डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन
आभामण्डल तथा उर्जा क्षेत्रको स्तर कसरी बढाउन सकिन्छ ? खण्ड -६ को निरन्तरता
उर्जाको तह बढाउन सनातन अध्यात्म दर्शनमा उल्लेखित विधिहरु
वर्तमान समयमा चिकित्सा शव्दको अर्थ तथा परिभाषा रोग तथा अस्वस्थताको उपचार गर्नु भन्नेमा सिमीत हुदै गएको पाइन्छ तर चिकित्साको वास्तविक अर्थ तथा परिभाषा रोग तथा अस्वस्थतासंग मात्र सम्वन्धित नभएर आरोग्यता अर्थात समग्र रुपमा स्वस्थ र सन्तुलित जीवनसंग प्रत्यक्ष रुपमा सम्वन्धित रहेको छ । यसर्थ समग्रमा, चिकित्सा भन्नाले मनुष्यको शरीर, मन, भाव, आत्मा अर्थात चेतनालाई हरप्रकारले शुद्ध, सकारात्मक, सक्रिय, सन्तुलित तथा आरोग्य राख्न गरिने सबै प्रकारका गतिविधिहरु तथा प्रयासहरु हुन् ।
(६)सौन्दर्य तथा सुगन्ध चिकित्सा(व्युटी एण्ड एरोमा थेपापी)
सनातन हिन्दु संस्कृतिमा मान्दै आइएका प्रायजसो संस्कार, परम्परा, रीतिरीवाज तथा प्रचलनहरुमा मनुष्यको शरीरका सबै आयामहरुको उर्जा तथा आभामण्डललाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा शुद्ध, सन्तुलित र सक्रिय गर्ने तथा गराउने प्रक्रियाहरु दृश्य तथा अदृश्य रुपमा रहदै आएका छन् र वर्तमान समयमा पनि जानेर तथा नजानेर हामी सबैले यी संस्कृतिहरुको अनुशरण गर्दै आइरहेका छौं । हामी हरेकदिन विहान आफ्नो नित्यकर्मपछि शरीरलाई हलुका र सरसफाइ गरिसकेपछि आफूलाई मन परेका राम्रा तथा सौम्य पहिरनहरु, सुन्दरता र सुगन्ध प्रदान गर्ने वस्तुहरु लगाउने तथा प्रयोग गर्ने गर्दछौं । त्यस्तै कोठा–चोठा, घर, आगन, डवलीहरु सरसफाई गरिसकेपछि सुन्दर, मनमोहक तथा सुगन्धित पुष्प तथा सजावटका सामग्रीहरु राख्ने, बाल्ने तथा सजाउने गर्दछौंं । हरेक घरमा मन्दिर तथा पूजा कक्षको निर्माण गरिएको हुन्छ र आ–आफ्ना आस्थाका केन्द्र आराध्य भगवान, इष्ट देवता, कुल देवताहरुको अत्यन्तै श्रद्धा र भक्तिभावका साथ पूजापाठ तथा आराधना गर्ने गर्दछौंं र पूजापाठ तथा आराधना गर्दा सकेसम्म राम्रा र सुगन्धित पुष्प तथा फूलपाति तथा वनस्पतिहरू, सुगन्धित चन्दन, धूप, अत्तर आदि सामग्रीहरुको प्रयोग गर्ने गर्दछौं । यस्तै आफू वाहिर कतै विशेष ठाउँमा जानुपर्दा त्यस्तै किसिमले सुन्दर र सुगन्धित भएर तयारीकासाथ जाने गर्दछौं । यसकालागि सुगन्धित पुष्प तथा वनस्पतिहरु मिसाइएको पानीले स्नान गर्ने; शरीरमा तथा पहिरनमा अत्तर तथा सुगन्ध छर्किने; सुगन्धित तेलको प्रयोग गर्ने; सुगन्धित चण्दनको टीका तथा लेपन लगाउने आदि गर्दछौंं । यी सबै परम्पराहरु हाम्रा पुर्खा तथा प्राचीन वैज्ञानिक ऋषिमुनिहरुले मनुष्यको शरीर, मन, भाव, आत्मा अर्थात चेतनालाई सुखी, खुशी, शान्त, आनन्दित, सकारात्मक