डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #योग_दर्शन #जीवन_दर्शन
योग साधनाको सन्दर्भमा प्रेरणात्मक प्रसंग
११औं अन्तरराष्ट्रिय योग दिवस मनाउनकालागि तयारी चलिरहेको सन्दर्भमा यांगौन, म्यान्मारस्थित फिनल्याण्ड दूतावासकी तन्दुरुस्त शरीरकी एक हसमुख कुटनीतिक(डिप्लोम्याट) साथी(फिता)ले म(पंक्तिकार, सिर्जना भण्डारी) योग प्रशिक्षक रहेको मेरो पृष्ठभूमि जानेपछि वहाँले कत्तिपनि ढिलो नगरी तुरुन्तै मसंग भन्नुभयो, “मलाई हठ योग सिक्नु छ मेरो शरीरको तौल घटाउन, के तपाईं मलाई सिकाउन सक्नुहुन्छ ?” म मनभित्र मुस्कुराएं किनकी मलाई सक्छु जस्तो लागेन, वहाँको शरीर त्यति हलुका र लचिलो देखिदैन्थ्यो त्यसमाथि विदेशी नागरिक, सनातन अध्यात्म विज्ञानको अत्यन्तै गहन विषय योग दर्शनबारेमा थोरै भएपनि जानकारी छ वा छैन मलाई थाहा थिएन । मैले वहाँलाई सोधें, “तपाईं योग विज्ञानका साधना पद्धतिहरु योगासन, प्राणायाम, ध्यानका सैद्धान्तिक र प्रयोगात्मक अभ्यासकाबारे कत्तिको जानकार हुनुहुन्छ ?” वहाँले हठ योग र अष्टांग योगबारे थोरै पढेको छु र केही अभ्यास पनि गरेको छु तर त्यति धेरै बुझेको छैन । म साधना तथा अभ्यास बढाउन चाहान्छु त्यसैले तपाईंले मलाई योग अभ्यास सिकाइदिनुस् र हठ योग र अष्टांग योगविचको भिन्नता पनि बुझाइदिनुस् कृपया भन्नुभयो । मैले हुन्छ भनें र सबैभन्दा पहिला सरल ढंगले योगको सैद्धान्तिक तथा दार्शनिक ज्ञानबाट शुरु गरें र विस्तारै वहाँलाई योगासन, प्राणायाम र ध्यानको व्यवहारिक तथा प्रयोगात्मक अभ्यासमा लाने प्रयास गरें । यही प्रशिक्षणको केही अंश ११औं अन्तर्राष्ट्रिय योग दिवस, २०२५को सन्दर्भ तथा अवसरमा पाठकहरु समक्ष साझा गर्न सान्दर्भिक लाग्यो ।
विषय प्रवेश
सनातन अध्यात्म विज्ञानमा प्रमुख नौवटा दर्शन रहेका छन् । नौवटा दर्शन मध्य छवटा दर्शन(षटदर्शन)लाई आस्तिक दर्शनको रुपमा लिइन्छ र तीवटा दर्शनलाई नास्तिक दर्शनको रुपमा लिइन्छ । षटदर्शन- सांख्य दर्शन, योग दर्शन, न्याय दर्शन, वैशेषिक दर्शन, पूर्व मीमांसा दर्शन, उत्तर मीमांसा अर्थात वेदान्त दर्शन आस्तिक दर्शन अन्तर्गत पर्दछन् । सनातन वेद ग्रन्थका विषयहरुलाई मान्ने तथा अनुशरण गर्ने भएकाले षटदर्शनलाई आस्तिक दर्शनको कोटीमा राखिएको हो । बाँकी तीनवटा- बौद्ध दर्शन, जैन दर्शन, र चार्वाक दर्शनहरुले वेद ग्रन्थका विषयहरुलाई नमान्ने तथा अनुशरण नगर्ने भएकोले यीनलाई नास्तिक दर्शनको कोटीमा राखिएको छ । सनातन अध्यात्म विज्ञानका छवटा आस्तिक दर्शन मध्यको एक अत्यन्तै महत्वपूर्ण अंग हो योग दर्शन । प्राचीकालदेखि नै सर्वकल्याणका लागि मानव समाजमा योग दर्शनलाई दुई प्रकारले योग साधनाका रुपमा उपयोगमा ल्याइदै आइएको छ– (१)सैद्धान्तिक तथा दर्शनका रुपमा, र (२)व्यवहारिक तथा प्रयोगात्मक अभ्यासका रुपमा ।
सैद्धान्तिक तथा दर्शनका रुपमा
योगको सैद्धान्तिक तथा दार्शनिक बुझाइबाट मनुष्यलाई सांस्कृतिक, धार्मिक तथा आध्यात्मिक बन्नकालागि आवश्यक पर्ने सकारात्मक सोच, विचार, कर्म तथा आचरण, नैतिकता र अनुशासनका तौर–तरिका, नीति–नियम, ज्ञान, विज्ञान आर्जन हुन्छ । योग दर्शनबाट प्राप्त हुने यी ज्ञानहरुले हामीले चेतनशील मानव भएर दैनिक जीवनमा अनिवार्य रुपमा अपनाउनु पर्ने, गर्नुपर्ने, बुझ्नु पर्ने, जान्नु पर्ने तथा मान्नुपर्ने विषयहरुबारे विस्तारमा सुसूचित गराएर हामीलाई आफूले अरुप्रति गर्नुपर्ने सम्यक व्यवहारहरु जसलाई योग दर्शनमा ‘यम’ भनिन्छ; आफूले आफैंप्रति गर्नुपर्ने सम्यक व्यवहारहरु जसलाई ‘नियम’ भनिन्छ; वाहिरी जीवन तथा भौतिक संसारका सुख, सुविधाहरुको भोगमा आशक्त भएका ज्ञान तथा कर्म इन्द्रियहरुलाई आफ्नो वसमा राख्ने तरिका तथा उपायहरु जसलाई ‘प्रत्याहार’ भनिन्छ; र मन तथा चित्तलाई आवश्यक विषयहरुमा एकाग्र गरेर मानसिक रुपमा स्थिर र शान्त रहन सक्ने तरिका तथा उपायहरु जसलाई धारणा भनिन्छ आदिबारे जानकारी गराउँदछ। योग दर्शनले यम, नियम, प्रत्याहार, धारणा र यससंग सम्वन्धित व्यवहार अनुशरण गर्नुपर्ने आवश्यक र महत्वपूर्ण सुत्रहरु सिकाएर मनुष्यलाई सत्यनिष्ठ, धर्मनिष्ठ, नैतिकवान, अनुशासित, कर्तव्यनिष्ठ, उत्तरदायी तथा जिम्मेदार नागरिक बन्न मद्धत गर्दछ ।
व्यवहारिक तथा प्रयोगात्मक अभ्यासका रुपमा
छोटकरीमा योगको शाव्दिक र क्रियात्मक अर्थ तथा तात्पर्य एक चिजसंग अर्को चिजलाइ जोड्नु भन्ने हो । योग साधनाको व्यवहारिक तथा प्रयोगात्मक अभ्यासले योग शास्त्रका व्यवहारिक प्रयोगका विधिहरु (योगासन, प्राणायाम, मुद्रा, ध्यान)को प्रयोगात्मक साधनाका माध्यमबाट मनुष्य शरीर तथा स्वास्थ्यका चार आयामहरु– शारीरिक शरीर/स्वास्थ्य, मानसिक शरीर/स्वास्थ्य, भावनात्मक शरीर/स्वास्थ्य, आत्मिक अर्थात चेतनात्मक शरीर/स्वास्थ्यलाई एकआपसमा योग गर्दै(जोड्दै) आरोग्य, निरोगी तथा स्वस्थ राख्न मद्धत गर्दछन् । जस्तोकि शरीरले एउटा काम गरिरहेको छ तर मन अरु विषयहरुमा विचरण गरिरहेको छ भने यो शरीर र मनको योग भएन, वियोग भयो । त्यस्तै मन तथा विचारले कोही व्यक्तिप्रति आफू राम्रो भएर मिठो बोलेको अभिनयवाला व्यवहार गरिरहेको छ तर भित्रबाट उसलाई गाली गरिरहेको छ भने यो मन र भावनाको योग भएन, वियोग भयो । शरीर, मन, भावनामा देखिएको यसप्रकारको वियोग नै हाम्रा सबै