'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Monday, 16 June 2025

सनातन दर्शनको पुनरोत्थानमा जगतगुरु आद्य शंकराचार्यको भूमिका, खण्ड -२

                                                                     डा. सिर्जना भण्डारी

     #अध्यात्म_दर्शन #जीवन_दर्शन  

पंडित मण्डन मिश्र र आदिगुरु शंकराचार्य विच भएको शास्त्रार्थ


“आफ्नो जीवनकालमा जगतगुरु आद्य शंकराचार्यको बारेमा नसुनेको, नजानेको, नबुझेको, नपढेको मानिसले सनातन धर्मको कखरा नै बुझेको छैन भन्दा हुन्छ ।”  –लोकप्रिय कवि तथा सनातन कथावाचक डा. कुमार विश्वास

बत्तिस वर्षको युवाअवस्थामै शरीर छोड्नु भएका जगतगुरु आद्य शंकराचार्यलाई तमाम सनातन धर्म तथा समाजले अतिइन्द्रियदर्शी महान सदगुरु; महान दार्शनिक; विलक्षण कवि तथा साहित्यकार; सनातन दर्शनको संरक्षण र प्रवद्र्धनका प्रखर महान योद्धा; र स्वयं भगवान शिवका अवतारको रुपमा जान्दछन्, मान्दछन् र पुज्दछन् । –आमविश्लेषण


(३)अनेकतामा एकता सनातन दर्शनमा विविधता

आदिगुरु शंकराचार्यको सनातन दर्शन तथा सनातन धर्मको पुनरोत्थान, प्रचार–प्रसार, संरक्षण, सम्वर्धन गर्ने दिगविजय अभियानको प्रमुख लक्ष्य र मान्यता सनातन धर्ममा रहेको अनेकतालाई एकतामा ल्याएर समाजमा सांस्कृतिक, धार्मिक तथा आध्यात्मिक सुव्यवस्था कायम गर्नु थियो । अनेकतामा एकता सनातन दर्शनमा विविधताका सन्दर्भमा अत्यन्तै सान्दर्भिक प्रसंग रहेको छ अद्वेत वेदान्ती आदिगुरु शंकराचार्य र मीमांसा मार्गी प्रकाण्ड विद्वान पंडित मण्डन मिश्रविचको शास्त्रार्थ र मिश्रको पराजय पश्चात गुरु र नव शिष्यविच भएको संवाद । ३२ दिन लामो चलेको यो शास्त्रार्थ सनातन दर्शनको इतिहासमा अत्यन्तै महत्वपूर्ण तथा प्रभावशाली मध्य एक मानिन्छ जसले सनातन दर्शन तथा धर्ममा अनेकतामा एकता कायम गरेर विविधतासंगको स्वीकार्यताको अवधारणा र मान्यतालाई सनातन समाजमा स्थापित र अझ मजबुत बनाउन मद्धत गरेको थियो । सनातन वेदान्त दर्शन र सनातन धर्मको प्रचारप्रसारका लागि आदिगुरु शंकराचार्यलाई स्वयं महर्षि वेदव्यासले दर्शन दिएर महापंडित कुमारील भटसंग शास्त्रार्थ गर्न सुझाउनु भएको थियो । महापंडित कुमारील भटको आश्रममा पुग्नुभएका आदिगुरु शंकराचार्यलाई आफ्नो गुरुलाई शास्त्रार्थमा पराजित गरेको हिनतावोधको कारण आफैंलाई सजाय दिन अग्निदाह(जलेर आत्महत्या) गरिरहेका कुमारील भट्टले प्रकाण्ड पंडित मण्डन मिश्रसंग शास्त्रार्थ गर्न सुझाएपछि आदिगुरु शंकराचार्य भारतको मध्यप्रदेश, बद्रिनाथ क्षेत्रमा मिश्रको घर सोध्दै, खोज्दै जानुभयो । बाटो हिड्नेले जसको घरवाहिर मूल ढोकामा सुगा र मैना जगत र ब्रम्हको सत्य र मिथ्याको बारेमा शास्त्रार्थ गर्छन त्यही घर प्रकाण्ड पंडित मण्डन मिश्रको हो भनेर बताएपछि वहाँ सिधै गन्तव्यमा पुग्नु भएको थियो । 


