डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #सनातन_दर्शन #जीवन_दर्शन
विषय प्रवेश
प्रकृतिमा भएका हरेक मानिस, वनस्पति तथा पदार्थहरु सुक्ष्म उर्जाका तरंग(भाइब्रेसन अफ इथरी इनर्जी)हरुले घेरिएका हुन्छन्, यसप्रकारको उर्जालाई आधुनिक प्रमात्रा भौतिक विज्ञान(क्वानटम साइन्स)ले चुम्वकिय विद्युत क्षेत्र(इलेक्ट्रो मेग्नेटीक फिल्ड) भन्छ र अध्यात्म विज्ञानले आभामण्डल(औरा) भनेको छ । हरेक आममानिसको आभामण्डल तथा उर्जा क्षेत्र उसको भौतिक शरीरको वरीपरि सबैदिशामा तहगत रुपमा औषतमा तीनदेखि पाँच फिटसम्म अण्डाकारमा फैलिएर रहेको हुन्छ । आभामण्डल तथा उर्जा क्षेत्र मानिसको सुरक्षा कवच हो, सन्तुलित तथा स्वस्थ आभामण्डल तथा उर्जा क्षेत्रले मानिसलाई शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक तवरमा स्वस्थ, सन्तुलित, सक्रिय रहन मद्धत गर्दछ । मानिस सकारात्मक परिस्थिति, अवस्थिति, मनस्थिति तथा भावास्थितिमा रहेको छ भने आभामण्डल तथा उर्जा क्षेत्र स्वस्थ तथा सन्तुलित हुन्छ र यसको विपरित नकारात्मक परिस्थिति, अवस्थिति, मनस्थिति तथा भावास्थितिमा रहेको छ भने आभामण्डल तथा उर्जा क्षेत्र अस्वस्थ तथा असन्तुलित हुन्छ । आभामण्डल तथा उर्जा क्षेत्रको तरंग सकारात्मक अवस्थामा छ भने मानिसको उर्जाको स्तर बढ्छ र नकारात्मक अवस्थामा छ भने उर्जाको स्तर घट्छ । उर्जाको सकारात्मक तथा नकराात्मक अवस्थाको प्रत्यक्ष सकारात्मक तथा नकारात्मक प्रभाव व्यक्ति स्वयंलाई र उसको तीनदेखि पाँच फिटसम्म वरिपरी भएका जीव, वनस्पति तथा पदार्थहरु सबैलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पर्दछ ।
आभामण्डल तथा उर्जा क्षेत्रको पृष्ठभूमि
चार प्रकारका उर्जाबाट मानिसको जीवन चल्छ– (१)शरीरको उर्जा, (२)मनको उर्जा, (३)भावको उर्जा, र (४)आत्मा अर्थात चेतनाको उर्जा । उर्जाको श्रोत शरीर, मन, भाव आत्मा अर्थात चेतना भएपनि समग्रमा भन्नुपर्दा मानिसको उर्जा एउटै हुन्छ जसलाई योग विज्ञानले मानिसभित्र रहेको सर्वशक्तिमान ब्रम्हाण्डिय उर्जाशक्तिको मूलकेन्द्र कुण्डलिनी उर्जाको रुपमा व्याख्या गरेको छ । आफूभित्रनै स्थित रहेको यस कुण्डलिनी उर्जालाई कहाँ, कसरी, कहिले, कति खर्च तथा प्रयोग गर्ने भन्ने निर्णय मानिस स्वयंमले गर्दछ । शरीर चलाउन तथा शरीरका सबैप्रकारका गतिविधिहरु गर्न; सोच, विचार गर्न; दया, मायाँ, करुणा, प्रेमका भावहरु प्रकट गर्न आदि तमाम कामहरुमा यही कुण्डलिनी उर्जाको प्रयोग गरिन्छ ।
मानिसको शरीरबाट खासगरि हृदय(सुक्ष्म) तथा मुटु(स्थुल) र मन(सुक्ष्म) तथा मस्तिष्क(स्थुल)बाट निरन्तर चुम्बकीय विद्युत उर्जाका तरंगहरु निस्किरहन्छन् । मन तथा मस्तिष्कको मूल काम सोच तथा विचारहरुको निर्माण गर्नु हो । ज्ञान इन्द्रियहरु मार्फत प्राप्त वाहिरी जगतका सूचनाहरु र स्मृति तथा कल्पनाबाट प्राप्त आन्तरीक जगतका सूचना तथा विषयहरुका कारण मानिसको मन तथा मस्तिष्कमा सोच तथा विचारहरु निरन्तर बनिरहन्छन् र यिनै विचारहरुले भाव तथा भावनात्मक जगतको निर्माण गर्दछन् । आधूनिक मनोविज्ञानको वैज्ञानिक खोजको तथ्यांकले देखाए अनुसार औषतमा एउटा स्वस्थ मानिसको मनमा २४ घण्टामा ६०००० विचारहरु