प्रकारका समस्या तथा अस्वस्थताहरुको मूलकारण हो किनकी यस्तो मान्छे वर्तमान क्षणको आनन्द लिनु भन्दा विगतका नराम्रा स्मृतिहरू र भविश्यको अनिश्चित भय तथा असुरक्षाका नकारात्मक सोच, विचार तथा भावमा जीवन जिरहेको हुन्छ । नकारात्मक सोच, विचार तथा भावहरु नै सबै प्रकारका समस्या तथा रोगहरुको जननी हो भनेर अध्यात्म विज्ञान, आधूनिक मनोचिकित्सा विज्ञान र आधूनिक चिकित्सा विज्ञानका पूराना तथा नयाँ-नयाँ वैज्ञानिक अध्ययन, अनुसन्धान तथा खोजहरुले प्रमाणित गरिसकेका छन् धेरै अघिदेखि नै । सनातन अध्यात्म विज्ञानमा उल्लेखित योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुले विविध कारणहरुले मनुष्यको शरीर, मन, भावना र आत्मा अर्थात चेतनामा आएको वियोग र वियोगका कारण शरीर, मन, भावना, आत्मा अर्थात चेतनामा लागेका रोग तथा समस्याहरुको समाधान गर्न प्रत्यक्ष रुपमा मद्धत गर्दछ किनकी योग साधनाको प्रमुख उद्देश्य हाम्रो शरीरलाई मनसंग, मनलाई भावनासंग, भावनालाई आत्मासंग र आत्मालाई परमात्मासंग योग गराएर अन्तत्वगत्वा मनुष्यलाई मोक्ष तथा निर्वाणमा स्थित गराउनु हो । यस अर्थमा योग साधना मोक्ष तथा निर्वाणको प्रमुख मार्ग हो तसर्थ योग साधना गरौं वियोगको समस्याबाट वाहिर आउँं र शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक तवरले पूर्णतः आयरोग्य योगी भएर मोक्षको मार्गमा हिडौं र मोक्षको अधिकारी बनौं ।
योग, योग साधनाका प्रकार र भिन्नता
@@संस्कृत वांगमयमा सर्वाधिक प्रयोग गरिएको ‘योग’ शव्दको शाव्दिक अर्थ हो एक चिजसंग अर्को चिजलाई जोड्नु । जस्तो कि, शरीरले जे काम गरीरहेको छ मनले पनि त्यही कामबारे सोच्नु तथा त्यसैमा आफ्नो मनलाई केन्द्रित गर्नु शरीर र मनको योग हुनु हो । प्राचीनकादेखि विभिन्न कालखण्डमा तत्कालीन मानव समाजको आवश्यकता, उपयोगिता, अवस्था र परिस्थितिलाई मध्यनजर गरेर धेरै प्रकारका योग साधनाका विधि तथा पद्धतिहरु प्रतिपादन गरिएका थिए । सांसारिक मुक्ति तथा पारमार्थिक मोक्ष प्राप्तिका योगका धेरै प्रकारहरुमध्य मानिसको दैनिक जीवनयापन तथा व्यावहारमा उपयुक्त मानिएका प्रमुख सात प्रकारका योग साधनाहरु बढि प्रचलनमा रहेका पाइन्छन्– (१)कर्म योग, (२)तन्त्र योग, (३)हठ योग, (४)भक्ति योग, (५)ज्ञान योग, (६)ध्यान योग, र (७)सांख्य योग । यी सातमध्य श्रीमद् भगवद् गीतामा भगवान श्रीकृष्णले कर्म योग, भक्ति योग र ज्ञान योग सबैकालागि उपयुक्त रहेको मान्यता राख्दै यी तीन योगलाई अनुशरण गर्न मानव समाजलाई बढि जोड दिनुभएको छ । तर पछिल्लो समय सांसारिक मुक्ति तथा पारमार्थिक मोक्ष प्राप्त गर्ने साधनाको मार्गमा सबैकालागि उपयुक्त हुने ध्यान योगलाई बढि व्यवहारिक अभ्यासमा प्रयोग गरिदै आइएको पाइन्छ किनकी सबै प्रकारका योगका साधनाहरुको आत्यन्ति उद्देश्य साधकलाई धारणा, ध्यान र समाधि हुदै मोक्षसम्म पुर्याउनुनै हो । योगका प्रकारहरुमध्य मोक्षको मुमुक्षा राख्ने सबै प्रकारका साधकहरुका लागि ध्यान योग सहज र प्रभावकारी पनि मानिदै आइएकाले वर्तमान समयमा प्रमुख सात प्रकारका योगहरु मध्य ध्यान योग साधनालाई अझ बढि महत्व तथा प्राथमिकता दिइएको पाइन्छ । माथि उल्लेखित योगका प्रकारहरुमा पतंजलि योग(पतंजलि योग, योग सुत्र र अष्टांग योग एउटै ग्रन्थका फरक–फरक नाम हुन्)को अलग्ग जिकिर गरिएको छैन तर आज विश्वमा सैद्धान्तिक र व्यवहारिक तथा प्रयोगात्मक अभ्यासहरुमा सर्वाधिक रुपमा अनुशरण गर्दै आइएका योग साधनाका विधि तथा पद्धतिहरु पतंजलि योगकै नामबाट प्रचलित तथा लोकप्रिय भएका छन् । पतंजलि योग अर्थात अष्टागं योग साधनाका विधि तथा पद्धतिहरुमा प्राय हठ योगमा उल्लेखित योगासन, प्राणायाम, मुद्रा तथा अन्य विधि तथा पद्धतिहरुको अनुशरण गर्दै आइएको पाइन्छ ।
अष्टांग योगमा हठ योथ तथा अन्य योगका विधि तथा पद्धतिहरुको प्रयोग गरिनु कुनै आश्चर्यको विषय होइन किनकी अष्टागं योग सबै प्रकारका योगहरुको मूलसार हो, यसमा हठ योग लगायत अन्य प्रकारका योगका विधि तथा पद्धतिहरुलाई समावेश गर्दै आइएको छ । अष्टांग योगको प्रशिक्षणमा कुन योगको, कुन विधि तथा पद्धति, कसरी प्रयोग गर्ने भन्ने विषय योग गुरुको विद्वता तथा क्षमता र शिष्यको पात्रता तथा मुमुक्षत्वमा निर्भर गर्दछ । यस अर्थमा अष्टागं योग र हठ योग एकदम फरक तथा विपरीत विद्या होइनन् किनकी महर्षि पतंजलिले अष्टांग योग ग्रन्थको रचना गरिसक्नु भएपछि ग्रन्थमा समावेश गरिएका विषयहरुलाई कसरी व्यवहारमा तथा प्रयोगगात्मक अभ्यासमा अनुशरण गर्ने तथा “स्थिरम सुखम आसनम” अर्थात ध्यानमा सहजै प्रवेश गर्नकालागि निश्चित समयकालागि आसन(ध्यान साधनामा) स्थिर गराउन के कस्ता योगासन, प्राणायाम, मुद्रा तथा अन्य विधिहरुको अभ्यासहरु गर्नुपर्छ भनेर महर्षि पतंजलिलाई प्रयोगात्मक अभ्यास गरेर देखाइदिन गरिएको अनुरोधमा वहाँले आफूलाई पातलो मलमलको पर्दाभित्र राखेर एक शव्द नबोलीकन र दर्शदिर्घातिर समेत नहेरीकन खुरुखुरु निरन्तर हठ योग लगायत अन्य योगका योगासन, प्राणायाम, मुद्रा तथा अन्य विधिहरु अभ्यास गरेर देखाएर(डेमो) कसैसंग नबोली साधना कक्षबाट निस्कनु भएको थियो भन्ने विभिन्न सन्दर्भ ग्रन्थहरुमा उल्लेख गरिएको पाइन्छ । वास्तविकताको चुरो यस्तो हुदाहुदै पनि आम बुझाइमा अष्टांग योग र