डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन
“आफ्नो जीवनकालमा जगतगुरु आद्य शंकराचार्यको बारेमा नसुनेको, नजानेको, नबुझेको, नपढेको मानिसले सनातन धर्मको कखरा नै बुझेको छैन भन्दा हुन्छ ।” –लोकप्रिय कवि तथा सनातन कथावाचक डा. कुमार विश्वास
बत्तिस वर्षको युवाअवस्थामै शरीर छोड्नु भएका जगतगुरु आद्य शंकराचार्यलाई तमाम सनातन धर्म तथा समाजले अतिइन्द्रियदर्शी महान सदगुरु; महान दार्शनिक; विलक्षण कवि तथा साहित्यकार; सनातन दर्शनको संरक्षण र प्रवद्र्धनका प्रखर महान योद्धा; र स्वयं भगवान शिवका अवतारको रुपमा जान्दछन्, मान्दछन् र पुज्दछन् । –आमविश्लेषण
(४)आदिगुरु शंकराचार्यको प्रादुर्भाव, योगदान र महत्व
भनिन्छ आफ्नो जीवनकालमा महान आध्यात्मिक योद्धा तथा अभियन्ता सनातनी संयासी आदिगुरु शंकराचार्यको बारेमा नसुनेको, नजानेको, नबुझेको, नपढेको मानिसले सनातन धर्मको कखरा नै बुझेको छैन भन्दा हुन्छ किनकी वर्तमान समयमा सनातन हिन्दु धर्ममा अनुशरण गरिएका अधिकांश संस्कार, संस्कृति, परम्परा, रीतिरीवाज, चालचलन, रहनसहन र यीनका मूल्य–मान्यताहरु आदिगुरु शंकराचार्यले नै शुरुआत गराउनु भएको हो । विशेषगरि लगभग आजभन्दा २५०० बर्षयताको समाजमा नयाँ मत बौद्ध धर्मको प्रादुर्भाव भएपछि अवैदिक तथा वेद नमान्ने नास्तिक सम्प्रदाय तथा मतहरुले सनातन धर्मको मूलग्रन्थ वेदका विषयहरुको उपहास गरेर; सनातन धर्मका ग्रन्थहरु नष्ट गरेर; सनातन धर्मलाई अनेक प्रकारले गाली गरेर; सनातनीहरुलाई दुःख दिएर सनातन धर्मलाई अत्यन्तै नाजुक तथा पतनको अवस्थामा पुर्याएका थिए । अन्तिम अवस्थामा पुर्याइएको तथा पतनोउम्मुख सनातन धर्मलाई आदिगुरु शंकराचार्यले आफ्नो समयकालमा सनातन धर्मको प्रचार–प्रचार, संरक्षण, सम्वर्धन तथा प्रवर्धनको महान अभियान चलाएर समाजमा फेरी पुनरस्थापित गराउनुभएको थियो । आदिगुरु शंकराचार्यको समयावधिको सन्दर्भमा केही विवादित मतहरु देखिएका भएपनि प्राप्त विविध तथ्यांकहरुका आधारमा अधिकांश मतहरुले सन् ७८८ देखि ८२० सम्मको (जम्मा ३२ वर्ष) समयवधिलाई नै प्रमाणिक मान्दै आएकाछन् ।
तत्कालीन समयमा सनातन धर्मको खस्कदो अवस्था
वैदिककालको उत्तरार्ध तथा उत्तरवैदिक कालमा सनातन धर्ममा धेरै अवैदिक मत, सम्प्रदाय तथा अवधारणाहरु अस्तित्वमा आए र तीनले आ-आफ्नो मत तथा मान्यता अनुसार समाजमा विकृति, कुरीति तथा अराजकताका अवस्थाहरु फैलाए । समाजमा यस्ता प्रकारका बिसंगतीहरु फैलिनुको मूलकारण सनातन वैदिक धर्म तथा संस्कृतिका वैज्ञानिकतामा आधारीत वर्णव्यवस्था(मानिसको जन्मजात स्वाभाव अर्थात नेचुरल विइगं) तथा प्राकृतिक वुद्धिमत्ता(नेचुरल