'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Saturday, 2 August 2025

आध्यात्मिक साहित्य: योगीको प्रेम कथा

लालीगुरांश (डासिर्जना भण्डारी)

#आध्यात्मिक_साहित्य #जीवन_दर्शन



‘सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन,

जस्तो भोग्यो उस्तै हुन्छ, रोजे जस्तो हुन्न जीवन...!’


अलि टाढा कसैको मोवाइलमा बजिरहेको नेपाली संगीत आकाशमा अत्यन्तै लोकप्रियता हासिल गरेको यो कालजयी गीतको सुमधूर आवाजको अद्भूत तरंग मेरा कामा बारबार ठोक्किरहेको थियो । कान थापेर सुनें र एकछिन सुमधूर शव्द र संगीतको आनन्द लिने प्रयास गरें तर गीतको आवाज विस्तारै मधूरो सुनिदै गयो, सायद मोबाइल धनी उक्त स्थानबाट टाढा कतै गए होलान् भन्ठानें । संगीतको प्रत्यक्ष आवाज टाढा हुदै गएको भएपनि बजिसकेको आवाजको सुमधूर तरंग मेरो कानमा निरन्तर गुञ्जिरहेको थियो र यो तरंगले थाहै नपाइकन मेरो हृदयको स्मरणबाट मधुरो हुदै गएका विगतका सुमधूर स्मृतिहरुलाई खोतल्दै स्पष्ट पार्दै हृदयको सतहसम्म ल्याइरहेको थियो । हृदयको सतहमा स्पष्ट हुदै आइरहेका अलौकिक प्रेम प्रसंगका पूराना सुमधूर स्मृतिहरु कत्तिपनि ढिलो नगरीकन हृदयबाट तिब्रगतिमा मस्तिष्कसम्म पुगे र तिनै शव्द र संगीतको तरंगसंगै विचारहरुमा तरंगीत हुनथाले र मलाई पुनः विगतको रोदनवाला प्रेमानन्दमा पुर्याउन थाले । रोदन प्रेमानन्द यसअर्थमा कि दिव्य प्रेममा आँशु र हाँसो दुवैको मूल्य र आनन्द बराबर हुन्छ । मेरो अनुभवमा, दिव्य प्रेममा हाँसो भन्दा आँशुको मूल्य र आनन्द अझ बढि हुनेरहेछ किनकी आफ्नो प्रेमपात्रप्रतिको गहन प्रेममा बहने आँशु उनीप्रतिको गहिरो लगाव मात्र नभएर असीम श्रद्धा र भक्तिको अभिव्यक्ति पनि हो । मेरो आँशु, श्रद्धा र भक्तिमा रुपान्तरण हुनुको कारण थियो हामीविच गहिरो प्रेम रहेको भएपनि विविध कारणले हामीले कहिल्यै पनि औपचारिक तथा अनौपचारिक रुपमा एकआपसमा चिनजान तथा भेटघाट गर्ने र आफू र आफ्ना भावहरुलाई एकअर्कोसंग अभिव्यक्त गर्ने अवसर पाएनौं । 


यो कालजयी संगीतले मलाई यही आश्रममा घटित भएको उही पूरानो अवस्थामा पुनः पुर्याइदिएको थियो । म संगीतको रागमा तरंगीत भएका आफ्ना मनका विचार र अन्तरहृदयका भावहरुसंगै विगतका प्रेमानन्दका सुमधूर स्मृतिहरुमा डुबुल्कि मार्दै आनन्द आश्रमको प्रांगणमा रहेको सुन्दर बगैंचामा यताउति डुल्दै आनन्दमा रम्न थालें जहाँ मेरो प्रेमपात्रका विविध गतिविधिहरुका स्मृतिहरु झन–झन ताजा भएर आउन थाले किनकी हामी यही आनन्द आश्रममै पहिलोपटक एकै छानामूनि धेरैजनाको माझमा आमने–सामने भएका थियौं र आ–आफ्नो आत्मिक अर्थात चेतनात्मक उर्जाको दिव्य शक्तिले अवचेतन तथा अचेतन मनको तलबाटै अचेत अवस्थामा एकअर्कोलाई तरंगीत गरेका थियौं । मलाई फूलविरुवा र फूलविरुवासंग लुकामारी खेल्ने भमरा, मौरी पुतलीहरुका प्राकृतिक क्रिडाहरु अत्यन्तै मनपर्ने भएकोले फूलबगैंचाका सुन्दर दृश्यहरुमा मुग्ध हुदै मनमनै विगतका दिव्य प्रेम प्रसंगका मिठा स्मृतिहरुबाट स्फुरण भएका भावहरुलाई अझ गहिरोसंग समेट्ने अभिप्रायले कविता तथा सेर, सायरी पढ्न र लेख्न अत्यन्तै शोखिन म आफ्नो अन्तरहृदयको पानामा मेरो प्रेमपात्रको प्रेमको गहिराइलाई सलाम पस्कदै उर्दु भाषामा कविता कोर्न थालें किनकी उनको नजरको अत्यन्तै गहिरो अद्भूत अलौकिक प्रेम पस्काइलाई केवल यस्तै प्रकारको भावात्मक प्रेम रसयुक्त कविताले मात्र पूर्णरुपमा सम्वोधन र न्याय गर्न सक्थ्यो– 

 

तुझे सलाम…!


पहली मुलाकातमें पहचानेवाले

उस नजरको सलाम !

दिलसे दिलतक पहुचनेवाले

हर सन्देशको सलाम !!

मैं प्यार तेरा 

तेरे हरचाहतको सलाम !!!

 

हम दोनोंको मिलानेवाले 

उस खुदाको सलाम !

हृदयमें प्रेम जगानेवाले

तेरे हरकोशिशको सलाम !!

मैं प्यार तेरा 

तेरे मरमिट्नेको सलाम !!!

 

सबसे पहले दिल देनेवाले

उस दिलवरको सलाम !

दिलसे दिलतक जानेवाले

उस गलीको सलाम !!

मैं प्यार तेरा 

तेरे हरतड्पनको सलाम !!!

 

हृदयके रागसे निकलनेवाले

उस हररागिनीको सलाम !

प्रेमकी चाहतपर लिखेगए

उस हरगजलको सलाम !!

मैं प्यार तेरा 

तेरे दिवानगीको सलाम !!!

 

यिन मस्त गहरीगहरी

आँखोके झिलको सलाम !

जिसने हमें डुबोया

उस भवरको सलाम !!

मैं प्यार तेरा 

तेरे गहराइको सलाम !!!

 

लज्जाको जितकर सरकनेवाले

उस घुंघटको सलाम !

दुस्मनोंका हरवार चिरकर

नझुक्नेवाले हिम्मतोंको सलाम !!

मैं प्यार तेरा 

तेरे साहसको सलाम !!!

 

मिल्तेरहे हम हृदयमें

यिन हृदयोंको सलाम !

अव कभिभी नछुट्नेवाले

यिन डोरको सलाम !!

मैं प्यार तेरा 

तेरे प्यारको सलाम !!!


मैं प्यार तेरा 

तेरे प्यारको सलाम !!!


