'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Saturday, 7 June 2025

आध्यात्मिक दृष्टिकोण: प्रेम*को ब्रम्हाण्डिय परिभाषा

 Spiritual View: Universal Definition of LOVE !

 डा. सिर्जना भण्डारी

     #अध्यात्म_दर्शन #जीवन_दर्शन  #प्रेम_दर्शन  



“राम नै केवल प्रेम प्यारा ।” –श्रीराम चरि मानस
“दि गड इज लभ ।” अर्थात इश्वर नै प्रेम  हो । –पवित्र वाइवल



विषय प्रवेश

सनातन दर्शनमा उल्लेखित ध्ययशव्दहरु इश्वर, परमेश्वर, परमात्मा, परब्रम्ह, ब्रम्हाण्ड नायक, जगदिश्वर, जगत नायक, प्रकृति, पुरुष, पुरुसोत्तम सबै उही एउटै अव्यक्त, निराकार, निर्गुण, सर्बव्यापक, सर्बशक्तिमान, परमशक्ति तथा परमसत्ताका उपनाम तथा उपमाहरु हुन् जो सृष्टिको मूल स्वरुप, मूल श्रोत तथा अन्तिम सत्य हो । भगवान, देवी–देवता, अवतार पुरुष(आत्मा अर्थात चेतना), गुरु, सद्गुरु आदि उही अव्यक्त, निराकार, निर्गुण इश्वरका व्यक्त, आकार तथा गुण स्वरुप, शक्ति स्वरुप तथा प्रकाश स्वरुप अभिव्यक्ति हुन्, भौतिक शरीर तथा स्थुल स्वरुप होइनन् । सनातन धर्मका ग्रन्थहरुमा इश्वर नै सत्य हो, सत्य नै इश्वर हो; इश्वर नै प्रेम हो, प्रेम नै इश्वर हो; इश्वर नै आनन्द हो, आनन्द नै इश्वर हो जस्ता महावाक्यहरु समावेश गरिएका छन् । वर्तमान समयमा अध्यात्म विज्ञानले हजारौं वर्ष पहिलानै उजागर गरिसकेको ब्रम्हाण्डको शाश्वत सत्य, अन्तिम सत्य तथा सृष्टिको मूल आधार चेतना हो, चेतनाबाट नै उर्जा र पदार्थ बन्छन् भन्ने तथ्यमा ठोक्किएर तथा त्यहाँसम्म पुगेर आधूनिक भौतिक विज्ञानको अत्याधूनिक शाखा प्रमात्रा विज्ञान(क्वान्टम साइन्स)का वैज्ञानिक खोजहरु टुंगिएका छन् । सनातन अध्यात्मको वेदान्त दर्शनको अद्वेत सिद्धान्तका अनुसार यही चेतना नै इश्वर हो र चेतना मनुष्यको अन्तरआत्माका भावहरु हुन् जुन उसका भावनात्मक अनुभूतिहरुबाट प्रष्फुटीत हुन्छन्, यी अनुभूतिहरु मनुष्यका हृदयका भावहरुमा अंकुरीत हुन्छन् र हृदयमा अंकुरीत हुने भावहरु मनुष्यले क्षण–क्षण महसुस गरेका सुखानुभूतिहरु हुन् जो उ प्रेममा रहदाका गतिविधिहरुबाट सिर्जित हुन्छन् तसर्थ ब्रम्हाण्डको अन्तिम कच्चा पदार्थ(कारण) प्रेम हो जो चेतनाको पनि श्रोत हो । ब्रम्हाण्डको अन्तिम कच्चा पदार्थ चेतना हो र चेतनाको निरन्तरताको प्रमुख कच्चा पदार्थ प्रेम हो भने ‘प्रेम’ चाहिं के हो त ? 


