डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन
आभामण्डल तथा उर्जा क्षेत्रको स्तर कसरी बढाउन सकिन्छ ? खण्ड -११ को निरन्तरता
(५)अनाहदनादको श्रवण
ध्यान साधनामा जति–जति साधकमा एकाग्रता गहिरो हुदै जान्छ उसका इन्द्रियहरु पनि उतिनै अन्तरमुखी तथा आफू केन्द्रित हुदै जान्छन् र एउटा विशेष विन्दुमा पुगेपछि साधकमा ध्यानको अवस्था घटित हुन्छ । ध्यान साधनाको अवस्था साधकलाई आन्तरिक ध्वनिहरुको श्रवण हुन प्रारम्भ हुन्छ । यो दिव्य तथा चमत्कारिक अनुभव तथा अनुभूतिमा साधकलाई वाहिरको कुनै श्रोतबिना आफैंभित्रबाट विभिन्न प्रकृतिका आवाजहरु तथा दिव्य ध्वनिहरुको श्रवण भएको अनुभव तथा अनुभूति हुन थाल्छ । प्राय वासुरी, शंख, डमरु, विणा, घण्टका सुमधूर ध्वनिहरुका साथै अन्य प्रकारका प्राकृतिक आवाजहरु– कीरा कराएको, पानी बगेको, हावामा वृक्षका पातहरु सुसाएको, वादलको गडगडाहट, सागरको लहर, झरनाको पानी खसेको आदि प्रकारका अनाहद अर्थात कतै आहद तथा घर्षण नभइकन तथा कतै नठोकिइकन उत्पन्न भएका ध्वनिहरु सुनिन्छन् । सनातन अध्यात्म दर्शनको महत्वपूर्ण तथा प्रमुख विषय योग विज्ञानका शास्त्रहरुले ध्यान साधनाको क्रममा यसरी अनुभव तथा अनुभूतिमा आउने ध्वनिहरुलाई ‘अनाहद नाद’को रुपमा विस्तारमा व्याख्या गरेको छन् । दिव्य अनाहद नाद वाहिरको कुनै भौतिक ध्वनि होइन जो दूई वस्तु एक आपसमा ठोकिएर, टक्राएर तथा घर्षण(फ्रिक्सन) भएर उत्पन्न हुने गर्दछन् । दिव्य अनाहद नाद ब्रम्हाण्डको मौलिक ध्वनि, कम्पन तथा तरंग हो र ब्रम्हाण्डका सृष्टिकर्ता निराकार, निर्गुण, अव्यक्त स्वयं परब्रम्ह अर्थात परमात्माको मौन उपस्थिति हो जसलाई अक्सर प्रणव ध्वनिका रुपमा सम्वोधन गर्ने गरिन्छ ।
सबैले बुझ्ने भाषामा भन्नुपर्दा ब्रम्हाण्डको मौलिक ध्वनि, कम्पन तथा तरंग ॐकार नादलाई प्रणव ध्वनि भनिन्छ जो ब्रम्हाण्डको मौलिक ध्वनि भएकोले यो ध्वनि निरन्तर ॐ...ॐ...ॐ... को नादमा गुञ्जायमान भैरहन्छ नित्य निरन्तर । ब्रम्हाण्डमा भएका सबै ध्वनि, अक्षर, शव्द, भाषाहरुको मुल श्रोत तथा मुल स्वरुप ॐकार नादनै भएकोले ध्यान साधनाको विशेष अवस्थामा साधकको अन्तरजगतबाट स्वयं प्रष्फुटित भएर उसको श्रवण, अनुभव तथा अनुभूतिमा आउने अनाहद ध्वनि तथा नादहरु सबैलाई प्रणव ध्वनिकै मान्यता दिइएको पाइन्छ । योग विज्ञानको महत्वपूर्ण विषय ‘नाद योग’को साधनाका पूरै प्रक्रिया तथा विधिहरु यही आन्तरीक ध्वनि अनाहद नादलाई एकाग्रतापूर्वक सुन्ने र यसैमा विलिन हुने