो मालिक, मलाई छोडेर जा चाहिं नभन्नु किनकी मेरा माता–पिताले आफ्नो जेथोले भ्याएको दाइजो दिएर 'मारे पाप, पाले पुण्य' भनेर मलाई हजूरसंग जिम्मा लगाउनु भएको छ, अव त्यही आगन तेरो संसार हो, त्यहींबाट तेरो अर्थी उठ्नुपर्छ, यो आगन अव तेरोलागि बिरानो देश हो र हामी तेरोलागि पराइ हौं, के गर्नु त छोरी मान्छे भएर फुटेको कर्म लिएर जन्मिस् अव आफ्नो कर्मले गरिखानु, सुख बाड्न माइत आउनु तर दुःख उतै मिलाउनु भन्नु भएको छ, म वहाँहरुको दुःख बढाउन माइत जान्न ...।”
श्रीमती श्रीमानको गोडा समातेर डाको छोडेर रुदै हारगुहार गरिरहेकी थिइन मलाई हजूरसंगै राख्नुस् मेरो मालिक भनेर तर श्रीमान श्रीमतीलाई आफ्ना गोडाबाट छुटाउन श्रीमतीको शरीरमा तथाभावी लातैलात्ताले हानिरहेको थियो मानौं कि श्रीमती कुनै निर्जिव वस्तु हो र उसमा शरीर, मन, भावना, आत्माको कुनै चेत नै छैन... ।
१२–१३ वर्षको सानो मस्तिष्कले यसप्रकारको प्रत्यक्ष रुपमा अत्यन्तै अमानवीय र बिभत्स दृश्यबाट बल्ल बुझ्यो दाषी र मालिकको अत्यन्तै विभेदपूर्ण चरम अन्यायपूर्ण बिभत्स परिभाषा । छोरी मान्छे र छोरो मान्छेविचको विभेदको खाडल, लिंग भेद र लैंगिक विभेद... यही नै रहेछ हाम्रो हिन्दु घरपरिवार र समाजको संस्कार भन्ने बुझाइको छाप पर्यो मेरो साँघुरो र सानो मन-मसितष्कमा । दाषी भनेको आफ्ना सबै मानवीय र नैसर्गीक अधिकार र स्वतन्त्रताहरु मालिक अर्थात श्रीमान अर्थात छोरो मान्छे अर्थात पुरुषको अधिनमा सुम्पिनु पो रहेछ । छोरी मान्छे भएर जन्मिनु अभिसाप, पाप तथा फुटेको कर्म पो रहेछ र छोरो मान्छे भएर जन्मिनु पुण्य र सौभाग्य रहेछ । मेरो सानो मस्तिष्कले यस्तै नै बुझ्यो हाम्रा संस्कृति र संस्कारहरुको सन्दर्भमा यो प्रत्यक्ष दृश्याबलोनबाट । म लगायत म जस्ता धेरै छोरीहरु घरपरिवार र समाजबाट लैंगिक विभेदका यस्तै अमानवीय र विभत्स दृश्यहरु हेर्दै र चाहेर, नचाहेर सिक्दै हुर्किरहेका थिए । अन्जानमै घरपरिवार र समाजबाट सिकिरहिएका नकारात्मक किसिमले हृदय छेड्ने अनौपचारीक ज्ञान तथा नैतिक शिक्षाहरुले म लगायत अरु छोरी मान्छेहरु सबैको मन तथा भावना एक प्रकारले तयार भैरहेको थियो पितृसत्तात्मक आदर्शलाई अनुशरण गर्दै चलिरहेको समाजमा अटाउन मिल्ने गरि कि,
”...म छोरी मान्छे हुँ, मेरो जन्म अभिसाप हो, फुटेको कर्म लिएर जन्मिएको, निश्चित उमेरपछि मेरो विवाह हुन्छ, मालिकको घरमा दाषी बनाएर पठाइन्छु, मालिकका दुर्वचन र दुरव्यवहारहरु मैले पनि खेप्नुपर्छ...आदि ।”
आफू स्वयंमले देखेका घरपरिवार, गाउँ, समाजका यस्ता प्रतिनिधिमूलक प्रामाणिक गतिविधिहरुले मभित्रको शान्तिलाई अझ धेरै बिथोथिरहेको थियो र बेचैनीको उच्च तहमा पुर्याएको थियो । मालिक र दाषी विचको त्यस्तो अत्यन्तै अमानवीय र विभत्स घटनाक्रमको कारण अत्तालिएको मेरो मनले कत्तिपनि विश्राम लिन सकेन । त्यसैले मैले एकदिन हिम्मत गरेर माताजीलाई यसबारे सोध्छु भन्ने निधो गरें र त्यो दिन आयो पनि । शनिबारको दिन थियो, विद्यालय जानु पर्ने थिएन । विहानपखको समय, वाहिर चराचुरुंगीहरु चिरबिरचिरबिर कराइरहेका थिए । झ्यालबाट चिसो वतास र उकालो लाग्दै गरेको उज्यालोले सुस्तरी चिहाइरहेको थियो । माताजीले भान्सामा काठको ठेकीमा भैंसीको दहीबाट मोही पारेको घार्रघुर्र आवाज मेरो कानमा ठोक्किरहेको थियो । ठेकी र मदानीको घार्रघुर्र आवाजले मेरो निद्रा खुल्यो, झल्यास्स सम्झें माताजीलाई सोध्छु भनेको कुरा र ओछ्यानबाट जुरुक्क उठें । आँखा मिच्दै माताजीको समिपमा गएर बसें र केहीपनि भूमिका नबाधिकन सवालको जवाफ पाउने आशाले थोरै डर र थोरै हतासले भरिएको आवाजमा एक श्वासमा माताजीलाई मैले सोधें,
“माताजी, छोरी मान्छेले दाषी नबन्न के गर्नुपर्छ ?”
