'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Tuesday, 10 June 2025

धन अर्थात सम्पन्नता नै सुख र दुःख दुवैको कारण हो, खण्ड -१

                                                                   डा. सिर्जना भण्डारी

     #अध्यात्म_दर्शन #जीवन_दर्शन  



विषय प्रवेश

धन सुखको कारण हो भन्ने त सबैको बुझाईमा आउछ तर धननै दुःखको पनि कारण हो भन्ने कुरा बुझ्न अलि कठिन हुन सक्छ । यो आर्दश मात्र हो, आदर्शले जीवन चल्दैन, व्यवहारीक रुपमा जीवन चलाउन धन नै चाहिन्छ भन्ने अधिकांशको तर्क रहने गर्छ । यसो हुनु स्वाभाविक हो किनकी आधूनिक भौतिक विज्ञानको युगमा छौं हामी, यो युगमा जीवन जीरहेका हामी सबैले धनले नै ज्यादातर सुख ल्याएको तथा खुशी प्रदान गरेको देखेका तथा अनुभव गरिरहेका छौं । तसर्थ हामी सबैलाई यो भ्रम भएको छ कि हामीलाई सुख तथा खुशी प्रदान गर्ने धन तथा धनले आर्जन गर्नसक्ने चिज, वस्तु, सेवा, सुविधाले हो र यो संसारमा हामीलाई सुख प्रदान गर्ने धन भन्दा बाहेक अर्को कुनै चिज छैन । यो बुझाई विलकुल असत्य होइन तर यो आधा सत्य हो किनकी प्रकृतिको नियममा हरेक कुराको निश्चित लक्ष्मण रेखा अर्थात सिमाना हुन्छ । निसन्देह सबैलाई सहज, सरल, सफल जीवनयापन गर्न अनिवार्य रुपमा धन चाहिन्छ तर धन आवश्यकता पूरा गर्न चाहिएको होकि इच्छा तथा तृष्णाहरू पूरा गर्न चाहिएको हो यहाँनेर तात्विक र अर्थपूृर्ण सवाल खडा हुन्छ र यही सवालको विचतिर लक्ष्मण रेखाको उपस्थिति हुन्छ । लक्ष्मण रेखावारी मलाई धनको ‘आवश्यकता’ हुन्छ जसबाट मैले मानिस भएर जीवन जीउन आवश्यक पर्ने जीवनका आधारभूत आवश्यकताहरु(निडबेस लाइभलीहुड) पूरा गर्ने चाहना राख्छु र जीवनमा तृप्ति तथा सन्तोष हासिल गर्छु । लक्ष्मण रेखापारी धनको ‘इच्छा’ हुन्छ जसबाट मैले मेरा उच्च सुखसुविधा तथा विलासिताका आकांक्षाहरु(वान्टबेस लाइभलीहुड) पूरा गर्ने चाहना राख्छु जसबाट मेरो जीवनमा इच्छाहरुको तृप्ति भन्दा अतृप्तिका श्रींखलाहरु शुरु हुन्छन् किनकी इच्छाहरुको कहिल्यै अन्त्य हुदैन मृत्यु आऊन्जेलसम्म पनि । इच्छाहरु निरन्तर एउटा पूरा भएपछि अर्को जन्मिरहन्छन् तर आवश्यकताको अन्त्य हुन्छ अर्थात आवश्यकताहरु सिमित हुन्छन् भने इच्छाहरु असिमित हुन्छन् । तसर्थ दैनिक जीवनयापनका आवश्यकता र इच्छाले नै मानिसको सुख र दुःख निर्धारण गर्दछन् । पूरा भएका आवश्यकताहरुले सुख र खुशी दुवै दिन्छन् यस अर्थमा धन अर्थात सम्पन्नता सुखको कारण हो र पूरा भएका इच्छाहरुले सुख र खुशी त दिन्छन् तर ती क्षणिक हुन्छन् र पछि तीनले अपेक्षा नगरिएका दुःखहरु लिएर आउछन् जसको कारण मानिसको जीवनमा अनावश्यक लोभ, मोह, अहंकार बढेर जान्छ र लोभ, मोह, अहंकारकै कारण असन्तोष, गुनासो, बेचैनी, तनाव, चिन्ता, विषाद, अवसाद, बिक्षिप्तता आदि बढ्दै जान्छन् मानिसको जीवनमा यीनै विस्तारै शारीरिक तथा मानसिक रोगमा रूपान्तरण हुन्छन् र धन अर्थात सम्पन्नता नै दुःखको कारण बन्छ ।