हठ योग फरक–फरक योग साधनाका विद्याहरु हुन् भन्ने आमबुझाइ रहदै आएको छ । यसकारण सर्वप्रथम हामीले यो बुझ्न आवश्यक छ कि अष्टांग योग छुट्टै योगको प्रकार तथा रचित ग्रन्थ नभएर यो सबै योगका प्रकारहरुमा छरिएर अपूर्ण अवस्थामा रहेका योग साधनाका महत्वपूर्ण र व्यवहार उपयोगी ज्ञान, विज्ञानहरुलाई संकलित गरि एकसुत्रमा बाधेर पूर्णता प्रदान गरेर मोक्षको मुमुक्षा राख्ने साधकहरुकालागि सरलता, सहजता र सफलता प्रदान गर्न गरिएको महानतम प्रयास हो महर्षि पतंजलिको र वहाँको यो प्रयास सर्वाधिक सफल तथा उपलव्धिमूलक सावित भैसकेको पनि छ । वर्तमान समयमा अष्टांग योगको सैद्धान्तिक र व्यवहारिक तथा प्रयोगात्मक अभ्यास सनातन हिन्दु धर्म तथा सम्प्रदायमा मात्र नभएर विश्वका अन्य धर्म तथा सम्प्रदायहरुमा समेत लोकप्रिय र व्यवहार उपयोगी सावित भएको छ । यसैकारण वर्तमान समयमा विश्वव्यापि रुपमा अष्टांग योग सबै प्रकारका योग साधकहरुकालागि व्यवहार उपयोगी र सर्वाधिक लोकप्रिय ग्रन्थ बन्दै गैरहेकोछ किनकी पतंजलि योग सबै प्रकारका योगहरुमा छरिएर रहेका अपूर्ण ज्ञान, विज्ञानका साधना पद्धतिहरुको एकमुष्ट स्वरुप पूर्ण ज्ञान प्रदान गर्ने महाग्रन्थ हो । यद्धपि हठ योग र अष्टांग योग दुइ फरक–फरक महापुरुषहरुबाट फरक–फरक कालखण्डमा प्रतिपादित ज्ञान भएको हुदा प्राथमिकताका आधारमा यी दुई योगविच मोक्षमा उपलव्ध हुनकालागि काया शुद्धी र चित्त शुद्धी तथा यससंग सम्वन्धित अन्य विषयहरुका सन्दर्भमा केही भिन्नता र समानताहरु अवश्य रहेका छन् ।
अष्टांग योग र हठ योगविच भिन्नता र समानता
हठ योग र अष्टांग योग सनातन षडदर्शन मध्यको एक योग दर्शनका श्रृंखला तथा कडीहरु हुन् र यी फरक तथा विपरीत विद्या होइनन् किनकी अष्टांग योग सबै प्रकारका योगहरुका साधना विधि तथा पद्धतिहरु संकलन गरेर एउटै ठाउँमा हुनेगरि तयार गरिएको सम्युक्त स्वरुप(कम्पाइल्ड भर्सन) को ग्रन्थ हो, तसर्थ अष्टांग योग र हठ योग एकआपसमा फरक हुन् तथा एकआपसका प्रतिद्वन्दी हुन भनेर बुझ्नु गलत हुन्छ । ततपश्चात यी दुवै योग फरक-फरक स्रष्टाबाट फरक-फरक कालखण्डमा प्रतिपादित गरिएका ज्ञान ग्रन्थ भएकाले यीनले प्रदान गरेका प्राथमिकता विषयहरुका आधारमा हठ योग र अष्टांग योगविचको व्याख्यालाई सुक्ष्म रुपमा बुझेर फरक हुन् भन्ने भाव तथा मत विलकुल नराखिकन यसबारे आफैंले मनन् गर्नु वुद्धिमानी हुन्छ ।
अष्टांग योग र यस अन्तर्गतका विषयहरु
अष्टांग योगको प्रारम्भ वेदको प्रादुर्भाव संगसंगै भएको मानिन्छ । जहिलेबाट वेद शुरु भयो त्यही समयबाट नै योगको ज्ञान पनि मानव कल्याणकालागि सिद्धान्त र व्यवहारमा ल्याउन शुरु गरिएको हो भनिन्छ । अष्टांग योग ग्रन्थको प्रतिपादन भगवान् श्रीहरि विष्णुका शैया वाहन भगवान श्रीशेषनागका मनुज(मनुष्य) अवतार महर्षि पतंजलिले इशापूर्व २००(कतै५०० पनि भनिएकोछ) मा गर्नुभएको हो र अष्टांग योग सुत्रगत रुपमा प्रस्तुत गरिएको सबै प्रकारका योगहरुको सार समेटिएको महर्षि पतंजलिद्वारा रचित मौलिक ग्रन्थ नभएर संकलित ग्रन्थ हो । सुत्रगत(संक्षिप्त) रुपमा रचना गरिएको अष्टांग योग ग्रन्थ चारपाद(च्याप्टर)– समाधिपाद, साधनपाद, शिद्धिपाद, कैवल्यपादमा विभाजित छ र चारपादमा १९५वटा सुत्र समाविष्ट रहेकाछन् । सुत्रगत रुपमा लेखिएको सांकेतिक अर्थ लाग्ने अष्टांग योगको सहि किसिमले भाष्य तथा परिभाषा गरेर त्यसको सही प्रकारले सैद्धान्तिक तथा व्यवहारिक प्रयोग गर्न सिद्ध योग गुरु र पूर्ण पात्रता भएको शिष्यको आवश्यकता पर्दछ किनकी महर्षि पतंजलिले यो ग्रन्थ छोटकरीमा सुत्रगत तथा संक्षिप्त रुपमा थोरै सुत्रमा धेरै विषयहरु समेटीने गरि रचना गर्नु भएको छ । अष्टांग योगमा प्रयोगात्मक अभ्यासका विषयहरु आसन, प्राणायाम, ध्यान भनिएको छ प्राथमिकताकासाथ तर साधनाका कस्ता विधि तथा पद्धतिहरु कसरी, कसले गर्ने भन्नेबारे व्याख्या गरिएको छैन । महर्षि पतंजतिले वुद्धिमत्तापूर्वक सुत्रगत रुपमा रचना गरेर त्यस अगाडिको उपयुक्त व्याख्या गर्ने काम उपयुक्त गुरु र शिष्यलाई छोडदिनु भएको छ । तसर्थ विद्वत वर्गहरुद्वारा पतंजलि योगको सही भाष्य तथा परिभाषा भयोकी भएन भन्ने विषय अष्टांग योगको प्रशिक्षण दिने गुरुको विद्वता तथा क्षमता, शिष्यको पात्रता तथा मुमक्षता र गुरु–शिष्यविचको सहकार्यता तथा सम्वन्धमा भर पर्दछ भन्दै आइएको पाइन्छ ।
मनुष्यको सांसारिक मुक्ति तथा पारमार्थिक मोक्षकालागि ध्यान योगको महत्व र प्रभावकारीतालाई केन्द्रमा राखेर ध्यान योग साधनाको माध्यमबाट मुक्ति तथा मोक्ष प्राप्तिको साधना मार्ग सहज तथा सरल गराउने उद्देश्यले महर्षि पतंजलिले सबै प्रकारका योग साधनाहरुबाट राम्रा, उपयोगी तथा व्यवहारिक र अत्यावश्यक विषयहरुको संकलन गरेर उपयोगी जीवन दर्शन, प्रयोगात्मक विधि तथा पद्धतिहरुलाई एकै सुत्रमा बाध्ने उद्देश्यले पतंजलि योगसुत्र ग्रन्थको प्रतिपादन गर्नुभएको हो । पतंजलि योगसुत्रमा योग साधनालाई सहज प्रक्रियाबाट अगाडि बढाउन सजिलो पार्ने उद्देश्यले महर्षिले समग्रमा योग साधनाका विधिहरुलाई सुत्रगत रुपमा आठ अंगमा विभाजन गर्नुभएको छ योग साधनाको सींढीका रुपमा– वहिरंग अंग(१)यम, (२)नियम, (३)आसन, (४)प्राणायाम, (५)प्रत्याहार; र अन्तरंग अंग (६)धारणा, (ठ)ध्यान, (८)समाधि । जीवनमा पूर्ण आरोग्ता, मुक्ति तथा मोक्ष प्राप्तिको दृष्टिकोबाट सैद्धान्तिक ज्ञान तथा दर्शनकालागि अष्टांग योगका आठ अंगमध्य (१)यम, (२)नियम, (५)प्रत्याहार यी तीन वहिरंग(आफूभन्दा वाहिर गरिने प्रयास)अंगअरु बढि उपयोगी, महत्वपूर्ण तथा व्यवहारीक मानिएका छन् ।