'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Friday, 15 August 2025

आभामण्डल तथा उर्जा क्षेत्रको स्तर कसरी बढाउन सकिन्छ ? खण्ड -११

डासिर्जना भण्डारी

 #अध्यात्म_दर्शन #जीवन_दर्शन 
 

आभामण्डल तथा उर्जा क्षेत्रको स्तर कसरी बढाउन सकिन्छ ? खण्ड -१० को निरन्तरता

चेतना तथा उर्जाको विकासमा ध्यान साधनाको प्रभावकारिता

(२)चेतनाले स्थुल शरीरको त्याग गर्छ
ध्यान साधनाको गहन अवस्थामा साधकहरुलाई भौतिक शरीरबाट आफू अर्थात आत्मा छुटेको जस्तो अनुभूूति हुन सक्छ । यो ध्यान साधनाको अवस्थामा भौतिक अर्थात स्थुल शरीरबाट आत्मा अर्थात सुक्ष्म शरीर अलग भएको(आउट अफ बडी एक्सपेरियन्स–ओ.बि.इ.) अनुभूतिको अवस्था हो । यसप्रकारको अनुभूति तथा अवस्था गहिरो ध्यान साधनाको गहन तथा चमत्कारिक उपलव्धि हो जसमा साधकलाई अचानक यस्तो अनुभूति हुन्छकि यो भौतिक जगत तथा भौतिक शरीर भन्दा वाहिर रहेर वरिपरिको अवस्था र स्वयं आफ्नो भौतिक अर्थात स्थुल शरीरलाई देखिरहेको हुन्छ । यस्तो अनुभूति भैरहदा साधकलाई अदभूत हल्कापन र आफू चारैतिर विस्तार भैरहेको तथा फराकिलो हुदै फैलिदै गैरहेको महसुस हुन्छ । सनातन वेदान्त दर्शनको अनुसार हरेक मनुष्यको वास्तविक अस्तित्व केवल स्थुल शरीरसम्म मात्र सिमित छैन, स्थुल शरीरका धेरै प्रकारका सीमाहरु हुन्छन् तर सुक्ष्म शरीरको सीमा हुदैन । मनुष्य सुक्ष्म शरीरका रुपमा विराट अस्तित्वमा ब्रम्हाण्ड भरिनै फैलिएको हुन्छ किनकी हरेक मनुष्य स्वयं नै ब्रम्हाण्ड हो, उभित्रै ब्रम्हाण्डको सारा ज्ञान निहित हुन्छ, मनुष्यको भौतिक शरीर केवल ब्रम्हाण्डको उर्जालाई चलायमान गराइराख्ने एकप्रकारको जड पदार्थ तथा यन्त्र अर्थात उपकरण मात्र हो जसलाई उसको सुक्ष्म शरीर अर्थात आत्मिक शरीर अर्थात चेतनात्मक शरीरले परिचालित गरिरहेको हुन्छ अदृश्य रुपमा । 


सनातन अध्यात्म दर्शनका अनुसार सांसारिक र पारमार्थिक रुपमा मनुष्यका तीन प्रकारका शरीरहरु रहेका हुन्छन्– (१)भौतिक अर्थात स्थुल शरिर, (२)आत्मा अर्थात सुक्ष्म शरीर, (३)संस्कार अर्थात कारण शरीर । भौतिक अर्थात स्थुल शरीर त्यो हो जसलाई ज्ञान इन्द्रियहरुको माध्यमबाट सबैप्रकारले प्रत्यक्ष अनुभव गर्न सकिन्छ; आत्मा अर्थात सुक्ष्म शरीर त्यो हो जुन अन्तःकरण(मन, वुद्धि, चित्त, अहंकार)ले निर्मित भएको हुन्छ; र संस्कार अर्थात कारण शरीर त्यो जुन मनुष्यको जन्म–जन्मका कर्महरुबाट निर्मित भएका उसका पूराना संस्कारहरुका स्मृतिहरुका करण निर्माण भएको हुन्छ जो अचेतन मन अर्थात अध्यात्म विज्ञानको भाषामा अतिचेतन तथा पूर्णचेतन मनमा संग्रहीत भएर बसेका हुन्छन् । यिनै पूर्व जन्मका कर्म तथा संस्कारहरुका कारण अर्थात कारण शरीरका अनुसार मनुष्यको पूनरजन्म कहाँ, कुन भूगोल तथा कुन परिवार, कुन कुल, कुन समाज तथा धर्म–सम्प्रदायमा हुने भन्ने तय हुन्छ । सनातन अध्यात्म दर्शनका मूल शास्त्रहरुमा उल्लेख गरिए अनुसार मनुष्यको वर्तमान जन्म तथा जीवनमा पूराना संस्कारहरुका स्मृतिहरुको ६६ प्रतिशत प्रभाव रहेको हुन्छ, त्यसमध्य ३३ प्रतिशत प्रत्यक्ष तथा प्रारव्ध कर्महरु जो पाकिसकेका र परिणाम दिन तथा फलित हुन तयारी अवस्थामा रहेका हुन्छन् र वाँबी ३३ प्रतिशत अप्रत्यक्ष संचित कर्महरु जो पाक्न बाँकी नै रहेका हुन्छन्, विस्तारै पाक्दै जान्छन् र आगामी पूनरजन्महरुमा परिणाम तथा फल दिन योग्य हुन्छन् । आधूनिक मनोविज्ञान पनि मनुष्यका विगतका जन्महरुका कर्म तथा संस्कारहरुको यो अंश तथा मात्रा बिभाजनसंग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा राजी भएको छ । आधूनिक मनोविज्ञानका पिताश्री सिग्मण्ड फ्रायडको आलंकारीक मनोविज्ञान र आइसवर्गको सिद्धान्त अध्यात्म विज्ञानको यही मान्यताको निरन्तरताको रुपमा मान्न सिकन्छ या भनौ मानिदै आइएको छ । 