मानिसका आवश्यकता

मानिसको शरीर छ, शरीरका सिमित आवश्यकता र असिमित इच्छा, चाहना, तृष्णा, आकांक्षाहरु छन् जो ढिलो चाँढो केही पूरा हुन्छन् भने केही पूरा हुदैनन् । आफ्ना आवश्यकता तथा इच्छाहरु पूरा भए भने मानिसले सुख तथा खुशीको अनुभूति गर्छ र पूरा भएनन् भने दुःख तथा बेखुशीको अनुभूति गर्छ । मानिसको शरीरका चार आयामहरु छन्– (१)शारीरिक शरीर, (२)मानसिक शरीर, (३)भावनात्मक शरीर, र आत्मिक अर्थात चेतनात्मक शरीर र हरेक शरीरका आ–आफ्नै प्रकारका आवश्यकताहरु हुन्छन् । त्यस्तै मानिसले अनुभूति गर्ने सुखका पनि चारवटै आयामहरु छन्– (१)सुख, (२)खुशी, (३)शान्ति, र (४)आनन्द । मानिसले महसुस तथा अनुभूति गर्ने सुख, खुशी, शान्ति, आनन्द झट्ट सुन्दा उस्तै–उस्तै जस्तो लाग्छ तर यीनको परिभाषा र प्राप्त हुने श्रोतहरुमा गहिरो विविधता रहेको छ । सुख मानिसले शारीरिक शरीरको माध्यमबाट अनुभव गर्छ र शरीरको आवश्यकता पूरा गरेर प्राप्त गर्ने सुखका श्रोतहरु धन तथा धनले आर्जन गर्नसक्ने चिज, वस्तु, सेवा, सुविधाहरु हुन् । शारीरिक सुखको सन्दर्भमा धन तथा सम्पन्नताको विशेष महत्व र भूमिका रहन्छ किनकी सुख वाहिरी हुन्छ र बाहिरका चिज, वस्तु, सेवा, सुविधाहरु प्राप्त गर्ने अनिवार्य रूपमा धन अर्थात सम्पन्नताको आवश्यक्ता पर्दछ । खुशी मानिसले मनको माध्यमबाट अनुभव गर्छ र मनको आवश्यकता पूरा गरेर प्राप्त गर्ने खुशीका श्रोतहरु सकारात्मक सोच तथा विचार, सबैसंगको सुमधूर सम्वन्ध, आफूले सोचे जस्तो सहज, सरल, सफल जीवन हुन् । मनको खुशीको सन्दर्भमा धन तथा सम्पनताको उति महत्त्व तथा भूमिका छैन किनकी खुशी अन्तरीक अवस्था हो र आन्तरीक अवस्था धन तथा सम्पन्नताले बढाउन तथा घटाउन सकिदैन । मानसिक रुपले सकारात्मक सोच तथा विचार भएका मानिसहरू अभवमा, झुपडीमा, सिमिततामा पनि खुशीको अनुभूतिमा रमिरहेका हुन्छन् भने मानसिक रूपले नकारात्मक सोच तथा विचार भएका मानिसहरु विलसिता, महल, असिमित सेवा, सुविधामा पनि बेखुशीको अनुभूति गरिरहेका हुन्छन् । त्यस्तै शान्ति मानिसले भावनाको माध्यमबाट अनुभव गर्छ र भावनाको आवश्यकता पूरा गरेर प्राप्त गर्ने शान्तिका श्रोतहरु सकारात्मक भाव, हृदयको प्रेमलता(स्नेह, मैत्री, मायाँ, श्रद्धा, दया, करुणा, सेवा, परोपकार), सहयोग, सदभाव, मिठासपूर्ण सम्वन्ध हुन् । आनन्द मानिसले अन्तरआत्मा अर्थात चेतनाको विकासबाट अनुभव गर्छ र अन्तरआत्मा अर्थात चेतनाको आवश्यकता पूरा गरेर प्राप्त गर्ने आनन्दका श्रोतहरु निस्काम सतकर्म, सेवा, परोपकार, दान, क्षमा, कृतज्ञता, सतसंग, अध्यात्म साधना हुन् । मानिसको मन, भाव, चित्त आन्तरिक अवस्था भएकोले खुशी, शान्ति, आनन्द प्राप्त गर्न मानिसको धन तथा सम्पन्नता काम लाग्दैन, लागेपनि अत्यन्य नगन्य मात्रा(१०-१५%) मात्र काम लाग्छ बाँकी ९०-९५ % हाम्रो मनस्थिथि, भावास्थिति तथा चेतनाको अवस्था तथा स्थितिले तय गर्छ । सुक्ष्म रूपमा हेर्ने हो भने त कतिपय अवस्थामा मानिसको अन्तरीक खुशी, शान्ति, आनन्दमा धन तथा सम्पन्नताले अवरोध गरेको पाइन्छ । प्रसस्त धन तथा सम्पन्नता कमाए पछि मानिस त्यसैको सुरक्षा गर्न दिनरात तनावग्रस्त र चिन्तीत भएर बस्छ कसैले चोरिदेलाकी, ठगीदेलाकी, समयमै धन आर्जन नहोलाकी... आदि जसले नजानिदो रूपमा मानिसको खुशी, शान्ति, अनन्दमा खलल पुर्याइहेको हुन्छ ।