साधना विधिमा आधारित रहेका छन् । अनाहद नाद श्रवणको सन्दर्भमा ध्यान साधनाका अनुभवीहरुका अनुसार, साधकले उपासना गर्दै आएका उसका आराध्यदेवहरुको गुण तथा प्रकृति अनुसार साधकलाई फरक–फरक प्रकारहरु ध्वनिका अनुभवमा आउछन्, जस्तोकि भगवान शिवका भक्त तथा उपासकहरुलाई डमरुको डमडम ध्वनि श्रवण हुन तथा अनुभूतिमा आउन सक्छ । त्यस्तै, भगवान कृष्णका भक्त तथा उपासकहरुलाई वासुरीको मधूर तानको ध्वनि श्रवण हुन तथा अनुभूतिमा आउन सक्छ ।
यस सन्दर्भमा वैज्ञानिक व्याख्या
अव फेरीपनि प्रश्न उठ्न सक्छ यस्ता ध्वनिहरु मनुष्यभित्रै छन् भने साधारण अवस्थामा उसले किन सुन्न तथा अनुभूति गर्न सक्दैन त ? फेरी पनि सवालको जवाफ उही हो हाम्रो मनको निरत्नर कोलाहल जसको प्रतिनिधित्व मस्तिष्कको एउटा भाग अन्तर्निहित सक्रियता संजाल(डिफल्ट मोड नेटवर्क–डी.एम.एन)ले गर्दछ । साधारण्तया अधिकांश मनुष्य दिनरात वाहिरी संसारको हल्लाखल्ला तथा कोलाहल र आफ्नो मनको व्यर्थको बकबकमा यतिविधि उल्झिरहेको हुन्छकि यस्तो अवस्थामा ध्यानको गहन अवस्थामा मात्र सुन्न सकिने यस्ता दिव्य आन्तरिक ध्वनि तथा संगीतहरु सुन्न सक्ने क्षमता नै हुदैन उसंग । अधिकांश मनुष्यहरुमा दिव्य आन्तरिक संगीत सुन्न सक्ने क्षमता धेरै परको कुरा हुन्छ, उ त ध्यानको प्रारम्भिक चरण एकाग्रतासम्म समेत पुग्न सक्दैन । दिव्य ध्वनि श्रावण गर्न सक्ने अवस्थासम्म आइपुग्न उसलाई धेरै मेहनेत गर्नुपर्ने हुन्छ र कतिपय अवस्थामा त मेहनतका बाबजुद पनि विभिन्न कारणले वर्तमान जन्मको समयावधि उसकोलागि नपुग हुनसक्छ भने कसैलाई अघिल्लो जन्मका अध्यात्म साधनाका अनुभवहरु छन् भने अत्यन्तै कम समय तथा साधनामा नै दिव्य ध्वनिहरु श्रवण गर्ने क्षमता आउन सक्छ । मनुष्यलाई दिव्य ध्वनि सुन्न सक्ने अवस्थासम्म पुग्न मुस्किल हुनुका धेरै कारणहरु मध्य सबैभन्दा प्रमुख कारण ताप तथा तनाव(स्ट्रेस)लाई मानिन्छ । ताप तथा तनावको अवस्थामा व्यक्ति भूतकाल र भविश्यकालका नकारात्मक स्मृति तथा असुरक्षाका कल्पनाहरुमा अत्यन्तै धेरै उल्झिएको हुन्छ र यस्तो अवस्थामा उसको मस्तिष्कको अन्तर्निहित सक्रियता संजाल सक्रिय रहेको हुन्छ जसले मनुष्यलाई आफ्नो मूल प्रकृति तथा मूल स्वभाव– प्रेम, करुणा, खुशी, सन्तुष्टी, स्वीकार, शान्ति, आनन्दमा फर्कन वाधा गर्दछ । जवसम्म मनुष्य आफ्नो मूल स्वभावमा फर्कन सक्दैन तवसम्म उसलाई ध्यान साधनाका क्रममा हुने दिव्य तथा चमत्कारिक अनुभव तथा अनुभूतिहरु घटित हुदैनन् ।
