'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Wednesday, 29 January 2025

कुण्डलिनी शक्ति र मुलाधार चक्र जागरणका लाभहरु

                        डा. सिर्जना भण्डारी 

#अध्यात्म_दर्शन #जीवन_दर्शन 



विषय प्रवेश

मनुष्यको सुक्ष्म शरीरमा रहेको कुण्डलिनी शक्ति विराट ब्रम्हाण्डिय उर्जा हो । कुण्डलिनी अत्यन्तै रहस्यले भरिएको दिव्य शक्ति हो जो मनुष्यको सुक्ष्म शरीरको मेरुदण्डमा रहेको सबैभन्दा तलको मूलाधार चक्रमा सूक्ष्म रुपमा सुसुप्त अवस्थामा रहेको हुन्छ । कुण्डलिनी शक्तिको प्रकृति अत्यन्तै रहस्यमयी हुन्छ, जव यो सुसुप्त तथा शान्त अवस्थामा हुन्छ मनुष्यलाई आफ्नो शरीरभित्रै यस्तो विराट शक्ति छ भन्ने बिलकुल ज्ञात हुँदैन तर जव योग विज्ञानका शतप्रतिशत वैज्ञानिकतामा आधारित विधि तथा पद्धतिहरुको साधनाको माध्यमबाट कुण्डलिनी शक्ति गतिशील तथा जागृत हुनथाल्छ तव मात्र आफूलाई ज्ञात हुन्छ कि मभित्र यसप्रकारको दिव्य, अलौकिक, विराट शक्ति पनि रहेछ भनेर ।  विराट ब्रम्हाण्डिय उर्जा कुण्डलिनी शक्ति जागरणको प्रारम्भ मूलाधार चक्र जागरणबाट नै हुन्छ ।


कुण्डलिनी शक्ति, चक्र, शरीर र स्वास्थ्य

कुण्डलिनी शक्ति निष्कृय रहेको तथा जागृत नभएको अवस्थामा मनुष्यको जीवन सामान्य हुन्छ तर कुण्डलिनी शक्ति जागृत हुने क्रममा रहेको तथा जागृत भएको मनुष्यको जीवन अत्यन्तै फरक र रहस्यमय हुन्छ । यस्तो मनुष्यको जीवनमा चमत्कारिक, दिव्य तथा अलौकिक घटनाहरू घटित हुन थाल्छन् । भौतिक संसारका गतिविधिहरुमा विकसित भएको सिमित क्षमता भएको मस्तिष्क तथा मनले यसप्रकारका चमत्कारिक घटनाहरूको कल्पना, अनुमान तथा विश्वास नै गर्न सक्दैन । कुण्डलिनी शक्ति जागृत भएपछि मनुष्यको सुक्ष्म शरीरमा रहेका उर्जाका मूलशक्ति केन्द्र सात चक्रहरु पूर्णरूपमा सक्रिय हुन्छन् र मनुष्यको जीवनमा उसको जीवनी उर्जा अनौठो प्रकारले नयाँ स्तरमा जीवन्त हुन थाल्छ र मनुष्यको शरीर र स्वास्थ्यका सबै आयामहरु र यसका सम्पूर्ण गतिविधि तथा क्रियाहरुले अलग प्रकारले काम गर्न थाल्छन् र उसको जीवन चमत्कारिक ढंगले सकारात्मक मोड लिदै जान्छ ।

 
मनुष्यको शरीरमा कुल ११४ वटा चक्रहरु रहेका छन् र ती मध्य सात चक्रहरु(मूलाधार, स्वादिष्ठान, मणिपूर, अनाहद, विशुद्धि, आज्ञा, सहश्रार) विशेष रुपले मुख्य र महत्वपूर्ण मानिन्छन् । मनुष्यको सूक्ष्म शरीरमा रहेका यी सात चक्रहरूलाई सृष्टिको समस्त शक्तिको मूलकेन्द्र मानिन्छ । मनुष्यका अलग-अलग चक्र अनुसार अलग-अलग शरीर र अलग-अलग स्वास्थ्य रहेका हुन्छन् । यी सात चक्र ऊर्जाका मूल शक्तिकेन्द्र हुन् र यी चक्रहरुले मनुष्यको शरीर, मन, भावनालाई प्रत्यक्ष रुपमा नियन्त्रण, सन्तुलित र व्यवस्थित गर्दछन् । यी चक्रहरु असन्तुलित तथा निष्कृय अवस्थामा रहेका छन् भने यसले मनुष्यको शारीरिक, मानसिक, भावनात्मक र चेतनात्मक(आध्यात्मिक) सबै शरीर र स्वास्थ्यका आयामहरुमा प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पार्दछन् र सक्रिय तथा जागृत अवस्थामा छन् भने प्रत्यक्ष रूपमा सकारात्मक प्रभाव पार्दछन् किनकी हरेक चक्र हरेक शरीर तथा स्वास्थ्यका आयामहरुसंग र तीनका हरेक कार्य तथा गतिविधिहरुसंग प्रत्यक्ष रुपमा सम्वन्धित रहेका हुन्छन् तथा जोडिएका हुन्छन् ।


