डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन
व्यवहारिकताका, प्रकृति र सन्पन्नताका आधारमा मानिसको प्रकार
(३)व्यवहारिकताका आधारमा मानिसको प्रकार
मुख्यतया शारीरिक, मानसिक तथा भावनात्मक रुपले सबै मानिसहरु एकअर्कोसंग फरक रहेका हुन्छन् । प्राय शारीरिक रुपमा उचाइ, मोटाइ तथा रंगले मानिस एकअर्को भन्दा सामान्य रुपमा फरक देखिन्छ तर मानिसहरुको व्यवहारले एकअर्कोसंग विशेष रुपमा भिन्न देखाउछ । मानिसलाई सामान्यबाट असामान्य तथा विशिष्ट बनाउने उसको व्यवहारले नै हो र असामान्यबाट सामान्य तथा निकृष्ट बनाउने पनि उसको व्यवहारले नै हो । मानिसको व्यवहार उसको सोच, विचार, मनस्थिति तथा भावास्थितिबाट बन्दछ । उसको सोच, विचार, मनस्थिति तथा भावास्थिति उसका वरिपरी रहेका पारिवारीक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक तथा प्राकृतिक वातावरण र उसको जन्मशिद्ध संस्कार(जन्मिदै लिएर आएको जन्म–जन्मका कर्महरुको सबैप्रकारको प्रभाव)ले निर्धारण र निर्माण गर्दछ । नकारात्मक प्रकारका सोच, विचार, मनस्थिति तथा भावास्थिति भएका मानिसहरुको व्यवहार पनि नकारात्मक प्रकारकै हुन्छ र सकारात्मक प्रकारका सोच, विचार, मनस्थिति तथा भावास्थिति भएका मानिसहरुको व्यवहार सकारात्मक प्रकारको हुन्छ । मानिसको सोच, विचार, मनस्थिति तथा भावास्थितिमा सबैभन्दा प्रमुख तथा केन्द्रमा ‘विचार’ रहेको हुन्छ । जस्ता प्रकारका विचारहरु मानिसभित्र बढि मात्रामा चल्छन् तीनको प्रत्यक्ष प्रभाव मानिसको सोच, मनस्थिति तथा भावास्थिति पर्ने गर्दछ । सनातन अध्यात्म विज्ञान र आधूनिक मनोविज्ञानले प्राथमिकताका साथ भन्दै आएका छन् कि मानिस भनेको केवल मांसपिंडको आकृति नभएर उसको विचार हो, जस्ता प्रकारका विचारहरु उभित्र बढि मात्रामा चल्छन् उ त्यस्तै प्रकारको हुन्छ अर्थात उसको व्यक्तित्व र जीवन त्यस्तै प्रकारको बन्दै जान्छ किनकी उसको हरप्रकाको व्यवहार उभित्र चलिरहने विचारको अभिव्यक्ति हो । विसौं शताव्दीका पूर्वीय महान सन्त जे.कृष्णमूर्तिले भन्नु भएको छ, “मानिस अरु केही नभएर मात्र उसकै विचारको परिणति हो । उसका सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्द सबै उसकै विचारका परिणामहरु हुन् ।” उन्नइसौं शताव्दीका अर्को पूर्वीय महान सन्त स्वामी विवेकानन्दले भन्नु भएको छ, “मानिसको विचार अत्यन्तै शक्तिशाली तथा प्रभावशाली हुन्छ किनकी यीनै विचारहरुबाट नै उसको बोली बन्दछ, बोलीबाट व्यवहार तथा आचरण बन्दछ, व्यवहार तथा आचरणबाट कर्म बन्दछ, कर्मबाट व्यक्तित्व बन्दछ र व्यक्तित्वबाट मानिसको भाग्य बन्दछ र भाग्यको प्रभाव जन्म–जन्मान्तरसम्म रहिरहन्छ ।” तसर्थ सरल, सहज तथा सकारात्मक जीवनकालागि हामीले हाम्रा विचारहरु कस्ता प्रकारका छन् भनेर त्यसउपर हरेक क्षण निरन्तर सुक्ष्म निरीक्षण तथा सिंहावलोकन(विम्व– फर्केर हेर्नु) गर्नु अत्यावश्यक हुन्छ र पलपल विचारहरुलाई उच्च र सकारात्मक राख्ने प्रयत्न गर्नु पर्दछ ।
मानिसको व्यवहार तथा आचरण जस्तो प्रकारको छ उ त्यस्तै प्रकारले आफू र अरुसंग पेश आउछ र उसको व्यक्तित्व, जीवन, सम्वन्ध, सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्द र उसका सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, राजनीतिक अवस्थाहरु पनि त्यस्तै प्रकारका बन्दै जान्छन् अर्थात उसको व्यवहारले नै यी सबै पक्षहरुको अवस्था राम्रो हुने वा नराम्रो हुने भन्ने तय गर्दछ । सामान्यतया दैनिक व्यवहार, आचरण तथा व्यवहारिक गुणका आधारमा हाम्रो परिवार तथा समाजमा पाँच प्रकारका मानिसहरु रहेका हुन्छन्– (१)अरुलाई खुशी बनाएर आफू खुशी हुने, (२)आफूलाई दुःखी बनाएर पनि अरुलाई खुशी बनाउने, (३)अरुको के मतलव भन्ने भाव राखेर आफूमात्र खुशी हुने, (४)अरुलाई दुःखी बनाएर आफू खुशी हुने, र (५)अरुलाई दुःखी बनाएर आफूपनि दुःखी हुने ।
