'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २५० वटा लेख समाहित छन् !

Sunday, 28 September 2025

आध्यात्मिक साहित्य: 'अहंकार' र 'वास्तविक जीवन'

  लालीगुरांश (डासिर्जना भण्डारी)

 #आध्यात्मिक_साहित्य #जीवन_दर्शन


कथा


                            ‘...यो नेपाली शिर उचाली संसारमा लम्कन्छ, जुनकिरीझैं ज्योति बाली...’


कक्षा ९ मा अध्ययनरत रहदा, विद्यालयको स्वामित्वको १३ बिगा खेलकुद मैदानमा अन्तर विद्यालय महिला फुटबल प्रतियोगीतामा सहभागि हुन हाम्रो समुह खेल उद्घोषकालागि रेफ्रीको सिटि कुरीरहेको थियो । खेलकुद मैदानमा विद्यालयकै ठूलो क्यासेट र साउन्ड बक्सबाट पृष्ठभूमिमा ठूलो आवाजमा कालजयी जागृती गीत ‘यो नेपाली शिर उचाली’ बजिरहेको थियो र गीतको भावसंगै हामी खेलाडीहरुको श्वास र रक्तसंचारको गति र शरीरको तापक्रम बढ्दै गैरहेको थियो । हामी सबैका कान रेफ्रीको सिटितिर र नजर फुटबलमा थियो बिरालोले मुसालाई दुलो वाहिर कुरेझैं एकदम चनाखो भावमा । सिटि बज्यो, खेल प्रारम्भ भयो, दुवै पक्षको सक्रिय भिडन्त चल्दाचल्दै नब्बे मिनेटको समय सकियो र जित हाम्रो विद्यालयको भयो । प्रतियोगीता जितेपछि हामी विद्यार्थी फुटबल खेलाडीहरुलाई एकदमै मजा आयो, हामीले हाम्रो विद्यालय र हेडसरको जितको नारा लगायौं तर फुटबल सिकाउने कोचसरले अलि अनौठो व्यवहार प्रस्तुत गर्नुभयो । 


हामीले अपेक्षा गरेका थियौं कोचसरको मेहनेत र खेलाडी विद्यार्थीहरुको लगनशीलताले फुटबल प्रतियोगितामा जित हात पर्यो, कोचसरले अत्यन्तै खुशी भएर हामीलाई धन्यवाद र वधाई भन्नु हुनेछ र हाम्रो हौसला अझै बढाउनु हुनेछ तर त्यसो भएन, परिस्थितिले अलि अर्कै मोड लियो । कोचसरलाई खै के कुरामा चित्त बुझेन त्यसबखत हामीलाई थाहा भएन, वहाँले त सिधै यो जित अरु कसैको कारणले होइन मेरो उत्कृष्ट प्रशिक्षणका कारण भएको हो भन्नु भयो सबै शिक्षकहरुकै सामुन्नेमा । सबै शिक्षकहरु एकआपसमा मुखामुख गर्न थालनुभयो, हामी खेलाडीहरु अक्क न बक्क भयौं । कोच सरले हामीलाई धन्यवाद तथा वधाई नभन्नु भएको भएपनि यो कुरालाई सामान्य रुपमा लियौं र सहजै स्वीकार्यौं किनकी वहाँ अलि ठालु, अहंकारी र अरुलाई त्यति मान्छे नगन्ने ठाडो प्रकारको अलि खडुस तथा रुखो व्यवहार भएको व्यक्ति हुनुहुन्थ्यो । यो कुरा सबैलाई थाहा थियो तर वहाँको प्रतिभा, क्षमता र सिर्जनशीलता निकै राम्रो भएकोले सबैले वहाँको अहंकारपूर्ण व्यवहारलाई पचाउनु भएको थियो । यहीविचमा एकजना मिसले भन्नु हुन्थ्यो, 


“... बाबा ! कस्तो अहंकार यसको हेरन, सारा फुर्ति नै यही म जान्ने छु भन्ने हो के यसको, कसैले केही भन्दैनन् यसलाई त्यसैले थेगि नसक्नुको छ !! मान्छे हेर्दा चाहीं चिचिन्डो जस्तो छ..., हाहाहा... !!!” 


मिस मुख छोपेर हास्दै कोचसरलाई खिस्याइरहनु भएको थियो । हामी ९ कक्षामा पढ्ने केटाकेटी भएकोले बुझ्दैनथ्यौं वहाँहरुका कुराका सबै भावहरु र वास्ता गर्दैनथ्यौं किनकी हामी कसैलाई पनि अहंकार भनेको कुन चराको नाम हो भन्ने नै थाहा थिएन त्यतिबेलासम्म । फुटबल प्रतियोगीतामा आफ्नो विद्यालयको जित भएपछि हामी सबै खेलाडीहरुले एकआपसमा हातको गठजोड गरेर खुशी मनायौं र कोचसरले सिकाउनु भएको प्रशिक्षणको कारण हामी यो फुटबल प्रतियोगीता जित्न सफल भयौं भनेर एकआपसमा खुशी साटासाट गर्यौं किनकी वहाँले राम्ररी सिकाउनु भएकै कारण त हामीले राम्रो खेल्न र जित्न सकेका हौं भन्ने बुझाइ हामी सबैमा थियो । यसपछि हामी खेलाडी साथीहरुको एक समुह शरीर हलुका गर्न वाथरुमतिर हिड्यौं त्यहाँबाट । केहीबेरपछि फर्केर आउदा थाहा भयो कोचसर त हेडसर र अरु शिक्षकहरुसंग बटारिऐर खेलमैदानबाटै “तिमीहरुको कोचको जागीर तिमीहरुनै खाउ” भनेर रिसाएर हिड्नु भयो रे । कारण के थियो सबैकुरा हामीलाई थाहा भएन तर सबै शिक्षकहरुले हेडसरलाई पहिला बधाई भन्नुभयो र कोचसरलाई पछि तथा अलि ढिलोगरि बधाई भन्नु भयो भनेर वहाँलाई मन परेन रे, चित्त बुझेन रे अनि रिसाएर फुटबल कोचसर प्रशिक्षण र शारीरिक व्यायाम शिक्षकको जागीर छोडेको घोषणा गरेर निस्किनु भयो रे फेरी नफर्कने गरि ।

हामी विद्यार्थीहरुले कोचसर र त्यहाँको वास्तविक कुरा सबै राम्ररी बुझेनौं तर विद्यालयले अन्तरविद्यालय महिला फुटबल प्रतियोगीतामा जित भयो भने कोचसर र खेलाडीहरुलाई माला र अबिर लगाउने र जितको नारा, उत्सव गर्ने भनेर पहिलाबाट नै सामग्रीहरु ठिक पारेर राखेको हामीलाई थाहा थियो । एकजना मिसले भन्नु भयो,

“हेडसरको योजना थियो कोचसरलाई सप्राइज दिएर विजय उत्सव मनाउने तर उत्सवको तयारी गर्दागर्दै चिचिण्डो अंहकारमा उन्मत्त भएर आफैं खेलमैदान छोडेर हिड्यो, आफूले गराएको जितको कदर भएन, अपमान गरियो, आफ्नो नाम भएन भनेर ।” 

“त्यइत, कस्तो अहंकारी मान्छे रहेछ है ! हामीले उसलाई सम्मान गर्ने तयारी गर्दैथियौं त, मलाई मान पुगेन भनेर कोचको जागीर नै पो छेडेर हिड्यो, पगला कहिंको... ।”

पछि अर्को सरले पनि यही कुरा दोहोर्याउनु भयो । सर र मिसहरुले एकआपसमा गर्नुभएका कुरा सुनिरह्यौं हामीले तर हामीलाई यो विषयको गाम्भिर्यता उति महसुस भएन । सर र मिसहरुको कुरा सुनेपछि हामीलाई विषयको सतही ज्ञान त भयो तर गहिरो ज्ञान त्यतिबेला हुनसकेन किनकी ती दिनहरुमा हाम्रो  शरीर,मन, मस्तिष्क, वुद्धि, हृदय आलोकाचो नै थियो, परिपक्व भएको थिएन । आज यो विषयका ती स्मृति मेरो मन, मस्तिष्कमा ताजा भएर आउदा मलाई अनुमान भयोकि फुटबल कोचसर भन्दा ठूलो वहाँको अहंकार रहेछ क्यारे सायद त्यतिबेला । यस समयमा मेरो स्मृतिमा यो विषय आउनुको कारण थियो मैले वहाँलाई धेरै वर्षपछि बैंकक उड्न ठिक्क परेको विमानमा आफ्नो छेउको सिटमा देखें र मैले चिनें तर वहाँले मलाई चिन्नु भएन । विमानभित्र वहाँसंग परिचय गर्नुअघि वहाँको चेहरा देखेपछि मेरो मस्तिष्कमा मडारिएका पूराना विषयहरु थिए यी सबै ।

करिव तीन दशक भन्दा बढि समयपछि फुटबल कोचसरसंग विदेश यात्राको क्रममा विमानभित्र यो अभूतपूर्व भेट भएको थियो । नचिनेका कारण वहाँले मतिर हेर्दै हेर्नु भएन तर म बेलाबेला वहाँतिर हेर्दै वहाँका हाउभाउहरु नजिकबाट नियालिरहेको थिएं कि यो मान्छे अझै त्यस्तै छ कि बदलियो होला भनेर । यात्रा तीन घण्टा भन्दा बढिको थियो, मैले एउटा श्रव्य अर्थात अडियो पुस्तक बोकेको थिएं र आज त्यसलाई सक्छु भन्ने योजना बनाएर लाइनमा अर्को श्रव्य पुस्तक पनि राखिसकेको थिएं । तर जव कोचसरलाई आफ्नो सिट नजिकै देखें एउटै गन्तव्यमा पुग्नेगरि तव मैले पुस्तक सुनेर सक्ने मेरो योजना परिवर्तन गरें । मेरो मानसपटलमा १३ बिघा खेलमैदानका ती दृश्यहरु झलझलि घुम्न थाले र वर्षौंदेखि पत्ता पाउन नसकोको त्यसदिनको घटनाको वास्तविक कारण कोचसरकै मुखबाट सुनेर जान्ने चाहना मनमा झांगिदै गयो । शुरुमा सरको ध्यानाकर्षण गरेर नमस्कार भन्दै जानपैचान गरें, म सुमिता, ९ कक्षा पढ्दा हजूरको फुटबल प्रशिक्षणको विद्यार्थी भनेर । मैले आफूलाई चिनाउने वित्तिकै वहाँ अत्यन्तै प्रसन्न भएर मेरो नाम लिदै छक्क परेर मलाई खुव नियालेर हेर्नुभयो । एकछिन सन्च–विसन्च र यताउताका कुरा भए तर मेरो भित्रि उद्देश्य त्यसदिनको घटनामा जानु थियो । मलाई त्यो विषय उठान गर्न अत्यन्तै असहज भैरहेको थियो किनकी विषयनै त्यस्तै अलि असहजवाला थियो, कतै कोचसर फेरी रिसाउनु हुने होकि भन्ने डर पनि मनमनमा लागिरहेको थियो । 

पुरानो घटनाका कारण मेरो मनमा फेरी रिसाउनु होलाकि भन्ने चिसो पसेको भएपनि अहिले वहाँलाई देख्दा वहाँ विलकुल फरक, भलाद्मी , सौम्य, शान्त र निकै भलो आद्मी जस्तो देखिनु भएको थियो । विषय उठान कसरी गर्ने होला भन्ने सोच्दै गर्दा मनमा उउटा सोच आयो, संवादको शुरुआत तथा विषय उठान केवल शव्दले मात्र गर्दैन, मैले झोलामा भएको मेरो सामसुंग मोबाइल झिकें र हातमा लिएर चलाएको अभिनय गरें । मेरो मोबाइलको लक स्कृन इमेजमा जहिले पनि युग ऋषि श्रद्धेय ओशो रजनीशको तस्वीर हुन्छ र होम स्कृनको इमेजमा कहिले भगवान शिवको तस्वीर, कहिले वहाँले संसारलाई प्रदान गर्नुभएको महाविद्या मनुष्यका शरीरका सात चक्रको तस्वीर हुनेगर्छ । मैले मोबाइल हातमा खेलाएं, घरि याप्स चलाएजस्तो गरें, घरि लक स्कृनमा अडिएं, घरि होम स्कृनमा अडिएं । मेरो योजना सफल भयो, कोचसरले मेरा गतिविधि याद गर्नुभयो र सोध्नुभयो,

“तपाई ओशो रजनीशको फलोअर हुनुहुन्छ, सुमिता ?”