पंडित मण्डन मिश्रका दम्पतिनै सनातन शास्त्रका विद्वान, विद्वुषी थिए । शास्त्रार्थ प्रारम्भ भयो, यो शास्त्रार्थ सनातन दर्शनको इतिहासमा शास्त्रार्थहरुको श्रृंखलामा विशेष स्थान तथा मान्यता प्राप्त तथा उत्कृष्टतम मान्यता हासिल गरेको सबैभन्दा लामो चलेको शास्त्रार्थ थियो जो निरन्तर ३२ दिन लामो चलेको थियो । पंडित मण्डन मिश्रकी पत्नी सरस्वती उभया भारती निर्णायक रहनुभएकी यस शास्त्रार्थमा आदिगुरु शंकाराचार्य विजयी हुनुभयो  शास्त्रार्थको नियममा जो पराजित हुन्छ उ विजयी हुनेको शिष्य बन्नुपर्ने र आफ्नो जीवनशैली पनि गुरुको जस्तो गर्नुपर्ने प्रावधान राखिएको थियो । शास्त्रार्थमा पराजित भएपछि नियम अनुसार प्रौढ मण्डन मिश्र युवा आदिगुरु शंकराचार्यका शिष्य बन्नुभयो र संयास धारण गर्नुभयो । आदिगुरु शंकराचार्यले आफ्ना नव शिष्य मण्डन मिश्रको नाम बदलेर सोधाकर राख्नु भयो । नव शिष्यले आफूले अव अगाडि के काम गर्ने भनेर गुरुको आदेश माग्नुभयो, गुरु शंकराचार्यले यस शास्त्रार्थमा भएका ‘उक्तम’ अर्थात गुरुले भन्नु भएका विषय, ‘अनुक्तम’ अर्थात गुरुले नभन्नु भएका विषय र ‘दुरुक्तम’ अर्थात गुरुले गलत भन्नु भएका विषयहरुबारे व्याख्या सहित विस्तारमा लेख्न आदेश दिनुभयो । यही नै हो अनेकतामा एकताको वास्तविक अर्थ जस अन्तर्गत अरुका फरक विचार तथा अलग मतहरुलाई पनि प्रसन्नताकासाथ स्वागत गर्दै शास्त्रसम्मत ढंगले तीनको उपयोगिता हेरेर सहर्ष भावले स्वीकार र विवेकपूर्ण ढंगले आत्मसाथ गर्दै सर्वकल्याणका लागि व्यवहारमा उतार्नु तथा विविधता तथा अनेकतालाई एकतामा समेट्नु । अनेकतालाई एकतामा समेट्न सक्ने क्षमता, खुवी र कला सनातन अध्यात्म दर्शनमा प्राचीकालदेखि नै रहदै आएको छ र यसैकारण सनातन दर्शन आजपर्यन्त विश्वकै सर्वोत्कृष्ट दर्शनको रूपमा स्थापित रहेकोछ । 


