डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन
चेतना तथा उर्जाको विकासमा ध्यान साधनाको प्रभावकारिता
विषय प्रवेश
जीवन जिउने क्रममा गरिने सबैजसो गतिविधिहरुबाट हरेक व्यक्तिले आ–आफ्नो जीवनमा आ–आफ्नै रुचि अनुसारका सुख, खुशी, समृद्धि, सफलता, शान्ति र आनन्द खोेज्ने प्रयास गरिरहेका हुन्छन् जुन सबैको साझा विषय हो । सबै व्यक्तिले आ–आफ्नो स्वभाव, स्वभाव अनुसारको जीवनको उद्देश्य तथा लक्ष्य र तत्कालीन अवस्था तथा परिस्थिति अनुसार आ–आफ्नै प्रकारले भौतिक संसार तथा पराभौतिक संसारबाट आ–आफ्नो जीवनमा सुख, खुशी, समृद्धि, सफलता, शान्ति र आनन्द हासिल गर्न चाहेका हुन्छन् । भौतिक संसार जो दृश्य छ जसलाई भौतिक विज्ञानले प्रतिनिधित्व गर्दछ र भौतिक संसार भौतिक विज्ञानका आविस्कार तथा उत्पादनहरुका सेवा तथा सुविधाहरुले भरिभराउ छ विषय तथा वस्तुहरुको भोगकालागि । पराभौतिक संसार जो अदृश्य छ जसलाई अध्यात्म विज्ञानले प्रतिनिधित्व गर्दछ र पराभौतिक संसार अलौकिक, दिव्य तथा चमत्कारिक विषयहरुका इन्द्रियजनित, इन्द्रियातीत तथा भावातीत अनुभव तथा अनुभूतिहरुले भरिभराउ छ परमात्मामा योगकालागि । हरेक व्यक्ति–व्यक्तिविचको चेतना तथा उर्जाको स्तर फरक–फरक हुने भएकोले आ–आफ्नो चेतनाको विकासको तह तथा अवस्था अनुसार उसले भौतिक तथा पराभौतिक संसारलाई कम तथा बढि प्राथमिकता प्रदान गर्दछ र तत् तत् संसारबाट आफ्नो जीवनमा सुख, खुशी, समृद्धि, सफलता, शान्ति र आनन्द हासिल गर्ने अपेक्षा राखेर निरन्तर जीवनका सबै गतिविधिहरु गर्ने गर्दछ ।
वर्तमान युगका धेरैजसो व्यक्तिहरु भौतिक संसारलाई नै सबैथोक मानेर त्यहींंबाट आफ्नो जीवनमा सुख, खुशी, समृद्धि, सफलता, शान्ति र आनन्द खोज्ने प्रयास गर्दछन् । थोरै व्यक्तिहरु भौतिक र पराभौतिक दुवै संसारमा उत्तिकै रुचि तथा झुकाव राख्दछन् र दुवैतिरका विषयहरुलाई आत्मसाथ गरेर आफ्नो जीवनमा सुख, खुशी, समृद्धि, सफलता, शान्ति र आनन्द हासिल गर्ने प्रयास गर्दछन् । अत्यन्तै थोरै तथा नगन्य व्यक्तिहरु मात्र पराभौतिक संसारलाई प्राथमिकतामा राखेर भौतिक संसारप्रति जीवन जिउन आफूलाई चाहिने आधारभूत आवश्यकताका लागि मात्र आश्रीत रहेर तथा भौतिक संसारको न्यूनतम उपयोग गर्दै