डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #सनातन_दर्शन #जीवन_दर्शन
असार शुक्ल पूर्णिमा, गुरु पूर्णिमा विशेष
विषय प्रवेश
संस्कृत वांगमयमा सर्वाधिक प्रयोग गरिदै आइएको गुरु शव्द ‘गु’ र ‘रु’ दुई अक्षरको संयोजनबाट बनेको छ । संस्कृत शव्दकोष अनुसार ‘गु’ को अर्थ प्रकाश हो र ‘रु’ को अर्थ अन्धकार हो । अन्धकारबाट प्रकाशतिर जान तथा लान मद्धत गर्ने हरेक मनुष्य, प्राणी, वनस्पति, पदार्थ, विषय तथा घटना, अवस्था तथा परिस्थिति, सफलता तथा असफलता, समस्या तथा चुनौती आदि सबै गुरु हुन् । यी गुरुहरुले हामीलाई ज्ञान दिन्छन् र जीवनमा के गर्ने तथा के नगर्ने, कसरी गर्ने तथा कसरी नगर्ने, किन गर्ने तथा किन नगर्ने आदिबारे गहिराइमा ज्ञान प्रदान गर्दछन् किनकी गुरु शव्दको शाव्दिक अर्थ नै ज्ञान हो । सृष्टि(युनिभर्स)का सर्जक, पालनकर्ता र संहारकर्ता भगवान ब्रम्हा–विष्णु–महेस त्रिदेवका अंशी तथा अवतार पुरुष भगवान श्री दत्तात्रयले जगतमा रहेका विभिन्न मनुष्य, प्राणी, वनस्पति, पदार्थहरु सबै मिलाएर २४ प्रकारका गुरुहरुबाट आफूले जीवन र जगतको ज्ञान पाउनु भएको विषय हाम्रा सनातन शास्त्रहरुमा गौरवतापूर्ण ढंगले उल्लेख गरिएको छ । यस सन्दर्भको सिधा तात्पर्य हुन्छ, गुरु त्यो हो जसले जीवन र जगत बुझ्नसक्ने हरप्रकारका ज्ञान प्रदान गर्दछ । जीवन र जगतको ज्ञान प्रदान गर्ने गुरु हाम्रो वरिपरी प्रकृतिमा रहेका हरेक मनुष्य, प्राणी, वनस्पति, पदार्थहरु लगायत हामीले दैनिक जीवनयापनमा अनुभव गर्ने हरप्रकारका विषय, घटना तथा परिस्थितिहरु सबै हाम्रा गुरु बन्न सक्छन् ।
'गुरु र शिष्य'विच परिपूरकताको सम्वन्ध हुन्छ 'आमा र सन्तान'विच हुने जस्तै । स्त्रीले सन्तान जन्माउछिन् र सन्तान जन्मेपछि स्त्री आमा बन्छिन् । जसरी आमाले आफ्नो प्राकृतिक क्षमताले एउटा विलकुल नयाँ प्राणीलाई सन्तान बनाउछिन् र सन्तानले आफ्नो प्राकृतिक क्षमताले स्त्रीलाई आमा बनाउछ । ठिक त्यस्तैगरि ‘गुरु र शिष्य’ हुन पनि गुरु र शिष्यविचको पारस्परिक सम्वन्ध हुनु पर्दछ । गुरुमा गुरु कहलाउने गुण तथा ज्ञान प्रदान गर्नसक्ने क्षमता भएको हुनुपर्दछ र शिष्यमा शिष्य कहलाउने शिष्यत्व तथा पात्रता अर्थात ज्ञान ग्रहण गर्नसक्ने क्षमता भएको हुनुपर्दछ । दुवै पक्षको ज्ञान प्रदान गर्ने तथा ज्ञान ग्रहण गर्ने पारस्परिक क्षमता, गुण तथा तत्परताबाट मात्र गुरु र शिष्यको सम्वन्ध बन्ने अवस्था पूर्ण हुनसक्छ । यस्तो तत्परता पूर्ण भएको अवस्थामा कुनै एक स्थुल शरीरधारी मनुष्य मात्र नभएर प्रकृतिमा रहेका हरेक जीव, पदार्थ तथा विषयहरु सबै मनुष्यका गुरु बन्न सक्छन् । तर ज्ञान प्रदान गर्ने र ज्ञान ग्रहण गर्ने क्षमता, प्रात्रता, गुण तथा तत्परता नभएको अवस्थामा भने न कोही कसैको गुरु बन्न सक्छ न कोही कसैको शिष्यनै बन्न सक्छ । यसै सन्दर्भमा अवतार पुरुष भगवान श्री दत्तात्रयले आफूमा शिष्यत्व, पात्रता तथा ज्ञान ग्रहण गर्न सक्ने क्षमता पूर्णतामा रहेको कारण वहाँले प्रकृतिमा रहेका २४ प्रकारका प्राणी तथा पदार्थहरुबाट आफ्नो मुक्ति तथा मोक्ष मार्गमा गुरु ज्ञान प्राप्त गर्नुभयो र वहाँले ती सबैलाई आफ्नो गुरू बनाउनु भयो तथा मान्नु भयो । भगवान श्री दत्तात्रयका २४ गुरूहरु निम्नानुसार रहेका छन्ः
(१)पृथ्वी (२)जल (३)अग्नि (४)वायू (५)आकास (६)सुर्य
(७)चन्द्रमा (८)सिन्धु (९)बालक (१०)कुमारी (११)सर्कत (१२)पिंगला
(१३)गज (१४)अजिंगर (१५)मृग (१६)सर्प (१७)परेवा (१८)कुरर
(१९)भृंगी (२०)मीन (२१)पुतली (२२)मौरी (२३)भ्रमर (२४)माकुरो
गुरुत्व र शिष्यत्व तथा पात्रता
भगवान श्री दत्तत्रयका अनुसार गुरु त्यो मात्र होइन जसले प्रवचन तथा उपदेश दिन्छ, वास्तविक गुरु त्यो हो जसले आफूले जानेको जीवन र जगतका दर्शन तथा ज्ञानले शिष्यलाई सांसारिक मुक्ति र पारमार्थिक मोक्ष प्राप्त गर्न मार्ग प्रसस्त गर्दछ । कलियुगमा सदगुरु(परमसत्यमा स्थित प्रकाशित आत्मा अर्थात चेतना)को सानिध्यलाई उच्चतम महत्व प्रदान गरिदै आइएको छ किनकी सत्य, त्रेता, द्वापर युगदेखिनै कलियुगको बारेमा महत्वकासाथ धेरै व्याख्या तथा टिप्पणीहरु गरिएका छन् । यी व्याख्या तथा टिप्पणीहरुमा उल्लेख गरिए अनुसार कलियुगमा मनुष्यहरुले अव्यक्त, निराकार तथा निर्गुण परमात्मालाई आफ्नो मन तथा भावको क्षेत्रमा उतार्न सक्ने छैनन्, उनीहरुलाई परमात्माको उपासना तथा भक्ति गर्नकालागि व्यक्त, आकार तथा गुणस्वरुपको छविको आवश्यकता पर्नेछ अन्यथा धर्मबाट भड्किने छन् र मुर्ख तथा नास्तिक हुनेछन् । कलियुगमा परमात्माको नाम स्मरणमले मात्र पनि परमात्माको कृपा तथा आशिर्वाद प्राप्त हुनेछ र नाम स्मरणको सहि विधि सच्चा सदगुरुले मात्र दिन तथा सिकाउन सक्छ । सदगुरु त्यस्तो छवि हो जसले परमात्मा साक्षातकार गरिसकेको हुन्छ र आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञान तथा परमात्माज्ञानले पूर्ण भएको हुन्छ । तसर्थ हरेक सदगुरु स्वयंं निराकार परमात्माका आकार स्वरुप भगवान ब्रम्हा, विष्णु, महेश त्रिदेवका स्वरुप समान हुन्छन् किनकी आम मनुष्यहरुलाई परमात्माको झलक प्रदान गर्न परमात्मा स्वयं त्रिदेवको स्वरुपमा व्यक्त, आकार तथा गुणस्वरुपमा प्रकट हुनुभएको हो । यसैकारण सनातन अध्यात्म दर्शनका अधिकांश शास्त्रहरुमा गुरु महिमा तथा गुरु वन्दनाको श्लोकहरुमा गुरुलाई साक्षात परमात्मा अर्थात परब्रम्हको स्वरुप मानिएको छ । ती मध्य अतिनै गुरुमहिमाको अत्यन्तै लोकप्रिय श्लोक, “गुरुर ब्रह्मा गुरुर विष्णु गुरुर देवो महेश्वरा, गुरुर साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः ।” मा गुरूलाई त्रिदेव- ब्रम्हा, विष्णु, महेस्वर तथा त्रिदेवका पनि मूलश्रोत साक्षात परब्रम्हका स्वरूप हुन् भनिएको छ ।
