डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #सनातन_दर्शन #जीवन_दर्शन
“आफ्नो जीवनकालमा जगतगुरु आद्य शंकराचार्यको बारेमा नसुनेको, नजानेको, नबुझेको, नपढेको मानिसले सनातन धर्मको कखरा नै बुझेको छैन भन्दा हुन्छ ।” –लोकप्रिय कवि तथा सनातन कथावाचक डा. कुमार विश्वास
बत्तिस वर्षको युवाअवस्थामै शरीर छोड्नु भएका जगतगुरु आद्य शंकराचार्यलाई तमाम सनातन धर्म तथा समाजले अतिइन्द्रियदर्शी महान सदगुरु; महान दार्शनिक; विलक्षण कवि तथा साहित्यकार; सनातन दर्शनको संरक्षण र प्रवद्र्धनका प्रखर महान योद्धा; र स्वयं भगवान शिवका अवतारको रुपमा जान्दछन्, मान्दछन् र पुज्दछन् । –आमविश्लेषण
(ङ)शास्त्रार्थमा सहभागिता र अखण्ड विजयी
शास्त्रार्थको पृष्ठभूमि
शास्त्र+अर्थ=शास्त्रार्थमा स्पष्ट नभएका, मतभेद भएका तथा विवादित विषयहरु मिलाउर सहमतिमा ल्याउने प्रयास गरिन्थ्यो । सम्वन्धित विषयका विज्ञहरुविच शास्त्रमा उल्लेखित मतहरुको व्याख्या तथा विश्लेषण गर्दै सही अर्थ लगाएर गरिने वौद्धिक छलफल तथा अन्तरक्रियात्मक औपचारीक वादविवाद(डिबेट) कार्यक्रमलाई प्राचीन समयमा शास्त्रार्थ भन्ने गरिन्थ्यो जसमा तोकिएको विषयमाथि शास्त्रहरुमा उल्लेखित मतहरुको अर्थ लगाएर पुष्टी गर्ने प्रयास गरिथ्यो । शास्त्रार्थमा एक पक्षको हार र अर्को पक्षको जित हुन्थ्यो र जित्ने पक्षको मत तथा विचार सही मानेर र सैद्धान्तिक तथा व्यवहारिक मान्यता प्रदान गरिन्थ्यो ।
सनातन दर्शनमा मतभेद
सनातन दर्शनको इतिहासमा अद्वेत वेदान्त दर्शनका प्रणेता आदिगुरु शंकराचार्य र मीमांशा दर्शनका महापंडित मण्डन मिश्रविच भएको शास्त्रार्थ र आजन्म ब्रह्मचारिणी विदुषी गार्गी वाचक्नवी र महर्षि याज्ञ वल्क्यविच भएको शास्त्रार्थलाई विशेष मान्यता दिइदै आइएको पाइन्छ जसले सनातन दर्शनमा ब्रम्ह र ब्रम्हाण्डको वास्तविक सत्यको सन्दर्भमा महत्वपूर्ण विषयहरुमा ज्ञानको श्रींखला थपेर सनातन दर्शनमा राम्ररी स्पष्ट नभएका तथा नबुझिएका, मतभेद भएका र विवादित विषयहरुलाई स्पष्ट पारेर आमरुपमा सामान्यीकरण गर्न अभुतपूर्व योगदान पुर्याएका थिए । आदिगुरु शंकराचार्य र महापंडित मण्डन मिश्र दुवै सनातनी हुनुहुन्थ्यो र दुवैले सनातन वेद ग्रन्थको अध्ययन गर्नुभएका वेदअभ्यासी हुनुहुन्थ्यो । यसको वावजुद वहाँहरुविच किन मतभेदको अवस्था बन्यो र किन ३२ दिन लामो शास्त्रार्थ गर्नुपर्यो ? सनातन दर्शनमा बारम्बार भैरहने मतभेदहरुका कारणहरु जानौं–
सनातन दर्शनमा आदिकालदेखिनै सनातन वेदलाई हरप्रकारले बुझ्ने र व्याख्या गर्ने प्रयासहरु हुदै आइरहेका छन् । प्राचीनकालमा तत्कालीन वैज्ञानिक तथा हाम्रा पूर्खा ऋषिमुनिहरुले र पछिल्लो पिढीका युगपुरुषहरु(विकसित आत्मा अर्थात चेतना)ले योग तथा ध्यान साधनाका विभिन्न प्रयोगात्मक अभ्यासहरु गरेर वेदको ज्ञान तथा मतलाई प्रामाणिक रुपमा बुझ्ने तथा बुझाउने प्रयास गर्दै आउनु भएकोछ । यसै सन्दर्भमा जव–जव दर्शनको विषय आउछ विशेषगरि यो ब्रम्हाण्ड कसरी बन्यो; कहिले बन्यो; कसले बनायो; ब्रम्हाण्ड कसरी चलिरहेको छ; जीव, वनस्पति, पदार्थको उत्पत्ति कसरी र किन भयो; जीवहरुमा मनुष्यको जाति उत्कृष्ट कसरी भयो र किन भयो आदि विषयहरुमा मूलप्रश्न तथा आमजिज्ञासाहरुको समाधान गर्ने क्रममा विभिन्न समयमा विभिन्न मत, दर्शन तथा विज्ञानहरु प्रदिपादन गरिदै आइएका थिए र छन् । प्राचीन ऋषिमुनिहरुले यी प्रश्नहरुको समाधान सनातन वेद ग्रन्थमा खोज्ने प्रयास गर्नुभयो, यसक्रममा सनातन दर्शनमा सर्वप्रथम छ प्रकारका मत तथा दर्शनहरु अस्तित्वमा आए जसलाई सनातन षटदर्शन