यो गहिरो प्रेम, श्रद्धा र भक्ति प्रकट गर्ने कवितासंगै म विगतको स्मृतिमा चुर्लुम्म डुबें र तत्कालको लागि विगत नै वर्तमान भएर उत्रियो मेरोसमक्ष परमआनन्द स्वरुप भएर र कुनै प्रकारको विरोधावास जनाउने प्रतिक्रिया नराखिकन म फेरी त्यही स्मृतिसंगै बहन थालें र स्मृतिहरुले पनि ओरालो भेटेको खहरेको पानीलेझैं तिब्रता लिदै गए 


शहरको विचमा फराकिलो जमिन भाडामा लिएर झण्डै डेढ दशकदेखि योग तथा ध्यान साधनाका नवीनतम पाठ्यक्रमहरुको माध्यमबाट आनन्द आश्रमले निरन्तर अध्यात्म साधनाका सेवाहरु प्रदान गर्दै आइरहेको थियो । आश्रमको प्रांगणमा आफैंले निर्माण गरेका अस्थाइ घरहरु, पहिलानै बनाइएका स्थाइ घरहरु र अनुभवी मालीहरुको सहयोगमा पानीको फोहरा समेत राखेर तयार गरिएको फूल फुल्ने, फूल नफुल्ने, रंगीचंगी पात भएका सुन्दर फूलविरुवाको आकर्षक बगैंचा निर्माण गरिएको थियो जसले आश्रममा योग तथा ध्यान साधना गर्न आउने सहभागिहरुलाई सानो आकारमा भएपनि विविधताले भरिपूर्ण प्राकृतिक छटाको झल्कोको आनन्द प्रदान गर्दै आइरहेको थियो । हिउँदको मौसम भएको कारणले केही महिना साधना गर्न आउनेहरुको आवत–जावत अलि पातलो भएको थियो तर अव फागुन महिना लागिसकेको र दिन अलि ताता र लामा हुदै गएकोले विस्तारै साधना गर्न आउनेहरुको संख्या बढ्दै गैरहेको थियो । कोही एक हप्ताको, कोही दुई हप्ताको, कोही निरन्तर तीन हप्तासम्मको साधना गर्न पनि आश्रम आउने गर्थे । म आनन्द आश्रममा एक हप्ताको मौन ध्यान साधनाको कार्यक्रममा सहभागि हुनकालागि गएको थिएं । योग तथा ध्यान साधनाका कक्षाहरु अनुभवी तथा सिद्ध सदगुरुहरुबाट गराइन्थ्यो ।


मेरो घरपरिवारको पुष्ठभूमि धार्मिक तथा आध्यात्मिक प्रकृतिको भएकोले मलाई सानैदेखि अध्यात्म दर्शनमा अत्यन्तै रुचि थियो र अहिले त अझ बढेको छ । अध्यात्म दर्शनमा अत्यन्तै रुचि भएको कारण मलाई आफ्नो फुर्सदको समय सकेसम्म योग तथा ध्यान साधनामा बिताउन औधि मनपर्छ । यसकासाथै मलाई चित्रकारीता र साहित्य सिर्जना तथा लेखनमा पनि अत्यन्तै रुचि लाग्छ । कहिलेकाहीं व्यस्त जीवनशैलीबाट केही दिन तथा हप्ता निकालेर आफ्नो मनले खाएका सनातन अध्यात्म दर्शनका सैद्धान्तिक तथा व्यवहारिक विषयहरु पस्कने र योग तथा ध्यान साधना सिकाउने गुरुकुल तथा आश्रमहरुमा कहिले ध्यान साधना र कहिले मौन साधनाका कार्यक्रमहरुमा सहभागि हुने गर्छु । योग तथा ध्यान साधना र मौन साधनाको गहिराइमा मलाई निकै अघिदेखिनै विभिन्न प्रकारका अलौकिक दृश्य, केही इन्द्रियजनित अनुभव तथा केही इन्द्रियातीत दिव्य अनुभूतिहरुको झल्को आइरहेको हुनाले संधैनै आनन्द आउने गर्दथ्यो । तर यस पटकको साधनामा आएका दृश्य, अनुभव तथा अनुभूतिका विषयहरु अलि चाखलाग्दा र अत्यन्तै गहन रहे मेरोलागि । 



सनातन अध्यात्म दर्शनका मूल शास्त्रहरुमा मनुष्यको पूर्वजन्म, पूनरजन्म, कर्म आदि विषयहरुका बारेमा धेरै ठाउँमा धेरै कुराहरु अत्यन्तै गहन भावमा उल्लेख गरिएको पाइन्छ । यसअघि मैले मनुष्यको पूर्वजन्म, पूनरजन्म र कर्मको सिद्धान्तको बारेमा सुनेको र पढेको मात्र थिएं तर यो पटकको अध्यात्म साधनाका क्रममा मौन ध्यान साधनाको गहिराईमा आफू स्वयंको दृश्यमा आफ्ना थुप्रै पूर्वजन्मका दृश्य, अनुभव तथा अनुभूतिहरु सिनेमाको पर्दामा पूर्व निर्धारित दृश्यहरु एकपछि अर्को, अर्कोपछि अर्को गर्दै आएजस्तै गरेर साधनाको समयावधि पुरै एक हप्ताभरि नै दृश्यमा आइरहे । यसरी प्रत्यक्ष दृश्य, अनुभव तथा अनुभूतिमा आएका पूर्वजन्मका स्मृतिहरुका दुःखका दृश्य, अनुभव तथा अनुभूतिहरुले पिडा महसुस गराउदै तातो आँशु बहाए भने सुखका दृश्य, अनुभव तथा अनुभूतिहरुले मुस्कान, हाँसो, सुख, खुशी, शान्ति र आनन्दको महसुस् गराउदै शिलत आँशु बहाए ।

मौन ध्यान साधनाको अवधि पूरा गरेर आनन्द आश्रमबाट बिदा भएर घर आइसकेपछि पनि घरमा ध्यान साधनामा बसेको समयमा मेरो स्मृतिमा पूर्वजन्मका दृश्य, अनुभव तथा अनुभूतिहरु झन बढि र अझ स्पष्ट भएर आउन थाले । पूर्वजन्मका बारेमा केही विषयहरु सनातन शास्त्रमा अध्ययन गरेको, अरुका पूर्वजन्मका किस्साहरु पनि पढेको तथा सुनेको र घरमै धार्मिक तथा आध्यात्मिक माहोल भएकोले मलाई यी पूर्वजन्मका स्मृति तथा गतिविधिहरु अनौठो लागेपनि अस्वाभाविक भने लागेका थिएनन् किनकी गहन ध्यानको अवस्थामा साधकको स्मृतिमा उसका पूर्वजन्मका दृश्य, अनुभव तथा अनुभूतिहरु आउछन् भन्ने सुन्दै आइरहेको थिएं मैले । आफ्नै पूर्वजन्महरुमा आफूलाई विभिन्न भूमिका तथा अभिनयहरुमा देखेर म आश्चर्य मान्दै र रमाउदै गएं । धेरैवटा पूर्वजन्मका दृश्य, अनुभव र अनुभूतिहरु आइसकेपछि आफ्नै मन, मस्तिष्क, हृदय, मुटुले ती दृश्य, अनुभव र अनुभूतिहरु माथि गहन चिन्तन्, मनन् गर्नथाल्यो । गहन चिन्तन्, मननमा  केही दृश्य, अनुभव र अनुभूतिहरुमा एउटा पात्र बारबार दोहोरीएकी थिइन र उक्त पात्रसंगका दृश्य, अनुभव र अनुभूतिहरु आउदा आनन्द आश्रममै मलाई मेरो शरीर, मन भाव, आत्मा अर्थात चेतनामा उर्जाको तरंग बढेको अनुभव तथा अनुभूति स्पष्ट रुपमा हुन थालेको थियो । केही दृश्य र इन्द्रियजनित अनुभवहरु शव्द तथा हाउभाउमा व्यक्त गर्न सकिने प्रकारका थिए भने केही भावातीत अनुभूतिहरु शव्द तथा हाउभाउमा व्यक्त गर्न नसकिने प्रकारका थिए । 


