डा. सिर्जना भण्डारी
(क)जन्म र बाल्यकाल(इस्वी ७८८–८२०)
अवतार प्रसंग र जन्म
सनातन अध्यात्म आकाशका अत्यन्तै उज्वल तारा अवतारी महापुरुष जगतगुरु आद्य शंकराचार्यलाई स्वयं भगवान शिवको मनुज(मनुष्य) अवतारका रुपमा मानिदै आइएको पाइन्छ । श्रद्धेय माधवाचार्यको मत अनुसार, “पृथ्वीमा अपुरणीय रुपमा सनातन धर्मको व्यापक क्षति भएको र पतन तथा लोपोन्मुख अवस्थामा रहेको देखेर भगवान आशुतोष शिवशंकर समक्ष भू देवी–देवताहरुले यो विकराल अवस्था टार्न र सनातन धर्मको रक्षा गर्न प्रार्थना गर्नुभएको थियो र भगवान शिवले भू देवी–देवताहरुलाई समय हेरेर वहाँ स्वयं मनुष्य रुपमा धर्तीमा अवतरित हुनुहुनेछ भनेर आश्वस्थ पार्नुभएको थियो ।” विवाह पश्चात लामो समयसम्म सन्तान बिहिन रहेका दम्पति शिवगुरु र आरयम्बाले भगवान शिवशंकर रुद्रको तप गरेर वरदान स्वरुप प्राप्त गरेको सन्तान भएको हुनाले नवजनित बालकको नाम पनि शंकर नै राखिएको थियो । भगवान शिवशंकरले तपस्वी दम्पतिलाई रोजाउनु भएको थियो, "हे सन्तआत्मा तिमीहरु छोटो आयु तर तिक्ष्ण वुद्धि भएको सन्तान चाहान्छौ कि लामो आयु छोटो वुद्धि भएको सन्तान चाहान्छौ ?" दम्पति ले छोटो आयु तिक्ष्ण वुद्धि भएको सन्तानको चाहना राखेपछि प्राकृतिक रुपमा माता आरयम्बाको गर्भबाट महापुरुष आदिगुरु शंकराचार्यको जन्म भएको थियो, यसकारण शंकराचार्यलाई स्वयं भगवान शिवशंकरको मनुष्य अवतारको रुपमा मान्ने तथा पुज्ने गरिन्छ किनकी शंकराचार्यले ३२ वर्षको छोटो आयुमा सनातन दर्शन तथा सनातन धर्मको पुनरोत्थान र प्रवद्र्धन गर्नमा जति अथाह, अनन्त, असिम योगदान पुर्याएर यो संसार र भौतिक शरीरबाट विदा हुनुभयो त्यति योगदान सामान्य व्यक्तिले हजारौं युग लगाएर हजारौं जन्ममा पनि गर्न सक्ने थिएन भनिन्छ ।
जन्मको कालखण्ड र विवादित मतहरू
तत्कालीन समाजमा बौद्ध दर्शनको प्रचार–प्रसार चरमचुलीमा थियो उक्त समयमा वर्तमान दक्षिण भारतको केरलाको कालडी गाउँमा सन् ७८८मा एक तेजस्वी बालक आदि शंकराचार्यको जन्म भएको थियो । जगतगुरु आदि शंकराचार्यको जन्म तथा पार्दुभावको समयको सन्दर्भमा इतिहासमा मतैक्यता रहेको पाइदैन, एक दर्जन भन्दा बढि फरक–फरक मतहरु पाइएका छन् तर कुनै पनि मतहरु प्रमाणिक भने छैनन्, सबै अनुमानित मात्र हुन् । यी फरक–फरक मतहरुमा इशाको ५०७ बि.सी.देखि ८२० ए.डी.