Spiritual View: What is and What is not WOMEN are ?
डा. सिर्जना भण्डारी*
#आध्यात्मिक_नारीवाद #अध्यात्म_दर्शन #जीवन_दर्शन
"स्त्री र पुरुष प्रतिस्पर्धि होइनन् पूरक तथा साझेदार हुन् !" - ओशो रजनीश
विषय प्रवेश
परिवर्तन तथा विकासक्रम प्रकृतिको नियम हो र ब्रम्हाण्डमा भएका सबै जीव, वनस्पति, पदार्थहरु प्रकृतिको अभिन्न अंश हुन् या भनौं साक्षात प्रकृति नै हुन् र प्रकृति नै ब्रम्हाण्ड हो । प्रकृतिमा आएका सकारात्मक परिवर्तन तथा विकासक्रमहरुले सबैकालागि सुख, शान्ति, समृद्धि ल्याउछन् भने नसकारात्मक परिवर्तन तथा विकासक्रमहरुले दुःख, अशान्ति, बिपन्नता ल्याउछन् जुन कसैको पनि इच्छा तथा चाहना होइन । मानव समाजमा विभिन्न कालखण्डहरुमा आएका परिवर्तन तथा विकासक्रमहरु केही सकारात्मक रहे भने केही नकारात्मक रहे र तीनको प्रभाव तथा परिणामहरु तत्कालीन समाज र आज पर्यन्त हामी सबैले अनुभव गरिरहेका छौं । इतिहासका सर्वाधिक प्रचलित घटना, विषय तथा गतिविधिहरुलाई हेर्दा सबैभन्दा बढि चर्चामा रहेको विषय स्त्री र पुरुषविचको सम्वन्ध तथा सह–सम्वन्धमा रहेको तथा रहदै आएको उतार–चढाउलाई मान्दै आइएको छ । आखिर किन यो विषयले यतिविधि प्रसय र चर्चा पायो, के छ स्त्री र पुरुष विच रहदै आएका उतार–चढाउहरुको ऐतिहासिक र वर्तमान अवस्था । यस सन्दर्भमा विभिन्न परिस्थितिहरुमा पुरुष यो हो, यस्तो हो, पुरुषले यसो गर्यो, उसो गर्यो, यसो गर्न सक्छ, उसो गर्न सक्छ भनेर निकै चर्चा र परिभाषाहरु गरिदै आइएका छन् । पुरुषको महिमा यतिविधि छ भने प्रकृतिले उस्तै संरचनाको साँचोमा निर्माण गरेको स्त्री चाहिं के हुन त ? स्त्री को हुन् ?? के र कस्तो छ स्त्रीको भौतिक र पराभौतिक(मेटाफिजिक्स) तथा आध्यात्मिक वास्तविकता ???
स्त्री के हुन् तथा को हुन् ?
सर्वप्रथम, समग्रतामा संस्कृत शव्द ‘स्त्री’ भन्नाले ब्रम्हाण्डमा स्थित सबै जीवहरुको पोथी जात भनेर बुझिन्छ । हामी पनि यही परिभाषामा रहेर बुझौं र यसको सन्दर्भलाई अगाडि बढाउँ । अध्यात्म विज्ञानका अनुसार स्त्री कुनै वस्तु होइनन् जसलाई शव्दमा, वाक्यमा परिभाषा गर्न सकियोस । स्त्री एक शरीर, मन, भावना र अलौकिक आत्मा अर्थात चेतनाको समिश्रण तथा उपस्थिति हुन् जसलाई सहजै बुझ्न सकिदैन सिर्फ अनुभव तथा अनुभूति गर्न मात्र सकिन्छ किनकी ‘स्त्रीत्व(अलौकिक दिव्य तत्व)’ एक परालौकिक सुक्ष्म तत्व हो । तसर्थ, स्त्री एक उर्जा हुन, कम्पन हुन्, तरंग हुन्, उनी जीवनको सबैभन्दा कोमल, सबैभन्दा सुन्दर, सबैभन्दा गहिरो कविता हुन्, सबैभन्दा गहन संगीत हुन्, सबैभन्दा मिठो लय हुन् । स्त्री र पुरुष एक अर्काका विरोधी तथा प्रतिस्पर्धि होइनन्, स्त्री र पुरुष प्रतिस्पर्धामा, उच्चता तथा निच्चतामा पूर्णरुपमा विकसित हुन सक्दैनन् । पुरकता तथा साझेदारीमा मात्र पूर्णरुपमा विकसित हुन सक्छन् । जव स्त्री आफू आफ्नो स्त्रीत्वमा पूर्ण हुन्छिन् तव मात्र उनले पुरुषलाई पनि पूर्ण बनाउन सक्छिन् र पुरुष जव आफ्नो पुरुषत्व(अलौकिक दिव्य तत्व)मा पूर्ण हुन्छ तवमात्र स्त्रीलाई सम्मान प्राप्त हुन्छ तथा स्त्रीलाई सम्मान दिन सक्छ र स्त्री पनि पूर्ण बन्छिन् । तसर्थ स्त्री र पुरुष एकअर्काका पुरुक हुन किनकी एकको पूर्णताबिना अर्कोले पूर्णता प्राप्त गर्ननै सक्दैन ।
तन्त्र योग र स्त्री
तन्त्र योगका अनुसार, स्त्री तन्त्र योगकी जिउदो, जाग्दो नमूना हुन्, स्त्री देवी हुन्, स्त्री आदि शक्ति हुन् तसर्थ स्त्री केवल पुरुषको साथी मात्र होइनन् योग साधनाकी मार्ग पनि हुन् । तसर्थ तन्त्र योग भन्छ, स्त्रीलाई हेरौं, बुझौं, सम्झौं, अनुभव र अनुभूति गरौं । जव पुरुष स्त्रीलाई साधनाको सहयात्रीको रुपमा पूरा प्रेम र ध्यानले हेर्छ, बुझ्छ, सम्झिन्छ र अनुभव गर्छ तवमात्र उसले स्त्रीको अलौकिक, दिव्य रहस्य स्त्रीत्वलाई बुझ्न, स्पर्श गर्न र अनुभव गर्नसक्छ र स्त्रीलाई आफ्नो तन, मन, भाव हुदै आत्मा अर्थात चेतनासम्म उतार्न सक्छ । एक स्त्री तव पूर्ण हुन्छिन् जव उनी प्रेम गर्छिन् चाहे माताको रुपमा, चाहे साथीको रुपमा, चाहे पे्रमिकाको रुपमा, चाहे साधिकाको रुपमा । तर स्त्रीलाई प्रेम गर्न माथिका कुनै पनि भूमिकामा मजबुर गर्नु हुदैन । यो चुनाव उनको स्वतन्त्रतामा छोडिनु पर्छ र प्रेमपूर्वक स्वतन्त्रता दिइनु पर्छ तव मात्र उनको स्त्रीत्व आफनो स्वाभावमा फुल्न, फक्रिन र फल्न सक्छ ।
