'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Monday, 20 January 2025

पूर्ण योग साधना नै पूर्ण चक्र साधना हो

                                 डा. सिर्जना भण्डारी

#अध्यात्म_दर्शन #जीवन_दर्शन 



विषय प्रवेश
आफ्नो मूलस्वरुप परमात्माबाट वियोग भएर जन्म र मृत्युको दुःखदायी चक्रमा पिल्सिरहेका मनुष्यहरुलाई पुनः आफ्नो मूलस्वरूप परमात्मामा नै फर्काउन तथा योग गराउन उपायहरुको खोजीगर्ने क्रममा हाम्रा पूर्खा तथा प्राचीन वैज्ञानिक ऋषिहरुद्वारा प्रतिपादित वैज्ञानिक खोजमा आधारीत विधि तथा पद्धतिहरूलाई ‘योग’ भनियो र योगका विधि तथा पद्धतिहरूलाई निष्ठापूर्वक आफ्नो दैनिक जीवनमा व्यवहारिक हुने किसिमले प्रयोगात्मक अभ्यास गर्दै अनुसरण गर्ने क्रियालाई ‘योग साधना’ भनियो । विभिन्न कालखण्डमा आवश्यकता र परिस्थिति अनुसार योगका धेरै प्रकारहरु व्यवहारमा ल्याइएका भएपनि व्यहारिकता र प्रभावकारीताका आधारमा सात प्रकारका योगहरु चलनचल्तीमा रहेकाछन्- (१)कर्म योग, (२)तन्त्र योग, (३)हठ योग, (४)भक्ति योग, (५)ज्ञान योग, (६)ध्यान योग, र (७)सांख्य योग तथा राज योग । यी सात योग मध्यमा पनि सबैकालागि सहज, उपयुक्त, प्रभावकारी र व्यवहारिक हुने दृष्टिकोणबाट श्रीमद् भगवद् गीतामा भगवान श्रीकृष्णले तीनवटा योग(कर्म, भक्ति, ज्ञान)लाई प्रमुख प्राथमिकता प्रदान गर्नुभएको छ । नियमित निष्ठापूर्वक योग साधनाको प्रयोगात्मक अभ्यासको अनुशरण गर्नाले मनुष्यको सुक्ष्म शरीरमा रहेका उर्जाका मूल शक्तिकेन्द्र प्रमुख सात चक्रहरु विस्तारै क्रमशः सन्तुलित, व्यवस्थित र जाग्रीत हुन थाल्छन् र मनुष्यको वाहिय तथा आन्तरीक जीवनमा अद्भूत सकारात्मक प्रगतिहरु देखापर्न थाल्छन् । उर्जाका मूल शक्तिकेन्द्र सात चक्रहरु जाग्रीत भएपछि मनुष्यको जीवनमा वाहिर समृद्धि, भित्र शान्ति घटित हुन्छ र उ जीवनमा हरप्रकारका सफलता हासिल गर्न सक्षम हुन्छ ।


योग साधनाको लक्ष्य

सबैले सहजै बुझ्ने भाषामा भन्नुपर्दा योग साधनाका मोटामोटी रुपमा दुईवटा लक्ष्य रहेकाछन्- (१)मनुष्यको वाहिरको जीवनमा ‘समृद्धि’, र (२)भित्रको जीवनमा ‘शान्ति’ । मनुष्यका शरीरका पनि मोटामोटी रुपमा दुईवटै प्रकार रहेकाछन्- (१)स्थूल शरीर(दृश्य अर्थात आकार), र (२)सुक्ष्म शरीर(अदृश्य अर्थात निराकार) । योग साधनाको निष्ठापूर्वक नियमित प्रयोगात्मक अभ्यास गर्नाले स्थुल शरीरकालागि अतिआवश्यक स्वाथ्य र सुख हासिल गर्न सकिन्छ जसले मनुष्यको जीवनमा समृद्धि ल्याउँदछ । समृद्धिले मनुष्यको जीवनलाई भौतिक रूपमा ऐश्वर्यवान बनाउँछ र जीवनमा उ सफल बन्दछ । सांसारीक अर्थात वाहिरको जीवन समृद्धि र ऐश्वर्यले भरिनु मनुष्यले सांसारिक मोक्ष प्राप्त गर्नु हो अर्थात जीवनका दुःखहरुबाट निवृत्त तथा मुक्त हुनु हो किनकी जीवनका सबै प्रकारका दुःखहरुबाट मुक्त हुनु नै सांसारिक मोक्ष प्राप्त गर्नु हो ।