सनातन शास्त्रहरुमा उल्लेख गरिएको छ जो मनुष्य जाग्रीत छ तथा शिष्य हुन तत्पर छ तथा शिष्य हुनसक्ने पात्रता छ उसकालागि पूरै सृष्टि गुरु बन्न सक्छ तर जो अज्ञानमा छ तथा अहंकारमा छ उसकालागि साक्षात महर्षि वेदव्यासनै सामुन्नेमा आउनु भएपनि उसले चिन्दैन गुरुको व्यक्तित्व । यस सन्दर्भमा श्रीमद् भागवद् महापुराण ‘महाभारत’मा कथा आउछ जगतगुरु योगेश्वर भगवान श्रीकृष्ण, सर्वश्रेष्ठ धनुरधर अर्जुन र हस्तिनापूरका राजकुमार दुर्योधनको भेटघाट हुदा भएका संवादका विषयहरु । कथामा भनिएकाे छ, भगवान श्रीकृष्ण उत्तिनै दुरीमा हुनुहन्थ्यो अर्जुन र दुर्योधनको । शिष्यत्व तथा शिष्यमा हुनुपर्ने पात्रता भएकोकारण अर्जुनले गुरु तथा गुरुको दिव्यता चिनेका थिए त्यसैले उनले भगवान श्रीकृष्णले महाभारतको युद्धमा सहयोगार्थ जगतगुरु भगवान श्रीकृष्ण र वहाँको विशाल नारायणी सेनामा के रोज्छौ भनेर रोजाउदा अर्जुनले भगवान श्रीकृष्णलाई नै रोजे र युद्ध मैदानमा गीता वाचनको क्रममा भगवानको विश्वरुपको दर्शन गर्ने अलौकिक अवसर पाए । तर शिष्यत्व तथा शिष्यमा हुनुपर्ने पात्रता नभएकोकारण दुर्योधनले साक्षात जगतगुरु आफ्नो सामुन्नेमा भएपनि गुरु चिन्न सकेनन् र उनले जगतगुरु भगवान श्रीकृष्णलाई छोडेर भौतिक विषयभोग आशक्त र भौतिक शक्तिमा विश्वास राख्ने दुर्योधनले भगवान श्रीकृष्णको विशाल नारायणी सेना रोजे र उनी युद्धमा मारिए । यसको तात्पर्य मनुष्य जस्तो हुन्छ उसको प्रकृति तथा स्वाभाव पनि त्यस्तै हुन्छ, पकृति तथा स्वाभाव जस्तो हुन्छ उसको कर्म पनि त्यस्तै हुन्छ र कर्म जस्तो हुन्छ उसलाई फल पनि त्यस्तै प्राप्त हुन्छ । तसर्थ मनुष्य अन्तरआत्माबाट जाग्रीत छ, उसमा ज्ञान ग्रहणशिलताको क्षमता तथा पात्रता छ भने उसका वरिपरिका सबै बस्तु तथा विषयहरुबाट उसले ज्ञान हासिल गर्न सक्छ र सबै त्यस्ता वस्तु तथा विषयहरु उसका गुरु बन्न सक्छन् ।
भगवान श्री दत्तात्रयका चौबिस प्राकृतिक गुरुहरु
अपदस्त राजा अलर्क र भगवान श्री दत्तात्रयको संवाद
भगवान श्री दत्तात्रयलाई ध्यानमा लिन हुनुभइ परमशन्ति तथा परमआनन्दको अवस्थामा रहनु भएको देखेर आफ्नो राज्यबाट सत्ताच्युत तथा अपदस्त भएर बिलखबन्धमा परेका राजा अलर्कले सोधे, “हे, मुनिवर तपाईंलाई जीवनमा के त्यस्तो चिज मिल्यो र यति शान्ति र आनन्दमा रहनु भएको छ ?” भगवान श्री दत्तात्रयले मुस्कुराउदै जवाफ दिनुभयो, “यो योग र ध्यान साधनाबाट प्राप्त भएको परमशान्ति र परमआनन्द हो राजन ।” राजाले फेरी सोधे, “तपाईंलाई यस्तो अलौकिक शान्ति र आनन्द प्रदान गर्ने योग र ध्यानको ज्ञान कसले दिनुभयो, को हुनुहुन्छ तपाईंका गुरु ?” ब्रम्हाण्डका सृष्टिकर्ता, पालनकर्ता र सम्हारकर्ता साक्षात परमात्माका सगुणस्वरुप त्रिदेव- ब्रम्हा, विष्णु, महेसका अवतार पुरुष भगवान श्री दत्तात्रय जो आफैं सदगुरु हुनुहुन्थ्यो वहाँले दुःखमा परेका राजा अलर्कलाई सहयोग गर्ने हेतुले विस्तारमा आफ्ना सबै गुरुहरुको ज्ञान दिन प्रारम्भ गर्नुभयो र साथसाथ सनातन अध्यात्म विज्ञानका योग र ध्यान साधनाका सैद्धान्तिक(दार्शन सम्वन्धि) तथा व्यवहारिक विधिहरुको महत्व र गरिमाकाबारेमा पनि विस्तारमा ज्ञान दिन प्रारम्भ गर्नुभयो । भगवान श्री दत्तात्रय भन्नुहुन्छ, “हे राजन, हरेक मनुष्यको विशेष गुरु स्वयं उसको अन्तरआत्मा अर्थात चेतना नै हो किनकी सर्वप्रथम उसको अन्तरआत्माको नैसर्गिक संस्कार(जन्मसंगै पाएको संस्कार)ले उसलाई अह्राउछ आफ्नो जीवनमा उसले के गर्ने तथा के नगर्ने भनेर र यसपश्चात मात्र उसलाई वाहिरका गुरुहरुको दर्कार(आवश्यकता) पर्दछ । यदि उभित्रको गुरुले अर्थात उसको अन्तरआत्माले अह्राएन भने वाहिरका गुरुहरुको उसकालागि केही मान्यता हुदैन । मनुष्यको अन्तरआत्माले उसलाई केही सोच्न तथा गर्न अह्रायो भने उसको वरपर भएका सबैप्रकारका मनुष्य, प्राणी, पंक्षी, पदार्थहरु उसका गुरु बन्न सक्छन् किनकी निरन्तर इन्द्रियहरुको माध्यमबाट उसको अनुभवमा आइरहने हरेक प्राणी, चिज, वस्तु, घटना, विषय तथा परिस्थितिहरुले उसको जीवनकोलागि उपयोगी हुने केही न केही ज्ञान प्रदान गरिरहेका हुन्छन् र उसले ती ज्ञानहरु सहि ढंगले ग्रहण गर्न जान्यो भने तिनीहरुनै उसको गुरु बन्छन् । तसर्थ हे राजन, मेरो कुनै एक मात्र गुरु छैन, मेरो गुरु म वरिपरिको समुच्या प्रकृति हो । निरन्तर मेरो वरिपरिको प्राकृतिक वातावरणमा घटिरहने विविध घटनाहरुबाट मैले क्रमशः वैराग्य, आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञान तथा परमात्माज्ञान हासिल गर्ने अवसर पाएं । अन्तरआत्माले अह्राएको विषयमा प्राप्त भएको ज्ञानलाई ग्रहण पनि अन्तरआत्माले नै गर्छ र अन्तरआत्माले ग्रहण गरेको ज्ञानबाट मात्र मनुष्यको कल्याण, मुक्ति तथा मोक्ष सम्भव हुन्छ । मैले कुनै एक व्यक्तिलाई मात्र गुरु मानिन, मेरो सामुन्नेमा जोजो मनुष्य, जुनजुन प्राणी, जेजे बस्तु तथा पदार्थहरु आए र तीनका स्वभाव, गुण तथा ज्ञानहरुले मेरो अन्तरआत्मालाई स्पर्स गरे, ती सबैका सकारात्मक गुणहरूलाई मैले ज्ञान स्वरूप मानेर आफ्नो अन्तरआत्माबाट ग्रहण गरें । ती सबै ज्ञानहरुलाई मेरो जीवनमा व्यवहारिक रुपमा निष्ठापूर्वक अनुशरण गर्दै गएं, सकारात्मक परिणाम तथा उपलव्धिहरु हासिल गर्दै गएं र यसप्रकारले अभुतपूर्व ज्ञान प्रदान गर्ने ती सबैलाई मैले मेरो गुरु बनाएं र गुरु मानें ।”
आफैं वरपरको प्राकृतिक वातावरण नै गुरु बन्न सक्छ भन्ने भगवान श्री दत्तात्रयका कुरा सुनेर राजा चकित भए र उनले भगवान श्री दत्तात्रयलाई आफ्ना ती सबै गुरुहरु र तीनका स्वभाव, गुण तथा ज्ञानहरुको विस्तार गर्न विनम्र आग्रह गरे । यही प्रसंगमा भगवान श्री दत्तात्रयले आफ्ना २४ वटा गुरुहरुको स्वभाव, गुण र तिनीहरुबाट आफूले प्राप्त गरेको ज्ञान तथा शिक्षाबारे विस्तारमा व्यवख्या गर्नुभएको थियो । वहाँका अनुसार हरेक मनुष्यको जीवनको आत्यन्तिक उद्देश्य सुखको प्राप्ति र दुःखको निवृत्ति गर्नु हो । यसकालागि केही अनुपयुक्त विषयहरु जीवनबाट अलग गर्नुपर्दछ तथा त्यागु पर्छ र केही उपयुक्त तथा आवश्यक विषयहरु जीवनमा अनुशरण गर्ने प्रयत्न गर्नुपर्दछ । विषयहरुको त्याग र अनुशरणबाट मनुष्यलाई आफ्नो जीवनमा सुखको प्राप्ति र दुःखको निवृत्ति गर्नकालागि उसले अनिवार्य रूपमा अपनाउनु पर्ने र छोड्नु पर्ने विषयहरुको बारेमा विस्तृत ज्ञान तथा जानकारी मिल्दछ र यस्ता ज्ञान तथा जानकारीहरु आफैं वरिपरिको प्राकृतिक वातावरणमा घटिरहने विभिन्न प्रकारका घटना तथा विषयहरुबाट हासिल गर्न सकिन्छ । भगवान श्री दत्तात्रयले आफ्ना २४ वटा गुरुहरुको सविस्तार जानकारी निन्नानुसार दिनुभएको छ–
(१)पृथ्वी– क्षमा, सहनशीलता, परोपकार पृथ्वीको मूल स्वभाव
