'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Friday, 13 June 2025

सनातन दर्शनको पुनरोत्थानमा जगतगुरु आद्य शंकराचार्यको भूमिका, खण्ड -१

 डा. सिर्जना भण्डारी

     #अध्यात्म_दर्शन #जीवन_दर्शन  



“आफ्नो जीवनकालमा जगतगुरु आद्य शंकराचार्यको बारेमा नसुनेको, नजानेको, नबुझेको, नपढेको मानिसले सनातन धर्मको कखरा नै बुझेको छैन भन्दा हुन्छ ।”  –लोकप्रिय कवि तथा सनातन कथावाचक डा. कुमार विश्वास

बत्तिस वर्षको युवाअवस्थामै शरीर छोड्नु भएका जगतगुरु आद्य शंकराचार्यलाई तमाम सनातन धर्म तथा समाजले अतिइन्द्रियदर्शी महान सदगुरु; महान दार्शनिक; विलक्षण कवि तथा साहित्यकार; सनातन दर्शनको संरक्षण र प्रवद्र्धनका प्रखर महान योद्धा; र स्वयं भगवान शिवका अवतारको रुपमा जान्दछन्, मान्दछन् र पुज्दछन् । –आमविश्लेषण



(१)दर्शन र फिलोसोफीमा अन्तर

जीवनलाई सन्तुलित तथा मध्यमार्गी बन्न सिकाउने दृष्टिकोण तथा ज्ञान सम्यक दृष्टि अर्थात सम्यक दर्शन हो । सामान्यतया दर्शनको अंग्रेजीकरण फिलोसोफी भनेर बुझ्ने तथा बुझाउने गरिए पनि यी दुई शव्दहरुको वास्तविक अर्थ फरक रहेको छ र एकले अर्कोलाई हुबहु परिभाषित पनि गर्दैनन् । ‘दर्शन’ त्यस्तो पराभौतिक ज्ञान तथा विज्ञान हो जो इन्द्रियातीत, मनातीत, भावातीत अनुभूतिहरु(शव्द, वाणी, हाउभाउबाट अरुसमक्ष व्यक्त गर्न तथा बुझाउन नसकिने)मा आधारीत हुन्छ । यसप्रकारका इन्द्रियातीत, मनातीत, भावातीत अनुभूतिहरु योग तथा ध्यान साधनाका विधिहरुको निरन्तर प्रयोगात्मक अभ्यासहरुको माध्यमबाट मानिसको शरीरलाई नै प्रयोगशाला बनाएर आर्जन गरिएको हुन्छ । ‘फिलोसोफी’ त्यस्तो भौतिक इन्द्रियजनीत ज्ञान तथा विज्ञान हो जो इन्द्रियहरुको अनुभवहरु(शव्द, वाणी, हाउभाउबाट अरुसमक्ष व्यक्त गर्न तथा बुझाउन सकिने)मा आधारीत हुन्छ र भौतिक प्रयोगशालाहरुमा भौतिक वस्तु तथा पदार्थहरुलाई प्रयोग तथा परिक्षण गरेर आर्जन गरिएको हुन्छ । फिलोसोफीबाट प्रतिपादन भएको ज्ञान तथा विज्ञान सबैले सहजै बुझ्न सक्ने प्रकारको प्रमाण सहित हुन्छ र यसलाई बंग्याएर अर्थ तथा परिभाषा गर्न सकिदैन किनकी यस्तो ज्ञान तथा विज्ञान जान्न चाहेमा भौतिक प्रयोगशाला तथा पुस्तकहरुबाट प्रमाणसहित सहजै जान्न सकिन्छ । दर्शनबाट प्रतिपादन भएको ज्ञान तथा विज्ञान सबैले सहजै बुझ्न नसकिने प्रकारको प्रमाणरहित(अदृश्य प्रमाणसहित) हुन्छ त्यसैले खराव नियत भएका मानिसहरुले अध्यात्म दर्शनका विषयहरुलाई बंग्याएर अर्थ तथा परिभाषा गर्न सक्छन्, गरेका तथा गरिरहेका प्रसस्त उदाहरणहरु हाम्रा समक्ष प्रत्यक्ष छन् किनकी अध्यात्म दर्शनका भावातीत ज्ञान तथा विज्ञान जान्न चाहेमा मानिसले योग तथा ध्यान साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुलाई निष्ठापूर्वक जीवनमा अनुशरण गरेर आफ्नै शरीरलाई प्रयोगशाला बनाएर मात्र गर्नसक्छ जुन हरकोही व्यक्तिकालागि सहज प्रक्रिया नहुनसक्छ । यस प्रक्रियामा लामो समय(दशकौं, शताव्दिऔं, जन्मौं) लाग्न सक्छ । 