त्यसैगरि योग साधनाको निष्ठापूर्वक नियमित प्रयोगात्मक अभ्यासले सुक्ष्म शरीर तथा आन्तरीक विकासकालागि अतिआवश्यक खुशी र आनन्द हासिल गर्न सकिन्छ जसले मनुष्यको जीवनमा शान्ति ल्याउँदछ । शान्तिले मनुष्यको जीवनमा सबैप्रकारका भित्रि तथा आन्तरीक विकास गर्न मद्धत गर्दछ, मनुष्यभित्र रहेका जन्म-जन्मदेखिका उसका प्रतिभा, क्षमता, सिर्जनशीलता तथा सकारात्मक गुणहरु प्रष्फुटीत हुन्छन् र मनुष्य आन्तरीक रुपमा स्वीकार तथा सन्तोषको भावले भरिन्छ आफ्नै जीवनप्रति धन्यता को भाव व्यक्त गर्छ । वाहिरी रूपमा समृद्धि र भित्रि तथा आन्तरीक रूपमा शान्तिले भरिएपछि मनुष्यको जीवन श्रीमद् भगवद् गीतामा भागवन श्रीकृराणले वर्णन गर्नुभएका सबैप्रकारका ऐश्वर्यहरु(धन, शक्ति, यश, सौन्दर्य, ज्ञान, वैराग्य)ले भरिन्छ । वाहिरी जीवन स्वास्थ, सुख र आन्तरीक जीवन शान्ति, सन्तोष र आनन्दले भरिनु मनुष्यले पारमार्थिक मोक्ष प्राप्त गर्नु हो अर्थात जीवनका सबै वाहिरी तथा आन्तरीक दुःखहरुबाट मुक्त हुनु हो किनकी जीवनका सबै प्रकारका दुःखहरुबाट निवृत्त ता मुक्त हुनु नै पारमार्थिक मोक्ष प्राप्त गर्नु हो । जीवनका वाहिरी तथा आन्तरीक सबै प्रकारका दुःखहरुबाट मुक्त भएपछि साधकमा ज्ञान, वुद्धि, विवेक, प्रज्ञा भरिदै आउँछ र उसकमा वैराग्यता घटित हुन्छ । वैराग्यताबाट साधकलाई आत्मज्ञान प्राप्त हुन्छ र साधकमा विस्तारै वाहिरी तथा भौतिक संसारको असत्यता, माया, भ्रम, अनित्यताको ज्ञान बढ्दै जान्छ र विस्तारै आफूले आफूलाई र ब्रम्हलाई खोज्न थाल्छ । यो खोजको गहिराईको अन्त्यमा पुगेपछि ब्रम्हाण्डको अन्तिम र स्थाई सत्य परब्रम्ह अर्थात परमात्मा संग साक्षातकार हुन्छ र जन्म र मृत्यको दुःखदायि चक्र पार गरेर उ सदाकालागि परमात्मामा स्थित हुन्छ तथा पारमार्थिक मोक्ष हासिल गर्दछ । यही नै हो योग साधना र मनुष्य जीवनको मूल लक्ष्य हो ।


