'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Monday, 30 June 2025
















सनातन दर्शनको पुनरोत्थानमा जगतगुरु आद्य शंकराचार्यको भूमिका, खण्ड -७

                                                                        डा. सिर्जना भण्डारी

#अध्यात्म_दर्शन #सनातन_दर्शन #जीवन_दर्शन


“आफ्नो जीवनकालमा जगतगुरु आद्य शंकराचार्यको बारेमा नसुनेको, नजानेको, नबुझेको, नपढेको मानिसले सनातन धर्मको कखरा नै बुझेको छैन भन्दा हुन्छ ।”  –लोकप्रिय कवि तथा सनातन कथावाचक डा. कुमार विश्वास

बत्तिस वर्षको युवाअवस्थामै शरीर छोड्नु भएका जगतगुरु आद्य शंकराचार्यलाई तमाम सनातन धर्म तथा समाजले अतिइन्द्रियदर्शी महान सदगुरु; महान दार्शनिक; विलक्षण कवि तथा साहित्यकार; सनातन दर्शनको संरक्षण र प्रवद्र्धनका प्रखर महान योद्धा; र स्वयं भगवान शिवका अवतारको रुपमा जान्दछन्, मान्दछन् र पुज्दछन् । –आमविश्लेषण



(च)धार्मिक अभियान र सनातन धर्मको प्रवर्द्धन

जगतगुरु आद्य शंकराचार्यले सनातन धर्मको प्रचार–प्रसार, संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन तथा पुनरोत्थानका लागि आफ्नो जीवन रहुन्जेल सम्पूर्ण रुपले शारीरिक, वौद्धिक, मानसिक, भावनात्मक र चेतनात्मक ताकतको भरपूर सदुपयोग गर्नुभएको थियो । वहाँले गुरुकुलबाट सनातन दर्शनका मूल शास्त्रहरुको अध्ययन पूरा गरीसक्नु भएपछि देशभरिको आममानिस, समाज तथा धर्मको वास्तविक अवस्था बुझ्न पुरै देशको पैदल यात्रा प्रारम्भ गर्नुभयो र तत्कालीन समयमा व्याप्त रुपमा प्रचलित अवैदिक, असामाजिक, अराजक, विखण्डनकारी परम्पराहरुलाई चुनौती दिदै, क्रमशः सनातन धर्मका मूल ग्रन्थहरुमा भाष्य लेख्दै, मौलिक रचनाहरु गर्दै, प्रवचनहरु दिदै, आवश्यक शास्त्रार्थहरुको आयोजना गरेर अखण्ड विजय हासिल गरी देशभरि सनातन धर्मका भगवान, देवी, देवताहरुका मठ–मन्दिरहरुको जिर्णोद्दार, पुनरनिर्माण गर्दै आवश्यकता अनुसार फरक–फरक स्थानहरुमा नयाँ–नयाँ मठ–मन्दिरहरु, देवालय, गुरुकुल तथा पुस्तकालयहरुको स्थापना तथा निर्माण गरेर विलुप्त अवस्थामा पुगेको सनातन धर्मको प्रवद्र्धन तथा पुनरोत्थान गर्ने महाअभियान प्रारम्भ गर्नुभयो । 


सनातन धर्म प्रवर्द्धनको गुरु योजना निर्माण

भनिन्छ सनातन धर्मावलम्विहरुको कुनै पनि संस्कार तथा परम्पराहरु आदिगुरु शंकराचार्यको कथनबिना शुरु पनि हुदैन र अन्त्य पनि हुदैन । अधिकंश पूजा, पाठ, यज्ञ, होम, अनुष्ठान, कर्मकाण्डहरुमा वहाँद्वारा रचित स्तोत्र, स्तुति, श्लोक, भजनगान दोहोर्याइन्छन् र यी संस्कारहरुमा वहाँलेनै बसालिदिनु भएका परम्परा तथा परिपाटीहरुको अनुशरण गर्ने गरिन्छ । तत्कालीन कालखण्डमा भारत देश क्षेत्रफलका आधारमा अत्यन्तै ठूलो रहेकोले त्यहाँ धेरै प्रकारका वंश, जात, वर्ग, मूल्यमान्यताहरु भएका सम्प्रदाय, समुदाय तथा समाजहरु थिए, ती सबैलाई एकत्वमा जोडेर उनीहरुकोविचमा सामनजस्यता कायम राख्न सकिएन भने समाजमा विकृति अझै बढ्दै जानेछ; उनीहरुले दुःख पाउनेछन्; सर्वसाधारणको कल्याण हुनेछैन; उनीहरु सामाजिक कठिनाइ, भौगोलिक विकटता तथा दुरीका कारण एकआपसबाट पृथक हुनेछन् र एकत्वमा आउन मुस्किल हुनेछ; उनीहरुको आ–आफनो मान्यताका कारण र अन्य कारणले एकले अर्कोलाई जान्न मुस्किल हुनेछ र विखण्डन अझ बढेर जानेछ; र वाहिरका विस्तारवादी युद्ध पिपासुहरुले सजिलै नियन्त्रणमा लिन सक्नेछन् भन्ने विषयको अन्तर्य र गांभिर्यतालाई राम्ररी बुझेर आदिगुरु शंकराचार्यले सनातन धर्म प्रचार–प्रसार तथा प्रवद्र्धनको अभियान संचालन गर्नु भएको थियो । यो समस्याको उचित समाधान गर्न वहाँले वैज्ञानिक ढंगबाट पुरै देशको सबैतिरबाट विस्तृत जानकारीहरु संकलन गरेर सनातन धर्मको विकास तथा प्रवद्र्धन अभियानलाई सुत्रवद्ध किसिमले अगाडि बढाउने विचार गर्नुभयो र उपयुक्त तथा प्रभावकारी योजना निर्माणको खाकाको तयारीमा जुट्नु भयो ।  


आदिगुरु शंकराचार्यले सबै प्रकारका शास्त्रार्थहरुमा उच्चकोटीका मानिएका विभिन्न वैदिक तथा अवैदिक धर्म, सम्प्रदायहरुका धेरै पंडित, गुरु, विचारक तथा दार्शनिकहरुलाई पराजित गरेर अखण्ड विजयी हुदै वहाँले पुरै देशभरि उत्तरदेखि दक्षिणसम्म र पूर्वदेखि पश्चिमसम्म कहाँ के–कस्ता प्रकारका आध्यात्मिक तथा धार्मिक सुधारहरुको आवश्यकता छ भनेर जान्न र सनातन धर्मको प्रचार–प्रसारको अभियानलाई अझ तिब्रता दिन देश दौडाहामा निस्किनु भयो । देशको कुनाकाप्चा सबैतिर भ्रमण गरेर, सबैतिरको वास्तविक अवस्था र आवश्यकताको टिपोट गरेर सनातन धर्मको प्रवद्र्धन तथा पुनरोत्थान गर्नकालागि अत्यन्तै प्रभावकारी आध्यात्मिक तथा धार्मिक विकासको खाका तयार गरेर सोही खाका अनुसार परिणाममुखी गुरुयोजना(मास्टर प्लान)को निर्माण गर्नुभयो । वहाँको मूल उद्देश्य, लक्ष्य तथा आशय समाजमा छरिएर रहेका सबै सनातनीहरु र अन्य सम्प्रदायहरुलाई समेत एकत्वमा बाँधेर चुस्त मानवीय समाजको स्थापना गर्नु थियो । गुरु योजनाको निर्माण पश्चात यसलाई प्रभावकारीताकासाथ कार्यान्वयन गर्दै सबै सम्प्रदायका मानिसहरुलाई एकत्वमा ल्याउने महान अभियानलाई तिब्रता र व्यापकता दिनुभयो । यसक्रमा आदिगुरु शंकराचार्यले निम्न तीन प्रकारका मूल धार्मिक अभियानहरु चलाउनु भयो– (१)चार दिशामा चार पवित्र धाम तथा मठको स्थापना, (२)दशनामी संयास सम्प्रदाय तथा परम्पराको स्थापना, र (३)तीन प्रकारका धर्म सेनाहरु तैनाथ ।


चार दिशामा चार पवित्र धाम तथा मठको स्थापना

सनातन धर्ममा चार अंकको अत्यन्तै गहन आध्यात्मिक तथा धार्मिक महत्व र मूल्यमान्यता रहदै आएको छ । यसकारण सनातन धर्ममा प्राचीनकालदेखि नै धेरै प्रकारका चार अंकका संस्कार तथा परम्पराहरु मनाउदै तथा अनुशरण गर्दै आइरहिएको छ चार दिशा, चार वर्ण, चार पुरुषार्थ, चार आश्रम, चार धाम चार कीला आदिका रुपमा । धामको अर्थ एक विशेष प्रकारको पवित्र स्थान भनेर लगाउने गरिन्छ जहाँ अनन्त रुपमा दिव्य सकारात्मक उर्जाको प्रवाह निरन्तर भैरहन्छ । सनातन शास्त्रहरुमा उल्लेख गरिए अनुसार वर्तमानमा चार धाम रहेका पवित्र स्थलहरुलाई सृष्टिका पालनकर्ता भगवान श्रीहरि विष्णुले अत्यन्तै रुचाउनु हुन्छ र आफ्नो नित्य दैनिकीमा उपयोग गर्नुहुन्छ भन्ने विश्वास गरिन्छ । भगवान श्रीहरि विष्णु विहान दक्षिणको रामेश्वर धाममा स्नान गर्नुहुन्छ र क्रमशः पूर्वको जगन्नाथ धाममा भोजन गर्नुहुन्छ, उत्तरको बद्रिनाथ धाममा ध्यान गर्नुहुन्छ र पश्चिमको द्वारका धाममा आराम गर्नुहुन्छ भन्ने विश्वास रहदै आएको पाइन्छ । यसैकारण सनातन धर्ममा यी चार महत्वपूर्ण सनातन वैदिक महत्व रहेका पवित्र स्थानलाई एकैसाथ जोडेर पवित्र चार धाम भनिएदै आइएको छ । सनातन कालदेखिनै धार्मिक दृष्टिकोणले उच्च महत्व र मूल्यमान्यता रहदै आएका यी चार पवित्र स्थानहरुको माध्यमबाट सनातन धर्मको प्रवद्र्धन र पुनरोत्थान गर्ने महाअभियानमा सबै सनातनीहरुमा अझ थप उत्साह तथा बल मिल्ने अनुमान गरेर इशाको आठौं शताव्दीमा आदिगुरु शंकराचार्यले यीनै पवित्र धार्मिक स्थलहरुलाई विशेष प्रकारले विकास गरेर सनातन धर्मको प्रचार–प्रसार र विकास गर्ने गुरु योजना तयार गर्नुभयो । यी चार पवित्र धामहरुलाई विभिन्न प्रकारले एकआपसमा जोडेर आदिगुरु शंकराचार्यले समाजमा सनातन धर्मको आधारशिला मजबुत बनाउन धेरै प्रकारका संस्कार तथा परीपाटीहरुको शुरुआत गरेर सनातन धर्मको स्थाइत्वमा महत्वपूर्ण योगदान प्रदान गर्नु भयो जो अधावधिक सर्वमान्य रहदै आएका छन । हरेक सनातन धर्मावलम्विले आफ्नो जीवनकालमा एकपटक अनिवार्य रुपमा पवित्र चार धाम तीर्थस्थलहरुको दर्शन गर्नुपर्छ भन्ने मान्यता रहदै आएको छ । पवित्र चार धामको दर्शन गर्नाले दर्शनाभीलासीहरुका हरप्रकारका पापहरु मोचन हुन्छन् र उनीहरुलाई सकारात्मक उर्जा प्राप्त हुन्छ र जीवन सहज तथा सरल हुन्छ भन्ने विश्वास तथा मान्यता रहदै आएको पाइन्छ । 