आउछन् र जान्छन् । कति र कस्ता विचारहरु आए र गए सबै विचारहरुबारे व्यक्ति स्वयंमलाई नै थाहा हुदैन । धेरै यस्ता विचारहरु मध्य अत्यन्तै थोरै केही विचारहरुमात्र शव्द, व्यवहार तथा कर्ममा रुपान्तरित हुन्छन् बाँकी यसै आकाशमा बादल देखिए र हराए जस्तै आउछन् र जान्छन् । यसरी मन तथा मस्तिष्कमा निरन्तर चलिरहने यिनै सोच तथा विचारले हृदय तथा मुटुमा भावहरु सिर्जना गर्दछन् र मानिसले राम्रो, ठिकै तथा नराम्रो अवस्था अर्थात सुख, खुशी तथा पिडाको अनुभव तथा अनुभूति गर्दछ । यसरी मन तथा मस्तिष्कमा चल्ने सोच तथा विचारहरु र यिनले हृदय ताथ मुटुमा उत्पन्न गर्ने भावहरुलेनै हाम्रो शरीरको वरिपरी निरन्तर उर्जाका तरंगहरु अर्थात इलेक्ट्रो मेग्नेटीक भाइब्रेसन निर्माण गर्दछन् । मन तथा मस्तिष्क र मुटु तथा हृदयमा राम्रा सोच, विचार तथा भावका तरंगहरुबाट सकारात्मक उर्जाका तरंगहरु निस्कन्छन् र नकारात्मक सोच, विचार तथा भावका तरंगहरुबाट नकारात्मक उर्जाका तरंगहरु निस्कन्छन् र त्यही अनुसारनै आफू लगायत आफू वरिपरी तीनदेखि पाँचफिट सम्म सबैमाथि राम्रो तथा नराम्रो प्रभाव पार्दछन् । नकारात्मक उर्जाका तरंगहरु चल्दा उर्जाको तह असन्तुलित हुन्छ र यस्तो अवस्थामा उर्जाको स्तर कम हुन्छ तथा तल झर्छ र सकारात्मक उर्जाका तरंगहरु चल्दा उर्जाको स्तर बढि हुन्छ तथा माथि चढ्छ । यसप्रकारका उर्जा तरंगहरु केवल मानिसको शरीर, मन, भावनामा मात्र उत्पन्न नभएर सबै जीव, वनस्पति तथा पदार्थहरुबाट पनि निरन्तर निस्किरहेका हुन्छन् ।
मानिस चेतनशील प्राणी भएकोले विभिन्न माध्यमबाट विभिन्न प्रकारले उसको चेतनाले गरीरहेका राम्रा, तटस्थ तथा नराम्रा अनुभव तथा अनुभूतिहरुले हरेक विचार तथा भावमा उतार–चढाव ल्याइरहन्छ र यो उतार–चढाउसंगै उसको शरीरबाट निस्किने चुम्बकिय विद्युत उर्जाका तरंगहरुको अवस्था तथा गुणस्तर, फैलावट, तोरा, सकारात्मकता, नकारात्मकता जस्ता स्वरुपहरु पनि अवस्था अनुसार परिवर्तन भैरहन्छन् । उर्जाको यस किसिमको परिवर्तित पस्थितिले उर्जाको अवस्था तथा गुणस्तर अनुसारकै प्रभाव पार्दछ व्यक्ति स्वयं लगायत वरीपरीका सबै वस्तुहरुलाई । मोबाइल फोनको सीम तथा फोनको घण्टी बज्दा आउने जाने फोनका सिग्नलका तरंगहरु र इन्टरनेट तथा वाइफाईका तरंगहरु जस्तै सोच, विचार तथा भावका तरंगहरु पनि नदेखिने प्रकारका हुनछन् तर यिनको प्रभाव भने निकै कडा हुन्छ । सोच, विचार तथा भावका उर्जा तरंगहरु निरन्तर निस्किरेका हुन्छन्, उर्जाका तरंगका क्रिया तथा गतिविभिहरु देख्न सकिदैन तर यिनले आ–आफ्नो प्रकृति अनुसार निरन्तर काम भने गरिहेका हुनछन् र हामी उर्जाका तरंगहरुका प्रभावले ल्याएका परिणामहरु मात्र देख्न तथा अनुभव गर्न सक्छौं । मानिसको मन तथा मस्तिष्क र हृदय तथा मुटुमा उठ्ने सोच, विचार तथा भावका यिनै चुम्बकीय विद्युत तरंगहरु(इलेक्ट्रो मेग्नेटीक तरंगहरु) र यिनले स्वयं व्यक्ति र उसको वरिपरिका वस्तुहरुलाई पार्ने प्रत्यक्ष तथा अप्रत्यक्ष र सकारात्मक तथा नकारात्मक प्रभावहरु नै स्वामी खप्तड बाबाको पुस्तक विचार विज्ञानमा उल्लेख गरिएको विचारका विज्ञानहरुका विषयहरु हुन् । यस पुस्तकका अनुसार मानिसको सोच, विचार तथा भावहरुबाट