सुख, खुशी, शान्ति, आनन्दको वास्तविक श्रोत

भौतिक संसारका चिज, वस्तु, सेवा, सुविधाहरुबाट सुख, खुशी, शान्ति, आनन्द प्राप्त हुन्छन् तर यी क्षणिक हुन्छन्, दिगो हुदैनन् किनकी वास्तविक सुख, खुशी, शान्ति, आनन्द मानिसभित्र हुन्छन् । आजको मानिस यो ज्ञानको अभावका कारण आफूभित्रै सुसुप्त अवस्थामा रहेका सुख, खुशी, शान्ति, आनन्द वाहिर खेजीरहेको छ र सहज, साल र सफल जीवनबाट बिमुख भएको तथा हराएको महसुस गरिरहेको छ । आफैंभित्र रहेका सुख, खुशी, शान्ति, आनन्दलाई कसरी जगाउने भन्ने ज्ञानको अभावमा आममानिस जीवनभर भौतारीरहेको छ र जीवनमा असफलता भोगिरहेको छ । जव आफूलाई आफैंभित्र रहेका सुख, खुशी, शान्ति, आनन्दका श्रोतहरु जगाउने तथा प्रराफुटन गर्ने ज्ञान हुन्छ तव हामीले वास्तविक सुख, खुशी, शान्ति, आनन्दको अनुभव गर्न भौतिक संसारका चिज, वस्तु, सेवा, सुविधाहरुमा निर्भर भैरहनु पर्दैन । अंग्रेजीमा एउटा प्रचलित र यस सन्दर्भमा वडो सान्दर्भिक भनाइ छ, "Happyness is State of Our Mind(Mind, Emotion, Soul or Consciousness)." अर्थात खुशी(सुख, खुशी, शान्ति, आनन्द) हाम्रो मन(मन, भाव, अन्तरआत्मा अर्थात चेतना)को अवस्था हो । दैनिक जीवनयापन गर्ने क्रममा मानिसको जीवनमा आइपर्ने कुनै पनि विषय तथा घटनाप्रति हामी जस्तो दृष्टिकोण राख्छौं हाम्रो सुख, खुशी, शान्ति, आनन्दको स्वरुप त्यस्तै प्रकारको हुन्छ । आधूनिक मनोविज्ञानका अनुसार हरेक विषय तथा घटनाप्रतिको हाम्रो दृष्टिकोणमा झन्डै सतप्रतिशत(९०%) हाम्रो मन, भाव, अन्तरआत्मा अर्थात चेतनाको अवस्थाको प्रत्यक्ष प्रभाव रहेको हुन्छ । संस्कृत साहित्यमा एउटा अत्यन्तै सान्दर्भिक महावाक्य छ, “यथा पिण्डे तथा ब्रम्हाण्डे ।” अर्थात हामीभित्र जे छ ब्रम्हाण्डमा पनि त्यही छ र ब्रम्हाण्डमा जे छ हामीभित्र पनि त्यही छ । हामी भित्रबाट जस्तो छौं ब्रम्हाण्ड अर्थात हामी वाहिरको संसार त्यस्तै प्रकारको देखिन्छ अर्थात आफ्नो मन, भाव, चित्त जस्तो छ संसार त्यस्तै देखिन्छ । हाम्रो मन सकारात्मक छ भने