सनातन धर्मको पुनरोत्थान र पुनरस्थापनाको महाअभियानलाई सहजतापूर्वक अगाडि बढाउन सर्वप्रथम आदिगुरु शंकराचार्यले सनातन धर्मको विकास तथा प्रवद्र्धनकालागि आफूले तयार गर्नुभएको गुरु योजना अनुसारनै सनातन वेदका उपासक तथा अनुशरणकर्ता सबै सनातनीहरुलाई एकत्वमा ल्याउने महान अभिप्रायले वैज्ञानिक तवरले देशका आध्यात्मिक तथा धार्मिक दृष्टिकोणले उच्चतम महत्व भएका सर्वाधिक उपयुक्त पवित्र चार स्थानहरु रोजेर सनातन दर्शनको महाज्ञान तथा विज्ञान चार वेदको सिद्धान्तको आधारमा देशका चार दिशामा चार धाम तथा मठहरुको स्थापना गर्नुभयो– (१)दक्षिणमा रामेश्वर धाम, (२)पूर्वमा जगन्नाथ धाम, (३)उत्तरमा बद्रिनाथ धाम, र (४)पश्चिममा द्वारका धाम । तत्कालीन समयमा अवैदिक मतहरुको अधिक बोलबाला रहेकाकारण लोप हुने अवस्थामा पुगेको सनातन धर्मलाई निरन्तर अघि बढाउने उद्देश्यले सबैकालागि संधैकालागि उपयुक्त र प्रभावकारी हुनेगरि यी धामहरुमा विशिष्ट प्रकारका नयाँ संस्कार तथा परम्पराहरुको शुरुआत गराउनु भयो । त्यसयता सनातन धर्मको आधारशिला मजबुत गर्नकालागि आदिगुरु शंकराचार्यले शुरु गर्नुभएका सनातन संस्कार, परम्परा तथा वहाँले प्रदान गर्नुभएका सनातन ज्ञानहरुलाई निरन्तर अगाडि बढाउने र संरक्षण गर्ने काम यीनै पवित्र चार धाम तथा मठहरुबाट भइरह्यो र अद्यावधिक हुदै आइरहेको छ । 



सनातन धर्मको जग र परम्परा अझ मजबुत बनाउनका लागि नयाँ पिढीले सहजै सनातन शास्त्रहरुमा रहेका ज्ञान, विज्ञान, महाज्ञान हासिल गर्न सकुन भन्ने आशयले आदिगुरु शंकराचार्यले चार वेदको प्रवद्र्धन हुनेगरि सनातन वेदको अध्ययन अध्यापन गर्न सहज गराउन पवित्र चार धाममा एक धाममा एउटा वेद शास्त्रको अध्ययन, अध्यापन गराउने व्यवस्था प्रारम्भ गरेर पवित्र चार धामलाई धार्मिक तथा सांस्कृतिक रुपले सनातन ज्ञान, विज्ञान, महाज्ञानको मूलश्रोत वेदसंग नयाँप्रकारले जोडिदिनु भयो । सनातन हिन्दु धर्ममा यी पवित्र चार धामहरु एकआपसमा अतुलनिय(इनकमपेरेवल) तथा परिपूरक(इनसेपेरेवल) रहेका छन् । यसरी धर्म र अध्यात्मको संयोजनबाट देशभरि विभिन्न सम्प्रदाय तथा समुहहरुमा छरिएर रहेका सनातनीहरुको विविधतामा चलिरहेको संस्कारलाई एकसुत्रमा ल्याउने तथा समेट्ने अभिप्रायले आदिगुरु शंकराचार्यले पवित्र चार धामका पूजा, पाठ, यज्ञ, होम, अभिषेक आदि गर्ने परम्पराहरु एकअर्काका परिपूरक हुनेगरि विवेकपूर्ण र तर्कपूर्ण ढंगले एकआपसमा जोड्ने व्यवस्था मिलाउनु भयो । भारतको उत्तराखण्ड राज्यको उत्तर दिशामा पर्ने केदारनाथ धाम र बद्रिनाथ धामका पूजारीहरु दक्षिण भारतबाट ल्याउने परम्परा बसालिदिनु भयो । दक्षिणका धामहरुमा गंगोत्री(उत्तरकाशी)को जलले अभिषेक गर्ने परम्परामा बाँधिदिनु भयो र पवित्र चार धामविच परिपुरकताको संस्कार बसालिदिनु भयो । यी पवित्र चार धामविच चिरकालसम्म निरन्तर सम्वन्ध तथा समन्वय बनिरहोस र नयाँ पिढीले देशको चारैकुनामा गएर चारवटै पवित्र धाम तथा मठ लगायत देशको भौगोलिक, वातावरणीय, प्राकृतिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्थाहरुको जानकारी लिदै चार वेद र अन्य सनातन शास्त्रहरुको अध्ययन गरुन र आध्यात्मिक तथा धार्मिक ज्ञान हासिल गरुन भन्ने उद्देश्यले वैज्ञानिक दृष्टिकोण अनुसार देशको चारैतिर चार वेदको प्रचार–प्रसार तथा प्रवद्र्धन गर्न पवित्र चार धाम तथा मठहरुको चयन गर्नुभएको थियो । आदिगुरु शंकराचार्यले पवित्र चार धाम तथा मठहरुको स्थपनाकासाथै विभिन्न कारणले देशभरिका बेस्याहार भएका, बन्द भएका, जिर्ण भएका, पूजाआजा गर्न बन्दगरीएका, वेवास्ता गरिएका धार्मिक स्थल, मठमन्दिरहरु, देवालय, गुरुकुल, पुस्तकालयहरुको जिर्णोद्धार, पुनरनिर्माण, संरक्षण र आवश्यकता अनुसार नयाँ स्थापना गर्न प्रभावकारी योजनाहरु बनाएर व्यवहारिक रुपमा कार्यान्वयन गर्दै परिणाममुखी कामको अभियानमा जोड दिनुभयो । आदिगुरु शंकराचार्यद्वारा भारत देशको चार दिशामा स्थापना तथा निर्माण गरिएका यति धेरै महत्व बोकेका पवित्र चार धाम तथा चार मठहरु निम्न अनुसार रहेका छन्–


दक्षिणमा यजुरवेदमा आधारीत रामेश्वर धाम 

भारतको तमिलनाडु राज्यमा स्थित पवित्र रामेश्वर धाम रामानाथ स्वामीको नामबाट पनि जानिन्छ र खासगरि यो पवित्र धाम भगवान शिवप्रति समर्पित रहेको छ । त्रेतायुगमा रामायण युद्धकालमा रावणको लंकासम्म पहुच बनाउन समुद्रमाथि रामसेतु पुलको निर्माण गर्नुअघि यस पवित्र स्थलमा रामेश्वर मन्दिर बनाएइको थियो । पवित्र रामेश्वर धाम चार धाम मध्य एक हो र पवित्र बाह्र ज्योर्तिलिंग मध्य एक हो । रामायण कालमा रावणसंग युद्ध लड्न जानुपूर्व भगवान श्रीरामले यही स्थलमा स्नान गरेर भगवान शिवको शिवलिंग स्थापना गरि जप, तप, आराधना गर्नुभएको थियो र रावणको लंका जितेर फर्कदा पनि यही पवित्र स्थलमा भगवन शिवको आराधना गरेर भगवान श्रीरामले भगवान शिवप्रति विजय आशिर्वादकालागि कृतज्ञता भाव प्रकट गर्नुभएको थियो । वास्तुकलामा उत्कृष्ट मानिने यस पवित्र रामेश्वर धाममा रामसेतु पुलको ठूलो पुण्य महिमा रहेको पाइन्छ । यस पवित्र धामको दर्शन गर्दा सबै भगवानहरुको दर्शन हुने, सबै भगवानहरुको आशिर्वाद तथा कृपा प्राप्त हुने र प्राप्त हुने पुण्य प्राप्त हुने विश्वास गरिन्छ । सनातन यजुरवेदको सिद्धान्तका आधारमा स्थापना गरिएको यस पवित्र धामको ध्ययवाक्य तथा महावाक्य “अहं ब्रम्हास्मि” अर्थात म स्वयंनै ब्रम्ह हुँ भन्ने रहेको छ । यस धामको गुरुकुलमा सनातन शास्त्रहरुको अध्ययन गर्ने शिष्यहरुले संयास दिक्षा लिएपछि उनीहरुको नामको पछाडि सरस्वती, भारती, पुरी जोडिन्छ र यी विशेषणले पुकारिन्छ तथा सम्वोधन गरिन्छ ।



पूर्वमा ऋगवेदमा आधारीत जगन्नाथ धाम 

भारतको उडिसा राज्यको पुरीमा स्थित रहेको पवित्र जगन्नाथ धाम जगतका नाथ जगन्नाथ अर्थात सृष्टिका पालनहार भगवान श्रीहरि विष्णुका अवतार जगन्नाथप्रति समर्पित रहेको छ । यस पवित्र धाममा मूल प्रतिमा चन्दनको काठबाट निर्माण गरिएको भगवान जगन्नाथ र भगवती बिमलाको स्थापना गरिएको छ । यस धामको इतिहास प्राचीन ऋगवेद कालसम्म पुग्ने भएको कारण जगन्नाथ धाम ऋगवेदको सिद्धान्तको आधारमा स्थापना गरिएको हो । यस पवित्र जगन्नाथ धामको ध्ययवाक्य तथा महावाक्य “प्रज्ञानं ब्रम्ह” अर्थात ज्ञान नै ब्रम्ह हो, ज्ञान प्राप्त गर्यौ भने ब्रम्हलाई प्राप्त गर्छौ भन्ने रहेको छ । यस धामको गुरुकुलमा सनातन शास्त्रहरुको अध्ययन गर्ने शिष्यहरुले संयास दिक्षा लिएपछि उनीहरुको नामको पछाडि आरन्यक जोडिन्छ  यही विशेषणले पुकारिन्छ तथा सम्वोधन गरिन्छ । छुवाछुतको अन्धविश्वासबाट मुक्त रहेको यस पवित्र धाममा सबै धर्म, जात, वर्गका तीर्थयात्रीहरु एकसाथ बसेर भोजन तथा प्रसाद ग्रहण गर्दछन् । पवित्र जगन्नाथ धाममा हरेक दिन हजारौं तीर्थयात्रीहरुका लागि सेवा भावले नि:शुल्क भोजन तथा प्रसाद प्रदान गरिन्छ । सर्वप्रथम भगवान श्रीहरि विष्णुकालागि ५६ भोग तथा महाप्रसाद तयार गरिन्छ, भगवानको लागि भोग लगाइसकेपछि त्यही भोजन महाप्रसादका रुपमा सबै तीर्थयात्रीहरुलाई वितरण गरिन्छ ।


उत्तरमा अथर्ववेदमा आधारीत बद्रिनाथ धाम 

भारत देशको उत्तराखण्ड राज्यको अलकनन्द नदिको किनारमा स्थित रहेको पवित्र बद्रिनाथ धाम सृष्टिका पालनकर्ता भगवान श्रीहरि विष्णुको आराधनाका लागि स्थापना गरिएको हो र यस स्थलमा अरु साना–साना चार धामहरु– बद्रिनाथ, केदारनाथ, गंगोत्री, यमुनोत्री पनि रहेका छन् । पवित्र बद्रिनाथ धाममा मूल प्रतिमा शालीग्राम पत्थरले बनाइएको श्रीहरि विष्णु अर्थात नारायण र भगवती पूर्णदेवीको रहेको छ । भगवान श्रीहरि विष्णुको यो मन्दिर हिउदको मौसममा अत्यधिक ठण्डी हुने भएकोले बर्षमा छ महिना मात्र खुला राख्ने गरिन्छ र बाँकी छ महिना अखण्ड दिप बल्न छ महिनाकोलागि आवश्यक पर्ने वर्तनको जोहो गरेर दर्शनाभिलासीहरुका लागि धामको मूलद्वार बन्द गरिन्छ । सनातन अथर्ववेदको सिद्धान्तको आधारमा स्थापना गरिएको यस पवित्र धामको ध्ययवाक्य तथा महावाक्य “अयम आत्मा ब्रम्ह” अर्थात आत्मा आफैंमा ब्रम्ह हो, आत्मा नै परमात्मा हो भन्ने रहेको छ । पवित्र बद्रिनाथ धामलाई ज्योर्ति मठ, ज्योतिष मठ तथा जोशी मठ नामले पनि चिनिन्छ । यस धामको गुरुकुलमा सनातन शास्त्रहरुको अध्ययन गर्ने शिष्यहरुले संयास दिक्षा लिएपछि उनीहरुको नामको पछाडि गिरी, पर्वत, सागर जोडिन्छ र यी विशेषणले पुकारिन्छ तथा सम्वोधन गरिन्छ । यस पवित्र स्थानमा भगवान श्रीहरि विष्णुले मानवताको उद्धारकालागि १००० बर्ष तपस्या तथा ध्यान गर्नुभएको थियो भन्ने किंवदन्ति रहदै आएको छ ।


