डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन
विषय प्रवेश
मनुष्यको शरीर विभिन्न बाह्य तथा आन्तरिक अंगहरुको सम्योजनबाट निर्मित भएको छ । मोटामोटी रुपमा मनुष्यका दुईवटा शरीर छन्- (१)स्थुल शरीर, र (२)सुक्ष्म शरीर । मनुष्यको सुक्ष्म शरीरको मेरुदण्डमा सुसुप्त अवस्थामा उर्जाका मूलशक्ति केन्द्र प्रमुख सात चक्रहरु स्थित रहेका छन् । सुक्ष्म शरीरको मेरुदण्डको पुछारमा मुलाधार चक्र रहेको छ । मूलाधार चक्रको आधार रंग रातो हुन्छ, यसको विज मन्त्र 'लं' हो । मूलाधार चक्र मनुष्यको स्थुल शरीरका हरप्रकारका गतिविधिहरुसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ ।
मनुष्यका सुक्ष्म शरिरका सात चक्र र सात शरीर
मनुष्यको सुक्ष्म शरीरमा उर्जाका मूलशक्ति केन्द्र प्रमुख सात चक्रहरु रहेका छन् र यीनै चक्रहरुको आधारमा मनुष्यको शरीरलाई सात प्रकारमा विभाजन गरिएको छ-
(१) स्थुल शरीर (फिजिकल बडी) - मूलाधार चक्र
(२) सूक्ष्म शरीर (इथरीक बडी) - स्वादिष्ठान चक्र
(३) कारण शरीर (एस्ट्रल बडी) - मणिपुर चक्र
(४) मनस शरीर (मेन्टल बडी) - अनाहद चक्र
(५) आत्मिक शरीर (स्प्रिचुअल बडी) - विशुद्धि चक्र
(६) देव शरीर (कस्मिक बडी) - आज्ञा चक्र
(७) ब्रह्म शरीर (वाडिनेस बडी) - सहस्रार चक्र
पूर्वीय अध्यात्म दर्शनका शास्त्रहरुमा उल्लेख गरिए अनुसार, मनुष्यको सूक्ष्म शरीरमा रहेका ऊर्जाका मूलशक्ति केन्द्र प्रमुख सात चक्रहरुले मनुष्यका सात शरीरलाई दर्शाउँछन् तर आधुनिक विज्ञानले यस विषय उपर पूर्ण रुपमा विश्वास गर्दैन किनकि आधुनिक विज्ञानले प्रमाण खोज्दछ तर मनुष्यको सूक्ष्म शरीरमा रहेका यी चक्रहरु आधुनिक विज्ञानका कुनै पनि अत्याधुनिक उपकरणहरूको पकडमा तथा दृश्यमा आउँदैनन् वावजुद यी सात चक्र र सात शरीरहरु अस्तित्वमा छन् । जसरी खुर्सानीको मूलगुण पिरो हो तर खुर्सानीको शरीर तथा त्यसको रंग, आकार-प्रकार मात्रै नजर आउँछ, पिरो नजर आउँदैन । ज्ञानइन्द्रियहरुको अनुभवमा नआउने खुर्सानीको मूलगुण पिरोलाई जान्न हामीले त्यसको प्रयोग गरेर मात्र अनुभव गर्न सक्छौं पिरोको वास्तविक गुण तथा स्वाद कस्तो हुदोरहेछ भनेर थाहा पाउन । त्यस्तै कागती, उखु तथा अन्य वस्तुहरुको वास्तविक मूलगुण पनि ती वस्तुलाई प्रत्यक्ष प्रयोग गरेर मात्र अनुभव गर्न सकिन्छ । मनुष्यको शरीरमा रहेका सात चक्रहरुको पनि आफ्नै प्रकारका गुण, रंग तथा आकार-प्रकार रहेका हुन्छन् । चक्रहरुको गुण, रंग तथा आकार-प्रकार अनुभव गर्नकोलागि हामीले हाम्रो शरीरलाई नै प्रयोगशाला बनाएर