डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #सनातन_दर्शन #जीवन_दर्शन
“आफ्नो जीवनकालमा जगतगुरु आद्य शंकराचार्यको बारेमा नसुनेको, नजानेको, नबुझेको, नपढेको मानिसले सनातन धर्मको कखरा नै बुझेको छैन भन्दा हुन्छ ।” –लोकप्रिय कवि तथा सनातन कथावाचक डा. कुमार विश्वास
बत्तिस वर्षको युवाअवस्थामै शरीर छोड्नु भएका जगतगुरु आद्य शंकराचार्यलाई तमाम सनातन धर्म तथा समाजले अतिइन्द्रियदर्शी महान सदगुरु; महान दार्शनिक; विलक्षण कवि तथा साहित्यकार; सनातन दर्शनको संरक्षण र प्रवद्र्धनका प्रखर महान योद्धा; र स्वयं भगवान शिवका अवतारको रुपमा जान्दछन्, मान्दछन् र पुज्दछन् । –आमविश्लेषण
(च)धार्मिक अभियान र सनातन धर्मको प्रवर्द्धन
जगतगुरु आद्य शंकराचार्यले सनातन धर्मको प्रचार–प्रसार, संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन तथा पुनरोत्थानका लागि आफ्नो जीवन रहुन्जेल सम्पूर्ण रुपले शारीरिक, वौद्धिक, मानसिक, भावनात्मक र चेतनात्मक ताकतको भरपूर सदुपयोग गर्नुभएको थियो । वहाँले गुरुकुलबाट सनातन दर्शनका मूल शास्त्रहरुको अध्ययन पूरा गरीसक्नु भएपछि देशभरिको आममानिस, समाज तथा धर्मको वास्तविक अवस्था बुझ्न पुरै देशको पैदल यात्रा प्रारम्भ गर्नुभयो र तत्कालीन समयमा व्याप्त रुपमा प्रचलित अवैदिक, असामाजिक, अराजक, विखण्डनकारी परम्पराहरुलाई चुनौती दिदै, क्रमशः सनातन धर्मका मूल ग्रन्थहरुमा भाष्य लेख्दै, मौलिक रचनाहरु गर्दै, प्रवचनहरु दिदै, आवश्यक शास्त्रार्थहरुको आयोजना गरेर अखण्ड विजय हासिल गरी देशभरि सनातन धर्मका भगवान, देवी, देवताहरुका मठ–मन्दिरहरुको जिर्णोद्दार, पुनरनिर्माण गर्दै आवश्यकता अनुसार फरक–फरक स्थानहरुमा नयाँ–नयाँ मठ–मन्दिरहरु, देवालय, गुरुकुल तथा पुस्तकालयहरुको स्थापना तथा निर्माण गरेर विलुप्त अवस्थामा पुगेको सनातन धर्मको प्रवद्र्धन तथा पुनरोत्थान गर्ने महाअभियान प्रारम्भ गर्नुभयो ।
सनातन धर्म प्रवर्द्धनको गुरु योजना निर्माण
भनिन्छ सनातन धर्मावलम्विहरुको कुनै पनि संस्कार तथा परम्पराहरु आदिगुरु शंकराचार्यको कथनबिना शुरु पनि हुदैन र अन्त्य पनि हुदैन । अधिकंश पूजा, पाठ, यज्ञ, होम, अनुष्ठान, कर्मकाण्डहरुमा वहाँद्वारा रचित स्तोत्र, स्तुति, श्लोक, भजनगान दोहोर्याइन्छन् र यी संस्कारहरुमा वहाँलेनै बसालिदिनु भएका परम्परा तथा परिपाटीहरुको अनुशरण गर्ने गरिन्छ । तत्कालीन कालखण्डमा भारत देश क्षेत्रफलका आधारमा अत्यन्तै ठूलो रहेकोले त्यहाँ धेरै प्रकारका वंश, जात, वर्ग, मूल्यमान्यताहरु भएका सम्प्रदाय, समुदाय तथा समाजहरु थिए, ती सबैलाई एकत्वमा जोडेर उनीहरुकोविचमा सामनजस्यता कायम राख्न सकिएन भने समाजमा विकृति अझै बढ्दै जानेछ; उनीहरुले दुःख पाउनेछन्; सर्वसाधारणको