मेरो व्यक्तिगत जीवनको सन्दर्भमा भन्नुपर्दा, वर्तमान जन्ममा म विवाहित, सुखपूर्वक आफ्नो गृहस्थ आश्रममा रहदै आएको, आफ्नो रुचिको पेशा गर्दै आएको र हुर्केका सन्तानहरुको सन्तुष्ट प्रौढ अभिभावक हुँ । यसकासाथै विगत लामो समयदेखि निरन्तर सनातन अध्यात्म दर्शनको मूल विद्या योग तथा ध्यान साधना गर्दै आइरहेको योगी तथा सन्त प्रकृतिको साधक पनि हुँ । म मेरो वर्तमान जन्मको जीवनमा सुखी, खुशी, समृद्ध, सफल, शान्त र आनन्दित छु । हरेक मनुष्यले आफ्नो जीवनकालमा अपेक्षा गर्ने सरल, सहज र सफल अवस्था मेरो जीवनमा पनि रहेको छ र म सामान्य जीवन व्यतित गर्दै आइरहेको अत्यन्तै सामान्य व्यक्ति हुँ ।   

मलाई ध्यान साधनाको गहिराइको अवस्थामा पूर्वजन्मका दृष्य, अनुभव तथा अनुभूकिा स्मृतिहरुमा बारबार दोहोरिएको एउटा पात्रको उपस्थितिले जे भैरहेको थियो त्यसबारे चेतन तथा जाग्रीत अवस्थामा म त्यति जानकार थिइन किनकी यो अत्यन्तै दुर्लव विषय रहेछ, ध्यान साधना गर्ने साधकहरु मध्य अत्यन्तै कम साधकहरुलाई मात्र घटित हुने । पूर्वजन्मका दृष्य, अनुभव तथा अनुभूतिहरुमा आफूले पटक–पटक धेरैवटा जन्ममा लामो समय एकसाथ बिताएको अत्यन्तै मिल्ने सहआत्मि अर्थात सोलमेटको स्मृति आउदा पूर्वजन्म देख्ने साधकको शरीर, मन, भाव, आत्मा अर्थात चेतनामा उर्जाको तरंग बढेको र त्यसले आन्तरिक हलचल ल्याएको अनुभूति स्पष्ट रुपमा हुने रहेछ । यसरी अनुभूतिमा आएको बढेको उर्जाको तरंगको तोरा तथा प्रवाह सहआत्मि आफ्नो वरीपरी तथा नजिकै भएको अवस्थामा अझ बढि हुने रहेछ दुवै जनामा । मलाई र मेरो सहआत्मि दुवैजनालाई हामी एकै स्थानमा आनन्द आश्रमको एकै छानामूनि तथा आमने–सामने भएको अवस्थामा आ–आफ्नो शरीर, मन, भाव, आत्मा अर्थात चेतनामा उर्जाको तरंग बढेको अनुभूति स्पष्ट रुपमा हुनथाल्यो । अन्जानमै एकआपसमा नजिक हुदा बढेको उर्जा तरंगको प्रभावका कारण हामी दुवैलाई आफू एकअर्काको सहआत्मि रहेको रहस्य स्पष्ट रुपमा थाहा हुदै गयो आत्मा अर्थात चेतनाको स्तरमा र विस्तारै चेतन तथा जाग्रीत अवस्थामा पनि । अव लगातार सहआत्मिको पूर्वजन्मको स्मृतिमा म आउन थालें र मेरो पूर्वजन्मको स्मृतिमा मेरो सहआत्मि आउन थालिन् । हामीले एकसाथ विभिन्न भूमिकामा धेरै जन्महरु एकसाथ बिताएका रहेछौं । हाम्रा जन्म–जन्मका स्मृतिहरु सिनेमाको पर्दामाझैं लगातार दृश्य, अनुभव र अनुभूतिमा आउन थाले । पूर्वजन्महरुमा हामीले धेरै जन्म एकसाथ बिताएका हुनाले हाम्रो आत्मा अर्थात चेतनाको उर्जा एकआपसमा एकाकार भैसकेको कारणले हामी दुवैजनाको आत्मा अर्थात चेतनाको उर्जा तरंगको स्पष्ट अनुभव तथा अनुभूतिहरु दुवैजनाको शरीर, मन, भाव, आत्मा अर्थात चेतनामा आएको रहेछ यो जन्ममा हामी साधना गर्ने क्रममा एकै सभागृहभित्र तथा एकै छानामूनि एकसाथ भएकोले । हामी एकअर्काका सहआत्मि रहेछौं भन्ने शाश्वत विषय हामी दुवै जनालाई स्पष्ट रुपमा थाहा हुदै गयो गएपनि हाम्रो सामु मुस्किल थियो हामीले वर्तमान जन्ममा जीवनयापन गरिरहेको भौतिक संसार र भौतिक संसारका पारिवारीक, सामाजिक, सांस्कृतिक, मूल्य-मान्यता, नीति–नियम, कानूनहरु जसले पराभौतिक जगत तथा आध्यात्मिक पाटोलाई केवल कल्पना र मिथ्या मान्दछ तर हाम्रोलागि भने यो भौतिक जगत तथा सांसारिक पाटो पूर्णरुपमा मिथ्या र अनित्य भैसकेको थियो चमत्कारिक किसिमले । 


भौतिक संसारका छुट्टै प्रकारका मूल्य-मान्यताहरु भएका कारण हामीले आत्मा अर्थात चेतनाको स्तरमा र चेतन तथा जाग्रीत अवस्थामै दुवैजनाले आफू–आफू एकअर्काको सहआत्मि हौं भनेर स्पष्ट रुपमा थाहा पाइसकेको भएपनि भौतिक संसारमा एकआपसमा प्रत्यक्ष साक्षातकार गर्ने, चिनजान तथा भेटघाट गर्ने र आफ्ना अन्तरहृदयका भावहरु साटासाट गर्ने उत्कट प्रयास गरेनौं किनकी सांसारिक जीवनको सामाजिक तथा सांस्कृतिक तौरतरिका अनुसार हाम्रो यो अवस्था स्वीकार्य तथा मान्यता प्राप्त विषय थिएन र होइन । त्यसैले यसो गर्नुपर्ने आवश्यकताको महसुस पनि त्यति प्रवल भएन किनकी हामी दुवैजना योगी तथा सन्त प्रकृतिका अध्यात्म साधक थियौं र हाम्रोलागि भौतिक संसार तथा भोग जगतको उति महत्व थिएन जति हाम्रो आत्मा अर्थात चेतनाको विकास प्रक्रियाको थियो । आफूले अहिलेसम्म आर्जन गरेको  अध्यात्म साधनाको योग तथा ध्यानको बल  दिव्यतालाई आत्मसाथ गर्दै हामीले आत्मा अर्थात चेतनाकै स्तरमा वर्तमानको जन्मलाई पनि उही जन्म–जन्मको पूरानै श्रृंखलामा जोड्ने निर्णय र प्रयास गर्यौं  एकअर्काको सहआत्मिका रुपमा पृथ्वीलोक तथा भौतिक संसार भन्दा अलग्ग ब्रम्हाण्डको अर्को पाटो आत्मालोक तथा सुक्ष्मलोकमा आफ्नो नयाँ जीवनको शुरुआत गर्यौं किनकी योगी तथा सन्त चेतनाहरु स्थुल शरीरमा मात्र जीवन जीउदैनन् । उनीहरु स्थुल शरीरमा भन्दा धेरै बढि मनस शरीर, भाव शरीर, आत्मिक अर्थात चेतनात्मक शरीरमा जीउछन् । यस सन्दर्भमा सनातन अध्यात्म दर्शनका मूल शास्त्रहरुमा स्पष्ट उल्लेख गरिएको पाइन्छ कि हरेक मनुष्यमा उसको स्थुल शरीरको उर्जा भन्दा धेरै गुणा बढि, शक्तिशाली र प्रभावकारी मनस शरीरको उर्जा रहेको हुन्छ; उसको मनस शरीरको उर्जा भन्दा धेरै गुणा बढि, शक्तिशाली र प्रभावकारी भाव शरीरको उर्जा रहेको हुन्छ; र उसको भाव शरीरको उर्जा भन्दा धेरै गुणा बढि, शक्तिशाली र प्रभावकारी आत्मिक अर्थात चेतनात्मक शरीरको उर्जा रहेको हुन्छ । सनातन अध्यात्म दर्शनमै उल्लेख भए अनुसार प्राय योगी तथा सन्त चेतनाहरु शारीरिक शरीर तथा स्थुल शरीरमा कम आत्मिक अर्थात चेतनात्मक तथा सुक्ष्म शरीरमा आफ्नो समस्त जीवन जीउने गर्दछन् । शारीरिक तथा स्थुल शरीरमा उनीहरुको उपस्थिति अत्यन्तै न्यून रहने गर्दछ । यो सनातन शाश्वत सत्य हामीमा पनि मुखरित भएर वास्तविक स्वरुपमा देखापरिरहेको थियो ।