पश्चिममा सामवेदमा आधारीत द्वारका धाम

भारतको गुजरात राज्यको गुम्ती नदिको किनारमा स्थित द्वारका धामलाई श्री द्वारकाधिस मन्दिरको नामले बढि जानिन्छ र सृष्टिका पालनकर्ता भगवान श्रीहरि विष्णुका १६ कलाले युक्त महाअवतार द्वारकाधिस श्रीकृष्णको नगरी पनि भन्ने गरिन्छ । मानव सर्वकल्णका लागि सनातन हिन्दु धर्मको मूल ग्रन्थ श्रीमद् भगवद् गीताका प्रणेता भगवान श्रीकृष्णको सनातन हिन्दु धर्ममा विशेष स्थान र दिव्य महिमा अनन्त र अवाच्य रहदै आएको छ । सामवेदको आधारमा स्थापना गरिएको यस पवित्र धामको ध्ययवाक्य तथा महावाक्य “तत्वमसि” अर्थात तिमी नै ब्रम्ह हौ भन्ने रहेको छ । यस धामको गुरुकुलमा सनातन शास्त्रहरुको अध्ययन गर्ने शिष्यहरुले संयास दिक्षा लिएपछि उनीहरुको नामको पछाडि आश्रम, तीर्थ जोडिन्छ  यी विशेषणले पुकारिन्छ तथा सम्वोधन गरिन्छ । 


सनातन हिन्दु धर्मका अनुसार यदि कोही व्यक्ति आफ्नो जीवनकालमा यी चारवटै पवित्र धाम तथा मठहरुको तीर्थयात्रा गर्छ, दर्शन गर्छ भने उसको मोक्ष प्राप्तिको मार्ग सहज हुन्छ । आदिगुरु शंकराचार्यले पवित्र चार धाम तथा मठहरुबाट चार वटा वेदहरुको अध्ययन गर्ने व्यवस्था मिलाउनु भए अनुसार वहाँको अन्त्यपछि कयौं वर्षसम्म ब्राम्हणहरुले दशनामी सम्प्रदायका संयासीहरुबाट वेदको अध्ययन गर्ने तथा ज्ञान लिने गर्दै आए । आदिगुरु शंकराचार्यले पवित्र चार धाम तथा मठहरुको स्थापना गरेर सनातन धर्मको ज्ञान तथा दर्शन संरक्षण र विस्तार गर्न हरेक मठहरुमा गुरु तथा पुजारी नियुक्त गने व्यवस्था गरेर उपयुक्त प्रकारको पूजाविधिको परिपाटी बसालिदिनु भयो र गुरु-शिष्य परम्परा प्रारम्भ गर्नुभयो । यी पवित्र धाम तथा मठका पूजारीहरु सबैलाई वर्तमान समयमा पनि 'शंकराचार्य' नामले सम्वोधन गर्ने गरिन्छ । आजभन्दा १३०० वर्षअघि(अनुमानित) स्थापना गरिएका यी पवित्र चार धामहरुले आजपर्यन्त सनातन धर्मको निरन्तर संरक्षण र विस्तार गरिरहेका छन् । आदिगुरु शंकराचार्यको यी मठहरुको स्थापना गर्नुको प्रमुख उद्देश्य यी मठहरुको निरन्तरताको माध्यमबाट सनातन धर्मको संरक्षण तथा प्रवद्र्धन गर्न सकियोस र सनातनी समाज सुव्यवस्थित होस् तथा गर्न सकियोस भन्ने थियो । आदिगुरु शंकराचार्य सनातनदेखिनै आध्यात्मिक तथा धार्मिक महत्व रहेका यी पवित्र चार धाम तथा मठहरुको स्थापनाको साथै मानिसहरुको मानसपटलबाट विलुप्त भैसकेका १२ ज्योर्तिलिंगहरुको पनि उत्खनन् गर्नुभयो र उक्त स्थलहरुमा उचित प्रकारका मठ, मन्दिर तथा देवालयहरुको निर्माण तथा व्यवस्थापन गरेर निरन्तर तीर्थाटन, धार्मिक भ्रमण तथा इश्वर दर्शनको परम्परा चलाउनु भयो । आदिगुरु शंकराचार्यको अन्त्यपछि यी पवित्र चार धाम तथा मठहरुको व्यवस्थापन र आर्थिक पक्ष अलिक कमजोर हुन थाल्यो । यहीकारण  संयासीहरु मठ छोडेर हिड्न तथा समाजमा मिसिन थाले, केही विवाह गरेर गृहस्थ आश्रममा प्रवेश गरे, केही जंगल तथा गुफातिरको एकान्त वासमा गए । गृहस्थ आश्रम अपनाएर समाजमा मिसिएपनि संयासीहरुका लागि सनातन हिन्दु समाजमा छुट्टै प्रकारका नीति, नियम, संस्कार तथा परम्पराहरु रहेका छन् । संयासीहरु जनै लाउदैनन्, टुप्पि पाल्दैनन् र मृत्यु संस्कार पनि गर्दैनन् । bsirjana@gmail.com

छिट्टै
(२)दशनामी संयास सम्प्रदाय तथा परम्पराको स्थापना ।
(३)तीन प्रकारका धर्म सेनाहरु तैनाथ ।


Friday, 27 June 2025

सनातन दर्शनको पुनरोत्थानमा जगतगुरु आद्य शंकराचार्यको भूमिका, खण्ड -६

 डा. सिर्जना भण्डारी

#अध्यात्म_दर्शन #सनातन_दर्शन #जीवन_दर्शन


शास्त्रार्थमा सहभागिता र अखण्ड विजयी


“आफ्नो जीवनकालमा जगतगुरु आद्य शंकराचार्यको बारेमा नसुनेको, नजानेको, नबुझेको, नपढेको मानिसले सनातन धर्मको कखरा नै बुझेको छैन भन्दा हुन्छ ।”  –लोकप्रिय कवि तथा सनातन कथावाचक डा. कुमार विश्वास

बत्तिस वर्षको युवाअवस्थामै शरीर छोड्नु भएका जगतगुरु आद्य शंकराचार्यलाई तमाम सनातन धर्म तथा समाजले अतिइन्द्रियदर्शी महान सदगुरु; महान दार्शनिक; विलक्षण कवि तथा साहित्यकार; सनातन दर्शनको संरक्षण र प्रवद्र्धनका प्रखर महान योद्धा; र स्वयं भगवान शिवका अवतारको रुपमा जान्दछन्, मान्दछन् र पुज्दछन् । –आमविश्लेषण


(ङ)शास्त्रार्थमा सहभागिता र अखण्ड विजयी

शास्त्रार्थको पृष्ठभूमि

शास्त्र+अर्थ=शास्त्रार्थमा स्पष्ट नभएका, मतभेद भएका तथा विवादित विषयहरु मिलाउर सहमतिमा ल्याउने प्रयास गरिन्थ्यो । सम्वन्धित विषयका विज्ञहरुविच शास्त्रमा उल्लेखित मतहरुको व्याख्या तथा विश्लेषण गर्दै सही अर्थ लगाएर गरिने वौद्धिक छलफल तथा अन्तरक्रियात्मक औपचारीक वादविवाद(डिबेट) कार्यक्रमलाई प्राचीन समयमा शास्त्रार्थ भन्ने गरिन्थ्यो जसमा तोकिएको विषयमाथि शास्त्रहरुमा उल्लेखित मतहरुको अर्थ लगाएर पुष्टी गर्ने प्रयास गरिथ्यो । शास्त्रार्थमा एक पक्षको हार र अर्को पक्षको जित हुन्थ्यो र जित्ने पक्षको मत तथा विचार सही मानेर र सैद्धान्तिक तथा व्यवहारिक मान्यता प्रदान गरिन्थ्यो ।


सनातन दर्शनमा मतभेद

सनातन दर्शनको इतिहासमा अद्वेत वेदान्त दर्शनका प्रणेता आदिगुरु शंकराचार्य र मीमांशा दर्शनका महापंडित मण्डन मिश्रविच भएको शास्त्रार्थ र आजन्म ब्रह्मचारिणी विदुषी गार्गी वाचक्नवी र महर्षि याज्ञ वल्क्यविच भएको शास्त्रार्थलाई विशेष मान्यता दिइदै आइएको पाइन्छ जसले सनातन दर्शनमा ब्रम्ह र ब्रम्हाण्डको वास्तविक सत्यको सन्दर्भमा महत्वपूर्ण विषयहरुमा ज्ञानको श्रींखला थपेर सनातन दर्शनमा राम्ररी स्पष्ट नभएका तथा नबुझिएका, मतभेद भएका र विवादित विषयहरुलाई स्पष्ट पारेर आमरुपमा सामान्यीकरण गर्न अभुतपूर्व योगदान पुर्याएका थिए । आदिगुरु शंकराचार्य र महापंडित मण्डन मिश्र दुवै सनातनी हुनुहुन्थ्यो र दुवैले सनातन वेद ग्रन्थको अध्ययन गर्नुभएका वेदअभ्यासी हुनुहुन्थ्यो । यसको वावजुद वहाँहरुविच किन मतभेदको अवस्था बन्यो र किन ३२ दिन लामो शास्त्रार्थ गर्नुपर्यो ? सनातन दर्शनमा बारम्बार भैरहने मतभेदहरुका कारणहरु जानौं–


सनातन दर्शनमा आदिकालदेखिनै सनातन वेदलाई हरप्रकारले बुझ्ने र व्याख्या गर्ने प्रयासहरु हुदै आइरहेका छन् । प्राचीनकालमा तत्कालीन वैज्ञानिक तथा हाम्रा पूर्खा ऋषिमुनिहरुले र पछिल्लो पिढीका युगपुरुषहरु(विकसित आत्मा अर्थात चेतना)ले योग तथा ध्यान साधनाका विभिन्न प्रयोगात्मक अभ्यासहरु गरेर वेदको ज्ञान तथा मतलाई प्रामाणिक रुपमा बुझ्ने तथा बुझाउने प्रयास गर्दै आउनु भएकोछ । यसै सन्दर्भमा जव–जव दर्शनको विषय आउछ विशेषगरि यो ब्रम्हाण्ड कसरी बन्यो; कहिले बन्यो; कसले बनायो; ब्रम्हाण्ड कसरी चलिरहेको छ; जीव, वनस्पति, पदार्थको उत्पत्ति कसरी र किन भयो; जीवहरुमा मनुष्यको जाति उत्कृष्ट कसरी भयो र किन भयो आदि विषयहरुमा मूलप्रश्न तथा आमजिज्ञासाहरुको समाधान गर्ने क्रममा विभिन्न समयमा विभिन्न मत, दर्शन तथा विज्ञानहरु प्रदिपादन गरिदै आइएका थिए र छन् । प्राचीन ऋषिमुनिहरुले यी प्रश्नहरुको समाधान सनातन वेद ग्रन्थमा खोज्ने प्रयास गर्नुभयो, यसक्रममा सनातन दर्शनमा सर्वप्रथम छ प्रकारका मत तथा दर्शनहरु अस्तित्वमा आए जसलाई सनातन षटदर्शन भनिन्छ । यी षटदर्शनहरुले आ–आफ्नो प्रकारले सनातन वेदको ज्ञानलाई मान्दछन् तथा अनुशरण गर्दछन्, यसैकारण यीनलाई आस्तिक दर्शन भनिन्छ । सांख्य, योग, न्याय, वैशेषिक, पूर्व मीमांसा, उत्तर मीमांसा अर्थात वेदान्त षटदर्शन हुन् । षटदर्शनपछि सनातन अध्यात्मको इतिहासमा अरु दर्शनहरु पनि प्रतिपादन भए जसले वेदको ज्ञान तथा मतमाथि प्रश्न खडा गरे । केही दर्शनले वेदलाई प्रामाणिक मानेका छन् भने केही प्रश्न खडा गर्ने दर्शनहरुले वेदको प्रामाणिकतामाथि खण्डन गर्दै प्रश्न उठाएका छन् र फरक प्रकारले एउटा तार्किक निष्कर्ष निकाल्ने प्रयास गरेका छन् । षटदर्शन मध्यमै मीमांसा दर्शनले वेदलाई प्रमाणको आवश्यकता छैन यो स्वतः प्रामाणिक छ भन्ने मत पेश गरेकोछ भने न्याय दर्शनले वेदको प्रामाणिकतामाथि प्रश्न उठाएको छ । सनातन दर्शनहरुविच चलिरहेको यो निकै पूरानो मतभेद हो र अधावधिक चलिरहेकै छ जवकि यी दुवै दर्शन सनातन वेदबाट नै निसृत भएका हुन् । पछिल्लो कालखण्ड(इशापूर्व ५००)मा प्रादुर्भाव भएका प्रमुख पूर्वीय सनातन बौद्ध दर्शन, जैन दर्शन, चार्वाक दर्शनहरुले वेदका विषय र यी विषयहरुको प्रामाणिकतामाथि ठाडो चुनौति दिएका थिए । वेदको मत तथा विषय नमानेका तथा अनुशरण नगरेका कारण यी तीन दर्शनलाई नास्तिक दर्शनको कोटीमा राखिएको छ ।