स्त्री के हुन तथा को हुन् भन्ने कुरा प्रश्न हो तर स्त्री कुनै प्रश्न होइनन्, स्त्री त सबै प्रश्नहरुकी एक मात्र उत्तर अर्थात जवाफ हुन् किनकी आध्यात्मिक दृष्टिकोणले स्त्री के तथा को होइनन् भन्ने चाहिं मूल विषय हो किनकी स्त्री सबैथोक हुन् । श्रद्धेय ओशो रजनीशका अनुसार, “स्त्री प्रेमकी प्रतिमूर्ति हुन् र प्रेम नै सृष्टिको मूल हो । ब्रम्हाण्डमा प्रेम भन्दामाथि केही पनि छैन र प्रेम भन्दा सुक्ष्म(क्वान्टम) पनि केहीपनि छैन । यो स्त्रीको ब्रम्हाण्डिय परिभाषा हो ।” त्यसैले स्त्री सबैथोक हुन्, सबैथोकको सृजनकर्ता हुन् किनकी ब्रम्हाण्डको मूल तथा अन्तिम श्रोत प्रेम हो र प्रेमको मूल श्रोत तथा खानी स्त्री हुन् । तसर्थ, स्त्री शरीर होइनन् धडकन् हुन्, स्त्री विचार होइनन्, भाव होइनन् आत्मा अर्थात चेनतामा निनरन्तर गुञ्जिरहने अनाहद नाद ॐकारको अलौकिक मौन ध्वनि हुन्, चेतनाको चम्किलो प्रकाश तथा ज्योतिपुञ्ज हुन् जसलाई केवल योग साधना(योगासन, प्राणायाम, ध्यान)ले मात्र अनुभूति गर्न तथा चिन्न सकिन्छ ।
स्त्रीत्वभित्रको आत्मा अर्थात चेनतामा निनरन्तर गुञ्जिरहने अनाहद नाद ॐकारको अलौकिक मौन ध्वनि सुन्न र स्त्रीभित्रको चेतनाको चम्किलो प्रकाश तथा ज्योतिपुञ्जको दर्शन गर्न, स्त्रीलाई भावातीत स्पर्श तथा अनुभूति गर्न सर्वप्रथम आम पुरुषहरुको बनावटी पुरुषत्वको भावले जेलेको जालो टुट्नु आवश्यक हुन्छ र बनावटी पुरुषत्वको अहंकारले ढाकेको अन्धकार हटेर पुरुषको पुरुषत्व पनि स्वतन्त्र र उज्यालो हुनु आवश्यक हुन्छ । जव पुरुषको आत्मा अर्थात चेतनामा रहेको जालो र अन्धकार हटेर पुरुषको पुरुषत्व स्वतन्त्र र उज्यालो हुन्छ तव त्यहीं स्त्रीत्वको महाज्योति प्रष्फुटन हुन्छ र त्यही विन्दुमा स्त्री र पुरुष दुवैको चेतना एकाकार हुन्छ, सामुहिक चेतना अर्थात ब्राम्ही चेतना(सुपर कन्सस)मा रुपान्तरण हुन्छ र पूर्णरुपमा भौतिक संसारमा देखिएका स्त्रीप्रतिको भेदभाव, उच–निच, सानो–ठूलोका बन्धनहरु टुट्छन्, हटेर जान्छन् । यसपश्चात स्त्री र पुरुष भौतिक संसारमा पनि एकत्वमा अर्थात बराबरीमा आउछन् र जीवन साधनामय लयमा तरंगीत हुन थाल्छ । भगवान श्रीकृष्ण भगवद् गीतामा भन्नुहुन्छ, “हरेक मनुष्यको जीवनको आत्यन्तिक लक्ष्य परमात्मा प्राप्ति हो ।” जीवनमा स्त्री र पुरुष एकआपसमा एकाकार भएर तथा एकत्वमा आएर गरिएको यसप्रकारको साधनानै परमात्मा साक्षातकार तथा मोक्ष प्राप्तितर्फ उन्मुख हुन्छ, यही प्रक्रिया नै मोक्षको वास्तविक द्वार हो बाँकी सबै संस्कार तथा परम्पराहरु बनाबटी र अतिरञ्जित गरिएका ढोंग बाहेक अरु केहीपनि होइनन् र ती कुनैपनि अतिरञ्जनाहरुमा कुनै प्रकारको शाश्वत सत्यता छैन, यी केवल बनावटी पुरुषत्वबाट सिर्जित अहंकारलाई स्थापित गर्ने र सावित गर्ने उपकरणहरु मात्र हुन् । तसर्थ स्त्रीलाई हरप्रकारले सम्मान देउ, हक, अधिकार देउ, स्वतन्त्रता देउ, समानता, समता देउ, ध्यान देउ, उ स्वयंको अन्तरयात्रा तथा अध्यात्मको मार्गमा अघि बढ्ने अवसर देउ तव मात्र स्त्रीले पुरुषलाई अस्तित्व अर्थात परमात्मा अर्थात इश्वरसंग जोड्नेछिन् किनकी स्त्री नर्कको द्वार विलकुल होइनन् बरु मोक्षको परम संवाहक हुन् किनकी स्त्री स्वयं अव्यक्त तथा निराकार अस्तित्व अर्थात परमात्मा अर्थात इश्वरकी व्यक्त तथा आकार स्वरुप तथा शाश्वत पर्याय हुन्, स्त्री स्वयं सृजनकर्ता हुन्, सृष्टि हुन्, ब्रम्हाण्ड हुन्, ब्रम्ह हुन्, आदि शक्ति(ब्रम्हाण्डको मूल उर्जा) हुन्, “अयम आद्य शक्तिः” अर्थात म ब्रम्हाण्डको मूल उर्जा हुँ । तर के स्त्रीको सन्दर्भमा हिजोको समाज यस्तो थियो ? के आजको समाजमा यस्तो छ ? के स्त्रीको यति सुन्दर परिभाषा हाम्रो समाजले जानेको थियो र जानेको छ त ? जसले स्त्रीलाई स्त्रीत्वको वास्तविक अर्थमा बुझ्न मद्धत गरोस ? अहँ विलकुल थिएन र छैन । हिजोको समाज स्त्रीको सन्दर्भमा कस्तो थियो र अहिले कस्तो छ त ?
मानव समाजमा स्त्री दमनको इतिहास र वर्तमान
के तिमी(पुरुषलाई सम्वोधन)ले कहिल्यै सोचेका छौ कि जुन माताले तिमीलाई जन्म दिइन, प्रेम गरिन, जुन दिदी–बहिनीले तिमीलाई हँसाइन, जुन पत्नीले तिमीलाई मायाँ दिइन, साथ निभाइन उही स्त्रीलाई इतिहासले के गर्यो, के दियो, कति रुवायो, कति कष्ट दियो, कति सतायो, कति जिउदै मार्यो, कति जिउदै जलायो... !? अहँ विलकुल सोचेका छैनौ सायद किनकी तिमी पनि जानेर या नजानेर स्त्रीमाथि गरिएका ती शोषण तथा ज्याजतिहरुका धेरथोर प्रत्यक्ष अनुशरणकर्ता हौ । होइन भन्ने दुस्साहस नगर, यो सत्य तिम्रो चेतन मनलाई थाहा छैन तर तिम्रो पूर्ण चेतन मन(आधूनिक मनोविज्ञानका अनुसार अवचेतन मन तथा अचेतन मन)लाई राम्ररी थाहा छ किनकी यो पृथ्वीमा आजसम्म ९० अर्ब(हल ८ अर्ब) आत्मा अर्थात चेतनाहरु मनुष्य भएर शरीरमा जन्मिए र शरीर छोडे त्यसमध्य हामी कतिपटक शरीरमा आर्यौ र इतिहाकिा यी बिभत्स घटनाहरुको साक्षी बन्यौं । हिजो तिमीलाई समाजले जे सिकाएको थियो त्यही गर्यौं र आज पनि जे सिकाइरहेको छ त्यही गरिरहेका छौं । हिजोको समाजले स्त्रीलाई केवल एक भौतिक शरीर ठानेर शरीरमा मात्र सिमित गरिदिएको थियो र आजको समाजले त स्त्रीलाई शरीर भन्दापनि अझ तल झारेर बस्तु बनाइदिएको तथा बनाइरहेको छ र निर्जीव सामान सरह केवल बजारमा सिमित गरिदिएको छ उपभोक्तावादको भूलभुलैयामा स्त्रीको स्त्रीत्वलाई सौदा गरिरहेको छ, बेचिदिएको छ । एकादुई अंश(प्रतिशत)मा कोही भाग्यमानी स्त्रीहरु छन् जो वास्तविक पुरुषत्वको सामिप्यमा रहेर वास्तविक स्त्रीत्वमा फुल्न, फक्रिन र फल्न पाएका छन् तर विश्लेषण गर्दा जहिलेपनि आमरुपमा गरिन्छ र समाजको वास्तविकता तथा सत्य स्वरुप जान्न आमरुपमै विश्लेषण गरिनु पर्छ अनिवार्य रुपमा ।
समुच्चा वैश्विक(विश्व) समाजले स्त्रीको परिभाषा शव्द तथा वाक्यमा गरेर स्त्रीलाई केवल एक भौतिक शरीरको रुप मानेर सिमित दायरामा खुम्च्याइदिएको थियो र छ । सदियौंदेखि स्त्रीलाई केवल भोगको विषयको रुपमा प्रयोग गरियो, त्यसै अनुरुप बुझियो र बुझाइयो पिढी दरपिढी र स्वयं स्त्रीलाई पनि त्यसैगरि बुझाइयोकी तिमी केवल भौतिक शरीर हौ र सिर्फ भोगको विषय हौ, तिमीलाई केवल भोगकोलागि जन्माइएको, हुकाइएको, पालिएको हो त्यसैले तिमीले तिम्रा दाताहरुले भनेको सबै कुरा हुबहु मान्नु पर्छ नत्र तिम्रो जीवनको अस्तित्व नै खतरामा पर्ने छ । स्त्रीहरुले पनि यो गलत परिभाषालाई आफ्नो रुचिले, लाभले, प्रलोभनले या डरले, बाध्यताले मौनतामा स्वीकार गरे । जोजो स्त्रीहरुले स्वीकार गरे उनीहरु कम दवाव, कम बन्धन, कम यातना, कम हिंसामा परे तर जोजो स्त्रीहरुले गरेनन् उनीहरुको चरम दुर्दसा भयो, उनीहरुमाथि चरम दवाव, चरम बन्धन, चरम यातना, चरम हिंसाको प्रयोग गरियो । हजारौं–हजार वर्षसम्म अनेकौं बहाना(धर्म, संस्कृति, परम्परा, अन्धविश्वास, अहंकार, सुन्दरता)को आडमा स्त्रीहरुलाई दबाइयो, कुल्चियो, स्त्रीभित्रको दिव्य स्त्रीत्व, अलौकिक प्रेम, सुन्दरता, स्वतन्त्रतालाई बन्धनमा जकडियो । आउनुहोस्, हामी पनि जानौं इतिहासका पानामा दर्ज भएका विगत र वर्तमानका केही शर्मनाक र अमानवीय स्त्री दमनका सत्यतथ्य घटनाहरु–
स्त्रीको जन्म
प्राचीन समाजमा स्त्री भएर जन्मनु तथा स्त्री हुनु एक अपराध तथा कुकर्मको फल तथा सजाय मिलेको दुर्भाग्यको रुपमा मानिन्थ्यो र पुरुष भएर जन्मनुलाई धर्म, पुण्य तथा सुकर्मको फल मिलेको भाग्यको रुपमा मानिन्थ्यो । यो बुझाई समाजमा पूर्णरुपमा स्थापित भइसकेको परम्परा थियो, सबैले सहर्ष रुपमा मान्नु पथ्र्यो, प्रतिवाद गर्ने अधिकार कसैलाई थिएन र कसैले प्रतिवाद गर्ने दुस्साहस पनि गर्दैनन्थे । स्त्री बच्चा जन्मिइन भने उनलाई परिवारमा राख्ने या नराख्ने, हुर्काउने या मार्ने भन्ने हरेक परिवारलाई स्वतन्त्र रुपमा निर्णय गर्ने अधिकार थियो । प्राथीनकालमा स्त्री शिशु तथा वालिकाहरुलाई तरल द्रव्यमा डुवाएर, विष चटाएर, जिउदै गाडेर, अग्लो स्थानबाट तल खसाएर, खाना तथा पोषण कटाएर तथा बन्चित गरेर मार्ने गरिन्थ्यो । प्राचीन समयमा अलग दौर थियो स्त्रीको सन्दर्भमा तर विडम्वना “छोरी जन्मिइन” यो वाक्यलाई अद्यावधिक शोकको रुपमा लिइन्छ । छोरी जन्मदा परिवारमा झुकेको शिर, मलिन चेहरा, लाचारीपन, बोझ बढ्यो, खर्च बढ्यो भन्ने भाव, अपराधवोध र मौका मिले स्त्री भु्रण हत्याको प्रयास अझै पनि हाम्रो समाजमा अनुभवमा आउने गरेका काला विषयहरु हुन्, हाम्रो समाजको यो शाश्वत सत्य विषय हो । हामीले आँखा बन्द गर्दैमा सूर्य नारायण अस्ताउदैनन्, यो अमानवीयतामा सूर्य नारायणले हामीलाई निरन्तर गिज्याइरहेका छन् तसर्थ यो अमानवीय अवस्थालाई स्वीकार गरौं र हामी सबै सुधारको मार्गमा अगाडि बढौं ।
