डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन
विषय प्रवेश
अध्यात्म संस्कृत वांगमयका दुई शव्द अधि र आत्मको संयोगबाट निर्माण भएको सन्धि शव्द हो । ‘अधि’ को अर्थ हुन्छ श्रेष्ठ तथा परम र +‘आत्मा’= ‘परमात्मा’ शव्द बनेको हो । परमात्मा प्राप्ति अर्थात मोक्ष प्राप्तिकालागि गरिने सबै प्रकारका भौतिक तथा पराभौतिक सकारात्मक गतिविधिहरु अध्यात्म साधना हुन् । सनातन वेद तथा यसबाट निसृत सबै शास्त्रहरुको मूलसार विश्वमै सर्वाधिक वैज्ञाननिक मान्दै आइएको प्राचीन ग्रन्थ भगवद् गीतामा भगवान श्रीकृष्णले भन्नुभएको छ, “हरेक आत्माले चौरासी लाख योनी पार गरेर मनुष्य योनीमा जन्मनुको एकमात्र प्रमुख लक्ष्य मोक्ष प्राप्ति गर्न तथा सदाकालागि परमात्मामा योगस्त हुनकालागि हो । तसर्थ मनुष्य शरीरको विशेष महत्व छ किनकी आफ्नो आत्मा अर्थात चेतनालाई परमात्मा अर्थात ब्राम्ही(वैश्विक अर्थात विश्व) चेतनासम्म पुग्ने यात्रामा सहयोग केवल शरीरले मात्र गर्नसक्दछ ।” अर्थात सहज भाषामा भन्नुपर्दा मोक्षको यात्रामा मनुष्यको शरीर अत्यन्तै महत्वपूर्ण सवारी साधन हो, यसैले मनुष्यलाई परमात्मा प्राप्तिमा पुर्याउँदछ, शरीरबिना परमात्मा प्राप्त गर्न सम्भव नै हुदैन । तसर्थ मनुष्यलाई आफ्ना शरीरका आयामहरुको स्वस्थता, सक्रियता तथा शुद्धता र सांसारीक तथा पारमार्थिक मोक्ष प्राप्तिकालागि शरीरको भूमिका र महत्वको बारेमा सानै उमेरदेखिनै सिकाउदै तथा अभ्यस्त गराउदै लैजानु पर्दछ ।
वैदिक सनातन शास्त्र र यीनै शास्त्रहरुमा उल्लेखित तथ्यहरुलाई मान्यता दिएर र ती तथ्यहरुलाई हुवहु स्वीकार गरेर विश्वको छाता संगठन संयुक्त राष्ट्रसंघको प्रमुख संस्थाहरु मध्य एक विश्व स्वास्थ्य संगठनले प्रदान गरेको स्वास्थ्यको परिभाषा अनुसार मनुष्यका शरीर चार प्रकारका छन्– (१)स्थुल शरीर(शारीरिक), (२)मनस शरीर(मानसिक), (३)भाव शरीर,(भावनात्मक) र (४)आत्मिक अर्थात चेतनात्मक शरीर(आध्यात्मिक) । अध्यात्म साधनाकालागि शरीरका यी चारैवटै आयामहरु पूर्ण रुपमा स्वस्थ, सक्रिय र शुद्ध हुनु अति आवश्यक हुन्छ । यी चारै प्रकारका शरीर स्वस्थ, सक्रिय र शुद्ध राख्नकालागि मानव समाजमा हालसम्मको खोजमा फेलापारिएको एकमात्र वैज्ञानिक विधि, पद्धति तथा उपाय केवल पूवीय सनातन दर्शनको अभूतपूर्व देन योग दर्शन तथा योग विज्ञानको साधना हो । अध्यात्म साधनामा योग विज्ञान तथा योग दर्शनका वैज्ञानिक ज्ञान, विधि तथा पद्धतिहरुको निष्ठापूर्वक सैद्धान्तिक र व्यवहारीक किसिमले अनुशरण तथा अभ्यास गरेर मात्र मोक्षको प्राप्ति गर्न सकिन्छ । तसर्थ मोक्षको यात्रामा मनुष्यका शरीर सबै आयामहरुको पूर्ण स्वास्थ्यको साधना पहिलो शर्त हुन आउँछ । मनुष्य शरीरलाई पूर्ण रुपमा स्वस्थ, सक्रिय र शुद्ध राख्नकालागि स्वास्थ्य साधनाका विषय तथा आयामहरुलाई मसिनो गरि क्रमशः (१)स्थुल शरीरको विज्ञान, (२)मनस शरीरको विज्ञान, (३)भावनात्मक शरीरको विज्ञान, र (४)आत्मिक अर्थात चेतनात्मक शरीरको विज्ञान आदिबारे बुझ्नु पर्दछ ।
स्वास्थ्य साधना
(१)शरीरको विज्ञान
मनुष्यको चारवटै प्रकारका शरीरको स्वास्थ्यमा प्रमुख रुपमा आहार, विहार र व्यवहारको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको हुन्छ । स्वामी विवेकानन्द भन्नुहुन्छ, “मनुष्यले जस्तो आहार गर्दछ त्यस्तै उसको विचार बन्दछ, जस्तो विचार गर्दछ त्यस्तै उसको व्यवहार बन्दछ, जस्तो व्यवहार गर्दछ त्यस्तै उसको कर्म बन्दछ र जस्तो कर्म गर्दछ त्यस्तै उसको भाग्य बन्दछ ।” आहारबाट प्राप्त हुने पोषणले स्थुल शरीरका वाहिय तथा आन्तरीक सबै अंगहरुको सन्तुलित विकास गर्न मद्धत गर्दछ । मोटामोटी रुपमा मनुष्य शरीरको विकासकालागि आवश्यक पर्ने प्राकृतिक आहारबाट प्राप्त हुने छ प्रकारका पोषणहरु– (१)प्रोटीन, (२)कार्बोहाइड्रेड, (३)चिल्लो, (४)भिटामिन, (५)खनिज तथा लवण, र (६)पानीको सन्तुलित उपलव्धता भएमात्र स्थुल शरिर स्वस्थ, सक्रिय र शुद्ध बन्नसक्छ । आहारबाट प्राप्त हुने पोषणको प्रत्यक्ष प्रभाव स्थुल शरीरको साथसाथ मनस शरीर अर्थात विचार अर्थात मन, भाव र आत्मा अर्थात चेतनामा पनि उत्तिकै पर्दछ । आयुरवेद चिकित्सा अन्तर्गत पर्ने आहार विज्ञानका अनुसार सात्विक आहारको सेवन गर्दा मनमा निरन्तर उठिरहने सोच तथा विचारहरु पनि सात्विक(सबैको भलो चिताउने) हुन्छन् । त्यस्तै राजसिक तथा तामसिक आहारको सेवन गर्दा मनमा निरन्तर उठिरहने सोच तथा विचारहरु पनि राजसिक(आफ्नो र आफ्नाको भलो चिताउने) तथा तामसिक(कसैको पनि भलो नचिताउने) प्रकारकै हुन्छन् । मनुष्यको विचार नै सबैभन्दा बलवान हुन्छ, विचारको शक्तिले नै मानव बनाउँदछ । मनुष्यमा नकारात्मक तथा राजसिक, तामसिक विचारको शक्ति हावी भयो भने यसले उसलाई भोग, रोग, शोकतिर लैजान्छ र सकारात्मक तथा सात्विक विचारको शक्ति हावी भयो भने उसलाई योग, मोक्ष, परमआनन्दतिर लैजान्छ ।