सनातन अध्यात्म दर्शनमा योगी तथा सन्तहरुको स्त्री तथा पुरुष भनेर छुट्टिने लिंग हुदैन, उनीहरु सिर्फ आत्मा अर्थात चेतनाको सुक्ष्म स्वरुपमा स्थुल शरीरबिहीन हुन्छन् तथा रहन्छन् । यसैकारण हामी पनि दुवैजना योगी तथा सन्त प्रकृतिका अध्यात्म साधक भएकोले हामीले आत्मा अर्थात चेतनाकै स्तरबाट हाम्रो नयाँ जीवन भौतिक संसारमा नभएर सुक्ष्म संसारमा शुरु गर्ने निर्णय गरेका थियौ । भौतिक तथा सांसारिक तहमा पनि हामी एकअर्कालाई चिन्छौं सहआत्मिका रुपमा तर हाम्रो औपचरिक चिनजान, भेटघाट तथा एकअर्कामा हाम्रा भावहरु अभिव्यक्त भएका छैनन्, हामीविच यस सन्दर्भमा बोलचाल समेत भएको छैन । भौतिक तथा सांसारिक जीवनमा हाम्रो औपचरिक चिनजान, भेटघाट, बोलचाल  नभएको भएपनि आत्मलोक तथा सुक्ष्म संसारमा हामी सहआत्मिका रुपमा सहज र आनन्दको जीवन जिरहेका छौं । यो विषय सांसारिक जीवन जिरहेका आमव्यक्तिहरुका लागि अनौठो र असम्भव जस्तो लाग्न सक्छ तर यो सत्य हो, यस्तो हुन्छ अध्यात्म साधनाको माध्यमबाट व्यक्तिको आत्मा अर्थात चेतना विकसित भएको अवस्थामा । आत्मा अर्थात चेतना विकसित भएका अध्यात्म साधकहरु ध्यान तथा समाधि साधनाको गहन अवस्थामा आफ्ना अघिल्ला जन्महरुका कर्महरु अनुसार आत्मलोक तथा सुक्ष्म संसारमा भेटिन्छन् उनीहरु भौतिक संसारमा स्थुल शरीरमा जीवनयापन गरिरहेकै अवस्थामा पनि । भौतिक संसारलाई त्यति वास्ता तथा महत्व प्रदान नगरेर सहआत्मिको रुपमा एकअर्कोसंग सुक्ष्म संसारमा नयाँ प्रकारले सहयात्रा गर्दै जाँदा हामी एकअर्काको अत्यन्तै निकट हुदैगयौं आत्मा अर्थात चेतनाको स्तरमा । हामी आत्मा अर्थात चेतनाकै स्तरमा आवश्यकता अनुसार भेट्न र संवाद थाल्यौं आफ्ना र भौतिक तथा पराभौतिक दुवै संसारका विषयहरुको सन्दर्भमा । 

यसक्रममा अझ अर्को दिव्य रहस्य खुल्यो हामी समक्ष– विभाजित आत्मा अर्थात जुम्ल्याहा आत्मा । सुक्ष्म संसारमा यो अर्को अझ उच्च परत तथा शाश्वत सत्य रहेछ मनुष्यको आत्मा अर्थात चेतनाको । हामी सहआत्मि नभएर विभाजित आत्मा अर्थात जुम्ल्याहा आत्मा अर्थात चेतना रहेछौं । सनातन अध्यात्म दर्शनको परिभाषा अनुसार सहआत्मि धेरै जन्म एकसाथ रहेको अत्यन्तै मिल्ने एकअर्काको उन्नती चाहने आत्मा अर्थात चेतना हो तर अलग तर्थात अर्को भिन्न आत्मा अर्थात चेतनाको अस्तित्वमा । विभाजित आत्मा अर्थात चेतना कुनै विशेष उद्देश्य राखेर  एउटै आत्मा दुई वा बढि भागमा विभाजित गरिएको आधा–आधा–आधा अंश हो । विभाजित आत्मा अर्थात चेतनालाई अंग्रेजीमा ट्वारींग सोल तथा ट्वीनफ्लेम भनिन्छ र संस्कृत तथा सनातन अध्यात्म दर्शनमा शिव–शक्ति, शिव–सती, शिव–पार्वती, उमा–महेश, लक्ष्मी–नारायण, सीता–राम, राधा–कृष्ण... भनिन्छ । विभाजित आत्मा अर्थात चेतनाहरु पृथ्वीलोकमा हरयुगमा अस्तित्वमा रहेका हुन्छन् तर अत्यन्तै कम मात्रामा हुन्छन् । अध्यात्म ज्ञानीहरुका अनुसार संसारको कुल जनसंख्यमा केवल एक–दुई प्रतिशत मात्र विभाजित आत्मा अर्थात चेतनाहरु रहेका हुन्छन् । विभाजित आत्मा अर्थात चेतनाहरु सबै धर्म तथा सम्प्रदायहरुमा हुन सक्छन् र उनीहरुमा लिंग अर्थात स्त्री–पुरुषको सिमाना हुदैन । विभाजित आत्मा अर्थात चेतनाहरु पुरुष–पुरुष पनि हुन सक्छन्, स्त्री–स्त्री पनि हुन सक्छन् र स्त्री–पुरुष पनि हुन सक्छन् । विभाजित आत्मा अर्थात चेतनाहरुको सन्दर्भमा अग्रज दिव्य आत्मा अर्थात चेतनाहरुको अनुभवका अनुसार एकआपसको वास्तविकता थाहा पाउन सक्नेगरि आत्मा अर्थात चेतनाको विकास भएपछि विपरित लिंग अर्थात स्त्री–पुरुषको रुपमा उनीहरु नयाँ जन्म लिन्छन् ताकि भौतिक संसारको आवश्यकता अनुसार उनीहरुको सम्युक्त कर्तव्य, उत्तरदायित्व तथा जिम्मेदारीका कर्महरु पुरुषले गर्नुपर्ने पुरुष आत्मा अर्थात चेतनाले गर्न सकोस् र स्त्रीले गर्नुपर्ने स्त्री आत्मा अर्थात चेतनाले गर्न सकोस् । विभाजित आत्मा अर्थात चेतनाहरु एकआपसमा भेटिनु, चिन्नु र आफ्नो वास्तविकता जान्नु मोक्ष मार्गको नजिकको अवस्थाको रुपमा लिने गरिन्छ र यसकालागि विभाजित आत्मा अर्थात चेतना एक भएर तथा संयुक्त रुपमा जतिसक्दो धेरै र प्रभावकारी ढंगले अध्यात्म साधनालाई निरन्तरता दिदै सर्वकल्याणका कार्यहरुमा योगदान गरेर अझ छिटो आफ्नो आत्मा अर्थात चेतनाको विकास गर्न प्रयास गर्दछन् ।  