प्रत्यक्ष प्रयोगमै जानुपर्छ, त्यसकालागि पूर्ण योग साधना(योगासन, प्राणायाम, ध्यान) गर्नुपर्छ तब मात्रै चक्रका गुण, रंग तथा आकार-प्रकारहरु अनुभूतिमा तथा दिव्य चक्षु(आज्ञा चक्र)को दृश्यमा आउँछन् । त्यसैले सात चक्र अनुसारका सात शरीरहरूको सन्दर्भमा विश्वास तथा एकिन योग साधनाको बलले प्राप्त भएको हामी स्वयंमा आउने स्वअनुभूतिमा निर्भर गर्दछ । निष्ठापूर्वक नियमित रुपमा योग साधना गर्ने योग साधकले मात्र यी चक्रका गुण, रंग तथा आकार-प्रकारहरु र चक्र अनुसारका सात शरीरहरु देख्न तथा अनुभूति गर्न सक्छ । जब योग साधक आफैंलाई अनुभव हुन्छ मनुष्यको सूक्ष्म शरीरमा सात प्रकारका चक्र, सात प्रकारका शरीर तथा सात प्रकारका स्वास्थ्यहरू पनि छन् भनेर तवमात्र उ चक्रहरुको उपस्थित र मनुष्य जीवनमा तीनको महत्व तथा प्रभावलाई विश्वास गर्न थाल्छ र अरुलाई पनि यसबारे सिकाउन तथा ज्ञान बाँड्न थाल्छ ।
शरीर र मूलाधार चक्रको अन्तरसम्वन्ध
मनुष्यको स्थुल शरीरको प्रत्यक्ष सम्बन्ध उसको सुक्ष्म तथा स्थुल शरीरको मेरुदण्डको सबैभन्दा तल पुछार(टेलबोन)मा रहेको मुलाधार चक्रसँग सम्बन्धित छ । मूलाधार चक्र मनुष्यको भौतिक शरीरको केन्द्र हो । मूलाधार चक्रका दुईवटा सम्भावना रहेका छन्- (१)प्राकृतिक सम्भावना, यो गुण हरेक मनुष्यलाई उसको जन्मसंगै वंशानुगत गुण(जेनेटिक प्रोपर्टी)का रुपमा मिल्दछ। (२)साधनाको सम्भावना, यो गुण मनुष्यले आध्यात्मिक साधना अर्थात योग साधनाबाट प्राप्त गर्न सक्दछ । दैनिक रुपमा निष्ठापूर्वक योग विज्ञानका वैज्ञानिक विधि तथा पद्धतिहरूको अनुशरण गर्ने साधकलाई मात्र साधनाबाट हासिल गर्न सकिने उपलव्धिहरु मिल्दछन् । साधना नगर्ने आम मनुष्यलाई साधनाको गहिराईमा अनुभूतिमा आउने दिव्य दृश्य, पल, विषय तथा घटनाहरू अनुभूतिमा आउदैनन् । मनुष्यभित्र अन्तःकरण (शरीर, मन, भाव, वुद्धि, अहंकार)मा उठ्ने इच्छा, कामना, वासनाहरु भौतिक शरीरका प्रमुख प्राकृतिक गुणहरु हुन् । यसप्रकारका प्राकृतिक गुणहरुको अनुभवबाट हरेक मनुष्य गुज्रिएका हुन्छन् तथा गुज्रिनुनै पर्दछ किनकी यो प्राकृतिको अकाट् नियम हो । मनुष्य शरीरका अकाट्य प्राकृतिक गुणहरुबाट गुज्रिने क्रममा कोही मनुष्यमा भौतिक संसारका वस्तु तथा सेवाहरुको सुख भोगप्रति अति इच्छा, कामना, वासना, लिप्तता तथा भोगको असन्तुलित तथा अव्यवस्थित अवस्था देखिन्छ, कोहीमा ठिक्क तथा मध्यम स्तरमा भोगवृत्तिका इच्छा, कामना, बासना देखिन्छ भने कोहीमा सन्तुलित तथा न्यून देखिन्छ । भौतिक संसारका वस्तु तथा सेवाहरुको सुख भोगप्रतिको इच्छा, कामना, वासना मनुष्यको वर्तमान जन्मको संस्कार र पूर्वजन्मका संचित संस्कारमा निर्भर गर्दछ ।