समग्रमा भन्नुपर्दा, दर्शन महापुरुषहरु(बुद्धत्व तथा ब्रम्हज्ञानमास्थित विकसित चेतना अर्थात आत्मा)द्वारा गरिएको स्वअनुभव तथा स्वअनुभूतिका आधारमा प्रतिपादन गरिएको पराभौतिक, ब्रम्हण्डिय अर्थात परब्रम्ह अर्थात परमात्मा अर्थात इश्वर–गड–अल्ला अर्थात परमेश्वर अर्थात श्रेष्ठ तथा ब्राम्ही चेतनाको अस्तित्वका विषयहरुसंग सम्वन्धित ज्ञान तथा विज्ञान हो जुन आममानिसको बुझाइमा सजिलै आउन सक्दैन । समाजमा सनातन वैदिक दर्शनको मूल्य तथा प्रभाव खस्कदै जानु र अवैदिक दर्शनको मूल्य तथा प्रभाव विस्तार हुदै जानुमा यही अप्रामाणिकताको कारणनै प्रमुख रहदै आएको पाइन्छ । युग(कलियुग) परिवर्तनसंगै मानिसहरु सुविधाभोगी बन्दै गए, सूविधा कमाउन फ्नो अधिकारको दुरुपयोग गर्दै नैतिकता र अनुशासको तहबाट खस्कदै गए र सहज प्रकारले प्राप्त हुने फिलोसोफीले दिने भौतिक ज्ञान तथा विज्ञानमा अभ्यस्त हुन थाले र अध्यात्म विज्ञान अर्थात योग तथा ध्यान साधनाबाट प्राप्त हुने शाश्वत ब्रम्हज्ञानलाई अप्रमाणित तथा अवैज्ञानिक ज्ञानको रुपमा अपमान तथा उपहास गर्दै गए । कलियुका अर्धज्ञानी मानिसहरुले गरिरहेका अनैतिकता र अनुशास बिहिन क्रियाकलापहरुको निरन्तर चपेटामा ब्रम्हाण्डको अन्तिम शाश्वत सत्यको ज्ञान तथा विज्ञान प्रदान गर्ने एकमात्र शाश्वत सनातन वैदिक दर्शन पर्दै गयो र परिणामस्वरुप सनातन दर्शन विस्तारै समाजबाट विलुप्त हुने अवस्थामा पुग्यो र समाजमा अरु अवैदिक दर्शनहरुको प्रचलन,  प्रभाव र विस्तार बढ्दै तथा हाबी हुदै गयो । सनातन धर्मले बेहोरीरहेको यही महाशंकटको घडीमा जगतगुरु आद्य शंकराचार्यको आभिर्भाव तथा प्रादुर्भाव भएको थियो र वहाँले सनातन धर्मको पुनरोत्थान, संरक्षण तथा प्रवद्र्धन कार्यमा गर्नुभएका अतुलनिय अभियान तथा योगदानका कारण महान आध्यात्मिक तथा धार्मिक योद्धाका रुपमा सनातन अध्यात्मको आकासमा सदाकालागि प्रज्वलित हुनुभयो ।



(२)सनातन दर्शनको पृष्ठभूमि र प्रकार 

सनातन दर्शन तथा सनातन धर्म विश्वको सबै भन्दा पूरानो धर्म र सभ्यता हो र आजसम्म विश्वमा अस्तित्वमा आएका सबै दर्शन, धर्म, सम्प्रदायहरुको मूलआधार तथा जननी हो । विश्वमा हालसम्म रहेका र समयको एक कालखण्डमा रहेर इतिहासको पानामा सिमित भैसकेका सबै दर्शन, धर्म तथा सम्प्रदायहरु सनातन दर्शनबाट नै निसृत भएका हुन् भन्ने प्राचीन मान्यता रहदै आएको छ र यसलाई नयाँ तथ्यहरु पनि बारबार पुष्टी गरिसकेका छन् । सनातन सभ्यता कुनै विशेष धर्म, सम्प्रदायको होइन, यो त अनादि कालदेखि चल्दै आइरहेको प्रकृति तथा ब्रम्हाण्डको धर्म हो । सनातन दर्शनमा नौ वटा प्रभवशाली दर्शनहरु रहेका छन्, ती मध्य छवटा दर्शन जसलाई षटदर्शन भनिन्छ आस्तिक अर्थात वेदलाई मान्दछन् तथा वेदका विषयवस्तुको अनुशरण गर्दछन् र तीनवटा नास्तिक अर्थात वेदलाई मान्दैनन् तथा वेदका विषयवस्तुको अनुशरण गर्दैनन् । सनातन दर्शनका नवदर्शन निम्नानुसार रहेका छन्– (१)सांख्य दर्शन, (२)योग दर्शन, (३)न्याय दर्शन, (३)वैशेषिक दर्शन, (४)पूर्व मीमांसा तथा कर्मकाण्ड दर्शन, (६)उत्तर मीमांसा तथा वेदान्त दर्शन, (७)जैन दर्शन, (८)बौद्ध दर्शन, र (९)चार्वाक दर्शन । एकदेखि छ नम्वरसम्मका दर्शन वैदिक तथा आस्तिक दर्शन मानिन्छन् र पछिल्ला तीन– जैन दर्शन, बौद्ध दर्शन र चार्वाक दर्शन अवैदिक तथा नास्तिक दर्शन मानिन्छन्।