ध्यान साधनाले मनुष्यको मनका कोलाहलहरुलाई शान्त गर्छ । साधनाको प्रारम्भिक चरणमा मनको कोलाहल शान्त गर्न वाहिरको सहारा लिन सकिन्छ जस्तोकि संस्कृतका शक्तिशाली मन्त्रहरुको जप जसलाई आहद नाद तथा उत्पन्न गरिएको ध्वनि भनिन्छ । मन्त्रोउच्चहरण गर्दा उत्पन्न हुने ध्वनिको कम्पन तथा तरंगगले मनलाई शुद्ध तथा सन्तुलित बनाउन र एकाग्रतामा केन्द्रित हुन मद्धत गर्दछ । जव मन्त्र जपको प्रयोगात्मक अभ्यासले मनुष्यको मनको कोलाहल आवश्यक मात्रामा शान्त हुदै जान्छ तव साधक विस्तारै सुक्ष्म ध्वनि सुन्न सक्षम हुदै जान्छ जुन ध्वनि सदाकाल आफूभित्रै स्थित थियो, छ र अनन्तसम्म रहिरहनेछ । बिना कुनै आहद तथा टकराव स्वस्फूतए रुपमा साधकको अन्तरआत्मामा सुनिने ध्वनिनै अनहद नाद हो । ध्यान साधनाको यात्रामा अनाहद नादको श्रवण अत्यन्तै महत्वपूर्ण उपलव्धि हो र चेतना विकासको उच्चता क्रमिक रुपमा उकालो लागिरहेको प्रत्यक्ष संकेत हो तर यो पनि अन्तिम गन्तव्य होइन । तसर्थ ध्यान साधनाको क्रममा अनाहद नादका ध्वनिहरुलाई आनन्द भावले श्रवण गर्दै परमात्माप्रति यस उपलव्धिका लागि कृतज्ञता भावले भरिएर निरन्तर साक्षी तथा तटस्थ रहेर ध्यान साधनालाई निरन्तरता दिरहनु पर्दछ । यस्ता ध्वनिहरुप्रति आशक्त हुनु हुदैन, यसो गर्नाले साधनाको आत्यन्तिक गन्तव्यमा पुग्न वाधा पुग्दछ तसर्थ जे अनुभवमा आइरहेको टती सबै दिव्य अनुभूतिहरुलाई धन्यवाद भाव व्यक्त गर्दै अनाहद नादको ध्वनि सुनिरहने, आनन्द लिने, मनलाई त्यही ध्वनिको मधूरतामा डुव्न पनि दिने तर आफू निरन्तर आफ्नो साधनामा अगाडि बढिरहने गर्नु पर्दछ । ऋषिमुनि तथा अनुभवी चैतन्य पुरुष(विकसित आत्मा अर्थात चेतना)हरुका अनुसार ध्यान साधनामा श्रवणमा आउने अनाहद नाद नदि तार्ने डुंगाको स्वरुप जस्तै हो जसले मनको सागरबाट पारी परममौन र शुद्ध तथा परमचेतनाको तहसम्म पुर्याउने क्षमता राख्दछ ।
(६)आन्तरिक गुरुसंग साक्षातकार र संवाद
ध्यान विज्ञानका वैज्ञानिकतामा आधारित सहि प्रक्रिया तथा विधिहरुको प्रयोगात्मक अभ्यास तथा साधनाको एक विशेष अवस्थामा साधकको शरीर, मन तथा चित्त एकाग्र, शान्त, शुन्य, स्थिर र ग्रहणशील भएपछि उसलाई आफैंभित्रबाट आन्तरीक मार्गदर्शन तथा मार्गनिर्देशनहरु प्राप्त हुन थाल्छन् । यो यस्तो अनुभूति हो जुन अवस्थामा साधकलाई आफैंभित्रबाट नै दिव्य रुपमा उसका जटिल समस्याहरुको समाधान; उसका सबै सवालहरुको जवाफ; साथै उसको जीवनकोलागि स्पष्ट दिशानिर्देश, मार्गदर्शन र मार्गनिर्देशनहरु मिल्न