कल्याण हुनेछैन; उनीहरु सामाजिक कठिनाइ, भौगोलिक विकटता तथा दुरीका कारण एकआपसबाट पृथक हुनेछन् र एकत्वमा आउन मुस्किल हुनेछ; उनीहरुको आ–आफनो मान्यताका कारण र अन्य कारणले एकले अर्कोलाई जान्न मुस्किल हुनेछ र विखण्डन अझ बढेर जानेछ; र वाहिरका विस्तारवादी युद्ध पिपासुहरुले सजिलै नियन्त्रणमा लिन सक्नेछन् भन्ने विषयको अन्तर्य र गांभिर्यतालाई राम्ररी बुझेर आदिगुरु शंकराचार्यले सनातन धर्म प्रचार–प्रसार तथा प्रवद्र्धनको अभियान संचालन गर्नु भएको थियो । यो समस्याको उचित समाधान गर्न वहाँले वैज्ञानिक ढंगबाट पुरै देशको सबैतिरबाट विस्तृत जानकारीहरु संकलन गरेर सनातन धर्मको विकास तथा प्रवद्र्धन अभियानलाई सुत्रवद्ध किसिमले अगाडि बढाउने विचार गर्नुभयो र उपयुक्त तथा प्रभावकारी योजना निर्माणको खाकाको तयारीमा जुट्नु भयो ।
आदिगुरु शंकराचार्यले सबै प्रकारका शास्त्रार्थहरुमा उच्चकोटीका मानिएका विभिन्न वैदिक तथा अवैदिक धर्म, सम्प्रदायहरुका धेरै पंडित, गुरु, विचारक तथा दार्शनिकहरुलाई पराजित गरेर अखण्ड विजयी हुदै वहाँले पुरै देशभरि उत्तरदेखि दक्षिणसम्म र पूर्वदेखि पश्चिमसम्म कहाँ के–कस्ता प्रकारका आध्यात्मिक तथा धार्मिक सुधारहरुको आवश्यकता छ भनेर जान्न र सनातन धर्मको प्रचार–प्रसारको अभियानलाई अझ तिब्रता दिन देश दौडाहामा निस्किनु भयो । देशको कुनाकाप्चा सबैतिर भ्रमण गरेर, सबैतिरको वास्तविक अवस्था र आवश्यकताको टिपोट गरेर सनातन धर्मको प्रवद्र्धन तथा पुनरोत्थान गर्नकालागि अत्यन्तै प्रभावकारी आध्यात्मिक तथा धार्मिक विकासको खाका तयार गरेर सोही खाका अनुसार परिणाममुखी गुरुयोजना(मास्टर प्लान)को निर्माण गर्नुभयो । वहाँको मूल उद्देश्य, लक्ष्य तथा आशय समाजमा छरिएर रहेका सबै सनातनीहरु र अन्य सम्प्रदायहरुलाई समेत एकत्वमा बाँधेर चुस्त मानवीय समाजको स्थापना गर्नु थियो । गुरु योजनाको निर्माण पश्चात यसलाई प्रभावकारीताकासाथ कार्यान्वयन गर्दै सबै सम्प्रदायका मानिसहरुलाई एकत्वमा ल्याउने महान अभियानलाई तिब्रता र व्यापकता दिनुभयो । यसक्रमा आदिगुरु शंकराचार्यले निम्न तीन प्रकारका मूल धार्मिक अभियानहरु चलाउनु भयो– (१)चार दिशामा चार पवित्र धाम तथा मठको स्थापना, (२)दशनामी संयास सम्प्रदाय तथा परम्पराको स्थापना, र (३)तीन प्रकारका धर्म सेनाहरु तैनाथ ।
चार दिशामा चार पवित्र धाम तथा मठको स्थापना