  
(क)विश्व इतिहास, सनातन दर्शनको स्थिरता र लोकप्रियता

सबै सभ्यताहरु मानिसहरुले कुलपूर्खादेखि मान्दै आएका धर्म, सम्प्रदाय, संस्कृति, परम्पराका आधारमा खडा भएका हुन्छन् । विश्वको इतिहासलाई पल्टाउदा आजभन्दा करिव ५००० वर्ष अघि जव कलियुग समयको रथमा आरुढ भयो यसको पैंयाको तलमा विश्वका ठूला–ठूला सभ्यता, धर्म, सम्प्रदाय तथा संस्कृतिहरु नासिए, कुल्चिए, समाप्त तथा नामेट पारिए चाहे ती गगनभेदी पिरामिड(हालको इजिप्ट) खडा गर्ने फेरो हुन्; चाहे बेबीलोन(हालको इरान)मा अकुत सम्पदा पैदा गर्ने एमोराइट्स हुन्; चाहे ग्रीसका दार्शनिकहरु हुन् जो ब्रम्हाण्डलाई बुझ्न तथा ब्रम्हाण्डको अन्तिम सत्य खोजि गर्न निस्केका थिए; या अमेरीकाका ती मिजो आर्किटेक्टहरु हुन् जसले आफ्नै हातले पत्थरमा जीवन प्रदान गरेका थिए । यी सबै प्राचीन सभ्यता, धर्म, सम्प्रदाय तथा संस्कृतिहरु विदेशी युद्धखोर, युद्धपिपासु, विस्तारवादी, ह्रिंसक हमलाकारीहरुबाट ध्वस्त भए, धूलोमा मिलाइए तथा नामेट पारिए । विभिन्न कालखण्डमा ग्रीस, अरेबीयन, पोर्चुगीज, मुगल(मंगोलीयन), डच, अंग्रेज लगायत १७ भन्दा बढि विदेशी विस्तारवादी हमलाकारीहरुबाट युद्ध, हिंसा, लुटपाट, मारकाट, बम, बन्दुक, तलवारको धार झेल्दै आफ्नो विरासतको धरातलमा एक्लो एउटा यस्तो सभ्यताले हरप्रतिकुल परिस्थितिका वावजुद अनेक संघर्ष झेलेर आजपर्यन्त आफूलाई खडा राख्न सफल भयो र अधावधिक विश्वमै उच्च मूल्यकासाथ निरन्तरता पाइरहेको छ त्यो हो पूर्वीय सनातन दर्शनलाई अनुशरण गर्दै आएको ‘सनातन वैदिक धर्म तथा सनातन हिन्दु धर्म’ । सनातन वैदिक धर्मले निरन्तरता पाइरहनु र यसको प्रभाव विश्वभरि निरन्तर फैलिरहनुको मुख्य कारण सनातनदेखि हाम्रा जुझारु पुर्खा, प्राचीन वैज्ञानिक, तपस्वी, ऋषिमूनिहरुद्वारा बसाएको तथा पोषित गरिएको समृद्ध सनातन सभ्यता थियो जसको जरा आजपनि उत्तिकै गहिरोसंग गाडिएको छ र समृद्ध सनातन सभ्यताको जराले आज सनातन हिन्दु धर्मको धरातल र वैज्ञानिक मूल्यमान्यताहरुलाई अझ बढि मजबुत ढंगले समेटेर तथा पक्डेर राखेको छ र विश्वसामु शिर ठाडो पारेर सदाकाल उभिन सक्षम तुल्याएको छ । 