अन्नदाता पृथ्वी पंचतत्व मध्यको एक अत्यन्तै महत्वपूर्ण उर्जा हो । पृथ्वीले हामीलाई अनेक प्रकारले नित्य, निरन्तर मद्धत गरिरहेको हुन्छ, हामीलाई सेवा प्रदान गरिरहेको हुन्छ, हाम्रो उपकार गरिरहेको हुन्छ । हामी आफ्नो जीवनयापनका लागि पृथ्वीलाई अनेक प्रकारले प्रयोग गरिरहेका हुन्छौं र यसैबाट हाम्रो जीवनको सम्पूर्ण पालनपोषण हुने गर्दछ । तर पृथ्वीले यसवापत हामीसंग कहिल्यै पनि केहीपनि माग्दैन तथा लिदैन केवल हामीलाई दिन्छ मात्र । हामीले जे, जस्ता प्रकारका सकारात्मक, नकारात्मक व्यवहार तथा दोहनहरु गरेपनि पृथ्वीले चुपचाप सहिरहन्छ र हाम्रा हरप्रकारका अकर्मण्यताहरुलाई संधै माफी दिरहन्छ । जो मनुष्य पृथ्वीका यी क्षमा, सहनशीलता तथा परोपकारका गुण तथा स्वभावहरुलाई निष्ठापूर्वक आफ्नो जीवनमा ग्रहण तथा अनुशरण गर्दछ उ जीवनका अनेक प्रकारका राग तथा आशक्तिहरुबाट मुक्त भएर जीवन जीउछ र वैराग्यमा उपलव्ध हुन्छ र विस्तारै परमशान्ति, परमआनन्द तथा मोक्षको मार्गमा अग्रसर हुन्छ किनकी भगवान श्रीकृष्णका अनसुसार मनुष्य जीवनका यी महत्वपूर्ण पक्षहरु- परमशान्ति, परम आनन्द तथा मोक्षको पहिलो खुड्किलो वैराग्य तथा भौतिक संसारका विषय भोगहरुप्रतिको आशक्तिबाट मुक्त भएर ब्रम्हचर्य(ब्रम्हको आचारण, जति आवश्यक छ त्यतिमात्र भोग गर्नु)मा उपलव्ध हुनु हो । पृथ्वीको मूल शिक्षा सांसारिक जगतमा रहेर क्षमा, सहनशीलता, परोपकारका आचरणहरु आफूमा भरेर दैनिक जीवनयापन गर्दै मन तथा भाव शुद्ध बनाएर आफ्नो आत्मा अर्थात चेतनाको विराटतालाई हृदयंगम गर्दै त्यसको उचित विकास गरि मुक्ति, मोक्ष तथा परमात्मा साक्षातकारमा लगाउन सकिन्छ भन्ने हो । यो ज्ञान भगवान श्री दत्तात्रयले पृथ्वीबाट प्राप्त गर्नु भएको थियो त्यसैले वहाँले पृथ्वीलाई आफ्नो गुरु मान्नु भयो ।
(२)जल– स्वच्छता, माधूर्यता, शितलता जलको मूल स्वभाव
निरन्तर शितलता प्रदान गरिरहने जल पंचतत्व मध्यको एक अत्यन्तै महत्वपूर्ण उर्जा हो । प्राकृतिक रुपमा जल संधैनै पवित्र हुन्छ, वाहिरबाट मिसिएका तत्वहरुले जललाई अपवित्र तथा फोहोर गर्ने हुन् ती तत्वहरु थिग्रन तथा तैरिन दिएपछि जल फेरी उत्तिकै पवित्र, स्वच्छ र सफा हुन्छ । जसरी जल आफ्नो प्राकृतिक स्वभावले नै पवित्र, शुद्ध, श्वच्छ तथा माधूर्यताले पूर्ण हुन्छ त्यसैगरि मनुष्यका बानी, व्यवहार, आचारण, कर्म, नैतिकता, अनुशासनमा पनि पवत्रिता, शुद्धता, स्वच्छता तथा माधूर्यता हुनु आवश्यक हुन्छ । जो मनुष्यका समग्र व्यवहार तथा आचरणहरु पवित्र तथा स्वच्छ छन् र वाणी तथा हाउभाउहरु मधूर छन् उ सहज, सरल प्रकारको हुन्छ र सदा सुखी, खुशी, शान्त, आनन्दित हुन्छ । यस्तो प्रकारको सौम्यताले ओतप्रोत भएको मनुष्यले मात्र परमशान्ति, परमआनन्द तथा मोक्ष प्राप्तिको मार्गमा आवश्यक पर्ने योग तथा ध्यान साधनाका सैद्धान्तिक तथा व्यवहारिक विधिहरु सहजै आफ्नो दैनिक जीवनमा अनुशरण गर्न सक्छ र सहि ढंगले आफ्नो आध्यात्मिक विकास गरेर परमशान्ति, परमआनन्द तथा मोक्षमा उपलव्ध हुनसक्छ । जलको मूल शिक्षा पवित्रता, स्वच्छता तथा माधूर्यता आफूमा भरेर जीवनयापन गर्दै मन तथा भाव शुद्ध बनाएर आफ्नो आत्मा अर्थात चेतनाको विकास गरि मुक्ति, मोक्ष तथा परमात्मा साक्षातकारमा उपलव्ध हुन सकिन्छ भन्ने हो । यो ज्ञान भगवान श्री दत्तात्रयले जलबाट प्राप्त गर्नु भएको थियो त्यसैले वहाँले जललाई आफ्नो गुरु मान्नु भयो ।
(३)अग्नि– क्षमता, आवश्यकता अग्निको मूल स्वभाव
अग्नि ताप उत्पन्न गर्ने पंचतत्व मध्यको एक अत्यन्तै महत्वपूर्ण उर्जा हो, मनुष्यको उदर(पेट)मा पनि अग्नि हुन्छ जसलाई जठराग्नि भनिन्छ । मनुष्यको जीवन धान्नकालागि सबैभन्दा महत्वपूर्ण अंग तथा मूल पात्र(भाँडो, साधन) उसको पेट हो र मनुष्यको पेटको पाचन प्रणालीमा रहेको जठराग्निले मनुष्यले ग्रहण गरेर पेटमा पुर्याएका खानाहरु पचाउनकालागि आवश्यक ताप तथा अग्नि उर्जा उत्पन्न गर्दछ । अग्नि तथा जठराग्निले संधै आफ्नो क्षमताभित्र रहेर काम गर्दछ । मनुष्यले आफ्नो पेट तथा जठराग्निको क्षमता भन्दा बढि र समय, मौसम, अन्य अवस्था तथा परिस्थितिहरु नमिलाइमन आवश्यकता भन्दा बढि असन्तुलित प्रकारले भोजन ग्रहण गर्यो भने उक्त भोजन उसको जनराग्निले पचाउन सक्दैन किनकी जठराग्निले आफ्नो क्षमताभरिको काम मात्र गर्न सक्छ । यही अपच भोजन नै मनुष्यका सबैप्रकारका अस्वस्थता, रोग, दुःख, बेखुशी, अशान्ति, खराव सम्बन्ध, असल्लना, विपन्नताको कारण बन्दछ । यस्तो मनुष्यले परमशान्ति, परमआनन्द तथा मोक्ष प्राप्तिको मार्गमा आवश्यक पर्ने योग तथा ध्यान साधनाका विधिहरु सहजै अनुशरण गर्न सक्दैन र सहि ढंगले आफ्नो आध्यात्मिक विकास गरेर परमशान्ति, परमआनन्द तथा मोक्षमा उपलव्ध हुन सक्दैन । तसर्थ आफ्नो पेटको क्षमता अनुसार ठिक्क तथा आवश्यक मात्रामा सन्तुलित भोजन ग्रहण गर्नुपर्दछ । अग्निको मूल शिक्षा आफ्नो क्षमता अनुसार सन्तुलित मात्रामा जीवनमा आवश्यक पर्ने कुराहरु मात्र ग्रहण गरेर स्वस्थ तथा निरोगी रहेर सहज अवस्थामा आफ्नो आत्मा अर्थात चेतनाको विकास गरि परमात्मा साक्षातकारमा लाग्नु भन्ने रहेको छ । यो ज्ञान भगवान श्री दत्तात्रयले अग्निबाट प्राप्त गर्नु भएको थियो त्यसैले वहाँले अग्निलाई आफ्नो गुरु मान्नु भयो ।
(४)वायू– निरन्तरता, अनाशक्ति, सन्तोष वायूको मूल स्वभाव
वायू तेज उत्पन्न गर्ने पंचतत्व मध्यको एक अत्यन्तै महत्वपूर्ण उर्जा हो । जसरी वायू सकल पकृतिको पारिस्थितिकीय प्रणाली(इकोसिस्टम)लाई निरन्तर सुचारु राख्न तथा सबैमा प्राणशक्ति भर्न बिना कुनै आशक्ति, पूर्ण सन्तोष भावले अरुको सेवाकालागि नित्य, निरन्तर बहिरहन्छ यो अथवा त्यो नभनीकन आफ्नो उर्जा अरुलाई प्रदान गरिरन्छ, ठिक त्यसैगरि मनुष्य पनि निरन्तर आफ्नो जीवनमा अगाडि बढिरहनुपर्छ कुनै विषय भोगप्रति अति आशक्ति तथा लोभ, मोह नराखिकन सन्तोष भाव राखेर । हरेक मनुष्यले जतिसक्दो आफू अरु मनुष्य, जीव, वनस्पति तथा पदार्थहरुको लागि काम लाग्ने बन्ने प्रयत्न गर्नुपर्दछ कत्तिपनि म, मेरो, मलाई, मैले भन्ने अति अहंकार तथा अति आशक्तिको भाव नराखिकन । तवमात्र मनुष्यको मन, भाव, वुद्धि, चित्त, अहंकार खालि, शुन्य तथा शुद्ध हुन्छ र उ आफ्नो आध्यात्मिक विकास गरेर परमशान्ति, परमआनन्द तथा मोक्षमा उपलव्ध हुनसक्छ । वायूको मूल शिक्षा आफूमा निरन्तरता, अनाशक्ति, सन्तोषको भाव राखेर सांसारिक जगतमा रहेर पनि त्यसबाट अप्रभावित तथा तटस्थ भएर आफ्नो आत्मा अर्थात चेतनाको सहि ढंगले विकास गरि परमात्मा साक्षातकारमा लगाउन सकिन्छ भन्ने हो । यो ज्ञान भगवान दत्तात्रयले वायूबाट प्राप्त गर्नु भएको थियो त्यसैले वहाँले वायूलाई आफ्नो गुरु मान्नु भयो ।
(५)आकाश– विराटता, तटस्थता आकाशको मूल स्वभाव