व्यवहारिक तथा प्रयोगात्मक अभ्यासकालागि आठ अंगमध्य (३)योगासन, (४)प्राणायाम, (६)धारणा यी तीन अंगहरु बढि उपयोगी, महत्वपूर्ण तथा व्यवहारीक मानिएका छन् । (७)ध्यान, र (८)समाधि यी दुई अंग अगाडिका छ अंगहरुको सही ढंगले निष्ठापूर्वक साधना गरेपछि हासिल हुने अध्यात्म साधनाका गहन तथा नितान्त आन्तरिक(अन्तरयात्रा अर्थात आफूभित्र गरिने प्रयास) अवस्थाहरु हुन् जहाँबाट मनुष्यको जीवनमा वास्तविक मुक्ति तथा मोक्षको यात्रा प्रारम्भ हुन्छ । योग साधनालाई यसरीआठ अंग तथा सिंढीमा विभाजन गरिएको कारण पतंजलि योगसुत्रलाई अष्टांग योग भनिएको हो । वर्तमान समयमा विश्वव्यापि रुपमा योग साधनाका प्रमुख तीन अंग– योगासन, प्राणायाम र ध्यान साधनाका व्यवहारिक तथा प्रयोगात्मक अभ्यास बढि गर्दै आइएका छन् र यीनै तीन अंगहरु नै योग साधनाका वैज्ञानिकतामा आधारीत विधि तथा पद्धतिका रुपमा चिनिदै, लोकप्रिय बन्दै र क्रमशः स्थापित हुदै गैरहेका छन् । सबै प्रकारका योग साधनाका राज-राज(प्रमुख) विषयहरु समेटीएकोले स्वामी विवेकानन्दले पतंजलि योग अर्थात अष्टांग योगलाई राज योगको सम्वोधन दिएर पंतजलि योगलाई अझ उच्च र महत्वपूर्ण दर्जा प्रदान गर्नुभएको छ जसकाकारण आज विश्वभरि नै पतंजलि योग फैलिदै र लोकप्रिय बन्दै गैरहेको छ र व्यापक रुपमा पतंजलि योगका वैज्ञानिकतामा आधारीत योग साधनाका सिकाइहरू(साधनाका विधि तथा पद्धति)लाई सैद्धान्तिक र व्यवहारिक तथा प्रयोगात्मक अभ्यासका रुपमा अनुशरण गरिदै आइएको छ ।
चित्त शुद्धी तथा चित्तका वृत्ति तथा विकार
महर्षि पतंजलिले अष्टांग योगमा मनुष्यको सांसारिक मुक्ति तथा पारमार्थिक मोक्षको मार्ग सहज गर्नकालागि मनुष्यको चित्त(अन्तःकरण– मन, वुद्धि, अहंकार; अन्तर अंग पनि भनिन्छ) शुद्धीकरणमा सबैभन्दा बढि प्राथमिकता प्रदान गर्नुभएको छ र हठ योगले सबैभन्दा बढि प्राथमिकता प्रदान गरेको काया(शरीर) शुद्धीकरणलाई दोस्रो प्राथमिकतामा राख्नु भएको छ । महर्षि पतंजलिका अनुसार(संस्कृतमा) “‘योगश्चित्तवृत्तिनिरोधः’ अर्थात मन(चित्त)का चन्चल(विकार, भोगाशक्ति) वृत्ति(प्रकृति, स्वाभाव)हरुलाई नियन्त्रण तथा निरोध गरेर अर्थात रोकेर चित्तलाई शुद्ध र स्थिर बनाउनु नै वास्तविक योग हो । जव मानिसको मन तथा चित्त शुद्ध तथा स्थिर हुन्छ तव उसको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक अवस्था क्रमशः स्वस्थ तथा निरोगी हुदैजान्छ र उ मुक्ति तथा मोक्षकालागि आवश्यक सबै प्रकारका अध्यात्म साधना तथा योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुलाई सैद्धान्तिक र व्यवहारिक रुपमा अनुशरण गर्न तथा प्रयोगात्मक अभ्यास गर्न सक्षम हुन्छ ।” महर्षि पतंजलिले अष्टांग योग ग्रन्थमा सुत्रगत तथा संक्षिप्त रुपमा योगको ज्ञान दिने क्रममा मानिसको मेरुदण्ड, श्वास–प्रश्वास र मन तथा चित्तको स्थिरतालाई प्राथमिकताकासाथ जोडदिनु भएको छ र मेरुदण्ड स्वस्थ, शुद्ध तथा सक्रिय राख्न योगासनका विधिहरु; श्वास–प्रश्वास तथा नाडी(प्रमुख तीन नाडी– इडा, पिंगला, सुषुम्ना)हरु स्वस्थ, शुद्ध तथा सक्रिय राख्न प्राणायाम, मुद्रा तथा क्रियाका विधिहरु; र मन तथा चित्तलाई स्वस्थ, शुद्ध तथा सक्रिय राख्न धारणा तथा ध्यानका विधिहरुका व्यवहारिक तथा प्रयोगात्मक अभ्यासहरु दैनिक जीवनमा निष्ठापूर्वक अनुशरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
मनुष्यको चेतना, ज्ञान तथा कर्म इन्द्रियहरुको माध्यमबाट वाहिरी अर्थात भौतिक संसारका वस्तु तथा सेवाका सुख, सुविधाहरुको भोगतिर छरिएको हुनाले उसको चित्तमा अनेक प्रकारका विकार, विकृति, बेचैनी तथा चन्चलताहरु आउने गर्दछन् । मनुष्यको प्राकृतिक गुणकाकारण प्राय सबै मनुष्यहरुमा चित्तका यस्ता वृत्ति, विकार तथा विकृतिहरु स्वतः आउने गर्दछन् र यसलाई अत्यन्तै सामान्य अवस्था मानिन्छ किनकी यो प्राकृतिक प्रक्रिया हो सबै मनुष्यहरुमा घटित हुन्छ अर्थात जीवनमा सबै मनुष्यहरु यो परिस्थितिबाट गुज्रिएका हुन्छन् । चित्तका यीनै वृत्ति, विकार, विकृति तथा चन्चलताहरुका कारण मनुष्यको मन तथा चित्त इन्द्रियहरूका माध्यमबाट वाहिरी संसारमा भड्किएको तथा छरिएको कारण उसले आफ्नो दैनिक जीवनयापनमा अनेक प्रकारका दुःख, समस्या, चुनौति, रोग, भोक, शोक, विपन्नता, खराव सम्वन्ध र अन्य प्रकारका असहजता तथा अप्ठ्याराहरुको सामना गर्नु पर्दछ । यस्ता विकार तथा विकृतिमा फसेको चित्तको सही ढंगले शुद्धी नगरी कुनैपनि मनुष्य स्वस्थ, शुद्ध, सक्रिय, समृद्ध, सुखी, खुशी, शान्त, आनन्दित हुन सक्दैन । अष्टांग योगका आठवटै अंगहरुको सैद्धान्तिक तथा व्यवहारिक साधनाको माध्यमबाट चित्त शुद्धी गरेर चित्तका वृत्तिहरुका कारण उत्पन्न भएका दुःखहरुबाट निजाद(मुक्ति) प्राप्त गरि योग साधनाको मार्गमा अझ अगाडि बढ्दै अन्तत्वगत्वा मोक्षमा उपलब्ध हुन सकिन्छ ।
अष्टांग योगको साधना