योग साधना र चक्र साधनाको विज्ञान

निष्ठापूर्वक नियमित रुपमा योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुको प्रयोगात्मक अभ्यास तथा अनुशरणको माध्यमबाट मनुष्यको सुक्ष्म शरीरमा रहेका उर्जाका मूल शक्तिकेन्द्र प्रमुख सात चक्रहरु जाग्रीत गरि सहजै जीवनमा वाहिर समृद्धि र भित्र शान्ति हासिल गर्न सम्भव छ । यसकालागि हरेक मनुष्यले सर्वप्रथम आफ्नो शरीरको विज्ञान बुझ्नु अतिआवश्यक हुन्छ । मोटामोटी रुपमा मनुष्यका शरीर दुई प्रकारका रहेका छन्- (१)आकार शरीर अर्थात् भौतिक शरीर, र (२)निराकार शरीर अर्थात् सूक्ष्म शरीर अर्थात आत्मिक अर्थात चेतनात्मक शरीर । मनुष्यको भौतिक शरीरमा मेरुदण्डको पुच्छरदेखि शिरको टुप्पीसम्म मुख्य सात ग्रन्थीहरु (गोनाड्स, एडरनल, पेनक्रियाज, थाइमस, थाइरोइड, पिट्युटरी, पिनियल) रहेकाछन् । यी भौतिक ग्रन्थीहरुले भौतिक शरीरलाई स्वस्थ, सक्रिय र शुद्ध रहन आवश्यक पर्ने सकारात्मक ग्रन्थीरसहरू(एन्डोर्फीन्स, डोपामिन, सेरोटोनीन, मेलाटोनीन... आदि) उत्पादन गर्दछन् । यस्ता रसहरूलाई आधुनिक चिकित्सा विज्ञानले हर्मोन्स भन्दछ । ग्रन्थीरस तथा हर्मोन्स शरीरका वाहिरी तथा आन्तरीक अंगहरुको सन्तुलन तथा व्यवस्थापनकालागि शरीर स्वयंले उत्पादन गर्ने रसायनहरु हुन् जसले मानिसको शरीर, मन, भाव, चित्त, वुद्धि, अहंकार आदिका हरेकप्रकारका गतिविधिहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाव पार्दछन् । स्थुल शरीरका यी सात प्रकारका ग्रन्थीहरुलाई सुक्ष्म शरीरमा स्थित सातवटा चक्रहरु(मूलाधार, स्वादिष्ठान, मणिपुर, अनाहद, विशुद्धि, आज्ञा, सहश्रार)मा रहेको ब्रम्हाण्डिय दिव्य ऊर्जाले शक्ति प्रदान गरिरहेको हुन्छ । सुक्ष्म शरीरमा रहेका उर्जाका मूल शक्तिकेन्द्र सात चक्रहरु सन्तुलित, सक्रिय र जाग्रीत अवस्थामा छन् भने स्थुल शरीरमा रहेका प्रमुख सात ग्रन्थीहरु पनि पूर्णरुपमा सन्तुलित रहन्छन् र शरीर, मन, भाव, चेतना स्वस्थ, सक्रिय र शुद्ध रहन अतिआवश्यक पर्ने ग्रन्थीरसहरु सन्तुलित मात्रामा उत्पादन गर्दछन् र शरीर तथा स्वाथ्यका चारवटै आयामहरु(शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, भावनात्मक स्वास्थ्य, चेतनात्मक स्वास्थ्य)लाई स्वस्थ, सक्रिय र शुद्ध राख्न मद्धत गर्दछ । मनुष्यको निराकार अथवा सूक्ष्म शरीरमा रहेका यी सातवटा चक्रहरु कुनै पनि प्रकारका आधूनिक चिकित्सा विज्ञानका अत्याधूनिक उपकरणको पकडमा तथा दृश्यमा आउँदैनन् तर यीनै चक्रसँग सम्बन्धित रहेका र यीनै चक्रहरूको शक्ति लिएर संचालित भैरहेका मेरुदण्डको पुच्छरदेखि शिरको दुप्पीसम्म रहेका सात प्रकारका ग्रन्थीहरु आधूनिक चिकित्सा विज्ञानका अत्याधूनिक उपकरणको पकडमा तथा दृश्यमा आउँछन् ।


