'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Tuesday, 14 January 2025

ब्रम्हाण्डको स्थाइ सत्य र सत्यको खोजको सन्दर्भमा ज्ञान मार्गको विशेष भूमिका तथा गरिमा रहदै आएको छ

(अध्यात्म गुरु श्रद्धेय श्री भुवनेश्वर भण्डारीज्यूसंगको संवादमा आधारीत)

                    संकलक, डा. सिर्जना भण्डारी





विषय प्रवेश

“ब्रम्हाण्डको स्थाइ सत्य र खोजको सन्दर्भका ज्ञान मार्गको विशेष योगदान र फरक प्रकारको गरिमा रहदैआएको छ । मनुष्य चेतनशील प्राणी हो । मनुष्यमा अरु जिवहरुमा भन्दा फरक प्रकारको चेतनाशक्ति रहेकोछ र उसको चेतनाको विकास पनि फरक प्रकारले नै हुनेगर्दछ । तसर्थ मनुष्य, चेतनाको निरन्तर विकास भैरहने विकसित स्वरुप भएको, वुद्धि, विवेक र सक्रियता भएको चिन्तनशील र चेतनशील प्राणी हो । सनातनदेखि आजपर्यन्त निरन्तर मनुष्य चेतनाको विकास भैरहेको छ । यसैकारण मनुष्य नयाँ–नयाँ कुराहरु जान्न रुची राख्दछ, सबै विषयहरुको सत्यता अन्तिमसम्मै पुगेर जान्न चाहन्छ, आफूलाई जान्न चाहान्छ र आफ्नो माध्यमबाट सारा संसार र पूरै ब्रम्हाण्डलाई जान्न चाहान्छ ।”   –अध्यात्म गुरु भुवनेश्वर भण्डारी


कर्म योग, भक्ति योग, ज्ञान योग र श्रीमद् भगवद् गीता

श्रीमद् भगवद् गीताको सन्दर्भमा विभिन्न विद्धत वर्गहरुद्वारा धेरै किसिमका भाष्य, व्याख्या, टीका, टिप्पणीहरु लेखिएका छन् र यसैको आधारमा साधकहरुले भगवद् गीतालाई साधनाको दृष्टिकोणबाट अलग–अलग प्रकारले विभाजन गरेका छन् । ज्ञान मार्गीहरु भन्छन् भगवद् गीता ज्ञान योगको ग्रन्थ हो, ज्ञान मार्गबाट परमात्मालाई प्राप्त गर्न तथा परमात्माको सानिध्यता प्राप्त गर्न सकिन्छ । संसारभरिका भगवान श्रीकृष्णका भक्तहरु तथा स्कोनका अनुयायीहरु भगवद् गीतालाई पूर्णरुपमा भक्ति योगको ग्रन्थ मान्दछन् र भक्ति योगलाई सबैभन्दा श्रेष्ठ मार्गको रुपमा मान्यता प्रदान गर्दै आएकाछन् । स्वामी विवेकानन्द, स्वामी तिलक तथा महात्मा गान्धी लगायत थुप्रै सन्त, योगी तथा महात्माहरुले भगवद् गीतालाई कर्म योगको ग्रन्थको रुपमा व्याख्या गरेकाछन् । भगवद् गीता ग्रन्थका सन्दर्भमा अरु थुप्रै अध्यात्म साधकहरुले यीनै तीन धारहरुलाई आधार बनाएर अलग–अलग आयामका रुपमा कर्म, भक्ति र ज्ञान मार्गको रुपमा आ–आफ्नो मत दिदै आएका छन् । तर जसजसले आ–आफ्ना तर्क जेजसरी पेश गरेपनि वास्तविक सत्य भनेको, कर्म योग तथा भक्ति योग मार्गीले पनि ज्ञान योग अनुशरण गर्नुपर्दछ । उनीहरुले पनि वेद, शास्त्र, ग्रन्थ, पुस्तकहरुको ज्ञान आर्जन गर्नुपर्दछ र योगका सबै तन्त्रहरुकाबारेमा जान्नुपर्दछ ताकि उनीहरु आफैंले देख्न र जान्न सकुन कि उनीहरु मोक्ष प्राप्तिको सही मार्गमा छन् कि छैनन् । कर्म योग, भक्ति योग र ज्ञान योग एकआपसमा अन्तरसम्वन्धित हुदाहुदै पनि मोक्ष प्राप्तिको मार्गमा केही अर्थमा, केही पक्षमा र केही हदसम्म यी अलग–अलग आयाम हुन् । साधकको सोच तथा विचारको शक्ति ज्ञान योगको मूल विषय हो भने साधकको भावशक्ति भक्ति योगको मूल विषय हो र साधकको शारीरिक तथा मानसिक सक्रियता कर्म योगको मूल विषय हो ।


पुर्वीय अध्यात्म दर्शन र पाश्चात्य अध्यात्म दर्शन(फिलोसोफी) 

वर्तमानमा पुरै विश्वभरि ज्ञानको दुई धारा चलिरहेको छ– (१)पुर्वीय अध्यात्म दर्शन, र (२)पाश्चात्य अध्यात्म दर्शन तथा फिलोसोफी । अनुभव(इन्द्रियहरुबाट प्राप्त ज्ञान) र अनुभूति(अतिइन्द्रियहरु अर्थात शुद्ध अन्तःकरणबाट प्राप्त ज्ञान)का आधारमा ‘दर्शन’ र ‘फिलोसोफी’मा व्यापक अन्तर रहेको छ । श्रद्धेय ओशो भन्नुहुन्छ, “पूर्वी सनातन ज्ञान दर्शन हो जो भावातीत तथा गुणतीत अनुभूतिबाट आउँछ । यस्ता अनज्ञभूतिहरु मानव शरीरका विभिन्न आयामहरु(स्थुल, मनस, भाव, आत्मिक अर्थात चेतनात्मक शरीर)लाई प्रयोगशाला बनाएर हासिल गरिएका हुन्छन् । पाश्चात्य फिलोसोफी भनेको  मनुष्यका वाहिरी इन्द्रियहरुको अनुभवको ज्ञान हो जो वाहिय तथा भौतिक संसारका भौतिक प्रयोगशालाहरुमा गरिएका अभ्यास तथा प्रयोगहरुको अनुभवका आधारमा तय गरिएका हुन्छन् र सिद्धान्तका रुपमा प्रतिपादित गरिन्छन् र भौतिक रुपमा प्रयोगमा ल्याइन्छन् ।” पुर्वीय अध्यात्म दर्शनले भन्छ सुक्ष्मदेखि विराट चिज अर्थात आफूदेखि ब्रम्हाण्डसम्म जान । जीवनमा वाहिरका कुरा तथा विषयहरु जान्यौ राम्रो हो तर वाहिरका कुरा तथा विषयहरु जानेर मात्र पुग्दैन । आफूलाई जानेनौ भने वाहिरी ज्ञानको केही महत्व तथा मतलव हुदैन । आफूलाई नजानेको अवस्थामा कुनैपनि ज्ञानको सार हुदैन, सबै ज्ञान व्यर्थ हुन्छ । मनुष्यले सबैभन्दा पहिला आफूलाई जान्नु पर्दछ । तर पाश्चात्य फिलोसोफी भन्छ संसारका सबै विषयहरु आधूनिक भौतिक विज्ञान सम्मत हुनेगरि प्रमाण सहित जान । पाश्चात्य फिलोसोफीसंग यहींनेर विभेद तथा विवाद आउँछ पूर्वीय दर्शनको । पाश्चात्य दर्शनका अनुयायीहरु अझैसम्म भन्छन्, ब्रम्हाण्ड बनाउनेवाला को हो, के हो अझैसम्म पत्ता लागेको छैन, यो बडो रहस्यमय छ तर पूर्वीय दर्शनले हजारौं वर्षअघिनै ब्रम्हाण्डको सारा रहस्य तथा अन्तिम सत्य उजागर गरिसकेको छ । यस विषयमा अझैपनि हजारौं हजार पूर्वीय दर्शनका सनातन शास्त्रहरु साक्षी छन् हाम्रा सामु । 


