डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन
उर्जाको तह बढाउन सनातन अध्यात्म दर्शनमा उल्लेखित विधिहरु
उर्जा उपचार पद्धतिका उद्देश्य
मनुष्यको शरीरका आयामहरुमा रहेको उर्जा शुद्धिकरण तथा सक्रियकरण गर्ने विविध प्रकारका उपचार पद्धतिहरु मानव सभ्यताको सबैभन्दा प्राचीन उपचार पद्धतिहरु हुन् । यस अन्तर्गत उपचारका विभिन्न विधि तथा पद्धतिहरुको अनुशरण गरेर मनुष्यको शरीरमा पंचतत्वमा आएको असन्तुलनका कारण उसको उर्जाको उर्जाको प्रवाहमा अशुद्धि तथा असन्तुलन हुनगई उसको शरीरका चारवटै– शारीरक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक आयामहरुमा देखिएका विभिन्न प्रकारका अस्वस्थता, समस्या तथा चुनौतीहरुको उपचार तथा समाधान गर्ने प्रयास गरिन्छ । मनुष्यको शरीरका आयामहरुमा हुने अस्वस्थता, समस्या तथा चुनौतीहरु खासगरि उसको सुक्ष्म शरीरमा रहेका उर्जाका मूल शक्तिकेन्द्र सात चक्र तथा नाडीहरुमा उर्जा रोकिएको तथा जकडिएको(ब्लक्ड) कारण उसको उर्जा क्षेत्र तथा आभामण्लडको तह अशुद्ध, निष्कृय तथा असन्तुलित हुने हुनाले आउने गर्दछन् । यहाँ उल्लेखित सबै प्रकारका उर्जा चिकित्साका विधि, पद्धति तथा प्रणालीहरुको मूल उद्देश्य मनुष्यको शरीरको उर्जा सफा, शुद्ध, सक्रिय गर्ने तथा रोकिएको उर्जाको प्रवाह सुचारु गराएर उपचार प्रक्रिया प्रारम्भ गरि व्यक्तिका हरप्रकारका अस्वस्थता, समस्या तथा चुनौतीहरुको उपचार तथा समाधान गर्ने प्रयास गर्नु रहेको छ । यी उपचार पद्धतिहरुको माध्यमबाट चक्रहरुमा रहेको उर्जा शुद्ध, सक्रिय र सन्तुलित भएपछि मनुष्यका शरीरका सबै आयामहरु उपचार प्रक्रिया प्रारम्भ हुन्छ र उ विस्तारै स्वस्थ, आरोग्य रहन र समस्या तथा चुनौतीहरुबाट मुक्त हुन थाल्छ ।
उपचार पद्धतिका विभिन्न प्रणालीहरुबाट एक निश्चित आवृत्ति(फ्रिक्वेन्सी) मा उत्पन्न भएका उर्जाका सुक्ष्म तरंग(वेभ)हरुले मनुष्यको शरीरका सबै आयामहरुमा प्रवेश गर्छन र त्यहाँ रहेका खराव ब्याक्टेरीय, भाइरस तथा अन्य हानिकारक जिवाणुहरु न्युनिकरण गरेर तथा मारेर मनुष्यको शरीरको उर्जाक्षेत्र तथा आभामण्डल शुद्ध, सक्रिय, सन्तुलित गर्दै सकारात्मक उर्जाको दायरा बढाउछन् र उभित्र भएका सबै कमजोरीहरु हटाएर सकारात्मक बल प्रदान गर्दछन्; आन्तरीक शक्ति बढाएर शारीरिक तथा मानसिक रोगहरुसंग, अप्ठ्यारा समस्या, परिस्थिति तथा चुनौतीहरुसंग लड्ने क्षमता अभिवृद्धि गर्दछन्; शरीर, मन, भावना, आत्मा अर्थात