'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Friday, 17 January 2025

पूर्ण योग साधना र श्वास-प्रश्वासको विज्ञान ‘श्वर विज्ञान’

                         डा. सिर्जना भण्डारी 

     अध्यात्म_दर्शन #जीवन_दर्शन 

                        

 

विषय प्रवेश


संस्कृत शव्द योगको शाव्दिक अर्थ ‘जोड’ हो तथा एक वस्तुलाई अर्को वस्तुसंग जोड्नु अर्थात योग गर्नु हो । वैज्ञानिक विधि तथा पद्धतिहरुमा आधारीत रहेको पूर्वीय दर्शनको महत्वपूर्ण विषय ‘योग साधना’ पूर्णतः विज्ञान हो । योग साधनाका विभिन्न विधि तथा पद्धतिहरु रहेका भएपनि योगासन, प्राणायाम र ध्यान साधनालाई प्रमुख प्राथमिकता दिइएको छ र यी तीन विधिहरुलाई निष्ठापूर्वक दैनिक रुपमा अनुशरण गर्नु पूर्ण योग साधना गर्नु हो । योग साधनाका प्रणेता तथा आदि योग गुरु भगवान शिवले प्रतिपादन गर्नुभएको योगका विधि तथा पद्धतिहरु समावेश गरिएको सनातन अध्यात्म दर्शनको महान ग्रन्थ ‘विज्ञान भैरव तन्त्र’मा श्वास-प्रश्वासको आयाम ‘प्राणायाम’लाई ‘श्वर विज्ञान’का रुपमा व्याख्या गरिएको छ । योग साधनाको माध्यमबाट मोक्षको मार्गमा अगाडि बढ्न श्वर विज्ञान तथा प्राणायामकाका विधिहरुलाई अधिक महत्व र प्राथमिकता प्रदान गरिएको छ । श्वार विज्ञानको साथसाथ योगासन र ध्यान साधनालाई पनि प्रमुख प्राथमिकता दिइएको छ तसर्थ योगासन, प्राणायाम र ध्यानको साधना नै पूर्ण योग साधना हो ।


 

योग साधना र यसको पृष्ठभूमि


मनुष्यले योग साधनालाई दुई प्रकारले आफ्नो दैनिक जीवनमा अनुशरण गर्नु पर्दछ। पहिलो, योगका वैज्ञानिक विधि तथा पद्धतिहरुको सैद्धान्तिक ज्ञान हासिल गर्ने ‘योग दर्शन’का रुपमा जसले पूर्वीय अध्यात्म दर्शनका महत्वपूर्ण विषयहरु ‘आत्मज्ञान’, ‘तत्वज्ञान’, ‘ब्रह्मज्ञान’ र परमात्मा अर्थात परब्रम्हको सनातन स्थाइत्व र परमसत्यकाबारेमा ज्ञान प्रदान गर्दछ । योग दर्शनको सैद्धान्तिक दृष्टिकोण अनुसार मनुष्यको आत्मालाई परमात्मासंग जोड्नु योग हो जसले मनुष्यलाई जन्म र मृत्युको दुःखदायि चक्रमा घुमिरहदा आइपर्ने दुःखहरुबाट मुक्ति दिलाएर पारमार्थिक मोक्ष प्रदान गर्दछ र साधकलाई जन्म र मृत्युको चक्रबाट स्वतन्त्र गराएर सदाकालागि परमात्मामा योगस्थ हुने मार्ग प्रसस्त गर्दछ । दोस्रो, योगको व्यवहारीक र प्रयोगात्मक ज्ञान हासिल गर्ने ‘योग अभ्यास’ अभ्यासका रूपमा जसले मनुष्यको शरीरलाई मनसंग, मनलाई भावसंग र भावलाई चित्तसंग जोड्ने अर्थात अन्तःकरणका आयामहरु (शरीर, मन, वुद्धि, चित्त, अहंकार)लाई एक आपसमा योग गर्ने विधि तथा पद्धतिहरुकाबारेमा व्यवहारिक र प्रयोगात्मक अभ्यासको ज्ञान प्रदान गर्दछ । हामी मनुष्यहरुले आफ्नो दैनिक जीवनमा पूर्ण योग साधनालाई निष्ठापूर्वक अनुसरण गर्यौं भने हाम्रो अन्तःकरण स्वस्थ, सक्रिय र शुद्ध हुन्छ । अन्तःकरण स्वस्थ, सक्रिय, शुद्ध भएपछि साधकले सांसारीक मोक्ष हासिल गर्नुकासाथै उसमा आत्मज्ञान घटित हुन्छ र आत्मालाई परमात्मामा योग गर्ने पात्रता बढ्दै जान्छ र क्रमशः उ पारमार्थिक मोक्षमा उपलव्ध हुन्छ । यसप्रकार योग दर्शन र योग अभ्यासको दृष्टिकोणबाट मनुष्यको अन्तःकरणका करणहरु(औजार)लाई एकआपसमा जोड्नु योग हो जसले मनुष्यलाई वाहिरी तथा भौतिक संसारमा जीवन जिउने क्रममा आइपर्ने दुःखहरुबाट मुक्ति दिलाएर सांसारीक मोक्ष प्रदान गर्दछ र मनुष्यको आत्मालाई परमात्मामा जोड्नु योग हो जसले मनुष्यलाई जन्म मृत्युको दुःखदायि चक्रबाट मुक्ति दिलाएर पारमार्थिक मोक्ष प्रदान गर्दछ ।

