लालीगुरांश (डा. सिर्जना भण्डारी)
#आध्यात्मिक_साहित्य #जीवन_दर्शन
कथा
‘...हमंमंमं... चलेछ वतास सुस्तरी मनै सरर...’ त्यो मधूर रिमरिमे साँझमा मलाई गीत गुनगुनाउने इच्छा भैरहेको थियो... किनकी समिता र म(प्रताप) एकसाथ थियौं हाम्रो मायाँ नगरीमा... ।
समिता र म केही वर्षदेखि एकसाथ थियौं, कहिलेकाहीं साँझको रिमरिमे प्रकाशमा प्रत्यक्ष साक्षातकार हुन्थ्यौं हाम्रो शहर नजिकैको पानीघाटमा । मनमोहक आँखा भएकी उनी सदा सादा रहन्थिन, कम बोल्ने, मुसुक्क मुस्काएर सानो श्वरमा आँखामा आँखा हेरेर आफ्ना कुरा राख्ने, केही कुराको अपेक्षा नराख्ने र कहिल्यै आफ्नो लाग्दो अधिकार समेत कसैप्रति नजताउने । उनको यस्तो सादगी देखेर मलाई साँच्चै नै आश्चर्य लाग्थ्यो, त्यसैले मैले एकदिन उनीसंग आँखा जुधाएर उत्सुकतावस उनलाई सोधें,
“तिमीलाई मसंग केही सोध्न मन लाग्दैन समिता ? म कहाँ जान्छु, के गर्छु, कोसंग हुन्छु, तिमीलाई यो सबै जान्न मन लाग्दैन ? यसो गर, उसो नगर भनेर भन्न र आफ्नो हक जताउन मन लाग्दैन ? मेरो हात समातेर हिड्न मन लाग्दैन ? न्यानो अंगालोमा कसिन मन लाग्दैन ? तिमी सिर्फ मेरो हौ भनेर औंलो ठड्याउन मन लाग्दैन ? मबाट तिमीलाई केही चाहिदैन समिता ?”
समिताले ठूला र गहिरा बदामी आँखा जुधाउदै भनिन्,
“अहँ, लाग्दैन, प्रताप ! मलाई तिमीसंग केही अपेक्षा पनि छैन र तिमीबाट केही चाहिएको पनि छैन । मलाई सिर्फ तिम्रो अस्तित्व र उपस्थिति राम्रो लाग्छ, प्यारो लाग्छ, रोमान्चक लाग्छ जसले मलाई जन्म–जन्मका स्मृतिहरुमा लगेर हरपल मुग्ध बनाइरहन्छ । यदि तिम्रो अस्तित्व बदलियो भने म पनि बदलिने छु र म यहाँबाट छुट्ने छु ।”
मैले पुनः उत्सुकता देखाउदै सोधें उनलाई,
“किन समिता ? सबै स्त्रीहरु आफ्नो हक चाहन्छन् त ? तर तिमी किन तिनीहरु भन्दा फरक छौ र फरक किसिमले प्रस्तुत भैरहेकी छौ ?”
समिताले मुस्कान सहित थोरै लहराउदै, चिसो वतासको चन्चल रागमा उनको निधारमा सलबलाइरहेको कालो कपाल मिलाउदै चिसो वताससंगै लहरिरहेको टाढाको पानीको लहरलाई हेर्दै भनिन्, “अमं... सायद म तिमी पुरुषहरुले स्त्रीकालागि बनाएको परिभाषा र मान्यताभित्र अट्दिनकी जसले हरप्रकारले स्त्रीलाई कम आँक्छ र आफूलाई बढि आँक्छ ।”
मैले उनको छोटकरीमा आएको गहिरो जवाफ त्यत्तिनै गहिराइमा बुझ्न सकिन सायद तर मलाई उनको यो एक लाइनको जवाफले भित्रैबाट हल्लाइदियो, म झस्किएं, निशव्द भएं, मेरो हृदय काप्यो, मानौं मेरो हृदयमा कसैले अचानक एकदम भारी बोझ राखिदियो । म सोच मग्न भएं र मेरो मनमा आफैं प्रश्न, प्रतिप्रश्नहरु उठ्न थाले । आफैंले मनमनै आफैंलाई प्रश्न गरें, त्यसोभए के म तिनै स्त्रीहरुसंग मात्र समिप हुन र प्रेम गर्न सक्छु जो म र म जस्तै पुरुषहरुले स्त्री कस्ता हुन्छन् र कस्ता हुनुपर्छ भन्ने मान्यता र पहिचान बनाएका छन् ? त्यस्ता स्त्री जो कमजोर हुन्छन्, पुरुषमा परनिर्भर हुन्छन्, पुरुषबाट धेरै कुराहरुको अपेक्षा राख्दछन् । या समितासंग पनि समिप हुन र प्रेम गर्न सक्छु म जो कुनै प्रकारको अपेक्षा राख्दिनन् मबाट र कत्तिपनि नहिचकिचाइकन सिधासिधा भनिरहेकी छिन् सायद म तिमी पुरुषहरुले स्त्रीकालागि बनाएको परिभाषा र मान्यताभित्र अट्दिनकी भनेर । कस्तो स्पष्ट भाव ! उनको आत्मविश्वास, आत्मशक्ति र आत्मसम्मानले ओतप्रोत भएको लवज र चालढाल लोभलाग्दो थियो । आफैंमा सोच मग्न भइरहदा मलाई झल्यास्स याद आयो मैले एकपटक श्रद्धेय ओशो रजनीशको ‘दि रियल वीमेन’ पुस्तकमा पढेको थिएं स्त्रीका धेरै सन्दर्भहरु । पुस्तकमा भनिएको थियो, ‘वास्तविक स्त्रीहरु दर्पण जस्ता हुन्छन्, उनीहरुले वाहिरी आवरणको नभएर पुरुषको आन्तरिक छविको वास्तविक सत्य स्वरुप देखाइदिन्छन् । अधिकांश पुरुषहरु आफ्नो अन्तरआत्माको वास्तविक सत्य स्वरुप तथा नांगो प्रतिविम्वको सामना गर्न सक्दैनन् र आफूले आफूलाई त्यो स्वरुपमा राख्न चाहादैनन् । जुन स्त्रीले तिमीलाई तिम्रो वास्तविक सत्य स्वरुप देखाइदिन्छन् उनै पूर्ण स्त्री हुन् र अधिकांश पुरुषहरुले पूर्ण स्त्रीलाई गहिराईमा बुझ्न र सम्हाल्न सक्दैनन् ।’
मलाई तत् क्षण महसुस भयोकी समिता कसैको मालकीयत स्वीकार गर्ने प्रकारकी स्त्री होइनन्, उनी आम स्त्रीहरु भन्दा अलग छिन्, अपेक्षा शुन्य, उनी अरुलाई प्रेम दिन्छिन् मात्र, त्यसवापत उनलाई कसैबाट केहीपनि चाहिएको छैन, मबाट समेत उनलाई केहीपनि चाहिएको छैन । उनी गहिरोप्रेम गर्छिन् तर प्रेमको बन्धनमा रहन चाहन्नन्, उनी एकसाथ हिड्छिन् तर अरुसंग रोकिन चाहन्नन् । मलाई पहिलो पटक ज्ञात भयो सायद पूर्ण स्त्री यस्तै हुन्छन् जो अरुको साहाराबिना नै पूर्ण हुन्छन् । जसलाई अरुको मान्यता र पहिचानको वास्ता र आवश्यकता नै हुदैन । पूर्ण स्त्रीले आफ्नो सामुन्ने रहेको परिस्थितिलाई सुक्ष्म रुपले नियाल्छिन् मात्र, हेर्छिन् र जस्ताको तस्तै त्यसलाई महसुस गर्छिन् । उनी न कसैलाई सुधार्न प्रयास गर्छिन्, न कसैलाई बदल्न प्रयास गर्छिन् । आवश्यकता अनुसार बरु आफैं बदलिदिन्छिन् र जहाँ आफ्नो आवश्यकता छैन भन्ने महसुस हुन्छ त्यहाँबाट चुपचाप कसैलाई केहीपनि नभनीकन पैतालाले आहट समेत नगरीकन सुस्तरी निस्किदिन्छन् र परिस्थिति अनुकुल भएन भने फेरी कहिल्यै फर्केर आउदिनन् ।
दिनहरु बित्दै गए, हाम्रो निकटता बढ्दै गयो तर समिता मेरोलागि संधै एक रहस्य बनिराखिन् एकदम चुपचाप, शालिन, गंभिर । न उनलाई मेरो विगत जान्नु थियो, न त भविश्यको कुनै सुनिश्चितता नै चाहिएको थियो । मात्र उनी मसंग शिलत पानीघाटमा केहीबेरको समय बिताउन चाहान्थिन् । मेरो जीवनमा मैले यस्ती स्त्री कहिल्यै देखेको र भेटेको थिइन जसले अत्यन्तै प्रसन्न भावले भनिरहेकी छिन्, म तिमीलाई अत्यन्तै चाहान्छु, गहिरो प्रेम गर्छु, तिमीलाई साथ दिन चाहान्छु तर मलाई तिमीसंग कुनैप्रकारको अपेक्षा छैन । मलाई तिम्रो संरक्षण र तिम्रा सुख, सुविधाहरुको आवश्यकता छैन । प्रताप जस्तो आम पुरुषकालागि यो एउटा आन्तरिक जगत हल्लाउने क्रन्ति थियो किनकी जीवनमा पहिलो पटक उसको पुरुषत्व डगमगाएको थियो । उ चाहान्थ्योकी समिता उमाथि निर्भर रहुन्, आफ्ना आवश्यकताहरु पूरा गर्नकालागि उसंग केही अपेक्षा राखुन्, आफ्नो अधिकार मागुन्, प्रतापमाथि आफ्नो हक जताउन् । तर समिताले त्यसो गरिनन् र एकदिन उनी अचानक पानीघाटमा आउन छाडिन् बिना विदाइ, बिना फेरी भेट्ने या नभेट्ने सूचना । उनी पानीघाटमा फेरी फर्केर आउदै आइनन् । उनले मलाई भेट्न छाडिन्, उनी मेरो जीवनबाट गइन् मानौं उनी कहिल्यै मेरो जीवनमा आएकी नै थिइनन् । मलाई अचम्म लाग्यो उनी किन अचानक यसरी बिना सूचना हराइन होला भनेर । मलाई कत्तिपनि थाहा थिएन उनी अचानक किन पानीघाटमा आउन छाडिन । मैले श्रद्धेय ओशो रजनीशका दिव्य वाणीहरु मन र हृदयमा पुनः दोहोर्याएं, ‘वास्तविक स्त्रीहरु दर्पण जस्ता हुन्छन्, उनीहरुले पुरुषको वाहिरी आवरणको नभएर आन्तरिक छविको वास्तविक सत्य स्वरुप देखाइदिन्छन् । अधिकांश पुरुषहरु आफ्नो अन्तरआत्माको नांगो प्रतिविम्वको सामना गर्न सक्दैनन् र आफूले आफूलाई त्यो स्वरुपमा देख्न चाहादैनन् । जुन स्त्रीले तिमीलाई तिम्रो वास्तविक सत्य स्वरुप देखाइदिन्छन् उनी नै पूर्ण स्त्री हुन् र अधिकांश पुरुषहरुले पूर्ण स्त्रीलाई गहिराइमा बुझ्न र सम्हाल्न सक्दैनन् ।’ सायद म पनि ओशो रजनीशले भन्नु भएजस्तै पूर्ण स्त्रीलाई गहिराईमा बुझ्न र सम्हाल्न नसक्ने वर्गमा पर्छु । नभए अवश्य पनि समिताले यसरी अचानक मलाई छोडेर जाने थिइनन् । लामो अवधिसम्म पानीघाटको रिमरिमे साँझमा मैले समिताको प्रतिक्षा गरिरहें तर उनी फर्केर कहिल्यै आइनन्, आउदै आइनन्, कुनै खवरपनि गरिनन्, बिना कुनै जानकारी शुन्यमा बिलाइन् मलाई एक्लो पारेर ।
