'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Wednesday, 2 July 2025

सनातन दर्शनको पुनरोत्थानमा जगतगुरु आद्य शंकराचार्यको भूमिका, खण्ड -९(अन्तिम)

                                                 डा. सिर्जना भण्डारी

#अध्यात्म_दर्शन #सनातन_दर्शन #जीवन_दर्शन



“आफ्नो जीवनकालमा जगतगुरु आद्य शंकराचार्यको बारेमा नसुनेको, नजानेको, नबुझेको, नपढेको मानिसले सनातन धर्मको कखरा नै बुझेको छैन भन्दा हुन्छ ।”  –लोकप्रिय कवि तथा सनातन कथावाचक डा. कुमार विश्वास

बत्तिस वर्षको युवाअवस्थामै शरीर छोड्नु भएका जगतगुरु आद्य शंकराचार्यलाई तमाम सनातन धर्म तथा समाजले अतिइन्द्रियदर्शी महान सदगुरु; महान दार्शनिक; विलक्षण कवि तथा साहित्यकार; सनातन दर्शनको संरक्षण र प्रवद्र्धनका प्रखर महान योद्धा; र स्वयं भगवान शिवका अवतारको रुपमा जान्दछन्, मान्दछन् र पुज्दछन् । –आमविश्लेषण


(छ)भोग्नु परेको असहीय चुनौती

आदिगुरु शंकराचार्यले ३२ वर्षको छोटो जीवनकालमा धेरै प्रकारका साना–ठूला चुनौतीहरुको सामना गर्नुपरेको थियो । सनातन धर्मको प्रचार–प्रसार, संरक्षण तथा प्रवद्र्धन गर्ने आफ्नो महाअभियानका क्रममा आएका सामान्य चुनौतीहरुलाई त वहाँले सजिलै सामना गर्नुभयो तर केही जटिल प्रकारका चुनौतीहरुले वहाँलाई अत्यन्तै धेरै दुःख दिएका थिए । यसक्रममा वहाँले वैदिक तथा अवैदिक दुवै सम्प्रदायहरुका केही षडयन्त्र र खतरा समेतको सामना गर्नुपरेको थियो । केही चुनौतीहरुमा त झण्डै वहाँको ज्यान समेत जाने अवस्था आएको थियो । आदिगुरु शंकराचार्यले सामना गर्नुपरेको सबैभन्दा जटिल र प्राणघातक चुनौती कस्मीरका शैव दार्शनिक तथा महान तान्त्रिक अभिनव गुप्तको मारण तन्त्र(अविचार तन्त्र तथा पुतला गाडिएको) भेदन थियो । शास्त्रार्थको नियम अनुसार पराजित हुनेले विजयी हुनेलाई आफ्नो गुरु मानेर गुरुकै शिष्य भएर सोही धर्म तथा मत अगाल्नु पर्ने हुनाले आदिगुरु शंकराचार्यसंग भएको शास्त्रार्थमा पराजित भएका कामरुप देशका महान तान्त्रिक अभिनव गुप्त आदिगुरु शंकराचार्यको शिष्य त बने तर उनले आफू शिष्य बनेको अभिनय मात्र गरे । उनी अन्तरमनबाट कपटी स्वाभावका भएकाले छलको बाटो अपनाएर आफ्नो पराजयको बदला लिने उद्देश्यले आदिगुरु शंकराचार्यलाई वाहिर–वाहिर देखावटी रुपमा गुरु मानेपनि अन्तरमनबाट शत्रु मानिरहे र वहाँको शरीरमा मारण तन्त्र भेदन गरेर पेट असहिय दुख्ने र दिशाबाट रगत बग्ने रोग उत्पन्न गराएर प्राण जानेसम्मको उपल्लो स्थितिमा पुर्याएर धेरै दुःख दिएका थिए ।