आफ्नो जीवनको सारा उर्जा, समय, उद्देश्य, लक्ष्य पराभौतिक संसार तथा अध्यात्म साधनामा समर्पित गर्दछन् र त्यहींबाट सहज वर्तमान जीवनकालागि आवश्यक सुख, खुशी, समृद्धि, सफलता, शान्ति र आनन्द हासिल गर्दै यही शरीरको माध्यमबाट यही जीवनमा मोक्ष तथा निर्वाण(इटरनल लिवरेसन)मा उपलव्ध हुने जीवनको आत्यन्तिक लक्ष्य बनाएर आफ्नो जीवनको अधिकांश समय, उर्जा तथा धन ध्यान साधनामै व्यतित गर्दछन् । यो आलेखले अध्यात्म साधनामा आफ्नो जीवनलाई निमज्जित गरेर आफ्नो चेतना तथा उर्जाको स्तरोन्ती तथा चेतनाको विकास गर्दै भौतिक संसारबाट प्राप्त हुने सुख, खुशी, समृद्धि, सफलता, शान्ति र आनन्दलाई न्यूनतम प्राथमिकता दिदै त्यसप्रति वैराग्य तथा वितरागको भावमा तटस्थ रहेर अध्यात्म साधनालाई उच्चतम प्राथमिकतामा राखेर यही शरीरको माध्यमबाट यही जीवनमा मोक्ष तथा निर्वाणमा उपलव्ध हुन चाहने परमात्माप्रति समर्पित अध्यात्म साधकहरुको अनुभव तथा अनुभूतिहरुलाई समेट्ने प्रयास गरेको छ ।
ध्यान साधनाको प्रभावकारिता र उपलव्धिहरु
सनातन अध्यात्म दर्शनले मनुष्यको उर्जा क्षेत्र तथा चेतनाको स्तर बढाउन तथा चेतनाको विकास गर्न ध्यान साधनालाई सबैभन्दा प्रभावकारी प्रक्रिया, विधि तथा माध्यमको रुपमा प्राथमिकता प्रदान गरेको छ । ध्यान साधनामा ध्यानस्थ रहदा साधकलाई धेरै प्रकारका लौकिक तथा अलौकिक, दिव्य तथा चमत्कारिक अनुभव तथा अनुभूतिहरु हुने गर्दछन् र यिनै अनुभव तथा अनुभूतिहरुले उर्जा तथा चेतनाको स्तर वृद्धि गर्न तथा चेतनाको विकास गर्न मद्धत गर्दछन् या भनौ यी अनुभव तथा अनुभूतिहरु ध्यान साधनाका क्रमिक उपलव्धिहरु हुन र साधकको उर्जा तथा चेतनाको विकास भैरहेका प्रामाणिक अवस्थाहरु पनि हुन् । ध्यान साधनामा रहदा उर्जा तथा चेतनाको स्तर वृद्धि तथा चेतनाको विकास हुने क्रममा साधकलाई के–कस्ता अनुभव तथा अनुभूतिहरु हुन्छन् भन्ने सन्दर्भमा धेरै ध्यान साधक तथा अनुभवीहरुले विभिन्न प्रकारका अनुभव तथा अनुभूतिहरु साझा गर्दै आएका छन् र यस सन्दर्भमा पंक्तिकार(म, सिर्जना भण्डारी)का पनि यस्तै–यस्तै प्रकारका अनुभव तथा अनूभुतिहरु रहदै आएका छन् विगत १४–१५ वर्षयता कुण्डलिनी ध्यान साधनाका क्रममा ।
ध्यान साधनाको अवस्थामा डर लाग्छ ?