हामी वरीपरिको वातावरण, हाम्रो वरीपरि भएका सम्वन्धहरु आफु जस्तो छ अर्को पनि त्यस्तै हुन्छ । प्रकृतिको अकाट्य नियम छ कोदो छर्यो भने कोदो नै उम्रिन्छ तोरी उम्रिदैन, हामीले झुक्किएर छरेको भएपनि र तोरी छर्यो भने तोरी नै उम्रिन्छ कोदो उम्रिदैन नचिनीकन छरेको भएपनि । हाम्रो मनको प्रकृति पनि ठ्याक्कै यस्तै नै हो, हाम्रो मन घटना तथा विषयप्रति सकारात्मक छ भने त्यहाँ स्वतः सुख, खुशी, शान्ति, आनन्द उम्रिन्छ तथा अनुभवमा आउछ र यसको विपरीत हाम्रो मन नकारात्मक छ, मानवीय विकार तथा क्लेशहरु काम, क्रोध, लोभ, मोह, इर्ष्या, घृणाले भरिएको छ भने त्यहाँ स्वतः दुःख, बेखुशी, अशान्ति, बेचैनी तथा चन्चलता उम्रिन्छ तथा अनुभवमा आउछ । यसप्रकार हामी सकारात्मक छौं कि नकारात्मक छौं भन्ने विषय हामी भित्रबाट कस्तो प्रकारको मानिस हौं भन्ने कुरामा प्रत्यक्ष रुपमा निर्भर गर्दछ र हाम्रो सुख, खुशी, शान्ति, आनन्दका वास्तविक श्रोत हामीभित्रको मन, भाव, चित्तको सकारात्मक अवस्थामा छ वाहिरको नाशवान, अनित्य तथा हरपल परिवर्तनशील भौतिक संसारमा छैन, छदै छैन, यो अकाट्य सत्य जति चाँढो ज्ञातमा आउछ उतिनै चाँढो जीवनमा सुख, खुशी, भानित, आनन्द छाउछ । 


म कस्तो प्रकारको मानिस हुँ त ?

मानिस जातिगत रुपमा एक भएपनि उसका गुण तथा विशेषताहरु अनेक छन् । मानिसका अनेक प्रकारका गुण तथा विशेषताहरु उसले दैनिक जीवनयापन गर्ने क्रममा आइपर्ने वाहिरका विविध अवस्था तथा परिस्थितिहरु र उ भित्र(मन, भाव, चित्त)बाट कस्तो छ भन्ने कुराले तय गर्दछ । मानिसका गुण तथा विशेषताका प्रकारहरुमा उसको ब्यक्तिगत, पारिवारिक, आर्थिक, सामाजिक, राजनीतिक, वातावरणीय तथा पर्यावरणीय अवस्थाहरुको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव रहेको हुन्छ । मानिसमा रहेका यीनै विविध प्रकारका गुण तथा विशेषताहरुका आधारमा मोटामोटी रुपमा मानिसलाई शरीर, मानसिकता, व्यवहार, प्रकृति, धन अर्थात सम्पन्नता आदिका आधारमा मानिसको प्रकार छुट्याइएको छ जो निम्नुसार रहेका छन्–