थाल्छन् । साधकको सुक्ष्म शरीरमा स्थित ब्रम्हाण्डिय उर्जाका मूलकेन्द्र चक्रहरुमा रहेको कुण्डलिनी उर्जा तलका पाँच चक्रहरु(मूलाधार, स्वधिष्ठान, मणिपूर, अनाहद, विशुद्धि) भेदन गर्दै आँखीभौंको विचमा तथा भ्रुमध्यमा स्थित छैठौं आज्ञा चक्रमा गएर केन्द्रित भएपछि उसको कुण्डलिनी उर्जा शुद्ध हुन्छ र शुद्ध उर्जाको प्रभावले आज्ञा चक्र जाग्रीत तथा सक्रिय हुन थाल्छ र यो अवस्थामा आफूभित्रको अन्तरगुरुसंग साधकको साक्षाकार र संवाद प्रारम्भ हुन्छ । यसपछि स्वयं अन्तरगुरुबाट साधकलाई दिशानिर्देश तथा मार्गदर्शनहरु आउन प्रारम्भ हुन्छन् र यो पक्रिया निरन्तर चलिरहन्छ ।
आफैंभित्र स्थित अन्तरगुरुबाट प्राप्त हुने यस्ता दिव्य दिशानिर्देश तथा मार्गदर्शनहरु साधकले विभिन्न स्वरुपमा ग्रहण गर्न सक्छ । साधकको अन्तरआत्माबाट कुनै स्पष्ट विचार तथा सन्देश श्रवण हुन सक्छ; आफ्ना चर्मचक्षुहरु बन्द भएको अवस्थामा केही दिव्य स्वरुपहरु– भगवान, देवी–देवता, इष्ट–देवता, देवदुत(एन्जल), अग्रज चैतन्य आत्माहरु, दिवंगत पित्रीहरु, दिव्य अंक तथा नम्बरहरु आदिको दर्शन हुन सक्छ; बिना कुनै दृश्य, आवाज, शव्द गहिरो र स्पष्ट समझ आफ्नो अन्तरहृदयमा उत्रिन सक्छ स्वस्फुर्त रुपमा जसलाई सहजज्ञान तथा अन्तरज्ञान(इन्ट्युसन और सिक्स्थसेन्स) भनिन्छ । पूर्वीय अध्यात्म दर्शनमा यो अवस्थाको अनुभव तथा अनुभूतिलाई आफ्नो आन्तरिकगुरु तथा आफ्नो अन्तरआत्माको वाणीको अनुभूति तथा साक्षातकार भएको भनिएको छ । सनातन वैदिक शास्त्रहरुका अनुसार वास्तविक गुरु केवल वाहिरी संसारमा भौतिक रुपमा तथा स्थुल शरीरमा मात्र उपस्थित हुदैन, हरेक मनुष्यभित्र स्वयं चैतन्य(विकसित चेतना) स्वरुपमा सदा विराजमान रहेको हुन्छ । ध्यान साधनाको माध्यमबाट मनुष्यको वुद्धि, मन तथा चित्तको कोलाहल शान्त भएपछि साधकमा सुक्ष्म संसारका सुक्ष्म आवाज सुन्न सक्ने तथा सुक्ष दृश्यहरु देख्न सक्ने क्षमताको विकास हुन्छ र उ आफ्नो आन्तरिक गुरुको सुक्ष्म वाणी तथा सन्देश सुन्न; सुक्ष्म वाणी तथा सन्देश प्रदान गर्ने दिव्य छविहरुलाई देख्न; र आन्तरिक गुरु तथा दिव्य छविहरुसंग आफूलाई आवश्यक लागेका विषयहरुमा दोहोरो संवाद गर्न पनि सक्षम हुन्छ ।