मूलरुपमा पूर्वीय सनातन अध्यात्म दर्शन अर्थात सन्तुलित जीवन जिउने कलामा आधारीत प्राचीन चिकित्सा विज्ञानमा मानव शरीर र पंचतत्व(पृथ्वी, जल, अग्नि, वायू, आकाश) + आत्मा र परमात्मा तत्व गरि सप्ततत्वका बारेमा पनि स्पष्ट रुपमा उल्लेख गरिएको छ । जुन मनुष्यको सुक्ष्म शरीरका उर्जाका मूल शक्तिकेन्द्र प्रमुख सात चक्रहरु सन्तुलित तथा जाग्रीत अवस्थामा छन् उसका शरीरका पाँच+दुईवटै तत्व र ग्रन्थीहरु स्वतः स्वस्थ, सक्रिय र शुद्ध हुन्छन् किनकी सात चक्रहरुले नै यी तत्व र ग्रन्थीहरु सन्तुलित किसिमले संचालित हुन आवश्यक पर्ने उर्जा प्रदान गरिरहेका हुन्छन् अर्थात शरीरका सबै तत्व र ग्रन्थीहरु प्रत्यक्ष रुपमा सात चक्रहरूसँग नै सम्बन्धित रहेका हुन्छन् । यसैगरी पूर्वीय सनातन अध्यात्म दर्शन तथा जीवन दर्शनमा कोषका आधारमा पनि मनुष्यको शरीरलाई पाँच प्रकारका कोष अर्थात पंचकोष(अन्नमय कोष, प्राणमय कोष, मनोमय कोष, विज्ञानमय कोष, आनन्दमय कोष)मा विभाजन गरिएको छ । यी पंचकोषहरू पनि प्रत्यक्ष रुपमा सुक्ष्म शरीरमा रहेका उर्जाका मूल शक्तिकेन्द्र प्रमुख सात चक्रहरुसंग नै सम्वन्धित छन् । जसका चक्रहरु सन्तुलित तथा जाग्रीत अवस्थमा हुन्छन् उसका पंचकोषहरु पनि स्वतः स्वस्थ, सक्रिय र शुद्ध रहन्छन् र उसको वाहिय तथा आन्तरीक जीवन पूर्णतः स्वस्थ, सुखी, खुशी, समृद्ध, शान्त र आनन्दित रहन्छ ।


सबैभन्दा प्राचीन साधना पद्धति अध्यात्म साधना तथा योग साधना गरिने समयमा मनुष्यको शरीरको वाहिरी तथा आन्तरीक विकास सन्तुलित ढंगले गर्न सकियोस भन्ने उदेश्यले मनुष्यको स्वास्थ्य, शरीर तथा जीवनको विज्ञानलाई सात चक्रहरुको माध्यमबाट बुझाउने प्रयास गरिएको विभिन्न सन्दर्भ सामग्रीहरुमा उल्लेख पाइन्छ । समयको विकासक्रम र ज्ञानको दायरा फराकिलो भएसंगै विभिन्न प्रकारले मनुष्यको स्वास्थ्य, शरीर तथा जीवनको विज्ञानलाई अझ स्पष्टसंग बुझाउने प्रयास तथा क्रममा पंचकोष, पंचतत्व र आजको विकसित आधूनिक चिकित्सा विज्ञानसम्म आइपुग्दा सात प्रमुख ग्रन्थीका अवधारणहरु प्रतिपादित भएका विभिन्न सन्दर्भ सामग्रीहरुमा उल्लेख गरिएको पाइन्छ । मनुष्यको स्थुल र सुक्ष्म शरीरमा रहेका यी सबै चक्र, कोष, तत्व र ग्रन्थीहरु सबै एकआपसमा अन्तरसम्वन्धित तथा परिपूरक छन् र मनुष्यले आफ्नो जीवनमा हरप्रकारले स्वस्थ, सुखी, खुशी, समृद्ध, प्रतिष्ठित, शान्त र आनन्दित रहनकालागि गर्ने हरेक क्रियाकलापहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा यिनै चक्र, कोष, तत्व र ग्रन्थीहरुको जागरण, सक्रियता, शुद्धता तथा सन्तुलित अवस्थासंगसँग नै सम्बन्धित छन् । यसकारण मनुष्यको सुक्ष्म शरीरमा रहेका चक्रहरु पूर्णतः सन्तुलित तथा जाग्रीत गर्नु अतिआवश्यक हुन्छ । वैज्ञानिक विधि तथा पद्धतिहरुमा आधारीत पूर्ण योगको साधनाबाट चक्रहरु सन्तुलन तथा जागरण गर्न सकिन्छ । योगको साधनाका प्रमुख तीन विधिहरु योगासन, प्राणायाम र ध्यानको प्रयोगात्मक अभ्यासले नै सात चक्रहरुलाई सन्तुलित, जाग्रीत र व्यवस्थित गराउछन् तसर्थ पूर्ण योग साधना नै पूर्ण चक्र साधना हो । bsirjana@gmail.com

No comments:

Post a Comment