अरुलाई खुशी बनाएर आफू खुशी हुने– उच्च तहका सकारात्मक प्रकारका सोच, विचार, मनस्थिति तथा भावास्थिति भएका ज्ञानवान तथा आदर्श मानिसहरुको व्यवहार तथा आचरण अधिकतर सकारात्मक प्रकारको हुने हुनाले उसले आफ्नो प्रेम(स्नेह, मैत्री, मायाँ, श्रद्धा, दया, करुणा), वुद्धि, विवेक शक्तिको उपयोग गरेर आफू, परिवार, नाता–सम्बन्ध, साथीसंगी, छिमेक, टोल, गाउँ, समाज, राष्ट्र, अन्तरराष्ट्रसंगका आफ्ना विविध उठबसहरुमा सम्भव भएसम्म आफ्नो व्यक्तित्व तथा नेतृत्व क्षमताको बलमा सर्वकल्याणका विभिन्न सकारात्मक कार्यहरु गर्दै, सबैमा प्रेरणा भर्दै आफू र अरु सबैलाई खुशी बनाएर जीवनमा आफू अगाडि बढ्न र अरुलाई पनि अगाडि बढ्न मद्धत गर्दछ । यस्तो मानिस आफ्नो मात्र नभएर अरुको पनि सहजता, सुख, खुशी, शान्ति, आनन्दलाई ख्यालमा राख्दछ र सबैतिर सक्दो सकारात्मक र खुशी बढाउने प्रयास गर्दछ । राष्ट्र तथा अन्तरराष्ट्रका सामाजिक, धार्मिक, आध्यात्मिक क्षेत्रहरुको विकास तथा प्रवद्र्धन गरेर सर्वकल्याणका मानवीय कार्यहरु मार्फत सबैलाई लाभ पुर्याउन नेतृत्वदायी भूमिकामा रहेका अभियन्ताहरु र निस्काम सेवा तथा परोपकारका काम गर्ने अत्यन्तै सकारारात्मक सोच भएका परोपकारी तथा दानी व्यक्तिहरु अरुलाई खुशी बनाएर आफू खुशी हुने वर्गमा पर्दछन् ।
आफूलाई दुःखी बनाएर पनि अरुलाई खुशी बनाउने– सामान्यतया कोही पनि मानिस आफूलाई दुःखी बनाउन चाहदैन तर कहिलेकाहीं आफ्नो बिभिन्न पहिचान(सन्तान, अभिभावक, सेवक) स्वरुप आफूले अनिवार्य रुपमा निभाउनै पर्ने आफ्ना कर्तव्य, उत्तरदायित्य तथा जिम्मेदारीहरुका कारण उसले आफूलाई दुःखी बनाएर भएपनि आफ्नो कर्तव्य, उत्तरदायित्य तथा जिम्मेदारी पूरा गर्नुपर्ने अवस्था आउनसक्छ उसको जीवनमा । मध्यम तहका सकारात्मक प्रकारका सोच, विचार, मनस्थिति तथा भावास्थिति भएका मानिसहरुको व्यवहार अधिकतर कर्तव्यपरायण तथा आफ्नो जिम्मेदारीबाट पछाडि नहट्ने सकारात्मक प्रकारको हुन्छ । प्राय पारिवारीक कर्तव्य, उत्तरदायित्य तथा जिम्मेदारी निभाउन मानिसले आफूलाई दुःखी बनाएरै भएपनि अरुलाई खुशी बनाउने प्रयास गर्छ कहिलेकाहीं आफ्नै चाहानावस र कहिलेकाहीं बाध्यतावस । मुख्यतया छोरोछोरी तथा परिवारको उज्वल भविश्यकालागि प्रयत्नशील माता–पिता तथा अभिभावकहरु; वृद्ध माता–पिता तथा अभिभावकको अवकाशको जीवन सहज तथा खुशीयालीपूर्ण बनाउन प्रयत्नशील सन्तानहरु; विद्यार्थी तथा शिष्यहरुको उच्चतम प्रगति र उज्वल भविश्य चाहने शिक्षक तथा गुरुहरु; कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न प्रयत्नशील कार्यालय प्रमुखहरु; इमान्दार तथा नैतिकवान कर्मचारी तथा सेवकहरु; र निस्काम भावले अरुलाई सेवा प्रदान गर्ने सकारारात्मक सोच भएका केही परोपकारी अभियन्ताहरु आफूलाई दुःखी बनाएर पनि अरुलाई खुशी बनाउने वर्गमा पर्दछन् ।
अरुको के मतलव भन्ने भाव राखेर आफूमात्र खुशी हुने– सबै मानिसहरु आफ्नो जीवनलाई सुख, खुशी, समृद्ध, सफल, शान्त, आनन्दित बनाउने चाहना राख्दछन् र यस क्रममा विविध प्रकारका गतिविधिहरु गर्दछन् । मध्यम स्तरको सोच तथा विचार भएका मानिसहरु अरुलाई भन्दा आफुलाई बढि महत्व दिन्छन् र आफूलाई अरुभन्दा कसरी अव्वल देखाउने भन्ने तानाबानामा तल्लीन रहन्छन् । उनीहरुमा आफुलाई अरुसंग तथा अरुलाई आफूसंग तुलना गर्ने; अरुको देखासेखी गर्ने; सामान्य सामाजिक संस्कार, धार्मिक तथा साँस्कृतिहरु माहोलहरुमा आफूलाई अरुभन्दा फरक देखाउने प्रवृत्ति हावी हुन्छ । यीनीहरुलाई आफ्नो कारणले अरुलाई मार्का परेको तथा दुःख भएको अवस्थासंग कुनै प्रकारको सराकार हुदैन । प्राय इमान्दारिताको भेषमा अरुबाट लुकेर तथा लुकाएर नीतिगत घुषखोरी गर्ने, परिवार तथा समाजबाट लुकाएर असामाजिक कामहरु गर्ने, वाहिरबाट संस्कारी भएको ढोंग गर्ने तर भित्रबाट पाखण्डले भरिएका स्वार्थी मानिसहरु अरुको के मतलव भन्ने भाव राखेर आफूमात्र खुशी हुने वर्गमा पर्दछन् ।