अष्टांग योग साधनाको माध्यमबाट शरीर, मन, भावना, चित्त, वुद्धि, अहंकार सबै वहिर अंग तथा अन्तर अंगहरुको शुद्धीकरण भएपछि मात्र मनुष्य अध्यात्म साधनाको आफ्नो अन्तिम लक्ष्य ध्यान, समाधि, मोक्ष, निर्वाण तथा कैवल्यमा पुग्न सक्षम हुन्छ । महर्षि पतंजलिका अनुसार अध्यात्म साधनाको आत्यन्तिक लक्ष्यमा पुग्नकालागि साधकले सर्वप्रथम अष्टांग योगको पहिलो अंग यमको निष्ठापूर्वक आफ्नो दैनिक जीवनमा अनुशरण गरेर सामाजिक रुपले आफू पूर्णरुपमा शुद्ध, स्वस्थ तथा सक्रिय हुनु आवश्यक हुन्छ । हरेक मनुष्यले समाजप्रतिको आफ्नो धर्म, कर्तव्य तथा उत्तरदायित्व निभाउनुपर्छ र सक्दो राम्रो समाजको निर्माण गर्नुपर्दछ । यसकालागि यमका उपअंगहरु– अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य, अपरिग्रहका उपाय तथा विधिहरुलाई निष्ठापूर्वक आफ्नो दैनिक जीवनमा अनुशरण गर्नुपर्दछ । समाजलाई स्वस्थ बनाउनुकासाथै मनुष्यले आफूलाई पनि पुर्णरुपमा शुद्ध, स्वस्थ तथा सक्रिय बनाउनु पर्दछ । यसकालागि अष्टांग योगको दोस्रो अंग नियमको निष्ठापूर्वक आफ्नो दैनिक जीवनमा अनुशरण गरेर व्यक्तिगत रुपले आफू पूर्णरुपमा स्वस्थ तथा शुद्ध हुनु आवश्यक हुन्छ । आफू पूर्णरुपमा शुद्ध, स्वस्थ तथा सक्रिय रहनकालागि नियमका उपअंगहरु- सौच, सन्तोष, स्वाध्याय, ईश्वर प्रणीधानका उपाय तथा विधिहरुलाई निष्ठापूर्वक आफ्नो दैनिक जीवनमा अनुशरण गर्नुपर्दछ । यसरी समाज र आफू स्वयं शुद्ध भएपछि बल्ल उ आसन अर्थात योगासन र प्राणायामका विधि तथा पद्धतिहरुको प्रयोगात्मक अभ्यासमा सहज रुपमा प्रवेश गर्न सक्दछ । योग साधनाको प्रभावकारीताका लागि यम, नियमको अनुशरणसंगै योगासनको अभ्यासको माध्यमबाट शरीर शुद्धी र प्राणायामको अभ्यासको माध्यमबाट सुक्ष्म शरीरमा रहेका नाडीहरूको शुद्धी गरेर ध्यान साधनामा स्थिरता ल्याउन आसन सिद्धि गर्नु अनिवार्य हुन्छ । योगका आसनहरूबाट शरीरलाई स्वस्थ, शुद्ध तथा सक्रिय राखेर आसन सिद्ध भएपछि मात्र साधक स्थिर भएर लगातार निश्चित समयावधिका लागि एउटै आसनमा बसेर धारणा, ध्यान तथा समाधिका साधना प्रयोगात्मक अभ्यासहरु गर्न र आफ्नो आध्यात्मिक विकास गर्न सक्षम हुन्छ ।
आसन सिद्धिपछि प्रत्याहारको माध्यमबाट इन्द्रिय निग्रह गरेर तथा इन्द्रियहरूलाई नियन्त्रण गरेर वहिरमुखी भएको इन्द्रिय वृत्ति अथवा वाहिरका भौतिक वस्तुहरूको वस्तु, सेवा तथा सुविधाहरुको सुखभोगको विषयमा आशक्त भएर छरिएको आफ्नो चित्त तथा चेतनालाई त्यहाँबाट हटाएर अन्तर्मुखी गराएर अर्थात आफूतिर फर्काएर इन्द्रियहरूलाई सम्यमित बनाउनु पर्दछ तवमात्र साधक योग साधनाको माध्यमबाट आफ्नो आत्यन्तिक लक्ष्य धारणा, ध्यान, समाधि हुदै मोक्षमा पुग्न सक्षम हुन्छ । अन्यथा सफल हुन सक्दैन किनकी वाहिरको भौतिक संसारमा केवल दुःख मात्र छ । मनुष्यका इच्छा, आकांक्षाहरु अनन्त छन्, उसको मन वाहिरका तथा भौतिक संसारका वस्तु, सेवा, सुविधाहरुको श्रींखलावद्ध भोगप्रति आशक्त भैरहन्छन्, भोगमा आशक्तिका कारण पलपल उ आफूबाट टाढा हुदैजान्छ र चाहेर पनि आफूतिर फर्कन सक्दैनन् । इच्छाको आशक्ति यतिसम्म गहिरो हुन्छकि एउटा वस्तु तथा विषय प्रतिको इच्छा पूरा भएपछि फेरी तुरुन्त अर्को इच्छाको जन्म हुन्छ र त्यस इच्छाप्रति भोगको आशक्तिको तिब्रता निरन्तर बढ्दै जान्छ र मनुष्य चाहेर या नचाहेर वहिरजगतको भूलभूलैयामा हराइरहन्छ, विस्तारै आफूतिर फर्कने बाटोनै बिर्सन्छ र यही अवस्थामै उसको अमूल्य जीवनको आयु सकिन्छ, जन्म-मृत्युको चक्रवाट मुक्ति तथा मोक्ष प्राप्तिको विषय समेत उसको जानकारीमा आउदैन त्यसको अभ्यास त निकै परको कुरा हुन्छ । मनुष्यले इच्छ्याएको कुरा तथा विषय प्राप्त गरेपछि उसलाई क्षणिक सुख, खुशी, शान्ति, आनन्द त आउछ तर भ्रम, अनित्य तथा मायायुक्त संसार तथा त्रीगुणमयि(सत्व, रजस, तमस) प्रकृतिको अकाट्य नियम छ क्षणिक सुख, खुशी, शान्ति, आनन्द आएपछि दुःख पनि त्यससंगसंगै अवश्य आउछ-आउछ । यसप्रकार मनुष्य मन तथा चित्तका चन्चल वृत्तिहरुकाकारण अनन्त इच्छाहरुको प्राप्तिकालागि बाचुन्जेल भौतिक संसारमा भौतारीरहन्छ तर उसले आफ्नो अमूल्य जीवनकालागि उपयोगी हुने गुढतत्व अर्थात मृत्यु पर्यन्त पनि आत्मा अर्थात चेतनासंगै जाने र आफूलाई जन्म- जन्मान्तरका लागि उपयोगी हुने ज्ञान- आत्मज्ञान, तत्वज्ञान तथा ब्रम्हज्ञान केही प्राप्त गर्न सक्दैन किनकी भौतिक संसार केवल माया, भ्रम, अनित्य र असत्य छ; सत्य र नित्य केवल आन्तरीक विकास तथा आत्मज्ञानबाट प्राप्त परमशान्ति तथा परमानन्दबाट मात्र प्राप्त गर्न सकिन्छ र जीवनमा परमशान्ति तथा परमानन्द अष्टांग योग साधनाका वैज्ञानिकतामा आधारित विधि तथा पद्धतिहरुको निष्ठापूर्वक अनुशरणबाट मात्र सहज र सम्भव हुनसक्छ । यसकाराण अष्टांग योग सबैकालागि उपयोगी, व्यवहारीक र विश्वव्यापि रुपमा लोकप्रिय भएको हो भन्नेमा कसैको दुइमत रहेको छैन ।
हठ योग र यस अन्तर्गतका विषयहरु
हठ योगको प्रारम्भ भगवान शिव र माता पारवतीबाट भएको हो र हठ योगलाई व्यवहारीक उपयोगमा मानव समाजमा उपयोगमा ल्याउन व्यवस्था बसाल्ने तथा संस्थापन गर्ने महान कार्यको श्रेय भगवान शिवका अवतार आदिनाथका शिष्य मच्छिन्द्रनाथ(इशाको ९औं शताव्दी) र मच्छिन्द्रनाथका शिष्य श्रद्धेय गुरु गोरखनाथलाई जान्छ । गुरु गोरखनाथले शिव संहिता अन्तर्गत रहेर इशाको १०औं शताव्दीमा घेरण्ड संहिता ग्रन्थको रचना गरेर हठ योगको ज्ञान सबै समक्ष पुर्याउने महान योगदान गर्नुभएको थियो । नाथ सम्प्रदायका पछिल्ला पिढी योगी स्वआत्मारामद्वारा इशाको १५औं शताव्दीमा रचना गरिएको ग्रन्थ हठ योग प्रपिदिकामा हठ योगका अतर्गत पर्ने योगासन, प्राणायाम, मुद्रा तथा अन्य साधनाका विधिहरूको सन्दर्भमा हठ योग साधनाका व्यवहारीक तथा प्रयोगात्मक अभ्यासबारे विस्तृतमा उल्लेख गरिएको छ ।