समिताको रहस्यमय बहिरगमनपछि म कहिल्यै पहिलाको प्रताप रहिन, मेरो मन कहिल्यै पहिलाको अवस्थामा फर्केन । म आफैंलाई बारबार एउटै सवाल गर्न थालें, के म समितालाई पाउन योग्य थिएं ? के उनी मलाई उनकोलागि योग्य ठान्थिन् ? के उनी मसंग साँचो प्रेम गर्थिन् ? के उनी मसंग र मेरो जीवनमा रहन चाहान्थिन् ? उनी पूर्ण स्त्री थिइन, सायद उनले ममा आफूले खोजेको जस्तो पूर्ण पुरुष पाइनन् । के उनी मेरो साथ भएको भए मैले उनलाई पूर्ण स्त्रीको सम्मान दिन सक्थें ? म गंभिर भएर आफैंभित्र आफ्ना गल्तीहरु खोज्न थालें, कहाँनेर के बिराएं मैले र समितालाई आफूबाट दुर गराएं आफू स्वयंले–
(१)सायद मैले उनको क्षमता र प्रतिभालाई कदर गरिन,
(२)सायद मैले उनको विनम्रतालाई उनको कमजोरीको रुपमा हेरें,
(३)सायद मेरो आत्मनिर्भरतामाको अहममा मैले उनलाई परनिर्भर बनाउन चाहें,
(४)सायद ममा आफ्नो वाहिरी ज्ञानको अहंकार हावी भयो,
(५)सायद मैले उनको मौनतालाई बुझ्नै सकिन या चाहिन,
(६)सायद मैले उनीमाथि चाहिने भन्दा बढि अपेक्षा राखें र ममा उनलाई बुझ्ने भन्दा हासिल गर्ने लोभ र नगुमाउने मोह हावी भयो,
(७)सायद म उनको नजरमा असामाजिक, अपूर्ण पुरुष देखिएं,
(८)सायद ममा पुरुषत्व हावी भयो र मैले उनको स्त्रीत्वलाई ओझेलमा पारिदिएं,
(९)सायद मैले आफूलाई मात्र पूर्ण पुरुष ठानें र म बिना उनी अपुर्ण छिन् भन्ने भ्रम पालें र उनको अस्मितामा चोट पुर्याएं,
(१०)सायद मैले उनलाई अझै राम्ररी चिनेको र बुझेको छैन किनकी उनी पूर्ण स्त्री हुन्, कुनै एक वर्गमा मात्र पर्दिनन् न बिटा, न अल्फा, न डेल्टा, न गामा, न सिग्मा सायद ओमेगा अर्थात दिव्य स्त्री थिइन उनी, स्वयं आदिशक्ति स्वरुपा ।
हामीविचको यो विषय र सम्वन्ध लाक्षणीक(पहेली) अवस्था बनेर रह्यो र सायद यो भयो, सायद त्यो भयो भन्ने अलमलमा उल्झिरह्योे । यो पहेली अव त्यतिबेला मात्र सुल्झिनेछ जतिबेला समिता आफैं आएर विषयको गहिराई स्पष्ट पार्नेछिन् र मलाई विश्वास छ उनी पूर्ण स्त्री हुन् एकदिन अवश्य फर्कनेछिन् र अपूर्ण बनेको हाम्रो कहानीलाई पूर्ण गर्नेछिन् ।
उनले भविश्यमा जे गर्लिन या नगर्लिन तर ज्यादा केही नभनेरै पनि उनले मलाई बेस्सरी झकझकाएर गइन । मलाई भित्रैबाट बदलदिएर गइन । उनले मलाई आम पुरुषबाट विशेष पुरुष बन्ने मार्गनिर्देशन दिएर गइन् । अव ममा पहिलाको पुरुषत्व थिएन जुन ओशो रजनीशका अनुसार अधूरो तथा अपूर्ण रहेछ । नितान्त आफू केन्द्रित; आफ्ना कमजोरीहरु आफूले नदेख्ने; अरुले देखाइदिए तथा सुनाइदिए भनेपनि देख्न र सुन्न नसक्ने तथा नचाहने; आफूले जे गरें, जे सोचें त्यो नै सबैकालागि सही हुन्छ र त्यही नै अन्तिम सत्य हो जस्तो लाग्ने प्रकृतिको अति सामान्य नियम भन्दा विपरित रहेछ, सायद अधूरो भन्दा पनि अझ न्यून स्तरको पुरुषत्वको अहंकर थियो त्यो ममा हावी भएको । सायद समितालाई मेरो यही अवस्था मन परेन । तर अव म आफू केन्द्रित त्यो अधूरो तथा अपूर्ण भावलाई त्याग्नेछु र पूर्ण पुरुष बन्ने प्रयास गर्नेछु । हो, म दृढ संकल्पकृत छु अव पूर्ण पुरुष बनेर अत्यन्तै सहज भावले मेरी समिताको प्रतिक्षा गर्नेछु आफ्नो अन्तरहृदयमा र अरुकेन्द्रित सर्वकल्याण्का कर्महरुमा किनकी समग्रतामा प्रतापबिना समिता अपूर्ण छिन् र समिता बिना प्रताप अपूर्ण छ । हामी एकअर्काका पूरक हौं, हामी शिवशक्ति हौं, हाम्रो पुनरमिलन अस्तित्व स्वयंको योजना हो । म समिताको अनुपस्थितिमा विचलित भएको छैन बरु म अझै डराइरहेको छु, जव उनी फर्केर आउनेछिन कुनैदिन त्यसबखत उनीसंगको पुनः साक्षातकारमा म उनलाई के भनौंला ? उनी समक्ष कसरी प्रस्तुत हुँला ? कसरी उनको पूर्ण स्त्रीत्वलाई सन्तुष्ट पारौंला ? कसरी उनलाई र आफूलाई सम्हालौंला ?