सबैलाई चलखेल गर्न उच्चतम स्वतन्त्रता प्रदान गर्ने आकाश पंचतत्व मध्यको एक अत्यन्तै महत्वपूर्ण उर्जा हो । जसरी विराट आकाशले सकल ब्रम्हण्डमा स्थित आकाश गंगा, नक्षेत्र, तारा, ग्रह, उपग्रहहरु आदि अनन्त–अनन्त पदार्थ तथा तत्वहरुलाई आफूमा समेटेर राखेको हुन्छ ती सबै पदार्थ तथा तत्वहरुको एकआपसमा सामनजस्य बनाएर, एकले अर्कोलाई कुनै प्रकारको अवरोध नपार्नेगरि एकै ऋतमा चलाएको हुन्छ । अनन्त विराटतामा पनि आकाश आफू पूर्णतः तटस्थ भएर रहन्छ, कुनै पदार्थ तथा तत्वप्रति आकाशको न संग हुन्छ न असंग हुन्छ, न कुनै पदार्थ तथा तत्वसंग नजिकको सम्वन्ध हुन्छ न टाढाको सम्वन्ध हुन्छ । ठिक यसैगरि मनुष्यको मूल स्वभाव पनि सेवा तथा पुण्यकर्मलाई आफ्नो विराट हृदय(चिदाकाश)मा समेटेर सबैलाई आवश्यकता अनुसार समान मूल्य, महत्व तथा सेवा प्रदान गरेर सबैबाट तटस्थ रहेर आफ्ना दैनिक गतिविधिहरु गर्दै जीवनमा अगाडि बढ्नु पर्दछ । तवमात्र मनुष्यको मन, भाव, वुद्धि, चित्त, अहंकार खालि, शुन्य तला शुद्ध हुन्छ र उसले आफ्नो जीवनमा नित्य, निरन्तर योग तथा ध्यान साधना विधिहरु अनुशरण गरी आफ्नो आध्यात्मिक विकास गरेर परमशान्ति, परमआनन्द तथा मोक्षमा उपलव्ध हुनसक्छ । आकाशको मूल शिक्षा सांसारिक जगतमा रहेर पनि त्यसबाट अप्रभावित तथा तटस्थ भएर आफ्नो आत्मा अर्थात चेतनाको विराटतालाई हृदयंगम गरि त्यसको उचित विकास गरेर परमात्मा साक्षातकारमा लगाउन सकिन्छ भन्ने हो । यो ज्ञान भगवान श्री दत्तात्रयले आकाशबाट प्राप्त गर्नु भएको थियो त्यसैले वहाँले आकाशलाई आफ्नो गुरु मान्नु भयो ।
(६)सूर्य– त्याग, अपरिग्रह सूर्यको मूल स्वाभाव
जसरी सूर्यले सकल पकृतिको पारिस्थितिकीय प्रणालीलाई निरन्तर सुचारु राख्न आफ्नो किरण र तापको माध्यमबाट पृथ्वीको सतहमा भएको जललाई वाष्पिकरण गरि आफूमा खिचेर सहि समयमा वर्षा गराएर पुनः पृथ्वीमै फर्काएर त्यसको त्याग गरिदिन्छ उसैप्रकार मनुष्यले पनि दैनिक जीपनयापनका क्रममा आफ्ना इन्द्रियहरुबाट आवश्यकता अनुसारका विषयहरु ग्रहण गरेर सहि समय आएपछि फेरी ती विषयहरुलाई त्याग गर्नुपर्दछ तवमात्र उसको मन, भाव, वुद्धि, चित्त, अहंकार खालि, शुन्य तथा शुद्ध हुन्छ र मनुष्यले आफ्नो आध्यात्मिक विकास गरेर परमशान्ति, परमआनन्द तथा मोक्षमा उपलव्ध हुनसक्छ । त्यस्तै सूर्य एक भएर पनि विश्वभरिबाट हेर्दा अनेक जस्तो देखिन्छ तथा लाग्छ, ठिक त्यसैगरि मनुष्य तथा सबै जीव, वनस्पति तथा पदार्थहरुको आत्मा अर्थात चेतना पनि एकमात्र ब्रम्ह चेतना(सुपर कन्सस)भएर पनि अनेक जस्तो देखिन्छ भन्ने महाज्ञान तथा ब्रम्हज्ञान पनि सुर्यले प्रदान गरिरहेको छ । सूर्यको मूल शिक्षा जीवनमा कुनै विषयहरु संचय गरेर नराख्नु, कामवस राखेको भए सहि समयमा त्यसको त्याग गर्नु र आत्मा तथा परमात्मा केवल एक छ भन्ने जानेर जीवन सहज तथा सरल तरिकाले बहन गर्दै आफ्नो आत्मा अर्थात चेतनाको विकास गरि परमात्मा साक्षातकारमा लगाउनु पर्दछ भन्ने हो । यो ज्ञान भगवान श्री दत्तात्रयले सूर्यबाट प्राप्त गर्नु भएको थियो त्यसैले वहाँले सूर्यलाई आफ्नो गुरु मान्नु भयो ।
(७)चन्द्रमा– अटल, पुर्णता, शितलता चन्द्रमाको मूल स्वभाव
चन्द्रमा सर्वकाल एकनाशले एकैआकार तथा आफ्नो पूर्णतामा अटल रहिरहन्छ र सबैलाई नित्य, निरन्तर शितलता प्रदान गरिरहन्छ । आकाशमा चन्द्रमाको आकार सानो–ठूलो देखिनुको कारण पृथ्वीको छायाँ परेर चन्द्रमाको प्रकाश छेकिनु हो जसले सनातन धर्ममा विशेष महत्व रहेका एकमासमा दुई पक्षहरु– कृष्ण पक्ष तथा औंशी(अन्धकार) र शुक्ल पक्ष तथा पुर्णिमा(प्रकाश)को निर्माण गर्दछ तर चन्द्रमाको आकारको सन्दर्भमा यो वास्तविक तथ्य होइन, चन्द्रमा त सदाकाल पूर्ण रहेर एकनासले आफ्नो शितलता र प्रकाश छरिरहेको हुन्छ र सबैलाई शितलताको ज्ञान प्रदान गर्दै सदाकाल अटल रहिरहन्छ आफ्नो पूर्ण प्रज्वलित आकारमा न कहिल्यै घट्छ न कहिल्यै बढ्छ । ठिक यसैगरि मनुष्यको आत्मा अर्थात चेतना पनि सर्वकाल पूर्ण, अटल र शितल हुन्छ, आत्मा पनि कहिल्यै न घट्छ न बढ्छ । सदाकाल अरुप्रति स्नेह, मायाँ, मैत्री, श्रद्धा, प्रेम, दया, करुणाले भरिएको विराट हुन्छ । तर मनुष्यको अन्तःकरण(मन, वुद्धि, चित्त, अहंकार) र यसले उभित्र उत्पन्न गर्ने मानवीय विकार तथा क्लेशहरु काम, क्रोध, लोभ, मोह, इष्र्या, अहंकार, घृणा, भय, असुरक्षा र यसले ल्याउने परिणामहरु म, मेरो, मलाई, मैले भन्ने अहमयुक्त असन्तुलित मनस्थिति तथा भावास्थितिको छायाँ(विम्वका रुपमा अन्तःकरणलाई कालो बादल पनि भनिन्छ) परेको कारण मनुष्यको आत्मा अर्थात चेतनाको प्रज्वलित प्रकाश छेकिन्छ र सहि प्रकारले उसको आध्यात्मिक विकास हुन सक्दैन । हरेक मनुष्यको अन्तःकरणको यही असन्तुलित अवस्थानै उसका सबैप्रकारका दुःख, बेखुशी, अशान्ति, विपन्नता, असफलता, रोग, शोक आदिको कारण बन्दछ । यस्तो मनुष्यले परमशान्ति, परमआनन्द तथा मोक्ष प्राप्तिको मार्गमा आवश्यक पर्ने योग तथा ध्यानका साधनाका विधिहरु सहजै अनुशरण गर्न सक्दैन र सहि ढंगले आफ्नो आध्यात्मिक विकास गरेर परमशान्ति, परमआनन्द तथा मोक्षमा उपलव्ध हुन सक्दैन । तसर्थ हरेक मनुष्यले आफ्नो आत्मा अर्थात चेतनाको मूल स्वभावमा रहेर असन्तुलित अन्तःकरणलाई सहि ढंगले व्यवस्थापन गर्दै आफ्नो मनस्थिति तथा भावास्थितिलाई सन्तुलित बनाएर जीवनमा अगाडि बढ्नु पर्दछ । सनातन ज्योतिष विज्ञानका अनुसार चन्द्रमा मनुष्यको मनको कारक पनि हो तसर्थ चन्द्रमा जस्तै आफ्नो मन र भावलाई अटलता, पूर्णता र शितलताले भरेर मात्र मनुष्य परमात्मा प्राप्तिको मार्गमा अगाडि बढ्न सक्छ । यो ज्ञान भगवान श्री दत्तात्रयले चन्द्रमाबाट प्राप्त गर्नु भएको थियो त्यसैले वहाँले चन्द्रमालाई आफ्नो गुरु मान्नु भयो ।
(८)सिन्धु– अप्रभावित, अचल, शान्त सागरको मूल स्वभाव
जसरी सागरमा अनेक ताल, खोला, झरना, नदीहरु आदि जलका विभिन्न श्रोतहरु गएर मिसिएपनि समुद्रमा कुनै प्रकारको हलचल तथा बदलाव आउदैन न आकारमा, न आवाजमा, न रंगमा । सागर आफ्नो आकारमा न बढ्छ न घट्छ, हरपरिस्थितिमा अप्रभावित, अचल र शान्त रहिरहन्छ । ठिक यस्तै प्रकारले मनुष्यको दैनिक जीवनयापनमा सांसारिक जगतका विषय तथा घटनाहरु जेजति तथा जेजस्ता हलचलहरु आइपरेपनि ती सबैबाट अप्रभावित रहेर आफ्नो आत्मा अर्थात चेतनाको मूल स्वभाव अचल र शान्तपनमा स्थित रहन सक्नु पर्दछ र हर परिस्थितिमा आफ्नो मनस्थिति र भावास्थितिलाई स्थिर राख्न सक्नु पर्दछ । तवमात्र मनुष्यको मन, भाव, वुद्धि, चित्त, अहंकार खालि, शुन्य तथा शुद्ध हुन्छ र उ आफ्नो आध्यात्मिक विकास गरेर परमशान्ति, परमआनन्द तथा मोक्षमा उपलव्ध हुनसक्छ । यो ज्ञान भगवान श्री दत्तात्रयले सागरबाट प्राप्त गर्नु भएको थियो त्यसैले वहाँले सागरलाई आफ्नो गुरु मान्नु भयो ।
(९)बालक– चिन्तारहित, आफूमा मग्न बालकको मूल स्वभाव
