डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन
आभामण्डल तथा उर्जा क्षेत्रको स्तर कसरी बढाउन सकिन्छ ? खण्ड -१७ को निरन्तरता
जीवनमा पूर्णताकालागि अध्यात्म विज्ञानका त्रिरत्न- योगासन, प्राणायाम, धारणा
(क)योगीक आसनहरु
योगासनका लागि अत्यन्तै महत्वपूर्ण तथा सूचनामूलक र वर्तमान समयमा विश्वव्यापि रुपमा सर्वाधिक प्रयोगात्मक अभ्यासका रुपमा अनुशरण गरिदै आइएको हठ योगमा मोटामोटी रुपमा ८४ प्रकारका योगका आसनहरु उल्लेख रहेको पाइन्छ । यसकासाथै पछिल्लो समयमा खोजी प्रवृत्ति भएका केही सिर्जनशील नव योग गुरुहरुले वर्तमान समयमा मनुष्यको स्वास्थ्य अवस्थाको आवश्यकतालाई मध्यनजर गरेर योगका विभिन्न प्रकारहरुलाई एकआपसमा सम्योजन(फ्युजन) गराएर नयाँ प्रकारका योगका आसनहरु पनि प्रतिपादन गरेका छन् र नयाँ आसनहरु पनि अत्यन्तै प्रभावकारी रहेको तिनका अभ्यास र सकारात्मक प्रतिफलहरुले प्रमाणित गरिसकेका छन् । यी ८४ भन्दा बढि प्रकारका योगका आसनहरुका साधना गर्ने प्रक्रिया अलग–अलग प्रकारका रहेका छन् । सामान्यतया योगका आसनहरुको साधना चार प्रकारका अवस्था तथा प्रक्रिया अन्तर्गत रहेर गर्ने गरिन्छ– (१)उभिएर गरिने योगका आसनहरु, (२)बसेर गरिने योगका आसनहरु, (३)घोप्टो परेर गरिने योगका आसनहरु, र (४)उत्तानो पल्टेर गरिने योगका आसनहरु । यसका अतिरिक्त अभ्यास गर्ने प्रक्रियाको दृष्टिकोणबाट योगका आसनहरु फरक–फरक भएसंगै समयको दृष्टिकोणले– विहान, दिउसो, साँझ गर्ने आसनहरु; खालि पेट तथा खाना खाएको पेटमा गर्न मिल्ने आसनहरु; त्यस्तै हतार भएको समयमा; यात्रामा रहेको अवस्थामा; साघुरो ठाउँ तथा भिडभाडमा रहेको अवस्थामा; समय कम भएको तथा व्यस्त रहेको अवस्थामा; सामान्य प्रकारको अस्वस्थ रहेको अवस्थामा; विशेष प्रकारको अस्वस्थता भएको अवस्था आदिमा गर्न सकिने तथा गर्न मिल्ने फरक–फरक प्रकारका लामा तथा छोटा प्रक्रिया तथा विधिहरु भएका योगका आसनहरु विभिन्न प्रकारका रहेका छन् । यी मध्य विहान खालि पेटमा सबैभन्दा बढि अभ्यास गरिने चार अवस्थाहरु– उभिएर, बसेर, घोप्टेर र उत्तानो पल्टेर गरिने योगका आसनहरुबारे संक्षिप्त जानकारी यहाँ प्रस्तुत गरिएको छ ।
(IV)उत्तानो पल्टेर गरिने योगका आसनहरु
स्थुल शरीर तताउन शरीर चलायमान गराउने तथा हल्का उफ्रिने प्रकारका कदमचाल व्यायाम पाँच मिनेट र शरीर खुलाउन शरीरका हरेक अंग–अंगको सुक्ष्म व्यायाम पाँचदेखि दश मिनेट गरिसकेपछि मात्र उभिएर, बसेर, घोप्टेर तथा उत्तानो पल्टेर गर्ने योगका आासनहरु गर्न प्रारम्भ गर्नु पर्दछ ताकि योगासन गर्न शरीर र मन हरप्रकारले लचिलो, फुर्तिलो भएर तयार भएको होस् र आसनहरु लगाउदा सामान्य बाहेक जटिल प्रकारका असहजता, पिडा तथा अस्वस्थताहरु नआउन् । आमरुपमा प्रयोगमा ल्याउदै आइएका र सबै उमेर तथा लिंगका व्यक्तिहरुलाई उपयुक्त हुने प्रकारका र कुनै प्रकारका नकारात्मक प्रभाव नभएका उभिएर गरिने योगका केही आसनहरु र शरीर तताउन गरिने कदमचाल व्यायाम तथा शरीर खुलाउन गरिने सुक्ष्म व्यायाम निम्नप्रकारका रहेका छन्–