मनुष्य शरीरको स्वाथ्यमा आहार जस्तै विहार अर्थात व्यायाम र व्यवहारको पनि उत्तिकै महत्वपूर्ण प्रभाव रहेको हुन्छ । पूर्वीय जीवन दर्शनमा सन्तुलित व्यायामकालागि योग साधना(योगासन, प्राणायाम र ध्यान)लाई सबैभन्दा उत्कृष्ट तथा प्रभावकारी साधना विधि, पद्धति तथा उपाय मानिएको छ र योग साधनाका यीनै वैज्ञानिक विधि तथा पद्धतिहरुलाई वर्तमान समयमा विश्वव्यापि रुपमा प्रयोगमा ल्याइदै आइएको छ । योगासनले खासगरि स्थुल शरीरलाई स्वस्थ, सक्रिय र शुद्ध राख्न मद्धत गर्नुकासाथै यसले मन, भाव र चेतन शरीरलाई पनि स्वस्थ, सक्रिय, शुद्ध राख्न र आफू तथा अरुप्रति सहज र सरल व्यवहार गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष किसिमले मद्धत गर्दछ । प्राण अर्थात श्वासको आयाम प्राणायामले खासगरि मनस शरीर अर्थात मन र स्थुल शरीरका आन्तरीक अंगहरुलाई स्वस्थ, सक्रिय र शुद्ध राख्न मद्धत गर्नुकासाथै यसले स्थुल, भाव र चेतन शरीरलाई पनि पनि स्वस्थ, सक्रिय, शुद्ध राख्न र आफू तथा अरुप्रति सहज र सरल व्यवहार गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष किसिमले मद्धत गर्दछ । र ध्यानले खासगरि भाव तथा आत्मिक अर्थात चेतनात्मक शरीरलाई स्वस्थ, सक्रिय र शुद्ध राख्न मद्धत गर्नुकासाथै यसले मनस शरीर र स्थुल शरीरका वाहिय तथा आन्तरीक अंगहरुलाई पनि स्वस्थ, सक्रिय, शुद्ध राख्न र आफू तथा अरुप्रति सहज र सरल व्यवहार गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष किसिमले मद्धत गर्दछ । स्वास्थ्य विज्ञान र ध्यान विज्ञानको अत्यन्तै गहिरो अन्तरसम्वन्ध रहदै आएको तथ्य र तथ्यांकहरु यस सन्दर्भमा विश्वव्यापि रुपमा गरिएका धेरै वैज्ञानिक अध्ययन, खोज तथा अनुसन्धानहरुले पनि प्रष्ट हुनेगरि देखाएकाछन् । मोक्ष प्राप्तिकालागि गरिने एकमात्र साधना पद्धति योग विज्ञानका प्रमुख तीन वैज्ञानिक विधिहरु योगासन, प्राणायाम, ध्यान र अन्य विधिहरु(यम, नियम, प्रत्याहार, धारणा, समाधि)को सैद्धान्तिक ज्ञान आर्जन गर्न तथा तीनको प्रयोगात्मक अभ्यास गर्न अनिवार्य रूपमा स्वस्थ, सक्रिय र शुद्ध स्थुल शरीरको आवश्यकता पर्दछ ।
सन्तुलित पोषणयुक्त आहार भन्नाले खानयोग्य खाद्य वस्तु तथा आहार भन्ने बुझ्नु पर्दछ । शरीरकालागि खानयोग्य खाद्य वस्तु तथा आहार ती हुन् जो विषादीरहित जैविक, जिएमओरहित शुद्ध, ताजा, स्थानीय क्षेत्रमै उत्पादन गरिएका, मौसमी र उत्पादन स्थलबाट सकेसम्म कम र प्राकृतिक प्रशोधन गरेर मानवीय प्रक्रिया मार्फत अर्थात ती खाद्य वस्तु तथा आहारहरुको प्राकृतिक पोषण तथा गुणहरु नष्ट नगरिकन सोझै हाम्रो भान्सासम्म आइपुग्दछन् । र असन्तुलित तथा कुपोषणयुक्त अर्थात पत्रु आहार भन्नाले खानअयोग्य अखाद्य वस्तु तथा आहार भन्ने बुझ्नु पर्दछ । शरीरकालागि खानअयोग्य अखाद्य वस्तु तथा आहार ती हुन् जो विषादीयुक्त अजैविक, जिएमओ गरिएका अशुद्ध, बासी, स्थानीय क्षेत्रमा नभइ अन्यत्रै अप्राकृतिक किसिमले उत्पादन गरिएका, बेमौसमी र उत्पादन स्थलबाट अमानवीय प्रक्रियाबाट अति प्रशोधन गरेर ती खाद्य वस्तु तथा आहारहरुको प्राकृतिक पोषण तथा गुणहरु नष्ट हुनेगरि अत्यन्तै बढि तापक्रममा राखेर, अखाद्य तथा विषादीयुुक्त मरमसला, रंग तथा रसायानहरु हालेर फ्याक्ट्रीमा उत्पादन तथा तयार गरिएका सबै प्रकारका प्याकेट बन्द तथा डिब्बा बन्द बस्तु तथा आहार हुन जो अनेक अप्राकृतिक प्रक्रियाहरु पार गरेर हाम्रो भान्सासम्म आइपुग्दछन् । खाद्य आहारले हाम्रो शरीरका सबै आयामहरुलाई उचित पोषण प्रदान गरेर स्वस्थ, सक्रिय र शुद्ध हुन मद्धत गर्दछन् भने अखाद्य आहारले हाम्रो शरीरलाई कुपोषित गरेर, हाम्रो शरीरमा भएका पोषणहरुको समेत दोहन गरेर शरीरका सबै आयाम तथा अंगलाई रोगी बनाउदछन् ।
(२)मनको विज्ञान
स्थुल शरीरकालागि आवश्यक पर्ने प्राकृतिक आहारबाट प्राप्त हुने पोषणयुक्त सन्तुलित आहार, विहार र व्यवहारको आवश्यकता परे जस्तै मनस शरीरलाई पनि स्वस्थ, सक्रिय र शुद्ध राख्नकालागि मनस शरीरसंग सम्वन्धित सन्तुलित आहार, विहार र व्यवहारको उत्तिकै आवश्यकता र महत्व रहेको हुन्छ । अध्यात्म दर्शनका अनुसार मनको प्रमुख आहार तथा पोषण प्रेम हो । प्रेमका अनेक आयामहरु छन्- सानालाई स्नेह, समकक्षीलाई मैत्री, जीवनसाथीलाई मायाँ, निमुखालाई दया तथा करुणा, ठूलालाई श्रद्धा, भगवानलाई भक्ति, परमात्मालाई परमभक्ति आदि । मनस शरीर पूर्णरुपमा स्वस्थ, सक्रिय र शुद्ध राख्न मनको विज्ञान बुझ्नु आवश्यक हुन्छ । मन यदि प्रेमपूर्ण अवस्थामा छ भने स्वतः स्वस्थ, सक्रिय, शुद्ध, सुखी, खुशी, शान्त र आनन्दित हुन्छ । सनातन अध्यात्म विज्ञान र आधूनिक मनोविज्ञानका अनुसार मनुष्यको मन स्थुल शरीर र सुक्ष्म शरीर(आत्मा अर्थात चेतना)लाई जोड्ने प्रमुख कडी हो । मनको प्रत्यक्ष सम्वन्ध भएको स्थुल शरीरको भौतिक अंग मस्तिष्क हो र सुक्ष्म शरीरको पराभौतिक अंग आत्मा हो । अध्यात्म विज्ञान र आधूनिक मनोविज्ञान (विशेषगरि सिग्मण्ड फ्रायड र उनका चेला कार्ल युंग)का अनुसार मनका प्रमुख तीन खण्ड रहेकाछन्– (१)चेतन मन(कन्सिवस माइन्ड), (२)अवचेतन मन(सवकन्सिवस माइन्ड), र (३)अचेतन मन(अनकन्सिवस माइन्ड) । मनको अझ गहिरो अध्ययन गर्दा अचेतन मनलाई पनि तीन खण्डहरुमा विभाजन गरिएको छ– (१)व्यक्तिगत अचेतन मन(इन्डिभिज्वल अनकन्सिवस माइन्ड), (२)सामुहिक अचेतन मन(कलेक्टीभ अनकन्सिवस माइन्ड), र (३)वैश्विक अचेतन मन(कस्मिक अनकन्सिवस माइन्ड) । पूर्वीय अध्यात्म विज्ञानका प्राचीन सनातन शास्त्रहरुमा मनुष्यको मनका अझ वढि खण्डहरु पत्ता लगाइएका छन र सबै खण्डहरु अझ विस्तृत रुपमा अध्ययन तथा वर्णन गरिएका छन् र आधूनिक मनोविज्ञानको प्रमुख आधारशिला तथा सन्दर्भ सामग्रीहरु पनि पूर्वीय अध्यात्म विज्ञानका अध्ययनहरु तथा शस्त्रहरु नै हुन् ।
