डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन
विषय प्रवेश
संस्कृत शव्द योगको शाव्दिक अर्थ जोड्नु हो । अद्वेत परमात्मा अर्थात पुरुषोत्तमबाट अलग भएपछि मनुष्य जिवात्माको रुपमा पुरुष र प्रकृतिको द्वेत अवस्थामा आइपुग्यो र उसले विस्तारै आफ्नो मूलस्वरुप परमात्मा अर्थात पुरुषोत्तमलाई बिर्सेर प्रकृति अर्थात भौतिक संसारको भोगमा आशक्त हुनथाल्यो । यही आशक्तिकाकारण जीवन जिउने क्रममा आफैंले बनाएका सकारात्मक तथा नकारात्मक कर्मबन्धनहरु भोग्न बारबार जन्म लिने र मर्ने चक्रमा घुम्दै अनेक प्रकारका दुःखहरु भोग्न बाध्य भयो । मनुष्यहरुलाई यसप्रकारको जन्म–मृत्युको दुःखदायि चक्रबाट पार लगाउन र आफ्नो मूलस्वरुप परमात्मामा पुनः योग गराउन हाम्रा पुर्खा तथा प्राचीन वैज्ञानिक ऋषिमूनिहरुले ध्यानको गहिराइमा गएर परमात्मा अर्थात परब्रम्ह र ब्रम्हाण्डको अन्तिम सत्यसम्म पुगेर यो समस्याको समाधन गर्न विभिन्न उपाय, विधि तथा पद्धतिहरु पहिल्याए र विभिन्न प्रकारले शास्त्र तथा ग्रन्थहरुमा प्राप्त ज्ञानलाई लिपिवद्ध गरेर सार्वजनिक गरिदिए सबै मनुष्यहरुको भलाइ होस भन्ने भावले ।
मनुष्य अर्थात जिवात्माको आत्मालाई आफ्नो मूलस्वरुप परमात्मा पुनः योगस्त गराउन प्रतिपादिन गरिएका यी विधि तथा पद्धतिहरुलाई योग भनियो र यी विधिहरुको सैद्धान्तिक तथा व्यवहारिक अभ्यासलाई योग साधना भनियो । पुनः परमात्मामा योगस्त हुन तथा जन्म–मृत्युको दुःखदायि चक्रबाट मुक्त भएर मोक्ष हासिल गर्नकालागि योगलाई दूई प्रकारले जीवनमा निष्ठापूर्वक अनुशरण गर्नपर्ने हुन्छ– (१)योगको सैद्धान्तिक अनुशरण योग दर्शनको रुपमा, र (२)योगको व्यवहारिक तथा प्रयोगात्मक अनुशरण योग अभ्यासको रुपमा । योग दर्शनले परमात्माको महिमा, आत्मज्ञान, तत्वज्ञान, जीवन दर्शन तथा जीवनको ज्ञान, विज्ञानको बारेमा जानकारी प्रदान गर्दछ भने योग अभ्यासले योगका प्रमुख तीन अंग तथा विधिहरु योगासन, प्राणायाम र ध्यान साधनाको माध्यमवाट मनुष्यको शरीर तथा स्वास्थ्यका सबै आयामहरु स्वस्थ, सक्रिय र शुद्ध राख्न मद्दत गर्दछ । दुवै प्रकारले योगको अनुशरण तथा अभ्यास गर्नु पूर्ण योग साधना हो । सही ढंगले निष्ठापूर्वक पुर्ण योग साधनाको अनुशरण गर्यौं भने हरेक मनुष्यले सांसाररिक मोक्ष हुदै पारमार्थिक मोक्ष अर्थात निर्वाण हासिल गरेर पुनः आफ्नो मूलस्वरुप परमात्मामा एकाकार तथा योगस्त हुनसक्दछ ।
योग साधना र शरीरका आयामहरु