तथा समग्रमा उसलाई आरोग्य अवस्थामा राखिराख्न चलाइएका परिपाटीहरु तथा सरल, सहज, सफल जीवन जिउने कलाका महत्वपूर्ण र अत्यन्तै प्रभावकारी कडीहरु हुन् जो विस्तारै संस्कार तथा परम्पराका रुपमा विकास हुदैगए र संस्कृतिका रुपमा स्थापित भए । आफूलाई सौन्दयता तथा सुगन्धित माहोलको अनुभव तथा अनुभूति व्यक्तिभित्र सकारात्मक उर्जाको संचार हुने हुनाले सौन्दर्य र सुगन्धको प्रयोग तथा अनुशरण मनुष्यको शरिका आयामहरुको अस्वस्थता तथा समस्याहरुको उपचार तथा समाधानका लागि आयुरवेद र प्राकृतिक चिकित्सामा पनि गर्दै आइएको पाइन्छ । सौन्दर्य र सुगन्ध चिकित्साको माध्यमबाट गरिएका यस्ता प्रयासहरुले मनुष्यको शरीर, मन, भाव, आत्मा अर्थात चेतनालाई सुखी, खुशी, शान्त, आनन्दित राख्न मद्धत मिल्दछ र उभित्रबाट सकारात्मक भाव, आत्मशक्ति, आत्मविश्वास, उत्साह, प्रेरणा स्वतः जाग्न प्रारम्भ हुन्छ । यस्तो अवस्थामा मनुष्यको शरीरका आयामहरुबाट निरन्तर ब्रम्हाण्डमा प्रवाहित भैरहने उर्जा तथा आभामण्डल शुद्ध, सन्तुलित, सक्रिय तथा सकारात्मक हुदैजान्छ र उसको चेतना तथा उर्जाको स्तर स्वतः बढ्न थाल्छ र उसको जीवन सहज, सरल र सफलता उन्मुख हुदै जान्छ ।
यसकासाथै, मनुष्यको प्राकृतिक आदत हुन्छ सुन्दर चिज तथा वस्तुहरु देख्दा र मिठो सुगन्धको महसुस हुदा लामो गहिरो श्वास भित्र तान्ने र त्यसप्रति आफूलाई इच्छा लागुन्जेल आफ्नो मन तथा ध्यान टिकाउने । यस्तो अवस्थामा मनुष्यले खुशीको अनुभव गर्ने हुनाले उसको मस्तिष्कका स्नायुहरुमा र शरीरका सुक्ष्म प्रक्रियाहरुमा सकारात्मक प्रभाव पर्न जान्छ । मस्तिष्कको स्नायु प्रणाली तथा शरीरका सुक्ष्म प्रक्रियाहरुमा परेको सकारात्मक प्रभावले मस्तिष्क तथा शरीरका रसायन ग्रन्थीहरु सक्रिय हुन थाल्छन् र शरीरका सबै आयामको आरोग्यताका लागि आश्यक पर्ने सकारात्मक तथा खुशीका रसायनहरु उत्पन्न हुन थाल्छन् र मनुष्य सुखी, खुशी, शान्त, आनन्दित, सकारात्मक बन्दै जान्छ । मनुष्य आफ्नो जीवनशैलीमा जति सन्तुष्ट, स्वीकार भावले भरिएको सुखी, खुशी, शान्त, आनन्दित, सकारात्मक हुन्छ उतिनै उसको उर्जा तथा आभामण्डल शुद्ध, सन्तुलित र सक्रिय हुन्छ र उसको चेतना तथा उर्जाको स्तर स्वतः बढ्न थाल्छ ।
(७)दृश्यांकन चिकित्सा पद्धति(भिज्योलाइजेसन थेरापी)