मेरो बदलिएको स्वाभाव देखेर मलाई मेरा साथीहरुले सोध्ने गर्थे,
"के भएको छ आजकल तँलाई प्रताप ?" मैले जे भएको थियो समिता र मेरो विचमा सबै सत्य–सत्य बताएं । मेरा साथीहरुले भने,
“तँ अलि गहिरो गइछस्, केटीहरुको मामला यस्तै हो । एटिट्युडवाला केटीहरु यस्तै हुन्छन्, शुरुशुरुमा भाउ खान्छन् पछि तिमी नभइ बाँच्न सक्दिन भन्दै क्षमा माग्दै फर्केर आउछन् । केही दिनसम्म समिता फर्केर आइनन् भने आफ्नो जीवनमा अगाडि बढ् ।” तर म मेरा साथीहरुको कुरामा आइन किनकी मलाई अन्तरहृदयबाट महसुस भैसकेको थियो समिता कुनै आम स्त्री थिइनन्; उनले हामीविचको केही भेटघाटमै म जस्तो कठोर हृदय भएको अहंकारी पुरुषलाई भित्रैबाट हल्लाइदिएकी थिइन्; मेरो अहंकार र अभिमानले भरिएको अधूरो पुरुषत्वसंग मेरो प्रत्यक्ष साक्षातकार गराइदिएकी थिइन् । समिता मेरो सोच र ठम्याइ भन्दा निकै अलग र गहिरो थिइन् । उनले मलाई अन्जानमै गहिरो पाठ सिकाएर गइन । मलाई राम्ररी ज्ञात भैसकेको थियो, जव मानिस अरुमाथि नियन्त्रण गर्न र आफ्नो अधिकार तथा स्वामित्व दाबी गर्न छोड्छ तव उसलाई थाहा हुन्छकि उसले अहिलेसम्म कसैलाई पूर्ण भावले हेरेकै रहेनछ । कसैलाई पूर्ण भावले प्रेम, श्रद्धा, सम्मान, करुणा गरेकै रहेनछ सिर्फ आफ्नो अधिकारमात्र जताएको रहेछ आफ्नो अहंकारलाई मुग्ध मात्र गरेको रहेछ ।
म क्रमिक रुपमा आफ्नो अतितका दृष्यहरुमा छिर्दै गएं । मेरो अन्तरहृदयमा एकपछि अर्का नयाँ–नयाँ सवालहरु निरन्तर आइरहे र मैले आफैंलाई सोध्दै गएं,
“के मैले आजसम्म कुनै स्त्रीलाई स्वतन्त्रता पूर्वक प्रेम गर्न सकेको थिएं ?”
मेरो मनले आफ्नै सवालको जवाफ सहि ढंगले दिन सकेन, जवाफ दिने बेलामा लडखडायो । मेरो मनमा क्रमशः अतितमा म वरिपरिका स्त्रीहरुसंग भएका तथा रहेका मेरा सबैप्रकार सम्वन्धका विषय तथा प्रसंगहरु ताताे हाँडीमा मुरली मकैका फुल उठेझैं प्रष्फुटित हुन थाले,
के म पूर्ण साथी रहें ? के म पूर्ण प्रेमी रहें ? के म पूर्ण दाजु तथा भाइ रहें ? के म पूर्ण छोरो रहें ? के म मेरा अन्य नाता सम्बन्धका किरदारहरुमा पूर्ण पुरुष रहें ?
अहँ, रहिनछु, कहींपनि मेरो आफैंप्रतिको आफ्नै सवालको जवाफमा मेरो अन्तरआत्माले भनेन कि हो प्रताप तिमी यो, योे सम्वन्धमा चाहिं पूर्ण पुरुष रह्यौ भनेर ।
म जतिजति आफूभित्र छिर्दै, आफूलाई र आफ्नो पुरुषत्वलाई खोतल्दै गएं उतिउति मैले आफूलाई पाएंकी म त्यस्ता स्त्रीहरुसंग मात्र मित्रता, निकटता तथा सम्वन्ध बनाउदो रहेछु जसले मेरो पुरुषत्वको अहंकार र अभिमानलाई सन्तुष्ट पार्न र स्वीकार गर्न सक्छन् । जो मबिना आफूलाई अधूरो तथा अपूर्ण ठान्छन् । ममाथि निर्भरता देखाउछन् र मेरो उपस्थितिलाई महत्वपूर्ण मान्दछन् । मेरो सहयोग र सदभावमा गरिमा महसुस गर्दै मेरो मान बढाउछन् । मेरो सुसुप्त स्वार्थ छिपेको प्रेम, श्रद्धा, मैत्री, दया, करुणाको प्रशंशा गर्छन, मलाई खुशी पार्छन् र त्यसकैलागि मलाई देखिरहन र भेटिरहन चाहान्छन् ।
आजसम्म त म यस्तै अपूर्ण स्त्रीहरुको सम्वन्धमा आफूलाई पूर्ण पुरुष मानेर आत्ममुग्दतामा रमाइरहेको रहेछु । मैले फेरी समितालाई सम्झें, उ त मबिना नै पूर्ण स्त्री थी त्यसैले त मेरो जीवनमा उनको छोटो उपस्थितिले नै ममा आमूल बदलाव ल्याइदियो । म पूर्ण पुरुषको परिचयबारे अझै गहिराइमा खोज्न र बुझ्न लालायित हुदै गएं । यो सबै समिताकै उर्जाको प्रभाव थियो ।
एकदिन समिताको स्मृतिमा रिमरिमे साँझपख पानीघाटमा म पुग्दा एकजना योगी पुरुष चिसो वताससंगै मुग्ध भएर नाचिरहेका पानीका लहरहरु हेर्दै आफ्नो मग्नतामा बसिरहनु भएको थियो । वहाँ अत्यन्तै आनन्दित भावमा देखिनुहुन्थ्यो । मलाई अन्तरआत्मादेखि नै वहाँको दिव्य उर्जाले वहाँतिर खिच्यो । म वहाँको समिपमा गएं र चुपचाप वहाँसंगै बसें । मेरो मनमा एकप्रकारको अत्यन्तै शितलता, शान्ति र आनन्द छाएको अनुभूति भयो । सायद यो अनुभूति यिनै पूर्ण योगी पुरुषको दिव्य उर्जाको चमत्कार थियो । मैले नजर उठाएर वहाँको चेहरा हेरें, चेहरामा एकप्रकारको अद्भूत कान्ति र चमकको आभा थियो । मभित्रबाट अनायासै आफ्नो उल्झनहरुबारे वहाँसंग केही सवाल गर्ने इच्छा जाग्यो । मैले वहाँलाई सोधें,
“हे योगी पुरुष, के एक पुरुषलाई पूर्ण स्त्री मिलिन भने उसलाई आफ्नो जीवन र पुरुष हुनुको अस्तित्वसंग डर लाग्छ ?”