अलग–अलग मतहरुको वुद्धिमत्तापूर्ण स्वीकृति(इन्टलेक्चुअल एसेप्टेन्स) नै सनानत दर्शन तथा धर्मको विकास तथा स्थात्विको वास्तविक संजिवनी हो । एउटै विषयमा अरुले फरक विचार तथा अलग प्रकारका मतहरू राखिरहेका छन् भने म आफू वुद्धिमत्तापूर्ण ढंगले पेश आएर तटस्थ रहेर आदरकासाथ ती फरक विचार तथा अलग मतहरुकोे व्याख्या गर्न सकौं, यसो गर्नु अनेकतामा एकता ल्याउन सक्ने क्षमताको कलात्मक तथा विवेकपूर्ण प्रस्तुति हो । तत्कालीन परिस्थितिमा उक्त फरक विचार तथा अलग मतको जाँच–परख गर्न र त्यसको शास्त्रीय अध्ययन, पुष्टी र व्याख्या गर्न सकौं र सही तथा उपयोगी भए उक्त विचार तथा मतहरूलाई मानवीयता तथा सबैको हितकालागि लाभकारी हुनेगरि तथा सबैमा सामनजस्य हुनेगरि विवेकपूर्ण ढंगले सिद्धान्त र व्यवहारमा उतार्न सकौं । विश्वका अरु दर्शन, धर्म तथा सम्प्रदायहरुमा फरक विचार तथा अलग मत राख्नेहरुलाई दबाइन्छ, हिंसा गरिन्छ, सजाय दिइन्छ, कतिपय अवस्थामा बिभत्स रुपमा हत्या समेत गरिन्छ । महान दार्शनिक शुकरातलाई विष पिलाइएको, भगवान इशामसिहलाई सुली चढाइएको, सुफी सन्तहरुलाई जिउदै जलाइएका दर्दनाक घटनाहरु अनेकतालाई स्वीकार गर्न नसक्नुका परिणामहरु थिए । तर सनातन दर्शन तथा सनातन धर्ममा फरक विचार तथा अलग मत राख्नेहरुलाई सम्मानपूर्वक स्वागत गरिन्छ, उनीहरुको मतको कदर गरिन्छ, फरक विचार तथा अलग मतहरुलाई विद्वत वर्ग तथा समुहहरुद्वारा जाँच–परख गरिन्छ, तीनको शास्त्रीय अध्ययन, पुष्टी र व्याख्या गरिन्छ । यसपश्चात सही तथा उपयोगी लाग्यो भने विवेकपूर्ण ढंगले फरक मतका ज्ञानहरुलाई सिद्धान्त र व्यवहारमा समावेश गरी व्यवहारिक किसिमले प्रयोग तथा उपयोगमा ल्याइन्छ ।


यस सन्दर्भमा वेदान्ती कविवर कवि शिरोमणि लेखनाथ पौडेलज्यूले बडो सान्दर्भिक पंक्ति भन्नु भएको छ, “उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर, फलेको बृक्षको हाँगो नझुकेको कहाँ छर ।” अर्थात उपकारी, गुणी, विद्वान, विवेकशील, ज्ञानवान, प्रज्ञावान व्यक्ति निरन्तर झुक्दछ, अरुको स्वतन्त्र अस्तित्वलाई स्वीकार गर्दछ र अरुको विचार, मत, दृष्टिकोण तथा कुरा सुन्छ न्यायधिस(जजमेन्टल) नभइकन तटस्थ भएर र आवश्यक परेमात्र आफ्नो विचार, मत तथा प्रतिक्रिया व्यक्त गर्छ । त्यस्तै उपकार, परोपकार, सर्वकल्यण तथा सकारात्मकता माथि विश्वास राख्ने आस्थाको जगमा खडा भएका दर्शन, धर्म, सम्प्रदाय, समुह, संस्था तथा संगठनहरु पनि उदारता, स्वतन्त्रता, समानताका मूल्यमान्यताहरुमा विश्वास राख्दछन्, आत्मसाथ गर्दछन् र समाजमा उठेका सबै प्रकारका फरक विचार तथा अलग मतहरूको कदर गर्दछन् र ती विचार तथा मतहरुमा नमिलेका विषयहरुमा आवश्यक सुधार गरी, थपघट गरी तीनको तात्कालीक सान्दर्भिकता र उपयोगिता हेरेर सबैको हितमा हुनेगरि व्यवहारीक रुपमा अनुशरण गर्दछन् । त्यस्तै प्रसिद्ध सायर बसिर बद्र साहवले पनि यस सन्दर्भमा बडो सान्दर्भिक शेर भन्नुभएको छ, “मगरुर आँधी दरख्तोको पटक जाएगी, वही शाखा बचेगी जो लचक जाएगी ।” यी दुवै कविताका सार करिव–करिव उस्तै–उस्तै हुन अर्थात जुन दर्शन, धर्म तथा सम्प्रदायमा फरक विचार तथा अलग मत राख्न सक्ने स्वतन्त्रता हुन्छ र तीनको कदर तथा मान्यता हुन्छ त्यस्ता दर्शन, धर्म तथा सम्प्रदायहरू निरन्तर अग्रगमनको दिशामा अघि बढिरहन्छ र जुन दर्शन, धर्म तथा सम्प्रदायमा अरुलाई फरक विचार तथा अलग मत व्यक्त गर्ने स्वतन्त्रता हुदैन, तीनको कदर तथा मान्यता हुदैन त्यस्ता दर्शन, धर्म तथा सम्प्रदायहरु निरन्तर पतनको मार्गमा अर्थात पश्चगमनको अवस्थामा पुग्छन् र विस्तारै पतन तथा लोप हुन्छन् । ठिक यही सुत्र हरेक मानिसको व्यक्तित्व तथा नेतृत्व विकासमा पनि लागू हुन्छ ।