हिजोआज धेरै साधकहरुको जिज्ञासा रहदै आएको विषय हो यो ध्यान साधनाको अवस्थामा महसुस हुने डर र आनन्द । ध्यान साधनाका क्रममा साधकहरुलाई मिश्रित प्रकारका अनुभव तथा अनुभूतिहरु हुने गर्दछन् । सबै साधकहरुले ध्यान साधनाका क्रममा हासिल हुने विभिन्न प्रकारका अनुभव तथा अनुभूतिहरुबाट खुशी, शान्ति, आनन्द हासिल गर्ने अपेक्षा गरेर ध्यान साधना प्रारम्भ गरेका हुन्छन् । ध्यान साधनाका क्रममा प्रारम्भिक चरणहरुमा हुने लौकिक तथा अलौकिक अनुभव तथा अनुभूतिहरुका सन्दर्भमा पर्याप्त ज्ञानको अभावका कारण केही अवस्थाहरुमा साधकलाई डर लाग्न पनि सक्छ र केही अवस्थाहरुमा आनन्द आउन पनि सक्छ, दुवै प्रकारका अवस्थाहरु अनुभव तथा अनुभूतिमा आउन सक्छन् । डर लाग्ने तथा आनन्द आउने दुवै अवस्थालाई चेतनाको स्तरोन्नती तथा चेतनाको विकास भैरहेको अलौकिक, दिव्य तथा चमत्कारिक अवस्था मानिन्छ । अध्यात्म साधनाबाट प्राप्त हुने उपलव्धिहरु मनुष्यको समग्र जीवनको अर्थात जन्म–जन्मको निरन्तर चलिरहने प्रक्रिया हो । मनुष्यको शरीर जिर्ण तथा वृद्ध भएर शरीरबाट प्राण अर्थात आत्मा छुट्छ तथा उसको मृत्यु हुन्छ र पंचतत्वले बनेको शरीर पंचतत्व तथा प्रकृतिमै मिल्छ तर उक्त शरीरमा रहदा उसले गरेका आध्यात्मिक साधना तथा प्रयासका उपलव्धिहरु उसको आत्मा अर्थात सुक्ष्म शरीरसंगै जान्छन् र उसको पूनरजन्म भएर उ नयाँ शरीरमा आएपछि फेरी त्यहींबाट अध्यात्म साधनाको प्रक्रिया पुनः अगाडि बढ्छ जसरी एउटा विद्यालय परिवर्तन गरेर नयाँ विद्यालयमा जाँदा पूरानो विद्यालयमा पढिसकेको कक्षा नयाँ विद्यालयमा दोहार्याइदैन, त्यो भन्दा अगाडिको कक्षाबाट अध्ययन प्रारम्भ गरिन्छ । साधकले आफ्ना अघिल्ला जन्म तथा पूर्वजन्महरुमा अध्यात्म साधनाको क्रम कहाँ पुर्याएर छोडेको हुन्छ त्यही विन्दुबाट ध्यान साधनाका क्रममा यो जन्ममा चेतना विकासको प्रक्रिया अगाडि बढ्ने हुनाले नै ध्यान साधनाका क्रममा फरक–फरक साधकहरुलाई फरक–फरक प्रकारका अनुभव तथा अनुभूतिहरु हुन्छन् र यो अत्यन्तै स्वाभाविक प्राकृतिक प्रक्रिया तथा अवस्था हो । ध्यान साधनाका अनुभवीहरुका सुझाव अनुसार, कोही साधकले ध्यान साधनाका क्रममा अर्को साधकलाई भएको जस्तो अनुभव तथा अनुभूति आफूलाई भएन, आफूलाई पनि त्यस्तै भैदिए हुन्थ्यो भन्नेतिर आफ्नो मन तथा भावलाई लानु हदैन, यस्तो सोचले आफ्नो चेतनाको विकासमा वाधा पुर्याउन सक्छ । आफूलाई जे–जस्तो अनुभव तथा अनुभूतिहरु भैरहेका छन् यसकालागि परमात्मा अर्थात अस्तित्वलाई कृतज्ञता व्यक्त गर्दै आफू केवल द्रष्टा भएर चुपचाप यी अनुभव