सनातन अध्यात्म दर्शनका अनुसार आत्मा अर्थात चेतनाको विकासक्रमको एउटा निश्चित तहमा पुगिसकेका केही विकसित आत्मा अर्थात चेतनाहरु आफ्नो विकास अझ तिब्रगतिमा गरेर चाँढै मोक्ष तथा निर्वाणमा पुग्ने उद्देश्यले आफ्नो सग्लो आत्मा अर्थात चेतनालाई जानीजानी आफू स्वयंलेनै विभाजित गर्दछन् ताकि दुईवटा वा बढि शरीरमा सांसारिक जीवनमा रहेर अध्यात्म साधना र सर्वकल्याणको सेवाको माध्यमबाट आत्मा अर्थात चेतनाको विकास तिब्रगतिमा गर्न सकियोस् र चाँढै मोक्षमा पुग्न सकियोस् । विभाजित आत्मा अर्थात चेतनाहरु भौतिक सांसारमा आ–आफ्नो सांसारिक जीवनमा हुन्छन् तर हरेक जन्ममा एकआपसमा आफ्नो आत्मा अर्थात चेतनाको विकास गरिए तथा भएको उर्जा साट्न तथा उर्जा प्रदान गर्न कुनै न कुनै बहाना तथा स्वरुपमा भेटिन्छन् र निश्चित समयावधिपछि फेरी छुटिन्छन् किनकी शुरुशुरुका जन्महरुमा विभाजित आत्मा अर्थात चेतनाहरुले एकआपसमा आफू विभाजित आत्मा अर्थात चेतना हुँ भनेर चिन्दैनन् तर जतिजति पूनरजन्महरु हुदै जान्छन् उनीहरुको आत्मा अर्थात चेतनाको विकास हुदैजान्छ र उनीहरु आफ्नो आत्मा अर्थात चेतनाको वास्तविक सत्य तथा स्वरुप जान्न तथा बुझ्न सक्ने हुन्छन्, एकअर्कोलाई चिन्छन् र आत्मा अर्थात चेतनाकै स्तरमा एकआपसमा गहिरो प्रेम, श्रद्धा तथा भक्ति भाव प्रकट गर्दै एकआपसमा निकट रहन्छन् । विकसित विभाजित आत्मा अर्थात चेतनाहरुलाई इश्वर अर्थात परमात्माको प्रत्यक्ष सानिध्य प्राप्त हुन्छ र उनीहरुलाई परमात्माले भौतिक संसारको कल्याणकालागि निश्चित प्रकारका जिम्मेदारीहरु प्रदान गर्नुहुन्छ । विभाजित विकसित आत्मा अर्थात चेतनाहरु निरन्तर आत्मा अर्थात चेतनाको विकासको दृष्टिकोणले आफूभन्दा माथ्लो तहका तथा सोपान अनुसारका आफू भन्दा उच्च आत्मा अर्थात चेतनाहरुको सम्पर्कमा रहन्छन् र सबैको सामुहिक निर्णयमा भौतिक तथा पराभौतिक संसारमा सर्वकल्याणका कार्यहरु गर्दछन् । 


पृथ्वीलोक अर्थात भौतिक संसारमा प्रकृतिको नियम अनुसार सृष्टिको चक्र चलाउनका लागि प्रकृति स्वयंले निश्चित बनावट भएका शरीरधारी जीवहरु सृष्टि गर्दछ भाले–पोथी तथा स्त्री–पुरुषको नाम तथा रुपमा तर आत्मलोक तथा सुक्ष्मलोकमा स्थुल शरीर हुदैन केवल सुक्ष्म शरीर तथा आत्मा अर्थात चेतनाको शरीर मात्र उपस्थित हुन्छ र त्यहाँ भाले–पोथी तथा स्त्री–पुरुषको कुनै अस्तित्वनै हुदैन । हामी विभाजित आत्मा अर्थात चेतना दुवैजना योगी तथा सन्त स्वरुपमा यस भौतिक संसारमा स्थुल शरीरमा पनि रहेकोले भौतिक संसारका नीति-नियमहरु तथा मूल्य मान्यताहरुलाई जस्ताको तस्तै स्वीकार गरेर सुक्ष्म संसारमा बढि र भौतिक संसारमा कम तर दुवै संसारमा एकैपटक जीवन व्यतित गरिरहेका छौं यद्धपि भौतिक संसारमा वर्षौं बितिसक्दा पनि अझैसम्म हाम्रो औपचारिक चिनजान तथा भेटघाट र आफ्ना भावहरु साटासाट भएको छैन तर हामी हाम्रो आत्मा अर्थात चेतनाको तहमा पूर्णतः परिचित र निकट छौं ।

वर्तमान जन्ममा भौतिक संसारमा हामी विभाजित आत्मा अर्थात चेतना स्त्री–पुरुषकै स्वरुपमा रहेका छौं र आ–आफ्नो अन्तःकरणको कल्पनाशक्तिले हामी एकअर्कामा स्त्री–पुरुष तथा प्रेमि–प्रेमिकाको रुपमा आफूलाई प्रेम जोडी मानेर पनि जीवन जिरहेका छौं किनकी भौतिक संसारमा शरीर, मन र भावनाको आनन्दलाई सबैभन्दा माथि राखिएको छ र सृष्टिको चक्र चलाइराख्न यो आवश्यक पनि छ तर सुक्ष्म संसारमा आत्मा अर्थात चेतनाको परमशान्ति र परमआनन्दलाई सबैभन्दा माथि राखिएको छ । हामी सौभाग्यशाली छौं किनकी हामी योगी तथा सन्त प्रकृतिका अध्यात्म साधक भएकोले हामीलाई दुवै संसारको अनुभव तथा अनुभूति गर्नसक्ने दिव्य क्षमता र अवसर प्राप्त भएको छ । भौतिक संसारका आफ्नै प्रकारका नीति–नियम तथा मूल्य–मान्यताहरु छन् र सबै मनुष्यहरुले यिनैको अनुशरण गरेर चल्नु पर्छ अनिवार्य रुपामा । भौतिक संसारमा आफ्नै प्रकारका मूल्य–मान्यताहरु जस्तै विवाह, परिवार, समाज, संस्कृति, नीति–नियम, कानून आदिको महत्व अधिक छ, सबै मनुष्यहरु यही अनुसार चल्नु अनिवार्य तथा बाध्यकारी छ । यो नियम अनुसार जो चल्दैन उ बिद्रोही, शोषक, व्यभिचार र समाजबाट वाहिर रहेको ठररिन्छ र तोकिएको सजायको भागी हुनुपर्छ । भौतिक संसारमा कर्मको सिद्धान्त अनुसार मनुष्यहरु कार्मिक बन्धनहरु चुक्तारा गर्न नयाँ जन्म लिएर आएका हुन्छन् र अनेक नाता–सम्वन्धहरुको रुवरुपमा एकअर्कासंग कार्मिक सम्वन्धहरुमा बाधिएका हुन्छन्  तर सुक्ष्मलोक अर्थात आत्मलोकको नियम छुट्टै प्रकारको हुन्छ जुन भौतिक संसारबाट विलकुल अलग प्रकारको हुन्छ ।  