यस सन्दर्भमा वैज्ञानिक व्याख्या

ध्यान साधनाको गहन अवस्थामा मनुष्यको मस्तिष्क तथा स्नायु प्रणालीमा अकल्पनिय तथा चमत्कारिक बदलाव आउछ भन्ने तथ्यगत विषयमा आधूनिक भौतिक विज्ञानका नवीनतम शाखाहरु पनि राजी छन् । यस सन्दर्भमा विश्वका ठूला–ठूला स्वास्थ्य तथा चिकित्सासंग सम्वन्धित संस्थाहरु; शैक्षिक संस्थाहरु; र वैज्ञानिक अध्ययन, अनुसन्धान तथा खोज गर्ने संस्थाहरुले दशकौंदेखि खोज गर्दै पूर्वीय सनातन अध्यात्म विज्ञानले दशौं हजार वर्ष अघि उजागर गरेका प्रामाणिक तथ्यांकहरुसंग मेल खाने प्रकारका हजारौं नतिजाहरु सार्वजनिक गरिसकेका छन् । यी तथ्यांकहरुका अनुसार ध्यान साधनाको विशेष अवस्थामा जव मनुष्यको चेतना वाहिरी संसारबाट हटेर अन्तरमुखी हुन थाल्छ तव उसकोे पहिचान म स्थुल शरीर हुँ भन्ने भ्रमबाट हटेर म सुक्ष्म शरीर अर्थात आत्मिक शरीर अर्थात चेतनात्मक शरीर हुँ भन्ने सनातन शाश्वत सत्य तथा भावसंग अत्यन्तै दृढताकासाथ जोडिदै जान्छ । यो कुनै अप्राकृतिक घटना नभएर ध्यानको गहन तथा भावातीत अवस्थामा हुने स्वाभाविक परिणाम तथा उपलव्धि हो । 


