डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन
विषय प्रवेश
सामान्य बुझाइ तथा व्यवहारिक प्रयोगका आधारमा अर्थात संकुचित अर्थमा ‘हठ’ भन्नाले कुनै विशेष वस्तु, लक्ष्य तथा उद्देश्य हासिल गर्नकालागि बल अर्थात हठपूर्वक गरिने क्रिया तथा गतिविधिहरु भन्ने बुझिन्छ र योग भन्नाले आफूलाई त्यस लक्ष्य तथा उद्देश्यसंग जोड्नु भन्ने बुझिन्छ । तर योगीक दृष्टिकोणबाट हठ र योग शव्दको परिभाषा फरक र व्यापक किसिमले गरिएको छ । संस्कृत वाक्य ‘हठ योग’ हठ+योग दुई शव्दको संयोजनबाट बनेको छ र ‘हठ’ शव्द ह+ठ दुई अक्षरको संयोजनबाट बनेको छ । हठ योगका सन्दर्भ शास्त्रहरुमा उल्लेख गरिए अनुसार ‘ह’ अक्षरको अर्थ ‘पिंगला नाडी तथा सूर्य श्वर’ हो जसलाई भगवती आदिशक्तिको स्वरुप मानिन्छ र ‘ठ’ अक्षरको अर्थ ‘इडा नाडी तथा चन्द्र श्वर’ हो जसलाई आदिनाथ भगवान शिवको स्वरुप मानिन्छ । हठ योगका सतप्रतिशत वैज्ञानिकतामा आधारीत विधि तथा पद्धतिहरुको निरन्तर साधनाको माध्यमबाट पिंगला र इडा नाडी तथा सूर्य र चन्द्र श्वरलाई संयोग गराई संन्तुलित तथा व्यवस्थित गरेपछि यी दुई नाडी तथा श्वरको मध्यमा रहेको, नाडीहरुमध्य प्रमुख र सबैभन्दा महत्वपूर्ण मानिने सुषुम्ना नाडी खुल्छ तथा जागृत हुन्छ । सुषुम्ना नाडीलाई मध्य नाडी पनि भनिन्छ । सुषुम्ना नाडी खुलेपछि तथा जागृत भएपछि मूलाधार चक्रमा सुसुप्त अवस्थामा रहेको कुन्डलिनी शक्ति(ब्राह्मण्डीय विराट उर्जा) सुषुम्ना नाडीको मार्ग हुदै ब्रम्हरंद्र तथा सहश्रार चक्रसम्म पुग्छ । यसरी पिंगला र इडा नाडीको संयोग तला योगबाट सुषुम्ना नाडी जागृत गरि मूलाधार चक्रमा सुसुप्त अवस्थामा रहेको कुण्डलिनी शक्तिलाई सुषुम्ना नाडीमा प्रवेश गराएर क्रमशः एकपछि अर्को माथिल्ला चक्रहरू भेदन गर्दै सहश्रार चक्रसम्म पुर्याएर सहश्रार चक्रमा विराजमान आदिनाथ भगवान शिवसंग मूलाधार चक्रमा विराजमान भगवती आदिशक्तिको मेल गराउनु अर्थात परम श्रद्धेय इश्वर शिवशक्तिको महामिलन गराउनु नै हठ योगको वास्तविक अर्थ तथा परिभाषा हो । पिंगला र इडा नाडीलाई संयोग गराएर यी दूई नाडी संन्तुलित तथा व्यवस्थित भएपछि कुन्डलिनी उर्जा सुषुम्ना नाडीमा प्रवाह हुनेक्रममा मनुष्यको सुक्ष्म शरीरमा रहेका उर्जाका मूलशक्ति केन्द्र प्रमुख सात चक्रहरु(क्रमशः मूलाधार, स्वादिष्ठान, मणिपूर, अनाहद, विशुद्धि, आज्ञा, सहश्रार) भेदन हुदै जान्छन् र स्वतः जाग्रीत हुन्छन् । यही नै चक्र तथा कुण्डलिनी जागरणको अवस्था हो ।
योग र हठ योग को वास्तविक परिभाषा
संस्कृत शव्द ‘योग’को सामान्य तथा शाव्दिक परिभाषा एक वस्तु तथा विषयसंग अर्को वस्तु तथा विषयलाई मेल गराउनु तथा जोड्नु हो । तर सनातन पूर्वीय अध्यात्म दर्शनमा प्रतिपादन गरिएका योगका सन्दर्भ ग्रन्थहरुमा योगको परिभाषा फरक प्रकारले वृहद रूपमा तीन तहमा गरिएको पाइन्छ-