मतिर नफर्किकन मदानीको नेति तान्दै माताजीको छोटो जवाफ दिनुभयो,
“धेरै पढ्नु पर्छ ।”
पढाइको सिमा जान्ने उद्देश्यले मैले फेरी माताजीलाई सोधें,
“कति पढ्नुपर्छ ?”
मदानी थोरै उठाएर ठेकीमा मनतातो पानी हाल्दै वहाँले फेरी छोटो जवाफ दिनुभयो,
“बि.ए., एम.ए. पास गर्नुपर्छ ।”
घरपरिवार र सामाजिक संस्कारको सन्दर्भमा अझ स्पष्ट हुने उद्देश्यले मैले फेरी सोधें,
“त्यसपछि विवाह गरेर मालिकको घरमा नगए पनि हुन्छ मालिकको दाषी भएर ?”
यसपटक चाहिं मदानीको नेति तान्न बिश्राम लिएर मतिर फर्केर मुसुक्क हाँस्दै माताजीले फेरी उही किसिमले छोटै तर अलि बुझ्ने गरि जवाफ दिनुभयो,
“विवाह त गर्नुपर्छ तर दाषी बन्नु पर्दैन किनकी पढेका छोरी मान्छेहरु बाठा हुन्छन्, उनीहरुको आफ्नै कमाइ र इज्ययत हुन्छ । अनि कमाइ भएका श्रीमतीलाई श्रीमानले सम्मान गर्छन्, आफूलाई श्रीमतीको मालिक र श्रीमतीलाई आफ्नो दाषी बनाउदैनन्... ।”
मोही पारिसकेर नौनी झिक्दै गर्दा माताजीसंग भएको यो सौहार्दपूर्ण संवाद मेरोलागि अत्यन्तै जानकारीमूलक र उपलव्धिमुलक थियो । म मनबाट ढुक्क भएं र मेरो जिज्ञासाको जवाफ पाएपछि म मेरो कोठामा फर्कें र फेरी सिरकभित्र गुटुमुटु भएं । ठण्डीको मौसममा सिरकमा गुटमुटिएपछि मेरो शरीर त शान्त भयो तर मन–मस्तिष्कमा विचारहरुको तुफान चल्न शुरु भयो । मनमा थोरै सुखको अनुभूति भयो कमसेकम दाषी बन्नु नपर्ने उपाय त रहेछ नि भनेर र त्यत्तिनै गतिमा मन आत्तिरहेको पनि थियो, जोडतोडले आन्तरिक संवाद चलिरहेको थियो,
"ओहो त्यत्तिकाविधि कहिले पढिसक्नु, कसरी पढ्नु, कति मुस्किल हुन्छ होला ! सात कक्षा त सकियो बल्ल, आठ कक्षाको पाठ सात कक्षाको भन्दा कति धेरै गाह्रो रहेछ । बि.ए., एम.ए. त झन कति गाह्रो हुन्छ होला... ।"
म समय र वर्षको लेखो लगाउन थालें । आठ कक्षादेखि औंला भाँच्दै गएं, नौ; दश; आइ.ए. पहिलो वर्ष, आइ.ए. दोस्रो वर्ष; बि.ए. पहिलो वर्ष, बि.ए. दोस्रो वर्ष; एम.ए. पहिलो वर्ष, एम.ए. दोस्रो वर्ष... ! वर्ष ठम्याएं र आफैंसंग संवाद गरें,
“मलाई अव आठ वर्ष लाग्ने रहेछ खुरुखुरु पास गरें भनें । अवको आठ वर्षमा म २२–२३ वर्षको हुने रहेछु....।”
मैले एक निमेशमा यी सबै हिसाव–कितावहरु निकालें र मेरो सानो मस्तिष्कले ततक्षण संकल्प गर्यो जति दुःख तथा मेहनेत गर्नु परेपनि परोस, लगनशील भएर बि.ए र एम.ए. सम्म पढ्ने र म कुनैपनि हालतमा मालिकको दाषी नबन्ने, आफैं धन र इज्ययत कमाउने...। यहींबाट तय भयो मेरो उच्च शिक्षाको मार्ग र दिशा । त्यसयता मेरो औपचारीक र अनौपचारीक अध्ययन तथा लेखनले रफ्तार पक्डिदै गयो र आजपर्यन्त यो रफ्तार कम भएको छैन । म निरन्तर कसैको दाषी नबन्ने र छोरी मान्छेको जन्म अभिसाप तथा पाप र फुटेको कर्म होइन भनेर आफूले आफैंलाई सावित गरेर डर, त्रास र अन्धविश्वासमा जकडिएको परिवार र समाजमा आफैंलाई उदाहरण बनाएर पेश गर्न आज पर्यन्त लागिपरिरहेको छु म ।