इन्टेलीजेन्स), कर्मकाण्ड, पूजाजाठ तथा यज्ञ आदि वैदिक संस्कृतिहरुलाई तत्कालीन गुरु, पंडित, पुरोहितहरुले आफ्नो नीजि स्वार्थ पूरा गर्नकालागि जथाभावी आफूखुशी अर्थ लगाएर शास्त्रमा कतै उल्लेख नभएका नयाँ–नयाँ कुप्रथा तथा अन्धविश्वासहरुका कुप्रथाहरु शुरुआत गरेर सर्वसाधारणहरुको चरम शोषण गर्न थाले । यसरी कुप्रथा तथा कुरीतिहरु फैलाइएको कारण सनातन धर्मप्रति आममानिसहरुको आस्था, विश्वास तथा समर्पण खस्कदै गयो र सनातन धर्म पतनको दिशातिर उन्मुख हुदैगयो । मानिसहरु इश्वरको भक्ति, ध्यान, ज्ञान, इश्वर साक्षातकार, मोक्षको प्राप्ति जस्ता धर्मको दक्षिणाचार सात्विक मार्गलाई छोडेर बामाचार(अघोर, कौलाचार, तमसतन्त्र) तथा जादु, टोना, टोड्का जस्ता विपरीत मार्गमा लाग्न थाले ।यस्तो परिस्थितिका कारण आत्मा अर्थात चेतना तथा इश्वर भन्ने केही पनि छैन र मान्दिन भन्ने पाखण्डमा लाग्नेहरुको संख्या बढ्दै गैरहेको थियो तत्कालीन समाजमा । यस्ता कुप्रथा तथा विकृतिहरुका कारण समाजका सर्वसाधारण मानिसहरु अत्यन्तै त्रस्त तथा आक्रान्त भएका थिए, धर्म परिवर्तनले तिब्र रुप धारण गरेको थियो र यस्ता गतिविधिहरुका कारण आममानिसहरु घोर अमानवीय शोषणमा परीरहेका थिए । तत्कालीन समाजमा यस्तो भयावह तथा चुनौतिपूर्ण अवस्थाबाट सनातन धर्मलाई फेरी पुनरजीवित गरेर मानव समाजलाई सही प्रकारले व्यवस्थापन गर्न र एउटा निर्दिष्ट दिशा प्रदान गर्न कुनै दिव्य तथा अवतार पुरुषको आवश्यकता थियो र यही समयमा आदिगुरु शंकराचार्यको प्रादुर्भाव भएको थियो । वहाँको प्रमुख उद्देश्य समाजमा अवैदिक मतहरुका कारण अराजकता, कुरीति तथा अव्यवस्था फैलिएर छिन्नभिन्न भएका सनातन धर्मलाई अनुशरण गर्ने सबै समुदायहरुलाई एकत्वमा बाधेर राख्नु र सर्वकल्याणका लागि सनातन धर्मको पुनरस्थापना, प्रचार–प्रसार, संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धन गर्नु रहेको थियो किनकी सनातन धर्म मानिसलाई सरल तथा सहज जीवन जीउन सिकाउने कलाको विज्ञान हो र अनेकतामा एकता समेट्न सक्ने उदार अवधारणा भएको सबैभन्दा उत्कृष्टतम तथा सर्वस्वीकार्य नमुना(रोल मोडल) धर्म व्यवस्था हो । सबै सनातनीहरुलाई एकत्वमा समेट्ने काम पुनः समाजमा सनातन धर्म र यसका मूल्यमान्यताहरुलाई स्थापित गरेर मात्र गर्न सकिन्थ्यो, वहाँले यही काम महाअभियानका रुपमा प्रारम्भ गर्नुभयो तसर्थ सनातन धर्मको पुनरस्थापना र सम्वद्र्धन तथा प्रवद्र्धनमा आदिगुरु शंकराचार्यको प्रादुर्भाव र योगदानको महत्व बिशेष रहदै आएको छ ।
आदिगुरु शंकराचार्यको अद्वेत वेदान्त दर्शन