निस्केका उर्जाका चुम्बकीय विद्युत तरंगहरु ब्रम्हाण्डको वातावरणमा जान्छन् र तिनले उक्त वातावरणको वरपर रहेका मानिस, जीव, प्राणी, वनस्पति, पदार्थ आदि सबैलाई प्रत्यक्ष तथा अप्रत्यक्ष प्राभाव पार्दछन् । तत्कालीन अवस्थामा जुन मानिसका विचार, मनोदशा तथा भावदशाका तरंगहरु आफू वरपरको वातावरणमा तरंगीत भैरहेका उर्जाका तरंगहरुसंग मिल्दाजुल्दा प्रकारका हुन्छन् उनीहरुलाई उर्जाका यस्ता तरंगहरुले सबैभन्दा बढि तथा प्रत्यक्ष प्रभाव पार्दछन् र जसका विचार, मनोदशा तथा भावदशाका तरंगहरु आफू वरपरको वातावरणमा तरंगीत भैरहेका उर्जाका तरंगहरुसंग मिल्दाजुल्दा प्रकारका हुदैनन् उनीहरुलाई कम तथा अप्रत्यक्ष प्रभाव पार्दछन् । आधूनिक मनोविज्ञानका अध्ययनले उजागर गरे अनुसार पाँच फिट वरपरसम्म मानिसको सोच, मन, तथा भावबाट निस्केका उर्जाका तरंगहरुको प्रत्यक्ष प्रभाव रहन्छ र पाँच फिटबाट दुरी बढ्दै गएपछि प्रभावको तोरा(इन्टेनसीटी) क्रमशः घट्दै जान्छ । सकारात्मक प्रकारका सोच, विचार तथा भावका उर्जाका तरंगहरुले सम्पूर्ण रुपमा सकारात्मक प्रभाव नै पार्दछन् र नकारात्मक सोच, विचार तथा भावका उर्जाका तरंगहरुले नकारात्मक प्रभाव नै पार्दछन् ।
सच्चा योगी, सन्त, साधु, गुरु, सदगुरु, परोपकारी, समाजसेवी मानिसहरु जसका सोच, विचार तथा भावहरु अधिकतर सकारात्मक प्रकारका हुन्छन् र उनीहरुको मनोदशा तथा भावदशाबाट निस्कने उर्जाका तरंगहरु सकारात्मक प्रकारका हुन्छन् र यिनको प्रभाव र परिणाम पनि सकारात्मक नै हुन्छ । यस्ता मानिसहरुको सोच, विचार तथा भावहरु कहिलेकाहीं नकारात्मक भए भनेपनि आवश्यकताका लागि उपकरणका रुपमा क्रोध, अहंकार, लोभ गर्दछन् जानीजानी तथा होसपूर्वक र होसपूर्वक गरिएको नकारात्मक सोच, विचार तथा भावहरुलाई नकारात्मकताको कोटिमा राखिदैन किनकी उनीहरुको व्यवहार नकारात्मक प्रकारको देखिएपनि नियत(इन्टेन्सन) सकारात्मक हुने हुनाले यस्ता उर्जाहरुको तरंग पनि सकारात्मकनै हुन्छन् किनकी परमात्माले मानिसको कर्म हेर्दैन कर्ममा लुकेको नियतलाई हेर्छ र त्यसै अनुसार उसको कर्मको मूल्यांकन गर्छ । डाक्टर र डाकुको उदाहरणबाट स्पष्ट बुझ्न सकिन्छ की दुवैले छुरीको प्रयोग गर्छन् तर उनीहरुको नियत फरकफरक अर्थात कल्याण र बिनासको हुन्छ । भगवान कृष्ण भन्नुहुन्छ, “होसपूर्वक गरेका सबै कर्महरु सकारात्मक हुन्छन्, परमात्मालाई स्वीकार्य हुन्छन्, परमात्मा स्वयंले जिम्मा लिनुहुन्छ किनकी जो होसमा रहेर कर्म गर्छ उसले आफू तथा अरुलाई हानि हुने काम कहिल्र्यै पनि गर्दैगर्दैन । आफू तथा अरुलाई हानि हुने अमानवीय कर्महरु मानिसले बेहोसीको अवस्थामा मात्र गर्छ । मानवीय विकारहरु काम, त्रोध, लोभ, मोह, इष्र्या, घृणा, डर, असुरक्षाका अवस्थाहरु बहोसीका अवस्थाहरु हुन् र यस्तो अवस्थामा मानिसले गरेका कामहरुले आफू लयायत अरुलाई हानि गर्छ र यस्ता कर्महरुबाट उत्पन्न हुने उर्जाका तरंगहरु नकारात्मक हुन्छन् जो ब्रम्हाण्डको वाताबरणमा तरंगीत भएर बसिरहन्छन् र परिस्थिति अनुसार अरुलाई नकारात्मक प्रभाव पार्दछन् । तर सच्चा योगी, सन्त, साधु, गुरु, सदगुरु, परोपकारी, समाजसेवी मानिसहरुको उर्जाका तरंगहरु संधै सकारात्मक नै हुन्छन् र उनीहरुका वरिरपरिका मानिस लगायत जीव, वनस्पति तथा पदार्थहरु सबैले सुख, खुशी, शान्ति तथा आनन्दको महसुस गर्छन् ।
