सन्देश
“एक पृथ्वी एक स्वास्थ्यका लागि योग” डा. सिर्जना भण्डारी*
आध्यात्मिक सम्वोधन
हरि ॐ ! उपस्थित सबै पवित्र आत्माहरुलाई अन्तर हृदयदेखि नमन् गर्दछु !
यहाँहरु सबैलाई ११औं अन्तर्राष्ट्रिय योग दिवसको हार्दिक शुभकामना ! विश्वको छाता संगठन सम्युक्त राष्ट्रसंघले योग दिवसको यसवर्षको मूल नारा “योग फर वान अर्थ, वान हेल्थ अर्थात एक पृथ्वी एक स्वास्थ्यका लागि योग” भनेर घोषणा गरेको छ । यो आदर्श वाक्य सनातन दर्शनको महा उपनिष शास्त्रबाट लिइएको हो, यसको वास्तविक अर्थ ‘पूरा पृथ्वी एक परिवार हो’ र योग दिवसको सन्दर्भमा यसको अर्थ योग दर्शन र योग साधनाको माध्यमबाट पृथ्वीमा स्थित सबै जीव, वनस्पति, पदार्थ तथा समग्र प्रकृतिलाई स्वस्थ तथा आरोग्य बनाउँ भन्ने हो ।
हामी सबै आत्माहरु, परमात्माका अभिन्न अंश स्वरुपमा सदा पवित्र र सतचिदानन्दमा छौं । अपवित्र के छ ? हाम्रो रोगी शरीर, हाम्रा नराम्रा बानी व्यवहारहरु, मानवीय विकार तथा क्लेश(लोभ, मोह, इष्र्या, घृणा, बदला आदि), अर्कोप्रति नकारात्मक सोच, विचार, भावना, अरुको अहित हुने कर्म आदि हामीले गर्ने गरेका कर्महरु अपवित्र छन् र यो अपवित्रताको फोहर तथा धूलोले हाम्रो पवित्र आत्मामा रहेको सतचिदानन्दको प्रकाशलाई ढाकिदिएको छ । यो प्रकाशको अभावका कारण हामी दुःखी, विपन्न, असन्तोषी, रोगी भएका हौं र यसको सही ढंगले उपचार गर्ने एकमात्र माध्यम तथा उपकरण हाम्रा पूर्खाहरुको विरासत तथा सनातनको पुजी ‘योग साधना’ हो किनकी योग अत्यन्तै प्रभावकारी र परिणाममुखी चिकित्सा विज्ञान हो । योग चिकित्सा आरोग्यताको विज्ञान हो र योग चिकित्साले “रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिने उपायहरु अपनाउनु वुद्धिमानी हुन्छ” भन्ने आदर्शलाई आत्मसाथ गर्दै योग साधनालाई हाम्रो व्यवहारीक जीवनमा प्रयोगात्मक अभ्यासमा ल्याउन जोड दिन्छ । तर आधूनिक चिकित्सा विज्ञान रोग लागेपछि उपचार गर्ने सिद्धान्तमा आधारीत छ । यसकारण आधूनिक चिकित्सा विज्ञानले रोगको उपचार गर्छ तर योग चिकित्सा विज्ञानले मानिसको उपचार गर्छ, मानिस भनेको शरीर, मन, भावना र चेतना चार आयामहरुको संयोग हो । योगले मानिसका चारवटै शारीरिक, मानसिक, भावनात्मक र चेतनात्मक आयामहरुमा कुनैपनि प्रकारका रोगहरु लाग्न नसक्ने गरि आरोग्य तथा निरोगी बनाउछ । त्यसैले योग साधना गरौं, गराऔं र निरोगी बनौं, बनाउँ ।
सनातन दर्शनको पृष्ठभूमि
सनातन दर्शन तथा सनातन धर्मका तीन प्रमुख आयामहरु ‘अध्यात्म’, ‘धर्म’, ‘संस्कृति’ के हुन् र यी तीन आयाम तथा विषयहरुलाई योग साधना विज्ञानले कसरी जोडेकोछ यसबारे संक्षिप्तमा केही जानौं ।
अध्यात्म के हो?