अभिनव गुप्तले आदिगुरु शंकराचार्यको समिप भएर नजिकबाट वहाँलाई नियाल्न र वहाँले शरीरमा प्रयोग गरेका केही व्यक्तिगत वस्तु(पहिरन, खानपानका सामग्री) फेला पारेर त्यसमा मारण तन्त्र भेदन गर्ने मनसाय राखेर आदिगुरु शंकराचार्यलाई गुरु को रुपमा स्वीकार गरेका थिए । उनले गुरुको समिप हुन र विश्वास पात्र बन्न सेवा गर्ने, पाउ मोल्ने, रुने तथा भावुक हुने, आफूलाई निकृष्ट भएको बताउनेदेखि महर्षि वेदव्यासको कृति ब्रम्हसुत्रमाथि तान्त्रिक मत अनुसारको भाष्य लेखेर अभिनयका रुपमा मानेका गुरु शंकराचार्यलाई देखाउने र गुरुले लेख्नुभएको ब्रम्हसुत्रमाथिको भाष्यको सामुन्नेमा आफ्नो भाष्य निकृष्ट रहेको भनेर भाष्य च्यातेर गुरुका पाउमा राखिदिने हदैसम्मका चाकडी तथा अभिनयहरु गरेका थिए । अभिनव गुप्तले गुरु लगायत पुरै शिष्य मण्डलीको पनि सेवा गरेका थिए ताकि अरुले आफ्नो अभिनयमाथि शंका गर्न नसकुन र आफ्नो कालो उद्देश्य पूरा गर्ने अवसर नजिकबाट प्राप्त भैरहोस भनेर । यसक्रममा गुप्तले गुरु शंकराचार्यसंग भनेका थिए, “गुरुदेव, म अन्तरहृदयबाट नै पूर्ण रुपले हजूरको शिष्य बन्न चाहान्छु, मैले हजूरको संस्कार र ज्ञान पूर्णरुपमा अनुशरण गरिसकें, आफ्नो तान्त्रिक ज्ञान र ग्रन्थहरु पनि त्यागी सकें अव मलाई शिष्य मण्डलीको केन्द्रिय समुहमा समलग्न हुने अवसर दिनुहोस, आफ्नो चरणमा शरण दिनुहोस्, म पनि सक्दो सनातन धर्मको प्रचार–प्रसार तथा सम्वद्र्धनमा योगदान पुर्याउन चाहान्छु ।” शुरुशुरुमा गुप्तलाई कसैले नपत्याएको भएपनि उनको निर्दोषपन, सेवा भाव, प्रवल प्रतिवद्धता देखेपछि पछिपछि विस्तारै सबैले गुप्तमाथि विश्वास गर्न थाले र उनलाई शिष्य मण्डलीको केन्द्रिय समुहमा समलग्न हुने अवसर दिइयो । यसपश्चात शुरुभयो तान्त्रिक अभिनव गुप्तको आदिगुरु शंकराचार्यमाथि तन्त्र ज्ञानको सबैभन्दा भयानक विद्या मारण तन्त्र भेदन गर्ने प्रक्रिया ।