स्वामी विवेकानन्दको प्रेरक प्रसंग र उर्जा क्षेत्रको प्रभाव
सन् १८९३ मा अमेरीकाको सिकागोमा अन्तर्राष्ट्रिय विश्वधर्म महासभा चलिरहेको थियो । यस महासभामा संसारभरिका ठूला–ठूला विद्ध्वानहरु वक्ताको रुपमा आ–आफ्नो विचारहरु राखिरहेका थिए । यही भिडमध्यबाट एक सनातनी युवा साधु साधारण केशरी(भगुवा पहिरन)भेषमा मञ्चमा उपस्थित हुन्छन्, कसैले चिनेको तथा नामसम्म पनि सुनेका हुदैनन् उनको को मानिस हो, कहाँबाट आएको हो, के विषयमा बोल्दैछन् भनेर । विश्वधर्म महासभाको मञ्चमा आसिन हुने वित्तिकै केशरी भेषका सनातनी युवाले दुई शव्द बोले “सिस्टर्स उण्ड ब्रदर्स अफ अमेरीका” । यति दुई शव्द सुन्ने वित्तिकै पूरा सभागृह तालीको गडगडाहटले गुञ्जियो दुई मिनेटसम्म । यी साधारण केशरी पहिरनमा रहेका साधु व्यक्ति अरु कोही नभएर स्वामी विवेकानन्द हुनुहुन्थ्यो । सिस्टर्स एण्ड ब्रदर्स शव्दले सम्वोधन गर्दैमा पूरा सभाले दुई मिनेटसम्म ताली बजाउनु पर्ने के कारण थियो ? यो कारण थियो स्वामी विवेकानन्दको उच्च तहको शक्तिशाली सकारात्मक आभामण्डल तथा उर्जा क्षेत्रको शक्तिशाली सकारात्मक प्रभाव । वहाँको उच्च तहको शक्तिशाली सकारात्मक उर्जा क्षेत्रको प्रभाव वहाँले बोल्नुअघि सभागृहमा प्रवेश गर्दानै त्यँहा उपस्थित दर्शक, श्रोताहरुको चेतनाले उर्जाको तरंग(वाइफाइ)को माध्यमबाट महसुस तथा ग्रहण गरिसकेका थिए । सभागृहमा बसेका दर्शक, श्रोताहरुले स्वामी विवेकानन्दको उपस्थितिकै समयमा वहाँको चेहराको चमक, सरल शारीरिक लवज, अन्तरभाव, अदम्य आत्मविश्वास, आकर्षक हाउभाउ, सहज व्यवहार, वाणिको मिठास आदि दृश्य(स्थुल) तथा अदृश्य(सुक्ष्म) दुवै प्रकारका उच्च तहको शक्तिशाली सकारात्मक आभामण्डल तथा उर्जा क्षेत्रको शक्तिशाली सकारात्मक उर्जाका तरंगहरु प्रसारित भैसकेका कारण उनीहरुले सम्वोधनमै तालीको गडगडाहटले लामोबेर स्वागत गरेका थिए ।
सात चक्र र आभामण्डल तथा उर्जा क्षेत्रको अन्तर सम्वन्ध
आभामण्डल तथा उर्जा क्षेत्र सन्तुलित, सक्रिय तथा शुद्ध रहन र सहि स्तरमा रहन मानिसको सुक्ष्म शरीरको मेरुदण्ठमा रहेका ब्रम्हाण्डिय महाशक्तिका मूलकेन्द्र कुण्डलिनी उर्जाको मूलश्रोत प्रमुख सात चक्रहरुको वास्तविक अवस्थाको प्रत्यक्ष सम्वन्ध र प्रभाव रहेको हुन्छ । कुण्डलिनी उर्जाका मुलशक्ति केन्द्र सात चक्रहरु जागृत, सक्रिय तथा निश्क्रिय, सन्तुलित तथा असन्तुलित रहनुमा मुख्यरुपमा मानिसको मनस्थिति तथा भावास्थितिमा निरन्तर चलिरहने उसका सोच, विचार तथा भावहरुको प्रत्यक्ष प्रभाव रहेको हुन्छ । निरन्तर चलिरहने सोच, विचार, भावहरुले मानिसको व्यवहार, आचरण, अनुशासन, नैतिकता, कर्म, काम, क्रोेध, लोभ, मोह, मानवीय विकार तथा क्लेशहरु र उसको समग्र जीवनशैलीमा निरन्तर प्रत्यक्ष प्रभाव पारिरहेका हुन्छन् । जतिजति मानिसका सोच, विचार तथा भावहरु नकारात्मक हुन्छन् उतिनै उसका चक्रहरु असन्तुलित हुदै जान्छन् र उर्जाको क्षेत्रको तह तथा स्तर पनि घट्दै जान्छ । मानिसको मनस्थिति तथा भावास्थितिमा मानवीय विकार तथा क्लेशहरु अर्थात नकारात्मक