शरीर तताउन गरिने कदमचाल व्यायाम
सादा र खुकुलो पहिरनमा हावा दोहोरो आवत–जावत गर्ने ठाउँमा सिधा उभिएर छिटोछिटो श्वास वाहिर छोड्दै दाहिने–देब्रे गोडा र हात सुस्त, मध्यम तथा तिब्र गतिमा चलाऔं । यसो गर्दा स्थुल शरीर तात्छ; शरीरमा रक्तसंचार बढ्छ; श्वास–प्रश्वासको गति बढ्छ; शरीरभरि उर्जा संचारित हुन्छ र यस्तो अवस्थाले शरीर तथा मनमा ताजगी, शक्ति, स्फुर्ति, जोश बढाएर शरीरलाई सुक्ष्म व्यायामका लागि तयार गर्दछ । कदमचाल व्यायाम अन्तर्गत सौम्य तथा सभ्य संगीतमा नृत्य गर्ने, शरीरलाई तरंगीत गर्ने तथा मर्काउने, दौडिने, भर्यागं तल–माथि गर्ने, पि.टी. खेल्ने, जोडले हाँस्ने, डोरी खेल्ने, ब्याट र कर्कसंग खेल्ने, हल्का सामानहरु उठाउने–राख्ने, तान्ने–ठेल्ने तथा ओसार–पसार गर्ने आदि क्रियाकलापहरु पनि समावेस गर्न सकिन्छ ।
शरीर खुलाउन गरिने सुक्ष्म व्यायाम
कदमचाल व्यायाम गरेर शरीर तातेर ताजा र फुर्तिलो भएपछि सुक्ष्म व्यायाम गर्न प्रारम्भ गर्नु पर्दछ । सुक्ष्म व्यायामका क्रियाकलापहरुले शरीर र मनलाई योगका आसनहरु गर्नकालागि तयार गर्दछन् । सुक्ष्म व्यायाममा शरीरका पैतालादेखि तालुसम्मका सबै अंगहरुलाई एकएक गरि परिचालित गर्ने गरिन्छ । यसकालागि सर्वप्रथम कम्मरमा हात राखेर दुवै गोडालाई एकएक गर्दै जमिनबाट थोरै माथि उचालेर सुल्टो–उल्टो गोलाईमा घुमाऔं र यसैगरि कम्मरमुनिको पुरै भागलाई घुमाऔं; एकएक गर्दै घुँडालाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; कम्मरलाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; कुमलाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; पाखुरालाई तनक्क तन्काएर हातमा मुठ्ठी बनाएर नारीलाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; हात अगाडि पसारेर मुठ्डी बनाउदै खोल्दै गरौं; हात र हातका औंलालाई मालिस गरौं; हत्केलालाई बुढी औंलाले सबैतिर दबाऔं; हत्केलामा तरंग उत्पन्न हुनेगरि ताली बजाऔं; एक हातकाका औंलाले अर्को हातका औंलालाई अंकुुशे पारेर अड्काऔं र पूरा श्वास भित्र भरेर रोकेर सकुन्जेल तानौं; एक हात कम्मरबाट ढाडमा लैजाऔं, अर्को हात कुमबाट ढाडमा लैजाऔं अंकुुशे पारेर अड्काऔं र पूरा श्वास भित्र भरेर रोकेर सकुन्जेल तानौं; गर्धनलाई सुल्टो–उल्टो, दायाँ–बायाँ र गोलाईमा घुमाऔं र चारै दिशाबाट शिरलाई हातले र हातलाई शिरले ठेलौं; हातका पाँचै औंलाका टुप्पा एकसाथ जोडेर शिरमा ठुगं हानौं; आँखालाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; केहीबेर कानलाई मालिस गरौं, तानौं र बटारौं; नाकका नासिकाबाट केहीबेर जोडजोडले श्वास वाहिर फालौं र केहीबेर लामो गहिरो श्वास भित्र लिदै लामो श्वास वाहिर फालौं; केहीबेर चेहराभरि औंलाले दबाऔं, मालिस गरौं र चेहरा थपथपाउँ; केहीबेर सकेसम्म ठूलो पारेर मुख खोल्दै र बन्द गर्दै गरौं; केहीबेर सकेसम्म तन्काएर जोडले श्वास वाहिर छोड्दै जिब्रो वाहिर निकालौं; अवस्था सहज छ भने केहीबेर चिच्याऔं; केहीबेर आँखा बन्द गरेर, स्थिर भएर भमरा जस्तो मंमंमंमं गर्दै आफ्नो आवाज आफैंले सुनौं ।