शिष्य मण्डलीको केन्द्रिय तहमा प्रवेश पाउने शिष्यहरुले भौतिक रुपमा गुरुको नजिक रहन तथा निरन्तर गुरुको सानिध्यता पाउथे र नजिकबाट गुरुको प्रत्यक्ष सेवागर्ने अवसर पाउथे । गुरुको नजिक हुने अवसर पाएपछि सर्वप्रथम अभिनव गुप्तले गुप्त रुपमा आदिगुरु शंकराचार्यले प्रयोग गर्नुभएको पहिरन हात पारे र कसैले थाहा नपाउने गरि अत्यन्तै गुप्त किसिमले उक्त पहिरनमा मारण तन्त्र भेदन गरे तर आफू निकटको वफादार शिष्य भएको अभिनय गरिरहे र गुरुको सेवा गरिरहे साथै शिष्य मण्डलीलाई पनि आवश्यक सहयोग गरिरहे । आदिगुरु शंकराचार्यमाथि आफूले भेदन गरेको मारण तन्त्रको प्रभाव अवलोकन गरिरहे र विस्तारै तन्त्रको भार थप्दै–थप्दै लगे । मारण तन्त्र भेदनको परिणामस्वरुप आदिगुरु शंकराचार्यको शरीरमा खुन भगंदर अर्थात हर्षा(दिशाबाट रगत जाने) रोग देखापर्यो र पेटमा धेरै पिडा हुन थाल्यो । शरीरको मोहबाट माथि उठिसक्नु भएका आदिगुरु शंकराचार्यले शुरुशुरुमा यो स्वास्थ्य समस्यालाई त्यति वास्ता गर्नु भएन तर विस्तारै रक्तश्राव र पेटमा असहिय पिडा बढ्दै गयो । शिष्यहरुले उपचार गर्न वैद्य बोलाउने अनुमति माग्दापनि अनुमति दिनुभएन र भन्नुभयो, “यो मेरो शरीरजनित रोग होइन किनकी मैले मेरो शरीरलाई त्यति स्वतन्त्रता तथा अवसर दिएकै छैनकी यसले कुनै प्रकारको रोग उत्पन्न गर्न सकोस् । यो मेरो कर्मजनित रोग हो, म यसलाई भोग्छु, कर्मजनित रोग कर्मको भुक्तान गरीसकेर तथा कर्मको चुक्तारा भइसकेपछि मात्र निको तथा समाप्त हुन्छ, यदि हुनसकेन भने यो रोग मेरो शरीरको मुत्युसंगै साथ जान्छ  । शरीरजनित रोग मात्र वैद्यहरुले उपचार गर्न र निको पार्न सक्छन्, मेरो कर्मको बन्धन पूरा भएपछि म पुनः स्वस्थ हुनेछु वाहिरको कुनै प्रकारको उपचारको आवश्यकता छैन ।” तर अत्यन्तै निकटतम शिष्य पद्यमपादले गुरुको सेवागर्ने क्रममा वहाँको असहिय पिडा देख्न नसकेर गुरुलाई वैद्यको उपचार सेवा लिनकालागि मनाउन अनेक प्रयास गरे । उनले तर्कपूर्ण ढंगले आफ्ना कुरा राख्दै सनातन दर्शनको प्रचार–प्रसार र सम्वद्र्धन तथा प्रवद्र्धनमा गुरुको समलग्नता अति नै अपरिहार्य छ र यस महान कार्यमा सहभागिताका लागि गुरुको शरीर स्वस्थ हुनु अत्यावश्यक छ, गुरुबिना हामी एक्लै यो महाअभियानलाई प्रभावकारी ढंगले सफलतापूर्वक अगाडि बढाउन सक्दैनौं, गुरुबिना हामी टुहुरो हुनेछौं भनेर हठ गरेर वैद्य बोलाउने अनुमति लिए र अनेक राज्यका उत्तम तथा अनुभवी वैद्यराजका टोलीहरु आदिगुरु शंकराचार्यको उपचारकालागि आश्रममा बोलाइए । जान्ने तथा अनुभवी वैद्यहरुले आदिगुरु शंकराचार्यको स्वास्थ्य उपचारकालागि सक्दो अनेक-अनेक प्रयासहरु गरे तर रोग अलिकति पनि कम भएन, २०बाट १९सम्म पनि भएन ।   