 

 

योग पूर्णतः वैज्ञानिकतामा आधारित ज्ञान तथा विज्ञान हो । पूर्वीय अध्यात्म दर्शनमा योग साधनाको विशेष महत्त्व र प्रभावकारिता रहँदै आएको छ किनकि पूर्वीय अध्यात्म दर्शन मनुष्यलाई सरल र सहज ढंगले जीवन जिउन सिकाउने कलाको विज्ञान हो । तसर्थ पूर्वीय अध्यात्म विज्ञानमा राजनीतिशास्त्र, समाजशास्त्र, अर्थशास्त्र, कुटनीतिशास्त्र, मानवशास्त्र, सांख्यशास्त्र, ज्योतिसशास्त्र, वास्तुशास्त्र आदि विषयहरु समावेस गरिएका छन् । जीवन जिउने कलाको विज्ञान पूर्वीय अध्यात्म दर्शनका उपरोक्त विषयहरुमा सरल, सहज र प्रभावशाली ढंगले मानव जीवन जिउनकालागि आवश्यक पर्ने सबै प्रकारका विधा, विषय तथा ज्ञान, विज्ञानहरु समावेश गरिएका छन् । सरल, सहज र प्रभावशाली ढंगले जीजन जिउनकालागि योग साधनालाई दर्शन र अभ्यासका रुपमा दुई प्रकारका उद्देश्य राखेर अनुशरण गर्नुपर्छ भनिए पनि समग्रमा यी दुवै उद्देश्यहरुको आत्यन्तिक लक्ष्य एउटै हो । पूर्ण योग साधना(योगासन, प्राणायाम, ध्यान) को माध्यमबाट मनुष्यले क्रमशः सांसारिक मोक्ष हुँदै पारमार्थिक मोक्ष प्राप्त गर्नु नै योग साधनाको आत्यन्तिक लक्ष्य हो। दैनिक व्यवहार अर्थात् जीवनयापनमा पंचप्रगति(स्वस्थ्य, सम्बन्ध, समृद्धि, प्रतिष्ठा, शान्ति) हासिल गर्नु नै सांसारीक मोक्ष हो र बारबार जन्म र मृत्युको चक्रमा घुमिरहने दुःखदायि जीवनचक्रबाट मुक्ति पाउनु पारमार्थिक मोक्ष हो जुन पूर्ण योग साधनाको माध्यमबाट मात्र प्राप्त गर्न सकिन्छ ।



योगका प्रकार

 