प्रेम के हो: प्रेमको शंकीर्ण परिभाषा

प्रेमको व्यवहारिक तथा शंकीर्ण परिभाषा अनुसार प्रेम सुखी जीवन हो, एकअर्काको परवाह गर्नु हो, ख्याल राख्नु हो, एकअर्कालाई खुशी राख्नु हो र यसबाट तन, मन, धनको सुख प्राप्ति गर्नु हो । प्रियतमलाई पाउनु, हातमा हात, साथमा साथ हुनु, आफ्ना भावनाहरु व्यक्त गर्नु, प्रेमिको यादमा हराउनु, प्रेमिको विचार, मन, भावनामा एकाकार हुन तथा मिल्नु, उसैमा बिलाउनु तथा हराउनु, उसैमा एकाकार तथा एकत्व हुनु प्रेम हो । प्रेमलाई अलि फराकिलो दायरामा हेर्दा प्रेमिलाई प्राप्त गर्न, प्रेमिसंग विवाह गर्नु तथा प्रेमिको हुनु मात्र प्रेम होइन । आफू लगायत, परिवार, समाज, कुल-परम्परा,धर्म–सम्प्रदाय, प्रकृति, मानवीयता तथा सर्वकल्याणका लागि लगनशील तथा दत्तचित्त भएर परिश्रम गर्नु, चिन्तन गर्नु, आफ्नो मानवीय कर्तब्य, उत्तरदायित्व तथा धर्म निभाउनु र सकारात्मक योगदान दिनु पनि प्रेम हो । मैले गर्ने प्रेमको परिभाषा अरुप्रति मेरो नजरमा कस्तो प्रकारको भाव छ भन्ने कुरामा निर्भर गर्दछ अर्थात म के कुरालाई प्राथमिकता दिन्छु र केलाई प्रेम मान्छु । हिजोआज प्रेम शव्दको प्रयोग तथा परिभाषा केवल पार्थिव, पंचभौतिक शरीरले आफ्ना इच्छा, आकांक्षाहरु पूरा गर्न सांसारीक चिज, वस्तु, सेवा, सुविधाहरुको भोग गर्नुको रुपमा गर्ने गरिएको छ तर यसप्रकारको भोगलाई सनातन दर्शन शास्त्रहरुले कामको रुपमा परिभाषा गरेका छन् । सांसारीक भोगमा सबैभन्दा ज्यादा सुख स्त्री, पुरुषको शारिरीक सम्भोगबाट मिल्छ भन्ने मान्यता रहदै आएकोले कामको अधिकतर अर्थ सम्भोगको रुपमा लगाइने गरिन्छ तर वास्तविकतामा कामको शाव्दिक अर्थ सबै प्रकारका इच्छा, आकांक्षा, वासनाहरुको भोग गर्ने कर्म भन्ने हो । मनुष्यका पाँच ज्ञान इन्द्रियहरु, पाँच कर्म इन्द्रियहरु र एउटा मन(मनेन्द्रिय)ले गर्ने हरेक प्रकारका गतिविधिहरु काम तथा कर्महरु हुन् । 


प्रेमको व्यवहारिक तथा शंकीर्ण परिभाषा नै विस्तारै फैलिदै व्यापक बन्दै जाने हो र प्राकृतिक प्रेममा रूपान्तरण हुने हो मनुष्यको जीवनमा । व्यवहारिक प्रेममा प्रेमको पर्याय हो विश्वास, विश्वास छ भने प्रेमिको स्वतन्त्रता प्यारो हुन्छ । म मेरो खुशीकोलागि प्रेमिलाई स्वतत्त्रता दिन्न, मैले भने अनुसार नै हुनुपर्छ तथा गर्नुपर्छ भन्ने भाव राख्छु भने यो सकाम(स्वार्थ तथा केही पाउने इच्छा) प्रेम हो जो लोभ(मैलेनै पाउँ) तथा मोह( मबाट नछुटोस)ले ग्रसित हुन्छ । तर यसको विपरित म प्रेमिको खुशीकोलागि उसलाई स्वतन्त्रता दिन्छु, उसको खुशी नै मेरो पनि खुशी हो भन्ने भाव राख्छु, आफ्नो खुशीकोलागि उसलाई प्रयोग गर्दिन, उसको स्वतन्त्रता खोस्दिन भने यो निस्काम(निस्वार्थ, अपेक्षारहित) प्रेम हो, यस्तो निस्काम प्रेमनै विस्तारै फैलिदै वास्तविक, प्राकृतिक तथा व्रम्हाण्डिय प्रेममा रूपान्तरण हुन्छ । निस्काम प्रेमनै विस्तारै फैलिदै–फैलिदै वास्तविक, प्राकृतिक तथा ब्रम्हाण्डिय प्रेममा रुपान्तरण हुदैजान्छ । 


प्रेम र सम्वन्धमा अन्तर

प्रेम सम्वन्ध होइन, यो मनुष्यभित्रको अन्तरआत्मामा अंकुरीत हुने भावनाको तृप्ति तथामिठास हो जो हाम्रा पाँच ज्ञान इन्द्रियहरुको माध्यमबाट देख्दा, सुन्दा, सुंघ्दा, स्वाद लिदा, स्पर्श महसुस गर्दा सुख, खुशी, तृप्ति, मिठास, शान्ति, आनन्दको अनुभूति हुन्छ । यदि मेरो अन्तरआत्मामा प्रेमको भाव राम्रो छ भने म मेरा वरीपरीका सबै कुराहरुलाई विशेष प्रकारले ग्रहण गर्छु र सुख, खुशी, तृप्ति, मिठास, शान्ति, आनन्दको महसुस गर्छु । तर यसको विपरित यदि मेरो अन्तरआत्मामा प्रेमको भाव राम्रो छैन भने म मेरा वरीपरीका सबै कुराहरुलाई अलग तथा नकारात्मक प्रकारले विश्लेषण गर्छु र यसबाट सुख, खुशी, तृप्ति, मिठास, शान्ति, आनन्दको महसुस गर्न सक्दिन ।