चेहराको चम्किलो आभा र कान्तिले जगमगाएका नजर विस्तारै मतिर केन्द्रित गर्दै योगी पुरुषले भन्नुभयो,
“हो युवक, हरेक आमपुरुष पूर्ण स्त्रीको सामुन्नेमा लडखडाउछन् र डराउछन् पनि । किनकी एक पूर्ण स्त्रीले एक आमपुरुषलाई आफ्नो एक नजर र एक वाणीले भित्रबाट खालि गरिदिन्छिन् । पूर्ण स्त्रीले पुरुषको पुरुषत्वको मुग्धतामा जन्म–जन्मदेखि मौलाएका भ्रमहरु पूर्णतः तोडिदिन्छन् कि तिमी स्त्रीको संरक्षक हौ, परिवार तथा समाज र हरपरिस्थिति सम्हाल्ने ठेकेदार हौ । यसपश्चात जव जाग्रीत पुरुषलाई भित्रबाट अन्तरज्ञान आउछकी म स्त्रीको संरक्षक होइन, परिवार तथा समाज र हरपरिस्थिति सम्हाल्ने ठेकेदार पनि होइन भन्ने बुझ्छ तव उसको पुरुषत्व डगमगाउन थाल्छ ।”
म योगी पुरुषका दिव्य वाणीहरु सुनेर भित्रबाट शुन्य भएं । म भित्रबाट अझ काप्न थालें किनकी मैले पनि आफूलाई यतिका उमेरसम्म स्त्रीको संरक्षक, परिवार तथा समाज र हरपरिस्थिति सम्हाल्ने ठेकेदार हुँ भन्ने मानिरहेको रहेछु । तर वास्तविक सत्य त त्यो होइन रहेछ किनकी जव म हिजो यो सांसारिक जीवनमा थिइन त्यतिबेला पनि मेरो परिवार, समाज र हरपरिस्थितिहरु यसैगरि चलिरहेका थिए र जव म भोलि यो सांसारिक जीवनमा रहन्न त्यतिबेला पनि मेरो परिवार, समाज र हरपरिस्थितिहरु यसरीनै चलिरहेनेछन् आफ्नो लयमा ।
म अव झन्-झन् भित्रबाट शुन्य र खालि हुदै गैरहेको थिएं । मेरो डर अझै बढिरहेको थियो । मैले आफ्नो डर कम गर्न र अगाडिको मार्ग जान्न फेरी योगी पुरुषलाई सोधें,
“हे दिव्य बाबा, मभित्रबाट शुन्य हुदै आएको छु । झन्-झन् खालि भएको छु किनकी मलाई तपाईले दिनुभएको यो दिव्य ज्ञान भन्दा अघिपनि एक दिव्य आत्माले यो ज्ञान दिनुभएको थियो । त्यसो भए म अव के गरौं, आफ्नो जीवनलाई कसरी अगाडि बढाउँ ?”