भनिन्छ । यी षटदर्शनहरुले आ–आफ्नो प्रकारले सनातन वेदको ज्ञानलाई मान्दछन् तथा अनुशरण गर्दछन्, यसैकारण यीनलाई आस्तिक दर्शन भनिन्छ । सांख्य, योग, न्याय, वैशेषिक, पूर्व मीमांसा, उत्तर मीमांसा अर्थात वेदान्त षटदर्शन हुन् । षटदर्शनपछि सनातन अध्यात्मको इतिहासमा अरु दर्शनहरु पनि प्रतिपादन भए जसले वेदको ज्ञान तथा मतमाथि प्रश्न खडा गरे । केही दर्शनले वेदलाई प्रामाणिक मानेका छन् भने केही प्रश्न खडा गर्ने दर्शनहरुले वेदको प्रामाणिकतामाथि खण्डन गर्दै प्रश्न उठाएका छन् र फरक प्रकारले एउटा तार्किक निष्कर्ष निकाल्ने प्रयास गरेका छन् । षटदर्शन मध्यमै मीमांसा दर्शनले वेदलाई प्रमाणको आवश्यकता छैन यो स्वतः प्रामाणिक छ भन्ने मत पेश गरेकोछ भने न्याय दर्शनले वेदको प्रामाणिकतामाथि प्रश्न उठाएको छ । सनातन दर्शनहरुविच चलिरहेको यो निकै पूरानो मतभेद हो र अधावधिक चलिरहेकै छ जवकि यी दुवै दर्शन सनातन वेदबाट नै निसृत भएका हुन् । पछिल्लो कालखण्ड(इशापूर्व ५००)मा प्रादुर्भाव भएका प्रमुख पूर्वीय सनातन बौद्ध दर्शन, जैन दर्शन, चार्वाक दर्शनहरुले वेदका विषय र यी विषयहरुको प्रामाणिकतामाथि ठाडो चुनौति दिएका थिए । वेदको मत तथा विषय नमानेका तथा अनुशरण नगरेका कारण यी तीन दर्शनलाई नास्तिक दर्शनको कोटीमा राखिएको छ ।
त्यस्तै कर्मको सिद्धान्तको विषयमा पनि मीमांसा दर्शन र वेदान्त दर्शनविच मतभेतद रहेको छ । मीमांसा दर्शनले कर्म स्वयं नै शक्तिशाली छ यसको फल दिन कुनै छुट्टै इश्वर चाहिदैन भन्छ तर वेदान्त दर्शनले कर्म निर्जिव हुन्छ, कर्मले आफैं फल उत्पन्न गर्न सक्दैन तसर्थ इश्वरको सत्ता चाहिन्छ भन्ने मत मान्दछ । मीमांसकहरु मान्छन् कि यो जगत नित्य छ तर वेदान्तीहरु यो जगत अनित्य छ, मिथ्या तथा भ्रम हो भन्ने मान्दछन् । वेदान्त दर्शनका अनुसार, हामीले दैनिक हाम्रो जीवन र जगतमा जे देखिहेका, भोगिरहेका तथा अनुभव गरिरहेका छौं त्यो सबै माया हो; कल्पनाजनित छ; स्वप्नवत छ; परिवर्तनशील छ; नाशवान छ; असत्य छ । त्यस्तै इश्वरको सत्ता तथा उपस्थिति, कर्मकाण्डका विषयहरु आदि माथि पनि एकअर्को दर्शनका अलग–अलग मतहरु रहेका छन् । मुख्यतया यीनै–यीनै विषयहरुको सेरोफेरोमा जगतगुरु आदि शंकराचार्य र महापंडित मण्डन मिश्रविच निकै लामो र अत्यन्तै प्रभावपूर्ण शास्त्रार्थ भएको थियो । अन्त्यमा, शास्त्रार्थमा विजयी हुनु भएका आदिगुरु शंकराचार्यले नौवटै सनातन दर्शनहरुविच माथि–माथि तथा सतही रुपमा जेजति भिन्नता, मतभेद तथा वादविवादहरु देखिएका भएपनि यी सबै दर्शनहरुको आत्यन्तिक लक्ष्य तथा उद्देश्य हरेक मनुष्यका सबैप्रकारका दुःखहरुको निवारण कसरी गर्न सकिन्छ; हरेक मनुष्य कसरी आफ्नो सांसारीक दुःखहरुबाट मुक्त हुनसक्छ र उ मोक्ष अर्थात परमशान्ति र परमआनन्दमा कसरी स्थित हुनसक्छ भन्ने विषयको खोज नै हो भनेर आफ्ना प्रतिद्वन्दी महापंडित मण्डन मिश्रका जिज्ञासहरुलाई पूर्णरुपमा शान्त गर्नुभएको थियो ।
वर्तमान समयमा हाम्रो समाजमा पनि सनातनीहरुभित्रै यस्ता मतभेद तथा वादविवादहरु चलिरहेका देख्न सकिन्छ । यो सबै सनातन ग्रन्थहरुको पर्याप्त तथा गहिरो ज्ञानको अभावका कारणले भएको हो । तसर्थ हामी सबैले हाम्रा सनातन ग्रन्थहरुलाई बडो गर्वकासाथ सबैमाझ प्रस्तुत गर्नुपर्छ र आफूले पनि यी ग्रन्थहरुबाट महत्वपूर्ण जीवनोपयोगी ज्ञान हासिल गर्न निष्ठापूर्वक अध्ययन गर्नुपर्छ किनकी सनातन ग्रन्थहरु ब्रम्हाण्डको अन्तिम सत्यसम्मको ज्ञानमा पुर्याउने महान ग्रन्थ वेद तथा उपनिषदहरुबाट निसृत भएका भगवद् गीता, ब्रम्हसुत्र, योग वशिष्ठ, विवेक