'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Wednesday, 2 July 2025

सनातन दर्शनको पुनरोत्थानमा जगतगुरु आद्य शंकराचार्यको भूमिका, खण्ड -८

                                                                डा. सिर्जना भण्डारी

#अध्यात्म_दर्शन #सनातन_दर्शन #जीवन_दर्शन



“आफ्नो जीवनकालमा जगतगुरु आद्य शंकराचार्यको बारेमा नसुनेको, नजानेको, नबुझेको, नपढेको मानिसले सनातन धर्मको कखरा नै बुझेको छैन भन्दा हुन्छ ।”  –लोकप्रिय कवि तथा सनातन कथावाचक डा. कुमार विश्वास

बत्तिस वर्षको युवाअवस्थामै शरीर छोड्नु भएका जगतगुरु आद्य शंकराचार्यलाई तमाम सनातन धर्म तथा समाजले अतिइन्द्रियदर्शी महान सदगुरु; महान दार्शनिक; विलक्षण कवि तथा साहित्यकार; सनातन दर्शनको संरक्षण र प्रवद्र्धनका प्रखर महान योद्धा; र स्वयं भगवान शिवका अवतारको रुपमा जान्दछन्, मान्दछन् र पुज्दछन् । –आमविश्लेषण

(२)दशनामी संयास सम्प्रदाय तथा परम्पराको स्थापना 

आदिगुरु शंकराचार्यले सनातन वैदिक धर्मका ज्ञान, विज्ञान तथा मूल्यमान्यताहरुलाई राम्ररी अध्ययन गरेर, बुझेर, मूल शास्त्रहरुमा भाष्य लेखेर, आध्यात्मिक तथा धार्मिक मौलिक रचनाहरु गरेर, आवश्यक शास्त्रार्थहरु आयोजना गरेर सबैलाई सनातन धर्मका मूल्यमान्यताहरु स्पष्ट बुझाएर सनातन धर्मको पुनरोत्थान तथा पुनरस्थापना गर्ने उद्देश्यले विभिन्न मठ–मन्दिर, देवालय, गुरुकुल तथा पुस्ताकालयहरुको जिर्णोद्धार, पुननिर्माण, स्थापना तथा सबैप्रकारका आवश्यक सुधारहरु गरेर सनातन दर्शनका आध्यात्मिक, धार्मिक तथा सांस्कृतिक मूल्यमान्यताहरुलाई स्थापित गराउनुभयो र विश्वभरि सनातन दर्शन तथा सनातन धर्मको ध्वज फहराउनु भयोे ।


संयासको अर्थ अति आशक्तिको त्याग हो

आमरुपमा संयास भन्नाले गृहत्याग गर्नु; परिवार छोड्नु; आफ्नो कर्तव्य तथा उत्तरदायित्वबाट विमुख हुनु; भोजन त्याग गर्नु; निश्चित रंगको पहिरन, फरक प्रकारको टिका तथा माला धारण गर्नु; फरक प्रकारको परम्परा तथा संस्कृतिको अनुशरण गर्नु तथा समाजबाट अलग रहनु भन्ने बुझाइ रहदै आएको छ तर संयासको वास्तविक अर्थ यस्ता प्रकारका त्याग गर्नु तथा फरक प्रकारको जीवनशैली अपनाउनु होइन । संयासको वास्तविक अर्थ वाहिर देखिने भौतिक तथा शारीरिक बदलाव नभएर हाम्रो वितरागी(वैरागी) मानसिक तथा भावनात्मक अवस्था तथा बदलाव हो । वितरागी मानसिकता तथा भावनात्मक अवस्था भनेको वाहिरका अर्थात भौतिक संसारका वस्तु तथा विषयहरुका सेवा तथा सुविधाहरुप्रति अति आशक्त नभइकन सन्तुलित(सम्यक) रहनु तथा ब्रम्हचर्य(ब्रम्हको जस्तो आचरण अर्थात जति आवश्यक छ त्यतिमात्र प्रयोग गर्नु) धारण गर्नु हो । श्रीमद् भगवद् गीतामा भगवान श्रीकृष्णले संयास तथा वितरागको वास्तविक परिभाषा दिनुभएको छ, भगवान भन्नुहुन्छ, “आफ्नो जीवनकालागि कम महत्वका आवश्यकता तथा इच्छाहरु जस्तै वाहिरी संसारबाट प्राप्त हुने सुख, सुविधा दिने कुराहरु भोजन, धन–सम्पत्ति, पहिरन तथा अन्य सुविधाका भोग्य चिज, वस्तुहरु आदिप्रतिको अति आशक्तिको त्याग गर्दै मनुष्य जीवनकालागि बढि महत्व भएका गहन आवश्यकताहरु जस्तै आन्तरीक सुख, खुशी, शान्ति, आनन्द, प्रेम, दया, करुणा, सेवा, पुण्य, यज्ञ, तप, योग, ध्यान, मुक्ति, मोक्ष आदि विषयहरुलाई अनुशरण गर्दै जानु वास्तविक संयास तथा वितराग होे ।” सांसारीक भ्रम तथा मायाप्रति अनाशक्त धेरै सन्तानका गृहस्थ माता–पिताहरु पनि मानसिक तथा भावनात्मक रुपमा(माइन्डसेट– मेन्टल और इमोसनल स्टेट) संयासी तथा वितरागी हुन सक्छन्; अरवपति व्यापारी तथा व्यवसायिहरु पनि मानसिक तथा भावनात्मक रुपमा संयासी तथा वितरागी हुन सक्छन्; संस्थाका हाकिम, उद्योगपति, पेशामर्की, विद्यार्थी, गृह व्यवस्थापक (होम मेकरआदि जुनसुकै उमेर, वर्ग, लिंगका जो कोही मानिस मानसिक तथा भावनात्मक रुपमा संयासी तथा वितरागी हुन सक्छन् । मानसिक तथा भावनात्मक रुपमा संयासी तथा वितरागी मानिसहरुमा म, मेरो, मलाई, मैले भन्ने नकारात्मक अहंकारको वृत्ति न्यून रहेको हुन्छ र अन्तरहृदयदेखि सबैलाई आफू समान ठान्ने तथा सबैमा आफूलाई र आफूमा सबैलाई देख्नसक्ने भाव तरंग तथा आभामण्डल (इलेक्ट्रो मेग्नेटीक फिल्ड)को विकास भएको हुन्छ । 


