डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन
विषय प्रवेश
पूर्वीय सनातन दर्शनको मूल शास्त्र वेद(ज्ञान, विज्ञान) र यसबाट निसृत सबै शास्त्रहरुको मूलसार, वैज्ञानिकतामा आधारीत प्राचीन ग्रन्थ श्रीमद् भगवद् गीतामा मोक्ष प्राप्त्किालागि तीनवटै मार्गलाई महत्वकासाथ विस्तार गरिएको भएपनि भक्ति मार्ग सबै प्रकारका साधकहरुकालागि सरल तथा सहज मार्ग भएकोले सबैभन्दा श्रेष्ठतम छ भनेर व्याख्या गरिएको छ । यद्धपि मोक्ष प्राप्तिकालागि श्रीमद् भगवद् गीतालाई तीनवटै मार्गको प्रमुख ग्रन्थका रुपमा मान्यता प्रदान गरिदै आइएको पाइन्छ । कर्म योग तथा भक्ति योग मार्गीहरुले पनि ज्ञान योग अनुशरण गर्नुपर्दछ । उनीहरुले पनि वेद, शास्त्र, ग्रन्थ, पुस्तकहरुको ज्ञान आर्जन गर्नुपर्दछ र ब्रम्ह के हो र आफू अर्थात 'म' को भनेर जान्नु पर्दछ साथै अध्यात्म तथा योगका सबै तन्त्रहरुकाबारेमा पनि जान्नुपर्दछ ताकि उनीहरु आफैंले देख्न र जान्न सकुन कि उनीहरु मोक्ष प्राप्तिको सही मार्गमा छन् कि छैनन् । कर्म योग, भक्ति योग र ज्ञान योग एकआपसमा अन्तर–सम्वन्धित हुदाहुदै पनि मोक्ष प्राप्तिको मार्गमा केही अर्थमा, केही पक्षमा तथा केही हदसम्म यीनलाई अलग–अलग आयामका रुपमा हेरिदै आइएको पाइन्छ । साधकको सोच तथा विचार ज्ञान योगको मूल विषय हो भने साधकको भावशक्ति भक्ति योगको मूल विषय हो र साधकको शारीरिक तथा मानसिक सक्रियता कर्म योगको मूल विषय हो ।
ज्ञान योग तथा ज्ञान मार्ग के हो ?
प्राय सबै प्रकारका ज्ञान हासिल गर्ने यात्रा प्रश्न तथा जान्ने चाहनाबाट नै शुरु हुन्छ । ठिक यही प्रक्रियाले “अथातो ब्रम्ह जिज्ञासा ।” अर्थात ब्रम्ह के हो ? ब्रम्हको बारेमा कसरी जान्न सकिन्छ भन्ने जिज्ञासाबाट ज्ञान योगको मार्ग प्रारम्भ हुन्छ । सबैभन्दा कान्छो सनातन वेदान्त दर्शन ज्ञान योगको मार्ग हो । ज्ञान योगमा ज्ञान मार्गीहरुले ब्रम्ह तथा ब्रम्हाण्डका सुक्ष्मदेखि विराट विषयहरुको अन्तिम सत्यता खोज्ने र जान्ने प्रयास गर्दछन् । यी विषयहरुमा पहिलो तथा महत्वपूर्ण विषय ‘म’ र यससंग सम्वन्धित 'म', 'मेरो', 'मलाई', 'मैले'... आदि विषयहरु पर्दछन्– म को हुँ; मेरो उपस्थिति कसरी भयो; मलाई कसले उपस्थित गरायो; मेरो उपस्थिति जुन जगतमा छ, यो के हो; मेरो दैनिकी जहाँ जसरी चलिरहेको छ, यो के हो; कसले यो जगतको निर्माण गर्यो; यो जगत किन छ; कहिलेदेखि छ; कहिलेसम्म रहनेछ; यो प्रकृति के हो; प्राकृतिक प्राणी, वनस्पति, पदार्थ के हुन्; यीनको उपस्थिति किन छ; यीनको उपस्थिति कसरी भयो; कसले गरायो तथा बनायो; कहिले बनायो; किन बनायो; कहिलेसम्म रहनेछन्; म जस्तै अरु प्राणी तथा मानिसहरु को हुन; यी किन मेरा वरीपरि छन्; किन मेरो अनेक प्रकारका नाता सम्वन्धहरु छन्; यो शरीर किन छ; यो शरीर के हो, यो शरीरलाई चलाउने वाहिरी, आन्तरीक, स्थुल, सुक्ष्म अंगहरु किन छन्; कसरी बने; सुक्ष्म अंग मन के हो; वुद्धि, विवेक, भाव, भावना, चेत, चित्त, चेतना, आत्मा, परमात्मा के हो; किन यस्तो छ; ब्रम्ह के हो; वेद के हो; धर्म, संस्कृति, सम्प्रदाय, संस्कार, परम्परा के हुुन्; पाप, पुण्य, सत्व, रजस, तमस के हुन्; स्नेह, मैत्री, मायाँ, ममता, श्रद्धा, दया, करुणा, सेवा, उपकार, प्रेम, भक्ति, परमभक्ति के हुन्; यीनका मापदण्ड केके हुन्; किन बनाइयो; कर्म, ज्ञान, भक्ति के हो; आवरणमा उस्तै–उस्तै देखिने मनुष्यहरु आन्तरीक रुपमा किन विलकुल भिन्न छन्; उनीहरुको प्रकृति तथा बानी व्यवहार किन मेरो भन्दा फरक छ; मानिसका गुण, प्रवृत्ति तथा काम, क्रोध, लोभ, मोह, इष्र्या, मद, माश्चर्य, राग, द्धेष, भय के हुन; सकारात्मकता, नकारात्मकता के हुन्.... आदि जिज्ञासाहरु ज्ञान योगको मार्गमा खोज्ने र जान्ने प्रयास गरिन्छ । यी सबै जिज्ञासाहरुको जवाफ रिठ्ठो नबिराइकन सनातन वेद(ज्ञान, विज्ञान) ले दिन्छ किनकी “...ब्रम्ह वेद स्वरुपम...” अर्थात ब्रम्हको ज्ञान दिनेवाला वेद स्वयं ब्रम्ह हो ।
यी माथि उल्लेखित तथा अझै बढि जिज्ञासाहरु जान्ने प्रयासमा ज्ञान योग शुरु हुन्छ । ज्ञान योग वुद्धि, विवेकबाट शुरु हुन्छ । तर विवेककालागि मनुष्यमा वैराग्य(असत्य अर्थात वाहिरी संसारको सुखभोगप्रति अनाशक्ति) भाव घटित हुनु अनिवार्य हुन्छ किनकी वैराग्यताबाट नै विवेकको उत्पत्ति हुन्छ । जवसम्म ‘म’ असत्य, माया, मिथ्या तथा भ्रमप्रति जोडिइरहेको हुन्छु तवसम्म ‘म’ असत्यप्रति आशक्त रहन्छु, ‘म’ सत्यमा प्रवेश गर्न नै सक्दिन । असत्यप्रति अनाशक्ति वैराग्यबाट मात्र फलित तथा घटित हुनसक्छ । जव ‘म’ चिज–वस्तुहरुलाई तीनको असलि स्वरुपमा जान्दछु तव वैराग्यको उत्पत्ति हुन्छ । उदाहरणले स्पष्ट बुझौं– एक दिन मेरो शरीर मर्छ, मेरा सम्वन्धहरु छुट्छन्, ‘म’ एक्लै आएको हुँ एक्लै जान्छु, कहाँबाट आएको हो, कहाँ जान्छु थाहा छैन तर यो निश्चित छ कि ‘म’ संधै रहन्न, कोहीपनि संधै रहदैन । हामी सबै पानीका फोका तथा फूलेका फूल जस्तै हौं जो निश्चित समय अवधिपछि फुट्छ तथा ओइलाएर झर्छ र मर्छ, यसै ऋतले हामी सबै अस्थाइ र असत्य छौं, जो जन्मन्छ उ अवश्य मर्छ तर मर्ने मेरो शरीर हो म होइन म त स्थाई र सत्य शुद्ध, वुद्ध, प्रवुद्ध आत्मा, परमात्माको अभिन्न अंश हुँ ।विडम्वना यो छकि हामी कहिल्यै त्यो स्थाइ, सत्य, नित्य, अभिनासी, सर्वशक्तिमान, सर्वव्यापक के हो त्यो खोज्ने प्रयास गर्दैनौं । त्यही खोज नै ज्ञान योगको विषय हो । ज्ञान योगी तथा ज्ञान मार्गीले त्यही स्थाइ विषय तथा अन्तिम सत्यको बारेमा खोज्दछ ।
स्थाइ तथा अन्तिम के हो, यसलाई कसरी खोज्ने ?