आज विश्वभरिकै शाश्वत कुरा बुझ्नसक्ने क्षमता भएका दार्शनिक, विद्धवान तथा महान व्यक्तिहरु सनातन हिन्दु धर्मका वैज्ञानिक ज्ञान तथा विज्ञानका विषयप्रति नतमस्तक छन् । वेद, उपनिषद मार्फत शाश्वत ज्ञान, विज्ञान, महाज्ञान प्रदान गर्ने पुर्वीय सनातन दर्शनप्रति हृदयदेखिनै आभारी हुदै घुँडा टेकेर, शिर झुकारएर आदर तथा सम्मान भाव व्यक्त गर्दछन् । पूर्वीय सनातन दर्शनका महान ग्रन्थ वेद, प्रस्थानत्रयी ग्रन्थहरु(भगवद् गीता, उपनिषद, ब्रम्हसुत्र), पुराण(श्रीमद् भागवद् महापुराण देखि...), श्रुती, स्मृति(मनुस्मृति देखि...), काव्य, इतिहास(रामायण देखि...), कथा(महाभारत देखि...), महत्वपूर्ण ग्रन्थका भाष्य, संस्कृत भाषा, संस्कृत व्याकरण, सांख्य(अंक, गणित, कम्प्युटिंग), प्रमाण तथा अनुमानका न्याय, वैषेशिक दर्शनका सिद्धान्तहरु आदि विश्वभरि बडो चाख तथा सम्मानकासाथ पढिन्छन्, पढाइन्दिन् र थ्यस उपर वैज्ञानिक सोधकार्यहरु गरिन्छन्। वर्तमान समयमा चर्चामा रहेका शास्त्र तथा विज्ञानहरु– आधूनिक भौतिक विज्ञान, अत्याधूनिक प्रमात्रा विज्ञान, आधूनिक चिकित्सा विज्ञान, आधूनिक मनोविज्ञान, मानवशास्त्र, समाजशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र, कुटनीतिशास्त्र आदि सबैले सनातन दर्शनका ज्ञान, विज्ञानहरुलाई प्रमुख सन्दर्भ श्रोत तथा सन्दर्भ सामग्रीका रुपमा प्रयोग गरेर यीनै ज्ञान, विज्ञान, सिद्धान्त तथा सुत्रहरुका आधारमा(श्रद्धेय आइन्स्टीनको भाषामा पूर्वजको बुइ चढेर) युग सुहाउदो हुनेगरि परिमार्जित स्वरुपमा नयाँ–नयाँ थप वैज्ञानिक अध्ययन, अनुसन्धान, खोज गरेर अन्य नयाँ–नयाँ ज्ञान, विज्ञान, सिद्धान्त तथा सुत्रहरु प्रतिपादन गर्दै आइरहेका छन् । अहिलेसम्मका विश्वकै महान वैज्ञानिक अल्वर्ट आइन्स्टीनले सापेक्षतावादको सिद्धान्त(E=mc2) प्रतिपादनको प्रेरणा र फरमूला श्रीमद् भगवद् गीताबाट पाएको खुलासा गरेका थिए । स्वयं परमाणु बम(एटमबम)का आविस्कारक रोबर्ट ओपेनहाइमरले पनि परमाणु बम आविस्कारको प्रेरणा र फरमूला श्रीमद् भगवद् गीताबाटनै पाएको खुलासा गरेका थिए । आधूनिक मनोविज्ञानका प्रणेता सिगमण्ड फ्रायडका निकटतम प्रभावशाली शिष्य कार्ल गुस्टाफ युंग स्वयं भारतमा लामो समय बसेर, सनातनी गुरुको सानिध्यमा रहेर सनातन दर्शन शास्त्रहरु र योग तथा ध्यान साधनाको गहिरो सैद्धान्तिक र प्रयोगात्मक अध्ययन गरेर यीनै ज्ञान, विज्ञान, महाज्ञानका आधारमा आधूनिक मनोविज्ञानका विभिन्न सिद्धान्तहरुको प्रतिपादन र पुस्तकहरु प्रकाशन गरेका थिए, जुन पछिल्ला दिनहरुमा मानव कल्याणका लागि अत्यन्तै व्यवहारिक तथा प्रभावकारी सावित भए र विश्वविख्यात भए । 