वैदिक सनातन धर्मको प्रचार–प्रसार, संरक्षण तथा प्रवद्र्धनको महत्वपुर्ण महाअभियानका क्रममा आवश्यक मानव श्रोत जुटाउनकालागि आदिगुरु शंकराचार्यले दशनामी संयासी सम्प्रदाय तथा परम्पराको चलनको प्रारम्भ गर्नुभयो । तत्कालीन परिस्थितिमा आफ्ना, परिवारका तथा समाजका सानातिना जिम्मेदारी भन्दा समग्र मानव सर्वकल्णयाका लागि सनातन धर्मको आधारशिला मजबुत बनाएर समाजमा व्याप्त अधार्मिकता तथा अराजकता कम गरेर सबैमा समान्जस्य बनाउनु र सबैलाई एकत्वमा समेट्नु सबै सनातनीहरुको प्रमुख कर्तव्य तथा उत्तरदायित्व बनेको थियो । सनातन धर्मको पुनरोत्थान गर्ने यस महान कार्यकालागि धेरै सनातनीहरु सबैप्रकारका सांसारीक सुख, सुविधाहरुसंग सम्झौता गरेर तथा सुख, सुविधाहरु त्यागेर आदिगुरु शंकराचार्यको सनातन अध्यात्म तथा धर्मको प्रचार-प्रसार पुनरोत्थानको महाअभियानमा सक्दो सहयोग गर्ने हेतुले सामेल भए । यसरी सनातन धर्मको प्रचार–प्रसारको धार्मिक अभियानमा हिडेका त्यगी मनुष्यहरुको मानसिक तथा भावनात्मक अवस्था स्पष्ट रुपमा सदविचार, सदभाव, सदकर्म र सबैलाई आफूसरह तथा बराबर ठान्ने मानवीयता तथा सर्वकल्याणको सोच, भाव र सिद्धान्तमा आधारीत थियो । यी त्यागी सनातनी संयासीहरुले जीवनका कम महत्वका विषयहरुको त्याग गरेर मनुष्य भएर जन्मनुको आत्यन्तिक उद्देश्य तथा लक्ष्य मोक्षको पहिचान गरेर जीवनको महत्वपुर्ण आवश्यकताहरु आन्तरीक सुख, खुशी, शान्ति, आनन्दलाई प्राथमिकता दिएका थिए जुन सर्वकल्याणका कार्यहरु, सेवा, दान, पुण्य, अध्ययन, अध्यापन, योग, यज्ञ, तप, ध्यानबाट मात्र हासिल गर्न सकिन्छ भन्ने बुझेका थिए । यसरी सनातन धर्मको प्रचार–प्रसार, संरक्षण तथा सम्वद्र्धनको महान आध्यात्मिक तथा धार्मिक अभियानमा आफूलाई समर्पित गरेका संयस्त सनातनीहरुलाई आवश्यक प्रकारका थप ज्ञान तथा तालिम प्रदान गरेर चुस्त तथा सशक्त बनाउन र उनीहरुलाई चिन्न सहज होस भन्ने हेतुले आम मानिसहरु भन्दा अगल पहिचान दिएर दश नाममा विभाजन गर्नुभएको थियो– (१)आश्रम, (२)तीर्थ, (३)वन, (४)आरन्यक, (५)गिरी, (६)पर्वत, (७)सागर, (८)सरस्वती, (९)भारती, र (१०)पुरी । यी सबै दशनामी संयासीहरु सनातन धर्मका कुनै एक मुल्य तथा मान्यतामा पारंगत बनाइएका थिए । 