(१)शारीरिक अवस्थाका आधारमा मानिसको प्रकार

स्थुल तथा सुक्ष्म बनावटका आधारमा मानिसका शरीरका चार आयामहरु छन्– (१)शारीरिक शरीर, (२)मानसिक शरीर, (३)भावनात्मक शरीर, (४)आत्मिक अर्थात चेतनात्मक शरीर । यस शिर्षकमा मानिसको शारीरिक अर्थात स्थुल शरीरका गुण तथा विशेषताहरुको बारेमा मोटामोटी प्रकाश पार्न खोजिएको हो । मानिसको शारीरिक शरीर भौतिक तथा स्थुल आकारमा रहेकोले पाँच ज्ञान इन्द्रियहरुद्वारा देख्न, सुन्न, सुंघ्न, स्वाद लिन तथा स्पर्शको अनुभव गर्न सकिन्छ । मानिसको स्थुल शरीर मोटो, औषत, पातलो; गोरो, गहुँ गोरो, कालो; ठूलो तथा सानो आवाज; फरक प्रकारको सुगन्ध तथा दुर्गन्घ; नरम तथा खस्रो; रोगी तथा निरोगी आदि प्रकारमा अनुभव गर्न सकिन्छ । मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्कम शरीर सुक्ष्म अवस्थामा रहने हुनाले पाँच ज्ञान इन्द्रियहरुद्वारा यीनलाई प्रत्यक्ष रुपमा जान्न अनुभव गर्न सकिदैन तर मानिसका विभिन्न गुण तथा विशेषताहरुका माध्यमबाट भाव गर्न तथा अनुमान लगाउन सकिन्छ कि उ भित्रबाट कस्तो प्रकारको मान्छे हो भनेर । मानिसको सरल, सहज, सफल जीवनमा उसको शारीरिक तथा स्थुल बनावट तथा अवस्थाको उति ठूलो महत्व तथा प्रभाव हुदैन जति मानसिक अर्थात मन, भाव, अन्तरआत्मा अर्थात चेतनाको अवस्थाको हुने गर्दछ ।


(२)मानसिक अवस्थाका आधारमा मानिसको प्रकार

आममानिसहरुको मानसिक अवस्था उसका वाहिरका परिस्थितिहरुले भन्दा निकै बढि(मनोविज्ञानका अनुसार ९०%) उभित्रका सोच, विचार, मनस्थिति, भावास्थिति तथा चेतनाको अवस्थाका तरंगहरुले तय गर्दछन् । मानिसको मनस्थिति उसको मनमा उठ्ने तथा चल्ने सोच, विचारका तरंगहरुले तय गर्दछन् । सामान्यतया आममानिसहरु मोटामोटी रुपमा मनस्थितिका आधारमा खुशी रहने, तटस्थ बस्ने तथा गुनासोले भरिने तीन प्रकारका मानसिकताका हुन्छन् । भावास्थिति उसको भावनामा उठ्ने तथा चल्ने भाव, संवेगका तरंगहरुले तय गर्दछन । भावास्थितिका आधारमा मानिसहर प्रेमल व्यवहार गर्ने, तटस्थ रहने तथा घृणाले भरिने तीन प्रकारका भावनात्मक स्थितिका हुन्छन् । मानिसको आत्मिक अर्थात चेतनात्मक स्थिति उसको जीवनमा भएका आध्यात्मिक प्रगति तथा चेतनाको विकासका अवस्थाहरुले तय गर्दछन । आत्मा अर्थात चेतनाका आधारमा मानिसहरु भोगी(रागी) तथा रोगी, योगी तथा वैरागी, मुक्त तथा मोक्ष तीन प्रकारका चेतनात्मक अवस्थाका हुनछन् । चेतनाको विकास भएको मानिस औषत मानिस भन्दा बढि सकारात्मक, इश्वरप्रति आस्थावान र मुमुक्षत्व अर्थात परमात्मा प्राप्तिको तिब्र इच्छा तथा प्यास भएको आध्यात्मि तथा धार्मिक स्वाभाव भएको प्रकारको हुन्छ । अध्यात्म विज्ञान र आधूनिक मनोविज्ञानका अनुसार मानसिक अवस्थाका आधारमा तीन प्रकारका गुण तथा विशेषताहरु भएका मानिसहरु रहेका छन्– (१)सकारात्मक, (२)तटस्थ, र (३)नकारात्मक । 