वर्तमान समयमा आधूनिक भौतिक विज्ञानले पनि ध्यानको गहन अवस्थामा हुने यस्तो प्रकारको अनुभव तथा अनुभूतिका सन्दर्भमा वैज्ञानिकतामा आधारित धेरै प्रमाणिक तथ्यांकहरु उजागर गरेका छन तर आधूनिक भौतिक विज्ञानका अध्ययन तथा खोजहरुले यस विषयलाई प्रस्तुत गर्ने भाषा तथा दृष्टिकोण सनातन अध्यात्म विज्ञानको भन्दा भिन्न रहेको छ तर विषयको अन्तर भाव भने दुवै विद्याको एकै हो । अध्यात्म विज्ञानले दशौं हजार वर्षअघि उजागर गरेको यो प्रामाणिक तथ्यलाई आधूनिक मनोविज्ञान र तन्त्रिका विज्ञान तथा स्नायु प्रणाली(न्यूरो साइन्स)ले ध्यान साधनाको समयमा मनुष्यको मस्तिष्क तथा स्नायु प्रणालीमा हुने यसप्रकारको स्थुल शरीरबाट सुक्ष्म शरीर अलग भएको महसुस तथा अनुभूतिलाई एक विघटनकारी अवस्था तथा अनुभव(डिसओसिटीक एक्पेरीयन्स) रुपमा हेर्छ जो मस्तिष्कको एक विशेष अवस्थामा घटित हुने गर्दछ । वैज्ञानिकहरुले विभिन्न वैज्ञानिक अध्ययन, अनुसन्धान तथा खोजमा यो पत्ता लगाइसकेका छन्कि मनुष्यको मस्तिष्कमा एक विशेष स्थान हुन्छ सामाजिक विकासको दिमाग(टेम्पोरोपेरीएटल जंसन– टि.पि.जे) जसले मनुष्य कहाँ स्थित छ भन्नेबारे वोध गराउदछ । ध्यान साधनाको गहन अवस्थामा जव इन्द्रियहरुको माध्यमबाट निरन्तर प्राप्त भैरहने वाहिरी सूचनाहरुबाट मनुष्यका सम्पर्क टुट्दै तथा विच्छेद हुदै जान्छ तव मस्तिष्कको यो हिस्साको गतिविधिमा विशेष प्रकारको बदलाव आउन थाल्छ र उसलाई आफ्नो भौतिक शरीरभन्दा वाहिर भएको अनुभव हुन्छ । अनुभव गर्ने वास्तविक उ अर्थात आत्मा अर्थात चेतना हो किनकी शरीर त स्थुल यन्त्त तथा उपकरण मात्र हो वास्तविक मनुष्य तथा ‘उ’ त आत्मा अर्थात चेतना हो । सनातन अध्यात्म दर्शनले हजारौं वर्षअघिदेखि योग विज्ञानका वैज्ञानिकतामा आधारित प्रक्रिया, विधि तथा पद्धतिहरुको अनुशरण गरेर ध्यानको यो अवस्था हासिल गर्न प्रत्याहार गर्नु तथा इन्द्रियहरुको निग्रह गर्नु तथा इन्द्रियहरुलाई आफूतिर फर्काउनु भन्दै आइरहेको छ जसको सिधा अर्थ मनुष्यको चेतनालाई उसका इन्द्रियहरुको माध्यमबाट निरन्तर प्राप्त भैरहने वाहिरी सूचनाहरुबाट सम्पर्क टुटाएर तथा सम्पर्क विच्छेद गराएर आफूतिर फर्काउनु भन्ने भावसंग सम्वन्धित रहेको छ ।


वर्तमान समयमा आधूनिक मनोचिकित्सा विज्ञान तथा आधूनिक मनोविज्ञानले मस्तिष्कको यही अवस्था तथा प्रक्रियालाई तन्त्रिका विज्ञान तथा स्नायु प्रणालीको माध्यमबाट वैज्ञानितामा आधारित भएर प्रमाणिक रुपमा बुझाउने प्रयास गरिरहेका छन् । अध्यात्म विज्ञान र आधुनिक विज्ञान दुवै विद्याका अध्ययनहरुले फरक भाषा तथा दृष्टिकोणबाट एउटै सत्यमा लिएर गैरहेका छन् । हामीले यस सन्दर्भमा आफ्नो अध्ययनको दायरा बढाएर उदार दृष्टिकोण तथा भावकासाथ प्राचीन र नवीन अध्ययनका खोजका नतिजाहरुलाई आत्मसाथ गर्दै विषयको गहिराई बुझेर ध्यान साधनामा अभ्यासहरु गर्दै जानु, आफूले बुझ्दै जानु र आफूले बुझेका विषयहरु अरुलाई बुझाउदै जानु समय सान्दर्भिक र सबैकालागि लाभकारी हुन्छ । तसर्थ ध्यान साधनाको गहिराईमा चेतना अर्थात आत्माले स्थुल शरीर छोडेको अनुभव तथा अनुभूति भयो भने नआत्तिकन यसलाई सामान्य तथा प्राकृतिक प्रक्रियाको रुपमा बुझेर यसप्रकारका अनुभव तथा अनुभूतिहरुलाई एक द्रष्टा तथा साक्षी बनेर हेरिराख्नु पर्दछ किनकी यो मनुष्यको चेतना तथा उर्जाको स्तरोन्नती भएको तथा चेतना विकसित हुदै गरेको ‘मृत्र्योरमा अमृतमगमय’ यात्रा तर्फको अलौकिक तथा दिव्य कदमको प्रारम्भिक सिढी हो । यस्तो अवस्थामा नआत्तिकन अध्यात्म विज्ञानका जानकार सिद्ध सदगुरुहरु र आधूनिक विज्ञानका जानकार मनोचिकित्सक तथा मनोविज्ञहरुको सानध्यिमा रहेर, यस विषयको अन्तर्य बुझेर, ध्यान साधनाको आफ्नो अलौकिक यात्रालाई निरन्तरता दिनु सबैकालागि हितकर हुन्छ किनकी ध्यान साधनाले केवल ध्यान गर्ने साधकलाई मात्र नभएर उसले ध्यान साधनामा आर्जन गरेको सकारात्मक ब्रम्हाण्डिय महाउर्जाले आफू वरिरिको वातावरण तथा पर्यावरण, विश्व, प्रकृति तथा समग्र ब्रम्हाण्डलाई नै लाभ पुर्याइरहेको हुन्छ ।