ग्रीकका सबैभन्दा पूराना फिलोसोफर तथा विचारकहरुले यो प्रश्न तथा जिज्ञासाहरु उठाए, ब्रम्हाण्ड कसरी बन्यो होला तथा बनेको होला, के चिजले बन्यो होला तथा बनेको होला भनेर । सबै दर्शनहरु, फिलोसोफीहरु र आधूनिक भौतिक विज्ञान सबैले मान्दछन् कि– ‘संस्कृतमा–नासतो विद्धते भावो, ना भावो विद्धते सत ।। ग्रीकमा– एक्स निहिलो निहिल फिट । अंग्रेजीमा– फ्रम नथिगं, नथिगं वन्ली कम आउट ।’ आधूनिक भौतिक विज्ञानले पनि यही मान्छ कि, ‘म्याटर क्यान नाइदर बि क्रिएटेड नर क्यान बि डिस्ट्रोएड’ अर्थात पदार्थलाई कसैले बनाएको होइन, बनाउन सकिदैन र नष्ट गर्न पनि सकिदैन केवल स्वरुप मात्र परिवर्तन हुन्छ, परिवर्तन गर्न सकिन्छ र पदार्थको रुप बद्लीरहन्छ । उदाहरणले बुझौं, सुन र सुनबाट बनाइएका गरगहना तथा माटो र माटोबाट बनाइएका सामग्रीहरु । जेजे सामग्रीहरु निर्माण गरिए पनि सुनको प्राकृतिक गुण उही रहन्छ तथा माटोको प्राकृतिक गुण उही रहन्छ अर्थात सुन सुन नै रहन्छ र माटो माटो नै रहन्छ । ठिक यसैगरि पृथ्वी तथा ब्रम्हाण्डको प्राकृतिक गुण पनि सदा उस्तै रहन्छ, कहिल्यै बद्लीदैन तर यसको स्वरुप भने बद्लीरहन्छ । तसर्थ ज्ञान मार्गको माध्यमबाट सर्वप्रथम मनुष्यले सुक्ष्म रुपमा आफू अर्थात ‘म’ कसरी आएं तथा ‘म’ कसरी बनें र विराट रुपमा पृथ्वी तथा ब्रम्हाण्ड कसरी बन्यो यो जान्नु पर्दछ । यही सन्दर्भमा आधूनिक विज्ञानका खोज तथा आविस्कारहरु निरन्तर अगाडि बढिरहेका छन् तर अन्तिम सत्य अझै भेटीएको छैन र कहिलेसम्म भेटीन्छ भौतिक प्रयासले त्यो कसैलेपनि भन्न सकेको छैन । अन्तरीक्ष, चन्द्रमा, मंगल ग्रह, शनि ग्रह तथा अन्य ग्रहहरुको सूचना लिन पठाइएका अन्तरीक्ष यानहरु यीनै भौतिक गतिविधिहरुका उदाहरणहरु हुन् भने ऋषिमूनि, सन्त, योगी, महात्माहरुले आफ्नै शरीरलाई प्रयोगशाला बनाएर गरिरहेका प्रयासहरु पराभौतिक गिितविधिहरु हुन् ब्रम्ह र ब्रम्हाण्डको अन्तिम सत्य जान्नकालागि ।   


पूर्वीय दर्शनको सत्यको खोज र खोजको गहनता

पूर्वीय दर्शनले हजारौं वर्षदेखि सारा मनुष्यहरुलाई भन्दै आइरहेको छ कि वाहिरको ज्ञान पनि जान, सहज जीवनयापनकालागि अतिआवश्यक छ तर यो अविद्या हो, यो केवल माया हो, यो शरीर रहुन्जेल मात्र तिमीसंग रहन्छ, यो अनित्य छ तसर्थ वाहिरको ज्ञानसंगसंगै अन्तरको ज्ञान अर्थात आफू अर्थात ‘म’लाई अवश्य जान, आफूलाई जानेको ज्ञान आफ्नो ज्ञान अर्थात आत्मज्ञान हो जो आत्माको संस्कार बन्दछ, यो विद्या हो, यो नित्य छ, यो संधै काम लाग्ने हुन्छ, शरीरको मृत्यु पश्चात पनि यो आफैंसंग अर्थात आत्मासंग जान्छ, यसले आत्माको संस्कारमा पुण्य थप्दछ र आगामी पुनरजन्महरुमा सकारात्मक प्रारभ्ध तथा भाग्य बनेर तिम्रो जीवनमा प्रकट हुन्छ र जीवनमा सुख, खुशी, समृद्धि, सफलता, शान्ति र आनन्द प्रदान गर्दछ । आफू अर्थात ‘म’लाई जानेपछि निराकार, अव्यक्त तथा निर्गुण परमात्मा अर्थात परब्रम्हको शाश्वत सत्यको अनुभव गर र यसबारे सबै जान, यो नै ब्रम्हज्ञान तथा तत्वज्ञान हो । परमात्माको आकार, व्यक्त तथा गुण स्वरुप ब्रम्हाण्डको उत्पत्तिबारे अनेक मत छन्, मतको वादविवाद गरेर ब्रम्हाण्डको उत्पत्तिको अन्तिम सत्य ज्ञातमा आउदैन, भौतिक संसारमा खोजेर परमात्मा तथा ब्रम्हाण्डको उत्पत्तिको ज्ञान भेटीदैन, यसकालागि आफूभित्र जाउ सबै जवाफ आफूभित्रै भेटीनेछन् तसर्थ वहिरमुखी होइन अन्तरमुखी बन । वाहिरका सारा कुरा जान्यौ तर ‘म’ को हो भनेर जानेनौ भने सबै ज्ञान व्यर्थ छ, पुरै जीवन र जन्म व्यर्थ हुन्छ किनकी श्रीमद् भगवद् गीतामा भगवान श्रीकृष्णले भन्नु भएको छ, “मनुष्य भएर जन्मनुको प्रमुख तथा आत्यन्तिक(अन्तिम) लक्ष्य आत्मज्ञान, तत्वज्ञान तथा ब्रम्हज्ञान हासिल गरेर पुनः आफ्नो मूलस्वरुप परमात्मामा सदाकालागि योगस्त हुनु तथा मोक्ष हासिल गर्नु  हो ।” तसर्थ, ज्ञानको धारणा तथा मार्ग वहिरमुखी नभएर अन्तरमुखी हुनुपर्दछ ताकि ‘म’ आफूलाई जान्न सकौं र ‘म’ को माध्यमबाट परमात्मा अर्थात परब्रम्ह अर्थात ब्रम्ह र उसले सिर्जना गरेको ब्रम्हाण्डको अन्तिम सत्यसम्म पुग्न सकौं । पूर्वीय सनातन दर्शनको कान्छो ज्ञान वेदान्त दर्शन ज्ञान योगको मार्ग हो । ज्ञान योगको मार्गमा यो ब्रम्हाण्ड मेरै चेतनाको फैलावट हो, यो ब्रम्हाण्ड मैले नै बनाएको हुँ, अहं ब्रम्हास्मि, मै ब्रम्ह हुँ भन्ने अनुभूतिमा आउँछ । 