ती दिनहरुमा अलि मुस्किल थियो, पाइला–पाइलामा चुनौतीहरु बाटो छेक्न आउथे तर म अत्यन्तै आत्मानुशासित भएर आफ्नो संकल्पको मार्गमा अगाडि बढिरहें । यसक्रममा धेरै सामान्य प्रकारका अवरोधहरु आए, केही आर्थिक प्रकारका र केही सांस्कृतिक, धार्मिक तथा सामाजिक प्रकारका । आर्थिक भन्दा सांस्कृतिक, धार्मिक तथा सामाजिक अवरोधहरु बढि झेल्नु परेको थियो परिवार तथा समाजमा छोरी मान्छे र छोरो मान्छेको पहिचान दिने लैंगिंक विभेदले गहिरो जरो गाडेको कारण । आफ्नो संकल्पसंगै अगाडि बढिरहदा खासगरि स्त्रीहरुकालागि अनिवार्य परम्पराका रुपमा मान्दै आइएको विवाह सम्वधमा अगाडि बढ्नुको विकल्प थिएन । विवाह भयो तर मेरो औपचारीक अध्ययन जारिनै रह्यो । नयाँ घरपरिवारको जिम्मेदारी बढ्यो तर मेरो औपचारीक अध्ययन जारिनै रह्यो । सन्तान जन्मिए तर मेरो औपचारीक अध्ययन जारिनै रह्यो, आफ्नो रुचिको पेशा व्यवसाय अंगालें यसपश्चात पनि मेरो औपचारीक अध्ययन जारिनै रह्यो र मेरो अध्ययनको शिलशिला अझै पनि जारी नै छ किनकी जीवन नै एउटा सबैभन्दा ठूलो सिकाई तथा अत्यन्तै महत्वपूर्ण विशाल महाविश्वविद्यालय रहेछ जहाँ अध्ययन गर्नु बाहेक अर्को विकल्पनै छैन जीवनलाई सहज र सहि ढंगले अगाडि बढाउन ।
मेरो आफ्नै परिभाषामा, अव अहिले त म परिपक्व भएको छु । व्यक्ति, परिवार, समाज, राज्य, विश्व, प्रकृति, जगत, परमात्माकाबारे थोरबहुत जानकारी राख्न सक्ने भएको छु । अवस्था र परिस्थिति अनुसार केही जमघट, समारोह, कार्यक्रम, संस्थाहरुमा लैंगिक विभेदहरु अझैपनि पाइला–पाइलामा मेरो अनुभवमा आइरहन्छन् तर अव मलाई यो विषयले बेचैन गर्न छोडेको छ किनकी यी दिनहरुमा अव म लैंगिक विभेदका विषयहरुलाई मुसुक्क हाँसेर सजिलै पचाउन सक्ने भएको छु । मभित्र यस्तो सकारात्मक दृष्टिकोण तथा समय सान्दर्भिक परिवर्तन आउनुमा लैंगिक विभेदयुक्त व्यवहार गर्ने तथा विभेदको सोच राख्ने व्यक्ति, संस्था, समुदाय, समाज, सम्प्रदाय तथा धर्मको उति ठूलो गल्ती म मान्दिन र देख्दिन किनकी उनीहरुले पनि मैले जसैगरि अनौपचारिक शिक्षाको माध्यमबाट सानैदेखि आफ्नो घरपरिवार, गाउँ, समाजबाट त्तस्तै प्रकारका ज्ञान तथा सिकाएहरु सिक्दै आइरहेका छन् जुन मैले अनुभव गरेको थिएं आफू हुर्कने क्रममा मेरो सानो मस्तिष्क नै त्रसित र अस्तव्यस्त हुनेगरि ।