स्त्रीको हुर्काइ, विवाह र गृहावस्था
स्त्रीको ५–१०–१५... वर्षको खेलौनासंग खेल्ने, साथीहरुसंग नाच्ने, मातापितासंग लाडिने, अध्ययन गरेर शिक्षा तथा ज्ञान हासिल गर्ने र भविश्यमा सक्षम बन्ने जीवन विकासको सबैभन्दा महत्वपूर्ण समयमा स्त्रीको अवोध वालापन, चन्चल किशोरावस्थालाई पूर्णतः बेवास्ता गर्दै, कालो बुटले कुल्चिदै उसको स्वीकारोक्ति बेगर विभिन्न बहानामा प्रौढ, श्रीमतीको श्रीमान तथा छोराछोरीको बाउ भैसकेको पुरुषसंग विवाह गराइन्थ्यो र उक्त पुरुषका सबैप्रकारका आवश्यकताहरु पूरा गर्नु स्त्रीको कर्तव्यका रुपमा सम्झाइन्थ्यो, सिकाइन्थ्यो, बुझाइन्थ्यो । यसरी शरीर, मन, भावनाको आवश्यक विकास नै नभइकन तथा न्यूनतम आवश्यक परिपक्वता नै नआइकन यस्ता व्यवहारहरु बेहोर्न बाध्य पारिदा स्त्रीहरुको अवस्था चरम दयनिय बनेको थियो । अज्ञानतावस तथा अस्वीरका भावले यस्ता अमानवीय संस्कृति तथा परम्परा नमान्ने तथा प्रतिवाद गर्ने स्त्रीहरु चरम शोषण र यातनाको भागी हुनुपथ्र्यो, जवजस्ती स्त्रीको अस्मिता लुटिन्थ्यो, शरीरको भोग गरिन्थ्यो, स्त्रीको मन, भाव, आत्मा अर्थात चेतनाको कुनै मूल्य नै थिएन किनकी तत्कालीन समयमा स्त्रीको मर्जी, अधिकार, स्वतन्त्रताको गणना नै गरिदैनथ्यो । वर्तमान समाजमा पनि विभिन्न बहाना तथा स्वरुपहरुमा अझैपनि यस्ता वालविवाह, अनमेल विवाह, बहुविवाह जस्ता कुरीतिहरु समाजमा व्याप्त रहदै आएका छन् । यो अवस्थामा पनि हामीले आँखा बन्द गर्दैमा सूर्य नारायण अस्ताउदैनन्, यो अमानवीयतामा सूर्य नारायणले हामीलाई निरन्तर गिज्याइरहेका छन् तसर्थ यो अमानवीय अवस्थालाई स्वीकार गरौं र हामी सबै सुधारको मार्गमा अगाडि बढौं ।
स्त्रीमाथि थोपरीएका कुरीति
पतिको मृत्युपश्चात सतीधर्म संस्कृतिको बहानामा स्त्री चाहे जुनसुकै उमेरकी हुन्, चाहे नावालककी आमा हुन्, चाहे बिरामी हुन् अनिवार्य रुपमा पतिको सती(साथ) जान बाध्य गरिन्थ्यो र पतिको चितासंगै जीउदै जलाइन्थ्यो । सती जान तथा चितामा बस्न अस्वीकार गर्ने तथा प्रतिवाद गर्ने स्त्रीहरुलाई तेस्रो तहको उपाय(हिंसा, मारपिट, हत्या) प्रयोेग गरेर असक्त, बेहोस तथा मृत बनाएर पतिको चितामा बसाइन्थ्यो र संगै अग्निसंस्कार गरिन्थ्यो । यसक्रममा सतीको कुसंस्कारमा स्त्रीका बहेका आँशु, रुवाइ, चित्कार, पिडा, तडपहरु अरुकालागि मनोरञ्जनका विषय हुन्थे किनकी यो सतीधर्म थियो, हरेक विवाहित स्त्रीकालागि अनिवार्य थियो र समाजमा सर्वस्वीकार्य थियो । यद्धपि अहिलेको विश्व समाजमा सतीधर्म कुरीति चलनमा छैन तर अझै पनि महिलाकालागि मात्र तय गरिएका कुरीतिहरु बिद्धवा संस्कृति, वालविवाह, अनमेल विवाह, जवरजस्ती जस्ता कुरीतिहरु कुनैनकुनै स्वरुपमा अद्यावधिक समाजमा अस्तित्वमा छदैछन् ।
स्त्रीमाथि थोपरीएका कुसंस्कार
स्त्रीहरुलाई पूर्णरुपमा घरका चारभित्ताभित्र कैदमा राखी उनीहरुको स्वतन्त्रता, मानव अधिकारमा अंकुश लगाउन पर्दा तथा घुम्टो, निश्चित प्रकारका पहिरन, निश्चित प्रकारका सौन्दर्यका गरगहना तथा अन्य सामग्रीहरु, सहनशीलता, लज्जा, गंभिरता, धैर्यता, स्वीकृति, अज्ञानता, मौनता, नैतिकता, अनुशासन आदि नियमहरु बनाइए र यीनै नियमभित्र स्त्रीलाई बस्न बाध्य गराइयो । यीनै नियमभित्र स्त्रीको बनावटी स्वाभाव, गुण, पहिचान निर्धारण गरियो र त्यसैलाई स्त्रीको वास्तविक पहिचान मानियो । यी नियम भन्दा वाहिर रहने तथा नियमको पालना नगर्ने, प्रतिवाद गर्ने स्त्रीहरुलाई फरक दृष्टिले कुसंस्कारी स्त्रीका रुपमा हेर्न थालियो । यसरी सिमित दायराभित्र राखिएका स्त्रीहरु जीउन त जीउथे तर आफ्नोलागि नभएर परिवार, समाज तथा अरुकालागि । परिवार, समाज तथा अरुकालागि जीउनुलाई स्त्रीको कर्तव्य, उत्तरदायित्व तथा स्त्रीधर्म हो भनेर फरक परिभाषा दिइएको थियो । यी सबै मुल्यमान्यतामा खरो उत्रिन सक्ने स्त्रीहरुले