सनातन धर्ममा चार अंकको अत्यन्तै गहन आध्यात्मिक तथा धार्मिक महत्व र मूल्यमान्यता रहदै आएको छ । यसकारण सनातन धर्ममा प्राचीनकालदेखि नै धेरै प्रकारका चार अंकका संस्कार तथा परम्पराहरु मनाउदै तथा अनुशरण गर्दै आइरहिएको छ चार दिशा, चार वर्ण, चार पुरुषार्थ, चार आश्रम, चार धाम चार कीला आदिका रुपमा । धामको अर्थ एक विशेष प्रकारको पवित्र स्थान भनेर लगाउने गरिन्छ जहाँ अनन्त रुपमा दिव्य सकारात्मक उर्जाको प्रवाह निरन्तर भैरहन्छ । सनातन शास्त्रहरुमा उल्लेख गरिए अनुसार वर्तमानमा चार धाम रहेका पवित्र स्थलहरुलाई सृष्टिका पालनकर्ता भगवान श्रीहरि विष्णुले अत्यन्तै रुचाउनु हुन्छ र आफ्नो नित्य दैनिकीमा उपयोग गर्नुहुन्छ भन्ने विश्वास गरिन्छ । भगवान श्रीहरि विष्णु विहान दक्षिणको रामेश्वर धाममा स्नान गर्नुहुन्छ र क्रमशः पूर्वको जगन्नाथ धाममा भोजन गर्नुहुन्छ, उत्तरको बद्रिनाथ धाममा ध्यान गर्नुहुन्छ र पश्चिमको द्वारका धाममा आराम गर्नुहुन्छ भन्ने विश्वास रहदै आएको पाइन्छ । यसैकारण सनातन धर्ममा यी चार महत्वपूर्ण सनातन वैदिक महत्व रहेका पवित्र स्थानलाई एकैसाथ जोडेर पवित्र चार धाम भनिएदै आइएको छ । सनातन कालदेखिनै धार्मिक दृष्टिकोणले उच्च महत्व र मूल्यमान्यता रहदै आएका यी चार पवित्र स्थानहरुको माध्यमबाट सनातन धर्मको प्रवद्र्धन र पुनरोत्थान गर्ने महाअभियानमा सबै सनातनीहरुमा अझ थप उत्साह तथा बल मिल्ने अनुमान गरेर इशाको आठौं शताव्दीमा आदिगुरु शंकराचार्यले यीनै पवित्र धार्मिक स्थलहरुलाई विशेष प्रकारले विकास गरेर सनातन धर्मको प्रचार–प्रसार र विकास गर्ने गुरु योजना तयार गर्नुभयो । यी चार पवित्र धामहरुलाई विभिन्न प्रकारले एकआपसमा जोडेर आदिगुरु शंकराचार्यले समाजमा सनातन धर्मको आधारशिला मजबुत बनाउन धेरै प्रकारका संस्कार तथा परीपाटीहरुको शुरुआत गरेर सनातन धर्मको स्थाइत्वमा महत्वपूर्ण योगदान प्रदान गर्नु भयो जो अधावधिक सर्वमान्य रहदै आएका छन । हरेक सनातन धर्मावलम्विले आफ्नो जीवनकालमा एकपटक अनिवार्य रुपमा पवित्र चार धाम तीर्थस्थलहरुको दर्शन गर्नुपर्छ भन्ने मान्यता रहदै आएको छ । पवित्र चार धामको दर्शन गर्नाले दर्शनाभीलासीहरुका हरप्रकारका पापहरु मोचन हुन्छन् र उनीहरुलाई सकारात्मक उर्जा प्राप्त हुन्छ र जीवन सहज तथा सरल हुन्छ भन्ने विश्वास तथा मान्यता रहदै आएको पाइन्छ ।
सनातन धर्मको पुनरोत्थान र पुनरस्थापनाको महाअभियानलाई सहजतापूर्वक अगाडि बढाउन सर्वप्रथम आदिगुरु शंकराचार्यले सनातन धर्मको विकास तथा प्रवद्र्धनकालागि आफूले तयार गर्नुभएको गुरु योजना अनुसारनै सनातन वेदका उपासक तथा अनुशरणकर्ता सबै सनातनीहरुलाई एकत्वमा ल्याउने महान अभिप्रायले वैज्ञानिक तवरले देशका आध्यात्मिक तथा धार्मिक दृष्टिकोणले उच्चतम महत्व भएका सर्वाधिक उपयुक्त पवित्र चार स्थानहरु रोजेर सनातन दर्शनको महाज्ञान तथा विज्ञान चार वेदको सिद्धान्तको आधारमा देशका चार दिशामा चार धाम तथा मठहरुको स्थापना गर्नुभयो– (१)दक्षिणमा रामेश्वर धाम, (२)पूर्वमा जगन्नाथ धाम, (३)उत्तरमा बद्रिनाथ धाम, र (४)पश्चिममा द्वारका धाम । तत्कालीन समयमा अवैदिक