'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Wednesday, 25 June 2025

सनातन दर्शनको पुनरोत्थानमा जगतगुरु आद्य शंकराचार्यको भूमिका, खण्ड -५

                                                                          डा. सिर्जना भण्डारी

#अध्यात्म_दर्शन #सनातन_दर्शन #जीवन_दर्शन


सनातन धर्ममा अनन्त योगदान पुर्याएका मौलिक रचनाहरु 



“आफ्नो जीवनकालमा जगतगुरु आद्य शंकराचार्यको बारेमा नसुनेको, नजानेको, नबुझेको, नपढेको मानिसले सनातन धर्मको कखरा नै बुझेको छैन भन्दा हुन्छ ।”  –लोकप्रिय कवि तथा सनातन कथावाचक डा. कुमार विश्वास

बत्तिस वर्षको युवाअवस्थामै शरीर छोड्नु भएका जगतगुरु आद्य शंकराचार्यलाई तमाम सनातन धर्म तथा समाजले अतिइन्द्रियदर्शी महान सदगुरु; महान दार्शनिक; विलक्षण कवि तथा साहित्यकार; सनातन दर्शनको संरक्षण र प्रवद्र्धनका प्रखर महान योद्धा; र स्वयं भगवान शिवका अवतारको रुपमा जान्दछन्, मान्दछन् र पुज्दछन् । –आमविश्लेषण


(घ)सनातन धर्ममा अनन्त योगदान पुर्याएका मौलिक रचनाहरु 

जगतगुरु आदि शंकराचार्यले सनातन दर्शन तथा सनातन धर्मको सबैभन्दा महत्वपूर्ण विद्या अद्वेत वेदान्त दर्शन, विवेक चूडामणि(अन्तिम कृति) सहित कुल मिलाएर ११६ दार्शनिक ग्रन्थहरु, भाष्य ग्रन्थहरु र भगवान तथा भगवतीका धेरै स्तोत्र, स्तुति तथा श्लोकहरुको रचना गर्नु भएको थियो । यसकासाथै वहाँले केही तन्त्र ग्रन्थहरुको पनि रचना गर्नु भएको थियो । सनातन हिन्दु धर्मका विभिन्न सम्प्रदाय तथा मतहरु चाहे विशिष्ठ अद्वेत, चाहे शुद्ध अद्वेत, चाहे द्वेतवाद हुन् यी सबै आदिगुरु शंकाराचार्यको अद्वेत वेदान्त दर्शनको प्रतिपादन पश्चात त्यसैको पृष्ठभूमिमा खडा भएका तथा विकास भएका दर्शनहरु हुन् जसले विस्तारै सनातन दर्शन तथा धर्ममा फरक दृष्टिकोण भएका अलग-अलग मतहरुको प्रतिपादन र समावेश हुनथाल्यो र यीनले सनातन धर्मको विकास, प्रवद्र्धन, शास्त्रार्थ, स्पष्ट बुझाइमा महत्वपूर्ण कडीहरु थप्दै लगे र सनातन धर्ममा अनेकतामा एकताको समावेशीकरणको भाव तथा नीतिलाई स्थापित गर्दै लगे । प्रखर अद्वेतवादी जगदगुरु  आदि शंकराचार्यले जीवनभर केवल ब्रम्हलाई सत्य र जगतलाई मिथ्या मान्नुभयो यसकारण वहाँका भाष्य तथा मौलिक रचनाहरुमा जगतको निस्सारता(कम महत्व) र ब्रम्हको प्रमुखताको भाव स्वष्ट रुपमा प्रकट हुन्छ । अद्वेत वेदान्त दर्शनको सरल निरुपण गर्दै सनातन धर्मको उत्थानका लागि दार्शनिक ग्रन्थहरुको प्रतिपादन; सनातन धर्मका महत्वपूर्ण ग्रन्थहरुमाथि भाष्य लेखन; र भगवान, भगवतीका धेरै स्तोत्र, स्तुति तथा श्लोकहरुको रचना गरेर सनातन धर्मको संरक्षण, सम्वद्र्ध तथा प्रवद्र्धन विशेष योगदान पुर्याउनु भएको थियो । सनातन धर्मावलम्बीहरुमा नैतिकता, अनुशासन र एकरुपता कायम गर्न वहाँले महानायबम, महाअनुशासन जस्ता ग्रन्थहरुको रचना गर्नुभयो । यी ग्रन्थहरुमा आदिगुरु शंकराचार्यले सनातन धर्ममा चलाउनु भएका संस्कार, परम्परा, रीति-रिवाज, पूजा विधि, गुरु परम्परा, संयास परम्परा तथा अन्य धार्मिक नीति नियम तथा विधिहरुसंग सम्वन्धित प्रावधानहरुको प्रतिपादन र वहाँका दर्शन, सिद्धान्त तथा भाष्यहरुको बारेमा विस्तृतमा व्याख्या गरिएको छ । 