स्थाइ तथा अन्तिमलाई खोज्नु अत्यन्तै सामान्य र सरल कुरा तथा काम हो र यो कार्य एकदमै सहज छ किनकी यो उपाय 'म' स्वयंसंगै छ, कहीं कतै वाहिर खोज्न जानु नै पर्दैन । स्थाइ तथा अन्तिम सत्य के हो भनेर जिज्ञासा राख्ने, यसको खोजी गर्न चाहाने को हो सर्वप्रथम त्यसलाई खोज्नु पर्दछ । त्यो स्वयं ‘म’ नै हुँ, तसर्थ पहिला मैले ‘म’लाई नै खोज्नु तथा जान्नु पर्दछ । ‘म’ को हुँ त ? के ‘म’ शरीर हुँ, के ‘म’ मन हुँ, के ‘म’ भाव तथा चित्त हुँ ? होइन, शरीर, मन, भाव, चित्त त मेरो हो, ‘म’ त यी सबै अंगहरुको पनि भित्र छु । त्यो ‘म’ मभित्रको ‘म’ होे जो मभित्रै रहेर मलाई नै खोज्न तथा जान्न हिंडेको छ । त्यसको स्वरुप के हो, आत्मा(चेतना) हो या अनात्मा(जड) हो अर्थात त्यो वुद्धि, विवेक हो या मन हो या शरीर हो ? ध्यान दिएर हेर्ने हो भने एक मनुष्य भित्र कयौं मनुष्यहरु छन् अर्थात मभित्र कयौं महरु छन् । मभित्रै पिता, माता, पुत्र, पुत्री, व्यवसायि, व्यापारी, राजनेता, समाजसेवी, गुरु, कर्मचारी, नोकर आदि सबै छन् । समय र परिस्थिति आएपछि जो व्यक्ति ‘म’भित्र छ त्यो आफैं वाहिर आउँछ तथा प्रकट हुन्छ । अनि आफैंलाई अचम्म लाग्छ र आनन्द पनि आउँछ कि मभित्र माता रहेछ, मातृत्व रहेछ, माता हुने गुणहरु रहेछन्, समाजसेवा रहेछ, समाजसेवी हुने गुणहरु रहेछन्, गुरु रहेछ, गुरु हुने गुणहरु रहेछन्.... आदि । यसैगरी ज्ञान योगको मार्गमा ज्ञानको निश्चित गहिराइमा मभित्र रहेका विभिन्न पात्रहरुको मूल श्रोत 'म' अर्थात शुद्ध, वुद्ध, प्रवुद्ध आत्मा पनि प्रकट हुन्छ जो परमात्माको अभिन्न अंश हो ।
ज्ञान योगको मार्गमा ‘म’ प्रति अनगिन्ती जिज्ञासाहरु रहने गर्दछन्, जस्तो कि– ‘म’ को हुँ कहिले खुशी हुने कहिले दुःखी हुने ? ‘म’ खुशी किन हुन्छु; ‘म’ दुःखी किन हुन्छु ? ‘म’ को हुँ कहिले सुखमा, दुःखमा पनि कतिपनि विचलित हुन्न, एक समान रहिरहन्छु तर कहिलेकाहीं सुख, दुःखले किन मलाई प्रभाव पार्छन् र कहिले किन पार्दैनन् ? क्रमशः ५, १५, २५, ५०, ६०... जति उमेर बढेपनि ‘म’ त्यही हुँ तर किन मेरो शरीर, मन, भावना, कल्पना, वरीपरिको वातावरण, विभिन्न परिस्थितिहरु निरन्तर परिवर्तन भएको तथा बद्लिरहेको देख्छु । यो सबै बदलावहरु हेरीरहने, भोगीरहने पनि ‘म’ नै