कहिलेकाहीं यसप्रकारको मार्गदर्शन आफ्ना दिवंगत पित्री; जिवित प्रियजन, मित्र, परिजनहरुको माध्यमबाट पनि प्रकट हुन सक्छ । त्यस्तै कहिलेकाहीं कुनै विशेष प्रकारका घटना, विषय तथा परिस्थितिहरुबाट पनि अन्तरज्ञानमा वोध हुन सक्छ । सनातन धर्म–संस्कृतिमा दिवंगत पित्रीहरुलाई पनि देवतातुल्य मान्यता दिइएको छ जसले आफ्ना तल्ला पिढीहरुलाई मार्गदर्शन तथा मार्गनिर्देशन प्रदान गर्न सक्दछन् । ध्यान साधनाको माध्यमबाट जव मनुष्यको आत्मा अर्थात चेतना मानवीय विकार तथा क्लेशरहित विलकुल शुद्ध र सुक्ष्म हुन्छ तव पित्रीहरुले आफ्ना परिवारका सदस्यहरुसंग सम्पर्क स्थापित गरेर उनीहरुलाई आवश्यक मार्गदर्शन, दिशानिर्देश, मार्गनिर्देशन तथा आशिर्वाद दिन सक्छन् । यो अवस्थामा पित्री लगायत भगवान, देवी–देवता, इष्ट–देवता, देवदुत(एन्जल), अग्रज चैतन्य आत्माहरुले पनि साधकलाई आवश्यक मार्गदर्शन, दिशानिर्देश, मार्गनिर्देशन तथा आशिर्वाद दिन सक्नुहुन्छ ।
यस सन्दर्भमा वैज्ञानिक व्याख्या
मनोवैज्ञानिक दृष्टिकोणबाट हेर्दा ध्यान साधकको आन्तरिक गुरुसंगको साक्षातकार र संवाद उसको गहिरो अवचेतन तथा अचेतन मन अर्थात अध्यात्म दर्शनको भाषामा पूर्णचेतन तथा अतिचेतन मनबाट प्रष्फुटन हुने गहन अन्तरदृष्टि, अन्तरवोध तथा अन्तरज्ञान(इन्ट्युसन) हो । ध्यान साधनाको गहन अवस्थाले मनुष्यको तार्किकता तथा तर्क र शंशय तथा शंका गर्ने मनलाई तटस्थ, शान्त र निरअंहकार बनाइदिन्छ र यो गहन अवस्थामा उभित्रको अन्तरदृष्टि, अन्तरवोध तथा अन्तरज्ञानले वाहिर अर्थात सतहमा आउने तथा प्रष्फुटित हुने सुअवसर पाउछ । तर यो अवस्थामा साधकले गहन विवेक राख्नु अतिआवश्यक हुन्छ किनकी कहिलेकाहीं साधक आफ्नो इच्छाधारी सोच हो कि र सच्चा आन्तरिक गुरुको मार्गदर्शन हो भनेर सहि ढंगले अन्तर छुट्याउन सक्दैन । यस्तो अवस्थामा आफ्नो इच्छाधारी सोचलाई आन्तरिक गुरुको मार्गनिर्देशा मानेर जीवनमा अगाडि बढ्यो भने यो अवस्थाले उसको जीवनमा नकारात्मक प्रभाव पनि ल्याउन सक्छ । तसर्थ आफ्नो इच्छाधारी सोच हो कि र सच्चा आन्तरिक गुरुको मार्गदर्शन हो भनेर सहि ढंगले छुट्याउन जान्नु अनिवार्य हुन्छ अन्यथा यही अवस्था उसकोलागि समस्या बनेर आृन पनि सक्छ ।
सच्चा मार्गदर्शन तथा आन्तरिक गुरुको दिव्य संदेश संधै शान्त, स्पष्ट, प्रेमपूर्ण हुन्छ र अहंकारलाई शान्त गर्नेवाला हुन्छ त्यसैले साधक अलमलिनु हुदैन आफ्नो इच्छाधारी सोच हो कि आन्तरिक गुरुको मार्गनिर्दश हो भन्नेमा । मनुष्यका मनका विचार तथा कल्पनाहरु प्रायः उसका इच्छा, तृष्णा, अपेक्षा, भय, असुरक्षाबाट प्रभावित हुने गर्दछन् । ज्ञानको अनन्त श्रोत हरेक मनुष्यभित्र नै रहेको छ, कोही मार्गदर्शनका लागि वाहिर भट्किनु पर्ने आवश्यकता नै छैन । आफ्नो आन्तरिक गुरुसंग