डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन
आभामण्डल तथा उर्जा क्षेत्रको स्तर कसरी बढाउन सकिन्छ ?
खण्ड १ को निरन्तरता
अध्यात्म विज्ञानको दृष्टिकोणमा उर्जा क्षेत्र अर्थात आभामण्डलको सन्दर्भ
ज्ञान र विज्ञानको सारगर्भित प्रसंग
आज समयमा अत्यन्तै युग सान्दर्भिक सर्वाधिक लोकप्रिय एउटा भनाइ रहदै आएको छ, ‘जहाँ भौतिक विज्ञान सकिन्छ त्यहाँबाट अध्यात्म विज्ञान शुरु हुन्छ ।’ त्यस्तै नेपाली साहित्य आकासका नाटक विद्याका महान साहित्यकार श्रद्धेय श्री वालकृष्ण समले यसै सन्दर्भमा आफ्नो कृति नाटक ‘प्रल्हाद’मा भन्नुभएको छ, “ज्ञान मर्दछ हाँसेर विज्ञान मर्दछ रोई ।” यी दुई वाक्यमा पहिलो वाक्यको तात्पर्य हो भौतिक विज्ञानका निश्चित सीमाहरु हुन्छन् यसकारणले यसले सबै सवालहरुको जवाफ दिन सक्दैन र भौतिक विज्ञानको यहीँ अन्त्य हुन्छ तर अध्यात्म विज्ञान सबै सीमाहरुबाट पर सीमातीत हुन्छ र यसले प्रकृति, ब्रम्हाण्ड र ब्रम्हसंग सम्वन्धित व्यक्त–अव्यक्त, आकार–निराकार, गुण–निर्गुण आदि सबै विषयहरुमा उठाइएका सवालहरुको जवाफ दिनसक्छ यसकारण अध्यात्म विज्ञानको काम यहाँबाट प्रारम्भ हुन्छ । दोसो वाक्यको अर्थ ज्ञान अर्थात अध्यात्म विज्ञान संधै सर्वकल्याणका लागि उपयोग गरिन्छ तसर्थ अध्यात्म विज्ञानजनित कर्महरु सहज रुपमा, सबैको महारमा सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्द भरेर तथा हाँसीहाँसी सम्पन्न हुन्छन् तर भौतिक विज्ञान कहिलेकाहीं विनासकालागि उपयोग गरिन्छ तसर्थ भौतिक विज्ञानजनित कर्महरु पिडादाइ भएर आउछन् र बडो कष्टकासाथ आँशु तथा रोदनले भरिएर सम्पन्न हुन्छन् । यसकारण आ–आफ्ना प्रकृतिका कर्म अनुसार अध्यात्म विज्ञान हाँसेर मर्दछ तथा सम्पन्न हुन्छ र भौतिक विज्ञान रोएर मर्दछ तथा सम्पन्न हुन्छ भनिएको हो ।
सनातन अध्यात्म विज्ञानको विशिष्टता
आधूनिक भौतिक विज्ञान(फिजिकल साइन्स)का उपलव्धिहरु– विज्ञान प्रविधि तथा सूचना प्रविधि भन्दा अलग तथा यो भन्दा वाहिर एउटा अर्को अलग पराभौतिक(मेटाफिजिकल साइन्स) अलौकिक संसार छ र त्यस संसारका आफ्नै प्रकारका विद्या, ज्ञान, विज्ञान, महाज्ञान, नीति, नियम तथा कानूनहरु रहेकाछन् जसलाई हामीे अलौकिक दिव्य संसार तथा सनातन अध्यात्म विज्ञान(इनफाइनाइट स्प्रिचुअल साइन्स) रुपमा जान्दछौं । सनातन अध्यात्म विज्ञान जसले ब्रम्ह, ब्रम्हाण्ड र ब्रम्हाण्ड अर्थात प्रकृतिमा स्थित सबै जीव, वनस्पति तथा पदार्थहरुको सत्यता, वास्तविकता तथा अस्तित्वको सबैभन्दा गहिरो परतलाई छुन्छ र यस सन्दर्भका हरेक सवालहरुको उचित जवाफ दिने हैसियत राख्दछ । सनातन अध्यात्म विज्ञानले आज भन्दा