मनुष्यको शरीरका सबै आयामहरुबाट निरन्तर ब्रम्हाण्डमा प्रवाहित भैरहने उर्जाको तरंगहरु तथा आभामण्डल शुद्ध, सन्तुलित र सक्रिय बनाउनका लागि सनातन अध्यात्म विज्ञानकै सन्दर्भमा आधारित रहेर आधूनिक मनोविज्ञान तथा मनोचिकित्सा विज्ञानले शुरुआत गरेको परिमार्जित दृश्यांकन तथा दृश्यकल्पना चिकित्सा पद्धति खासगरि मनुष्यको मानसिक तथा भावनात्मक विचार तथा भावका उर्जा सन्तुलन गर्न अत्यन्तै प्रभावकारी उपाय तथा विधिका रुपमा स्थिापित हुदै आइरहेको छ । यो उपचार विधि तथा चिकित्सा पद्धति वर्तमान समयमा बहुचर्चित रहेको सुक्ष्म चिकित्सा पद्धति(क्वान्टम हिलिगं) जस्तै नै हो तथा यी दुवै चिकित्सा पद्धतिका प्रक्रिया तथा विधिहरु एकआपसमा मिल्दाजुल्दा रहेका छन् । दृश्यांकन चिकित्सा पद्धतिमा एकाग्र भएर आफ्नो अन्तरमनबाट आफूले चाहेको इच्छा पूरा हुदैगरेको तथा पूरा भैसकेको दृश्यको कल्पना गरिन्छ तथा गर्न लगाइन्छ । स्नायु भाषा प्रणाली(न्यूरो लिंगुविस्टीक प्रोग्राम)मा धेरै प्रकारले दृश्यांकन चिकित्सा पद्धतिको प्रयोग गरिदै आइएको छ र यो अत्यन्तै परिणाममुखी तथा उपलव्धिमूलक रहेको पनि पाइएको छ । स्नायु भाषा प्रणाली पनि आधूनिक मनोविज्ञान तथा मनोचिकित्सा विज्ञान अन्तर्गत पर्ने एकप्रकारको वैकल्पिक उपचार प्रक्रिया तथा चिकित्सा पद्धति नै हो । दृश्यांकन तथा दृष्यकल्पना गर्ने प्रक्रिया तथा विधिमा मनुष्यको दृश्य कल्पना शक्ति(इम्याजिन पावर)लाई सशक्त र प्रभावकारी ढंगले उपयोगमा ल्याउने गरिन्छ । यसकालागि आँखा बन्द गरेर स्थिर आसनमा बसेर लामो गहिरो श्वास–प्रश्वास लिदै–छोड्दै श्वासमा ध्यान केन्द्रित गरेर आफ्ले जीवनमा सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्द प्राप्त गर्न चाहेको र प्राप्तिकालागि निश्चित इच्छा तथा चाहनाहरु निर्धारण गरिएको कल्पना गर्दै तत् तत् इच्छा तथा चाहनाहरुबाट आफ्नो अपेक्षा पूरा हुदै गरेको तथा पूरा भैसकेको दृश्यको कल्पना गरिन्छ ।
यसकासाथै दृश्यांकन चिकित्सा पद्धतिमा चम्किलो दिव्य प्रकाशको दृश्य कल्पना गरेर पनि मनुष्यको शरीरका आयामहरुको उर्जा क्षेत्र तथा आभामण्ललाई शुद्ध, सन्तुलित र सक्रिय पार्ने प्रयास गरिन्छ । यस प्रक्रिया तथा विधिमा आफ्नो वरिपरि तथा परपरसम्म चारैतिर एकप्रकारको सेतो, सुनौलो तथा सात चक्रका रंग भएको सप्तरंगी चम्किलो दिव्य प्रकाश कम्तिमा ४–५ फिट र बढिमा जति पनि आकार लिएको र विस्तारै फैलिरहेको छ; म यो चम्किलो र चारैतिर फैलिएको घना दिव्य प्रकाशको विचमा छु; विस्तारै यो दिव्य प्रकाश अझ चम्किलो, फराकिलो र घना बन्दै गैरहेको छ; यो चम्किलो दिव्य प्रकाश मेरो शरीरभित्र प्रवेश गरेर वारपार गरिरहेको छ; यो प्रकाशले मेरो शरीर, मन, भावना, आत्मा अर्थात चेतनामा भएका सबै विकार तथा अशुद्धताहरुलाई शुद्ध गरिरहेको छ र आफूभित्र सकारात्मक भाव बढिरहेको छ; मेरो चक्रहरुमा रहेको उर्जा शुद्ध, सन्तुलित, सक्रिय, फराकिलो, चम्किलो र रंगीन भैरहेको छ; मेरो शरीरका आयामहरुको उर्जा क्षेत्र तथा आभामन्डलको फैलावट बढिरहेको छ, रंगहरु स्पष्ट