ज्ञान योगको मार्गमा आफू, परमात्मा तथा ब्रम्हाण्डको सन्दर्भमा अन्तिम सत्यसम्म पुग्नकालागि सर्वप्रथम यसबारे आफूमा जिज्ञासा उत्पन्न हुनु आवश्यक हुन्छ तवमात्र मनुष्य त्यसबारे विभिन्न प्रकारले खोज्न थाल्दछ– (१)‘म’ अर्थात मेरो असली रुप के हो, (२)‘म’ अर्थात मेरो विकृत रुप के हो, (३)‘म’ अर्थात मेरो व्यक्तित्वमा विकारहरु कसरी आए– इन्द्रियहरुबाट आएकी इच्छा, कामना, वासनाहरुबाट आए, (४)‘म’ अर्थात मेरो यक्तित्वमालाई कसरी ठिक गरेर तथा शुद्ध भएर सामान्य तथा पवित्र रुपमा आउन सक्छु, (५)शुद्ध तथा पवित्र रुपमा आएपछि म के बन्छु... आदि ? साख्य योगी तथा मार्गी भन्छन् आफू शुद्ध भएपछि चेतना स्वतः शुद्ध बन्दछ, चेतना प्रकाश हो र चेतना नै प्रकाशमय अर्थात प्रकाश नै प्रकाशले भरिएको ज्योतिरमय बन्दछ । ब्रमहाण्डमा जेजे छन्– प्राणी, वनस्पति, पदार्थ यी सबै चेतना नै हुन्, हरेकको चेतनाको आयाम तथा स्वरुप फरक–फरक हुन्छ र हरेक चिजको अन्तिम रुप तथा गुण चेतना नै हो अर्थात हामी सबै चेतना नै बन्दछौं । वेदान्त मार्गीहरु भन्छन् जव हामी आफूलाई जान्दछौं तव हामी नै ब्रम्ह बन्दछौं, “अहं ब्रम्हास्मी” अर्थात म नै ब्रम्ह हुँ भन्ने अन्तरवोध हुन्छ । यसपश्चात परमात्मालाई जान्न तथा भेटाउन केहीपनि कर्म बाँकी रहदैन हामी आफैं ब्रम्ह बन्दछौं । ब्रम्हज्ञानको सन्दर्भमा जैन मत भन्छ– 

मनुष्य बद्ध(बन्धन) जिव हो, चार बद्धले मनुष्यको आत्मालाई ढाकेको हुन्छ, यहीकारण हाम्रो आत्मा बन्धनमा छ । जव यी चार बन्धनहरु टुट्छन् तव मूल जिव अर्थात आत्मा अनन्त बन्छ र मनुष्यको आत्मामा चार अनन्त गुणहरु आउँछन्– (१)अनन्त ज्ञान, (२)अनन्त प्रकाश, (३)अनन्त आनन्द, र (४)अनन्त शक्ति । यी चार गुणहरु आएपछि आत्माले आफ्नो शाश्वत मूल स्वरुपलाई जान्दछ र स्वतः ब्रम्हज्ञानमा अर्थात मोक्षमा उपलब्ध हुन्छ । त्यसैले हरेक मनुष्यले ज्ञानद्वारा आफूलाई जान्ने प्रयास गर्नु पर्दछ । 


उपनिषदहरुमा उल्लेख गरिए अनुसार, ज्ञान आकांक्षि तथा ज्ञान मार्गीहरुले ऋषिहरुसंग माग गरे, हामीलाई त्यस्तो ज्ञान देउ जसलाई जानेपछि त्यस्तो केही अरु चिज जान्न बाँकी नरहोस तथा जान्न आवश्यकता नरहोस । ऋषिहरुले भने, “तत्वमसि” अर्थात त्यो तिमी स्वयं हौ । ज्ञान योगको मार्ग समाउ र तिमी आफूले आफूलाई जान । यदि तिमीले आफूले आफूलाई जान्यौ भने ‘म’ के हुँ तथा ‘म’ को हुँ र ‘ब्रम्ह’ के हो तथा ‘ब्रम्ह’ को हो भन्ने सारा ब्रम्हाण्डको ज्ञान तिमीभित्रै स्वतःसफुर्त रुपमा आउँछ । तव सबै एकसमान देखिन्छ । ज्ञानमा कहिल्यै पनि विभिन्नता तथा विविधतामा देखिदैन, ज्ञानले समुच्चालाई, सत्यलाई, ब्रम्हाण्ड अर्थात युजीभर्सललाई देख्दछ । जस्तो कि ज्ञानीले सुन भन्छ, सत्यलाई जान्दछ ज्ञानीले तर अज्ञानीले औंठी, हार, कुण्डल भन्छ विभिन्नतामा हेर्छ तर अन्तिम सत्य सबै सुन नै हो किनकी सत्य सदा एउटै हुन्छ सत्यको भेद हुदैन । त्यस्तै ज्ञानीले एउटै ब्रम्ह देख्दछ तर अज्ञानीले प्राणी, वनस्पति, पदार्थका रुपमा फरक–फरक आकृतिहरुमा देख्दछ तर ती सबै एउटै ब्रम्हका अलग–अलग स्वरुप मात्र हुन् । यदि हामीले “एको ब्रम्ह द्वितयो नास्ती” अर्थात ब्रम्ह एकमात्र छ दुइवटा छैन भन्ने एकत्वको अन्तिम सत्यलाई जान्यौं भने हामी स्वयंले सारा ब्रम्हाण्डको रहस्य तथा अन्तिम सत्य पत्ता लगाउँछौं । ब्रम्ह नै एक, अनन्त, अनादि, शाश्वत छ, सबै व्यक्त तथा अव्यक्त, निराकार तथा आकार, गुण तथा गुणातीत उसैमा छन् र यी सबै पर्यायहरु उसैका हुन् । वेदान्त दार्शनिक आदिगुरु शंकराचार्य भन्नुहुन्छ, “ब्रम्ह निराकार छ, अव्यक्त छ, निर्गुण तथा गुणातीत छ ।” ब्रम्ह छ तर ब्रम्ह के हो भन्ने सन्दर्भमा ब्रम्ह यहि हो भनेर निर्दिष्ट(प्रेडीकेट) गर्न सकिदैन । वेदान्ती श्रद्धेय आचार्य रामानुज भन्नुहुन्छ, “ब्रम्ह त्यो हो जसले सारा निर्दिष्टलाई नै धारण गर्दछ । विरोधाभासी निर्दिष्टहरुलाई समेत लागू गर्न तथा धारण गर्न सक्दछ किनकी ब्रम्ह अनन्त छ र अनन्तमा केही जोड्यो भने त्यो अनन्त नै बन्दछ ।” ब्रम्हको निर्गुण र सगुण स्वरुपमा अलिकति अन्तर छ नत्र बाँकी सबै सम्प्रदायहरु(रिलिजन)ले उही कुरा मान्दछन्, “एको ब्रम्ह द्वितयो नास्ती” अर्थात ब्रम्ह एउटै छ, दुईवटा छदैछैन । यो एकता तथा एउटै अन्तिम शाश्वत सत्यलाई जान्नेवाला केवल ज्ञान हो जो ज्ञान मार्गको माध्यमबाट मात्र हासिल गर्न सकिन्छ । ब्रम्हको सन्दर्भमा अनेकतालाई दुर गरेर एकतालाई खोज्ने मार्ग नै ज्ञान योगको मार्ग हो । 


ज्ञान मार्गी को हो ?