हजारौंहजार वर्षअघिनै मनुष्य केवल स्थुल स्वरुप मात्र नभएर उसका शरीरका चार प्रकारका अयामहरु(शारीरिक शरीर, मानसिक शरीर, भावनात्मक शरीर र आत्मिक अर्थात चेतनात्मक शरीर) छन् भनेर खुलासा गरेको थियो र यी आयामहरुका हरप्रकारका गतिविधिहरुको आध्यात्मिक तवरले वैज्ञानिक खोज गरेर सबै तथ्यांकहरु सविस्तार व्याख्या समेत गरेर अनेक सनातन ग्रन्थहरुमा पूर्ण स्पष्टताकासाथ लिपिवद्ध गरिदिएर मानव समुदाय तथा मानवीयताकालागि अभूतपूर्ण योगदान प्रदान गरिसकेको छ । प्राचीनकालमा सनातन अध्यात्म विज्ञानले प्रस्तुत गरेको यस महाज्ञानलाई अध्यात्म विज्ञानकै नयाँ शाखा आजको नयाँ विद्या आधूनिक मनोविज्ञानले यसलाई युग सान्दर्भिक हुने किसिमले यसमाथि भौतिक रुपमा थप नयाँनयाँ वैज्ञानिक अध्ययन, अनुसन्धान तथा खोजहरु गरेर अगाडि बढाइरहेको छ ।
अध्यात्म विज्ञान, सात चक्रको विज्ञान र उर्जा विज्ञानविचको अन्तरसम्वन्ध
सतानन अध्यात्म दर्शनका दुई प्रमुख अंग सनातन हिन्दु दर्शन तथा सनातन बौद्ध दर्शनमा मनुष्यको प्राण शक्ति तथा उर्जा क्षेत्र(इलेक्ट्रो मेग्नेटी फिल्ड) अर्थात आभामण्डललाई मनुष्यको सुक्ष्म शरीरको मेरुदण्डमा रहेका ब्रम्हाण्डीय मूल उर्जाका शक्तिकेन्द्र प्रमुख सात चक्रहरुसंग जोडेर यस सन्दर्भमा विभिनन ग्रन्थहरुमा सविस्तार आध्यात्मिक व्याख्याहरु ग्रिएका छन् । अध्यात्म विज्ञानका अनुसार मनुष्यको सुक्ष्म शरीरको मेरुदण्डको पुच्छर(टेलबोन)देखि शिरको माथिल्लो भाग मस्तिष्कसम्म सातवटा चक्रहरु निराकार(इनभिजिवल) अवस्थामा रहेका हुन्छन् जसले मनुष्यको उर्जा क्षेत्र अर्थात आभामण्डललाई नियन्त्रित तथा व्यवस्थित गर्दछन् । मनुष्य शरीरका चारवटै आयामहरुमा चल्ने उर्जाका हरेक प्रकारका आरोह–अवारोह तथा गतिविधिहरु यिनै सात चक्रहरुको बाटो(च्यानल) हुदै पूरै शरीरमा विचरण तथा यात्रा गर्दै फैलिन्छन तथा संकुचन हुन्छन् आ–आफनो काम तथा उत्तरदायित्व अनुसार । शरीरका सबै आयामहरुमा उर्जा संचारित गर्ने यिनै बाटाहरुलाई सनातन अध्यात्म दर्शनको महत्वपूर्ण अंग योग विज्ञानले सनातन शास्त्रहरुमा ७२०००(भगवान शिवद्वारा प्रतिपादित विज्ञान भैरव तन्त्र ग्रन्थमा साँढे तीनलाख नाडी हुन्छन् भनिएको छ) नाडीहरुका रुपमा व्याख्या गरेको छ । यी सबै नाडीहरु एउटा निश्चित लयमा प्राय तलबाट माथितिर प्रवाहित हुदै अगाडि बढ्दछन् र ठाउँ–ठाउँमा एकआपसमा काटिन्छन््(क्रिसक्रस) तथा मिल्दछन् । मुख्य नाडीहरु तीनवटा छन्– देब्रेमा इडा(चन्द्र नाडी), दाहिनेमा पिंगला(सूर्य नाडी) र विचमा सुषुम्ना(मध्य नाडी) रहेका छन् । इडा र पिंगला नाडी जहाँजहाँ एकआपसमा काटिन्छन् तथा मिल्दछन् त्यहीत्यही