सकारात्मक गुण

सकारात्मक गुणले भरिएको मानिस सात्विक प्रकृतिको हुन्छ र यस्तो मानिस अरुको दुःख निवारण तथा सुखको कारण बन्न रुचाउछ, सर्वकल्याणका काममा अग्रसर हुन्छ । मानिसको सकारात्मक गुण तथा विशेषतालाई अझ सुक्ष्म रुपमा जान्न तथा सबै प्रकारका मानिसहरुको आन्तरीक गुणको वास्तविक अवस्थालाई समेट्ने प्रयोजनले यस अगाडि पनि सकारात्मक गुणका तीन–तीनवटा शाखाहरु तय गरिएका छन्–

(१)न्यून सकारात्मक गुण– न्यून सकारात्मक गुण भएको मानिस नीजि स्वार्थ, लोभ, मोहको घेरामा हुन्छ । अर्थात मैले यो कुरा प्राप्त गर्न बाँकी छ, मसंग यो कुरा भइदिए तथा आइदिए हुन्थ्यो, मसंग भएको कुरा मसंगै रहीरहे हुन्थ्यो भन्ने भावमा रहेको हुन्छ र विस्तारै लोभ र मोहको घेराबाट माथि उठ्ने प्रयास गरिरहेको हुन्छ ।

(२)मध्यम सकरात्मक गुण– मध्यम सकारात्मक गुण भएको मानिस नीजि स्वार्थ, लोभ, मोहबाट थोरै माथि उठेर आफ्नो सम्पन्नता तथा क्षमताको केही अंश अरुकालागि प्रदान गरौं भन्ने सहयोगी भावले भरिएको हुन्छ र समाजमा सामूहिक लाभका केही सकारात्मक कामको पहल तथा नेतृत्व गर्न अग्रसर हुन्छ । 

(३)उच्च सकारात्मक गुण– उच्च सकारात्मक गुण भएको मानिस नीजि स्वार्थ, लोभ, मोहबाट पूर्णतः माथि उठिसकेको हुन्छ र उ आफ्नो धन, सम्पन्नता, प्रतिभा, क्षमता, सिर्जनशीलता तथा सकारात्मक गुणहरु अरुको भलाई हुने सर्वकल्याण तथा मानवीयताका कार्यहरु, प्रकृति तथा पर्यावरण संरक्षणका कार्यहरुमा लगाउछ र सबैलाई सक्दो मद्धत, सेवा, दान, उपकार गर्न निरन्तर अग्रसर हुन्छ । 


तटस्थ गुण

तटस्थ गुण भएको मानिस आफ्नो सोझो व्यवहार गर्ने खालको हुन्छ । न अरुलाई सुख दिनेबारे सोच्छ न अरुलाई दुःख दिन नै अग्रसर हुन्छ तथा रुचाउछ, उ आफ्नै प्रकारको मस्तीमा जीवन जीउन रुचाउछ । मानिसको तटस्थ गुण तथा विशेषतालाई अझ सुक्ष्म रुपमा जान्न तथा सबै प्रकारका मानिसहरुको आन्तरीक गुणको वास्तविक अवस्थालाई समेट्ने प्रयोजनले यस अगाडि पनि तटस्थ गुणका तीन–तीनवटा शाखाहरु तय गरिएका छन्–

(१)न्यून तटस्थ गुण– न्यून तटस्थ गुण भएको मानिस थोरै भएपनि अरुहरुको विषयप्रति चासो राख्ने र ती विषयहरुप्रति चियोचर्चो तथा टिका–टिप्पणी गर्ने प्रकारको हुन्छ । 

(२)मध्यम तटस्थ गुण– मध्यम तटस्थ गुण भएको मानिस अरुहरुका विषयप्रति चासो नराख्ने र आफैंप्रति उत्तरदायि हुने बानीको विकास गर्न प्रयत्नरत रहेको हुन्छ ।

