हरितालिका तीज पर्व, २०८२
नेपाली राजदूतावास, म्यान्मार
सनातन धर्म र तीजको कथा वाचन
वाचक, डा. सिर्जना भण्डारी
२४ अगष्ट, २०२५, आइतबार, यांगौन
आजको यस तीज महोत्सव समारोहमा उपस्थित हुनुभएका सम्पूर्ण मान्यनज तथा आमा, दिदी–बहिनीहरुलाई हरितालिका तीज पर्व २०२५, तदअनुसार बि.सं. २०८२ को पावन अवसरमा मेरो अन्तस हृदयबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ! 
सनातन चाडपर्वको पृष्ठभूमि
सनातन हिन्दु धर्मको अत्यन्तै महत्वपूर्ण पर्व हरितालिका तीज ब्रम्हाण्डमा स्थित जीवन र जगतको हरप्रकारले कल्याण गर्न अत्यन्तै महत्वपूर्ण तथा ठूला–ठूला योगदान पुर्याउनु भएका महापुरुषहरु तथा विकसित आत्मा अर्थात चैतन्य चेतनाहरुलाई सम्मान व्यक्त गर्न र वहाँहरुले स्थापित गराउनु भएका वैज्ञानिकतामा आधारित सनातन संस्कार, रिति–थिति, मूल्य–मान्यताहरुलाई अनुशरण गर्दै मनाइने अत्यन्तै महान महत्व बोकेको पर्व हो । हरितालिका तीज पर्व चारदिन मनाउने गरिन्छ– (१)दर खाने, भाद्रपद शुक्ल द्वितिया, (२)हरितालिका तीज ब्रत, भाद्रपद शुक्ल तृतिया, (३)गणेश चौथी, भाद्रपद शुक्ल चतुर्थी, र (४)ऋषि पंचमी, भाद्रपद शुक्ल पंचमी । 
(१)दर खाने 
सनातन वैदिक धर्ममा मनाउदै आइएका सबै चाडपर्वहरु खुशियाली समृद्धिका प्रतिक हुन् । हरकोही मनुष्य सुखी, खुशी तथा सम्पन्न तव हुन्छ जव उसले मिठो खान, राम्रो लाउन, परिवार तथा सम्वन्धिहरुसंग समय बिताएर सुखःदुःख साटासाट गर्न र आफूले मनमा चाहेका गतिविधिहरु स्वतन्त्रतापूर्वक गर्न पाउछ । तीजको पहिलोदिन भाद्रपद शुक्ल द्वितियामा परिवार, आफन्तहरु सबै एकैठाउँमा भेला भएर, मिठो–मसिनो खाएर, राम्रा–राम्रा पहिरनहरु लगाएर, हाँसखेल तथा नाचगान गर्दै एकआपसमा रमाएर शुभकामना आदान–प्रदान गर्दै र हाँसो तथा खुशीयाली साट्दै मनाउने गरिन्छ जसलाई हामी दर खाने भनेर बुझ्दै र मनाउदै आइरहेका छौं  । 
दरको रुपमा मिठो-मिठो खानपिन, राम्रा-राम्रा पहिरन, आ-आफ्ना परिवार तथा सम्वम्धिहरुसंगको भेटघाट, रमाइला पलहरु आदि मनुष्यको भौतिक सम्पन्नता र वाहिरी समृद्धिको मानक तथा मान्यता हो । तर मनुष्य भौतिक शरीर मात्र होइन, आत्मा तथा सुक्ष्म शरीरमा रहेका सात चक्रहरु अनुसार उसको शरीरका सात आयामहरु रहेका छन्- (१)भौतिक तथा स्थुल शरीर, (२)मनस शरीर, (३)प्राणीक शरीर, (४)भावनात्मक शरीर, (५)वौद्धिक शरीर, (६)आत्मिक शरीर, र (७)परम-आत्मिक शरीर । मनुष्य पहिलो