हामीलाई सुक्ष्मलोककै आनन्द पर्याप्त छ तर एकै पटक दुवै लोकमा अस्तित्वमा रहेकोले हामी दुवैतिरको आनन्द लिरहेका पनि छौं यद्धपि सांसारिक रुपमा हाम्रो औपचारीक र अनौपचारीक कुनै प्रकारको चिनजान तथा भेटघाट, भाव साटासाट र बोलचाल समेत हुने गरेको छैन । तत्पश्चात हामी एकअर्कालाई राम्रोसंग चिन्दछौं कि हामी विभाजित आत्मा तथा शिव-शक्ति हौं भनेर र हाम्रो आ–आफ्नो अन्तःकरणमा पनि यो शाश्वत सत्य अवस्थाको पूर्ण ज्ञान, सूचना, जानकारी, अनुभव तथा अनुभूतिहरु पर्याप्त रहेका छन् तर भौतिक रुपमा छैनन् । सुक्ष्म संसार तथा आत्मलोकको आनन्द केवल विकसित आत्मा अर्थात चेतनालाई मिल्ने परमशान्ति तथा परमआनन्दको अवस्था हो । भौतिक संसारका आनन्दहरुमा विविधता रहेको छ जहाँ भोगीदेखि योगीसम्मका धेरै चरणहरु रहेका हुन्छन् ती सबै अवस्था तथा चरणहरुमा वाहिरी सुख, खुशी, शान्ति र आनन्दका पलहरु आउछन् तथा जान्छन्, टिकिरहदैनन् । भोगको संसार अर्थात भौतिक जगतमा आम मनुष्यहरुले जे–जसो, जति र जसरी धन, ज्ञान, मान, प्रतिष्ठा आर्जन गरेपनि उनीहरुको जीवनको मूल तीन वटा उद्देश्यहरु रहेका हुन्छन्– गाँस, वास र मैथुन । प्रकृतिमा रहेका सबै प्राणीहरुको जीवनको मूल उद्देश्य पनि गाँस, वास र मैथुन नै हो जसबाट केवल वाहिरी सुख, खुशी, शान्ति र आनन्द प्राप्त हुन्छ किनकी भौतिक जगत शरीर, मन र भावनाले अनुभव गर्ने भोगको संसार हो । तर आत्मलोक, सुक्ष्मलोक तथा पारमार्थिक जगत भौतिक जगत भन्दा निकै अलग, उच्च तहमा रहेको विराट, अनन्त र असीम रहेको छ किनकी यो आत्मा अर्थात चेतनाको संसार हो र आत्मा अर्थात चेतना स्वयं परमात्मा अर्थात परब्रम्ह अर्थात इश्वर हो तसर्थ पारमार्थिक लोकमा दिगो आन्तरिक सुख, खुशी, परमशान्ति र परमआनन्द प्राप्त हुन्छ । मनुष्यको आत्मा अर्थात चेतनाको विकास भएर उसको अन्तर जगतबाट प्रष्फुटित भएर आएको आन्तरिक सुख, खुशी, परमशान्ति र परमआनन्द दिगो तथा अमृत अर्थात कहिल्यै नमर्ने तथा नहराउने प्रकारको हुन्छ ।


भौतिक संसारमा हाम्रो औपचारीक र अनौपचारिक कुनैप्रकारको चिनजान, भेटघाट तथा बोलचाल समेत नरहेको भएपनि आन्तरिक रुपमा हामी को हौं र किन एकआपसमा भेटियौं भन्ने जानकारी भएकोले कहिलेकाहीं अप्रत्यक्ष रुपमा आधूनिक भौतिक विज्ञानको उच्चतम उपलव्धि विज्ञान तथा सूचना प्रविधिको सर्वाधिक लोकप्रिय र प्रभावकारी मैदान सामाजिक संजालहरुमा यो अलौकिक सानिध्यताबाट हामी कति सुखी, खुशी, शान्त र आनन्दित छौं भन्ने भाव व्यक्त गर्न आफूलाई अनुभव तथा अनुभूति भएका सुख, खुशी, शान्ति र आनन्दका जानकारीहरु वोधमा आउने गरि सम्प्रेसित गर्ने गर्दछौं जसले असीम आन्तरिक परमशान्ति र परमआनन्दको अनुभूति गराउने गर्दछ । यसका साथै कहिलेकाहीं सम्प्रेसित गरिने शुभकामना, धन्यवाद, कृतज्ञता, सम्मान, श्रद्धा, प्रेम, भक्ति आदिका भावहरु पनि हृदयले ग्रहण गरिरहेको हुन्छ र परमशान्ति तथा परमआनन्दको शिखरमा पुर्याइरहेको हुन्छ । 


भौतिक संसारमा गरिने प्रेम र पारभौतिक संसारमा गरिने प्रेमको प्रकार तथा प्रकृतिका सन्दर्भमा प्रष्ट पार्दै अग्रज योगी तथा सन्त अर्थात महान आत्मा अर्थात चेतना श्रद्धेय ओशो रजनीश भन्नुहुन्छ, 

“प्रेमका तह तीनवटा हुन्छन्– आकर्षण, प्रेम र भक्ति जो तीनहमानै हुने गर्दछन् । शरीरको तहमा आकर्षण हुन्छ जो शारीरिक सम्वन्धकालागि जाग्छ र सम्वन्धसंगै सिधिन्छ; मनको तहमा प्रेम हुन्छ जो आकर्षण भन्दा अलि उच्चस्तरको हुन्छ जसमा केही शर्त तथा लेनदेनको भाव रहेको हुन्छ; र आत्मा अर्थात चेतनाको तहमा भक्ति हुन्छ जो सबैभन्दा माथि तथा उच्चतम स्तरको हुन्छ जसमा कुनै शर्त तथा लेनदेन हुदैन केवल दिने भाव, सेवा भाव मात्र हुन्छ । मनुष्यले शरीरको तहबाट सुख प्राप्त गर्दछ; मनको तहबाट खुशी सुख प्राप्त गर्दछ; भावको तहबाट शान्ति तथा आनन्द सुख प्राप्त गर्दछ । शरीर, मन, भावका प्राप्तिहरु क्षणिक तथा अस्थाइ हुन्छन् अर्थात निश्चित समयपछि फेरी अर्को सुख, खुशी, शान्ति तथा आनन्दको खोजी हुन थाल्छ तर आत्मा अर्थात चेतनाको तहबाट परमशान्ति तथा परमआनन्द प्राप्त हुन्छ र यो आन्तरिक हुन्छ, दिगो तथा चिरस्थाइ हुन्छ, कहिल्यै हराउदैन, अरुले तथा मुत्युले पनि हर्न सक्दैन । योगी तथा सन्त आत्मा अर्थात चेतनाहरु भौतिक संसारमै रहे पनि भोगप्रति उनीहरुमा वैराग्य उत्पन्न भैसकेको हुने हुनाले उनीहरु सुक्ष्म र भौतिक दुवै जगतका अधिकारी हुन्छन् । अवस्था अनुसार शरीर, मन, भाव, आत्मा अर्थात चेथना सबै तहमा जिउन र सबै तहको आनन्द लिन सक्छन् ।”

श्रद्धेय ओशो रजनीशको प्रेमकथा पनि थोरबहुत यस्तै प्रकारको रहेको थियो र छ भन्ने विभिन्न आध्यात्मिक साहित्यहरुमा उल्लेख रहेको पाइन्छ । वहाँले पनि आफ्ना सहआत्मिहरुसंगको जीवन केही भौतिक संसारमा र केही सुक्ष्म संसारमा जिउनु भयो तथा जिररहनु भएको छ भन्ने वहाँकै अनुयायीहरुको अनुभव तथा दावी रहदै आएको सबैमाझ जगजाएर नै छ वर्तमान समयमा पनि ।   