कन्जुस्याईं नगरीकन भन्ने हो भने वर्तमान समयमा विश्वमै सनातन दर्शन तथा धर्मको शिर उच्च गराउने कार्यका महान आध्यात्मिक अभियन्ता तथा धार्मिक योद्धा जगतगुरु आदि शंकराचार्य सनातन धर्मका भाग्यविधाता हुनुहुन्छ अर्थात आजको भाषामा भन्नुपर्दा वहाँ सनातन दर्शनका स्टार, सुपरस्टार तथा मेगास्टार हुनुहुन्छ । सनातन धर्म पुनरोत्थान र प्रवद्र्धनमा वहाँको योगदान यति अतुलनिय, अथाह, अनन्त रहेको छ कि यस ऋणबाट सनातनीहरु कहिल्यै उऋण हुसक्ने छैनन् । आदिगुरु शंकराचार्य विद्वान, वैज्ञानिक, दार्शनिक, साहित्यकार हुनुका साथसाथ धार्मिक सेनानी, स्थानीय उद्यमी पनि हुनुहुन्थ्यो । जसरी पृथ्वीलोकमा सदियौंमा महान वैज्ञानिक अल्वर्ट आइन्स्टीन जस्ता युग पुरुष(विकसितआत्मा अर्थात चेतना)को जन्म हुन्छ त्यसैगरि हजारौं बर्षमा आदिगुरु शंकराचार्य जस्ता महापुरुषको जन्म हुन्छ । १६ वर्षको कलिलो उमेरमै आदिगुरु शंकराचार्यले वहाँले सनातन अध्यात्मका जीवन र जगत सम्वन्धि सैद्धान्तिक तथा व्यवहारीक ज्ञान सबै लिसक्नु भएको थियो र सनातन धर्मको प्रचार-प्रसार र प्रवद्र्धनमा महत्वपूर्ण धेरै कामहरु गरिसक्नु भएको थियो । वहाँले ३२ वर्षको छोटो आयुमै तत्कालीन अवस्थामा वेद नमान्ने अवैदिक बौद्ध दर्शन, जैन दर्शन, चार्वाक दर्शन तथा नास्तिक मतहरूको चपेटामा परेर पतनोउन्मुख अवस्थामा रहेको सनातन धर्ममा धेरै प्रकारका महत्वपूर्ण सुधारहरु गरेर, ठूला-ठूला चुनौतीपूर्ण शास्त्रार्थहरुमा सबैलाई पराजित गरि आफू अखण्ड विजयी रहेर आफ्नो दिव्यता, अलौकिक प्रतिभा र अदम्य क्षमताले पुनः सनातन धर्मलाई समाजमा स्थापित गरेर पुनः सनातन ज्ञानको झण्डा विश्वसामु फहराउनु भयो । मावीयताका लागि अनेकौं ज्ञान, विज्ञान, सिद्धान्त, ग्रन्थ, भाष्य, स्तोत्रहरुको रचना; मठ–मन्दिर, गुरूकुल तथा पुस्तकालयहरुको स्थापना; परम्परा, संस्कृति, उद्यमशिलता आदिको प्रारम्भ जस्ता योगदान गरेर मानव तत्कालीन समाजलाई ठूलो गुण लगाउनु भयो । यसका साथै आदिगुरु शंकराचार्यले सनातनीहरुलाई ध्यान तथा योग साधना विज्ञानका अत्यन्तै महत्वपूर्ण सुत्रहरुलाई सैद्धान्तिक र व्यवहारिक तथा प्रयोगात्मक अभ्यासबाट ब्रम्हाण्डको अन्तिम शाश्वत सत्यसम्म पुग्ने भरपर्दो मार्ग महान अद्वेत वेदान्त दर्शन(मोनिजम) प्रतिपादन गरेर हाम्रासामु ब्रम्हाण्डको महाज्ञान र महाज्ञानमा उपलव्ध हुने साधना विधि प्रदान गरेर जानुभयो । वहाँका अनुसार, अदेवेत वेदान्तको मार्गमा ब्रम्हाण्डको अन्तिम सत्यसम्म पुग्न योग तथा ध्यान साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुलाई दैनिक जीवनमा अनुशरण गरेर मानव शरीरलाईनै प्रयोगशाला बनाएर प्रयोग गरिन्छ र आफूभित्र भएका इन्द्रियातीत, मनातीत, भावातीत अवस्थाका अनुभूतिहरुको माध्यमबाट ब्रम्हाण्डको अन्तिम सत्यलाई जान्न सकिन्छ ।