सनातन दर्शनका आयामहरुलाई छाताको उदाहरणले स्पष्ट बुझ्ने प्रयास गरौं । ‘अध्यात्म’ समग्र छाता हो, ‘धर्म’ छाताको समाउने डण्डी हो र ‘संस्कृति’ छाताका करंगहरु हुन् अर्थात धर्म र संस्कृति अध्यात्मका अभिन्न अंगहरु हुन् । अध्यात्म आफूभित्र अन्तरयात्रा गरेर आफ्नो आत्माको माध्यमबाट परमात्मालाई खोज्न सिकाउने योग साधनाको विज्ञान हो । ‘अधि’ र ‘आत्म’ दुई शव्द मिलेर बनेको ‘अध्यात्म’ संयुक्त अव्द स्वयं परमात्मा हो किनकी अधिको अर्थ परम हो आत्मा जोडेर परमात्मा बनेको हो अर्थात हामी आत्माहरुको पनि आत्मा परम आत्मा अर्थात मुख्य आत्मा परमात्मा हो । परमात्मा, परब्रम्ह, पुरुसोत्तम, गड–खुदा–अल्ला–इश्वर, परमेश्वर, सबै उही अव्यक्त, निराकार सर्वव्यापक, सर्वशक्तिमान प्रभुका उपनाम तथा उपमाहरु हुन् र भगवान, भगवती, देवी, देवता, योगी, साधु, सन्त, सदगुरुहरु सबै उही प्रभुका व्यक्त तथा साकार स्वरुप हुन् । सनातन धर्म मान्ने सनातनीहरुले जीवनमा प्राप्त गर्ने अन्तिम उपलव्धि मोक्ष हो र मोक्ष भनेको आत्मा र परमात्माको योग अर्थात जोड हो । हाम्रो आत्मा र परमात्माको योग भएपछि हामीलाई मोक्ष अर्थात निर्वाण अर्थात अमरत्व अर्थात अन्तिम मुक्ति(इटरनल लिवरेसन) प्राप्त हुन्छ र मानिस बारबार जन्मिने र मर्ने जन्म–मृत्युको दुःखदायि चक्रबाट सदाकालागि मुक्त हुन्छ । मोक्षकालागि अत्यावश्यक आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञान तथा परमात्माज्ञान सिकाउने एकमात्र ज्ञान तथा विज्ञान सनातन योग साधना हो जुनसनातन अध्यात्म विज्ञानको सबैभन्दा महत्वपूर्ण अंग तथा विषय हो । सनातन अध्यात्म विज्ञान विज्ञानहरुको पनि विज्ञान महाविज्ञान हो किनकी वर्तमान समयमा विश्वमा प्रचलनमा रहेका जतिपनि ज्ञान, विज्ञान, आविस्कार, सिद्धान्त, सुत्रहरु विकास गरिएका छन् ती सबै सनातन अध्यात्म दर्शनका महाग्रन्थहरु वेद तथा उपविषदहरुबाट निसृत अर्थात प्रतिउत्पादक भएका ज्ञानहरु हुन् । त्यसैले योग साधना गरौं अध्यात्म ज्ञानी र आध्यात्मिक बनौं ।
धर्म के हो ?
सनातन अध्यात्म विज्ञानका दुई प्रमुख अंग धर्म र संस्कृति मोक्ष मार्गका सहायक हुन् । धर्म भनेको कर्मकाण्ड, संस्कार, ब्रत, तीर्थ गर्नु होइन । धर्मको वास्तविक परिभाषा मानिसले मानव(सदगुणी) भएर आफ्नो जीवनकालभरि उसले गर्नुपर्ने सबैप्रकारका कर्तव्य, उत्तरदायित्व र जिम्मेदारीहरु हुन् । सनातन हिन्दुहरुको मूलग्रन्थ श्रीमद् भगवद् गीतामा भगवान श्रीकृष्णले मानवका पाँच प्रकारका मूलधर्महरु उल्लेख गर्नुभएको छ– (१)आफूप्रतिको धर्म, (२)परिवारप्रतिको धर्म, (३)समाज प्रतिको धर्म, (४)प्रकृतिप्रतिको धर्म, र (५)परमात्माप्रतिको धर्म । आफूप्रतिको धर्मलाई स्वधर्म भनिन्छ र परमात्माप्रतिको धर्मलाई परमधर्म भनिन्छ तर पाँचै प्रकारका धर्महरु परमधर्म अन्तर्गत नै पर्दछन् किनकी आफू लगायत हामी सबै मानिस, जीव, वनस्पति, पदार्थ तथा प्रकृति परमात्माकै अभिन्न अंश हौं । आफु र अरुप्रतिका धर्महरु निभाउनु स्वयं परमात्माको सेवा गर्नु हो, पाँचौं धर्म परमधर्मको पालना गर्नु हो तथा आफूले मानव भएर नगरीनहुने कर्तव्य, उत्तरदायित्व तथा जिम्मेदारीहरु निभाउनु हो ।
हामी आफूतिर फर्केर हेरौं त, के मैले आफूप्रतिको धर्म निभाएका छु ? के मैले आफूलाई शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक रुपले आरोग्य तथा स्वस्थ राखेको छु ? के मैले आफूलाई मेरा प्राकृतिक स्वाभावहमा फक्रिन दिएको छु ? के मैले मेरो स्वाभाव तथा रुची अनुसारको अध्ययन, पेशा, व्यवसाय गरेको छु ? सनातन दर्शनका शास्त्रहरुमा विशेष जोडदिएर उल्लेख गरिएको छ, सर्वप्रथम आफूप्रतिको धर्म निभाउनु नै मनुष्यको सबैभन्दा ठूलो धर्म तथा मूल धर्म हो । आफूप्रतिको धर्म सहीढंगले निभाउन सक्यो भने यसको जीवनको ८० प्रतिशत धर्म, कर्तव्य, उत्तरदायित्व तथा जिम्मेदारी पूराभयो । यदि मैले मेरो शरीर, मन, भावना, आत्मा अर्थात चेतना, स्वाभाव, रुचीलाई राम्ररी चिनें, यीनलाई कसरी आरोग्य, स्वस्थ, शुद्ध, चुस्त, सक्रिय राख्ने भनेर जानें भनें मेरो धर्म पालनाको ८० प्रतिशत काम सकिन्छ किनकी सबैको शरीर, मन, भावना, आत्मा अर्थात चेतनाको बनाबट पनि मेरो जस्तै–जस्तै हुनेहुनाले अव यसपछि मैले सजिलै परिवार, समाज, प्रकृति, परमात्मा सबैलाई बुझ्न सक्छु र सबैप्रतिको मेरो धर्म, कर्तव्य, उत्तरदायित्व, जिम्मेदारी निभाउन सक्छु । फेरी