मनुष्यका पूर्वजन्मका संस्कार र स्मृति
संचित संस्कार मनुष्यले पूर्वजन्महरुमा शरीर, मन, भाव, बुद्धि, विवेक, ज्ञान, अहंकारका माध्यमबाट गरेका अनुभव तथा अनुभूतिहरु र वर्तमान जन्ममा परिवार, साथी, संगत, समाज, राज्य आदिबाट प्रकट भएका व्यवहारहरुलाई उसको मन, वचन, भाव, क्रियाले गरेका प्रतिकर्महरु को समुह हो । यस्ता अनुभव तथा अनुभूतिहरु मनुष्यको शरीर, मन, भाव हुँदै आत्माले ग्रहण गर्दछ र आत्मा अर्थात् चेतनामा गहिरोसंग गडेर स्मृतिको रुपमा संचित भएर बस्दछन् । यसरी मनुष्यको आत्मा अर्थात चेतनामा संचित भएर बसेका जन्म-जन्मका स्मृतिहरु प्रमुख सात चक्रहरूमा संस्कार बनेर रहेका हुन्छन् र जीवन जिउने क्रममा यीनै संस्कारहरू मनुष्यका विभिन्न पूनरजन्महरूमा प्रारब्ध कर्मका रुपमा प्रकट हुन्छन् । प्रकट भएका राम्रा तथा सकारात्मक प्रारब्ध कर्महरुलाई हामी भाग्य मान्दछौं र नराम्रा तथा नकारात्मक प्रकारका प्रारब्ध कर्महरुलाई हामी दुर्भाग्यका रुपमा मान्दछौं । यी स्मृतिहरु अवचेतन मन(दाहिने मस्तिष्क) तथा अचेतन मन(मध्य मस्तिष्क)को माध्यमबाट मनुष्यको स्मरणमा आउने गर्दछन् । अवचेतन मन(दाहिने मस्तिष्क) सक्रिय रहेका मनुष्यहरूमा पूर्वजन्मका स्मृतिहरु सहजै स्मरणमा आउने घटनाहरू तथ्यगत रुपमा विभिन्न खोजमूलक अनुसन्धानका तथ्याङ्कहरुले देखाएका छन् । सामान्यतया अधिकांश मनुष्यहरुको चेतन मन(देब्रे मस्तिष्क) सक्रिय हुन्छ । चेतन मन(देब्रे मस्तिष्क) सक्रिय भएका मनुष्यहरुलाई सितिमिति पूर्वजन्मको स्मृतिहरू स्मरणमा आउदैनन् तर योग साधना गरेर साधनाको एक निश्चित गहिराइ तथा एक तह अर्थात निश्चित अवस्थामा पुगेपछि उसलाई पनि पूर्वजन्मका स्मृतिहरु स्मरणमा आउन थाल्छन् ।
स्थुल शरीरका प्राकृतिक गुणहरुको व्यावस्थापनमा योग साधनाको भूमिका
स्थूल शरीरका प्राकृतिक इच्छा, कामना, वासनाहरूलाई मनुष्यले पूर्ण योग साधनाको माध्यमबाट सन्तुलित गर्न, व्यवस्थित गर्न तथा नियन्त्रण गर्न सक्छ र मनुष्यको भौतिक शरीर तथा मूलाधार चक्रको दोस्रो साधनाको सम्भावना हासिल गर्न तथा प्राप्त गर्न सक्छ । जुन मनुष्यले शरीरका प्राकृतिक आवश्यकताहरु भौतिक संसारका वस्तु तथा सेवाहरुको भोगप्रतिको इच्छा, कामना, वासनालाई सन्तुलित, व्यवस्थित तथा नियन्त्रित अवस्थामा राख्न सक्छ र आफूले चाहे अनुसार तिनको प्रयोग तथा उपयोग गर्नसक्छ उ नै स्थितप्रज्ञ अध्यात्म साधक तथा