हुँ, बुढो हुने पनि ‘म’ नै हुँ, मर्ने पनि ‘म’ नै हुँ तर त्यो सुक्ष्म शरीर अर्थात आत्मा ‘म’ जो कहिल्यै परिवर्तन भएको छैन र कहिल्यै परिवर्तन हुनेछैन । त्यसले मेरो विभिन्न अवस्था तथा परिस्थितिहरु देखिरहन्छ, मेरा हाँसो, खुशी, रोदन, वेदना, चिन्ता, उत्सव सबैको साक्षी बनिरहन्छ । ‘म’ को हुँ भन्ने जिज्ञासा र ‘म’ यो हुँ भन्ने परिचय जवसम्म शरीर, मन, भाव र परिस्थितिहरुसंग जोडिएर रहन्छ तवसम्म मेरो जीवनमा केहीपनि उल्लेखनिय वदलाव आउदैन । ‘म’ त्यो हुँ जो कुनैपनि परिस्थितिमा बद्लिदैन, जव यो ज्ञान जान्दछु तव मेरो जीवनमा दिव्य परिवर्तनहरु अनुभवमा आउन थाल्छन् ।
पूर्वीय सनातन वेदान्त दर्शनका अनुसार यसरी ‘म’ को हुँ भनेर खोज्ने जिज्ञासाबाट नै ज्ञान योगको यात्रा प्रारम्भ हुन्छ र ‘म’ स्वयं ब्रम्ह हुँ भनेर जानेपछि मात्र ज्ञान योगको यात्रा अन्त्य हुन्छ । तर यस आलेखको पंक्तिकार 'म' सिर्जना भण्डारी, मेरो ज्ञान योग तथा ज्ञान मार्गको यात्रा यहाँ उल्लेखित मान्यता भन्दा केही फरक प्रकारले प्रारम्भ भयो । सन् २००८ मा अमेरीकामा रहदा मेरो श्रद्धेय पिताजी अध्यात्म गुरु श्री भुवनेश्वर भण्डारीसंग मेरो पहिलो ब्रम्ह जिज्ञासाका रुपमा “एको ब्रम्ह द्वितियो नास्ती” भनेको के हो ? भन्ने प्रश्नबाट प्रारम्भ भयो र ज्ञान योगको यो यात्राको अन्त्य(तर मेरो अनुभवमा ज्ञान योग निरन्तर चलिरहने यात्रा रहेछ, यसको अन्त्य कहिल्यै पनि नहुने रहेछ किनकी निरन्तर नयाँ-नयाँ विषयहरु जानिरहनु नै जीवन रहेछ) सन् २०११ मा साउदी अरवमा रहदा(श्रीमान हरिचन्द्र घिमिरे परराष्ट्र मन्त्रालयको निजामति कर्मचारी भएकोले देश-विदेशको यात्रा भइरहन्छ) आफूसंग आफ्नै साक्षातकार भएपछि अन्त्य नभएर सहज चाहिं भयो । प्रत्यक्ष अनुभव प्रदान गर्ने सत्य-तथ्य ज्ञानकासाथ म सहज भएँ कि ‘म’ त शुद्ध, वुद्ध, प्रवुद्ध, सबै देख्नेवाला द्रष्टा आत्मा पो रहेछु र उनै परमात्माको अभिन्न अंश पो रहेछु अर्थात स्वयं परमात्मा तथा ब्रम्ह पो रहेछु भनेर । त्यसयता निरन्तर भैरहेको अध्यात्मको साधना, आध्यात्मिक यात्रा, ज्ञान मार्गको यात्रा र यस यात्रामा भएका तथा भैरहेका सबै भावातीत अनुभूतिहरु अत्यन्त सुमधूर, आनन्ददायि र ज्ञानमय रहदै आएका छन् ।
ध्यान के हो र कसरी गर्ने ?