स्वास्थ्यमा खासै प्रगति नआएपछि आदिगुरु शंकराचार्यले वैद्यहरुलाई आग्रह गर्दै भन्नुभयो, “यो मेरो शरीरजनित रोग होइन त्यसैले मेरो शरीर स्वस्थ हुन चाहिरहेको छैन र ओखतिको कुनै प्रभाव परिरहेको छैन, तपाईहरु वित्थामा आफ्नो समय, श्रम खर्च नगर्नुस्, तपाईहरुको राज्यमा कति बिरामीहरु तपाईंहरुको सेवाको प्रतिक्षा गरिरहेका होलान, कृपया आ–आफ्नो स्थानमा फर्कनुस्, यतिसम्म सहयोग र सदभावको लागि धन्यवाद ।” आदिगुरु शंकराचार्यले अत्यन्तै बिनम्रतापूर्वक वैद्यहरुलाई आ–आफ्नो स्थानमा फर्कन अनुरोध गर्नुभएपछि सबै वैद्यहरु आ-आफ्नो स्थानमा फर्किए । यसपश्चात आदिगुरु शंकराचार्य स्वयंले आफ्नो मूलस्वरुप भगवान शिवलाई आव्हान तथा प्रार्थना गर्नुभयो आफ्नो शरीरको यो स्वास्थ्य समस्या तथा अवस्थाबारे के कसो गरौं, यो के हो र किन यस्तो भयो भनेर जान्नकालागि । आदिगुरु शंकराचार्यको प्रार्थना अनुसार भगवान शिवको अनुरोधमा देव वैद्य अश्विनी कुमार स्वयं मुनिको भेष धारण गरेर आदिगुरु शंकराचार्यको आश्रममा आउनुभयो । नचिनेको र नबोलाइएको मुनिलाई देखेर शिष्यहरु छक्कपरे र अत्यन्त प्रसन्न भएर आफ्नो गुरुको उपचार गर्न आएका मुनिको सक्दो सेवा गरे । मुनि भेषमा रहनु भएका देव वैद्य अश्विनी कुमारले आदिगुरु शंकराचार्यको शारीरिक अवस्थालाई देख्नै वित्तिकै थाहा पाउनु भयो वहाँको शरीरमा लागेको रोग शरीरजनित तथा कर्मजनित दुवै होइन त्यसकारण कुनैपनि आयुर्वेदीक औषधिले निको गर्न सकेन । मुनि भेषका देव वैद्य अश्विनी कुमारले यो असाधारण रोग हो जो तामसिक अविचार(मारण तन्त्र भेदन)बाट उत्पन्न गराइएको हो र यसको उपचार ओखतिबाट नभइ सात्विक मन्त्रोच्चारणबाट मात्र गर्न सकिन्छ भन्ने जानकारी प्रदान गरेर मुनि अश्विनी कुमार आफ्नो स्थानमा फर्किनुभयो । आफ्नो गुरुको शरीरको अस्वस्थता र असहिय पिडाको कारण अविचार तथा मारण तन्त्र भेदन रहेको सुनेपछि कर्तव्यनिष्ठ, तेज र मेधावी शिष्य पद्यमपादले आफ्नो योगको बलले ध्यान दृष्टि लगाएर पत्ता लगाए गुरुमाथि मारण तन्त्र भेदन अभिनव गुप्तले गरेको रहेछ भनेर । यो जानकारी स्पष्ट भएपछि उनले गुरुसंग प्रतिअविचार गर्न सात्विक मन्त्रको अखण्ड जप गरेर यो मारण तन्त्र भेदन तान्त्रिक गुप्तकै शरीरमा फर्काउने तथा उल्ट्याउने अनुमति मागे । तर गुरुले फेरीपनि अनुमति दिनुभएन र भन्नुभयो, “प्रतिअविचार सात्विक मन्त्रको अखण्ड जपले यो प्राणघातक हर्षा रोग तान्त्रिककै शरीरमा फर्कन्छ र यसकैकारण उसको मुत्यु हुन्छ, उसलाई पनि यो नगरमा जीवित रहने अधिकार छ, उसको मृत्यु भयो भने तिमी पवित्र साधकलाई नरहत्याको पाप लाग्छ त्यसैले प्रतिअविचार सात्विक मन्त्रको अखण्ड जप नगर, यसैपनि अव मेरो शरीरको आयु धेरै छैन, तिमी आफ्नो कर्मबन्धन नबढाउ, यो नरहत्याको पाप नबोक र अव मलाई मेरो अवस्थामा छोड्देउ ।” 