मूलाधार चक्र र यसका आयामहरु

शव्दबाट नै अर्थ स्पष्ट हुन्छ कि ‘मूल’को अर्थ जग हो र ‘आधार’को अर्थ जेमा स्थित छ अर्थात अडिएको छ भन्ने हो, तसर्थ मूलाधार चक्र मनुष्यको शरीर, मन, भाव तथा चेतनाको मूल आधार हो भन्ने स्पष्ट हुन्छ । मूलाधार चक्र मनुष्यको सुर्म शरीरमा रहेको इडा नाडी र पिंगला नाडीको मध्यमा रहेको सुषुम्ना नाडीको मूलमा मलद्वारभन्दा दुई अम्मल अगाडि र जनेन्द्रिय भन्दा दुई अम्मल पछाडि मेरुदण्डको पुच्छारमा स्थित रहेको छ । सांकेतिक रुपमा मूलाधार चक्रलाई चारपात भएको कमलको फूल जस्तो देखाइन्छ । कमलका चारपातले मनुष्यका अन्तःकरण(मन, बुद्धि, चित्त, अहंकार)को प्रतिनिधित्व गर्दछन् । मूलाधार चक्रको तत्व वीज मन्त्र ‘लं’ हो जुन यसको वीज ध्वनिको सूचक हो । यो चक्रको रङ्ग रातो हुन्छ । मूलाधार चक्रले कर्म योग, पृथ्वी तत्त्व, मंगल ग्रह, मकर र कुम्भ राशि, स्थुल शरीरमा सबैभन्दा तल रहेको गोनाड्स ग्ल्यान्डको प्रतिनिधित्व गर्दछ । यो चक्रको तत्त्व वीजको वाहन ऐरावत हात्ती हो जसमा इन्द्र देवता विराजमान रहेकाछन् । यो चक्रको अधिपति देवता चतुर्भुज ब्रम्हा हुन् र चक्रका अधिकारी भगवान गणेश हुन् ।

 

मानवीय विकारहरू काम, क्रोध, मोह, ईर्ष्या, घृणा, राग, द्वेष, कामुकता, प्रजनन, माया आदि सबै मूलाधार चक्रको प्रभावको अन्तर्गत आउँछन् । स्वास्थ्य, बल, बुद्धि, स्वच्छता तथा पाचन शक्ति यही चक्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित छन् । शरीरका अष्ट धातु, उपधातु पनि यही चक्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित छन् । शारीरिक समस्या तथा रोगहरुको सिधा तथा प्रत्यक्ष सम्बन्ध मूलाधार चक्रको अशुद्धता, असन्तुलन तथा निष्कृयतासँग नै रहेको हुन्छ । यसकासाथै सांसारिक प्रगति र आन्तरिक विकास गराएर  मनुष्यलाई देवत्वतिरको यात्रामा अघि बढाउन र चैतन्यतासम्म पुर्याउन पनि प्रमुख आधार हो मूलाधार चक्र किनकी मनुष्यको चैतन्य शक्तिलाई मूलधार चक्रबाट नै शक्ति मिलिरहेको हुन्छ । मूलाधार चक्र मनुष्यको स्थुल शरीरमा रहेका मांसपेशी, हड्डी, रगत, नसा, बोसो आदिसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ । समग्रमा भन्नुपर्दा मूलाधार चक्र ज्यादातर मनुष्यको स्थुल शरीरको स्वास्थ्यसंग प्रत्यक्ष र मानसिक, भावनात्मक तथा चेतनात्मक स्वास्थ्यसंग अप्रत्यक्ष रुपमा सम्वन्धित रहेको छ । यसकासाथै विश्वास गर्ने क्षमता, शारीरिक बलको क्षमता, आफ्नो बल तथा क्षमतामाथि विश्वास राख्ने, शरीर स्वस्थ राख्ने क्षमता, आफूले थालेको तथा आँटेको कार्य पूर्ण गर्ने संकल्प र क्षमता आदि मूलाधार चक्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित छन् । मूलाधार चक्र मनुष्यको शरीरको तल्लो भागका अङ्गहरू (गोडा, पिडौला, घुँडा, जांग, नितम्ब, कम्मरका गतिविधिहरु, स्वास्थ्य अवस्थासँग सम्बन्धित रहेको हुन्छ । मूलाधार चक्र र स्थुल शरीरका अंगहरुविचको सम्बन्ध दोहोरो नै हुन्छ अर्थात मूलाधार चक्र असन्तुलित, कमजोर तथा निष्कृय अवस्थामा छ भने शरीरका यी अंगहरू र यीनको स्वास्थ्य अवस्था, सक्रियता तथा शुद्धतामा कमीकमजोरी देखिन्छ र शरीरको तल्लो भागका यी अङ्गहरू अस्वस्थ तथा कमजोर छन् भने मूलाधार चक्रको शक्ति पनि कमजोर हुन्छ ।