ब्रम्ह, जो परम चेतन तत्व हो, ब्रम्हको चेतन र जड तत्वमा फरक छुट्याउन तथा अन्तर गर्न कोशिश गरौं । के चेतन र जड एकै हो ? कि अलग–अलग हो ? जड अर्थात जिव ब्रम्हको स्वरुप हो ? कि अंश हो ? कि ब्रम्हको प्रतिविम्व हो ? सूर्य तथा चन्द्रमा आकाशमा एक–एकवटा मात्र हुन्छन् तर भाँडा(घट)मा राखिएको जलको सतहमा हरेकमा अलग–अलग देखिन्छन् तर वास्तविकतामा आकाशमा सूर्य तथा चन्द्रमा एक–एकवटा मात्र हुन्छन्, यही नै अन्तिम सत्य हो र घटको घटमा देखिएका अलग–अलग प्रतिविम्वहरु भ्रम तथा माया हुन्, जव घट फुट्छ तव ती सबै प्रतिविम्वहरु बिलाउँछन् । ब्रम्हको परिभाषा पनि यस्तै हो, हरेक प्राणी, वनस्पति र पदार्थहरुको घटरुपि स्वरुपमा ब्रम्ह छ, जव घटरुपि स्वरुपको अन्त्य हुन्छ अर्थात मर्छ तव ती सबै ब्रम्हमै मिल्दछन् । घटरुपि स्वरुप ब्रम्हको सिमा होइन किनकी ब्रम्ह त अनन्त छ, सर्वव्यापक र सर्वहक्तिमान छ । यसप्रकार, सर्वप्रथम ब्रम्हको चेतन र जडविचको अन्तर जान्न तथा पहिचान गर्न प्रयाश गर्ने खोजी साधकहरु ज्ञान मार्गी हुन् । 


यसपश्चात, पूर्वीय अध्यात्म दर्शन शास्त्रहरुमा उल्लेख गरिएका सैद्धान्तिक तथ्यहरुलाई व्यवहारीक तथा प्रयोगात्मक रुपमा जान्ने प्रयास गरौं । सांख्य दर्शनले भन्छ, “पुरुष(आत्मा अर्थात चेतना) अलग हो, प्रकृति(स्थुल अर्थात भौतिक स्वरुप) अलग हो र दुुवै अलग–अलग स्वतन्त्र तत्व हुन् र पुरुष अनेक छन् ।” तर वेदान्त दार्शनिक आदिगुरु शंकराचार्य भन्नुहुन्छ, “पुरुष र प्रकृति एकै हुन्, अद्वेत छन् । जिव अर्थात जड चेतना(आत्मा अर्थात पुरुष)को माथि लागेको माया तथा भ्रम हो ।” यही ज्ञान जान्न उत्सुक खोजी साधकहरुनै ज्ञान मार्गी हुन् । 


चेतन र जिव अर्थात जडविचमा के भेद छ भन्ने सन्दर्भमा अन्य अध्यात्म दर्शनहरुको मत अनुसार, जैन दर्शन भन्छ जिव(वद्धजिव अर्थात वद्धआत्मा) अनेक छन् । त्यसोभए एक जिव र अर्को जिवविच खाली नाम स्वरुपको मात्र अन्तर छ कि आन्तरीक स्वरुपमा पनि अन्तर छ ? चारवाक दर्शन भन्छ, सबै प्रकृति(जड)कै रुप हो, आत्मा(पुरुष अर्थात चेतना) नामको कुनै चिज नै छैन । जव प्राणीहरुको शरीरमा हिड्ने, डुल्ने क्षमता आउँछ त्यसैलाई आत्मा भनिएको हो । अन्य दर्शनका अनुसार, प्रकृतिले पुरुषलाई निर्माण गर्न सक्दैन किनकी प्रकृति जड हो र पुरुष आत्मा अर्थात चेतना हो... आदि । यी सबै विषयहरुको भेद जानेपछि मात्र हामी परमसत्यतिर जान सक्छौं । परम सत्य एउटै हुन्छ, कारण, तर्क तथा वुद्धिले अनेकतालाई स्वीकार गर्न सक्दैन । चिज एउटै छ त्यसको स्वरुप व्याप्त छ, यही नै ब्रम्ह हो । जसरी किताव, कपि, पत्रिका अलग–अलग हुन् तर त्यसको मूल स्वरुप एउटै कागज हो, ठीक यसैगरि जिवका स्वरुपहरु अनेक छन् तर ती सबैको स्वरुप एउटै ब्रम्ह हो, तसर्थ ब्रम्ह एकै छ, दुईवटा छदैछैन– “एको ब्रम्ह द्वितयो नास्ती ।”, सबै ब्रम्हकै स्वरुप हुन् ।


ज्ञान योगको मार्गबाट प्राप्त प्रकाशको प्रभाव

हामी मनुष्यको ज्ञान, वुद्धि, विवेक, प्रज्ञा जति माथि उठ्दै जान्छ त्यतिनै अनेकताबाट छुट्दै अन्त्यमा एकतामा पुग्छौं, अन्तिम सत्यमा पुग्छौं र लक्षित विषयको निश्कर्ष निस्कन्छ । सत्य संधै एकै हुन्छ, सत्य कहिल्यै दुई हुनै सक्दैन । ज्ञान योग तथा ज्ञान मार्गबाट जसले ब्रम्हको खोजी गर्छ, उसले यो खोजबाट ज्ञानको प्रकाश प्राप्त गर्दछ र एकनएक दिन परमात्मासंग उसको साक्षातकार हुन्छ र उसले यो जान्दछ कि ‘परमात्मा’ र ‘म’ मा कुनै अन्तर छैन, परमात्माभित्र जे छ मभित्रपनि त्यही छ– “जिवो ब्रम्हमेव नै पर ।” अर्थात जीव र ब्रम्हमा कुनै भेद छैन । सिर्फ यतिमात्र भेद छ कि जडरुपि माया तथा भ्रमले परमसत्यको ज्ञानलाई ढाकेको हुन्छ । माया तथा भ्रम भनेको अज्ञान हो, नाम र रुप मायाको काम हो जसले आवरण र विक्षेप पैदा गर्दछ । अज्ञानीहरुलाई नै विभिन्न कुराहरु देख्नमा आउँछन्, स्पष्ट नदेखिने उज्यालोमा सर्प र डोरीमा भ्रान्ति भए जस्तै । जव डोरीमाथि वाहिरको उज्यालो पर्छ तव सत्य स्पष्ट हुन्छ कि सर्प जस्तो देखिएको वस्तु डोरी रहेछ, म त भ्रममा पो रहेछु भनेर । ठिक त्यस्तै मनुष्यको वुद्धिमा पनि जव आत्मज्ञान, तत्वज्ञान तथा ब्रम्हज्ञानको प्रकाश पर्छ तव उसको अन्तःकरणबाट सत्यलाई असत्य देख्ने अज्ञान तथा मायाको पर्दा उघ्रिन्छ र उसले परमसत्य(आत्मा तथा ब्रम्ह)बारे स्पष्ट रुपमा जान्दछ । आत्मज्ञान, तत्वज्ञान तथा ब्रम्हज्ञानद्वारा ज्ञानमार्गी परमात्मामा योग तथा एकाकार हुन्छ र कहींपनि द्वेत छैन भन्ने कुरामा स्पष्ट हुन्छ । ज्ञान मार्गबाट जव मोक्षको प्राप्ति हुन्छ यसमा संस्कृति तथा सम्प्रदाय(रिलिजन)को पालना गर्नु अनिवार्य हुदैन, आफूलाई इच्छा लागे गरेपनि हुन्छ आफूलाई इच्छा नलागे नगरेपनि हुन्छ । अथातो ब्रम्ह जिज्ञासामा अथातो संस्कृति तथा सम्प्रदाय जिज्ञासा सम्मिलित छैन । ज्ञान मार्गमा संस्कृति तथा सम्प्रदाय जिज्ञासा अनिवार्य छैन, आफ्नो इच्छा अनुसार चल्न सकिन्छ । 