भैरहेका छन् आदि प्रकारले दृश्य कल्पना गरिन्छ तथा गर्न लगाइन्छ र आफ्नो शरीरका आयामहरुमा दिव्य प्रकाशको माध्यमबाट उर्जाको प्रवाह बढाउने प्रयास गरिन्छ । यो उपचार पद्धतिमा पनि रेकी उपचार पद्धतिमा जस्तै आफू स्वस्थ रहेको र ब्रम्हाणिडय चमत्कारिक महाउर्जा आफूमा प्रवाहित भैरहेको दृश्य कल्पना गरिने हुनाले यी दुवै एक अर्कोसँग निकट रहेका छन् । यसरी दृश्यांकन चिकित्साको माध्यमबाट आफ्ना इच्छा तथा चाहनाहरु पूरा भैरहको तथा भैसकेको दृश्य कल्पना गर्दा र चम्किलो दिव्य प्रकाशको माध्यमबाट शरीरका आयामहरुमा उर्जाको प्रवाह, शुद्धता, सन्तुलनता, सक्रियता बढेको दृश्य कल्पना गर्दा मनुष्यको उर्जा क्षेत्र तथा आभामन्डल स्वतः शुद्ध, सन्तुलित र सक्रिय हुन्छ र यस्तो अवस्थामा उसको चेतना तथा उर्जाको तह तथा स्तर पनि क्रमशः बढ्दै जान्छ र जीवन सहज, सरल, सफल बन्दै जान्छ ।
(८)आत्मसन्देश तथा आत्मशक्ति चिकित्सा पद्धति(अटोसजेसन एण्ड सेल्फपावर थेरापी)
ज्ञानी तथा प्राज्ञ पुरुष(विकसित आत्मा अर्थात चेतना)हरुले बारबार भन्नुभएको छ कि मनुष्य उसकै विचारहरुको परिणाम हो, उसको शरीर केवल ती विचारहरुलाई शव्द, हाउभाउ, व्यवहार तथा आचरणमा उतार्ने उ स्वयंबाट परिचालित एक उपकरण मात्र हो । तसर्थ हामीले हाम्रा विचारहरु जस्तो प्रकारका बनाउँछौं हाम्रो शरीरका सबै आयामहरुबाट वाहिर प्रवाहित हुने उर्जाका तरंगहरु र यसबाट उत्पन्न हुने तथा बन्ने उर्जा क्षेत्र तथा आभामण्डल पनि त्यस्तै प्रकारको हुन्छ । हाम्रो विचारहरु सकारात्मक छन् भने उर्जाको क्षेत्र तथा आभामण्डल पनि शुद्ध, सफा, चम्किलो, सक्रिय र सन्तुलित हुन्छ । तसर्थ आफूमा सकारात्मक विचारहरुको प्रवाह बढाउन आफूले आफैंलाई समय-समयमा सकारात्मक आत्मसन्देशहरु दिरहनु आवश्यक हुन्छ । आत्मसन्देश तथा आत्मशक्ति उपचार पद्धति थोरबहुत दृश्यांकन चिकित्सा पद्धति तथा सुक्ष्म चिकित्सा पद्धतिसंग निकट रहेको छ । आत्मशन्देश(अफर्मेसन) आफैंसंग कुराकानी(सेल्फटक) गरेर आफ्नो सन्देश आफैंलाई दिने प्रक्रिया तथा विधि हो । यस चिकित्सा पद्धतिमा आफूले आफूलाई सम्वोधन गर्दै म शुद्ध, बुद्ध, प्रज्ञ, सत्य, नित्य आत्मा अर्थात चेतना हुँ; शरीर, इन्द्रियहरु, मन, भावना, चित्त मेरा हुन्; म यिनको मालिक हुँ; यी सबै मेरो वसमा तथा नियन्त्रणमा छन्; मैले चाहे अनुरुप चल्छन् तथा कर्म गर्छन् आदि भाव मनमा राखेर आफू यिनको मालिक बनेर सहि प्रकारले यिनीहरुलाई आफ्ना संदेश तथा आत्मसन्देश प्रवाह गर्ने गरिन्छ । यदि म सन्तुलित तथा योग प्रकृतिको व्यक्ति हुँ भने मेरो शरीर, इन्द्रियहरु, मन, भावना, चित्तले मैले भनेको मान्छन् र म यिनीहरुको मालिक हुन्छु तर म भोग प्रकृतिको