समयसमयमा तत्कालीन आवश्यकता र परिस्थिति अनुसार प्रतिपादन गरिएका योगका विधि, पद्धति तथा प्रक्रियाहरू धेरै प्रकारका पाइएका छन् । योगका जति धेरै प्रकारहरु भएपनि यी सबै कुनै न कुनै रुपमा आदि योग गुरु भगवान शिवद्वारा प्रतिपादित विज्ञान भैरव तन्त्रका योगका ११२ प्रकारका विधि तथा पद्धतिहरुसंग नै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सम्वन्धित रहेकाछन् । योगका लाभ तथा उपलब्धिहरुमा प्रभावकारीता र व्यवहारिकताका आधारमा योगलाई मोटामोटी रुपमा सात प्रकारमा विभाजन गरिएको छ- (१)कर्म योग, (२)तन्त्र योग, (३)हठ योग, (४)भक्ति योग, (५)ज्ञान योग, (६)ध्यान योग, (७)सांख्य तथा राज योग । यी सात प्रकारका योगहरू मध्यबाट पनि अझ बढि व्यवहारिकता र प्रभावकारितालाई मध्यनजर गरेर सारा पञ्र्वी दर्शन शास्त्रहरुको मूलसार श्रीमद् भगवद् गीतामा भगवान श्रीकृष्णले तीनवटा योग (कर्म योग, भक्ति योग, ज्ञान योग)लाई विशेष प्रमुखता तथा प्राथमिकता प्रदान गर्नुभएको छ। यद्यपि यी सबै योगका प्रकार र यिनका विधि तथा पद्धतिहरुको आत्यन्तिक लक्ष्य मनुष्यका ज्ञान तथा कर्म इन्द्रियहरुको माध्यमबाट वाहिरी संसारमा छरिएको चेतनाको उर्जालाई एकाग्र गरि उसलाई आफैंभित्र फर्काएर ध्यान योगमा जोडदिनु हो । पतंजलि योग दर्शनमा योगका सुत्रहरुमा उल्लेखित योगसूत्रका आठवटै अङ्गहरू(यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि) योग दर्शन र योग अभ्यासको साधनाको माध्यमबाट मनुष्यलाई ध्यान योगमा पुर्याउन उत्तिकै महत्त्वपूर्ण र प्रभावकारी भएतापनि व्यवहारिकता र प्रभावकारिताका आधारमा योगका प्रमुख तीन अङ्ग (योगासन, प्राणायाम, ध्यान)लाई निष्ठापूर्वक दैनिक रुपमा अभ्यास गर्नुलाई नै पूर्ण योग साधना मानिदै आइएको छ ।



श्वास-प्रश्वासको विज्ञान

 

योग साधनाका सबै विधि तथा पद्धतिहरुले मनुष्यको शरीर र स्वास्थ्यका चारवटै आयामहरु(शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक)मा प्रत्यक्ष तथा अप्रत्यक्ष सकारात्मक प्रभाव पार्दछन् । ततपश्चात कुनै कुनै विधि तथा पद्धति खास प्रकारको उदेश्य हासिल गर्नकालागि विशेष प्रकारले व्यवहारिक तथा प्रभावकारी मानिएका छन् र व्यवहारिक रुपमा अभ्यास तथा अनुशरण गर्दै आइएका छन् । योग आसन तथा योग अभ्यासका विधिहरुको साधना स्थूल शरीर स्वस्थ, सक्रिय र शुद्ध राख्न प्रत्यक्ष प्रभावकारी मानिएका छन् । प्राणायामका विधिहरुको साधना स्थूल शरीरका आन्तरिक अङ्गहरु, मन तथा भावका साथै सूक्ष्म शरीरका आन्तरिक अङ्गहरू नाडी र चक्रहरु स्वस्थ, सक्रिय र शुद्ध राख्न प्रत्यक्ष प्रभावकारी मानिएका छन् । त्यसैगरि ध्यानका विधिहरुको साधनाले शरीर र स्वास्थ्यका सबै आयामहरूलाई स्वस्थ, सक्रिय र शुद्ध राख्नुका साथै मनुष्यका अन्तःकरणका सबै उपकरणहरु(शरीर, मन, बुद्धि, भाव, अहंकार,)लाई स्वस्थ, सक्रिय र शुद्ध गरेर, मनुष्यको सुक्ष्म शरीरमा रहेका उर्जा तथा शक्तिका मूलकेन्द्र सात चक्रहरु(मूलाधार, स्वादिष्ठान, मणिपूर, अनाहत, विशुद्धि, आज्ञा, सहश्रार) जाग्रीत गरि आत्मज्ञान हुँदै तत्वज्ञान, ब्रह्मज्ञान तथा ब्रह्म र ब्रह्माण्डको अन्तिम सत्यसम्म पुर्याएर मनुष्यलाई मोक्ष हासिल गर्न तथा आफ्नो मूलस्वरुप परमात्मामा पुनः योगस्थ हुन प्रत्यक्ष प्रभावकारी मानिएका छन् ।