ज्ञान मार्गमा स्वतः प्राप्त हुने ब्रम्ह र ब्रम्हाण्डप्रतिको जिज्ञासाहरुको जवाफ 

ज्ञान मार्गीहरुले ध्यानको गहिराइमा आफैंभित्र परमात्मा देखे, ब्रम्हाण्डको उत्पत्ति देखे, वेदको उत्पत्ति र प्रादुर्भाव देखे, त्यसबारे लेखे र मन्त्रद्रष्टा(मनको गहिराइमा गएर देखिएका परमसत्य दृश्यहरुलाई उजागर गर्नेवाला) कहलिए । मन्त्रद्रष्टाहरुका अनुसार जव निराकार, निर्गुण, अव्यक्त ब्रम्हले आफू आकारमा आउने, गुणले भरिने र व्यक्त देखिने, हुने भावले “एको वहुस्यम”को संकल्प तथा इच्छा(सकारात्मक अहंकार) राख्यो र उसले श्वास फेर्दा ठूलो आ+उ+म ध्यानिकासाथ परब्रम्हको हिरण्य गर्भ फ्ट्यो र यो ब्रम्हाण्डको उत्पति भयो । यही तीन ध्वनिको संयोजन आ+उ+म नै ॐकार हो । हिरण्य गर्भ फुटेर ब्रम्हाण्डको विस्तारसंगै परब्रम्हको श्वासबाट एकैसाथ वेदको उत्पत्ति भयो अर्थात समग्रमा ब्रम्ह सुत्केरी भयो र उसको गर्भबाट यो ब्रम्हाण्डका पंचमहाभूत, सारा प्राणी, वनस्पति तथा पदार्थहरुको उत्पत्ति भयो तसर्थ ब्रम्हान्ड तथा पृथ्वी देवी माताको रुपमा पुजिन्छिन् । ब्रम्हाण्डको उत्पत्तिसंगै यहाँ स्थित हरेक प्राणीहरु तथा मनुष्य, पंक्षी, जीवतन्तु, वनस्पति, पदार्थहरुको निर्माण भयो । परमात्मा अर्थात परब्रम्ह अर्थात ब्रम्हको हिरण्य गर्भ खुल्दा ठूलो ध्वनि प्रष्फुटित भएको थियो, आधूनिक भौतिक विज्ञानको अत्याधुनिक प्रमात्रा विज्ञान(क्वान्टम साइन्स)ले यही अवस्थालाई आज भन्दा १३.९ अरव वर्षअघि विग व्यांग भएको भनेर विग व्यांग थेउरीमो रुपमा व्याख्या गर्दै आएको छ । ब्रम्हको हिरण्य गर्भ खुल्दा ठूलो ध्वनि प्रष्फुटित भएको ध्वनि तीन अक्षर आ, उ, म अर्थात समगग्रमा ॐ थियो किनकी ॐकार यीनै तीन अक्षर आ+उ+म को संयुक्त संयोग हो । ॐ सनातन हो, वर्तमानमा विश्वभरि नै अनुशरण गर्दै आइएका मूलरुपमा प्रमुख दुई धार– (१)ॐकार परिवार अन्तर्गत पर्ने (क)हिन्दु सम्प्रदाय(रिलिजन), (ख)वौद्ध सम्प्रदाय(रिलिजन), (ग)जैन सम्प्रदाय, (घ)शिख सम्प्रदाय र (२)अब्राहमिक परिवार अन्तर्गत पर्ने (क)इसाइ सम्प्रदाय(रिलिजन) र (ख)इस्लाम सम्प्रदाय(रिलिजन) सबैले फरक–फरक प्रकारले ॐकार को उच्चाहरण गर्दछन् र ॐकारको पूजा, प्रार्थना, भक्ति गर्दछन् किनकी ॐकार स्वयं ब्रम्ह हो । पूर्वीय सनातन दर्शनमा ॐकालाई शव्द ब्रम्ह, अक्षर ब्रम्ह र नाद ब्रम्हको रुपमा वर्णन गरिएको छ र यसै अनुसार ॐकारको पूजा, प्रार्थना, भक्ति गर्ने गरिन्छ । ॐकारलाई मूल मानिएको छ यसैकारण अगाडि ॐकार नजोडिकन सनातन धर्ममा कुनैपनि मन्त्रहरु उच्चाहरण गरिदैनन्, ॐकार नजोडिएका मन्त्रहरु अशुद्ध तथा अपूर्ण मानिन्छन् । 


जव हामी ब्रम्हबाट छुट्टियौं तव ८४ लाख योनीमा जन्मिने र मर्ने जन्म–मृत्युको दुःखदायि चक्रमा घुमिरहयौं तथा घुमिरहेका छौं, दुःख पायौं तथा पाइरहेका छौं । प्राचीन ऋषिहरुले जप, तप, ध्यान साधना गरे र साधनाको गहिराइमा आफूले ब्रम्हको सत्यबारे जाने र आफू जन्म–मृत्युको चक्रबाट मुक्त भए तथा पुनः आफ्नो मूलस्वरुप परमात्मा अर्थात परब्रम्हमा सदाकालागि एकाकार तथा योगस्त भए तथा मोक्ष प्राप्त गरे र मनुष्यहरुलाई पनि यो जन्म–मृत्युको दुःखदायि चक्रबाट मुक्त गर्न र पुनः उही आफ्नो मूल स्वरुप परब्रम्हमा एकाकार हुन ध्यानको गहिराइमा गएर सबै सत्य तथ्यहरु जानेर र विश्लेषण गरेर विभिन्न विधि, पद्धति तथा उपायहरु प्रतिपादन गरे । परमात्मामा पुनः योग हुनकालागि प्रतिपादन गरिएका विधि तथा पद्धतिहरु भएकाले यी विधि तथा पद्धतिहरुलाई योग तथा योग साधनाको रुपमा पहिचान दिइयो । योगका धेरै प्रकारका विधिहरु छन्, यी मध्य सात प्रकारका योगका साधना विधि तथा पद्धतिहरुलाई व्यवहारमा प्रयोग गर्दै आइएको छ– (१)कर्म योग, (२)तन्त्र योग, (३)हठ योग, (४)भक्ति योग, (५)ज्ञान योग, (६)ध्यान योग, र (७)सांख्य योग तथा राज योग । सहजता र प्रभावकारिताका आधारमा वेद र वेदबाट निसृत शास्त्रहरुको मूलसार प्राचीन ग्रन्थ श्रीमद् भगवद् गीतामा भगवान श्रीकृष्णले तीनवटा योगलाई विशेष प्राथमिकता प्रदान गर्नु भएको छ– (१)कर्म योग, (२)भक्ति योग, (३)ज्ञान योग । ज्ञानको गहिराइ र अझ प्रभावकारीताका आधारमा ध्यान योगलाई सर्वाधिक महत्व प्रदान गर्दै आइएको छ किनकी सबै योगहरुको आत्यन्तिक गन्तव्य र लक्ष्य ध्यान योग नै हो । ध्यान योगको माध्यमबाट अन्तिम सत्यसम्म पुग्न सकिन्छ र परमात्मामा सदाकालागि एकाकार हुन तथा मोक्ष हासिल गर्न सकिन्छ । यी सबै जिज्ञासाहरुको जवाफ ज्ञान योगको माध्यमबाट पाउन सकिने र ब्रम्हको अन्तिम सत्यसम्म पुग्न सकिने हुनाले पूर्वीय अध्यात्म दर्शनमा ज्ञान मार्गको विशेष गरिमा तथा महत्व रहदै आएको छ ।