(३)आज्ञा चक्रको जागरण र दिव्य ज्योतिको दर्शन

ध्यान साधनामा साधनारत रहेको समयमा सकेसम्म हाम्रा भौतिक ज्ञान इन्द्रियहरुलाई सबै प्रकारका वाहिरी सूचना तथा जानकारीहरुबाट अलग राखेर एकाग्रता साध्ने प्रयास गरिन्छ । वाहिरी आँखा(चर्म चक्षु) बन्द गरेर एकाग्रतामा ध्यानस्थ भएपछि ध्यान साधनाको गहन अवस्थामा साधकको तेस्रो आँखा(दिव्य चक्षु) खुल्ने प्रक्रिया प्रारम्भ हुन्छ र दिव्य चक्षुको माध्यमबाट साधकलाई विभिन्न प्रकारका रंगीविरंगी प्रकाशहरुको दर्शन हुन थाल्छ जुन अवस्थालाई ध्यान साधनामा भैरहेको चेतनाको स्तरोन्नती तथा विकासक्रमको अर्को अत्यन्तै महत्वपूर्ण परिणाम तथा उपलव्धिका रुपमा मानिन्छ । ध्यान साधनाको क्रममा धेरै साधकहरुलाई दुई आँखीभौंको विचमा तथा आज्ञा चक्र स्थित भएको भु्रमध्य क्षेत्रमा केही खिचाव तथा समवेदनाको महसुस हुन्छ र त्यही स्थानमा तथा त्यसको वरिपरि उसले दिव्य प्रकाशका विभिन्न रंगका ज्योति, विन्दु, प्रकाशका पुञ्ज तथा तरंगहरुको दर्शन पाउन थाल्छ । यस्तो दिव्य प्रकाश एकै रंगको हुनपनि सक्छ, दुई वा दुई भन्दा बढि रंगहरु मिसिएको इन्द्रनीको रंग जस्तो देखिन पनि सक्छ । ध्यान साधनामा देखिएका दिव्य रंग तथा प्रकाशहरु स्थिर हुनपनि सक्छ, घुमेको तथा चलायमान प्रतित हुनपनि सक्छ । ध्यान साधनाका अनुभवीहरुका अनुसार प्राय यसरी ध्यान साधनाको गहन अवस्थामा आज्ञा चक्र तथा दिव्य चक्षुको माध्यमबाट देखिने दिव्य प्रकाशहरुको रंग चम्किलो सेतो, क्रिम, गुलावी, प्याजी, निलो, हरियो, सुनौलो, सुन्तले, रातो रंगका हुन सक्छन् ब्रम्हाण्डिय महाउर्जाका मूल शक्तिकेन्द्र सात चक्रका सात रंगहरु जस्तो किनकी ध्यानको गहिराइमा चक्रहरुकै रंगहरु साधकको दृश्यमा देखिन्छन् भन्ने मान्यता रहेको छ सनातन अध्यात्म दर्शनशास्त्रका विवरणहरुमा । 