जहाँ फरक विचार तथा अलग मत राख्न स्वतन्त्रता दिइन्छ, सम्मानसाथ स्वागत तथा स्वीकार गरिन्छ यस्तो कलात्मक उदारताले दर्शन, धर्म तथा सम्प्रदायका मूल्यमान्यताहरुलाई धोइपखाली गर्छ र अझ पवित्र, चम्किलो, युग सुहाउदो हुनेगरि समृद्ध र उपयोगी बनाउछ किनकी दर्शन तथा धर्म जमेको फोहर पानी होइन, धर्म त अध्यात्मको शिखरबाट प्रवाहित भएको अटुट पवित्र गंगाको धारा हो; धर्म त झरना हो जो अलग–अलग भूगोल, मौसम, वातावरण, प्रकृति, ढुंगा, माटोको विविधतमा हेलिदै, बग्दै–बग्दै खारिएर, पवित्र भएर महासागरमा गएर मिल्छ र त्यो महासागर ‘अध्यात्म’ अर्थात स्वयं ‘परमात्मा’ हो । आत्मा अर्थात चेतनाको कथा पनि यस्तै नै हो जो अनेक योनीमा जन्म लिदै–लिदै, अनेक सुख, दुःख, राम्रा, नराम्रा, मिठा, नमिठा अनुभव तथा अनुभूतिहरु संगाल्दै, खारीएर अनुभवी, पवित्र तथा विकसित हुदै अन्तत्वगत्वा चेतनाको महासगरमा गएर मिल्छ र त्यो चेतनाको महासगर नै वास्तविक अध्यात्म अर्थात परमात्मा अर्थात इश्वर अर्थात वैश्विक चेतना(सुपर कन्सस) हो । वेदान्त दर्शनका अनुसार हरेक मनुष्यले मानव योनीमा जन्म लिनुको आत्यन्तिक गन्तव्य अध्यात्मको शिखरमा पुग्नु तथा परमात्मामा योगस्थ हुनु हो जसपश्चात मनुष्यलाई अन्तिम मुक्ति, मोक्ष तथा निर्वाण(इटरनल लिवरेसन) मिल्दछ र मनुष्य सदाकालागि जन्म–मृत्युको दुःखदायी चक्रबाट वाहिर निस्कन्छ । समग्रमा भन्नुपर्दा, फरक विचार तथा अलग मतलाई स्थान तथा मान्यता नदिने सम्प्रदाय तथा समुहहरु वास्तवमा अध्यात्म तथा परमात्मा विरोधी हुन् र यस्तो व्यवहारले आत्माको विकासलाई रोक्दछ, मोक्ष प्राप्तिमा अवरोध खडा गर्छ, अध्यात्म र धर्मको विकासलाई पनि रोक्दछ, पछाडि पार्छ, धर्म तथा सम्प्रदायलाई बदनाम गर्छ, अद्योगतिमा लैजान्छ र मनुष्यको जीवनको नियमित विकासमा समेत अवरोध खडा गर्छ । तर सनातन अध्यात्म दर्शन तथा सनातन धर्म विवेकपूर्ण ढंगले सबैलाई समेटेर लाने, अनेकतामा एकता ल्याउन सक्ने, आध्यात्मिक, धार्मिक कलात्मकताको विज्ञान हो त्यसैले यो युगौंदेखि विश्व समाजमा एकनासले शानकासाथ स्थाइत्वमा रहदै आइरहेको छ  विश्वमा आउने र जाने धर्म तथा सम्प्रदायहरुको फेहरीस्तमा सनातन धर्मले एउटा अलग प्रकारको पहिचान बनाएर तथा सम्मानजनक लोकप्रियता हासिल गरेर अस्तित्वमा रहीरहेको छ । 