स्थानमा शरीरमा उर्जा वितरण गर्ने श्रोतविन्दु स्थापित हुनछन् र यिनै उर्जा वितरण गर्ने विशेष श्रोतविन्दु तथा स्थानहरुलाई योग विज्ञानले चक्र भन्दछ । इडा र पिंगला नाडीहरु चार ठाउँमा एकआपसमा काटिन्छन् र दुई ठाउँमा मिल्दछन् । मेरुदण्डको पुच्छरमा इडा र पिंगला नाडी मिलेको स्थानमा मूलाधार चक्र स्थित छ; नाभि क्षेत्रभन्दा दुई इन्च तल इडा र पिंगला नाडी काटिएको स्थानमा स्वाधिष्ठान चक्र स्थित छ; नाभि क्षेत्रभन्दा दुई इन्च माथि इडा र पिंगला नाडी काटिएको स्थानमा मणिपूर चक्र स्थित छ; छाति क्षेत्रमा इडा र पिंगला नाडी काटिएको स्थानमा अनहद तथा हृदय चक्र स्थित छ; घाँटी तथा कण्ठ क्षेत्रमा इडा र पिंगला नाडी काटिएको स्थानमा विशुद्धि चक्र स्थित छ; आँखीभौंको विचको भ्रुमध्य क्षेत्रमा इडा र पिंगला नाडी मिलेको स्थानमा आज्ञा तथा तेस्रो चक्षु चक्र स्थित छ; र इडा र पिंगला नाडीको विचमा रहेको सुषुम्ना नाडी इडा र पिंगलामा चलेको उर्जालाई संचारीत गर्दै शिरको सबैभन्दा माथिल्लो भाग भ्रमरन्द्रसम्म पुग्दछ र यस स्थानमा सहश्रार चक्र स्थित छ ।
यी सातवटै चक्रहरु मनुष्यको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक हरेक प्रकारका गतितिविधिहरुसंग प्रत्यक्ष रुपमा सम्वन्धित रहेका हुन्छन् र यिनको सम्वन्ध पारस्परिक प्रकारको हुन्छ । हाम्रो शरीरका सबै आयामहरु सन्तुलित छन् भने सबै चक्रहरु सन्तुलित, सक्रिय तथा जागृत रहन्छन् र सबै चक्रहरु सन्तुलित, सक्रिय तथा जागृत छन् भने शरीरका सबै आयामहरु सन्तुलित, सक्रिय, शुद्ध, चुस्त तथा आरोग्य रहन्छन् । चक्रको अवस्थाको प्रत्यक्ष प्रभाव हाम्रो उर्जा क्षेत्र अर्थात आभामण्डलमा पर्दछ । यदि चक्रहरु सन्तुलित, सक्रिय तथा जागृत अवस्थामा छन् भने हाम्रो उर्जा क्षेत्र अर्थात आभामण्डल सन्तुलित, फराकिलो, सबै चक्रका रंगहरु स्पष्ट देखिने चम्किलो, शुद्ध तथा स्वस्थ हुन्छ । तर चक्रहरु सन्तुलित, सक्रिय तथा जागृत अवस्थामा छैनन् भने हाम्रो उर्जा क्षेत्र अर्थात आभामण्डल असन्तुलित, संकुचित, चक्रका रंगहरु स्पष्ट नदेखिने मैलो तथा कालो धूवाँ रंगको, खण्डित भएको तथा प्वाल परेको र अशुद्ध तथा अस्वस्थ हुन्छ ।
सात चक्रको अवस्था र उर्जा क्षेत्र अर्थात आभामण्डलको तह
