'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Friday, 8 August 2025

आभामण्डल तथा उर्जा क्षेत्रको स्तर कसरी बढाउन सकिन्छ ? खण्ड -८

 डासिर्जना भण्डारी

                                                 #अध्यात्म_दर्शन #जीवन_दर्शन 


आभामण्डल तथा उर्जा क्षेत्रको स्तर कसरी बढाउन सकिन्छ ? खण्ड -७ को निरन्तरता


(९)सकारात्मकता, धन्यता, कृतज्ञता, क्षमाशिलता

हरप्रकारको अवस्था तथा पस्थितिमा राम्रोप्रति ध्यान केन्द्रित गर्नु र राम्रो परिणामको अपेक्षा गर्नु सकारात्मक सोच हो । आफूमाथि सदभाव राख्ने सबैप्रति प्रसन्न रहनु र खुशी तथा आभार प्रकट गर्नु धन्यता तथा कृतज्ञता हो र सबैलाई आफू समान ठानेर अरुको असहज व्यवहारहरुमा घृणा तथा बदलाको भाव नराखी सामान्य रुपमा लिनु तथा माफी गर्नु क्षमाशिलता हो । सकारात्मक सोच, धन्यता, कृतज्ञता, क्षमाशिलता मनुष्यको मानसिक दृष्टिकोण हो जसले उसलाई हर प्रकारका अस्वस्थता, समस्या तथा चुनौतीहरुबाट वाहिर निस्कन र यी अवस्थाहरुमा अवसर खोज्न तथा देख्न उर्जा प्रदान गरेर जीवन सहज, सरल र सफm बनाउन मद्धत गर्दछ । सकारात्मकता, धन्यता, कृतज्ञता, क्षमाशिलताको भाव आफूमा ल्याउनु आत्मसन्देश चिकित्सा पद्धतिसंग अत्यन्तै निकट रहेको भएपनि यसका प्रक्रिया तथा विधिहरु अलि फरक रहेका छन् । 


सकारात्मकता

सकारात्मकतामा खासगरि योग दर्शनको सैद्धान्तिक पाटो यम(सत्य, अहिंसा, अस्तेय, ब्रम्हचर्य, अपरिग्रह), नियम(शौच, सन्तोष, तप, स्वाध्याय, इश्वर प्रणिधान) र पत्याहार अन्तर्गत पर्ने विषयहरु हुन् जसले मनुष्यलाई आफूले अरुप्रति र आफूले आफैंप्रति गर्नुपर्ने सम्यक व्यवहारहरुको ज्ञान सिकाएर उसको सोच, विचार, भाव, बोलीवचन, व्यवहार, आचरण, कर्म आदिलाई शुद्ध र सन्तुलित बनाउन कुशलता प्रदान गर्दछन् । आफूमा सकारात्मक भाव जगाउन तथा बढाउन आफ्नो सोच, विचार तथा भावहरुमा हरक्षण म स्वस्थ छु, म सुखी छु, म खुशी छु, म शान्त छु, म आनन्दित छु, म भाग्मानी छु, म सम्पन्न छु, म सन्तुष्ट छु, म सुरक्षित छु, म उर्जावान छु; ममा आफूले इच्छाएका कामहरु गर्न सक्ने पर्याप्त उर्जा, जोस, जाँगर तथा उत्प्रेरणा छ; म आत्मविश्वास, आत्मशक्ति, आत्मसम्मानले भरिएको छु; ममा प्रेम, दया, करुणा, सेवाको भाव छ; म हरप्रकारले सक्षम छु जस्ता सकारात्मक उर्जा प्रदान गर्ने सोच, विचार तथा भावहरु राख्नु पर्दछ । आफूमा यस्ता सकारात्मक सोच, विचार तथा भावहरु प्रवाह गर्न समयको सहजता तथा एकाग्रताकालागि विहान विस्तरामा बिउझने वित्तिकै र राति विस्तरामा निदाउनुअघि आफ्नो अन्तर  मनमा यस्ता सकारात्मक भावका सन्देशहरु भन्ने तथा बारबार दाहोर्याउने गर्दा यसबाट अझ राम्रो प्रभाव तथा परिणाम पाउन सकिन्छ किनकी विहान बिउझने वित्तिकै आफू वरपरको दृश्य तथा अदृश्य परिस्थिहरु र हाम्रो मन, मस्तिष्क, भावना स्वच्छ, स्वतन्त्र र ताजा रहेका हुन्छन् र बेलुका निदाउनु अघि हाम्रो मन चेतन र अचेतनको विचमा अर्धचेतन तथा अवचेतन अवस्थामा रहेको हुन्छ । मन अवचेतन अवस्था रहदा प्रदान गरिएका तथा धारण गरिएका सकारात्मक सन्देशहरु तुरुन्तै जस्ताको तस्तै हाम्रो शरीर, मन, भाव, चित्तले ग्रहण गर्दछन् र दिनभरि तथा रातभरि त्यस्तै प्रकारको भाव दशामा हामी रहन्छौं । 