सुक्ष्म व्यायामका यस्ता क्रियाकलापहरु गरिसकेपछि शरीर विस्तारै खुल्दै जान्छ, शरीरमा रक्तसंचार बढ्छ, मांसपेसी, हड्डिका जोर्नी, नशा तथा नाडीहरु खुल्छन्, लचिलो तथा सहज हुन्छन् र पूरै शरीर र मन पूर्णरुपमा योगका आसनहरु लगाउनकालागि तयार हुन्छन् । यसरी क्रमवद्ध रुपमा सर्वप्रथम शरीर तताएर र शरीर खुलाएर गरिएका योगका आसनहरुबाट सहजै अधिकतम लाभ तथा उपलव्धिहरु हासिल गर्न सकिन्छ । योगासनका सकारात्मक लाभ तथा उपलव्धिका कारण मनुष्यको शरीर, मन, भावना, आत्मा अर्थात चेतना हरप्रकारले स्वस्थ, शुद्ध, सन्तुलित तथा सक्रिय हुन्छन् जसले उसको सांसारिक जीवनमा मुक्ति ल्याउनुका साथै पारमार्थिक जीवनमा मोक्षमा उपलव्ध हुन उभित्र आध्यात्मिक विकासको मार्ग खुल्न थाल्छ र विस्तारै उसको जीवन पूर्णताले भरिन थाल्छ ।
शरीर तन्काउन उत्तानो पल्टेर गरिने योगका प्रमुख १० आसनहरु
(१)तान आसन
तान आसन उत्तानो पल्टेर गरिने योगका सबै प्रकारका आसनहरु सहज गर्नकालागि गरिने तयारी तथा प्रारम्भिक अवस्थाको आसन हो । तान आसन गर्नकालागि ढाडको बलमा उत्तानो पल्टेर दुवै हात र गोडा तनन्क तन्काएर लम्पसार परौं; पूरा श्वास भित्र भर्दै दुवै हातलाई तनक्क तन्काएर शिरमाथि तथा शिरपारि भुईंसम्म लैजाऔं र दुवै हातका औंलाहरु एकआपसमा फसाएर संयुक्त मुठ्ठि बनाऔं र मुठ्ठिको हत्केलालाई आकासतिर फर्काएर पूरा श्वास वाहिर छोड्दै दुवै हात र दुवै गोडालाई एकैसाथ तनक्क तन्काऔं; आफूलाई सहज हुन्जेल श्वास–प्रश्वासको गति रोकेर तथा सामान्य राखेर केहीबेर यही अवस्थामा अडिऔं; पूरा श्वास भित्र भर्दै हातलाई तल झार्दै पूर्ववत अवस्थामा आएर सामान्य बनौं । उच्चतम प्रभावकारिताका लागि यो क्रिया तीनपटक यही विधि अनुसार गरौं ।
तान आसनमा अर्को प्रकारको आसन थप्नकालागि ढाडको बलमा उत्तानो पल्टेर दुवै हात र गोडा तनन्क तन्काएर लम्पसार परौं; दुवै गोडा तनक्क तन्काएर एकआपसमा बटारौं तथा खप्टिऔं; पूरा श्वास भित्र भरेर पूरा श्वास वाहिर छोड्दै दुवै हातलाई तनक्क तन्काएर पहिला देब्रेतिर भुईंसम्म छुने प्रयास गरौं कम्मरसम्म बटारिने गरि; आफूलाई सहज हुन्जेल श्वास–प्रश्वासको गति रोकेर तथा सामान्य राखेर केहीबेर यही अवस्थामा अडिऔं; पूरा श्वास भित्र भर्दै दुवै हात र दुवै गोडालाई पूर्ववत अवस्थामा ल्याएर सामान्य बनौं । उच्चतम प्रभावकारिताका लागि यो क्रिया तीन–तीनपटक दायाँ–बायाँ दुवैतिर बटारिएर यही विधि अनुसार गरौं ।
(२)उत्तानो पल्टेर गरिने पादहस्त आसन