तर विडम्वना, वर्तमान समयमा विशेषगरि नयाँ पिढीहरु आधूनिक बन्ने, आधूनिक भौतिक विज्ञान मान्ने तथा यसले ल्याएका विकासका उपलव्धिहरुलाई बिना सोचि, सम्झि तथा तीनका लाभ-हानि नहेरी, मनन् नगरी जीवनमा अनुशरण गर्ने होडमा अन्यत्रको खासगरि पश्चिमको बढि प्रभावका कारण हामी हाम्रा महान स्रष्टाहरुलाई समेत कम आँक्छौं, उचित कदर गर्दैनौं र वहाँहरुका अभूतपूर्व मानव कल्याणका योगदानहरु र यी महान स्रष्टाहरुलाई समेत भुल्दै गैरहेका छौं ।हामी दिनदिनै सनातन अध्यात्म विज्ञानको महानतम ज्ञानबाट बिमुख भइरहेका छौं जानेर या नजानेर र यहीकारण आफ्नो जीवनमा अनेक समस्या तथा चुनौतीहरु झेलिरहेका छौं । युग ऋषि तथा प्राचीन वैज्ञानिक आदिगुरु शंकराचार्य यस्ता महान दार्शनिक तथा वैज्ञानिक हुनुहुन्थ्यो जसले आफ्नो समयमा ब्रम्हाण्डको अन्तिम सत्य जान्न र त्यहाँसम्म पुग्न योग तथा ध्यान साधनाका यस्ता–यस्ता अभुतपूर्व विधि तथा पद्धतिहरु र त्यसबाट उपलव्ध तथ्यहरु(फ्याक्टस्) परिक्षण गर्नुभयो तथा गराउनुभयो जुन वर्तमान समयका आधूनिक भौतिक विज्ञान अर्थात प्रमात्रा विज्ञान(क्वान्टम साइन्स)का प्रयोगशालाका अत्याधूनिक परिक्षणहरुमा समेत सत्य सावित भएका छन् र यस्ता प्रकारका नयाँ-नयाँ परिक्षणहरु निरन्तर चलिनै रहेकाछन् । पदार्थ, अणु, परमाणु हुदै उर्जा, चेतनासम्म पुगेको प्रमात्रा विज्ञानको पछिल्लो अत्याधूनिक वैज्ञानिक खोजको नतिजा बायोसेन्ट्रिजमको निष्कर्ष ब्रम्हाण्ड निर्माणको प्रमुख श्रोत तथा ब्रम्हाण्डको प्रमुख कच्चा पदार्थ चेतना हो, चेतनाबाट नै उर्जा बन्ने हो र चेतनानै पदार्थ तथा अणु, परमाणु बन्ने हो भन्ने तथ्यांक हुबहु आदिगुरु शंकराचार्यले इशाको आठौं शताव्दीमा प्रतिपादन गर्नु भएको वेदान्त दर्शनको अद्वेत सिद्धान्तकै निरन्तरता मानिन्छि ।
वेदान्त दर्शनको अद्वेत सिद्धान्तका अनुसार, वाहिरको संसारमा रहेका ज्ञान इन्द्रियहरुले अनुभव गर्नसक्ने सबै विषयहरु वास्तविक सत्य होइनन्, वास्तविक सत्य यो भन्दा निकै फरक र विराट छ, यसको दायरा अनन्त फराकिलो छ र यो इन्द्रियातीत, मनातीत र भावातीत छ किनकी यस ब्रम्हाण्डमा देखिने सत्य भन्दा नदेखिने सत्यको अस्तित्व विराट रहेको छ । वास्तवमा भन्ने हो भने भौतिक संसार र यसको भरमार अध्ययन गरिरहेको आधूनिक भौतिक विज्ञान सत्य होइन । आदिगुरु शंकराचार्यका अनुसार यो माया तथा भ्रम हो, यहाँ जे इन्द्रियहरुको अनुभवमा आएको छ त्यो वास्तविक सत्य हुदै होइन, यो त अनित्य, परिवर्तनशील र नाशवान छ । ब्रम्हाण्डको वास्तविक तथा अन्तिम सत्य अर्कै छ, त्यो नित्य, अपरिवर्तनशील र सदा शाश्वत