मतहरुको अधिक बोलबाला रहेकाकारण लोप हुने अवस्थामा पुगेको सनातन धर्मलाई निरन्तर अघि बढाउने उद्देश्यले सबैकालागि संधैकालागि उपयुक्त र प्रभावकारी हुनेगरि यी धामहरुमा विशिष्ट प्रकारका नयाँ संस्कार तथा परम्पराहरुको शुरुआत गराउनु भयो । त्यसयता सनातन धर्मको आधारशिला मजबुत गर्नकालागि आदिगुरु शंकराचार्यले शुरु गर्नुभएका सनातन संस्कार, परम्परा तथा वहाँले प्रदान गर्नुभएका सनातन ज्ञानहरुलाई निरन्तर अगाडि बढाउने र संरक्षण गर्ने काम यीनै पवित्र चार धाम तथा मठहरुबाट भइरह्यो र अद्यावधिक हुदै आइरहेको छ ।
सनातन धर्मको जग र परम्परा अझ मजबुत बनाउनका लागि नयाँ पिढीले सहजै सनातन शास्त्रहरुमा रहेका ज्ञान, विज्ञान, महाज्ञान हासिल गर्न सकुन भन्ने आशयले आदिगुरु शंकराचार्यले चार वेदको प्रवद्र्धन हुनेगरि सनातन वेदको अध्ययन अध्यापन गर्न सहज गराउन पवित्र चार धाममा एक धाममा एउटा वेद शास्त्रको अध्ययन, अध्यापन गराउने व्यवस्था प्रारम्भ गरेर पवित्र चार धामलाई धार्मिक तथा सांस्कृतिक रुपले सनातन ज्ञान, विज्ञान, महाज्ञानको मूलश्रोत वेदसंग नयाँप्रकारले जोडिदिनु भयो । सनातन हिन्दु धर्ममा यी पवित्र चार धामहरु एकआपसमा अतुलनिय(इनकमपेरेवल) तथा परिपूरक(इनसेपेरेवल) रहेका छन् । यसरी धर्म र अध्यात्मको संयोजनबाट देशभरि विभिन्न सम्प्रदाय तथा समुहहरुमा छरिएर रहेका सनातनीहरुको विविधतामा चलिरहेको संस्कारलाई एकसुत्रमा ल्याउने तथा समेट्ने अभिप्रायले आदिगुरु शंकराचार्यले पवित्र चार धामका पूजा, पाठ, यज्ञ, होम, अभिषेक आदि गर्ने परम्पराहरु एकअर्काका परिपूरक हुनेगरि विवेकपूर्ण र तर्कपूर्ण ढंगले एकआपसमा जोड्ने व्यवस्था मिलाउनु भयो । भारतको उत्तराखण्ड राज्यको उत्तर दिशामा पर्ने केदारनाथ धाम र बद्रिनाथ धामका पूजारीहरु दक्षिण भारतबाट ल्याउने परम्परा बसालिदिनु भयो । दक्षिणका धामहरुमा गंगोत्री(उत्तरकाशी)को जलले अभिषेक गर्ने परम्परामा बाँधिदिनु भयो र पवित्र चार धामविच परिपुरकताको संस्कार बसालिदिनु भयो । यी पवित्र चार धामविच चिरकालसम्म निरन्तर सम्वन्ध तथा समन्वय बनिरहोस र नयाँ पिढीले देशको चारैकुनामा गएर चारवटै पवित्र धाम तथा मठ लगायत देशको भौगोलिक, वातावरणीय, प्राकृतिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्थाहरुको जानकारी लिदै चार वेद र अन्य सनातन शास्त्रहरुको अध्ययन गरुन र आध्यात्मिक तथा धार्मिक ज्ञान हासिल गरुन भन्ने उद्देश्यले वैज्ञानिक दृष्टिकोण अनुसार देशको चारैतिर चार वेदको प्रचार–प्रसार तथा प्रवद्र्धन गर्न पवित्र चार धाम तथा मठहरुको चयन गर्नुभएको थियो । आदिगुरु शंकराचार्यले पवित्र चार धाम तथा मठहरुको स्थपनाकासाथै विभिन्न कारणले देशभरिका बेस्याहार भएका, बन्द भएका, जिर्ण भएका, पूजाआजा