उत्तानो पल्टेर गरिने पादहस्त आसन धेरै प्रकारले गर्ने गरिन्छ र सबै प्रकारका आसनहरुमा हात र गोडाका क्रियाहरु विभिन्न प्रकारका गतिविधिहरु गरेर गर्ने गरिन्छ ।
उत्तान पादहस्त आसन गर्नकालागि ढाडको बलमा उत्तानो पल्टेर दुवै हात र गोडा तनन्क तन्काएर लम्पसार परौं; पूरा श्वास भित्र भरेर पूरा श्वास वाहिर छोड्दै दुवै हात र दुवै गोडालाई तनक्क तन्काएर आकाशतिर सिधा नब्बे डिग्रीमा उठाऔं; घुँडा र कुहिना नखुम्च्याइकन सकिन्छ भने हातले गोडाका बुढी औंला समातौं र दुवै गोडालाई एकसाथ बालकले हातले गोडा समातेर खेलेझैं गर्दै टाढा फट्याउने र नजिक ल्याउने क्रिया गर्ने प्रयास गरौं ८–१० पटकसम्म तर सकिदैन भने दुवै हात र दुवै गोडालाई आकाशतिर मात्र फर्काऔं; आफूलाई सहज हुन्जेल श्वास–प्रश्वासको गति रोकेर तथा सामान्य राखेर केहीबेर यही अवस्थामा अडिऔं; पूरा श्वास भित्र भर्दै हातलाई तल झार्दै पूर्ववत अवस्थामा आएर सामान्य बनौं । उच्चतम प्रभावकारिताका लागि यो क्रिया तीनपटक यही विधि अनुसार गरौं ।
उत्तानो पल्टेर गरिने पादहस्त आसनलाई अझ फरक–फरक प्रकारले गर्न पैतालिस डिग्री र नब्बे डिग्री आसन थप्न सकिन्छ । यी दुई आसन गर्न ढाडको बलमा उत्तानो पल्टेर दुवै हात र गोडा तनन्क तन्काएर लम्पसार परौं; हातलाई कम्मरको दायाँ–बायाँ आकाशतिर फर्काएर राखेर पूरा श्वास भित्र भरेर पूरा श्वास वाहिर छोड्दै विस्तारै दुवै गोडा एकसाथ जोडेर घुँडा नखुम्च्याइकन भुईंबाट दुईफिट तथा पैतालिस डिग्री मात्र माथि उठाऔं; आफूलाई सहज हुन्जेल श्वास–प्रश्वासको गति रोकेर तथा सामान्य राखेर केहीबेर यही अवस्थामा अडिऔं; पूरा श्वास भित्र भर्दै दुवै गोडालाई तल झार्दै पूर्ववत अवस्थामा आऔं । ठिक यही प्रक्रियामा नब्बे डिग्री आसन पनि गर्न सकिन्छ दुवै गोडालाई सिधा माथि उठाएर पैतालालाई आकाशतिर फर्काएर । उच्चतम प्रभावकारिताका लागि यी दुवै डिग्री बनाउने क्रिया तीन–तीनपटक यही विधि अनुसार गरौं ।
(३)सुप्त मत्स्येन्द्र आसन
सुप्त मत्स्येन्द्र आसन गर्नकालागि ढाडको बलमा उत्तानो पल्टेर दुवै हात र गोडा तनन्क तन्काएर लम्पसार परौं; पहिला देब्रे गोडोलाई घुँडो सिधा पारेर जमिनमा टाँसेर राखौं; पूरा श्वास भित्र भरेर पूरा श्वास वाहिर छोड्दै दाहिने गोडो उठाएर देब्रे गोडाको घुँडोपारी पैताला जमिनमा टेकौं; दुवै हातलाई तनक्क पारेर दुवैतिर तेर्सो फिजाएर घुँडोले भुईं छुने प्रयास गरौं र सकेसम्म तन्काएर शिर तथा गर्धन दाहिनेतिर तथा विपरित दिशातिर लैजाने प्रयास गरौं ढाड र कम्मरमा दवाव तथा खिचाव पर्नेगरि । आफूलाई सहज हुन्जेल श्वास–प्रश्वासको गति रोकेर तथा सामान्य राखेर केहीबेर यही अवस्थामा अडिऔं; पूरा श्वास भित्र भर्दै हात र गोडालाई पूर्ववत अवस्थामा ल्याएर सामान्य बनौं । उच्चतम प्रभावकारिताका लागि यो क्रिया तीन–तीनपटक यही विधि अनुसार दुवै घुँडा उठाएर र दुवैतिर शिर तथा गर्धन बटारेर गरौं ।
(४)पादचल आसन