तथा अमर छ जो न कहिल्यै जन्मिन्छ न कहिल्यै मर्छ । त्यो अन्तिम सत्य पूर्ण चेताना(सुपर कन्सस) हो अर्थात परमात्मा हो जो इन्द्रियहरुको अनुभवमा आउदैन, इन्द्रियातीत, मनातीत र भावातीत छ । तसर्थ आधूनिक भौतिक विज्ञान ब्रम्हाण्डको वास्तविक सत्यसम्म पुग्ने एक भरपर्दो मार्ग, माध्यम तथा विधि(मेथोडोलोजी) मात्र बन्न सक्छ जसको प्रयोग तथा परिक्षणको माध्यमबाट ब्रम्हाण्डको वास्तविक सत्यका केही विषयहरुलाई जान्न सकिन्छ तर अनुभूति गर्न सकिदैन किनकी पूर्ण चेतना अर्थात परमात्मालाई जान्नकालागि वैज्ञानिकहरुले खडा गरेका भौतिक प्रयोगशाशालाहरुमा नभइ आफ्नै शरीरलाई प्रयोगशाला बनाएर सर्वप्रथम आफ्नो चेतनाको अनुभवको परिक्षण र त्यसबाट निस्कने परिणामहरुको अनुभूति गर्नुपर्छ त्यसपश्चात मात्र पूर्ण चेतना अर्थात परमात्मामा योगस्थ हुनसक्ने पात्रताको विकास हुन्छ ।
आधूनिक भौतिक विज्ञान र अध्यात्म विज्ञानको समान निष्कर्ष
वर्तमान समयमा ब्रम्हाण्डको अन्तिम सत्यसम्म पुग्न दुई प्रकारका विधि तथा मार्गहरुको प्रयोग हुदै आइरहेको छ– (१)आन्तरीक मार्ग तथा अध्यात्म विज्ञान, परमात्मा निर्मित मानव शरीरलाई प्रयोगशाला बनाएर, र (२)वहिर मार्ग तथा भौतिक विज्ञान, मानव निर्मित भौतिक प्रयोगशालामा पदार्थ तथा उर्जाहरुको परिक्षण गरेर । भौतिक विज्ञान र अध्यात्म विज्ञान दुवैको लक्ष्य एकै रहेको छ ब्रम्हाण्डको अन्तिम तथा वास्तविक सत्यसम्म पुग्नु र यो ब्रम्हाण्ड के चिजले, कसरी बनेको छ भन्ने रहस्य पत्ता लगाउनु । यस सन्दर्भमा पूर्वीय सनातन अध्यात्म विज्ञानले हजारौं बर्षपूर्व नै विभिन्न प्रकारका अलौकिक तथा वैज्ञानिक खोज, अध्ययन तथा अनुसन्धानका माध्यमबाट ब्रम्हाण्डको अन्तिम सत्य, मूल श्रोत तथा सबैभन्दा सुक्ष्म(क्वान्टम) तत्व 'चेतना' हो भनेर उजागर गरिसकेको थियो । अध्यात्म विज्ञान अन्तर्गत आदिगुरु शंकराचार्यद्वारा प्रतिपादित वेदान्तको अद्वेत सिद्धान्तका अनुसार यही चेतना नै वैश्विक अर्थात आकासिय अर्थात सामुहिक अर्थात पूर्ण चेतना हो; ब्रम्ह हो; समुच्चा अस्तित्व हो; गड–अल्ला–खुदा–इश्वर अर्थात परमेश्वर हो; आत्माको मूलश्रोत परमात्मा हो; यो एक छ; एकत्व(वाननेस)मा छ; अद्वेत(दुई नभएको अवस्था) छ किनकी ब्रम्हाण्डमा अस्तित्वमा देखिएका तथा अनुभवमा आएका अति ठूलादेखि अति सुक्ष्मसम्म सबै जीव, वनस्पति तथा पदार्थहरु चेतनाबाट नै निर्मित भएका हुन् । यी सबै जीव, वनस्पति तथा पदार्थहरु अदृश्य, अव्यक्त तथा निराकार चेतना अर्थात ब्रम्हका दृश्य, व्यक्त तथा आकार रुपरुप हुन् । वर्तमान समयमा आधूनिक भौतिक विज्ञानको नयाँ शाखा प्रमात्रा विज्ञानले गरेका खोजहरुको