गर्न बन्दगरीएका, वेवास्ता गरिएका धार्मिक स्थल, मठमन्दिरहरु, देवालय, गुरुकुल, पुस्तकालयहरुको जिर्णोद्धार, पुनरनिर्माण, संरक्षण र आवश्यकता अनुसार नयाँ स्थापना गर्न प्रभावकारी योजनाहरु बनाएर व्यवहारिक रुपमा कार्यान्वयन गर्दै परिणाममुखी कामको अभियानमा जोड दिनुभयो । आदिगुरु शंकराचार्यद्वारा भारत देशको चार दिशामा स्थापना तथा निर्माण गरिएका यति धेरै महत्व बोकेका पवित्र चार धाम तथा चार मठहरु निम्न अनुसार रहेका छन्–
दक्षिणमा यजुरवेदमा आधारीत रामेश्वर धाम
भारतको तमिलनाडु राज्यमा स्थित पवित्र रामेश्वर धाम रामानाथ स्वामीको नामबाट पनि जानिन्छ र खासगरि यो पवित्र धाम भगवान शिवप्रति समर्पित रहेको छ । त्रेतायुगमा रामायण युद्धकालमा रावणको लंकासम्म पहुच बनाउन समुद्रमाथि रामसेतु पुलको निर्माण गर्नुअघि यस पवित्र स्थलमा रामेश्वर मन्दिर बनाएइको थियो । पवित्र रामेश्वर धाम चार धाम मध्य एक हो र पवित्र बाह्र ज्योर्तिलिंग मध्य एक हो । रामायण कालमा रावणसंग युद्ध लड्न जानुपूर्व भगवान श्रीरामले यही स्थलमा स्नान गरेर भगवान शिवको शिवलिंग स्थापना गरि जप, तप, आराधना गर्नुभएको थियो र रावणको लंका जितेर फर्कदा पनि यही पवित्र स्थलमा भगवन शिवको आराधना गरेर भगवान श्रीरामले भगवान शिवप्रति विजय आशिर्वादकालागि कृतज्ञता भाव प्रकट गर्नुभएको थियो । वास्तुकलामा उत्कृष्ट मानिने यस पवित्र रामेश्वर धाममा रामसेतु पुलको ठूलो पुण्य महिमा रहेको पाइन्छ । यस पवित्र धामको दर्शन गर्दा सबै भगवानहरुको दर्शन हुने, सबै भगवानहरुको आशिर्वाद तथा कृपा प्राप्त हुने र प्राप्त हुने पुण्य प्राप्त हुने विश्वास गरिन्छ । सनातन यजुरवेदको सिद्धान्तका आधारमा स्थापना गरिएको यस पवित्र धामको ध्ययवाक्य तथा महावाक्य “अहं ब्रम्हास्मि” अर्थात म स्वयंनै ब्रम्ह हुँ भन्ने रहेको छ । यस धामको गुरुकुलमा सनातन शास्त्रहरुको अध्ययन गर्ने शिष्यहरुले संयास दिक्षा लिएपछि उनीहरुको नामको पछाडि सरस्वती, भारती, पुरी जोडिन्छ र यी विशेषणले पुकारिन्छ तथा सम्वोधन गरिन्छ ।
पूर्वमा ऋगवेदमा आधारीत जगन्नाथ धाम
भारतको उडिसा राज्यको पुरीमा स्थित रहेको पवित्र जगन्नाथ धाम जगतका नाथ जगन्नाथ अर्थात सृष्टिका पालनहार भगवान श्रीहरि विष्णुका अवतार जगन्नाथप्रति समर्पित रहेको छ । यस पवित्र धाममा मूल प्रतिमा चन्दनको काठबाट निर्माण गरिएको भगवान जगन्नाथ र भगवती बिमलाको स्थापना गरिएको छ । यस धामको इतिहास प्राचीन ऋगवेद कालसम्म पुग्ने भएको कारण जगन्नाथ धाम ऋगवेदको सिद्धान्तको आधारमा स्थापना गरिएको हो । यस पवित्र जगन्नाथ धामको ध्ययवाक्य तथा महावाक्य “प्रज्ञानं ब्रम्ह” अर्थात ज्ञान नै ब्रम्ह हो, ज्ञान प्राप्त गर्यौ भने ब्रम्हलाई प्राप्त गर्छौ भन्ने रहेको छ । यस धामको गुरुकुलमा सनातन शास्त्रहरुको अध्ययन गर्ने शिष्यहरुले संयास दिक्षा लिएपछि उनीहरुको नामको पछाडि आरन्यक जोडिन्छ र यही विशेषणले पुकारिन्छ तथा सम्वोधन गरिन्छ । छुवाछुतको अन्धविश्वासबाट मुक्त रहेको यस पवित्र धाममा सबै धर्म, जात, वर्गका तीर्थयात्रीहरु एकसाथ बसेर भोजन तथा प्रसाद ग्रहण गर्दछन् । पवित्र जगन्नाथ धाममा हरेक दिन हजारौं तीर्थयात्रीहरुका लागि सेवा भावले नि:शुल्क भोजन तथा प्रसाद प्रदान गरिन्छ । सर्वप्रथम भगवान श्रीहरि विष्णुकालागि ५६ भोग तथा महाप्रसाद तयार गरिन्छ, भगवानको लागि भोग लगाइसकेपछि त्यही भोजन महाप्रसादका रुपमा सबै तीर्थयात्रीहरुलाई वितरण गरिन्छ ।
उत्तरमा अथर्ववेदमा आधारीत बद्रिनाथ धाम
भारत देशको उत्तराखण्ड राज्यको अलकनन्द नदिको किनारमा स्थित रहेको पवित्र बद्रिनाथ धाम सृष्टिका पालनकर्ता भगवान श्रीहरि विष्णुको आराधनाका लागि स्थापना गरिएको हो र यस स्थलमा अरु साना–साना चार धामहरु– बद्रिनाथ, केदारनाथ, गंगोत्री, यमुनोत्री पनि रहेका छन् । पवित्र बद्रिनाथ धाममा मूल प्रतिमा शालीग्राम पत्थरले बनाइएको श्रीहरि विष्णु अर्थात नारायण र भगवती पूर्णदेवीको रहेको छ । भगवान श्रीहरि विष्णुको यो मन्दिर हिउदको मौसममा अत्यधिक ठण्डी हुने भएकोले बर्षमा छ महिना मात्र खुला राख्ने गरिन्छ र बाँकी छ महिना अखण्ड दिप बल्न छ महिनाकोलागि आवश्यक पर्ने वर्तनको जोहो गरेर दर्शनाभिलासीहरुका लागि धामको मूलद्वार बन्द गरिन्छ । सनातन अथर्ववेदको सिद्धान्तको आधारमा स्थापना गरिएको यस पवित्र धामको ध्ययवाक्य तथा महावाक्य “अयम आत्मा ब्रम्ह” अर्थात आत्मा आफैंमा ब्रम्ह हो, आत्मा नै परमात्मा हो भन्ने रहेको छ । पवित्र बद्रिनाथ धामलाई ज्योर्ति मठ, ज्योतिष मठ तथा जोशी मठ नामले पनि चिनिन्छ । यस धामको गुरुकुलमा सनातन शास्त्रहरुको अध्ययन गर्ने शिष्यहरुले संयास दिक्षा लिएपछि उनीहरुको नामको पछाडि गिरी, पर्वत, सागर जोडिन्छ र यी विशेषणले पुकारिन्छ तथा सम्वोधन गरिन्छ । यस पवित्र स्थानमा भगवान श्रीहरि विष्णुले मानवताको उद्धारकालागि १००० बर्ष तपस्या तथा ध्यान गर्नुभएको थियो भन्ने किंवदन्ति रहदै आएको छ ।
पश्चिममा सामवेदमा आधारीत द्वारका धाम
भारतको गुजरात राज्यको गुम्ती नदिको किनारमा स्थित द्वारका धामलाई श्री द्वारकाधिस मन्दिरको नामले बढि जानिन्छ र सृष्टिका पालनकर्ता भगवान श्रीहरि विष्णुका १६ कलाले युक्त महाअवतार द्वारकाधिस श्रीकृष्णको नगरी पनि भन्ने गरिन्छ । मानव सर्वकल्णका लागि सनातन हिन्दु धर्मको मूल ग्रन्थ श्रीमद् भगवद् गीताका प्रणेता भगवान श्रीकृष्णको सनातन हिन्दु धर्ममा विशेष स्थान र दिव्य महिमा अनन्त र अवाच्य रहदै आएको छ । सामवेदको आधारमा स्थापना गरिएको यस पवित्र धामको ध्ययवाक्य तथा महावाक्य “तत्वमसि” अर्थात तिमी नै ब्रम्ह हौ भन्ने रहेको छ । यस धामको गुरुकुलमा सनातन शास्त्रहरुको अध्ययन गर्ने शिष्यहरुले संयास दिक्षा लिएपछि उनीहरुको नामको पछाडि आश्रम, तीर्थ जोडिन्छ र यी विशेषणले पुकारिन्छ तथा सम्वोधन गरिन्छ ।