अरुलाई दुःखी बनाएर आफू खुशी हुने– भित्रबाट नकारात्मक सोच भएका, अरुलाई सताउने मनस्थिति तथा भावास्थिति भएका सन्की स्वभावका मानिसहरु अरुलाई दुःखी बनाएर आफू खुशी हुने प्रकृतिका हुन्छन् । यस्ता मानिसहरु आफ्नो जीवन निर्वाहकालागि आवश्यक प्रयत्न गर्दैनन्, अरुको धन, ओहोदा, व्यक्तित्वमाथि नजर लगाउछन् र कसरी अरुसंग भएको धन तथा ओहोदा आफूले हडप्न सकिन्छ भन्ने अन्यायपूर्ण तथा चोर मानसिकता राख्ने गर्दछन् । सामान्यतया चोर, फटाहा, ढोंगी; नक्कली काम गर्ने; मिसावट गर्ने; क्षणभरको फाइदा मात्र सोच्ने; कुकृत्यको नकारात्मक परिणाम अर्थात भविश्यमा यसले ल्याउन सक्ने दुरगामीे प्रभाव नहेर्ने; नसेडी, जुवाडे, अरुलाई मूल्य नदिने, वर्गभेदी, नास्तिक, अरुलाई निचा देखाउने, अरुमाथि थिचोमिचो तथा अन्याय गर्ने, असन्तुलित अंशबण्डा गर्ने, आफू तथा आफ्नो परिवार, समुदाय तथा सम्प्रदाय केन्द्रित अतिवादी मानिसहरु अरुलाई दुःखी बनाएर आफू खुशी हुने वर्गमा पर्दछन् ।
अरुलाई दुःखी बनाएर आफूपनि दुःखी हुने– अत्यन्तै नकारात्मक सोच, विचार, मनस्थिति तथा भावास्थिति भएका मानिसहरु नितान्त आफू केन्द्रित हुन्छन् र अधिकांशतः अपराधिक व्यवहार तथा आचरण भएका हुन्छन् । न उनीहरुले आफ्नो भविश्य हेर्छन, न आफ्नो परिवारको जिम्मेदारी उठाउछन्, न त आफ्नो तथा अरुकोलागि उपयोगी हुने कुनै प्रकारका सकारात्मक काम नै गर्छन् । यस्ता मानिसहरुको मानसिकता अत्यन्तै अपराधिक किसिमको हुने हुुनाले अरुलाई जस्तोसुकै प्रकारको हानि–नोक्सानी तथा दुःख–पिडा होस आफ्नो क्षणिक आनन्दकालागि निकृष्ट प्रकारका कामहरु गर्दछन् जसले अरुलाई मात्र नभएर उ स्वंमलाई समेत अत्यन्तै नकारात्मक र ठूलो हानि गर्दछ । प्राय असामान्य तथा विक्षिप्त मानसिक रोगीहरुले यस्ता निकृष्ट कामहरु गर्ने गर्दछन् । उनीहरु घोर तामसिक हुन्छन् र निरन्तर अनेक प्रकारको नशाहरुको बेहोसीमा ररिरहन्छन्, होसमै आउदैनन्, बेहोसीकै अवस्थामा सामान्य लाभ तथा बदलाको भावनाले अरुको नकारात्मक प्रभावमा तथा प्रलोभनमा आएर अपराधिक काम गर्दछन, सुपारी लिएर अरुको हत्यासम्म गर्दछन् र आफू स्वयंमको र अरुको भारी नोक्सान गर्दछन् । यस्ता मानिसहरुको जीवनको अमूल्य उर्जा तथा जीवनी शक्ति अर्को अपराधिक मानसिकता भएको मानिसले आफ्नो नकारात्मक अभिष्ट पूरा गर्नकालागि प्रयोग गर्छ र आफ्नो स्वार्थ पूरा भएपछि साथ छोडदिन्छ । दुर्भाग्यवस यिनीहरु जीवनको महत्वपूर्ण तथा उर्जाशील समय कि राज्यले दिने कठोर सजाय काट्छन् जेलमा बसेर कि अधिकांश समय पागल खानामा बिताउछन् काल पर्खेर । हिंसक प्रवृत्तिका चोर, डाका, डन, नसेडी, अपराधि, तस्कर, हत्यारा, सिरयल किलर, मास किलर, बलत्कारी, विक्षिप्त मानसिक रोगी, आत्महत्याको सोच तथा प्रयास गर्ने मानसिक रोगीहरु अरुलाई दुःखी बनाएर आफूपनि दुःखी हुने वर्गमा पर्दछन् ।
(४)प्रकृतिका आधारमा मानिसको प्रकार
सबै मानिसहरुमा ब्रम्हाण्डिय पर्यावरण तथा प्रकृतिको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव रहेको हुन्छ । परमात्मा प्रदत्त विराट प्रकृति त्रिगुणमयी छ र हरेक मानिस, जीव, वनस्पति तथा पदार्थहरुमा प्रकृतिका तीन गुण– सत्व, रजस, तमसका कारण आ–आफ्नै प्रकारका नैसर्गीक गुणहरु निर्माण हुन्छन् । प्रकृतिका यिनै त्रिगुणकै कारण मानिसका मानवीय विकार तथा क्लेशहरु– काम, क्रोध, लोभ, मोह, इष्र्या, घृणा, मद, माश्चर्य, डर, असुरक्षा, अहंकार उत्पन्न हुन्छन् । मानवीय विकार तथा क्लेशहरुको तह अनुसारनै मानिसको प्रकृति, स्वभाव, सोच, विचार तथा व्यवहार एकअर्कोबाट फरक प्रकारको हुने गर्दछ । कोही मानिस सकारात्मक प्रकृतिका हुन्छन्, कोही तटस्थ प्रकृतिका हुन्छन् भने कोही नकारात्मक प्रकृतिका हुन्छन् । ब्रम्हाण्डिय पर्यावरण तथा प्रकृति प्रदत्त त्रिगुणका आधारमा सनातन अध्यात्मका शास्त्रहरुमा मानिसहरुलाई तीन प्रकारमा विभाजन गरिएको छ– (१)सत्व तथा सात्विक गुण भएको मानिस, (२)रजो तथा राजसिक गुण भएको मानिस, र (३)तमो तथा तामसिक गुण भएको मानिस ।