आदिगुरु शंकराचार्य आफू अद्वेतवादी अर्थात ज्ञान तथा ध्यान मार्गी हुदाहुदै पनि शास्त्रहरुका महान अध्ययता हुनुभएकोले वहाँले भक्ति मार्गीहरुको आकांक्षा तथा आशयलाई स्पष्ट रुपमा बुझ्नु भएको थियो । यसैकारण वहाँले भक्ति मार्गको विकास तथा प्रवद्र्धनका लागि भगवान, भगवती, देवी, देवताहरुको स्तोत्र, स्तुति तथा श्लोकहरुको रचना गरेर; मठ–मन्दिरहरुको स्थापना गरेर; भगवान, भगवती, देवी, देवताहरुको  पूजापाठका विधिहरु तथा गुरु परम्पराको परिपाटी बसाएर; र पछिल्ला पिढीलाई सरल तथा सहज होस् भन्ने भावले वैज्ञानिक तवरले कर्मकाण्ड तथा संस्कारहरुको ढाँचा मिलाएर सबै परम्पराहरुलाई व्यवस्थित गरिदिनु भयो । यसकासाथै वहाँले सनातन समाजलाई एकत्वमा ल्याउन र एकरुपतामा ढाल्न भगवान तथा भगवतीका स्तोत्र, स्तुति तथा श्लोकहरुका रचना गरेर धार्मिक व्यवहारमा लागू गरिदिनु भयो र विस्तारै यीनको चलनचल्ती बढ्दै गयो र संस्कार, परम्परा तथा रीति-रिवाजका रुपमा स्थापित हुदै गए । आदिगुरु शंकराचार्यद्वारा रचित भगवानका स्तोत्र, स्तुति तथा श्लोकहरुमा भगवान शिव, भगवान विष्णु, भगवान विष्णुका अवतारहरु, भगवती आदिशक्ति र भगवान गणेशप्रति समर्पित रहेका छन् जसले सनातन धर्म तथा संस्कृतिमा भक्ति मार्गको सान्दर्भिकता र लोकप्रियतालाई उच्चतामा पुर्याउन ठूलो योगदान गरेका छन् । सनातन धर्मका संस्कार तथा परम्पराहरुलाई अझ आकर्षक तथा उत्साहवद्र्धक बनाउन वहाँले भावपूर्ण मनोरम स्तोत्र, श्लोक तथा स्तुतिगानहरु घरघरमा तथा मठ–मन्दिरहरुमा भज्ने, गाउने, किर्तन तथा सतसंग गर्ने परीपाटी बसालिदिनु भयो । समग्रमा, जगतगुरु आदि शंकराचार्यले सनातन धर्म तथा दर्शनको प्रचार-प्रसार संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धनमा योगदान पुर्याउने धेरै प्रकारका कृतिहरुको रचना गर्नु भयो । सनातन धर्मको परम्परागत मान्यता अनुसार वहाँद्वारा रचित कृतिहरुलाई तीन समुहमा विभाजन गरिएको पाइन्छ– (१)भाष्य लेखन, (२)दार्शनिक तथा प्रकरण ग्रन्थ प्रतिपादन, र (३)स्तोत्र, स्तुति तथा श्लोक रचना ।