चुडामणि, पुराणहरु आदिका निचोड हुन् । भगवान शिव, भगवान राम, भगवान कृष्ण, आदिगुरु शंकराचार्य तथा पछिल्लो पिढीका योगी तथा सन्तहरु सबैले विभिन्न माध्यमबाट हामीलाई सनातन दर्शनकै ज्ञान प्रदान गर्नुभएको हो । सनातन दर्शनलाई शिद्ध गुरुको सानिध्यमा रहेर राम्ररी बुझेर पढेनौं भने हामीलाई यी अत्यन्तै मूल्यवान तथा जीवनोपयोगी ज्ञानले भरिएका ग्रन्थहरुमा उल्लेखित ज्ञान र तीनको मूल्यमान्यता, उपयोगीताबारे थाहा हुदैन । यो अज्ञानताको परिणाम स्वरुप हामी मेरो धर्म ठूलो, मेरो सम्प्रदाय ठूलो, मेरो पन्थ ठूलो, मेरो गुरु ठुलो जस्ता व्यकारका मतभेद तथा वादविवादका विषयहरुमा उल्झिरहन्छौं, हिंसा मच्चाइरहन्छौं र संधै समस्याग्रस्त जीवन जीएर विश्व समाजबाट पछाडि परिरहन्छौं, प्रकृतिले प्रदान गरेको अलौकिक मनुष्य जीवनको महान लक्ष्य मोक्ष प्राप्तिबाट बिमुख भैरहन्छौं र जन्म-मृत्युको दुःखदायी चक्रमा चक्कर काटीरहन्छौं । हाम्रा यी सनातन दर्शनहरुका ज्ञान यति मूल्यवान र जीवननोपयोगी छनकी यी ज्ञानहरुको अनुशरणबाट हामी जीवनमा आइपर्ने सबैप्रकारका समस्या, चुनौती तथा दुःखहरुको समाधान गर्नसक्छौं यदि सही ढंगले बुझेर ती ज्ञानहरुको अध्ययन र अनुशरण गर्यौं भने । उदाहरणको लागि सनातन अध्यात्म विज्ञानको षटदर्शन मध्यको एक अत्यन्तै महत्वपूर्ण विषय योग दर्शनलाई लिन सकिन्छ, योग साधनाका पूर्णतः वैज्ञानिकतामा आधारीत विधि तथा पद्धतिहरुलाई दैनिक जीवनमा निष्ठापूर्वक सैद्धान्तिक तथा व्यवहारिक अभ्यास गर्नाले हरेक मनुष्य शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक, आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, पेशागत आदि तमाम प्रकारका समस्याहरुबाट सहजै वाहिर निस्कन र सन्तुलित तथा व्यवस्थित जीवनयापन गर्नसक्छ ।
प्राचीन शिक्षा पद्धतिका प्रमुख चार स्तम्भहरु
प्राचीन सनातन ज्ञान तथा शिक्षा पद्धतिलाई प्रभावकारी र चुस्त बनाउनका लागि शिक्षाका प्रमुख चार स्तम्भहरु खडा गरिएका थिए– (१)गुरुकुल, (२)समिति, (३)तपस्थली, र (४)शास्त्रार्थ ।
गुरुकुल
वर्तमानको परिभाषा अनुसार गुरुकुलहरु परिमार्जित भएर स्कुल, कलेज तथा विश्वविद्यालयहरुमा परिणत तथा रुपान्तरण भएका छन् । गुरुकुलमा गुरु र शिष्य एकसाथ आवासिय रुपमा रहन्थे र सीमित गुरुले धेरै शिष्यहरुलाई शिक्षित गर्ने गर्थे र शिष्यहरुले गुरुको दैनिक जीवन यापनका काम तथा आवश्यकताहरु पूरा गर्न हरप्रकारका सेवा प्रदान गर्थे । गुरुकुलमा धनाड्य परिवारले चन्दा, दान दिन तथा कुनै प्रकारको आर्थिक, समाजिक तथा राजनीतिक प्रभाव पार्न पाइदैनथ्यो । सबै शिष्यहरुका लागि समान नियम बनाइएको हुन्थ्यो चाहे उ सामान्य परिवारको होस्, धनाड्य परिवारको होस् तथा राजपरिवारको होस् अनिवार्य रुपमा सबैले खानपानको आवश्यकता पूरा गर्न भिक्षा माग्नु पर्दथ्यो, गौसेवा, घरघन्दाका सबै कामहरु, घाँस–दाउरा गर्नुनै पर्दथ्यो । समान प्रकारको पहिरनहरु लगाउनु पर्दथ्यो ।
समिति
समितिलाई वर्तमानको परिभाषामा वैठक, सेमिनार, वर्कशप तथा वेविनार(आलाइन मिटिगं) पनि भन्ने गरिन्छ । गुरुकुलमा अध्ययनरत शिष्यहरुलाई कहिलेकाहीं नयाँ विषयको ज्ञान प्रदान गर्ने उद्देश्यले समितिको आयोजना गरिन्थ्यो र टाढाबाट सम्वन्धित विषयका अनुभवी तथा विषयविज्ञ व्यक्तित्वहरुलाई बोलाइन्थ्यो र उनीहरुले विशेष विषयको निश्चित शिर्षकमा शिष्यहरुलाई आफूले जानेको ज्ञान तथा तालिम प्रदान गर्दथे तथा सिकाउथे ।
तपस्थली