जसरी सानो बालक उसको सबैभन्दा प्राथमिक आवश्यकता पेट अघाएपछि आफ्नो मस्तीमा खेल्छ, आफूमै मग्न रहन्छ र मस्त निदाउछ, उसलाई कुनै प्रकारको पिर, चिन्ता हुदैन ठिक त्यसैगरि मनुष्य पनि आफ्नो जीवन जीउन आवश्यक पर्ने आधारभूत आवश्यकताका लागि कर्म गर्दै अन्त्यहिन इच्छा, आकांक्षा तथा आशक्तिहरुको पछाडि नलागिकन अनावश्यक पिर, चिन्ताबाट मुक्त भएर जीवन जीउनु पर्दछ । मनुष्यका आवश्यकताहरु सीमित हुन्छन्, आवश्यकताको पूर्तिबाट मनुष्यलाई तृप्ति मिल्छ तर इच्छा, आकांक्षाहरु असीमित हुन्छन् जसबाट मनुष्य कहिल्यै तृप्त र चिन्तामुक्त हुन सक्दैन किनकी एकपछि अर्को निरन्तर उत्पन्न भैरहने इच्छा, आकांक्षाप्रति उ आशक्त भैरहन्छ र अझै प्राप्त होस् भन्ने लोभ र आफुसंग भएको कुरा कहिल्यै नगुमोस भन्ने मोहमा मृत्युपर्यन्त फसिरहन्छ । भगवान श्रीकृष्णले श्रीमद् भगवद् गीतामा भन्नु भएको छ, “मनुष्यको राग तथा सांसारिक विषय तथा वस्तुहरुप्रतिको भोगाशक्तिनै उसको आत्मा अर्थात चेतनाको विकास हुन नदिने मूल बाधा हुन् जसले उसको मोक्षको द्वार खुल्न दिदैन त्यसैले हे श्रेष्ठ धनुरधर अर्जुन, आफूमा वैराग साँध्न सिक, सांसारीक विषयहरुप्रतिको लोभ, मोह, आशक्तिबाट माथि उठ ।” सांसारिक विषय भोगाशक्तिबाट माथि उठेर वैराग्यमा उपलव्ध भएको मनुष्यको मन, भाव, वुद्धि, चित्त, अहंकार खालि, शुन्य तथा शुद्ध हुन्छ र उ आफ्नो आध्यात्मिक विकास गरेर परमशान्ति, परमआनन्द तथा मोक्षमा उपलव्ध हुनसक्छ । यो ज्ञान भगवान श्री दत्तात्रयले बालकबाट प्राप्त गर्नु भएको थियो त्यसैले वहाँले बालकलाई आफ्नो गुरु मान्नु भयो ।
(१०)कुमारी– अस्मिता, सजगता, एकान्त कुमारीको मूल स्वभाव
कुमारी पवित्र हुन्छिन्, उनी आफ्नो अस्मिता तथा पवित्रता अक्षुण(खोटरहित) राख्नकालागि पलपल सजग रहन्छिन्, अनावश्यक भिड तथा असम्वन्धित वस्तु तथा विषयहरुबाट आफूलाई दुर एकान्तमा राख्छिन् र चिन्तामुक्त भएर आफ्नो अक्षुण अस्मिता तथा पवित्रतामा स्वतन्त्र जीवनयापन गर्छिन । ठिक यस्तैगरि हरेक मनुष्यले पनि आफूलाई वाहिरी संसारका अनावश्यक व्यक्ति, वस्तु तथा विषयहरुबाट दुर, अलग्ग तथा एकान्तमा राखेर चिन्तामुक्त जीवनयापन गर्नुपर्दछ अन्यथा वाहिरका अनावश्यक भिडभाड, विषय तथा वस्तुहरुले मनुष्यलाई आफ्नो मूल स्वभावमा रहन बाधा उत्पन्न गर्न सक्छन् र उसको मनस्थिति तथा भावास्थितिलाई असन्तुलित बनाउन सक्छन् । भिडभावबाट मुक्त एकान्तमा मात्र मनुष्यको मन, भाव, वुद्धि, चित्त, अहंकार खालि, शुन्य तथा शुद्ध हुनसक्छ र उसले सहि ढंगले आफ्नो आध्यात्मिक विकास गरेर परमशान्ति, परमआनन्द तथा मोक्षमा उपलव्ध हुनसक्छ । यो ज्ञान भगवान श्री दत्तात्रयले कुमारीबाट प्राप्त गर्नु भएको थियो त्यसैले वहाँले कुमारीलाई आफ्नो गुरु मान्नु भयो ।
(११)सर्कत– वर्तमान र एकाग्रताको मूल्य सर्कतको मूल स्वभाव
प्राय प्राणीहरुको शिकार गर्न प्रयोगमा ल्याइने बाण अर्थात धनुसको मूल प्रयोजन आफूले चाहेको वस्तुमाथि लक्ष्य नचुक्नेगरि तीरले निशाना ताक्नु हो र लक्ष्यलाई भेदन गर्नु हो । कथम कदाचित धनुष बाणको सन्तुलन तथा तीरको धार सहि भएन भने शिकारी तथा धनुरधरले आफ्नो लक्ष्य हासिल गर्न सक्दैन । यसकालागि सर्कतले आफ्नो बाणलाई सन्तुलित तीरलाई धारिलो र निशानामा तल्लिनता बनाउनु अनिवार्य हुन्छ, यो काम गर्न उसलाई वर्तमान क्षणको पलपलमा नितान्त एकाग्रताको आवश्यकता पर्दछ । ठिक यसैगरि मनुष्यले पनि जीवनमा आफूले चाहेको कुरा हासिल गर्न आफ्नो लक्ष्यमा एकाग्र हुनु अत्यावश्यक हुन्छ र त्यसकालागि तत्काल तथा वर्तमान समयमै नगरीनहुने सबै प्रकारका गतिविधिहरुप्रति अत्यन्तै चनाखो हुनुपर्दछ । आफ्नो जीवनको मूल लक्ष्यमा एकाग्र हुनसक्ने मनुष्यले मात्र परमशान्ति, परमआनन्द तथा मोक्ष प्राप्तिको मार्गमा आवश्यक पर्ने योग तथा ध्यानका साधनाका विधिहरु आफ्नो दैनिक जीवनमा सहजै अनुशरण गर्न सक्छ र सहि ढंगले आफ्नो आध्यात्मिक विकास गरेर परमशान्ति, परमआनन्द तथा मोक्षमा उपलव्ध हुनसक्छ । यो ज्ञान भगवान श्री दत्तात्रयले सर्कतबाट प्राप्त गर्नु भएको थियो त्यसैले वहाँले सर्कतलाई आफ्नो गुरु मान्नु भयो ।
(१२)पिंगला– निराशा, हिनतावोध वेश्याको मूल स्वभाव
पिंगला नाम गरेकी स्त्री जो दैनिक जीवन यापनकालागि आफ्नो शरीरको यौनशक्ति बेच्ने बेश्या थिइन् । उनी ग्राहक पाउदा र आम्दानी हुदा खुशी हुन्थिन तर संधै ग्राहक पाउदिनथिन् र दुःखी तथा निराश हुन्थिन् । पिंगला बेश्या भएकीले समाजमा उनको कुनै सम्मानित मूल्य थिएन र उनी स्वयंलाई पनि आफ्नो कर्मप्रति हिनतावोध हुन्थ्यो कि यो कर्मले आफ्नो लगायत अरुको पनि घर, परिवार, सम्वन्ध, आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थामा नकारात्मक प्रभाव पारिरहेको छ; त्यसमाथि यो कर्म संधै चल्दैन र मेरो उमेर ढल्केपछि यसबाट मेरो गुजारा हुदैन भन्ने निराशाले सताउने गर्दथ्यो । उनी आफूसंग आफूले चाहेका सुख, सुविधाका सांसारिक विषय भोगका सबै वस्तु तथा सेवाहरु उपलव्ध भएपनि कहिल्यै सुखी, खुशी, शान्त र आनन्दित थिइनन्, रातदिन निराशा, हिनतावोध र सामाजिक अवमूल्यनका कारण चिन्तित् रहन्थिन् । ठिक यसैगरि मनुष्य पनि आफ्नो दैनिक जीवनयापन गर्ने क्रममा आफ्नो इच्छाले तथा दवावमा सांसारिक सुख भोगका विषयहरु हासिल गर्न आफ्नो अन्तरआत्माले गर्न नचाहेको तथा नअह्राएको असम्वन्धित तथा असामाजिक काम पनि गर्छ र जीवनभर निराशा, हिनतावोध, अवमूल्यनको चिन्ताले घेरिइरहन्छ । मनुष्यको जीवनको यही असहज तथा चिन्ताको अवस्थानै उसका सबैप्रकारका दुःख, बेखुशी, अशान्ति, विपन्नता, असफलता, खराव सम्बन्ध, रोग, शोक आदिको कारण बन्दछ । यस्तो असन्तुलित मनस्थिति तथा भावास्थिति र अव्यवस्थित जीवनशैली भएको मनुष्यले परमशान्ति, परमआनन्द तथा मोक्ष प्राप्तिको मार्गमा आवश्यक पर्ने योग तथा ध्यानका साधनाहरु सहजै अनुशरण गर्न सक्दैन र सहि ढंगले आफ्नो आध्यात्मिक विकास गरेर परमशान्ति, परमआनन्द तथा मोक्षमा उपलव्ध हुनसक्दैन । तसर्थ आफ्नो अन्तरआत्माले अह्राएको कामलाई आफ्नो जीवनको मूल लक्ष्य बनाउनु पर्दछ र आशातीत, मूल्यवान तथा आत्मसम्मानले भरिएको व्यक्तितत्व निर्माण गरेर जीवनयापन गर्नुपर्दछ । यो ज्ञान भगवान श्री दत्तात्रयले पिंगलाबाट प्राप्त गर्नु भएको थियो त्यसैले वहाँले पिंगला तथा वेश्यालाई आफ्नो गुरु मान्नु भयो ।
(१३)गज– काम वासनामा आशक्त हात्तीको मूल स्वभाव