मनुष्यको मस्तिष्कमा उत्पन्न हुने सोच तथा विचारहरुको समुह मन हो । मनमा सोच तथा विचार दुई प्रकारले उत्पन्न हुन्छन्– (१)स्थुल अंग मस्तिष्कमा पाँच ज्ञानइन्द्रिय र पाँच कर्मइन्द्रियहरुको माध्यमबाट सूचना प्रवाहित भएपछि त्यस सूचनासंग सम्वन्धित मस्तिष्कका इस्नायु प्रणालीहरुमा तरंग(फाइरिगं) पैदा हुन्छ, यीनै तरंगहरु नै सोच तथा विचार हुन्, र (२)मनुष्यको मनका तीन खण्डहरुमध्य अवचेतन र अचेतन मनमा संचित रहेका नयाँ, पुराना तथा जन्म–जन्मका सकारात्मक तथा नकारात्मक स्मृतिहरुबाट उठ्ने सोच तथा विचारहरु र चेतन मनमा उठ्ने भविश्यका कल्पना तथा योजनाहरुको माध्यमबाट सोच तथा विचारहरु उत्पन्न हुन्छन् । इन्द्रियहरु खासगरी ज्ञान इन्द्रियहरु- आँखा, कान, छाला, नाक, जिब्रोको माध्यमबाट मस्तिष्कमा उठ्ने विचारहरु नै मनका आहारहरु हुन् जसलाई पूर्वीय अध्यात्म दर्शनले प्रत्याहार भन्दछ । मनको आहार अर्थात प्रत्यहारको सन्तुलित व्यवस्थापनकालागि अपनाइने विधि तथा उपायहरु मनको व्यायाम हो र यसै अनुसार अरुप्रति गरिने सोच, विचार र गतिविधिहरु व्यवहार हुन् । इन्द्रियहरू र विगतका स्मृतिहरुबाट मनस शरीरको स्वस्थ्य, सक्रियता र शुद्धतामा पोषण प्रदान गर्ने प्रकारका सकारात्मक(खाद्य आहार) सोच तथा विचारहरु आउन दिने कि कुपोषण प्रदान गर्ने प्रकारका नकारात्मक(अखाद्य आहार) सोच तथा विचारहरु आउन दिने अर्थात प्रत्याहारको रूपमा कस्ता विषय तथा सूचनाहरु मनमा ग्रहण गर्ने भन्ने सन्दर्भमा निर्णय गर्न हरेक मनुष्य स्वतन्त्र हुन्छ । साथै मनका भोग, रोग तथा अन्य विकारहरुको सही व्यवस्थापन गर्न कस्ता प्रकारका व्यायाम तथा योग साधनाका विधि तथा पद्धतिहरु अनुशरण गर्ने वा नगर्ने भन्ने सन्दर्भमा निर्णय गर्न पनि हरेक मनुष्य स्वतन्त्र हुन्छ । मोक्ष प्राप्तिकालागि गरिने एकमात्र योग विज्ञानको साधनाका प्रमुख तीन विधि तथा पद्धतिहरु योगासन, प्राणायाम, ध्यान र अन्य विधिहरु(यम, नियम, प्रत्याहार, धारणा, समाधि)को सैद्धान्तिक ज्ञान आर्जन गर्न तथा प्रयोगात्मक अभ्यास गर्न स्वस्थ, सक्रिय र शुद्ध मनस शरीरको आवश्यकता पर्दछ । जसको माध्यमबाट मनका सुक्ष्म तहहरु (अन्तःकरण– मन, वुद्धि, अहंकार, चित्त)मा भरिएको माया अर्थात भ्रमको जालो तोडेर, म, मैले, मेरो, मलाई भन्ने एकांकी तथा स्वार्थी भावबाट अल हुदै मनुष्य योग साधनाको माध्यमबाट मोक्षको यात्रामा अगाडि बढ्न सक्षम हुन्छ ।