तपस्थलीलाई वर्तमानको परिभाषामा अनुसन्धान केन्द्र(रिसर्च सेन्टर) भन्ने गरिन्छ । नीजि सहसम्वन्ध(प्राइभेट कोल्याबिरेसन)मा कुनै विशेष विषयमाथि गहिरो तथा फराकिलो अध्ययन, अनुसन्धान तथा खोज गर्न सामुहिक जमघटका कार्यक्रमहरुको आयोजना गरिन्थ्यो र यसमा सहभागी हुन टाढा-टाढादेखि धेरै खोज तथा अनुसन्धान कर्ताहरु एकै स्थानमा भेला भएर तोकिएको विषयमाथि गहन अध्ययन, खोज, अनुसन्धान, छलफल गर्ने गर्थे ।
शास्त्रार्थ
शास्त्रार्थलाई वर्तमानको परिभाषामा वादविवाद प्रतियोगीता(डिवेट कम्पिटिसन) भन्ने गरिन्छ । जव सनातन दर्शन तथा धर्म शास्त्रहरुमा मतभेद हुन्थ्यो, विचार बाझिन्थ्यो तथा दुई पक्षविच कुनै एक विषयमा असहमति तथा विवाद हुन्थ्यो तव शास्त्रार्थको आयोजना गरिन्थ्यो उक्त विषय सबैसामु स्पष्ट पार्नकालागि । तोकिएको विषय उपर विभिन्न सान्दर्भिक शास्त्रहरुमा उल्लेख गरिएका ज्ञान, मत तथा तर्कहरु पेश गरेर एक पक्षले अर्को पक्षलाई सवालको जवाफ दिएर निर्णयकर्तालाई सन्तुष्ट पार्न सक्नु पर्दथ्यो र दुइमध्य एक पक्षको जित हुन्थ्यो । जसले जित्थ्यो उसको मत तथा विचार सही मानिन्थ्यो र त्यसलाई नै आममान्यता प्रदान गरेर समानजमा स्थापित तथा कायम गरिन्थ्यो ।
प्राचीन शिक्षा पद्धतिका यी चार प्रकारका आधार स्तम्भहरुले सनातन दर्शन तथा सनातन धर्मका ज्ञान, विज्ञानहरुलाई सुदृढ तथा विकसित बनाएका थिए । यी चार आधार स्तम्भहरुको उद्देश्य तथा लक्ष्य पनि यही नै थियो कि सनातन दर्शनका ज्ञान, विज्ञानहरुमा अझै स्पष्टता र निखारता आओस्, सबैकालागि प्रभावकारी तथा उपयोगी बनोस् । समिति(सेमिनार) र तपस्थली(कोल्याबिरेसन) परिमार्जित तथा परिवर्तित स्वरुपमा वर्तमान समयमा पनि आयोजित हुने गरेका छन् तर गुरुकुल र शास्त्रार्थ लगभग लोप हुने अवस्थामा पुगीसकेका छन् ।
शास्त्रार्थको आवश्यकता
सनातन दर्शनको इतिहासमा अद्वेत वेदान्त दर्शनका प्रणेता जगतगुरु आदि शंकराचार्य र मीमांशा दर्शनका महापंडित मण्डन मिश्रविच भएको ३२(कतै १७ पनि भनिएको छ) दिन लामो चलेको शास्त्रार्थलाई विशेष महत्व प्रदान गरिएको छ जसले लोपोन्मुख अवस्थामा रहेको सनातन दर्शनलाई पुनरजीवित गर्न महत्वपूर्ण योगदान तथा भूमिका निर्वाह गरेको थियो । यो शास्त्रार्थले समाजकल्याणका धेरै कार्यहरुमा प्रभावशाली योगदान पुर्याएको थियो । सनातन दर्शनसंग सम्वन्धित धेरै महत्वपूर्ण र आवश्यक प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिएर सुस्पष्टता प्रदान गरेको थियो पछिल्लो समय तथा नयाँ पिढीहरुलाई समेत सान्दर्भिक हुनेगरि । तत्कालीन समयमा काशी जस्तो सनातन धर्मको प्राचीन तपोभूमिमै अवैदिक मतहरुको बोलबाला तथा प्रसिद्धि र सनातन वैदिक धर्मको अत्यन्तै नाजुक अवस्था देखेर आदिगुरु शंकराचार्यलाई सामान्य प्रयासले मात्र सनातन वैदिक धर्मको यस्तो नाजुक अवस्थामा उल्लेख्य सुधार ल्याउन नसकिने वोध भयो र वहाँले यसकालागि आफ्नो अध्ययन, अध्यापन, लेखन, भाष्य, रचना तथा शास्त्रार्थलाई अझै बढाएर लानुपर्ने आवश्यकता महसुस गर्नुभयो । बद्रिनाथको व्यास गुफामा चारबर्ष निवास गरेर सनातन दर्शनका मूल तीन ग्रन्थहरु– ब्रम्हसुत्र, भगवद् गीता र प्रमुख उपनिषदहरु अर्थात प्रस्थानत्रयीमाथि आफ्नो दृष्टिकोणबाट प्रामाणिक भाष्यहरुको रचना गर्नुभयो र सबै प्रकारका, सबै मतका दार्शनिक, विद्वान, विदुषी, महापंडित, गुरुहरुसंग हरप्रकारले शास्त्रार्थ गरेर सनातन धर्मका मुल्यमान्यता पुनरस्थापित गर्न आफूलाई तयार गर्नुभयो किनकी अवैदिक मतहरुको प्रदुर्भाव र विकास तथा विस्तार शिखरमा पुगिसकेको र सनातन धर्मको अवस्था अत्न्तै खस्किएको अवस्थामा गहन तथा प्रभावशाली शास्त्रार्थहरुको आयोजना गरेर मात्र सनातन धर्मको