सोच, विचार तथा भावहरु चलिरहेको अवस्थामा एकएक अवस्था अनुसार उर्जाको तह तथा स्तरहरु पनि फरक–फरक हुन्छन् र उसको जीवनका महत्वपूर्ण पक्षहरु– सुख, खुशी, शान्ति, आनन्द तथा व्यक्तित्व, सम्वन्ध, सफलता, समृद्धिमा उर्जाको अवस्था, तह तथा स्तर अनुसारकै प्रत्यक्ष प्रभाव देखिदै जान्छ । हरेक मानिसको जीवनमा हरपल उ स्वयंको उर्जा क्षेत्र र उर्जा क्षेत्रको स्तरको यस्तै–यस्तै अवस्थाहरु घटित भैरहेका हुन्छन् । उर्जाको यही अवस्था तथा स्तरको आधारमा आधूनिक विज्ञानले मानिसको आभामण्डल तथा उर्जा क्षेत्रको तह तथा स्तरलाई मोटामोटी रुपमा १८ स्तरमा विभाजन गरेको छ न्यूनतम २०देखि अधिकतम १०००सम्म । लज्जा(सेम)को अवस्थामा मानिसको उर्जाको स्तर सबैभन्दा कम २०को हाराहारीमा हुन्छ र पूर्ण प्रकाशित(इनलाइटमेन्ट)को अवस्थामा उसको उर्जाको स्तर सबैभन्दा बढि १०००को हाराहारीमा हुन्छ भन्ने अनुमानित मान्यता राखिएको छ आम मानिसहरुलाई आ–आफ्नो उर्जाको स्तर जान्न सहज होस भन्ने अभिप्रायले । मानिसको कुन तथा कस्तो मनोदशा तथा भावदशाको अवस्थामा उर्जा क्षेत्र तथा आभामण्डल(औरा) तथा चुम्वकीय विद्युत क्षेत्रको अवस्था तथा स्तर कस्तो तथा कति हुन्छ त ?- (१)मृत्यु(डेथ)- ०; (२)हिनातावोध(सेम)- २०; (३)अपराधवोध(गिल्ट)- ३०; (४)निराशावोध(एप्याथि)- ५०; (५)भावनात्मक चोट(इमोसनल हर्ट)- ७५; (६)डरको अवस्था(फियर)- १००; (७)इच्छा(डिजाएर)- १२५; (८)क्रोध(एंगर)- १५०; (९)अभिमान(प्राइड)- १७५; (१०)साहस(करेज)- २००; (११)निष्पक्षता(न्युट्रालीटी)- २५०; (१२)तत्परता(विलिंगनेस)- ३००; (१३)स्वीकार(एसेप्टेसन)- ३५०; (१४)विवेक(विजडम)- ४००; (१५)प्रेम(लभ)- ५००; (१६)खुशी(जोय)- ५४०; (१७)परम शान्ति(कम्प्लीट पिश)- ६००; (१८)बुद्धत्व प्राप्ति तथा प्रकाशित(इनलाइटमेन्ट)- ७०० देखि १००० सम्म ।
आभामण्डल तथा उर्जा क्षेत्र के हो ?
मानिसको आभामण्डल(औरा), उर्जा क्षेत्र(इनर्जी फिल्ड), कुण्डलिनी उर्जा, जीवन उर्जा, प्राणशक्ति, चुम्बकीय विद्युत क्षेत्र(इलेक्ट्रो मेग्नेटीक फिल्ड), उर्जा तरंगको आवृत्ति(इनर्जी भाइब्रेसनल फ्रिक्वेन्सी और भाइव) आदि जुन शव्दावलीले सम्वोधन गरेपनि यी सबैको अर्थ एउटै हो मानिसको शरीर, मन, भाव र आत्मा अर्थात चेतनाबाट प्राप्त हुने उर्जाशक्ति । मानिसको आभामण्डल तथा उर्जा क्षेत्र सन्तुलित तथा सक्रिय र शक्तिशाली छ भने स्वामी विवेकानन्दलाई भएको जस्तै उप्रति पनि स्वतः आममानिसहरु आकर्षित हुन्छन् । कुनै दृश्य, पहिरन, सुन्दरता, बानी, व्यवहार बिनानै आममानिसहरु सन्तुलित तथा सक्रिय र शक्तिशाली आभामण्डल तथा उर्जा क्षेत्र भएको मानिसप्रति आश्चर्यजनक किसिमले आकर्षित हुन्छन् उसको उर्जा क्षेत्रको सकारात्मकता र सुदृढ स्तरको कारणले । मजबुत उर्जाफिल्ड भएको मानिस हरप्रकारले उच्च सोच, विचार, भाव, व्यक्तित्व भएको हरपल सुखी, खुशी, सरल, सहज, सफल, सहयोगी, परोपकारी, अरुलाई दिन मात्र चाहने, अरुबाट केही अपेक्षा नगर्ने तथा लिन नचाहने प्रकारको निस्काम भावले ओतप्रोत भएको हुन्छ । यस्तो व्यक्ति कहीं उपस्थित हुनुनै पर्याप्त हुन्छ उसको उर्जाको मजबुती तथा सुदृढ सकारात्मक स्तरको प्रभाव वरीपरिका सबैमा रुवतः पर्न थालिहाल्छ उसले