‘हठ’ भन्नाले सामान्य परिभाषा अनुसार कुनै चिज हठपूर्वक तथा जिद्धि भएर हासिल गर्छु भनेर संकल्प गर्नु र इच्छ्याएको कुरा प्राप्त गर्नु भन्ने बुझिन्छ । योग साधनाको सन्दर्भमा पनि हठ भन्नाले योग साधनाका वैज्ञानिक क्रिया, विधि तथा पद्धतिहरुलाई दैनिक जीवनमा निष्ठापूर्वक प्रयोगात्मक तवरले अभ्यास तथा अनुशरण गरेर ध्यान, समाधि, मोक्ष प्राप्त गर्छु तथा राजयोगमा स्थित हुन्छु भन्ने जिद्धि तथा हठ गरेर शरीरलाई साधनामा लगाउनु तथा तपाउनु भन्ने सामान्य तथा सङ्कुचित परिभाषा रहेको छ तर हठ अर्थात ‘ह’ र ‘ठ’ योगको गहन योगीक तथा प्राविधिक अर्थ र परिभाषा निकै फरक, फराकिलो तथा व्यापक रहेको छ । हठ योग तन्त्र विद्यालाई अनुशरण गर्ने अध्यात्म विज्ञानको महत्वपूर्ण तथा अत्यन्तै प्रभावकारी साधना पद्धति हो । हठ योगले मोक्षमा उपलव्ध हुनकालागि काया तथा स्थुल शरीरको शुद्धीलाई सबैभन्दा बढि प्राथमिकतामा राखेको छ र काया शुद्धीकालागि षटकर्म(धोति, वस्ति, नेति, नौलि, त्राटक, कपालभाति) का व्यवहारिक तथा प्रयोगात्मक अभ्यासमा विशेष जोड दिएको छ । हठ योगका अनुसार काया तथा शरीर शुद्धीबिना ध्यान, समाधि तथा मोक्षमा पुग्न कसैगरि पनि सकिदैन किनकी “शरीर माध्यम खलु धर्म साधनम” अर्थात शरीरनै सबै धर्म साधनाको प्रमुख माध्यम हो । मनुष्यको शरीर शुद्ध तथा स्वस्थ छैन भने विचार पनि स्वस्थ तथा शुद्ध हुन सक्दैनन् तसर्थ अध्यात्म साधनामा अगाडि बढ्नकालागि सबैभन्दा पहिला शरीर शुद्ध हुनु अत्यावश्यक हुन्छ । शरीर शुद्ध भएपछि मात्र सुक्ष्म शरीरका नाडीहरु पनि शुद्ध हुन्छन् । शरीर र नाडी शुद्ध भएपछि मात्र सोच, विचार, मन, भाव, चित्त पनि शुद्ध हुन्छन् र सकारात्मक तथा उच्च विचार, सदविचार र सदर्कर्म गर्न सकिन्छ र मोक्षमा पुग्न मद्धत मिल्दछ ।
हठ योगमा यम, नियम छैन, हठ योगका क्रियाहरु योगासन, प्राणायाम र मुद्राबाट प्रारम्भ हुन्छन् र यीनै साधनाहरुले काया शुद्धी, नाडी शुद्धी हुदै चित्त शुद्धी हुन्छ भन्ने कुरामा बढि जोड दिइन्छ तर अष्टांग योगले सबैभन्दा पहिला चित्त शुद्धी भएपछि मात्र क्रमशः काया र नाडीहरुको शुद्धी हुन्छ र तवमात्र मोक्षको मार्गमा अगाडि बढ्न सकिन्छ भन्ने कुरामा बढि जोड दिन्छ, तसर्थ अष्टांग योगले चित्त तथा मनलाईनै साधनाको मूल केन्द्रविन्दु मान्दछ । अष्टांग योगले मनुष्य नैतिकवान नभईकन आध्यात्मिक हुनै सक्दैन भन्ने सर्वमान्य मान्यता राख्दछ, अंग्रेजीमा पनि भन्ने गरिन्छ कि, 'Without being ‘Moral’ nobody can be ‘Spiritual’ अर्थात मनुष्यको चित्त तथा मन शुद्ध छैन भने कोहीपनि आध्यात्मिक हुन सक्दैन र आफ्नो आन्तरीक विकास तथा आध्यात्मिक प्रगतिकालागि योगाआसन, प्राणायाम, मुद्रा तथा अगाडिका अन्य साधनाका विधिहरुमा आवश्यकता अनुसार भित्र प्रवेश गर्ननै सक्दैन । महर्षि पतंजतिका अनुसार, “सबै मानिस योग तथा ध्यान साधनाकालागि अनुकुल हुदैनन् र सबै मानिस ध्यान तथा समाधितर्फ जान सक्दैनन् । योग, ध्यान, समाधितर्फ जानकालागि अनुकुल हुन मनुष्यका चित्तका पाँचै प्रकारका वृति तथा सबै प्रकारका विकार तथा क्लेशहरु निवारण भएर उसको चित्तमा अनुकुल भूमि तयार भएको हुनुपर्दछ । चित्तमा अनुकुल भूमि तयार नभएको तथा मुर्ख, चन्चल, नकारात्मक विचार तथा भाव भएको मनुष्यले योगको गहनता तथा यम, नियम, प्रत्याहार, धारणाको महत्व तथा मूल्य–मान्यताहरु चाहेर पनि बुझ्नै सक्दैन, यम, नियम, पुत्याहार, धारणाको मूलमर्म भित्र छिर्ननै सक्दैना तथा यस्तो ममुष्यलाई योगको महत्व र अनुशासनबारे बुझाउननै सकिदैन । यम, नियम, प्रत्याहार, धारणामा प्रवेश गरेर आवश्यक वैराग्यता(भौतिक संसारको सुख, सुविधाप्रति अनाशक्त भाव) हासिल भएपछि मात्र मनुष्य ध्यान तथा समाधिमा प्रवेश गर्न सक्छ ।” तर हठ योगमा यस्तो मान्यता छैन, हठ योगले निष्ठापूर्वक हठ योगका वैज्ञानिक विधि तथा पद्धतिहरुको अनुशरण गर्ने तथा निरन्तर प्रयोगात्मक साधना गर्ने सबैप्रकारका साधकहरु आध्यात्मिक बन्न तथा मोक्षमा उपलव्ध हुन सक्छन् भन्ने मान्यता राख्दछ ।
अष्टागं योगमा उल्लेखित आसन “स्थिरम सुखम आसनम” हो अर्थात निश्चित समयावधिका लागि ध्यान तथा समाधिमा प्रवेश गर्न केही मिनेट तथा केही घण्टा कत्तिपनि हलचल नगरीकन बकोबत(बकुल्लो जस्तो स्थिर) भएर एकै आसनमा रहनु अनिवार्य हुन्छ र आसन विधि सही ढंगले गर्नकालागि योगासन, प्राणायाम, मुद्रा तथा योग साधनाका अन्य प्रकारका उपयुक्त विधि तथा पद्धतिहरुको प्रयोगात्मक अभ्यास गर्नुपर्दछ । तर हठ योगमा स्थिरता तथा स्थिर भएर बस्ने आसनको उल्लेख गरिएको छैन, हठ योगका सबै आसनहरु अस्थिर तथा चल्ने प्रकारका छन् । अष्टागं योगमा उल्लेखित प्रत्याहार तथा इन्द्रियहरुलाई वहिर जगतबाट टाढा राख्दै, वहिर जगतप्रतिको आवश्यक वैराग्यता(नेसेसरी डिट्याचमेन्ट) मा आफूलाई उतारेर मन तथा चित्तलाई आफूतिर फर्काएर अन्तरयात्रा तथा अन्तरज्ञानमा लगाएर मात्र धारणा र क्रमशः ध्यान, समाधि हुदै कैवल्य अर्थात मोक्ष हासिल गर्न सकिने विषयलाई महत्व र प्राथमिकतासाथ उल्लेख गरिएको छ । तर यसबारे हठ योगमा केही उल्लेख गरिएको छैन । हठ योगमा चित्त र चित्तसंग सम्वन्धित सबै प्रकारका मानवीय विकारहरु, पंचक्लेशहरुको बारेमा पनि केही उल्लेख गरिएको छैन तर महर्षि पतंजलिले अष्टांग योगमा चित्त र चित्तसंग सम्वन्धित सबै खरावी, विकार, क्लेश, नकारात्मकताहरु निवारण भएपछि मात्र काया अर्थात शरीर तथा सुक्ष्म शरीरका ७२ हजार नाडीहरु शुद्ध हुन्छन् र तवमात्र कैवल्य अर्थात मोक्षको मार्गमा अगाडि बढ्न सकिन्छ भनेर चित्त शुद्धी, काया तथा नाडी शुद्धी सबै पक्षहरुमा प्राथमिकताकासाथ जोड दिनु भएको छ ।