पहिलो मूलाधार चक्रले हाम्रो सुरक्षा, स्थिरता र अस्तित्वको आधारशिला हो । मूलाधार चक्र सन्तुलित छ भने हामीलाई जमिन अर्थात पृथ्वीसंग जोडिएको अनुभूति हुन्छ । वृक्षका जराहरुले वृक्षलाई मजबुति प्रदान गरेजस्तै मूलाधार चक्रले हाम्रो जीवनमा मजबुति, स्थिरता, सन्तुलन प्रदान गर्दछ र जीवन सहज बनाउन मद्धत गर्दछ । दोस्रो स्वधिष्ठान चक्र हाम्रो मानसिक तथा भावनात्मक अवस्था र सिर्जनशीलताको केन्द्र हो । तेस्रो मणिपूर चक्र इच्छाशक्ति, आत्मशक्ति तथा आत्मविश्वासको केन्द्र हो । चौथो अनाहद चक्र प्रेम, दया, करुणाको केन्द्र हो । पाँचौं विशुद्धि चक्र आफूलाई अरु समक्ष व्यक्त गर्ने, संवाद गर्ने, अरुका कुरा ग्रहण गर्ने र अरुलाई आफना कुरा पस्कन मद्धत गर्ने अभिव्यक्तिको केन्द्र हो । छैठौं आज्ञा चक्र तथा तेस्रो दिव्य चक्षु हाम्रो अन्तरज्ञान(इन्ट्युसन), विवेक, प्रज्ञा तथा दृढताको केन्द्र हो । सातौं सहश्रार चक्र आध्यात्मिक ज्ञान, आस्था, विश्वास, परमात्मा अर्थात अस्तित्वसंगको जुडाउको केन्द्र हो ।
जव हाम्रो सुक्ष्म शरीरमा रहेका ब्रम्हाण्डिय उर्जा शक्तिका मूलकेन्द्र सातवटै चक्रहरु सन्तुलित र सक्रिय हुन्छन् तव हाम्रो उर्जा क्षेत्र अर्थात आभामण्डल पनि सन्तुलित स्वस्थ र चम्किलो रहन्छ । चक्रहरुको सन्तुलन विग्रीएको, निष्क्रिय भएको तथा जकडिएको(व्लकड) भएको अवस्थामा हाम्रो आभामण्डल अर्थात उर्जा क्षेत्र पातलो, कमजोर, दागधव्बा भएको, चक्रका रंगहरु स्पष्ट नदेखिने धमिलो हुन्छ र यसैकारण शरीर, मन, भावना, आत्मशक्ति तथा आत्मविश्वासमा कमी जस्ता शारीरिक, मानसिक तथा भावनात्मक समस्या तथा रोगहरु देखिन्छन् । यसको परिणाम स्वरुप मानिस स–साना कुराहरुमा रिसाउने; बिनाकारण डराउने, आत्तिने; असुरक्षित महसुस गर्ने; अरुप्रति घृणा तथा गुनासोले भरिने; आत्मविश्वास तथा आत्मशक्ति कम हुने; हिम्मत, उत्साह, आँट, जोस, जाँगर, उत्प्रेरणामा कमी आउने; तनाव, चिन्ता, विषाद, अवषाद, बिक्षिप्तता, हिंसा, हत्या, आत्महत्य जस्ता मानसिक समस्याहरुले ग्रसित हुदैजान्छ । हाम्रो जीवनका सबैप्रकारका रोग तथा समस्याअरुको जड नै चक्रहरु असन्तुलित, निष्किृय हुनु तथा जकडिनु हो । चक्रहरु असन्तुलित हुनुको कारण हाम्रो असन्तुलित जीवनशैली; नकारात्मक सोच, विचार, भाव, व्यवहार, आचरण; खराव सम्वन्ध तथा समाजबाट लुकाउनु पर्ने अनैतिक तथा असामाजिक कर्महरु हुन् । सामान्यतया चक्रहरु तीन प्रकारले असन्तुलित हुन्छन्– (१)निष्क्रिय अवस्था, (२)कम सक्रिय अवस्था, र (३)बढि सक्रिय अवस्था । चक्रहरुको उर्जा जति असन्तुलित हुन्छ उतिनै व्यक्तिको उर्जा क्षेत्र अर्थात आभामण्डलको तह तथा स्तर कम हुदैजान्छ(१०औं तह भन्दा तल) र त्यही अनुसारका नकारात्मक अवस्था तथा समस्याहरु जीवनमा तथा शरीरका आयामहरुमा देखा पर्न थाल्छन् र जति चक्रको उर्जा सन्तुलित हुन्छ उतिनै व्यक्तिको उर्जा क्षेत्र अर्थात आभामण्डलको तह तथा स्तर बढि हुन्छ(१०औं तह भन्दा माथि) र त्यही अनुसारका सकारात्मक अवस्थाहरु जीवनमा तथा शरीरका आयामहरुमा देखा पर्न थाल्छन् ।