लैंगिक विभेदको सन्दर्भमा मभित्र यस्तो सकारात्मक दृष्टिकोण बन्नुको पछाडि अर्को कारण घरपरिवार तथा समाजका विषयहरुलाई हेर्ने मेरो फरक प्रकारको दृष्टिकोण पनि हुनसक्छ किनकी अधिकांश मानिसहरुले आफ्ना बाल्यकालदेखिका यस्ता विभेदपूर्ण, अमानवीय, अन्यायपूर्ण, अनुपयोगी परम्पराका सिकाइहरुलाई जस्ताको तस्तै ग्रहण र स्वीकार गर्छन, थोरैले मात्र त्यसमाथि सवाल–जवाफ गर्छन् र अझ थोरैले मात्र त्यसबारेमा चिन्तन्, मनन् र अनुशरण गर्छन । यस्ता संस्कार तथा परम्पराहरु मानवीय छन् र सर्वकल्याणका लागि सहि छन् भने तिनलाई परिवार, समाज तथा राज्यमा अझ व्यवहारिता प्रदान गर्ने तथा बढाउने प्रयास गर्छन् । अमानवीय तथा गलत छन् भने त्यस्ता विभेदयुक्त संस्कार तथा परम्पराहरुलाई हटाउने, सूधार तथा समय सान्दर्भिक हुनेगरि परिमार्जन गरेर व्यवहारमा ल्याउने प्रयास गर्छन् । मैले चिन्तन, मननको मार्ग लिएं र लैंगिक विभेदको विषयलाई मन्थन् गरेर समय सान्दर्भिक बनाउने उद्देश्यले यसबारे जागरण ल्याउने प्रकारका विषयवस्तुहरु सबैमाझ पस्किन कापि–कलम समातें र यसैलाई आफ्नो कर्मक्षेत्र बनाएं किनकी म कसैको दाषी होइन र ममा छोरी मान्छे भएर जन्मेकोमा कुनै प्रकारको हिनता भाव पनि छैन अव । बरु आफूलाई अत्यन्तै भाग्यमानी ठान्छु र गौरव मान्छु कि प्रकृतिले मलाई स्त्री शरीरमा अस्तित्वमा ल्यायो । स्त्री हुनुको आनन्द केवल स्त्रीलाई नै थाहा हुन्छ तर यो आनन्द थाहा पाउन आफ्नो आत्मा अर्थात चेतना जाग्रीत हुनु अत्यावश्यक हुन्छ । आत्मा अर्थात चेतना जाग्रीत गर्न आफ्नो दैनिक जीवनमा अनुशासित भएर सनातन अध्यात्म विज्ञानका वैज्ञानिकतामा आधारित योग साधना(योगासन, प्राणायाम, ध्यान)का वैज्ञानिक विधि तथा पद्धतिहरुको निष्ठापूर्वक अनुशरण गर्नु अपरिहार्य हुन्छ ।
आफ्नो संकल्पमा आफैंले आफूलाई प्रोत्साहित गरिरहन समय-समयमा म उत्प्रेरणात्मक नारीवादी कविता पनि लेख्ने गर्थें र अझैपनि लेख्दै आएको छु। एउटा आफैंलाई राम्रो लागेमो मेरो नारीवादी कविता यहाँ प्रस्तुत गर्न चाहान्छु 'म हुँ आजकी नारी' शिर्षकमा-
म हुँ आजकी नारी !!!
पौराणीक धर्मग्रन्थहरुमा उधृत गरिएकी
सदा मौन बस्ने सतीदेवी होइन म
मभित्र गतिशील हुने चाहना छ !
भानुभक्तको वधुशिक्षामा परिभाषित
सहनशील शुशील वधु होइन म
म भित्र अन्याय विरुद्ध उठ्ने आवाज छ !
साहित्यकारको सिर्जनामा श्रृङगारीएकी
सदावहार कामुक स्त्री होइन म
म भित्र मेरो शरीरमा मेरो अधिकार भन्ने बुझाइ छ !
चित्रकारको क्यानभासमा पोतिएकी
निरवस्त्र अश्लिल सुन्दरी होइन म
म भित्र ब्यभिचारलाई रोक्ने सामथ्र्य छ !
अर्थहीन चलचित्रमा उभ्याइएकी
निमुखा बिचरी नारी होइन म
म भित्र आफ्नो रक्षार्थ लड्ने अदम्य बल छ !
हरेक परिवार र समाजले चाहने
सोझी, त्यागी, कमजोर महिला होइन म
मभित्र परीवर्तन ल्याउने साहस छ !
घर र परिवारभित्र मात्र सीमित रहने
समर्पित र निष्कृय गृहिणी होइन म
म भित्र सक्रिय व्यक्तित्वको तृष्णा छ !
प्रकृति र जगतप्रति उत्तरदाइत्वको बोध छ
केही गरेर देखाउने उर्जाशील क्षमता छ
गार्गी, मैत्रेयी, अपला, घोशाको छविलाई
निरन्तरता दिने सुसुप्त मनोकांक्षा छ !
किनकी म हुँ आजकी नारी
किनकी म हुँ आजकी नारी !!