परिवार तथा समाजबाट स्याबासी र प्रशंसा पाउथे तर नमान्ने, अस्वीकार गर्ने तथा प्रतिवाद गर्ने स्त्रीहरुलाई परिवार तथा समाजका अपराधी मानिन्थ्यो र अपराधको अवस्था हेरेर परिवार तथा समाजको मानसम्मान तथा मानप्रतिष्ठा बचाउने नाममा सामान्यदेखि मृत्युसम्मको सजाय(अनर किलिगं) दिइन्थ्यो । वर्तमान विश्व समाजमा यसप्रकारका कुसंस्कारहरु विस्तारै हट्दै गएका भएपनि केही कुसंस्कारहरु प्रकृति परिवर्तन गरेर नया–ँनयाँ स्वरुपमा प्रकट भएका छन् र अझ जटिल र अमानवीय बन्दै गैरहेका छन् । संस्कार, कर्तव्य, उत्तरदायित्वको आडमा दाइजो, हिंसा, हत्या, बधुवा मजदुर, यौन दाषी, बेश्यावृत्ति, मानव बेचविखन जस्ता जघन्य अमानवीय कुसंस्कारहरु मौलाउदै गैरहेका छन् । यो अवस्थामा पनि हामीले आँखा बन्द गर्दैमा सूर्य नारायण अस्ताउदैनन्, यो अमानवीयतामा सूर्य नारायणले हामीलाई निरन्तर गिज्याइरहेका छन् तसर्थ यो अमानवीय अवस्थालाई स्वीकार गरौं र हामी सबै सुधारको मार्गमा अगाडि बढौं ।
स्त्रीको अध्ययन, पेशा तथा व्यवसाय
केही उदार परिवार तथा समाजमा हुर्किएका स्त्रीहरुलाई शिक्षा तथा ज्ञान आर्जन गर्ने स्वतन्त्रता दिइएको थियो तर उनले परिवार तथा समाजले तोकेको नियम तथा दायराभित्र बसेर मात्र शिक्षा तथा ज्ञान आर्जन गर्न सक्थिन । ज्ञान आर्जन गरेपछि यस्ता स्त्रीहरुले स्त्री र पुरुषको अस्तित्व, हक, अधिकार, स्वतन्त्रता, लैंगीक विभेद, स्त्री मात्रकालागि बनाइएका कुरीति तथा कुसंस्कारहरु अमानवीय रहेछन् त्यसलाई समय सान्दर्भिक हुनेगरि परिवर्तन गर्नुपर्छ भन्ने अनुभूत हुनु र त्यसकालागि त्यही अनुसारको सही पेशा, व्यवसाय गर्नु, रोज्नु, खोज्नु तथा खोल्नु स्वाभाविक हो । तर तत्कालीन समाजले यस्ता स्त्रीहरुलाई अगाडि बढ्न दिएन र हक, अधिकार, स्वतन्त्रता, समानता खोज्ने वकिल, पत्रकार, लेखक, समाज सुधारको अभियानमा लागेका तथा लाग्न चाहाने स्त्रीहरुलाई समाजका धर्म तथा संस्कारका ठेकेदारहरुले समाज भाड्ने र बोक्सीको आरोप लगाएर मारपिट, हिंसा, हत्या तथा जीउदै जलाउनेसम्म गरे । अठारौं शताब्दीसम्म यस्ता अमानवीय स्त्री विरोधि कुकृत्यहरु विश्वभरिनै धेरथोर चलिरहेका थिए तर कालान्तरमा यीनै शिक्षित स्त्रीहरुको वुद्धिमत्ता र प्रतिवादका श्रींखला तथा गतिविधिहरु नारीवादको आन्दोलन तथा क्रान्तिमा परिणत भए र अनेक दुःख कष्ट सहेर आजको स्त्री समाज यहाँसम्म आइपुगेको छ र धोरै भएपनि आफ्नो आत्मा अर्थात चेतनामा स्थित आन्तरीक मूल स्वाभाव स्त्रीत्वलाई जगाउन र माथि उठाउन सक्षम भएको छ । ती दिनहरुको तुलनामा आजको अवस्था स्त्रीहरुकालागि अत्यन्तै सरल र सहज भएको छ । तर भनिन्छ कुसंस्कार तथा दानव प्रवृत्ति त्यति छिट्टै हार्दैन, मर्दैन, अप्ठ्यारो परेको प्रतिकुल समयमा मुन्टो लुकाएर बस्छ र पछि परिस्थिति अनुकुल हुने वित्तिकै टाउको उठाउछ । ठिक यस्तै भएको छ वर्तमानको मानव समाजमा पनि । स्वरुप परिवर्तन गरेर तीनै पुराना संस्कारहरुले विभिन्न बहानामा फेरी टाउको उठाइरहेका छन् र स्त्रीलाई केवल भौतिक शरीर मान्दै र स्त्रीको शरीरकोे भोगको दायरा पुनः बढाउदै लगिरहेका छन् ।
स्त्रीको भोग
वास्तवमा ‘भोग’ नराम्रो शव्द होइन तर यहाँ स्त्रीको नैसर्गीक अधिकार तथा स्वतन्त्रता हनन्को सन्दर्भमा उनको शरीरको भोग तथा दुरुप्रयोग गरिएको हुनाले नकारात्मक शव्दकै रुपमा बुझिन आउछ । स्त्रीलाई परिवार तथा समाजको आवश्यकता तथा सुविधा पूरा गर्ने भोग बस्तुको रुपमा हेर्ने, व्यवहार तथा कारोबार गर्ने गरिन्थ्यो र अझैपनि परिवर्तित स्वरुपमा गर्ने गरिदै आइएको छ । स्त्रीको भोगका केही थप पुराना तथा नयाँ कुकृत्यका आयामहरु निम्नानुसार रहेका छन्–
अप्सरा संस्कार– सनातन धर्ममा स्वर्गको बयान गर्ने क्रममा गरिएको अप्सराहरुको गतिविधि, उनीहरुको सुन्दरता, नाचगानको प्रतिभा, राजा, महाराजा, ऋषिमूनिहरुसंगको उठबसको संस्कार पनि स्त्रीको शरीरको भोगभित्रै पर्छ । अनौपचारीक भाषामा भन्नुपर्दा यो बेश्यावृत्ति नै थियो र स्त्री शरीरको शोषण नै थियो । सायद यही संस्कार भविश्यले पनि पछ्यायो ।