वर्तमान समयमा मनुष्यले प्रेम र सम्वन्ध के हो भनेर गलत प्रकारले बुझिरहेका छन् । प्रेम र सम्वन्ध अलग हुन् र यी दुइ शब्दालीमा गहन अन्तर छ । प्रेम म स्वयं हुँ । प्रेम अलौकिक तत्व त्यो हो जो म आफूभित्र महसुस गर्छु । प्रेम मेरो आन्तरीक स्वरुप हो र सम्वन्ध मेरो वाहिरी स्वरुप हो । सम्वन्ध त्यो हो जो म आफूभन्दा वाहिर महसुस गर्छु र सम्वन्धको तह अनुसार त्यसलाई म निभाउछु तथा पालना गर्छु । म आफूभन्दा वाहिर को–कोसंग कसरी–कसरी जोडिन्छु यी गतिविधिहरु मेरो सम्वन्धको तह तथा प्रकार अनुसार फरक–फरक किसिमका हुन्छन् किनकी सबैसंग मेरो एकै प्रकारको सम्वन्ध हुदैन । म अफ्नो बच्चासंग र अर्काको बच्चासंग फरक प्रकारको व्यवहार गर्छु । परिवारका सदस्यहरुसंग, अरु सम्वन्धिहरुसंग, छिमेकीहरुसंग, घरपालुवा जनावरहरु तथा वाहिरका अन्य जनावर तथा प्राणीहरुसंग फरक–फरक प्रकारले व्यवहार गर्छु । यसरी फरक–फरक सम्वन्धहरुमा फरक–फरक प्रकारको व्यवहार गराउने मूलतत्व चाहिं मेरो अन्तरआत्माभित्र रहेको प्रेम भाव हो । प्रेम र सम्वन्धविचको फरक मलाई थाहा भयो भने मेरा हरप्रकारका सम्वन्धहरु सही हुन्छन् र मेरो प्राकृतिक तथा ब्रम्हाण्डिय प्रेमको दायरा फराकिलो पार्न मलाई विस्तारै मद्धत पनि मिल्छ ।  


श्रीमान, श्रीमती सम्वन्ध हो । यो सहज र हलुका हुन्छ जो परिवार तथा समाजले तय गरिदिएको हुन्छ । सम्वन्ध मनुष्यको अन्तरआत्मा भित्रबाट प्रष्फुटित भएर नआएको पनि हुनसक्छ । श्रीमान, श्रीमतीविचमा गहिरो लगाव, चाहत नहुन पनि सक्छ, केवल सम्वन्ध मात्र हुनसक्छ त्यसैले सम्वन्ध दिगो नहुन पनि सक्छ । सम्वन्धले वाहिरका वाधाहरु सजिलै झेल्न सक्दैन, यसले सिमित वाधाहरु मात्र झेल्न सक्छ, साना–साना वाधाहरुले सम्वन्ध टुट्न पनि सक्छ मानसिक तथा भौतिक दुरी बढ्न पनि सक्छ । तर प्रेमि, प्रेमिका प्रेम हो । यो अलिक जटिल, गहन र अत्यन्त आनन्ददायि हुन्छ । प्रेम अन्तरआत्माको भावबाट प्रष्फुटित हुन्छ, प्रेम सदाकालागि दिगो हुन्छ चाहे वाहिरबाट जस्तासुकै वाधाहरु आउन, प्रेमले सबै प्रकारका वाधाहरु झेल्न सक्छ । प्रेममा भौतिक दुरी भएपनि मानसिक, भावनात्मक तथा आत्मिक दुरी हुदैन, जति भौतिक दुरी भयो उति नै भावनात्मक दुरी कम हुन्छ । हरपरिस्थितिमा अझ मजबुत हुदै जान्छ त्यो प्रेम हो र साना–तिना कारणअरुले पनि टुट्न सक्छ त्यो सम्वन्ध हो । 