यसरी १२ वर्षको उमेरदेखि अन्जानमै शुरु भएको मेरो लैंगिकता मैत्री हृदयको भाव तथा चिन्तन्, मनन् र अनुशरण निरन्तर अगाडि बढ्दै जाने क्रममा विभिन्न ऋतुहरुमा मौसम अनुसार आफ्नो स्वरुप फेरिरहने वनस्पतिहरुले झैं मेरा संकल्पका आयामहरुले पनि समय अनुरुप स्वरुपहरु फेरीरहे र फेरीरहेकै छन् किनकी निरन्तर चल्नुको नाम जिन्दगी रहेछ र जिन्दगी परमात्माले सृष्टि गरेको अत्यन्तै रहस्मय विषय रहेछ ! कहिले, कहाँ, कसरी, कुन उमेरमा, कुन दिशामा के हुन्छ, कोसंग भेट हुन्छ, कोसंग छुटिन्छ भन्नै नसकिने ! आफ्नो संकल्पमा सदा अडिग रहदै मैले हरेक मनुष्यको जीवनमा प्रत्यक्ष सरोकार राख्ने व्यक्तिगत, पारिवारिक, सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, राजनीतिक, शैक्षिक, व्यवसायिक, पेशागत सबै आयामहरुमा आफूलाई सहभागि गराएर सबैतिर लैंगिकता मैत्री अवधारणालाई नै प्राथमिकतामा राख्दै आएको छु आजसम्म । यसक्रममा केही अप्ठ्याराहरु नआएका होइनन् तर ती अवस्थाहरुसंग सामजस्य गर्नसक्ने क्षमताको विकास भैसकेको हुनाले ती अवरोधहरु पन्साएर अगाडि बढ्न मलाई खासै मुस्किल भएन विगतमा र अव पनि हुनेछैन ।
लैंगिक विभेदको सन्दर्भमा त्यतिबेलाको तुलनामा अहिलेको समयमा व्यक्ति, परिवार, समाज, संस्कृति, धर्म, अध्यात्म, राज्य, राजनीति, शिक्षामा उल्लेख्य परिवर्तन तथा सूधार आएको छ र अहिलेका छोरी मान्छे तथा स्त्रीहरुको जीवनशैली अलिक सहज र सरल भएको छ । ततपश्चात अझै पनि केही पारिवारिक, केही सामाजिक, केही सांस्कृतिक, र धेरै धार्मिक तथा आध्यात्मिक विषयहरुमा लैंगिक विभेदको अवस्था केही नरम भएको भएपनि खासै कम हुन सकेको छैन । धर्म र अध्यात्मलाई समाजमा आमरुपमा अलग–अलग स्वरुपमा बुझ्ने गरिएको भएपनि सुक्ष्म तहमा यी दुई विषयमा तात्विक अन्तर छैन किनकी 'अध्यात्म' गन्तव्य हो र 'धर्म' उक्त गन्तव्यमा पुर्याउने सशक्त मार्ग तथा माध्यम हो । सदियौंदेखि प्राज्ञ चेतनाहरुले भन्दै आएका छन् कि मनुष्य संस्कारी अर्थात सांस्कृतिक हुदै धार्मिक अर्थात कर्तव्यनिष्ठ भएपछि मात्र आध्यात्मिक बन्नसक्छ र उभित्र मानवीयता तथा सर्वकल्याणको भाव अवतरित हुनसक्छ । तसर्थ आत्यन्तिक विन्दु अध्यात्म भएकोले यी सबै शव्दावलीहरुको साझा स्वरुप तथा सम्वोधन अध्यात्मकै रुपमा बुझ्नु अर्थपूर्ण हुन्छ ।
खासगरि धर्म र अध्यात्ममा अझैसम्म जरो गाडेर रहेको लैंगिक विभेदको सन्दर्भमा म मेरो पिताजीसंग हिजोआज पनि नियमित रुपमा शास्त्रार्थ गर्ने गर्छु । हामी प्राचीन शास्त्र र नवीन शास्त्रहरुको कसीमा विषयलाई माझ्ने र चम्काउने प्रयास गर्छौं । वेदान्त ज्ञानी पिताजीसंग लैंगिक विभेदका सन्दर्भमा सनातन दर्शनका मूल शास्त्रहरुमा उल्लेख गरिएका शास्त्रीय मूल्य–मान्यताहरु जान्ने उत्सुकता राखेर म आफ्ना जिज्ञासाहरु वहाँ समक्ष राख्ने गर्छु । यसपटकको मेरो जिज्ञासा यही सेरोफेरोमा थियो,
“के पूर्वीय सनातन अध्यात्म दर्शनका मूल शास्त्रहरुमा अध्यात्म साधनाको सन्दर्भमा लैंगिक विभेदका प्रसंगहरु उल्लेख गरिएका छन् ?”