(३)उच्च तटस्थ गुण– उच्च तटस्थ गुण भएको मानिस अरुहरुका विषयप्रति विलकुल चासो राख्दैन, सबैलाई आ–आफ्नो जीवन आफ्नै प्रकारले जीउने अधिकार हुन्छ, अरुअरुको नीजि मामिलामा दख्खल दिनुहुदैन भन्ने उदार भाव तथा प्रकृतिको मान्यता भएको हुन्छ । 


नकारात्मक गुण

नकारात्मक गुण भएको मानिसमा भएभरका सबै मानवीय नकारात्मक विकार तथा क्लेसहरु रहेका हुन्छन् । यस्तो मानिस अरुको प्रगति, सुख, खुशी, शान्ति, आनन्द देख्दा आफू दुःखी हुन्छ र आफ्नो जीवन तथा चेतनाको विकास गर्नुको साटो अरुको नोक्सान गरेर अरु समक्ष आफूलाई महान तथा ठूलो बनाउन प्रयासरत रहन्छ । नकारात्मक मानसिकता भएको मानिस जति नै धनी तथा सम्पन्न भएतापनि उ कहिल्यै सुख, खुशी, शान्ति, अनन्दको अनुभव गर्न सक्दैन किनकी मानिसको खुशीको सिधा तथा प्रत्यक्ष सम्बन्ध धन तथा सम्पन्नतासंग नभएर उसको मन, भाव तथा चेतनाको सकारात्मक अवस्थासंग रहेको हुन्छ । मानिसको नकारात्मक गुण तथा विशेषतालाई अझ सुक्ष्म रुपमा जान्न तथा सबै प्रकारका मानिसहरुको आन्तरीक गुणको वास्तविक अवस्थालाई समेट्ने प्रयोजनले यस अगाडि पनि नसकारात्मक गुण(बैगुण)का तीन–तीनवटा शाखाहरु तय गरिएका छन्–

(१)न्यून नकारात्मक गुण– न्यून नकारात्मक गुण(बैगुण) भएको मानिस घुसघुसे किसिमको हुन्छ, अरुका कुरा सुन्छ, अरुको प्रगति हेर्छ, मुखले ठिक्क पार्छ, उसको प्रगतिमा आफूलाई खुशी लागेको अभिनय तथा ढोंग गर्छ, मुस्कुराउछ वाहिरबाट तर भित्रबाट उ इष्र्या भावले जलिरहेको हुन्छ र आफूप्रति हिनतावोधको भावले भरिन्छ ।

(२)मध्यम नकारात्मक गुण– मध्यम नकारात्मक गुण(बैगुण) भएको मानिस प्रतिक्रियात्मक किसिमको हुन्छ, अरुका कुरा सुन्छ, अरुको प्रगति हेर्छ तर स्वीकार गर्न सक्दैन र तुलना गर्न, अर्कोलाई होच्याउन, निचा देखाऊ, उसको कुरा काट्न, आफूपनि कम नभएको दम्भ देखाउन उद्धत हुन्छ । अर्कोको प्रगतिमा आफू अप्रसन्न भएको भाव देखाउछ, उसका व्यवहारहरुमा बैचनी, छटपटि, बोलीमा कटुता देखिन्छन् ।