पंक्तिकार स्वयंको अनुभवमा “अथातो ब्रम्ह जिज्ञासा” अर्थात ‘ब्रम्ह’ के हो, ‘म’ के हुँ र ‘म’ को हुँ भन्ने जिज्ञासाको जवाफ खोज्न सर्वप्रथम संसारतिर फर्किएको आँखा बन्द गरेर, मन र इन्द्रियहरुलाई निग्रह(आफ्नो वसमा तथा आफैंमा समाहित) गर्दै आफूभित्र फर्कनुपर्ने रहेछ र यही नै ध्यान रहेछ । आफूतिर फर्कन सिक्ने प्रक्रिया धारणा रहेछ र धारणामा अभ्यस्त हुदै एकाग्र अवस्थामा तथा विचार शुन्यताको अवस्थामा पुग्नु वास्ताविक ध्यान रहेछ । आफूतिर फर्कनु तथा धारणा हुदै ध्यानको अवस्थामा पुग्नु भनेको मनुष्यले गर्न नसक्ने कुनै गर्हौं भारी कुरा उचाल्नु नपर्ने रहेछ; कुनै वाद अंगाल्नु नपर्ने रहेछ; निश्चित टीका, माला, पहिरन, भेष तथा सम्प्रदाय धारण गर्नु नपर्ने रहेछ; व्यक्तिगत जीवन, परिवार, समाज छोडेर एकान्तवासमा जानु नपर्ने रहेछ; शास्त्र तथा सिद्धान्तका ठेलीहरु पढेर पार लगाउनु नपर्ने रहेछ र विभिन्न प्रकारका शारीरिक तथा मानसिक परिश्रम गर्नु नपर्ने रहेछ । यो त केवल सकेसम्म कतै एकान्तमा चर्मचक्षु(वाहिरी आँखा) बन्द गरेर, ढाड, कम्मर, गर्धन र शिर सिधा राखेर, बसेर तथा पल्टेर, स्थिर भएर आफूलाई हेरीरहनु पो रहेछ । आफू भन्नाले आफ्नो शरीर, शरीरका वाहिय तथा आन्तरीक अंगहरु, आफ्नो मन, मनमा उठिरहने सोच तथा विचारहरु, आफ्ना बानी, व्यवहारहरु, गुण, अवगुणहरु, आफ्ना सवल तथा निर्वल पक्षहरु, आफ्ना सही तथा गलत क्रिया–काम–कर्म तथा व्यवहारहरु, आफ्ना सकारात्मक तथा नकारात्मक सोच, विचार, भावहरु, आफ्ना सफलता तथा असफलताहरु, आफ्ना सम्वन्धहरु आदि हुन् । यी विषयहरुलाई मनमनै हेरीरहेर, केलाएर, विश्लेषण गरेर र मनमनै जहाँ–जहाँ तथा जस–जसलाई आफूले धन्यवाद दिनुपर्ने हो दिएर, क्षमा माग्नु तथा दिनुपर्ने हो मागेर तथा दिएर, सेवा सहयोग दिनु तथा लिनु पर्ने हो भने दिन्छु तथा लिन्छु भन्ने संकल्प गरेर आदि सबै गतिविधिहरु गर्दै जाने आफूले आफूभित्रै गर्ने सुक्ष्म क्रियाहरू नै ध्यान रहेछ ।
यद्धपि ध्यानका परिभाषा तथा प्रकारहरु अवस्था, आवश्यकता र परिस्थिति अनुसार अलग–अलग प्रकारका रहेकाछन् । तर ध्यानका सबै परिभाषा, प्रकार तथा विधिहरुको एकमात्र लक्ष्य मनुष्यका ज्ञान तथा कर्म इन्द्रियहरुको माध्यमबाट वाहिरको संसारमा छरिएको उसको चेतनाको उर्जालाई उतिरै फर्काएर उसलाई आफूमा एकाग्र बनाउनु र आफैंलाई खोज्ने तथा जान्ने ज्ञान मार्गतर्फ उन्मुख गराइदिनु हो । ध्यानमा अध्यस्त भएर यसका भौतिक तथा पराभौतिक लाभ तथा उपलव्धिहरु हासिल गर्न दिन–रातभरिको २४ घण्टामा कम्तिमा एक घण्टा समय आफूतिर फर्कन पूर्ण योग साधन(योगासन, प्राणायाम, ध्यान)कालागि छुट्याउनु पर्ने रहेछ । यो एक घण्टालाई आफ्नो शरीर, मन, भाव र चेतनाको आवश्यकता अनुसार आफ्नैलागि तीन भाग लगाएर त्यसै अनुसार