तथा अनुभूतिहरुलाई हेरिरहनु पर्दछ बिना कुनै गुनासो र बिना कुनै अपेक्षा तव मात्र ध्यान साधनाको प्रक्रिया स्वाभाविक ढंगले अगाडि बढ्न सक्छ र साधकको चेतनाको विकासले निरन्तरता पाउन सक्छ किनकी वर्तमान अवस्थामा म जहाँ छु त्यो मैले मेरा पूर्वजन्महरुमा कमाएको म स्वयंको कमाइ हो । आध्यात्मिक कमाइ नितान्त आफ्नो हुन्छ किनकी न यो अरुबाट आफूले हासिल गर्न सकिन्छ न अरुलाई आफूले दिन सकिन्छ । हरेक जन्ममा आफ्नोलागि अनिवार्य रुपमा आफैंले गर्नुपर्ने अपरिहार्य कर्म हो अध्यात्म साधना किनकी अरुले गरिदिएको साधनाको प्रतिफल उसैलाई मिल्छ कुनै हालतमा अरुलाई मिल्दैन ।
ध्यान साधनाका क्रममा हुने अनौठा अनुभव तथा अनुभूतिहरु
धेरैजसो साधकहरुलाई ध्यान साधनामा उज्यालो, चम्किलो, सेतो तथा रंगीविरंगी प्रकाशहरु दृश्यमा आउछन् । केही साधकहरुले घण्टी, डमरु, वासुरी बजेको तथा प्रकृतिका आवाजहरु पनि सुन्न सक्छन् । कतिपय अवस्थामा शरीर शुन्य भएको र शरीर छोडेर हावामा तथा आकाशमा उडेको अनुभूति पनि हुन सक्छ । सकारात्मक तथा चमत्कारीक अनुभव तथा अनुभूतिहरुका साथसाथ केही नकारात्मक तथा असहज प्रकारका अनुभव तथा अनुभूतिहरु पनि हुन सक्छन् । कालो सुरुगंमा खसेको जस्तो; कालो छायाँ भएका दृश्यहरुसंग आमना–सामना भएको जस्तो; चित्कार तथा चिच्चाहट, रुवाइ तथा कर्कस आवाजहरु सुनेको जस्तो; केहीले आफूलाई स्पर्श गरेको जस्तो; अग्लो ठाउँबाट खसेको जस्तो; हावाको वेगमा लतारिएको जस्तो; केहीले तानेको जस्तो अनुभव तथा अनुभूतिहरु हुन सक्छन् । ध्यान साधनाका क्रममा कहिलेकाहीं आफैं चिच्याउने, रुने; शरीर चल्ने तथा काम्ने; मस्तिष्कमा झुम्म नशा लागेजस्तो हुने; केही गन्ध तथा दुर्गन्ध आएजस्तो; आँखा खोल्न खोज्दा पनि नखुले जस्तो; वाहिरका गतिविधिहरुमा भैरहेको चहलपहल राम्ररी थाहा नभएको जस्तो आदि प्रकारका अनुभव तथा अनुभूतिहरु पनि हुन सक्छन् । यस्तो अवस्थामा ९९ प्रतिशत साधकहरु ध्यानमा हुने यस्तै अनुभवहरुबाट डराएर ध्यान साधना गर्न बन्द गर्दछन् । केही गलत भैरहेको छ आफूमाथि तथा अज्ञानतावस आफूले केही गलत गरिरहेको, ध्यान साधनाका प्रक्रिया तथा विधि नमिलेको, तरिका नजानेको जस्तो लाग्छ साधकलाई र अन्जानमै ध्यानका यी सुक्ष्म जगतका अनुभवहरुलाई अझ अगाडि बढाउनुको साटो त्याग गर्छ साधकले ध्यान साधना गर्न छोडेर एक अन्जान डरका कारण । तर ध्यान साधनामा हुने यस्ता अनुभव तथा अनुभूतिहरु अत्यन्तै अलौकिक र दिव्य संकेतहरु हुन् जो ब्रम्हाण्ड तथा इश्वरले साधकलाई पठाइरहेको हुन्छ उसलाई उसको चेतना विकासका अगाडिका अवस्थाहरुमा