चेतनामा दबेर रहेका नयाँ तथा पुराना जन्म–जन्मदेखि पिडा, कुण्ठा, असन्तुष्टी, चिन्ता, तनावलाई जरैदेखि हटाएर शरीर, मन, भावना, चेतनामा परिरहेका तिनका नकारात्मक प्रभावहरु कम गर्दछन् र शरीरका सबै आयामहरुमा हरप्रकारले सकारात्मक उर्जाको प्रवाह बढाउदछन् । यसकासाथै एक निश्चित आवृत्तिमा उत्पन्न भएका उर्जाका सुक्ष्म तरंगहरुले वरिपरिको वातावरणमा रहेका नकारात्मक उर्जाहरुलाई समेत न्यूनिकरण गर्दछन्, हटाउदछन् तथा सकारात्मकतामा परिणत गर्दछन् । यसरी शरीरका सबै आयामहरुको उर्जा शुद्ध, सक्रिय र सन्तुलन भएपछि र उ वरिपरीको वाहिय प्राकृतिक वातावरणमा रहेका नकारात्मकताहरु पनि हटेर सबैतिर शुद्ध भएपछि व्यक्तिमा हरप्रकारले उसको अन्तरहृदयदेखि नै सहजता छाउछ; उसलाई एकाग्र रहन, ध्यानमा बस्न सहज हुन्छ; उसमा सुखी, खुशी हुने, शान्त र आनन्दित रहने, सन्तुष्ट रहने क्षमताको अभिवृद्धि हुन्छ; उसमा स्वीकार्यता, धन्यता, कृतज्ञता, क्षमाशीलता, सहयोग, सदभाव, सेवा, प्रेम, दया, करुणाको भाव जस्ता सकारात्मक गुणहरु प्रष्फुटित हुन थाल्छन् । यस्ता सकारात्मक गुणहरुले मनुष्यमा स्वास्थ्य तथा आरोग्यता, समृद्धि, सफलता ल्याउछ । यसर्थ यहाँ उल्लेखित उर्जा शुद्धिकरण तथा सक्रियकरणका उपचार विधि, पद्धति तथा प्रणालीहरु अस्वस्थ रहेका, समस्यामा तथा चुनौती झेलिरहेका व्यक्तिहरुले मात्र नभएर हरकोही व्यक्तिले आफूलाई सहज हुने र अनुकुल पर्ने जुनसुकै समयमा उपचार लिएर हरेकले आ–आफ्नो जीवनलाई आरोग्यता, समृद्धि, सफलताले भरेर ऐश्वर्यवान बन्नाउन सक्दछन् । यी सबै उपचार पद्धतिहरुको उद्देश्य मनुष्यका शरीरका आयामहरुको उर्जा हरप्रकारले शुद्ध, सक्रिय र सन्तुलित गरेर उसको जीवनलाई हरप्रकारले भित्र शान्त तथा अरोग्य र वाहिर समृद्ध तथा सफल बनाउनु हो ।
उर्जा शुद्धिकरण तथा सक्रियकरण गर्ने उपचार पद्धतिहरु
उर्जा क्षेत्र तथा आभामण्डलको विज्ञान
सनातन अध्यात्म विज्ञान र आधूनिक भौतिक विज्ञान तथा प्रमात्रा विज्ञान(क्वान्टम फिजिक्स)का अनुसार हरेक मनुष्यको शरीरको वरिपरि पैतालादेखि शिरसम्म अण्डाकारमा गोलाई लिएर वाहिरतिर फैलिएको एकप्रकारको उर्जा क्षेत्र हुन्छ जसलाई उर्जा क्षेत्र(इलेक्ट्रो मेग्नेटी फिल्ड), आभामण्डल(औरा) भनिन्छ । यसको फैलाई तथा चौडाइ औषत मनुष्यहरुमा शरीरको चारैतिर तीन देखि पाँच फिटसम्म रहेको हुन्छ भने सकारात्मक व्यक्तित्व भएका मनुष्यहरु जस्तो अध्यात्म साधक, योगी, सन्त, महात्मा तथा सिद्ध