योग साधक हो र यही नै वास्तविक ब्रह्मचर्य(ब्रम्हको जस्तो सात्विकआचरण भएको) जीवनयापन तथा अवस्था हो । स्थितप्रज्ञ अध्यात्म साधकमा बिस्तारै मोक्ष हासिल गर्ने पात्रता बढ्दै जान्छ र साधनाको गहिराईमा उसले क्रमश: आत्मज्ञान, तत्वज्ञान, ब्रह्मज्ञान हासिल गर्दछ र जन्म-मृत्युको दु:खदायी चक्रबाट मुक्त भएर आफ्नो मूलस्वरूप परमात्मामा सदाका लागि योगस्थ हुन्छ तथा मोक्ष अर्थात् निर्वाण प्राप्त गर्छ । योग साधनाबाट प्राप्त गर्न सकिने मनुष्यको भौतिक शरीर र मूलाधार चक्रको उच्चतम सम्भावना यही नै हो ।
ब्रम्हचर्यलाई वर्तमान समयमा अलि फरक प्रकारले बुझ्ने तथा परिभाषा गर्ने गरिएको पाइन्छ । खासगरी यौन जीवनबाट अलग रहनु, विवाह नगर्नु तथा सन्तान उत्पादन नगर्नु भन्ने अर्थमा बुझ्ने र बुझाउने गरिएको देखिदै आइएको छ तर ब्रम्हचर्यको वास्तविक अर्थ तथा परिभाषा यसप्रकारको बुझाई होइन । ब्रम्हचर्यका सहज अर्थ तथा परिभाषा मनुष्य आफ्नो भौतिक शरीरका हरप्रकारका प्राकृतिक आवश्यकता, इच्छा, कामना, वासनाहरूमा लिप्त अर्थात् भोगी नहुनु हो । मनुष्यले आफ्ना आवश्यकता, इच्छा, कामना, वासनाहरुलाई सन्तुलनमा राख्न सक्नु तथा आवश्यकताका लागि मात्र प्रयोग तथा उपयोगमा ल्याउन सक्नु ब्रह्मचर्यको वास्तविक अर्थ तथा परिभाषा हो र यही नै ब्रह्मचर्य अनुशरण गरिएको जीवनशैली हो । ब्रह्मचर्यको पालना गर्दा जीवनमा भौतिक संसारका वस्तु तथा सेवाहरुका सुख, सुविधाहरुप्रति अति इच्छा, कामना, वासना राखेर त्यसप्रति लिप्त हुन बर्जित मानिन्छ । कुनैपनि वस्तु, सेवाहरुको भोग तथा कामप्रति अति इच्छा, अति कामना, अति वासना तथा अति लिप्तता देखाउनु ब्रम्हचर्य जीवन तथा योग जीवनको विपरीत अवस्था हो । कुनैपनि वस्तु, सेवाहरुको भोग तथा कामप्रति अति इच्छा, अति कामना, अति वासनाले मनुष्यलाई भोगतिर लान्छ र अति भोगले रोगमा लान्छ । भोग र रोगमा डुबेको तथा लिप्त भएको मनुष्यको जीवन नर्क समान हुन्छ, यस्तै देखिदै आएकोछ वर्तमानको उपभोक्तामुखी बद्लिदो समाजमा । भोगमा आसक्त भइसकेको मनुष्य सहजै सामान्य जीवन तथा सहज अवस्थामा फर्कन सक्दैन र उसको जीवनमा बिभिन्न प्रकारका दुःख तथा चुनौतीहरु आइपर्छन । भोग र रोगमा डुबेको मनुष्यको असन्तुलित तथा अस्तव्यस्त जीवनशैलीलाई पूर्ण योग साधनाले विस्तारै सामान्य अवस्थामा ल्याउँछ र सन्तुलित तथा व्यवस्थित बनाएर योग जीवनमा परिणत गर्न सक्छ । योग विज्ञानका वैज्ञानिकतामा आधारित विधि तथा पद्धतिहरूलाई निष्ठापूर्वक नियमित रुपमा दैनिक जीवनमा अनुसरण गरेर