(१)भाष्य लेखन

गुरुकुलको अध्ययन पूरा गर्नुभएपछि आफ्नो गुरु आचार्य गोविन्दपादको आदेश अनुसार आदिगुरु शंकराचार्य सनातन दर्शनको प्रचार–प्रसार गर्न काशी प्रस्थान गर्नुभयो । काशीमा सनातन दर्शनको प्रचार–प्रसार गर्ने क्रममा काशी जस्तो सनातन धर्म र भगवान शिवको प्राचीन तपोभूमिमा समेत वैदिक सनातन धर्मको अत्यन्तै नाजुक अवस्था र अवैदिक धर्म तथा तान्त्रिक मतहरुको बढि बोलबाला तथा प्रसिद्धि देखेर वहाँलाई आफ्नो काममा अझ तिब्रता ल्याउनु पर्ने अवस्थाको वोध भयो । यसकालागि आफूले अझै सनातन धर्मका ग्रन्थहरुमा आफ्नो अध्ययन र लेखनको दायरा बढाउन अत्यावश्यक ठान्नुभयो । यसपश्चात आदिगुरु शंकराचार्यले एकान्त तथा उपयुक्त स्थानको खोजी गर्न शुरु गर्नुभयो । अध्ययन तथा लेखनको यस गहन कार्यमा तिब्रता ल्याउनकालागि काशीमा उपयुक्त वातावरण र स्थान नमिलेकोकारण वहाँ काशी छोडेर ऋषिकेश हुदै बद्रिनाथतिर लाग्नुभयो उपयुक्त एकान्तवासको खोजीमा र त्यहाँको व्यास गुफामा चारबर्ष निवास गरेर सनातन दर्शनका मूल तीन ग्रन्थहरु– ब्रम्हसुत्र, भगवद् गीता र प्रमुख उपनिषदहरु (प्रस्थानत्रयी) माथि आफ्नो दृष्टिकोणबाट प्रामाणिक भाष्यहरुको रचना गर्नुभयो । सनातन धर्मको परीपाटी अनुसार प्रस्थानत्रयी ग्रन्थहरुमाथि भाष्य लेखेर तथा गरेर एक निश्चित मुकाम हासिल गरेका योगी, सन्त तथा महात्माहरुलाई आचार्यको उपाधि प्रदान गर्ने गरिन्छ । जगतगुरु आदि शंकराचार्यको प्रस्थानत्रयीमा लेखिएका भाष्यहरुलाई सनातन दर्शनका भाष्यहरुमा सबैभन्दा प्रभावशाली र अद्वीतीय मान्यता प्रदान गरिएको आइएकोछ किनकी प्रस्थानत्रयी नै सनातन अद्वेद वेदान्त दर्शनका मूलआधार स्तम्भहरु हुन् । यसप्रकार आदिगुरु शंकराचार्यले सनातन धर्मका मूलस्तम्भ तथा मूलग्रन्थहरु प्रस्थानत्रयीमाथि अलग–अलग टिप्पणी तथा भाष्य लेखेर शंकराचार्य भाष्यको रुपमा प्रस्तुत गरेर आफ्नो प्रकारले सनातन धर्मको मूलज्ञान तथा मूलमर्म सबैमाझ सहज तथा सरल ढंगले पुर्यायाउने तथा बुझाउने काममा महत्वपूर्ण योगदान गर्नुभयो । यसकासाथै वहाँले मण्डुक उपनिषद, इशावास्य उपनिषद आदिमाथि पुनरलेखन गरेर शंकराचार्य लेखनको रुपमा प्रस्तुत गरेर परमात्माप्रति निरन्तर भक्ति र समर्पणमा जोड दिरहनुभयो । वहाँको यही योगदान स्वरुप पछिल्लो समय सनातन दर्शनको इतिहासमा भक्ति आन्दोलनको प्रतिपादन भएको श्रेय पनि वहाँलाई नै जान्छ । आदिगुरु शंकराचार्यले सनातन धर्म तथा दर्शनका प्रस्थात्रयीका साथसाथ निम्नलिखित ग्रन्थहरुमाथि भाष्य लेख्नु भएको थियो– 

- ब्रह्मसूत्र

- श्रीमद् भगवद् गीता

- उपनिषदहरु-

· ऐतरेय उपनिषद

· वृहदारण्यक उपनिषद

·  ईश उपनिषद (शुक्ल यजुर्वेद)