सनातन हिन्दु धर्मका अनुसार यदि कोही व्यक्ति आफ्नो जीवनकालमा यी चारवटै पवित्र धाम तथा मठहरुको तीर्थयात्रा गर्छ, दर्शन गर्छ भने उसको मोक्ष प्राप्तिको मार्ग सहज हुन्छ । आदिगुरु शंकराचार्यले पवित्र चार धाम तथा मठहरुबाट चार वटा वेदहरुको अध्ययन गर्ने व्यवस्था मिलाउनु भए अनुसार वहाँको अन्त्यपछि कयौं वर्षसम्म ब्राम्हणहरुले दशनामी सम्प्रदायका संयासीहरुबाट वेदको अध्ययन गर्ने तथा ज्ञान लिने गर्दै आए । आदिगुरु शंकराचार्यले पवित्र चार धाम तथा मठहरुको स्थापना गरेर सनातन धर्मको ज्ञान तथा दर्शन संरक्षण र विस्तार गर्न हरेक मठहरुमा गुरु तथा पुजारी नियुक्त गने व्यवस्था गरेर उपयुक्त प्रकारको पूजाविधिको परिपाटी बसालिदिनु भयो र गुरु-शिष्य परम्परा प्रारम्भ गर्नुभयो । यी पवित्र धाम तथा मठका पूजारीहरु सबैलाई वर्तमान समयमा पनि 'शंकराचार्य' नामले सम्वोधन गर्ने गरिन्छ । आजभन्दा १३०० वर्षअघि(अनुमानित) स्थापना गरिएका यी पवित्र चार धामहरुले आजपर्यन्त सनातन धर्मको निरन्तर संरक्षण र विस्तार गरिरहेका छन् । आदिगुरु शंकराचार्यको यी मठहरुको स्थापना गर्नुको प्रमुख उद्देश्य यी मठहरुको निरन्तरताको माध्यमबाट सनातन धर्मको संरक्षण तथा प्रवद्र्धन गर्न सकियोस र सनातनी समाज सुव्यवस्थित होस् तथा गर्न सकियोस भन्ने थियो । आदिगुरु शंकराचार्य सनातनदेखिनै आध्यात्मिक तथा धार्मिक महत्व रहेका यी पवित्र चार धाम तथा मठहरुको स्थापनाको साथै मानिसहरुको मानसपटलबाट विलुप्त भैसकेका १२ ज्योर्तिलिंगहरुको पनि उत्खनन् गर्नुभयो र उक्त स्थलहरुमा उचित प्रकारका मठ, मन्दिर तथा देवालयहरुको निर्माण तथा व्यवस्थापन गरेर निरन्तर तीर्थाटन, धार्मिक भ्रमण तथा इश्वर दर्शनको परम्परा चलाउनु भयो । आदिगुरु शंकराचार्यको अन्त्यपछि यी पवित्र चार धाम तथा मठहरुको व्यवस्थापन र आर्थिक पक्ष अलिक कमजोर हुन थाल्यो । यहीकारण संयासीहरु मठ छोडेर हिड्न तथा समाजमा मिसिन थाले, केही विवाह गरेर गृहस्थ आश्रममा प्रवेश गरे, केही जंगल तथा गुफातिरको एकान्त वासमा गए । गृहस्थ आश्रम अपनाएर समाजमा मिसिएपनि संयासीहरुका लागि सनातन हिन्दु समाजमा छुट्टै प्रकारका नीति, नियम, संस्कार तथा परम्पराहरु रहेका छन् । संयासीहरु जनै लाउदैनन्, टुप्पि पाल्दैनन् र मृत्यु संस्कार पनि गर्दैनन् । bsirjana@gmail.com
छिट्टै
(२)दशनामी संयास सम्प्रदाय तथा परम्पराको स्थापना ।
(३)तीन प्रकारका धर्म सेनाहरु तैनाथ ।
No comments:
Post a Comment