पादचल आसन विभिन्न प्रकारले गर्ने गरिन्छ । पादचल आसन गर्नकालागि ढाडको बलमा उत्तानो पल्टेर दुवै हात र गोडा तनन्क तन्काएर लम्पसार परौं; दुवै हातलाई तनक्क तन्काएर जमिनमाथि राखौं हत्केलालाई आकाशतिर फर्काएर; पहिला दाहिने गोडोलाई घुँडो सिधा पारेर जमिनमा टाँसेर राखौं; पूरा श्वास भित्र भरेर पूरा श्वास वाहिर छोड्दै देब्रे गोडोको घुँडो, गोडो, पंजा र औंला तनक्क तन्काएर जमिनबाट एक तथा दुईफिट माथि उठाऔं; घडिको दिशामा कम्तिमा ६ पटक र बिपरीत दिशामा कम्तिमा ६ पटक घुमाऔं श्वास–प्रश्वासको गतिलाई रोकेर तथा सामान्य अवस्थामा राखेर; पूरा श्वास भित्र भर्दै गोडालाई पूर्ववत अवस्थामा ल्याएर सामान्य बनौं । उच्चतम प्रभावकारिताका लागि यो क्रिया तीन–तीनपटक यही विधि अनुसार दुवै गोडा उठाएर र उल्टो–सुल्टो दुवैतिर घुमाएर गरौं । यही अवस्थामा गोडाका अन्य प्रकारका गतिविधिहरु थप्न दुवै गोडाले केहीबेर उल्टो–सुल्टो दुवैतिर साइकल चलाऔं श्वास–प्रश्वासको गतिलाई समान्य राखेर । दुवै गोडाका पैतालालाई हिप नजिक ल्याएर टेकौं; श्वास–प्रश्वासको गति सामान्य राखेर दुवै घुँडाले आला–पालो गर्दै भुईं छुने प्रयास गरौं र केहीबेर बज्र आसनमा जसरी दुवै घुँडा मारेर दुवै गोडा हिपको दायाँ–बायाँ हुने गरेर घुँडा मारेर श्वास–प्रश्वसको गतिलाई समान्य राखेर केहीबेर यही अवस्थामा बसौं; पूरा श्वास भित्र भर्दै सामान्य अवस्थामा आऔं र केहीबेर बिश्राम गरौं ।
(५)सेतुबन्द आसन
सेतुबन्द आसन गर्नकालागि ढाडको बलमा उत्तानो पल्टेर दुवै हात र गोडा तनन्क तन्काएर लम्पसार परौं; दुवै गोडालाई हिपको नजिकै ल्याऔं; पूरा श्वास भित्र भरेर पूरा श्वास वाहिर छोड्दै विस्तारै कुम र पैतालाको बलले हिप र पेटको भागलाई माथि उठाऔं र दुवै हातले दुवै कुर्कुच्चा छुने प्रयास गरौं; आफूलाई सहज हुन्जेल श्वास–प्रश्वासको गति रोकेर तथा सामान्य राखेर केहीबेर यही अवस्थामा अडिऔं; पूरा श्वास भित्र भर्दै दुवै गोडालाई तल झार्दै र दुवै हातलाई पूर्ववत अवस्थामा ल्याएर सामान्य बनौं । उच्चतम प्रभावकारिताका लागि यो क्रिया तीनपटक यही विधि अनुसार गरौं ।
(६)नौका आसन
नौका आसन गर्नकालागि ढाडको बलमा उत्तानो पल्टेर दुवै हात र गोडा तनन्क तन्काएर लम्पसार परौं; पुरा श्वास भित्र भरेर पूरा श्वास वाहिर छोड्दै शिर तथा गर्धन, दुवै हात र दुवै गोडालाई एकआपसमा नजिकै राखेर सकेसम्म माथि तथा अकाशतिर उठाऔं; आफूलाई सहज हुन्जेल श्वास–प्रश्वासको गति रोकेर तथा सामान्य राखेर केहीबेर यही अवस्थामा अडिऔं; पूरा श्वास भित्र भर्दै शिर तथा गर्धन, दुवै हात र दुवै गोडालाई तल झार्दै पूर्ववत अवस्थामा ल्याएर सामान्य बनौं । उच्चतम प्रभावकारिताका लागि यो क्रिया तीनपटक यही विधि अनुसार गरौं ।
(७)सर्वांग आसन