हामीले आफूलाई नै हेरौं त, के मैले मेरो परिवारप्रतिको धर्म निभाएको छु आमा–बुवा, छोरा–छोरी, श्रीमान–श्रीमती, दाजु–भाइ, दिदी–बहिनीको रुपमा ? जुन परिवारले मलाई मेरो जीवनमा यहाँसम्म आइपुग्न काँध तथा मद्धत दियो,; अप्ठ्यारा अवस्था तथा परिस्थितिहरुमा ढाडस तथा सहयोग गर्यो । त्यस्तै के मैले मेरो समाजप्रतिको धर्म निभाएको छु एक समझदार सामाजिक प्राणीको रुपमा ? जुन समाजले मलाई कुल, परम्परा, रीतिरीवाज सिकायो; शिक्षा, ज्ञान, विज्ञान, नीति, नियम, कानून सिकायो; देशप्रेम, माटोप्रेम, प्रकृतिप्रेम गर्न सिकायो; कोरा मानिसबाट व्यवहारिक, वुद्धिमानी बन्न प्रेरणा प्रदान गार्यो; मलाई यसलायक गरीखाने तथा आफ्नै गोडामा उभिनसक्ने पेशाकर्मी तथा व्यवसायि बनायो; वाहिरका अप्ठ्यारा, समस्या, पस्थिति तथा चुनौतीहरुसंग लड्न सिकायौ; मलाई खारेर मानिसबाट मानव बनायो । समाजले मलाई यति धेरै कुराहरु दिएको छ, त्यसैले मेरो पनि समाजप्रति धर्म, कर्तव्य, उत्तरदायित्व, जिम्मेदारी बन्छ समाजलाई आफूले सक्दो केही सर्वकल्याण हुने प्रकारका शिक्षा विकास, स्वास्थ्य विकास, अर्थतन्त्रको विकास हुने जस्ता विषयहरुमा योगदान दिउँ ।
त्यस्तै के मैले मेरो प्रकृतिप्रतिको धर्म निभाएको छु एक चेतनशील प्राकृतिक प्राणीको रुपमा ? जुन प्रकृति सबैकी माता हुन् तथा जननी हुन् जसले दिन्छिन् मात्र कहिल्यै माग्दिनन् तर म विवेकशील नागरीक तथा चेतनशील प्राकृतिक प्राणी हुँ भने प्रकृति माताले नमागे पनि मैले उनलाई सक्दो दिनुपर्छ किनकी यो मेरो धर्म हो । हामी सबैको जीवन तथा अस्तित्व प्रकृतिको पंचतत्व पृथ्वी, जल, वायु, अग्नि, आकास अर्थात माटो, पानी, हावा, सूर्य, आकाशको समिश्रणबाट बनेको छ । माटोमा उब्जिएका अन्न, फल, तरकारी, सागपात, जडीबुटीहरुको सेवन गरेर हाम्रो भौतिक शरीर बनेको छ । त्यस्तै पानी, हावा, सूर्यको ताप तथा प्रकाश र आकाशको खुल्लापन भएन भने हामी हुर्कन र बाच्न सक्दैनौं । तर विडम्वना, वर्तमान समयमा हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण सारथी तथा मूलआधार प्रकृति तथा पंचतत्वको हामीले आज के हाल बनाएका छौं मनन् गरौं त एकपटक ? माटो, पानी, हावा, ताप तथा प्रकाश, आकाश सबै तत्वहरु हदैसम्म प्रदुषित भएकाछन् । जानेर या नजानेर प्रकृति प्रदुषित गर्ने हामी स्वयं नै हौं, यसमा हामी सबै दोषि छौं । यही पंचतत्वमा आएको असन्तुलन तथा खरावीका कारण आज विश्वभरिनै प्राणघातक नयाँ–नयाँ प्रकारका रोगका महामारी, मौसमको महामारी, पृथ्वीको बढ्दो तापक्रम आदि सबै कारणले हामी पृथ्वीवासी सारा रोगी, असन्तुलि र अस्थिर भएका छौं किनकी हाम्रो शरीर, मन, भावना, आत्मा अर्थात चेतनाको जननी तथा मूलश्रोत यही पंचतत्व नै हो, हाम्रो रोमरोम, कणकण प्रत्यक्ष रुपमा प्रकृति तथा पंचतत्वबाट प्रभावित छ, यसबाट हामी चाहेर पनि अलग हुन सक्दैनौं, यो हाम्रो साझा भविश्य हो यसैकारण यसवर्षको अन्तर्राष्ट्रिय योग दिवसको नारा “एक पृथ्वी एक स्वास्थ्यकालागि योग” राखिएको हो ताकि हामी सबै यसबारे जागरुक बन्न सकौं ।
हाम्रो जीवन तथा अस्तित्वकालागि अत्यन्तै महत्वपूर्ण प्रकृति तथा पंचतत्वबाट हामीले यति धेरै कुराहरु पाइरहदा हामीले चाहिं प्रकृतिलाई के दिएका छौं त ? के हामीले खेतबारी, खाली जमीनमा हरीयाली तथा बृक्षारोपण गरेका छौं ? के प्लास्टीक प्रयोग नगर्न, कम गर्न तथा त्यसको पुनरप्रयोग तथा सही व्यवस्थापन गर्न कुनै पहल गरेका छौं ? के जैविक र अजैविक फोहोर व्यवस्थापनका लागि केही पहल गरेका छौं ? के अत्यधिक रासायनिक मल, किटनासक प्रयोग घटाएर माटो, पानी, हावा, आकाश, सूर्यको प्रकाश तथा तापलाई स्वस्थ राख्न कुनै पहल गरेका छौं ? के रासायनिक मल, किटनासक प्रयोग गरिएका खाद्य सामग्रीहरुको प्रयोग घटाउने अभियानमा सघाएका छौं ? के प्रकृतिको पारिस्थिकीय प्रणाली(इकोसिस्टम) सही गर्न हामीले अन्य जीव–जन्तु, वनस्पति, हिमाल–पहाड, नदिनालाहरुको संरक्षणकालागि केही पहल गरेका छौं ? यो अत्यन्तै गहन सवाल हो जो हामी मनुष्य लगायत सबै जीव–जन्तु, वनस्पति तथा समग्र प्रकतिको अस्तित्व र स्थाइत्वसंग प्रत्यक्ष रुपमा जोडिएको छ । सनातन दर्शनको महान बिरासत योग साधना विज्ञानले मानिसलाई कर्तव्यनिष्ठ, नैतिकवान, अनुसाशित, धार्मिक मानव बन्न प्रेरित गर्दछ र सबैलाई धर्म परायण बनाउछ त्यसैले योग साधना गरौं आफूलाई धार्मिक बनाऔं ।
संस्कृति के हो ?