नतिजाहरुले पनि अध्यात्म विज्ञानले हजारौं, हजार बर्ष पहिला उजागर गरिसकिएका तथ्यहरुसंग हुबहु मिल्दाजुल्दा वैज्ञानिक तथ्यांकहरु फेला पारेको छ भौतिक तथा प्रामाणिक रुपमा र पछिल्लो समयमा भौतिक विज्ञान पनि सनातन अध्यात्म विज्ञानको उही एकात्म अर्थात अद्वेतसम्म पुगेको छ । प्रमात्रा विज्ञानले भन्ने गरेको पदार्थ, अणु, परमाणु, उर्जा सबै एउटै हो र यसको अन्तिम तथा अति सुक्ष्म श्रोत चेतना हो, यी सबै चेतनाबाटनै निर्मित भएका हुन् । जसरी खोला, नदि, ताल, तलैयाहरु एकै ठाउँमा पुगेर सागरमा गएर मिलेपछि एकात्म हुन्छन् महासागरको रुपमा ठिक त्यसैगरि जीव, वनस्पति तथा पदार्थका कणकणमा बराबरी हिस्सामा वास गरेका तथा फैलिएका चेतनाहरु पनि प्रकृतिको जन्म–मृत्युको निरन्तर प्रक्रियाका क्रममा रहेका चेतनाहरु मृत्यु पश्चात एकैठाउँ अर्थात पूर्ण चेतना(सुपर कन्सस)मा गएर एकात्म तथा अद्वेत हुन्छन् चेतनाको महासागर अर्थात परम चेतना अर्थात वैश्विक चेतनाको रुपमा । यति प्रमाण पर्याप्त छ कि भौतिक विज्ञान पनि अव अध्यात्म विज्ञानको कित्ताभित्र छिरिसकेको छ ब्रम्हाण्डको अन्तिम सत्य के हो भनेर जान्ने सन्दर्भमा ।२१औं शताव्दीका पछिल्ला दशकहरुमा गरिएका आधुनिक प्रमात्रा भौतिक विज्ञानका खोज, अध्ययन तथा अनुसन्धानहरुले समेत अंगीकार गरेको वेदान्त दर्शनको अद्वेत वेदान्त सिद्धान्तका विषयहरु सनातन दर्शन तथा सनातन धर्मको पुनरोत्थान तथा समय सान्दर्भिक विकासका लागि र सनातन धर्मलाई विश्वविख्यात बनाउन आदिगुरु शंकराचार्यको सबैभन्दा गहन तथा अत्यन्तै महत्वपूर्ण योगदान सावित भएको छ ।
अद्वेत तथा एकात्मको सिद्धान्तलाई कसरी बुझ्ने तथा बुझाउने
वेदान्त दर्शनको अद्वेत तथा एकात्मको सिद्धान्त बुझ्न तथा बुझाउन त्यति मुस्किल पनि छैन र त्यति सहज पनि छैन । मोटामोटी रुपमा निम्न दुईप्रकारले अद्वेतको सिद्धान्तलाई व्याख्या गर्न सकिन्छ– (१)हरेक जीवहरुमा रहेको हरहालमा जीवन जीउने चाहना, र (२)हरेक जीवहरुमा हरहालमा सचिदानन्द प्राप्तिको चाहना ।
हरहालमा जीवन जीउने चाहना
आदिगुरु शंकराचार्यले सनातन धर्मको सम्वद्र्धन तथा प्रवद्र्धनलागि गर्नुभएका योगदानहरु मध्य संस्कृत भाषामा लेखिएको वेदान्त दर्शनको अद्वेत सिद्धान्तको प्रतिपादन प्रमुख तथा सर्वाधिक महत्वपूर्ण मानिन्छ जसले वर्तमान समयमा विश्वभरि गरिदै आइएका आधूनिक प्रमात्रा भौतिक विज्ञानका वैज्ञानिक खोजहरुमा समेत गहन दख्खल राख्दै आएको छ । अद्वेत तथा एकात्मको सिद्धान्तलाई आमरुपमा कसरी बुझ्ने तथा बुझाउने भन्ने सन्दर्भमा सर्वप्रथम जल, थल, आकाशका सबै प्रकारका जीवहरुमा के कुरा एकसमान(कमन) छ भन्ने सवालको जवाफ खोज्नु