मन पर्नु पनि प्रेम हो

प्रेमको व्यवहारिक तथा शंकीर्ण परिभाषा अनुसार मन पर्नु पहिलो तह तथा चरण हो । सामान्यतया आम मनुष्यलाई मानिस, जनावर, प्राणी, पंक्षी, वनस्पति, पहाड, जलाशय जे पनि मन पर्छ र यो स्वतः हुन्छ, यसको पछाडि कुनै कारण हुदैनकी मलाई यो कारणले यो कुरा मनपर्यो भन्ने । यो प्रेमको प्राकृतिक आयाम तथा स्वरुप हो । तर यदि मनुष्य लगातार निश्चित पुरुष तथा महिलाप्रति प्रेममा परिरहेको छ भने यो मनुष्य शरीरको रसायन(हर्मोन्स)का कारण भएको प्रेम हो जहाँ प्रेम हुनुको कारण छ । मनुष्य रसायनजन्य प्रेम मार्फत शारिरीक तथा मानसिक सुखभोगकालागि साथी प्राप्त गर्ने आकांक्षा राख्दछ । वास्तवमा यो प्राकृतिक प्रेम नभएर प्रेमको आकर्षणको आयाम तथा स्वरुप हो । जहाँ केही कुरा प्राप्त गर्ने आकांक्षा राखेर प्रेम गरिन्छ त्यो प्राकृतिक तथा वास्तविक प्रेम होइन आकर्षण तथा वासनाको कारण भएको प्रेम हो। प्रेमको यो अर्को अलग आयाम तथा स्वरुप हो । प्रेमको यो स्वरुपलाई सनातन शास्त्रहरुले कामको रुपमा परिभाषित गरेका छन् । सनातन शस्त्रहरुका अनुसार, वास्तविक प्रेम अरुबाट तथा बाहिरबाट प्राप्त हुने तन, मन, धनको सुख होइन । तसर्थ न अरुलाई सुख दिनु प्रेम हो, न अरुबाट सुख पाउनु प्रेम हो । यदि कसैसंग सच्चा प्रेम छ भने उसलाई सुख दिउँ तथा दुःख दिउँ भन्ने भाव भन्दा पनि बढि सच्चा प्रेममा आफ्नो प्रेम पात्रलाई कसरी सत्य, मुक्ति, मोक्ष दिउँ, उसलाई उभित्र रहेका उसका नैसर्गिक प्रतिभा, क्षमता, सिर्जनशीलता, सकारात्मक गुणहरु तथा चेतना विकासको सर्वोच्च उचाइ, आकाश अर्थात ब्रम्हाण्डको उस्कृष्टतम तत्व सतचितानन्द अर्थात परमात्मासम्म कसरी पुर्याउँ भन्ने सकारात्मक सदभावले ओतप्रोत भएको हुन्छ । सच्चा तथा वास्तविक प्रेममा अत्यन्तै धेरै धैर्यता, सहनशीलता तथा गंभिरता हुन्छ । वास्तविक प्रेमले अरुका गाली, बेइज्ययति, अपमान, दुव्र्यवहार सबै सहन्छ किनकी वास्तविक प्रेम आफ्नो प्रेम पात्रको चेतनात्मक विकास अर्थात उसको जीवनको समग्र विकास(व्यक्तित्वदेखि बुद्धत्वसम्म)संग बढि सम्वन्धित तथा सकारात्मक सदभावले भरिएको हुन्छ । उसले अरु विषयहरुलाई त्यति महत्व दिदैन, जस्तो कि भगवान शिवशक्ति को प्रेम, भगवान सीताराम, भगवान राधाकृष्णको प्रेम वास्तविक प्रेम हो जहाँ वासना तथा आकांक्षा गौण छन् केवल आफ्नो प्रेम पात्रको आध्यामिक विकासको महत्व र गांभिर्यता प्रमुख छ । 


प्रेमको भावार्थिक परिभाषा 

प्रेम विहंगम विषय तथा तत्व भएकोले यसका आयाम तथा स्वरुपहरु अनेक छन् । प्रेमबाट मैले कस्तो अनुभव तथा महसुस गरिरहेको छु, सुख वा दुःख, त्यसअनुसार प्रेमको भावार्थिक परिभाषा अलग-अलग प्रकारले गरिएको छ । प्रेमको भावार्थिक परिभाषा अनुसार, यदि मेरो शरीरले अत्यन्तै सुख तथा आराम अनुभव गरिरहेको छ भने आमरुपमा यो स्वास्थ्यलाभ तथा आरोग्यताको अवस्था हो । यदि मेरो मनले अत्यन्तै खुशी तथा प्रसन्नता अनुभव गरिरहेको छ भने आमरुपमा यो शान्ति र आनन्दको अवस्था हो । यदि मेरो भावनाले अत्यन्तै प्रेम तथा सदभाव अनुभव गरिरहेको छ भने आमरुपमा यो दया र करुणाको अवस्था हो । यदि मेरो जीवन उर्जा अर्थात आत्मा अर्थात चेतनाले अत्यन्तै प्रफुल्ल तथा हलुका अनुभव गरिरहेको छ भने आमरुपमा यो परमशान्ति र परमानन्दको अवस्था हो । तसर्थ हामी जेलाई प्रेम भन्छौं त्यो खुशीको अनुभव(शव्द, वचन, हाउभाउमा व्यक्त गर्न सकिने) तथा अनुभूति(शव्द, वचन, हाउभाउमा व्यक्त गर्न नसकिने)हरुका सुखद पलहरु हुन् । यीनै सुखानुभूतिका सुखद पलहरु फैलिदै प्रेमको परिभाषा शंकीर्णताबाट वास्तविक, प्राकृतिक तथा ब्रम्हाण्डिय प्रेममा रुपान्तरीत हुन्छ ।