·  तैत्तरीय उपनिषद (कृष्ण यजुर्वेद)

·  श्वेताश्वतर उपनिषद (कृष्ण यजुर्वेद)

·  कठोपनिषद (कृष्ण यजुर्वेद)

·  केनोपनिषद (सामवेद)

·  छान्दोग्य उपनिषद(सामवेद)

·  माण्डूक्य उपनिषद तथा गौडपादकारिका

·  मुण्डक उपनिषद(अथर्ववेद)

·  प्रश्नोपनिषद(अथर्ववेद)

·  भागवद्गीता (महाभारत)

·  विष्णु सहस्रनाम (महाभारत)

·  सानत्सुजातिय (महाभारत)

·  गायत्री मंत्र



(२)दार्शनिक तथा प्रकरण ग्रन्थ प्रतिपादन

अद्वेत वेदान्त दर्शन(मोनिजम)

सानै उमेरदेखि ज्ञान, वुद्धि, तर्क, विवेक, प्रज्ञा, वैज्ञानिकताले सम्पन्न जगतगुरु आदि शंकराचार्य सनातन षटदर्शन मध्यको सबैभन्दा महत्वपूर्ण तथा प्रभावकारी उत्तर मीमांसा अर्थात वेदान्त दर्शन अन्तर्गतको अद्वेत वेदान्त दर्शन तथा सिद्धान्त(मोनिजम)का प्रणेता हुनुहुन्छ । मनुष्यको जीवनमा सांसारिक मुक्ति तथा पारमार्थिक मोक्ष हासिल गर्न र ब्रम्हाण्डको अन्तिम सत्य जान्न अद्वेत वेदान्त दर्शनले ज्ञान मार्गको निष्ठापूर्वक अनुशरण योग तथा ध्यान साधनाका व्यवहारिक तथा प्रयोगात्मक अभ्यासहरुमा मूल प्राथमिकता प्रदान गरेको छ । ब्रम्हाण्डको अन्तिम सत्य जान्ने सन्दर्भमा हजारौं बर्षअघिनै ज्ञान मार्ग तथा ध्यान मार्गका वैज्ञानिक विधि तथा पद्धतिहरुको साधनाको माध्यमबाट प्राचीन वैज्ञानिक तथा ऋषिमुनिहरुले ध्यान तथा समाधिको गहन अवस्थामा हासिल गरेका इन्द्रियातीत, मनातीत तथा भावातीत अनुभूतिका अलौकिक तथ्यांकहरुलाई नै आज २१औं शताव्दीको अत्याधूनिक प्रमात्रा भौतिक विज्ञान(क्वान्टम साइन्स)का विभिन्न सिद्धान्त, वैज्ञानिक अध्ययन, खोज, अनुसन्धान तथा प्रयोगात्मक परिक्षणका तथ्यांकहरुले क्रमशः एकपछि अर्को गर्दै वैज्ञानिक रुपमा प्रमाणित गर्दै आइरहेका छन् । प्रमात्रा विज्ञानको पछिल्लो सिद्धान्त बायोसेन्ट्रीजमका वैज्ञानिक तथ्यांकको अन्तिम खुलासा ब्रम्हाण्डको सबैभन्दा सुक्ष्म तत्व चेतना हो र चेतना नै उर्जा तथा पदार्थ(अणु, परमाणु तथा एटम)को रुपमा प्रकट हुन्छ अर्थात चेतना नै उर्जा तथा पदार्थ बन्छ भन्ने मत अद्वेत वेदान्त दर्शनको मतसंग हुबहु मेल खान्छ । ब्रम्हाण्ड कसरी बनेको छ तथा के तत्वले निर्माण भएको छ, ब्रम्हाण्ड सिर्जनको मूल श्रोत, पहिलो कच्चा पदार्थ तथा मूल कारण चेतना हो भन्ने नतिजा अध्यात्म विज्ञान र आधूनिक भौतिक विज्ञान दुवैको रहेकोले सनातन अध्यात्म विज्ञानको प्रामाणिकतामा अझै बल थपिएको छ ।