कर्तव्यनिष्ठ पद्यमपादले गुरुको कुरा मानेनन् र आफ्नो गुरु जस्तो महापुरुष, विद्वान, सबैको कल्याणकालागि आफ्नो जीवन समर्पण गरेको दयालु, भलो मानवलाई छल गरेर मारण तन्त्र भेदन गर्ने कालो हृदय भएको राक्षसलाई बाँच्ने कुनै अधिकार छैन भनेर आफ्नो संकल्पमा दृढ रहीरहे र गुरुलाई विनम्र अनुरोध गर्दै भने, “परमपुज्य गुरुदेव, यस्तो राक्षस धर्तीमा बाँचिरह्यो भने फेरी यसले अर्को भलो मानवलाई दुःख दिनेछ त्यसैले म आफ्नो गुरुको सुस्वास्थ्य र समाजको कल्याणकालागि एक मात्र होइन यस्ता अनेकौं नरहत्याको पाप आफ्नो शिरमा लिन तयार छु । यस्ता कुख्यातीहरुलाई समाजमा रहीरहन दिनु हुदैन, अरुको कुभलो चिताउने नरपशुलाई बाँचिरहने अधिकार छैन, हामी सनातनी हौं, सनातन धर्ममा सत्यकालागि आफ्नै गुरुसंग पनि प्रश्न–प्रतिप्रश्न तथा सवाल–जवाफ, शास्त्रार्थ गर्ने अधिकार र परम्परा दुवै छ, गुरुका अनुचित लागेका कुरा नमान्न पनि सकिन्छ । अझै हजूरले सनातन धर्मको प्रवद्र्धनका लागि धेरै कामहरु गर्न बाँकी छ, हामीलाई हजूरको साथ र आशिर्वाद चाहिन्छ ।” मेद्यावी शिष्य पद्यमपादले आफ्नो तर्क र विवेकको बलले हठ गरेर गुरुलाई मनाए र गुरुबाट सहमति र आर्शिवाद लिएर प्रतिअविचार सात्विक मन्त्रको अखण्ड जप शुरु गरे । मुनि भेषमा पृथ्वीमा पदार्पण गर्नु भएका देव वैद्य अश्विनी कुमारले सुझाउनु भएको अभिनव गुप्तले गरेको मारण तन्त्रको तामसिक प्रयोग काट्न सात्विक मन्त्र जाप गर्नुपर्ने सुझावको अनुशरण गर्दै शिष्य पद्यमपादले प्रतिअविचार सात्विक मन्त्र 'ॐकार प्रणव ध्वनि उच्चाहरण' को अखण्ड जप गर्न प्रारम्भ गरे । अखण्ड जप गर्दैजादा अविचार तन्त्र आदिगुरु शंकराचार्यको शरीरबाट उल्टेर विस्तारै तान्त्रिक अभिनव गुप्तको शरीरमा फर्कन थाल्यो र विस्तारै आदिगुरु शंकराचार्य स्वस्थ हुदै जानु भयो । तान्त्रिक अभिनव गुप्त बिरामी परे र ठ्याक्कै उही रोग तथा उस्तै लक्षणहरु उसको शरीरमा देखापरे जुन आदिगुरु शंकराचार्यको शरीरमा देखापरेका थिए । प्रतिअविचार सात्विक मन्त्र ॐकार प्रणव ध्वनि उच्चाहरणको अखण्ड जपको संकल्प पूरा भएपछि आदिगुरु शंकराचार्य पूर्णरुपमा स्वस्थ हुनुभयो र तान्त्रिक अभिनव गुप्तको दिशाबाट अत्यधिक रक्तश्राव र पेटमा हुने असहिय पिडाको कारण मृत्यु भयो । 