दिव्य बाबाले मेरा आँखामा हेरेर, मलाई सान्त्वना दिदै र मार्गदर्शन गर्ने भावले भन्नुभयो,
“अव तिमी यो शुन्यता र खालिपनलाई तिम्रो आफ्नो जीवनमा अपनाउ, यहींबाट तिम्रो पूनरजीवन प्रारम्भ हुनेछ र तिमीले विस्तारै आफूभित्रै पूर्ण पुरुष भेट्नेछौ युवक ।”
दिव्य बाबासंगको यो दिव्य साक्षातकारपछि म विस्तारै मेरो डर र असुरक्षालाई सामना गर्दै जीवनमा अगाडि बढ्दै गएँ र निरन्तर आफूसंग साक्षातकार गरिरहें । विस्तारै म आफ्ना डर, असुरक्षा, अहंकार, अभिमान, आफू र अरुप्रति आफ्नो मन–मस्तििष्कमा बनेका छवि तथा मूल्य–मान्यताहरु र आफ्नो पुरुषत्व सबैलाई आफूभित्रै फर्केर एक–एक सवाल र जवाफ गर्दै सुक्ष्म रुपले हेरें र केलाएं । यसपश्चात मलाई ज्ञात भयोकी श्रद्धेय ओशो रजनीशले भन्नुभएको जस्तै वास्तवमै म त अधूरो पुरुष रहेछु । म आफ्नो आन्तरिक छविको वास्तविक प्रतिविम्व हेर्दै, देख्दै, जान्दै, बुझ्दै गएं र आफूलाई नयाँपनमा ढाल्न त्यसउपर चिन्तन्, मनन् र नीधि–ध्यासन गर्दै गएं । दिनहरु बित्दै गए, समिताका पूर्णताका हाउभाउहरु मेरो स्मृतिमा एक–एक गरि छाउदै गए, उनका हरेक वाणीहरु मेरो मन–मस्तिष्कमा ताजा हुदै गए । समिता अत्यन्तै सौम्य भावले कत्तिपनि नडगमगाइकन भन्ने गर्थिन,
“हेर प्रताप, तिमी मलाई जति पक्डिन तथा हासिल गर्न प्रयास गर्छौ म त्यतिनै तिमीबाट दुर हुनेछु तर तिमी मलाई जति स्वतन्त्र छोडदिन्छौ, मेरो स्वतन्त्र अस्तित्व, समानता र स्वतन्त्रताको सम्मान गर्छौ र यी सबै नैसर्गीक अधिकारहरुको नियन्त्रण ममाथि नै छोडदिन्छौ म त्यतिनै तिम्रो समिप र साथ रहनेछु ।”
समिताले भनेको एकदम सहि भयो, उनले जे भनिन् त्यही गरिन् । मैले जतिजति उनलाई पक्डिन, हासिल गर्न र नियन्त्रण गर्न खोजें उतिनै उनी मबाट दुर हुदै गइन् किनकी उनी एक पूर्ण स्त्री थिइन्, उनलाई मेरो अस्तित्व र उपस्थितिको मात्र महत्व, मान्यता, खुशी र आनन्द थियो । उनलाई मेरो सांसारिक इच्छा, चाहना, आकांक्षाहरुप्रति कुनै आकर्षण र चासो थिएन । अव अहिले म उनकै दिव्य उर्जा र ज्ञानको कारण जीवन जिउन सिकिरहेको छु, जीवनको पूर्णता सिकिरहेको छु । म नयाँ प्रकारले प्रेम सिकिरहेको छु, प्रेमको दिव्य स्वरुप परमात्माको अनुभूति गरिरहेको छु ।
परिवार, समाज, राज्य तथा संसारले मलाई जे सिकायो त्यो सबै अविद्या र अधूरो ज्ञान रहेछ त्यसैले म अधूरो तथा अपूर्ण पुरुष बनेको रहेछु । अव मैले जानें, जहाँ अपूर्णता छ त्यहाँ नियन्त्रण र नेतृत्व प्रदान गर्नुपर्ने रहेछ जसले वर्तमान परिस्थितिलाई पूर्णतातर्फ लाने रहेछ तर जहाँ पहिलाबाट नै पूर्णता छ त्यहाँ नियन्त्रण र नेतृत्वले काम गर्दैन रहेछ, त्यहाँ समर्पण र सम्मानको आवश्यकता पर्ने रहेछ किनकी जहाँ पूर्णता छ त्यहाँ स्वयं दिशानिर्देश हुन्छ, वाहिरको नेतृत्वको आवश्यकता नै पर्दैन । तर म समर्पण गर्न जान्दिनथें, सायद सम्मान गर्न पनि जान्दिनथें किनकी मलाई यो पूर्णताको पाठ र नियम कसैले कहिल्यै सिकाएकै थिएन जुन आध्यात्मिक दिव्य व्यक्तित्व समिता र योगी पुरुषले सिकाउनु भयो । यो ज्ञानले मभित्र अपरिमेय बदलाव आएको थियो । अव म समर्पण र सम्मानको ज्ञान र कला सिकिरहेको छु र बुझिरहेको छु कि एक पूर्ण स्त्रीसंग प्रेम गर्नु भनेको उसलाई संरक्षण दिनु भन्दा कयौं गुणा बढि साहसिक र सह्रानिय काम रहेछ ।
मेरो सम्वन्ध समितासंग केही वर्षको मात्र थियो तर त्यस सम्वन्धको प्रभाव र अमिट छाप जन्म–जन्मकोलागि बन्यो । मलाई मेरो अन्तरहृदयबाट महसुस हुदै आयोकी कहिलेकाहीं कुनै स्त्री मेरो जीवनमा यसकारण मात्र आउदिनन् कि मेरो जीवनमा एकसाथ रहनेगरि, उनी अर्को विशेष कारणले मेरो जीवनमा आउछिन्, मेरो जीवनको त्यो कमजोर पाटो देखाउन जसले मेरो दिव्यतालाई पछाडि धकेलिरहेको हुन्छ, जुन मैले आफूले आफूमा देख्न तथा महसुस गर्न सकेको हुदिन । आक्कल–झुक्कल देख्न तथा महसुस गर्नसकेको भएपनि पत्याउन सक्दिन कि म अपूर्ण छु होला भनेर । पत्याउन प्रयास गर्दा आफैंसंग डर लाग्छ कतै मेरो पुरुषत्वमा आँच आउने होकी भनेर । तर समिताले अत्यन्तै प्रेमपूर्वक मेरा सबै अधूरा तथा अपूर्णपनहरुको अन्धकारमाथि प्रकाश पारेर मलाई दिव्य ज्ञानको ज्योतिमा प्रज्वलित गर्दै मलाई पूर्ण पुरुष बन्ने मार्गमा दिशानिर्देश गरिदिइन् ।