गर्नुपर्ने रहेछ । सकेसम्म विहान सुर्योदयसंगैको समय केहीबेर योगासन तथा व्यायामकालागि(३० मिनेट), केहीबेर प्राणायामकालागि(१५ मिनेट) र केहीबेर ध्यानकालागि(१५ मिनेट) र दिनभरिको केही समय(सकेसम्म बढि) अध्यात्म दर्शन तथा जीवन दर्शनबारे सिकाउने सतसंग तथा ज्ञानकालागि छुट्याउनु पर्ने रहेछ । पूर्ण योग साधनामा अभ्यस्त हुदै गएपछि ज्ञान योगको यात्रामा तिव्रता ल्याउन पूर्ण योग साधनाको समयावधि बढाउनु बुद्धिमानी हुने रहेछ । आफूलाई खोज्न तथा जान्न अध्यात्म साधनाका प्रमुख मार्गहरु कर्म मार्ग, भक्ति मार्ग तथा ज्ञान मार्ग जुन मार्गको चयन गरेपनि ध्यान नै पहिलो र अन्तिम आधार, उपाय तथा उपकरण रहेछ र ध्यानको पहिलो तथा अन्तिम पूर्वाधार मनुष्यको शरीर, मन, भाव र चित्तको सवल स्वास्थ्य अवस्था, सक्रियता र शुद्धता नै रहेछ किनकी शरीर तथा स्वास्थ्यका आयामहरु(स्थुल, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक शरीर तथा स्वास्थ्य) पूर्णतः सवल अवस्थामा नभईकन धारणा तथा ध्यानमा प्रवेस गर्न मुस्किल हुने रहेछ । तसर्थ केही समय ध्यानमा शरीरका कुनैपनि अंगहरु नचलाइकन विलकुल स्थिर भएर बस्नकालागि अर्थात शारीरिक स्वास्थ्य सवल राख्नकालागि योगासन र केही समय ध्यानमा नकारात्मक विषयहरुमा विचार ज्यादा नचलाइकन विचारशुन्यताको अवस्थामा रहनकालागि अर्थात मानसिक स्वाथ्य सवल राख्नकालागि प्राणायाम गर्नु अनिवार्य हुने रहेछ ।
वाहिरका चर्मचक्षु बन्द गरेर ध्यानमा शरीर र मन स्थिर राखेर बसेपछि भित्रको दिव्य चक्षु, इश्वरिय नेत्र अर्थात आज्ञा चक्रले आफ्नो काम गर्न शुरु गर्छ । वौद्ध दर्शन ध्यानको यो प्रयोगमा सिधै व्यवहारिक प्रयोगमा उत्रिएको छ जो अत्यन्तै उपलव्धिमूलक रहदैआएको पाइएको छ । वौद्ध दर्शनले शुरुबाटनै साधकहरुलाई सिकाउदै आएको छ कि मुर्ति, मन्दिर, पूजापाठ, यज्ञ, व्रत, तीर्थ, कर्मकाण्ड ती सबै ध्यानका वाहिरी क्रिया तथा गतिविधिहरु हुन् तर ध्यान नितान्त आन्तरीक क्रिया तथा गतिविधि हो । वाहिरी क्रिया तथा गतिविधिहरुले अन्तिम सत्यसम्म पुर्याउदैनन् बरु उल्टै आडम्बर बढाउँछन् र पुर्याएपनि अति सुस्तगतिमा पुर्याउछन् तसर्थ वाहिरी क्रिया तथा गतिविधिहरुमा आफ्नो समय र उर्जा नोक्सान नगर सिधै भित्री तथा आन्तरीक क्रिया ध्यानमा प्रवेश गर र त्यहीं आफूलाई खोज, जान र आफ्नो माध्यमबाट त्यो स्थाइ विषय र अन्तिम सत्य अर्थात ब्रम्हलाई जान । यसकालागि वाहिरका आँखा बन्द गर र भित्रको अध्यारोलाई हेर्न थाल, त्यही अध्यारोमा उज्यालो अर्थात प्रकाश अर्थात परमज्योति प्रकट हुन्छ र स्वयंको ज्ञान(आत्मज्ञान) घटित हुन्छ। जव आफैंभित्रको परमज्योति देखिन्छ अर्थात आज्ञा चक्र खुल्छ वाहिरको भौतिक संसारप्रतिको आशक्ति स्वतः समाप्त हुन्छ र मनुष्यमा स्वस्फुर्त वैराग्य घटित हुन्छ र अन्तिम सत्यको निटक पुग्दछ ।