संस्कृति मानिसलाई धार्मिक बनाएर अन्तिम गन्तव्य अध्यात्म तथा परमात्मासमम पुर्याउन मद्धत गर्ने सहायक मार्ग तथा विधि हो । हामीले हाम्रो दैनिक जीवनमा परम्परादेखि मान्दै आएका संस्कार, कर्मकाण्ड, पूजा, यज्ञ, ब्रत, तीर्थ, सेवा, दान, पुन्य, परोपकार हाम्रा संस्कृतिहरु हुन् । संस्कृति धर्म र अध्यात्मसंग कसरी योग भएको हुनछ यसलाई उदाहरणले बुझौं, हामी पूजा, श्राद्ध गर्ने, ब्रत बस्ने, तीर्थ गर्ने दिन तथा समय अवधिभरि विहान सबेरै उठेर आफ्नो शरीरको सरसफाई गर्छौं; कोठा, घर, आगन सबैतिर सफा गर्छौं । पूजामा विविध महत्व भएका सामग्रीहरुको प्रयोग गर्छौं; ताजा, सात्विक आहार ग्रहण गर्छौं, अल्पआहार गर्छौं; सफा र सादगी पहिरनहरु लगाउँछौं, झुठ बोल्दैनौं; नकारात्मक सोच, विचार तथा कर्महरु गर्दैनौं पाप लाग्छ भन्छौं; सक्दो सेवा, दान, पुण्य गर्ने प्रयास गर्छौं । यी सांस्कृतिक गतिविधिहरुमा पवित्रता अपनाएर मैले मेरो शरीर र वरपरको प्राकृतिक वातावरणको सरसफाइ गर्छु; ब्रत बसेर, अल्पाहार ग्रहण गरेर तथा सात्विक आहार ग्रहण गरेर मैले मेरो पेटको सफाइ गर्छु; झुठ नबोलेर तथा नकारात्मक आचरण नगरेर मैले मेरो मन, भावना, आत्मा अर्थात चेतनाको सफाइ गर्छु; सेवा, सहयोग, दान, पुण्य गरेर मैले मेरो धनको शुद्धता तथा सफाइ गर्छु साथै परिवार तथा समाजप्रतिको धर्मको पालना गर्छु । कर्मकाण्ड गर्दा संस्कृतका शक्तिशाली मन्त्र तथा स्त्रोत्रहरु पाठ गराउँछौं; जग्गेमा प्रयोग गरिने पवित्र वस्तुहरु– तुलसी, आँप, बर, पिपल, जौ, कुश, तिल, नरिवल, दुवो, सुगन्धित पुष्प, धूप, शंख, घण्ट, चम्मर, पंचामृत, नैवेध, पंचगव्य, चरु, समिदा, अग्नि, माटो आदि सबै औषधिजन्य सामग्रीहरु हुन् । यी औषधिजन्य सामग्रीहरुको प्रयोग हाम्रो शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक स्वास्थ्यसंग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सम्विन्धत छन् । औषधिजन्य सामग्रीहरुले हाम्रो वरपरको वातावरण स्वस्थ राख्छ; हामीले यी सामग्रीहरु खाँदा, छुदा, सुंघ्दा, हेर्दा, नजिकै रहदा हामीलाई प्रत्यक्ष स्वाथ्य लाभ हुन्छ । भनिन्छ, अग्निकुण्डमा चढाईएको तथा हवन गरिएको चरुको धूवाँले समुच्चा ब्रम्हाण्डको वातावरणलाई समेत शुद्ध तथा सफा गर्छ ।
कर्मकाण्ड गर्दा जग्गेमा अनिवार्य रुपमा प्रयोग गरिने यस्ता औषधिजन्य वनस्पतिय तथा प्राकृतिक सामग्रीहरु रोप्ने, हुर्काउने, संरक्षण गर्ने तथा उत्पादन गर्ने गर्नाले प्राकृतिक वातावरणमा सन्तुलनता आउछ र यसको प्रत्यक्ष फाइदा मनुष्य लगायत सम्पूर्ण जीव–जन्तु र समग्र प्रकृतिलाई हुने गर्दछ । यो विषय सनातन धर्मको आयुरवेद चिकित्सा विज्ञान अन्तर्गत पर्दछ । आयुरवेद चिकित्सा विज्ञान पनि सनातन अध्यात्म दर्शनको अर्को अत्यन्तै महत्वपूर्ण विषय हो जसको उल्लेख ऋगवेदमा गरिएको छ । यहाँनेर समग्र मानवता तथा प्रकृतिको कल्याणका लागि आयुरवेद चिकित्सा विज्ञान र योग चिकित्सा विज्ञान एकैठाउँमा आएर जोडिन्छन् तथा योग हुन्छन् किनकी आयुरवेद चिकित्सा विज्ञान पनि वेदबाट निसृत सनातन अध्यात्म दर्शनको महाज्ञान हो र वर्तमान समयमा लोकप्रिय भएको आधूनिक चिकित्सा विज्ञान आयुरवेद चिकित्सा विज्ञानकै परिस्कृत स्वरुप हो ।