योग साधना र मनुष्यको शरीरको विज्ञानविच गहिरो अन्तरसम्वन्ध रहेको हुन्छ । मनुष्यका शरीरका चार आयामहरु छन्– (१)स्थुल शरीर, (२)मनस शरीर, (३)भाव शरीर, र (४)चेतन अर्थात आत्मिक शरीर । पुर्ण योग साधनाले शरीरका यीनै चार आयामहरुलाई स्वस्थ, सक्रिय र शुद्ध बनाउँदछ र मनुष्यलाई सांसारीक र पारमार्थिक मोक्ष हासिल गर्न सक्षम बनाउँछ । भनिन्छ हरेक विषय तथा प्रसंगमा मनुष्यको मन नै सबैथोक हो, मनभित्रै सबैथोक छ, वाहिर केही पनि छैन, वाहिर देखिने तथा हुने सबै प्रकारका घटना तथा परिघटनाहरु मनुष्यको मनकै प्रतिउत्पादन तथा प्रतिछायाँ हो र यो भनाई सत्य हो किनकी स्थुल शरीर मनुष्यको अव्यक्त चेतन, भाव र मनस शरीरको व्यक्त रुप तथा फैलावट तथा प्रतिविम्व हो । अध्यात्म विज्ञानले स्थुल शरीर, मनस शरीर, भाव शरीर र चेतन शरीरलाई अलग-अलग प्रकारले व्याख्या गरेको भएपनि आधूनिक मनोविज्ञानले मोटामोटी रुपमा मनुष्य शरीरलाई दुइ प्रकारका शरीर- (१)स्थुल तथा भौतिक शरीर र (२) मनस तथा मानसिक शरीरका रुपमा व्याख्या गरेको छ र अदृश्य तथा सांकेतिक रुपमा भाव र चेतन अर्थात आत्मिक शरीरलाई मनस अर्थात मानसिक शरीरसंगै समाहित गरेर व्याख्या गर्ने प्रयास गर्दै आएको छ । तसर्थ यस लेखमा शरीरका दुई प्रकार– शारीरिक शरीर र मानसिक शरीरबारे बुझ्ने तथा बुझाउने प्रयास गरिएको छ ।
स्थुल शरीरको विज्ञान
स्थुल शरीर र मानसिक शरीरविच गहिरो अन्तरसम्वन्ध रहेको हुन्छ र कुनै एक शरीरमा आएको प्रभावले अर्को शरीरमा ढिलोचाँढो प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाव पार्दछ । यसको वावजुद पनि स्थुल शरीर मानसिक शरीरकै फैलावट तथा छायाँ हो किनकी अध्यात्म विज्ञान र भौतिक विज्ञान दुवैको परिभाषामा स्थुल शरीर जड तत्व तथा भौतिक यन्त्र हो जसको माध्यमबाट वास्तविक ‘म’ अर्थात आत्मा(सोल) अभिव्यक्त भएको छु र जुन दिन ‘म’लाई स्थुल शरीरको भोग गर्न पुग्छ त्यसदिन ‘म’ यो शरीरलाई छोडेर आफ्नो अगाडिको यात्रातिर अघि बढ्छु तसर्थ स्थुल शरीर जड तत्व तथा भौतिक यन्त्र हो । वास्तविक ‘म’ तथा ‘मेरो’ जीवन सहज गर्न, भौतिक संसारमा व्यक्त भएर यो संसारको भोग गर्न ‘मैले’ स्थुल शरीरको सहयोग लिएको हुनाले ‘म’ यो स्थुल शरीरमा रहुन्जेल ‘मैले’ यो शरीरलाई स्वस्थ, सक्रिय र शुद्ध राख्नु अनिवार्य हुन्छ किनकी यसैको माध्यमबाट पूर्ण योग साधना गरेर ‘म’ ‘मेरो’ जन्मको आत्यन्तिक लक्ष्य मोक्षको प्राप्ति गर्न सक्छु । स्थुल शरीरलाई स्वस्थ, सक्रिय र शुद्ध राख्न ‘मैले’ यसकालागि आवश्यक पर्ने आहार तथा भोजन, व्यायाम तथा योग अभ्यास र व्यवहार तथा सतकर्म सही प्रकारले गर्नु आवश्यक हुन्छ । व्यवहार तथा कर्म अप्रत्क्ष रुपमा मनुष्यको शरीरसंग र प्रत्यक्ष रुपमा मनसंग सम्वन्धित छ किनकी कर्म गर्ने भाव पहिला मनुष्यको मनमा उत्पन्न हुन्छ र पछि मात्र जड तथा यन्त्र शरीरको माध्यमबाट बुझिने तथा देखिने गरि व्यवहारमा प्रकट हुन्छ ।