“... हजूर । ...तर म अहिलेसम्म कुनै ओशो आश्रम गएको चाहिं छैन । म वहाँका मूल्यवान सनातन दर्शनका विषयमा गरिएका प्रवचनहरु र प्रवचनहरु समेटिएका पुस्तक तथा आध्यात्मिक साहित्यको चाहिं दह्रो अनुयायी हुँ ।”

मैले शिर मात्र हल्लाएर हो भनें र तुरुन्तै आफ्नो वास्तविकता पनि बताएं कोचसरलाई । वहाँको मन, मस्तिष्क र हृदयमा विद्यालयको १३ विघा खेलमैदानमा भएको त्यसदिनको त्यो पूरानो स्मृतिको उकुशमुकुश अझै ताजा रहेछ क्यारे या यो घडिमा वहाँको र मेरो चेतनाकोविचमा प्रत्यक्ष संवाद भयो पराभौतिक स्तरमा अदृश्य रुपमा या बहाँले मेरो चेहराको भाव पढेर जान्नु भयो र वहाँ आफैंले त्यो घटनाले वहाँमा ल्याएको मुस्किल, उकुशमुकुश र त्यसपछि जीवनमा आएका नकारात्मक र सकारात्मक परिवर्तनहरुको पोको खोल्ने जमर्को गर्नुभयो र भन्नुभयो,

“त्यतिबेला जातिवाद र वर्गविभेदको बीउ रोपिएको थियो मेरो जवान मानसपटलमा, म युवा थिएं, रगत तातो थियो, सहने क्षमता कम थियो, म कोही भन्दा कम छैन भन्ने अहंकारले वुद्धि र विवेकलाई आफ्नो नियन्त्रण लिएको थियो । घरको आर्थिक अवस्था कमजोर भएको र कमाउने व्यक्ति म मात्र भएकोले माध्यमिक विद्यालयको फुटबल कोचको जागीर छोडेको केही दिनपछि घरबाट दबाब आउन थाल्यो, बल्लबल्ल पाएको जागीर छोडेकोमा कोही पनि सन्तुष्ट हुनुहुन्नथ्यो मसंग । माफी मागेर फेरी शुरु गर भनेर जोड गरिरहनु भएको थियो सबैले तर म माफी माग्ने कुरामा आउनै सकिन किनकी एक त म के कम भन्ने अहम थियो मनमा र अर्को कुरा त्यसदिन मलाई अरु कसैले केही भनेकै थिएन । मैले गरेको काममा कुनै कमीकमजोरी पनि थिएन, म पनि खुशी थिएं, विद्यालय टिम पनि खुशी थियो । विद्यार्थी बच्चाहरु, तिमीहरुसंग खुव लगाव पनि भैरहेको थियो मलाई, तिमी खुव राम्रो फुटबल खेल्थ्यौ, सबैको प्रस्तुति राम्रो थियो, म खुशी थिएं र सबै मसंग खुशी थिए । पछि मलाई अत्यन्तै ग्लानी भयो बिनाकारण मैले आफ्नै जातिवादको दम्ब र आफ्नो मनको अनावश्यक अहंकारले त्यति राम्रो जागीर छोडें भनेर । मेरो बारेमा विद्यार्थीहरुसंग के भनियो होला भन्ने कुराले झन पिरोल्यो मलाई, तिमीहरुले के भन्ठान्यौ होला, मेरोबारेमा के बुझाइयो र के बुझ्यौ होला तिमीहरुले... ! मन अशान्त थियो, अर्को जागीर खोजिरहेको थिएं, घरबाट पुरानै काममा जान बारबार दबाव आइरहेको थियो तर मैले त्यो हिम्मत गर्न सकिन । जवजव जाउँकि भनेर सोच्थें तवतव अहंकार अगाडि आइरह्यो, विद्यालयले बोलायो भने चाहिं जान्छु भन्ने लाग्यो तर विद्यालयले मलाई बोलाएन, केही समयपछि नयाँ कोच राख्यो र यसो हुनु स्वभाविक कुरा थियो । त्यसपछि घरको दवाब, बेरोजगारी र आफूभित्रको अन्तरद्वन्दको शिकार हुदै गएं म । शुरुमा निद्रा लाग्न छोड्यो, त्यसपछि पेट खराव हुन थाल्यो, भोक लाग्न छोड्यो, खाएको पच्न छोड्यो, माइग्रेन भयो, यो अत्यन्तै तनाव र चिन्ताको अवस्थामा मैले थाहानै नपाइ म त विषाद, अवषाद तथा डिप्रेसनमा पो गैसकेछु, घरपरिवारले याद गरिरहेका रहेछन् ममा आएका नकारात्मक तथा असन्तुलित बदलावहरु । यसपछि म डाक्टरकहाँ गएं निद्रा लाग्ने, भोक लाग्ने औषधी, मानसिक अशान्ति कम गर्न मस्तिष्कको स्नायु प्रणालीका तन्त्रिकाहरु लट्याउने औषधी लिन शुरु गरें, छ महिना लिएं, विस्तारै सामान्य भएं र आफ्नो दैनिकीमा फर्किएं । मलाई त्यतिबेलानै थाहा भयो अहंकारले मनुष्यलाई सिध्याउने रहेछ, अहंकार जागाउन समाजले कुनै कसर बाँकी राख्दैन रहेछ र समाजले नै दिएको अहंकारबाट पिडित भैरहदा समाजले पिडामाथि झनझन पिडा थप्दो रहेछ... । तव मैले बुझेंकि आफ्नो जीवनका महत्वपूर्ण निर्णयहरु आफ्नै वुद्धि, विवेक, आफ्नो खुशी, आफ्नो अन्तरआत्माको आवाज र आफ्नो तत्कालको वास्तविकतामा आधारित भएर आफैंले लिनुपर्ने रहेछ अरुका कुरा नसुनिकन । एकपटक गल्ती भयो अव यो गल्ती फेरी दोहोर्याउदिन भनेर म आफ्नो किसिमले मनुष्यको शान्तिपूर्ण जीवनकालागि जीवनका विभिन्न आयामहरुमा आधारित भएर तयार गरिएका सन्दर्भ सामग्रीहरु खोजेर पढ्न थालें... ।” 

यो विषयलाई टक्क हीं रोकेर वहाँले प्रसन्न मुद्रामा मेरो चेहरामा हेरेर मलाई आग्रह गर्नुभयो,  

“अनि, तपाईंको बारेमा सुनाउनुस् सुमिता । कहाँ छ बसाइ, के गर्दै हुनुहुन्छ, अरु साथीहरु कहाँ छन्, केके गर्दैछन्... ?”

“सर, हजूर मेरो गुरु हुनुहुन्छ र म हजूरको विद्यार्थी हुँ, मलाई तिमी भन्नुहोस् कृपया, म तिमी सम्वोधनमा गुरुको मप्रतिको सदभाव, स्नेह र सम्मान महसुस गर्छु ।”

जीवनका उकाली ओरालीहरुमा ६० वसन्त काटेको चम्किलो चेहरामा मिठो मुस्कान भर्दै सन्तोषको लामो श्वास भित्र तानेर वहाँले फेरी दोहोर्याएर भन्नुभयो, 

“तिमी फुटबल निकै राम्रो खेल्थ्यौ, सुमिता... ।” 

“त्यो सबै हजूरको मेहनेत थियो सर... ।” 

“मैले तिम्रा भावहरुमा ओशोको दर्शन झल्किरहेको पाएं सुमिता । म पनि सुन्छु, पढ्छु ओशोका आध्यात्मिक साहित्यहरु । तर मैले धेरैपछि वहाँलाई पढ्न र शुन्न थालेको हुँ । शुरुशुरुमा वहाँको विरुद्धमा कुरा सुनें मैले अस्लिल गुरु हुन रे भनेर र त्यस्तो कुरा किन सुन्नु, किन पढ्नु भन्ने लाग्यो र अवसर मिलेपनि वहाँका विषयहरु  पढिन, सुनिन मैले । तर पछि वहाँको लोकप्रियता बढ्दै गएको, आफ्नै वरपरका समाजका प्रतिष्ठित व्यक्तित्वहरुले वहाँका आश्रमहरुमा गएर ओशो सन्यास लिएको देखेपछि ममा उत्सुकता जाग्यो, ओशोमा केही अलग विशेषता नभइकन समाजका प्रतिष्ठित व्यक्तित्वहरुले यसरी वहाँको नाममा सन्यास लिएर वहाँको माला गलामा किन लगाए होलान र ! तव वहाँकाबारे जुन विषयले मेरो मन भड्काएको थियो र वहाँको नाम नराम्रो भावमा उछालिएको थियो सर्वप्रथम मैले त्यही आध्यात्मिक साहित्य पढें ‘सम्भोगदेखि समाधिसम्म’ । तव मेरो आँखा खुल्यो र त्यतिबेला बल्ल बुझें मैले कि मेरो आँखामा बाँधिएको वहाँको विरुद्ध बाँधिएको पट्टि र मन ढाकिएको कालो वादल सबै अफवाह र भ्रम रहेछ तिमीहरुलाई फुटबल कोचिगं गरिरहदा समाजले मेरो मानसपटलमा ढाकिदिएको जातिविभेद र वर्गविभेदको कालो पर्दा जस्तै । त्यसयता मैले वहाँका आध्यात्मिक साहित्यहरु खोजीखोजी सुन्न र पढ्न थालें । सबै उस्कृष्ट र व्यवहारिक लागे तर ती उस्कृष्ट र व्यवहारिकहरु मध्यपनि वहाँले ‘अहंकार र वास्तविक जीवन’ को सन्दर्भमा दिनुभएको प्रस्तुति अत्यन्तै उस्कृष्ट र सबैकालागि उत्तिकै व्यवहारिक लाग्यो । त्यसले मेरो सोच र जीवन पूरै परिवर्तन गरायो र म मेरो विगतको अहंकारप्रति झनझन आफैंसंग लज्जित हुदै गएं, म मा एकप्रकारको ग्लानी बसिरहेको थियो मैले १३ बिघा खेलमैदानमा तिमीहरु सानासाना विद्यार्थी बच्चाहरुसंग गरेको असहज व्यवहारप्रति त्यसैले तिमीले आफूलाई म फलानो हुँ भनेर चिनाउने वित्तिकै मेरो मानसपटलमा त्यही घटना तरंगीत भयो, मभित्रबाट स्वरुफुर्त रुपमा यो भाव आयो र म आफैंले तिमीलाई सुनाएं मेरो तत्कालीन अवस्था, अव म हलुका भएं...!”

कोचसरको मुस्कानमा आधा खुशी आधा ग्लानीका तरंगहरुको आभवा स्पष्ट देख्न सकिन्थ्यो । 

हामीसंग गन्तव्यमा पुग्न अझै डेढ घण्टा समय बाँकी थियो, मैले सरलाई श्रद्धेय ओशोको उस्कृष्ट र व्यवहारिक मध्यपनि उस्कृष्ट र सबैकालागि उत्तिकै व्यवहारिक लागेको ‘अहंकार र वास्तविक जीवन’ को सार सुनाउन र पुनः गुरुको चेली हुने अवसर प्रदान गर्नुहुन विनम्र आग्रह गरें । वहाँले प्रसन्न मुद्रामा मेरो आग्रह स्वीकार गर्नुभयो र भन्नुभयो, 

“...तर तिमीलाई थाहा छ होला नि यो बारेमा सबै किनकी तिमी म भन्दा अझ गहन अनुयायी रहेछौ ओशो रजनीशका आध्यात्मिक साहित्यहरुको... ।” 

ततपश्चात मैले वहाँलाई विनम्र विन्ति गरें, म हजूरकै शव्द र भावहरुमा सुन्न चाहान्छु, तव वहाँले ‘अहंकार र वास्तविक जीवन’ विषयमा आफ्नो हगन प्रवच पस्किन प्रारम्भ गर्नुभयो,
 
“मैले ओशो रजनीश लगायत परमहंश योगानन्दका र अरु आध्यात्मिक गुरुहरुका आध्यात्मिक साहित्यहरु पनि पढेको छु र विभिन्न आश्रमहरुमा गएर ध्यान साधना पनि गरेको छु त्यसैले अहंकार र वास्तविक जीवनको सारमा सबै गुरुहरुको भाव तथा ज्ञान मिसिएर आउन सक्छ ।”

मैले शिर हल्लाएर सहमति जनाएं र व्यागबाट डायरी र कलम झिकेर फेरी उही गुरु–चेलीकै पूरानो अवस्थामा पुगेको भावमा मग्न भएं जुनबेला सरले हामीलाई फुटबल खेल्दाका नियम र विशेष परिस्थितिहरुमा आफूले लगाउने ट्रिक तथा आफूले देखाउने विशेष कलाका टिप्सहरु सिकाउनु हुन्थ्यो र हामी रिठ्ठो नबिराई कपिमा नोट गर्ने गर्दथ्यौं वहाँका सबै टिप्सहरु र खेलमैदानमा उतार्ने प्रयास गर्दथ्यौं । मलाई यो अविस्मरणिय पलको स्मृति र कोचसरको आवाज मोबाइलमा अडियो रेकर्ड गर्ने विचार भयो, सरसंग अनुमति लिएं, वहाँले मौन स्वीकृति दिनुभयो । केही क्षणपछि मैले सरको चेहरामा हेरेर रेकर्डिंगको तयारी पूरा भएको संकेत दिएं, सर बोल्न प्रारम्भ गर्नुभयो, 
 
“विद्यालयको फुटबल कोचको जागीर छोडेपछि डिप्रेसनमा गुज्रिरहेका र विभिन्न स्वास्थ्य समस्याका औषधिहरु खाइरहेको समयमा मेरा केही शुभचिन्तकहरुले मलाई केही आध्यात्मिक पुस्तकहरु उपलव्ध गराउनु भएको थियो, तिमी यी सामग्रीहरु पढ, राम्रा छन्, तिम्रोलागि लाभदायक हुन सक्छन् । म ती सामग्रीहरु पढ्दै गएं र पछिपछि आफैं ती पुस्तकहरुमा जिकिर गरिएका विविध विषयका अन्य आध्यात्मिक सन्दर्भ सामग्रीहरु आफैंले खोजेर संकलन गर्न र पढ्न थालें । जव मैले अहंकार, वास्तविक जीवन, मनुष्यका वाहिरी तथा आन्तरिक सुख, खुशी, शान्ति, आनन्दको बारेमा बुझ्दै गएं र यी सैद्धान्तिक ज्ञानहरुसंगै योग र ध्यानका व्यवहारिक अनुभवहरु हासिल गर्दै गएं तव म त्यो व्यक्ति रहिन जो कुनै बेला अत्यन्तै अहंकारी र उदण्ड स्वभावको थियो । विस्तारै मलाई थाहा भयो, त्यो म थिइन, मेरो अहंकार, अहम, दम्व, अभिमान थियो । आध्यात्मिक साहित्यहरुको अध्ययन र साधु, सन्त, गुरुहरुसंगको सतसंगबाट मैले राम्ररी बुझें कि मेरो वास्तविक जीवन अर्थात ठूलो ‘म’ अर्थात आत्मा अर्थात चेतना कुनै विराट विषय रहेछ, मेरो साँघुरो बुझाइ भन्दा निकै परको विषय रहेछ । अहंकार र वास्तविक जीवनविच कुनै आन्तरिक सम्वन्ध नै रहेनछ, विपरित सम्वन्ध रहेछ र यी दुवै विलकुल अलग-अलग विषय रहेछन् । जव मैले वास्तविक जीवन त अरुनै केही प्राकृतिक रुपमा सुखी, खुशी, शान्त, आनन्दित, प्रेमल आत्मा अर्थात चेतना रहेछ भनेर जानें तव मैले फुटबल कोचिगंको साथसाथ विभिन्न विद्यालयमा विद्यार्थीहरुलाई र विभिन्न सामुदायिक भेलाहरुमा समुदायका व्यक्तिहरुलाई अहंकारको पक्ष र विपक्ष तथा अहंकार र वास्तविक जीवन अर्थात सानो ‘म’ र ठूलो ‘म’ को गहिराइ र भिन्नता बुझाउन थालें र अझै पनि यो काम गरिरहेको छु बडो उत्साहकासाथ । मलाई यस प्रकारको आध्यात्मिक स्वजागणको कामले अत्यन्तै आनन्द दिन्छ, त्यसैले मैले अध्यात्मको सेवा र सर्वकल्याणको काम गरे वापत पारिश्रमिक पनि लिनेगरेको छैन, यसै तृप्ति भैरहेको छ मलाई... ।”