मुलाधार चक्र जागृत गर्ने साधना विधि

मूलाधार चक्र जागरण गर्न प्रमुख रूपमा यस चक्रको वीज मन्त्र 'लं' को उच्चाहरण साधना विधिको अनुशरण गर्ने गरिन्छ । मूलाधार चक्र ध्यान साधना गर्दा चक्रको तत्त्व वीज मन्त्र ‘लं’ ध्वनि छिटो तथा ढिलो, लामो तथा गहिरो विभिन्न लयमा बारबार दोहोर्याउने गरिन्छ । यसरी बीज मन्त्र बारबार दोहोर्‍याउँदा मन्त्रको ध्वनिबाट उत्पन्न हुने ऊर्जाका विशेष प्रकारका तरंगहरुले मुलाधार चक्रमा र यस वरपर रहेका नस तथा नाडीहरुलाई उत्तेजित तला सक्रिय गर्दछन् र यी तरंगहरु मस्तिष्कसम्म पुग्दछन् र मूलाधार चक्र जागृत हुने प्रक्रिया प्रारम्भ हुनथाल्छ । मूलाधार चक्र जागृत हुने क्रममा आफसेआफ साधकको जीवनमा यो चक्रसँग सम्बन्धित सकारात्मक परिणाम, उपलब्धि तथा प्रतिफलहरु देखिन थाल्छन् । साधकमा स्वस्थता, वीरता, निर्भिकता, शारीरिक क्षमता, सुखी, खुशी, शान्त र आनन्द भावमा रहने शक्ति जागृत हुन थाल्छ । तर मनन् गर्नुपर्ने अति महत्वपूर्ण पक्ष यो छ कि जसरी मनुष्यको जीवनमा मूलाधार चक्र सन्तुलित, सक्रिय तथा जागृत भएको अवस्थामा सकारात्मक प्रभावहरु देखिन्छन् त्यसैगरी यो चक्र असन्तुलित, अशुद्ध तथा निष्क्रिय अवस्थामा छ भने मनुष्यको जीवनमा यसका नकारात्मक प्रभावहरु पनि देखिन्छन् । मनुष्य अस्वस्थ, अल्छि, निस्क्रिय, कमजोर, गुनासोले भरिएको, आफ्नो दुर्वलताको दोष अरुलाई दिने तथा अरुलाई गाली गर्ने, हिम्मत नभएको आदि हुन्छ र जीवनका हरेक आयामहरुमा उ असफल हुन्छ । अध्यात्म दर्शनका अनुसार मनुष्य तवसम्म पशुवत(जनावर समान) रहन्छ जवसम्म उसको सम्पूर्ण ऊर्जा मूलाधार चक्रमा अड्किएर सुसुप्त तथा निष्कृय अवस्थामै रहिरहन्छ अर्थात बसिरहन्छ । मूलाधार चक्रमा ऊर्जा अड्किएको मनुष्यले भौतिक वस्तु तथा सेवाहरुको भोग, निद्रा र मैथुनको लिप्ततामा मात्र आफ्नो पुरै जीवन व्यतित गर्दछ र आफ्नो कुनै प्रकारको वाहिय तथा आन्तरिक विकास नगरिकन नै संसार छोडेर जान्छ अर्थात मर्छ । तर भोग, निद्रा, मैथुनमा सैयम तथा सन्तुलन राखेर मूलाधार चक्रको साधना गरेर यो चक्रलाई जागृत गराएर मनुष्यको जीवनमा यसका सकारात्मक परिणामहरू ल्याउन तथा यसका लाभहरु लिन सकिन्छ । यसको पूर्ण विज्ञान सनातन अध्यात्म दर्शनको प्रमुख र अत्यन्तै महत्वपूर्ण अंग योग साधनामा रहेको छ ।