प्रेम के हो: प्रेमको वृहद परिभाषा

श्रद्धेय ओशो भन्नुहुन्छ, “चेतनाको मूल श्रोत प्रेम हो र ब्रम्हाण्डमा प्रेमजति सुक्ष्म तत्व अर्को कुनैपनि छैन, प्रेमको भाव तरंग नै चेतनाको कच्चा पदार्थ हो ।” मनुष्यले आफ्नो जीवन जीउने क्रममा गर्ने सबै कर्महरु प्रेमवस नै गर्छ चाहे ती कर्महरुका परिणामहरु सकारात्मक हुन् या नकारात्मक हुन् । मनुष्यको शरीर, मन, भाव, चेतनाले गर्ने सबै गतिविधिहरु उसका कर्म हुन् । उ परोपकार गर्छ प्रेमवस; अरुलाई सहयोग, दया, करुणा गर्छ प्रेमवस; पेशा–व्यवसाय गर्छ प्रेमवस; लोभ, मोह, घृणा गर्छ त्यसबाट प्राप्त हुने लाभसंगको प्रेमवस; अरुलाई नोक्सना पुर्याउछ त्यसबाट प्राप्त हुने लाभसंगको प्रेमवस; अरुको हत्या गर्छ त्यसबाट प्राप्त हुने लाभसंगको प्रेमवस । यसप्रकार मनुष्यका भावास्थितिका अनुसार फरक-फरक प्रकारले कर्म हुने र त्यसवाट प्राप्त अनुभूतिहरु पनि फरक-फरक प्रकारका हुने भएकोले प्रेमका आयाम, किसिम, प्रकार, स्वरुप, गुण, विशेषताहरुमा पनि विविधता र ब्यापक फरकपनहरु रहेकाछन् । '


प्रेम एक विहंगम(आकाशमा विचरण गर्ने), अनन्त तथा असिम(अन्त्य तथा कुनै सिमा नभएको)विषय हो, तसर्थ प्रेमको सहज परिभाषा गर्नु सम्भव छैन । प्रेम अवाक्य, अवाच्य, अनिरवचनिय छ र यो अन्तरआत्माबाट महसुस हुन्छ त्यसैले प्रेम अलौकिक, दिव्य तथा पारमार्थिक छ । तसर्थ प्रेमको व्याख्या गर्न सम्भव छैन किनकी बुझिने गरि प्रेमको कुनै भाषा तथा लिपि नै छैन नत कुनै लक्षण तथा संकेतहरु नै छन् । तर प्रेम आफैंमा ब्रम्हाण्डको सर्वमान्य भाषा हो, कुनैपनि प्रकारका कठिन भन्दा कठिन अभिव्यक्तिहरु प्रेमबाट मात्र अभिव्यक्त सम्भव हुन्छन् । प्रेमको सैद्धान्तिक भाषा तथा लिपि नभएपनि आँशुलाई प्रेमको सबैभन्दा प्रभावशाली भाषा र अभिव्यक्ति दुवै मानिदै आइएको छ, तसर्थ प्रेमको भाषा छ भने केवल आँशु हो जसबाट दया, करुणा, सेवा, परोपकार जस्ता गुणहरु प्रष्फुटन हुन्छन् । तसर्थ ज्ञानी तथा प्राज्ञ पुरुषहरु भन्छन् प्रेमलाई प्रेम नै रहनदिउँ, यो पवित्रतम, अलौकिक, दिब्य, अनन्त, असिम तत्व जो सर्वब्यापक र सर्वशक्तिमान छ यसलाई अर्को कुनै नाम तथा गुणको सिमाभित्र नराखौं किनकी प्रेम स्वयं परमात्मा हो र आजसम्म परमात्माको परिभाषा कसैले गर्न सकेका छैनन् । विश्वकै महाज्ञान, महविज्ञान महान ग्रन्थ तथा शास्त्र वेद समेत परमात्माको सन्दर्भमा नेतिनेतिमा पुगेर रोकिएका छन् अर्थात परमात्मा यो पनि होइन, त्यो पनि होइन, यतिमात्र पनि होइन, त्यतिमात्र पनि होइन...., यो अनन्त छ, असिम छ, सर्वब्यापक छ, कणकणमा छ, सर्वशक्तिमान छ । श्रीराम चरित मानसमा उल्लेख गरिएको छ, “रामनै केवल प्रेम प्यारा ।” यसको अर्थ राम अर्थात परमात्मा नै प्रेम हुन् ।