कोचसरले अहंकारको पक्ष र विपक्ष भन्नु हुदा ममा थोरै विश्मय छायो तर भित्रबाट मनले तुरुन्तै भन्यो तेरो सर हो, चुपचाप केही प्रतिप्रश्न नगरि वहाँका कुरा सुन र सबै नोट गरेर बस । मैले मेरो मनले भनेको कुरा मानें, त्यसमाथि रेकर्ड पनि चलिरहेको हुनाले म केही पनि बोलिन तर सरले मेरो चेहराको भाव पढ्नु भयो, बुझ्नु भयो र मेरो प्रशंशा गर्दै अहंकारको पक्ष र विपक्षबाट आफ्नो प्रवचन पुनः प्रारम्भ गर्नुभयो,  

“तिम्रो उत्सुकता अझै पनि उस्तै रहेछ र चेहरामा आफ्नो उत्सुकताको भाव छर्ने तौरतरिका पनि त्यस्तै नै रहेछ, सुमिता । मैले बुझें, ‘अहंकारको पक्ष’ भन्दा तिम्रो चेहरामा यसबारे जान्ने उत्सुकता छायो, अंकारको पनि कहिं पक्ष हुन्छ र भन्ने लाग्यो होला तिमीलाई सायद । हो, अहंकारको पक्ष हुन्छ, ल सुन र नोट गर्ने भएपनि गर तर सुने मात्र राम्रो सबै रेकर्डमा आइहाल्छ ।

एक दृष्टिकोणबाट मलाई लाग्छ ‘अहंकार’ अन्यायमा परेको शव्द तथा विषय हो, यसको सहि परिभाषा, विश्लेषण र सकारात्मक तथा नकारात्मक पाटो हरकोहीलाई राम्ररी बुझाउनु पर्दछ किनकी सहज, सरल र सफल सांसारिक जीवन जीउनका लागि अहंकार अनिवार्य छ, यो विषयलाई राम्ररी बुझाउने गरिएको छैन प्राय । 

श्रीमद् भगवद् गीतामा भगवान श्रीकृष्णले भन्नु भएको छ, “मनुष्य योनी कर्म योनी हो, कर्मबिना मनुष्यको जीवन सम्भव छैन किनकी प्रकृतिले शरीर, मन, भाव, वुद्धि, चेतना दिएर मनुष्यलाई यस धर्तीमा पठाएको छ । शरीर, मन, भाव, वुद्धि, चेतनाका आ–आफ्नै प्रकारका अनिवार्य आवश्यकताहरु हुन्छन् । ती आवश्यकताहरु पूरा गर्नकालागि हरेक मनुष्यले कर्म गर्नु अत्यावश्यक छ र कर्म गर्नकालागि हरेक मनुष्यमा ‘सकारात्मक अहंकार’ अर्थात ‘इख’ को अनुभव हुनु जरुरी हुन्छ ।” 

अध्यात्म विज्ञान र आधूनिक विज्ञान दुवैले मान्दछन् कि मनुष्यको शरीर, मन, भावनाका हरेक गतिविधिहरु सबै कर्म हुन् । कर्म स्वचालित र संचालित दुुईप्रकारका हुन्छन् । प्राकृतिक रुपमा निरन्तर चलिरहने क्रियाहरु जस्तो श्वास फेर्नु, मुटु चल्नु, रक्तसंचार हुनु, आँखा झिम्क्याउनु आदि स्वचालित कर्म अन्तर्गत पर्दछन् र स्वचालित कर्ममा सामान्य मनुष्यको कुनैप्रकारको नियन्त्रण तथा व्यवस्थापन हुन सक्दैन । वाहिरका कर्महरु कामकाज, पेशा, व्यवसाय, अध्ययन, दान, पुण्य, दया, करुणा, सेवा, श्रद्धा, भक्ति आदि संचालित कर्म अन्तर्गत पर्दछन् र संचालित कर्ममा मनुष्यको प्रत्यक्ष तथा अप्रत्यक्ष व्यवस्थापन तथा नियन्त्रण रहेको हुन्छ । सबै संचालित कर्महरु मनुष्यले आफूले चाहना गरे अनुसारले गर्न तथा नगर्न सक्छ र उसका सबै इच्छा, चाहनाहरु अहंकार तथा इखका कारण संचालित हुने गर्दछन् । हामीले जनबोलिमा बोलिदै आएको उखान सुन्दै आएका छौं कि ‘इख नभएको मनुष्य र विष नभएको सर्पको केहीपनि काम छैन ।’ यो भनाई सत्य हो किनकी इख नभइकन मनुष्यले कुनै कर्म नै गर्दैन र जीवनमा सम्भावित र इच्छित प्रगति नै गर्न सक्दैन । साना ठूला सबैप्रकारका कर्महरु गर्ने तथा गराउने, म पनि गर्छु, गर्न सक्छु, गरेर देखाउछु भन्ने उत्साह, हिम्मत तथा प्रेरणाको श्रोत मनुष्यको मनमा लाग्ने इख नै हो र यही इख अहंकार हो । यसकारण अहंकार बिना मनुष्यको सांसारिक जीवन सम्भव नै छैन तर कुन तथा कस्तो अहंकार भन्ने चाहिं चिन्तन्, मनन् तथा विश्लेषणको विषय हो । अहंकारका दुईवटा आयामहरु रहेका छन्ः सकारात्मक अहंकार तथा ‘इख’ र नकारात्मक अहंकार तथा ‘अभिमान’, ‘अहम’, ‘घमण्ड’  । 

सकारात्मक अहंकार तथा इखमा मनुष्यले महर्षि वेदव्यासको महावाक्य ‘परोपकार पुण्याय पापाय परपिडनम’ को भावसंग एकाकार भएर सकेसम्म कसैलाई कुनै प्रकारको दुःख, पिडा, हानि नपुग्नेगरि कर्म गरेर अरुलाई सुविधा प्रदान गर्ने प्रयास गर्दछ तर उसले गर्ने कर्मको पछाडि उक्त सुविधा प्रदान गरेवापत आफूले पनि केही प्राप्त गर्ने निश्चित उद्देश्य, अपेक्षा तथा स्वार्थको भाव जोडिएको हुन्छ । यस्ता कर्महरुले अरुको र आफ्नो पनि भलाई हुन्छ र सुविधा प्रदान गर्ने व्यक्तिलाई वाहिरी सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्दको अनुभव तथा अनुभुति हुन्छ । तर यस्ता वाहिरी अनुभव तथा अनुभुतिहरु क्षणिक हुन्छन्, वाहिरका परिस्थितिहरुबाट प्रभावित हुन्छन्, विस्तारै हराउदै जान्छन् र मनुष्य अर्को प्रकारको कर्म तथा सुविधा प्रदान गरेर फेरी यस्ता अनुभव तथा अनुभूतिहरु प्राप्त गर्ने आकांक्षामा अरु प्रकारका कर्म तथा सेवाहरु गर्ने प्रयासमा लाग्छ ।

अहंकार मुक्त तथा इख शुन्य भावले पनि अरुलाई सुविधा तथा सेवा पुर्याउने कर्म गर्ने गरिन्छ, यस्तो कर्म निस्काम भावले ओतप्रोत हुन्छ र यसप्रकारको कर्मलाई नै वास्तविक सेवा भनिन्छ । अरुकालागि निस्काम भावले प्रदान गरेको सुविधा तथा सेवा गरेवापत सेवा प्रदायकको भावमा केही प्राप्त गर्ने उद्देश्य तथा कामना हुदैन । वास्तविक अर्थमा निस्काम भावले गरिने सेवा नै विस्तारै भक्ति बन्दछ र यसले सेवादायी र सेवाग्राही दुवैलाई अवर्णणीय असीम सुख, खुशी, शान्ति, आनन्दको अनुभूति हुन्छ । वास्ताविक सेवा तथा भक्तिमा मनुष्यले आफूलाई अकर्ता भावमा राखेर र परमात्मालाई कर्ता भावमा राखेर निस्काम कर्म गर्दछ र आफूलाई परमात्माको निमित्त तथा माध्यम मात्र ठान्दछ । यसप्रकारको सेवा तथा भक्तिबाट मनुष्यलाई आन्तरिक सुख, खुशी, सफलता, शान्ति, आनन्दको परम अवस्था अनुभव तथा अनुभुति हुन्छ । आन्तरिक परम अवस्थाका अनुभव तथा अनुभुतिहरु दिगो हुन्छन्, वाहिरका कुनै पनि कारणहरुले कुनै प्रकारको नकारात्मक प्रभाव पार्न नसक्ने हुनाले यस्ता परम अवस्थाहरु कहिल्यै ननासिने अविनासी हुन्छन् । अध्यात्म साधनाको निश्चित तहमा पुगेका साधकहरुमा मात्र वास्तविक सेवा तथा भक्तिको भाव आउछ । यस्तो साधक सांसाररिक जीवन जीउछ, आफ्ना सबैप्रकारका उत्तरदायित्वहरु निर्वाह गर्छ, कर्म गर्छ तर आफू सदा अकर्ता भावमा रहेर परमात्माको निमित्त तथा माध्यम भएर आफ्नो शान्ति तथा आनन्द र अरुको कल्याणको लागि कर्म गर्दछ । 

यसकारण म सकारात्मक अहंकारको पक्षमा छु किनकी अहंकार संधै नराम्रो हुदैन । सकारात्मक अहंकारले हरेक मनुष्यलाई कर्म गर्न प्रेरित गर्दछ र मनुष्यले क्षणिक तथा वाहिरीनै भएपनि आफ्नो जीवनमा सुख, खुशी, सम्पन्नता, सफलता, शान्ति, आनन्दको महसुस तथा अनुभव गर्दछ जुन उसको सहज, सरल, सफल र व्यवस्थित जीवनका लागि अत्यावश्यक हुन्छ । मनुष्यले तरिका जानेर अहंकारको सहि ढंगले सदुपयोग गर्नसक्यो भने यसले मनुष्यलाई आकाशमाथि उठाइदिन पनि सक्छ तर सहि ढंगले सदुपयोग गर्न जानेन भने यसले मनुष्यलाई जमिनमूनि धसाइदिन पनि सक्छ । अहंकारको उचित प्रकारले सदुपयोग गर्दा मनुष्यले सांसारिक जीवनका दुःख, पिडा, निराशा, अस्वीकृति, असन्तुष्टी, तनाव, चिन्ता आदिबाट मुक्ति पाउन सक्छ । हरेक मनुष्यले आफ्नो जीवनमा खोजेको पनि यही नै हो सुख प्राप्ति र दुःखबाट मुक्ति । यसरी सांसारिक जीवनका उतार–चढावहरुबाट मुक्ति अनुभव गरेर सुखी, खुशी, शान्त, सम्पन्न, सफल, आनन्दित भएको व्यक्ति सर्बकल्याणका लागि सेवा प्रदान गर्ने कर्महरुतिर आकर्षित र अग्रसर हुदै जान्छ र वास्तविक सेवा तथा भक्तिभावका कर्मले उ पारमार्थिक जीवनमा मोक्ष प्राप्त गर्ने मार्गतर्फ उन्मुख हुन्छ । 

हरेक मनुष्यमा अहंकार हुन्छ, ज्ञानी तथा विवेकशीलहरु अहंकारको सदुपयोग गर्छन् । उनीहरुले अहंकार मुस्किल विषय होइन, यसलाई आफ्नो अनुकुल सदुपयोग गर्नुपर्छ भन्ने बुझेका हुन्छन् र अहंकारलाई सकारात्मक मोड दिएर इख तथा करुणावस आफ्नो जीवन उर्जालाई सेवा, परोपकार, दान, पुण्य, भक्ति आदि सर्बकल्याणका कर्महरुको माध्यमबाट आफूमा अहंकार शुन्य बनाएर अध्यात्म साधनालाई निरन्तरता दिदै मोक्ष मार्गतर्फ उन्मुख हुन्छन् । तर अज्ञानीहरु अहंकारको सदुपयोग गर्न जान्दैनन् र जानेर, नजानेर दुरुपयोग गर्छन र अहंकार अर्थात म, मेरो मैले, मलाई अर्थात म–म–म–म भन्ने सानो ‘म’ को श्रृंखलाको दलदलमा फस्दै र त्यसैमा भासिदै जान्छन् किनकी उनीहरुमा भएको अहंकारको ठूलो पर्खालले उनीहरुको अन्तरहृदयमा रहेको आत्मा अर्थात ठूलो ‘म’ को प्रकाश छेकिदिएको हुन्छ र उ अन्धकारमा जीवन जीरहेका हुन्छन् । अन्धकारमा जीवन जीरहेको कारण उनीहरुले आफूभित्रको प्रकाश मात्र नभएर अरुभित्रको प्रकाश तथा अरुका सकारात्मक गुणहरु– स्नेह, मैत्री, मायाँ, प्रेम, दया, करुणा, श्रद्धा, सेवा, भक्ति भाव देख्न सक्दैनन् र संधै अरुलाई निकृष्ट र आफूलाई उत्कृष्ट ठान्दछन् । आफ्नो आत्माको प्रकाश छेक्ने अहंकारको पर्खाल खडा भएको कारण यस्ता मनुष्यहरुले पर्खाल वारीका म–म–म–म भन्ने सानो ‘म’ का श्रृंखलाहरु मात्र देख्दछन्, आफू स्वयंको र अरुका पर्खाल पारी भएका सकारात्मक गुणहरु– स्नेह, मैत्री, मायाँ, प्रेम, दया, करुणा, श्रद्धा, सेवा, भक्ति भाव देख्न सक्दैनन् । आफ्नो आत्माको प्रकाश अगाडि खडा भएको यही अहंकारको पर्खालको कारण यस्ता मनुष्यहरु संधै आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञान तथा परमसत्यबाट बिमुख रहिरहन्छन् । यही नै हो अहंकारको विपक्ष तथा नकारात्मक पाटो । अहंकारको नकारात्मक पाटोलाई हरेक मनुष्यले अझ गहिरो गरि बुझ्नु र विश्लेषण गर्नु आवश्यक छ र हरकोहीले नकारात्मक अहंकार त्याग्नुपर्छ । नकारात्मक अहंकार छोडेर सकारात्मक अहंकार र निरअहंकारमा प्रवेश गर्दै सेवा तथा भक्तिभावमा चुर्लुम्म डुब्नुपर्छ तवमात्र मनुष्यको मोक्ष मार्गको यात्रा प्रारम्भ हुन सम्भव हुन्छ ।