यी सबै गतिविधिहरु गरेर हामीले भगवद् गीतामा भगवान श्रीकृष्णले बताउनु भएका पाँच प्रकारका धर्महरुको पालना गरिरहेका छौं । हाम्रा यी सबै दैनिक गतिविधिहरु योग साधना विज्ञानका विषय तथा अंगहरु हुन् । सांस्कृतिक मानिस नै धार्मिक हुन्छ र धार्मिक मानिस नै आध्यात्मिक हुन्छ र आध्यत्मिक मानिस नै वास्तविक योगी हुन्छ र मोक्षको अधिकारी हुन्छ । त्यसैले योग साधना गरौं सांस्कृतिक, धार्मिक, आध्यात्मिक योगी व्यक्ति भएर मोक्षको अधिकारी बनौं । योग साधना विज्ञान हाम्रा पूर्खा तथा प्राचीन वैज्ञानिक ऋषिहरुको प्रसाद हो, प्रसाद ग्रहण गर्दिन भन्न पाइदैन किनकी प्रसाद अमृत तथा औषधि हो र प्रसाद ग्रहण नगरेर आफूलाई रोगी तथा भोगी(वाहिरी संसारप्रति आशक्त) बनाउनु पाप मात्र होइन महापाप हो । महर्षि व्यासले भन्नु भएको छ, “परोपकार पुण्याय, पापाय परपिडनम” अर्थात अरुको परोपकार गर्नु पुण्य हो र अरुलाई पिडा दिनु पाप हो । त्यसैले योग साधना गरौं योगी भएर सबैको परोपकार गरौं र भोगी तथा रोगी नबनौं ।
‘योग’ के हो ?
संस्कृत वांगमयमा सर्वाधिक प्रयोग भएको ‘योग’ शव्दको शाव्दिक अर्थ हो एक चिजसंग अर्को चिजलाई जोड्नु । जस्तो कि, शरीरले जे काम गरीरहेको छ मनले पनि त्यही कामबारे सोच्नु तथा त्यसैमा आफ्नो मनलाई केन्द्रित गर्नु शरीर र मनको योग हुनु हो । सनातन समाजमा योगलाई दुई प्रकारले मानव कल्याणका लागि उपयोग गर्दै आइएको छ– (१)सैद्धान्तिका तथा दर्शन रुपमा, र (२)व्यवहारिक तथा प्रयोगात्मक अभ्यासका रुपमा ।
‘योग’ सैद्धान्तिक तथा दर्शनका रुपमा
योगको सैद्धान्तिक तथा दार्शनिक बुझाइले मनुष्यलाई सांस्कृतिक, धार्मिक तथा आध्यात्मिक बन्नकालागि आवश्यक पर्ने सकारात्मक आचरण, नैतिकता र अनुशासनका तौर–तरिका, नीति–नियम, ज्ञान, विज्ञानहरु प्रदान गर्दछ । यी ज्ञानहरुले हामीले दैनिक जीवनमा अनिवार्य रुपमा अपनाउनु पर्ने, गर्नुपर्ने, जान्नु पर्ने तथा मान्नुपर्ने विषयहरुबारे विस्तृतमा सिकाएर हामीलाई आफूले अरुप्रति गर्नुपर्ने व्यवहारहरु जसलाई ‘यम’ भनिन्छ, आफूले आफैंप्रति गर्नुपर्ने व्यवहारहरु जसलाई ‘नियम’ भनिन्छ, इन्द्रियहरुलाई आफ्नो वसमा राख्ने तरिकाहरु जसलाई ‘प्रत्याहार’ भनिन्छ यी व्यवहार गर्ने सुत्रहरु सिकाएर हामीलाई सत्यनिष्ठ, धर्मनिष्ठ, नैतिकवान, अनुशासित, कर्तव्यनिष्ठ, उत्तरदायि तथा जिम्मेदार नागरीक बन्न मद्धत गर्दछ ।
‘योग’ व्यवहारिक तथा प्रयोगात्मक अभ्यासका रुपमा
योग साधनाको व्यवहारिक तथा प्रयोगात्मक अभ्यास खासगरि योगासन, प्राणायाम र ध्यान साधनाको माध्यमबाट हाम्रो स्वास्थ्यका चार आयामहरु– शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, भावनात्मक स्वास्थ्य, आत्मिक अर्थात चेतनात्मक स्वास्थ्यलाई एकआपसमा योग गर्दै आरोग्य, निरोगी तथा स्वस्थ राख्न मद्धत गर्दछ । शरीरले एउटा काम गरिरहेको छ तर मन अन्तै विचरण गरिरहेको छ भने यो शरीर र मनको योग भएन, वियोग भयो । त्यस्तै मन तथा विचारले कोही व्यक्तिप्रति आफू उप्रति राम्रो भएको अभिनयको व्यवहार गरिरहेको छु तर भित्रबाट उसलाई गाली गरिरहेको छु भने यो मन र भावनाको योग भएन, वियोग भयो । शरीर, मन, भावनामा देखिएको यसप्रकारको वियोग नै हाम्रो अस्वस्थताको मूलकारण हो किनकी यस्तो मान्छे नकारात्मक सोच, विचार तथा भावमा जीवन जीरहेको हुन्छ र नकारात्मक विचारहरु नै सबै प्रकारका रोगहरुको जननी हो भनेर अध्यात्म विज्ञान, आधूनिक मनोविज्ञान र आधूनिक चिकित्सा विज्ञानका वैज्ञानिक खोजहरुले प्रमाणित गरिसकेका छन् । सनातन अध्यात्म विज्ञानमा उल्लेखित योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुले हाम्रो शरीर, मन, भावनामा आएको वियोग र वियोगकाकारण शरीर, मन, भावना, आत्मा अर्थात चेतनामा लागेका रोग तथा समस्याहरुको समाधान गर्न प्रत्यक्ष रुपमा मद्धत गर्दछ किनकी योग साधनाको प्रमुख उद्देश्य हाम्रो शरीरलाई मनसंग, मनलाई भावनासंग, भावनालाई आत्मासंग र आत्मालाई परमात्मासंग योग गराएर अन्तत्वगत्वा मानिसलाई मोक्षमा स्थित गराउनु हो । यस अर्थमा योग साधना मोक्षको पमुख मार्ग हो तसर्थ योग साधना गरौं वियोगको समस्याबाट वाहिर आउँं र शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक तवरले पूर्णतः आयरोग्य योगी भएर मोक्षको मार्गमा हिडौं र मोक्षको अधिकारी बनौं ।