स्वामी विवेकानन्दले भन्नु भएको छ, “मनुष्यको जस्तो आहार त्यस्तै उसको विचार तथा मन बन्छ, जस्तो विचार त्यस्तै उसको व्यवहार बन्छ, जस्तो व्यवहार त्यस्तै उसने कर्म बन्छ र जस्तो कर्म त्यस्तै उसको भाग्य बन्छ ।” सनातन शास्त्रहरुमा उल्लेख गरिएको छ कि मनुष्यको स्थुल शरीर भन्दा उसको विचार तथा मन हजारौं गुणा शक्तिशाली हुन्छ । मनुष्यको विचार तथा मनको उर्जा, विचारशक्ति र इच्छाशक्तिले नै सारा विश्व आज यो चरम विकासको अवस्थामा आइपुगेको छ र मनुष्यको मनको उर्जा, विचारशक्ति तथा इच्छाशक्तिलाई मुर्तरुप दिन उसको स्थुल शरीर सहायक मात्र बनेको छ तसर्थ स्थुल शरीर संगसंगै मनुष्यको मन तथा मनोविज्ञान अझ वढि स्वस्थ, सक्रिय, शुद्ध, प्रभावकारी तथा शिर्जनसील बनाउन यसलाई वैज्ञानिकतामा आधारीत पूर्वीय सनातन ज्ञान योग विज्ञानका विधि तथा पद्धतिहरुको साधनासंग जोड्नु अनिवार्य हुन्छ । वर्तमान समयमा मनुष्यको मनलाई सही ढंगले पूर्ण योग साधनासंग नजोडिएकै कारणले संसारमा रोग, भोक, शोक, विपन्नता, असमानता, अशान्ति, हिंसा, हत्या, युद्ध जस्ता विपत्तिहरुको सामना गर्नु परेको हो भन्ने सत्यतालाई बुझेर र आत्मसाथ गरेर विश्वको छाता संगठन संयुक्त राष्ट्रसंगले जुन २१ लाई विश्व योग दिवस र डिसेम्बर २१ लाई विश्व ध्यान दिवस घोषणा गरेर योग र ध्यानको माध्यमबाट विश्वमा शान्ति र सदभाव बढाउन प्रयास गरेको छ । यो प्रयासमा आ–आफ्नो स्थान तथा हैसियतबाट आत्मसाथ गर्नु तथा सहयोग गर्नु संसारभरिका सबै मनुष्यहरुको प्रमुख उत्तरदायित्व बनेको छ । यसकालागि हामीले हरेक मनुष्यको मन तथा मनोविज्ञानमा प्रत्यक्ष सकारात्क प्रभाव पार्नसक्ने कामहरु गर्नुु अनिवार्य हुन्छ ।
योग साधना र मनको विज्ञानको अन्तरसम्वन्ध
मन तथा मनोविज्ञान-: व्यवहारीक परिभाषा अनुसार हाम्रो दैनिक व्यवहार तथा जीवनशैलीमा हाम्रा ज्ञान तथा कर्म इन्द्रियहरुबाट प्राप्त सूचनाहरुका कारण मस्तिष्कका स्नायुहरु चलायमान हुन्छन् र विचारहरु उत्पन्न हुन्छन्, यिनै विचारहरुको समुह मन हो । विचारहरुका कारण मनुष्यको मनमा बनेका भाषा, व्यवहार तथा प्रकृति मनोविज्ञान हो जसले मानिसको मानसिकता र उसले गर्ने हरेक किसिमका क्रियाकलाप, व्यवहार तथा गतिविधिहरुमा प्रत्यक्ष प्रभाव पार्दछ । अर्को अर्थमा, हाम्रा विचारहरुले हाम्रो मनमा कुनै विषय तथा घटनाप्रति बनाएको छवि तथा नक्शाको आधारमा वास्तविक सत्य मानेको मानसिक अवस्था मनुष्यको मनोविज्ञान हो । मनुष्यले कुनैपनि विषय तथा घटनाको सम्वन्धमा आफ्नो मनोविज्ञान अनुसार नै प्रतिक्रिया तथा व्यवहार प्रकट गर्ने गर्दछ । मनुष्यको मनोभाव अर्थात मानसिक तथा भावनात्मक अवस्था, मानसिक प्रक्रिया, अनुभव, व्यक्त(अव्यक्त व्यवहारहरुको क्रमवद्ध तथा वैज्ञानिक तवरले अध्ययन गर्ने विज्ञानलाई मनोशास्त्र अर्थात मनोविज्ञान भनिन्छ र यो अनुभवको विज्ञान हो ।