सांसारिक जीवनमा मनुष्यले जतिपनि दुःख, पिडा तथा अपमानको अनुभव गर्छ ती सबै अहंकार अर्थात सानो ‘म’का श्रृंखलाहरु म–मेरो–मैले–मलाईका कारण हुने गर्दछ । यस्तो अहंकार अर्थात सानो ‘म’ले कहिले पहिचान खोज्छ र पाएन भने दुःखी हुन्छ तथा अपमानको पिडा वोध गर्दछ; कहिले मान–प्रतिष्ठा खोज्छ र पाएन भने दुःखी हुन्छ तथा अपमानको पिडा वोध गर्दछ; कहिले कसैले मलाई अस्वीकार गर्लाकी भनेर डराउछ र अरुबाट चाहेको कुरा पाएन भने दुःखी हुन्छ तथा अपमानको पिडा वोध गर्दछ । यही सानो ‘म’ अर्थात अहंकार कसैले प्रशंशा गर्यो भने दंग पर्छ तथा मातिन्छ र कसैले आलोचना गर्यो भने दुःखी हुन्छ तथा आतिन्छ । यसप्रकारका विशेषताहरु ममा अत्यन्तै धेरै रहेछ त्यसबेला तर योग, ध्यान तथा अध्यात्म साधनाबाट आफ्नो अहंकार न्यून गरेपछि अव म सामान्य र फरक व्यक्ति भएको छु, सुमिता ।

नकारात्मक अहंकार अहम, अभिमान तथा घमण्ड हो यसले अरुको र व्यक्ति स्वयंकै पनि हानि गर्दछ किनकी नकारात्मक अहंकारमा अरु भन्दा आफू ठूलो हुँ, जान्ने हुँ, राम्रो हुँ, राम्रो काम जति सबै आफूले गरेको हुँ र नराम्रो काम जति सबै अरुले गरेका हुन्, कामको जस, मान–प्रतिष्ठा, सुविधा मैलेनै पाउनु पर्छ, अपजस जति अरुले पाउनुपर्छ भन्ने निकृष्ट तथा निच भावको सोचको तोरा अत्यन्तै धेरै हावी भएको हुन्छ । तर आम मनुष्यहरुले सहजै छुट्याउन सक्ने गरि सकारात्मक अहंकार र यी नकारात्मक अहंकार छुट्याउने स्पष्ट सीमारेखा भने छैन । यसकारण कहिलेकाहीं सोच्दै नसोचिएको व्यक्ति उदाहरणको लागि सन्त, योगी, गुरु, सदगुरुहरुमा पनि नकारात्मक अहंकार तथा अभिमानको तोरा अत्यधिक पाउन सकिन्छ भने कहिलेकाहीं कोही असल तथा राम्रो होला भनेर अपेक्षा नै नगरिएको व्यक्तिमा सकारात्मक अहंकारको तोरा राम्रो तथा उच्चतम पाउन सकिन्छ । अहंकार दृश्य वस्तु होइन, यो मनुष्यको सोच, विचार, मन, भाव, वुद्धि तथा नियतमा सुक्ष्म रुपले लुकेर बसेको हुन्छ र आवश्यकता अनुसार प्रकट हुन्छ । कहिलेकाहीं त आफू स्वयंलाई समेत थाहा हुदैन आफू र अरुले राम्रो, परोपकारी, सेवा, भक्ति भावले भरिएको भनेर आफ्नो प्रशंशा गरिरहदा आफूमा नकारात्म अहंकार अर्थात अभिमान, अहम, घमण्ड, घृणा, द्वेश प्रकट भएको किनकी अहंकार अत्यन्तै चलाख र अति सुक्ष्म हुन्छ, यसले कुनबेला कसरी व्यक्तिलाई आफ्नो चपेटामा लिएर अभिमानी बनाएर अरु समक्ष लज्जित बनाइदिन्छ थाहानै हुदैन, जव यसको परिणाम आउछ तव मात्र व्यक्ति झस्किन्छ, ओहो, म पनि यस्तो अहंकारी, अभिमानी, घमण्डी रहेछु भनेर । 

अधिकांश मनुष्यहरु सांसारिक जीवन र पारमार्थिक दुवैप्रकारको जीवन एकसाथ जीरहेका हुन्छन्, यो अलग विषय हो कसैको सांसारिक जीवन पट्टि बढि झुकाव हुन्छ र कसैको पारमार्थिक जीवन पट्टि बढि झुकाव हुन्छ । अहंकार सांसारिक जीवनको प्रमुख ‘साधना’ हो किनकी अहंकार तथा इख बिना सांसारिक जीवनलाई अगाडि बढाउन तथा प्रगति हासिल गर्न सकिदैन तर अहंकार सकारात्मक भए मात्र साधना हो नभए जीवनको प्रमुख बाधा नै यही बनिदिन्छ । पारमार्थिक जीवनमा अगाडि बढ्न तथा प्रगति गर्नकालागि सकारात्मक र नकारात्मक दुवै प्रकारका अहंकार बाधा हुन् । विशेष गरिकन नकारात्मक अहंकार तथा अभिमान प्रमुख बाधा हो किनकी अध्यात्म साधनाको प्रमुख उद्देश्य मनुष्यको आत्मा र परमात्माको विचमा रहेको अहंकारको पर्खाल हटाएर तथा मनुष्यलाई अहंकारबाट मुक्त गराएर प्रेम, सेवा, भक्ति, ध्यानको मार्गमा लगाउनु हो तर मनुष्यको नकारात्मक अहंकार तथा अभिमानको पर्खाल तोड्न अत्यन्तै मुस्किल हुन्छ, मनुष्य आफू स्वयंले आफ्नो अहंकारको पर्खाल तोड्न सक्दैन । व्यक्तिमा रहेको सुक्ष्म अहंकार तोड्न कोही परमसत्यमा स्थित भैसकेको अनुभवी सदगुरुले मात्र सक्दछ व्यक्तिलाई जीवन र जगतका परमसत्यले ओतप्रोत ज्ञानगुनका विषयहरु अन्तरहुदयमा पुग्नेगरि सैद्धान्तिक रुपमा सिकाएर र प्रयोगात्मक रुपमा साधनामा अभ्यस्त गराएर । अहंकारका आयामका अन्तरआयाम तथा प्रकारहरु पनि रहेकाछन्– व्यक्तिगत अहंकार, पारिवारीक अहंकार, सामाजिक अहंकार, सांस्कृतिक अहंकार, धार्मिक अहंकार, आध्यात्मिक अहंकार । यी सबै प्रकारका अहंकारको आफ्नै हानि, नोक्सानीहरु हुन्छन् जसले व्यक्ति स्वयंलाई सबैभन्दा बढि नकारात्मक प्रभाव पार्दछन् र साथसाथ परिवार, समाज, देश, संस्कृति, धर्म, अध्यात्म, प्रकृति सबै क्षेत्रमा हदैसम्मको नकारात्मक प्रभाव पार्दछन् ।


यी मध्य सबैभन्दा बढि खतरनाक आध्यात्मिक तथा धार्मिक अहंकारलाई मानिएको छ किनकी यसले मनुष्यको सांसारिक र पारमार्थिक दुवै जीवनका वाहिय तथा आन्तरिक सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्दमा नकारात्मक प्रभाव पार्दछ । म ध्यान साधक हुँ, मैले यस्तो अनुभव तथा अनुभूति गरें, म अरु भन्दा आध्यात्मिक तथा धार्मिक छु, मेरो धर्म सबैभन्दा उत्कृष्ट हो, मेरो गुरु सबैभन्दा ज्ञानी हो जस्ता अभिमान प्रकट गर्ने आध्यात्मिक तथा धार्मिक अहंकार बिनासकारी हुन्छ सांसारिक अर्थात व्यक्तिगत, पारिवारिक, सामाजिक अहंकारको तुलनामा किनकी सांसारिक अहंकार मोटो हुन्छ, यो व्यक्तिको सोच, विचार, भाव, शव्द, व्यवहार, आचरण, हाउभाउमा व्यक्त हुन्छ, यसलाई सजिलै जान्न तथा अनुभव गर्न सकिन्छ र समाधान तथा व्यवस्थापनको उपाय अपनाउन सकिन्छ आफू स्वयं र अरुको सल्लाह सुझाव अनुसार तर आध्यात्मिक तथा धार्मिक अहंकार देखिदैन, यो अत्यन्तै पातलो तथा सुक्ष्म स्वरुपको हुन्छ । आध्यात्मिक तथा धार्मिक अहंकार अदृश्य, अत्यन्तै सुक्ष्म तथा पातलो स्वरुपमा प्रेम, सेवा, परोपकार, दान, पुण्य, दया, करुणा, आस्था, सर्बकल्याणका अभियानहरुमा लुकेर बसेको हुन्छ । यसले सबैभन्दा पहिला व्यक्ति स्वयंलाई हानि गर्दछ नजानिदो रुपमा र यसले खासगरि मनुष्यको जीवनको आन्तरिक विकास तथा पारमार्थिक विकासको मार्गमा अवरोध खडा गर्दछ । त्यसपछि यसको नकारात्मक प्रभाव तथा खराव तरंग विस्तारै अरुतिर परिवार, समाज, राज्य, प्रकृति, ब्रम्हाण्डमा फैलिदै तथा विस्तार हुदै जान्छ । यसकारण हरकोही मनुष्यले अहंकारका आयाम, प्रकार, प्रभाव तथा तोराको बारेमा राम्ररी जानेर, बुझेर, विश्लेषण गरेर यसको न्यूनिकारण, सन्तुलिकरण तथा व्यवस्थापनमा विशेष ध्यान पुर्याउनु पर्दछ किनकी अध्यात्म तथा धर्म र अहंकार एकआपसमा विपरित ध्रुव हुन्, कुनै एकको उपस्थितिमा एकअर्कोसंग एकसाथ रहनै सक्दैनन् । मनुष्यको जीवनमा अहंकार यतिसम्म खतरनाक हो कि यसको अन्तिम विन्दु तथा गन्तव्य पागलपन तथा आत्महत्या हो तर अध्यात्म तथा धर्मको अन्तिम विन्दु तथा गन्तव्य आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञान तथा परमसत्यमा स्थित हुनु हो । अहंकारको नकारात्मक पाटोको बारेमा जति बोले पनि यसको विषय कहिल्यै सकिदैन, तिमीले मेरो कुराहरुलाई कसरी ग्रहण गरिरहेकी छौ मलाई थाहा छैन सुमिता तर मेरो उद्देश्य आम मनुष्यहरुलाई अहंकारको विकराल स्वरुप देखाएर तर्साउनु होइन बरु यसको नकारात्मक पाटो बुझेर आफू सतर्क होउन् र अरुलाई पनि सतर्क रहन ज्ञान प्रदान गरुन् भन्ने हो, तसर्थ म यहाँ अहंकारबाट मुक्तिको उपायबारे पनि बताउछु । 

अति उपभोक्ततावाद र प्रतिस्पर्धात्मक जीवनशैलीको जगजगी रहेको वर्तमान समयका मनुष्यहरुको सबैभन्दा ठूलो समस्या नै उनीहरुको अहंकार बन्दै आइरहेको छ । अधिकांश मनुष्यहरु खासगरि नकारात्मक अहंकार तथा अनावश्यक अभिमान, अहम, घमण्डका कारण अनेक प्रकारका शारीरिक, मानसिक, भावनात्मक, वौद्धिक, आत्मिक अर्थात चेतनात्मक अस्वस्थता तथा असन्तुलनताहरुबाट पिडित भैरहेका छन् । तसर्थ अस्वस्थता तथा असन्तुलनताहरुबाट आफूले छुटकारा पाउनु र अरुलाई छुटकारा दिलाउने प्रयास गर्नु अत्यावश्यक छ । अहंकारबाट छुटकारा पाउनकालागि सर्वप्रथम त मानसिक तथा भावनात्मक प्रयासनै गर्नु पर्दछ सबैले । यसकालागि अहंकारका श्रृंखलाहरु म–मेरो–मैले–मलाई भन्ने अभिमान, अहम तथा घमण्डका भावहरुलाई त्यागेर प्रेमका श्रृंखलाहरु स्नेह–मायाँ–मैत्री–दया–करुणा–सहयोग–सेवा–दान–पुण्य–परोपकार–सर्वकल्याण–प्रशंशा–कृतज्ञता–क्षमा–श्रद्धा–भक्तिका भावहरु आफूमा भर्ने प्रयास गर्नु पर्दछ । अहंकारलाई त्याग्नु पर्छ तर मानसिक तथा भावनात्मक प्रयासले मात्र अहंकार त्यागीदैन किनकी अहंकार शरीरमा धारण गरेको कुनै पहिरन तथा आभुषण होइन जो खोलेर फाल्छु तथा त्याग्छु भनेर त्यागीयोस् । 