त्यस्तै सनातन वैशेषिक दर्शनमा उल्लेखित अणु, परमाणु, प्रमाणका विषयहरु; सनातन वेदान्तको अद्वेत सिद्धान्त(हामी सबै एक छौं, ब्रम्ह एक छ, केही दुई छैन, ब्रम्ह भनेको परम चेतना तथा सुपर कन्सस हो); न्याय दर्शनमा उल्लेखित प्रमाण तथा प्रामाणिकताका विषयहरुले आधूनिक तथा अत्याधूनिक प्रमात्रा भौतिक विज्ञान(क्वान्टम साइन्स)को खोजलाई अझ अघि बढाउन मद्धत पुर्याइरहेका छन् । सनातन दर्शनबाट प्रभावित यस्ता उल्लेखनीय विषयका उदाहरणहरु विश्वमा अझै धेरै रहेका छन् । आज विश्वमै सनातन दिन्दु धर्मको मूल ग्रन्थ श्रीमद् भगवद् गीतालाई पुस्तकहरुको पनि पुस्तक(बुक अफ दि बुक्स) महापुस्तक र सनातन अध्यात्म विज्ञानलाई विज्ञानको पनि विज्ञान(साइन्स अफ दि साइन्सेस) महाविज्ञानको रुपमा मानिन्छ र अत्यन्तै सम्मान पनि प्रदान गरिन्छ । श्रीमद् भगवद् गीता स्वयं वेद तथा उपनिषदको मूलसार हो र सुक्ष्म(क्वान्टम) तहमा खोजेर हेर्दा वेदनै ब्रम्हाण्डको प्रथम(पछाडि फर्केर हेर्दा) र अन्तिम(अगाडि बढेर हेर्दा) ज्ञान हो । आजसम्म संसारमा उत्पन्न भएका सबै ज्ञान, विज्ञान, सिद्धान्त, सुत्रहरु वेदबाट नै निसृत(मूल आधार तथा श्रोत सामग्री) भएका हुन् र वेद स्वयं ब्रम्हाण्डको सृष्टिकालमा सृष्टिकर्ता परब्रम्ह स्वयंले सिर्जित गर्नुभएको ब्रमहाण्डको मूल संविधान तथा मूल कानून हो जसको आधारमा पुरै ब्रम्हाण्ड तथा प्रकृति संचालित भैरहेको छ अलौकिक र चमत्कारिक तवरले । श्रद्धेय जे कृष्णमूर्तिले भन्नुभएको छ,“सनातन दर्शनका वेद तथा उपनिषहरुमा उल्लेखित ज्ञान तथा विज्ञान मानव सभ्यताको सबैभन्दा उत्कृष्टतम खोज हो, यो भन्दामाथि थाहा पाउनु पर्ने अव कुनै ज्ञान बाँकी छैन किनकी सनातन अध्यात्म दर्शनले ब्रम्हाण्डको अन्तिम सत्यसम्मको ज्ञान खोजेर हाम्रासामु पस्किसकेको छ ।” यसप्रकार वेदबाट निसृत सनातन दर्शन शास्त्रहरु वर्तमान समयमा विश्वभरि नै लोकप्रिय बन्दै गैरहेका छन् र निरन्तर सनातन ज्ञान तथा विज्ञान विश्वभरि विस्तार भैरहेका छन् र ब्रम्हाण्डका सबै जीव, वनस्पति तथा पदार्थहरुले यसको प्रत्यक्ष लाभ लिरहेका छन् । 


सनातन दर्शन तथा धर्म कुनै निश्चित सम्प्रदायमा बाधिएको नभइ ब्रम्हाण्डका सबै जीवलाई सही ढंगले जीवन जीउन र वनस्पति तथा पदार्थहरुको भोगचलन तथा उपयोग सही ढंगले व्यवस्थित गर्न सिकाउने कलाको विज्ञान(दि आर्ट अफ लिभिगं) भएकोले यो सदा समय सान्दर्भिक रहदै आएको ज्ञान तथा विज्ञान आजपर्यन्त विश्वसामु लोकप्रिय र व्यवहारिक हुन सफल भएको हो । पछिल्लो समय आधूनिक संरचना विकास तथा निर्माण, विज्ञान प्रविधिको विकास, सूचना प्रविधिको विकासको शिखरमा पुगेका तथा हरप्रकारले अग्रपंक्तिमा रहेका विश्वका रसिया, चीन, अमेरीका, यूरोपका ठूला–ठूला महाविद्यालय तथा विश्वविद्यालयहरुमा औपचारीक बिभाग खोलेर तथा विश्वविद्यालयका विषयका पाठ्यक्रमहरुमा समावेश गरेर सनातन नवदर्शनका शास्त्रहरु व्यवस्थित ढंगले पढाउदै आइरहिएका छन् । सनातन दर्शन तथा पूर्वीय सभ्यतालाई आज पर्यन्त विश्वसामु खडा गरिराख्न महान योगदान पुर्यानुहुने महानायकहरु धेरै हुनुहुन्छ ती मध्यका एक महान नाम हो जगतगुरु आद्य शंकाराचार्य । सनातन दर्शन तथा धर्मको प्रचारप्रसार, संरक्षण, प्रवद्र्धन तथा पुनरोत्थान अभियानमा वहाँको योगदान अतुलनिय रहेको छ ।