(३)भावनाको विज्ञान
स्थुल शरीर तथा मनस शरीरलाई स्वस्थ, सक्रिय र शुद्ध राख्न सन्तुलित आहार, विहार र व्यवहारको आवश्यकता भए जस्तै भावनात्मक शरीरलाई स्वस्थ, सक्रिय र शुद्ध राख्न पनि सन्तुलित आहार, विहार र व्यवहारको आवश्यकता पर्दछ । मनुष्यका चारवटै शरीरलाई पूर्णतः स्वस्थ, सक्रिय र शुद्ध बनाएर मोक्षको यात्रामा आफूलाई लगाउन अध्यात्म विज्ञानको साधना अति आवश्यक हुन्छ । योग विज्ञान सनातन अध्यात्म दर्शनको महत्वपूर्ण र प्रभावकारी अंग हो । निष्ठापूर्वक योग विज्ञानको साधना गरेर मात्र परमात्मामा योगस्त हुन सम्भव हुन्छ । भावनात्मक शरीरका पोषणयुक्त आहारहरु तीन ‘स’– (१)साधना, (२)सतसंग, र (३)सेवा तथा दान हुन् ।
साधना
आफूलाई मोक्षको मार्गमा लगाउन योग विज्ञानको सैद्धान्तिक तथा व्यवहारिक साधना निष्ठापूर्वक गर्नु आवश्यक हुन्छ । भावनात्मक शरीरको मुख्य आहार तथा पोषण तीन 'स' मध्य एक 'स' साधना अर्थात योग साधना हो । योग साधनाकालागि सक्षम हुन स्थुल, मनस र भावनात्मक तीनवटै शरीर स्वस्थ, सक्रिय र शुद्ध हुनु अनिवार्य हुन्छ । यी शरीरहरुलाई सहज ढंगले साधना गर्न सक्ने प्रकारले तयार गर्न योग साधनाका प्रमुख अंग योगासन र प्राणायामका वैज्ञानिक विधिहरुलाई नियमित रुपमा व्यवहारिक तथा प्रयोगात्मक अभ्यास गर्नु पर्दछ । यसकासाथै योग विज्ञानका अन्य अंगहरु(यम, नियम, प्रत्यहार, धारणा)को ज्ञान आर्जन, निष्ठापूर्वक अभ्यास र अनुशरणको आवश्यकता पर्दछ । योग साधनामा अभ्यस्त भएपछि साधको भाव स्वतः स्वस्थ, सक्रिय र शुद्ध हुन्छ । मोक्षको मार्गमा आफूलाई सहजता प्रदान गर्न योग विज्ञानको साधना दुई प्रकारले गर्नुपर्दछ– (१)योग दर्शनको रुपमा, र (२)योग अभ्यासको रुपमा । योग दर्शनले साधकलाई जीवन दर्शन तथा जीवनको विज्ञान र साथसाथै आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञानको विषयमा ज्ञान प्रदान गर्दै अन्तिम सत्य तथा ब्रम्हको खोजी गर्न जोश, जाँगर र मार्गदर्शन प्रदान गर्दछ भने योग अभ्यासले स्वास्थ्यका चारबटै आयाम तथा शरीरहरु स्वस्थ, सक्रिय र शुद्ध राख्न मद्धत गर्दछ ।
सतसंग
अध्यात्म साधना तथा योग साधना गर्ने सात्विक व्यक्तिहरु– ज्ञानी, सन्त, महात्मा, योगी, ब्रम्हाण्डको अन्तिम सत्य तथा परब्रम्हको ज्ञात भएका तथा परमात्मा साक्षातकार गरेका प्राज्ञ पुरुष(वुद्धत्व प्राप्त आत्मा अर्थात चेतना) तथा सदगुरुहरुको संगत गर्नु सतसंग हो । सतसंगले मनुष्यको भावलाई स्वस्थ, सक्रिय र शुद्ध राख्नुकासाथै उसलाई सत्यको मार्ग अर्थात मोक्षको मार्गमा लाग्न सकारात्मक उर्जा, बल तथा मार्गदर्शन प्रदान गर्दछ ।