त्यस्तै कर्मको सिद्धान्तको विषयमा पनि मीमांसा दर्शन र वेदान्त दर्शनविच मतभेतद रहेको छ । मीमांसा दर्शनले कर्म स्वयं नै शक्तिशाली छ यसको फल दिन कुनै छुट्टै इश्वर चाहिदैन भन्छ तर वेदान्त दर्शनले कर्म निर्जिव हुन्छ, कर्मले आफैं फल उत्पन्न गर्न सक्दैन तसर्थ इश्वरको सत्ता चाहिन्छ भन्ने मत मान्दछ । मीमांसकहरु मान्छन् कि यो जगत नित्य छ तर वेदान्तीहरु यो जगत अनित्य छ, मिथ्या तथा भ्रम हो भन्ने मान्दछन् । वेदान्त दर्शनका अनुसार, हामीले दैनिक हाम्रो जीवन र जगतमा जे देखिहेका,  भोगिरहेका तथा अनुभव गरिरहेका छौं त्यो सबै माया हो; कल्पनाजनित छ; स्वप्नवत छ; परिवर्तनशील छ; नाशवान छ; असत्य छ । त्यस्तै इश्वरको सत्ता तथा उपस्थिति, कर्मकाण्डका विषयहरु आदि माथि पनि एकअर्को दर्शनका अलग–अलग मतहरु रहेका छन् । मुख्यतया यीनै–यीनै विषयहरुको सेरोफेरोमा जगतगुरु आदि शंकराचार्य र महापंडित मण्डन मिश्रविच निकै लामो र अत्यन्तै प्रभावपूर्ण शास्त्रार्थ भएको थियो । अन्त्यमा, शास्त्रार्थमा विजयी हुनु भएका आदिगुरु शंकराचार्यले नौवटै सनातन दर्शनहरुविच माथि–माथि तथा सतही रुपमा जेजति भिन्नता, मतभेद तथा वादविवादहरु देखिएका भएपनि यी सबै दर्शनहरुको आत्यन्तिक लक्ष्य तथा उद्देश्य हरेक मनुष्यका सबैप्रकारका दुःखहरुको निवारण कसरी गर्न सकिन्छ; हरेक मनुष्य कसरी आफ्नो सांसारीक दुःखहरुबाट मुक्त हुनसक्छ र उ मोक्ष अर्थात परमशान्ति र परमआनन्दमा कसरी स्थित हुनसक्छ भन्ने विषयको खोज नै हो भनेर आफ्ना प्रतिद्वन्दी महापंडित मण्डन मिश्रका जिज्ञासहरुलाई पूर्णरुपमा शान्त गर्नुभएको थियो ।


वर्तमान समयमा हाम्रो समाजमा पनि सनातनीहरुभित्रै यस्ता मतभेद तथा वादविवादहरु चलिरहेका देख्न सकिन्छ । यो सबै सनातन ग्रन्थहरुको पर्याप्त तथा गहिरो ज्ञानको अभावका कारणले भएको हो । तसर्थ हामी सबैले हाम्रा सनातन ग्रन्थहरुलाई बडो गर्वकासाथ सबैमाझ प्रस्तुत गर्नुपर्छ र आफूले पनि यी ग्रन्थहरुबाट महत्वपूर्ण जीवनोपयोगी ज्ञान हासिल गर्न निष्ठापूर्वक अध्ययन गर्नुपर्छ किनकी सनातन ग्रन्थहरु ब्रम्हाण्डको अन्तिम सत्यसम्मको ज्ञानमा पुर्याउने महान ग्रन्थ वेद तथा उपनिषदहरुबाट निसृत भएका भगवद् गीता, ब्रम्हसुत्र, योग वशिष्ठ, विवेक चुडामणि, पुराणहरु आदिका निचोड हुन् । भगवान शिव, भगवान राम, भगवान कृष्ण, आदिगुरु शंकराचार्य तथा पछिल्लो पिढीका योगी तथा सन्तहरु सबैले विभिन्न माध्यमबाट हामीलाई सनातन दर्शनकै ज्ञान प्रदान गर्नुभएको हो । सनातन दर्शनलाई शिद्ध गुरुको सानिध्यमा रहेर राम्ररी बुझेर पढेनौं भने हामीलाई यी अत्यन्तै मूल्यवान तथा जीवनोपयोगी ज्ञानले भरिएका ग्रन्थहरुमा उल्लेखित ज्ञान र तीनको मूल्यमान्यता, उपयोगीताबारे थाहा हुदैन । यो अज्ञानताको परिणाम स्वरुप हामी मेरो धर्म ठूलो, मेरो सम्प्रदाय ठूलो, मेरो पन्थ ठूलो, मेरो गुरु ठुलो जस्ता व्यकारका मतभेद तथा वादविवादका विषयहरुमा उल्झिरहन्छौं, हिंसा मच्चाइरहन्छौं र संधै समस्याग्रस्त जीवन जीएर विश्व समाजबाट पछाडि परिरहन्छौं, प्रकृतिले प्रदान गरेको अलौकिक मनुष्य जीवनको महान लक्ष्य मोक्ष प्राप्तिबाट बिमुख भैरहन्छौं र जन्म-मृत्युको दुःखदायी चक्रमा चक्कर काटीरहन्छौं । हाम्रा यी सनातन दर्शनहरुका ज्ञान यति मूल्यवान र जीवननोपयोगी छनकी यी ज्ञानहरुको अनुशरणबाट हामी जीवनमा आइपर्ने सबैप्रकारका समस्या, चुनौती तथा दुःखहरुको समाधान गर्नसक्छौं यदि सही ढंगले बुझेर ती ज्ञानहरुको अध्ययन र अनुशरण गर्यौं भने । उदाहरणको लागि सनातन अध्यात्म विज्ञानको षटदर्शन मध्यको एक अत्यन्तै महत्वपूर्ण विषय योग दर्शनलाई लिन सकिन्छ, योग साधनाका पूर्णतः वैज्ञानिकतामा आधारीत विधि तथा पद्धतिहरुलाई दैनिक जीवनमा निष्ठापूर्वक सैद्धान्तिक तथा व्यवहारिक अभ्यास गर्नाले हरेक मनुष्य शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक, आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, पेशागत आदि तमाम प्रकारका समस्याहरुबाट सहजै वाहिर निस्कन र सन्तुलित तथा व्यवस्थित जीवनयापन गर्नसक्छ । 


प्राचीन शिक्षा पद्धतिका प्रमुख चार स्तम्भहरु

प्राचीन सनातन ज्ञान तथा शिक्षा पद्धतिलाई प्रभावकारी र चुस्त बनाउनका लागि शिक्षाका प्रमुख चार स्तम्भहरु खडा गरिएका थिए– (१)गुरुकुल, (२)समिति, (३)तपस्थली, र (४)शास्त्रार्थ । 

गुरुकुल

वर्तमानको परिभाषा अनुसार गुरुकुलहरु परिमार्जित भएर स्कुल, कलेज तथा विश्वविद्यालयहरुमा परिणत तथा  रुपान्तरण भएका छन् । गुरुकुलमा गुरु र शिष्य एकसाथ आवासिय रुपमा रहन्थे र सीमित गुरुले धेरै शिष्यहरुलाई शिक्षित गर्ने गर्थे र शिष्यहरुले गुरुको दैनिक जीवन यापनका काम तथा आवश्यकताहरु पूरा गर्न हरप्रकारका सेवा प्रदान गर्थे । गुरुकुलमा धनाड्य परिवारले चन्दा, दान दिन तथा कुनै प्रकारको आर्थिक, समाजिक तथा राजनीतिक प्रभाव पार्न पाइदैनथ्यो । सबै शिष्यहरुका लागि समान नियम बनाइएको हुन्थ्यो चाहे उ सामान्य परिवारको होस्, धनाड्य परिवारको होस् तथा राजपरिवारको होस् अनिवार्य रुपमा सबैले खानपानको आवश्यकता पूरा गर्न भिक्षा माग्नु पर्दथ्यो, गौसेवा, घरघन्दाका सबै कामहरु, घाँस–दाउरा गर्नुनै पर्दथ्यो । समान प्रकारको पहिरनहरु लगाउनु पर्दथ्यो ।
 
समिति

समितिलाई वर्तमानको परिभाषामा वैठक, सेमिनार, वर्कशप तथा वेविनार(आलाइन मिटिगं) पनि भन्ने गरिन्छ । गुरुकुलमा अध्ययनरत शिष्यहरुलाई कहिलेकाहीं नयाँ विषयको ज्ञान प्रदान गर्ने उद्देश्यले समितिको आयोजना गरिन्थ्यो र टाढाबाट सम्वन्धित विषयका अनुभवी तथा विषयविज्ञ व्यक्तित्वहरुलाई बोलाइन्थ्यो र उनीहरुले विशेष विषयको निश्चित शिर्षकमा शिष्यहरुलाई आफूले जानेको ज्ञान तथा तालिम प्रदान गर्दथे तथा सिकाउथे ।

तपस्थली

तपस्थलीलाई वर्तमानको परिभाषामा अनुसन्धान केन्द्र(रिसर्च सेन्टर) भन्ने गरिन्छ । नीजि सहसम्वन्ध(प्राइभेट कोल्याबिरेसन)मा कुनै विशेष विषयमाथि गहिरो तथा फराकिलो अध्ययन, अनुसन्धान तथा खोज गर्न सामुहिक जमघटका कार्यक्रमहरुको आयोजना गरिन्थ्यो र यसमा सहभागी हुन टाढा-टाढादेखि धेरै खोज तथा अनुसन्धान कर्ताहरु एकै स्थानमा भेला भएर तोकिएको विषयमाथि गहन अध्ययन, खोज, अनुसन्धान, छलफल गर्ने गर्थे ।

शास्त्रार्थ

शास्त्रार्थलाई वर्तमानको परिभाषामा वादविवाद प्रतियोगीता(डिवेट कम्पिटिसन) भन्ने गरिन्छ । जव सनातन दर्शन तथा धर्म शास्त्रहरुमा मतभेद हुन्थ्यो, विचार बाझिन्थ्यो तथा दुई पक्षविच कुनै एक विषयमा असहमति तथा विवाद हुन्थ्यो तव शास्त्रार्थको आयोजना गरिन्थ्यो उक्त विषय सबैसामु स्पष्ट पार्नकालागि । तोकिएको विषय उपर विभिन्न सान्दर्भिक शास्त्रहरुमा उल्लेख गरिएका ज्ञान, मत तथा तर्कहरु पेश गरेर एक पक्षले अर्को पक्षलाई सवालको जवाफ दिएर निर्णयकर्तालाई सन्तुष्ट पार्न सक्नु पर्दथ्यो र दुइमध्य एक पक्षको जित हुन्थ्यो । जसले जित्थ्यो उसको मत तथा विचार सही मानिन्थ्यो र त्यसलाई नै आममान्यता प्रदान गरेर समानजमा स्थापित तथा कायम गरिन्थ्यो । 

प्राचीन शिक्षा पद्धतिका यी चार प्रकारका आधार स्तम्भहरुले सनातन दर्शन तथा सनातन धर्मका ज्ञान, विज्ञानहरुलाई सुदृढ तथा विकसित बनाएका थिए । यी चार आधार स्तम्भहरुको उद्देश्य तथा लक्ष्य पनि यही नै थियो कि सनातन दर्शनका ज्ञान, विज्ञानहरुमा अझै स्पष्टता र निखारता आओस्, सबैकालागि प्रभावकारी तथा उपयोगी बनोस् । समिति(सेमिनार) र तपस्थली(कोल्याबिरेसन) परिमार्जित तथा परिवर्तित स्वरुपमा वर्तमान समयमा पनि आयोजित हुने गरेका छन् तर गुरुकुल र शास्त्रार्थ लगभग लोप हुने अवस्थामा पुगीसकेका छन् । 