प्रेम मेरो अन्तरआत्माको भाव हो

सामान्यतया अधिकांशतः हामीलाई लाग्ने गर्छकि अरुनै केहीले तथा अरु कसैले आफूभित्र प्रेम भरिदिएको छ र अर्कोबिना म प्रेमले मरिन सक्दिन। यो हुनसक्छ कसैले मलाई प्रेमको महसुस, अनुभव तथा अनुभूति गरायो; कसैले मभित्र प्रेमरस भर्यो; प्रेमको शुरुआत तथा अंकुरन गरिदियो; प्रेमकोलागि प्रेरित गर्यो र ममा प्रेम प्रष्फुटन भयो । तर वास्तवमा प्रेम प्रष्फुटनको अवस्था मेरो अन्तरभावनाको कारण घटित भएको र यसबाट मैले सुख, खुशी, तृप्ति, मिठास, शान्ति, आनन्दको अनुभूति गरीरहेको हो । यदि मभित्र मेरो अन्तरभावनाको क्षमता नहुदो हो त वाहिरबाट अरुले जतिनै प्रयास गरेपनि ममा प्रेम प्रष्फुटन हुनसक्ने थिएन, यसको अर्थ प्रेमको क्षमता हामीभित्रै हुन्छ, प्रेमको श्रोत हामीभित्रै छ वाहिर अरु कसैसंग तथा वाहिरको संसारमा कहीं पनि छैन । यदि मेरो अन्तरभावना सच्चा तथा वास्तविक छ भने ममा प्रेम बिना कुनै कारण तथा बिनाशर्त प्रष्फुटन हुन्छ । अन्तरभावना अत्यन्तै मुधूर, विनम्र, शालिन भएको मनुष्यको प्रेम सच्चा तथा वास्तविक हुन्छ । यस्तो मनुष्यको सामुन्ने जोसुकै मानिस, जुनसुकै जीव, प्राणी, पंक्षी, वनस्पति, पहाड, नदिनाला होस उसलाई केही फरक पर्दैन, हरेक अवस्था उसलाई अत्यन्तै मनपर्छ, सुन्दर लाग्छ, प्यारो लाग्छ, उ अकारण नै सुख, खुशी, तृप्ति, मिठास, शान्ति, आनन्दको अनुभूति गर्छ । सबै ज्ञान इन्द्रियहरुले ती सबै पस्थितिहरुबाट सुख, खुशी, तृप्ति, मिठास, शान्ति, आनन्द ग्रहण गर्दछन् । यही नै प्रेमको बम्हाण्डिय परिभाषा हो जो सच्चा, वास्तविक, प्राकृतिक तथा ब्रम्हाण्डिय छ जहाँ ब्रम्हाण्डका कुनै जीव, प्राणी, पंक्षी, वनस्पति, पहाड, नदिनालाप्रति कुनै भेदभाव हुदैन, सबैसंग प्रेम हुन्छ, मनुष्य, जीव, प्राणी, वनस्पति, पदार्थ सबैको अस्तित्व, अधिकार समान रुपले स्वीकार हुन्छ । ब्रम्हाण्डका समग्र चिज–वस्तुहरु(जीव, वनस्पति, पदार्थ)प्रति मधूर तथा विनम्र हुनु, शालिनताले भरिनु, राम्रो लाग्नु, ती चिज–वस्तुहरुबाट बिनाकारण सुख, खुशी, तृप्ति, मिठास, शान्ति, आनन्दको अनुभूति गर्नु नै वास्तविक, प्राकृतिक तथा ब्रम्हाण्डिय प्रेम हो । प्राकृतिक प्रेम तथा ब्रम्हाण्डिय प्रेम पूर्वीय सनातन दर्शनका पूर्णतः वैज्ञानिक पद्धतिमा आधारित महान विद्याहरु ध्यान तथा योग साधनाको गहिराइबाट मात्र ब्यवहारिक रूपमा महसुस गर्न तथा हासिल गर्न सकिन्छ 