‘गीरी’ नाम तथा थर(नामको पछाडि लगाइने) श्रीमद् भगवद् गीताको ज्ञान भएको निश्छल मन भएको पुरुष(विकसित आत्मा अर्थात चेतना)लाई प्रदान गरिएको थियो । ‘पुरी’ नाम ज्ञानले परिपूर्ण परब्रम्ह प्राप्त गरेको पुरुषलाई प्रदान गरिएको थियो । ‘भारती’ नाम विद्याको भार बोकेर सांसारीक दुःख बिर्सिने पुरुषलाई प्रदान गरिएको थियो । ‘वन’ नाम सांसारीक बन्धनबाट मुक्त र निर्जन वनमा बस्ने शान्त स्वाभावको पुरुषलाई प्रदान गरिएको थियो । ‘आश्रम’ नाम मोहरुपी बन्धनबाट मुक्त भइ सनातन मठ–मन्दिरका आश्रमका नियममा दृढ भइ सांसारीक आवागमनदेखि दुर बस्ने पुरुषलाई प्रदान गरिएको थियो । ‘आरण्य’ नाम विश्वलाई त्यागेर वनमा आनन्द भावले बस्ने आनन्दको भोग गर्ने पुरुषलाई प्रदान गरिएको थियो । ‘सरस्वती’ नाम अमृतरुपी ज्ञानरत्न ग्रहण गरि जलदेवको सांगोपांगो बुझेको पुरुषलाई प्रदान गरिएको थियो । ‘पर्वत’ नाम सारा जगत जानेर निस्फिक्री पर्वतको शिखरमा समाधि धारण गरेर बस्ने पुरुषलाई प्रदान गरिएको थियो । ‘सागर’ समुद्रको तीरमा रही आध्यात्मिक तथा धार्मिक शास्त्रहरुको ज्ञान ग्रहण गर्ने तथा सामुद्रिक आचरणको नियम पालन गर्ने पुरुषलाई प्रदान गरिएको थियो । सनातन धर्मलाई फरक प्रकारले साधना तथा अनुशरण गर्दै आइरहेका योगी, स्वामी, सन्त तथा साधुहरुको रुपमा संयासी सम्प्रदायको इतिहास प्राचीनकालदेखि नै रहदै आएको भएपनि आदिगुरु शंकाराचार्यको सनातन धर्मको प्रचार–प्रसार तथा पुनरोत्थानको महाअभियानको क्रममा अवैदिक हमलाकारीहरुबाट यो समुदाय तथा सम्प्रदायको संरक्षण तथा सशक्तिकरण गर्न र सनातन धर्मको प्रचार–प्रसारको महाअभियानमा उनीहरुबाट आवश्यक सहयोग लिन उनीहरुलाई दशनाम प्रदान गरेर एकत्वमा समेटेर अझ व्यवस्थित गर्नुभएको थियो । यहीकारणले नै आज सबैले जान्नेगरि स्पष्ट अस्तित्वमा आएका हुन् दशनामी संयासी समुदाय तथा सम्प्रदायहरु । दशनामी स्वामी तथा संयासीहरु समाजका कुनै विशेष वंश तथा जातिका होइनन्, समाजमा रहेका सबै प्रकारका वंश, जाति तथा वर्गहरुबाट सनातन धर्मको फरक प्रकारले साधना गरि आफ्नो जीवनकालमा छिटो मुक्ति तथा मोक्ष हासिल गर्ने तथा ब्रम्हमा उपलव्ध हुने अभिप्राय उत्कट मुमुक्षाले आफ्नो जीवनका भौतिक तथा सांसारीक सुख, सुविधा, परिवार, समाज, उत्तरदायित्व छोडेर आफ्नो खुशीले इश्वरको आराधना, जप, तप, योग, ध्यान, समाधिको मार्गमा लागेका सनातनी साधकहरु हुन् । नेपालको समाजमा पनि दशनामी सम्प्रदायको उल्लेख्य उपस्थिति(१,१८,८४० जना, जनगणना २०७८) रहेको राष्ट्रिय जनगणनाका तथ्यांकहरुले उजागर गरेकाछन् । तर पछिल्लो समयमा अधिकांश दशनामी तथा संयासीहरु गृहस्थ आश्रममा प्रवेश गरेका तर समाजमा उनीहरुप्रति गरिने अलग प्रकारका व्यवहारहरुबाट बच्न तथा समाजमा एकसमान देखिन राष्ट्रिय जनगणनाको क्रममा क्षेत्री तथा अन्य थर लेखाउने प्रवृत्ति बढेकोले दशनामीहरुको संख्या सनातन हिन्दु धर्म तथा सम्प्रदायमा घट्दै गैरहेको पाइन्छ । 