दिनहरु बित्दै गए समिताको प्रभाव मेरो हृदयमा एक विजको रुपमा अंकुरित हुदैगयो । म समिताको यादमा बारबार त्यस्तै रिमरिमे साँझमा पानीघाटमा गएर चिसो वतास जतागयो उतै सलबलाईरहेका पानीका लहरहरु र तिनै लहरसंग नाचिरहेका पानीमा देखिएका वृक्षका शाखा र पातहरुका प्रतिविम्वहरुलाई नियाल्दै आफूमाथि सवाल गरिरन्थें । आफूलाई भित्रबाट नियालिरहन्थें । समितासंग भेट हुनुअघि र पछिको प्रतापमा कति भिन्नता छ ? म आफैंलाई पश्न गर्थे । म आफैंलाई लाग्छकी पहिलाको अधूरो तथा अपूर्ण प्रताप र पछिको पूर्णताउन्मुख प्रतापमा आकाश जमिनको फरक रहेको छ । तर यो भिन्नता तथा फरक नापिदिने समिपको सहयात्री कोही छैन मसंग, म त एक्लो छु, नितान्त एक्लो । अव त म स्वयंं पनि समिताको दिव्य उर्जाको कारण आफूभित्र आएका केही सकारात्मक बदलावहरु देख्न सक्छु । म अव आफूभित्र केवल आफूलाई मात्र नभएर समिताको सुक्ष्म उपस्थितिलाई पनि महसुस गर्न, देख्न र भेट्न थालेको छु किनकी दिव्य समिता र दिव्य योगी पुरुषको दिव्य उर्जा र दिव्य ज्ञानको कारण म पूर्णतः आफूभित्र फर्केर एक सहज, सरल अन्तरयात्री तथा आध्यात्मिक साधक बनिसकेको छु । मेरो अन्तरदृष्टिमा बढोत्तरी भएकोे छ । मैले आफूभित्र आफ्नो अन्तर हृदयमा समिता लगायत आफ्ना पितृ मण्डल, गुरु मण्डल, देवी–देवता मण्डल, भगवान मण्डल र स्वयं पूर्णब्रम्ह परमात्माका तमाम उर्जा र शक्तिका स्वरूपहरु तथा समुच्चा ब्रम्हाण्डको दिव्य साक्षातकार प्राप्त गरेको छु ।
मेरो जीवनमा शुन्यता हुदै पूर्णताको मार्गमा पहिलो इटा दिव्य समिताले राखेकी थिइन् । अहिले उनको भौतिक तथा सांसारिक उपस्थिति त कहाँ छ मलाई थाहा छैन तर उनको पारमार्थिक अस्तित्वको दिव्य उपस्थिति मेरो अन्तरहृदयमा जस्ताको तस्तै अझ सुस्पष्ट छ, तिनै ठूला र गहिरा बदामी आँखा, चिसो वताससंगै बहेको पानीको लहरसंगै लहराउने मनमोहक उनको तनवदन, दिव्यताले ओतप्रोत अलौकिक प्रेम... (...लामो श्वास..., ममा भावुकता छाउँछ...) । उनका ती दिव्य याद तथा स्मृतिहरुलाई आफ्नो एक्लो अन्तरहृदयमा समेट्दै कहिलेकाहीं म उनीप्रति समर्पण गरेर केही कविता, गजल, कथा, आख्यान तथा उनलाई प्रेम पत्र लेख्ने गर्छु उनीप्रति कृतज्ञता भाव प्रकट गर्दै । मैले एकदिन उनलाई अन्तरहृदयमा याद गर्दै लामो गहिरो श्वास लिएर एकश्वासमा एउटा लामो कृतज्ञता पत्र लेखें र अर्को श्वासमा गीति कविता लेखें,
कृतज्ञता पत्र:
“हे दिव्य समिता, तिमीले मलाई तोडेकी छैनौ, बरु मलाई मसंगै जोडिदियौ अव कहिल्यै नछुटिने गरि ! हे दिव्य समिता, तिमीले मलाई छोडेकी छैनौ, मेरो अन्तरहृदयको दिव्य नगरीमा तिम्रो अटुट् वास छ ! हे दिव्य समिता, तिमीले मलाई गिराएकी छैनौ, बरु मेरो नक्कली, बनावटी, अधूरो, अपूर्ण आवरण गिराएर मलाई शुद्ध र पूर्ण बनाएकी छौ ! हे दिव्य समिता, तिमीले मसंग केही मागिनौ तर मलाई जीवनको वास्तविक सार दिएकी छौ ! हे दिव्य समिता, मैले बल्ल बुझें सच्चा र पवित्र प्रेम त्यो होइन जो पक्डेर राखिन्छ, हासिल गर्ने अपेक्षा गरिन्छ, सच्चा र पवित्र प्रेम त त्यो हो जसमा सम्मान, समर्पण, भक्ति, स्वीकार, सन्तोष हुन्छ र पूर्ण स्वतन्त्रता हुन्छ ! हे दिव्य समिता, म वाहिरी आवरणमा त अझै त्यही प्रताप नै देखिन्छु तर आन्तरिक रुपमा म अव त्यो प्रताप रहिन, एउटा आध्यात्मिक क्रान्तिको दिव्य आँधीले मभित्रका सबै फोहर-मैलाहरु सोहरेर उडाएर लग्यो र मलाई पूर्ण रुपमा शुद्ध, शुन्य र खालि प्रताप बनाइदियो ! सायद अव यो हृदय तिमी जस्ती पूर्ण स्त्रीकालागि योग्य भएको छ । म तिमीप्रति आभारी छु, तिमीलाई अनन्त–अनन्त कृतज्ञता व्यक्त गर्दछु ! तिम्रो ज्ञान, तिम्रो दिव्य उर्जा, तिम्रो दिव्य प्रेम, तिम्रो मधूर स्मृतिनै अव मेरो जीवन जिउने साहारा बनेको छ ! हे दिव्य समिता, अव मैले राम्ररी बुझिसकेको छु कि एक स्त्रीलाई राम्ररी बुझ्नु भनेको आफूभित्र आमूल सफाइ, शुद्धता ल्याउनु र आफूलाई दिव्यताले भर्नु रहेछ । यो ज्ञान तिमीले मलाई दिएकी छौ । तिमीले मभित्रको अपूर्णपनलाई उजागर गरेर आफूजस्तै पुर्ण मानव बनाइदियौ, मेरा सारा भ्रमहरु जलाईदियौ, साधनाको रापमा मलाई तपाएर आफूजस्तै पारश बनाइदियौ ! हे दिव्य समिता, तिमीलाई हार्दिक प्रेम प्रणाम, तिमी पूर्ण स्त्री र पूर्ण प्रेम हौ । पूर्ण प्रेम केवल एक शरीरमा मात्र रहदैन, पुरै ब्रम्हाण्डमा विस्तार भएको हुन्छ किनकी प्रेमनै परमात्मा अर्थात परब्रम्ह हो र परब्रम्हनै प्रेम हो जो कणकणमा छ, जो सर्वव्यापक छ । हे दिव्य समिता, पुनः पुनः तिमीलाई प्रेम प्रणाम... तिमीलाई प्रेम प्रणाम... मेरी समिता... (...लामो, गहिरो श्वास..., ममा भावुकता छाउँछ...) ।
प्रेमपूर्ण गीति कविता:
मेरो जीवन
मेरो जीवन मेरो रहेन
म हराएं, मेटिएं तिमीमै
पाएर तिमीलाई पूर्ण भएकोछ
मेरो यो दिव्य संसार ।
मेरो जीवन मेरो रहेन...