बोल्नु तथा केही कर्म गर्नुअघि नै । आभामण्डल तथा उर्जा क्षेत्र नदेखिने(इनभिजिवल) सुक्ष्म तत्व हो । विश्वमा आभामण्डलबारे धेरै वैज्ञानिक खोज तथा अनुसन्धानहरु भएका छन् कि आभामण्डलले व्यक्ति स्वयं लगायत वरिपरिको वातावरणहाई के कस्तो, कति र कसरी प्रभावित गर्छ भन्ने सन्दर्भमा । आजकलको फेसन छ खासगरि दम्पतिमा मनमुटाव भयो तथा मत विभाजन भयो भने हाम्रो एकआपसको भाइव(उर्जाको तरंग) मिलेन भनेर पारपाचुके गर्ने तथा अलग भएर बस्ने । अंग्रजी शव्द ‘भाइव’ भाइबे्रसनको छोटकरी रुप हो, भाइब्रेसनको अर्थ आभामण्डल तथा उर्जा क्षेत्रको तरंग तथा कम्पन हो । मानिसको भाइव(नेपालीमा भाव तरंग भनिन्छ) अर्थात उर्जाको तरंग उसको आभामण्डल तथा उर्जा क्षेत्रको कारण तयार हुन्छ अर्थात मानिसको उर्जाको क्षेत्रको तह तथा स्तर जस्तो प्रकारको छ त्यस्तै प्रकारको उसको भाइव तथा मनोदशा र भावदशा हुने गर्दछ ।
आभामण्डल तथा उर्जा क्षेत्र भन्ने शव्द सुन्दा लाग्न सक्छ यो कुनै आध्यात्मिक तथा वैज्ञानिक भारी भरकम शव्दावली होला भन्ने तर होइन यो अत्यन्तै सामान्य र आमविषय हो । यो विषयलाई हामीले दैनिक जीवनमा बारबार अनुभव गरिरहेका हुन्छौं कहिले जानेर त कहिले नजानेर । कोही चिनेको तथा नचिनेको मानिसको व्यक्तित्व मनपर्नु तथा मननपर्नु उसको आभामण्डल तथा उर्जा क्षेत्रको मजबुती तथा कमजोरीको कारणले हुने गर्दछ । सकारात्मक तथा सुदृढ उर्जा क्षेत्र तथा उर्जाको स्तर धेरै भएको मानिसको समिपमा हुदा आन्तरीक रुपमा एकप्रकारको रमाइलो, सुख, खुशी, शान्ति तथा आनन्दको अनुभव हुन्छ र उसंगै बसिरहु, उसलाई हेरिरहुँ, सुनिरहुँ जस्तो लागिरहन्छ तर नकारात्मक तथा अपर्याप्त उर्जा क्षेत्र तथा उर्जाको स्तर थारेरै भएको मानिसको समिपमा हुदा तथा उसलाई देख्ने वित्तिकै एकप्रकारको नकारात्मक भाव आउछ, बेचैनी, चिडचिडाहट हुन थाल्छ, उसलाई नहेरौं, उसंग नबोलौं, मसुनौं, उसको नजिक नबसौं, कतिबेला उबाट टाढा जाउँ जस्तो हुन्छ उसले कुनै प्रकारका अप्ठ्यारा बोली तथा व्यवहारहरु केही नगरे तथा नदेखाएको भएपनि । अझ कतिपय अवस्थामा त आफ्नो समिपमा भएको व्यक्तिको उर्जाको तह निकै तल छ भने आफूलाई गलेको, अल्छि लागेको, हाइ आउने, काम गर्ने जोश–जाँगर मर्ने, उत्साह तथा प्रेरणा हराउने जस्तो हुन्छ यस्तो हुनुको कारण आफ्नो सकारात्मक उर्जा अर्को व्यक्तिमा सर्नु हो । यसरी नकारात्मक उर्जा क्षेत्र भइएको तथा उर्जाको स्तर कम भएको मानिसको उर्जा सन्तुलन गर्न आफ्नो सकारात्मक उर्जा उसमा सर्दा आफू खालि हुदै गएको अवस्थामा यस्तो अनुभव हुन्छ । तर सुदृढ उर्जा क्षेत्र भएको व्यक्तिको समिपमा आफूलाईलाई पहिला भन्दा शरीरमा, मनमा, भावमा उत्साह, प्रेरणा, जोश–जाँगर, स्फूर्ति बढेको अनुभव हुन्छ । यसो हुनुको कारण उसको सकारात्मक उर्जा आफूमा सरेर आफूमा पहिला भन्दा उर्जाको स्तर बढेर जानु हो । यसलाई आधुनिक वित्रानले उर्जाको सन्तुलिकरण भएको भन्ने परिभाषा गरेको छ, अनौपचारीक भाषामा यस्तो अवस्थालाई उर्जाको चोरी भन्ने गरिएको पाइन्छ किनकी मानिसको उर्जा पनि पानी तथा हावाकै सिद्धान्त अनुसार चल्छ जता खाल्डो तथा अभाव छ उतै भरिन पुग्छ ।
के विज्ञानले आभामण्डललाई प्रमाणित गर्न सक्छ ?