शरीरका आयामहरुबाट निरन्तर ब्रम्हाण्डमा प्रवाह भैरहने उर्जा तथा आभामण्डललाई निरन्तर शुद्ध, सन्तुलित र सक्रिय राख्नकालागि आफ्नो सोच, विचार, मन, भाव, बोलीवचन, व्यवहार, आचरण, कर्मलाई सकारात्मक बनाउनुका सागथसाथै हरेक व्यक्ति, विषय, वस्तु, घटना तथा परिस्थितिहरुलाई पनि सकेसम्म सकारात्मक दृष्टिकोणबाट हेर्नु पर्दछ । समस्या तथा चुनौतीहरुलाई मुस्किल तथा बाधाका रुपमा मात्र नहेरेर त्यसभित्र हुनसक्ने सकारात्मकता र त्यसबाट प्राप्त गर्नसक्ने अवसरलाई देख्ने प्रयास गर्नुपर्दछ । अरुकसैले आफूलाई अरुचि लाग्ने केही कुरा, व्यवहार तथा काम गर्यो भने उक्त अवस्थालाई नकारात्मक विश्लेषण गर्नुपूर्व त्यसको कारण जान्ने र समाधान निकाल्ने तथा दिने प्रयास गर्दै अरुको समस्या तथा बाध्यताको कारण बुझेर आफूमा त्यसलाई सहने र स्वीकार गर्ने भावको विकास गर्नुपर्दछ । यस्ता सकारात्मक भावहरुले मनुष्यको शरीरका आयामका उर्जा तरंग तथा आभामण्डललाई शुद्ध, सन्तुलित र सक्रिय राख्न मद्धत गर्दछन् । मनुष्यको उर्जा क्षेत्र तथा आभामण्डल शुद्ध, सन्तुलित र सक्रिय भएपछि स्वतः उसको चेतना तथा उर्जाको स्तर बढ्दै जान्छ र उसको जीवन सहज, सरल, समृद्ध, सफल हुदै जान्छ ।