तर विडम्वना, आजको वास्तविकतालाई हेर्दा सनातन धर्मको विरुद्धमा बोल्ने, विरुद्धमाअभियान चलाउने तथा कलम चलाउने केही मानिस तथा समुहहरु पर्याप्त ज्ञानको अभावका कारण सनातन धर्ममा भएका अनेकताहरु जस्तोकी धेरै भगवान, देवी, देवता, अवतार, सम्प्रदाय, पन्थ, समुह, योगी, साधु, सन्तहरुको फरक–फरक मत जस्ता विषयहरुलाई तोडमरोड गरेर मुद्धा बनाउने र यीनै विषयहरुलाई उछालेर सनातन हिन्दु धर्ममा एकत्व छैन, के मान्ने के नमान्ने निरक्योल गर्नै नसकिने, डामाडोल तथा गोलमाल छ भन्ने जस्ता आधारहिन कुतर्कहरु गरेर सनातन दर्शन तथा धर्मलाई निचा देखाउने, होच्याउने, अपमान, उपहास तथा बदनाम गर्ने प्रयास गर्दै आइरहेका छन् यस्ता असोभनिय गतिविधिहरु केही अवैदिक दर्शन तथा धर्महरु र स्वयं सनातन दर्शनकै आस्तिक अनुयायीहरु आ-आफ्नो पन्थ तथा गुट बनाएर सनातन दर्शनको अन्तर्य तथा मूलमर्म नबुझेका कारण गर्दै आइरहेका छन् । सनातन धर्मका धेरै राम्रा, महत्वपूर्ण तथा उपयोगी कुराहरुलाई यस्ता मानिसहरुले विभिन्न प्रकारले बंग्याएर, अर्थको अनर्थ लगाएर सत्य–तथ्यलाई बिगारीदिएका छन् । तर यो उनीहरुको सम्वन्धित विषयमा पर्याप्त अध्ययनको अभावका कारण अपर्याप्त ज्ञानले उत्पन्न गरेको दुषित मनोदशा बाहेक अरु केहीपनि होइन । सनातन अध्यात्म दर्शनले अनेकता अर्थात फरक विचार तथा अलग मत, अलग संस्कृति, परमपरा, रीतिरिवाज, चालचलनलाई सहर्ष स्वीकार र सरहाना गर्छ । सनातन अध्यात्म दर्शनले यस्ता अनेकताहरुलाई सनातन धर्मको विकासको अमृत तथा मूल कडीको रुपमा आत्मसाथ गर्दै आएको छ जसले सनातन धर्ममा युग सान्दर्भिक परिवर्तन तथा विकास ल्याउन र लामो समयसम्म सनातन धर्मलाई स्थाइत्व दिन मद्धत गर्दै आएका छन् । वास्तविकता पनि यही नै हो की अनेकतामा एकता भएकै कारण सनातन दर्शन तथा धर्म विश्वकै प्राचीनतम र उत्कृष्ट दर्शनको रुपमा लोकप्रिय बन्दै, ख्याती कमाउदै सबै सामु खडा हुन सकेको हो । भनिन्छ,“मुण्डे मुण्डे जायते ।” अर्थात हरेक मानिससंग अलग–अलग प्रकारको वुद्धि, प्रतिभा, क्षमता, सिर्जनशीलता, लगनशीलता हुन्छ । यस्ता विविधताहरुलाई समेटेर मानव सभ्यताको विकासमा तीनको उच्चतम उपयोग गर्न सक्नु कलात्मक विज्ञान हो र सनातन धर्मको सरल, सहज र सफल जीवन जीउन सिकाउने कलाको विज्ञानले मात्र यस्तो अनुपम काम र योगदान गर्न सकेको छ सभ्यता तथा मानवीयताको युग सान्दर्भिक परिवर्तन तथा विकासकालागि अनेकतालाई एकातामा समेटेर । यहीकारण सनातन धर्म विश्वसामु हजारौं हजार वर्षदेखि शिर ठाडो पारेर खडा भैरहेको छ सनातन अध्यात्म विज्ञानका रूपमा किनकी सनातन अध्यात्म 'विज्ञान' हो, विज्ञान त्यस्तो ज्ञान हो जो समय र कालखण्डका अनेक कसीहरुमा माझिएर तथा खारिएर व्यवहारीक प्रयोगमा निरन्तरता पाउँदै आएको हुन्छ । 