अहंकार मनुष्यको सोच, विचार, मन, भाव, नियतमा जन्म–जन्मदेखि जरा गाडेर बसेको हुन्छ उसको संचित, प्रारब्ध तथा क्रियमाण कर्म तथा संस्कारको रुपमा र नजानिदो किसिमले यी पूराना संस्कारहरुले मनुष्यलाई नियन्त्रणमा लिरहेको हुन्छ जुन क्रमिक रुपमा मनुष्यको सोच, विचार, बोलि, व्यवहार, आचारण, सम्वन्धहरुमा प्रकट भएर वाहिर आउने गर्दछन् । अहंकारको जरा गहिरो गाडिएको हुनेहुनाले यसलाई मानसिक तथा भावनात्मक अठोट तथा सैद्धान्तिक प्रवृत्तिले मात्र त्याग्न तथा यसबाट छुटकारा पाउन सकिदैन । मनुष्यको प्रकृति तथा स्वभाव अनुसार कहिलेकाहीं त मानसिक, भावनात्मक तथा सैद्धान्तिक प्रवृत्तिले अझ बढि अहंकारीतातिर लानसक्ने खतराको संभावना पनि हुनसक्छ । अहंकारबाट दिगो रुपमा छुटकारा पाउन र आफूमा रहेका अहंकारका श्रृंखलाहरुलाई त्यागेर प्रेमका श्रृंखलाहरुमा आफूलाई स्थापित गर्न प्रक्रियावद्ध रुपले निष्ठावान भएर अध्यात्म विज्ञानका योग तथा ध्यान साधनाका सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, विज्ञानका विषयहरुका पुर्णतः वैज्ञानिकतामा आधारित प्रक्रिया, विधि तथा पद्धतिहरुको व्यवहारिक रुपमा प्रयोगात्मक अभ्यासहरुलाई अनुशरण गर्नु अत्यावश्यक हुन्छ । अत्यन्तै गहन तरिकाले वाहिर अरु समक्ष म यसो गर्दैछु भनेर हल्ला–खल्ला तथा देखावा नगरीकन विस्तारै आफूलाई मौनतामा ढालेर आफूतिर फर्किने प्रक्रिया प्रारम्भ गर्नु पर्दछ तवमात्र विस्तारै अहंकारको त्याग गर्न सफल हुन सकिन्छ । सनातन अध्यात्म विज्ञानमा यो प्रक्रियालाई आफूतिरको यात्रा, अन्तरयात्रा, आत्म अवलोकन तथा आत्म विश्लेषण साधना भनिन्छ । 

अन्तरयात्रा तथा आत्म अवलोकन साधना पद्धतिको प्रयोगात्मक अभ्यासको प्रक्रियामा जव मनुष्य स्थिर र एकचित्त भएर ध्यान साधनामा बस्छ तव एकएक गरि अंहारका श्रृंखलाहरु म–मेरो–मैले–मलाई आदिलाई सुक्ष्म रुपमा विश्लेषण गरिन्छ । म फलानो... हुँ, यो... मेरो हो, यो... मैले गरेको हो, मलाई यो... चाहिन्छ जस्ता अहंकारका परत तथा बोक्राहरु छोडाउन प्रारम्भ गरिन्छ प्याजका परत छोडाए जस्तैगरि । 

म को हुँ ? के म शरीर हुँ ? के म मन हुँ ? के भावना हुँ ? 

होइन, किनकी शरीर, मन, भावना त मेरा हुन् जो प्रकृति अर्थात पृथ्वी–जल–अग्नि–वायू–आकाश पंचतत्वका समिश्रणबाट बनेका हुन् । म शरीर, मन, भावना हुँ भन्ने बुझ्नु तथा मान्नु भ्रम हो र यही भ्रम नै अहंकार हो किनकी हाम्रो ‘शरीर’ प्रकृतिबाट निर्मित भएको हुन्छ, ‘मन’ ज्ञान तथा कर्म इन्द्रियहरुद्वारा प्राप्त सूचनाहरुबाट निर्मित भएको हुन्छ, ‘भावना’ परिस्थिति अनुसार निर्मित भएका अनुभवहरुबाट निर्मित भएको हुन्छ । शरीर, मन, भावना अस्थिर हुन्छन् सानो ‘म’ हुन् र यी पलपल बदलिरहेका हुन्छन् तर वास्तविक म ठूलो ‘म’ अर्थात आत्मा अर्थात चेतना हुँ जो कहिल्यै पनि बदलिन्न, संधै उही रहिरहन्छु र मेरो शरीर, मन, भावना निरन्तर बद्लिरहेका दृश्यहरु देखिरहेको तथा अनुभव गरिरहेको हुन्छु साक्षी तथा द्रष्टा भएर । 


त्यसोभए के म नाम हुँ ? के म पहिचान हुँ ? के म मान–प्रतिष्ठा हुँ ? 

होइन, किनकी नाम, पहिचान, मान–प्रतिष्ठा त अरुले वाहिरबाट दिएका हुन् जुन आज छ भोलि नरहन पनि सक्छ तर ‘म’ त संधै रहिरहन्छु र यी नाम, पहिचान, मान–प्रतिष्ठामा निरन्तर आइरहने गतिविधि तथा उतार–चढावहरु देखिरहेको तथा अनुभव गरिरहेको हुन्छु साक्षी तथा द्रष्टा भएर । 

मसंग जेजे वस्तु तथा सेवा, सुविधाहरु छन् के ती मेरा हुन् ? 

होइन, किनकी म त खालि हात तथा कुनै भौतिक वस्तुबिहिन आएको थिएं आमाको गर्भबाट र खालि हातनै जान्छु प्राण छुटेपछि, यी वस्तु तथा सेवाहरु म यो संसारमा आउनुअघि पनि यहीं थिए अर्कोको स्वामित्वमा र म गएपछि पनि यहीं रहनेछन् अर्कोको स्वामित्वमा मेरो स्वामित्व छुट्नेछ तर ‘म’ त संधै आफ्नो स्वामित्वमा रहिरहन्छु र यी वस्तु तथा सेवाहरुको स्वामित्वमा निरन्तर आइरहने बदलावका गतिविधि तथा उतारचढाउहरु देखिरहेको तथा अनुभव गरिरहेको हुन्छु साक्षी तथा द्रष्टा भएर ।

के मेरा कर्महरु मैले गरेका हुन् ? 

होइन, किनकी मेरो शरीर, मन, भावनाले गरेका हुन् जो पंचतत्वद्वारा निर्मित भएका हुन् । पंचतत्व प्रकृति अर्थात परमात्माबाट सृष्टि भएको हो मनुष्यले बनाएको होइन तसर्थ म लगायत सबै चिज, वस्तु तथा तिनका सेवा तथा सुविधाहरु परमात्मा प्रदत्त हुन् र जेजे भैरहेको छ यहाँ सबै प्रकृति अर्थात परमात्माद्वारा नै भैरहेको छ, हामीले केही पनि गरेका छैनौं, हामी निमित्त तथा माध्यम मात्र हौं, हामीद्वारा प्रकृति अर्थात परमात्मा स्वयंले सबै कर्महरु गरिरहेको छ तथा गराइरहेको छ तर वर्तमान जीवनमा कस्ता क्रियमाण कर्महरु गर्ने र कस्ता क्रियमाण कर्महरु नगर्ने भन्ने रोजाई तथा निर्णयको स्वतन्त्रता केही हदसम्म मनुष्य स्वयंलाई प्रदान गरिएको छ जसबाट उसले आफ्ना शरीर, विचार, भाव, कर्महरु शुद्ध गरेर आफ्नो आध्यात्मिक जीवनमा प्रगति हासिल गर्न र मोक्षको अधिकारी बन्न सक्दछ ।
   
मलाई भन्ने भाव किन आउछ ? 

यो भाव पनि भ्रम तथा अहंकार हो किनकी जव म शरीर, मन, भाव, वुद्धि, नाम, पहिचान, मान–प्रतिष्ठा केही होइन; यहाँ मेरो भन्ने केहीपनि छैन; मैले कुनै कर्म गरेको पनि होइन भने मलाई भन्ने भाव नै भ्रम हो । म, मेरो, मैले भन्ने नै छैन भने मलाई भन्ने सवाल नै आउदैन । मलाई चाहियो या चाहिएन भन्दैमा मेरो इच्छाले केहीपनि प्राप्त हुने तथा मबाट छुट्ने हुदैन किनकी मलाई कुन बेला के चाहिन्छ तथा के चाहिदैन भन्ने कुरा प्रकृति अर्थात परमात्माले नै निर्धारण गरिरहेको हुन्छ प्रमुख अवस्थाहरुमा र समय र आवश्वकता अनुसार उसैले प्रदान गरिरहेको हुन्छ । हामीले जनबोलिमा सुन्दै आइरहेका छौं कि ‘समय भन्दा पहिले र आवश्यकता भन्दा बढि कहिल्यै पनि कसैलाई केही प्राप्त हुदैन’ र यो सत्य हो किनकी यो स्वयं प्रकृति अर्थात परमात्माको नियम हो जो यो नियमको विपरित गएर समाज र प्रकृतिलाई बिथोल्ने तथा असन्तुलन पैदा गर्ने दुस्साहस गर्छ जबरजस्ती, दुःख-पिडा तथा सजाय पाउने उसैले हो र यस्तो काम उसले अहंकारको वसमा परेर गरेको हुन्छ, यसैकारण हरहालमा हरेक मनुष्यले अहंकार त्याग्नुपर्छ भनिएको हो । मनुष्यले गर्ने एकमात्र कर्म हो प्रकृति अर्थात परमात्माप्रति आस्था, समर्पण र उसका सिर्जन तथा सन्तानहरुको सेवा जसअन्तर्ग हामी आफू स्वयं पनि पर्दर्छौं किनकी म उसैको अभिन्न अंश हुँ । आफूले आफ्नो सेवा गर्नु पनि परमात्माकै काम तथा सेवा गरेको हो किनकी यहाँ कणकण केवल उ मात्र छ, सर्वव्यापक, सर्वशक्तिमा भएर रहेको छ, मेरो शरीर, मन, भाव, वुद्धि, आत्मा अर्थात चेतनाका रोमरोममा, कणकणमा केवल उही परमात्मा छ, मात्र उही छ, म भन्नु भ्रम तथा अज्ञान हो र यही भ्रम तथा अज्ञान नै मनुष्यको अहंकार हो । परमात्माप्रतिको यही आस्था, विश्वास र समर्पणले मनुष्यलाई अहंकारका श्रृंखलाहरुबाट मुक्त गरेर प्रेमका श्रृंखलाहरुमा स्थित गराउछ र विस्तारै उसको आत्मा अर्थात चेतनाको विकास गरेर मोक्षको मार्गमा अग्रसर गराउछ । 

आदिगुरु शंकराचार्यले भन्नु भएकोछ, “ब्रम्ह सत्यं जगत मिथ्या” अर्थात केवल ब्रम्ह अर्थात परमात्मा अर्थात प्रकृति अर्थात अस्तित्व मात्र नित्य, अपरिवर्तनशील, अमृत तथा परमसत्य छ, उसले सृष्टि गरेको जगत अर्थात ब्रम्हाण्ड अनित्य, परिवर्तनशील, मिथ्या अर्थात भ्रमपूर्ण छ र हामी सबै यही मिथ्या जगतमा रहेको मिथ्या शरीर, मन, भाव, वुद्धि, नाम, पहिचान, मान–प्रतिष्ठा, म, मेरो, मैले, मलाई भन्ने भ्रममा अल्झिरहेका मुर्खहरु हौं किनकी मुर्खहरुनै भ्रमित हुने हुन्, परमसत्यलाई जान्ने भगवान शिव, भगवान राम, भगवान कृष्ण, भगवान बुद्ध, भगवान जिसस, भगवान पैगम्बर आत्मवोध भएका अनन्त चैतन्य आत्मा अर्थात चेतनाहरु मोक्षमा स्थित भैसक्नु भएको छ तर हामी यही भ्रम अर्थात अहंकारलाई पक्डेर बसेका कारण जन्म–मृत्युको दुष्चक्रमा घुमिरहेका छौं । मनुष्यमा जति बढि भ्रममा हुन्छ उतिनै बढि अहंकारका श्रृंखलाहरुको विष उसमा फैलिदै जान्छ र उसले संधै आफूलाई शरीर, मन, भाव, वुद्धि, नाम, पहिचान, मान–प्रतिष्ठाको मिथ्या भावमा बुझिरहन्छ र म, मेरो, मैले, मलाईका अहंकारका श्रृंखलाहरुमा अल्झिरहेका मनुष्यहरु आफू अर्थात ठूलो ‘म’ अर्थात आत्मा अर्थात चेतना अर्थात प्रकृति अर्थात परमात्मा अर्थात परब्रम्हको एउटा अति सुक्ष्म कण तथा अंश हुँ र ब्रम्हाण्डमा भएका सबै प्राणी, वनस्पति, पदार्थहरुको अस्तित्वको वास्तविकता यही नै हो, सबै म जस्तै हुन् म सबै जस्तो हुन् अर्थात सबैमा म छु, ममा सबै छन् भन्ने ज्ञान बुझ्दैन र यो जात र त्यो जात, यो धर्म र त्यो धर्म, यो सम्प्रदाय र त्यो सम्प्रदाय, यो लिंग र त्यो लिंग, यो देश र त्यो देश भनेर संधै झगडा गरेर बसिरहन्छ अति अहंकरका कारण... !

                                                                        अस्तु
                                                       शिवोहम ! शिवोहम !! शिवोहम !!! 