योग साधनाका प्रकार
विभिन्न कालखण्डमा तत्तकालीन मानव समाजको आवश्यकता र परिस्थितिलाई मध्यनजर गरेर धेरै प्रकारका योग साधनाका विधिहरु प्रतिपादन गरिएका थिए । योगका धेरै प्रकारहरुमध्य मानिसको दैनिक जीवनयापन तथा व्यावहारमा उपयुक्त हुने प्रकारले प्रमुख सात प्रकारका योग साधनाहरु बढि प्रचलनमा रहेका छन्– (१)कर्म योग, (२)तन्त्र योग, (३)हठ योग, (४)भक्ति योग, (५)ज्ञान योग, (६)ध्यान योग, र (७)सांख्य योग । यी सातमध्य कर्म योग, भक्ति योग, ज्ञान योग र ध्यान योग चार प्रकारका योग साधनाहरु महत्वपूर्ण मानिएका छन् र यी चार मध्यमा पनि ध्यान योग साधनालाई अझ बढि महत्व तथा प्राथमिकता दिइएको छ ।
पतंजलि योग साधनाको लोकप्रियता
पतंजलि योग, योग सुत्र र अष्टांग योग एउटै ग्रन्थको फरक–फरक नाम हुन् । ध्यान योगको महत्व र प्रभावकारीतालाई केन्द्रमा राखेर मानिसलाई ध्यान योग साधनाको माध्यमबाट मोक्ष प्राप्तिको साधना मार्ग सहज गराउने उद्देश्यले इशापूर्व २००(कतै५०० पनि भनिएकोछ) मा महर्षि पतंजलिले सबै प्रकारका योग साधनाहरुबाट राम्रा, उपयोगी तथा व्यवहारिक र अतिआश्वक विषयहरुको संकलन गरेर उपयोगी दर्शन, विधि तथा पद्धतिहरुलाई एकै सुत्रमा बाध्ने उद्देश्यले पतंजलि योगसुत्र ग्रन्थको प्रतिपादन गर्नुभयो । पतंजलि योगसुत्रमा योग साधनालाई सहज प्रक्रियाबाट अगाडि बढाउन सजिलो पार्ने उद्देश्यले महर्षिले समग्रमा योग साधनाका विधिहरुलाई सुत्रवत रुपमा आठ अंगमा विभाजन गर्नुभएको छ– (१)यम, (२)नियम, (३)आसन, (४)प्राणायाम, (५)प्रत्याहार, (६)धारणा, (ठ)ध्यान, र (८)समाधि । पूर्ण आरोग्ता तथा मोक्ष प्राप्तिको दृष्टिकोबाट सैदान्तिक ज्ञानकालागि आठ अंगमध्य (१)यम, (२)नियम, र (५)प्रत्याहार यी तीन अंगअरु बढि उपयोगी, महत्वपूर्ण तथा व्यवहारीक मानिएका छन् । र प्रयोगात्मक अभ्यासकालागि आठ अंगमध्य (३)योगासन, (४)प्राणायाम, र (७)ध्यान यी तीन अंगहरु बढि उपयोगी, महत्वपूर्ण तथा व्यवहारीक मानिएका छन् र वर्तमान समयमा विश्वव्यापि रुपमा यीनै प्रमुख तीन अंग योगासन, प्राणायाम, ध्यान लोकप्रिय बन्दै गैरहेका छन् । योग साधनालाई आठ अंगमा विभाजन गरिएको कारण पतंजलि योगसुत्रलाई अष्टांग योग पनि भनिएको हो । सबै प्रकारका योग साधनाका राजराज(प्रमुख) विषयहरु समेटीएकोले स्वामी विवेकानन्दले पतंजलि योग अर्थात अष्टांग योगलाई राज योगको सम्वोधन दिएर पंतजलि योगलाई अझ उच्च र महत्वपूर्ण दर्जा प्रदान गर्नुभएको छ जसकाकारण आज विश्वभरि नै पतंजलि योग फैलिदै र लोकप्रिय बन्दै गैरहेको छ र व्यापक रुपमा पतंजलि योगका वैज्ञानिक साधना विधि तथा पद्धतिहरुलाई सैद्धान्तिक तथा व्यवहारिक रुपमा अभ्यास गरिदै आइएको छ । महर्षि पतंजलिले पतंजलि योग सुत्र ग्रन्थमा सुत्रगत तथा संक्षिप्त रुपमा योगको ज्ञान दिने क्रममा मानिसको मेरुदण्ड, श्वाश–प्रश्वाश र मन तथा चित्तको स्थिरतालाई प्राथमिकताकासाथ जोडदिनु भएको छ । महर्षि पतंजलिका अनुसार, “योगश्चित्तवृत्तिनिरोधः” अर्थात मन तथा चित्तको स्थिरता नै योग हो । जव मानिसको मन तथा चित्त स्थिर तथा शुद्ध हुन्छ तव उसको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक अवस्था क्रमशः स्वस्थ हुदैजान्छ र उ मोक्षकालागि आवश्यक सबै प्रकारका अध्यात्म साधना तथा योग साधनाका विधि तथा पद्धतिहरुलाई अनुशरण गर्न सक्षम हुन्छ ।