अष्टांग योगले योगको ‘यूज् समाधौ’ धातु तथा योग भनेको समाधिको उपलव्धता(आत्माको योग परमात्मासंग) हो भन्ने भावलाई पक्डिएको हुनाले यसको मार्ग यम, नियमदेखि आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि हुदै कैवल्य अर्थात मोक्षतिर जान्छ । हठ योगले योगको ‘यूजिर योगे’ धातु तथा योग भनेको शिव र शक्तिको मिलन(शिवशक्ति मिथुन पिण्ड) हो भन्ने भावलाई पक्डिएको हुनाले यसको मार्ग कुण्डलिनीे योगतिर जान्छ । अष्टांग पोग र हठ योगविचका खासखास भिन्नताहरु यीनै हुन्, मूलरुपमा काया शुद्धी र चित्त शुद्धीसंग सम्वन्धित विषयहरु । यसप्रकारको दृष्टिकोणबाट हेर्दा हठ योग र अष्टांग यो एक आपसका प्रतिस्पर्धि, विरोधि, भिन्न प्रकृतिका तथा विलकुल फरक मत मान्ने नभएर एकअर्काका परिपुरक हुन् भनेर मान्न र जान्न सकिन्छ किनकी मोक्षको मार्गमा चित्त शुद्धी र काया शुद्धी तथा नाडी शुद्धी सबै प्रकारका साधनाहरुको आवश्यकता र महत्व आ–आफ्नै प्रकारले उत्तिकै महत्वपूर्ण रहेकाछन् । यी दुवै योग साधनाका आ–आफ्नै प्रकारका छुट्टा–छुट्टै साधना विधि तथा पद्धतिहरुका महत्व र गहनता रहेकाले वर्तमान समयमा नयाँ योग साधकहरुले अष्टांग योग र हठ योग दुवैलाई संयोजन(फ्युजन) गरेर नयाँ प्रकारका विधि, क्रिया, प्रकिया तथा पद्धतिहर को प्रतिपादन गरेर त्यसै अनुसार साधनालाई अगाडि बढाइरहेका छन् र अध्यात्म साधना तथा चेतनाको विकासमा सफलता पनि हासिल गरिरहेका छन् । योग साधनामा सबै पोगहरुको संयोजन गरेर नयाँ प्रकारका विधि, क्रिया, प्रकिया तथा पद्धतिहरुको प्रतिपादन गर्ने महत्वपूर्ण योगदानको श्रेय श्रद्धेय स्वामी रामदेव बाबालाई जान्छ ।
हठ योगका 'ह' र 'ठ' अक्षरको योगीक परिभाषा
हठ योगका साधना विधि तथा पद्धतिहरु कठिन छन्, साधना गर्ने तरिका तथा विधि मिलेन भने स्वास्थ्यमा यसको प्रतिकुल प्रभाव पर्ने जोखिम उच्च रहने हुनाले कसैलाई पनि शिद्ध योग गुरु बिना हठ योगका क्रियाहरु गर्न अनुमति दिइदैन । शिद्ध योग गुरुको सानिध्य तथा प्रत्यक्ष मार्गनिर्देशनमा रहेर हठ योगका क्रिया, विधि तथा पद्धतिहरु गर्दा काया तथा शरीर शुद्ध हुनुको साथसाथ मनुष्यका सुक्ष्म शरीरका ७२ हजार नाडीहरु पनि स्वस्थ, शुद्ध, सन्तुलित तथा सक्रिय हुन्छन् र अध्यात्म साधना सही ढंगले अगाडि बढ्न सक्छ । मनुष्यको सुक्ष्म(आत्मिक) शरीरमा रहेका ७२ हजार नाडीहरु मध्य तीन नाडी सर्वाधिक महत्वपूर्ण रहेका छन– (१)इडा, (२)पिंगला, र (३)सुषुम्ना । षटकर्म, योगासान, प्राणायाम, मुद्रा लगायत योग साधनाका अन्य विधिहरुको माध्यमबाट शरीर र अघिल्ला दुई नाडी इडा र पिंगला स्वस्थ, शुद्ध, सक्रिय तथा सन्तुलित भएपछि यी नाडीहरु विचमा आउछन् र यसपश्चात यी दुई नाडीकोविचमा रहेको सुषुम्ना नाडी सक्रिय हुन्छ र शिवशक्ति मिथुन पिण्ड तथा कुन्डलिनी योगको प्रक्रिया विधिवत रूपमा प्रारम्भ हुन्छ । पिंगला नाडीलाई सुर्य नाडी(तिव्र तथा तापयुक्त) पनि भनिन्छ र सूर्यलाई ‘हकार’ शव्दले सम्वोधन गरिन्छ । इडा नाडीलाई चन्द्र नाडी (सौम्य तथा शितल) पनि भनिन्छ र चन्द्र नाडीलाई ‘ठकार’ शव्दले सम्वोधन गरिन्छ । यीनै दुइ शब्द हकारको ‘ह’ र ठकारको ‘ठ’ अक्षर मिलेर ‘हठ’ शव्द बनेको हो र इडा र पिंगला नाडीहरुको योगबाट सहश्रार चक्र तथा भ्रमरन्द्रसम्म फैलिएको सुषुम्ना नाडी हुदै भगवान शिव र भगवती शक्तिलाई योग गर्ने प्रयाश गरिने हुनाले यो तन्त्र विद्या अन्तर्गत पर्ने योग साधना विधिलाई ‘हठ योग’ भनिएको हो जसको मुल उदेश्य तीन मूल नाडीहरुको शुद्धता, सक्रियता र सन्तुलनताको माध्यमबाट सहश्रार चक्रमा बिराजमान भगवान शिव र मूलाभार चक्रमा बिराजमान भगवती शक्ति(पारवती)को योग सहश्रार चक्रमा गराउनु हो र यही नै शिवशक्ति मिथुन पिण्ड, कुण्डलिनी योग, कैवल्य, मोक्ष तथा निर्वाण(इटरनल लिवरेसन)मा उपलव्धताको अवस्था हो ।
ब्रम्हाण्डको महाशक्ति कुण्डलिनी उर्जाको चक्र प्रवेश