                                             

Friday, 26 September 2025

आध्यात्मिक नारीवाद: स्त्री सबलिकरणमा अध्यात्म विज्ञानको भूमिका, खण्ड -४

डा. सिर्जना भण्डारी*

    #आध्यात्मिक_नारीवाद #अध्यात्म_दर्शन #जीवन_दर्शन  

 स्त्री सबलिकरणका तह र पक्रियाहरु

"स्त्री र पुरुष प्रतिस्पर्धि होइनन् पूरक तथा साझेदार हुन् !"  - ओशो रजनीश


विनम्र आव्हान

अध्यात्म विज्ञानका अनुसार हरेक मनुष्य जन्मजात प्राकृतिक रुपमा कोमल, प्रेमल, सुखी, खुशी, शान्त र आनन्दित स्वभावको हुन्छ तर उ हुर्कदै जाने क्रममा परिवार, समाज, राज्यका विविध सकारात्मक तथा नकारात्मक गतिविधिहरुले उसलाई कठोर र मानवीय विकार तथा क्लेशले भरिएको बनाउदै लान्छन् र उ आफूले नचाहेर पनि आफ्नो सामान्य जीवननिर्वाह तथा आफ्नो बचाउकालागि अनेक प्रकारका अस्वाभाविक व्यवहार तथा आचारणहरु गर्न बाध्य हुदै जान्छ वाहिरी प्रभावका कारण र विस्तारै यस्ता अस्वाभाविक गतिविधिहरु उसका बानी र दैनिकी बन्दै जान्छन् र आन्तरिक रुपमा उसले आफूलाई त्यस्तै ठान्न थाल्छ र संधै त्यस्तै बनेर आफू र अरुकालागि समस्या तथा चुनौती बनिरहन्छ । विगतदेखि वर्तमान समयसम्मका स्त्रीहरु ठिक यस्तै अवस्थाबाट आफ्नो जीवननिर्वाह तथा बचाउ गर्दै आइरहेका छन् । इतिहास साक्षी छ, विगत लामो समयदेखि पितृसत्तात्मक समाजले स्त्रीहरुलाई उनीहरुको प्राकृतिक तथा नैसर्गीक अधिकारबाट बन्चित गराएकोले उनीहरु आफ्नो नैसर्गीक हक–अधिकार प्राप्त गर्नकालागि अनेक किसिमले सक्दो संघर्ष गर्दै आइरहेका छन् । स्त्रीहरुले आफ्नो नैसर्गीक हक–अधिकारका लागि गरेका संघर्षका विभिन्न प्रक्रिया तथा गतिविधिहरुलाई पितृसत्तात्मक समाजले अराजकता, मनपरितन्त्र र अस्वाभाविक विषय मान्दै आइरहेको छ र उसले आजका स्त्रीहरुलाइ उनीहरुको नैसर्गीक(प्रकृति प्रदत्त) हक–अधिकार फिर्ता गर्नुको साटो उल्टै स्त्रीहरुलाई पुरुष, समाज तथा राज्य विरुद्ध प्रतिवादी, प्रतिस्पर्धी तथा लडाकु जस्ता नकारात्मक उपमाहरुमा अथ्र्याउदै उनीहरुलाई दबाउदै आइरहेको छ । तर अव पुग्यो, संधै कति संघर्ष मात्र गर्ने र आफ्नो मानव जीवनको अमूल्य समय अनुत्पादक काममा खेर फाल्ने तसर्थ अव स्त्री र पुरुष सबैले शान्तिपूर्ण ढंगले भगवान श्रीमहावीरको “अहिंसा अपनाउ, आफू बाँच र अरुलाई पनि बाँच्न देउ” र भगवान बुद्धको “प्रेम, करुणा देउ र प्रेम, करुणानै लेउ” भन्ने आध्यात्मिक दिव्य सन्देशलाई आत्मसाथ गर्दै अहिंसा, निरअहंकार, सहयोग तथा सदभावको सात्विक मार्ग अपनाउँ र स्त्रीहरुलाई पुरुष, समाज र राज्यका प्रतिवादी, प्रतिस्पर्धी तथा लडाकु जस्ता नकारात्मक उपमाहरुबाट बदलेर उनीहरुलाई अव्बल, सबल, सक्षम, प्रतिभावान, सशक्त, शान्त, सजग, योग्य जस्ता सकारात्मक उपमाहरुमा स्थिापित गर्न सबैतिर आध्यात्मिक दृष्टिकोण राखेर विभिन्न तह तथा स्तरहरुबाट स्त्रीहरुको वास्तविक सबलिकरणका विभिन्न प्रक्रिया तथा उपायहरु अपनाएर ती सबैलाई व्यवहारिक रुपमा अभ्यासमा उतारौं र समग्र समाज र प्रकृतिलाई नै उन्नत, प्रगतिशील र विकसित बनाऔं । यसकालागि पहिलो चरणमा विभिन्न तह तथा स्तरहरुबाट स्त्री सबलिकरणको प्रक्रिया प्रारम्भ गर्नु अत्यावश्यक हुन्छ ।


विभिन्न तह तथा स्तरहरु

अध्यात्म विज्ञान हरेक मनुष्यलाई सहज, सरल, सफल तथा उत्कृष्ट जीवन जीउन सिकाउने महान कलाको (दि आर्ट अफ लिभिगं) विज्ञान हो तसर्थ अध्यात्म हरेक स्त्रीको जीवनको अत्यन्तै आवश्यक र महत्वपूर्ण हिस्सा हो, स्त्रीको सबलिकरणका प्रक्रियाहरुमा अध्यात्म विज्ञान एउटा दृढ आधार बन्नसक्छ र अनिवार्य रुपमा बनाइनु पर्दछ । मानव र मानव समाज निरन्तर समय सान्दर्भिक विकास तथा परिवर्तनका प्रक्रियाबाट अगाडि बढिरहेकोछ र विकास तथा परिवर्तनका क्रममा यसले विभिन्न कालखण्ठहरुमा स्त्रीहरुको सामुन्नेमा विविध अवसरहरुका साथसाथ अनेक प्रकारका समस्या तथा चुनौतीहरु पनि खडा गरिदिएको छ । समयक्रमसंग आएका विकासका परिवर्तनहरुले दिएका अवसरहरुको उच्चतम सदुपयोग गरेर त्यससंगै आएका समस्या तथा चुनौतीहरुको सहि ढंगले व्यवस्थापन गर्दै जानु समग्र विकास तथा परिवर्तनका प्रक्रियाहरुको महत्वपूर्ण पाटो हो । जो कोही मानिस तव मात्र अव्बल, सबल, सक्षम तथा सशक्त बन्नसक्छ जव उसमा प्रतिभा, क्षमता, दक्षता, सिर्जनशीलता तथा सकारात्मकताका गुणहरुको विकास भएको हुन्छ । व्यक्तिमा यी गुणहरुको विकास गर्न सहि समयमा सहि निर्णय लिनु अत्यावश्यक हुन्छ र हरेक व्यक्तिमा यी गुणहरुको विकास गर्ने सुवर्ण तथा उर्वर समय १५ वर्षदेखि ४० वर्षसम्मको उमेरलाई मानिन्छ । स्त्री र पुरुषको उमेरको यो सुवर्ण समयलाई तटस्थ भएर सुक्ष्मसंग स्त्री र पुरुषले प्राप्त गर्ने अवसर, स्वतन्त्रता तथा निर्भरता, समय तथा फुर्सद, पारिवारीक साथ, सहयोग तथा समर्थन, सुविधा, हेरविचार, खानपान, साहस, प्रेरणा आदिको विश्लेषण गरेर हेर्ने हो भने सबैलाई सूर्यको प्रकाश जस्तै छर्लंग हुन्छ १५ देखि ४० वर्षको उमेरमा स्त्रीहरुले बहन गर्नुपर्ने उत्तरदायित्वहरु; उनीहरुले बेहार्नुपर्ने समस्या तथा चुनौतीहरु; उनीहरुमा प्रतिभा, क्षमता, दक्षता, सिर्जनशीलता, सकारात्मकताका गुणहरुको विकास हुन नसक्नुका कारणहरु; र पुरुषको तुलनामा स्त्रीहरु पछाडि पर्नु तथा पुरुषहरु माथि परनिर्भर हुनुका कारणहरु । स्त्रीहरुको जीवनमा आइपर्ने यस्ता विभिन्न तहगत समस्या तथा चुनौतीहरुलाई तहगत रुपमै पहिचान गरि सहि ढंगले समाधन तथा व्यवस्थान गर्दै स्त्री सबलिकरणको कार्यलाई प्रभावकारी, परिणाममुखी तथा उपलव्धिमूलक बनाउनु आवश्क हुन्छ । स्त्रीहरुको जीवनमा आइपरेका तहगत समस्या तथा चुनौतीहरु निम्न रहेका छन्–(१)व्यक्तिगत तह, (२)पारिवारीक तह, (३)सांस्कृतिक तह, (४)सामाजिक तह, (५)धार्मिक तह, (६)आध्यात्मिक तह, (७)संस्थागत तह, (८)राज्य तह, (९)विश्व तह, (१०)प्राकृतिक तह ।


(१)व्यक्तिगत तह

वाहिरी तहका साथसाथ स्त्रीहरुमा आफू स्वयं तथा व्यक्तिगत तहबाट पनि विविध प्रकारका समस्या तथा चुनौती आइपर्दछन् अथवा सिधा भन्ने हो भने वाहिरी प्रभावहरुको कारणलेनै उनीहरुमा समस्या तथा चुनौतीका व्यक्तिगत कारणहरु उत्पन्न हुन्छन् र उनीहरु आफ्नो व्यक्तित्व तथा नेतृत्व विकास गर्न असक्षम हुन्छन् । धर्म, संस्कृति, समाज, राज्य, विश्व समाज, प्रकृतिले परिवार र समाजप्रति स्त्रीहरुले अनिवार्य रुपमा खेल्नुपर्ने भूमिकाका रुपमा निर्धारण गरिएका नीति–नियम तथा मूल्य–मान्यताहरुलाई प्राथमिकताका आधारमा अनुशरण तथा पालन गर्ने क्रममा स्त्रीहरुसंग आफ्नो व्यक्तित्व तथा नेतृत्व विकासका लागि अत्यावश्यक पर्ने समय, इच्छाशक्ति, उत्साह, जोस, जाँगर, प्रेरणा, मन, भाव, आत्मबल तथा आत्मविश्वास नै बाँकी रहदैन । खासगरि स्त्रीहरुको उर्बर उमेरमा घरको कामकाज व्यवस्थापन; परिवारीक उत्तरदायित्व व्यवस्थापन; नातागोता तथा सम्बन्ध व्यवस्थापन; सामाजिक तथा सामुदयिक भूमिका व्यवस्थापन; कार्यालयको जिम्मेदारी व्यवस्थापन गर्दागर्दै उनीहरुलाई आफ्नो व्यक्तित्व तथा नेतृत्व विकासका लागि आवश्यक पर्ने न्युनम समय तथा फुर्सद नै बाकी रहदैन र उनीहरुले आफूमा प्रतिभा, क्षमता, दक्षता, सिर्जनशीलता तथा सकारात्मकताका गुणहरु विकास गर्न सक्दैनन्, फलस्वरुप जीवनमा केही उत्पादनमूलक काम गर्न असक्षम हुन्छन् र परिवार तथा पुरुषमाथि परनिर्भर हुन्छन् । स्त्री सबलिकरणका लागि क्षमता तथा व्यक्तित्व विकास गर्नुको अर्को कुनै विकल्प छैन तसर्थ स्त्रीहरु आफू स्वयं जागरुक भएर वर्तमानमा तथा भविश्यमा आफूमाथि आइपर्न सक्ने यस्ता समस्या, चुनौती तथा बाध्यताहरुको सहि आंकलन गरेर, सबैको कल्याण हुने आध्यात्मिक भावले भरिएर सक्दो परिवारीक सम्वन्ध, अमनचयन तथा शान्ति भंग नहुनेगरि होसियार, सम्यमित र मितव्ययि भएर आफू, परिवार, समाज, राज्य सबैको हित हुनेगरि आफ्नो अनुकुल परिस्थिति बनाउने तथा मिलाउने प्रयास गर्नुपर्दछ र यसमा परिवार, समाज, राज्यले पनि स्त्रीलाई साथ, सहयोग दिनु पर्दछ ताकि स्त्रीहरुले पनि आफूमा प्रतिभा, क्षमता, दक्षता, सिर्जनशीलता तथा सकारात्मकताका गुणहरु विकास गरेर आफ्नो व्यक्तित्व र नेतृत्व निर्माण गर्दै जीवनमा अगाडि बढ्न सकुन् र संधै आफ्नो नैसर्गीक अधिकारकारको संघर्षबाट सदाकालागि मुक्ति पाउन् ।


(२)पारिवारीक तह

हाम्रो सनातन धर्म, संस्कृति र समाजका चल्दै आइरहेका संस्कार तथा परम्पराहरुमा स्त्रीहरुको पहिलो प्राथमिकता आफू तथा आफ्नो क्षमता, प्रतिभा, व्यक्तित्व, नेतृत्व विकास नभएर परिवारको हेरविचार तथा घरबार व्यवस्थापन हुनु पर्दछ भन्ने आम मान्यता रहदै आइरहेको छ । हरेक परिवारले स्त्रीबाट यही अपेक्षा राख्ने गर्दछ कि घरका आफ्ना आमा, दिदी, बहिनी, छोरी, बुहारीहरुले राम्ररी घरव्यवहार सम्हालुन; परिवारको हेरचाह गरुन; वंश बढाउन; घरका बालबालिका तथा वृद्ध–वृद्धाहरुको आवश्यकताहरुको ख्याल राखुन; छरछिमेक, अर्मपर्म आदि सामाजिक तथा सामुदायिक भूमिका निर्वाह गरुन अर्थात समग्रमा घरव्यवहारसंग सम्वन्धित उत्तरदायित्हरु सबै उठाउन् र पुरुषहरुलाई घर वाहिरकोको काम गर्न फुर्सद, साथ, समर्थन र सहयोग प्रदान गरुन । यस सन्दर्भमा अधिकांश स्त्रीहरु स्वयं पनि यही मान्यता राख्दछन् । परिवार र स्त्रीले यस्तो मान्यता राख्नु उति बेठिक होइन किनकी प्रकृतिले नै स्त्रीलाई जननी, प्रेम र करुणाकी प्रतिमूर्ति, सेवाभावले ओतप्रोत भएकी कोमल हृदयकी धनी बनाएको छ र प्रकृतिको नियम विपरित जानु भनेको विनास तथा दुःखलाई निम्त्याउनु हो । स्त्रीहरुको नैसर्गीक तथा प्राकृतिक उत्तरदायित्व स्त्रीसंगै रहोस र रहनुपर्छ, यस सन्दर्भमा स्वयं स्त्रीहरु पनि स्वीकार, उदार र सहयोगी भाव राख्दछन् तर वर्तमान समयमा स्त्रीहरुको विद्रोह तथा माग स्त्रीको नैसर्गीक तथा प्राकृतिक उत्तरदायित्वको आडमा मौलाएका सामाजिक अर्थात लैंगिक विभेदहरुलाई चाहिं जरैबाट अन्त्य गरौं भन्ने हो । यो सत्य हो, पुरुषहरु गर्भवती बन्न तथा बच्चा जन्माउन सक्दैनन्, बच्चालाई स्तनपान गराउन र शिशु बच्चाको हेरचाह गर्न सक्दैनन् तर यसबाहेकका अरु सबै काम सबैले गर्न सक्छन्, सबै पुरुषहरुले अनिवार्य रुपमा बुझ्नु पर्ने कुरा हो यो । स्त्रीको नैसर्गीक तथा प्राकृतिक उत्तरदायित्व बाहेकका परिवारका अरु सदस्यहरुले पनि गर्न सक्ने कामहरुमा परिवारका सबै सदस्यहरु अग्रसर भएर पारिवारीक तहबाट स्त्रीलाई आफ्नो जीवन विकास गर्ने साथ, समर्थन, सदभाव, सहयोग मिलोस । यस्तो पारिवारीक साथ, समर्थन, सदभाव, सहयोगबाट स्त्रीहरुले पनि पुरुष सरह आफ्नो जीवनमा केही उल्लेख्य उपलव्धि हासिल गर्न तथा उत्पादनमूलक हुनकालागि आवश्यक पर्ने विद्या, सिप, ज्ञान, प्रज्ञा, वुद्धि, विवेक, सम्वन्धका संजालहरु, धन आदि कमाउन सक्नेगरि उनीहरुलाई पर्याप्त समय, सहयोग, उत्साह, प्रेरणा, हिम्मत, आत्मविश्वास प्राप्त होस र उनीहरुलाई आफ्नो जीवन सार्थक बनाउने अवसर मिलोस र स्त्रीहरुको उर्बर उमेर आफ्नालागि उत्पादक नभइकन उनीहरुले सोच्दै नसोचेको अनावश्यक व्यस्ततामा यसै बितेर जाने अवस्था नआवोस् । उनीहरु पनि घर वाहिर निस्केर आवश्यक ज्ञान, सिप आर्जन गरि आफूमा प्रतिभा, क्षमता, दक्षता, सकारात्मकताका गुणहरु विकास गरेर आफ्नो व्यक्तित्व र नेतृत्व निर्माण गर्दै जीवनमा अगाडि बढ्न सकुन् र आत्मनिर्भर भएर संधै सुखी, खुशी, समृद्ध, सफल, शान्त र आनन्दित जीवनयापन गर्नसकुन् । यसप्रकार, स्त्री सबलिकरण गर्नकालागि स्त्री स्वयंको तहबाट पहिलो पहल र पारिवारीक तहबाट दोस्रो पहल हुनु अपरिहार्य छ तव मात्र स्त्रीहरु जीवनमा अगाडि बढ्न सक्नेछन् । यसरी स्त्रीहरुको वास्तविक सबलिकरणका लागि पारिवारीक रुपमा एकमत भएर आपसि समझदारी, साथ, सहयोग, सदभाव राखेर अगाडि बढ्ने भाव आध्यात्मिक नारीवाद हो ।