धन्यता तथा कृतज्ञता

धन्यता र कृतज्ञता दुवै शव्दको भावार्थ एकैएकै भएपनि फरक सन्दर्भमा यी दुई शव्दलाई प्रयोग गर्ने गरिन्छ । दैनिक जीवनका साना–सना उपलव्धि तथा सन्तुष्टीहरुमा आफूसरह तथा आफूभन्दा सानाहरुप्रति खुशी व्यक्त गर्न र उनीहरुलाई प्रसन्नता प्रदान गर्न धन्यवाद भाव व्यक्त गर्ने गरिन्छ भने जीवनका केही ठूला, महत्वपूर्ण र कहिलेकाहीं तथा जीवनमा एकपटक मात्र प्राप्त हुने दुर्लव प्राप्ति तथा उपलव्धिहरुकालागि आफूभन्दा श्रद्धेय व्यक्ति, अग्रज, माता–पिता, गुरु तथा भक्ति भावले भरिएर इश्वरप्रति खुशी तथा प्रसन्नता प्रकट गर्न कृतज्ञता भाव व्यक्त गर्ने गरिन्छ । वर्तमानमा मेरो साथमा तथा जीवनमा जेजे चिज, वस्तु र त्यसबाट प्राप्त सेवा, सुविधा, सहयोगका कारण सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्द प्राप्त भएको छ त्यसकालागि म अन्तरहृदयदेखि यी कुराहरु प्राप्त भएका श्रोत र उपलव्ध गराइदिने तथा प्रदान गर्ने व्यक्ति, परिस्थिति, प्रकृति तथा इश्वरप्रति धन्यता तथा कृतज्ञता भावले भरिऔं । यसकासाथै आफूलाई वर्तमानको स्वस्थ, सुखद, सहज अवस्थासम्म आइपुग्न तथा रहन मद्धत गर्ने आफ्नो श्वास–प्रश्वास तथा प्राण उर्जा; शरीर, शरीरका बहिरंग अंग तथा अन्तरंग अंगहरु; परिवार, कुल, परम्परा, धर्म, संस्कृति, समाज, राज्य, प्रकृति, ब्रम्हाण्ड, ब्रम्ह अर्थात इश्वर सबैप्रति धन्यता तथा कृतज्ञता भावले भरिऔं । मलाई राम्रो भन्ने, नराम्रो भन्ने, राम्रो गर्ने, नराम्रो गर्ने सबैप्रति पनि धन्यवाद तथा कृतज्ञता भावले भरिऔं किनकी सायद उनीहरुले अनुभव गराएको नमज्जा, इख तथा चोटले मैले आफ्नो जीवनमा प्रगति गरेको हुनसक्छु भन्ने भाव आफ्नो अन्तरमनमा राखौं । हाम्रो जीवनसंग सम्वन्ध राख्ने हरेक चिज, वस्तु, कुरा, विषय, घटना, अवस्था, परिस्थितिहरु तथा हाम्रो वरपरका प्रकृति तथा पर्यावरणमा रहेका सबै कुरा अत्यन्तै महत्वपूण र उपयोगी हुन्छन्, हामीले तीनलाई हेर्ने दृष्टिकोण र ग्रहण गर्ने आकांक्षा सकारात्मक बनाउनु पर्दछ । यसरी सबैप्रति धन्यता तथा कृतज्ञता भावले भरिदा यस्तो अवस्थामा मनुष्यको शरीरका सबै आयामहरुको उर्जा क्षेत्र तथा आभामण्डल शुद्ध, सन्तुलित र सक्रिय हुन थाल्छ । उर्जा क्षेत्र तथा आभामण्डल शुद्ध, सन्तुलित र सक्रिय भएपछि स्वतः उर्जाको तह तथा स्तरमा उच्चता आउछ र व्यक्तिको जीवन सहज, सरल, समृद्ध, सफल हुदै जान्छ ।


क्षमाशिलता

अध्यात्म विज्ञान र आधूनिक मनोविज्ञान दुवैले यो मान्दछन् कि सामान्य अवस्थामा कोहीपनि मनुष्य कुनै हालतमा गलत हुन तथा कुनै प्रकारका गलत व्यवहारहरु गर्न चाहदैन किनकी मनुष्यको प्राकृतिक तथा जन्मजात स्वभाव शान्ति, आनन्द, प्रेम, दया, करुणा, सेवा, सदभाव हो । तर पछिपछि उ विस्तारै जीवन जिउने क्रममा आइपर्ने विभिन्न बाधा तथा बाध्यताहरुका कारण आफ्नो प्राकृतिक स्वभावबाट बिमुख हुदै जान्छ र आफूले नचाहदा नचाहदै पनि उसले अरुलाई मन नपर्ने, अरुको असहजता बढाउने, अरुलाई चोट पुर्याउने जस्ता अनेक प्रकारका अप्रिय बोलीवचन, नकारात्मक तथा गैरजिम्मेदार व्यवहार, खराव आचरण तथा अरुको अहित हुने कर्महरु गर्न थाल्दछ । यस्ता गतिविधिहरुले अरुको अवस्थालाई त असहज बनाउछ नै तर त्यो भन्दा बढि असहजता आफू स्वयंलाई महसुस गराउछ जसले मनुष्यलाई असन्तुष्टि, गुनासो, बेचैनी, चिन्ता, तनाव, विक्षिप्तता, विषाद, अवसाद, हिंसा, हत्याको अवस्थासम्म पुर्याउछ । यस्तो अवस्थाले शरीरका आयामहरुको उर्जा तथा आभामण्ललाई दुषित, असन्तुलित तथा निष्क्रिय बनाउछ र व्यक्तिको जीवनमा शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक तथा अन्य परिस्थितिजन्य अस्वस्थता, समस्या तथा चुनौतीहरु खडा गर्दछ । यस्ता अप्ठ्यारा अवस्थाहरुबाट वाहिर निस्कन एकमात्र उपाय खराव परिस्थितिहरुलाई जानीजानी बिर्सनु(लेट गो) र अरुप्रति र कहिलेहाकीं आफैंप्रति पनि क्षमाशिल बन्नु । विगतमा अरुले आफूप्रति गरेका निकृष्ट व्यवहारहरुका नकारात्मक स्मृतिहरु चटक्क विर्सन र उसलाई क्षमा दिहाल्न त्यति सहज अवस्य छैन तरपनि आफू र अरुको भलाइकालागि आफ्नो मनलाई सम्झाएर हामी क्षमाशिल बन्नुको अर्को कुनै विकल्प नै छैन सहज, सरल र सफल जीवनकालागि । क्षमाशिल बन्नकालागि अरुलाई पनि आफू जस्तै ठानेर तथा उसलाई आफ्नो ठाउमा राखेर र आफूलाई उसको ठाउँमा राखेर उसले कुनै बाधा तथा बाध्यतावस त्यसो गर्यो होला, उसको ठाउँ आफू भएको भए मलाई पनि यही अवस्थाबाट गुज्रिनु पर्नेथियो होला भन्ने उदार भाव मनमा राखेर आफ्नो हृदय ठूलो बनाएर अरुलाई क्षमा दिदा अर्कोलाई त राहत हुन्छ नै उसलाई भन्दा पहिला र बढि आफ्नै मन, मस्तिष्क, हृदय, विचार, भावनामा अदभूत सुख, खुशी, शान्ति, आनन्द छाउछ । आफू क्षमाशिल बनेको कारण उत्पन्न भएको यस्तो सकारात्मक तथा सुख, खुशी, शान्ति, आनन्दको अवस्थामा मनुष्यको उर्जा क्षेत्र तथा आभामण्डल शुद्ध, सन्तुलित र सक्रिय हुन थाल्छ र उसको चेतना तथा उर्जाको स्तर स्वतः बढेर जान्छ । 