पुरुष(विकसित आत्मा अर्थात चेतना), समाजिक अभियन्ताहरु, परोपकारी काम गर्ने व्यक्तिहरु जो अरुको भलाइ गर्ने निस्काम(निस्वार्थ) भाव, प्रेम(स्नेह, मैत्री, मायाँ, सम्मान, दया, करुणा, श्रद्धा, भक्ति), स्वीकार भाव, सन्तोष भाव, क्षमाशीलता, कृतज्ञता भावले भरिएका हुन्छन् । यस्ता व्यक्तित्वहरुको उर्जा क्षेत्र तथा आभामण्डल केही मीटरदेखि केही किलोमीटरसम्म फैलिएको हुन्छ भन्ने तथ्यहरु उर्जा मापन गर्ने वैज्ञानिक उपकरण किरलियन फोटोग्राफीका तस्वीरहरुमा देखिएका छन् । हाम्रो शारीरिक तथा स्थुल शरीरको वरीपरी रहेको यो उर्जा क्षेत्र तथा आभामण्डलले हाम्रो मनस्थिति तथा भावास्थितिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष किसिमले प्रभाव पार्दछ तथा नियन्त्रण गर्दछ । उर्जा क्षेत्र तथा आभामण्डलको प्रभावको कारण हाम्रो बोली, व्यवहार, आचरण, बानी, कर्म, व्यक्तित्व र भाग्य सकारात्मक तथा नकारात्मक अर्थात दुःखी तथा सुखी बन्दछ । उर्जा क्षेत्र तथा आभामण्डल र हाम्रो मनस्थिति तथा भावास्थितिविच दोहोरो सम्वन्ध रहेको हुन्छ । हाम्रो शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक अवस्था अनुसार उर्जा क्षेत्र तथा आभामण्डलको निर्माण हुन्छ र उर्जा क्षेत्र तथा आभामण्डलको शुद्धता, सक्रियता तथा सन्तुलनका आधारमा हाम्रो मनस्थिति तथा भावास्थितिको निर्माण हुन्छ । मनस्थिति तथा भावास्थिति सकारात्मक छ भने उर्जा क्षेत्र तथा आभामण्डल पनि सकारात्मक हुन्छ र उर्जा क्षेत्र तथा आभामण्डल सकारात्मक छ भने मनस्थिति तथा भावास्थिति पनि सकारात्मक हुन्छ ।
शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक अवस्था स्वस्थ भएको मनुष्यको उर्जा क्षेत्र तथा आभामण्डल र मनस्थिति तथा भावास्थिति सकारात्मक हुन्छ । सकारात्मक मनुष्यको उर्जा क्षेत्र तथा आभामण्डल धेरै टाढासम्म फैलिएको, शुद्ध, सक्रिय, चम्किलो, इन्द्रेनी रंगको सकारात्मक हुन्छ र उसको उर्जाको स्तर पनि त्यही अनुसार उच्च रहेको हुन्छ । शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक अवस्था अस्वस्थ, असन्तुलित तथा समस्याग्रस्त भएको मनुष्यको उर्जा क्षेत्र तथा आभामण्डल र मनस्थिति तथा भावास्थिति नकारात्मक, साँघुरो तथा कम फैलिएको, अशुद्ध, निष्कृय, असन्तुलित, स्पष्ट रंग नदेखिने, दागधब्वा भएको तथा प्वाल परेको हुन्छ र उसको उर्जाको स्तर पनि कम हुन्छ । मनुष्यको स्वस्थ तथा सन्तुलित उर्जा क्षेत्र तथा