उर्जाका मूलकेन्द्र प्रमुख सात चक्रहरुका आ–आफ्नै प्रकारका प्रकाशका रंगहरु हुन्छन् । मूलाधारदेखि सहश्रारसम्म क्रमशः रातो, सुन्तले, पहेंलो, हरियो, आकासे निलो, प्याजी र गुलावी रंगहरु चक्रका रंगहरु हुन् । यिनै सात चक्रहरुबाट प्रष्फुटित हुने रंगहरुका प्रज्वलित प्रकाशको पुञ्जनै हाम्रो उर्जा क्षेत्र अर्थात आभामण्डल भएकोले यसको तह पनि सातवटै हुन्छन् र सात चक्रकै इन्द्रेनी रंगहरुमा प्रकाशित तथा प्रज्वलित भएर देखिन्छन् । विशेष गरिकन चक्रको रंग र उर्जा क्षेत्र अर्थात आभामण्डलको रंगको सन्दर्भमा अलग–अलग चर्चा तथा विश्लेषणहरु गरिएका पाइएको भएपनि चक्र, चक्रहरुको रंग, उर्जा क्षेत्र अर्थात आभामण्डलको रंगकाविच प्रत्यक्ष र गहिरो अन्तरसम्वन्ध रहेको हुन्छ । हाम्रा चक्रहरु आन्तरिक अर्थात सुक्ष्म शरीरका केन्द्र हुन् र उर्जा क्षेत्र अर्थात आभामण्डल वाहिरी तथा भौतिक शरीरसंग एकआपसमा निकटस्थ भएर जोडिएका सप्तरंगीन अवस्थामा देखिन्छन् र प्रत्यक चक्र तथा उर्जा क्षेत्र अर्थात आभामण्डलका हरेक तहहरु एकआपसमा प्रत्यक्ष रुपमा अन्तरसम्वन्धित हुन्छन् ।
के उर्जा क्षेत्र अर्थात आभामण्डल र यसको रंग देख्न सकिन्छ ?
भौतिक रुपमा आममानिसहरुले आफ्नो तथा अरुको उर्जा क्षेत्र अर्थात आभामण्डलको नजानिदो तवरले अनुभव तथा अनुभूति गर्न मात्र सक्छन्, प्रष्ट रुपमा थाहा पाउनेगरि अनुभव तथा अनुभू ितगर्न र भौतिक आँखाले प्रत्यक्ष रुपमा देख्न सक्दैनन् । तर यदि कोही मानिस लामो समयदेखि योग तथा ध्यान साधनाका प्रयोगात्मक अभ्यासहरु निरन्तर गरिरहेको छ र त्राटक साधनाको अभ्यास निरन्तर गर्दै आइरहेको छ भने उसले अरुको उर्जा क्षेत्र अर्थात आभामण्डल र यसको रंग, फैलावट तथा संकुचन स्पष्ट रुपमा देख्न, अनुभव तथा अनुभूति गर्न र प्रत्यक्ष रुपमा भौतिक आँखाले देख्न पनि सक्छ । कुनै बस्तुको त्राटक निरन्तर गरिरहदा केही समयपछि उक्त वस्तुको वरीपरि एकप्रकारको चम्किलो प्रकाशपुञ्ज देखिन्छ, यही चम्किलो प्रकाशपुञ्जनै उक्त वस्तुको वास्तविक उर्जा क्षेत्र अर्थात आभामण्डल हो । दर्पण(ऐना) त्राटक गर्दा आफ्नै शरीरको उर्जा क्षेत्र अर्थात आभामण्डल पनि देख्न सकिन्छ तर पहिला वस्तु त्राटक क्रिया सहिसंग गरेर राम्ररी त्यसको अनुभव भएपछि मात्र दर्पण त्राटकमा आफ्नो शरीरको उर्जा क्षेत्र अर्थात आभामण्डल अर्थात प्रकाशपुञ्ज स्पष्ट देख्न सकिन्छ ।