सम्मको समय अनुमान गरिएको छ । सनातन मठहरुको गुरु परम्परा अनुसार प्राचीन मिति इशापूर्व ५२० देखि ४८० सम्म अर्थात भगवान बुद्धकै समकालीन पनि भनिएको छ तर यो कालखण्ड तर्कसंगत रहेको मानिदैन किनकी आदिगुरु शंकराचार्यले अवैदिक मत बौद्ध धर्मको प्रचार–प्रसार शिखरमा भएको तथा बौद्ध दर्शनको पूर्ण विकसित अवस्थामा सनातन धर्मले बेहोर्नु परेको क्षति र लोपोन्मुख अवस्थाबाट सनातन धर्मलाई माथि उठाउन बौद्ध गुरु तथा विद्वानहरुसंग पनि शास्त्रार्थ गर्नुभएको उल्लेख गरिएको पाइन्छ । अर्को मत अनुसार इशाको प्रथम शताव्दीको कालखण्डलाई पनि अनुमान गरिएको छ । यो कालखण्डमा तर्कको बल रहेको देखिन्छ किनकी सनातन दर्शनका प्रशिद्ध विद्वान पंडित कुमारील भट आदिगुरु शंकराचार्यका समकालीन मानिन्छन् । कुमारील भटले महान दार्शनिक तथा साहित्यकार कालिदाषका कृतिहरुलाई आफ्ना कृतिहरुमा उल्लेख गरेका छन् । यसअर्थ आदिगुरु शंकराचार्य श्रद्धेय कालिदाष भन्दा पछिल्लो पिढी हुनुहुन्छ भन्ने तर्कमा सत्यता देखिन्छ । श्रद्धेय कालिदाषको कालखण्ड इशापूर्व एक शताव्दीलाई प्रामाणिक रुपमा मानिएको छ तसर्थ आदिगुरु शंकराचार्यको कालखण्ड प्रथम शताव्दी सत्यताको नजिक रहेको मान्न सकिन्छ । तर अधिकांश सन्दर्भ श्रोतहरुमा आदिगुरु शंकराचार्यको जन्म र मृत्युको कालखण्ड सन् ७८८ देखि ८२० सम्म रहेको उल्लेख गरिएको पाइन्छ । केही इतिहासकारहरुको मत तथा मान्यता अनुसार सन् ७८८मा जन्मिएका पछिल्लो पिढीका शंकराचार्य अभिनन् शंकर हुन्, महान सुधारवादी तथा वास्तविक आदिगुरु शंकराचार्यको जन्म यो भन्दा अगाडिनै भएको हुनुपर्छ भन्ने मत रहेको छ । आदिगुरु शंकराचार्यको जन्म र मृत्युको कालखण्डको विषय अझैसम्म नसुल्झिएको गाँठोको रुपमा रहदै आएको छ । आश्चर्यको कुरा, सनातन धर्मको उत्थान तथा प्रवद्र्धनमा यति महान योगदान पुर्याउने महापुरुषको लिखित प्रमामणिक इतिहास किन नसमेटिएको तथा नराखिएको होला !
विलक्षण प्रतिभाका धनी
सम्वन्धित विषय सन्दर्भहरुमा उल्लेख भए अनुसार अदिगुरु शंकराचार्य विलक्षण प्रतिभा तथा क्षमता भएको व्यक्तित्व हुनुहुन्थ्यो । सनातन सन्दर्भ सामग्रहरुमा उल्लेख गरिए अनुसार, अवतारी पुरुष आदिगुरु शंकराचार्यले जन्मको पहिलो वर्षमै सबै अक्षरहरु चिनिसक्नु भएको थियो । दोस्रो वर्षमा वहाँले पढ्न सिक्नुभयो, तेस्रो वर्षमा वहाँ पुराण तथा काव्यका विषयहरु श्रवण गरेर नै बुझ्न र याद राख्न थाल्नुभयो । एकपटक सुनेको कुरा वहाँको मस्तिष्कमा छापिए सरह हुन्थ्यो, बिर्सिनुहुन्नथ्यो । तीनवर्षको उमेरमा चुडाकर्म(शिरमुण्डन) गरेपछि वहाँको प्रतिभा तथा क्षमताको तेज अझ प्रखर हुदैगयो । पाँच वर्षको उमेरमा यज्ञोपवित(उपनयन, ब्रतवन्ध) संस्कार सम्पन्न गरेपछि वहाँले वेद र षटदर्शनको अध्ययन गर्न र संगसंगै सनातन धर्मको प्रचार–प्रसारकालागि साना-साना शास्त्रार्थ गर्न प्रारम्भ गर्नुभयो । बाह्र वर्षको सानै उमेरमा आदिगुरु शंकराचार्य वेद र षटदर्शनको महाज्ञाता भएर गुरुकुलको अध्ययन सकेर घर फर्कनुभयो र वाहिरका अन्य दर्शन