पछिल्लो समयमा मानिसको आरोग्य तथा स्वस्थ जीवनशैलीका लागि योग साधनाको आवश्यकता र महत्वलाई मध्यनजर गर्दै विश्वको छाता संगठन संयुक्त राष्ट्रसंघले पूर्वीय सनातन अध्यात्म दर्शनको मूल विषय योग साधना विज्ञानका लाभदायक उपलव्धिहरुलाई विश्वका सबै मानिसहरुको मानवीय हितमा उपयोग गर्ने उदेश्यले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस र डिसेम्बर २१ लाई विश्व ध्यान दिवस घोषणा गरेर सबैलाई सनातन अध्यात्म दर्शनका प्रमुख विद्या योग साधना विज्ञान तथा ध्यान साधना विज्ञानमा जोड्ने अत्यन्तै सह्रानिय पहल तथा कार्य गरेको छ । समग्र मानवीयताका लागि सनातन योग साधना विज्ञानका पूर्णतः वैज्ञानिकतामा आधारीत विधि तथा पद्धतिहरुलाई दैनिक जीवनमा निष्ठापूर्वक प्रयोगात्मक अभ्यास गरेर शारीरिक, मानसिक, भावनात्म, आत्मिक अर्थात चेतनात्मक आरोग्यता हासिल गर्न जोड दिएको तथा प्रेरणा प्रदान गरेको छ ।
आज हामी एक पृथ्वी एक स्वास्थ्यको नाराका साथ ११औं अन्तर्राष्ट्रिय योग दिवस मनाउन यहाँ भेला भएका छौं । पृथ्वीको समग्रतालाई समेट्ने यो नारा सनातन दर्शनको महा उपनिषदको आदर्श वाक्य “बसुधैव कुटुम्वकम”मा आधारीत रहेको छ र यसको अर्थ तथा मूलमर्म मनुष्य लगायत ब्रम्हान्डमा रहेका सबै प्रकारका जीव, वनस्पति, पदार्थ, प्रकृति, हिमाल, पहाड, फाँट, नदिनाला सबै हरप्रकारले सन्तुलित तथा स्वस्थ रहनुपर्छ र यी सबै आयामहरुलाई स्वस्थ तथा सन्तुलित राख्नु हामी सकैको मूल कर्तव्य तथा उत्तरदायित्व हो किनकी यो हामी सबैको साझा भविश्य र साझा अस्तित्व हो । यो कर्तव्य, उत्तरदायित्व तथा जिम्मेदारी भगवान श्रीकृष्णले महान सनातन ग्रन्थ श्रीमद् भगवद् गीतामा सुझाउनु भएको मनुष्यका पाँच प्रकारका धर्मकै मूलसार हो । फेरी पनि हामी सबैलाई ११औं अन्तर्राष्ट्रिय योग दिवसको हार्दिक हार्दिक शुभकामना । सनातन अध्यात्म दर्शनबारे संक्षिप्तमा यति कुरा बुझेपछि अव हामीमा योग साधना गर्ने एउटा छुट्टै प्रकारको उत्साह, प्रेरणा र उर्जा अन्तर हृदयबाट प्रष्फुटीत हुनेछ ।
स्वयंसेवक परिचय
योग साधनाको सक्रिय सहभागी ज्योति खनालज्यूबाट नै सुनौं–
योग साधना र चक्र साधनाका सामान्य नियमहरु
अव हामी योग साधनाको चरणमा प्रवेश गर्छौं, त्यसअघि योग साधना सम्वन्धि सामान्य नियमहरु बताउछु–
योग साधना विज्ञान चिकित्सा विज्ञान पनि हो । हामीले प्रयोगात्मक अभ्यास गराउने योग साधनाको प्याकेजमा पैतालादेखि शिरसम्ममा शारीरिक, मानसिक, भावनात्म र चेतनात्मक समस्याहरुको समाधान गर्न सक्ने चिकित्सा तथा थेरापिका विधिहरु रहेका छन् । हामी योग साधना चार चरणमा गर्नेछौं– शरीर तताउने, शरीर तन्काउने, प्राणायाम, ध्यान ।
पहिलो चरण, योगासन– शुरुको चरणमा हाम्रो शरीर तताउनु अनिवार्य हुन्छ किनकी नतातेको शरीरलाई हामीले तन्कायौं तथा दोबार्यौं, मोड्यौं भने हाम्रो शरीरका साना–साना नशाहरु चुडिन्छन्, मांसपेसीहरु च्यातिन्छन्, हड्डीका जोर्नी हल्लिन्छन् तथा ठाउँ सर्न सक्छन् र यस्तो अवस्थाले शरीरको स्वास्थ्यमा हानि तथा नोक्सनी गर्नसक्छ जसरी फलाम तथा प्लास्टीकलाई नतताइकन त्यसलाई दोबारेर तथा मोडेर कुनै आकार दिने प्रयास गर्दा त्यो चर्मिन्छ तथा भाचिन्छ, हाम्रो शरीरको प्रकृति पनि त्यस्तै प्रकारको हुन्छ । तसर्थ पहिलो चरणमा शरीर तन्काउने योगाभ्यासहरु गरीसकेपछि हामी शरीर तन्काउने योगासनको विधिहरुमा प्रवेश गर्छौं । योगासनका विधिहरुले स्थुल तथा शारीरिक शरीरका वाहिरी र आन्तरीक अंगहरुलाई स्वस्थ, शुद्ध र सक्रिय राख्न मद्दत गर्दछन् ।