योग विज्ञान तथा तन्त्र साधनाको विज्ञानमा यो अवस्थालाई साधकको आज्ञा चक्र तथा दिव्य चक्षुको जागरण भएको अलौकिक तथा पराभौतिक अर्थात आध्यात्मिक प्रगति अर्थात चेतनाको विकास भएको अवस्थाको रुपमा अथ्र्याइएको तथा उल्लेख गरिएको पाइन्छ । आज्ञा चक्र, तेस्रो आँखा, दिव्य चक्षु तथा शिव नेत्र मनुष्यको दिव्य दृष्टि, अन्तरज्ञान(इन्ट्यिुसन) तथा सहज ज्ञान तथा प्रज्ञाको मूलकेन्द्र हो । ध्यान साधनाको माध्यमबाट जव साधकको चक्र तथा नाडीहरुमा निरन्तर प्रवाहित भैरहने ब्रम्हाण्डिय महाउर्जा अर्थात समष्टि शक्तिको व्यष्टि स्वरुप कुण्डिलिनी शक्ति तथा चेतना तथा उर्जा उर्धोमुखी भएर तलका पाँच चक्रहरु क्रमशः मूलाधार, स्वाधिष्ठान, मणिपूर, अनाहद, विशुद्धि चक्रलाई भेदन गर्दै आज्ञा चक्रमा पुगेर केन्द्रित हुदै जान्छ तव उसको आज्ञा चक्र सक्रिय तथा जाग्रीत हुन थाल्छ । यसरी आज्ञा चक्र सक्रिय तथा जाग्रीत हुने क्रममा साधकलाई आफैंभित्र रहेका आन्तरिक दिव्य प्रकाशहरु विभिन्न रंगमा उसको दृश्यमा आउन थाल्छन् । धेरै ध्यान साधक तथा सन्त, योगी, महात्मा तथा चेतना विकसित भएका चैतन्य पुरुष(विकसित आत्मा अर्थात चेतना)हरुले यो अवस्थामा प्राय निलो रंगकोविचमा पाँच कोण भएको षटकोण आकारको सेतो तारालाई सुनौलो रंगले घेरेर बनाएको आकर्षक प्रकाशपुञ्जको रुपमा दृश्यमा आउने वर्णन गरेका छन् । ध्यान साधनामा यसप्रकारका रंगीविरंगी दिव्य प्रकाशका दिव्य दृश्यहरु देखिनु अत्यन्तै शुभ संकेत मानिन्छ । सनातन अध्यात्म दर्शनका अनुसार  यसको सिधा अर्थ हो साधक क्रमशः सांसारिक जीवनको भौतिक चेतनाबाट माथि उठेर सुक्ष्म तथा पारमार्थिक जगतको चैतन्यताको यात्रामा निरन्तर अग्रसर भैरहेको ‘तमसोमा ज्योर्तिगमय’को अत्यन्तै महत्वपूर्ण क्षणमा पुगेको अवस्था मानिन्छ किनकी आध्यात्मिक प्रगतिमा ध्यान साधनामा सादा प्रकाश, रंगीविरंगी प्रकाशका ज्योति तथा विन्दुहरु, प्रकाशका ज्योतिपुञ्जहरु तथा तरंगहरुको दर्शन हुनु अत्यन्तै गहन उपलव्धि र उत्साहप्रद अवस्था मानिन्छ तर यो अन्तिम गन्तव्य भने होइन । 


अक्सर गरेर ध्यान साधकहरु साधनाबाट हासिल भएका तिनै उपलव्धिहरुमा यतिविधि रमाएर बस्छन्कि उनीहरु त्यही अवस्थालाई नै आफ्नो अन्तिम उपलव्धि तथा गन्तव्य मान्न र ठान्न थाल्छन्, बारबार तिनै प्रकाशका दृश्यहरुलाई देख्ने अपेक्षा राख्छन् जसले उनीहरुको ध्यान साधना र अगाडिको आध्यात्मिक यात्रामा रोकावट उत्पन्न हुन जान्छ र उनीहरु त्यही अवस्थामा अड्किरहन्छन् । बौद्ध दर्शनमा ध्यान साधनाको क्रममा अनुभूतिमा आउने यस्तो अनुभव तथा अवस्थालाई मारक्यु भनिएको छ र शिष्य तथा साधकहरुलाई यसप्रकारको अनुभूतिमा ध्यान नदिन र यस्तो अवस्थाबाट अगाडि बढेर आफूलाई ध्यान साधनामा अझ गहिरो डुब्न सल्लाह दिइन्छ ताकि उनीहरुमा साधनाका उपलव्धिहरुलाई लिएर अहंकारको जन्म हुन नपाओस । यस्तो अनुभव तथा अवस्था आयो भने इश्वरलाई धन्यवाद, कृतज्ञता भाव प्रकट गर्दै त्यो अवस्थालाई आफ्नो चेतनाको विकासको एक महत्वपूर्ण कडीको रुपमा मानेर त्यसप्रति आशक्त नभईकन आफ्नो आत्यन्तिक गन्तव्यमा अगाडि बढ्नु पर्छ भन्ने मार्गनिर्देश गरिन्छ । ध्यान साधनाका अनुभवी तथा अग्रज गुरुहरुले आफ्ना शिष्य तथा साधकहरुलाई ध्यान साधनाको क्रममा यस्तो अनुभव तथा अनुभूति घटित भयो भने त्यस अवस्थालाई साक्षी तथा तटस्थ भावले केवल द्रष्टा भएर मात्र हेर्नुपर्छ, त्यसको विश्लेषण तथा पुनः देख्ने मोहमा अड्कीनु हुदैन भन्ने मार्गदर्शन बारबार गर्दै आउनु भएको पाइन्छ । दृश्यमा आएका उक्त दिव्य प्रकाशहरुलाई हेरिरहने र आफ्नो चेतनालाई उक्त प्रकाशको श्रोत तथा आफ्नो परम मौनमा केन्द्रित हुन प्रयास गर्न सुझाव दिइन्छ जहाँबाट यस्ता दिव्य प्रकाशहरु प्रकट भैरहेका छन् । ध्यान साधनाको क्रममा यसरी दृश्यमा आउने प्रकाशहरुलाई अध्यात्मको गन्तव्यमा पुर्याउने प्रगति मार्गको एक प्रमुख तथा महत्वपूर्ण द्वारको रुपमा लिइन्छ तर यसभन्दा अगाडि अझै लामो यात्रा तय गर्न बाँकी नै रहेको हुन्छ किनकी यो नै साधकको आत्यन्तिक लक्ष्य तथा गन्तव्य होइन । ध्यान साधनाका क्रममा आएका यस्ता दृश्यहरुबाट पार भएर चेतनाको गहिरो अवस्थमामा प्रवेश गरेर अझै अगाडि बढेपछि मात्र अन्तिम गन्तव्य परमात्मा साक्षातकार, मोक्ष तथा निर्वाण(इटरनल लिबरेसन)मा उपलव्ध हुन सकिन्छ ।