 (ख)अवैदिक दर्शनहरुको प्रभाव र वैदिक दर्शनको विलुप्तता

सनातन दर्शन तथा सनातन धर्मले बेहोरीरहेको अत्यन्तै मुस्किलको घडिमा आदिगुरु शंकराचार्यको पार्दुभाव भएको थियो । सनातन धर्मको पुनरोत्थान, संरक्षण तथा प्रवद्र्धनमा वहाँको भूमिका तथा योगदान कति गहन र महत्वपूर्ण थियो र रहेको छ भन्नेबारे जान्न सर्वप्रथम तत्कालीन अवस्थाको अतिनै विभाजित समाज, सनातन धर्मका स्वार्थी गुरु तथा पुरोहितहरुले चलाएका बिकृति तथा कुरीतिहरु र यसको परिणामस्वरुप विरोधको शैलीमा अस्तित्वमा उदाएका अवैदिक(वेदलाई नमान्ने नास्तिक मतहरु) तथा अवैज्ञानिक(तर्कसंगत नभएका मतहरु) दर्शन, धर्म, सम्प्रदाय, तथा मतहरुको विस्तार र प्रभावको सन्दर्भमा जान्नु अति आवश्यक हुन्छ । मोटामोटी रुपमा इशापूर्व ५०० वर्षअघि प्रादुर्भाव भएका बौद्ध दर्शन र जैन दर्शनका विषयहरु सनातन उपनिषदहरुमा समेत उल्लेख गरिएका पाइन्छन् । पूर्वीय सनातन दर्शनका नौवटा दर्शनमध्य छवटा दर्शन अर्थात षटदर्शन- सांख्य, योग, न्याय, वैशेषिक, पूर्व मीमांशा, उत्तर मीमांशाले वेद तथा वेदका विषयहरुलाई मान्ने तथा अनुशरण गर्ने हुनाले यीनलाई सनातन वैदिक दर्शन तथा आस्तिक धार भनिदै आइएको छ र बाँकी तीनवटा सनातन दर्शन– बौद्ध, जैन, चार्वाकले वेद तथा वेदका विषयहरुलाई नमान्ने तथा अनुशरण नगर्ने हुनाले यीनलाई सनातन अवैदिक दर्शन तथा नास्तिक धार भनिदै आइएको छ । यी प्रमुख तीन अवैदिक दर्शन लगायत अन्य भगवत्, कायातिक, लोकायतिक, कार्तिक, ऐश्वर, पांचरात्रिक तथा तान्त्रिक जस्ता विभिन्न सम्प्रदाय, पन्थ, वर्ग तथा मतहरुले वेद सही छैन, वेद वैज्ञानिक छैन, वेदका कुरा अप्रमाणित र कपोलकल्पित हुन्, यी विषयहरुको कुनै प्रामाणिकता छैन भनेर वेदको खण्डन्, अपमान तथा उपहास गर्दै आ–आफ्नो दर्शन तथा मतको प्रचार–प्रसार तिब्रगतिमा गरिरहेका थिए । ठूलो संख्यामा रहेका अवैदिक सम्प्रदायका जमातलाई वास्तविक सनातनी योगी, सन्त, साधु, गुरु, पुरोहितहरुले थेग्न, धान्न तथा झेल्न सकेनन् र पछाडि हट्दै गए । समाजमा चलिरहेका यस्ता अवैदिक तथा नास्तिक गतिविधिहरुले तिब्रगतिमा सनातन वैदिक दर्शन तथा धर्मलाई ओझेलमा पारीरहेको थियो, विलूप्तता(लोप हुने अवस्था)तिर धकेलिरहेको थियो । त्यसताका सनातन धर्मी व्यक्ति, समाज तथा सम्प्रदायहरु सनातन वैदिक धर्मलाई छोडेर धर्म परिवर्तन गर्ने र सनातन दर्शनका ग्रन्थहरु नष्ट गर्ने तथा सनातनीहरुलाई दुःख दिने, खेद्ने, समाजबाट निस्कासन तथा विच्छेद गर्ने, बेइज्ययत गर्ने जस्ता अवान्छनिय कुकृत्यका प्रक्रिया तथा गतिविधिहरुको जगजगी मच्चिएको थियो । यस्ता गतिविधिहरुले सनातन दर्शन तथा धर्मलाई पतनको अवस्थातिर लगिरहेको थियो र यो अवस्थामा सनातन दर्शन तथा धर्मले अत्यन्तै ठूलो अपुरणीय क्षति बेहोर्नु परिरहेको थियो । यस्तो विकराल शंकटकालको घडीमा इस्वी सम्वत आठौं शताव्दी(सन् ७८८, यद्धपि समयको सन्दर्भमा फरक मतहरु रहेका छन्)मा इश्वरको अंश रहेका अवतार पुरुष जगतगुरु आद्य शंकराचार्यको आभिर्भाव तथा पादुर्भाव भएको थियो । वहाँले सनातन दर्शन तथा धर्मको रक्षार्थ संरक्षण, प्रवर्धन तथा प्रचार–प्रसारकालागि गर्नुभएका कार्य तथा योगदानहरुको विशेष महत्व रहदै आएको छ समस्त सनातन समाजमा । आदिगुरु शंकराचार्यकै अतुलनिय योगदानको कारण सनातन वैदिक दर्शन तथा धर्म आज विश्वकै सबैभन्दा पूरानो र उत्कृष्टतम दर्शनको रुपमा स्थापित भएको छ र विश्वव्यापि रुपमा शिर ठाडो गरेर पुनः उभिन सक्षम भएको छ । 