हात्तीलाई अति काम वासना आशक्त तथा कामुक प्राणीका रुपमा लिने गरिन्छ, यसैकारण शिकारीहरुले हात्ती पकड्नकालागि कागजको हुबहु जस्तो देखिने नक्कली हात्ती बनाएर हात्ती फसाउन खनेको तर घाँस, परालले छोपछाप पारेको खाल्डोको नजिक राख्दछन् र सक्कली हात्ती नकल्ली हात्तीको समिप आउन खोज्दा उ तयारी खाल्डोमा परेर खस्छ र फस्छ । ठिक यस्तै अवस्था मनुष्यको जीवनमा पनि आउने गर्दछ किनकी काम वासना हरेक प्राणीहरुको प्राकृतिक गुण तथा स्वभाव हो तर यसमा संयम(नियन्त्रण) साँध्नकालागि प्रकृतिले मनुष्यलाई वुद्धि, विवेक, चेतना प्रदान गरेको छ ताकि कुनैपनि काम उसले आवश्यकता अनुसार सन्तुलित रुपमा व्यवस्थित ढंगले गर्न सकोस् । जो व्यक्तिमा काम वासना तथा यौन आशक्तिमा संयम तथा नियन्त्रण हुदैन उसले जीवनमा कुनै पनि प्रकारको प्रगति गर्न सक्दैन किनकी काम वासनामा लिप्त मनुष्यले जीवनमा त्यसैलाई सबैभन्दा महत्वपूर्ण ठान्दछ जीवनमा प्रगति गर्ने सबैभन्दा उर्वर उमेर तथा समय युवा अवस्थाको अधिकांश महत्वपूर्ण समय कम महत्व रहेको काम वासना जस्तो अनुत्पादक कर्ममा खर्च गर्छ र संधै अभाव, हिनतावोध तथा अवमूल्यनले घेरिएको चिन्ताग्रस्त जीवन जिउछ । यस्तो मनुष्यले परमशान्ति, परमआनन्द तथा मोक्ष प्राप्तिको मार्गमा आवश्यक पर्ने योग तथा ध्यानका साधनाका विधिहरु सहजै अनुशरण गर्न सक्दैन र सहि ढंगले आफ्नो आध्यात्मिक विकास गरेर परमशान्ति, परमआनन्द तथा मोक्षमा उपलव्ध हुनसक्दैन । तसर्थ आफ्नो मन, भाव, वुद्धि, चेतनाको सहि सदुपयोग गरेर आफ्ना इन्द्रिय तथा इन्द्रियजनित आशक्त गतिविधिहरुलाई सन्तुलनमा राखेर व्यवस्थित जीवनशैली अपनाउदै जीवनमा अघि बढ्नु पर्दछ । यो ज्ञान भगवान श्री दत्तात्रयले गजबाट प्राप्त गर्नु भएको थियो त्यसैले वहाँले गज अर्थात हात्तीलाई आफ्नो गुरु मान्नु भयो ।
(१४)अजिंगर– दाताप्रति आस्था, सन्तोष अजिंगरको मूल स्वभाव
भनिन्छ अजिंगरको आहारा दैवले पुर्याउछ र अजिंगर स्वयं पनि यो भनाइप्रति आस्थावान हुन्छ त्यसैले उ आफ्नो आहारा आफैं खोज्ने प्रयत्न समेत गर्दैन । एकै ठाउँमा बसिरहन्छ काठको मुढो लडेझैं र आफ्नो मुखको सामुन्नेमा जतिबेला संयोगले जे कुरा आउछ त्यही खाएर सन्तोष मानेर बस्छ, न पाइन भन्ने पिर गर्छ न, न अधिकको चाहना राख्छ, न संग्रहको इच्छा गर्छ । यसरी जे पाइन्छ त्यसैमा सन्तोष मानेर अजिङ्करको जीवनको गुजारा चलिरहेको हुन्छ । ठिक यसैगरि मनुष्यले पनि सबै कुरा आफैंले सोचे जस्तै, चाहे जस्तै गर्न खोज्नु र प्राप्त गर्न खोज्नु उसको अज्ञानता हो । मनुष्यको जीवनका केही महत्वपूर्ण विषयहरु यस्ता हुन्छन् जसमा मनुष्यको प्रत्यक्ष नियन्त्रण रहको हुदैन, प्रकृति अर्थात इश्वरले संचालन तथा नियन्त्रण गरेको हुन्छ जस्तै जन्म, मृत्यु र धेरै हदसम्म प्रेम, सम्वन्ध, विवाह, बसोवास, कर्म, आध्यात्मिक प्रगति आदि मानिसले चाहेकै अनुरुप र चाहेकै समयमा हुदैनन् जसलाई भाग्य भन्ने गरिन्छ र भाग्यको विद्याता स्वयं प्रकृति अर्थात अस्तित्व अर्थात परमात्मा हुनुहुन्छ । तसर्थ हरेक मनुष्य आफ्नो जीवनका केही विषयहरुमा अस्तित्व(जसले मलाई यो जीवनमा ल्यायो) अर्थात परमात्माप्रति आस्थावान रहनुपर्छ र यो मेरो नियन्त्रणमा रहेको विषय होइन, जसको नियन्त्रणमा छ उसले पक्कै मेरोलागि राम्रो गर्नेछ भन्नेमा भरोसा राख्नुपर्छ । यस्तो आस्थावान हुने स्वभावले मनुष्यमा सन्तोष, स्वीकार, कृतजञता तथा निरअहंकारीता भाव ल्याउछ । यस्तो मनुष्यले परमशान्ति, परमआनन्द तथा मोक्ष प्राप्तिको मार्गमा आवश्यक पर्ने योग तथा ध्यान साधनाका विधिहरु सहजै अनुशरण गर्न सक्छ र सहि ढंगले आफ्नो आध्यात्मिक विकास गरेर परमशान्ति, परमआनन्द तथा मोक्षमा उपलव्ध हुनसक्छ । यो ज्ञान भगवान श्री दत्तात्रयले अजिंगरबाट प्राप्त गर्नु भएको थियो त्यसैले वहाँले अजिंगरलाई आफ्नो गुरु मान्नु भयो ।
(१५)मृग– चंचलता, गन्ध र रागमा आशक्त मृगको मूल स्वभव
प्राकृतिक स्वभावले नै चन्चल प्राणी मृग सानोतिनो खुशीमा पनि अत्यन्तै ज्यादा खुशीले फुर्किन्छ तथा मातिन्छ र खुशीमा उफ्रिने तथा उछलकुद गर्ने क्रममा आफ्नो जीवन रक्षाकालगि अत्यावश्यक न्यूनतम संयम समेत गुमाउछ र मांसाहार प्राणी तथा शिकारीको चंगुलमा फस्न पुग्छ । चन्चलताकासाथै मृग नाकले थाहा पाउने सुगन्ध र कानले श्रवण गर्ने सुमधूर राग तथा धूनप्रति पनि विषय आशक्त तथा वसिभूत हुन्छ । आफ्नो शरीरभित्रै रहेको कस्तुरीको सुगन्ध वाहिर खोज्दै अनेकतिर भौतारीन्छ यसक्रममा आफ्नो सुरक्षाकालागि आवश्यक संयम गुमाउछ र मांसाहार प्राणी तथा शिकारीको चंगुलमा फस्न पुग्छ । त्यस्तै मृग विणाको रागप्रति पनि अत्यन्तै आशक्त हुन्छ, शिकारीले मिठामिठा रागहरु बजाएर मृगलाई आफूले थापेको पाशोतिर आकर्षित गर्ने प्रयास गर्छ र पाशोमा पारेर आफ्नो नियन्त्रणमा लिन्छ । ठिक यसरीनै आफ्नोलागि के उचित हुन्छ के अनुचित हुन्छ भन्ने ज्ञान नभएको, आफूमा संयम नभएको, अरुको लहैलहैमा लाग्ने, सांसारिक विषयभोगमा आशक्त हुने, जीवनमा प्राप्त साना-साना कुरामा फुर्किने तथा मात्तिने, जीवनमा आइपर्ने चुनौतीदेखि आत्तिने र आफ्नो जीवनको एक निर्दिष्ट लक्ष्य तथा योजना नभएको जे पर्छ सोही टर्छ भन्ने खालको मनुष्य पनि अर्काको बदनियतको शिकार बन्न पुग्दछ । यस्तो मात्तिने तथा आत्तिने ढुलमुले प्रकृतिको मनुष्यले परमशान्ति, परमआनन्द तथा मोक्ष प्राप्तिको मार्गमा आवश्यक पर्ने योग तथा ध्यान साधनाका विधिहरु सहजै अनुशरण गर्न सक्दैन र सहि ढंगले आफ्नो आध्यात्मिक विकास गरेर परमशान्ति, परमआनन्द तथा मोक्षमा उपलव्ध हुनसक्दैन । तसर्थ आफ्नो मन, भाव, वुद्धि, चेतनाको सहि सदुपयोग गरेर अत्यन्तै चनाखो भएर आफ्ना इन्द्रिय तथा इन्द्रियजनित गतिविधिहरुलाई सन्तुलनमा राखेर सम्यक तथा व्यवस्थित जीवनशैली अपनाउनु पर्दछ । यो ज्ञान भगवान श्री दत्तात्रयले मृगबाट प्राप्त गर्नु भएको थियो त्यसैले वहाँले मृगलाई आफ्नो गुरु मान्नु भयो ।
(१६)सर्प– अनाशक्त, अपरिग्रह सर्पका मूल स्वभाव
सर्प त्यस्तो प्राणी हो जसले जीवनभर आफ्नोलागि वासस्थान बनाउदैन र लामो समय एकै ठाउँ रहिरहदैन । प्रकृतिले तथा अरुले बनाएर छोडेका गुफा, ओडार तथा दुलाहरुमा बसेर जीवन गुजारा गर्छ । सर्प लामो समय एकै स्थानमा नबस्ने र अवस्था तथा आवश्यकता अनुसार स्थान फेरीरहने हुनाले सर्पको स्वभावमा जीवनमा केही संग्रह गर्ने, त्यसप्रति लोभ तथा मोह राख्ने कुनै प्रकारको आशक्ति भाव हुदैन । जहाँ जे परिस्थिति आउछ त्यही परिस्थिति अनुसार आफूलाई ढाल्छ र आफ्नो जीवनयापन चलाउछ । ठिक यही तरिकाले जस्तोसुकै अवस्था तथा परिस्थितिमा आफूलाई ढाल्न सक्ने, सांसारिक वस्तुहरुको अनावश्यक संगह नगर्ने र सांसारिक विषय भोगको लोभ तथा मोहमा आशक्त नहुने मनुष्यले आफ्नो जीवनलाई सहज, सरल तथा सफलताउन्मुख बनाउन सक्छ र परमशान्ति, परमआनन्द तथा मोक्ष प्राप्तिको मार्गमा आवश्यक पर्ने योग तथा ध्यानका साधनाका विधिहरु सहजै अनुशरण गर्दै सहि ढंगले आफ्नो आध्यात्मिक विकास गरेर परमशान्ति, परमआनन्द तथा मोक्षमा उपलव्ध हुनसक्छ । तसर्थ आफ्नो मन, भाव, वुद्धि, चेतनाको सहि सदुपयोग गरेर जहाँ जस्तो अवस्था आइपर्छ त्यही अनुसार आफूलाई व्यवस्थित गर्न तथा ढाल्न सक्ने बनेर सांसारिक विषयहरुप्रति अनाशक्त रहेर सन्तुिलत जीवनशैली अपनाउनु पर्दछ । यो ज्ञान भगवान श्री दत्तात्रयले सर्पबाट प्राप्त गर्नु भएको थियो त्यसैले वहाँले सर्पलाई आफ्नो गुरु मान्नु भयो ।