शास्त्रार्थको आवश्यकता

सनातन दर्शनको इतिहासमा अद्वेत वेदान्त दर्शनका प्रणेता जगतगुरु आदि शंकराचार्य र मीमांशा दर्शनका महापंडित मण्डन मिश्रविच भएको ३२(कतै १७ पनि भनिएको छ)  दिन लामो चलेको शास्त्रार्थलाई विशेष महत्व प्रदान गरिएको छ जसले लोपोन्मुख अवस्थामा रहेको सनातन दर्शनलाई पुनरजीवित गर्न महत्वपूर्ण योगदान तथा भूमिका निर्वाह गरेको थियो । यो शास्त्रार्थले समाजकल्याणका धेरै कार्यहरुमा प्रभावशाली योगदान पुर्याएको थियो । सनातन दर्शनसंग सम्वन्धित धेरै महत्वपूर्ण र आवश्यक प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिएर सुस्पष्टता प्रदान गरेको थियो पछिल्लो समय तथा नयाँ पिढीहरुलाई समेत सान्दर्भिक हुनेगरि । तत्कालीन समयमा काशी जस्तो सनातन धर्मको प्राचीन तपोभूमिमै अवैदिक मतहरुको बोलबाला तथा प्रसिद्धि र सनातन वैदिक धर्मको अत्यन्तै नाजुक अवस्था देखेर आदिगुरु शंकराचार्यलाई सामान्य प्रयासले मात्र सनातन वैदिक धर्मको यस्तो नाजुक अवस्थामा उल्लेख्य सुधार ल्याउन नसकिने वोध भयो र वहाँले यसकालागि आफ्नो अध्ययन, अध्यापन, लेखन, भाष्य, रचना तथा शास्त्रार्थलाई अझै बढाएर लानुपर्ने आवश्यकता महसुस गर्नुभयो । बद्रिनाथको व्यास गुफामा चारबर्ष निवास गरेर सनातन दर्शनका मूल तीन ग्रन्थहरु– ब्रम्हसुत्र, भगवद् गीता र प्रमुख उपनिषदहरु अर्थात प्रस्थानत्रयीमाथि आफ्नो दृष्टिकोणबाट प्रामाणिक भाष्यहरुको रचना गर्नुभयो र सबै प्रकारका, सबै मतका दार्शनिक, विद्वान, विदुषी, महापंडित, गुरुहरुसंग हरप्रकारले शास्त्रार्थ गरेर सनातन धर्मका मुल्यमान्यता पुनरस्थापित गर्न आफूलाई तयार गर्नुभयो किनकी अवैदिक मतहरुको प्रदुर्भाव र विकास तथा विस्तार शिखरमा पुगिसकेको र सनातन धर्मको अवस्था अत्न्तै खस्किएको अवस्थामा गहन तथा प्रभावशाली शास्त्रार्थहरुको आयोजना गरेर मात्र सनातन धर्मको प्रचारप्रसार, संरक्षण, सम्वद्र्धन र पुनरोत्थान गर्नसक्ने अवस्था टडकारो रुपमा देखिएको थियो । आफूलाई हरप्रकारका शास्त्रार्थहरुका लागि तथार पारेपछि आदिगुरु शंकराचार्य सनातन धर्मको प्रचार–प्रसारमा तिब्रता दिन बद्रिनाथ क्षेत्रको समाजभित्र पस्नुभयो । बद्रिनाथमा वहाँ सर्वप्रथम देवालयको दर्शन गर्न जानुभयो तर देवालय तथा मन्दिरमा देवताको विग्रह(मूर्ति) देख्नु भएन । सनातन धर्मप्रति पूर्वाग्रह तथा दुराग्रह भाव राख्ने अवैदिक उदण्ड सम्प्रदायहरुको बितन्डा तथा अराजकताका कारण नोक्सानीको भयले सुरक्षित राख्न विग्रहलाई नारद कुण्डमा पानीमुनि लुकाएर राखिएको थियो । आदिगुरु शंकराचार्यले सनातन धर्मका सबैप्रकारका मूल्यमान्यताहरुलाई पुनरस्थापित गर्न हिम्मत गरेर नारद कुण्डमा डुब्की लगाएर हातका औंला भाँचिएको अवस्थाको देवताको विग्रह वाहिर निकालेर देवालयमा पुनः प्रतिष्ठित गर्नुभयो र अवैदिक धर्मावलम्वीहरुलाई ठाडो चुनौती दिनुभयो। 


सोह्र बर्षको उमेरका हरप्रकारका शास्त्रार्थ गर्न सक्षम भएपछि आदिगुरु शंकराचार्यलाई बद्रिनाथमा महर्षि वेदव्यासले दर्शन दिनुभयो र मेद्यावी शंकराचार्यलाई पुत्रको सम्वोधन गर्दै तिमीले अझै १६ वर्ष धर्तीमा बिताउनु पर्नेछ, धेरै वैदिक तथा अवैदिक पंडित, महापंडितहरुलाई शास्त्रार्थमा पराजित गरेर सनातन वैदिक धर्मको ध्वज फहराउनु पर्नेछ यस कार्यलाई अघिबढाउन तिमीले महान कर्मकाण्डी कुमारील भट्टलाई भेट्न उनीसंग शास्त्रार्थ गरेर र उनीबाट आवश्यक सहयोग लिएर सनातन धर्मको प्रचार-प्रसार र पुनरोत्थानको महाअभियानमा अगाडि बढ्न सुझाव दिनुभयो । आदिगुरु शंकराचार्य महान कर्मकाण्डी कुमारील भट्टलाई भेट्न प्रयाग जानुभयो र त्यहाँ वहाँले आफ्नो गुरुलाई शास्त्रार्थमा पराजित गरेको अपराधवोधले भट्टलाई अग्निस्नान(अग्निमा आत्मदाह) गरिरहेको अवस्थामा देख्नुभयो र आधा शरीर जलेर भस्म भैसकेका भट्टले नै अर्का पूर्व मीमांसा मार्गी महापंडित मण्डन मिश्रसंग शास्त्रार्थ गर्न सुझाउनु भयो । यसपश्चात आदिगुरु शंकराचार्यले सनातन धर्मको पुनरात्थान गर्नकालागि शास्त्रार्थको शिलशिला जोडतोडले देशव्यापि रुपमा प्रारम्भ गर्नुभयो ।



मीमांसा मार्गी महापंडित मण्डन मिश्र र उभया भारतीसंग शास्त्रार्थ

सनातन धर्म, सनातन दर्शन, वेदान्त, अद्वेत वेदान्त, दशनामी सम्प्रदायको प्रचार–प्रसार, मठ–मन्दिर, देवालय, गुरुकुल तथा पुस्तकालयहरुको जिर्णोद्धार तथा स्थपना गर्ने क्रममा आदिगुरु शंकराचार्यले देशभरिका धेरै विचारक, महापंडित तथा दार्शनिकहरुको अत्यन्तै धेरै विरोध तथा अवरोध झेल्नुपर्यो । यी विरोधका आवाजहरु तथा अवरोधहरुलाई छिचोल्दै सनातन दर्शनको सन्दर्भमा खासगरि ब्रम्हाण्डको अन्तिम सत्यको ज्ञान प्रदान गर्ने तथा अन्तिम ज्ञानसम्म पुर्याउने वेदान्त दर्शनका विषयहरुमा आफ्नो मत, विचार, तर्क तथा सिद्धान्तलाई शास्त्र सम्मत, मानवीय र व्यवहारिक छ भनेर पुष्टी गर्न आदिगुरु शंकराचार्यले निकै जटिल र महिनौं लामा–लामा शास्त्रार्थहरु गर्नुपर्यो । भारतको मध्य प्रदेश, बद्रिनाथ क्षेत्रमाका मीमांसा मार्गी महापंडित मण्डन मिश्रसंग शास्त्रार्थ नगरी सनातन वेदान्त दर्शनको प्रचार–प्रसार तथा विस्तार गर्न कठिनाइ हुने महसुस गरेर आदिगुरु शंकराचार्यले शास्त्रार्थमा आउन मण्डन मिश्रलाई निमन्त्रणा तथा चुनौती दिनुभएको थियो र मिश्रले पनि यो निमन्त्रणा तथा चुनौतीलाई सहर्ष स्वीकार गर्नुभएको थियो । निकै अघिदेखिनै शास्त्रार्थ गर्ने क्रममा आदिगुरु शंकराचार्यले आफ्नो वुद्धिमत्ताले सबै विचारक र श्रोताहरुलाई पटक–पटक आश्चर्यचकित पार्दै आउनु भएको थियो । भारतको मध्यप्रदेशको नर्मदा नदीको मानधता टापूमा पूर्व मीमांसा दर्शन मार्गी महापंडित गृहस्थ आश्रममा रहेका मण्डन मिश्रसंग उत्तर मीमांसा अर्थात वेदान्त दर्शन मार्गी संयासी आदिगुरु शंकराचार्यको ३२ दिन लामो अत्यन्तै प्रभावपूर्ण तथा महत्वपूर्ण शास्त्रार्थ भएको थियो । दुवै महापुरुष आ–आफ्नो विद्याका महाज्ञानी हुनुहुन्थ्यो । आदिगुरु शंकराचार्य र मण्डन मिश्रविच भएको यो शास्त्रार्थ सनातन दर्शनको सबैभन्दा चर्चित र निकै उपलव्धिमूलक रहेको मानिन्छ । शास्त्रार्थको निर्णायक महान विदुषी मण्डन मिश्रकी पत्नी सरस्वती उभया भारतीलाई बनाइएको थियो । शुरुको हप्ता शास्त्रार्थमा सामान्य विषयहरुमा बहस तथा छलफल भएपनि पछि वेदान्त दर्शनका गहनतम विषयहरुमा आ-आफ्नो अवधारणामा तथा मत झामाझ भएको थियो । 



दिन लम्बिदै जादा यो शास्त्रार्थको सूचना देशभरि फैलियो, सबैमा उत्सुकता जाग्यो र देशका कुनाकुनाबाट धेरै विद्धवानहरु दुई महाज्ञानीविच भएको रोचक शास्त्रार्थबाट केही नयाँ विषयहरुबारे ज्ञानलिने उदेश्यले त्यहाँ भेला हुनथाले । यसपश्चात आदिगुरु शंकराचार्यको प्रेरणा, उत्साह तथा जोश अझै बढ्दै गयो एकैपटक सबैतिरका विद्धवानहरु समक्ष सनातन वेदान्त दर्शनको ज्ञानको प्रचार–प्रसार हुनेभयो भनेर । अव शास्त्रार्थका सवालहरु ब्रम्हाण्ड; ब्रम्ह; ब्रम्हको स्वरुप अव्यक्त–व्यक्त, निराकार–आकार, निर्गुण–गुण; जीव, वनस्पति, पदार्थहरुको सृष्टि; अहं ब्रम्हास्मि; तत्वमसि; ब्रम्ह सत्यं जगत मिथ्या; जीव र ब्रम्ह; कर्मको फल तथा कर्म सिद्धान्त; मनुष्यको मन र ब्रम्ह; अन्न र ब्रम्ह; पंचतत्व; पंचतत्वका कार्य र कारण; विभु ब्रम्ह र ब्रम्हाण्डको कणकणमा उपस्थिती; प्रकृति र प्रकृतिका त्रिगुण; सनातन ग्रन्थहरु र ग्रन्थका ध्यय वाक्यहरु; षटशर्दनका मूल विषयहरु; आत्मा, परमात्मा, अस्तित्व; पदार्थ, अणु, परमाणु; उर्जा; चेतना; इन्द्रियातीत, मनातीत, भावातीत अनुभूति; आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञान; परमात्माज्ञान; श्रुति, कृति; योग, भोग, ध्यान, साधना; शंका; अनुमान; प्रमाण; द्वेत; अद्वेत जस्ता गहन विषयहरु र यसमाथिका दाबी, खण्डन तथा प्रामाणिकतामा प्रवेश गर्यो । महापंडित मण्डन मिश्रले अनेक प्रश्न तथा जिज्ञासाहरु राख्दै वेदान्त दर्शनको खण्डन गरिरहनु भयो र आदिगुरु शंकराचार्यले अनेक कोणबाट अति चातुर्यताकासाथ वेदान्त शास्त्रसम्मत भएर तर्कपूर्ण ढंगले सबै शास्त्रहरुमा उल्लेखित सान्दर्भिक विषयहरु उपर उदाहरण तथा उपमाहरु सहित प्रस्तुत गर्दै महापंडित मण्डन मिश्रका सबै प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिदै वेदान्त दर्शनको शाश्वतता, गहनता र उच्चता प्रमाणित गरिरहनुभयो । आदिगुरु शंकराचार्यको शालिन शास्त्रार्थ शैली र विषय प्रस्तुत गर्ने विद्वतासंग मण्डन मिश्र मोहित हुनुभयो र यसपश्चात वहाँले प्रतिद्वन्दीको रुपमा नभई ज्ञानी, विद्वान, दार्शनिक तथा गुरु मानेर विभिनन विषयहरुबारे जान्ने उत्सुकता राखेर आदिगुरु शंकराचार्य समक्ष सम्मान प्रकट गर्दै आनन्द भावले सवालहरु राख्न थाल्नुभयो ।