तान्त्रिक अभिनव गुप्तको यो अत्यन्तै निकृष्ट करतुतको पोल विस्तारै सबै शिष्य मण्डलीहरुमा, समाज र अन्य राज्यहरुमा समेत फैलिदै गयो र महान तान्त्रिकको प्रशिद्धि कमाएका अभिनव गुप्तको बेइज्यती हुन थाल्यो, अभिनव गुप्त र समुच्चा तन्त्र विद्यालाईनै समाजले थुथु गर्नथाल्यो आदिगुरु शंकराचार्य जस्तो विद्वान र भलो मानवलाई त्यतिसम्मको निकृष्ट कृत्य गर्ने भनेर र यो घटनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सनातन धर्मको गरिमा बढाउन पनि मद्धत गर्यो । यसपश्चात अभिनव गुप्त लगायत तान्त्रिकहरुलाई समाजको खलनायकको रुपमा हेर्न थालियो । यो घटनाले तान्त्रिक अभिनव गुप्तलाई समाजको खलनायक सावित गरेको भएपनि वास्तविक जीवनमा उनी सनातन शैव मतका तान्त्रिक मात्र नभएर समाजका अत्यन्तै सम्मानित अद्वेतवादी दार्शनिक, महान संगीतकर्मी, साहित्यकार तथा लेखक पनि थिए  यसरी अभिनव गुप्तको पराजय स्वीकार गर्न नसक्ने उदण्ड अहंकारले उनलाई समाजको नायकको उचाइबाट खलनायकको खाडल तथा नर्कमा पछारीदियो । शरीर पूर्णरुपमा स्वस्थ भएपछि आदिगुरु शंकराचार्यको आश्रममा सहजता र खुशीको माहोल फेरी फकिर्यो, शिष्यहरुमा पुनः खुशीयाली र प्रेरणा छायो । खुशीको माहोलमा मेद्यावी र अन्तरयामी महान शिष्य पद्यपादले एकदिन गुरुलाई भने, “परमपुज्य गुरुदेव, तन्त्रको कारणले हजूरको शरीर क्षय भएको थियो भने तन्त्रको सामुन्नेमा सनातन धर्म तथा सनातन अद्वेत वेदान्तको कुनै शक्ति र मूल्य रहेनछ भनेर फेरी उल्टै सनातन धर्ममाथि शंका, उपहास र अपहेला गर्न प्रारम्भ हुनेथियो र मानिसहरु फेरी तन्त्रमै भरोसा गरेर तन्त्रकै पछाडि लाग्ने थिए र सनातन धर्मको पहिलाको भन्दा पनि अझ नराम्रो हाल र भयानक पराजय हुने थियो त्यसैले यो सब हुन नदिन मैले जसरी हुन्छ हजूरको शरीरलाई स्वास्थ्य लाभ गराउने संकल्प गरेको थिएं, आज मेरो संकल्पमा म सफल भएको छु र अत्यन्तै प्रसन्न छु हजूरको आशिर्वाद र सहज सानिध्य पाएर ।”     


()जीवनको अन्तिम समय

आदिगुरु शंकराचार्य बद्रिनाथमा महापंडित मण्डन मिश्रसंगको शास्त्रार्थ सम्पन्न गरेर अखण्ड विजयी भएपछि सनातन अद्वेत वेदान्त तथा सनातन धर्मको प्रचार–प्रसारलाई निरन्तरता दिरहनु भएको समयमा वहाँको माताको देहान्त भएको खवर आयो । माताको अन्तिम संसकारमा आउछु भनेर मातासंग बाचा गरे अनुसार माताको अन्तिम संस्कारका लागि आदिगुरु शंकराचार्य घर फकनुभर्यो । वैदिक धर्मको मूल्यमान्यता अनुसार संयासीहरुलाई घर फर्किन र पारिवारीक संस्कारहरुमा सामेल हुने अनुमति छैन तर वहाँले संयास दिक्षा लिनुपूर्वनै मातालाई अन्तिम संस्कार गर्न आउछु भनेर वाचा गर्नुभएकोले वहाँलाई माताको काजक्रिया गर्न संयास नियमले बाधा नगर्ने निर्णय मित्रहरुले सुनाएपछि आदिगुरु शंकराचार्यले माताको मृत्यु संस्कार गरेर आफ्नो सनातन धर्म तथा सनातन अद्वेत वेदान्तको प्रचार–प्रसारको महाअभियानलाई पुनः निरन्तरता दिनुभयो ।