आभामण्डलले उसलाई धेरै प्रकारका सुरक्षाहरु प्रदान गर्दछ । उसको जीवनमा आइपरेका स्वास्थ्य समस्या, सम्वन्धमा समस्या, अध्ययन, पेशा, व्यवसाय आदि आयामहरुको सहज व्यवस्थापन गर्न मद्धत गर्दछ; धेरै प्रकारका रोग, समस्या तथा चुनौतीहरुबाट संरक्षण प्रदान गर्दछ; हरप्रकारका समस्या, कठिनाई तथा चुनौतीहरुसंग लड्न आन्तरिक बल प्रदान गर्दछ । शरीरलाई रोगसंग लड्ने क्षमता, शरीरको आन्तरीक उपचार क्षमता तथा बुद्धिमत्ता(नेचुरल इन्टेलिजेन्स) बढाउन मद्धत गर्दछ; मन तथा भाव सकारात्मक सोच, विचार, भावना सकारात्मक अवस्थामा रहन जस्ता अत्यन्तै महत्वपूर्ढा मद्धत पुर्याउदछ ।
उर्जा उपचारका विविध चिकित्सा पद्धतिहरु
वर्तमान समयमा चिकित्सा शव्दको अर्थ तथा परिभाषा रोग तथा अस्वस्थताको उपचार गर्नु भन्नेमा सिमीत हुदै गएको पाइन्छ तर चिकित्साको वास्तविक अर्थ तथा परिभाषा रोग तथा अस्वस्थतासंग मात्र सम्वन्धित नभएर आरोग्यता अर्थात समग्र रुपमा स्वस्थ र सन्तुलित जीवनसंग प्रत्यक्ष रुपमा सम्वन्धित रहेको छ । यसर्थ समग्रमा, चिकित्सा भन्नाले मनुष्यको शरीर, मन, भाव, आत्मा अर्थात चेतनालाई हरप्रकारले शुद्ध, सकारात्मक, सक्रिय, सन्तुलित तथा आरोग्य राख्न गरिने सबै प्रकारका गतिविधिहरु तथा प्रयासहरु हुन् । सनातन अध्यात्म विज्ञान तथा आधूनिक मनोविज्ञानले मनुष्यको उर्जा क्षेत्र तथा आभामण्डल शुद्ध, सक्रिय र सन्तुलित राखेर तथा सहि ढंगले उर्जा व्यवस्थापन गरेर उसको चेतना तथा उर्जाको स्तर बढाउन तथा सकारात्मक राख्न धेरै प्रकारका विधि, पद्धति तथा उपायहरु सुझाएका छन् । उर्जा शुद्धिकरण तथा सक्रियकरणका पूर्णतः वैज्ञानिकतामा आधारीत यी विधि, पद्धति तथा उपायहरुको दैनिक जीवनमा निष्ठापूर्वक नियमित अनुशरण गरेर व्यक्तिल आफ्नो उर्जा क्षेत्र तथा आभामण्डल शुद्ध, सक्रिय र सन्तुलित राखेर चेतना तथा उर्जाको तह बढाउन सकिन्छ । मनुष्यको शरीरका सबै आयामहरुको उर्जा शुद्धीकरण, सक्रियकरण तथा सन्तुलिकरणका सबै प्रकारका विधि, पद्धति तथा प्रणालीहरु समग्रमा अध्यात्म चिकित्सा विज्ञानकै अंश हुन् किनकी सनातन अध्यात्म दर्शन मनुष्यलाई सहज तथा सरल तरिकाले जीवन जिउन सिकाउने अभूतपूर्व कला(दि आर्ट अफ लिभिंग)को विज्ञान हो अर्थात अध्यात्म दर्शन मनुष्यको जीवनशैली तथा जीवनको विज्ञान(दि साइन्स अफ लाइफ) हो । सनातन अध्यात्म विज्ञान तथा आधूनिक मनोविज्ञानले सुझाएका मनुष्यको शरीरको शरीरका सबै आयामहरुको उर्जा शुद्धीकरण, सक्रियकरण तथा सन्तुलिकरणका केही विधि, पद्धति तथा प्रणालीहरु निम्न प्रकारका रहेका छन्–