याद तिम्रो पूजा बन्यो
तिम्रै महिमा म गाउँ
हृदयमा बसेकोछ छवि तिम्रै
अरु कसलाई म राखुँ ।
मेरो जीवन मेरो रहेन...
सिर्फ तिम्रै हुँ म
तिम्रै रहन्छु अनन्त-अनन्त काल
तिमीनै शुरु तिमीनै अन्त्य
अरु के गरौं विचार ।
मेरो जीवन मेरो रहेन...
चुपचाप बसौं या बोलिराखौं
शुन्यताको सागरमा शुन्यसरी बिलाएं
तिमीमै शान्ति, आनन्द पाएं
प्रेमको पूर्णता तिमीमै पाएं ।
मेरो जीवन मेरो रहेन...
मेरो सामनेमा छौ तिमी
दिव्य साथ छ तिम्रै
तिमीनै मेरो सुखको सागर
तिमीनै मेरो जीवनको सार ।
मेरो जीवन मेरो रहेन...
म हराएं, मेटिएं तिमीमै
पाएर तिमीलाई पूर्ण भएकोछ
मेरो यो दिव्य संसार ।
एकदिन अत्यन्तै प्रसन्न भावमा म पानीघाटमा आफ्नो मनमा लामो वर्षातको समयमा उठ्ने पानीफोका सरी उठेका विचार र स्मृतिहरुका दिव्य पलहरुसंग पुलकित हुदै, समिताको दिव्य स्मृति हृदयमा भरेर चिसो वताससंगै लहरिएका वृक्षका शाखाहरु र पातसंगै रम्दै, झुल्दै, भुल्दै सुस्तरी मानसिक खेल खेलिरहेको थिएं, पछाडिबाट अचानक एक मधूर दिव्य ध्वनि गुञ्जियो ‘प्रताप...’ मैले पछाडि फर्केर हेरें, उक्त मधूर दिव्य ध्वनि दिव्य समिताको थियो, उनी प्रकाशित आभामा प्रज्वलित हुदै दुई बाह फिजाएर मलाई आफूतिर आउन इशारा गरिरहेकी थिइन, म अचम्मित भएर बसिरहेको ठाउँबाट जुरुक्क उठें, समितालाई प्रकाश स्वरुपमा देख्दा मेरो काया शरीरका त्वचामा झर्ररर काँढा उम्रिएका थिए, मैले अचम्म मान्दै एकटकले उनलाई हेरिरहें, उनी दिव्य समिता नै थिइन् तर प्रकाशित आभामा प्रज्वलित थिइन् । ओहो, यो के हो, के भैरहेको छ जस्तो लाग्यो मलाई मनमनमा । यत्तिकैमा म अन्जानमै दिव्य समितातर्फ अगाडि बढेछु । उनीतर्फ बढ्दै गर्दा थाहापाएं, म पनि आफ्नो काया शरीरमा रहेनछु । मेरो शरीर पनि दिव्य बनिसकेको रहेछ र मेरो शरीरबाट पनि प्रकाशित आभा प्रज्वलित भैरहेको रहेछ । अनायासै मेरो तर्फबाट एउटा दिगो तरंग छर्ने ठूलो ध्वनि गुञ्जियो ‘समिता...’ र समिताको तर्फबाट पनि अर्को दिगो तरंग छर्ने ठूलो ध्वनि गुञ्जियो ‘प्रताप...’ दुई महाप्रकाश एकआपसमा मिल्यौं र एकआपसमा एकाकार भयौं । केहीबेरपछि त्यो दिव्य दृष्य, ध्वनि र प्रकाश सबै त्यहाँबाट विलय भैसकेको थियो, पानीघाटमा शुन्यता थियो, अव त्यहाँ चुपचाप एक अर्कोको उपस्थितिलाई महसुस गरिरहेका समिता र म अनि तिनै चिसो बताससंगै चलायमान पानीका लहरहरु; पानीको प्रतिविम्वमा झुलिरहेका, नाचिरहेका वृक्षका शाखा र पातहरु; साँझपख गुँढ फिर्दै गरेका चराका बथानहरुको एकनाशको आवाज र झ्याउँकीरीहरुको एकनाशको आवाज मात्र बाँकी थियो..., चिरबिरचिरबिर..... चिरबिरचिरबिर.... चिरबिरचिरबिर...., किटीर्रर... किटीर्रर... किटीर्रर... !!
अस्तु
शिवोहम् ! शिवोहम् !! शिवोहम् !!!
No comments:
Post a Comment