जगतगुरु आदि शंकाराचार्यको वेदान्त दर्शनको प्रमुख शाखा अद्वेत वेदान्त दर्शनको बहुप्रचलित महावाक्य तथा ध्ययवाक्य(ध्यान तथा मनन् गर्न योग्य) “ब्रम्ह सत्यं जगन मिथ्या” अर्थात केवल ब्रम्ह मात्र सत्य छ बाँकी सबै मिथ्या हो भन्ने महाकथनका अनुसनर, “सकल ब्रम्हाण्ड(जगत तथा प्रकृति)मा रहेका सबै प्रकारका जीव, वनस्पति र पदार्थहरु सबै नस्वर(नाशवान) छन्, अनित्य(परिवर्तनशील) छन्, भ्रम तथा माया(दृष्यमा छन् तर सुक्ष्म तह तथा वास्तविकतामा छैनन्) हुन्, केवल एक ब्रम्ह अर्थात परमात्मा अर्थात इश्वर मात्र नित्य र सत्य छ ।” यस खुलासाको स्पष्ट अर्थ तथा परिभाषा हो हामी आफ्नो वरपर जे देख्छौं तथा अनुभव गर्छौं ती सबै अव्यक्त तथा निराकार ब्रम्ह अर्थात परमात्मा अर्थात इश्वरका व्यक्त तथा आकार स्वरुप हुन् । ब्रम्हाण्ड तथा प्रकृतिमा रहेका जीव तथा प्राणीहरु मात्र जीवित नभएर वनस्पति र पदार्थहरु पनि आ–आफ्नै प्रकारले जीवित तथा चेतनशील छन् र यी सबैभित्र रहेको आत्मा अर्थात चेतना अर्थात प्राण तत्व परमात्मा स्वयंको अंश हो; आत्मा र परमात्मामा कुनै भेद छैन; यी दुवै एकै हुन्; आत्मा व्यष्टि हो परमात्मा समष्टि हो । हामी हाम्रो अज्ञानताको कारण यो भन्ठान्छौं कि आत्मा र परमात्मा अलग–अलग तथा फरक–फरक विषय हुन् । हामीमा यस्तो अज्ञानता हाम्रो अन्तःकरण(मन, वुद्धि, चित्त, अहंकार)मा जेलिएको जालो, फोहोर तथा कर्मबन्धनको कारणले भएको हो । ज्ञान तथा ध्यान मार्गको अनुशरणबाट हाम्रो अन्तःकरणमा रहेका सबै फोहररुपि अज्ञानता तथा कर्मबन्धनहरु जलेर नष्ट हुन्छन् । अज्ञानताका र कर्मबन्धनहरु जलेर नष्ट भैसकेपछि ध्यान तथा समाधिको मार्ग प्रसस्त हुन्छ र ध्यान तथा समाधिको गहिराइमा साधकलाई स्वतः आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञान तथा परमात्माज्ञान हासिल हुन्छ र सदाकालागि मोक्षको मार्ग खुल्छ । आदिगुरु शंकराचार्यले अद्वेत वेदान्त दर्शनका साथसाथ सनातन धर्म तथा दर्शनका निम्नलिखित ग्रन्थहरु प्रतिपादन गर्नुभएको थियो–

- विवेकचूडामणि

- उपदेशसाहस्री

- शतश्लोकी

- दशश्लोकी

- एकश्लोकी

- पञ्चीकरण

- आत्मबोध

- अपरोक्षानुभूति

- साधनापञ्चकम्

- निर्वाणशतकम्

- मनीषापञ्चकम्

- यतिपञ्चकम्

वाक्यशुद्धि

- तत्त्वबोध

वाक्यवृत्ति

- सिद्धान्तत्त्त्वबिन्दु

- निर्णुगमानसपूजा

- प्रश्नोत्तररत्नमालिका


(३)स्तोत्र, स्तुति तथा श्लोक रचना

आदिगुरु शंकराचार्यले भगवान शिव, भगवान विष्णु, भगवान विष्णुका अवतारहरु, भगवती देवी, भगवान गणेश तथा सुब्रमण्यका धेरै स्तोत्र, स्तुति तथा श्लोकहरुको रचना गर्नु भएको थियो । ती मध्य केही प्रमुख तथा लोकप्रिय रचनाहरु निम्नानुसार रहेका छन्– 