यसरी मनुष्यले आफूमा धारण गरिएका सकारात्मकता, धन्यता, कृतज्ञता, क्षमाशिलताले क्रमशः उसको जीवनमा विश्वास, आस्था, प्रेम, सम्वन्धमा सकारात्मक प्रभाव तथा परिणाम देखापर्न थाल्छ । यस्ता सकारात्मक भावहरुले मनुष्यको शरीरका आयामहरुबाट निरन्तर ब्रम्हाण्डमा प्रवाहित भैरहने उर्जाका सुक्ष्म तरंगहरु शुद्ध, सन्तुलित र सक्रिय गर्न मद्धत गर्दछन् र यस्तो अवस्थामा स्वतः उसको उर्जा क्षेत्र तथा आभामण्डल शुद्ध, सन्तुलित र सक्रिय गर्न मद्धत गर्दछन् । मनुष्यको उर्जा क्षेत्र तथा आभामण्डल शुद्ध, सन्तुलित र सक्रिय भएपछि चेतना तथा उर्जाको स्तर स्वतः बढेर जान्छ र उसको जीवन सहज, सरल, समृद्ध, सफल हुदै जान्छ । 


(१०)सेवा, परोपकार, दान, पुण्य

आफूले गरेका सकारात्मक प्रयासहरुबाट अरुको सुख, खुशी, शान्ति, आनन्द बढाउने निस्काम कर्म सेवा तथा परोपकार हो र आफूसंग भएका चिज, बस्तु, द्रव्य, श्रम, सेवा, परोपकार, सकारात्मकता, प्रेम, दया, करुणाको उपयोग तथा माध्यमबाट अरुको सुख, खुशी, शान्ति, आनन्द बढाउन प्रयत्न गर्नु दान तथा पुण्य हो ।