ध्यानको माध्यमबाट भित्रको संसारमा मनुष्यले यस्तो चमत्कारीक अनुभव तथा भावतीत अनुभूति गर्छ जसले वाहिरको संसार मिथ्या हो, माया हो, भ्रम हो, अनित्य हो भन्ने स्पष्ट रुपमा थाहा पाउँछ र उसले वैराग्य जीवन अगाल्न प्रारम्भ गर्दछ यो बुझेरकी वास्तविक सुख, खुशी, शान्ति, आनन्द वाहिरी संसारमा नभएर आफैंभित्र पो रहेछ, वाहिरी संसार त केवल भ्रम, माया, सपना मात्र पो रहेछ । जव जीवनमा वैराग्य घटित हुन्छ तव उ विस्तारै काम, क्रोध, लोभ, मोह, इष्र्या, मद, माश्चर्य जस्ता मानवीय विकारहरुबाट अलग हुदै जान्छ । अव उसलाई थाहा हुन्छ वाहिरको संसारमा यो सारा प्रकृति र प्रकृतिका सबै प्राणी, वनस्पति तथा पदार्थहरु अलग–अलग देखिएका रहेछन् भित्रको संसारमा त सबै एकै रहेछ, उही परमात्माको अभिन्न अंश रहेछ, सबै एउटै उही परमात्मा तथा परब्रम्हको उर्जा–आत्मा–चेतना रहेछ, सबै ब्रम्ह रहेछ । पूर्वीय सनातन दर्शनका शास्त्रहरुमा उल्लेखित ब्रम्ह वाक्यहरुको तात्पर्य यही नै रहेछ र यसैकारण भनिएको रहेछ, “सर्वं खल्विदं ब्रम्ह ।” अर्थात सबै ब्रम्ह हो; “एको ब्रम्ह द्वितियो नास्ती” अर्थात ब्रम्ह एउटै छ दुईवटा छैन; “अहं ब्रम्हास्मि ।” अर्थात म नै ब्रम्ह हुँ; “तत्वमसि” अर्थात तिमी पनि त्यही ब्रम्ह हौ; “जिवो ब्रम्हमेव नै पर ।” अर्थात जिव र ब्रम्हमा कुनै भेद छैन... आदि ।
परमात्माको संसारमा केहीपनि कोहीबाट अलग–थलग रहेनछ, सबै एकै हो रहेछ जसरी माटो एक पदार्थ हो यसबाट जेजे सामग्रीहरु निमार्ण गरेर अलग-अलग पहिचान दिइएको भएपनि जव त्यो पुरानो हुन्छ, फुट्छ तथा बिग्रन्छ तव माटोमै मिल्छ । ठिक त्यसैगरि हरेक जिवात्मा(जिव+आत्मा) प्रकृति(प्रकृति स्वयं माटो हो) र पुरुषको संयोगबाट निर्माण भएको हुन्छ, मनुष्य पनि जिवात्मा हो र उ पनि जव रोगी तथा बुढो भएर मर्छ तव प्रकृति अर्थात पंचतत्वबाट निर्मित तथा प्राप्त भएको शरीर प्रकृतिमै/माटोमै मिल्छ र परमात्मा(परमात्मालाई पुरुष पनि भनिन्छ, पुरुषहरुमा उत्तम ‘पुरुषोत्तम’, आत्माहरुको आत्मा ‘परमात्मा’)बाट निर्मित तथा प्राप्त भएको पुरुष परमात्मा मै मिल्छ र मनुष्यको कर्म अनुसार कर्मबन्धन शुन्य भएका जिवात्माहरु सदाकालागि परमात्मामा योगस्त हुन्छन् तथा मोक्ष प्राप्त गर्दछन् र कर्मवन्धन बाँकी रहेका जिवात्माहरुको पुनः अर्को जन्मको तयारी प्रारम्भ हुन्छ र यही ऋत(धर्म)ले कर्मवन्धन बाँकी रहेका जिवात्माहरुको जन्म र मृत्युको चक्र मनुष्य मोक्ष भएर पुनः परमात्मामा योगस्त नहुन्जेलसम्म चलिरहन्छ...चलिरहन्छ... अस्तु । bsirjana@gmail.com
स्मरण रहोस: म लाई शरीर,मन, भाव, चित्तको अर्थमा र 'म' लाई सुक्ष्म शरीर अर्थात आत्माको अर्थमा प्रयोग गरिएको छ ।
No comments:
Post a Comment