(१७)परेवा– अति स्नेह, मोहमा आशक्त परेवाको मूल स्वभाव
पंक्षी प्रजातिमा परेवा जीवनभर आफ्नो जोडीसंग अत्यन्तै स्नेहकासाथ घरजम गरेर बस्ने जीव हो । आफ्नो जोडीसंग कुनै कारण साथ छुट्यो भने उनीहरु आफ्नो जोडीसंगको अति स्नेह आशक्तिका कारण एक्लै जीवनमा अगाडि बढ्ननै सक्दैनन् र त्यही शोकमा जीवनका सबै गतिविधिहरु छोडेर, दानापानी समेत छोडेर प्राण त्याग गर्छन । परेवाको आफ्नो जोडी लगायत बचेराप्रति पनि अत्यन्तै स्नेह तथा लगाव हुन्छ, बचेरा शिकारीको जालमा पर्यो भने परेवी बचेराप्रतिको अति स्नेहवस बचेरासंगै जानीजानी जालमा बस्छ र आफ्नो जोडी तथा बचेराको अति स्नेहमा परेवा पनि शिकारीको जालमा जानीजानी बस्छ । यस्तो प्रकारको स्नेह तथा मोहाशक्ति जीवनमा खतरनाक हुन्छ, तसर्थ सबै मनुष्यहरुले यस्तो प्रकारको स्नेह तथा मोहाशक्ति राख्नु हुदैन भन्ने ज्ञान लिएर जीवनमा अगाडि बढ्नु पर्दछ । यो ज्ञान भगवान श्री दत्तात्रयले परेवाबाट प्राप्त गर्नु भएको थियो त्यसैले वहाँले परेवालाई आफ्नो गुरु मान्नु भयो ।
(१८)कुरर– लोभको त्याग कुइर चराको मूल स्वभाव
मांशाहारी पंक्षी कुुररले आफ्नो मुखमा रहेको शिकार अर्थात मासुको टुक्रामाथि अरु पंक्षीहरुको खोसाहा दृष्टि परेकोले शिकार तथा मासुको टुक्राको लोभमा आफ्नो ज्यानै जोखिममा परेको बुझेर उसले त्यो शिकारको त्याग गर्दछ र आफूलाई जोखिमबाट वाहिर निकाल्छ । ठिक यसै गरि मनुष्यले पनि आफ्ना विषय आशक्तिहरुका करण जीवनभर संग्रहित गरेका द्रब्य, चिज, वस्तुहरुलाई अनावश्यक रूपमा पकडेर बस्नु हुदैन, एकपछि अर्को गर्दै छोड्दै तथा त्याग गर्दै तिनहरुलाई अरुको सेवा, दान, पुण्य जस्ता अरुको भलाई हुने सर्वकल्याणका कार्यहरुमा उपयोग गर्दै जानुपर्छ र आफू तथा आफ्नो जीवनलाई हलुका, स्वच्छ तथा शान्त बनाएर, पलपल सजक भएर जीवनयापन गर्दै परमशान्ति, परमआनन्द हुदै मुक्ति तथा मोक्षकालागि आफ्नो आत्मा अर्थात चेतनाको विकास गर्न अध्यात्म विज्ञानका योग तथा ध्यान साधनाका विधिहरुको सैद्धान्तिक तथा व्यवहारिक अभ्यासमा आफूलाई अभ्यस्त गराउनु पर्दछ । यो ज्ञान भगवान श्री दत्तात्रयले कुररबाट प्राप्त गर्नु भएको थियो त्यसैले वहाँले कुरर पंक्षीलाई आफ्नो गुरु मान्नु भयो ।
(१९)भृंगी– भ्रम तथा मायामा आशक्त भृंगी जीवको मूल स्वभाव
जसरी भृंगी जीवले अर्को किरालाई पक्डिन्छ र आफ्नो गुंढमा लगेर आफ्नो सामुन्ने राखेर बारबार एउटै प्रकारको आवाज निकालेर दोहेर्याइरहन्छ । बारबार एउटै प्रकारको आवाज तथा शब्द ध्वनि सुनेको सुन्यै गरेर उक्त किरा पनि केही समयपछि आफुलाई भृंगी नै भएको भाव महसुस गर्दछ । ठिक यस्तै प्रकारले मनुष्यले पनि बारबार म शरीर हुँ भनेर शरीरकै चिन्तन् गरिरहनाले उसले आफूलाई पूर्णरुपमा शरीरनै हुँ भन्ने ठान्दछ अज्ञानवस बेहोसीमा रहेर तर जव समय रहदै उसलाई होस आउछ र म शरीर होइन आत्मा हुँ भन्ने ज्ञान जान्दछ तव उसले शरीरको मोह त्याग गरेर आत्मामा स्थित हुन्छ । तसर्थ भृंगीबाट हरेक मनुष्यले बारबार आफूले जस्तो प्रकारको विचार गर्छ उसको मनस्थिति तथा भावास्थिति पनि त्यस्तै प्रकारको हुन्छ र क्रमशः उसकोको व्यक्तित्व र जीवन पनि त्यस्तै बन्दै जान्छ भन्ने शिक्षा लिएर आफ्नो सोच, विचार तथा भावप्रति अत्यन्तै सजग भएर सदाकाल सकारात्मक सोच, विचार तथा भाव राखेर सतकर्म गर्दै जीवनयापन गर्नुपर्दछ । यस्तो मनुष्यले सहजै परमशान्ति, परमआनन्द हुदै मुक्ति तथा मोक्षकालागि आफ्नो आत्मा अर्थात चेतनाको विकास गर्न अध्यात्म विज्ञानका योग तथा ध्यान साधनाका विधिहरुको सैद्धान्तिक तथा व्यवहारिक अभ्यास गरेर जीवनमा परमशान्ति, परमआनन्द, मुक्ति तथा मोक्ष हासिल गर्नसक्छ । यो ज्ञान भगवान श्री दत्तात्रयले भृंगीबाट प्राप्त गर्नु भएको थियो त्यसैले वहाँले भृंगीलाई आफ्नो गुरु मान्नु भयो ।
(२०)मीन– स्वादमा आशक्त माछाको मूल स्वभाव
जसरी माछा आफ्नो रस इन्द्रिय तथा स्वादको वासना तथा विषय भोगाशक्तिका कारण शिकारीले थापेको बल्छीमा उनिएको खानेकुराको स्वादको लोभमा परेर आफ्नो ज्यान गुमाउन पुग्दछ ठिक त्यसैगरि मनुष्य पनि आफ्नो जिब्रोको स्वादमा बसिभूत भएर लाभ तथा हानिको लेखाजोखा नै नगरीकन र कतिपय अवस्थामा जथाभावी खानेकुराहरुले आफूलाई राम्रो गर्दैनन्, स्वास्थ्य, सम्बन्ध तथा सामाजिक मानप्रतिष्ठामा असन्तुलन आउँछ भन्ने जान्दाजान्दै पनि जे पनि र जस्तो पनि भोजन ग्रहण गर्दछ र आफू तथा आफ्नो र परिवारको जीवनलाई समेत जोखिममा पुर्याउछ, अनेक रोग–व्यधिहरुको शिकार हुन्छ, परिवार विखण्डन, सामाजिक अवमूल्यन जस्ता समस्याहरुले उसको जीवनलाई घेर्दछन् र उ जीवनको आध्यात्मिक मार्गमा अगाडि बढ्न नसक्ने हुन्छ । तसर्थ माछोबाट हरेक मनुष्यले रस तथा जिब्रोको विषय आशक्तिप्रति सजक भएर जीवनयापन गर्दै परमशान्ति, परमआनन्द हुदै मुक्ति तथा मोक्षकालागि आफ्नो आत्मा अर्थात चेतनाको विकास गर्न अध्यात्म विज्ञानका योग तथा ध्यान साधनाका विधिहरुको सैद्धान्तिक तथा व्यवहारिक अभ्यासमा आफूलाई अभ्यस्त गराउनु पर्दछ । यो ज्ञान भगवान श्री दत्तात्रयले माछाबाट प्राप्त गर्नु भएको थियो त्यसैले वहाँले माछालाई आफ्नो गुरु मान्नु भयो ।
(२१)पुतली– प्रकाशप्रतिको आशक्त पुतलीको मूल स्वभाव
जसरी पुतली रुपसंग मोहित भएर बत्ती तथा दियोको उज्यालोको प्रकाशमा आशक्त भएर मर्छु भनेर जान्दाजान्दै पनि आगोसंग खेलेर आफूले आफैंलाई नोक्सान पुर्याउछ तथा सिध्याउछ ठिक त्यसैगरि मनुष्य पनि आँखाले देख्ने दृष्य विषयहरुप्रति अति आशक्त भएर त्यसले गर्ने लाभहानिको लेखाजोखा नै नगरी अझ कतिपय अवस्थामा त आफूलाई हानि गर्छ भन्ने जान्दाजान्दै पनि आँखाको विषय रुप तथा दृष्यप्रति अति आशक्त भएर जीवनभर त्यसैको प्राप्ति खातिर दौडिरहन्छ र आफू स्वयंले आफ्नो मुस्किल तथा पतन निम्त्याउछ । तसर्थ पुतलीबाट हरेक मनुष्यले आँखाको रूप तथा दृश्यको विषय आशक्तिप्रति सजक भएर आवश्यकता अनुसार मात्र रुप तथा दृश्य प्राप्तिको आकांक्षा राखेर ती विषयहरुको उपयोग सन्तुलित ढंगले गर्दै व्यवस्थित जीवनशैली अपनाएर परमशान्ति, परमआनन्द हुदै मुक्ति तथा मोक्षकालागि आफ्नो आत्मा अर्थात चेतनाको विकास गर्न अध्यात्म विज्ञानका योग तथा ध्यान साधनाका विधिहरुको सैद्धान्तिक तथा व्यवहारिक अभ्यासमा आफूलाई अभ्यस्त गराउनु पर्दछ । यो ज्ञान भगवान श्री दत्तात्रयले पुतलीबाट प्राप्त गर्नु भएको थियो त्यसैले वहाँले पुतलीलाई आफ्नो गुरु मान्नु भयो ।