सिढी चढाउनका लागि । यो पोख्त सबुत तथा प्रमाण हो, ध्यान साधनाको प्रक्रिया गहिरिदै गैरहेको र उपलव्धिमूलक बन्दै गैरहेको । ध्यान साधनामा भएका यिनै अनुभव तथा अनुभूतिहरुका उपलव्धिहरुबाट साधकले निकट भविश्यमा आध्यात्मिक छलागं लगाउनेवाला छ तथा अलौकिक उपलव्धि हासिल गर्नेवाला छ भन्ने पोख्त संकेत हो यस्तो अवस्था । यो अवस्थामा साधकलाई अध्यात्म गुरु तथा सदगुरुको सानिध्यता मिल्यो भने उसको साधनाले सहि मार्गनिर्देशन प्राप्त गर्न सक्ने हुनाले उसको चेतनाको विकासमा अझ तिब्रता आउन सक्छ ।
ध्यान साधनामा हुने दिव्य तथा चमत्कारिक अनुभूतिहरु
परमहंश योगानन्दज्यूलाई वहाँका सदगुरु श्रद्धेय श्री युक्तेश्वर महाराजजीले शक्तिपात गर्नुभएपछि योगानन्दज्यूको चेतनामा ब्रम्हाण्डका कयौं अलौकिक, दिव्य तथा चमत्कारिक अनुभव तथा अनुभूतिहरु आइरहे केही घण्टासम्म निरन्तर । ध्यान साधनाको मार्गमा हुने अनुभव, अनुभूति तथा दिव्य संकेतहरु चमत्कारहरुले भरिएका हुन्छन् । यस सन्दर्भमा सनातन वैदिक शास्त्रहरु विशेष गरि उपनिषद, योग दर्शन(पतंजलि योग सुत्र लगायत सबै), तन्त्रहरुको गुढ ज्ञान शास्त्रहरु आदिमा ध्यान साधनाका क्रममा अनुभव तथा अनुभूतिमा आउने दिव्य तथा चमत्कारिक उपलव्धिहरुको सन्दर्भमा विस्तारमा व्याख्या गरिएका छन् । यी सनातन वैदिक शास्त्रहरुमा ध्यान विज्ञान, उर्जा तथा चेतनाको विकासक्रम, उर्जा तथा चेतनाको उन्नत अवस्थाको विज्ञानका सन्दर्भमा सम्पूर्ण ज्ञान, विज्ञानहरु सविस्तार उपलव्ध छन् । प्राचीन वैज्ञानिक सनातन ऋषिहरुले दशौं हजार वर्षअघिनै मनुष्यको अन्तरजगतको यात्रा तथा मनुष्य चेतनाको विराटताको विस्तृत मानचित्र अनेक–अनेक दृष्किोणहरुबाट तयार गरेर त्यसलाई लिपिवद्ध गरिसक्नु भएको छ र वर्तमान समयमा यिनै ज्ञान तथा विज्ञानहरुलाई सन्दर्भ सामग्रीको रुपमा प्रयोग गर्दै आधूनिक भौतिक विज्ञानका नवीनम शाखाहरु– आधूनिक प्रमात्रा भौतिक विज्ञान(क्वान्टम साइन्स), आधूनिक मनोचिकित्सा विज्ञान तथा आधूनिक मनोविज्ञानले नवीनतम ढंगबाट वैज्ञानिक प्रक्रिया तथा विधिहरुमा ढालेर आफ्नै भाषाशैली, दृष्टिकोण तथा पद्धति अनुसार अध्ययन, अनुसन्धन तथा खोजहरु गरेर सनातन अध्यात्मको महाज्ञानलाई अझ परिष्कृत बनाइरहेका छन् अध्यात्म विज्ञानसंग हातेमालो गर्दै ।