  
यस सन्दर्भमा वैज्ञानिक व्याख्या

आधूनिक विज्ञानका नवीनतम शाखाहरुले गरेका पछिल्ला वैज्ञानिक अध्ययन, अनुसन्धान तथा खोजका नतिजाहरुमा पनि ध्यान साधनामा साधकलाई हुने रंगीविरंगी प्रकाशका ज्योति, विन्दु, प्रकाशका पुञ्ज तथा तरंगहरुको दर्शनको अवस्था तथा प्रक्रियालाई ध्यान साधनाको गहन अवस्थामा मनुष्यको मस्तिष्कमा आउने विशेष प्रकारको सकारात्मक बदलावको सकारात्मक परिणाम तथा सकारात्मक उपलव्धिहरुका रुपमा हेरिएको पाइन्छ जसले हरप्रकारले मनुष्यको जीवनमा सांसारिक मुक्ति तथा पारमार्थिक मोक्ष हासिल गर्न मार्गदर्शन गर्छ र आध्यात्मिक विकासमा मद्धत पुर्याउछ । तर यहाँनेर बुझ्नु पर्ने महत्वपूर्ण विषय के छ भने, ध्यान साधनाको गहन अवस्थामा साधकको अनुभव तथा अनुभूतिमा आउने रंगीविरंगी प्रकाशका ज्योति, विन्दु, प्रकाशका पुञ्ज तथा तरंगहरुका अलौकिक तथा दिव्य दृश्यहरु ध्यानले साधनाले रंग तथा प्रकाशहरु उत्पादन गरेर भएको होइन । ध्यान साधनाले अन्तर्निहित सक्रियता संजालमा चलिरहने ती मानसिक तथा भावनात्मक विकार, क्लेश तथा वाधाका कोलाहलहरुलाई न्यूनिकरण गरिदिएको तथा हटाइदिएको कारणले मनुष्यको मनस्थिति तथा भावास्थिति शुद्ध, सन्तुलित तथा सक्रिय भएर उभित्रै उसको आत्मा अर्थात चेतनामा स्थित रहेका रंग तथा प्रकाशहरु वाहिर प्रष्फुटित भएको हो जसलाई यसअघि मानसिक तथा भावनात्मक विकार, क्लेश तथा वाधाहरुले रोकिरहेका थिए ।