साक्षतकार गर्नकालागि मनुष्यले केवल आफ्नो दैनिक जीवनमा ध्यान साधनालाई व्यवहारिक रुपमा अनुशरण गरेर आफूभित्र रहेको ज्ञान जगाउनु आवश्यक छ । आफूभित्र रहेको ज्ञान जागेपछि आफ्नो आन्तरिक गुरु चिन्न सहज हुन्छ र आफ्नो आन्तरिक गुरुको मार्गदर्शन, दिशानिर्देश तथा मार्गनिर्देशन अनुसार चलेर सहज ढंगले आफ्नो जीवनको सांसारिक र पारमार्थिक व्यवस्थापन गर्न सक्दछ । तसर्थ यो अलौकिक प्राप्तिकालागि पूर्णतः एकाग्र र मौन भएर आफूभित्रको अन्तरआवाज तथा सन्देश सुन्न सक्षम बनौं र त्यसको अनुशरण गरौं ।
(७)द्वेतको अन्त्य र अद्वेत घटित
द्वेतको अनुभवमा ‘म’ र ‘ब्रम्ह’ अलग रहेको हुन्छ तर अद्वेत को अनुभवमा ‘म’ र ‘ब्रम्ह’ विचको भेद मेटिएर तथा अन्त्य भएर आफू ब्रम्हमा एकाकार तथा योगस्थ भएको अनुभूति हुन्छ । सनातन अध्यात्म विज्ञानका समस्त खोजहरुको आत्यन्तिक लक्ष्य द्वेतबाट मुक्त भएर अद्वेतमा एकाकार हुनु तथा मोक्षमा उपलव्ध हुनु रहदै आएको छ । अद्वेतको अवस्था घटित हुनु यस्तो परमअनुभूति हो जसकालागि युगौंयुगदेखि ऋषिमुनि, सन्त, योगीहरुले जन्म–जन्म आफूलाई विविध प्रकारले अध्यात्म साधनामा निमज्जित गर्दै आइरहेका छन् । दृढ संकल्प र निष्ठापूर्वक गरिएको गहन साधनापछि मात्र साधकलाई अद्वेतको अत्यन्तै दुर्लव अनुभूति तथा अवस्था घटित हुन्छ । त्यसैले सनातन शास्त्रहरुमा अद्वेतको गहन अनुभूतिलाई बडो महत्वकासाथ भन्ने गरिएको पाइन्छकि ‘मोक्ष’ ध्यान साधनाको अनन्त गहिराइबाट फलिभूत हुने त्यस्तो ‘अमृततत्व’ हो जुन प्राप्त भएपछि मनुष्य अ+मृत बनिरहन्छ अर्थात कहिल्यै मर्दैन, सदा अमर रहन्छ । ध्यान साधनाको अनन्त गहिराईमा उपलव्ध हुने अमृततत्वको अलौकिक, दिव्य र चमत्कारिक परमअनुभूति नै अद्वेत तथा मोक्षको परमअवस्था हो । साधकमा अद्वेतको अनुभुति घटित भएको अवस्थामा सबैप्रकारका द्वेत तथा दुईका भावहरु मेटिएर एक मात्र बाँकी रहने हुनाले साधक ब्रम्हाण्डिय महाउर्जाको सिंगो महासागर अर्थात सर्बव्यापक र सर्बशक्तिमान उच्च चेतना(दि ओम्नीप्रेजेन्ट एण्ड अलमाइटी सुपर कन्सस)मा हामफाल्छ तथा सदाकालागि समाहित हुन्छ र उच्च चेतना अर्थात ब्रम्हमा विलय हुन्छ अर्थात मोक्ष तथा निर्वाण(इटरनल लिवरेसन)मा उपलव्ध हुन्छ जसरी नदी महासागरसंग एकाकार भएपछि महासागरनै बन्छ नदीको अलग नाम, रुप तथा अस्तित्व बाँकी रहदैन ।
माथि उल्लेखित ध्यान साधनामा हुने सबै प्रकारका अनुभव तथा अनुभूतिहरुमा एउटा अनुभव गर्नेवाला ‘म’ रहेको हुन्छ तर जव साधनाको गहिराइमा ‘म’ पनि मेटिन्छ तव साधकले अद्वेतको अनुभूति गर्छ र यो अवस्थामा त्यो अनुभव गर्नेवाला ‘म’ नै विलिन हुन्छ । अद्वेत घटित भएको त्यस्तो परमअनुभूतिको परमअवस्था हो जहाँ द्रष्टा–दृष्य–दर्शनको त्रिपुटी मेटिएर सबै एकैठाउँमा आउछन् र एकत्वमा समाहित हुन्छन् अनन्त कालकालागि । यसपश्चात ‘म’ ब्रम्हाण्डको अनुभव गर्दिन ‘म’ स्वयं नै ब्रम्हाण्डमा परिणत तथा विलय हुन्छु । सनातन अध्यात्मको शिखर अद्वेत वेदान्तको दर्शनले दशौं हजार वर्षदेखि यही शाश्वत सत्यको घोषणा गर्दै आइरहेको छ । अद्वेत वेदान्त दर्शनका शाश्वत ध्यय महावाक्यहरुले ब्रम्हलाई उच्चतम प्राथमिकता दिदै ब्रम्हलाई नै ब्रम्हाण्डको अन्तिम शाश्वत सत्य मान्दै र त्यो शाश्वततालाई प्रामाणिक रुपमा पेश गर्दै आइरहेका छन् । वेदान्त दर्शनका अनुसार, ‘ब्रम्ह सत्यं’ अर्थात केवल ब्रम्ह अर्थात परमचेतना(सुपर कन्सस) नै एक मात्र शाश्वत सत्य हो; ‘जगत मिथ्या’ अर्थात यो जगत तथा भौतिक संसार जसलाई हामी हाम्रा इन्द्रियहरुको माध्यमबाट हरप्रकारले महसुस तथा अनुभव गरिरहेका छौं र हामीलाई यही नै सत्य लागिरहेको छ । तर हामीले गरिरहेको यसप्रकारका इन्द्रियजनित महसुस तथा अनुभवहरु सत्य जस्तो लागेपनि वास्तविकतामा यी भ्रम, अनित्य, असत्य, मिथ्या, भ्रामक, स्वप्न हुन् र यी नितनित तथा क्षणक्षण परिवर्तनशील छन्, किनकी यहाँ केही पनि स्थिर छैन; ‘जीवो ब्रम्ह नैव नापरः’ अर्थात जीव तथा मनुष्यको व्यष्टि(सुक्ष्म) आत्मा समष्टि(विराट)ब्रम्हबाट भिन्न छैन; आत्मा ब्रम्हकै एक सुक्ष्म अंश हो; ब्रम्हाण्डमा भएका सबै जीव, वनस्पति तथा पदार्थहरु सबै एकै हुन्; सबै एउटै ब्रम्हबाट निर्मित भएका हुन्; यहाँ कोहीबाट कोही र केहीबाट केही अलग छैन । ‘म अलग हुँ’ भन्ने भाव नै मनुष्यको सबैभन्दा ठूलो भ्रम हो र आफ्नो मूल तथा मौलिकताबाट अलग हुनु हो जलिे उसलाई अद्योगतिर लानेछ ।
मनुष्यमा ‘म अलग हुँ’ भन्ने भाव आउनु प्रमुख कारण उसका मानवीय विकार तथा क्लेशहरु– काम, क्रोध, लोभ, मोह, राग, द्वेष, घृणा, इष्र्या अर्थात समग्रमा अहंकार आदिबाट सिर्जित भएका मल तथा फोहरले ग्रसित अन्तःकरणले आत्माको प्रकाश तथा मूल स्वभावलाई ढाकेका कारणले हो जुन माया तथा भ्रमको पर्दा हो । अहंकारले अद्वेत प्राप्त गर्दैन, अहंकार स्वयं अद्वेतमा बिलिन हुन्छ जसरी एउटा नदि सागरमा मिलेर सागर नै बन्छ । श्रद्धेय श्री रमण महर्षिले अद्वेतको शाश्वत सत्यसम्म पुग्न ‘आत्म विचार’को मार्ग देखाउनु भएको छ, जसमा ‘म’ को हँु