(३)सांस्कृतिक तह

स्त्रीहरुको सबलिकरणमा समस्या तथा चुनौतीहरु खडा गर्ने अर्को तह सांस्कृतिक संस्कार तथा परम्पराहरु र लैंगिकताका दृष्टिकोणले यीनका असमान तथा अत्यन्तै विभेदित अवैज्ञानिक मूल्य–मान्यता तथा चालचलनहरु हुन् । परिवारभित्र वर्तमानमा तथा भविश्यमा केही अशुभ घटना नघटोस्, राम्रै–राम्रो, शुभै–शुभको अवस्था बनिरहोस भनेर गरिने आस्थाका सांस्कृतिहरु संस्कार तथा परम्पराहरु– ब्रत, तीर्थ, पूजा, हवन, भाकल दान, पुण्य, परोपकार, सेवा आदि अधिकांश सनातन संस्कृतिसंग सम्वन्धित गतिविधिहरु स्त्रीहरुकै उत्तरदायित्व अन्तर्गत पारिदै आइएकाछन् । कलियुगमा परिवारको एक सदस्यले गरेका सबै धर्म, कर्म तथा दान, पुण्यका फलहरु पुरै परिवार, पित्री र आगामी पुस्ताहरुलाई समेत मिल्छ भन्ने विश्वास तथा मान्यता रहदै आएका कारण यो उत्तरदायित्व पनि आफ्नो प्राकृतिक उत्तरदायित्वका साथसाथ परिवारको हेरचाह र घरव्यवहार व्यवस्थापनको जिम्मेदारी समेत सम्हाल्दै आइरहेका स्त्रीहरुको भाग तथा जिम्मामा राखिदै आएको पाइन्छ जसले स्त्रीहरुमा अनावश्यक रुपमा उत्तरदयित्वको कार्यभार बढाएको छ । यस्ता अनुत्पादक उत्तरदायित्वका कार्यभारहरु बहन गर्नु परिरहेको हुनाले पर्याप्त समय अभावका कारण स्त्रीहरु घरवाहिर निस्केर लेखपढ, सिप, तालिम लिएर आफ्नो व्यक्तित्व तथा नेतृत्व विकासका लागि अत्यावश्यक आफूमा हुनैपर्ने गुण तथा पूर्वाधारहरु– प्रतिभा, क्षमता, दक्षता, सिर्जनशीलता तथा सकारात्मक गुणहरुको विकास गर्न सकिरहेका छैनन्, जीवनभर अनुत्पादक भएका छन् र आफ्ना साना–साना आवश्यकता र खुशीकालागि परिवारमा आश्रीत हुन बाध्य गराइएका छन् । यस्ता स्त्रीहरुलाई परिवार, समाज र राज्यले नै घुमाउरो भाषामा अनुत्पादक, बोझ तथा दायित्वको रुपमा परिभाषित गर्दै आइरहेको छ उनीहरुले घरपरिवारका लागि प्रदान गरेका अनुत्पाक श्रम(अनपेड लेवर)का रुपमा गर्दै आइरहेको योगदानको कुनै विश्लेषण तथा कदर नै नगरी । सांस्कृतिक तहबाट स्त्रीहरुको सबलिकरणका लागि आवश्यक पर्ने उनीहरुको आन्तरिक क्षमता विकास गर्न बाधा पुर्याइरहेका यस्ता समस्या तथा चुनौतीहरुको सहि व्यवस्थापन र समाधान गर्न सांस्कृतिक तहबाटै व्यक्ति, परिवार, समाज र राज्यको सहयोगमा विशेष पहल गरिनु पर्दछ । यस्तो पहललाई सार्थक बनाउनका लागि स्त्री, परिवार र समाजका सबै सदस्यहरुलाई अध्यात्म विज्ञानको वैज्ञानिकतामा आधारित भएर सनातन संस्कृति विज्ञानका विज्ञान सम्मत र तर्क सम्मत तथ्यहरु राम्ररी बुझाएर र वास्तविकतामा आधारित रहेर स्वार्थवस लादिएका अन्धविश्वास र देखासेखीका आडमा मौलाएका कुरीति तथा कुसंस्कारहरुलाई समय सान्दर्भिक हुनेगरि सुधार तथा परिमार्जन गरेर अगाडि बढ्नु पर्दछ ताकि स्त्रीहरुमा यस्ता अवैज्ञानिक तथा अन्धविश्वासमा आडमा मौलाएका कुरीति तथा कुसंस्कारहरुको उत्तरदायित्वको अनावश्यक कार्यबोझ कम होस र उनीहरु आफ्नो व्यक्तित्व र नेतृत्वको विकास गरेर पुरुष सरह जीवनमा सहजताका साथ अगाडि बढ्न सकुन् र आत्मनिर्भर भएर संधै सुखी, खुशी, समृद्ध, सफल, शान्त र आनन्दित जीवनयापन गर्न सकुन् ।


(४)सामाजिक तह

सबै सम्प्रदाय, जातजाति, संस्कृति, भाषा, पहिरन, खानपान भएका मानिसहरुको विविधतायुक्त संयुक्त स्वरुप समाज हो । केही सम्प्रदाय, जातजाति, संस्कृतिका स्त्रीहरु औषत भन्दा सबल रहेकाछन्, केहीका औषत रुपमा सबल रहेकाछन् भने केहीका औषत भन्दा निकै तल दुर्बल तथा कमजोर रहेकाछन् । प्रकृतिको नियम अनुसार स्त्री कमजोर जात तथा वर्ग हुदैहोइन, सबैभन्दा बलवान सृष्टिकर्ता स्वयं आदिशक्ति जगदम्बा शक्तिस्वरुपा हुन् तर स्त्रीमाथि समाजका बनाबटी, असमान, विभेदित एकपक्षिय तथा पुरुषपक्षिय मूल्य–मान्यताका अनावश्यक बोझहरु लादेर पुरुषसत्ताले आफूखुशी आफूलाई उत्कृष्टताको स्वघोषणा र स्त्रीहरुलाई दुर्बल, कमजोर र अवला घोषणा गरिदियो । तर प्रकृतिको नियम अनुसार यहाँ केहीपनि स्थिर छैन, मानव र मानव समाज दुवै परिवर्तनशील छ, दिनप्रतिदिन आधूनिक र विकसित बन्दै गैरहेको छ । आधूनिकताले अवसर र चुनौती दुवै ल्याएको आजको जटिल सामाजिक परिस्थितिमा आफूलाई समाज अनुरुप तथा समय सान्दर्भिक बनाउने उद्देश्यले स्त्रीहरु पनि पुरुषसंग एकसाथ भएर परम्परातग मूल्य–मान्यतामा आधारित आफ्ना प्राकृतिक र पारिवारीक उत्तरदायित्व संगसंगै आधूनिक मूल्य–मान्यताहरुलाई पनि आत्मसाथ गरिरहेका छन् । तर यो अवस्थाले स्त्रीहरुको व्यस्तता झन बढाएको छ र कतिपय अवस्थामा त यस्तो व्यस्ताका कारण स्त्रीहरुको जीवन अस्तव्यस्त र तनावग्रस्त भएको पनि देखिदै आइएको छ किनकी एकातिर पितृसत्तात्मक समाजले स्त्री मात्रकालागि निर्माण गरेका हरहालमा स्त्रीहरुले मात्र पालन गर्नुपर्ने चालचलन, रीतिरिवाज, संस्कार, परम्पराका मूल्य–मान्यताहरुको कार्यबोझका कारण अति व्यस्त भएका स्त्रीहरु अर्कोतिर आधूनिक सोच अनुसारको स्त्री सशक्तिकरणमा आधारित जीवनशैली अंगालेका कारण दोहोरो, तेहोरो सामाजिक बोझको मारमा पर्दै अति व्यस्तपछि अस्तव्यस्त हुदै आइरहेका छन् । आफूले निर्वाह गदैआइरहेका प्राकृतिक उत्तरदायित्व, घरव्यवहार व्यवस्थापन, नातागोता तथा सम्बन्ध व्यवस्थापन, सामाजिक तथा सामुदायिक भूमिका व्यवस्थापनका साथसाथ आजको आधूनिक जीवनशैलीमा सुहाउने बन्न सशक्त स्त्री बन्ने तथा बनाइने होड तथा प्रतिस्पर्धामा स्त्रीहरुमा परम्परागत रुपमा गर्दै आइरहेका घरव्यवहार व्यवस्थापन भन्दा वाहिर पर्ने कार्यहरुको समेत कार्यभार बढेकोले आफ्नो धान्नसक्ने क्षमता भन्दा बढि दोहोरो, तेहोरो कार्यभार सम्हाल्न मुस्किल भएले स्त्रीहरुको जीवन अस्तव्यस्त र तनावग्रस्त हुदै गैरहेको सजिलै अनुमान गर्न सकिन्छ । 


त्यसमाथि परिवर्तनशील समाजका मूल्य–मान्यताहरुमा स्थापित भएर शसक्त स्त्री बनेर आधूनिक समाज अनुरुप देखिने क्रममा उच्च शिक्षाको अध्ययन, घरपरिवारको पेशा व्यवसाय व्यवस्थापन, कार्यालयको काम व्यवस्थापन, घरपरिवारको आर्थिक व्यवस्थापन आदि घरवाहिरका जिम्मेदारीहरुमा समेत स्त्रीहरुको समलग्नता बढिरहेका कारण आजका स्त्रीहरुको काँधमा थप उत्तरदायित्व आएको छ । यो अवस्थाले उनीहरुको जीवनमा प्रगति पनि ल्याएको छ, उनीहरुको व्यक्तित्व, नेतृत्व विकासमा उल्लेख्य प्रगति भएको छ तर जानेर, नजानेर उनीहरुले उठाईरहेका यस्ता दोहोरो, तेहोरो उत्तरदायित्व तथा जिम्मेदारीहरुका भारले उनीहरु झनझन थिचिदै गैरहेका छन् । समाजको बद्लिदो वास्तविक अवस्थालाई ध्यानमा राखेर स्त्री सबलिकरणमा समाजको तहबाट सिर्जित यस्ता दोहोरो, तेहोरो कार्यबोझले सिर्जना गरेका समस्या तथा चुनौतीहरुलाई समाजकै तहबाट सहि ढंगले व्यवस्थापन तथा समाधान गर्ने प्रयास गर्नुपर्दछ ताकि स्त्रीहरुलाई प्राकृतिक, परम्परागत र आधूनिक समाजले सिर्जित गरेका यस्ता दोहोरो, तेहोरो कार्यबोझहरुबाट मुक्ति मिलोस र उनीहरु आफ्नो व्यक्तित्व र नेतृत्वको विकास गरेर पुरुष सरह जीवनमा सहजताका साथ अगाडि बढ्न सकुन् र आत्मनिर्भर र सबल भएर पुरुष बराबर हैसियतमा हातेमालो गर्दै संधै सुखी, खुशी, समृद्ध, सफल, शान्त र आनन्दित जीवनयापन गर्न सकुन् ।



छिट्टै, बाँकी 

स्त्री सबलिकरणका तह र पक्रियाहरु

(५)धार्मिक तह

(६)आध्यात्मिक तह, 

(७)संस्थागत तह, 

(८)राज्य तह, 

(९)विश्व तह, 

(१०)प्राकृतिक तह


++++++++++++++++++++++++++
*ग्रामीण विकासमा स्नाकोत्तर(Master's Degree), महिला विकासमा स्नाकोत्तर, महिला सशक्तिकरणमा विद्यावारिधी(PhD) । लेखक, अध्यात्म साधक तथा अध्यात्म वाचक, योग-ध्यान प्रशिक्षक ।

Wednesday, 24 September 2025

ग्रामीण विकासबाट बन्छ समृद्ध नेपाल र समृद्ध नेपाली, खण्ड -१

डासिर्जना भण्डारी*

'...हातमा कलम हुनेहरु कलम लिएर उठ... !' 

म ग्रामीण विकास र लैंगिकता विकासको विद्यार्थी हुँ, मसंग यही 'हतियार' छ गाउँनै गाउँको हाम्रो देश नेपालको आमूल परिवर्तनमा सहभागि हुनकालागि  !! 

जय जय नेपाल !!!