नम्बरको दृश्य तथा भौतिक शरीर र बाँकी छ प्रकारका अदृश्य तथा सुक्ष्म शरीर अर्थात आत्माको समिश्रणबाट बनेको हुन्छ । यसकारण उसले केवल दृश्य तथा भौतिक शरीरको मात्र विकास गरेर उ पूर्ण मानव बन्न सक्दैन । पूर्ण मानव बन्नकालागि उसले अदृश्य तथा सुक्ष्म शरीर अर्थात उसको आत्माको पनि विकास गर्नु पर्दछ र यसकालागि उसले धर्म-कर्म, व्रत-तीर्थ, न्यास-ध्यान, ज्ञान-विज्ञान आर्जन र परमात्माको भक्ति गर्नुपर्दछ । यसैकारण भाद्रपद शुक्ल द्वितियाको दिन दर खाएर वाहिरी भौतिक संसारको समृद्धि मनाएको भोलिपल्ट भाद्रपद शुक्ल त्रितियाको दिन स्वयं परमात्मा स्वरुप भगवान तथा भगवती अर्धनारेश्वर शिव-शक्तिको व्रत, पूजा, ध्यान, भक्ति गर्न हरितालिका तीज पर्वको परम्परा चलाइएको हो सबै मनुष्यलाई आ-आफ्नो जीवनमा वाहिरी समृद्धि र आन्तरिक शान्ति आर्जन गर्न सिकाएर समग्र मनुष्यताको कल्याण गर्नका लागि ।
(२)हरितालिका तीज 
हरितालिका शव्द हरित र तालिका (हरित+तालिका) दुई शव्द मिलेर बनेको छ । हरितको अर्थ हरण गर्नु र तालिकाको अर्थ स्त्री सखी तथा मित्रहरु भन्ने हो । भगवती सतीदेवीको पुनरजन्मको रुपमा पृथ्वीलोकमा अवतरित हुनुभएकी भगवती पारवतीको विवाह भगवान विष्णुसंग हुनलागेको समयमा देवाधिदेव महादेवकी महाभक्त भगवती पारवती यो कुरामा राजी नहुनु भएको र वहाँले आफ्ना स्त्री सखीहरुसंग दुःख व्यक्त गर्नुभएको कारण वहाँका सखीहरुले वहाँलाई मद्धत गर्न सबैको आँखा छलेर घरबाट हरण गरेर टाढाको जंगलको गुफामा लगेर लुकाए र गुफामै भगवती पारवतीले देवाधिदेव महादेवलाई पतिको रुपमा पाउँ भनेर अन्न-जल सबै त्यागेर कडा तपस्या गर्नुभयो । देवाधिदेव महादेव वहाँको तपस्याबाट प्रसन्न हुनु भएर दर्शन दिनुभयो र भगवती पारवतीको मनोकामना पूर्ण होस् भनेर तथास्तुको वरदान दिनुभयो । त्यसपश्चात जन्म–जन्मको निकै लामो समयको अन्तरालपछि भगवान र भगवती तथा शिव र शक्ति अर्थात प्रकृति र पुरुष अर्थात महादेव र सती अर्थात महादेव र पारवतीको विवाह तथा महामिलन सम्पन्न भएकोले यो पर्वको नाम हरितालिका राखिएको हो । यो शुभदिन कुशे औंशीको तेस्रो दिन पर्ने भएकोले तीज शव्द जोडेर हरितालिका तीज भनिएको हो । तर यो पर्वको मान्यता यति मात्र नभएर अत्यन्तै बृहद छ र ब्रमहाण्डको जीवन र जगतसंग प्रत्यक्ष सम्वन्धित रहेको छ । ब्रमहाण्डको जीवन र जगतसंग हरितालिका तीज पर्वको कस्तो प्रत्यक्ष सम्वन्ध रहेको छ यसबारे संक्षिप्तमा बुझौं ।