भन्ने सवालको नित्य–निरन्तर गहन खोज गरिन्छ । यसप्रकारको खोजबाट अन्ततः ‘म’ नामक विचार केवल एक कल्पना मात्र रहेछ तथा ‘म’को कुनै स्वतन्त्र अस्तित्व हुदैन रहेछ भन्ने थाहा हुन्छ तथा यो विषयको गहनता स्पष्टसंग साधकको ज्ञातमा आउछ । जव ‘म’ हराउछ त्यसपछि बाँकी रहेको तत्व नै शुद्ध अद्वेत आनन्दमय ‘ब्रम्ह’ हो र यही नै परमज्ञान, परमशान्ति, परमआनन्द र परममुक्ति हो तव साधकको अन्तर हृदयमा स्वतः गुञ्जन्छ ‘अहं ब्रमस्मि’ अर्थात म स्पयं ब्रम्ह हुँ र अरुप्रति पनि त्यस्तै भाव सिर्जित हुन्छ ‘तत्वमसि’ अर्थात तिमी पनि उही ब्रमह हौ ।
अन्त्यमा
मानवीय विकार तथा क्लेशका मल तथा फोहरहरुले ग्रसित अन्तःकरणलाई ध्यान साधनाको गहन अवस्थामा अनुभूतिमा आउने अन्तरज्ञान तथा आत्मज्ञानको माध्यमबाट भेदन गर्न सकिन्छ र मनुष्य योनीको प्रमुख तथा एकमात्र आत्यन्तिक लक्ष्य अद्वेतमा एकाकार तथा मोक्षमा उपलव्ध हुन सकिन्छ । ध्यान साधनाको अनन्त गहनताको अवस्थामा घटित हुने सबैप्रकारका अनुभव तथा अनुभूतिहरु पश्चात सबैभन्दा अन्तिम अवस्थामा घटित हुने अद्वेतको अनुभूति हो । यो अलौकिक अनुभूतिलाई मनुष्यले मेहनत गरेर प्राप्त गरेको कुनै त्यस्तो ‘प्राप्ति’ भन्न सकिदैन जो ‘प्राप्त’ गरिन्छ किनकी पाउने क्रिया तथा प्रक्रियामा पनि पाउनेवाला र पाइने वस्तुकोविचमा भेद बनिरहन्छ, तसर्थ अद्वेतको अनुभूति प्राप्ति नभएर साधकले अन्तरआत्मामा गरेको दिव्य अनुभूतिको परम अवस्था हो । अद्वेतको अवस्था सत्यको सरल र स्पष्ट पहिचान हो जो आदिकालदेखि नै हरेक मनुष्यभित्रै रहेको थियो, रहदै आएको छ र अनन्तसम्म रहिरहने छ । यसप्रकार, ध्यान साधनामा हुने सबै प्रकार अनुभव तथा अनुभूतिहरु मोक्ष प्राप्तिको अन्तिम लक्ष्यसम्म पुर्याउन सहयोग गर्ने सहयोगी, सारथी तथा उपकरणहरु हुन् सुन्दर प्रगति विकास हुन गर्न जसले आफू सहि मार्गमा छु भन्ने आभास तथा विश्वास दिलाउछ र अझ अगाडि बढ्न प्रेत्साहन गर्छ । तसर्थ ध्यान साधनाको वास्तविक लक्ष्य चमत्कारि उपलव्धिहरुमा दंग पर्नु तथा त्यसैमा भूलेर त्यही अवस्थामा अड्किरहनु होइन । ध्यान साधनाको गहन अवस्थाबाट प्राप्त हुने शान्ति, आनन्द, करुणा, स्पष्टता र अन्य महत्वपूर्ण सम्भावनाहरुलाई जीवनमा अनुशरण गरेर सबैलाई काम लाग्ने विषयमा खर्च गर्नु हो र आफू स्वयं आफ्नो र अरुकालागि काम लाग्ने बन्नु हो ।
छिट्टै,
जीवनमा पूर्णता प्राप्तिकालागि ध्यान विज्ञानका त्रिरत्न– योगासन, प्राणायाम, एकाग्रता
No comments:
Post a Comment