तथा मतहरुको पनि पर्याप्त अध्ययन गर्नुभयो ताकि सबै मत मान्ने सबै प्रकारका व्यक्तिहरुसंग शास्त्रार्थ गर्न सहज होस् । आफ्नो तिक्ष्ण प्रतिभा र अध्ययनको बलले तत्कालीन समयमा नाम चलेका देशभरिका प्रख्यात दार्शनिक, विद्वान, पंडित तथा गुरुहरु सबैलाई शास्त्रार्थमा पराजय गर्दै वहाँ सदा अखण्ड विजयी रहनुभयो । आदिगुरु शंकराचार्य गुरुकुलबाट घर फर्कनु भएपछि वहाँकी माताले ज्योतिषीलाई वहाँको जन्मकुण्डली देखाउनु भएको थियो र ज्योतिषीले आदिगुरु शंकराचार्यको आयु जम्मा ३२ वर्ष मात्र रहेछ, १६ वर्षमा उनले आफूले आँटेका तथा गर्न चाहेका सम्पूर्ण कार्यहरु पूरा गरिसक्नेछन् र बाँकी १६ वर्ष यीनै कार्यहरुलाई तिव्रताकासाथ निरन्तरता दिनेछन् भनेर मातालाई बताएका थिए ।
संयास जीवन
आदिगुरु शंकराचार्य सानै उमेरदेखि संयासीको जीवन जीउन चाहानुहुन्थ्यो तर माताले अनुमति दिनुभएको थिएन । संयास दिक्षा लिनुपूर्व आदिगुरु शंकराचार्यको नाम योगी शंकरनाथ थियो । एकदिन नदीमा स्नान गर्ने क्रममा आदिगुरु शंकराचार्यलाई गोहीले तानेपछि अव मर्नेनै भएँ माता मलाई संयासको अनुमति दिनुहोस् संयासी भएपछि मात्र मेरो मुक्ति संभव हुन्छ भन्नु भएपछि माताले आत्तिएर तुरुन्तै अनुमति दिनुभएको थियो तर अचानक आश्चर्यजनक रुपमा गोहीले आदिगुरु शंकराचार्यको समातेको गोडा छोडिदियो र वहाँ बाच्नुभयो । यस घटनामा केही दैविक भूमिका तथा सत्यता रहेको विश्वास गर्ने गरिन्छ । वहाँ चमत्कारीक किसिमले गोहीको आहार हुनबाट बाँच्नु भएकोले र संयासको अनुमति पनि पाइसक्नु भएकोले माताको अनुमति लिएर वहाँले १८ वर्षको सानै उमेरमा संयास धारण गरेर घर छाड्नु भयो माताको इच्छा अनुसार माताको अन्तिम संस्कार तथा काजक्रियामा आउने वाचा गरेर र आफूले चाहेको संयास जीवन शुरू गर्नुभयो । बद्रिनाथमा रहदा पंडित मण्डन मिश्रसंगको ३२ दिन लामो शास्त्रार्थको समापनपछि माताको देहान्त भएको खवर पाएर माताको अन्तिम संस्कारमा आएर आफ्नो पुत्रधर्म निभाएर पुनः वहाँ सनातन धर्मको प्रचार–प्रसार, संरक्षण तथा प्रवद्र्धनको आफ्नो नियमित कर्ममा फर्कनुभयो ।
(ख)गुरुकुल ज्ञान
गुरुकुल प्रवेश
आदिगुरु शंकराचार्य ७ बर्षको हुनुहुदानै वहाँको पिताको देहान्त भएकोले माताले नै पालपोषण र ज्ञान आर्जनमा योगदान दिनुभएको थियो । आदिगुरु शंकराचार्य सानैदेखि तिक्ष्ण वुद्धि भएका विलक्षण ज्ञानी तथा वुद्धिमान व्यक्तित्व हुनुहन्थ्यो, वहाँले सानै उमेरदेखिनै समय-समयमा आफ्नो ज्ञान, वुद्धि तर्कले सबैलाई चकित पार्दै आउनु भएको थियो । ७ बर्षका कलिलो उमेरका बालक आफैं हजारौं किलोमिटर(२०००) यात्रा गरेर आफ्नोलागि योग्य तथा ब्रम्हज्ञानी सदगुरु खोज्दै गुरुकुलमा