दशनामी संयास परम्पराको आवश्यकता 

द्वापर युग सकिएर कलीयुगको प्रारम्भ भएपछि मानव समाजमा सनातन वैदिक धर्म, संस्कृति बचाउनु पर्ने, संरक्षण तथा प्रवद्र्धन गर्नुपर्ने उत्तरदायित्व भएका ब्राम्हण, गुरु, पुरोहितहरु स्वयंलेनै सनातन धर्मको दुरुपयोग गर्न थाले; सनातन वेदका मन्त्रहरु आफूखुशी अर्थ लगाएर आफ्नो स्वार्थ सिद्ध गर्नकालागि अनुचित किसिमले प्रयोग गर्न थाले र आम मानिसहरुलाई अनावश्यक रुपमा दुःख दिन, सताउन र अनावश्यक रुपमा शोषण गरेर आफू सुखभोगी हुनथाले । समाजका जिम्मेदार व्यक्तिहरुको अनैतिक गतिविधिहरुका कारण तत्कालीन समाजमा विचलन आउन थाल्यो र यसको परिणाम स्वरुप समाजमा मांसाहार, हिंसा, जुवा, ठगी, लुटपाट, व्यभिचार, बेश्यावृत्तिका घटनाहरु बढ्न थाले ।आममानिसका साथसाथ सच्चा योगी, साधु, संन्त, पंडित, पुरोहितहरुमाथि ढोंगी, बनावटी तथा स्वार्थी जमातहरुको अत्याचार बढ्दै भयो र समाजबाट मानवीयता र धर्म हराउदै गयो । भगवद् गीतामा श्रीकृष्ण भगवानले भन्नु भएको छ, “यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥ –श्रीमद्भगवद्गीता ४ः७ अर्थात जवजव धर्तीमा धर्मको हानि हुन्छ र अधर्मको वृद्धि हुन्छ तवतव धर्मको पुनःस्थापनाको लागि म स्वयं(इश्वर) प्रकट हुन्छु तथा अधर्मको निवारण गर्न म सवयं यस धर्तीमा अवतार लिएर आउछु ।” इशाको आठौं शताव्दीमा धर्तीमा धर्मको हानि भएको;  योगी, साधु, सन्तहरुलाई सताइएको; अधर्म बढेको; सनातनीहरुको धर्म परिवर्तन गराउने र असहमत हुनेहरुदाई समाजबाट निकाला गर्ने, सताउने, हिंसा, हत्या गर्ने जस्ता अराजक गतिविधिहरुले समाज आक्रान्त हुदै गएको तत्कालीन परिस्थितिमा भगवान शिवशंकरले मनुज(मनुष्य) योनीमा अवतार लिएर यस धर्तीमा प्रकट हुनुभयो आदिगुरु शंकराचार्यको आवरणमा र अतुलनिय आध्यात्मिक तथा धार्मिक सुधारहरु गरेर सनातन धर्मको संरक्षण, प्रवद्र्धन, पुनरोत्थान गरेर मानव समाजमा सनातन धर्मको पुनरस्थापना गर्नुभयो । जम्मा ३२ वर्ष मात्र शरीरमा रहनु भएका अवतारी दार्शनिक महापुरुष जगतगुरु आद्य शंकराचार्यले १८ वर्षको उमेरमा संयास धारण गरेर आफ्नो पुरै जीवन सनातन धर्मको प्रचार–प्रसार, संरक्षण तथा प्रवद्र्धनमा निमज्जित(समर्पित) गर्नुभयो । सनातन धर्मको प्रचार–प्रसार गर्ने क्रममा विशेषगरि वहाँले प्रतिपादन गर्नुभएको अद्वेत वेदान्त दर्शनमा रहेको ब्रम्हज्ञानको गहनता, लोकप्रियता र वहाँको अभूतपूर्व प्रवचन तथा दिक्षा दिने शैलीकाकारण सबै उमेर समुहका धेरै सनातनीहरु वहाँबाट अत्यन्तै प्रभावित भए र वहाँलाई गुरु मानेर वहाँको शिष्यमण्डलीमा सामेल भए र सनातन धर्मकासाथसाथ वेदान्त दर्शनको प्रचार–प्रसार गर्न आदिगुरु शंकराचार्यलाई सहयोग गर्न अगाडि बढे । 