आदिगुरु शंकराचार्यले तत्कालीन समयमा अवैदिक सम्प्रदाय तथा मतहरुका कारण सनातन वैदिक धर्ममा आएको क्रमिक ह्रास, कमीकमजोरी तथा पतनोउन्मुख अवस्थालाई सुधार्न धेरै सकारात्मक काम, सुधार तथा व्यवस्थापनका कदमहरु उठाएर ठूलो योगदान पुर्याउनु भएको थियो । सनातन धर्मका षटदर्शन अन्तर्गत पर्ने अत्यन्तै महत्वपूर्ण दर्शन उत्तर मीमांसा अर्थात वेदान्त दर्शनमा अद्वेत वेदान्त दर्शन(सिद्धान्त)को प्रतिपादन गरेर आपसमा वैमनस्य साधिरहेका सनातन धर्म अन्तर्गतकै विभिन्न सम्प्रदायहरु(शैव, शाक्त, वैष्णव, गणपत्य, सौर आदि) सबैको मूल गन्तव्य एउटै हो तथा सबैको केन्द्रमा तथा अन्तिम निचोडमा अद्वेत नै छ अर्थात उही एक ब्रम्ह छ भन्ने मान्यता स्थापित गराएर छरिएका सबै सनातन सम्प्रदायहरुलाई एक सुत्रमा तथा एकत्वमा बाध्न सफल हुनुभयो जसलाई वहाँको सबैभन्दा महत्वपूर्ण योगदानको रुपमा हेरिन्छ । परमाणुवादका विषयमा आधारीत सनातन वैशेषिक दर्शनले आधूनिक भौतिक प्रमात्रा विज्ञान(क्वान्टम साइन्स)लाई पदार्थका अणु, परमाणुहरु(एटम्स)को खोजमा सहयोग पुर्याउदै आए जसैगरि अद्वेत वेदान्त दर्शनले ब्रम्हाण्ड विज्ञान, ब्रम्हाण्डको उर्जा विज्ञान, ब्रम्हाण्डिय चेतना विज्ञान(साइन्स अफ सुपर कन्सस)को सुक्ष्म(क्वान्टम) खोजकार्यमा सहयोग पुर्याउदै आइरहेको छ । सनातन धर्मलाई अझ विकसित गर्न र सबै सम्प्रदायहरुलाई एकत्वमा बाँधेर राख्न तथा एकसुत्रमा समेट्न आद्य शंकराचार्यको सबै भन्दा गहन र महत्वपूर्ण योगदान अद्वेत वेदान्त दर्शनको प्रतिपादन हो जसमा ब्रम्हाण्डको अन्तिम शाश्वत सत्यको ज्ञान समेटीएको छ । यसका अतिरिक्त पनि सनातन दर्शन तथा धर्मको पुनरोत्थान, संरक्षण तथा  संवद्र्धनमा वहाँका थुप्रै अत्यन्तै गहन र महत्वपूर्ण योगदानहरु रहेका छन् ।  