सत्व तथा सात्विक गुण भएको मानिस
सत्व तथा सात्विक शव्दको संकेत र अर्थ सेतो तथा उज्यालो र सत्य हो । सात्विक गुण तथा प्रकृति भएका मानिसहरु प्राय ज्ञान प्रधान हुन्छन् र सत्यको मार्ग अनुशरण गरेर आफ्नो रुचिको विषयमा आफूलाई प्रकाशित(पूर्ण सक्षम बनेर) गरेर अरु समक्ष आफूले आर्जन गरेको उज्यालो तथा ज्ञान छर्न चाहान्छन् । यस्ता प्रकृतिका मानिसहरु हसमुख, शान्त, मुसुक्क हाँसेर मात्र बोल्ने, अरुका कुरा सुन्ने धैर्यशील, अरुलाई सकेसम्म मद्धत गर्न खोज्ने, अरुको मर्का बुझ्ने, अरुको प्रशंशा गर्ने, अरुलाई प्रेरणा प्रदान गर्ने, सकेसम्म अरुलाई र आफूलाई खुशी राख्न प्रयत्न गर्ने सकारात्मक गुण भएका हुन्छन् । सात्विक प्रकृतिका मानिसहरु शान्त, गम्भिर, धैर्यवान, चिन्तनशील, परमात्माप्रति आस्थावान, आशावादी तथा अत्यन्तै सकारात्मक भावले भरिएका हुने हुनाले उनीहरु आफ्नो हृदयमा सर्वकल्याणको भाव राखेर सबैको भलाई गर्ने सोच राख्दछन् र सर्वजन हिताय, सर्वजन सुखाय प्रकृतिका सकारात्मक कार्यहरुमा आफूलाई तन–मन–धनले समलग्न राख्दछन् । योगी, सन्त, साधु तथा वितरागी(सांसारीक भोगप्रतिको आशक्तता, लोभ, मोहबाट माथि उठेका), परोपकारी व्यक्तिहरु सात्विक प्रकृतिको वर्गमा पर्दछन् । सुक्ष्म रुपमा मानिसहरुको प्राकृतिक गुण विभाजन थाहा पाउन तथा सबै प्रकारका मानिसहरुको प्राकृतिक गुणको वास्तविक अवस्थालाई समेट्ने प्रयोजनले यस अगाडि पनि सात्विक गुणका तीनवटा तह तथा शाखाहरु निम्न प्रकारले विभाजन गरिएका छन्–
(१)न्यून सात्विक गुण– न्यून सात्विक गुण तथा प्रकृति भएका मानिसहरु आफू र आफ्नो परिवारको भलाई हुने; उन्नती, प्रगति तथा फाइदा हुने; उनीहरुको शरीर, मन, भावना, चेतना तथा समग्र जीवनको विकास हुने; घरपरिवारलाई सक्दो सुख, खुशी, समृद्धि, शान्ति, आनन्दले भर्ने प्रकारका गतिविधिहरुमा समलग्न हुन्छन् । आफ्नै कर्तव्य तथा जिम्मेदारीको सानो घेरामा व्यवहार तथा जीवनयापन गर्ने र रमाउने नैतिकवान तथा अनुशासित प्रकारका हुन्छन् । जागरुक अभिभावक; कर्तव्यनिष्ठ सन्तान; इमान्दार कर्मचारी तथा सेवकहरु न्यून सात्विक प्रकृतिमा पर्दछन् जो कसैप्रति उचनिच, वैरभाव, विभेदको भाव आदि नराखिकन इमान्दारीता पूर्वक आफ्नो सोझो लयमा रहेर जीवनयापन गर्ने गर्दछन् ।
(२)मध्यम सात्विक गुण– मध्यम सात्विक गुण तथा प्रकृति भएका मानिसहरु आफू र आफ्नो परिवारबाट अलिक माथि उठेर कुल, धर्म, संस्कृति, समुदाय, सम्प्रदाय, टोल, गाउँ, समाज तथा देशमा सकारात्मक योगदान पुग्ने प्रकारका सर्वकल्याणका गतिविधिहरुमा समलग्न हुन रुचाउने प्रकारका सेवा भावले ओतप्रोत भएका हुन्छन् । मानव भएर आफूलृ निर्वाह गर्नुपर्ने धर्म, कर्तव्य, उत्तरदायित्व तथा निम्ेदारीमा दत्तचित्त भएर लाग्दछन् । कर्तव्यनिष्ठ तथा जिम्मेदार शिक्षक तथा गुरु; जिम्मेदार कार्यालय प्रमुखहरु; सर्वाेच्च नेतृत्वमा रहेका राजनेताहरु आदि मध्यम सात्विक प्रकृतिमा पर्दछन् ।