ध्यान साधनाको क्रममा साधकको अनुभव तथा अनुभूतिमा आउने सनातन अध्यात्म विज्ञानले उजागर गरेका निम्न प्रकारका अलौकिक, दिव्य तथा चमत्कारिक विषयहरुलाई आधूनिक भौतिक विज्ञानका नवीनतम शाखाहरुले आ–आफ्नै भाषाशैली, दृष्टिकोण तथा पद्धति अनुसार वैज्ञानिक तवरले प्रामाणिक रुपमा पुष्टी गरेर अध्यात्म विज्ञानको महाज्ञानलाई अझ विकसित ढंगले अगाडि बढाइरहेका छन्–(१)ध्यानमा असीम परमशान्ति तथा परमआनन्दको अनुभूति, (२)चेतनाले स्थुल शरीरको त्याग गर्छ, (३)आज्ञा चक्रको जागरण र दिव्य ज्योतिको दर्शन, (४)अहंकारको विघटन र चेतनाको विस्तार, (५)अनाहदनादको श्रवण, (६)आन्तरिक गुरुसंग साक्षातकार र संवाद, (७)द्वेतको अन्त्य र अद्वेत घटित ।
(१)ध्यानमा असीम परमशान्ति तथा परमआनन्दको अनुभूति
ध्यान साधनाको गहिराइमा साधकलाई असीम परमशान्ति तथा परमआनन्दको अनुभव तथा अनुभूति हुन्छ । ध्यान साधनामा हुने यसप्रकारको अनुभव तथा अनुभूति साधारण सांसारिक जीवनका सुख तथा खुशीबाट हासिल हुने भन्दा विलकुल भिन्न प्रकारको हुन्छ । सांसारिक सुख तथा खुशी कुनै वाहिरी वस्तु, व्यक्ति तथा परिस्थितिमा निर्भर गर्दछ जुन वाहिरबाट भित्र(आउटसाइड इन) महसुस हुन्छ र यो क्षणिक प्रकृतिको हुन्छ । तर असीम परमशान्ति तथा परमआनन्द मनुष्यको अन्तरआत्मा अर्थात अन्तरचेतनाबाट प्रष्फुटित भएर वाहिर प्रकट(इनसाइड आउट) हुन्छ र यो केहीले पनि कहिल्यै पनि नहरने दिगो प्रकृतिको हुन्छ । साधकलाई यस्तो लाग्छकि मानौं उ आनन्दको महासागरमा पौडिरहेको छ । यसप्रकारको अनुभव, अनुभूति तथा अवस्थालाई सनातन अध्यात्म विज्ञानको वेदान्त दर्शनमा आत्माको वास्तविक स्वभावका रुपमा उल्लेख गरिएको छ र परमात्मालाई सतचितआनन्द रुवरुप मानिएको छ । सत+चित+आनन्दको वास्तविक अर्थ अस्तित्व+चेतना+आनन्दको रुपमा लगाइएको छ । वास्तविक आनन्द कुनै त्यस्तो अनुभूति तथा तत्व होइन जो मनुष्यले वाहिरबाट प्राप्त गर्न सक्छ, आनन्द मनुष्यको आफ्नै स्वरुप, स्वाभाव तथा प्रकृति हो जो उभित्रै तथा उसको अन्तरजगतमा स्थित हुन्छ । जसरी सूर्यको मूल स्वाभाव प्रकाश, ताप तथा उष्मा उत्पन्न गर्नु तथा प्रदान गर्नु हो त्यसैगरि आत्माको मूल स्वाभाव खुशी, शान्ति, आनन्द उत्पन्न गर्नु तथा प्रदान गर्नु हो ।
अव प्रश्न उठ्न सक्छ खुशी, शान्ति तथा आनन्द मनुष्यको आफ्नै आत्मा अर्थात चेतना तथा आफ्नै अन्तरजगतमा स्थित आफैंभित्र भएको मूल स्वाभाव हो भने हरेक मनुष्यले किन हरसमय खुशी, शान्ति तथा आनन्दको अनुभूति गर्न सक्दैन त ? यस्तो किन हुन्छ भने जसरी सूर्यलाई वादलले ढाकेर सूर्यको प्रकाश, ताप तथा उष्मालाई पूर्णतामा प्रकट हुनबाट रोकेको हुन्छ ठिक त्यसैगरि मनुष्यको आत्मा अर्थात चेतनालाई उसको अन्तःकरण(मन, वुद्धि, चित्त, अहंकार)का विकार तथा क्लेशहरु- काम, क्रोध, लोभ, मोह, राग, द्रवेश, इष्र्या, म, मेरो, मलाई, मैले