सनातन शास्त्रहरुका ज्ञाता, शरीरको आयु अनुसार आठ दशक टेक्नु भएको तर मन–मस्तिष्क अझै हराभरा राख्नुभएको पिताजी मुसुक्क मुस्काएर विषयलाई अलि गहिराइमा लाने आसय प्रकट गर्दै आफ्नो बसाइ अलि सहज गरेर यस सन्दर्भमा बोल्न प्रारम्भ गर्नुभयो,
“अहँ छैन, कहींपनि पाइएको छैन, त्यसकारणले त त्यतिबेलाको समाजमा आत्मज्ञानी, ब्रम्हज्ञानी, तत्वदर्शी. ब्रम्हवादिनी विदुषी स्त्रीहरु गार्गी, मैत्रेयी, अपला, घोसाहरुले अध्यात्मको आकाशमा श्वास लिने, फूल्ने, फल्ने, हुर्कने अवसर पाए र आ–आफ्नो इतिहास रचे । तिमी पनि आधूनिक युगकी गार्गी, मैत्रेयी, अपला, घोसा हौ, आफ्नै अनवरत साधनाको बलले माथि उठेकी । स्त्रीलाई कम आँक्नेहरुसंग नडराउ, उनीहरुसंग आमने–सामने होउ, शास्त्रार्थ गर, संवाद गर, वादविवाद गर, सवाल–जवाफ गर, प्रश्न–उत्तर गर, विवाद गर, आवश्यक परे झगडा पनि गर र सनातन दर्शनको शाश्वत सत्यको प्रकाशलाई सबैको हृदयमा प्रज्वलित गर । यो शाश्वत सत्यलाई बदनियत र व्यभिचारको पैतालामूनि भासिन नदेउ, कुरीतिहरुको दुर्गन्धमा सड्न नदेउ किनकी तिमी जस्तै अभियन्ताहरुको संकल्प र साधनाको बलले मात्र समाजमा मानवीयता मैत्री भाव र शाश्वत सत्य स्थापित हुनसक्छ र असत्य र व्यभिचारले घुँडा टेक्छ । किनकी हरेक स्त्री शुद्ध छिन्, पवित्र छिन्, बुद्ध छिन्, सत्य छिन्, नित्य छिन् । आध्यात्मिक मार्गमा स्त्री र पुरुष दुवैले समान रुपले आफ्नो चेतनाको विकास गर्न सक्छन् । अध्यात्ममा स्त्री र पुरुष दुवैकालागि समान अवसर हुन्छ किनकी अध्यात्म त स्वयं परमात्मा हो परमात्माले लैंगिक विभेद गर्दैन । परमात्माकालागि आफ्ना सबै सिर्जनहरु बराबर हुन् जसरी एक माताकालागि आफूले जन्माएका सबै सन्तान उत्तिकै प्रिय हुन्छन् ।”
पिताजीका यस्ता उत्प्रेरणाले ओतप्रोत दिव्य वाणीहरु सुनिरहदा आफूलाई अन्तरहृदयदेखि गदगद महसुस हुन्छ । आफ्नो भाग्यलाई र यस्तो भाग्य प्रदान गर्ने भाग्य विधाता समक्ष बारबार कृतज्ञताले शिर झुकाइरहन मन लाग्छ । कहिलेकाहीं मलाई लाग्छ मेरो पिताजी दारीजुँगा भएको स्त्री हुनुहुन्छ किनकी वहाँ हिन्दु समाजको पुरुष भइकन पनि म भन्दा अव्वल दर्जाको नारीवादी चिन्तक हुनुहुन्छ जसले स्त्री हृदयलाई यति नजिकबाट धार्मिक तथा आध्यात्मिक दृष्टिकोणबाट चिन्नु भएको र बुझ्नु भएको छ । हरपल सबै छोरीहरु तथा स्त्रीहरुलाई आत्मसम्मान र आत्मशक्ति जगाउने प्रकारले प्रेरणा, उत्साह, जीवनको आनन्द अनुभव गर्न सिकाउनु हुन्छ र सबै छोरीहरलाई एकमुस्ट सम्वोधन गर्दै भन्नुहुन्छ,
“हे हरेक छोरीहरु हो, तिमीहरु सबै गार्गी, मैत्रेयी, अपला, घोसाहरु हौ । तिमीहरु सबै उत्तिकै सक्षम र शक्तिसम्पन्न छौ त्यसैले अज्ञान, अल्पज्ञान, बदनियत र व्यभिचारबाट उत्पन्न भएका कुनैपनि प्रकारका अमानवीय अन्याय र थिचोमिचोहरु सहन नगर र अरुलाई पनि यो अन्याय र थिचोमिचोबाट वाहिर निकाल । किनकी आजको दिनसम्म पनि धर्म तथा अध्यात्ममा लैंगिक विभेद यो हदसम्म छ कि जव धर्म गुरु तथा अध्यात्म गुरुको विषय आउछ तव पितृसत्तात्मक आदर्शमा फूलेफलेको तथा हुर्केबढेको कृत्रिम रंग पोतिएको धर्म तथा अध्यात्मले स्त्रीको आध्यात्मिक उपलव्धि र यस उपलव्धिका लागि उनले प्राप्त गरेको नैसर्गीक अस्तित्वलाई ठाडै अस्वीकार गरिदिन्छ । स्त्रीको काविलियत माथि शंका गर्छ । स्त्रीको