आवासिय भर्ना हुन आइपुग्नु भएका आदिगुरु शंकराचार्यमा यति सानै उमेरमा सनातन दर्शनको अध्ययनगर्नमा वहाँको संकल्पशक्ति तथा लगनशीलता र प्रतिभा, क्षमता, तेज, तिक्ष्णता, प्रखरता, बिलक्षणता देखेर वहाँका गुरु श्रद्धेय आचार्य गोविन्द भगवदपाद पनि आश्चर्यचकित हुनुभएको थियो र सोध्नु भएको थियो, तिमी को हौ बालक भनेर र जवाफमा शंकराचार्यले आफ्नै रचना निर्वाण षट्कम(अद्वेत वेदान्त दर्शनको मूलसार), “म पृथ्वी होइन, न जल हुँ, न तेज, न वायु, न आकाश । न यीनको गुण हुँ, न इन्द्रियहरु हुँ, यी सबैभन्दा पर जो केवल परमतत्व शिव छ त्यही म हुँ...।” लयमा कण्ठाग्र सुनाएर गुरुलाई अझ चकित पारिदिनु भएको थियो । गुरु गोविन्दपाद विश्मित हुनुभयो र यीनी चानचुन बालक होइनन् भनेर आफ्नो योगको शक्तिले ध्यानमा दिव्यदृष्टि लगाएर हेर्दा थाहा पाउनुभयो र साक्षात भगवान शिवशंकरलाई आफ्नो सामुन्ने खडा भएको पाउनुभयो बालक शंकराचार्यको भेषमा । पछि गुरु आचार्य गोविन्दपादले आफूलाई महर्षि वेदव्यासले भन्नुभएको कुरा याद गर्नुभयो र आदिगुरु शंकराचार्यलाई भन्नुभयो, “तिम्रो एउटा शिष्य म समान नै ज्ञाता हुनेछ, उसले नै वेद विरोधी अवैदिक नास्तिक मतहरुको र कुमार्गीहरुको खण्डन गर्नेछ; उसले महान भाष्यहरुको रचना गर्नेछ । हे शंकर, आज म देखिरहेको छु महर्षि वेदव्यासले भन्नुभएको त्यो शिष्य अरुकोही नभएर तिमीनै हौ, यस गुरुकुलमा तिमीलाई स्वागत छ प्रिय वत्स ।”
सनातन वेदान्त दर्शनको प्रचार–प्रसार गर्न गुरुको आदेश
सानै उमेरदेखि नै ज्ञान, विद्या, वुद्धि, विवेक, प्रज्ञा(इन्द्रियातीत, मनातीत, भावातीत अन्तरज्ञान)मा पारंगत आदिगुरु शंकराचार्यले आचार्य गोविन्दपादको गुरुकुलबाट सनातन शास्त्रहरुको औपचारिक अध्ययन पूरा गर्नुभएपछि १२ बर्षको कलिलो उमेरमै सनातन अध्यात्म दर्शनका गहन शास्त्रहरु– उपनिषद, ब्रम्हसुत्र, भगवद् गीता(प्रस्थानत्रयी)को आफ्नो प्रकारले विश्लेषण तथा व्याख्या गरेर भाष्य लेख्न प्रारम्भ गर्नु भएको थियो । वहाँले प्रस्थानत्रयीमा लेख्नु भएको भाष्य सनातन दर्शनको इतिहासमा आजपर्यन्त सबैभन्दा उत्कृष्ट मानिदै आइएको छ । यसकासाथै वहाँले क्रमशः सनातन अध्यात्म दर्शनमा सबै शास्त्रहरुको गहन अध्ययन तथा विश्लेषण गरेर अद्वेत वेदान्तको प्रचार–प्रसार गर्न प्रारम्भ गर्नु भएको थियो र यस काममा वहाँले दशनामी संयासीहरुको अभूतपूर्व साथ प्राप्त गर्नुभएको थियो । चारबर्ष गुरुकुलमा रहेर बालक शंकराचार्यले सबै सनातन शास्त्रहरुको ज्ञान लिनुभयो साथै ज्ञान योग, राज योग, हठ योग लगायत सबै योग विद्याहरुमा पनि पारंगत हुनुभएपछि वहाँका गुरु आचार्य गोविन्दपादले शिवपुरी, काशी (पौराणीक नाम काशी, ऐतिहासिक नाम वनारस, हालको नाम वाराणसी) मणिकर्निका घाटमा आफ्नो निवास बनाएर वेदान्त दर्शनको प्रचार–प्रसार गर्न आदेश दिनुभयो । यसक्रममा आदिगुरु शंकराचार्यले वेदान्त दर्शनको अद्वेत वेदान्त सिद्धान्तको प्रचार–प्रसार गर्न काशीबाट प्रारम्भ गरेर भारत देशभरि पैदल यात्रा गर्नु भएको थियो ।