मोक्ष प्राप्तिकालागि ज्ञान मार्गमा रुची राख्ने आममानिसहरुलाई लक्षित गरेर विभिन्न मत तथा सम्प्रदायहरुमा छरिएर रहेका सनातनीहरुलाई सनातन धर्मको एकत्वमा समेट् आद्यगुरु शंकराचार्यले अद्वेत वेदान्त र इश्वर तथा मावीयताका उच्चतम मूल्य भएका विभिन्न ग्रन्थहरुको रचना गर्नुभयो; प्रस्थानत्रयी(भगवद् गीता, ब्र्रम्हसुत्र, उपनिषद)मा भाष्य लेख्नु भयो जुन अहिलेसम्मकै सनातन ग्रन्थका भाष्यहरु मध्य उत्कृष्टतम र अद्वीतिय मानिन्छ । संस्कृत भाषा र संस्कृत व्याकरणको शुद्धता तथा विकासमा जोड दिनुभयो; भैरहेका गुरुकुलहरु व्यवस्थापन गर्न र आवश्यकता अनुसार नयाँ–नयाँ गुरुकुलहरु खोल्न; भैरहेका पुस्ताकालयहरु व्यवस्थित गर्न, आवश्यकता अनुसार नयाँ–नयाँ पुस्ताकालयहरु खोल्न अत्यन्तै महत्वपूर्ण योगदान दिनुभयो । मोक्ष प्राप्तिकालागि कर्म मार्ग तथा भक्ति मार्गमा रुची राख्ने आममानिसहरुलाई लक्षित गरेर उनीहरुलाई सनातन धर्मको एकसुत्रमा बाध्न हिन्दुहरुको सुप्रसिद्ध मूल ग्रन्थ चार वेदको संरक्षण गर्ने, वेदको ज्ञान सबैमाझ फैलाउने र चारै दिशामा रहेका सनातनीहरुलाई एकत्वमा ल्याउने तथा समेट्ने उद्देश्यले विशाल भारत देशको चार दिशामा पवित्र चार धामको स्थापना गर्नुभयो  यी धाम तथा मठहरुमा प्रभावकारी यज्ञ, पूजा, कर्मकाण्ड, पांचायन पूजाका विधिहरुको शुरुआत गराउनु भयो । वहाँ आफू ज्ञान मार्गी हुनुभएको भएपनि भक्तिमार्गीहरुको मोक्ष यात्र सहज पार्नकालागि देवी, देवताहरुका विभिन्न स्त्रोत्र, स्तुति, भक्ति गानहरुको रचना गर्नुभयो । सनातन धर्मको रक्षाकालागि तीनप्रकारका धर्मसेना(दशनामी संयासी तथा स्वामी, दण्डी स्वामी, नागा स्वामी) खडा गर्नुभयो । सनतान धर्मको प्रचार–प्रसार, संरक्षण, सम्वर्धन तथा प्रवद्र्धन गर्न र संयासीहरुको उचित संरक्षण, उत्थान तथा सशक्तिकरणका लागि दशनामी(वन, आरन्य, गिरी, पर्वत, आश्रम, भारती, सरस्वती, पुरी, सागर, तीर्थ) संयासी सम्प्रदायलाई व्यविस्थित गर्नुभयो । तत्कालीन समयमा प्रख्यात रहेका विद्वान, गुरु, कर्मकाण्डी पंडित तथा पुरोहितहरुसंग ठूला–ठूला र लामा-लामा शास्त्रार्थ(सनातन धर्म तथा मतको पक्षमा वकालत)हरु आयोजना गरेर सबै शास्त्रार्थ सहभागिताहरुमा अखण्ड विजयी भएर सनातन धर्मका मूल्यमान्यताहरु समाजमा पुनरस्थापित गर्नुभयो र स्थानिय समाज तथा विश्व समाजमा फेरी बडो शानकासाथ सनातन दर्शनको ध्वज फहराउनु भयो । bsirjana@gmail.com


*********************************************


ध्यानाकर्षण:
तमाम सनातनीहरुका लागि सनातन धर्मको संरक्षण र प्रवद्र्धनका सन्दर्भमा जगतगुरु आद्य शंकराचार्यको योगदानको विषय अत्यन्तै महत्वपूर्ण भएकोले केही श्रीखंलाहरुमा क्रमशः विस्तारमा ल्याउने छु:

छीट्टै, 
(३)अनेकतामा एकता सनातन धर्मको विविधता
(४)आदिगुरु शंकराचार्यको प्रादुर्भाव, योगदान र महत्व
(क)जन्म, बाल्यकाल र जीवन
(ख)सनातन शास्त्रहरुमा गुरुकुल ज्ञान
(ग)सनातन धर्मको प्रचार गर्न काशी प्रस्थान
(घ)सनातन मूल ग्रन्थहरुमा भाष्य लेखन
(ङ)स्वयंका मौलिक रचनाहरु
(च)शास्त्रार्थमा सहभागिता र विजय
(छ)धार्मिक अभियान र सनातन धर्मको प्रवद्र्धन
(ज)भोग्नु परेका असहाय चुनौतीहरु
(झ)जीवनको अन्तिम समय
(ञ)निष्कर्ष


No comments:

Post a Comment