प्रचारप्रसार, संरक्षण, सम्वद्र्धन र पुनरोत्थान गर्नसक्ने अवस्था टडकारो रुपमा देखिएको थियो । आफूलाई हरप्रकारका शास्त्रार्थहरुका लागि तथार पारेपछि आदिगुरु शंकराचार्य सनातन धर्मको प्रचार–प्रसारमा तिब्रता दिन बद्रिनाथ क्षेत्रको समाजभित्र पस्नुभयो । बद्रिनाथमा वहाँ सर्वप्रथम देवालयको दर्शन गर्न जानुभयो तर देवालय तथा मन्दिरमा देवताको विग्रह(मूर्ति) देख्नु भएन । सनातन धर्मप्रति पूर्वाग्रह तथा दुराग्रह भाव राख्ने अवैदिक उदण्ड सम्प्रदायहरुको बितन्डा तथा अराजकताका कारण नोक्सानीको भयले सुरक्षित राख्न विग्रहलाई नारद कुण्डमा पानीमुनि लुकाएर राखिएको थियो । आदिगुरु शंकराचार्यले सनातन धर्मका सबैप्रकारका मूल्यमान्यताहरुलाई पुनरस्थापित गर्न हिम्मत गरेर नारद कुण्डमा डुब्की लगाएर हातका औंला भाँचिएको अवस्थाको देवताको विग्रह वाहिर निकालेर देवालयमा पुनः प्रतिष्ठित गर्नुभयो र अवैदिक धर्मावलम्वीहरुलाई ठाडो चुनौती दिनुभयो।
सोह्र बर्षको उमेरका हरप्रकारका शास्त्रार्थ गर्न सक्षम भएपछि आदिगुरु शंकराचार्यलाई बद्रिनाथमा महर्षि वेदव्यासले दर्शन दिनुभयो र मेद्यावी शंकराचार्यलाई पुत्रको सम्वोधन गर्दै तिमीले अझै १६ वर्ष धर्तीमा बिताउनु पर्नेछ, धेरै वैदिक तथा अवैदिक पंडित, महापंडितहरुलाई शास्त्रार्थमा पराजित गरेर सनातन वैदिक धर्मको ध्वज फहराउनु पर्नेछ यस कार्यलाई अघिबढाउन तिमीले महान कर्मकाण्डी कुमारील भट्टलाई भेट्न उनीसंग शास्त्रार्थ गरेर र उनीबाट आवश्यक सहयोग लिएर सनातन धर्मको प्रचार-प्रसार र पुनरोत्थानको महाअभियानमा अगाडि बढ्न सुझाव दिनुभयो । आदिगुरु शंकराचार्य महान कर्मकाण्डी कुमारील भट्टलाई भेट्न प्रयाग जानुभयो र त्यहाँ वहाँले आफ्नो गुरुलाई शास्त्रार्थमा पराजित गरेको अपराधवोधले भट्टलाई अग्निस्नान(अग्निमा आत्मदाह) गरिरहेको अवस्थामा देख्नुभयो र आधा शरीर जलेर भस्म भैसकेका भट्टले नै अर्का पूर्व मीमांसा मार्गी महापंडित मण्डन मिश्रसंग शास्त्रार्थ गर्न सुझाउनु भयो । यसपश्चात आदिगुरु शंकराचार्यले सनातन धर्मको पुनरात्थान गर्नकालागि शास्त्रार्थको शिलशिला जोडतोडले देशव्यापि रुपमा प्रारम्भ गर्नुभयो ।
मीमांसा मार्गी महापंडित मण्डन मिश्र र उभया भारतीसंग शास्त्रार्थ
सनातन धर्म, सनातन दर्शन, वेदान्त, अद्वेत वेदान्त, दशनामी सम्प्रदायको प्रचार–प्रसार, मठ–मन्दिर, देवालय, गुरुकुल तथा पुस्तकालयहरुको जिर्णोद्धार तथा स्थपना गर्ने क्रममा आदिगुरु शंकराचार्यले देशभरिका धेरै विचारक, महापंडित तथा दार्शनिकहरुको अत्यन्तै धेरै विरोध तथा अवरोध झेल्नुपर्यो । यी विरोधका आवाजहरु तथा अवरोधहरुलाई छिचोल्दै सनातन दर्शनको सन्दर्भमा खासगरि ब्रम्हाण्डको अन्तिम सत्यको ज्ञान प्रदान गर्ने तथा अन्तिम ज्ञानसम्म पुर्याउने वेदान्त दर्शनका विषयहरुमा आफ्नो मत, विचार, तर्क तथा सिद्धान्तलाई शास्त्र सम्मत, मानवीय र व्यवहारिक छ भनेर पुष्टी गर्न आदिगुरु शंकराचार्यले निकै जटिल र महिनौं लामा–लामा शास्त्रार्थहरु गर्नुपर्यो । भारतको मध्य प्रदेश, बद्रिनाथ क्षेत्रमाका मीमांसा मार्गी महापंडित मण्डन मिश्रसंग शास्त्रार्थ नगरी सनातन वेदान्त दर्शनको प्रचार–प्रसार तथा विस्तार गर्न कठिनाइ हुने महसुस गरेर आदिगुरु शंकराचार्यले शास्त्रार्थमा आउन मण्डन मिश्रलाई निमन्त्रणा तथा चुनौती दिनुभएको थियो र मिश्रले पनि यो निमन्त्रणा तथा चुनौतीलाई सहर्ष स्वीकार गर्नुभएको थियो । निकै अघिदेखिनै शास्त्रार्थ गर्ने क्रममा आदिगुरु शंकराचार्यले आफ्नो वुद्धिमत्ताले सबै विचारक र श्रोताहरुलाई पटक–पटक आश्चर्यचकित पार्दै आउनु भएको