भगवान शिवका स्तुतिहरु

- कालभैरवाष्टक (१०)

- दशश्लोकी स्तुति (१०)

- दक्षिणमूर्ति अष्टकम्‌ (१०)

- दक्षिणमूर्ति स्तोत्रम्‌ (१९)

- दक्षिणमूर्ति वर्णमाला स्तोत्रम्‌ (१३)

- मृत्युंजय मानसिक पूजा (४६)

- वेदसार शिव स्तोत्रम्‌ (११)

- शिव अपराधक्षमापन स्तोत्रम्‌ (१७)

- शिव आनंदलहरी (१००)

- शिव केशादिपादान्तवर्णन स्तोत्रम्‌ (२९)

- शिव नामावलि अष्टकम्‌ ()

- शिव पंचाक्षर स्तोत्रम्‌ ()

- शिव पंचाक्षरा नक्षत्रमालास्तोत्रम्‌ (२८)

- शिव पादादिकेशान्तवर्णनस्तोत्रम्‌ (४१)

- शिव भुजांगम्‌ ()

- शिव मानस पूजा()

- सुवर्णमाला स्तुति (५०)

 

भगवती आदिशक्तिका स्तुतिहरु

- अन्नपूर्णा अष्टकम्‌ ()

- आनंदलहरी

- कनकधारा स्तोत्रम्‌ (१८)

- कल्याण वृष्टिस्तव (१६)

- गौरी दशकम्‌ (११)

- त्रिपुरसुंदरी अष्टकम्‌ ()

- त्रिपुरसुंदरी मानस पूजा (१२७)

- त्रिपुरसुंदरी वेद पाद स्तोत्रम्‌ (१०)

- देवी चतु:षष्ठी उपचार पूजा स्तोत्रम्‌ (७२)

- देवी भुजांगम्‌ (२८)

- नवरत् मालिका (१०)

- भवानी भुजांगम्‌ (१७)

- भ्रमरांबा अष्टकम्‌ ()

- मंत्रमातृका पुष्पमालास्तव (१७)

- महिषासुरमर्दिनी स्तोत्रम्

- ललिता पंचरत्नम्‌ ()

- शारदा भुजंगप्रयात स्तोत्रम्‌ ()

- सौन्दर्यलहरी (१००)

- नर्मदाष्टक

 

भगवान विष्णु तथा भगवान विष्णु अवतारका स्तुतिहरु

- अच्युताष्टकम्‌ ()

- कृष्णाष्टकम्‌ ()

- गोविंदाष्टकम्‌ ()

- जगन्नाथाष्टकम्‌ ()

- पांडुरंगाष्टकम्‌ ()

- भगवन्मानस पूजा (१०)

- मोहमुद्गार (भजगोविंदम्‌) (३१)

- राम भुजंगप्रयात स्तोत्रम्‌ (२९)

- लक्ष्मीनृसिंह करावलंब (करुणरस) स्तोत्रम्‌ (१७)

- लक्ष्मीनरसिंह पंचरत्नम्‌ ()

- विष्णुपादादिकेशान्त स्तोत्रम्‌ (५२)

- विष्णु भुजंगप्रयात स्तोत्रम्‌ (१४)

- षट्पदीस्तोत्रम्‌ ()

 

भगवान गणेश स्तुतिहरु

- गणेश पंचरत्नम्‌ ()

- गणेश भुजांगम्‌ ()

 

अन्य देवी, देवता तथा तीर्थहरुका स्तुतिहरु

- अर्धनारीश्वरस्तोत्रम्‌ ()

- उमा महेश्वर स्तोत्रम्‌ (१३)

- काशी पंचकम्‌ ()

- गंगाष्टकम्‌ ()

- गुरु अष्टकम्‌ (१०)

- नर्मदाष्टकम्‌ ()

- निर्गुण मानस पूजा (३३)

- मनकर्णिका अष्टकम्‌ ()

- यमुनाष्टकम्‌ ()

- यमुनाष्टकम्‌- ()

bsirjana@gmail.cpm





No comments:

Post a Comment