जन्मलिनुपूर्व नै भगवान शिवले आदिगुरु शंकराचार्यका मातापितालाई तपको वरदानमा आयु छोटो भएको सन्तानको वरदान दिनुभएको कारण वहाँको आयु १६ वर्ष मात्र रहेको थियो तर आदिगुरु शंकराचार्यको मृत्युको बर्ष नजिक आउनेक्रममा वहाँको जीवनमा एउटा चमत्कारीक घटना घट्यो । ब्राम्हणको भेषमा आदिगुरु शंकराचार्यलाई अष्ट चिरञ्जीवी मध्यका एक महर्षि वेदव्यासले साक्षात दर्शन दिनुभयो । ब्राम्हण भेषमा महर्षि वेदव्यास शंकराचार्यको नजिक आउनुभयो र शंकराचार्यले महर्षि वेदव्यासकै कृति ब्रम्हसुत्रमाथि लेख्नु भएको भाष्यमा शास्त्रार्थ गर्न शुरु गर्नुभयो शंकराचार्यको परिक्षा लिने अभिप्रायले । शास्त्रार्थ सात दिनसम्म चल्यो तर ब्राम्हण रुवरुपका महर्षि वेदव्यासको तर्कहरु समाप्त नै भएनन्, अन्ततः शंकराचार्य दिक्क हुनुभयो र क्रोधमा आएर शिष्य पद्यमपादलाई ब्रम्हणलाई त्यहाँबाट हटाउन आदेश दिनुभयो । शास्त्रार्थ चलिरहेको समयमा शिष्य पद्यपादले विलक्षण मेद्यावी वुद्धिले ओतप्रोत ती ब्राम्हण अरु कोही नभएर ब्रम्हसुत्रका रचयिता स्वयं महर्षि वेदव्यास नै हुनुहुन्छ भनेर चिनिसकेका थिए त्यसैले उनी दुविधामा परे, गुरुले भन्नुभएको मानौंकी नमानौं, कसलाई सम्मान गरौं एकातिर भगवान शिवका अंशी जगतगुरु आद्य शंकराचार्य र अर्कातिर भगवान नारायणका अंशी महर्षि वेदव्यास । शिष्य पद्यमपादको बिलखबन्दन देखेर आदिगुरु शंकराचार्य स्वयंले योगको बलले ध्यान लगाएर हेर्नुभयो र ब्राम्हण भेषका महर्षि वेदव्यासलाई चिन्नुभयो । चिनेपछि शंकराचार्यले महर्षि वेदव्यासलाई प्रणाम गर्दै वहाँ समक्ष आफ्ना भावहरु बिनम्रतापूर्वक  राख्नुभयो, “मैले सनातन महान ग्रन्थहरुमा भाष्य लेखेर मेरो कर्तव्य पूरा गरें प्रभु, मेरो शरिरको आयु पूराभयो, अव देहत्याग गर्न चाहान्छु ।” 


सनातन दर्शन तथा धर्मको प्रचार–प्रसार, संरक्षण तथा सम्वद्र्धनमा आदिगुरु शंकराचार्यका विलक्षणका कार्यहरुबाट अत्यन्तै प्रसन्न भएर पुत्रको संज्ञा दिदै महर्षि वेदव्यासले प्रेमपूर्वक भननुभयो, "अहिले होइन पुत्र, तिमीले यी तिम्रा ब्रम्हज्ञानका विषयहरुमा आफ्नो मत अनुसार लेखेका भाष्यहरुका शाश्वत ज्ञान, विज्ञान, महाज्ञान अझै प्रचार–प्रसार गर्न र समाजमा सनातन धर्मलाई पुनः स्थापित गर्न धेरै काम गर्न बाँकी छ । यसकालागि तिमीले देशभरीको भ्रमण गर्नुपर्छ र अद्वेत वेदान्त ज्ञानको ज्योतिले सम्पूर्ण मानव समाजलाई पुनःप्रकाशित गर्नुपर्छ ।” यति भनेर महर्षि वेदव्यासले शंकराचार्यको आयु अझ १६ वर्ष बढाएर ३२ बर्ष पुर्याइ दिनुभयो र आर्शिवाद दिएर त्यहाँबाट अन्तध्र्यान हुनुभयो । १६ वर्ष थप आयु पाएपछि आदिगुरु शंकराचार्य आफ्नो सनातन धर्म र वेदान्त दर्शनको प्रचार–प्रसार, संरक्षण तथा सम्वद्र्धन गर्ने दिगविजय यात्रामा पुनः पूर्ण ताजगीकासाथ निस्किनु भयो र देशभरि भ्रमण गरेर समाजमा व्याप्त छरिएर रहेका वैदिक सम्प्रदाय, अवैदिक सम्प्रदाय, विकृत तथा अराजक मतहरु आदि सबैको खण्डन तथा शास्त्रार्थ गरेर सबैलाई एकत्वमा ल्याएर वेदान्त दर्शनको अद्वेत स्वरुपको गहन महत्व र सनातन धर्मलाई समाजमा पुनःस्थपित गर्नुभयो । आदिगुरु शंकराचार्यको जन्म तथा प्रादुर्भाव सनातन दर्शन तथा सनातन धर्मको पुनरोत्थान गर्ने उद्देश्य पूरा गर्नकालागि नै भएको तथा गराइएको थियो र वहाँले यस महान उद्देश्यलाई उच्च सफलताकासाथ पूरा गरेर यस धर्तीबाट शरीर छोडेर सदाकालागि ब्रम्हलिन हुनुभयो । 