(४)अहंकारको विघटन र चेतनाको विस्तार

जति–जति साधक ध्यान साधनाको गरिहराइमा अगाडि बढ्दै जान्छ उसमा अझ गहन दिव्य अनुभव तथा अनुभूतिहरु बढ््दै जान्छन् र चेतनाको विकास तिब्रगतिमा हुन थाल्छ । यो एउटा यस्तो अवस्था हो जहाँ साधकलाई भित्रबाट महसुस हुदै जान्छकि अव उसको चेतना भौतिक शरीरको सीमामा बाँधिएको छैन, चारैतिर फैलिरहेको छ तथा निरन्तर विस्तार भैरहेको छ । उसलाई आफ्नो शरीर भारहिन, निराकार, आकाश जस्तो विशाल र असीम तथा अनन्त बन्दै गैरहेको महसुस हुन थाल्छ । आफू र ब्रम्हाण्डको दुरी मेटिदै गएको अनुभूति हुन थाल्छ र ब्रम्हाण्डका हरेक वस्तुसंग निकटता, जुडाव र एकताको अनुभव हुन थाल्छ । यस्ता प्रकारका अनुभव तथा अनुभूतिहरु अंहकारको बिघटन हुदै गएको तथा अंहकारका सीमाहरु मेटिदै गएको अवस्था तथा प्रक्रिया हो । मनुष्यको अहंकार नै त्यस्तो बाधा हो जसले उसलाई भौतिक शरीरमा कैद गरेर सीमित राख्दछ अर्थात उ ‘म शरीर हुँ’ भन्ने भावमा केन्द्रित हुन्छ र उसलाई पुरै सृष्टिबाट आफू अलग रहेको महसुस गराउछ । म शरीर हुँ भन्ने भावले मनुष्यलाई आफू अर्थात आत्मा अर्थात चेतना भौतिक शरीरको भित्र छ, आफ्नो आत्मा अर्थात चेतनाको आभामण्डलभित्र भौतिक शरीर छ र संसार आफू भन्दा वाहिर छ, म संसारबाट अलग छु भन्ने महसुस तथा अनुभव गराउछ । तर ध्यान साधनाका क्रममा हुने गहन अनुभव तथा अनुभूतिले साधकको यो शंकीर्ण सोचको अवस्थालाई उल्टो पारिदिन्छ ।

जव ध्यान साधनाको गहन अवस्थामा साधकलाई विभिन्न प्रकारका अलौकिक, दिव्य र चमत्कारिक अनुभव तथा अनुभूतिहरु हुन थाल्छन् तव साधकलाई यस्तो महसुस हुदै हुन्छकि, मैले मेरो भौतिक शरीरको माध्यमबाट संसारलाई देखिरहेको छैन बरु आफ्नो समस्त शरीर– शारीरिक शरीर, मानसिक शरीर, भावनात्मक शरीर, आत्मिक अर्थात चेतनात्मक शरीर र यो संसार तथा विशाल ब्र्रम्हाण्डनै मेरो चेतनाभित्र प्रकट भैरहेको छ । यदि ध्यान साधनाको क्रममा आफू असीम रुपले ठूलो भैरहेको तथा फैलिरहेको अनुभूति भैरहेको छ भने यो अवस्था ‘म’(विराट म) भित्रको म(शंकीर्ण म) भन्ने, मलाई शरीर, मन, भावनामा सीमित गर्ने अहंकार तथा भ्रामक बुझाई र विचार कम हुदै गैरहेको, विलिन हुदै गैरहेको तथा स्खलित हुदै गैरहेको अत्यन्तै महत्वपूर्ण र परिणाममुखी उपलव्धि हो । यो अवस्थामा ममा म मेरो चेतनामा जोडिइरहेको छैन, म संसारबाट अलग र सीमित व्यक्ति हुँ भन्ने भाव घट्दै गैरहेको हुन्छ । जव व्यक्तिबाट म भन्ने भाव छुट्छ र यसपछि जुन चेतना बाँकी रहन्छ त्यही नै मेरो वास्तविक ब्रम्हाण्डिय असीम प्रकृति स्परुप हो जो आदिकाल देखिनै त्यही चैतन्य अवस्थामा थियो, छ र रहनेछ अनन्तसम्म । मनुष्य म शरीर हुँ, म मन हुँ, म भाव, चित्त, अहंकार हुँ भन्ने शंकीर्णतामा अल्झिनु तथा जकडिनुको मूल कारण हाम्रो आत्मा अर्थात चेतनाको प्राकृतिक प्रकाश स्वरुप तथा आनन्द स्वरुपलाई हाम्रै अन्तःकरण(मन, वुद्धि, चित्त, अहंकार)को कालो पर्दाले ढाकेको कारण भएको हो । ध्यान साधनाले साधकमा रहेको म शरीर हुँ, मन, भाव, चित्त हुँ भन्ने शंकीर्णता तथा सीमिततालाई हटाएर उसलाई विराट संसार तथा परमात्माको ब्रम्हाण्डसंग जोड्दछ । 