मनुष्यको मन नै यस्तो अति महत्वपूर्ण सुक्ष्म अंग हो जुन उसको जीवनको भौतिक विज्ञान तथा पराभौतिक विज्ञान दुवै आयामसंग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ र हाम्रा शरीरका चारवटै आयामहरुमा हाम्रो मन तथा मनोविज्ञानको प्रत्यक्ष प्रभाव रहेको हुन्छ । आधुनिक मनोविज्ञानका अनुसार हाम्रो मनका तीनतह रहेका छन्(चेतन, अवचेतन र अचेतन) । अध्यात्म विज्ञानका अनुसार हाम्रो मनका साततह छन्(चेतन, स्वप्न, सुषुप्ति, तुरीय, तुरीयातीत, भगवत् चेतना र ब्राह्मी चेतना)। यि हाम्रो शरिरका सुक्ष्म उर्जा केन्द्र सात चक्रहरुसंग जोडिएका छन् र मनका यि साततहहरु केवल पूर्ण योग साधनाका माध्यमबाट स्वस्थ, सक्रिय, शुद्ध र जाग्रीत हुन्छन् । आधूनिक मनोविज्ञान(जो पूर्वीयमा उल्लेखित मनोविज्ञान कै एक अंश हो) भन्छ चेतन मन हाम्रो समुच्चा मनको केवल १० प्रतिशत अंश मात्र हो, बाँकी ९० प्रतिशत अंश अवचेतन र अचेतन मनले ओगटेको हुन्छ र प्राय हामीले दैनिक रुपमा गर्ने सबै किसिमका गतिविधिहरु अवचेतन र अचेतन मनबाट नै संचालित तथा नियन्त्रित हुन्छन् । अध्यात्म विज्ञान र आधूनिक मनोविज्ञानका अनुसार मनका सबै तहहरुको सिमा तथा क्षमता असिमित हुन्छ । हाम्रो मनमा जन्म-जन्मदेखिका स्मृतिहरु संग्रहीत भएर रहेका हुन्छन् र यिनै जन्म-जन्मदेखिका संग्रहीत स्मृति तथा संचित संस्कारहरुलाई नै हाम्रो संचित कर्म, प्रारब्ध कर्म तथा भाग्यको रुपमा लिने गरिन्छ जुन हामीले भौतिक संसारमा जीवन जीउने क्रममा सकारात्मक तथा नकारात्मक परिणामका रुपमा हाम्रो दैनिक व्यवहार तथा जीवनमा घटित भएर देखापर्ने गर्दछन् ।
प्राविधिक तथा वैज्ञानिक परिभाषा अनुसार भौतिक विज्ञानको नवीनतम शाखा प्रमात्रा विज्ञान(क्वान्टम साइन्स)को भाषामा उर्जाका तरंगहरुबाट निर्मित सूचनाहरुको प्रवाह मन हो । अध्यात्म विज्ञान र प्रमात्रा विज्ञान दुवै भन्छन् उर्जाका परमाणुहरूद्वारा निर्मित संधै उर्जाको तरंगमा चलिरहने ब्रम्हाण्ड हरपल परिवर्तनशील छ, यहाँ केहीपनि स्थिर छैन । ब्रह्माण्ड यिनै उर्जाका तरंगहरुबाट निर्मित सूचनाहरुको प्रवाह हो र हाम्रो मन पनि हाम्रा विचारका उर्जाका तरंगहरुबाट निर्मित सूचनाहरुको प्रवाह हो । किनकी हाम्रो विचार पनि उर्जा हो जो निरन्तर हाम्रो मस्तिष्कका स्नायुहरुवाट निस्किएर ब्रह्माण्डमा तरंगीत भइरहन्छ र हाम्रो मन यिनै विचारका उर्जाका तरंगहरुबाट निर्मित हुने हुनाले स्थिर छैन किनकी हरेक प्राणीहरुको मनलाई ब्रह्माण्डमा चलिरहने उर्जाका तरंगहरुले हरपल प्रभावित गरिरहेका हुन्छन् । अझ स्पष्ट भाषाका भन्नु पर्दा हामीभित्र लगातार प्रवाहित भैरहने यिनै विचारका उर्जा तरंग तथा सूचनाहरुको आदान-प्रदान नै हाम्रो मन हो जसलाई ब्रह्माण्ड भरि तरंगीत भैरहेका उर्जाका एलोक्ट्रो मेग्नेटीक तरंगहरुले प्रत्यक्ष रुपमा प्रभावित गरिरहेका हुन्छन् र हाम्रो मन, व्यवहार, भाषा, जीवनयापन, जीवनशैली र कुनै घटना तथा विषयप्रति हेर्ने हाम्रो दृष्किोणको निरन्तर निर्धारण र निर्माण गरिरहेका