अर्को चरण, प्राणायाम– प्राणायाम तथा श्वास–प्रश्वासको चरणमा हामी लामो, छोटो, तिब्र गतिका र सौम्य गतिका श्वास–प्रश्वासका गतिविधिहरु गर्नेछौं । प्राणायाम तथा श्वास–प्रश्वास विधिहरुले शारीरिक शरीरका आन्तरीक अंग, नाडीहरु र मानसिक रुपमा स्वस्थ, शुद्ध र सक्रिय राख्न मद्दत गर्दछन् । प्राणायाम अन्तर्गत योग साधना विज्ञानको सबैभन्दा महत्वपूर्ण विषय चक्र साधना गरिन्छ । यहाँहरुको आ–आफ्नो सिटमा राखिएको ब्रोसरमा योग चिकित्सा विज्ञानले भन्दै आएको मानव शरीरमा रहेका सात चक्रहरु र आधूनिक चिकित्सा विज्ञानले भन्दै आएको मानिसको शरीरमा रहेका सात प्रकार गन्थी अर्थात ग्ल्याण्डहरु देखाइएको छ । सातवटा चक्र र सातवटा ग्रन्थी यी दुवै एकै हुन्, चक्र जहाँजहाँ छन् ती ग्रन्थीहरु पनि त्यहींत्यहीं स्थित छन् । योग चिकित्सा विज्ञानले गर्ने साधना विधि यीनै सात चक्रहरुको उपचार हो र आधूनिक चिकित्सा विज्ञानले गर्ने उपचार यीनै सात ग्रन्थीहरुको हो अर्थात दुवै चिकित्सा पद्धतिको उद्देश्य एउटै हो मानिसको शाररिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक समस्याहरुको समाधान गर्नु हो किनकी मानिस शरीर, मन, भावना र आत्मा अर्थात चेतनाको संयोग हो । मानिसमा लाग्ने सबै प्रकारका रोगहरुको कारण यीनै चक्र तथा ग्रन्थीहरुमा आउने खराबी तथा असन्तुलनताको कारणले हो । हाम्रो चक्र तथा ग्रन्थीहरुलाई असन्तुलित तथा खराब बनाउने प्रमुख कारण हाम्रो नकारात्मक सोच, अनियन्त्रित अति विचारहरु, हाम्रा असामाजिक कर्महरु, हाम्रो मनको अपराधवोध तथा हिनताभाव, प्रकृति तथा पंचतत्वमा भएका प्रदुषणहरु, बिसादीयुक्त खानेकुरा, हाम्रो खराव खानपान, हाम्रो असन्तुलित जीवनशैली, हाम्रा खराव सम्वन्धहरु, अपर्याप्त व्यायाम, अत्यधिक एलोपेथिक औषधिको प्रयोग... आदि हुन् । यी सबै असन्तुलनताहरुलाई योग साधनाका विधिहरुले व्यवस्थापन गर्न सक्दछ । योग साधनाका विधिहरुमा अध्यात्म विज्ञानको पंचामृत– योगासन, प्राणायाम, ध्यान, सतविचार र सतकर्मलाई आफ्नो दैनिक जीवनमा निष्ठापूर्वक अनुशरण गर्न जोड दिइन्छ । त्यसैले योग साधना गरौं जीवनभर स्वस्थ, शुद्ध, सक्रिय बनौं । साथै योगी बनेर मोक्षको अधिकारी बनौं र यही जन्ममा निर्वाण प्राप्त गरौं, घरिघरि किन जन्मिराख्ने हामी, किन जन्म, मृत्यु, जरा, व्याधिका दुःखहरु बारबार झेलिरहने हामी । बुद्ध भगवानको बुद्धं शरणं गच्छामि उपदेशको वास्तविक अर्थ पनि यहीनै हो कि तिमी बोध अर्थात आत्मज्ञान अर्थात शाश्वतज्ञानको शरणमा जाउ, आफ्नो आत्मा अर्थात चेतनाको विकास गरेर आत्मालाई परमात्मा अर्थात पूर्ण चेतना(सुपर कन्ससनेसमा)एकाकार गर । यही एकाकारको अवस्थानै हो मोक्ष तथा निर्वाण भनेको अर्थात जन्म मृत्युको चक्रबाट सदाकालागि मुक्ति..., र यस्तो प्रकारको मुक्ति, मोक्ष तथा निर्वाण(इटरनल लिवरेसन) केवल योग तथा ध्यान साधनाबाट मात्र प्राप्त गर्न सम्भव छ ।
अर्को चरण, ध्यान– ध्यान साधनाले शारीरिक, मानसिक अवस्थाका साथसाथ भावनात्म, आत्मिक अर्थात चेतनात्मक रुपमा स्वस्थ, शुद्ध र सक्रिय राख्न मद्दत गर्दछ ।
*डा. सिर्जना भण्डारी
अध्यात्म वाचक तथा योग प्रशिक्षक
शिवोहम् योगपीठ
No comments:
Post a Comment