(३)उच्च सात्विक गुण– उच्च सात्विक गुण तथा प्रकृति भएका मानिस आफू र आफ्नो परिवार, कुल, धर्म, संस्कृति, सम्प्रदाय, समुदाय, टोल, गाउँ, समाज, देश भन्दा पनि माथि उठेर मानवीयता, प्रकृति, जगत, ब्रम्हाण्डमा समेत सकारात्मक योगदान पुग्ने प्रकारका गतिविधिहरुमा समलग्न हुन रुचाउने प्रकारका निस्काम(दिने भाव मात्र भएको) सेवा भावले भरिएका हुन्छन् । ध्यानस्थ, योगस्थ तथा स्थितप्रज्ञ योगी, सन्त, साधु, सदगुरुहरु तथा उच्चतम सेवाका कामहरु गर्ने दार्शनिक, वैज्ञानिक, आविस्कारक, साहित्यकार, अभियन्ताहरु उच्च सात्विक प्रकृतिमा पर्दछन् जो म, मेरो, मलाई, मैले भन्ने अहंकार भावबाट मुक्त भैसकेका आत्मज्ञानी, तत्वज्ञानी, ब्रम्हज्ञानी हुन्छन् र उनीहरुमा अरुबाट केही लिने तथा प्राप्त गर्ने भाव विलकुल रहेको हुदैन जतिसक्दो अरुलाई दिन मात्र चाहान्छन् । सनातन अध्यात्म विज्ञानको प्रमुख अंग वेदान्त दर्शनका अनुसार ब्रम्हाण्डिय पर्यावरण तथा प्रकृतिको उर्जा निरन्तर संतुलनमा राखेर ब्रम्हाण्डको अवस्था सामान्य तथा सन्तुलित बनाइरहन ध्यानस्थ, योगस्थ तथा स्थितप्रज्ञ योगी, सन्त, साधु, सदगुरुहरुले आफ्नो योग तथा ध्यान साधनाबाट प्राप्त गरेको विराट ब्रमहाण्डिय उर्जाको अत्यन्तै महत्वपूर्ण तथा प्रभावकारी भूमिका रहेको हुन्छ ।
रजो तथा राजसिक गुण भएको मानिस
राजसिक शव्दको संकेत र अर्थ रातो तथा सक्रिय र कर्मठता(कर्मशील) हो । राजसिक गुण तथा प्रकृतिका मानिसहरु कर्मशील तथा कर्मठ र आफैंले मेहनत गरेर धन कमाउने, सम्पत्ति जोड्ने र धन–सम्पत्ति, सुख, सुविधाहरुलाई प्राथमिकता दिने स्वभावका हुन्छन् । यस्ता मानिसहरु सकेसम्म आफ्नै बलबुतामा आफ्नो र अरुको जीवनमा सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्द आर्जन गर्न चाहान्छन् । राजसिक गुण भएका व्यक्तिहरु सर्वप्रथम आफू र आफ्नो परिवारका हरप्रकारका सुख, सुविधाका आवश्यकताहरु पुरा गरेर परिवार तथा समाजमा आफ्नो आर्थिक, सामाजिक, शैक्षिक अवस्था तथा हैसियत सुदृढ गर्ने लक्ष्यमा प्रयत्नशील हुन्छन् । यो लक्ष्य हासिल भएपछि आफू र आफ्नो परिवारबाट माथि उठेर आफ्ना नाता–सम्बन्धिहरु, वरिपरीका छरछिमेक, साथीसंगीहरुसम्म आफूले सकेको केही मद्धत तथा योगदान पुर्याउने इच्छा राख्दछन् र जीवनमा मानसम्मान कमाउने तथा जस(क्रेडीट)को अपेक्षा(लिने भाव) पनि थोरबहुत राख्दछन् । सेवा तथा परोपकारको भाव भएका राजसिक प्रकृतिका मानिसहरु यसभन्दा पनि माथि उठेर आफ्नो कुल, धर्म, संस्कृति, समुदाय, सम्प्रदाय, टोल, गाउँ, समाजसम्म सानो दायरामै भएपनि केही सकारात्मक काम गरेर समाजमा योगदान पुर्याउने र बदलामा यश तथा मानसम्मान हासिल गर्ने प्रयत्न गर्दछन् । अझ बढि परोपकारी तथा निस्काम सेवा भाव भएका राजसिक स्वभाव भएका मानिसहरु यो सानो दायरा भन्दा पनि माथि उठेर ठूलो तथा फराकिलो दायरामा सर्वकल्याणका मानवीय काममा आफू र आफ्नो धन–सम्पत्ति सार्वजनिक रुपमा दान, पुण्यमा समर्पित गर्दछन र सात्विक प्रकृतिका गुणहरु आफूमा भरेर समाज, राज्य, विश्व, प्रकृतिको संरक्षण तथा प्रवद्र्धनका महान कार्यहरुमा समलग्न भएर महान अभियन्ता बन्दछन् । सुक्ष्म रुपमा मानिसहरुको प्राकृतिक गुण विभाजन थाहा पाउन तथा सबै प्रकारका मानिसहरुको प्राकृतिक गुणको वास्तविक अवस्थालाई समेट्ने प्रयोजनले यस अगाडि पनि राजसिक गुणका तीनवटा तह तथा शाखाहरु विभाजन गरिएका छन् जो निम्न प्रकारका रहेका छन्–
(१)न्यून राजसिक गुण– न्यून राजसिक गुण तथा प्रकृति भएका मानिसहरु नितान्त आफू र आफ्नो सानो परिवारको खुशी तथा प्रगति चाहान्छन्, यही कर्ममा तल्लीन रहन्छन् र अरुको उति चासो राख्दैनन् । साना तथा सीमित तहको आम्दानी भएका व्यवसायि तथा पेशाकर्मीहरु यस वर्गमा पर्दछन् ।
(२)मध्यम राजसिक गुण– मध्यम राजसिक गुण तथा प्रकृति भएका मानिसहरु आफू र आफ्नो परिवारबाट माथि उठेर आफ्ना नाता–सम्बन्धहरु, वरिपरीका छरछिमेक, साथीसंगीहरुप्रति सकारात्मक भाव राखेर उनीहरुसंग घुलमिल गर्ने, खुशी साटासाट गर्ने, आफूले सक्ने प्रकारले मद्धत गर्ने प्रयास गर्दछन् । मझौला तथा मध्यम आम्दानी भएका व्यवसायि तथा पेशाकर्मीहरु यस वर्गमा पर्दछन् ।