प्राणायाम प्रत्यक्ष रुपमा श्वास-प्रश्वासको आयाम हो । श्वास-प्रश्वासको आयामलाई विज्ञान भैरव तन्त्र शास्त्रमा स्वर विज्ञान भनिएको छ । मनुष्यको सुक्ष्म शरीरमा रहेका उर्जा तथा शक्तिका मूलकेन्द्र सात चक्रहरु जाग्रीत गरेर मोक्ष हासिल गर्न हठ योगमा योगासन र स्वर विज्ञानलाई विशेष महत्व र प्राथमिकता प्रदान गरिएको छ । प्रभावकारीताका आधारमा योगासन भन्दा बढि महत्व तथा प्राथमिकता स्वर विज्ञानलाई नै प्रदान गरिएको छ । सबै योग साधनाका सबै विधि तथा पद्धतिहरुको आत्यन्तिक लक्ष्य मनुष्यको सुक्ष्म शरीरमा रहेका ऊर्जा तथा शक्तिका मूलकेन्द्र प्रमुख सात चक्रहरुको जागरण गर्नु हो । सात चक्रहरुको जागरण गर्नु भनेको मनुष्यको सुक्ष्म शरीरको मेरुदण्डको सबैभन्दा पुछारमा रहेको मुलाधार चक्रमा सुसुप्त अवस्थामा रहेको कुण्डलिनी(ब्रह्माण्डीय उर्जा) शक्तिलाई उठाएर तथा जागृत गरेर दोस्रो, तेस्रो, चौथो, पाँचौं, छैठौं चक्र हुँदै क्रमश सातौं चक्रमा पुर्याएर कुण्डलिनी शक्ति जाग्रीत गर्नु हो ।



स्वर विज्ञान का विधि तथा पद्धतिहरुको निष्ठापूर्वक अनुशरण गरेर श्वास-प्रश्वास भित्र लिने तथा वाहिर छोड्ने तरिका तथा लयवद्धता मिलाएपछि सर्वप्रथम मनुष्यको सूक्ष्म शरीरमा रहेका ७२ हजार नाडीहरू सक्रिय हुन्छन् । ७२ हजार नाडीहरू मध्ये तीन प्रमुख नाडीहरू (इडा, पिंगला, सुसुम्ना) प्रमुख मानिएका छन् । यी तीन प्रमुख नाडीहरु मध्य इडा(देब्रे, चन्द्रनाडी) र पिङ्गला(दाहिने, सूर्यनाडी) नाडी सन्तुलित भएपछि मध्य नाडी अर्थात सुसुमना नाडीको मार्ग खुल्छ र यही मार्ग हुदै कुण्डलिनी अर्थात ब्रम्हाण्डिय ऊर्जा मुलाधार चक्रबाट सबै चक्रहरु पार गर्दै तथा सबै चक्रहरुलाई जाग्रीत गर्दै सहश्रार चक्रसम्म पुग्दछ । यसप्रकार पूर्ण योग साधनाको माध्यमबाट मनुष्यको सुक्ष्म शरीरमा रहेका उर्जा शक्तिका मूलकेन्द्र चक्रहरु जाग्रीत हुन्छन् र यसरी सबै चक्रहरु पूर्णरूपमा जाग्रीत भएपछि कुण्डलिनी जागरण हुन्छ । यो अवस्थालाई विज्ञान भैरव तन्त्रमा आँखी भौंको विचमा रहेको आज्ञा चक्रमा बिराजमान भगवान शिवसंग मेररुदण्डको पुछारमा मूलाधार चक्रमा सुसुप्त अवस्थामा बिराजमान रहेकी भगवती आदिशक्तिको मिलन अर्थात शिव-शक्तिको महामिलन(डिभाइन युनियन अफ शिव और शक्ति) भएको मानिन्छ ।