शक्ति, क्षमता, प्रतिभा, सक्षमता, सिर्जनशीलता र स्त्रीका अलौकिक विशेषता तथा सकारात्मक गुणहरुलाई स्वीकार गर्न सक्दैन । स्त्रीभित्र रहेको आध्यात्मिक साधनाको विषयको गंभिरताको चुरो छाम्दै नछामिकन, विषयको गहनताको तोरा नाप्दै ननापिकन सिधै इन्कार गर्छ र भन्छ आध्यात्मिकता स्त्रीको बसको विषय होइन । स्त्री शरीरले आध्यात्मिक विकास गर्ननै सक्दैन किनकी स्त्री त नर्कका द्वार हुन् । स्त्री जन्म अभिसाप हो, पाप हो । पुरुषसत्ता अत्यन्तै चलाख छ, तिमीहरु पलपलमा सावधान रहनु । पुरुषले बडो चलाखीपूर्ण ढंगले स्त्री नर्कका द्वार हुन् भन्ने झूठो आदर्श समाजमा स्थापित गरिदियो आफ्नो कुरुप मानसिकतालाई चोख्याउन । स्त्री नर्कका द्वार हुन् भन्ने पुरुषवादी झूठो आदर्श पुरुषको कुरुप मानसिकताबाट उत्पन्न भएको व्यभिचारलाई छोपछाप पार्ने ओढेत्रोको रुपमा पछिल्लो कालखण्डमा हिन्दु समाजमा हावी भैरहेको छ । स्त्रीको सन्दर्भमा यस्तो मान्यता पछिल्ला कालखण्डहरुमा विकृत हुदै गएको सनातन वैदिक समाजको नवीनतम उपज हो किनकी पुरुषले आफ्नो कामाशक्तिमा आफूलाई प्रत्याहार गर्न तथा नियन्त्रण गर्न सकेन र त्यसको दोष स्त्रीमाथि थोपरिदियो जसरी देवराज इन्द्र देवताको ब्रम्हहत्याको पाप चोख्याउन यसअघि पवित्र मानिदै आएको स्त्रीको रजश्वला; जलाशयको पानीको फिंज; र वनस्पतिको चोप तथा खोटोमाथि थोपरेर यी अवस्थाहरुलाई पाप तथा अपवित्र घोषणा गरिएको थियो ।”
पिताजीका यी परिवर्तनकारी ज्ञान र वाणीहरु सुनेर मेरो उत्सुकता झझ बढ्दै गयो । म अझ वहाँको समिप गएं र वहाँलाई यसबारे अझै गहिराइमा गएर खुलासा गर्न आग्रह गरें । वहाँमा पनि अझ उत्सुक हुनुभयो र भन्नुभयो,
“हेर छोरी, विभिन्न कालखण्डमा पितृसत्ताको शंकिर्ण मानसिकताले स्त्रीको महान उर्जासंग डराएर ब्रम्हाण्डकै सर्वाधिक सर्वमान्य शक्ति स्त्रीको रजश्वला र प्रजनन् क्षमतामाथि प्रहार गर्यो । यही महाशक्तिका कारण उनी अपवित्र र कमजोर छिन् भनेर ब्रम्हाण्डकै शाश्वत सत्यमाथि कालो पर्दा गिरायो र स्त्रीको सबैभन्दा ठूलो शक्ति तथा दिव्य विशेषतालाई आफ्नो नियन्त्रणमा लियो र आफूले चाहे अनुरुप प्रयोग गर्न थाल्यो । स्त्री प्राकृतिक रुपमै शरीर, मन, भावना र आत्मादेखि नै सुन्दर छिन्, शुद्ध छिन् र प्रेमल छिन् । हरेक पुरुष स्त्रीप्रति विभिन्न प्रकारले आकर्षित हुन्छ र हरेक स्त्री पनि पुरुषप्रति आकर्षित हुन्छिन् । प्राकृतिक आकर्षण परमात्माको सृष्टिलाई निरन्तरता दिने अनुपम कला तथा विज्ञान हो त्यसैले उसले शारीरिक रुपमा 'स्त्री' र 'पुरुष' दुई अलग-अलग स्वरुपको कल्पना र निर्माण गर्यो । तर पुरुषले आफूले आफूलाई नियन्त्रणमा राख्न नसकेको अप्राकृतिक, अपवित्र, विकृत तथा व्यभिरचार मनोदशा पनि स्त्रीकै शिरमाथि थोपरिदियो अनि भन्यो स्त्री नर्कको द्वार हुन् । वास्तविकतामा नर्क चाहिं पुरुषको मानसिकतामा छ तर त्यसको दोष निलर्जतापूर्वक स्त्रीको सुन्दरता, प्रेमलता र कोमलतामा थोपरिदियो । कस्तो विडम्वना स्त्रीको सुन्दरता, प्रेमलता र कोमलताको कारण पुरुषको अध्यात्म साधना तथा ध्यान भंग हुन्छ । उसलाई ध्यान लाग्दैन उसको नर्कतुल्य मानसिकताका कारण अनि नर्कको द्वार चाहिं पवित्रता, प्रेमलता र कोमलताकी खानी स्त्रीलाई ठान्छ ! जवकी ब्रम्हाण्डिय नियम अनुसार यो विषयको लुकेको तथा वास्ताविक सत्य नितान्त