सेवा तथा परोपकार

सनातन अध्यात्म दर्शनको मूल विज्ञान वेद र उपनिषदको मूल सार तथा सनातन धर्म–संस्कृतिको मूल ग्रन्थ श्रीमद् भगवद् गीतामा भगवान श्रीकृष्णले भन्नुभएको छ, “मनुष्य योनीको मूल तथा आत्यन्तिक लक्ष्य धर्मको अनुभूति तथा धर्मको अनुशरण गरेर मोक्ष तथा निर्वाण(इटरनल लिबरेसन)मा उपलव्ध हुनु हो ।” सनातन अध्यात्म विज्ञानका अनुसार मनुष्यले धर्मको अनुभूति तथा धर्मको अनुशरण उसको आफ्नै मूल स्वभाव सुख, खुशी, शान्त, सेवा, प्रेम, दया, करुणाबाट प्राप्त गर्न सक्दछ किनकी यी सबै गुणहरु मनुष्यका प्रकृति प्रदत्त जन्मजात साथै आएका नैसर्गीक आन्तरीक विशेषताहरु हुन् । श्रद्धेय महर्षि वेदव्यासले चार वेद र अठार पुराणको रचना गरिसक्नु भएपछि धर्म के हो भन्ने सन्दर्भमा आफ्ना समस्त कृतिहरुको मूलसार केवल दुई लवजमा व्यक्त गर्नुभएको छ, “परोपकार पुण्याय, पापाय परपिडनम ।। अर्थात अरुप्रति परोपकार, सेवा, प्रेम, दया, करुणा भाव राखेर सर्वकल्याणका कर्महरु गर्दै अरुलाई सक्दो सुखी, खुशी, शान्त, आन्दित बनाउनु पुण्य हो र आफ्नो कारणले अरुलाई दुःखी, बेखुशी, अशान्त, तापग्रस्त बनाउनु पाप हो ।” 


मनुष्यले आफूले अरुकालागि केही काम गरेवापत उबाट, समाज तथा राज्यबाट केही पाउने अपेक्षा राखेर गरेका हरप्रकारका कर्महरु लेनदेन तथा पेशा, व्यवसाय अन्तर्गत पर्दछन् भने केहीपनि प्राप्त गर्ने अपेक्षा नराखिकन गरिने हरप्रकारका सर्वकल्याणका कर्महरु सेवा तथा परोपकार अन्तर्गत पर्दछन् । कुनै प्रकारको अपेक्षा नराखि गरिएका सेवाका कार्यहरुले मनुष्यको अन्तरआत्मामा एकप्रकारको अवर्णणीय अलौकिक आत्मसन्तुष्टी, हृदयमा शान्ति, आनन्द, मनमा प्रफुल्ता, खुशी अरुप्रति सकारात्मक भावले भरिने क्षमता अभिवृद्धि गर्दछन् । यसरी मनुष्यको अन्तरआत्मामा बढेको अलौकिक आत्मसन्तुष्टी, शान्ति, आनन्द, प्रसन्नता, खुशी र अरुप्रतिको सकारात्मक भावले उसको शरीका आयमहरुको उर्जा क्षेत्र तथा आभामण्डल शुद्ध, सन्तिुलित र सक्रिय गर्दछ । मनुष्यको उर्जा क्षेत्र तथा आभामण्डल शुद्ध, सन्तुलित र सक्रिय भएपछि चेतना तथा उर्जाको स्तर स्वतः बढेर जान्छ र उसको जीवन सहज, सरल, समृद्ध, सफल हुदै जान्छ । 


दान तथा पुण्य

सनातन अध्यात्म दर्शनका मूल तथा मौलिक शास्त्रहरुले मनुष्यलाई धार्मिक तथा आध्यात्मिक प्रवृत्तिको बन्न सेवा तथा परोपकारका साथसाथ दान तथा पुण्यलाई बडो महत्व र प्राथमिकता प्रदान गरेका छन् । दानका प्रकार तथा प्रकृतिहरु धेरै छन्– (१)श्रम दान, (२)द्रव्य दान, (३)क्षमा दान, (४)मुक्ति दान, (५)मोक्ष दान ।  


श्रम दान: सकेसम्म श्रमदान गर्न प्रयास गर्नु अति उच्चकोटीको दान मानिन्छ जसमा मनुष्यको आफू स्वयंको शरीर, मन, भाव, आत्मा अर्थात चेतनाको उर्जाको प्रत्यक्ष उपयोग हुन्छ र यसप्रकारको दानले मनुष्यलाई सबैभन्दा बढि उसको अन्तरआत्मामा एकप्रकारको अवर्णणीय अलौकिक आत्मसन्तुष्टी, हृदयमा शान्ति, आनन्द, मनमा प्रफुल्ता, खुशी अरुप्रति सकारात्मक भावले भरिने क्षमता अभिवृद्धि गर्दछ ।