(३)उच्च राजसिक गुण– उच्च राजसिक गुण तथा प्रकृति भएका मानिसहरु सेवाभाव राखेर आफ्नो धन–सम्पत्ति, सामथ्र्य अरुमाझ सर्वकल्याणका लागि बाँड्न तथा समर्पण गर्न चाहान्छन् । सेवा तथा सहयोग प्रदान गर्ने क्रममा पहिला सानो स्तर समुदाय, सम्प्रदाय, टोल, गाउँ, समाज, हुदै राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरसम्म सर्वकल्याण हुने सकारात्मक काम गरेर अरुको भलाईकालागि विश्व समाजमा योगदान पुर्याउने काममा अग्रसर हुन्छन् । ठूला तथा उच्च आम्दानी भएका व्यवसायि तथा पेशाकर्मी, सेलिब्रेटी, कुलिन घरानियहरु यस वर्गमा पर्दछन् ।
तमो तथा तामसिक गुण भएको मानिस
तामसिक शव्दको संकेत र अर्थ कालो तथा अध्यारो र प्रमाद(आलस्य) हो । तामसिक प्रकृतिका मानिसहरु अत्यन्तै अल्छि; निराशावादी; हर परिस्थितिमा असन्तोष गर्ने; अस्वीकार भावले भरिएका; कृतज्ञता भावको कमी भएका; नकारात्मक सोच, विचार, मनस्थिति तथा भावास्थिति भएका; अरुप्रति गुनासोले भरिने प्रकारका हुन्छन् । यस्ता मानिसहरु आफ्नै बलबुतामा आफ्नो जीवनमा केही पनि गर्न इच्छा राख्दैनन् तथा सक्दैनन् र अरुको शोषण गर्ने प्रवृत्तिका हुन्छन् । आफुले आफैंप्रति र अरुप्रति गर्नुपर्ने आफ्नो कर्तव्य तथा जिम्मेदारी समेत अरुले गरिदिओस भन्ने अपेक्षा राख्दछन् तर आफूले नगरेको कामको जस लिन भने बडो आतुर हुन्छन् । उनीहरुमा अधिकांशतः तामसिक सोच, विचार, मानसिकता तथा भावहरु हावी हुने हुनाले उनीहरुको मनस्थिति तथा भावस्थिति नकारात्मकताले भरिएको हुन्छ, तसर्थ उनीहरु सितिमित आफू पनि सुखी, खुशी, शान्त, आनन्दित रहन सक्दैनन्, आफ्नो बलबुतामा जीवनमा समृद्धि हासिल गर्न सक्दैनन् र अरु सुखी भएको, अरुले जीवनमा प्रगति, समृद्धि, सफलता हासिल गरेको देख्न तथा सहन सक्दैनन् । तामसिक प्रकृतिका मानिसहरुमा मानवीय विकार तथा क्लेशहरु अत्यन्तै हावी हुनेहुनाले आफ्नो जीवन यापनकोलागि साहसकि काम गर्ने जमर्को तथा प्रयत्न गर्न सक्दैनन् तथा गर्दैनन् र धन, सुख, खुशी आर्जन गर्न छोटो तथा नकारात्मक बाटो अपनाउछन् र परिवार तथा समाजले स्वीकार नगर्ने असामाजिक कर्महरु गर्न अग्रसर हुन्छन् । नकारात्मक विकार, क्लेश र यसबाट उत्पन्न कर्मकाकारण कतिपय अवस्थामा उनीहरुले अरुको लगायत आफ्नै समेत हानि–नोक्सानी गर्दछन् । मन तथा भावनामा अतिनै नकारात्मकता भरिएको कारण उनीहरु अरुसंग सहज सम्वन्ध बनाउन, अरुको भरोसा जित्न, अरुलाई रिझाउन, कर्मठ भएर काम गर्न, आफ्नो कामको जिम्मेदारी लिन सक्दैनन्, सबैतिर टालटुले, अलछामे, लुटाहा तथा फटहा नियतले भरिएको व्यवहार देखाउछन् र आफूले काम गरेको देखाएर जस आफूले लिएर आफ्नो अभिष्ट तथा स्वार्थ पूरा गर्दछन् । आफ्नो जीवनका सबै असहजता तथा असफलताहरुको दोष परिवार, साथीसंगी, धर्म, संस्कृति, समाज, राजनीति, राज्यलाई लगाउछन् र आफूलाई चोखो, निर्दोष तथा विचरा सावित गर्न प्रयत्नशील हुन्छन् । सुक्ष्म रुपमा मानिसहरुको प्राकृतिक गुण विभाजन थाहा पाउन तथा सबै प्रकारका मानिसहरुको प्राकृतिक गुणको वास्तविक अवस्थालाई समेट्ने प्रयोजनले यस अगाडि पनि तामसिक गुणका तीनवटा तह तथा शाखाहरु विभाजन गरिएका छन् जो निम्न प्रकारका रहेका छन्–
(१)न्यून तामसिक गुण– न्यून तामसिक प्रकृति तथा गुण भएका मानिसहरु माथि उल्लेखित व्यवहारको आधारमा ‘अरुको के मतलव भन्ने भाव राखेर आफूमात्र खुशी हुने’ मनस्थिति तथा भावास्थिति भएका मानिसहरु र न्यून तामसिक प्रकृति तथा गुण भएका मानिस करिव–करिव एउटै वर्गमा पर्दछन् ।
(२)मध्यम तामसिक गुण– मध्यम तामसिक प्रकृति तथा गुण भएका मानिसहरु माथि उल्लेखित व्यवहारको आधारमा ‘अरुलाई दुःखी बनाएर आफू खुशी हुने’ मनस्थिति तथा भावास्थिति भएका मानिसहरु र मध्यम तामसिक गुण तथा प्रकृति भएका मानिसहरु करिव–करिव एउटै वर्गमा पर्दछन् ।