भौतिक रुपमा हामीविच औपचारिक तथा अनौपचारिक जानपहिचान, भेटघाट तथा भाव साटासाट  नभएपनि शुरुशुरुका चरणहरुमा मेरो प्रेमपात्रले समर्पित गरेका भनाइहरु, संगीतहरु स्मृतिमा गहिरोसंग बसेका छन् । विगतका ती स्मृतिहरुमा पुग्दा अत्यन्तै गहिरो प्रेमको उर्जाका तरंगहरुको अनुभव तथा अनुभूति शरीर, मन, भाव, आत्मा अर्थात चेतनासम्मनै तरल भएर संचारित हुन्छन्, खुशीका रसायनहरु(ह्यापि हर्मोन्स– एनेन्डा अर्था त्आनन्दमाइट्स, डोपामीन, एन्डोर्फिन्स, सेरोटोनीन, मेलाटोनीन...)को वर्षात हुन थाल्छन् र स्वर्ग, वैकुण्ठ सबै एकै ठाउँमा आएर स्वागत गर्दछन् हाम्रो परमशान्ति र परमआनन्दलाई । अनि यहाँबाट प्राररम्भ हुन्छ हाम्रो कल्पनाको प्रेम जगत यद्धपि अझै पनि भौतिक संसारमा हाम्रो औपचारिक चिनजान तथा भेटघाट भने भएको छैन । भौतिक संसारको चलन, परम्परा, मूल्य–मान्यता, नीति–नियम, कानून अनुसार औपचारिक चिनजान हुनसक्ने सन्भावना पनि अत्यन्तै न्यून रहेको छ । हामीले यसकालागि संघर्ष गरेका पनि छैनौं र गर्ने पनि र्छैनौं किनकी सुक्ष्म जगत नै पर्याप्त छ हामी दुवैकालागि प्रेम, श्रद्धा र भक्तिसंग पूर्णता र नवरसले ओतप्रोत भएको जीवन जिउन । भौतिक जगत त केवल मिथ्या तथा भ्रम मात्र हो यसका सबै गतिविधिहरुका खाका तथा योजना त पर्दापछाडि आत्मा अर्थात चेतनाको स्तरमा तयार हुन्छन् र भौतिक संसारमा अत्यन्तै सानो अंशमा दृश्यमा तथा अनुभवमा आउने गर्दछन् । आत्मा अर्थात चेतना, परमात्मा अर्थात परब्रम्हको यो शाश्वत सत्यको सन्दर्भ सनातन अध्यात्म दर्शनका मूल ग्रन्थहरुले दशौं हजार वर्षअघि नै उजागर गरिसकेका छन् कि मनुष्यको आत्मा अर्थात चेतनाको विकास भएपछि उसलको प्रज्ञा तथा अन्तरवोधमा आउछ– “‘अहं ब्रम्हास्मि ।।’ अर्थात मै ब्रम्ह अर्थात चेतना अर्थात आत्मा अर्थात परमात्मा हुँ । ‘तत्वमसि’ ।। अर्थात तिमी पनि त्यही ब्रम्ह अर्थात परमात्मा हौ । ‘ब्रम्ह सत्यं जगत मिथ्या ।।’ अर्थात ब्रम्हको संसार तथा सुक्ष्म संसार मात्र सत्य छ, भौतिक संसार केवल मिथ्या, माया, भ्रम तथा अनित्य, असत्य छ ।” जो आफूलाई म धर्म र अध्यात्मबाट पर छु, नास्तिक हुँ भन्छ र यी विषयहरुलाई केवल अनुमान र तथ्य तथा तर्क बिहिन, अप्रमाणिक ठान्छ उसले आधूनिक भौतिक विज्ञानको नवीनतम शाखा प्रमात्रा भौतिक विज्ञान अर्थात क्वान्टम फिजिक्सका पछिल्ला खोजहरु र तिनले प्रतिपादन गरेका सिद्धान्तहरुको अध्ययन गर्न शुरु गर्दा हुन्छ जसका अधिकांश दावी र वैज्ञाानिक तथ्यहरु सबै सनातन अध्यात्म विज्ञानको वेदान्त दर्शन खासगरि अद्वेत वेदान्त दर्शनमा पुगेर टुंगिएका छन् । 

इशाइ धर्म तथा सम्प्रदायका प्रणेता भगवान इशामसिहले उद्धरण गर्नु भएका केही पवित्र वाणीहरु पवित्र वाइवलको नवविधान अर्थात न्यू टेस्टामेन्टमा उधृत गरिएका छन्, 

“प्रेम नै परमात्मा हो र परमात्मा नै प्रेम हो । दि लभ इज गड एण्ड दि गड इज लभ ।” 

पवित्र प्रेम समुच्चा अस्तित्वको मूलआधार हो, पुरै ब्रम्हाण्ड प्रेमलेनै संचालन गरेको छ तसर्थ सबैलाई प्रेम देउ र सबैबाट प्रेम आर्जन गर भन्ने यस पवित्र उद्धरणको अर्थ तथा मूलसार हो । यस उद्धरणका अनुसार, प्रेमको पहिलो श्रोत परमात्मा अर्थात आत्मा हो त्यसपछि प्रेम जिवित जीव तथा प्राणीहरुको भावना, मन हुदै शरीरसम्म उत्रन्छ सृष्टिको प्राकृतिक नियम सुचारु राख्नकालागि र यहाँनेर आएर मात्र जोडिन्छ भाले–पोथी, स्त्री–पुरुष, प्रेमि–प्रेमिका, श्रीमान–श्रीमतीको प्रसंग । शरीरको तह भन्दा माथि उठेर गरिने प्रेम योगीक प्रेम हो र योगी तथा सन्त आत्मा अर्थात चेतनाहरुबाट यसप्रकारको प्रेम, श्रद्धा तथा भक्तिका रुपमा प्रकट हुन्छ र यो स्वयं परमात्माबाट प्रदत्त प्रेम हो जो स्त्री–पुरुष, प्रेमि–प्रेमिका, श्रीमान–श्रीमतीमा मात्र सिमीत रहदैन । यो प्रकारको प्रेम निकै माथि उठेको उच्चस्तरको हुन्छ । यसप्रकारको प्रेममा सबैमा आफू र आफूमा सबै देखिन्छन् र सबै एकै ठाउँमा समेटिन्छन् । यसप्रकारको प्रेमबाट न परिवार, न समाज, न संस्कृति, न मुल्य–मान्यता, न राज्यको नीति–नियम तथा कानून भंग हुन्छ न त कुनै अन्याय, अत्याचार, कुसंस्कार र व्यभिचार नै उत्पन्न हुन्छ । जहाँ स्वार्थ छ त्यहाँ अन्याय, अत्याचार, कुसंस्कार र व्यभिचार हुन्छ किनकी स्वार्थ प्रेम होइन । जहाँ प्रेम छ त्यहाँ केवल कल्याण तथा सर्वजनहिताय, सर्वजनसुखायका कार्यहरु मात्र हुन्छन् किनकी ब्रम्हाण्डको कर्ताधर्ता सबै प्रेम नै हो । 