हरम– युद्धमा हारेका देशका महिलाहरुलाई उनीहरुको इच्छा विपरीत जितेको देशले अपहरण गरेर लगेर उनीहरूका न्युनतम आवश्यकताहरु समेत पुरा हुन नसक्ने गरि हजारौंको संख्यामा एकैठाउँमा थुपार्ने स्थान तथा गृहलाई हरम भनिन्छ । यसरी हरममा थुपारीएका स्त्रीहरुलाई दरवारिया तथा सेनाले यौन शोषण गर्ने, इच्छयाएको काम गर्न लगाउने, नाच्न, गाउन तथा मनोरञ्जन गर्न लगाउने, अस्लील काम गर्न लगाउने, नमाने शोषण, हिंसा, हत्या गर्ने, गराउने गरिन्थ्यो । हरम प्रचलनको प्रकृति हेर्दा यो कहींनकहीं अप्सरा संस्कारकै निरन्तरता हो भन्न सकिन्छ जो पछि हिरामंडी, मीना बजार, बेश्यालय, कोठी, नगरबधू हुदै अहिले रेडलाइट क्षेत्रसम्म आइपुगेको छ ।
जोहर– युद्ध हारेका देशका स्त्रीहरु अपरण परिने र हरममा थुपारीने त्रासले गरिने सामुहिक अग्निदाहलाई जोहर भनिन्छ । यो हरम संस्कारको अत्यन्तै विकृत अमानवीय परिणाम हो र जोहर नै सतीप्रथाको मूल जग हो भन्न सकिन्छ । इतिहासमा युद्ध मैदानबाट युद्ध हारेको खबर पठाएपछि स्त्रीहरुले जोहर गरिसकेपछि युद्ध जितेको तर आफ्नो देश फर्कदा देशका स्त्रीहरु सबै जोहरमा मरिसकेका कालो घटनाहरु पनि छन् ।
जनाइटल म्यूटीलेसन– स्त्रीहरुमा यौन चाहना नरहोस, परपुरुषहरुसंग यौन सम्पर्कमा नजाउन, एउटै पुरुषसंग मात्र बसुन भनेर सानै उमेरमा स्त्री यौनअंगको यौन आनन्द दिने अंग भगनासिका काटेर फालिने प्रचलनलाई जनाइटल म्यूटिलेसन भनिन्छ । यसलाई अनौपचारीक भाषामा स्त्रीलाई खसी पार्ने पनि भनिन्छ । भनिन्छ यसपछि स्त्रीहरुमा यौन चाहना रहदैन किनीकी उनीहरुले यौन क्रिडामा आनन्द लिन सक्दैनन् ।
समर्पण तथा भाकल– पूजा, पाठ, मठ, मन्दिर, कर्म-काण्ड, सेवा, भाकल तथा अन्य विभिन्न वहानामा वालिका तथा किशोरी स्त्रीहरुलाई बलि दिइन्छ, चढाइन्छ, भगवानको सेवक तथा दाषी राखिन्छ । यसरी चढाइएका तथा भाकल गरिएका स्त्रीहरुलाई विवाह गर्ने तथा गृह आश्रममा जाने अनुमति दिइदैन तर समाजका ठूलाठालु भनिनेहरुकहाँ पालैपालो यौन दाषी भएर बस्न अनुमति दिइन्छ । यौन दाषीहरुबाट जन्मेका स्त्री संतान यौन दाषी नै हुनछन् र पुरुष सन्तान यौन दाषीहरुलाई समाजका ठूलाठालुहरुकहाँ पुर्याउने, लाने तथा ल्याउने, यताउता मिलाउने आदि दलालको काम गर्दछन्, समाजमा उनीहरुको पेशा तथा पहिचान नै यही हुन्छ र अरु प्रकारले स्वीकार्य हुदैनन् । यस्ता कुप्रथाहरु स्त्रीमाथिको अर्को प्रकारको अमानवीय शोषण तथा भोगको निरन्तरता हो । यस्तै कुसंस्कार विस्तार समाजमा बेश्यावृत्तिको रुपमा स्थापित हुदै गए र स्त्री शोषणका श्रींखलाहरु बढिरहे ।
राजनीति– देश–देश विचको दौत्य सम्वन्ध कायम गर्न; ठूला र शक्तिशाली देशका महाराजाहरुलाई खुशी पार्न; अर्को देशबाट युद्धको विपत्तिमा सैन्य सहयोग प्राप्त गर्न; देशको आर्थिक शंकट टार्नकालागि आर्थिक सहयोग प्राप्त गर्न जुनसुकै उमेरका स्त्रीहरु चाहे दरवारका छोरी, दिदीबहिनी, बुहारी, सुसारे जोसुकैलाई यौन सेवा प्रदान गर्न उपहारका रुपमा, विवाह गराएर, सम्झौता गरेर, निश्चित समय तोकेर पठाउने तथा ल्याउने गरिन्थ्यो र अर्को देशको नागरीकले तथा आफूले जसरी चाह्यो उसैगरि ती स्त्रीहरुको प्रयोग तथा शोषण गर्ने गरिन्थ्यो । यस्ता कुप्रथाहरु स्त्रीमाथिको अर्को प्रकारको अमानवीय शोषण तथा भोगको निरन्तरता हो । यही कुसंस्कार विस्तार समाजमा छोरी तथा स्त्री पाल्देउ भनेर दाइजो दिने; दाइजो लिएर छोरी तथा स्त्री बेच्ने; आफ्नो काम बनाउन अरुको कोठामा स्त्री पठाउने, स्त्रीलाई समय तोकेर भाडामा दिने, सेवा प्रदान गर्न नगरबधुको दलाली गर्ने आदि रुपमा विकसित र स्थापित हुदैगयो र स्त्री शोषणका श्रींखलाहरु बढिरहे । यी सबै कुसंस्कारहरु कुनैनकुनै रुपमा बेश्यावृत्तिकै अर्को स्वरुप हुन् ।
सुन्दरता– पुरुषलाई प्रसन्न राख्न स्त्रीले सुन्दर बनिदिनुपर्ने बहानामा गरिएका शोषणहरु पनि उत्तिनै अमानवीय र कष्टदायक थिए र छन् । निश्चित आकार तथा लम्बाइ र चौडाइका गोडा भएका स्त्री सुन्दर हुन्छन् भन्ने मान्यता भएको समाजमा स्त्रीका गोडाकालाई आफूले चाहेको आकार–प्रकार दिन गोडा भन्दा साना आकारका फलामका जुत्ता लगाइरहन अह्राइन्थ्यो तथा आदेश दिइन्थो जसलाई फुट वाइन्डिगं प्रथा भनिन्छ । लामो घाँटी भएका स्त्री सुन्दर हुन्छन् भन्ने मान्यता भएको समाजमा स्त्रीका घाँटीमा बढ्दो उमेर संगसंगै धातुका रींगहरु थपिदै लगिन्थे, यो अझैपनि छ कतैकतै विश्वमा । गोरी स्त्री सुन्दर हुन्छन् भन्ने मान्यता भएको समाजमा स्त्रीलाई