अन्तिम क्षण

आदिगुरु शंकराचार्यको अन्तिम समयको सन्दर्भमा एकखालको मत अनुसार, ३२ वर्षको छोटो आयुमै सनातन दर्शन तथा सनातन धर्मको प्रचार–प्रसार, संरक्षण, प्रवद्र्धन र पुनरोत्थानमा अतुलनिय योगदान दिनुभएका सर्वज्ञाता, दिगविजयी, वेदान्त दार्शनिक, विद्वान, वैज्ञानिक, उद्यमी, साहित्यकार, आध्यात्मिक अभियन्ता, धार्मिक योद्धा, महानायक, अवतारी पुरुष आदिगुरु शंकराचार्यले आफ्ना सबै काम र कर्तव्यहरु पूरा गरिसक्नु भएपछि जीवनको अन्तिम क्षणहरुमा आफ्नो भावजगतमा आफू स्वयंलाई एक्लो महसुस गर्न थाल्नु भयो, विस्तारै शिष्यमण्डलबाट अलग रहन थाल्नुभयो  आफ्नो जीवनका अन्तिम दिनहरु केदारनाथको एक गुफामा एक्लै बिताउन थाल्नुभयो र त्यहीं मानव देह त्यागेर सदाकालागि महासमाधि लिनुभयो । यस सन्दर्भमा अर्को मतले वहाँले देहत्याग गर्नुभएको नभई वहाँ गुफाबाट अन्तध्र्यान हुनुभएको भन्ने मान्यता राख्दै आएकोछ । आदिगुरु शंकराचार्यको जन्मको सन्दर्भमा जस्तै वहाँको मुृत्यु तथा जीवनको अन्तिम समय पनि कहाँ कसरी बित्यो भन्ने सन्दर्भमा मतभेद रहेको पाइन्छ । धेरै मतहरुले वहाँको अन्तिम समय केदारनाथको एक गुफामा बितेकोबारे बताएका छन् । सनातन दर्शनका विज्ञहरुको मत अनुसार आदिगुरु शंकराचार्यले देह त्याग गर्नु भएको नभएर केदारनाथको गुफाबाट अन्तध्र्यान(चमत्कारिक विलय) हुनुभएको भन्ने मान्यता राख्दै आएका छन् किनकी वहाँ स्वयं भगवान शिवको अवतार हुनुहुन्थ्यो र जे अभिप्रायले धर्तीमा अवतरण हुनुभएको थियो त्यो अभिप्राय शिद्ध भएपछि वहाँ मानव स्वरुपबाट अन्तरध्र्यान भएर पुनःआफ्नो मूलस्वरुप भगवान शिवमा समाहित तथा विलय हुनुभयो । bsirjana@gmail.com

(ja)



No comments:

Post a Comment