ब्रम्हाण्डको सृष्टि 
सनातन धर्मका मूल शास्त्र वेद, उपनिषद तथा यिनबाट निसृत ग्रन्थहरुका अनुसार ब्रम्हाण्डको सृष्टि हुनुपूर्व सबैतिर अन्धकार मात्र थियो र परमात्मा मात्रै एक्लै अव्यक्त, निर्गुण, निराकार रुपमा ज्योति स्वरुपमा हुनुहुन्थ्यो । एक समयमा परमात्मालाई ‘एकोहम् बहुस्याम(छान्दोग्य उपनिषद)’ अर्थात आफू एकबाट अनेक हुन तथा फैलिन मन लाग्यो र वहाँले आफ्नो ज्योति स्वरुपलाई फैलाउने तथा महाविस्तार गर्ने संकल्प गर्नुभयो । आफूले गरेको संकल्प अनुसार एकैपटक यो सारा ब्रम्हाण्डको सृष्टि गर्न परमात्माले आफ्नो ज्योति स्वरुपलाई महाविस्फोट गराउनु भयो र ठूलो ज्योति तथा प्रकाश र ध्वनिका तरंगहरु फिजाउदै आफूलाई अनन्त आकारमा  व्यक्त गर्नुभयो तथा फैलाउनु भयो जसलाई आधूनिक प्रमात्रा भौतिक विज्ञानले विगव्यांग भन्दछ र प्रमात्रा भौतिक विज्ञानले यो महाघटना आज भन्दा करिव १४ अरव वर्षअघि भएको हो भन्ने अनुमान लगाएको छ । परमात्मा भनेको हामी सबैको आत्माहरुको पनि आत्मा महाआत्मा हो । परमात्माको ज्योति स्वरुपलाई पुरुष भनिन्छ र वहाँले निर्माण गर्नुभएको ब्रम्हाण्डलाई प्रकृति भनिन्छ । हामीले दैनिक रुपमा जीवनयनपन गरिरहेको हाम्रो जीवन र सारा जगत पुरुष अर्थात परमात्मा र प्रकृति अर्थात ब्रम्हाण्डको संयोगले बनेको छ जसलाई शिव-शक्ति अर्थात भगवान शिवको अर्धनारेश्वर स्वरुप मानिन्छ । अव्यक्त, निर्गुण, निराकार रुपमा स्थित रहनुहुने भगवान शिव तथा सदाशिव नै परमात्मा तथा पुरुषको स्वरुप हुनुहुन्छ र भगवती शक्ति ब्रम्हाण्ड तथा प्रकृतिको रुवरुप हुनुहुन्छ । परमात्मा स्वरुप शिवको व्यक्त, गुण तथा आकार स्वरुप देवाधिदेव महादेव हुनुहुन्छ र परमात्मा स्वरुप शक्तिको व्यक्त, गुण तथा आकार स्वरुप भगवती सतीदेवी हुनुहुन्छ तथा पछिल्लो जन्ममा सतीदेवीकै पुनरजन्म भगवती पारवती हुनुहुन्छ । सनातन वैदिक शास्त्र वेद, उपनिषद, पुराणहरुका अनुसार स्वयं परमात्माका स्वरुप पुरुष अर्थात सदाशिव अर्थात देवाधिदेव महादेव अर्थात संहार तथा प्रलयका देवता महेश्वर अजन्मा, अमर, अजर, नित्य, शाश्वत र अपरिवर्तनशील, स्वयम्भु(स्वनिर्मित) हुनुहुन्छ तर परमात्मा स्वरुप शक्ति अर्थात ब्रम्हाण्ड अर्थात प्रकृति अर्थात सतीदेवी ब्रम्हाका मानस पुत्र दक्षप्रजापतिकी पुत्री भएर जन्मिनुअघि नै १०८ पटक जन्म लिसक्नु भएको भन्ने विषय उल्लेख गरिएको पाइन्छ । सनातन हिन्दु धर्ममा १०८ संख्याको