(३)उच्च तामसिक गुण– उच्च तामसिक गुण तथा प्रकृति भएका मानिसहरु अत्यन्तै नकारात्मक स्वभावका हुन्छन् । यस्ता मानिसहरुले आफू र अरुलाइ अत्यन्तै ठूलो हानि–नोक्सानी पुर्याउन सक्छन् । माथि उल्लेखित व्यवहारको आधारमा ‘अरुलाई दुःखी बनाएर आफूपनि दुःखी हुने’ मनस्थिति तथा भावास्थिति भएका मानिसहरु र उच्च तामसिक गुण तथा प्रकृति भएका मानिसहरु करिव–करिव एउटै वर्गमा पर्दछन् ।
उर्जा विज्ञानका वैज्ञानिकतामा आधारीत खोज, अध्ययन तथा अनुसन्धानबाट प्राप्त प्रामाणिक तथ्यांकहरुका अनुसार प्रकृतिका त्रिगुणहरुको प्रत्यक्ष प्रभावका कारण मानिसमा उत्पन्न हुने मानवीय विकार तथा क्लेशहरुको नकारात्मक प्रभावले मानिसको आभामण्डल(इलेक्ट्रो मेग्नेटीक फिल्ड) तथा उर्जाको स्तरमा कमी आउने गर्दछ र उसमा विस्तारै नकारात्मकताका प्रकृतिहरु बढ्दै तथा हावी हुदै जान्छन् । अध्यात्म विज्ञानको मूल विषय योग तथा ध्यान साधनाका पूर्णतः वैज्ञानिकतामा आधारीत विधि तथा पद्धतिहरुका सैद्धान्तिक र व्यवहारिक विषहरुलाई दैनिक जीवनमा निष्ठापूर्वक अनुशरण गरेर विस्तारै नकारात्मकता तथा तामसिक प्रकृतिबाट माथि उठेर क्रमशः राजसिक र सात्विक गुण तथा प्रकृतिमा पुग्न र आफ्नो आभामण्डल(इलेक्ट्रो मेग्नेटीक फिल्ड) तथा उर्जाको स्तर बढाउन सकिन्छ ।
(५)धन तथा सम्पन्नताका आधारमा मानिसको प्रकार
धन–सम्पत्तिको प्राप्ति र धन–सम्पत्तिको शक्तिबाट प्राप्त हुनसक्ने सबै प्रकारका खुशी तथा सुखभोगका वस्तु तथा विषयहरुका सेवा, सुविधाहरु प्राप्त गर्नेे चाहना सबै मानिसहरुमा रहेको हुन्छ । मनिसका आफूसंग भएका धन–सम्पत्ति तथा यसबाट प्राप्त हुनसक्ने सबै प्रकारका वस्तु तथा विषयहरुका सेवा, सुविधाहरुले उसको जीवनमा पारिवारीक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक अवस्थाहरु र केही हदसम्म उसको व्यक्तित्वको समेत निर्धारण गर्दछ । तसर्थ धन–सम्पत्ति तथा सम्पन्नताका आधारमा समाजमा तीन वर्ग तथा प्रकारका मानिसहरु निर्धारण गरिएका छन्– (१)न्यून वर्ग, (२)मध्यम वर्ग, र (३)उच्च वर्ग । अझ सुक्ष्म रुपमा मानिसहरुको वर्ग विभाजन थाहा पाउन तथा सबै वर्गका मानिसहरुको सम्पन्नताको स्तरलाई समेट्ने प्रयोजनले यस अगाडि पनि यी तीनवटै वर्गका अन्य तीन–तीनवटा तह तथा शाखाहरु तय गरिएका छन् ।
न्यून वर्ग
(१)न्यून न्यून वर्ग– यस वर्गमा आर्थिक रुपले अत्यन्तै बिपिन्न मानिसहरु– माग्ने, भिखारी तथा अति बिपन्न घरबारबाट बिस्थापित भएका मानिसहरु पर्दछन् । न्यून न्यून वर्गका मानिसलाई कसैले दया, करुणावस केही नगद तथा द्रव्य वस्तु दिए भने उनीहरुको गासको जोहो हुनसक्छ तर उनीहरुसंग न रात गुजार्ने उचित वास स्थान हुन्छ, न त शरीरमा तातो–चिसो प्रदान गर्ने न्यूनतम आवश्यकता अनुसारको कपाश(पहिरन) नै हुन्छ । यस वर्गका मानिसहरु अत्यन्तै बिपन्नताले युक्त कष्टकर जीवनयापन गर्दछन् ।
(२)मध्यम न्यून वर्ग– यस वर्गमा आफ्नै स्वतन्त्र आर्थिक आम्दनी भएका तर अत्यन्तै न्यून कमाइ हुने ज्याला, मजदुरीका काम गरेर जीवनयापन गर्ने मानिसहरु पर्दछन् । मध्यम न्यून वर्गका मानिसहरु सकिनसकी आफ्ना आधारभूत आवश्यकताहरु गास, वास, कपाशको जोहो गर्दछन् । यस वर्गका मानिसहरुको जीवनशैली अत्यन्तै बिपन्न तथा न्यूनस्तरको हुन्छ ।
(३)उच्च न्यून वर्ग– यस वर्गमा आफ्नै स्वतन्त्र आर्थिक आम्दनी भएका तर न्यून कमाइ हुने पेशा, व्यवसाय गरेर जीवनयापन गर्ने मानिसहरु पर्दछन् । उच्च न्यून वर्गका मानिसहरुको आधारभूत आवश्यकताहरु केही हदसम्म पूरा भएका हुन्छन् र केही आधारभूत आवश्यकताहरु पूरा गर्नकालागि उनीहरु संघर्षरत रहेका हुन्छन् । यिनीहरु सहज स्तरको गास, वास, कपाशको जोहो लगायत बालबालिकाहरुको पढाई, परिवारको स्वस्थ्य उपचार, परिवारीक तथा सामाजिक मुल्यमान्यताका आवश्यकता पूरा गर्न आफ्नो स्वामित्वमा रहेको सिमित धन–सम्पत्तिबाट जिनतिन गुजारा चलाउने प्रयास गर्दछन् ।
मध्यम वर्ग