निरन्तर धेरै दिनसम्म चलेको शास्त्रार्थमा अत्यमा मण्डन मिश्र पराजित हुनुभयो र शास्त्रार्थको नियममा उल्लेखित शर्त अनुसार मिश्रले आदिगुरु शंकराचार्यलाई आफ्नो गुरु मान्नुभयो र संयास धारण गरेर घरबाट प्रस्थान गर्नुभयो । आफ्नो पति शास्त्रार्थमा पराजित भएपछि शास्त्रार्थकी निर्णायक उभया भारती स्वयंले आदिगुरु शंकराचार्यलाई आफूसंग शास्त्रार्थ गर्न आग्रह गर्नुभयो । अर्को शास्त्रार्थ गर्नुपर्ने कुरा शर्तमा उल्लेख थिएन तैपनि आदिगुरु शंकराचार्य राजी हुनुभयो तर उभया भारतीले संयासी(सच्चा संयासीले विवाह गर्दैनन्) आदिगुरु शंकराचार्यलाई कामशास्त्र(संभोगकला)का विषयहरु सोध्नुभयो । गृहस्थ आश्रम तथा दाम्पत्य जीवनको अनुभव नभएका संयासी आदिगुरु शंकराचार्य अवाक(निशव्द) हुनुभयो र उभया भारतीका जिज्ञासाहरुको जवाफ दिन सक्नुभएन । तर शंकराचार्यले हार मान्नु भएन केही समय माग्नुभयो र यसबारे अध्ययन गरेर फेरी फर्केर आएर सबै सवालको जवाफ दिने वाचा गर्नुभयो र त्यहाँबाट आफ्नो वाचा पूरा गर्न उपयुक्त वातावरणको खोजीमा निस्कनु भयो । आदिगुरु शंकराचार्यले आफ्नो आत्मा अर्को मानिसको शरीरमा प्रवेश गराएर कामकला अर्थात सम्भोगकलाका विषयहरुबारे विस्तृत अनुभव र ज्ञान लिएर सरस्वती उभया भारती समक्ष सबै सवालहरुको जवाफ दिन तयार भएर आउनुभयो तर भारतीले अव आफुसंग शास्त्रार्थ गर्नु पर्दैन मलाई थाहा छ सबैकुरा, तपाईं अव कामकलाबारेमा सबै जान्नुहुन्छ भन्दै वहाँले भन्नुभयो, “सबैले जीवनका सबै आयामहरुलाई जान्नु तथा अनुभव गर्नुपर्छ भन्ने पवित्र भावले तपाईंलाई कामशास्त्रको प्रश्न सोधेर चुनौती दिएकी हुँ मैले, यसबारे तपाईंले जान्नु भयो, मेरो उद्देश्य पूराभयो, तपाई शास्त्रार्थका अखण्ड विजयी हुनुहुन्छ, आफ्नो लक्ष्यमा अगाडि बढ्नुहोस् ।”



मानव समाजमा वेदान्त दर्शनको अद्वेत स्वरुपको महत्वलाई स्थापित गर्न र सनातन दर्शनको प्रतिष्ठा बढाउन देशभरिका थुप्रै सरल तथा विकट भौगोलिक स्थानहरुमा गएर आदिगुरु शंकराचार्यले विभिन्न धर्म, सम्प्रदाय तथा समुदायहरुका वैदिक मत मान्ने आस्तिक कर्मकाण्डी, पाशुपत, कापालि, क्रकच, वाममार्गी, शैव, शाक्त, अघोरी, उग्र भैरव, नैयामिक, मीमांसक विषयका र अवैदिक तथा नास्तिक बौद्ध, जैन लगायत अन्य धर्म तथा मत मान्ने विद्वान, गुरु, पंडित, योगी तथा उपासकहरु र सबै मतावलम्बिहरुलाई समेत शास्त्रार्थहरुमा पराजित गरेर अखण्ड विजयी रहनुभयो । सबै प्रकारका शास्त्रार्थहरुमा उच्चकोटीका मानिएका धेरै विचारक तथा दार्शनिकहरुलाई पराजित गरेर अखण्ड विजयी हुनुभएपछि शंकराचार्यलाई विस्तारै गुरुको रुपमा मान्ने तथा गुरु स्वीकार गर्नेक्रम बढ्दै गयो देशव्यापि रुपमा, वहाँको शिष्य मण्डलीको विस्तार हुदै गयो । शास्त्रार्थहरुका नतिजाहरुबाट प्राप्त भएका यस्ता सकारात्मक अवस्था तथा उपलव्धिहरुले सनातन धर्मको प्रचारप्रसार, संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन र पुनरोत्थानको महाअभियानमा महत्वपूर्ण सहयोग मिल्दै गयो । सनातन धर्मको प्रचार–प्रसार, संरक्षण तथा प्रवद्र्धनमा उल्लेख्य योगदान गर्नुभएको कारण वहाँलाई जगतगुरु, आदिगुरुको उपाधिबाट सम्मान गरियो देशव्यापि रुपमा र वहाँ सनातन अध्यात्मको अकाशमा र विश्वव्यापि रुपमा यीनै उपाधि तथा पदविले विख्यात हुनुभयो ।



कस्मीरका शैव दार्शनिक तथा तान्त्रिक अभिनव गुप्तसंग शास्त्रार्थ

बद्रिनाथबाट शुरु भएको शास्त्रार्थका चरणहरुलाई निरन्तरता दिदै सनातन धर्मको प्रचार–प्रसार गर्ने क्रमलाई तिब्रताकासाथ अगाडि बढाउन आफ्नो शिष्य मण्डलीका साथमा आदिगुरु शंकराचार्य समाजका सबै वैदिक तथा अवैदिक दर्शनका विकृत मतहरुलाई पराजित गर्दै भारत देशका विभिन्न क्षेत्रहरुमा गएर आवश्यक शास्त्रार्थहरु गर्नुभयो र यहीक्रममा तन्त्र विद्याको गढ मानिएको कामरुप देश प्रस्थान गर्नुभयो । शैव दार्शनिक तथा महान तान्त्रिक अभिनव गुप्त कामरुप देशका सबैभन्दा जान्ने, ठूला तथा प्रभावशाली तान्त्रिक, वेदान्ती, दार्शनिक, साहित्यकार तथा महान संगीतग्य थिए । उनले आदिगुरु शंकराचार्यको अद्वेत वेदान्त दर्शनको खण्डन गर्दै 'शक्ति भाष्य' ग्रन्थ लेखेका थिए । अभिनव गुप्त र आदिगुरु शंकराचार्यविच भएको शास्त्रार्थमा अद्वेत वेदान्त र तन्त्रका विषयहरु समावेस गरिएका थिए । कामरुप देश प्राचीनकालदेखि नै तान्त्रिक, अघोरी, वामाचारी, कौलचारी आदि साधकहरु तथा योगिनी साधिकाहरुको प्रभाव क्षेत्र रहदै आएको थियो । आदिगुरु शंकराचार्यको समयमा कामरुप देशमा बज्रयानी बौद्ध तान्त्रिक सम्प्रदायहरु र सनातन वैदिक तान्त्रिक धर्मावलम्वीहरुको प्रभाव निकै उचाइमा थियो । तन्त्र पद्धति तथा तन्त्र साधना सनातन धर्मकै एक महत्वपूर्ण हिस्सा भएपनि आदिगुरु शंकराचार्यको समयसम्म आइपुग्दा तन्त्र विद्या तथा साधनामा निकै विकृति आइसकेको थियो र खराव उद्देश्य जस्तोकि आफ्नो निकृष्ट स्वार्थ सिद्ध गर्न, मोहनी लगाउन, अर्काको कुनै प्रकारको क्षति गराइदिन, मारण मन्त्र भेदन(मार्ने अभिप्रायले) गर्न जस्ता समान्यदेखि जघन्य उद्देश्यहरु पूरा गर्नकालागि अत्यधिक रुपमा दुरुपयोग गर्न थालिएको थियो धन र सम्वन्धको उच्चतम चलखेल गरेर । तन्त्रको यसप्रकारले दुरुपयोग गरिएका कारण तत्कालीन समाज मानवीय, सामाजिक, आर्थिक रुपले भ्रष्ट भैसको थियो । त्यसैले आदिगुरु शंकराचार्य कामरुप प्रदेशको समाजको यो अप्ठ्यारो विकृत अवस्थालाई सुधार गर्न र सनातन दर्शन, वैदिक धर्म तथा मत स्थापना गर्ने उद्देश्यले त्यहाँ जानुभएको थियो । 



आदिगुरु शंकराचार्य कामरुप पुग्नु अगावै वहाँको विद्वता र उक्त क्षेत्रमा आउनुुको उद्देश्यको चर्चा त्यहाँको तान्त्रिक समुदायमा पुगिसकेको थियो । कामरुप देशका राजाले विद्वान तथा लोकप्रिय गुरु आदि शंकराचार्यको खुव आदरसत्कार गरे र बसोवास तथा खानपानको राम्रो व्यवस्था गरिदिए । त्यहाँ बसेर आदिगुरु शंकराचार्यले तन्त्र साधनाका सबै विद्वान, ज्ञानी, साधक, उपासकहरुलाई आफूसंग शास्त्रार्थ गर्न आउन खुल्ला निमन्त्रणा तथा चुनौती दिनुभयो । शुरुशुरुमा त केही तान्त्रिक विद्वानहरु आए शास्त्रार्थ गर्न तर आदिगुरु शंकराचार्यको विद्धवताको सामुन्ने कोहीपनि तान्त्रिकहरु लामो समय टिक्न सकेनन् । तन्त्रको गढ रहेको कामरुप देशका विख्यात तान्त्रिकहरु एउटा युवा गुरुसंगको शास्त्रार्थमा पराजित भएको लज्जासपद घटना उनीहरुलाई सहिय भैरहेको थिएन । एउटा युवा सनातन दर्शन शास्त्रीसंग पराजित भइयो भने कामरुप देशको महत्व घट्ने र लामो समयदेखि साधना गर्दै आएको आफ्नो तन्त्र ज्ञान तथा विद्याको वेइज्यत हुने भयले तान्त्रिकहरुले आफ्नै प्रकारले आदिगुरु शंकराचार्यसंग शास्त्रार्थ गर्ने र आफू विजयी भएरै छाड्ने योजना बनाए र योजना अनुरुप उनीहरुले कामरुप देश र वाहिरका देशहरुमा समेत ख्याति कमाएका तन्त्र विद्याका सबैभन्दा जान्ने महान शैव मार्गी तान्त्रिक अभिनव गुप्तलाई सर्वसम्मतले चयन गरेर आदिगुरु शंकराचार्यसंग शास्त्रार्थ गर्न अगाडि सारे । शास्त्रार्थ भयो तर अभिनव गुप्त पनि आदिगुरु शंकराचार्यको सामुन्नेमा लामो समय टिक्न सकेनन्, पराजित भए । शास्त्रार्थको नियम अनुसार पराजित हुनेले विजयी हुनेलाई गुरु मानेर उसको शिष्य भएर गुरुकै धर्म तथा मत अगाल्नु पर्ने हुनाले प्रौढ अभिनव गुप्त पनि युवा आदिगुरु शंकराचार्यको शिष्य बन्न तयार भए तर उनले शिष्य बनेको अभिनय मात्र गरे र छलको बाटो अपनाएर पराजयको बदला लिने योजना बनाए र तन्त्र विद्याको सबैभन्दा खतरनाक प्रयोग मारण तन्त्र भेदन(पुतला गाड्ने) गरेर आदिगुरु शंकराचार्यलाई मृत्युको मुखसम्म पुर्याएर शरीरको स्वास्थ्यमा धेरै कष्ट दिएका थिए । bsirjana@gmail.com