थियो । भारतको मध्यप्रदेशको नर्मदा नदीको मानधता टापूमा पूर्व मीमांसा दर्शन मार्गी महापंडित गृहस्थ आश्रममा रहेका मण्डन मिश्रसंग उत्तर मीमांसा अर्थात वेदान्त दर्शन मार्गी संयासी आदिगुरु शंकराचार्यको ३२ दिन लामो अत्यन्तै प्रभावपूर्ण तथा महत्वपूर्ण शास्त्रार्थ भएको थियो । दुवै महापुरुष आ–आफ्नो विद्याका महाज्ञानी हुनुहुन्थ्यो । आदिगुरु शंकराचार्य र मण्डन मिश्रविच भएको यो शास्त्रार्थ सनातन दर्शनको सबैभन्दा चर्चित र निकै उपलव्धिमूलक रहेको मानिन्छ । शास्त्रार्थको निर्णायक महान विदुषी मण्डन मिश्रकी पत्नी सरस्वती उभया भारतीलाई बनाइएको थियो । शुरुको हप्ता शास्त्रार्थमा सामान्य विषयहरुमा बहस तथा छलफल भएपनि पछि वेदान्त दर्शनका गहनतम विषयहरुमा आ-आफ्नो अवधारणामा तथा मत झामाझ भएको थियो ।
दिन लम्बिदै जादा यो शास्त्रार्थको सूचना देशभरि फैलियो, सबैमा उत्सुकता जाग्यो र देशका कुनाकुनाबाट धेरै विद्धवानहरु दुई महाज्ञानीविच भएको रोचक शास्त्रार्थबाट केही नयाँ विषयहरुबारे ज्ञानलिने उदेश्यले त्यहाँ भेला हुनथाले । यसपश्चात आदिगुरु शंकराचार्यको प्रेरणा, उत्साह तथा जोश अझै बढ्दै गयो एकैपटक सबैतिरका विद्धवानहरु समक्ष सनातन वेदान्त दर्शनको ज्ञानको प्रचार–प्रसार हुनेभयो भनेर । अव शास्त्रार्थका सवालहरु ब्रम्हाण्ड; ब्रम्ह; ब्रम्हको स्वरुप अव्यक्त–व्यक्त, निराकार–आकार, निर्गुण–गुण; जीव, वनस्पति, पदार्थहरुको सृष्टि; अहं ब्रम्हास्मि; तत्वमसि; ब्रम्ह सत्यं जगत मिथ्या; जीव र ब्रम्ह; कर्मको फल तथा कर्म सिद्धान्त; मनुष्यको मन र ब्रम्ह; अन्न र ब्रम्ह; पंचतत्व; पंचतत्वका कार्य र कारण; विभु ब्रम्ह र ब्रम्हाण्डको कणकणमा उपस्थिती; प्रकृति र प्रकृतिका त्रिगुण; सनातन ग्रन्थहरु र ग्रन्थका ध्यय वाक्यहरु; षटशर्दनका मूल विषयहरु; आत्मा, परमात्मा, अस्तित्व; पदार्थ, अणु, परमाणु; उर्जा; चेतना; इन्द्रियातीत, मनातीत, भावातीत अनुभूति; आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञान; परमात्माज्ञान; श्रुति, कृति; योग, भोग, ध्यान, साधना; शंका; अनुमान; प्रमाण; द्वेत; अद्वेत जस्ता गहन विषयहरु र यसमाथिका दाबी, खण्डन तथा प्रामाणिकतामा प्रवेश गर्यो । महापंडित मण्डन मिश्रले अनेक प्रश्न तथा जिज्ञासाहरु राख्दै वेदान्त दर्शनको खण्डन गरिरहनु भयो र आदिगुरु शंकराचार्यले अनेक कोणबाट अति चातुर्यताकासाथ वेदान्त शास्त्रसम्मत भएर तर्कपूर्ण ढंगले सबै शास्त्रहरुमा उल्लेखित सान्दर्भिक विषयहरु उपर उदाहरण तथा उपमाहरु सहित प्रस्तुत गर्दै महापंडित मण्डन मिश्रका सबै प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिदै वेदान्त दर्शनको शाश्वतता, गहनता र उच्चता प्रमाणित गरिरहनुभयो । आदिगुरु शंकराचार्यको शालिन शास्त्रार्थ शैली र विषय प्रस्तुत गर्ने विद्वतासंग मण्डन मिश्र मोहित हुनुभयो र यसपश्चात वहाँले प्रतिद्वन्दीको रुपमा नभई ज्ञानी, विद्वान, दार्शनिक तथा गुरु मानेर विभिनन विषयहरुबारे जान्ने उत्सुकता राखेर आदिगुरु शंकराचार्य समक्ष सम्मान प्रकट गर्दै आनन्द भावले सवालहरु राख्न थाल्नुभयो ।