महत्व र सन्दर्भ यही विशेष अवस्थासंग सम्वन्धित रहदै आएको पाइन्छ र देवाधिदेव महादेवले गलामा धारण गर्नु भएको १०८ मुण्डमाला भगवती शक्ति अर्थात सतीदेवीका १०८ जन्म हुन् भन्ने उल्लेख रहेको पाइन्छ । सनातन धर्म-संस्कृतिमा १०८ जप मालाको परम्परा र यसको दिव्यता पनि यही अलौकिक विषयसंग सम्वन्धित रहेको मानिदै आइएको छ । 
देवाधिदेव महादेवको विक्षिप्तता भंग
ब्रम्हाण्डको जीवन र जगत सुचारु रुपले चलिरहेको थियो तर जव पारिवारीक कुरामा मनोमालिन्य भएकाे कारण भगवती सतीदेवीले अग्निआफ्नो शरीरमा अग्नि उत्पन्न गरि आत्मदाह गरेर प्राण त्याग गर्नुभयो । यो महाबिनासको दुर्घटनापछि देवाधिदेव महादेव सतीदेवीको प्रेम वियोगमा चरम शोकले विक्षिप्त हुनुभयो तव ब्रम्हाण्डको जीवन र जगतको सन्तुलनमा हलचल आउन थाल्यो । सर्वकल्याणका कार्यहरु गर्ने सुधारवादी देवगणहरु कमजोर हुनथाले र अरुलाई दुःख दिने बिनासकारी दानवगण सक्रिय र बलियो हुदै गयो । यो अवस्था देवाधिदेव महादेवको विक्षिप्तताको कारणले भएको थियो । देवगणले सरसल्लाह गरेर महादेवलाई सामान्य अवस्थामा ल्याउने जिम्मा सबैभन्दा सुन्दर मानिने देवता कामदेवलाई लगायो । जव कामदेवले समाधिमा मग्न रहनु भएका देवाधिदेव महादेवलाई कामको वाण हान्नुभयो वाण प्रहारले वहाँको समाधि विथोलिएको कारण क्रोधवस देवाधिदेव महादेवको तेस्रो नेत्र तथा दिव्य चक्षु खुल्यो । तेस्रो नेत्रको दिव्य प्रकाशको तेजले कामदेव ठाउँको ठाउँ भस्म हुनुभयो । कामदेवकी पत्नी रतीको पति वियोगका बिलौना सुनेर देवाधिदेव महादेवले वहाँलाई द्वापर युगमा भगवान कृष्णका पुत्र प्रद्युम्नका रुपमा रुक्मिणीको गर्भबाट मनुष्य शरीरमा जन्मिनेछौ भनेर वरदान दिनुभयो । 
देवगणले कामदेवलाई देवाधिदेव महादेवको सतीदेवी वियोगको विक्षिप्तता तोडेर वहाँलाई जीवन र जगतमा फर्काउन तथा सामान्य अवस्थामा ल्याउन जिम्मा दिइएको कारण थियो दानव तारकासुरको बढ्दो शक्ति र अमानवीय अत्याचार । तारकाशुरले ब्रम्हाजीको आराधनामा कडा तपस्या गरेर उसलाई कसैले पनि बध गर्न नसक्ने केवल देवाधिदेव महादेव र भगवती पारवतीका पुत्र कुमार कार्तिकेले मात्र बध गर्न सक्ने भनेर वरदान पाएको थियो तर देवाधिदेव महादेव भगवती सतीदेवीको वियोगमा विक्षिप्त रहनु भएका कारण कुमार कार्तिकेको जन्म झण्डै असम्भव जस्तै थियो । यसरी दानव तारकासुरले पृथ्वीलोकको जीवन र जगतमा अत्यचाचार बढाएर त्राहिमाम मच्चाएका कारण कुमार कार्तिकेको आगमनकालागि देवाधिदेव महादेवलाई जीवन र जगततर्फ फर्काउनु अनिवार्य भएको थियो देवगण र मनुष्यताको सुरक्षा तथा कल्याणका लागि । 