(२२)मौरी– अति संग्रहमा आशक्त मौरीको मूल स्वभाव
मौरी अत्यन्तै मेहनेती प्राणी हो यसबाट यो गुणको शिक्षा लिनु हरेक मनुष्यकालागि लाभदायक हुन्छ तर यही मेहनत तथा मह संकलनको आशक्तिनै मौरीको जीवनको जोखिमको मूल कारण बन्ने गर्दछ । मह शिकारीले अनेक उपाय अपनाएर मौरीले अभावको मौसममा आफूले खपत गर्न संग्रहित गरेर राखेको मह खोसेर तथा चोरेर लान्छ र मौरी रित्तै हुनपुग्छ, कतिपय अवस्थामा शिकारीले अनेक रसायन प्रयोग गर्दा धेरै मौरीहरु मर्दछन् पनि । ठिक यसैगरि हरेक मनुष्यले आवश्यकता भन्दा ज्यादा संकलन तथा संग्रह गर्नु भनेको तीनै चिज वस्तुहरुको मोहमा बाधिएर चोरीएला कि, कसैले खोसिदेलाकि भन्ने भय तथा असुरक्षाको चिन्तामा बस्नु हो र चोरी भयो तथा खोसियो भने त्यसैको शोकमा चिन्ताग्रस्त भएर अलौकिक मनुष्य जीवनको अमूल्य समय खेर फाल्नु हो । जीवनमा आइपर्ने यस्ता परिस्थितिमा मनुष्य कहिल्लै सन्तोषी भएर रहन सक्दैन र संधै सुख, खुशी, शान्ति, आनन्दबाट बिमुख भएर जीवनयापन गर्दछ । तसर्थ मौरीबाट हरेक मनुष्यले अति संगह र त्यसप्रतिको लोभ तथा मोहको विषय आशक्तिप्रति सजक भएर जीवनयापन गर्दै परमशान्ति, परमआनन्द हुदै मुक्ति तथा मोक्षकाकालागि आफ्नो आत्मा अर्थात चेतनाको विकास गर्न अध्यात्म विज्ञानका योग तथा ध्यान साधनाका विधिहरुको सैद्धान्तिक तथा व्यवहारिक अभ्यासमा आफूलाई अभ्यस्त गराउनु पर्दछ । यो ज्ञान भगवान श्री दत्तात्रयले मौरीबाट प्राप्त गर्नु भएको थियो त्यसैले वहाँले मौरीलाई आफ्नो गुरु मान्नु भयो ।
(२३)भ्रमर– सुगंधमा आशक्त भमराको मूल स्वभाव
जसरी भमरा पृथ्वी अर्थात माटोमा उव्जाउ भएका वनस्पतिहरुमा फूल्ने फूलहरुको गन्धमा अति आशक्त भएर आफ्नो जीवननै जोखिममा पर्ने खतराको ख्यालै नगरी अनेक फूलहरु चाहार्दै प्राणीहरुको शिकार गर्ने वनस्पति जस्तै कमलको फूलभित्र थुनिएर मर्छ, ठिक त्यसैगरि मनुष्य पनि लाभहानिको ख्यालै नगर विभिन्न विषय आशक्तिहरुमा लिप्त हुन्छ र त्यसैमा जकडिएर तथा थुनिएर आफैंले आफूलाई जोखिममा पार्दछ र तीनै जोखिम, समस्या, चुनौती तथा रोगहरुमा फसिरहन्छ जीवनभरी नै र उसको मनुष्य जन्म तथा जीवनको सबैभन्दा महत्वपूर्ण उद्देश्य मुक्ति तथा मोक्षको मार्ग प्रसस्त हुन सक्दैन । तसर्थ भमराबाट हरेक मनुष्यले गन्ध तथा नासिकाको विषयप्रति अतिआशक्ति नभइकन सजक भएर सन्तुलित जीवनयापन गर्दै परमशान्ति, परमआनन्द हुदै मुक्ति तथा मोक्षकाकालागि आफ्नो आत्मा अर्थात चेतनाको विकास गर्न अध्यात्म विज्ञानका योग तथा ध्यान साधनाका विधिहरुको सैद्धान्तिक तथा व्यवहारिक अभ्यासमा आफूलाई अभ्यस्त गराउनु पर्दछ । यो ज्ञान भगवान श्री दत्तात्रयले भमराबाट प्राप्त गर्नु भएको थियो त्यसैले वहाँले भमरा तथा भ्रमरलाई आफ्नो गुरु मान्नु भयो ।
(२४)माकुरो– आफैं जाल बुनेर शंकट निम्त्याउने माकुरोको मूल स्वभाव
माकुरोले आफ्नै मुखबाट धागो निकालेर जालो बनाएर अरु किराहरुलाई फसाउन र शिकार गर्न पासो थाप्छ र पाशोमा परेका तिनै किराहरु खाएर आफ्नो जीवनको गुजारा गर्दछ र अन्त्यमा त्यही जालो नै उसको जीवनको जोखिम बन्दछ, त्यही जालोका जेलिएर मर्छ । ठिक यसै प्रकार मनुष्य पनि आफ्ना संकल्प र विकल्पको जालो तथा उल्झनमा उल्झिएर मनुष्य जीवनको महत्व नबुझिकन जीवनभरी तीनै उल्झनहरु सुल्झाउने अनुत्पादक काममा आफ्नो अमूल्य जीवन, समय र जीवन उर्जा खर्च गरेर बस्दछ । तसर्थ माकुराबाट हरेक मनुष्यले आफ्ना संकल्प तथा विकल्पहरु व्यवस्थापन गरेर र जीवनकालागि महत्वपूर्ण कुराहरुलाई मात्र आफ्नो संकल्प तथा विकल्प बनाउदै अत्यन्तै सजक भएर जीवनयापन गर्दै परमशान्ति, परमआनन्द हुदै मुक्ति तथा मोक्षकालागि आफ्नो आत्मा अर्थात चेतनाको विकास गर्न अध्यात्म विज्ञानका योग तथा ध्यान साधनाका विधिहरुको सैद्धान्तिक तथा व्यवहारिक अभ्यासमा आफूलाई अभ्यस्त गराउनु पर्दछ । यो ज्ञान भगवान श्री दत्तात्रयले माकुरोबाट प्राप्त गर्नु भएको थियो त्यसैले वहाँले माकुरोलाई आफ्नो गुरु मान्नु भयो ।
पंचतत्व, विषय र मनुष्यको विषय आशक्ति
सृष्टिमा पाँच प्रकारका महाभूत अर्थात पंचतत्व(पृथ्वी, जल, अग्नि, वायू, आकाश) रहेका छन् र यीनै पाँच तत्वहरु प्रकृतिमा रहेका सबै जीव, वनस्पति तथा पदार्थहरुको जीवनको मूल श्रोत हुन् । पंचतत्वका हरेक तत्वका आ–आफ्नै प्रकारका विषय तथा गुणहरु रहेका छन् जसले हरेक मनुष्य तथा प्राणीहरुलाई तिब्र गतिमा आफूतिर आकर्षित गर्दछन् ती विषयहरुको भोग गर्नकालागि । पृथ्वीको विषय तथा गुण गन्ध हो, जलको रस, अग्निको रुप, वायूको स्पर्श र आकाशको शव्द हो । पंचतत्वका यी विषयहरु ग्रहण गर्न मनुष्यको स्थुल शरीरमा पाँच प्रकार ज्ञान इन्द्रियहरु रहेका छन्, क्रमशः पृथ्वी–गन्ध–नासिका, जल–रस–जिब्रो, अग्नि–रुप–आँखा, वायू–स्पर्श–त्वचा, र आकाश–शव्द–कानले यी विषयहरुको अनुभव गर्दछन् । पंचतत्वका यी विषयहरुप्रतिको अति आशक्तिहरुनै हरेक मनुष्यका हरप्रकारका चुनौती, दुःख तथा पतनका कारण बन्दछन् । त्यसैले सबै ज्ञानी पुरुष(विकसित आत्मा अर्थात चेतना)हरुले सांसारिक जीवनमा विषय आशक्तिहरुलाई या सन्तुलनमा राख्नु या यसबाट आफूलाई दुर राख्नु या यी आशक्तिहरुको त्याग गरेर वैराग्य धारण गरि मुक्ति तथा मोक्ष मार्गको साधनामा लाग्न मार्गनिर्देश गर्दै आउनु भएकोछ ।
आफ्ना सबै गुरुहरुको विस्तार गरिसकेपछि भगवान श्री दत्तात्रय भन्नुहुन्छ, “माथि उल्लेखित केही प्राकृतिक गुरुहरुले प्रदान गरेका सकारात्मक तथा उत्प्रेरणात्मक ज्ञानहरुबाट मैले आफ्नो जीवनमा के गर्ने र केलाई आत्मसाथ गर्ने भन्ने विषयहरुबारे जानें र केही प्राकृतिक गुरुहरुले प्रदान गरेका नकारात्मक ज्ञानहरुबाट मैले जीवनमा के नगर्ने तथा केलाई त्याग गर्ने भन्ने विषयहरुबारे जानें । यसप्रकार हे राजन, मेरा यी २४ प्रकारका प्रकृतिक गुरुहरुले मलाई पारमार्थको वोध गराए जसवाट म आत्मस्वरुप परमात्मामा स्थित भएर सांसारिक जीवनबाट मुक्त भएको छु र अव परमशान्ति, परमआनन्दमा स्थित छ, अतः म सबै चिन्ताहरुबाट मुक्त भएर विचरण गर्छु र सदा सुखी, खुशी, शान्त र आनन्दित रहन्छु ।"
भगवान श्री दत्तात्रयका यी ज्ञानहरु सुनेर राजाले पनि यी ज्ञानहरुलाई आफ्नो जीवनमा निष्ठापूर्वक अनुशरण गरे र उनी पनि सांसारिक जीवनबाट मुक्त र आत्मज्ञानी बने ।bsirjana@gmail.com

No comments:
Post a Comment