सर्वांग आसन गर्नकालागि ढाडको बलमा उत्तानो पल्टेर दुवै हात र गोडा तनन्क तन्काएर लम्पसार परौं; पुरा श्वास भित्र भरेर पूरा श्वास वाहिर छोड्दै दुवै हातले दुवैतिरबाट हिप तथा कम्मरलाई आड दिदै विस्तारै दुवै घुँडा र दुवै गोडा एकआपसमा जोडेर घुँडा खुन्च्याएर सिधा आकाशतिर उठाऔं र पछि विस्तारै तनक्क तन्काएर नब्बे डिग्री बनाऔं कुमको बलमा तथा कुम टेकेर; यो अवस्थामा दुवै घुँडा तथा गोडालाई पलेटी मारेर यसैलाई पद्यम सर्वांग आसन पनि बनाउन सकिन्छ; आफूलाई सहज हुन्जेल श्वास–प्रश्वासको गति रोकेर तथा सामान्य राखेर केहीबेर यही अवस्थामा अडिऔं; पूरा श्वास भित्र भर्दै पहिला घुँडा खुम्च्याएर हातले कम्मर तथा हिपलाई आड दिदै दुवै गोडा तल झार्दै पूर्ववत अवस्थामा ल्याएर सामान्य बनौं । उच्चतम प्रभावकारिताका लागि यो क्रिया कम्तिमा तीनपटक यही विधि अनुसार गरौं ।
(८)हल आसन
हल तथा हलो आसन गर्नकालागि ढाडको बलमा उत्तानो पल्टेर दुवै हात र गोडा तनन्क तन्काएर लम्पसार परौं; पुरा श्वास भित्र भरेर पूरा श्वास वाहिर छोड्दै दुई हातले दुवैतिरबाट हिप तथा कम्मरलाई आड दिदै विस्तारै दुवै घुँडा र दुवै गोडा एकआपसमा जोडेर शुरुमा घुँडा खुम्च्याएर सिधा आकाशतिर उठाऔं र पछि विस्तारै तनक्क तन्काएर नब्बे डिग्री बनाऔं; दुवै गोडाले विस्तारै शिरलाई नाघेर दुवै गोडाका पंजाले भुईंलाई छुने प्रयास गरौं र दुवै हातलाई भुईंमा हत्केला घोप्टो पारेर तनक्क तन्काएर राखौं; आफूलाई सहज हुन्जेल श्वास–प्रश्वासको गति रोकेर तथा सामान्य राखेर केहीबेर यही अवस्थामा अडिऔं; पूरा श्वास भित्र भर्दै पहिला घुँडा खुम्च्याएर हातले कम्मर तथा हिपलाई आड दिदै दुवै गोडा तल झार्दै पूर्ववत अवस्थामा ल्याएर सामान्य बनौं । उच्चतम प्रभावकारिताका लागि यो क्रिया कम्तिमा तीनपटक यही विधि अनुसार गरौं ।
(९)पवनमुक्त आसन
अर्ध र पूर्ण दुई प्रकारले पवनमुक्त आसन गर्ने गरिन्छ । अर्ध पवनमुक्त आसन गर्नकालागि ढाडको बलमा उत्तानो पल्टेर दुवै हात र गोडा तनन्क तन्काएर लम्पसार परौं; शुरुमा दाहिने घुँडो तथा गोडो तनक्क तन्काएर भुईंमै राखेर देब्रे घुँडो खुम्च्याएर विस्तारै छातितिर ल्याऔं; दुवै हातका औंला एकआपसमा फसाएर पूरा श्वास भित्र भर्दै दुई हातको संयुक्त मुठ्ठि बनाऔं र पूरा श्वास वाहिर छोड्दै घुम्च्याएर छाति नजिक ल्याएको घुँडालाई हातको संयुक्त मुठ्ठिको बलले आफूतिर तान्दै विस्तारै शिर तथा गर्धन उठाएर नाक र घुँडो जोड्ने प्रयास गरौं; आफूलाई सहज हुन्जेल श्वास–प्रश्वासको गति रोकेर तथा सामान्य राखेर केहीबेर यही अवस्थामा अडिऔं; पूरा श्वास भित्र भर्दै विस्तारै घुँडो तल झारौं र दुवै हातलाई पनि तल झारेर कम्मरको दायाँ–बायाँ आकाशतिर फर्काएर राखेर सामान्य बनौं । उच्चतम प्रभावकारिताका लागि यो क्रिया तीन–तीनपटक यही विधि अनुसार दुवै घुँडा उठाएर गरौं ।