(१)योग चिकित्सा, (२)रेकी तथा ब्रम्हाण्डिय उर्जा चिकित्सा, (३)आयुरवेद तथा प्राकृतिक चिकित्सा, (४)ध्वनि चिकित्सा, (५)धुवाँ चिकित्सा, (६)सौन्दर्य तथा सुगन्ध चिकित्सा, (७)दृश्यांकन चिकित्सा, (८)आत्मसन्देश तथा आत्मशक्ति, (९)सकारात्मकता, (१०)सेवा ।
(१)योग चिकित्सा(योग थेरापी)
योग दर्शन सनातन अध्यात्म दर्शनका आस्तिक षटदर्शनहरु मध्यको एक अत्यन्तै महत्वपूर्ण र वृहद विषय हो जो मनुष्यको सांसारिक मुक्ति देखि पारमार्थिक मोक्षसम्म फैलिएको छ तर यहाँ योगलाई मनुष्यको शरीरका आयामहरुको उर्जा शुद्धीकरण, सक्रियकरण तथा सन्तुलिकरण गर्ने प्रभावकारी उपचार तथा चिकित्सा पद्धतिको रुपमा विश्लेषण गर्ने प्रयास गरिएको छ । प्राचीन कालदेखि मनुष्यको जीवनशैली सहज तथा सरल बनाउने उद्देश्यले योग दर्शनलाई सैद्धान्तिक र व्यवहारिक दुई प्रकारले उपयोगमा ल्याइदै आइएको पाइन्छ । योग दर्शन तथा तथा योग चिकित्सा पद्धतिको सैद्धान्तिक पाटोमा यम(सत्य, अहिंसा, ब्रम्हचर्य, अपरिग्रह, अस्तेय), नियम(सौच, सन्तोष, तप, स्वाध्याय, इश्वर प्रणिधान), प्रत्याहार(पाँच ज्ञान इन्द्रिय, पाँच कर्म इन्द्रिय र मनमा सम्यमता) आदि पर्दछन् र व्यवहारिक पाटोमा योगासन, प्राणायाम, मुद्रा, ध्यान आदि पर्दछन् । योग दर्शन तथा योग चिकित्सा पद्धतिका सैद्धान्तिक र व्यवहारिक दुवै प्रकारका प्रयोगहरुले मनुष्यको शरीरका आयामहरुको उर्जा शुद्धीकरण, सक्रियकरण तथा सन्तुलिकरण गर्न र उर्जा क्षेत्र तथा आभामण्डल स्वस्थ बनाएर उसको चेतना तथा उर्जाको स्तर बढाउन अत्यन्तै प्रभावकारी ढंगले मद्धत गर्दछन् ।
योग दर्शन तथा योग चिकित्सा पद्धति अन्तर्गत गरिने योगासनले अखाद्य खानपान, केमिकल खाना, असन्तुलित जीवनशैलीका कारण शरीरमा जमेर रहेका खराव तत्वहरु जलाउदछ र शारीरिक शरीरको उर्जा शुद्ध गर्दछ । प्राणायाम र मुद्राले हाम्रो शारीरिक शरीर लगायत मानसिक र भावनात्मक शरीरको उर्जा शुद्धी गर्न मद्धत गर्दछ । मन तथा भावनामा अतिविचार तथा सम्वेगहरु, नकारात्मक सोच तथा भावलाई कम गरेर सकारात्मक बन्न मद्धत गर्दछ । ध्यान साधनाले शरीरका सबै आयामहरुका उर्जा शुद्ध गर्छ, ब्रम्हाण्डिय उर्जाको प्रवाह बढाएर आन्तरिक प्राकृतिक उर्जा तथा वुद्धिमत्ताको सक्रियतालाई बढाउदछ । आन्तरीक प्राकृतिक उर्जाको आफैं उपचार गर्ने क्ष्मतामा वृद्धि भएपछि मनुष्यको सुक्ष्म शरीरमा रहेका उर्जाका मूलकेन्द्र सात चक्र तथा नाडीहरुको उर्जा शुद्ध, सक्रिय तथा सन्तुलित हुन्छ र उर्जा क्षेत्र तथा आभामण्डल पनि शुद्ध तथा सन्तुलित हुदै जान्छ । यसरी मनुष्यको शरीरका सबै आयामहरुको उर्जा शुद्ध तथा सन्तुलित भएपछि उसको चेतना तथा उर्जाको स्तर बढ्दै जान्छ ।