निरन्तर धेरै दिनसम्म चलेको शास्त्रार्थमा अत्यमा मण्डन मिश्र पराजित हुनुभयो र शास्त्रार्थको नियममा उल्लेखित शर्त अनुसार मिश्रले आदिगुरु शंकराचार्यलाई आफ्नो गुरु मान्नुभयो र संयास धारण गरेर घरबाट प्रस्थान गर्नुभयो । आफ्नो पति शास्त्रार्थमा पराजित भएपछि शास्त्रार्थकी निर्णायक उभया भारती स्वयंले आदिगुरु शंकराचार्यलाई आफूसंग शास्त्रार्थ गर्न आग्रह गर्नुभयो । अर्को शास्त्रार्थ गर्नुपर्ने कुरा शर्तमा उल्लेख थिएन तैपनि आदिगुरु शंकराचार्य राजी हुनुभयो तर उभया भारतीले संयासी(सच्चा संयासीले विवाह गर्दैनन्) आदिगुरु शंकराचार्यलाई कामशास्त्र(संभोगकला)का विषयहरु सोध्नुभयो । गृहस्थ आश्रम तथा दाम्पत्य जीवनको अनुभव नभएका संयासी आदिगुरु शंकराचार्य अवाक(निशव्द) हुनुभयो र उभया भारतीका जिज्ञासाहरुको जवाफ दिन सक्नुभएन । तर शंकराचार्यले हार मान्नु भएन केही समय माग्नुभयो र यसबारे अध्ययन गरेर फेरी फर्केर आएर सबै सवालको जवाफ दिने वाचा गर्नुभयो र त्यहाँबाट आफ्नो वाचा पूरा गर्न उपयुक्त वातावरणको खोजीमा निस्कनु भयो । आदिगुरु शंकराचार्यले आफ्नो आत्मा अर्को मानिसको शरीरमा प्रवेश गराएर कामकला अर्थात सम्भोगकलाका विषयहरुबारे विस्तृत अनुभव र ज्ञान लिएर सरस्वती उभया भारती समक्ष सबै सवालहरुको जवाफ दिन तयार भएर आउनुभयो तर भारतीले अव आफुसंग शास्त्रार्थ गर्नु पर्दैन मलाई थाहा छ सबैकुरा, तपाईं अव कामकलाबारेमा सबै जान्नुहुन्छ भन्दै वहाँले भन्नुभयो, “सबैले जीवनका सबै आयामहरुलाई जान्नु तथा अनुभव गर्नुपर्छ भन्ने पवित्र भावले तपाईंलाई कामशास्त्रको प्रश्न सोधेर चुनौती दिएकी हुँ मैले, यसबारे तपाईंले जान्नु भयो, मेरो उद्देश्य पूराभयो, तपाई शास्त्रार्थका अखण्ड विजयी हुनुहुन्छ, आफ्नो लक्ष्यमा अगाडि बढ्नुहोस् ।”
मानव समाजमा वेदान्त दर्शनको अद्वेत स्वरुपको महत्वलाई स्थापित गर्न र सनातन दर्शनको प्रतिष्ठा बढाउन देशभरिका थुप्रै सरल तथा विकट भौगोलिक स्थानहरुमा गएर आदिगुरु शंकराचार्यले विभिन्न धर्म, सम्प्रदाय तथा समुदायहरुका वैदिक मत मान्ने आस्तिक कर्मकाण्डी, पाशुपत, कापालि, क्रकच, वाममार्गी, शैव, शाक्त, अघोरी, उग्र भैरव, नैयामिक, मीमांसक विषयका र अवैदिक तथा नास्तिक बौद्ध, जैन लगायत अन्य धर्म तथा मत मान्ने विद्वान, गुरु, पंडित, योगी तथा उपासकहरु र सबै मतावलम्बिहरुलाई समेत शास्त्रार्थहरुमा पराजित गरेर अखण्ड विजयी रहनुभयो । सबै प्रकारका शास्त्रार्थहरुमा उच्चकोटीका मानिएका धेरै विचारक तथा दार्शनिकहरुलाई पराजित गरेर अखण्ड विजयी हुनुभएपछि शंकराचार्यलाई विस्तारै गुरुको रुपमा मान्ने तथा गुरु स्वीकार गर्नेक्रम बढ्दै गयो देशव्यापि रुपमा, वहाँको शिष्य मण्डलीको विस्तार हुदै गयो । शास्त्रार्थहरुका नतिजाहरुबाट प्राप्त भएका यस्ता सकारात्मक अवस्था तथा उपलव्धिहरुले सनातन धर्मको प्रचारप्रसार, संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन र पुनरोत्थानको महाअभियानमा महत्वपूर्ण सहयोग मिल्दै गयो । सनातन धर्मको प्रचार–प्रसार, संरक्षण तथा प्रवद्र्धनमा उल्लेख्य योगदान गर्नुभएको कारण वहाँलाई जगतगुरु, आदिगुरुको उपाधिबाट सम्मान गरियो देशव्यापि रुपमा र वहाँ सनातन अध्यात्मको अकाशमा र विश्वव्यापि रुपमा यीनै उपाधि तथा पदविले विख्यात हुनुभयो ।
कस्मीरका शैव दार्शनिक तथा तान्त्रिक अभिनव गुप्तसंग शास्त्रार्थ
बद्रिनाथबाट शुरु भएको शास्त्रार्थका चरणहरुलाई निरन्तरता दिदै सनातन धर्मको प्रचार–प्रसार गर्ने क्रमलाई तिब्रताकासाथ अगाडि बढाउन आफ्नो शिष्य मण्डलीका साथमा आदिगुरु शंकराचार्य समाजका सबै वैदिक तथा अवैदिक दर्शनका विकृत मतहरुलाई पराजित गर्दै भारत देशका विभिन्न क्षेत्रहरुमा गएर आवश्यक शास्त्रार्थहरु गर्नुभयो र यहीक्रममा तन्त्र विद्याको गढ मानिएको कामरुप देश प्रस्थान गर्नुभयो । शैव दार्शनिक तथा महान तान्त्रिक अभिनव गुप्त कामरुप देशका सबैभन्दा जान्ने, ठूला तथा प्रभावशाली तान्त्रिक, वेदान्ती, दार्शनिक, साहित्यकार तथा महान संगीतग्य थिए । उनले आदिगुरु शंकराचार्यको