हुन्छन् । अव प्रश्न उठ्छ त्यसोभए हामीले हाम्रा ज्ञान तथा कर्म इन्द्रियहरुबाट कस्ता सूचनाहरु ग्रहण गरिरहेका छौं र यि सूचनाहरुको माध्यमबाट मस्तिष्कमा कस्ता विचारहरु आउन दिरहेका छौं, हाम्रो मन तथा मनोविज्ञान कसरी तयार गरिरहेका छौं, हाम्रो व्यवहार तथा भाषा कस्ता बनिरहेका छन् र हाम्रो जीवनयापन तथा जीवनशैली कस्तो बनाउने । यो पाठको सिकाइ र सिकाइको विधि हाम्रा पुर्खा, प्रचीन वैज्ञानिक ऋषिमुनिहरुले दशौं हजार वर्षअघि नै पूर्वीय अध्यात्म दर्शनमा पूर्ण योग साधनाको विज्ञान समावेश गरेर हामीलाई यो प्रज्ञाको धनी बनाइसकेका छन् । यसको तात्पर्य यो हो कि हाम्रो मनको सही व्यवस्थापन गर्ने सिकाइ हाम्रो सनातन अध्यात्म दर्शनको योग विज्ञानभित्रै छ तसर्थ यस सिकाइको सही उपयोग गर्दै सबै माझ पुर्याउनु अति आवश्यक छ ।
मनका समस्याहरु
जीवन जिउने क्रममा मानिसका सामु विभिन्न किसिमका शारीरिक, मानसिक तथा व्यवहारीक सजिला-अप्ठ्यारा परिस्थितिहरु आइपर्ने गर्दछन् । यस्ता परिस्थितिहरुलाई हेर्ने र ब्यवहार प्रकट गर्ने हरेक मानिसको आ-आफ्नो मनोविज्ञान अनुसार फरक-फरक दृष्टिकोण हुन्छ । मानिसले कुनै विषय तथा घटनालाई हेर्ने दृष्टिकोणमा उसले आफ्नो मस्तिष्क, मन र भावमा सम्वन्धित घटना तथा विषयप्रतिको भोगाइ तथा अनुभव र त्यसका आधारमा तयार गरेको छवि तथा नक्शाको प्रत्यक्ष प्रभाव रहेको हुन्छ र उसले बनाएको छवि तथा नक्शामा उसको मनमा संग्रहित जन्म-जन्मका स्मृति तथा संस्कारहरु तथा वर्तमानमा उ रहदै आएको परिवेश, वातावरण तथा संस्कारको प्रत्यक्ष प्रभाव रहेको हुन्छ । यहीकारण हरेक व्यक्तिले एकै किसिमका घटना तथा विषयलाई फरक-फरक किसिमले लिने, त्यसउपर आफ्नो प्रतिक्रिया दिने तथा फरक किसिमले व्यवहार गर्ने गर्दछन् । यस्ता प्रतिक्रिया तथा व्यवहारहरु उनीहरुको आन्तरीक बुझाइ, क्षमता, साहस, आत्मचेतना, आत्मसम्मान तथा आत्मविश्वासको अवस्थामा पनि निर्भर गर्दछन् । मानिसले कुनैपनि घटना तथा विषयमाथि आफ्नो मस्तिष्क, मन र भावमा बनाएको छवि तथा नक्शा कतिको सत्य तथा वास्तविक हो या होइन भन्ने कुरामा त्यति विश्लेषण गर्दैन र तिनै पस्थितिहरुलाई सतप्रतिशत वास्तविक सत्य मानेर त्यसैलाई आफ्नो वास्तविक पहिचान मान्दछ र त्यही पस्थितिभित्र आफूलाई अभ्यस्त गर्दै मनपरे पनि मननपरे पनि जीउन बाध्य गराउँछ र यहीकारण जीवनमा विभिन्न किसिमका शारीरिक, मानसिक, व्यवहारीक समस्याहरु र अशान्त तथा अस्थिरताको अवस्था बेहोर्दछ । पूर्ण योग साधनाको माध्यमबाट मनुष्यको मनलाई स्वस्थ, सक्रिय, शुद्ध, स्थिर, शान्त र आनन्दित बनाएर वास्तविक सत्य जान्न सक्षम बनाएर, सही मार्गनिर्देस गर्दै मोक्ष हासिल गर्न अर्थात आफ्नो मूलस्वरुप परमात्मामा पुनः योगस्त गराउन सकिन्छ ।
bsirjana@gmail.com
No comments:
Post a Comment