आज विश्वभरिका हरेक चेतनशील तथा चिन्तनशील मानिसहरु सनातन धर्मका प्राचीनतम वैज्ञानिक खोज र यसका महानतम शास्त्रहरुप्रति नतमस्तक भएर सम्मान व्यक्त गर्दछन् । विश्वका उच्चतम प्रगति गरेका देश तथा ठूला–ठूला वैज्ञानिक संस्थाहरु– अमेरीकास्थित अमेरिकन एष्ट्रोनोमिकल सोसाइटी(AAS), नासा, रसियास्थित रसियन अकाडेमि अफ साइन्स(RAS), चीनस्थित चाइनिज अकाडेमि अफ साइन्स(CAS)ले बर्षौदेखि सनातन षटदर्शन तथा नवदर्शन शास्त्रहरुमा समेटीएका ब्रम्हाण्डका अन्तिम शाश्वत ज्ञान तथा महाज्ञान  विज्ञान तथा महाविज्ञानका सैद्धान्तिक तथा व्यवहारीक तथ्यहरुमाथि ठूलो धनराशी, समय, वुद्धि, विवेक र श्रम खर्चेर निरन्तर ब्रम्हाण्डिय तथा मानवीय विषयहरुमाथि वैज्ञानिक अध्ययन, अनुसन्धान तथा खोजका कार्यहरु गरिरहेका छन् र सनातन अध्यात्म दर्शनको युग सान्दर्भिक विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन् । सनातन अध्यात्म दर्शन विश्वको यो कदमको सहर्ष स्वीकार गर्दछ किनकी सनातन अध्यात्म दर्शन अनेकतामा एकता समेटेर विविधतामा सर्वकल्याण देख्ने महानतम विज्ञान हो । सनातन अध्यात्म विज्ञानका सांख्य दर्शन, योग दर्शन, न्याय दर्शन, वैशेषिक दर्शन, पूर्व मीमांसा दर्शन, उत्तर मीमांसा अर्थात वेदान्त दर्शन, चार्वाक दर्शन, जैन दर्शन, बौद्ध दर्शनमा उल्लेखित जीवन र जगतका ज्ञानहरुलाई आजका विश्वका ठूला–ठूला वैज्ञानिक प्रयोगशालाहरुले प्रयोग र परिक्षण गर्दै आइरहेका छन् र नयाँ–नयाँ रहस्यमय सूचना तथा जानकारीहरु विश्वसामु सम्प्रेसित गरिरहेका छन् । आधूनिक भौतिक प्रमात्रा विज्ञान(क्वान्टम साइन्स)ले वर्तमान समयमा गरिरहेका अणु तथा परमाणु(एटम, सवएटम)को विज्ञान सनातन षटदर्शनको वैशेषिक दर्शनका सिद्धान्तहरु र श्रीमद् भगवद् गीतामा उल्लेखित उर्जा तथा पदार्थका विषयहरुको अध्ययनको निरन्तरता मानिन्छ । उर्जा, चेतना तथा उच्च चेतना(सुपर कन्सस)को विज्ञान सनातन षटदर्शन अन्तर्गतको वेदान्त दर्शनका अद्वेत, द्वेत, विशिष्ठ अद्वेत वेदान्तका सिद्धान्तहरु र वेदको मूलसार श्रीमद् भगवद् गीतामा उल्लेखित विषयहरुको अध्ययनको निरन्तरता मानिन्छ । 