पूर्ण पवनमुक्त आसन गर्नकालागि ढाडको बलमा उत्तानो पल्टेर दुवै हात र गोडा तनन्क तन्काएर लम्पसार परौं; दुवै घुँडा खुम्च्याउदै विस्तारै छातितिर ल्याऔं; दुवै हातका औंला एकआपसमा फसाएर पूरा श्वास भित्र भर्दै दुई हातको संयुक्त मुठ्ठि बनाऔं र पूरा श्वास वाहिर छोड्दै घुम्च्याएर छाति नजिक ल्याएका दुवै घुँडालाई आपसमा जोडेर हातको संयुक्त मुठ्ठिको बलले आफूतिर तान्दै शिर तथा गर्धन उठाएर नाक र घुँडो जोड्ने प्रयास गरौं; आफूलाई सहज हुन्जेल श्वास–प्रश्वासको गति रोकेर तथा सामान्य राखेर केहीबेर यही अवस्थामा अडिऔं; पूरा श्वास भित्र भर्दै विस्तारै दुवै घुँडा तल झारौं र दुवै हातलाई पनि तल झारेर कम्मरको दायाँ–बायाँ आकाशतिर फर्काएर राखेर सामान्य बनौं । उच्चतम प्रभावकारिताका लागि यो क्रिया तीनपटक यही विधि अनुसार गरौं ।
१०.सव आसन
माथि उल्लेखित उत्तानो पल्टिएर गरिने योगका सबै आसनहरु गरिसकेपछि शरीरमा जागेको उर्जालाई धारणा र ध्यानको दिशामा लगाउन र आसनअरु लगाउदा थाकेको शरीरलाई आराम दिन सव आसन गर्ने गरिन्छ । ढाडको बलमा उत्तानो परेर दुई गोडा एकफिट फारेर घुँडा नखुम्च्याइकन पूरै शरीर तनक्क पारेर उत्तानो पल्टेर लम्पसार परौं; देब्रे हातलाई तनक्क तन्काएर कम्मरको नजिकै हत्केला आकाशतिर फर्काएर राखौं; दाहिने हातको हत्केलाको केन्द्रमा नाभि पर्ने गरि हातलाई हलुकासंग पेटमाथि राखौं; आँखा बन्द गरेर लामो–गहिरो श्वास–प्रश्वास लिदै–छोड्दै गरौं र श्वास–प्रश्वास आएको गएको हेरिराखौं; श्वास आएको गएको अवस्थामा श्वास भित्र जाँदा नाभि क्षेत्र माथि उठेको र श्वास वाहिर जाँदा नाभि क्षेत्र भित्र पसेको क्रियालाई याद गरिराखौं । आफूलाई सहज हुन्जेल र समय हुन्जेल सव आसनमा रहन सकिन्छ ।
माथि उल्लेखित उत्तानो पल्टेर गरिने योगका आसनहरुले शिर, मेरुदण्ड, गर्धन, कुम, ढाड, कम्मर, छाति, माथ्लो पेट, तल्लो पेट, प्रजनन् अंग, पाखुरा, हात, जांग, पिडौला, गोडा आन्तरिक तथा बाहिरी सबै अंगहरुमा प्रत्यक्ष रुपमा पर्याप्त खिचाव तथा दवाव पर्ने हुनाले यी आसनहरुले शरीरका सबै आन्तरिक तथा वाहिय अंगहरुका सबैप्रकारका अस्वस्थता तथा समस्याहरुको उचित किसिमले उपचार तथा समाधान गर्न प्रत्यक्ष मद्धत गर्दछन् र अन्य धेरै प्रकारका थाहा पाउन सकिने तथा थाहा पाउन नसकिने सकारात्मक लाभहरु प्रदान गर्दछन् । खासगरि शिर, गर्धन, मेरुदण्ड, छाति, ढाड, कम्मर र पेटमा आइपर्ने सबैप्रकारका अस्वस्थता तथा समस्याहरुको उपचारमा रामबाण इलाज मान्ने गरिन्छ उत्तानो पल्टेर गरिने योगका सबैप्रकारका आसनहरुलाई ।
उत्तानो पल्टेर गरिने योगका आसनहरुको लाभ
माथि उल्लेखित उत्तानो पल्टेर गरिने सबै प्रकारका योग आसनहरुले गोडा, पिडौला र जांगको मांसपेशी, नशा–नाडी, हड्डि, जोर्नीकासाथै कम्मर, ढाड, कुम, छाति, माथ्लो पेट, तल्लो पेटको क्षेत्रमा, यी क्षेत्रसंग सम्वन्धित वाहिरी तथा आन्तरिक अंगहरुमा र पूरै शरीरमा रक्तसंचार सन्तुलित गर्छ र यी क्षेत्रहरुका मांसपेशी, नशा–नाडी, हड्डि, जोर्नी, मेरुदण्डका रोग, अस्वस्थता तथा समस्याहरु समाधान गर्न मद्धत गर्दछ । प्राचीन तथा आधूनिक दुवै चिकित्सा विज्ञानका अनुसार मनुष्य शरीरमा मुटुपछि रगतको अधिकतम संचार र सफाइ पिडौलाले गर्दछ त्यसैले पिडौलालाई दोस्रो मुटु पनि भन्ने गरिन्छ किनकी रगतको मात्रा सबैभन्दा बढि पिडौलामा हुन्छ दुवैमा गरि करिव ३०० एम.