Wednesday, 25 June 2025

सनातन दर्शनको पुनरोत्थानमा जगतगुरु आद्य शंकराचार्यको भूमिका, खण्ड -५

                                                                          डा. सिर्जना भण्डारी

#अध्यात्म_दर्शन #सनातन_दर्शन #जीवन_दर्शन


सनातन धर्ममा अनन्त योगदान पुर्याएका मौलिक रचनाहरु 



“आफ्नो जीवनकालमा जगतगुरु आद्य शंकराचार्यको बारेमा नसुनेको, नजानेको, नबुझेको, नपढेको मानिसले सनातन धर्मको कखरा नै बुझेको छैन भन्दा हुन्छ ।”  –लोकप्रिय कवि तथा सनातन कथावाचक डा. कुमार विश्वास

बत्तिस वर्षको युवाअवस्थामै शरीर छोड्नु भएका जगतगुरु आद्य शंकराचार्यलाई तमाम सनातन धर्म तथा समाजले अतिइन्द्रियदर्शी महान सदगुरु; महान दार्शनिक; विलक्षण कवि तथा साहित्यकार; सनातन दर्शनको संरक्षण र प्रवद्र्धनका प्रखर महान योद्धा; र स्वयं भगवान शिवका अवतारको रुपमा जान्दछन्, मान्दछन् र पुज्दछन् । –आमविश्लेषण


(घ)सनातन धर्ममा अनन्त योगदान पुर्याएका मौलिक रचनाहरु 

जगतगुरु आदि शंकराचार्यले सनातन दर्शन तथा सनातन धर्मको सबैभन्दा महत्वपूर्ण विद्या अद्वेत वेदान्त दर्शन, विवेक चूडामणि(अन्तिम कृति) सहित कुल मिलाएर ११६ दार्शनिक ग्रन्थहरु, भाष्य ग्रन्थहरु र भगवान तथा भगवतीका धेरै स्तोत्र, स्तुति तथा श्लोकहरुको रचना गर्नु भएको थियो । यसकासाथै वहाँले केही तन्त्र ग्रन्थहरुको पनि रचना गर्नु भएको थियो । सनातन हिन्दु धर्मका विभिन्न सम्प्रदाय तथा मतहरु चाहे विशिष्ठ अद्वेत, चाहे शुद्ध अद्वेत, चाहे द्वेतवाद हुन् यी सबै आदिगुरु शंकाराचार्यको अद्वेत वेदान्त दर्शनको प्रतिपादन पश्चात त्यसैको पृष्ठभूमिमा खडा भएका तथा विकास भएका दर्शनहरु हुन् जसले विस्तारै सनातन दर्शन तथा धर्ममा फरक दृष्टिकोण भएका अलग-अलग मतहरुको प्रतिपादन र समावेश हुनथाल्यो र यीनले सनातन धर्मको विकास, प्रवद्र्धन, शास्त्रार्थ, स्पष्ट बुझाइमा महत्वपूर्ण कडीहरु थप्दै लगे र सनातन धर्ममा अनेकतामा एकताको समावेशीकरणको भाव तथा नीतिलाई स्थापित गर्दै लगे । प्रखर अद्वेतवादी जगदगुरु  आदि शंकराचार्यले जीवनभर केवल ब्रम्हलाई सत्य र जगतलाई मिथ्या मान्नुभयो यसकारण वहाँका भाष्य तथा मौलिक रचनाहरुमा जगतको निस्सारता(कम महत्व) र ब्रम्हको प्रमुखताको भाव स्वष्ट रुपमा प्रकट हुन्छ । अद्वेत वेदान्त दर्शनको सरल निरुपण गर्दै सनातन धर्मको उत्थानका लागि दार्शनिक ग्रन्थहरुको प्रतिपादन; सनातन धर्मका महत्वपूर्ण ग्रन्थहरुमाथि भाष्य लेखन; र भगवान, भगवतीका धेरै स्तोत्र, स्तुति तथा श्लोकहरुको रचना गरेर सनातन धर्मको संरक्षण, सम्वद्र्ध तथा प्रवद्र्धन विशेष योगदान पुर्याउनु भएको थियो । सनातन धर्मावलम्बीहरुमा नैतिकता, अनुशासन र एकरुपता कायम गर्न वहाँले महानायबम, महाअनुशासन जस्ता ग्रन्थहरुको रचना गर्नुभयो । यी ग्रन्थहरुमा आदिगुरु शंकराचार्यले सनातन धर्ममा चलाउनु भएका संस्कार, परम्परा, रीति-रिवाज, पूजा विधि, गुरु परम्परा, संयास परम्परा तथा अन्य धार्मिक नीति नियम तथा विधिहरुसंग सम्वन्धित प्रावधानहरुको प्रतिपादन र वहाँका दर्शन, सिद्धान्त तथा भाष्यहरुको बारेमा विस्तृतमा व्याख्या गरिएको छ । 


आदिगुरु शंकराचार्य आफू अद्वेतवादी अर्थात ज्ञान तथा ध्यान मार्गी हुदाहुदै पनि शास्त्रहरुका महान अध्ययता हुनुभएकोले वहाँले भक्ति मार्गीहरुको आकांक्षा तथा आशयलाई स्पष्ट रुपमा बुझ्नु भएको थियो । यसैकारण वहाँले भक्ति मार्गको विकास तथा प्रवद्र्धनका लागि भगवान, भगवती, देवी, देवताहरुको स्तोत्र, स्तुति तथा श्लोकहरुको रचना गरेर; मठ–मन्दिरहरुको स्थापना गरेर; भगवान, भगवती, देवी, देवताहरुको  पूजापाठका विधिहरु तथा गुरु परम्पराको परिपाटी बसाएर; र पछिल्ला पिढीलाई सरल तथा सहज होस् भन्ने भावले वैज्ञानिक तवरले कर्मकाण्ड तथा संस्कारहरुको ढाँचा मिलाएर सबै परम्पराहरुलाई व्यवस्थित गरिदिनु भयो । यसकासाथै वहाँले सनातन समाजलाई एकत्वमा ल्याउन र एकरुपतामा ढाल्न भगवान तथा भगवतीका स्तोत्र, स्तुति तथा श्लोकहरुका रचना गरेर धार्मिक व्यवहारमा लागू गरिदिनु भयो र विस्तारै यीनको चलनचल्ती बढ्दै गयो र संस्कार, परम्परा तथा रीति-रिवाजका रुपमा स्थापित हुदै गए । आदिगुरु शंकराचार्यद्वारा रचित भगवानका स्तोत्र, स्तुति तथा श्लोकहरुमा भगवान शिव, भगवान विष्णु, भगवान विष्णुका अवतारहरु, भगवती आदिशक्ति र भगवान गणेशप्रति समर्पित रहेका छन् जसले सनातन धर्म तथा संस्कृतिमा भक्ति मार्गको सान्दर्भिकता र लोकप्रियतालाई उच्चतामा पुर्याउन ठूलो योगदान गरेका छन् । सनातन धर्मका संस्कार तथा परम्पराहरुलाई अझ आकर्षक तथा उत्साहवद्र्धक बनाउन वहाँले भावपूर्ण मनोरम स्तोत्र, श्लोक तथा स्तुतिगानहरु घरघरमा तथा मठ–मन्दिरहरुमा भज्ने, गाउने, किर्तन तथा सतसंग गर्ने परीपाटी बसालिदिनु भयो । समग्रमा, जगतगुरु आदि शंकराचार्यले सनातन धर्म तथा दर्शनको प्रचार-प्रसार संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धनमा योगदान पुर्याउने धेरै प्रकारका कृतिहरुको रचना गर्नु भयो । सनातन धर्मको परम्परागत मान्यता अनुसार वहाँद्वारा रचित कृतिहरुलाई तीन समुहमा विभाजन गरिएको पाइन्छ– (१)भाष्य लेखन, (२)दार्शनिक तथा प्रकरण ग्रन्थ प्रतिपादन, र (३)स्तोत्र, स्तुति तथा श्लोक रचना ।


(१)भाष्य लेखन

गुरुकुलको अध्ययन पूरा गर्नुभएपछि आफ्नो गुरु आचार्य गोविन्दपादको आदेश अनुसार आदिगुरु शंकराचार्य सनातन दर्शनको प्रचार–प्रसार गर्न काशी प्रस्थान गर्नुभयो । काशीमा सनातन दर्शनको प्रचार–प्रसार गर्ने क्रममा काशी जस्तो सनातन धर्म र भगवान शिवको प्राचीन तपोभूमिमा समेत वैदिक सनातन धर्मको अत्यन्तै नाजुक अवस्था र अवैदिक धर्म तथा तान्त्रिक मतहरुको बढि बोलबाला तथा प्रसिद्धि देखेर वहाँलाई आफ्नो काममा अझ तिब्रता ल्याउनु पर्ने अवस्थाको वोध भयो । यसकालागि आफूले अझै सनातन धर्मका ग्रन्थहरुमा आफ्नो अध्ययन र लेखनको दायरा बढाउन अत्यावश्यक ठान्नुभयो । यसपश्चात आदिगुरु शंकराचार्यले एकान्त तथा उपयुक्त स्थानको खोजी गर्न शुरु गर्नुभयो । अध्ययन तथा लेखनको यस गहन कार्यमा तिब्रता ल्याउनकालागि काशीमा उपयुक्त वातावरण र स्थान नमिलेकोकारण वहाँ काशी छोडेर ऋषिकेश हुदै बद्रिनाथतिर लाग्नुभयो उपयुक्त एकान्तवासको खोजीमा र त्यहाँको व्यास गुफामा चारबर्ष निवास गरेर सनातन दर्शनका मूल तीन ग्रन्थहरु– ब्रम्हसुत्र, भगवद् गीता र प्रमुख उपनिषदहरु (प्रस्थानत्रयी) माथि आफ्नो दृष्टिकोणबाट प्रामाणिक भाष्यहरुको रचना गर्नुभयो । सनातन धर्मको परीपाटी अनुसार प्रस्थानत्रयी ग्रन्थहरुमाथि भाष्य लेखेर तथा गरेर एक निश्चित मुकाम हासिल गरेका योगी, सन्त तथा महात्माहरुलाई आचार्यको उपाधि प्रदान गर्ने गरिन्छ । जगतगुरु आदि शंकराचार्यको प्रस्थानत्रयीमा लेखिएका भाष्यहरुलाई सनातन दर्शनका भाष्यहरुमा सबैभन्दा प्रभावशाली र अद्वीतीय मान्यता प्रदान गरिएको आइएकोछ किनकी प्रस्थानत्रयी नै सनातन अद्वेद वेदान्त दर्शनका मूलआधार स्तम्भहरु हुन् । यसप्रकार आदिगुरु शंकराचार्यले सनातन धर्मका मूलस्तम्भ तथा मूलग्रन्थहरु प्रस्थानत्रयीमाथि अलग–अलग टिप्पणी तथा भाष्य लेखेर शंकराचार्य भाष्यको रुपमा प्रस्तुत गरेर आफ्नो प्रकारले सनातन धर्मको मूलज्ञान तथा मूलमर्म सबैमाझ सहज तथा सरल ढंगले पुर्यायाउने तथा बुझाउने काममा महत्वपूर्ण योगदान गर्नुभयो । यसकासाथै वहाँले मण्डुक उपनिषद, इशावास्य उपनिषद आदिमाथि पुनरलेखन गरेर शंकराचार्य लेखनको रुपमा प्रस्तुत गरेर परमात्माप्रति निरन्तर भक्ति र समर्पणमा जोड दिरहनुभयो । वहाँको यही योगदान स्वरुप पछिल्लो समय सनातन दर्शनको इतिहासमा भक्ति आन्दोलनको प्रतिपादन भएको श्रेय पनि वहाँलाई नै जान्छ । आदिगुरु शंकराचार्यले सनातन धर्म तथा दर्शनका प्रस्थात्रयीका साथसाथ निम्नलिखित ग्रन्थहरुमाथि भाष्य लेख्नु भएको थियो– 