युज् समाधौ- पतंजलि योग दर्शनले ‘योग’लाई समाधिसंग संयोग गरेर ‘युज् समाधौ’का रुपमा योगको परिभाषा गरेको छ । यस परिभाषा अनुसार 'योग' साधकलाई समाधिको अवस्थामा पुर्याउने साधना पद्धतिको मार्ग हो अर्थात योग नै समाधि हो र समाधि नै योग हो ।
युजिर योगे- हठ योगले ‘योग’लाई इडा र पिंगला नाडी संयोग गर्ने क्रिया ‘युजिर योगे’का रुपमा योगको परिभाषा गरेको छ । यस परिभाषा अनुसार हठ योगका साधनाका विधिहरुको माध्यमबाट ‘ह’ र ‘ठ’ अक्षरसंग सम्वन्धित विषयहरुलाई एकआपसमा मेल गराउनु, जोड्नु तथा योग गर्नु योग हो ।
युज् संयमने- युज् संयमनेको अर्थमा 'योग'लाई संयमतासंग जोडिएको छ । संयमपूर्वक साधना गर्नु नै योग हो ।
आवश्यकता र परिस्थिति अनुसार समयसमयमा योगका धेरै प्रकारहरु प्रतिपादन गरिएका भएपनि व्यवहारिकता र प्रभावकारीताका आधारमा मोटामोटी रुपमा योगलाई सात किसिममा विभाजन गरिएको छ:- १.कर्म योग, २.तन्त्र योग, ३.हठ योग, ४.भक्ति योग, ५.ज्ञान योग, ६.ध्यान योग, र ७.सांख्य योग अध्यात्म साधना गर्ने योगका प्रमुख विधिहरु हुन् । योग दर्शनमा हठ योग साधनाका विधि तथा पद्धतिहरुलाई काया(शरीर) शुद्धि र चित्त शुद्धिको सन्दर्भमा छोटो समयमै देखापर्ने अदभूत तथा प्रभावकारी सकारात्मक परिवर्तन तथा उपलब्धिहरुका कारण विशेष मान्यता र महत्व प्रदान गरिदै आइएको पाइन्छ ।
हठ योग
तन्त्र विद्या र हठ योगको सम्बन्ध निकै नजिकको रहेको मानिन्छ किनकी तन्त्र विद्याबाट नै हठ योगको उत्पत्ति भएको हो । आदिनाथ अर्थात आदिगुरु भगवान शिव यी सबै योग विद्याका प्रणेता तथा प्रतिपादक मानिनुहुन्छ । तन्त्र योग, मन्त्र योग र हठ योग यी तीनवटै योगलाई एकै मानिन्छ अर्थात यी सबै एकै पृष्ठभूमिबाट आएका हुन्, साथै कुण्डलिनी योग तथा लय योग पनि यही पृष्ठभूमि अन्तर्गत नै पर्दछन् । योगका विधि तथा साधना पद्धतिहरुको अनुशरण गरेर योगको मार्गमा प्राप्त गर्न सकिने महत्वपूर्ण अन्तरंग प्रतिफलहरु- धारणा, ध्यान, समाधि हासिल गर्छु भन्ने किसिमले हठ गरेर शरीर, मन, भाव, चित्तलाई तपाएर संकल्प गर्नु हठ योगको सामान्य तथा सङ्कुचित परिभाषा हो । योग दर्शनका सन्दर्भ शास्त्रहरुमा ‘हठ’ = ‘ह’+’ठ’ अक्षरको स्पष्ट अर्थ खुल्नेगरी अलग-अलग रूपमा व्याख्या गरेर यससंग सम्वन्धित सबै विषयहरुको विस्तृत अर्थ तथा विवरण खुलाइएको हठ योगको व्यापक पारिभाषा हो । 'ह' र 'ठ' संग सम्बन्धित शब्दावलीहरु-
‘ह’ अक्षरसंग सम्वन्धित विषयहरु
हकार
सूर्य श्वर
पिंगला नाडी
दाहिने नासिका
उष्णताको प्रतिक
कठोर
दिन
भगवती आदिशक्ति
’ठ’ अक्षरसंग सम्वन्धित विषयहरु
ठकार
चन्द्र श्वर
इडा नाडी
देब्रे नासिका
शितलताको प्रतिक
सौम्य
रात
भगवान आदिनाथ शिव