यसरी सनातन वेदबाट निसृत वेदान्त दर्शन र सनातन धर्मको तेज रफ्तारमा प्रचार–प्रसार भइरहेकोे थाहा पाएर तत्कालीन अवैदिक मतावलम्वि तथा अराजक सम्प्रदाय तथा समुदायका मानिसहरुले सनातन दर्शन तथा सनातन धर्म प्रचारक संयासीहरुलाई प्रचार–प्रसारमा बाधा गर्न, दुःख दिन, लखेट्न, सताउन र दमन गर्न थाले । धेरैजसो संयासीहरु प्रौढ उमेरका भएकाले उनीहरुले आवश्यक मात्रामा अत्याचारीहरुको अत्याचारलाई सामना गर्न सकेनन् । यसपछि आदिगुरु शंकराचार्यले आमरुपमा सनातन धर्मका युवा जमातलाई सनातन धर्म र वेदान्त दर्शनको प्रचार–प्रसारमा अग्रसर हुन आव्हान गर्नुभयो र धेरै युवाहरुले वहाँलाई प्रचार–प्रसारको काममा साथ दिए । हमलाकारीहरुबाट आफू र सनातन धर्मको संरक्षण गर्नकोलागि सहयोगी युवाहरुलाई संयास तालिम दिन तथा सनातन धर्मको प्रचार-प्रसार सम्वन्धि आवश्यक ज्ञान प्रदान गर्न र उनीहरुको सहज वासस्थान व्यवस्थापन गर्नकालागि देशको चार दिशाका प्राचीन कालदेखिनै सनातन धर्मको उच्च तथा गहन महत्व भएका चार पवित्र स्थानहरु– रामेश्वर, जगन्नाथ, बद्रिनाथ, द्वारकामा आदिगुरु शंकराचार्यले तत् नामका चार पवित्र धाम तथा मठहरुको स्थापना गर्नुभयो र यी धामहरुमा युवाहरुको जीवनयापनको व्यवस्था मिलाएर यीनीहरुमध्यकै पारंगत तथा अनुभवी युवाहरुको समलग्नतमा एउटा सनातन धर्मरक्षा समिति गठन गर्नुभयो ।


आदिगुरु शंकराचार्यका चार प्रमुख शिष्यहरु थिए र ती शिष्यहरुका १०–१० अन्य शिष्यहरु थिए । वहाँले आफ्ना शिष्य र शिष्यका शिष्य तथा सहयोगीहरुलाई समेटेर १० वटा सनातन धर्मरक्षा समुहहरु बनाउनु भयो र ती १० समुहहरुलाई देशका विभिन्न स्थानहरुमा सनातन धर्म प्रचार–प्रसारकोलागि खटाउनु भयो । जुन संयासीहरुलाई उपत्यका र पर्वतहरुमा सनातन धर्मको प्रचार–प्रसारको काममा पठाउनु भएको थियो उनीहरुको नामको पछाडि गिरी तथा पर्वत राखेर पहिचान दिइयो । जसलाई जंगली इलाकाहरुमा पठाइएको थियो उनीहरुको नामको पछाडि वन तथा आरन्य राखेर पहिचान दिइयो । जसलाई जलश्रोतका स्थानहरु खासगरि सरस्वती नदिको आसपाश खटाउनु भएको थियो उनीहरुको नामको पछाडि सरस्वती राखेर पहिचान दिइयो । जो जगन्नाथपुरी क्षेत्रमा खटाइएका थिए उनीहरुको नामको पछाडि पुरी राखेर पहिचान दिइयो । जो समुद्री तटहरुमा खटाइएका थिए उनीहरुको नामको पछाडि सागर राखेर पहिचान दिइयो । जो तीर्थ स्थलहरुमा खटाइएका थिए उनीहरुको नामको पछाडि तीर्थ राखेर पहिचान दिइयो । जसलाई मठमन्दिर तथा आश्रमहरुको संरक्षण र प्रचार–प्रसारको जिम्मा दिइएको थियो उनीहरुको नामको पछाडि आश्रम राखेर पहिचान दिइयो । जसलाई धार्मिक नगरी भारतीमा प्रचार–प्रसारकोलागि खटाइएको थियो उनीहरुको नामको पछाडि भारती राखेर पहिचान दिइयो । आदिगुरु शंकराचार्यले गठन गर्नुभएका यी दश नामी संयासीहरुले विद्रोहीहरुका ठूला–ठूला बाधाहरुसंग लड्दै, विभिन्न अत्याचारहरुको सामना गर्दै देशका सबै स्थानहरुमा सनातन धर्म तथा सनातन वेदान्त दर्शनको प्रचार–प्रसार निष्ठापूर्वक निडरताकासाथ गर्दै गए । 