चेतना तथा उर्जाको स्तरोन्तीमा ध्यान साधना विशेष रहेकोछ
ध्यान साधनाले मनुष्यको केवल मन र मस्तिष्क तथा हृदय, भाव र मुटुलाई मात्र शान्त तथा सन्तुलन गर्दैन । यसले स्थुल शरीरमा पनि धेरै प्रकारले प्रत्यक्ष सकारात्मक प्रभावहरु पार्दछ । ध्यान साधनाको अवस्थामा आँखा बन्द गरेर वाहिरका सूचना तथा जानकारीहरुबाट आफूलाई अलग्ग राखेपछि स्थुल शरीर स्थिर, निष्कृय, शुस्त तथा शिथिल हुन थाल्छ । स्थुल शरीर स्थिर, निष्कृय, शुस्त तथा शिथिल भएपछि स्वतः मन र मस्तिष्कमा तथा हृदयमा विचार तथा भावहरु कम चल्न थाल्छन्, विस्तारै मन तथा भावनामा स्थिरता आउछ र शान्ति तथा आनन्द बढ्न थाल्छ । मन तथा भावनाहरु स्थिर, शान्त तथा आनन्दमा रहेको अवस्थामा शरीरका भित्रि र वाहिरी अंगहरुले सहि ढंगले काम गर्न सुचारु गर्दछन् र यो अवस्थाले मनुष्यको उर्जा क्षेत्र तथा आभामण्डललाई पनि शुद्ध, सक्रिय र सन्तुलित राख्न मद्धत गर्दछ । जव हामी ध्यान साधनामा बस्छौं तव विस्तारै हाम्रा नकारात्मक सोच, विचार, भावहरु क्रमशः हाम्रो शरीर, मन, भावना, आत्मा अर्थात चेतनाबाट वाहिर निस्कन थाल्छन् । यस्तो अवस्गामा स्थुल शरीरका नशा, मांसपेसी, हड्डी, ग्रन्थी, पेट, मृगौला, कलेजो, मुटु, फेक्सो, रगत, बोसो आदिमा भएका खरावीहरु र मन, मस्तिष्क, हृदयमा भएका मानवीय विकार तथा क्लेशहरु– काम, क्रोध, लोभ, कोह, घृणा, बदलाको भाव, खराव सम्वन्धहरु आदि विस्तारै आफैं कम हुन र सहि हुन थाल्छन् । ध्यान साधनाले मनुष्यको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक अवस्था तथा स्वास्थ्यमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्दछ । यस्ता सकारात्मक प्रभावहरुले विस्तारै उसमा सुख, खुशी, सन्तोष, स्वीकार, शान्ति, आनन्द जस्ता राम्रा बानीहरुले ठाउँ लिदै जान्छन् । ध्यान गर्दाको समयमा मनुष्य आफूभित्रका यी विषय र यिनका उतार–चढावहरुसंग प्रत्यक्ष रुपमा जोडिन्छ जसले उसलाई दुःख दिरहेका तथा अनावश्यक रुपमा सताइरहेका हुन्छन् । यिनै दुःख, असन्तुष्टी तथा अस्वीकारका कारढा उत्पन्न हुने तनाव तथा चिन्ताहरुले मनुष्यको उर्जा