अत्यावश्यक हुन्छ । सबै जीवहरुमा शरीर, इन्द्रियहरु, प्राण, आत्मा अर्थात चेतना, जीविका, संघर्ष, सुख प्राप्त गर्ने, दुःख दुर गर्ने अभिप्सा एकसमान छन् र यी सबै अवस्थाहरु भन्दापनि सबै जीवहरुमा सवभन्दा महत्वपूर्ण समानता जीवन जीउने तथा बाँच्ने इच्छा तथा हरदालमा मृत्युबाट बच्ने चाहना सबै जीवहरुमा तिव्र हुन्छ । हरेक जीउदो प्राणी तथा वनस्पति समेतले आफ्नो जीवन मर्नबाट हरहालमा बचाउन चाहन्छ; आफू फैलिन र आफ्ना सन्ततीहरु फैलाउन चाहान्छ; आफ्नो वातावरण अनुसारको स्वास्थ्य, सुख, खुशी, समृद्धि, शान्ति, आनन्द अनुभव गर्न चाहन्छ; भोक, रोग, दुःख, बिपन्नता, अशान्तिको निवारण गर्न चाहन्छ किनकी कुनैपनि जीवित जीव तथा प्राणीहरु दुःखमा रहन चाहदैनन् र यो नै सबै जीवहरुमा रहेको सबैभन्दा महत्वपूर्ण समानता, एकत्व तथा अद्वेत हो।
कुनै पनि जीवित जीव तथा प्राणी खासगरि मनुष्यले आफूलाई सुखी, खुशी, समृद्ध, शान्त र आनन्दित राख्न तव मात्र सक्छ जव उसलाई आफ्नो शरीर, मन, भावना, आत्मा अर्थात चेतनाको आवश्यकताबारे ज्ञात हुन्छ र आफ्नो स्थुल शरीरको बनाबट अर्थात आकार, प्रकार, उचाइ र आफू रहेको स्थानको गुण, वातावरणीय तथा पर्यावरणीय अवस्थाबारे राम्ररी थाहा हुन्छ । मेरो शरीर, मन, भावना, आत्मा अर्थात चेतनाकोबारेमा म पूर्णरुपमा जाग्रीत छु तथा राम्ररी जान्दछु भने मात्र मलाई म वरिपरिको पारिवारीक, सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, प्राकृतिक, राजनीतिक वातावरणमा जीवित रहीरहन; जीवन जीउनकालागि सबै प्रकारका परिश्रम, संघर्ष गर्न, जोखिम लिन, सम्झौता गर्न तथा मैत्रीभाव राख्न; आफ्नोलागि सुख, खुशी, समृद्धि, शान्ति, आनन्द खोज्न; आफूलाई सुखी राख्ने हर प्रकारका उपाय तथा प्रक्रियाहरुको खोजी गर्न सजिलो हुन्छ र प्रेरणा प्राप्त हुन्छ । हरेक जीवसंग उसको अन्तरमा आत्मा अर्थात चेतना हुन्छ तर यो अलि गहन विषय हो त्यति सजिलै सबैको जानकारीमा आउन सक्दैन तसर्थ विज्ञानले मानेका आयामहरु– शरीर(बडी), मन(माइन्ड), भावना(इमोसन)मै केन्द्रित रहेर अद्वेत तथा एकात्मको बारेमा सहजै बुझ्न सजिलो हुन्छ सबैलागि । समग्रमा भन्नुपर्दा हरेक जीव खासगरि मनुष्यमा रहेको अद्वेत तथा एकत्वको पहिलो वास्तविकता, तथ्य तथा प्रमाण हरहालमा जीवित रहने चाहना हो र दोस्रो हरहालमा सुख, खुशी, शान्ति, आनन्द अर्थात सचिदानन्द(सत+चित+दानन्द)को अनुभव गर्ने चाहना हो ।
हरहालमा सचिदानन्द प्राप्तिको चाहना