(३)तीन प्रकारका धर्मसेनाहरु तैनाथ

सनातन धर्मको रक्षामा खटिएका तथा आफ्नै प्रकारको दिनचर्यामा जीवन व्यतीत गरिरहेका योगी, साधु, सन्त, स्वामी तथा संयासीहरुको संरक्षरण तथा सशक्तिकरण गर्न र सनातन धर्मको प्रचार–प्रसारको तिब्रतम महाअभियानमा उनीहरुबाट आवश्यक सहयोग लिन आदिगुरु शंकराचार्यले तीन प्रकारका संयास सम्प्रदायको व्यवस्था आरम्भ गर्नुभयो– (१)दशनामी स्वामी, र (२)दण्डी स्वामी, र (३)नागा स्वामी । सनातन धर्मको संरक्षण, प्रवद्र्धन तथा प्रचार–प्रसारकालागि संयास परम्परा र यसको व्यवस्थापन अभियान गरिएको हुनाले एक अर्थमा यस कार्यलाई सनातन धर्मको रक्षार्थ निर्माण तथा तैनाथ गरिएको धर्मसेनाको रुपमा लिइदै आइएको छ । पहिलो धर्मसेना दशनामी स्वामीहरुको सम्प्रदाय, दोस्रो दण्डी स्वामीहरुको सम्प्रदाय र तेस्रो नागा स्वामीहरुको सम्प्रदाय थियो । दशनामी स्वामी तथा संयासीहरुले सनातन धर्मको रक्षार्थ निम्न प्रकारले आ–आफ्नो जिम्मेदारी सम्हालेका थिए– 

(१)सागर दशनामी स्वामी तथा संयासीहरुले समुद्र क्षेत्रबाट सनातन धर्ममा आउनसक्ने असुरक्षाबाट बचाउने जिम्मेदारी पालन गर्थे । 
(२)तीर्थ र आश्रम दशनामी स्वामी तथा संयासीहरुले सनातन धर्मका मठ–मन्दिरमा आउनसक्ने असुरक्षाबाट बचाउने जिम्मेदारी पालन गर्थे ।
(३)भारती दशनामी स्वामी तथा संयासीहरुले सनातन धर्मका गुरुकुल तथा पुस्तकालयहरुमा आउनसक्ने असुरक्षाबाट बचाउने जिम्मेदारी पालन गर्थे ।
(४)सरस्वती दशनामी स्वामी तथा संयासीहरुले सनातन धर्मका विश्वविद्यालयहरुमा आउनसक्ने असुरक्षाबाट बचाउने जिम्मेदारी पालन गर्थे ।
(५)पुरी दशनामी स्वामी तथा संयासीहरुले सनातन धर्मका ज्योतिरलिंग, शक्तिपीठ तथा धामहरुमा आउनसक्ने असुरक्षाबाट बचाउने जिम्मेदारी पालन गर्थे ।
(६)वन र आरन्यक स्वामी तथा दशनामी संयासीहरुले सनातन धर्ममा वन तथा जंगलको क्षेत्रबाट आउनसक्ने असुरक्षाबाट बचाउने जिम्मेदारी पालन गर्थे ।
(७)गीरी र पर्वत स्वामी तथा दशनामी संयासीहरुले सनातन धर्ममा पहाड तथा पर्वत क्षेत्रबाट आउनसक्ने असुरक्षाबाट बचाउने जिम्मेदारी पालन गर्थे ।

दण्डी स्वामीहरुले सनातन वेदबाट निसृत भएका सबैप्रकारका वैदिक ज्ञान, विज्ञान, महाज्ञानको रक्षा गर्थे  सनातन दर्शन तथा सनातन धर्ममाथि लागेका आरोप, विरोध, मतभेद तथा फरक मतहरुलाई शास्त्रार्थको माध्यमबाट तार्किक खण्डन गरेर सनातन वेदबाट निसृत दर्शनहरुको ज्ञान, विज्ञान, महाज्ञानको  प्रचार–प्रचार गर्थे । 

नागा स्वामीहरु शस्त्र विद्यामा पारंगत थिए । सनातन धर्ममाथि कुदृष्टि राख्ने, अत्याचार गर्ने हतियारधारी हमलाकारीहरुसंग लड्न उनीहरुलाई शस्त्र–अस्त्रको तालिमकासाथै शस्त्र–अस्त्रहरु उनीहरुको साथमा राख्न अनुमति दिइन्थ्यो र आवश्यक परे उनीहरुलाई शस्त्र–अस्त्रहरु उपलव्ध पनि गराइन्थ्यो । प्राचीन कालदेखिनै सनातन वैदिक धर्म, सम्प्रदाय तथा समग्र सनातनी समाज चुस्त, विकसित तथा समृद्ध रहेकोले धेरै विदेशी विस्तारवादीहरुले सनातन सभ्यतामाथि आँखा लगाउथे र आफ्नो अधिनमा पार्न हमला गर्ने गर्थे त्यसैले सनातन धर्मको रक्षार्थ आदिगुरु शंकराचार्यले तत्कालीन समय सान्दर्भिक हुनेगरि तत्कालीन परिस्तिथिको आवश्यकता अनुसार परिस्थिति सुहाउदो हुने प्रकारले तीन प्रकारका सनातन धर्मरक्षक तथा धर्मसेना खडा गर्नुभएको थियो ताकि सनातन लगायत सबै समाज, समुदाय तथा सम्प्रदायमा मानवताको गुणस्तरमा स्खलन नआओस, सबैले स्वतन्त्र रुपमा पूर्ण अधिकारकासाथ जीवनयापन गर्न तथा जीउन सकुन् र बारबार सनातनीहरुलाई हमलाकारी विदेशी विस्तारवादी शक्तिहरुले अत्याचार गर्न र गुलाम बनाउन नसकुन् ।