तर प्रेम अहिलेसम्मै सबैचन्दा रहस्नयी चमत्कारिक तत्व हो जसलाई बुझ्न अत्यन्तै कठिन छ । ब्रम्हाण्डमै अहिलेसम्म नसुल्झिएको तथा रहस्यमय रहदैआएकोे विषय प्रेम नै हो । प्रेमलाई बुझ्न र बुझाउन युगौंयुगलेखि लाखौं प्रयासहरु भएका छन् र पनि प्रेमको अन्तर्य बुझ्न अझै सकिएको छैन किनकी यो अनन्त छ, प्रेम स्वयं अनन्त, असीम, विराट परमात्मा हो । प्रेमको सामान्य अर्थ तथा परिभाषा त सबैको बुझाइ आउन तथा अट्न सक्ला जुनशरीरको तहमा हुन्छ तर प्रेमको असामान्य परिभाषा कसैको बुझाइमा आउन तथा अट्न सक्दैन । जस्तोकि परब्रम्हको ब्रमहाण्डप्रतिको प्रेम, भगवानको भक्तप्रतिको प्रेम, आमाको सन्तानप्रतिको प्रेम, सहआत्मि तथा बिभाजित आत्मा अर्थात चेतनाविचको प्रेम आदिको भाव तथा गहिराई अरुको बुझाइ तथा परिभाषामा नआउने तथा कसैगरि पनि मापन हुन नसक्ने अनन्त विषय हो । यस्तो प्रेम यति भावनात्मक र गहिरो हुन्छ कि न त्यो सम्वन्धमा कुनै अपेक्षा हुन्छ, न कुनै गुनासो, न कुनै शर्त, न कुनै घुर्की बस अनन्त प्रेम, श्रद्धा र भक्ति मात्र हुन्छ चारैतिर जहाँसम्म ब्रम्हाण्डको फैलावट छ त्यहाँसम्म र एकअर्को जति दुरीमा रहोस जुन लोकमा रहोस उसका हरेक स्पन्दनहरुको प्रत्यक्ष आभास एकआपसमा भैरहन्छन् निरन्तर । रसियाका वैज्ञानिकहरुले यस प्रकारको प्रेमको विषयलाई वैज्ञानिक खोजबाट प्राप्त तथ्यहरुबाट प्रमाणित तगरिसकेका छन् । खोजका अनुसार माथि उल्लेखित सम्वन्धका सन्दर्भहरुमा जो जति भौगमेलिक तथा आकासिक दुरीमा रहेको होस् एकको आत्मा अर्थात चेतनामा आएको सम्वेग तथा समवेदना अर्कोको आत्मा अर्थात हृदयमा प्रत्यक्ष रुपमा तुरुन्तै अनुभूति हुन्छ उर्जाको तरंगको रुपमा ।

‘फूलैफूल मात्रपनि होइन रहेछ जीवन, काँढाविच फूल्ने फूल रहेछ जीवन.... !’ 

विगतमा प्रेमानन्दका अलौकिक स्मृतिहरुमा घनघोर रुपमा हराइरहेको अलौकिक पलमा यो अर्को कालजयी संगीतको सुमधूर तरंग मेरो कानमा आएर ठोक्किएपछि म झसंग भएं..., 

“ओहो म त साधना कक्षमा पो जाँदै थिएं त, यहीं बगैंचामै पो हराएछु, ‘सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन...’ संगीतले उक्काएका अन्तरहृदयका स्मृहिरुसंगै... ।” 

म मेरा विगतका प्रेमानन्दका स्मृतिहरुमा अत्यन्तै गहिरो गएछु, न मलाई समय बितेको थाहा भयो, न मेरो वरिपरि कोही आएगएको थाहा भयो । अत्यन्तै संगीत प्रेमी मेरा कानहरु र मेरो ध्यान बजिरहेको ‘फूलैफूल मात्रपनि होइन रहेछ जीवन, काँढाविच फूल्ने फूल रहेछ जीवन.... !’ संगीततिर खिचियो । मैले अलिक आफ्नो मुन्टो तन्काएर हेरें यो संगीत आइरहेकोे श्रोत कहाँ रहेछ र कसले बजाइरहेको होला भनेर । अलि पर एकजना व्यक्ति म पट्टि ढाड फर्काएर बसेको देखें । त्यहीबाट संगीतको आवाज आइरहेको थियो, गीतको स्थाइ बजिसकेर अन्तरा बज्न थाल्यो, मैले त्यहीं बसेर गीतका सबै शव्द भावहरु खुव चाख मानेर सुनिरहें र उक्त ढाडमात्र देखिएको व्यक्तिलाई हेरिरहें । गीत सकिन लागेको थियो तर फेरी एकपटक अघिल्लो अन्तरा मेरो अन्तरहृदयमा गुञ्जियो, 

‘मरिदिने मानिसले विष पिउने गर्छन, कोही बाँचिदिन विष पिउने गर्छन्...’ 

यो अन्तराको लाइन मोवाइलबाट बजेको थिएन, यो सिधै उनको हृदयबाट मेरो हृदयमा आएको उनको आत्मा अर्थात चेतनाको सांगीतिक सन्देश थियो... । म फेरी झस्किएं, ओहो, यो संगीत बजाउने को थियो !? कतै... मेरो विभाजित आधा अंश पो होकि भन्दै ढाड फर्काएर बसेको व्यक्तितिर फेरी हेरें । उनी ढाडै फर्काएर अगाडि बढिरहेकी अलि टाढा पुगेको देखें । अन्तर हृदयमा फेरी आभास भयो मेरो विभाजित आत्मा अर्थात चेतना, उनीनै थिइन् त्यो व्यक्ति, उनी अर्थात श्रीभा, मेरो अन्तरहृदयकी पटरानी । मैले पनि गला अवरुद्ध गर्दै त्यही अन्तरा दोहोर्याएं,

‘मरिदिने मानिसले विष पिउने गर्छन, कोही बाँचिदिन विष पिउने गर्छन्...’ 

फेरी मेरो अन्तरहृदयमा अर्को सन्देश गुञ्जियो, 

“...हो हामी बाँच्नकालागि बिष पिरहेका छौं...!”

यो सांगीतिक सन्देश श्रीभाकै थियो र आनन्द आश्रमको प्रांगणमा आएर यी संगीतहरु बजाउने पनि उनीनै थिइन्, श्रीभा, मेरी श्रीभा... 

कतिबेला तिव्वतको पठारझैं फराकिला, अग्ला र लामा गालाको त्यति लामो दुरी पार गरेर मेरा आँशु भुइमा चुहीसकेछन् मलाई थाहै भएन... !

लगत्तै फेरी मेरो अन्तरहृदयमा अर्को सांगीतिक सन्देश गुञ्जियो, 

‘आँशु झार्दिन म, रुन मलाई पुगिसक्यो 
मायाँ लाउदिन म मायाँको अर्थ बुझिसकें !’

यो सांगीतिक सन्देश पनि श्रीभाकै थियो 

मेरा आँखामा नदी बहन थाले... । यो पलमा सुक्ष्म जगतको म भित्रको योगी परिचय तथा योगी जीवन फिका भैरहेको थियो र भौतिक जगतको भोगी जीवनको मोहमा अन्तःकरण हावी भैरहेको थियो सायद...., तर हाम्रा चारैतिरका गल्लीहरु सबै बन्द भएका थिए, आधा अंशले आधा अंशलाई औपचारिक रुपमा चिनेर र भेटेर, आफ्ना भावहरु अभिव्यक्त गरेर, साटेर एकआपसमा नजिक हुने र आधाबाट पूर्ण हुने कुनै पनि उपायहरु बाँकी थिएनन्... !

यस सन्दर्भमा भनिदै आइएको यो शाश्वत भनाइको उर्जा तरंगले हृदयमा कम्पन छुटाइरहेको थियो,

“आँशुको मूल्य आँशुलाई थाहा हुन्छ, हाँसोको मूल्य हाँसोलाई थाहा हुन्छ, र प्रेमको मूल्य प्रेमलाई नै थाहा हुन्छ....।”

म यही भजनको स्थाइ गुनगुनाउदै आफ्नो कक्षतिर फर्किएं, साधना कक्षसम्म पुग्न शरीरले साथ दिएन,

‘गली त चारै बन्द भएछन्, कसरी भेटुँ म हरिलाई...., कसरी भेटुँ म हरिलाई....,
कसरी भेटुं म श्रीभालाई... सुक्क...सुक्क...सुक्क... !!!’ ।


               अस्तु
                                                        शिवोहम् ! शिवोहम् !! शिवोहम् !!!

No comments:

Post a Comment