भन्ने नकारात्मक भावले ढाकेको हुन्छ र आत्मा अर्थात चेतनाको प्रकाश तथा मूल स्वाभाव परमखुशी, परमशान्ति तथा परमआनन्द वाहिर पूर्णतामा प्रकट हुन अवरोध हन्छ । ध्यान साधना त्यस्तो प्रभावकारी तथा परिणाममुखी प्रक्रिया तथा विधि हो जसले आत्मा अर्थात चेतनालाई ढाकेर रोकावट उत्पन्न गर्ने अन्तःकरणका विकार तथा क्लेशलाई विस्तारै न्यूनिकरण गर्दै निश्चित अवधिपछि पूर्णतः हटाइदिन्छ । जव अन्तःकरणका विकार तथा क्लेशहरुको रोकावट हटेर मनुष्यको मन तथा भावमा हुदैआएको कोलाहल शान्त हुन्छ तव आत्मा अर्थात चेतनाको प्रकाश तथा मूल स्वभाव परमखुशी, परमशान्ति तथा परमआनन्द वाहिर प्रकट हुन थाल्छ र ध्यान साधनाको क्रममा साधकलाई बिनाकारण असीम परमखुशी, परमशान्ति तथा परमआनन्दको अनुभव तथा अनुभूति हुन्छ । ध्यान साधनाको गहन अवस्थामा हुने यसप्रकारका असीम परमखुशी, परमशान्ति तथा परमआनन्द अव केवल अध्यात्म दर्शनमा मात्र सीमित नरहेर आधूनिक भौतिक विज्ञानका नवीनतम शाखाहरुले पनि ध्यान साधनाका क्रममा हुने यस्तो प्रकारको आन्तरिक परमखुशी, परमशान्ति तथा परमआनन्द प्राप्तिको रहस्य उजागर गर्दै आइरहेका छन् पछिल्ला वैज्ञानिक अध्ययन, अनुसन्धान तथा खोजका तथ्यांकहरुमा ।
यस सन्दर्भमा वैज्ञानिक व्याख्या
तन्त्रिका विज्ञान(स्नायु प्रणाली और न्यूरो साइन्स)का वैज्ञानिहरुले पत्ता लगाएको तथ्यांक अनुसार जव कोही व्यक्ति ध्यानको गहन अवस्थामा हुन्छ तव उसको मस्तिष्क शक्तिशाली हुदै गएको हुन्छ र यस्तो अवस्थामा उसको मस्तिष्क तथा शरीरमा सुखद अनुभूति दिने प्रकारका खुशीका रसायनहरु(न्यूरो केमिकल्स और ह्यापि हर्मोन्स)–डोपामिन, एन्डोर्फीन्स, डाइमिथाइल ट्रिप्टमिन, अक्सिटोसिन, सेरोटोनीन, मेलाटोनीन र परमखुशी, परमशशान्ति तथा परमआनन्द उत्पन्न गर्ने विशेष प्रकारको हर्मोन आनन्दमाइट्स तथा आनन्दको अणु(एनेण्डामाइट्स, ल्बिस मोलिक्युल) उत्पन्न हुन थाल्छन् । आनन्दमाइट्स रसायन ध्यान साधनाको गहन अवस्थामा मात्र उत्पन्न हुन्छ र यही रसायनले साधकलाई ध्यान साधनामा रहेको अवस्थामा परमखुशी, परमशान्ति तथा परमआनन्दको अनुभूति प्रदान गर्दछ । ध्यान साधनाले मनुष्यको मस्तिष्कको अन्तर्निहित सक्रियता संजाल(डिफल्ट मोड नेटवर्क–डि.एम.एन.)लाई शान्त गरिदिन्छ । अन्तर्निहित सक्रियता संजाल मनुष्यको मस्तिष्कको त्यो हिस्सा हो जुन अतितका नकारात्मक स्मृतिहरुको स्मरण गर्ने, पश्चाताप, अपराधवोध गर्ने, भविश्यको बारेमा डर, चिन्ता, असुरक्षाका अनावश्यक अतिविचारहरु खेलाउने तथा अनावश्यक कुराहरु धेरै सोच्ने र उसको मन तथा एकाग्रतालाई भड्काउन जिम्मेदार हुन्छ । समग्रमा भन्नु पर्दा मनुष्यका सबैप्रकारका दुःखहरुको श्रोत यही अन्तर्निहित सक्रियता संजालमा निरन्तर चलिरहने कोलाहल नै हो । यस सन्दर्भमा श्रद्धेय सन्त जे.