ज्ञानमार्गको माध्यमबाट परमसत्यलाई कसरी जान्न सकिन्छ

(१)अन्तःकरणको शुद्धिकरण

परमसत्यलाई जान्न मनुष्यको अन्तःकरण(मन, वुद्धि, अहंकार, चित्त)मा छाएको अज्ञानको अन्धकारलाई दुर गर्नु पहिलो कार्य हो किनकी वाहिरका इन्द्रियहरुले परमसत्यलाई देख्न सक्दैनन्, अन्तरको इन्द्रियले मात्र परमसत्यलाई देख्न सकिन्छ । अन्तरको आँखा हो अन्तःकरण । करणको अर्थ हामीसंग भएका नयाँ–नयाँ विषयहरुकाबारेमा जान्न मद्धत गर्ने साधन, उपकरण तथा औजारहरु जसको माध्यमबाट आफूले चाहेको विषयको जानकारी लिन र त्यसबारे केही बुझ्न सकिन्छ । विविधकारणहरु, जस्तै व्यस्त दैनिकी, अस्वस्थ खानपान तथा उठबस, अस्तव्यस्त जीवनशैली, तनावपूर्ण जीवन, रोगग्रस्त शरीर, मन, भावना, चेतना, अज्ञानता आदिले मनुष्यको मन, वुद्धि, अहंकार, चित्त अर्थात अन्तःकरणलाई माया तथा भ्रमले ढाकेको छ । यी चार औजारहरुमा लागेको माया तथा भ्रमको अध्यारो हटाएपछि अन्तरको आँखा अर्थात दिव्य चक्षु अर्थात तेस्रो आँखा अर्थात आज्ञा चक्र खुल्छ र यो उपलव्धिले परमसत्यको ज्ञानको नजिक पुर्याउछ । पूर्ण योग साधनाको माध्यमबाट अन्तरको आँखा खुल्छ र यसको माध्यमबाटनै परमसत्य तथा परब्रम्हको यथार्थ ज्ञान प्राप्त हुन्छ । श्रद्धेय सन्त कवीर भन्नुहुन्छ, “भित्रको दिव्य चक्षु तव खुल्छ जव वाहिरका चर्म चक्षु बन्द गरिन्छ ।” वाहिरका चर्म चक्षुहरुले भौतिक संसारका विषयवस्तुहरु मात्र देख्न सक्छन्, हृदयको प्रज्ञाको आँखा खोल्न वाहिरका चर्म चक्षुले काम गर्दैन । तसर्थ सर्वप्रथम वाहिरका चर्म चक्षु बन्द गर र आनन्दले ध्यानमा बस र भित्रको आँखा खोल, यही मात्र एउटा उपाय हो अन्तःकरणमा लागेको माया तथा भ्रमको अज्ञानता हटाएर ब्रम्हको सत्यता खोज्ने तथा जान्ने । मनुष्यको अन्तःकरण(मन, वुद्धि, अहंकार, चित्त) र तीनको शुद्धिकरण कसरी गर्न सिकन्छ भन्नेबारे ज्ञान यसप्रकार रहेको छ ।


मन 

मनुष्यको मनमा नजाजिदो किसिमले धेरै इच्छा, कामना, वासना, दुराचार तथा मानवीय विकारहरु आदि छिपेर, दबेर बसेका हुन्छन् । सर्वप्रथम मनुष्यले उसको मनमा छिपेर तथा दबेर रहेका मनका यी मानवीय विकारहरुलाई नियन्त्रण गर्नुपर्छ अर्थात मार्नु पदैछ नत्र यीनै विकारहरुले हाम्रा ज्ञान तथा कर्म इन्द्रियहरुलाई नकारात्मक विचार तथा र्का गर्नतर्फ भडकाउँछन् किनकी मन इन्द्रियहरुको स्वामी हो, मनलाई इन्द्रियहरुको दाष बन्न दिनु हुदैन । हाम्रो मनमा भएका इन्द्रियहरुलाई भड्काउने मानवीय विकार तथा दुरासाहरु खतम गरेपछि मनले इन्द्रियहरुलाई भड्काउदैन र मनुष्यको मन स्वतः सतकर्म र सतविचारमा लाग्न प्रेरित हुन्त । पूर्ण योग साधना, सतसंगआदि गरेर वैराग्य हासिल गरी कछुवाले आफूलाई खतरा महसुस भएको अवस्थामा जसरी आफ्ना इन्द्रियहरुलाई आफूभित्र खिच्दछ त्यसैगरि हामीले पनि नकारात्मक कर्महरु गर्नबाट बच्न आफ्ना इन्द्रियहरुलाई खिच्नु पर्दछ तथा इन्द्रियहरुलाई निग्रह(नियन्त्रण) गर्नुपर्दछ किनकी वैराग्यता हासिल नभइकन मनुष्यको मनको शुद्धिकरण हुन सक्दैन र इन्द्रिय निग्रहबात नै मनुष्यको मनमा विस्तारै वैराग्यता घटित हुदैजान्छ र मन शुद्ध हुन्छ ।


वुद्धि 

मन शुद्ध भएपछि वुद्धिको पालो आउँछ । वुद्धिको काम हो सत्य अन्वेषण गर्नु, सत्यको खोजी गर्नु । २ +२ = ४ र २ + २ = ५ कसरी तथा कुनकुन अवस्थामा हुन्छ त्यो खोज्नु र निराकरण गर्नु वुद्धिको काम हो । मनुष्य माया, भ्रम, अविद्या, अज्ञानको चक्करमा पर्यो भने उसको वुद्धिमा जडता आउँछ र चेतनशक्ति कमजोर हुदै जान्छ र उसको वुद्धिले सत्यलाई असत्य, असत्यलाई सत्य; नित्यलाई अनित्य, अनित्यलाई नित्य; शत्रुलाई मित्र, मित्रलाई शत्रु देख्न, सम्झिन तथा बुझ्न थाल्छ । तर वुद्धिमा जडता छैन, वुद्धि पूर्ण चेतन अवस्थामा छ भने उसले सत्यलाई सत्य, असत्यलाई असत्य, नित्यलाई नित्य, अनित्यलाई अनित्य नै देख्दछ र कोहीपनि उसको शत्रु हुदैन । जड वुद्धिले नै यी सबै विषयहरुको अनुभव गर्दछ र यही अनुभवकाकारण मनुष्यमा मानवीय विकारहरु काम, क्रोध, लोभ, मोह, मद, माश्चर्यको भाव उत्पन्न हुन्छ, यसैकारण उसका शत्रु उत्पन्न हुन्छन् र यीनै कारणहरुले यसलाई आत्माज्ञान हासिल गर्न बाधा खडा गर्दछन् किनकी यीनै मानवीय विकारहरुको प्रभावले उसमा वैराग्यता घटित भएकै हुदैन । बिना वैराग्यता मनुष्यको वुद्धिमा पररिपक्वता आउदैन र विवेकको द्वार खुल्दैन । विवेकको द्वार नखुलीकन सत्यको ज्ञान प्राप्त गर्न सम्भव नै हुदैन । वुद्धिको जडता पूर्ण योग साधनाको माध्यमबाट इश्वरको शरणमा आएपछि निश्क्रिय तथा खतम हुन्छ । मनुष्य आँखा बन्द गरेर इश्वरको शरणमा बस्न थाल्छ, उ त्यो सर्वशक्तिमान, सर्वव्यापक इश्वरप्रति आस्थावान हुन थाल्छ र इश्वरको प्रार्थना गर्न थाल्छ र भन्छ, “हे इश्वर ! धियो यो न प्रचोदयात”, अर्थात मेरो वुद्धिलाई सही मार्गमा चलाउनुहोस्, मेरो वुद्धिलाई वेद(ज्ञान, विज्ञान)कोमार्गमा लगाउनुहोस् । गायत्री मन्त्र वेदको माता हो, सबै ज्ञानको जननी हो । यस महामन्त्रमा भनिएको महावाक्य “धियो यो न प्रचोदयात”को वास्ताविक अर्थ हो मेरो वुद्धि भ्रष्ट नहोस, वुद्धिमा नियमितता बनिरहोस, प्रज्ञा बनिरहोस । यो अवस्थामा मनुष्यमा वैराग्यता घटित भैसकेको कारण अव इश्वरसंग उसले वाहिरी संसारका सम्पत्ति, सफलता, वस्तु तथा सुख, सुविधा माग्न छोड्छ । वेदमा ऋतको अवधारणा छ, ऋतको मतलव सत्य तथा धर्म हो । “ऋतं अर्पणम सेन्दम ।” अर्थात सारा दुनिया, प्रकृति, सुर्य, चन्द्र, तारा, नक्षेत्र, पूरै ब्रमहाण्ड ऋत अनुसार चलिरहेको छ । ब्रम्हाण्डका यी सबै तत्वहरुमा यस्तो नियमितता कसरी आएको छ ? यसकारण आएको छ, किनकी यसलाई ऋत तथा सत्य तथा धर्मले चलाएको अथवा नियन्त्रण गरेको छ । 