मूलाधार चक्रलाई सन्तुलन तथा जाग्रीत गर्न सकिन्छ । योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरु मनुष्यको सुक्ष्म शरिरमा सुसुप्त अवस्थामा रहेका उर्जाका मूलशक्ति केन्द्र प्रमुख सात चक्र जागरण गरेर मनुष्यको वाहिय जीवन सहज गर्न र आन्तरीक जीवनको विकास गर्नकैलागि हाम्रा पूर्खा तथा प्राचीन वैज्ञानिक ऋषिमूनिहरुद्वारा प्रतिपादित गरिएका हुन् । योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुले विस्तारै एकपछि अर्को गर्दै क्रमैसंग सबै चक्रहरु सन्तुलन तथा जाग्रीत गर्न मद्धत गर्दछन् ।
नियमित पूर्ण योग साधना गरेर मुलाधार चक्र जागृत भएको साधकको समग्र स्वास्थ्य अर्थात शरीरको माध्यमबाट मन, भाव, चेतनामा पर्ने नकारात्मक प्रभाव; त्यसैगरि चेतना, भाव, मनको माध्यमबाट शरीरमा पर्ने(साइकोसोमाटिक) नकारात्मक प्रभावहरु स्वतः कम हुदै जान्छन् र विस्तारै सकारात्मकतामा परिणत हुन्छन् । यसकारण हरेक मनुष्यले आफ्नो दैनिक जीवनशैलीमा पूर्ण योग साधनाका विधि तथा पद्धतिहरु अनुशरण गर्नु अत्यन्तै आवश्यक हुन्छ । योग साधना नगर्ने मनुष्यको पुरै जीवन भोग विलासमै बित्छ, मूलाधार भन्दा माथिका चक्रहरुमा उसको जीवन ऊर्जा पुग्नै सक्दैन अथवा पुग्नै पाउँदैन र मूलाधार चक्रमा रहेको उर्जा पनि असन्तुलित, अव्यवस्थित तथा अजागृत भएको कारण मूलाधार चक्रका सकारात्मक लाभहरु उसले लिन सक्दैन । भोग र रोग नै उसको जीवन शैली तथा जीवन कहानी बन्दछ र भोग र रोगमै डुबेर उसको जीवन समाप्त हुन्छ । योग साधना नगर्ने मनुष्यको सबै चक्रहरु असन्तुलित तथा अव्यवस्थित हुने हुनाले विशेषगरिकन प्रथम चरणमा उसलाई मूलाधार चक्रसंग सम्वन्धित शरीरिक अंगमा लाग्ने रोगहरु लाग्छन् र विस्तारै अन्य चक्रहरुसंग सम्वन्धित रोगहरु पनि उसको मन, भाव, चेतनामा देखिदै जान्छन् र मनुष्य भएर जन्मिनुको मूल लक्ष्यको अनुभूति समेत नगरीकन उ मरेर जान्छ । यस्तो जीवन र मरणलाई पूर्वीय अध्यात्म दर्शनले पशुवत जीवनका रूपमा परिभाषित गरेको छ किनकि यस्तो जीवन जिएको मनुष्यको भित्रि मन, भाव, वुद्धि, विवेक, ज्ञानको विकास हुनै पाउँदैन र नर्क समान अवस्थामै उसको फेरी अर्को जीवन अर्थात पूनरजन्मको यात्राको शुरुआत हुन्छ । यसरी जो बारबार भोगको जीवनमा लिप्त भएर जीवन जीउँछ, योग साधना गर्दैन उसको जीवन फेरि-फेरि पनि यसैगरी सकिन्छ । उ जतिवटा पूनरजन्म लिएर आए पनि योग साधना नगर्दा उसको हरेक जन्म यसैगरी नोक्सान भएर सकिन्छ तथा पूर्णतः खेर जान्छ। bsirjana@gmail.com
No comments:
Post a Comment