आभामण्डलको विषय सिर्फ कुरा र अनुमान मात्र होइन, यो वैज्ञानिक खोजले पनि पत्ता लगाएको तथा खोजका तथ्यांकहरुले उजागर गरिसकेको प्रामाणिक विषय हो । आधूनिक विज्ञानको अध्ययन अनुसार, जव कोही मानिस आफ्नो काममा उच्च प्रदर्शन गरिरहेको हुन्छ उक्त समयमा उसको शरीरबाट वायो फोटोन्स अर्थात मानिसको शरीरका कोषहरु(सेल्स)बाट स–साना प्रकाशका कणहरु अधिक मात्रामा वाहिर निस्कन्छन् र यिनै प्रकाशका कणहरुको समुह तथा पुञ्जनै उसको आभामण्डल तथा उर्जा क्षेत्र हो । यही प्रकाश पुञ्ज तथा उर्जा क्षेत्रको सुदृढ अवस्थाको कारण व्यक्तिले आफ्नो प्रस्तुति, शंकल्पशक्ति, आत्मविश्वास बढाउनुका साथै आफू लगायत आफू वरिपरिको वातावरणमा भएका अरु मानिस, प्राणी, वनस्पति तथा पदार्थलाई समेतलाई प्रत्यक्ष सकारात्मक भाव तथा भाइव तथा उर्जा भरिरहेको हुन्छ ।
हजारौं वर्ष अघिदेखि अध्यात्म विज्ञानले भन्दै आएको विषय वर्तमान समयमा आधूनिक भौतिक विज्ञान र यसका नयाँ नयाँ अत्याधूनिक शाखाहरुले पनि निकै अघिदेखि स्वीकार गर्दै आइरहेका छन् कि मानिस केवल दृश्य शारीरिक अर्थात भौतिक तथा स्थुल शरीर मात्रले बनेको छैन अपितु ब्रम्हाण्डमा व्याप्त अनन्त सुक्ष्म तत्वहरुको जोडले बनेको छ र यी सुक्ष्म तत्वहरुको अन्तिम इकाइ चेतना अर्थात वैश्विक चेतना(सुपर कनसस)हो । मानिस लगायत प्रकृतिमा भएका सबै वस्तुहरु यही चेतना(क्रमशः सुक्ष्म श्रृंलखामाः चेतना, उर्जा, परमाणु, अणु, पदार्थ)ले बनेका छन् र यो चेतनाको उर्जा समुच्चा ब्रम्हाण्डमा निरन्तर एउटा खास गतिमा तरंगीत(भाइब्रेसन) भैरहन्छ र यही निरन्तर तरंगीत भैरहने उर्जाले हाम्रो वरीपरि उर्जा जगत अर्थात आभामण्डल अर्थात प्रमात्रा भौतिक विज्ञान(क्वान्टम साइन्स)को भाषामा चुम्बकीय विद्युत क्षेत्र(इलेक्ट्रो मेग्नेटीक फिल्ड) उत्पन्न गर्छ र यही नै हो मानिस, जीव तथा पदार्थहरुको आभामण्डल तथा उर्जा क्षेत्र । मानिसको शरीरका वाहिय तथा आन्तरीक सबै प्रकारका गतिविधिहरु जस्तो अंग परिचालन, रक्तसंचार, मुटुको चाल, पाचन क्रिया, श्वास–प्रश्वास, स्नायु प्रणाली आदि सबै गतिविधिहरुको संयोगले एकप्रकारको चुम्बकीय विद्युत श्रृंखला(इलेक्ट्रो मेग्नेटीक सिरीज)को निर्माण गर्दछन् । श्रृंखलावद्ध रुपमा उत्पन्न भएका यी चुम्बकीय विद्युत तरंगहरु एकअर्कोसंग अन्तरक्रिया(इन्टर्याक्ट) भएर हाम्रो वरीपरि एकप्रकारको उर्जा क्षेत्र(इनर्जी फिल्ड) बनाउछन् यसैलाई इलेक्ट्रो मेग्नेटीक फिल्ड(इ.एम.एफ.) भनिन्छ । यो उर्जा क्षेत्र हाम्रो शरीरको चारैतिर ४–५ फिटसम्म फैलिएको हुन्छ र यही नै हाम्रो आभामण्डल तथा उर्जा क्षेत्र हो । हाम्रो आभामण्डलले हाम्रो आसपासमा रहेका पर्यावरणीय अवस्था तथा वपरस्थितिहरुसंग लगातार संवाद(कम्युनिकेसन) गर्दछ र हाम्रो शरीरमा उर्जाको सन्तुलन बनाइराख्छ । आभामण्डल तथा उर्जा क्षेत्रका यस्ता गतिविधिहरु सिर्फ मानिसमा मात्र नभएर प्रकृतिमा रहेका सबै जीव, वनस्पति तथा पदार्थहरुमा पनि निरन्तर भैरहेका हुन्छन् ।
के आभामण्डल तथा उर्जा क्षेत्रलाई देख्न सकिन्छ ?