(ग)सनातन धर्मको प्रचार–प्रसारकालागि काशी प्रस्थान
भगवान शिव र भगवती आदिशक्तिको दर्शन
चार बर्ष बसेर गुरुकुलको अध्ययन पूरा गरेपछि १२ वर्षका शिष्य शंकराचार्यलाई गुरुबाट काशी गएर सनातन धर्मको प्रचार-प्रसार गर्ने आदेश भएकोले वहाँ काशी प्रस्थान गर्नुभयो । काशी जाने क्रममा बाटोमा वहाँको चाण्डालसंग प्रत्यक्ष जम्काभेट भयो तर ती चाण्डाल अरुकोही नभएर स्वयं भगवान शिवले रुप फेरेर शंकराचार्यलाई दर्शन दिनु भएको थियो । यसक्रमा भगवान शिवले चाण्डालकै स्वरुपमा शंकराचार्यको परिक्षा लिनु भएको थियो र बालक शंकराचार्यलाई ब्रम्हज्ञान प्रदान गर्नुभएको कारण शंकराचार्यले तत्कालै ती चाण्डाललाई गुरु बनाउनु भएको थियो । शंकराचार्यले चाण्डाललाई तिमी अछुत जात हौ म ब्राम्हण हुँ मलाई नछोउ भन्दा चाण्डालले हाँस्दै जवाफ र जिज्ञासा दुवै राखेका थिए, “हे पवित्र ब्राम्हण, तिमी मेरो शरीर अछुत भन्छौ भने यो प्रकृतिको पंचतत्वले निर्मित भएको हो र सबै जीवको शरीर उही तत्वले निर्मित भएको हुन्छ; आत्मा अछुत भन्छौ भने यो सबै जीवहरुमा समानरुपले बसेको छ स्वयं परमात्माको अंशको रुपमा, संयासी भएर यति कुरापनि जान्दैनौ तिमी !” भनेपछि शंकराचार्य झसंग हुनुभयो र आफूलाई ब्रम्हज्ञान सिकाएकोमा क्षमा माग्दै चाण्डाललाई आफ्नो गुरु बनाउनु भयो । काशीमा रहदा भगवती आदिशक्तिले पति बितिसकेको साधारण विध्वा स्त्रीको स्वरुपमा शंकराचार्यको सामु प्रकट भएर परिक्षा लिनुभयो र ‘शक्ति’को महत्व बुझाउनु भयो र ज्ञान दिदै भन्नुभयो, “बिनाशक्ति शिवकेही पनि होइन, शक्तिबिना शिव पनि अपूरो छ ।” यही समयमा शंकराचार्यले माता आदिशक्ति भवानीप्रति सम्मान प्रकट गर्दै ‘गतिस–त्वं गतिस–त्वं गतिस–त्वंएका भवानी’ भवानी अष्टकमको रचना गर्नु भएको थियो ।
आफ्ना गुरु आचार्य गोविन्दपादको आज्ञा अनुसार अद्वेत वेदान्तको प्रचार–प्रसार गर्न आदिगुरु शंकराचार्य काशी प्रस्थान त गर्नुभयो तर त्यतिबेलाको काशी पंडित तथा विद्वानहरुको गढभूमि थियो र वेदान्तको प्रचार–प्रसार गर्न १२ बर्षिया बालक शंकराचार्यलाई त्यहाँ त्यति सहज हुने अवस्था थिएन । त्यसताका काशीको मानव समाजमा बौद्ध धर्म र यसको तन्त्र विद्या मान्ने बज्रयान सम्प्रदाय; सनातन धर्मका दक्षिणाचारको तामसि मार्ग अन्तर्गतका विविध तन्त्र विद्याहरु; अन्य मत तथा सम्प्रदायहरुका