अद्वेत वेदान्त दर्शनको खण्डन गर्दै 'शक्ति भाष्य' ग्रन्थ लेखेका थिए । अभिनव गुप्त र आदिगुरु शंकराचार्यविच भएको शास्त्रार्थमा अद्वेत वेदान्त र तन्त्रका विषयहरु समावेस गरिएका थिए । कामरुप देश प्राचीनकालदेखि नै तान्त्रिक, अघोरी, वामाचारी, कौलचारी आदि साधकहरु तथा योगिनी साधिकाहरुको प्रभाव क्षेत्र रहदै आएको थियो । आदिगुरु शंकराचार्यको समयमा कामरुप देशमा बज्रयानी बौद्ध तान्त्रिक सम्प्रदायहरु र सनातन वैदिक तान्त्रिक धर्मावलम्वीहरुको प्रभाव निकै उचाइमा थियो । तन्त्र पद्धति तथा तन्त्र साधना सनातन धर्मकै एक महत्वपूर्ण हिस्सा भएपनि आदिगुरु शंकराचार्यको समयसम्म आइपुग्दा तन्त्र विद्या तथा साधनामा निकै विकृति आइसकेको थियो र खराव उद्देश्य जस्तोकि आफ्नो निकृष्ट स्वार्थ सिद्ध गर्न, मोहनी लगाउन, अर्काको कुनै प्रकारको क्षति गराइदिन, मारण मन्त्र भेदन(मार्ने अभिप्रायले) गर्न जस्ता समान्यदेखि जघन्य उद्देश्यहरु पूरा गर्नकालागि अत्यधिक रुपमा दुरुपयोग गर्न थालिएको थियो धन र सम्वन्धको उच्चतम चलखेल गरेर । तन्त्रको यसप्रकारले दुरुपयोग गरिएका कारण तत्कालीन समाज मानवीय, सामाजिक, आर्थिक रुपले भ्रष्ट भैसको थियो । त्यसैले आदिगुरु शंकराचार्य कामरुप प्रदेशको समाजको यो अप्ठ्यारो विकृत अवस्थालाई सुधार गर्न र सनातन दर्शन, वैदिक धर्म तथा मत स्थापना गर्ने उद्देश्यले त्यहाँ जानुभएको थियो ।
आदिगुरु शंकराचार्य कामरुप पुग्नु अगावै वहाँको विद्वता र उक्त क्षेत्रमा आउनुुको उद्देश्यको चर्चा त्यहाँको तान्त्रिक समुदायमा पुगिसकेको थियो । कामरुप देशका राजाले विद्वान तथा लोकप्रिय गुरु आदि शंकराचार्यको खुव आदरसत्कार गरे र बसोवास तथा खानपानको राम्रो व्यवस्था गरिदिए । त्यहाँ बसेर आदिगुरु शंकराचार्यले तन्त्र साधनाका सबै विद्वान, ज्ञानी, साधक, उपासकहरुलाई आफूसंग शास्त्रार्थ गर्न आउन खुल्ला निमन्त्रणा तथा चुनौती दिनुभयो । शुरुशुरुमा त केही तान्त्रिक विद्वानहरु आए शास्त्रार्थ गर्न तर आदिगुरु शंकराचार्यको विद्धवताको सामुन्ने कोहीपनि तान्त्रिकहरु लामो समय टिक्न सकेनन् । तन्त्रको गढ रहेको कामरुप देशका विख्यात तान्त्रिकहरु एउटा युवा गुरुसंगको शास्त्रार्थमा पराजित भएको लज्जासपद घटना उनीहरुलाई सहिय भैरहेको थिएन । एउटा युवा सनातन दर्शन शास्त्रीसंग पराजित भइयो भने कामरुप देशको महत्व घट्ने र लामो समयदेखि साधना गर्दै आएको आफ्नो तन्त्र ज्ञान तथा विद्याको वेइज्यत हुने भयले तान्त्रिकहरुले आफ्नै प्रकारले आदिगुरु शंकराचार्यसंग शास्त्रार्थ गर्ने र आफू विजयी भएरै छाड्ने योजना बनाए र योजना अनुरुप उनीहरुले कामरुप देश र वाहिरका देशहरुमा समेत ख्याति कमाएका तन्त्र विद्याका सबैभन्दा जान्ने महान शैव मार्गी तान्त्रिक अभिनव गुप्तलाई सर्वसम्मतले चयन गरेर आदिगुरु शंकराचार्यसंग शास्त्रार्थ गर्न अगाडि सारे । शास्त्रार्थ भयो तर अभिनव गुप्त पनि आदिगुरु शंकराचार्यको सामुन्नेमा लामो समय टिक्न सकेनन्, पराजित भए । शास्त्रार्थको नियम अनुसार पराजित हुनेले विजयी हुनेलाई गुरु मानेर उसको शिष्य भएर गुरुकै धर्म तथा मत अगाल्नु पर्ने हुनाले प्रौढ अभिनव गुप्त पनि युवा आदिगुरु शंकराचार्यको शिष्य बन्न तयार भए तर उनले शिष्य बनेको अभिनय मात्र गरे र छलको बाटो अपनाएर पराजयको बदला लिने योजना बनाए र तन्त्र विद्याको सबैभन्दा खतरनाक प्रयोग मारण तन्त्र भेदन(पुतला गाड्ने) गरेर आदिगुरु शंकराचार्यलाई मृत्युको मुखसम्म पुर्याएर शरीरको स्वास्थ्यमा धेरै कष्ट दिएका थिए । bsirjana@gmail.com
No comments:
Post a Comment