()निष्कर्ष
महान भविश्यद्रष्टा आदिगुरु शंकराचार्य

आदिगुरु शंकराचार्यले समग्र सनातनीहरुलाई विवेकपूर्ण र वैज्ञानिक दृष्टिकोणले यसरी एकत्वमा नबाध्नु भएको भए आज सनातन धर्मको अवस्था पनि भगवान बुद्धको महानिर्वाणपछि बौद्ध दर्शन हिनयान, महायान, बज्रयानमा कडा मत विभाजन भएर छिन्नभिन्न भएजस्तै विभिन्न मतमा छरिएर अझ दयनिय र अवनतिको अवस्थाबाट गुज्रीने निश्चित थियो । तर आदिगुरु शंकराचार्यको विशिष्ठ प्रयत्न तथा अभुतपूर्व योगदानका कारण आज समुच्चा सनातन दर्शन, धर्म तथा सनातन समाज एकत्वमा छ । आदिगुरु शंकराचार्यको महानतम योगदानकै कारण आजको समाजमा व्याप्त अनेक भगवान, अनेक देवीदेवता, अनेक मत, अनेक मूल्य–मान्यताहरुका वाबजुद परमात्माप्रतिको आस्था र आध्यात्मिक तथा धार्मिक विषयमा सबैको मत एउटै छ र सबै सनातनीहरुले महान सनातन ग्रन्थहरुको उपासना तथा अनुशरण आदरकासाथ गर्ने गर्दछन् । आदिगुरु शंकराचार्यले सनातन धर्मलाई यसप्रकारको अनेकतामा एकता विविधताको विशेषतामा विवेकशील ढंगले बाँधिदिनु भएको कारणले नै सनातन धर्म दिगो र विकसित भएर आजको यो अवस्थासम्म आइपुगेको हो भन्ने सबै विद्वत वर्गहरुको एउटै मान्यता रहदै आएकोछ । विश्वका अन्य प्रचलित धर्म तथा सम्प्रदायहरुको तुलनामा अनेकतालाई सहजै र सम्मानपूर्वक आत्मसाथ गरेर उचित भए फरक मतलाई समेत दर्शनको मान्यता र मूल्य तथा महत्व प्रदान गरेर एकसाथ अघि बढाउन सक्ने समावेसिता, धैर्यता, क्षमता तथा स्वीकार्यता भाव केवल सनातन धर्म मात्र रहेको देखिन्छ । सबैप्रति उदारभावले प्रस्तुत हुने यसप्रकारको परम्परा आदिगुरु शंकराचार्यले नै प्रारम्भ गर्नु भएको हो ।


विश्वका वहुप्रचलित अन्य दर्शन, धर्म तथा सम्प्रदायहरुमा एउटा गुरु तथा अवतार पुरुषले स्थापित गर्नुभएको मतमाथि पछि थपिएका मतहरुलाई कुनै स्थान तथा महत्व दिइदैन बरु उल्टै दबाइन्छ सबैप्रकारका हतकण्डाहरु प्रयोग गरेर, इतिहास भलिभाती गवाह छ यस्ता घटनाहरुको तर सनातन हिन्दु धर्ममा प्राचीनकालदेखिनै सबैको अनुभव, मत, ज्ञान तथा दर्शनलाई उचित स्थान, महत्व र मूल्य, मान्यता प्रदान गरिदै आइएको छ । यही उदारता तथा समावेशिताका कारण सनातन धर्ममा अनेक युगमा कयौं महानतम महापुरुषहरुको प्रादुर्भाव भयो र वहाँहरु सबैले मानवीयताका लागि आ–आफ्ना गहनतम मत, दर्शन स्थापित गरेर सनातन धर्मको युग सान्दर्भिक विकास ताथ प्रवद्र्धनमा एकपछि अर्को ईंटा थप्दै महान योगदान प्रदान गरेर जानुभयो । भगवान शिव, भगवान राम, भगवान कृष्ण लगायत अन्य धेरै महापुरुषहरुको नाम स्वर्ण अक्षरमा उल्लेखित छन् सनातन दर्शन तथा धर्मको इतिहासमा र यही पंक्तिमा आदिगुरु शंकराचार्यको पनि गरिमामय उपस्थिति र अतुलनिय योगदान स्वर्ण अक्षरमा कुंदिएका छन् । आज हाम्रा सामु रहेका यी सबै उपलव्धिहरु महान भविश्यद्रष्टा, दार्शनिक तथा अवतारी महापुरुष आदिगुरु शंकराचार्यले सनातन धर्मको पुनरोत्थानमा गर्नुभएको महान योगदानका कारण सम्भव भएका हुन् र वहाँकै कारण आज हामी सबै सनातनीहरु भाग्यवान भएकाछौं र सनातन धर्मको छत्रछहारीमा परमशान्ति र परमआनन्दको श्वास फेर्ने अभुतपूर्व अवसर पाइरहेका छौं अन्यथा आजको यो अवस्था अर्कै असोचनिय हुनसक्थ्यो त्यसैले हामी सबै सनातनीहरु आदिगुरु शंकराचार्यका ऋणी भएकाछौं र वहाँकै पथमा हिडेर मात्र वहाँले लगाउनु भएको गुण तथा ऋणबाट केही हदसम्म उऋण हुन सक्छौं । आदिगुरु शंकराचार्य भन्दा अघि पनि धेरै महापुरुषहरुले सनातन दर्शन तथा सनातन धर्मको विकास तथा प्रवद्र्धनमा अतुलनिय योगदान दिनुभएको थियो र वहाँ पश्चात पनि धेरै महापुरुषहरुले सनातन दर्शन तथा सनातन धर्मको विकास तथा प्रवद्र्धनमा ठूला–ठूला उपलव्धिहरु पछिल्लो पिढीलाई हस्तानतरण गरेर र अतुलनिय योगदानहरु दिएर जानुभएको छ । सन्त कविर, स्वामी विवेकानन्द, परमहंस योगानन्द, शिवपुरी बाबा, रमण महर्षि, स्वामी खप्तड बाबा, चैतन्य प्रभु, प्रभुपाद, रजनीश ओशो, जे.कृष्णमुर्ति आदि सनातन अध्यात्म आकाशका चम्किला ताराहरु हुन् । 