के साच्चै आभामण्डल तथा उर्जा क्षेत्रलाई देख्न सकिन्छ ? यही सवालको जवाफ खोज्ने क्रममा सन् १९३९मा रसियाका रसियन वैज्ञानिक सेमियोन क्रिलियन दम्पतिले आफ्नो क्रिलियन फोटोग्राफीको खोज गरे । क्रिलियन फोटोग्राफीको प्रविधिको मद्धतले कुनैपनि वस्तुको चारैतिर फैलिएको(डिसचार्ज) चुम्बकीय विद्युत क्षेत्र(इलेक्ट्रो मेग्नेटीक फिल्ड) अर्थात उर्जा क्षेत्रलाई देख्न(क्याप्चर गर्न) सकिन्थ्यो । यही उर्जा क्षेत्र(इनर्जी फिल्ड) नै हाम्रो शरीरबाट निस्कने वायो फोटोन्स अर्थात प्रकाशका स–साना कणहरुको पुञ्ज हो र यही नै हाम्रो आभामण्डल तथा उर्जा क्षेत्र हो । तर अहिलेका केही वैज्ञानिकहरुले क्रिलियन फोटोग्राफीको प्रविधिलाई पूर्णरुपमा स्वीकार गर्दैनन् र उनीहरु यसरी क्रिलियन फोटोग्राफीमा उर्जा देखिने अवस्थालाई मस्तिष्कको कमजोरी मान्दछन् । उनीहरुको थप शंका यो रहेको छ की क्रिलियन फोटोग्राफीले उर्जाका प्रकाशका कणहरु देख्न सक्यो तर यी कणहरुका वरीपरि चलिरहेका देखिने रंगहरु चाहिं के हुन् त ? की ती अर्कै कुनै विज्ञानका गतिविधिहरुका परिणामहरु हुन् जो अझै विज्ञानले जान्न बाँकी नै छ ? यसउपर असहमति जनाए पनि यी अत्याधूनिक विज्ञानलाई अनुशरण गर्ने वैज्ञानिकहरुले पनि यसबारे केही नयाँ तर्क तथा समाधान दिन भने सकेका छैनन् ।
यो सत्य हो, आभामण्डलका केही प्राथमिक रंगहरु पनि हुन्छन्, ती सप्तरंगी हुन्छन्, मानिसको सुक्ष्म शरीरमा रहेका सात चक्रहरुकै रंग आभामण्डल तथा उर्जा क्षेत्रको रंग हो । आभामण्डलको रंगका अवस्थाहरुले व्यक्तिका अवस्था तथा परिस्थितिहरुका अलग–अलग अवस्थाहरुलाई दर्शाउछन् । आभामण्डलको रंग मानिसको शारीरिक, मानसिक र भावनात्मक अवस्था तथा स्वास्थ्य अनुसार बदलिरहन्छ । मानिसको सोच, विचार, भाव सकारात्मक भएको, सुखी, खुशी, शान्त, आनन्दित भएको, निरोगी रहेको अवस्थामा उसको आभामण्डल ठूलो तथा फराकिलो(४–५ फीट भन्दा बढि), चम्किलो, सबै रंगहरुको बराबर संयोजन भएको उज्यालो तथा पुष्ट हुन्छ । तर यसको विपरीत नकारात्मक सोच, विचार, भाव भएको, दुःखी, बेखुशी, अशान्त, पिडा तथा तनावमा भएको, बिरामी अवस्था भएको मानिसको आभामण्डल सानो तथा साँघुरो, खैरो तथा कालो, खण्डित परेको तथा दाग धब्बा भएको हुन्छ । bsirjama@gmail.com
क्रमशः...
****************************
छिट्टै,
- अध्यात्म विज्ञानको दृष्टिकोणमा आभामण्डल तथा उर्जा क्षेत्र
- रेइकि र आभामण्डल तथा उर्जा क्षेत्र
- प्रमुख सात चक्र र आभामण्डल तथा उर्जा क्षेत्र
- सात चक्रको अवस्था र आभामण्डल तथा उर्जा क्षेत्रको स्तर
-आभामण्डल तथा उर्जा क्षेत्रको शुद्धता
- मजबुत तथा कमजोर उर्जा क्षेत्र र यसको प्रभाव
- उर्जाको तह बढाउन सनातन अध्यात्म दर्शनमा उल्लेखित विधिहरु
(१)योग चिकित्सा
(२)दृश्यांकन चिकित्सा
(३)प्राकृतिक चिकित्सा
(४)ध्वनि चिकित्सा
(५)धुवाँ चिकित्सा
(६)आत्मसन्देश
(७)सकारात्मकता
No comments:
Post a Comment