सुषुम्ना नाडी जाग्रीत भएर साधक समाधिको गहन अवस्थामा पुगेपछि उ विस्तारै प्रकृति तथा भौतिक संसारले फैलाएको भ्रमको मायाजालबाट तिरोणातीत अर्थात मुक्त हुन्छ र विस्तारै कैवल्य तथा मोक्षमा उपलव्ध हुन्छ । सुषुम्ना नाडी जाग्रीत भएपछि सर्वप्रथम यस नाडीको माध्यमबाट मूलाधार चक्रको नजिकै सुसुप्त अवस्थामा रहेको ब्रम्हाण्डको महाशक्ति कुण्डलिनी उर्जा जाग्रीत हुन्छ र एकएक गरि सातवटै चक्र भेदन गर्दै शरीर तथा शिरको सबैभन्दा माथिल्लो भाग भ्रमरन्द्र तथा सहश्रार चक्रमा पुग्छ । भ्रमरन्द्रलाई सनातन अध्यात्म विज्ञानले दशौं द्वार तथा मोक्षको ढोका भनेको छ । ब्रम्हाण्डको महाशक्ति कुण्डलिनी उर्जा जाग्रीत भएपछि साधकलाई आफ्नो शरीरभित्र महाशक्ति जागेको तथा उर्जाको महाविस्फोट भएको स्पष्ट अनुभूति हुन्छ । योग तथा ध्यान साधनाको निरन्तरतासंगै जाग्रीत भएको कुण्डलिनी उर्जा सर्वप्रथम मूलाधार चक्रमा प्रवेश गर्छ र यस चक्रसंग सम्वन्धित शरीरका सबै आयामहरु– शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक शरीरका सारा विकार तथा रोगहरुको निवारण गर्दछ र साधकलाई आफ्नो तन, मन, भावना, चेतना तथा जीवनमा मूलाधार चक्र जाग्रीत भएपछि प्राप्त हुने सबै प्रकारका लाभहरुको अनुभूति हुनथाल्छ । यसपछि कुण्डलिनी उर्जा स्वाधिष्ठान चक्रमा प्रवेश गर्छ र यस चक्रसंग सम्वन्धित शरीरका चारवटै आयामहरुका सारा विकार तथा रोगहरुको निवारण गर्दछ र साधकलाई आफ्नो तन, मन, भावना, चेतना तथा जीवनमा स्वाधिष्ठान चक्र जाग्रीत भएपछि प्राप्त हुने सबै प्रकारका लाभहरुको अनुभूति हुनथाल्छ । यसपछि कुण्डलिनी उर्जा मणिपूर चक्रमा प्रवेश गर्छ र यस चक्रसंग सम्वन्धित शरीरका चारवटै आयामहरुका सारा विकार तथा रोगहरुको निवारण गर्दछ र साधकलाई आफ्नो तन, मन, भावना, चेतना तथा जीवनमा कणिपूर चक्र जाग्रेत भएपछि प्राप्त हुने सबै प्रकारका लाभहरुको अनुभूति हुनथाल्छ ।
मणिपूर चक्रपछि कुण्डलिनी उर्जा अनाहद चक्रमा प्रवेश गर्छ । अनाहद चक्रमा कुण्डलिनी उर्जा पुगेपछि साधकलाई आन्तरीक रुपमा भित्र केही विष्फोट भएको अनुभूति हुन्छ, यो विष्फोट ब्रम्हाण्डको अनाहद नाद(बिना टकराव स्वस्फुर्त आउने ॐकारको प्रणव ध्वनि) हो, साधकले आफ्नो हृदयमा अनादी कालदेखि निरन्तर गुन्जिरहेको ब्रम्हाण्ड अर्थात परमात्माको अनाहद नाद अव बल्ल सुन्न थाल्छ र साधकमा राजयोग घटित हुन्छ अर्थात अनाहद चक्रबाट अव साधकको मोक्षको यात्रा पूर्णतः सुनिश्चित हुन्छ । कुण्डलिनी शक्ति विशुद्धि चक्रमा पुगेपछि साधकमा तर्क, वुद्धि, विवेकको क्षमता बढ्छ, वाक सिद्धि हुन्छ, वाणिमा स्पष्टता, गहनता, सत्यता आउछ, व्यक्तिले जे बोल्छ त्यहि गर्छ र जे गर्छ त्यही बोल्छ, साथै अन्य प्रकारका दिव्य शिद्धिहरु पनि साधकको अनुभवमा आउन थाल्छन् । कुण्डलिनी शक्ति आज्ञा चक्रमा पुगेपछि साधकमा दृढता, संकल्प शक्ति बढ्नुकोसाथै पराभौतिक संसारका अलौकिक दिव्यताहरु इन्द्रियातीत, मनातीत, भावातीत किसिमले अनुभुतिमा आउन थाल्छन्, आफ्ना पूर्वजन्म र पूर्वजहरुलाई सिनेमाको पर्दामा जस्तैगरी देख्न थाल्छ । कुण्डलिनी शक्ति जाग्रीत हुनु भनेको उच्चस्तरमा आत्मा अर्थात चेतनाको विकास हुनु हो, व्यक्तिगत चेतना ब्रम्हाण्डको सामुहिक चेतना अर्थात ब्राम्ही चेतना(सुपर कन्सस)मा एकाकार हुनु अर्थात व्यक्तिगत आत्मा परमात्मामा योग हुनु हो । उच्च स्तरमा चेतनाको विकास भएकपछि आफ्नो अवचेतन मनबाट माथि उठेर साधकको चेतना पहिला सामूहिक अचेतन अर्थात पूर्ण चेतन(कलेक्टीभ अनकन्सस और सुपर कन्सस)मा एकाकार हुन्छ । यसरी अन्तत्वगत्वा कुण्डलिनी उर्जा सहश्रार चक्रमा प्रवेश गरेपछि साधकको चेतना उच्च चेतन(सुपर कन्सस) अर्थात परमात्मामा एकाकार हुन्छ र यसपश्चात उसको शिवशक्ति मिथुन पिण्ड, कुण्डलिनी योग, कैवल्य, मोक्ष तथा निर्वाण(इटरनल लिबरेसन) पूर्णरुपमा सुनिश्चित हुन्छ र साधक अध्यात्मको यो उच्चतम शिखरमा उपलब्ध हुन्छ । कुण्डलिनी शक्ति तथा उर्जा सहश्रार चक्रमा पुगेर साधक मोक्षमा उपलव्ध भएपछि उसलाई धेरै प्रकारका शिद्धि तथा निधिहरु हासिल हुन्छन् । यस्तो साधकले निस्काम भावले इश्वरप्रति प्रणिधान(समर्पित) भएर आफूलाई पूर्णरुपमा सर्बकल्याणका महान नेतृत्वदायि कार्यका अभियानहरुमा निमज्जित गर्दछ र मानवीय, सामाजिक, आध्यात्मिक प्रखर अभियन्ता भएर समाज, देश तथा विश्वमै मुखरित हुदै जान्छ ।
कुण्डलिनी शक्ति जागरण र सावधानी
एकपटक कुण्डलिनी शक्ति जाग्रीत भैसकेपछि योग तथा ध्यान साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरु निरन्तर अनुशरण गरेर कुण्डलिनी शक्तिलाई शिद्ध गर्दै एकएक चक्रमा माथिरतिर चढाउनुपर्छ कम्तिमा अनाहद चक्रसम्म यसपछि कुण्डलिनी शक्ति आफैं स्वस्फूर्त माथिका चक्रहरु विशुद्धि, आज्ञा, सहश्रार तथा भ्रमरन्द्रतिर उर्धगमन हुन्छ र मोक्षको प्राप्ति हुन्छ । कुण्डलिनी शक्ति जाग्रीत भएर मूलाधार चक्रमा पुगेपछि योग तथा ध्यान साधना रोकियो भने यसले शरीरका आयामहरुमा हानि पुर्याउन सक्छ तसर्थ निरन्तर शिद्ध योग गुरुको प्रत्यक्ष सानिध्य तथा निर्देशनमा रहेर साधनालाई निरन्तरता दिदै कुण्डलिनी शक्तिलाई माथितिर चढ्न मद्धत गर्नुपर्दछ । अष्टांग योग र हठ योगविच योग तथा ध्यान साधनाका क्रममा गरिने शुरु र मध्यका केही विधि तथा पद्धतिहरु र यसबाट प्राप्त हुने उपलव्धिहरुको सन्दर्भमा केही फरक मत भएपनि कुण्डलिनी शक्ति जागरणपछि चक्रहरुमा प्रवेश र यसका लक्षण तथा उपलव्धिहरुमा मतैक्यता रहेको पाइन्छ । योग साधनाका अनुभवी साधकहरुका अनुसार हठ योग साधनाको माध्यमबाट साधनामा ब्यवहारिक तथा प्रयोगात्मक निष्ठा तथा तिब्रता ल्याएर छिटो कुण्डलिनी उर्जा जग्रीत गर्न सकिने मान्यता र अनुभव रहदै आएको छ । bsirjana@gmail.com
विदेशी मित्र फितासंग हठ योग र अष्टागं योग साधनाका श्रृंखलाहरु निरन्तर चलिरहेका छन् ।
No comments:
Post a Comment