प्रेमको दायरा र निष्कर्ष

प्रेमको दायरा जति फराकिलो बन्दै जान्छ उति नै त्यो वास्तविक, प्राकृतिक तथा ब्रम्हाण्डिय प्रेममा रुपान्तरित हुनै जान्छ । म, मेरा बुवा–आमा, मेरो दम्पति, मेरा छोरा–छोरी, मेरो परिवार, मेरो कुल-घरान, मेरो धर्म–सम्प्रदाय, मेरो समाज, मेरो देश, हाम्रो विश्व, हाम्रो प्रकृति, जगत, मानवीयता(मानव भएर अरुको भलाइकालागि नगरीनहुने कर्तव्य तथा धर्म) आदि प्रेमको शंकीर्ण परिभाषाबाट फैलिदै प्राकृतिक तथा ब्रम्हाण्डिय प्रेमको स्वरुप धारण गर्दैै गएको परालौकिक अवस्था हो । जव प्रेमको परिभाषा ‘म’बाट शुरू भएर ‘मानवीयता’सम्म पुग्छ तव यो वास्तविक, प्राकृतिक तथा ब्रम्हाण्डिय प्रेम बन्छ । शरीर पाल्ने, परिवार बनाउने र पाल्ने काम त जीव, प्राणी, पशु, पंक्षी सबैले गरेका छन्, मनुष्य भएर जन्मेपछि उसको कर्तब्य आफू र आफ्नो परिवारसम्म मात्र सिमित नभएर समाज, प्रकृति, जगत, परमात्मका लागि केही योगदान गर्नु मनुष्यको धर्म, कर्तव्य, उत्तरहामित्व बन्छ जहाँवाट उसले अनन्त पाएको छ आफ्नो जीवनको विकास गर्न । यस अर्थमा त उ समाज, प्रकृति, जगत, परमात्माप्रति ऋणि छ र ऋण नतिरी मर्न पाइदैन तथा हुदैन किकनी यस्तो ऋणले मनुष्यको कर्मवन्ध बढाउछ । तसर्थ हरेक मनुष्यले आफू र आफ्नो परिवार भन्दा माथि उठेर आफ्नो प्रेमको विस्तार मानवीयता, प्रकृति तथा ब्रम्हाण्ड सम्म फैलाउनु पर्छ । एक प्रकारले यो मोक्ष प्राप्तिको मार्ग पनि हो किनकी यो अवस्थामा मनुष्यले आफूमा सबैलाई र सबैलाई आफूमा देख्न तथा महसुस गर्नथाल्छ जुन आत्मज्ञान, तत्वज्ञान अर्थात ब्रम्हज्ञानको अवस्था हो जहाँबाट मोक्ष(इटरनल लिवरेसन)को उपलव्धतामा पुग्न सकिन्छ ।



हरेक जीव, वनस्पति, पदार्थप्रति मनुष्यको अन्तरआत्माको भावनाबाट प्रष्फुटित हुने सम्मान तथा सम अस्तित्वको स्वीकार भाव र त्यसबाट प्राप्तहुने तृप्ति तथा मिठास नै प्रेम हो । यो वाहिरबाट आउने तृप्ति तथा मिठास होइन, वाहिरबाट आउने तृप्ति तथा मिठास त क्षणिक हुन्छ जुन सांसारीक भोगबाट आउछ । वास्तविक प्रेमबाट प्राप्त हुने तृप्ति तथा मिठास ग्रहण गर्नसक्ने क्षमता हामीभित्र नै छ तसर्थ वास्तविक तथा प्राकृतिक प्रेम मभित्रको तृप्ति तथा मिठास अनुभव गर्न सक्ने क्षमता हो । हरपल प्रेममा जीउनु बुद्धिमानी हो, सक्दो आफूलाई वर्तमान समयमा राख्ने प्रयास गर्नुपर्छ किनकी वर्तमान समयमा प्राकृतिक तला ब्रम्हाण्डिय प्रेमको प्रवाह तथा प्रभाव बढि हुन्छ । मनुष्यको अन्तरभावनामा तथा अन्तरआत्मामा वास्तविक, प्राकृतिक तथा ब्रम्हाण्डिय प्रेम छ भने केही पनि कुराहरु सही तथा गलत हुदैनन् किनकी प्राकृतिक तथा ब्रम्हाण्डिय प्रेम स्वयं विवेक हो । विवेकले मनुष्यलाई कहिल्यै गलत दिशामा लादैन । तर यदि प्रेममा मिसावट छ मानवीय विकार तथा क्लेश(काम, क्रोध, लोभ, मोह, इष्र्या)हरुको र प्रेम अप्राकृतिक तथा अवास्तविक छ भने यस्तो प्रेमले नोक्सान गर्न सक्छ, दिशाबिहिन गराउन र बरवाद गराउन सक्छ । वास्तवि, प्राकृतिक तथा ब्रम्हाण्डिय प्रेम सदाकाल मिसावटरहित हुन्छ र सदा सर्बकल्याणको भावबाट प्रेरित हुन्छ । तसर्थ हरेक मानिस लगातार सबै प्रकारका जीव, वनस्पति, पदार्थहरुको प्रेममा पर्नुपर्छ, केवल प्रेमि, प्रेमिका, परिवार, धन, भौतिक भोगका वस्तु, सेवा, सुविधामा मात्र होइन, यी सबै त कारणवाला प्रेम हुन्, वास्तविक, प्राकृतिक तथा ब्रम्हाण्डिय प्रेम मात्र अकारण, निशर्त तथा निस्काम भावले हुने प्रेम हुन् । जो मनुष्यले आफ्नो प्रेम तथा सम्वन्ध जति वाहिरतिर फैलाउछ उ वास्तविक प्रेमि तथा योगी हो जसले आफूलाई ब्रम्हाण्डका हरेक चिजवस्तुसंग योग गरेको तथा जोडेको हुन्छ र योगीले आफूलाई पूर्ण रूपमा अरुको भलाईकालागि उपयोग गर्छ जो उत्कृष्ट तहको प्रेम हो । यसको विपरित जसले आफ्नो प्रेम तथा सम्वन्ध जति आफूतिर खुम्च्याउछ उ वास्तविक भोगी तथा रोगी हो जसले आफूलाई स्वार्थवस अरुसंग जोडेको हुन्छ भोगका केही चिज, वस्तु, सेवा, सुविधाहरु प्राप्त गर्ने लालसाले र भोगी तथा रोगीले अरुलाई आफ्नो स्वार्थपूर्तिका लागि उपयोग गर्छ, दुःख, कष्ट दिन्छ जो निकृष्ट तहको प्रेम हो । bsirjana@gmail.com