(३)उच्च नकारात्मक गुण– उच्च नकारात्मक गुण(बैगुण) भएको मानिस अत्यन्तै विषालु किसिमको हुन्छ, अरुका कुरा सुन्नै नसक्ने, अरुको प्रगति देख्नै नसक्ने खालको हुन्छ । रिसाउने, झर्किने व्यवहार देखाउछ, उभित्र अरु विरुद्ध अनियन्त्रित नकारात्मक अति विचारहरु चलिरहन्छन् । उ मनमनै अर्काको प्रगति तथा मानिसलाई नै बरबाद गरिदने नकारात्मक सोच राख्न थाल्छ, उसका अगाडि अरुको प्रगतिको प्रशंशा सुन्यो भने उसको डाह अझै बढ्छ र अरुसंग दुस्मनी साँध्न थाल्छ, विस्तारै सबै सम्वन्धहरुबाट टुट्न तथा एक्लिन थाल्छ । आधूनिक मनोविज्ञानका वैज्ञानिक खोज तथा अनुसन्धानका तथ्यांकहरुका अनुसार अनेक प्रकारका शारीरिक तथा मानसिक रोगहरु– तनाव, चिन्ता, विषाद, अवषाद, विक्षिप्ता, अत्यधिक मनमौजी, अर्धपागलपन, अत्यधिक क्रोध आदिको शिकार हुने उच्च नकारात्मक गुण(बैगुण) भएका मानिसहरु नै बढि हुन्छन् । यस्ता सन्की तथा अर्धपागल मान्छेहरु विस्तारै आफू स्वयं, परिवार, समाज, राज्य, विश्व, मानवीयता, प्रकृति तथा पुरै जगतकालागि खतरनाक हुन्छन् । अत्यधिक नकारात्मकताको अवस्थामा शरीरका ग्रन्थीहरुले अत्यधिक मात्रामा नकारात्मक ग्रन्थीरसहरु(स्ट्रेस हर्मोन्स्) उत्पादन गर्ने हुनाले मानसिक विकारका असरहरु विस्तारै शारीरिक अंगहरुमा पनि फैलिन थाल्छन् र रोगका रुपमा शरीरमा विभिन्न लक्षणहरु देखिन थाल्छन् र उ एकैपटक शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक सबै प्रकारका रोगहरुले ग्रसित हुन्छ । यस्तो मान्छे प्राकृतिक आयु सकिनु अघि नै मृत्युको संघारमा पुग्छ, अन्त्यन्तै दु:खद तथा नर्कतुल्य जीवन जीउछ, काल पर्खेर बस्छ । सनातन अध्यात्म विज्ञानले मानिसको जीवनको यही अवस्थालाई नै पाप तथा नर्क मान्दछ । 


(३)व्यवहारिकताका आधारमा मानिसको प्रकार

दैनिक व्यवहार तथा व्यवहारिक गुणका आधारमा पाँच प्रकारका मानिसहरु रहेका हुन्छन्–

(१)अरुलाई खुशी बनाएर आफू खुशी हुने– 
(२)आफूलाई दुःखी बनाएर पनि अरुलाई खुशी बनाउने–
(३)अरुको के मतलव भन्ने भाव राखेर आफूमात्र खुशी हुने–
(४)अरुलाई दुःखी बनाएर आफू खुशी हुने– 
(५)अरुलाई दुःखी बनाएर आफूपनि दुःखी हुने–


(४)प्रकृतिका आधारमा मानिसको प्रकार

सबै मानिसहरुमा ब्रम्हाण्डिय पर्यावरण तथा प्रकृतिकको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव रहेको हुन्छ । प्रकृति प्रदत्त गुणका आधारमा सबै मानिसमा तीन प्रकारका प्रकृति तथा गुणहरु हावी भएका हुन्छन्– (१)सात्विक, (२)राजसिक, र (३)तामसिक ।

विषयसंग सम्वन्धित लेख


(५)धन अर्थात सम्पन्नताका आधारमा मानिसको प्रकार

धन तथा सम्पन्नताका आधारमा समाजमा तीन वर्ग तथा प्रकारका मानिसहरु निर्धारण गरिएका छन्– (१)न्यून वर्ग, (२)मध्यम वर्ग, र (३)उच्च वर्ग । अझ सुक्ष्म रुपमा मानिसहरुको वर्ग विभाजन थाहा पाउन तथा सबै वर्गका मानिसहरुको सम्पन्नताको स्तरलाई समेट्ने प्रयोजनले यस अगाडि पनि यी तीनवटै वर्गका तीन–तीनवटा शाखाहरु तय गरिएका छन् । bsirjana@gmail.com



छिट्टै विस्तृतमा
(३)व्यवहारिकताका आधारमा मानिसको प्रकार
(४)प्रकृतिका आधारमा मानिसको प्रकार
(५)धन अर्थात सम्पन्नताका आधारमा मानिसको प्रकार


No comments:

Post a Comment