फरक रहेको छ । यसको मूलकारण यो हो कि प्रकृतिले पुरुषलाई कठोर र वुद्धि तथा तर्क प्रधान मनुष्य बनाएको छ जसले हरहमेसा उसको मनस्थिति र भावास्थितिलाई चन्चल र अशान्त बनाइराख्छ । प्रकृतिले स्त्रीलाई हृदयस्पर्शी तथा प्रेम र करुणा प्रधान बनाएको छ जसले हरहमेसा उनको मनस्थिति र भावास्थितिलाई शान्त, प्रेमल, सेवाभाव, दयाभाव, करुणा, स्वीकारभाव र क्षमाभावले भरिएको बनाइराख्छ । अध्यात्म साधना तथा ध्यानको सन्दर्भमा आजसम्म उपलव्ध भएका विभिन्न नयाँ तथा पुराना अध्ययन, अनुसन्धान, खोज, अनुभव र इन्द्रियातीत, मनातीत, भावातीत, समयातीत अनुभव तथा अनुभूतिहरुका मान्यताहरुलाई आधार मान्दा अध्यात्म अर्थात परमात्मा सर्वप्रथम हृदयमा उत्रिने विषय रहेको स्पष्ट हुन आएको पाइन्छ । परमात्मालाई आकर्षित गर्ने कच्चा पदार्थ प्रेमलता, सेवाभाव, दयाभाव, करुणा, स्वीकारभाव र क्षमाभाव रहेछ जो स्त्रीसंग प्रकृतिप्रदत्त रुपमा अनन्त गहिराईमा निहित छ । स्त्रीको यो पकृतिप्रदत्त सामान्य अवस्थासम्म पुग्न मात्र पनि पुरुषलाई वर्षौं साधना गर्नुपर्छ, जन्म-जन्म पनि लाग्न सक्छ । पुरुष स्त्रीको यही महाशक्तिसंग डराउछ र स्त्री आफूभन्दा अगाडि जान नसकुन्, पुरुषको उच्चता कायम रहिरहोस् भनेर अनेक बहानामा स्त्रीलाई दबाउछ । यही ध्याउन्नमा सदा स्वर्ग तथा वैकेण्ठ रुवरुप रहेकी स्त्रीलाई नर्ककी द्वार भनेर आफू मनुष्य स्वरुपमा अवतरित भएकै पवित्र द्वारको निन्दा गरेर आफू स्वयंको घोर अपमान गर्छ ।
यो यथार्थ कुराको सत्यनिष्ठ जानकारी पुरुषहरुलाई राम्रोसंग नभएको कारण उनीहरु हरयुगमा स्त्रीहरुलाई दबाउनमै दंग छन् र यसैमा आफ्नो मान र उच्चता महसुस गर्दै आइरहेका छन् ।यहीकारणले स्त्रीहरु अध्यात्म साधनाका विषयहरुमा पर्याप्त काविल भएर पनि आफूलाई मन भएर या नभएर आफूसंग अध्यात्म साधना तथा परमात्माको उर्जाको स्तर नमिल्ले पुरुष धर्म गुरु तथा अध्यात्म गुरुहरुलाई सर्वमान्य गुरु मान्न तयार हुनुपरेको बाध्यात्मक अवस्था हाम्रो समाजमा विगत लामो समयदेखि रहदै आएको छ किनकी पुरुषप्रधान आर्दशले सिंचित भएको पितृसत्तात्मक समाजले स्त्रीको आध्यात्मिक उपलव्धि तथा अलौकिकतामाथि ठाडो अस्वीकृति व्यक्त गर्दै आएको छ । श्वावावा~~(लामो श्वास), म दिव्य परमात्माप्रति बारबार किर्तज्ञ्न छु कि मलाई परमात्माले अत्यन्तै शंकिर्ण भाव भएका मनुष्यहरुलाई अत्यन्तै ठूला धर्म गुरु तथा अध्यात्म गुरु मानेर आफैंले आफ्नो अपमान गर्ने आत्मग्लानीको अवस्थाबाट बचाइदिनु भयो ।”
यति भनेर पिताजीले आफ्नो वाणीलाई बिश्राम दिनुभयो । साँझपखको समय भएकोले सुर्यनारायण विदा भैसक्नु भएको थियो, अध्यारोले क्रमशः आफ्नो पंख फिजाउदै थियो, भित्रबाट माताजीको संकेत आयो ज्युनार तयार भयो, तात्तातै ग्रहण गरौं । हामी भान्सातिर लाग्यौं, बरण्डामा हाम्रा कुरा सुन्दै लम्पसार परिरहेकी कालीका कान ठाडा भए किनकी यो संकेत अव उसकालागि पनि भोजन आउदै छ भन्ने थियो । उसले थोरै आफ्नो शिर उठाएर र लामालामा रौं भएको चम्मर जस्तो आफ्नो पुच्छर हल्लाएर एकपटक घुक्क भुकी र फेरी लम्पसार परी । बरण्डा नजिकैका वृक्षहरुबाट साँझपखमा विशेष प्रकारको ध्वनि निकाल्ने किट-पतंगहरुको आवाज आइरहेको थियो किर्रकिर्र... कुर्रकुर्र....किर्रकिर्र... कुर्रकुर्र.... ।
अस्तु
शिवोहम् ! शिवोहम् !! शिवोहम् !!!