 

तत्व वीज मन्त्रोचाहरणका साथसाथ योग साधनाका प्रमुख साधन तथा अंगहरु यमका संसारप्रति आफूले गर्नुपर्ने व्यवहार र नियमका आफूले आफैंप्रति गर्नुपर्ने व्यवहारका विधिहरुको पालना गर्दै योग साधनाका अन्य वैज्ञानिक तथा व्यवहारिक साधन तथा अंगहरु- योगासन, प्राणायाम, मुद्रा, बन्द आदिको निष्ठापूर्वक नियमित रुपमा प्रयोगात्मक अभ्यास गरेर मूलाधार चक्रलाई जागृत गर्न र जीवनमा सहजै चक्र जागरणका लाभहरु हासिल गर्न सकिन्छ । आफ्नो शारीरिक तथा मानसिक अवस्था अनुसार सहज लाग्ने जुनसुकै आसन(बसेर, पल्टेर, उभिएर)मा रहेर मूलाधार चक्रको ध्यान साधना गर्न सकिन्छ । आसन जुनसुकै भएपनि ध्यान साधनाको महत्वपूर्ण शर्त तथा नियम कम्मर, ढाड, गर्धन र शिर सिधा हुनुपर्दछ ताकि मेरुदण्ड सिधा रहोस र ध्यान साधनाबाट प्राप्त हुने ब्रम्हाण्डिय उर्जा शरीरमा सबैतिर सहज किसिमले प्रवाह हुनसकोस । शरीर खुकुलो राख्दै, आँखा कोमल बन्द गरेर, हातमा ज्ञान मुद्रा(बुढी र चोरी औंलाको टुप्पो हल्का दबाउदै जोडेर) लगाएर मलद्वार र जनेन्द्रियको बीचमा रहेको मूलाधार चक्रमा आफ्नो ध्यान केन्द्रित गर्दै उक्त स्थानमा रातो बत्ती बलिरहेको तथा रातो फूल फुलिरहेको कल्पना गरेर लामो गहिरो श्वास भर्दै र लामो गहिरो श्वास छोड्दै, श्वासप्रश्वासको  आउने जाने गतिलाई नियाल्दै मूलाधार चक्रको ध्यान साधना गरिन्छ ।

 

चक्र जागरणकालागि विशेष गरि हठ योगका साधना विधि तथा पद्धतिहरु प्रभावकारी र व्यवहारिक मानिन्छन् । मूलाधार चक्र सन्तुलित, सक्रिय तथा जागृत गर्न विशेष प्रकारका योगासन, मुद्रा, प्राणायाम, बन्दका साधना विधिहरुको नियमित प्रयोगात्मक अभ्यासहरु गरिन्छन् । मूलाधार चक्र जागरणकालागि विशेष गरीकन ताडासन, वीरभद्रासन, मलासन, जानूशिर्षासन, सेतुबन्धासन खास रुपले प्रभावकारी र आधारभूत आसन मानिन्छन् । यी योगासनहरुले मनुष्य शरीरको विशेष गरिकन मेरुदण्ड, कम्मर र कम्मरमुनिका अंगहरु गोडा, पिडौला, घुँडा, जांग, नितम्ब, कम्मर र ची अंगका मांसपेशी, हड्डी, बोसो, नशा तथा नाडीहरू सक्रिय गर्दछन् र मूलाधार चक्रको प्रतिकको रुपमा रहेको पृथ्वी तत्वसँग मनुष्यको शरीरलाई प्रत्यक्ष जोड्न मद्धत गर्दछन् । चक्र जागृत गर्न गरिने विशेष प्रकारका योगासन, प्राणायाम, मुद्रा तथा बन्दहरुको साधना शिद्ध र अनुभवी योगगुरु तथा सदगुरुको सानिध्यमा रहेर अनुशासित भएर विधिपूर्वाक गर्नु अनिवार्य हुन्छ अन्यथा योगका साधन तथा अंगहरु आसन, प्राणायाम, मुद्रा, बन्धका विधिहरुले साधकलाई लाभको साथसाथ विशेष परिस्थितिहरुमा कहिलेकाहीं हानी पनि गर्न सक्छन् सही विधि तथा तौर, तरिका अनुसार साधना गरिएन भने ।