(१)न्यून मध्यम वर्ग– यस वर्गमा आफ्ना आधारभूत आवश्यकताहरु पूरा भएका सामान्य तहका पेशा र कुटीर तथा साना लगानीका व्यवसाय गर्ने मानिसहरु पर्दछन् ।
(२)मध्यम मध्यम वर्ग– यस वर्गमा आफ्ना आधारभूत आवश्यकताहरु पूरा भएका तर इच्छा, आकांक्षाहरु पूरा नभएका मध्यम तहका पेशा तथा मझौला लगानीका व्यवसाय गर्ने मानिसहरु पर्दछन् ।
(३)उच्च मध्यम वर्ग– यस वर्गमा केही इच्छा, आकांक्षाहरु पूरा भएका तर धेरै इच्छा, आकांक्षाहरु पूरा हुन बाँकी रहेका उच्च तहका पेशा तथा ठूला लगानीका व्यवसाय गर्ने मानिसहरु पर्दछन् ।
उच्च वर्ग
(१)न्यून उच्च वर्ग– यस वर्गमा उच्च मध्यम वर्ग भन्दा अलिक सम्पन्न हैसियत भएका तथा लगभग सबै इच्छा, आकांक्षाहरु पूरा भैसकेका उच्च तहका सम्मानित पेशा तथा उच्च लगानीका व्यवसाय गर्ने मानिसहरु पर्दछन् ।
(२)मध्यम उच्च वर्ग– यस वर्गमा उच्चस्तरको(हाइफाइ) जीवनयापन भएका उच्च नेतृत्व तहका पेशा तथा उच्च बहुउद्देश्शीय र बहुदेशीय लगानीका व्यवसाय गर्ने मानिसहरु पर्दछन् ।
(३)उच्च उच्च वर्ग– यस वर्गमा अत्यन्तै उच्चस्तरको तथा बिलासी जीवन जीउने केही उच्चस्तरका पेशा तथा व्यवसाय पनि गर्ने र असिमित पुर्खौली(विरासत) धन–सम्पत्ति भोगचलन गरेर विलासी जीवनशैली भएका; केही कुलीन घरानाका जीवनको कर्मक्षेत्रमा निष्क्रिय रहेका; र केही जीवनमा अत्यन्तै सक्रिय तथा सफल रहेका ठूला–ठूला कारोबार गर्ने बहुराष्ट्रिय बिलेनियर, सेलिब्रेटीहरु आदि पर्दछन् ।
संसारका हेरक मानिसहरुको जीवनको एक मात्र लक्ष्य खुशीको प्राप्ति र दुःखको निवृत्ति हो । वर्तमान समयको वास्तविकतालाई हेर्दा धन तथा सम्पन्नताका आधारमा विभाजन गरिएका न्यून, मध्यम र उच्च यी तीन वर्गका नौ प्रकारका तहहरुमा पर्ने हरेक मानिसहरुको जीवनको परिभाषा तथा बुझाइ र जीवनमा आउने सुख, खुशी, समृद्धि, सफलता, शान्ति र आनन्दको परिभाषा तथा बुझाइ फरक–फरक रहेको पाइन्छ र सबैको जीवनमा आ–आफ्नै प्रकारका साना, ठूला तथा सजिला, अप्ठ्यारा संघर्षहरु रहेका छन् ।
न्यून वर्ग– न्यून वर्गका मानिसहरुलाई न्यूनतम आधारभूत आवश्यकता पूरा गरेर सहज, सरल, सफल जीवनयापन गर्न धौधौ भैरहेको हुन्छ । जीवनमा सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्दको सर्वस्वीकार्य आम परिभाषा अनुसार न्यून वर्गीय मानिस अलि दुःखी, बेखुश, अशान्त, असन्तोष, बेचैन देखिन्छन् वाहिरी तथा तुलनात्मक रुपमा तर यो जरुरी छैन आन्तरीक रुपमा उनीहरु सुखी, खुशी, समृद्ध, सफल, शान्त, आनन्दित हुन पनि सक्छन् किनकी जीवनमा सुख, खुशी, समृिद्ध, सफलता, शान्ति, आनन्द प्रत्यक्ष रुपमा हरेक मानिसको आ–आफनो मनस्थिति, भावास्थिति तथा मानसिकता(स्टेट अफ माइन्ड)मा निर्भर गर्दछ । तर उनीहरुको आफ्नै प्रकारको मनस्थिति, भावास्थिति तथा मानसिकताका वाबजुद सिमित धन तथा सम्पन्नताका कारण आफ्ना आधारभूत आवश्यकताहरु हासिल गर्नमै जीवनभर दौडधूप गरिरहन्छन् ।
मध्यम वर्ग– मध्यम वर्गका मानिसहरुका न्यूनतम आधारभूत आवश्यकताहरु त पूरा भएका हुन्छन् तर जीवनलाई अझ सहज बनाउन र आफूलाई इच्छा लागेका बस्तु तथा सेवाहरु प्राप्त गर्न जीवनभर दौडधूप गर्छ र उ जीवनमा सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्द आर्जन गर्नकालागि हरपल लालायित र निरन्तर क्रियाशील रहन्छ, उसका केही इच्छा, आकांक्षाहरु पूरा हुन्छन् केही अधूरै रहेका हुन्छन् ।
उच्च वर्ग– उच्च वर्गका मानिसहरुका प्राय सबै आवश्यकता, इच्छा, आकांक्षाहरु पूरा भइसकेका हुन्छन् र जीवन अझ सहज, सरल र सफल बनाउन उनीहरुका शरीरका चारवटै आयामहरु(शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक)लाई कसरी पूर्णरुपमा स्वस्थ राख्न र व्यवस्थित गर्न सकिन्छ र यही अवस्थालाई कसरी निरन्तर कायम राख्न सकिन्छ भन्नेतर्फ उनीहरुको ध्यान केन्द्रित भएको हुन्छ । bsirjana@gmail.cpm
No comments:
Post a Comment