द्रव्य दान: विभिन्न कारणले श्रमदान गर्न सकिएन, असमर्थ भइयो तथा भ्याइएन भने द्रव्य तथा नगद, जिन्सी धन दान पनि उच्चकोटीको दान मानिन्छ  हुन्छ जसमा मनुष्यको मन, मस्तिष्क, हृदय, मुटु उदार तथा फराकिलो भएको हुन्छ । अरुलाई आफैं जस्तो ठानेर अरुको सुख, खुशी, शान्ति, आनन्दकालागि मनुष्यको मन, मस्तिष्क, हृदय, मुटु उदार तथा फराकिलो भएको अवस्थामा पनि उसको अन्तरआत्मामा एकप्रकारको अवर्णणीय अलौकिक आत्मसन्तुष्टी, हृदयमा शान्ति, आनन्द, मनमा प्रफुल्ता, खुशी अरुप्रति सकारात्मक भावले भरिने क्षमता अभिवृद्धि गर्दछ । श्रम र द्रव्य दुवै प्रकारका दान गर्नसके झन मनुष्यको अन्तरआत्मामा परमशान्ति तथा पराआनन्द घटित हुन्छ । 

क्षमा दान: क्षमा दान मनुष्यको मानसिक अवस्था तथा दृष्टिकोण हो । अरुले आफूप्रति जे–जस्तो व्यवहार गरेपनि उसलाई आफू सरह सबै परमात्माका अंश हुन्, गलत व्यवहार गर्नुपर्ने उसका केही बाधा तथा बाध्यताहरु होलान भन्ने ठानेर उसको मर्का तथा समस्या बुझेर क्षमा दान गर्दा जीवनका सबैप्रकारका अस्वस्थता, समस्या तथा चुनौतीहरु हटेर जान्छन् । क्षमा दानले अर्को व्यक्ति र आफू दुवै पक्षलाई राहत तथा शान्ति प्राप्त हुन्छ; अन्तरहृदयमा असीम हल्कापनको महसुस हुन्छ; आगामी व्यवहारहरु, सम्वन्धहरु सहज हुन्छन् र यसले पारिवारिक तथा सामाजिक माहोल सरल तथा सहज बनाउछ । यसैकारण क्षमा दानलाई महादान भनिदै आइएको पनि छ । क्षमा दानबाट पनि मनुष्यको अन्तरआत्मामा एकप्रकारको अवर्णणीय अलौकिक आत्मसन्तुष्टी, हृदयमा शान्ति, आनन्द, मनमा प्रफुल्ता, खुशी अरुप्रति सकारात्मक भावले भरिने क्षमता अभिवृद्धि गर्दछ ।

मुक्ति दान: आफ्ना निस्काम कर्महरुको माध्यमबाट अरुका सांसारिक दुःख, पिडाहरुमा राहत प्रदान गर्न प्रयास गर्नु तथा उसलाई उसका दुःख, पिडाहरुबाट मुक्ति दिलाउनु मुक्ति दान हो । सनातन वैदिक धर्मले प्रमुखरुपमा पाँच प्रकारका मनुष्यहरुलाई उनीहरुको दुःख, पिडाहरुबाट मुक्ति दिलाउनु मुक्ति दान मान्दछ– (१)नावालक, (२)वृद्ध, (३)असक्त, (४)बिरामी, (५)गर्भवती स्त्री । यसप्रकारका मनुष्यहरुको सेवा तथा उनीहरुको दुःख, पिडाबाट स्वतन्त्र गराएर प्रदान गरिएको मुक्ति दानले मनुष्यको अन्तरआत्मामा एकप्रकारको अवर्णणीय अलौकिक आत्मसन्तुष्टी, हृदयमा शान्ति, आनन्द, मनमा प्रफुल्ता, खुशी अरुप्रति सकारात्मक भावले भरिने क्षमता अभिवृद्धि गर्दछ ।