व्यक्ति हुँ भने म यिनीहरुको दाष हुन्छु, यिनीहरु मेरो मालिक हुन्छन् र मैले यिनीहरुले चाहेउनुरूप मानिरहेको हुन्छु । म संसारका विषय, वस्तुहरुको सेवा तथा सुविधाको भोगमा अभ्यस्त भैसकेको छु भने मेरो शरीर, इन्द्रियहरु, मन, भावना, चित्तले मेरो मालिक बनिसकेका हुन सक्छन् र यस्तो अवस्थामा यिनीहरुले आत्मसन्देश तथा आदेश नमान्न पनि सक्छन् । आफू योग तथा भोग जुनसुकै प्रकृतिको व्यक्ति भएको भएपनि आफ्नो जीवनलाई सहज, सरल, सफल, सन्तुलित, सक्रिय र उर्जावान बनाउन र आफूमा सकारात्मक परिणाम ल्याउनका लागि मनबाट आफूलाई सामान्य तथा आमव्यक्ति मानेर विहान, दिउँसो तथा साँझ आफ्नो अनुकुलको समय मिलाएर आफूले आफैंलाई परिस्थिति तथा आवश्यकता अनुसारका सकारात्मक आत्मसन्देशहरु दिने बानी बसाल्नु पर्दछ ।
यस प्रक्रियामा शरीरका सबै आयामहरुको समग्र आरोग्यताका लागि म स्वस्थ छु; म सुखी छु; म खुशी छु; म शान्त छु; म आनन्दित छु; म भाग्यमानी छु; म सुरक्षित छु; म सन्तुलित छु; मसंग सबै कुरा छ तथा म सम्पन्न छु; म सन्तुष्ट छु; म स्वीकार भावले भरिएको छु; सबैले मलाई राम्रो व्यवहार गर्छन्; सबैले मलाई प्रेम, सम्मान र विश्वास गर्छन्, म सक्षम छु; म उर्जावान छु आदि सकारात्मक आत्मसन्देशहरु आफूले आफैंलाई प्रवाह गरेर तथा आफ्नो मन, मस्तिष्क, भावमा यस्ता सकारात्मक आत्मसन्देशहरू प्रवाह गरेर र आफूले आफूलाई स्वस्थ, सुखी, खुशी, समृद्ध, सफल, शान्त, आनन्दित मानेर शरीरका आयामहरुबाट निरन्तर ब्रम्हाण्डमा प्रवाहित भैरहेन उर्जा तथा आभामण्डल शुद्ध, सन्तुलित र सक्रिय बनाउन सकिन्छ । म स्वस्थ छु भन्ने सकारात्मक आत्मसन्देशले आफू सम्पूर्ण किसिमले उर्जावान रहन र आफूमा साहस, जोस, जाँगर, प्रेरणा, आत्मशक्ति तथा आत्मविश्वास बढाउन मद्धत गर्दछ । म सुखी छु भन्ने आत्मसन्देशले भौतिक संसारका विषय तथा वस्तुका सेवा तथा सुविधाहरुको भोगप्रतिको आशक्तिलाई न्यूनिकरण गर्न, नियन्त्रण गर्न तथा सन्तुलनमा राख्न र भोगको जीवनशैली योगउन्मुख जीवनशैली अपनाउन मद्धत गर्दछ । म खुशी छु भन्ने आत्मसन्देशले मनका चन्चलता, असन्तुष्टी, अस्वीकार, अरु र आफूप्रतिको गुनासोबाट उत्पन्न हुने अनियन्त्रित, असन्तुलित र नकारात्मक अतिविचारहरु न्यूनिकरण गर्न, नियन्त्रण गर्न तथा सन्तुलनमा राख्न र मनमा सकारात्मक सोच तथा विचारहरु उत्पन्न गर्न मद्धत गर्दछ । म शान्त छु भन्ने आत्मसन्देशले भावनाका नकारात्मक सम्वेगहरु कामाशक्ति, क्रोध, लोभ, मोह, इष्र्या, राग, द्वेश, क्लेश, घृणा, बदलाको भाव आदि अवस्थाहरुलाई न्यूनिकरण गर्न, नियन्त्रण गर्न तथा सन्तुलनमा राख्न र भावमा सकारात्मक भावना तथा सम्वेगहरु उत्पन्न गर्न मद्धत गर्दछ । म आनन्दित छु भन्ने आत्मसन्देशले आत्मा अर्थात चेतनामा सकारात्मक विषयहरु सिर्जना गर्न मद्धत गर्दछ । म भाग्यमानी छु; म सुरक्षित छु; म सन्तुष्ट छु; म स्वीकार भावले भरिएको छु; म सन्तुलित छु; मसंग सबै कुरा छ तथा म सम्पन्न छु; सबैले मलाई राम्रो व्यवहार गर्छन्; सबैले मलाई प्रेम, सम्मान र विश्वास गर्छन्; म सक्षम छु; म उर्जावान छु भन्ने सकारात्मक आत्मसन्देशहरुले दैनिक जीवनका हरेक गतिविधिहरु, आफूले गर्नुपर्ने कर्तव्य, आफूले गरिरहेको पेशा–व्यवसाय प्रति इमान्दार, अनुशासित, नैतिकवान हुन प्रेरणा प्रदान गर्दछन् । आत्मसन्देश चिकित्सा पद्धतिको माध्यमबाट शरीर, मन, भाव, आत्मा अर्थात चेतना शुद्ध, सन्तुलित र सक्रिय भएको मनुष्यको उर्जा क्षेत्र तथा आभामण्ल पनि स्वतः शुद्ध, सन्तुलित र सक्रिय हुन्छ । यस्तो अवस्थामा उसको चेतना तथा उर्जाको तह तथा स्तर पनि क्रमशः बढ्दै जान्छ र जीवन सहज, सरल, सफल बन्दै जान्छ ।
शान्तिका अग्रदुत भगवान बुद्धले विशेष जोड दिएर भन्नुभएको छ, “मनुष्यका सबै दुःखहरुको प्रमुख कारण उसका अनावश्यक र अनियन्त्रित तृष्णा तथा इच्छाहरु र ज्ञानका नकारात्मक अहंकारहरु हुन् ।” यदि मनुष्यले इच्छाको अनियन्त्रणलाई इच्छाशक्तिमा र ज्ञानको नकारात्मक अहंकारलाई ज्ञानशक्तिमा परिणत गरेर त्यसैको माध्यमबाट जीवनमा केही सकारात्मक तथा महत्वपूर्ण काम गर्न सक्यो भने जीवनको यही सकारात्मक अवस्थाले उसको शरीरका आयामहरुको उर्जा तथा आभामण्डल शुद्ध, सन्तुलित र सक्रिय रहन सक्छ किनकी मनुष्यको उर्जा क्षेत्र तथा आभामण्डल अशुद्ध, निष्कृय तथा असन्तुलित हुने मुख्य कारण उसको समस्याग्रस्त इच्छा र ज्ञानबाट सिर्जित धन, मान, सम्मानको नकारात्मक अहंकार र अनियन्त्रित इच्छा, कामनाहरुका कारण उत्पन्न हुने मानवीय विकार तथा क्लेशहरु नै हुन् । यसर्थ मनुष्यको ज्ञान र इच्छाहरु समस्या र शक्ति दुवै हुन् । सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्दको इच्छा तथा चाहना सबै मनुष्यको जीवनमा हुन्छ । जीवनको सन्तुलित विकासकालागि औपचारिक, अनौपचारिक सबै प्रकारका ज्ञान आर्जन गर्नु र विभिन्न प्रकारका साना–ठूला इच्छा तथा चाहनाहरु राख्नु आवश्यक पनि छ र यो अत्यन्तै स्वाभाविक प्रक्रिया हो । तर मनुष्यको ज्ञान तव समस्या बन्छ जव उसले प्राप्त गरेको ज्ञानलाई व्यवहारिक अभ्यासमा ल्याउदैन र उसमा ज्ञानको नकारात्मक अर्थात अरुमाथि हावी हुने अंहकार चढ्छ किनकी व्यवहारिक अभ्यासमा नआएको ज्ञान नै नकारात्मक अहंकारमा परिणत हुने हो । आफूले आर्जन गरेको ज्ञानलाई व्यवहारिक अभ्यासमा उतार्यो भने उसलाई स्वतः थाहा हुन्छ आफ्नो ज्ञानको गहिराइ र उपयोगिता तथा प्रभावकारिता कति