खतरनाक रसायन खुवाइन्थ्यो र त्वचामा खतरनाक रसायनहरु दल्न आदेश दिइन्थ्यो । त्यस्तै पातला(स्लीम) स्त्रीहरु सुन्दर हुन्छन् भन्ने मान्यता भएको समाजमा स्त्रीलाई आवश्यक खानपान तथा पोषणबाट बन्चित गरिन्थ्यो, मोटा स्त्रीहरु सुन्दर हुन्छन् भन्ने मान्यता भएको समाजमा स्त्रीलाई विशेष प्रकारको रसायन, अनावश्यक खानपान तथा पोषण जवरजस्ती खुवाइन्थ्यो । स्त्रीका शरीरका अंगहरु लचिला बनाउन, बंग्याउने, बाँध्ने, निरन्तर निश्चित तौल भएको बोझ बोकाउने गरिन्थ्यो । स्त्रीका शरीरका अंगहरुलाई इच्छ्याएको विषेश आकार–प्रकारमा ढाल्न अनेक प्रकारका अमानवीय प्रकृतिका मर्म चिकित्सा(अकुप्रेसर, अकुपंचर), शल्य चिकित्साका(सर्जरी) विधिहरु अपनाइन्थ्यो । यी सबै गतिविधिहरुले स्त्रीको जनजीवन अत्यन्तै कष्टकर बनाएका थिए तर उनीहरुलाई परिवार र समाजको अगाडि अस्वीकार तथा नाइनास्ती गर्ने स्वतन्त्रता थिएन, आदेशको अवज्ञा तथा प्रतिवाद भयानक परिणाम शोषण, हिंसा, हत्या भोग्नु पर्थ्यो । सुन्दरताका नाममा आधूनिक समाजमा गरिने प्लास्टीक सर्जरी, सिलीकन इम्प्लान्ट, शल्यक्रिया गरेर बोसो झिक्ने, अनावश्यक डाइटिगं, रसायनयक्त सौन्दर्यका सामग्रीहरुको प्रयोग आदि सबै यही प्रथाका बद्लिदो स्वरुपमा देखिएका तथा निरन्तरता पाइरहेका छन् ।
आधूनिक बेश्यावृत्ति– यी सबै कुरीति, कुप्रथा, कुसंस्कारहरुका पछाडि स्त्रीको शरीरको भोग नै थियो र रहदै आएको छ । आधूनिक विज्ञानको विकास संगसंगै स्त्रीभोग संस्कार परिवर्तित स्वरुपमा विश्व समाजमा झनझन फैलिदै गैरहेको छ । बेश्यावृत्तिका लागि स्त्रीको सहज उपलब्धता गराउन र बेचबिखन गर्न नक्कली विवाह; मानसम्मानको ढोंग र उच्च शिक्षा, धन तथा पेशा, व्यवसाय, जागीर तथा रोजगारीको प्रलोभन आदि दिएर स्त्रीमाथि थप शोषण तथा हिंसा बढाइ राखिएको छ ।
उपभोक्तवादी बजार– उपभोक्तावादमा स्त्रीको शरीर, शरीरका अंग र हाउभाउ देखाएर यौन तथा ग्ल्यामरको आडमा सामान बिकाउने रणनीति; स्त्रीहरुकालागि मात्र आविस्कार गरिका परिवार नियोजनका साधनहरु; स्त्रीकालागि मात्र बनाइएका पुरुषको लिंग आकारका लिप्स्टीक लगायतका श्रृंगारका सामग्रीहरु; स्त्रीहरुकालागि मात्र बनाइएका पुरुषको हात आकारका ब्रा तथा विकिनिका पहिरन तथा रजश्वलामा प्रयोग गरिने विविध सामग्रीहरु लगायत हाल खुव प्रचलनमा रहेको सेक्रेटरी, नर्श, एयर होस्टेज आदि संस्कार पनि स्त्रीको भोगकैलागि निरन्तरता दिदै आइएका गतिविधिहरु हुन् । इतिहासको पानामा दर्ज भएका स्त्री शोषणका यी दर्दनाक घटनाहरुलाई फर्केर हेर्दा पुरै मानवता लज्जाको विषाद तथा अवषादमा जकडिएको छ ।
स्त्रीले माथि उल्लेखित भूमिकामा पूर्णतः स्थित(फिट) रहन पढ्नु, शिक्षा लिनु तथा ज्ञान आर्जन गर्नु आवश्यक ठानिएन, बरु उल्टै बाठा होलान नटेर्लान, प्रतिवाद गर्लान भन्ने डरले जतिसक्दो शिक्षा ग्रहण गर्नबाट बन्चित नै राखियो र स्त्रीले पढ्नु हुदैन भन्ने मान्यता समाजमा स्थपित गराइयो किनकी अशिक्षित स्त्रीहरुलाई आफ्नो इशारामा नचनउन, नियन्त्रणमा राख्न, आफ्नो कुरा मनाउन, आफूले चाहे अनुसार भोग गर्न सहज हुने मान्यता थियो । यो सत्य पनि हो तिमी स्त्रीहरुलाई तिमीहरुको शरीरको भोगकोलागि जन्माइएको, हुर्काइएको र पालिएको हो भनेर उनीहरुको दिमागमा भ्रम भरेर उनीहरुलाई आफ्नो अनुकुल बनाइराख्न यसै गर्ने गरिनथ्यो । स्त्रीहरु पर्याप्त बाठा नभएकै कारण यस्ता कुरीति तथा कुसंस्कारहरुले आज पर्यन्त कुनैनकुनै रुपमा स्वरुप परिवर्तन गरेर व्यक्ति, परिवार, समाज, देश तथा विश्व समाजमा निरन्तरता लिदै आइरहेकै छन् । यसरी विगतमा विविध प्रपंचहरु गरेर स्त्रीलाई समग्रतामा शरीर नै बनाइयो र स्त्रीको मन, भाव, आत्मा अर्थात चेतनाको आन्तरीक आवाजलाई पूर्णरुपमा दबाइयो जसकोकारण पुरै स्त्रीजातिको मनको सोच, विचारको शक्ति, भावनाको भाव तथा प्रेमको शक्ति, आत्माको आत्मविश्वास तथा आत्मसम्मान क्रमशः गिर्दै गयो, मर्दै गयो । अझैपनि अधिकांश स्त्रीहरु यही अवस्थामा छन्, मात्र शरीरको जीवन जीरहेका छन् किनकी भय र अज्ञानताको कारण उनीहरुको आत्मा अर्थात चेतना भड्कीएको छ, भाव शुन्य भएको छ, मन मरेको छ, शरीर जीउदो लास सरह भएको छ, उनीहरु बाँचेर पनि मरिरहेका छन् ।
अध्यात्मको दृष्टिकोणमा स्त्रीको वास्तविकता के हो त ?