त्यस्तै गणना, अंक तथा कम्प्युटरको विज्ञान सनातन षटदर्शनको सांख्य दर्शनका सिद्धान्तहरुको अध्ययनको निरन्तरता मानिन्छ । वर्तमान समयमा मानव समाजमा अत्यधिक हावी भएको भौतिकवादको विज्ञान सनातन चार्वाक दर्शनका सिद्धान्तहरुको अध्ययनको निरन्तरता मानिन्छ । त्यस्तै तथ्य, प्रमाण तथा प्रामाणिकताका विषयहरु सनातन षटदर्शनको न्याय दर्शनका सिद्धान्तहरुको अध्ययनको निरन्तरता मानिन्छ । माथि उल्लेखित तथ्य अनुसार यो भन्न सकिन्छ कि वर्तमान समयमा केही विषयहरुमा पुरै विश्वले नै मानव सभ्यताको सन्तुलित विकासकालागि सनातन दर्शनको मूल अवधारणा 'अनेकतामा एकता विश्व समाजमा विविधता'को सिद्धान्तलाई अंगीकार गर्ने प्रयास गर्दै आइरहेको छ र यसकालागि वर्तमानमा गरिराखिएका आधूनिक भौतिक विज्ञानका गहन वैज्ञानिक अध्ययन, अनुसन्धान, खोजहरुमा पूर्वीय सनातन दर्शनलाई सारथी बनाएर अघि बढिरहेको छ । सनातन अध्यात्म दर्शनका महान शास्त्रहरु– वेद, उपनिषद, भगवद् गीता, ब्रम्हसुत्र, योग दर्शनका ज्ञान, विज्ञान, महज्ञानहरुलाई संस्कृत भाषाबाट आ–आफ्नो भाषामा अनुवाद गरेर तथा संस्कृत भाषाकै अध्ययन गराएर विश्वभरिका ठूला–ठूला शैक्षिक(अकाडेमिक) र विज्ञान तथा प्रविधि(साइन्स एण्ड टेक्नोलोजी)संस्था, महाविद्यालय, विश्वविद्यालयहरुले अध्ययन तथा अध्यापन गराइरहेका छन् र मानिसहरु आफू सवयंले पनि रुचि राखेर पढिरहेका छन् । यीनै सनातन शास्त्रका ज्ञान, विज्ञानहरुलाई सन्दर्भ सामग्री बनाएर आधूनिक भौतिक विज्ञान, आधूनिक चिकित्सा विज्ञान, आधूनिक मनोविज्ञान जस्ता मानवीय सभ्यता, विकासक्रम र मानव जीवनमा उल्लेख्य रुपान्तरण ल्याएका छन् र भविश्यमा अझै महत्वपूर्ण रुपान्तरण ल्याउन सक्ने ठूला–ठूला विद्या, शास्त्र तथा विज्ञानहरुले आ–आफ्ना नयाँ–नयाँ सिद्धान्तहरुको प्रतिपादन तथा पाठ्यक्रमहरुको निर्माण गरिरहेका छन् र पूरै विश्वलाई एकसाथ सुशिक्षित गराइरहेका छन् । विश्व समाजले वर्तमान समयमा गरिरहेका यी प्रयासहरु र आदिगुरु शंकराचार्यले गर्नु भएका सबै आध्यात्मिक अभियानहरु खासगरि शास्त्रार्थहरुको उद्देश्य अनेकतामा एकता सनातन दर्शनमा विवेकपूर्ण विविधता ल्याउने अभियानहरु नै थिए तथा हुन् । bsirjana@gmail.com




No comments:

Post a Comment