सतप्रतिशत वैज्ञानिकतामा आधारीत हठ योगका विधि तथा पद्धतिहरुको निष्ठापूर्वक निरन्तर साधनाको माध्यमबाट ‘ह’ र ‘ठ’ अक्षरसंग सम्वन्धित विषयहरुलाई एकआपसमा मेल गराउनु, जोड्नु तथा योग गर्नु नै हठ योगको वास्तविक अर्थ तथा परिभाषा हो । यी सबै विषयहरुको संयोग भएपछि हठ योगको साधना पूरा हुन्छ र लच्क्षित उदेश्यहरु हासिल गर्न सकिन्छ।
योग र हठ योगको ऐतिहासिक पृष्ठभूमि
योग मनुष्य जीवनको प्राचीनतम निधि तथा संस्कार हो । योगको ज्ञान ब्रम्हाण्डको सृष्टिकालदेखि नै प्रयोगमा ल्याइदै आइएको पाइन्छ । ब्रम्हा, विष्णु, महेशको कालखण्डदेखि नै योग साधनाका अभ्यासहरु चल्दै आइरहेका छन् । योगका सन्दर्भ ग्रन्थहरुका अनुसार ब्रम्हाजीले सृष्टि गर्नुअघि योग साधनाको अभ्यास गर्नुभएको थियो । योग साधनाको अभ्यास गरेपछि ब्रम्हाजीलाई ज्ञान प्राप्त भएको थियो र ज्ञान प्राप्तिपछि चतुरभूज नारायणको दर्शन भएको थियो । चतुरभूज नारायणको दर्शन र मार्गदर्शनपछि ब्रम्हाले सृष्टिको प्रारम्भ गर्नुभयो र संगसंगै योग साधनालाई पनि निरन्तरता दिनु भएको थियो । श्रीमद् भगवद् गीताको अध्याय चार, प्रथम श्लोकमा मनुष्य समाजमा योगको उत्पत्ति तथा शुरुआत कहिले र कसरी भयो भन्ने सन्दर्भमा भगवान श्रीकृष्णले भन्नु भएको छ, “हे अर्जुन योगको ज्ञान मैले प्रथमपटक तिमीलाई दिएको होइन । सृष्टिको प्रारम्भमा प्रथमपटक योगको ज्ञान मैले(भगवान श्रीकृष्ण स्वयं परब्रम्हका स्वरूपमा पूजिनु हुन्छ) सूर्य देवलाई दिएको थिएं । सूर्य देवले योगको ज्ञान आफ्नो पुत्र वैवस्वत मनुलाई दिए, वैवस्वत मनुले योगको ज्ञान इच्छवाकुलाई दिए र इच्छवाकुको माध्यमबाट योगको ज्ञान सम्पूर्ण मनुष्यहरुमा तथा मनुष्य समाजमा फैलिदै आएको हो ।
हठ योग परम्पराका पहिलो प्रवक्ता आदिनाथ अर्थात आदिगुरु भगवान शिव हुनुहुन्छ । भगवान शिवले हठ योगको ज्ञान सर्वप्रथम आफ्नी पत्नी भगवती पार्वतीलाई दिनुभएको थियो । यसप्रकार हठ योग परम्पराको पहिलो प्रवक्ता भगवान शिव हुनुहुन्छ र पहिलो श्रोता भगवती पार्वती हुनुहुन्छ । आदिनाथ भगवान शिवबाट निसृत हुदै आएको यस परम्परालाई नाथ सम्प्रदाय तथा गुरु विष्य परम्परा पनि भनिन्छ । नाथ सम्प्रदायका पहिलो शिष्य मतस्येन्द्रनाथ हुनुहुन्छ जसले भगवान शिवले भगवती पार्वतीलाई योगको ज्ञान प्रदान गरिरहदा वहाँहरुको समिपमा जल तलाउमा मतस्य स्वरुपमा रहनु भएको अवस्थामा श्रवण गरि हठ योगको ज्ञान हासिल गर्नुभएको थियो । गुरु मतस्येन्द्रनाथका शिष्य गोरखनाथ हुनुहुन्छ । गुरु गोरखनाथका शिष्य बैद्यनाथ हुनुहुन्छ..., यस रीतले नाथ परम्पराको लामो इतिहास रहदै आएको देख्न सकिन्छ ।
हठ योगको उन्नत अवस्था