भगवती पारवतीको आविर्भाव 
कामदेवको वाण प्रहारको प्रभावबाट देवाधिदेव महादेवको विक्षिप्तता भंग भएपछि वहाँ बल्ल झल्यास्स भएर जीवन र जगततिर फर्किनु भयो र भगवती सतीदेवीलाई सम्झदै वहाँको आत्माको अवस्था पत्ता लगाउन ध्यानस्थ हुनुभयो । ध्यानमा वहाँले थाहा पाउनुभयो भगवती सतीदेवीले हिमालय पुत्री भगवती पारवतीका रुपमा पुनरजन्म लिनु भएको छ र महादेव पति पाउँ भनेर अनकन्टार जंगलको एक गुफामा एक्लै बसेर अनेक दुःख, कष्टहरु झेल्दै अन्न-जल समेत त्यागेर कडा तपस्या गरिरहनु भएको छ । यो थाहा पाएपछि भगवती पारवतीको कडा तपस्याबाट प्रसन्न भएर देवाधिदेव महादेवले भगवती पारवतीलाई गुफामा दिव्य दर्शन दिनुभयो र वर माग्न आग्रह गर्नुभयो । भगवती पारवतीले हजूरलाई पतिको रुपमा पाउँ भन्नु भएपछि देवाधिदेव महादेवले तथास्तु भनेर वहाँको वर स्वीकार गर्नुभयो र वरदान दिनुभयो । यसरी दिव्य जोडी भगवान शिव र भगवती शक्ति अर्थात देवाधिदेव महादेव र भगवती पारवतीको विवाह तथा महामिलनको संकल्प भएको थियो भाद्रपद शुक्ल तृतियाको दिन । यही महान उपलव्धिको सम्मानमा आज पर्यन्त यस दिन हरितालिका तीज पर्व मनाउदै आइराखिएको छ देवाधिदेव महादेव र भगवती पारवतीको महापुनरमिलन भएको र ब्रम्हाण्डको जीवन र जगतमा शान्ति  तथा अमनचैन आउने सुनिश्चितता भएको दिनको रूपमा ।   
(३)गणेश चौथी
तेत्तीस कोटी अर्थात तेत्तीस प्रकारका देवी–देवताहरु भएका कारण सनातन वैदिक धर्म-संस्कृति अन्तर्गत गरिने वैदिक कर्म–काण्डहरुमा सर्वप्रथम कस्को पूजा–आराधना गर्ने भन्ने शंकट आयो र सबै देवगणहरु यो शंकटको समाधान गर्नकालागि देवाधिदेव महादेव समक्ष पुग्नुभयो । देवाधिदेव महादेवले यो शंकटको समाधानका लागि एउटा प्रतियोगिता प्रस्ताव गर्नुभयो र सबै देवी–देवताहरुलाई भन्नुभयो मर्त्यलोक अर्थात पृथ्वी ग्रहको पूरै परिक्रमा गरेर जो पहिला यहाँ आइपुग्छ उसैको पूजा–आराधना सनातन वैदिक कर्म–काण्डहरुमा सर्वप्रथम गरिनेछ । देवगण देवाधिदेव महादेवको यो निर्णयमा सहमत हुनुभयो र आ–आफ्ना बाहान चढेर पृथ्वी ग्रहको परिक्रमा गर्न भ्रमणमा निस्कनु भयो । तर भगवान गणेश सुस्त गतिमा हिड्ने आफ्नो बाहान मुसो र आफ्नो भद्धा शरीर भएकोले पृथ्वी ग्रहको परिक्रमा भ्रमणमा जान सक्नु भएन । सनातन