अहंकार 

अहंकार मानवीय विकार हो, मनुष्यमा रहेको म, मेरो, मैले, मलाई भन्ने भावना अहंकार हो । यस प्रकारको अहंकारले मनुष्यलाई मानवीय विकारहरु काम, क्रोध, लोभ, मोह, इष्र्या, मद, माश्चर्यको दलदलमा पुर्याउँदछ । वैदिक शास्त्रहरुका अनुसार अहंकार शिव रुप हो, यसलाई मनुष्यले चाहेर तोड्न सक्दैन । शिव अहंकार दानको अहंकार हो । मैले अरुकालागि यति गरें, यति दान गरें अर्थात मैले संसारको कल्याणकालागि यति गरें उति दिएं भन्ने म, मेरो, मैले, मलाई जस्ता कर्ताभावको अहंकारले मनुष्यलाई वैराग्यताबाट दुर गर्दछ र यहीकारणले उसमा आत्मज्ञान घटित हुन मुस्किल हुदैजान्छ । पूर्ण योग साधनाको निष्ठापूर्वक नित्य अनुशरण, इश्वर भक्तिले तथा यो सबै तिमीले नै दिएका हौ प्रभु, यो सबै तिम्रै हो, मेरो भन्ने यो संसारमा केहीपनि छैन, म पनि तिम्रै अंश हुँ भन्ने अकर्ता र समर्पण भावले मनुष्यलाई विनम्र बनाउँछ र विनम्र मनुष्यमै वैराग्यता घटित हुन्छ । वैराज्ञताले विवेक उत्पन्न गर्दछ र मनुष्य आत्मज्ञानको निकट पुग्दछ । 


चित्त

चित्तको गुण आकर्षण गर्नु हो । मभित्र मधूर भाव तथा व्यवहार आयो भने अरु मप्रति आकर्षित हुन्छन्, संसार आकर्षित हुन्छ । आफ्नो मधूर गुणहरुकैकारण भगवान श्रीकृष्ण, योगी महात्माहरु, सदगुरुहरुका अनुयायीहरु बढेका हुन् । तसर्थ हरेक मनुष्यले आफ्ना गुणहरुको प्रभावले आफूमा आकर्षण पैदा गर्नुपर्दछ । श्रीमद् भगवद् गीतामा श्रीकृष्ण भगवानले भन्नुभएको छ, “यी चार अन्तःकरणमा शुद्धता आएपछि एकदिन आफ्नो आत्मा अरु सबैको भित्र देखिन्छ र सबै प्राणीहरुको आत्मा आफूभित्र देखिन्छ । अरुभित्र पनि उही आत्मा छ जुन म भित्र छ । यसरी आफूमा सबै र सबैमा आफू देख्न थालेपछि परब्रम्हमा स्थित भइन्छ, मोक्षमा प्राप्त भईन्छ ।” आदि गुरु शंकराचार्य प्रखर ज्ञान मार्गी हुनुहुन्छ, वहाँ भन्नुहुन्छ, “ज्ञान मार्गमा इश्वर मिल्दैन, ज्ञान मार्गीलाई आफ्नो वास्तविक ठेगाना अर्थात आफ्नो सत्य पहिचान थाहा हुन्छ ‘म’ को हुँ, ‘म’ के हुँ, ‘म’ किन आएं भन्नेबारे । उसलाई आफ्नो स्वरुपको वोध हुन्छ, “अहं ब्रम्हास्मि” अर्थात ‘म’ स्वयं नै ब्रम्ह हुँ । यो थाहा पाएपछि वाहिरी संसारका कुनै विषयहरुसंग उसको मोह रहदैन, उसलाई दुनियाको केही अनित्य कुरा चाहिदैन र विस्तारै वाहिरी संसारप्रतिको वन्धन टुट्छ तथा छुट्छ र उसमा पूर्ण वैराग्यता र विवेक घटित हुन्छ । यसप्रकार ज्ञान मार्गबाट प्राप्य, प्राप्ति, परिहुत, परिहार मिल्छ तथा प्राप्त हुन्छ । ज्ञानले ‘म’ जे हुँ त्यसको वास्तविक जानकारी तथा वोध हुन्छ । अहिलेसम्म मैले जानेको थिइन कि वास्तविक ‘म’ के हुँ, ‘म’ को हूँ भनेर । अव बल्ल थाहा पाउँछ, अनन्त आत्मा ‘म’ संग पहिलेदेखि नै रहेछ, यही कुरा भनेको हो प्राप्य, प्राप्ति, परिहुत, परिहार प्राप्त हुन्छ ज्ञान मार्गबाट भनेर । 


मनुष्यभित्र रहेको अन्धकार, मिथ्या, अज्ञान, माया, भ्रम सबै दुर भएपछि आफूमा ज्ञानको परमप्रकाश तथा परमज्योति प्राप्त हुन्छ जो स्वयं परब्रम्ह हो । हाम्रो आत्मामा अज्ञानता छँदैछैन, अन्तःकरणको अशुद्धताका कारण अज्ञान, भ्रम, मिथ्या छाएको हुन्छ, ज्ञानको प्रकाशले त्यो सबै हटेपछि आत्मा स्वतः प्रकाश समान हुन्छ । ज्ञान मार्गमा साधक ब्रम्हसंग एकाकार हुन्छ । यस सन्दर्भमा आदि गुरु शंकराचार्यले धेरै लेख्नु भएको छ । वहाँ अद्वेत वेदान्तका सर्वज्ञाता हुनुहुन्छ । यसरी आफ्नो अन्तःकरणको शुद्धि गर्न मनुष्यले निरन्तर पूर्ण योग साधनालाई निष्ठापूर्वक अनुशरण गरेर इश्वरसंग हे इश्वर मेरो वुद्धिलाई पनि ऋत, सत्य, धर्मको मार्गमा चलाइदेउ । मेरो जीवनमा केही अनियमितता नआवस भनेर कामना गर्नु पर्दछ र यसै प्रक्रियाबाट नै उसको मोक्ष प्राप्तिको यात्रा सहज तथा सरल बन्दछ । 