आ-आफ्नै प्रकारका मूल्यमान्यताहरु अत्यन्तै धेरै हावी भएकाकारण काशी तथा पुरै भारतबाट नै सनातन धर्म पुर्णरुपमा लोप हुने अवस्थामा पुगेको थियो । सनातन धर्म तथा सम्प्रदायका ठूला–ठूला विद्वानहरु समेत वामाचार जस्तो इश्वरको भक्ति, परमात्मा साक्षातकार, योग, ध्यान, ज्ञानको सात्विक मार्ग छोडेर अवैदिक धर्म र अप्राकृतिक तथा तामसिक प्रकृतिको जादु, टोना, टोड्का आदि गर्ने तथा गराउने तन्त्र विद्याको पछाडि लागेर त्यसैलाई सर्वेसर्वा, सत्य र महत्वपूर्ण ज्ञान तथा विद्या मान्न थालेका थिए । तव आदिगुरु शंकराचार्यले आफ्नो गुरुले किन काशी गएर वेदान्त दर्शनको प्रचार–प्रसार गर्न जोड दिनुभएको रहेछ भनेर विषयको अन्तर्य तथा गुह्य कुरा बुझ्नुभयो । काशीमा आफ्नो बसोवासको व्यवस्था र अरु परिस्थितिहरु व्यस्थित भएपछि विस्तारै आदिगुरु शंकराचार्यले वेदान्त दर्शनको प्रचार–प्रसार गर्ने कार्य शुरु गर्नुभयो । वेदान्त दर्शनमा प्रवचन दिदै वहाँले पंडित तथा विद्वानहरुलाई वैदिक दर्शनको अन्तर्य, महत्व र प्रभावकारीताबारे बुझाउदै जानुभयो र स्पष्ट नभएका विषयहरुलाई स्पष्ट पार्दै जानुभयो । अव बल्ल विस्तारै वैदिक दर्शनको विस्तार र अवैदिक दर्शनको संकुचन हुन प्रारम्भ हुनथाल्यो । क्रमिक रूपमा आफ्नो प्रयासहरुले सकारात्मक गति लिएको देखेर वहाँलाई यस सन्दर्भमा अझ धेरैतिर फैलिएर र प्रभावकारी ढंगले काम गर्नुपर्ने रहेछ भन्ने वोध भयो र वहाँले आफ्नो अध्ययनमा गहनता बढाउनकालागि ग्रन्थहरुको थप गुढतत्व बुझ्न र सनातन दर्शनका मूलग्रन्थहरुमाथि भाष्य लेखेर अरुलाई यसबारे बुझाउने काममा तिब्रता दिन थाल्नुभयो ।
सन्दन नै महान शिष्य पद्यमपाद
काशीमा आदिगुरु शंकराचार्यको प्रभाव फैलिदै गएपछि विस्तारै वहाँको आफ्नै शिष्य मन्डली बन्न थाल्यो र क्रमशः शिष्यहरुको संख्यामा विस्तार हुदै गयो । वहाँको पहिलो शिष्य सन्दनले शंकराचार्यले लेख्नु भएका सबै भाष्यहरु कण्ठ गरे जसको अलौकिक प्रभावका कारण एकपटक सन्दनले जमिनमा आफ्ना गोडा राख्ने वित्तिकै गोडा राखेको स्थानमा कमलको फूल उम्रिएर फूल्यो । यसपश्चात आदिगुरु शंकराचार्यले आफ्ना प्रतिभाशाली शिष्यको नाम सन्दनबाट परिवर्तन गरेर पद्यमपाद(कमलका पाउ) राख्नुभयो र उनी विस्तारै सनातन समाजमा पद्यमपाद नामले बिख्यात हुदैगए । जीवनको उत्तरार्धमा आफ्ना परमप्रिय गुरु शंकराचार्यमाथि गरिएको तन्त्रको मारण अविचार जादु-टोना भेदनबाट शंकटमा परेको वहाँको जीवन बचाउन महान शिष्य पद्यमपादले अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेर गुरुलाई मृत्युको मुखबाट वाहिर ल्याउन महत्वपूर्ण काम गरेका थिए । bsirjana@gmail.com
No comments:
Post a Comment