धर्म-संस्कृतिमा भगवान गणेशलाई ज्ञान, वुद्धि र विवेकका देवताका रुपमा पूजा–आराधना गर्ने गरिन्छ । वहाँले आफ्नो ज्ञान, वुद्धि र विवेकको प्रयोग गर्नुभयो र भगवती पारवती मातालाई आफ्ना पिता देवाधिदेव महादेवको साथमा गएर बस्न आग्रह गर्नुभयो । आफ्ना माता–पितालाई एकैठाउँमा विराजमान गराएर वहाँले माता–पिताका वरिपरि तीन फन्का परिक्रमा गरेर भन्नुभयो, “हे ब्रम्हाण्डका सृष्टिकर्ता स्वयं परमात्माका स्वरुप शिव–शक्ति, मर्त्यलोक अर्थात पृथ्वी ग्रह त अत्यन्तै सानो इकाई हो, मैले सारा ब्रम्हाण्डकै परिक्रमा गरें तीनपटक, ब्रम्हाण्डका अधिपति महाशिव र महाशक्तिको परिक्रमा गरेर, म हजूरहरुलाई ब्रम्हाण्डका मालिकका रुपमा नतमस्तक भएर प्रणाम गर्दछु ।” भगवान गणेशको यस्तो तिक्ष्ण वुद्धिमता देखेर ब्रम्हाण्डका सृष्टिकर्ता स्वयं परमात्मा शिव–शक्ति अर्थात महादेव–पारवती अत्यन्तै प्रसन्न र प्रभावित हुनुभयो ।
पृथ्वी ग्रहको परिक्रमा भ्रमण सकेर सबैभन्दा पहिला भगवान कुमार कार्तिके आफ्नो बाहान मयूरमा चढेर त्यहाँ आइपुग्नु भयो र विस्तारै सबै देवी–देवताहरु आइपुग्नु भयो । प्रतियोगिताको फैसला सुनाउने बेला भयो, देवाधिदेव महादेव र भगवती पारवतीले सनातन वैदिक धर्म-संस्कृतिका सबै वैदिक कर्म-काण्डहरुमा सर्वप्रथम गणेशको पूजा–आराधना गरिनेछ भनेर अन्तिम निर्णय सुनाउनु भयो । यस्तो निर्णय सुनेर सबै देवगणहरु चकित पर्नुभयो र आश्चर्य भावले एकअर्कोको मुख हेर्न लाग्नु भयो, कस्तो फैसला हो यो, पृथ्वीलोकको परिक्रमा गर्न जादै नगएकोलाई यत्रो उपाधि दिइएको भनेर । तव देवाधिदेव महादेव र भगवती पारवतीले भगवान गणेशले प्रस्तुत गर्नुभएकाे महान वुद्धिमताको सबै वृतान्त बताउनु भयो र देवगणहरु सबैले भगवान गणेशको ज्ञान, वुद्धिमता र विवेकको प्रशंसा गर्दै सनातन वैदिक धर्मका सबै कर्म-काण्डहरुमा सर्वप्रथम भगवान गणेशको पूजा–आराधना गरिनेछ भन्ने निर्णय मान्न तयार हुनुभयो । यही महान दिनको सम्मानमा सनातन हिन्दु संस्कृतिमा भाद्रपद शुक्ल चतुर्थीका दिन गणेश चौथी पर्व मनाइदै आइएको छ । 
(४)ऋषि पंचमी