क्षेत्र तथा आभामण्डललाई असन्तुलित तथा अशुद्ध गरिरहेका हुन्छन् । ध्यान साधनाबाट प्राप्त हुने ब्रम्हाण्डिय रहस्यमयी महाउर्जाको चमत्कारिक महाशक्तिले यी नकारात्मक सोच, विचार भावहरु हामीबाट विस्तारै वाहिर निकाल्दिन्छ र क्रमशः उसका चक्रहरुको उर्जा शुद्ध, स्वस्थ, सन्तुलित र सक्रिय हुदै जान्छ । चक्रहरुको उर्जा शुद्ध, स्वस्थ, सन्तुलित र सक्रिय भएपछि स्वतः उसको उर्जा क्षेत्र तथा आभामण्डल पनि शुद्ध, स्वस्थ, सन्तुलित र सक्रिय हुदै जान्छ र मनुष्यको चेतना तथा उर्जाको स्तर पनि क्रमशः बढ्दै जान्छ । समग्रमा भन्नुपर्दा, ध्यान साधनाको प्रमुख लाभ नै मनुष्यको शरीरका सबै आयामहरुमा ब्रम्हाण्यि महाउर्जाको प्रवाह बढाएर हाम्रो शरीरको सबै आयामहरुमा रहेको उर्जा शुद्धीकरण, सक्रियकरण तथा सन्तुलिकरण गर्नु हो । मस्त निद्रामा र सहि विधि तथा प्रक्रियाको अनुशरण गरेर गरिएको ध्यान साधनामा ब्रम्हाण्डिय उर्जाको प्रवाह सबैभन्दा बढि हुने प्राचीन तथा आधूनिक मनोविज्ञानका वैज्ञानिक अध्ययन, अनुसन्धान तथा खोजका नतिजाहरुले उजागर गरेका छन् ।
(२)रेकी तथा ब्रम्हाण्डिय उर्जा चिकित्सा(रेकी हिलिङ)
रेकी तथा ब्रम्हाण्डिय महाउर्जा उपचार पद्धतिमा भौतिक रुपमा उपचार प्रदान गर्ने रेकी उपचार विज्ञ तथा रेकी चिकित्सकले उपचार लिने व्यक्तिको शरीरमा ब्रम्हाण्डिय महाउर्जा प्रवाह गर्ने तथा पठाउने काम गर्दछ । ब्रम्हाण्डिय महाउर्जा पठाएको र प्राप्त गरेको अनुभव दुवै पक्षलाई शरीरमा हुने केही समवेदनाहरुको माध्यमकबाट सुक्ष्म रुपमा अनुभव(शव्द तथा हाउभाउले व्यक्त गर्न सकिने ज्ञान) तथा अनुभूति(शव्द तथा हाउभाउले व्यक्त गर्न नसकिने प्रज्ञा)मा आउछ । ब्रम्हाण्डिय महाउर्जा शरीरमा प्रवेश गरेको सुक्ष्म अनुभूति शरीरमा भएका नाडीहरुको माध्यमबाट उर्जा शरीरभरि संचारीत तथा वितरीत भएको थाहा हुन्छ । कमिलाले टोके जस्तो, झनझनाए जस्तो, केही कुराले हल्का स्पर्श गरे जस्तो, हल्का काउकुति लागे जस्तो, केही हलचल(भाइब्रेसन) भए जस्तो, हल्का न्यानो तथा डण्ठा भएजस्तो तथा केही दृष्टि भ्रम भएजस्तो हुन्छ र रेकी उपचार लिने व्यक्तिलाई सहज, शान्ति तथा आनन्द भएको अनुभूति हुनथाल्छ । रेकी उपचार पद्धतिबाट शरीरमा पठाइएको ब्रम्हाण्डिय महाउर्जा प्रमुख रुपमा उर्जाका मूल शक्तिकेन्द्र सात चक्रहरु तथा मूल तीन नाडीहरु(इडा, पिंगला, सुषुम्ना)का विन्दुहरु; सात चक्र तथा मूल तीन नाडीलाई सहयोग गर्ने १०८ उपचक्र तथा सहायक