मोक्ष दान: मोक्ष दान मनुष्यले गर्ने दान होइन यो परमात्माबाट प्राप्त हुने कुपा तथा आशिर्वाद हो तर मोक्षप्रति प्यास भएका तथा मोक्षको मुमुक्षा गर्ने धार्मिक तथा आध्यात्मिक व्यक्तिहरुलाई मोक्षको मार्ग प्रसस्त गर्ने तथा सह जगर्ने सनातन अध्यात्म दर्शनका मुल विद्याहरु योग विज्ञान तथा ध्यान विज्ञानका वैभानिकतामा आधारित विधि तथा पद्धतिहरुको सहि प्रक्रियाको सैैद्धान्तिक तथा व्यवहारिक हुने प्रयोगात्मक अभ्यासहरुको ज्ञान सिकाएर ज्ञान तथा योग तथा ध्यान दान गर्न सकिन्छ । सनातन अध्यात्म दर्शनका अनुसार मनुष्यले प्रदान गर्नसक्ने दानहरुमा सर्वाधिक उच्चकोटीको दान ध्यान दान र ज्ञान दानलाई राखिएको छ यद्धपि पाँचवटै प्रकारका दानहरुको आ–आफ्नो स्थानमा उत्तिकै महत्व र प्रभावकरिता रहेको हुन्छ र यी सबै दानका हरेक गतिविधिहरुले मनुष्यको अन्तरआत्मामा एकप्रकारको अवर्णणीय अलौकिक आत्मसन्तुष्टी, हृदयमा शान्ति, आनन्द, मनमा प्रफुल्ता, खुशी अरुप्रति सकारात्मक भावले भरिने क्षमता अभिवृद्धि गर्दछ ।

यसप्रकार, सर्वजनहिताय, सर्वजनसुखायको भाव अन्तरहृदयमा राखेर अरुको भलाइकालागि गरिएका सबै प्रकारका सर्वकल्याणका कर्महरु सेवा, परोपकार, दान, पुण्य अन्तर्गत पर्दछन् । हरेक परिस्थिति र आफूले गर्ने हरेक कर्ममा आफ्नो र अरुको भलो चिताउने तथा सर्वकल्याणका कर्महरु गर्ने परोपकारी व्यक्तिनै वास्तविक रुपमा धार्मिक तथा आध्यात्मिक व्यक्ति हो । धार्मिक तथा आध्यात्मिक मनुष्यको शरीरका सबै आयामहरुको उर्जा तथा आभामण्डल संधै शुद्ध, सन्तुलित र सक्रिय रहने गर्दछ । मनुष्यको उर्जा क्षेत्र तथा आभामण्डल शुद्ध, सन्तुलित र सक्रिय भएपछि चेतना तथा उर्जाको स्तर स्वतः बढेर जान्छ र उसको जीवन सहज, सरल, समृद्ध, सफल हुदै जान्छ । 


अन्त्यमा

मनुष्यको शरीरका आयामहरुबाट निरन्तर ब्रम्हाण्डमा प्रवाहित भैरहने उसको उर्जा क्षेत्र तथा आभामण्डलको सवल तथा निर्वल अवस्थाको सिधा सम्वन्ध उसको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक अवस्था तथा स्वस्थ्यसंग रहेको हुन्छ र शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक अवस्था तथा स्वस्थ्यको सम्वन्ध प्रत्यक्ष रुपमा उसको सकारात्मक तथा नकारात्मक सोच, विचार, भाव, बोलीवचन, व्यवहार, आचरण, कर्मसंग रहेको हुन्छ तथा जोडिएको हुन्छ ।  उर्जा क्षेत्र तथा आभामण्डल मनुष्यको सुरक्षा कवच हो जसले शरीरका सबै आयामहरुलाई स्वस्थ, सन्तुलित र सक्रिय राख्न मद्धत गर्दछ । यसप्रकारको प्रत्यक्ष सम्वन्ध दोहोरो हुन्छ, मनुष्यको उर्जा क्षेत्र तथा आभामण्डलको शुद्ध, सन्तुलित, सक्रिय, सवल तथा निर्वल अवस्था उसको सकारात्मक तथा नकारात्मक बानी, व्यवहार तथा उसको समग्र जीवनशैलीमा निर्भर गर्दछ । यदि मनुष्यको उर्जा क्षेत्र तथा आभामण्डल शुद्ध, सन्तुलित, सक्रिय, सवल, चम्किलो, फैलिएको, घना अवस्थामा छ भने यसले उसलाई हरप्रकारका नकारात्मकताहरुबाट बचाउछ । तसर्थ आफ्नो उर्जा क्षेत्र तथा आभामण्डललाई निरन्तर शुद्ध, सन्तुलित, सक्रिय, सवल, चम्किलो, फैलिएको, घना राखिराख्न जतिसक्दो माथि उल्लेखित सबै उपचार विधि तथा चिकित्सा पद्धति, उपायहरु आफ्नो आवश्यकता, सहजता तथा अनुकुलता हेरेर जीवनमा अनुशरण गर्नु उत्तम हुन्छ । यी उपायहरुको माध्यमबाट मनुष्यको चेतना तथा उर्जाको स्तर बढेपछि यसबाटनै उसको जीवनमा क्रमशः सरलता, सहजता, समृद्धि, सफलता, मान–प्रतिष्ठा, सुख, खुशी, शान्ति, आनन्द, भाग्य सबै हासिल हुदै जान्छन् र उसले आफूले सोचे जस्तो पूर्णतालेयुक्त जीवन निर्माण गर्नसक्छ । 