यस सन्दर्भमा वैज्ञानिक व्याख्या

ध्यान साधना र यसको प्रक्रियामा हुने अलौकिक, दिव्य तथा चमत्कारिक उपलव्धिका विषयहरु अव अध्यात्म विज्ञानसम्म मात्र सीमित छैनन् । आधूनिक भौतिक विज्ञानका नवीनतम शाखाहरुले विभिन्न समयमा गरेका वैज्ञानिकतामा आधारित अध्ययन, अनुसन्धान तथा खोजका नतिजाहरुले पनि यसलाई प्रामाणिक रुपमा पुष्टि गर्दै आइरहेका छन् । ध्यान साधनामा हुने यस्ता अलौकिक, दिव्य तथा चमत्कारिक अनुभव तथा अनुभूतिहरु मनुष्यको मस्तिष्कको एक हिस्सा अन्तर्निहित सक्रियता संजाल(डिफल्ट मोड नेटवर्क–डी.एम.एन) शान्त तथा अशान्त रहने अवस्था तथा प्रक्रियासंग प्रत्यक्ष रुपमा सम्वन्धित रहेको तथा जोडिएको हुन्छ । मनुष्यको मस्तिष्क डी.एम.एन अवस्था(मोड)मा रहेको बेलामा यसले हरसमय उसका दैनिक गतिविविधिका प्रक्रियाहरुमा म, मेरो, मलाई, मैले... भन्ने अंहकारका हदैसम्मका कहानी तथा किस्साहरु बारबार दोहोर्याइ रहन्छ । यस्तो अवस्थाले मस्तिष्कमा हदैसम्मको कोलाहलको अवस्था बढाइरहन्छ र मनुष्यलाई म, मेरो, मलाई, मैले... भन्ने अंहकारको भ्रम तथा दलदलमा जकडिरहन्छ । ध्यान साधनाको गहन अवस्थामा जव डी.एम.एनमा मच्चिरहेका कोलाहलहरु शान्त भएर हरदम म, मेरो, मलाई, मैले... भन्ने अंहकारका किस्साहरु कम हुन थान्छन् तथा हटेर जान्छन् र मस्तिष्क शान्त हुन थाल्छ तव साधकमा स्वतः आफू एक–अर्कोबाट अलग हो, संसार तथा सृष्टिबाट अलग हो भन्ने भाव मेटिन थाल्छ र उसलाई सबैसंगको एकताको अनुभव हुन थाल्छ, आफूमा सबैलाई र सबैमा आफूलाई देख्न थाल्छ अर्थात उ अहंकार शुन्य हुदै जान थाल्छ । 


तसर्थ साधकलाई ध्यान साधनाको गहन अवस्थामा आफ्ना सीमाहरु मेटिदै गरेको, म, मेरो, मलाई, मैले... भन्ने अंहकारका भावहरु कम हुदै तथा हट्दै गएको महसुस भयो भने आफू अस्तित्व तथा ब्रम्हाण्डमा फैलिरहेको र आफ्नो चेतनाको विकास भैरहेको भन्ने बुझ्नु पर्दछ र आफू अझ साक्षी तथा द्रष्टा भावमा रहेर परमात्माप्रति कृतज्ञता तथा अहोभावले भरिदै साधनालाई अझ गहिर्याउने प्रयास गर्नु पर्दछ । त्यस्तै अहंकार पग्लिरहेको; आफू स्वयंबाट हराइरहेको; शरीर, मन, भावनाका सीमा तथा बन्धनहरुबाट मुक्त भएको अनुभव तथा अनुभूति बढ्दै गैरहेको छ आफूमा भने यो अवस्था म विगत र भविश्यका अनावश्यक स्मृति तथा कल्पनाहरुबाट अलग भएर आफ्नो विराट स्वरुपको बारेमा चिन्तन् गरिरहेको छु भन्ने बुझ्नु पर्दछ । साधकमा आएको यस्तो अनुभव तथा अनुभूति म र यो सम्पूर्ण ब्रम्हाण्ड एकै हो भन्ने भावले भरिदै आएको अत्यन्तै महत्वपूर्ण र परिणाममुखी उपलव्धि भैरहेको र तिब्र गतिमा चेतनाको विकास भैरहेको अवस्था हो ।


छिट्टै,

(५)अनाहदनादको श्रवण, (६)आन्तरिक गुरुसंग साक्षातकार र संवाद, (७)द्वेतको अन्त्य र अद्वेत घटित ।




No comments:

Post a Comment