सेवा तथा दान
मनुष्यको भाव शुद्धीकालागि निश्वार्थ सेवा तथा दान अत्यन्तै महत्वपूर्ण माध्यम हो । स्वार्थवस, कर्ताभाव तथा फल प्राप्त गर्ने आशयले गरिएको सेवा तथा दान लेनदेन तथा व्यापार हो, यसले मनुष्यको भाव शुद्धीमा खासै प्रभाव पार्दैन । निस्वार्थ, अकर्ता तथा निस्काम भावले गरिएको सेवा तथा दान नै वास्तविक दान तथा महादान हो । वास्तविक दान तथा महादानले मनुष्यलाई सत्यको मार्ग अर्थात मोक्षको मार्गमा लाग्न सकारात्मक उर्जा तथा बल प्रदान गर्दछ । महादानबाट प्राप्त हुने उर्जाले मनुष्यको भावको शुद्धीकरण गरि उसलाई कहिल्यै क्षय नहुने सुखा, खुशी, शान्ति तथा आनन्द प्रदान गर्दछ । वैदिक सनातन दर्शनमा विविध प्रकारका महादानहरुको उल्लेख गरिएको छ– ज्ञान दान, धर्म दान, क्षमा दान, श्रम दान, द्रब्य दान आदि ।
(४)आत्मा अर्थात चेतनाको विज्ञान
वास्तविक 'म'आत्मा हुँ र म परमात्माको अभिन्नअंश हुँ । स्थुल शरीर, मनस शरीर र भावनात्मक शरीरलाई स्वस्थ, सक्रिय र शुद्ध रहन सन्तुलित आहार, विहार र व्यवहारको आवश्यकता भए जस्तै आत्मिक अर्थात चेतनात्मक शरीरलाई स्वस्थ, सक्रिय र शुद्ध राख्न पनि सन्तुलित आहार, विहार र व्यवहारको आवश्यकता पर्दछ । आत्मिक अर्थात चेतनात्मक शरीरको प्रमुख आहार तथा पोषण ध्यान हो । अध्यात्म तथा योग साधनाका सबै सैद्धान्तिक ज्ञान तथा व्यवहारिक विधि तथा पद्धतिहरुको आत्यन्तिक लक्ष्य ज्ञान तथा कर्म इन्द्रिमहरुको माध्यमबाट विभिन्न प्रकारले आफू वाहिरको भौतिक संसारको भोगको लालसामा छरिएको मनुष्यको मनलाई एकाग्र बनाएर ध्यानस्त गराउनु हो किनकी योग साधनाका विषयलाई जता जता जसरी जसरी घुमाइएको भएपनि यसको अन्तिम गन्तव्य ध्यान साधना हो । ध्यान आफूतिर फर्किने कलाको विज्ञान हो । जुन मनुष्य योग साधनाका विभिन्न विधि तथा पद्धतिहरु अशुरण गरेर आफूतिर फर्कन सक्षम भएको छ र आत्मज्ञान हासिल गरेको छ ऊ नै वास्तविक मोज्ञको अधिकारी हो । यसप्रकारले यी चार प्रकारका शरीरहरुको माध्यमबाट मनुष्यले योगलाई दर्शनको रुपमा र व्यवहारीक अभ्यासको रुपमा दुवै प्रकारले योग विज्ञानको निष्ठापूर्वक साधना गरेर स्थुल, मनस, भाव र आत्मिक अर्थात चेतनात्मक शरीरलाई स्वस्थ, सक्रिय र शुद्ध राख्न सक्दछ र यसपश्चात मात्र अध्यात्म साधनामा अघि बढ्न सक्दछ र मोक्ष प्राप्ति गर्न तथा जन्म-मृत्युको दुःखदायी चक्रबाट मुक्त भएर सदाकालागि परमात्मामा योगस्त हुन सक्दछ । bsirjana@gmail.com
No comments:
Post a Comment