(२)शुद्धिकरणका तीन उपायहरु

ज्ञान योगको अनुसार मेरो सबैभन्दा ठूलो वन्धन मेरो विचार तथा मन, भाव, अहंकार र चित्त हो, म एउटा वन्धनमा बाँधिएको जिवात्मा हुँ । सारा वेदान्त यही विषयको वरीपरि घुम्दछ कि मनुष्यको मन तथा अन्तःकरणलाई कसरी शुद्ध गर्ने र परमात्माको प्रत्यक्ष अनुभूति गरेर मोक्ष हासिल गर्ने । मेक्ष प्राप्तिकालागि आफैंले सबै कर्महरु गर्नु पर्दछ र आफैप्रति जिज्ञासा खडा गर्नु पर्दछ । 


मेरो बन्धनको प्रमुख कारण मेरो मनमा उठ्ने विचार नै ओ भने आफैंलाई प्रश्न गरौं कि के ‘म’ मन तथा विचार हुँ ?  के मेरो मनमा उठ्ने विचारहरुलाई विचारले नै समाप्त गर्न सकिन्छ ? यसको जवाफ हो, सकिन्छ, जसरी तर्कद्वारा तर्कहरुलाई नष्ट गर्न सकिन्छ किनकी बिझेको तिखो काँढा निकाल्न तिखो उपकरणकै सहारा लिनु पर्दछ तर यो काम अलि कठिन हुन्छ । यही नै ज्ञान योगको मूल लक्ष्य हो कि ज्ञानको काँढाले अज्ञानको काँढा झिकेर फाल्न सकिन्छ । यसरी विचार तथा मनका विकारहरु, अज्ञानता, भ्रम तथा वन्धनहरु निकालेपछि चैतन्य अर्थात मोक्षमा स्थित भइन्छ ।


शुद्धिकरण कसरी गर्ने

मनुष्यका ज्ञान तथा कर्म इन्द्रियहरुको माध्यमबाट वाहिर छरिएको चेतनालाई एकाग्र गरेर आफूतिर फर्काउन पूर्वीय सनातन अध्यात्म दर्शनमा मनुष्यको अन्तःकरण शुद्धिका तीन उपायहरु उल्लेख गरिएका छन्– (१)आणोउपाय, (२)साक्तोउपाय, (३)साम्बोउपाय । 

आणोउपाय(‘म’ शरीर होइन) हामी मनुष्यहरुले आफ्नो दैनिक जीवनयापनमा व्यक्तित्वलाई अति धेरै स्वीकार तथा अंगीकार गरेका छौं । व्यक्तित्वलाई जीवनको केन्द्रविन्दु नै बनाएका छौं र आफू संसारबाट भिन्न छु भन्छौं । जे सत्य हो त्यसबाट अलग रहेर तथा आफूलाई त्यसबाट आफैंले अलग राखेर आफूलाई भिन्न देख्छौं तथा त्यसबाट भिन्न छु भन्ठान्छौं । आणो मल(फोहर) हो, यसबाट पिछा छुटाउनु तथा यसलाई धुनु, शुद्ध गर्नु आणोपाय हो । मलको शुद्धिकरण नै आणोपायको उदेश्य हो । कसरी आणोबाट अलग हुन सकिन्छ, यसका उपायहरु धेरै प्रकारका छन्–  आणोको अर्थ हो ‘म’ शरीर होइन । श्वास, उच्चार, करण, मुद्रा, ध्यान, मन्त्र, छवि, ध्वनि, विषय तथा स्थान परिकल्पना आदिको माध्यमबाट आफ्नो वाहिरी संसारमा छरिएको चेतनालाई एकाग्र गर्न सकिन्छ र एउटा दिशा दिएर सत्यको मार्गमा लगाउन सकिन्छ । आणोपाय साधनाको माध्यमबाट हामी ‘म’ शरीर हुँ भन्ने भ्रमबाट छुट्छौं र दोस्रो तहको साधनाको लागि तयार हुन्छौं जहाँबाट हामी मनको पारी पुग्छौं ।


साक्तोउपाय(‘म’ मन होइन)– साक्तोपायको अर्थ हो ‘म’ मन पनि होइन । आणोपायको माध्यमबाट ‘म’ शरीर हुँ भन्ने भ्रम हटेपछि तथा शरीरप्रतिको मोह टुटेपछि साक्तोपायको माध्यमबाट ‘म’ मन हुँ भन्ने भ्रम पनि हट्छ तथा मनप्रतिको मोह पनि टुट्छ र अव साधक मनको पारी पुग्छ, उसलाई शरीर र मनको बोझबाट मुक्ति मिल्छ र अव तेस्रो तहको साधनाको लागि तयार हुन्छौं जहाँबाट हामी मनको पारी निराकार तथा शुन्यताको साधनाकालागि तयार हुन्छौं ।


साम्बोयपाय(‘म’ निराकार आत्मा हुँ)– साम्बोपायको अर्थ हो ‘म’ निराकार आत्मा हुँ । निराकारको साधना विधिहरु विभिन्न छन्– दुई श्वासकोविचमा रोकिएर, दुई विचारको विचमा रोकिएर, दुई अनुभव तथा अनुभूतिको विचमा रोकिएर निराकार तथा शुन्यको आभास तथा अनुभव तथा अनुभूति प्राप्त गर्न सकिन्छ । जव साधक निराकार तथा शुन्यको अनुभवमा पुग्छ तव उसलाई शरीर, मन, भाव र चित्तका विभिन्न अवस्थाहरुबाट पार मिल्दछ अर्थात साधक ‘म’ शरीर हुँ, ‘म’ मन हुँ, म भाव तथा चित्त हुँ भन्ने असत्य, माया, भ्रम तथा मिथ्याबाट पार हुन्छ र सत्यको निकट पुग्छ । उ जीवनमा आइपर्ने सुख र दुःखहरुबाट विचलित हुन छोड्छ, उसलाई वाहिरी संसारका विषयहरु, सुख, दुःखहरु गौण लाग्न थाल्छन्, उ अनुग्रहकालागि तयार हुन्छ, आफूभित्र प्रवेश गर्न सक्षम हुन्छ र आफैंभित्र निराकार तथा शुन्यको संसारमा आनन्दित हुन थाल्छ र मौक्ष्को अधिकारी हुन्छ ।


यसरी योग साधनाका विभिन्न वैज्ञानिक विधि तथा पद्धतिहरुको माध्यमबाट मनुष्यको वाहिरी संसारमा छरिएको चेतना आफूतिर फर्किएपछि विस्तारै उसलाई ‘म’ शरीर होइन, ‘म’ शरीरबाट अलग शुद्ध, वुद्ध, प्रवुद्ध आत्मा हुँ, सबै देख्नेवाला, सबै अनुभव गर्नेवाला साक्षी हुँ, द्रष्टा हुँ भन्ने भाव जाग्दै जान्छ, उसमा ज्ञान बढ्दै जान्छ र क्रमिकरुपमा उ आत्मज्ञानमा उपलव्ध हुन्छ । bsirjana@gmail.com



No comments:

Post a Comment