कृष्णमूर्तिले भन्नु भएको छ, “मानिस हड्डिमांसको स्थुल शरीर होइन, शरीर त केवल उपकरण तथा हार्डवेयर मात्र हो, सबै कुरा गर्ने त सफ्टवेयर अर्थात उसको मनमा चल्ने विचारहरुले हो, तसर्थ, वास्तविक मनुष्य त्यो हो जे उसको विचारमा चलिरहेको हुन्छ । मनुष्य ठिक त्यस्तै बन्छ जस्तो विचार उसको अन्तरजगतभित्र अर्थात उसको मन तथा भावमा निरन्तर चलिरहेको हुन्छ ।”
सहि प्रक्रिया, विधि तथा पद्धतिभित्र रहेर गरिने ध्यान साधनाले मनुष्यको मस्तिष्कको विविध प्रकारका नकारात्मकताहरुमा भड्किने डि.एम.एन. मोड तथा अवस्थालाई सन्तुलित गर्दछ । मस्तिष्कको यो मोड तथा अवस्था सन्तुलित भएपछि मनुष्यको आत्माको प्राकृतिक स्वभाव आन्तरिक खुशी, शान्ति तथा आनन्दको अवस्था स्वतः प्रकट हुन प्रारम्भ हुन्छ । तर यहाँनेर बुझ्नु पर्ने महत्वपूर्ण कुरा के छ भने, ध्यान साधनाको गहन अवस्थामा साधकको अनुभव तथा अनुभूतिमा आउने आन्तरिक खुशी, शान्ति तथा आनन्दको अवस्था ध्यानले साधनाले खुशी, शान्ति तथा आनन्द उत्पादन गरेर भएको होइन । ध्यान साधनाले अन्तर्निहित सक्रियता संजालमा चलिरहने ती मानसिक तथा भावनात्मक विकार, क्लेश तथा वाधाका कोलाहलहरुलाई न्यूनिकरण गरिदिएको तथा हटाइदिएको कारणले मनुष्यको मनस्थिति तथा भावास्थिति शुद्ध, सन्तुलित तथा सक्रिय भएर उभित्रै स्थित रहेको उसको आत्माको स्वभाविक खुशी, शान्ति तथा आनन्द वाहिर प्रष्फुटित भएको हो जसलाई यसअघि मानसिक तथा भावनात्मक विकार, क्लेश तथा वाधाहरुले रोकिरहेका थिए । यसकारण ध्यान साधनाको गहन अवस्थामा यदि असीम परमखुशी, परमशान्ति तथा परमआनन्द अकारण आभास तथा महसुस हुन थाल्यो, अनुभव तथा अनुभूतिमा आउन थाल्यो भने यो स्पष्ट संकेत हो व्यक्ति ध्यान साधनाको माध्यमबाट उसको अन्तरमन तथा अन्तरभावनामा चलिरहने हल्लाखल्ला, कोलाहल, बेचैनीलाई न्यूनिकरण गर्न तथा हटाउन सफल हुदै गएको छर यसैकारण उसको चेतना तथा उर्जाको स्तरोन्नती तथा चेतनाको विकास भैरहेको छ र उ आध्यत्मिक जागरणमा उत्साहजनक किसिमले अगाडि बढिरहेको छ ।
छिट्टै,
(२)चेतनाले स्थुल शरीरको त्याग गर्छ, (३)आज्ञा चक्रको जागरण र दिव्य ज्योतिको दर्शन, (४)अहंकारको विघटन र चेतनाको विस्तार, (५)अनाहदनादको श्रवण, (६)आन्तरिक गुरुसंग साक्षातकार र संवाद, (७)द्वेतको अन्त्य र अद्वेत घटित ।
No comments:
Post a Comment