- ब्रह्मसूत्र

- श्रीमद् भगवद् गीता

- उपनिषदहरु-

· ऐतरेय उपनिषद

· वृहदारण्यक उपनिषद

·  ईश उपनिषद (शुक्ल यजुर्वेद)

·  तैत्तरीय उपनिषद (कृष्ण यजुर्वेद)

·  श्वेताश्वतर उपनिषद (कृष्ण यजुर्वेद)

·  कठोपनिषद (कृष्ण यजुर्वेद)

·  केनोपनिषद (सामवेद)

·  छान्दोग्य उपनिषद(सामवेद)

·  माण्डूक्य उपनिषद तथा गौडपादकारिका

·  मुण्डक उपनिषद(अथर्ववेद)

·  प्रश्नोपनिषद(अथर्ववेद)

·  भागवद्गीता (महाभारत)

·  विष्णु सहस्रनाम (महाभारत)

·  सानत्सुजातिय (महाभारत)

·  गायत्री मंत्र



(२)दार्शनिक तथा प्रकरण ग्रन्थ प्रतिपादन

अद्वेत वेदान्त दर्शन(मोनिजम)

सानै उमेरदेखि ज्ञान, वुद्धि, तर्क, विवेक, प्रज्ञा, वैज्ञानिकताले सम्पन्न जगतगुरु आदि शंकराचार्य सनातन षटदर्शन मध्यको सबैभन्दा महत्वपूर्ण तथा प्रभावकारी उत्तर मीमांसा अर्थात वेदान्त दर्शन अन्तर्गतको अद्वेत वेदान्त दर्शन तथा सिद्धान्त(मोनिजम)का प्रणेता हुनुहुन्छ । मनुष्यको जीवनमा सांसारिक मुक्ति तथा पारमार्थिक मोक्ष हासिल गर्न र ब्रम्हाण्डको अन्तिम सत्य जान्न अद्वेत वेदान्त दर्शनले ज्ञान मार्गको निष्ठापूर्वक अनुशरण योग तथा ध्यान साधनाका व्यवहारिक तथा प्रयोगात्मक अभ्यासहरुमा मूल प्राथमिकता प्रदान गरेको छ । ब्रम्हाण्डको अन्तिम सत्य जान्ने सन्दर्भमा हजारौं बर्षअघिनै ज्ञान मार्ग तथा ध्यान मार्गका वैज्ञानिक विधि तथा पद्धतिहरुको साधनाको माध्यमबाट प्राचीन वैज्ञानिक तथा ऋषिमुनिहरुले ध्यान तथा समाधिको गहन अवस्थामा हासिल गरेका इन्द्रियातीत, मनातीत तथा भावातीत अनुभूतिका अलौकिक तथ्यांकहरुलाई नै आज २१औं शताव्दीको अत्याधूनिक प्रमात्रा भौतिक विज्ञान(क्वान्टम साइन्स)का विभिन्न सिद्धान्त, वैज्ञानिक अध्ययन, खोज, अनुसन्धान तथा प्रयोगात्मक परिक्षणका तथ्यांकहरुले क्रमशः एकपछि अर्को गर्दै वैज्ञानिक रुपमा प्रमाणित गर्दै आइरहेका छन् । प्रमात्रा विज्ञानको पछिल्लो सिद्धान्त बायोसेन्ट्रीजमका वैज्ञानिक तथ्यांकको अन्तिम खुलासा ब्रम्हाण्डको सबैभन्दा सुक्ष्म तत्व चेतना हो र चेतना नै उर्जा तथा पदार्थ(अणु, परमाणु तथा एटम)को रुपमा प्रकट हुन्छ अर्थात चेतना नै उर्जा तथा पदार्थ बन्छ भन्ने मत अद्वेत वेदान्त दर्शनको मतसंग हुबहु मेल खान्छ । ब्रम्हाण्ड कसरी बनेको छ तथा के तत्वले निर्माण भएको छ, ब्रम्हाण्ड सिर्जनको मूल श्रोत, पहिलो कच्चा पदार्थ तथा मूल कारण चेतना हो भन्ने नतिजा अध्यात्म विज्ञान र आधूनिक भौतिक विज्ञान दुवैको रहेकोले सनातन अध्यात्म विज्ञानको प्रामाणिकतामा अझै बल थपिएको छ ।


जगतगुरु आदि शंकाराचार्यको वेदान्त दर्शनको प्रमुख शाखा अद्वेत वेदान्त दर्शनको बहुप्रचलित महावाक्य तथा ध्ययवाक्य(ध्यान तथा मनन् गर्न योग्य) “ब्रम्ह सत्यं जगन मिथ्या” अर्थात केवल ब्रम्ह मात्र सत्य छ बाँकी सबै मिथ्या हो भन्ने महाकथनका अनुसनर, “सकल ब्रम्हाण्ड(जगत तथा प्रकृति)मा रहेका सबै प्रकारका जीव, वनस्पति र पदार्थहरु सबै नस्वर(नाशवान) छन्, अनित्य(परिवर्तनशील) छन्, भ्रम तथा माया(दृष्यमा छन् तर सुक्ष्म तह तथा वास्तविकतामा छैनन्) हुन्, केवल एक ब्रम्ह अर्थात परमात्मा अर्थात इश्वर मात्र नित्य र सत्य छ ।” यस खुलासाको स्पष्ट अर्थ तथा परिभाषा हो हामी आफ्नो वरपर जे देख्छौं तथा अनुभव गर्छौं ती सबै अव्यक्त तथा निराकार ब्रम्ह अर्थात परमात्मा अर्थात इश्वरका व्यक्त तथा आकार स्वरुप हुन् । ब्रम्हाण्ड तथा प्रकृतिमा रहेका जीव तथा प्राणीहरु मात्र जीवित नभएर वनस्पति र पदार्थहरु पनि आ–आफ्नै प्रकारले जीवित तथा चेतनशील छन् र यी सबैभित्र रहेको आत्मा अर्थात चेतना अर्थात प्राण तत्व परमात्मा स्वयंको अंश हो; आत्मा र परमात्मामा कुनै भेद छैन; यी दुवै एकै हुन्; आत्मा व्यष्टि हो परमात्मा समष्टि हो । हामी हाम्रो अज्ञानताको कारण यो भन्ठान्छौं कि आत्मा र परमात्मा अलग–अलग तथा फरक–फरक विषय हुन् । हामीमा यस्तो अज्ञानता हाम्रो अन्तःकरण(मन, वुद्धि, चित्त, अहंकार)मा जेलिएको जालो, फोहोर तथा कर्मबन्धनको कारणले भएको हो । ज्ञान तथा ध्यान मार्गको अनुशरणबाट हाम्रो अन्तःकरणमा रहेका सबै फोहररुपि अज्ञानता तथा कर्मबन्धनहरु जलेर नष्ट हुन्छन् । अज्ञानताका र कर्मबन्धनहरु जलेर नष्ट भैसकेपछि ध्यान तथा समाधिको मार्ग प्रसस्त हुन्छ र ध्यान तथा समाधिको गहिराइमा साधकलाई स्वतः आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञान तथा परमात्माज्ञान हासिल हुन्छ र सदाकालागि मोक्षको मार्ग खुल्छ । आदिगुरु शंकराचार्यले अद्वेत वेदान्त दर्शनका साथसाथ सनातन धर्म तथा दर्शनका निम्नलिखित ग्रन्थहरु प्रतिपादन गर्नुभएको थियो–

- विवेकचूडामणि

- उपदेशसाहस्री

- शतश्लोकी

- दशश्लोकी

- एकश्लोकी

- पञ्चीकरण

- आत्मबोध

- अपरोक्षानुभूति

- साधनापञ्चकम्

- निर्वाणशतकम्

- मनीषापञ्चकम्

- यतिपञ्चकम्

वाक्यशुद्धि

- तत्त्वबोध

वाक्यवृत्ति

- सिद्धान्तत्त्त्वबिन्दु

- निर्णुगमानसपूजा

- प्रश्नोत्तररत्नमालिका


(३)स्तोत्र, स्तुति तथा श्लोक रचना

आदिगुरु शंकराचार्यले भगवान शिव, भगवान विष्णु, भगवान विष्णुका अवतारहरु, भगवती देवी, भगवान गणेश तथा सुब्रमण्यका धेरै स्तोत्र, स्तुति तथा श्लोकहरुको रचना गर्नु भएको थियो । ती मध्य केही प्रमुख तथा लोकप्रिय रचनाहरु निम्नानुसार रहेका छन्– 

भगवान शिवका स्तुतिहरु

- कालभैरवाष्टक (१०)

- दशश्लोकी स्तुति (१०)

- दक्षिणमूर्ति अष्टकम्‌ (१०)

- दक्षिणमूर्ति स्तोत्रम्‌ (१९)

- दक्षिणमूर्ति वर्णमाला स्तोत्रम्‌ (१३)

- मृत्युंजय मानसिक पूजा (४६)

- वेदसार शिव स्तोत्रम्‌ (११)

- शिव अपराधक्षमापन स्तोत्रम्‌ (१७)

- शिव आनंदलहरी (१००)

- शिव केशादिपादान्तवर्णन स्तोत्रम्‌ (२९)

- शिव नामावलि अष्टकम्‌ ()

- शिव पंचाक्षर स्तोत्रम्‌ ()

- शिव पंचाक्षरा नक्षत्रमालास्तोत्रम्‌ (२८)

- शिव पादादिकेशान्तवर्णनस्तोत्रम्‌ (४१)

- शिव भुजांगम्‌ ()

- शिव मानस पूजा()

- सुवर्णमाला स्तुति (५०)

 

भगवती आदिशक्तिका स्तुतिहरु

- अन्नपूर्णा अष्टकम्‌ ()

- आनंदलहरी

- कनकधारा स्तोत्रम्‌ (१८)

- कल्याण वृष्टिस्तव (१६)

- गौरी दशकम्‌ (११)

- त्रिपुरसुंदरी अष्टकम्‌ ()

- त्रिपुरसुंदरी मानस पूजा (१२७)

- त्रिपुरसुंदरी वेद पाद स्तोत्रम्‌ (१०)

- देवी चतु:षष्ठी उपचार पूजा स्तोत्रम्‌ (७२)

- देवी भुजांगम्‌ (२८)

- नवरत् मालिका (१०)

- भवानी भुजांगम्‌ (१७)

- भ्रमरांबा अष्टकम्‌ ()

- मंत्रमातृका पुष्पमालास्तव (१७)

- महिषासुरमर्दिनी स्तोत्रम्

- ललिता पंचरत्नम्‌ ()

- शारदा भुजंगप्रयात स्तोत्रम्‌ ()

- सौन्दर्यलहरी (१००)

- नर्मदाष्टक

 

भगवान विष्णु तथा भगवान विष्णु अवतारका स्तुतिहरु

- अच्युताष्टकम्‌ ()

- कृष्णाष्टकम्‌ ()

- गोविंदाष्टकम्‌ ()

- जगन्नाथाष्टकम्‌ ()

- पांडुरंगाष्टकम्‌ ()

- भगवन्मानस पूजा (१०)

- मोहमुद्गार (भजगोविंदम्‌) (३१)

- राम भुजंगप्रयात स्तोत्रम्‌ (२९)

- लक्ष्मीनृसिंह करावलंब (करुणरस) स्तोत्रम्‌ (१७)

- लक्ष्मीनरसिंह पंचरत्नम्‌ ()

- विष्णुपादादिकेशान्त स्तोत्रम्‌ (५२)

- विष्णु भुजंगप्रयात स्तोत्रम्‌ (१४)

- षट्पदीस्तोत्रम्‌ ()

 

भगवान गणेश स्तुतिहरु

- गणेश पंचरत्नम्‌ ()

- गणेश भुजांगम्‌ ()

 

अन्य देवी, देवता तथा तीर्थहरुका स्तुतिहरु

- अर्धनारीश्वरस्तोत्रम्‌ ()

- उमा महेश्वर स्तोत्रम्‌ (१३)

- काशी पंचकम्‌ ()

- गंगाष्टकम्‌ ()

- गुरु अष्टकम्‌ (१०)

- नर्मदाष्टकम्‌ ()

- निर्गुण मानस पूजा (३३)

- मनकर्णिका अष्टकम्‌ ()

- यमुनाष्टकम्‌ ()

- यमुनाष्टकम्‌- ()

bsirjana@gmail.cpm