स्त्रीलाई केवल भौतिक शरीर र भोगको वस्तु ठानेर उनीमाथि जे जस्ता शोषण तथा अमानवीय व्यवहारहरु गरिएका भएपनि अध्यात्म विज्ञानको दृष्टिकोणमा स्त्री एक शरीर मात्र होइनन्, उनी उर्जा हुन्, शक्ति हुन्, स्त्री सबैको जीवनको श्रोत हुन् जो आफू जन्म मात्र लिन्नन्, जन्म दिन्छिन पनि त्यसैले उनी सृष्टिकी मूल हुन्, सृष्टि तथा सिर्जनकी सम्पूर्ण प्रक्रिया हुन् । स्त्री पुरुषबाट केही अर्थमा विलकुल भिन्न छिन, उनी रचनात्मक छिन्, उनी ग्रहणशील छिन्, उनी प्रतिरोध गर्दिनन्, समर्पण गर्छिन र यही नै उनको अनुपम सौन्दर्य हो, उसको अनुपम दिव्यता हो र अध्यात्म विज्ञानले परिभाषा गरेको वास्तविक स्त्री तथा स्त्रीत्व यही नै हो । तर समाजले यो गहन रहस्य बुझ्न नसकेका कारण निरन्तर आफ्नो स्वार्थकालागि स्त्रीहरुलाई दबाइराख्यो र स्त्रीसंगसंगै आफूपनि विकासको मार्गवाट पछाडि परिरह्यो । यसैको प्रतिफल स्वरुप स्त्रीहरुको अध्यात्म विज्ञानले गरेको वास्तविक स्त्रीत्वको परालौकिक गुण नष्ट भएर तथा हराएर गयो र स्त्रीहरु अनावश्यक रुपमा प्रतिवादी बन्दै गए जुन उनीहरुको वास्तविक गुण होइन, वास्तविक स्त्री तथा स्त्रीत्व होइन ।
स्त्री किन प्रतिवादी हुन्छन्
स्त्रीले स्वतन्त्रताको, समानताको लडाइ लडे तर यो लडाइमा उनीहरुले केही पाए केही गुमाए, कमसल पाए, बहुमूल्य गुमाए । उनीहरुले आफ्नो अलौकिक स्त्रीत्वको मूल गुण तथा स्वाभाव गुमाए । के समानता स्वतन्त्रता भनेको जे मन लाग्यो त्यही गर्न पाउने अवस्था हो ? अनि के समानता भनेको पुरुष सरह एकजस्तो हुनु हो ? कदापि होइन । परिवार, समाज तथा राज्यमा स्त्रीको स्वतन्त्रता र समानता गलत परिभाषाको शिकार भयो । स्वतन्त्रता र समानता भनेको स्त्री र पुरुष दुवै आ–आफ्नो तरिकाले आ–आफ्नो प्राकृतिक गुण तथा स्वाभावमा फूल्न, फक्रिन र फल्न पाउनु हो । स्वतन्त्रता र समानताको वास्तविक अर्थ नबुझेर आजका स्त्रीहरु ज्यादा प्रतिवादी भएका हुन्, स्त्रीहरुलाई उनीहरुका वास्तविक सवलिकरणका लागि प्रतिवादी बन्न होइन नयाँ प्रकारले आध्यात्मिक क्रान्ति गर्न अग्रसर गराउनु आजको टड्कारो आवश्यकता हो । bsirjana@gmail.com
छिट्टै,
स्त्रीको सवलिकरणमा अध्यात्म विज्ञानको भूमिका
महिला शोषण तथा हिंसाका सत्यतथ्य घटनाहरुमा आधारीत मुभि, डमुमेन्ट्री तथा टि.ती सोहरु-
झोला, कन्यादान, तिलहरी, झुमा, देउकी, आहिस्ता आहिस्ता, पाकिजा, हिरामंडी, राम तेरी गंगा मैली, लज्जा, मार्केट, अस्तित्व, फिलहाल, चोटी चोरी चुपके चुपके, महाराज, जज्वा, मम, पर्चड(Parched) , चिंगारी, लिपिस्टक अन्डर द बुर्का, थप्पड, पिंक, तलाइबी, वाटर, अर्थ, लक्ष्मी, प्रणाली, मातृभूमि, हिरोइन, फेसन, ककटेल, ह्याक्ड, मर्दानी, गजनी, गीतारानी, चांदनीबार, गदर, गुलाव ग्यांग, बेगमजान, गंगुबाई काठियाबाडी, पंगा, मिर्जा, मेरीकोम, राजी, कि और का, सत्यमेव जयते...
https://womendevelop24.blogspot.com/
****************************** *******
सन्दर्भ सामग्रीः ओशो ज्ञानगंगा तथा नारीवादका पाठ्यसामग्रीहरु
*लैंगिकता र विकासको विद्यार्थी, अध्यात्म साधक तथा वाचक ।
महिला विकासमा स्नाकोत्तर(Master's Degree), महिला सशक्तिकरणमा विद्यावारिधी(PhD)
No comments:
Post a Comment