सनातन वैदिक धर्मका मूल शास्त्रहरुमा सप्तऋषिहरु– वशिष्ठ, विश्वामित्र, भारध्वज, अत्रि, गौतम, कश्यप, जमदग्नीको अटुट विवरण रहेको पाइन्छ वहाँहरुले मनुष्यता तथा जीवन र जगताको समुचित व्यवस्था, विकास र सर्वकल्णका लागि निरन्तर गर्नुभएका योगदानहरुको कदर गर्दै । यसैकारण भाद्रपद शुक्ल पंचमीको दिनलाई सप्तऋषिहरुको सम्मानका लागि छुट्याइएको दिन भएकोले ऋषि पंचमी भनिदै आइएको हो । ऋषि पंचमीमा सप्तऋषिहरुको पूजा–आराधना गरेर हामीले आज पर्यन्त मनुष्यता तथा जीवन र जगताको समुचित व्यवस्था, विकास र सर्वकल्याण लागि वहाँहरुले निरन्तर गर्नुभएका महत्वपूर्ण र महानतम योगदानका कार्यहरुको कदर तथा सम्मान गर्दै आएका हौं ।
दत्तिवन अर्थात अपमार्गो वनस्पतिको महिमा 
भाद्रपद शुक्ल पंचमीको दिन स्त्रीहरुसंग सम्वन्धित रजश्वला र दत्तिवन अर्थात अपमार्गो वनस्पतिको पनि अत्यन्तै ठूलो महिमा रहदै आएको छ । यस सन्दर्भमा जनमानसमा एउटा कथा बडो प्रचलित रहदै आएको छ, कथा अनुसार, आपसमा अत्यन्तै प्रेम सम्बन्ध रहेका एक दम्पति थिए, कुनै असाध्य रोगको कारण पतिको अकस्मात मूत्यु भयो । पति वियोगमा विक्षिप्त भएकी पत्नी पनि बिरामी परिन र उनले स्त्रीहरुको मासिक धर्म रजश्वला समेत राम्ररी स्याहार्न सकिनन् र रजश्वला विग्रीएको कारणले उनी अझ थलिदै गइन । यसै क्रममा उनका दाजु भाद्रपद शुक्ल द्वितियामा पारिवारीक खुशी मनाउन, मिठो मसिनु खान भनेर बहिनीलाई बोलाउन आए तर बिमारीका कारण बहिनीको त्यस्तो नाजुक अवस्था देखेर उनले नजिकैका एक अनुभवी वैद्यऋिषिसंग बहिनीको जाँचपडताल र उपचार गराए । उनकी बिरामी बहिनीको उपचारमा वैद्यऋिषिले दत्तिवन अर्थात अपमार्गो वनस्पतिलाई बहुगुणी जडिबुटीका रुपमा अन्य प्राकृतिक सामग्रीहरुसंग मिसाएर प्रयोग गरे र उनलाई सबैप्रकारका बिमारी तथा अस्वस्थताहरुबाट पूर्णतः स्वस्थ तथा आरोग्य बनाए । यसरी दत्तिवन अर्थात अपमार्गो जडिबुटी र अन्य प्राकृतिक सामग्रीहरुको प्रयोग तथा सेवन गरेर उनको असाध्य बिमारी सन्चो भएकोले यो बहुगुणी  वनस्पति र अन्य प्राकृतिक सामग्रीहरुलाई आमरूपमा सबैले प्रयोगमा ल्याएर स्वस्थ रहने सन्देश दिन ऋषि पंचमीको दिन रजश्वला भएका सबै स्त्रीहरुले नजिकैको जलाशयमा गएर अन्य विभिन्न प्रकारका प्राकृतिक समाग्रीहरुसंग मिश्रण गरि दत्तिवनका डाँठ चपाएर, पात शरीरमा दलेर तथा अन्य प्रकारले शरीरका अंगहरुमा प्रयोग गर्दै स्नान गरेर आरोग्य रहनकालागि यो प्रचलन चलाइएको हो भन्ने विश्वास रहदै आएको छ ।
यहाँहरु सबैलाई पुनः हरितालिका तीज पर्वको हार्दिक मंगलमय शुभकामना । धैर्यतापूर्वक धर्म-संस्कृति वाचन श्रवण गर्नुभयो, धेरै धन्यवाद, म मेरो वाणीलाई यहीं विश्राम दिन्छु !
नमस्कार, चेजु टेम्मारे !!
हरि ॐ तत्सत् !!!
No comments:
Post a Comment