नाडीका विन्दुहरु; र १०८ उपचक्रका विन्दुहरुलाई सहयोग गर्ने अन्य विन्दु तथा साना–साना नाडीहरुको माध्यमबाट शरीरभरि संचारीत तथा वितरीत हुन्छ । शरीरका सबै आयामहरुमा सबैतिर ब्रम्हाण्डिय महाउर्जा सन्तुलित रुपमा वितरित भएको छ भने मनुष्यको उर्जा क्षेत्र तथा आभामण्डल स्वतः शुद्ध, सक्रिय तथा सन्तुलित हुन्छ र मनुष्यको शरीरका आयामहरुमा भएका विभिन्न अस्वस्थता, समस्या तथा चुनौतीहरुको उपचार तथा समाधान हुन प्रारम्भ हुन्छ किनकी रेकी उपचार पद्धति मनुष्यको सुक्ष्म शरीरमा रहेका प्रमुख सात चक्रहरुको उर्जा शुद्ध, सक्रिय तथा सन्तुलन विधि हो । यसरी रेकी तथा ब्रम्हाण्डिय महाउर्जा उपचार पद्धतिको माध्यमबाट मनुष्यको शरीरबाट निरन्तर ब्रम्हाण्डमा प्रवाहित भैरहने उर्जाका तरंगहरु तथा स–साना प्रकाशका कणहरुले बनेको प्रकाश पुञ्ज(वायो फोटोन्स) र योे प्रकाश पुञ्जले निर्माण गर्ने मनुष्यको शारीरिक शरीर वरिपरि अण्डाकार गोलाइमा रहेको उर्जा क्षेत्र तथा आधामण्डल स्वतः शुद्ध, सक्रिय तथा सन्तुलित हुन्छ र उसको चेतना तथा उर्जाको स्तरोन्तीमा मद्धत मिल्दछ । रेकी तथा ब्रम्हाण्डिय महाउर्जा उपचार पद्धति केवल शारीरिक तथा मानसिक स्वास्थ्यको मात्र उपचार नभएर यसको माध्यमबाट सम्वन्ध, परिस्थिति, अध्ययन, पेशा, व्यवसाय लगायत अन्य ठुला–ठूला घटना तथा विषयहरुलाई आफूले चाहे अनुसारको सहि दिशा प्रदान गर्ने गरिन्छ ।
छिट्टै
(३)आयुरवेद तथा प्राकृतिक चिकित्सा, (४)ध्वनि चिकित्सा, (५)धुवाँ चिकित्सा, (६)सौन्दर्य तथा सुगन्ध चिकित्सा, (७)दृश्यांकन चिकित्सा, (८)आत्मसन्देश तथा आत्मशक्ति, (९)सकारात्मकता, (१०)सेवा ।
समग्रमा, माथि उल्लेखित सनातन अध्यात्म दशएनका अभिन्न अंगहरु सबै चिकित्सा विधि, पद्धति तथा प्रणालीहरुको आत्यन्तिक उद्देश्य मनुष्यको सुक्ष्म शरीरमा रहेका उर्जाका मूल शक्तिकेन्द्र सात चक्रहरुको उर्जालाई शुद्ध, सक्रिय, जागृत तथा सन्तुलित गर्नु हो । चक्रको उर्जा शुद्ध, सक्रिय, जागृत तथा सन्तुलित भएपछि स्वतः मनुष्यको उर्जा क्षेत्र तथा आभामण्डल फराकिलो, शुद्ध, स्वस्थ, सबै चक्रका रंगहरु स्पष्ट देखिने चम्किलो हुन्छ र उसको शरीरका सबै आयामहरुबाट निरन्तर वाहिर ब्रम्हाण्डमा प्रवाहित भैरहने उर्जाका तरंंग तथा प्रकाश पुञ्जहरु(वायो फोटोन्स) पनि स्वतः शुद्ध, सक्रिय, जागृत तथा सन्तुलित हुन्छन् र मनुष्यको चेतना तथा उर्जाको स्तर बढ्छ । bsirjana!gmail.com
No comments:
Post a Comment