 

मूलाधार चक्रको जागृत अवस्था

जसरी कुनै भवनको स्थायित्व त्यसको जगमा अडिएको हुन्छ त्यसैगरि मनुष्यको सम्पूर्ण शरीर र स्वास्थ्यका आयामहरूको स्थायित्व मूलाधार चक्रको अवस्थामा निर्भर गर्दछ किनकि मूलाधार चक्र भवनरुपी मनुष्य शरीर र शरीरको स्वास्थ्यको जग हो तसर्थ मनुष्यको जीवनमा मूलाधार चक्र अत्यन्तै महत्वपूर्ण छ । यसकारण हरेक मनुष्यले सर्वप्रथम मूलाधार चक्र सन्तुलित, व्यवस्थित तथा जागृत गर्नु अति आवश्यक हुन्छ । यदि मूलाधार चक्र बलियो, सन्तुलित र व्यवस्थित, सक्रिय तथा जागृत छ भने मनुष्यको वाहिय तथा आन्तरीक विकास राम्रोसंग हुन्छ । वाहिरको संसारमा तथा भित्रको अर्थात आन्तरीक संसारमा घट्ने कुनै पनि राम्रा तथा नराम्रा घटनाहरुले उसलाई खासै प्रभाव पार्दैनन्, सुख र दुःखमा मातिने र आतिने गर्दैन तथा बिचलित हुदैन । जीवनमा आइपर्ने सबै सकारात्मक तथा नकारात्मक घटनाहरुलाई प्राकृतिक चक्रको रुपमा सहजै स्वीकार गर्दछ र आफू सदा स्थिर, स्वस्थ, शान्त र आनन्दित भएर जीवन व्यतित गर्दछ । सबै चक्र, सबै शरीर र सबै स्वस्थ्यका आयामहरुको मूल आधार मूलाधार चक्र सन्तुलित, सक्रिय तथा जागृत भएको छ भने बाँकी कुरा तथा विषयहरुलाई बिस्तारै आफ्नोअनुकूल, सन्तुलित तथा व्यवस्थित बनाउन सकिन्छ भन्ने कुरा उसलाई राम्रोसंग ज्ञात हुन्छ र उसले आफ्नो जीवनलाई त्यसै अनुरुप अगाडि बढाउँछ जीवन वाहिर समृद्धि र मित्र शान्ति हासिल गर्दछ ।


अन्त्यमा

मूलाधार चक्रमै मनुष्य शरीर र स्वास्थ्यका सम्पूर्ण विषय तथा आयामहरु प्रत्यक्ष रुपमा सम्बन्धित तथा आश्रीत रहेका हुन्छन् । प्रारम्भमा माथिका सबै चक्रहरुका अवस्था तथा गतिविधिहरू मूलधार चक्रमै स्थित तथा निर्भर हुन्छन् र सबै प्रक्रियाहरुको विकासको शुरुआत मूलाधार चक्रबाटनै प्रारम्भ हुन्छन् । यसकारण हरेक मनुष्यले आफूभित्रै स्थित तर उचित अवसर तथा वातावरणको अभावमा सुसुप्त अवस्थामा दबेर अप्रकट अवस्थामा रहेका जन्म-जन्मका आफ्ना सम्पूर्ण प्रतिभा, क्षमता, सिर्जनशिलता, सकारात्मक गुणहरु वाहिर प्रष्फुटन गर्न सर्वप्रथम मूलाधार चक्र जागृत गर्नु अति आवश्यक हुन्छ । 
bsirjana@gmail.com


No comments:

Post a Comment