उर्जा क्षेत्र अर्थात आभामण्डल मनुष्यको जीवनका हरप्रकारका सुख र दुःखका अवस्था तथा परिस्थितिहरुसंग प्रत्यक्ष रुपमा जोडिएको अत्यन्तै महत्वपूर्ण विषय हो जसले मनुष्यको जीवनयापनका स्वास्थ्य, सम्वन्ध, आध्यात्मिक विकास तथा सफलताका आयामहरुलाई प्रत्यक्ष रुपमा प्रभावित गर्दछ । हरेक मनुष्यको उर्जा क्षेत्र अर्थात आभामण्डल उसको आन्तरिक अवस्थाको प्रत्यक्ष प्रतिविम्व(रिफ्लेक्सन) मानिन्छ जसले उसको सोच, विचार, भावना, नियत, व्यवहार, स्वभाव आदिको अवस्थाबारे प्रकट गर्दछ । उर्जा क्षेत्र अर्थात आभामण्डल सफा, फराकिलो र चम्किलो छ भने मनुष्यका चक्रहरु सन्तुलित तथा सक्रिय हुनछन् र चक्रहरुको स्वस्थ अवस्थाको सकारात्मक प्रभाव मनुष्यको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक सबै आयामहरुमा आरोग्य, सुखी, खुशी, शान्त, आनन्दको महसुस हुन्छ र छैन भने सबै आयामहरुमा अस्वस्थता, दुःख, बेखुशी, अशान्ति, बेचैनी भएको महसुस हुन्छ । आफ्नो उर्जा क्षेत्र अर्थात आभामण्डलको वास्तविक अवस्थाले आफूलाई त प्रत्यक्ष रुपमा प्रभाव पार्छ नै अरु व्यक्तिहरुको उर्जा क्षेत्र अर्थात आभामण्डलको वास्तविक अवस्थाले पनि आफूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाव पार्दछ उर्जा क्षेत्र अर्थात आभामण्डलको सकारात्मक र नकारात्मक अवस्था अनुसार दुवै प्रकारले प्रभाव पर्दछ । जव हामी कसैसंग आमने–सामने भएर नजिकबाट वातचित गर्छौं तव एकआपसको उर्जा क्षेत्र अर्थात आभामण्डलका तरंगहरु अदृश्य रुपमा एकआपसमा आदान–प्रदान हुन्छन् । आफ्नो सामुन्ने तथा नजिकमा भएको व्यक्तिको उर्जा क्षेत्र अर्थात आभामण्डल स्वस्थ, सन्तुलित तथा चम्किलो छ भने उसको नजिक रहन, वातचित गर्न सहज र आनन्द लाग्छ र यो अवस्था आफ्नोलागि लाभदायक पनि हुन्छ किनकी मेरो उर्जा क्षेत्र अर्थात आभामण्डलमा भएका कमीकमजोरीहरु सामुन्ने भएको व्यक्तिको स्वस्थ उर्जा क्षेत्र अर्थात आभामण्डलका तरंगहरुले पूरा हुन मद्धत गर्दछन् । यसको विपरीत सामुन्नेमा भएको व्यक्तिको उर्जा क्षेत्र अर्थात आभामण्डल अस्वस्थ, असन्तुलित, खण्डित भएको तथा धमिलो छ भने उसको नजिक रहन, वातचित गर्न असहज, अशान्त तथा बेचैनीको अनुभव हुन्छ र यो अवस्था आफ्नोलागि हानिकारक पनि हुनसक्छ किनकी उसको उर्जा क्षेत्र अर्थात आभामण्डलमा भएका कमीकमजोरीहरु मेरो स्वस्थ उर्जा क्षेत्र अर्थात आभामण्डलका तरंगहरुले पूरा हुन मद्धत गर्दछन् र म खालि हुदै जान्छु । मलाई उसको समिप बसिरहन गाह्रो हुन्छ, अल्छि लाग्छ, थाकेको अनुभव हुन्छ, निद्रा लाग्छ, बेचैनी हुन्छ, कतिबेर त्यहाँबाट फुत्केर भागौं जस्तो हुन्छ । उर्जाको विज्ञानमा यो अवस्थालाई अनौपचारिक रुपमा उर्जा चोरी भएको अवस्था तथा औपचारिक रुपमा अर्कोमा संचार (ट्रान्सफर) भएको अवस्था भन्ने गरिन्छ ।
छिट्टै
मजबुत तथा कमजोर उर्जा क्षेत्र अर्थात आभामण्डलको प्रभाव
No comments:
Post a Comment