__________________________________________________________

*प्रेमको अनन्त स्वरुप !  

प्रेमको परिभाषा अनन्त रहेछ
प्रेम एक विहंगम दृष्टि रहेछ
समुच्चा सृष्टिको मूलाधार रहेछ
सबैथोकको कच्चा पदार्थ रहेछ
प्रेम विराट आकाश रहेछ
स्वयं परमात्माको स्वरुप रहेछ
प्राणी प्रेमको निमित्तमात्र रहेछ ।

प्रेमलाई परमात्माको स्वरुप माने
स्वयंभित्रको अन्तरआत्माको पुकार रहेछ
चेतनाको महासागरमा एकाकार गराइदिने ।

प्रेमलाई आनन्दको स्वरुप माने
सुख, शान्तिको महाखनी रहेछ
शाश्वत सतचितानन्दमा स्थित गराइदिने ।

प्रेमलाई प्रीतीको स्वरुप माने
प्रेमल हृदयको तरंग रहेछ
दुई आत्माको मेल गराइदिने ।

प्रेमलाई विवाहको स्वरुप माने
सात फन्कोको बन्धन रहेछ
दुई मनको मिलन गराइदिने ।

प्रेमलाई समृद्धिको स्वरुप माने
धनधान्य लक्ष्मीको स्वरुप रहेछ
जीवनमा सुख, सम्पन्नता भरिदिने ।

प्रेमलाई सम्वन्धको स्वरुप माने
मानवीयताको भाव तरंग रहेछ
सर्वकल्याणको भावमा समर्पित गराइदिने ।

प्रेमलाई उपचारको स्वरुप माने
सबै अस्वस्थताको ओखति रहेछ
भित्रबाट आरोग्य, सक्रिय बनाइदिने ।

प्रेमलाई दयाको स्वरुप माने
सहयोग, परोपकारको सदभाव रहेछ
अरुको पिडाको मर्मज्ञ बनाइदिने ।

प्रेमलाई करुणाको स्वरुप माने
नेतृत्व, योगदानको सम्भावना रहेछ
प्रतिभा, क्षमतामा जीउन सिकाइदिने ।

प्रेमलाई मनोरञ्जनको स्वरुप माने
मुस्कान, हाँसोको मूलश्रोत रहेछ
अमूल्य जीवनको रमझममा भुलाइदिने ।

प्रेमलाई भोगको स्वरुप माने
कामना, वासनाको श्रोत रहेछ
शरीरको सुखमा लिप्त बनाइदिने ।

प्रेमलाई दुःखको स्वरुप माने
असन्तोष जन्माउने कारखाना रहेछ
लोभ, मोहमा चुर्लुम्म डुबाइदिने ।

प्रेमलाई पिडाको स्वरुप माने
अस्वीकृति पोख्ने माध्यम रहेछ
विषाद, अवसादको अवस्थामा पुर्याइदिने ।

प्रेमलाई तमसको स्वरुप माने
निष्पट्ट अन्धकारको भूमरी रहेछ
नारकीय जीवनको खाडलमा खसालिदिने ।

अव, यहाँनेर सवाल जन्मिन्छ
प्रेमलाई के मान्ने, नमान्ने
आफ्नो मनस्थिति, भावास्थिति अनुसार
मानेकै स्वरुपमा प्रकट हुन्छ ।
तसर्थ
प्रेमको परिभाषा अनन्त रहेछ
प्रेम एक विहंगम दृष्टि रहेछ
समुच्चा सृष्टिको मूलाधार रहेछ
सबैथोकको कच्चा पदार्थ रहेछ
प्रेम विराट आकाश रहेछ
स्वयं परमात्माको स्वरुप रहेछ
प्राणी प्रेमको निमित्तमात्र रहेछ ।

प्रेम विराट आकाश रहेछ
स्वयं परमात्माको स्वरुप रहेछ
प्राणी प्रेमको निमित्तमात्र रहेछ ।।


No comments:

Post a Comment