एल.। तसर्थ पिडौलामा जोड पर्ने सबैप्रकारका आसनहरुले रक्तसंचार, उच्च तथा न्यून रक्तचापमा सन्तुलन; रगतको सफाई; मधुमेह, मुटुका रोग लगायत अन्य धेरै प्रकारका रोग, अस्वस्थता तथा समस्यहरुको समाधान गर्न र शरीरलाई हरप्रकारले शुद्ध, सन्तुलित तथा सक्रिय बनाउन मद्धत गर्दछ । योग आसनहरुका प्रक्रिया र विधि पुर्याएर र तोकिएका अनुसासनभित्र रहेर निष्ठापूर्वक तिनको अनुशरण गरेर गरिने सबैप्रकारका योगका आसनहरुले सकारात्मक लाभ मात्र प्रदान गर्दछन् तर प्रक्रिया र विधि नपुर्याइकन र तोकिएका अनुसासनहरुको अनुशरण नगरिकन योगका आसनहरु गर्दा यसले नकारात्मक हानि पुर्याउन सक्छ ।
उत्तानो पल्टेर गरिने योगका आसनहरु गर्दाका सावधानीहरु
योग आसनहरुका प्रक्रिया र विधि पुर्याएर र तोकिएका अनुसानभित्र रहेर निष्ठापूर्वक तिनको अनुशरण गरेर सबैप्रकारका योगका आसनहरु सबैले गर्न सकिन्छ तर स्वास्थ्य अवस्था तथा शरीरको विशेष अवस्थामा अवस्था र आवश्यकता हेरेर सिद्ध योग गुरु तथा अनुभवी योग प्रशिक्षक र शरीरको रोग, अस्वस्थता तथा शरीरको विशेष अवस्थासंग सम्वन्धित चिकित्सकहरुको सल्लाह अनुसार गर्नु तथा गराउनु अनिवार्य हुन्छ । रक्तचाप उच्च तथा न्यून भएका; रगत सम्वन्धि अरु प्रकारका रोग तथा अस्वस्थता भएका व्यक्तिहरु; मुटुका रोगीहरु; गर्ववती स्त्री आदिले झुकेर गर्ने योगका आसनहरु गर्नु हुदैन । शल्यक्रिया गरेका, त्यस्तै हड्डि सम्वन्धि विभिन्न प्रकारका समस्या भएका; जोर्नी खिइएका तथा सरेका(स्लिप डिस्क); मेरुदण्ड खिइएका तथा सरेका व्यक्तिहरुले पनि शरीर धेरै झुकाउने, शरीर मर्काउने तथा तन्काउने प्रकारका योगका आसनहरु गर्नु हुदैन । यस्ता प्रकारका व्यक्तिहरुका लागि रोग तथा बिरामीको अवस्था र आवश्यकता हेरेर सिद्ध योग गुरु तथा अनुभवी योग प्रशिक्षक र रोग तथा अस्वस्थतासंग सम्वन्धित चिकित्सकहरुको सल्लाह अनुसार योगका आसनहरु गर्नु तथा गराउनु पर्दछ । रजश्वला भएका स्त्रीहरुले कम्तिमा पाँच दिनसम्म यस्ताप्रकारका योगासनहरु गर्नु हुदैन र पाँचदिनपछि पनि रक्तश्राव निरन्तर भैरहेको छ भने अवस्था र आवश्यकता हेरेर सिद्ध योग गुरु तथा अनुभवी योग प्रशिक्षक र रोग तथा अस्वस्थतासंग सम्वन्धित चिकित्सकहरुको सल्लाह अनुसार गर्नु तथा गराउनु पर्दछ । त्यस्तै गर्ववती स्त्रीले पनि सिद्ध योग गुरु तथा अनुभवी योग प्रशिक्षक र स्त्री रोगसंग सम्वन्धित चिकित्सकहरुको सल्लाह अनुसार योगका आसनहरु गर्नु तथा गराउनु पर्दछ । गर्भवती स्त्रीकालागि छुट्टै प्रकारका योगका आसनहरु रहेका छन् ।
छिट्टै,
(ख)योगीक षटक्रियाहरु