नाथ परम्परा अर्थात हठ योगको उन्नत अवस्था इस्वी संम्वत १०औं र ११औं शताब्दीमा गुरु गोरखनाथको समयलाई मान्ने गरिन्छ । उहाँले हठ योगको ज्ञानको सबैभन्दा वृहत प्रचार गर्नुभयो र धेरैतिर फैलाउनु भयो । गुरु गोरखनाथको समयमा हरेक घरमा हठ योगको साधना अनिवार्य रुपमा गराइन्थ्यो । घरघरमा हठ योगलाई परम्पराको रूपमा स्थापना गरिएको थियो र सबैले निष्ठापूर्वक यो नियमलाई अनुसरण गर्दै हठ योग साधना गर्ने गरेका थिए ।
हठ योगका सन्दर्भ ग्रन्थहरु
शिव संहिता, गोरख संहिता, गोरक्ष सतकम्, हठ प्रदिपिका, घेरण्ड संहिता, सिद्ध-सिद्धान्त पद्धति, हठ रत्नावली, योगबीन आदि प्रमुख रहेका छन् ।
हठ योगका साधना पद्धति तथा अंगहरु
'ह' र 'ठ' अक्षरसंग सम्वन्धित विषयहरुलाई एकआपसमा मेल गराउन तथा योग गर्न हठ योगका साधना पद्धति तथा अंगहरुको निष्ठापूर्वक अनुशरण गर्नु पर्दछ । हठ योगसंग सम्बन्धित सन्दर्भ ग्रन्थहरुमा हठ योगका साधना विधि तथा अंगहरु निन्न प्रकरका रहेका छन्-
१.षटकर्म(सोधन, ६ प्रकारका रहेका छन्),
२.आसन(दृढता, ८४ प्रकारका रहेका छन्),
३.प्राणायाम(लघुता तथा हल्कापन, ८ प्रकारका रहेका छन्),
४.मुद्रा(स्थिरता, २५ प्रकारका रहेका छन्),
५.बन्द(स्वस्थता, ४ प्रकारका रहेका छन्),
६.प्रत्याहार(१० प्रकारका इन्द्रियहरुको निग्रह),
७.ध्यान(प्रत्यक्षीकरण, ३ प्रकारका रहेका छन्),
८.समाधि(निर्लिप्त, ६ प्रकारका रहेका छन्),
९. आहार(मिताहार, शुद्ध आहार, सात्विक आहार),
१०.नादानुदान(लय योग) ।
घेरण्ड संहितामा हठ योगका सात प्रकारका साधना विधि तथा अंगहरु उल्लेख गरिएका छन्:- १.षटकर्म, २.आसन, ३.प्राणायाम, ४.मुद्रा, ५.प्रत्याहार, ६.ध्यान, ७.समाधि ।
हठ योगका लक्ष्य र उद्देश्य
कुनैपनि अठोट तथा संकल्पका उद्देश्यहरु धेरै हुन सक्छन् तर लक्ष्य एउटा मात्र हुन्छ । हठ योगको लक्ष्य राज योग* अर्थात समाधि अर्थात मुक्ति अर्थात मोक्ष अर्थात निर्वाण अर्थात कैवल्य अर्थात लिवरेसन हासिल गर्नु हो भने शारीरिक तथा मानसिक रुपमा आरोग्यता, शक्ति, दृढता, लघुता तथा हलुकापन, मजबुती, लचकता, सन्तुलन, नियन्त्रण, क्षमता, प्रतिभा, सिर्जनशीलता, सकारात्मकता आदि हासिल गर्नु हठ योगका उद्देश्यहरु हुन् ।
(*यद्धपि राज योगको सन्दर्भमा, राज योग साधना पद्धति हो या योग साधनाबाट प्राप्त हुने प्रतिफल हो भन्ने विषयमा मतऐक्यता रहेको देखिदैन । महर्षि घेरण्डले इस्वी १४औं शताव्दीमा प्रकाशन गर्नु भएको योग ग्रन्थ 'घेरण्ड संहिता'मा राज योगलाई योग साधनाको अन्तिम तथा सबैभन्दा महत्वपूर्ण फल तथा परिणाम मोक्ष, निर्वाण तथा कैवल्यको रुपमा व्याख्या गर्नु भएको छ भने स्वामी विवेकानन्दले इस्वी १९औं शताव्दीमा प्रकाशन गर्नु भएको 'राज योग' ग्रन्थमा 'अष्टांग योग' नै राज योग हो भन्ने वाक्यांश प्रयोग गरेर राज योगलाई योग साधनाको प्रतिफल नभइ योगको साधनाको विधि तथा पद्धतिका रुपमा व्याख्या गर्नुभएको छ ।) bsirjana@gmail.com
No comments:
Post a Comment