मनुष्यको उर्जा क्षेत्र तथा आभामण्डलले आफू लगायत उसको वरपरको वातावरण र त्यहाँस्थित सबै घटना, परिस्थिति, विषय, वस्तु, प्राणी, वनस्पति, पदार्थलाई समेत उसको चेतना तथा उर्जाको तह तथा स्तर अनुसार प्रत्यक्ष रुपमा सकारात्मक तथा नकारात्मक प्रभाव पर्दछ । उर्जा क्षेत्र तथा आभामण्डल सकारात्मक भए सकारात्मक प्रभाव पर्दछ र नकारात्मक भए नकारात्मक प्रभाव पार्दछ । यसकारण, प्र्रकृतिमा मनुष्यको रुपमा आफू सर्वाधिक चेतनशील प्राणी भएको नाताले मानवीय बन्नु, सबै प्राणी, वनस्पति तथा पदार्थहरुप्रति सेवा, परोपकार, दान, पुण्यको भावले भरिनु र अरुको सेवा गर्नु मेरो मूल धर्म, कर्तव्य, उत्तरदायित्व र जिम्मेदारी हो किनकी म यही प्रकृति तथा ब्रम्हाण्डको नागरिक हुँ, म ब्रम्ह हुँ, सबै ब्रम्ह हुन्, सबै कुरामा सबैको बराबर अधिकार छ । प्रकृति तथा ब्रम्हाण्डमा रहेका सारा प्राण्ी, वनस्पति तथा पदार्थहरुलाई हरप्रकारले स्वस्थ, शुद्ध, सन्तुलित र सक्रिय राख्ने यस महाअभियानमा तिमीले, मैले नगरेर कसले गर्छ त ? तिमी नै म हो, म नै तिमी हो । सबैमा म छु, सबै ममा छन् । एक पृथ्वी एक परिवार, एक ब्रम्हाण्ड एक परिवार, वसुदैव कुटुम्वकमको अवधारणालाई आत्मसाथ गरौं । सर्वजनहिताय, सर्वजनसुखाय, सर्वकल्याणका कार्यहरु हरेक मनुष्यको दायित्व हो त्यसैले आफ्नो चेतना तथा उर्जाको तह तथा स्तर बढाउँ, अरुको पनि बढाउन मद्धत गरौं र सदा स्वस्थ, शुद्ध, सन्तुलित, सक्रिय बनेर सहज, सरल, सफल जीवनयापन गरौं । 

समग्रमा, माथि उल्लेखित सनातन अध्यात्म दशएनका अभिन्न अंगहरु सबै चिकित्सा विधि, पद्धति तथा प्रणालीहरुको आत्यन्तिक उद्देश्य मनुष्यको सुक्ष्म शरीरमा रहेका उर्जाका मूल शक्तिकेन्द्र सात चक्रहरुको उर्जालाई शुद्ध, सक्रिय, जागृत तथा सन्तुलित गर्नु हो । चक्रको उर्जा शुद्ध, सक्रिय, जागृत तथा सन्तुलित भएपछि स्वतः मनुष्यको उर्जा क्षेत्र तथा आभामण्डल फराकिलो, शुद्ध, स्वस्थ, सबै चक्रका रंगहरु स्पष्ट देखिने चम्किलो हुन्छ र उसको शरीरका सबै आयामहरुबाट निरन्तर वाहिर ब्रम्हाण्डमा प्रवाहित भैरहने उर्जाका तरंंग तथा प्रकाश पुञ्जहरु(वायो फोटोन्स) पनि स्वतः शुद्ध, सक्रिय, जागृत तथा सन्तुलित हुन्छन् र मनुष्यको चेतना तथा उर्जाको स्तर बढ्छ । 



No comments:

Post a Comment