छ र अझै कति आर्जन गर्न वाँकी रहेछ भनेर । यसप्रकार आफूले आर्जन गरेको ज्ञानको वास्तविकता, उपयोगिता र प्रभावकारिता जानेपछि उभित्र नकारात्मक अहंकार उत्पन्न हुदैन । त्यस्तै मनुष्यको इच्छा तव समस्या बन्छ जव आफूले चाहेको कुरा पूरा भैसकेपछि पनि त्यसमा सन्तुष्ट नभएर त्यो भन्दा अझ उच्चस्तरको, महंगो, अरुसंगको तुलना र उसंग भएको जस्तै तथा त्यो भन्दा अझ राम्रो प्राप्त गर्ने इच्छा तथा चाहना बढ्दै जान्छ । ज्ञान र इच्छाको यस्तो अवस्थामा उत्पन्न हुने नकारात्मक अहंकार, असन्तुष्टी, देखासेखी, तुलनाको भाव, अरुप्रति इष्र्या भावले शरीरका आयामहरुको उर्जा तथा आभामण्डल दुषित तथा असन्तुलित हुन थाल्छ र उसको चेतना तथा उर्जाको स्तर घट्न थाल्छ र जीवन असहज तथा जटिल हुन थाल्छ ।
मनुष्यको ज्ञान र इच्छालाई समस्याबाट शक्तिमा बदल्न सकिन्छ । ज्ञान तव शक्ति बन्छ जव प्राप्त ज्ञानलाई आफ्नो जीवानका आवश्यकताहरु पूरा गर्नकालागि व्यवहारिक अभ्यासमा ल्याइन्छ र त्यसबाट सकारात्मक परिणाम तथा उपलव्धिहरु हासिल गरिन्छ । इच्छा तव शक्ति बन्छ जव इच्छालाई आफ्नो जीवनका वास्तविक आवश्यकताहरु पूरा गर्नमा केन्द्रित गरेर अनावश्यक इच्छाहरुको संख्या कम गरिन्छ र बाँकी समय तथा जीवनलाई आन्तरिक शान्ति आर्जन गर्नमा लगाइन्छ । श्रद्धेय योगी विकासानन्द भन्नुहुन्छ, “मनुष्यको जीवनयापन सन्तुलित, सरल, सहज र सफल बनाउनका लागि केवल दुईवटा इच्छा पर्याप्त हुन्छन्– (१)समृद्धि, र (२)शान्ति । समृद्धिको परिभाषा फराकिलो हुनसक्छ व्यक्ति-व्यक्तिको सोच अनुसार तर त्यसको सिमाना आन्तरिक शान्तिको मसिले कोर्नुपर्छ अर्थात समृद्धिलाई त्यहाँसम्म फैलाउनु पर्छ तथा फैलिन दिनुपर्छ जहाँसम्म मेरो आन्तरिक शान्ति कायम रहिरहन्छ ।” मनुष्यको समस्या बनेका ज्ञान र इच्छालाई शक्तिमा परिणत गरेपछि स्वतः उसको शरीरका आयामहरुको उर्जा शुद्ध, सन्तुलित र सक्रिय बन्न थाल्छ, उर्जा क्षेत्र तथा आभामण्डल पनि स्वस्थ, फराकिलो तथा चम्किलो हुन्छ र उसको चेतना तथा उर्जाको स्तर स्वत: बढ्न थाल्छ ।
यसरी आफूले आफैंलाई प्रवाह गरिएका सकारात्मक आत्मसन्देशहरुले र समस्या बनेका ज्ञान र इच्छालाई ज्ञानशक्ति र इच्छाशक्ति तथा समग्रमा आत्मशक्तिमा परिणत गरेर मनुष्यको शरीरका सबै आयामहरुको उर्जा शुद्ध, सन्तुलित र सक्रिय गर्न सकिन्छ । यसरी मनुष्यको शरीरका आयामहरुबाट निरन्तर ब्रम्हाण्डमा प्रवाहित भैरहने उर्जा शुद्ध, सन्तुलित र सक्रिय भएपछि स्वतः उसको उर्जा क्षेत्र तथा आभामण्डल शुद्ध, सन्तुलित र सक्रिय हुन्छ र चेतना तथा उर्जाको तह तथा स्तर बढेर जान्छ र व्यक्तिको जीवन सहज, सरल, समृद्ध, सफल हुदै जान्छ ।
No comments:
Post a Comment