विभिन्न युगमा आभिरभाव भएका विभिन्न महापुरुषहरुको महानतम योगदान कै कारण वर्तमान समयमा सनातन धर्मले विश्वको सबैभन्दा प्राचीनतम धर्मका रुपमा मान्यता पाएको छ । पुर्वीय सनातन दर्शन अध्यात्म विज्ञान तथा आधूनिक विज्ञानका विभिन्न खोज तथा अध्ययन, अनुसन्धानहरुमा उच्चतम उपलव्धि तथा सफलता हासिल गरेर आज विश्वकै महान दर्शनका रुपमा विश्वसामु लोकप्रिय भएर सम्मानसाथ खडा भएको छ । यसका साथै सनातन दर्शनका महानतम शास्त्रहरु वेद, उपनिषद, ब्रम्हसुत्र, भगवद् गीता, रामायण, महाभारत आदिले पुरै विश्वमा ब्रम्हाण्डका भौतिक तथा पराभौतिक ज्ञान, विज्ञानका लौकिक, अलौकिक ज्ञान, विज्ञान, सूचना तथा जानकारीहरु प्रदान गर्दै आधूनिक भौतिक विज्ञानको पछिल्लो शाखा प्रमात्रा भौतिक विज्ञान(क्वान्टम साइन्स)ले गर्दै आएका महानतम आकासिय खोज, अध्ययन, अनुसन्धानहरुमा उच्चतम सहयोग पुर्याउदै आइरहेका छन् । एककिसिमले भन्नुपर्दा आधूनिक प्रमात्रा भौतिक विज्ञानले आजको युगमा ब्रम्हाण्डको अन्तिम सत्यको सन्दर्भमा गरिरहेका सबैप्रकारका खोज तथा अनुसन्धाहरु अधिकांश पूर्वीय सनातन अध्यात्म दर्शनले हजारौंहजार वर्ष अघिनै गरिसकेका खोजका नतिजाहरुको प्रमाणिक खोज हो । सनातन शास्त्रमा उल्लेख गरिएका यस्ता अलौकिक विषयहरु साँच्चै सत्य हुन वा होइनन् भनेर जान्ने प्रयास गरिएको हो । हाम्रा पुर्खा प्राचीन वैज्ञानिक ऋषिमुनिहरुले सदियौं पहिलानै उजागर गरिसक्नु भएका ब्रम्हाण्डका शाश्वत ज्ञानहरु, वहाँहरुले गर्नुभएका धेरै प्रकारका अध्ययनका उपलव्धि तथा नतिजाहरु आजको प्रमात्रा भौतिक विज्ञानको कसीमा सत्य र प्रामाणिक सावित भएका छन् । यसैकारण सनातन धर्मप्रति सबै सनातनीहरु र सनातन हिन्दु धर्म वाहिरका धेरै श्रद्धालु, साधक तथा भक्तहरुको लगाव तथा समर्पण यति गहिरो रहेकोछ कि सनातन धर्ममा आफूलाई अभ्यस्त गराइसकेका सबै धार्मिक व्यक्तित्वहरु हजारौंहजार जन्मसम्म पनि सनातन धर्ममै आफ्नो जन्म होस भन्ने इच्छा राख्ने गरेका तथा सनातन धर्मप्रति अत्यन्तै समर्पित रहेका प्रसस्त प्रमाणहरु हाम्रा सामु जगजाहेर छन् । bsirjana@gmail.com




No comments:

Post a Comment