चक्र जागरण र सावधानी


श्वास-प्रश्वासको आयाम प्राणायाम अर्थात श्वर विज्ञानको साधनाको क्रममा विस्तारै चक्रहरु एक-एक गर्दै जागरण हुदै जाने हुनाले यो अवस्थामा उर्जाको प्रवाह अत्यधिक हुने गर्दछ । यस्तो अवस्थामा साधकले आफ्नो शरीर, मन, भाव, चित्तलाई चक्रहरुमा उत्पन्न भएको उर्जाको प्रवाह थेग्न तथा बहन गर्न सक्ने तयारी अवस्थामा राख्नु पर्दछ र यसकालागि योग साधनाका विधिहरुको विज्ञान र लयवद्धता बुझ्नु अति आवश्यक हुन्छ । यससकारण चक्र जागरण गर्नकालागि साधकले पूर्ण योग साधनाका विधि तथा पद्धतिहरुलाई निष्ठापूर्वक अनुसरण गर्नु अनिवार्य हुन्छ तबमात्र उसले चक्र जागरणका भौतिक तथा पराभौतिक रुपमा सकारात्मक लाभ तथा उपलब्धिहरु हासिल गर्न सक्दछ अन्यथा चक्र जागरण तथा कुण्डलिनी जागरणबाट साधकलाई हानी पनि हुनसक्छ । तसर्थ चक्र जागरण तथा कुण्डलिनी जागरण गर्न गरिने योग साधनाका विधि तथा पद्धतिहरु हरेक साधकले सिद्ध योग गुरु तथा सद्गुरुहरूको सानिध्यमा रहेर गर्नु अति आवश्यक हुन्छ, आफू खुसी योग साधनाका विशेष प्रकारका विधिहरु गर्नु हुँदैन । तर योग साधनाका सामान्य विधिहरु भने स्वेच्क्षाले गर्न पनि सकिन्छ किनकी योगका सामान्य विधि तथा पद्धतिहरूको खासै ठूलो लाभ पनि पुर्याउदैनन् र ठूलो हानी पनि पुर्याउदैनन्, न्यून तथा मध्यम प्रकारका लाभ-हानीहरु मात्र हासिल हुन्छन् ।



चक्र जागरणका लाभहरु


चक्र जागरण तथा कुण्डलिनी जागरण भएपछि साधकलाई भौतिक तथा पराभौतिक रुपमा विभिन्न प्रकारका सिद्धिहरू हासिल हुन्छन्, जस्तो कि भगवान हनुमानजीलाई अष्ट सिद्धि, नवनिधिका दाता भन्ने गर्दछौं र उनका यीनै गुण तथा स्वरुपहरुको पूजा प्रार्थना गर्ने गर्दछौं । चक्र साधना गर्ने साधकको जीवनमा भौतिक तथा सांसारीक जीवनमा पनि विभिन्न प्रकारका लाभ तथा उपलव्धिहरु हासिल हुन्छन् । साधकको जीवनमा स्वत: स्फुर्त रुपमा विस्तारै क्रमशः पंचप्रगतिहरु- स्वास्थ्य, सम्बन्ध, समृद्धि, प्रतिष्ठा र शान्ति हासिल हुदै जान्छन् । चक्र जागृत भएको मनुष्य हरप्रकारले सक्रिय, सकारात्मक, सिर्जनशील, क्षमतावान, प्रतिभावान, नेतृत्वदायी, आत्मविश्वास तथा आत्मसम्मानले भरिएको, सकारात्मक सोच तथा विचार भएको, सर्वकल्याणका कामहरुमा सहभागी हुने, ठूला तथा धेरैलाई लाभ हुने प्रकारका कामहरुको स्वामित्व तथा नेतृत्व लिने प्रकारको गरिमावान, हृदय विशाल भएको अत्यन्तै प्रतिष्ठित व्यक्तित्व भएको हुन्छ किनकी चक्रहरु जाग्रीत भएपछि उचित अवसर तथा वातावरण नपाएर मनुष्यभित्रै सुसुप्त अवस्थामा रहेका उसका जन्म-जन्मका क्षमता, प्रतिभा, सिर्जनशिलता, सकारात्म गुणहरु आदि वाहिर प्रष्फुटीत हुन थाल्छन् र उसको जीवनमा सफलताहरु आउन थाल्छन् । bsirjana@gmail.com









No comments:

Post a Comment