सत्+चित्+आनन्द यी तीनवटा शव्द भएपनि यीनको भाव तथा अर्थ एकै-एकै हो । ‘सत्’ को अर्थ शाश्वत तथा सदा रहीरहने, अपरिर्वतनिय; ‘चित्’ को अर्थ चेतना अर्थात आत्मा न कहिल्यै जन्मने न कहिल्यै मर्ने, सदा अमर रहीरहने; र ‘आनन्द’ को अर्थ अन्तरहृदयबाट आउने स्थाइ सुख, खुशी तथा शान्ति हो जो वाहिरका गतिविधिहरुले कहिल्यै कम गर्न तथा हर्न नसक्ने परमआनन्दको अवस्था हो । हजारौंहजार वर्ष अघिनै हाम्रा सनातन उपनिषद ग्रन्थहरुमा प्राचीन वैज्ञानिक ऋषिहरूद्वारा उल्लेख गरिसकिएको छ कि हरेक जीवित प्राणी सचिदानन्दमा स्थित हुन चाहन्छ अर्थात दुःख, बेखुशी, अशान्ति, भोग, रोग, विपन्नता कोहीपनि चाहादैन । हामी सबै जीवभित्र उही सचिदानन्द छ जो स्वयं परमात्मा हो र यो सबै जीव तथा प्राणीहरुको अन्तरहृदयमा अनादिकालदेखिनै विराजमान रहदै आएको छ, हामीमा चिन्ने पात्रता तथा क्षमताको विकास नभएको कारण आफैंभित्र रहेको कस्तुरीको पहिचान गर्न नसकी वाहिरका भौतिक वस्तु, सेवा तथा सुविधाहरुमा क्षणिक सुख, खुशी, शान्ति तथा आनन्द खोजीरहेका छौं ।
आदिकालदेखि हाम्रो अन्तरहृदयमा रहेको सचिदानन्द बाहेक हाम्रो पहिचान गराउने अरु जे पनि नामाकरणहरु गरिएका छन् ती सबै वाहिरी हुन् अर्थात भौतिक संसारमा तय गरिएका कृत्रिम ‘नाम’ र ‘रुप’ हरु हुन् तसर्थ हामी सबै जीवहरुमा भिन्न नरहेको एकसमान तथा एकत्व रहेको तत्व ‘सचिदानन्द’ हो । यसप्रकार हामी सबै जीवहरुसंग जीवनका प्रमुख पाँच आयामहरु– (१)सत्, (२)चित्, (३)आनन्द, (४)नाम(पहिचान), र (५)रुप(आकार) एकसमान रहेका छन् । उदाहरणका लागि पदार्थहरुको संरचनालाई हेरौं र बुझौं, सुन सत्+चित्+आनन्द स्वरुप हो र सुनबाट बनाइएका गहना सिक्री, औंठीहरु नाम र रुप हुन् । त्यस्तै पानी सत्+चित्+आनन्द स्वरुप हो र पानीका श्रोतहरु ताल, नदी, समुद्र, गाग्री तथा गिलासको पानी नाम र रुप हुन् । माटो सत्+चित्+आनन्द स्वरुप हो र माटोबाट बनाइएका गहना घैलो, गमला, खपटाहरु नाम र रुप हुन् । ठिक त्यसैगरि परमात्मा अर्थात परब्रम्ह सत्+चित्+आनन्द स्वरुप हो, परमात्मा अर्थात परब्रम्हले सृष्टि गर्नुभएको ब्रम्हाण्डमा रहेका जीवहरु मानिस, सिंह, हात्ती, वादर, सर्प, माछा, चरा आदि नाम र रुप हुन् । यसप्रकार सत्+चित्+आनन्द अर्थात सत्य+चेतना+आनन्द सबै जीवमा एउटै छ केवल तीनका नाम र रुपहरु मात्र फरक–फरक छन् तर समग्रमा सबै ब्रम्ह हुन्, ब्रम्ह एक छ, अद्वेत छ, एकत्वमा छ, म पनि उही ब्रम्ह हुँ(अहं ब्रम्हास्मि) र तिमी पनि उही ब्रम्ह हौ(तत्वमसि) ।
यही वेदान्त दर्शनको अद्वेत तथा एकात्मकताको सिद्धान्त नै हो महान दार्शनिक, धर्मयोद्धा, आध्यात्मिक अभियन्ता, जगतगुरु आद्य शंकराचार्यको अदभूत योगदान ब्रम्हाण्डको शाश्वत ज्ञान जानेर सबैको भलाइकालागि काम गर्ने उत्प्रेरणा जगाउने महाज्ञान तथा महाविज्ञान । bsirjana@gmail.com
No comments:
Post a Comment