       #नयाँ _नेपाल #ग्रामीण _विकास #स्वरोजगार #उद्यमशीलता 


ग्रामीण विकासको आवश्यकता र महत्व


"कुनैपनि राष्ट्रको विकास भौतिक संरचनाहरुको निर्माण, औद्योगीकीकरण र शहरी क्षेत्रको विस्तारबाट मात्र हुदैन, राष्ट्रको वास्तविक विकास ग्रामीण क्षेत्रहरुको एकिकृत विकास र ग्रामीण वासिन्दाहरुको जीवस्तर उठाएर मात्र सम्भव हुन्छ किनकी वास्तविक राष्ट्र ग्रामीण क्षेत्रमा रहेको हुन्छ र हरेक मानिसको भावना र मौलिकता ग्रामीण क्षेत्रसंग जोडिएको हुन्छ ।" 
                                                            -सन्त राजनेता, सामाजिक अभियन्ता महात्मा गान्धी

समसामयिक संवैधानिक प्रसंग

गणतन्त्र भारतका वरिष्ठ कानूनविध, अर्थशास्त्री, राजनीतिज्ञ, समाज सुधारक डा.भिमराव अमबेडकर‘दलित’(१८९१–१९५६)ले ब्रिटिसराजबाट भारत स्वतन्त्र भएर भारतको नयाँ संविधान लेख्ने प्रक्रियामा त्यतिबेलानै सन् १९४७ मा भन्नुभएको थियो, “कुनैपनि देशको संविधान चाहे जतिसुकै राम्रो बनाइएको होस, यदि त्यस देशका नेतृत्व वर्ग र मानिसहरु राम्रा छैनन् भने आमजनताको कल्याणकालागि संविधान उपयोगी हुन सक्दैन र संविधानले तात्विक सकारात्मक उपलव्धि हासिल गर्न सक्दैन ।” नेपालको वर्तमान संविधान विश्वमै उत्कृष्टतम कानूनी दस्तावेजहरु मध्य एक माानिन्छ तर विडम्बना वहाँको यो दुरदृष्टि आठ दशकपछि पनि आज हाम्रो मुलुकमा चरितार्थ भैरहेको छ र यो दुर्भाग्यपूर्ण अवस्थाको प्रत्यक्ष साक्षी भैरहेका छौं हामी ।


ग्रामीण विकासको पृष्ठभूमि

ग्रामीण+विकास=ग्रामीण विकास, दुई शव्दको संयोजनबाट बनेको छ । ‘ग्रामीण’ शव्दले भौगोलिक, सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, सुरक्षा आदि दृष्किोणले निश्चित प्रकारका विशेषताहरु भएका गाउँका क्षेत्र तथा समाजहरुको प्रतिनिधित्व गर्दछ र ‘विकास’ शव्दले ती क्षेत्रका वासिन्दाहरुको सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, सुरक्षाको जीवनस्तर उकास्न गरिने प्रक्रियाहरुको प्रतिनिधित्व गर्दछ । यसर्थ ग्रामीण विकास एक त्यस्तो प्रक्रिया हो जसको माध्यमबाट ग्रामीण क्षेत्रमा वसोवास गर्ने वासिन्दाहरुको सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, सुरक्षा आदिको स्तर उठाएर उनीहरुलाई मानव विकास सूचकांकको मापदण्डमा पुर्याउने प्रयास गरिन्छ ।


ग्रामीण विकासको परिभाषा

विश्वको छाता संगठन सम्युक्त राष्ट्रसंघका अनुसार, “ग्रामीण विकास ग्रामीण क्षेत्रमा बसोबास गर्ने परम्परागत ढाँचामा जीवनयापन गरिरहेका जनताहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन निर्माण गरिएको एक प्रक्रिया हो जसको प्रमुख उद्देश्य ग्रामीण जनताहरुको जीवनमा गुणात्मक, परिमाणात्मक र दिगो परिवर्तन ल्याएर उनीहरुको जीवनलाई सहज बनाउनु रहेको हुन्छ ।”

विश्व बैंकका अनुसार, “ग्रामीण विकास ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनताहरुको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न निर्माण गरिएको एक विशेष रणनीति हो ।”

ग्रामीण विकास विशेष विशेषज्ञ रोबर्ट चेम्बरका अनुसार, “ग्रामीण विकास ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिव जनताहरुको विशेष समुहलाई लक्षित गरि उनीहरुको सहज जीवनयापनका लागि आवश्यक पर्ने आधारभूत आवश्यकताहरुको परिपूर्ति गरि उनीहरुलाई सहुलियत प्रदान गर्न निर्माण गरिएको विशेष प्रकारको रणनीति हो ।” 

 

ग्रामीण विकासका आधारशिला

(१)आधारभूत आवश्यकताः गाँस, वास, कपाश, शिक्षा, स्वास्थ्य, सुरक्षाको सहज उपलव्धता ।

(२)भौतिक पूर्वाधारः सडक, बिजुली, पानी, ढलनिकास, विद्यालय, अस्पताल, प्रविधि, सामुदायिक क्षेत्र तथा भवन, खेल मैदान आदि निर्माणका कार्यहरु ।

(३)सामाजिक पूर्वाधारः स्वतन्त्रता, समानता, सम्मान, शिक्षा, स्वास्थ्य, सुरक्षा आदिको व्यवहारिक कार्यान्वयन ।

(४)प्राविधिक पूर्वाधारः व्यवसायिक सिप, तालिम, प्रशिक्षण, कार्यशाला, सूचना, मानव संसाधनको विकास आदि गर्ने चुस्त कार्यक्रमहरु ।

(५)आर्थिक पूर्वाधारः कृषि, उद्यम, व्यवसाय, रोजगार तथा स्वरोजगार, सूचना आदिकालागि बजेट व्यवस्था । 


ग्रामीण विकासको आवश्यकता र महत्व

हाम्रो देश नेपाल गाउँनै गाउँको देश हो, अझैपनि यहाँका दुईतिहाइ भन्दा बढि(७०%) जनसंख्या ग्रामीण क्षेत्रमा बसोवास गर्ने भएकोले ग्रामीण क्षेत्रको विकास नै समुच्चा देशको विकास हो किनकी ग्रामीण विकासको प्रक्रियाले देशकै समग्र विकास प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ उल्लेख्य योगदान पुर्याउछ । देशमा निम्न अवस्था हासिल गर्नकालागि ग्रामीण विकासको आवश्यकता र महत्व रहेको छ–


(१)शहरीकरणको दबाब कम गर्न

कुल जनसंख्याको बसोवासको आधारमा नेपाल दुई क्षेत्रमा विभाजित छ– (१)ग्रामीण क्षेत्र, र (२)शहरी क्षेत्र । वर्तमान समयमा ग्रामीण क्षेत्रका मुख्य समस्या तथा चुनौतीहरु शहरी क्षेत्रको तुलनामा भौतिक, सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, सुरक्षा, रोजगारी सम्वन्धि आधारभूत पूर्वाधारको अपर्याप्तता तथा अभाव हुनु रहेको छ । यहीकारण ग्रामीण क्षेत्रका मानिसहरु राम्रो सुविधा र अवसरको खोजीमा शहर केन्द्रित हुदै गैरहेका छन् र गाउँबाट निरन्तर पलायन भैरहेका छन् । यो अवस्थाले गाउँ खालि हुदै गैरहेको तर शहर धान्नै नसकिने किसिमले भरिदै गैरहेको छ र गाउँ र शहरविच गहिरो असमानता देखिएको छ । रहरले तथा करले यसरी गाउँ छोडेर शहर केन्द्रित तथा पलायन भैरहेका मानिसहरुलाई गाँउमै फर्काएर जनसंख्याको दृष्टिकोणले सन्तुलन कायम गर्न ग्रामीण विकास गर्नु आवश्यकता छ ।  


अधिकांश ग्रामीण क्षेत्रहरुको जीविकाको प्रमुख श्रोत कृषिमा आधारित छ तर कृषि व्यवसाय अहिलेसम्म पनि परम्परागत ढाँचाका चलिरहेको हुनाले जनसंख्याको ठूलो हिस्सा तथा जनश्रम कृषिमा सहभागि तथा निर्भर रहेका भएपनि देशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको नगन्य योगदान रहदै आएकोछ र धोरै जनसंख्या सहभागि तथा निर्भर रहेका उद्यम तथा सेवा क्षेत्रहरुको कुल गार्हस्थ उत्पादनमा उल्लेख्य योगदान रहदै आएकोछ । जहाँ मानिस कम काम गरिरहेका छन् उनीहरुले बढि कमाइरहेका छन् र उनीहरुको जीवनस्तर राम्रो छ तर जहाँ मानिसहरु बढि काम गरिरहेका छन् उनीहरुको जीवनस्तर न्यून रहेकोछ । यो अवस्थाले गाउँ र शहरविच तथा पुरै देशैभरि धेरै प्रकारका असन्तुलनाताहरु सिर्जना गरेको छ । गाउँ र शहरविचका असन्तुलनताकै कारण राम्रो कमाइ तथा रोजगारी, गुणस्तरिय शिक्षा, स्वास्थ्य, सुरक्षाको खोजीमा शहरको धान्नसक्ने क्षमता भन्दा बढि संख्यामा मानिसहरु शहरकेन्दित भैरहेका छन् र यसका नकारात्मक प्रभावहरु शहर र गाउँमा फरक–फरक प्रकारले देखिएका छन् । शहरमा सामाजिक अपराधहरु बढिरहेका छन्; वायू, भूमि, पानी आदि समग्र पर्यावरण दुषित भैरहेको छ; आधारभूत आवश्यकताको अपर्याप्ता भएर मानिसहरुको जीवनस्तर खस्किदै गैरहेको छ; मानवीय विकारयुक्त समस्याहरु– प्रतिस्पर्धा, देखासेखी, द्वन्द, हिंसा, गरिवी, अभाव, मानसिक तथा शारीरिक अस्वस्थता तथा महामारी आदिको प्रकोप बढ्दै गैरहेको छ भने अर्कातिर गाउँ खालि हुदै गैरहेको छ; धेरै सम्भावना भएका खेतीयोग्य र उतपादनशील उर्वर घरबारी, खेतहरु बाँझिदै झाडी तथा बनपाखामा परिणत भैरहेका छन्; गाउँ जनसंख्या अल्पसंख्यामा परेकोकाराण वन्यजन्तुहरुको अतिक्रमण बढिरहेको छ र गाउँ बिरानो बन्दै गैरहेको छ, कोही गाउँ फर्केर ती समस्याहरुसंग जुध्न चाहदैनन् । जसकोकारण कृषि उत्पादनमा ह्रास आउदै गएको छ र कृषि प्रधान देश भइकन पनि कृषि उत्पादनका सामग्रीहरुमा समेत हामी आयातमुखी र परनिर्भर बन्दै गैरहेका छौं । यी सबै समस्या र असन्तुलनताहरुबाट निजाद पाउनकालागि ग्रामीण क्षेत्रको विकास गरेर राम्रो कमाइ तथा रोजगारी, गुणस्तरिय शिक्षा, स्वास्थ्य, सुरक्षाको व्यवस्था गाउँमै उपलव्ध गराएर शहरबाट जनसंख्याको धान्न नसकिने चाप घटाएर शहर र गाउँविच रहदै आएको असन्तुलनता घटाउन अत्यन्तै व्यवहारिक भएर चुस्त अनुगमनकासाथ ग्रामीण विकास गर्नु अपरिहार्य भएकोछ ।


(२)शहर र गाउँको असन्तुलन घटाउन 

विगतमा देशको समग्र विकास प्रक्रियालाई जानेर या नजानेर गाउँ बन्चित र शहर केन्द्रित गरिदै आइएका कारण आज भौतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, सुरक्षा, आर्थिक तथा उद्यम–व्यवसाय, रोजगारी आदि सबै आयामहरुमा ग्रामीण र शहरी क्षेत्रविच अत्यन्तै फराकिलो असमानताको खाडल देखापरेको । यो विकराल असमानताले ल्याएको परिणाम स्वरुप वर्तमान समयमा ग्रामीण क्षेत्रमा जनताहरुको जीविकोपार्जनका लागि अतिआवश्यक आधारभूत आवश्यकताहरु भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगारी आदिको न्यूनतम उपलव्धता समेत पर्याप्त र गुणस्तरीय नभएका कारण ग्रामीण क्षेत्रका विद्यार्थी, बिरामी, पेशाकर्मी, व्यवसायि, बेरोजगार मानिसहरु गुणस्तरीय सेवा र अवसरको खोजीमा शहर प्रवेश गरिहेका छन्, ती मध्य अधिकांश शहरमै पलायन हुन्छन् र उतै स्थायी रुपमा बसोवास गर्दछन् अनेक दुःख कष्ट सहेर भएपनि भविश्यमा आफू र आफ्नो परिवारको राम्रो जीवनस्तर प्राप्त गर्ने आशमा । ग्रामीण क्षेत्रबाट यसरी जनसंख्या पलायन भएका कारण ग्रामीण क्षेत्रमा पर्याप्त विद्यार्थीहरुको अभावमा विगत लानो समयदेखि विद्यालयहरु बन्द तथा समायोजन गरिदै आइएको छ । त्यस्तै जनसंख्या पलायनले पर्याप्त स्वास्थोपचारको मागमा कमी आएको कारण स्वास्थ्य चौकीहरु पनि बन्द तथा समायोजन गर्न थालिएको छ । यस्तो अवस्थाले गाउँमा बसोवास गर्दै आइरहेकाहरुका लागि शिक्षा आर्जन र स्वास्थ्य उपचार जस्तो अतिआवश्यक सेवा झन मुस्किल बन्दै गैरहेकोछ । यसकासाथै जनसंख्या पलायनले गर्दा ग्रामीण क्षेत्रमा पर्याप्त कामदार तथा श्रमिकहरुको अभाव भएको कारण कृषि व्यवसाय, कुटीर, घरेलु तथा साना उद्योगहरु पनि धरासायि हुदै गैरहेका छन् । यो अवस्थाले व्यक्ति, परिवार, गाउँ र देशकै अर्थव्यवस्थामा प्रत्यक्ष तथा अप्रत्यक्ष नकारात्मक प्रभाव पार्नुको साथै जनता–जनताविचको असमानता र असन्तुलन पनि झनझन बढाइरहेको छ । 


ग्रामीण क्षेत्रमा जनसंख्या पलायनले आवश्यक जनघनत्व घटेकोले वर्तमान समयमा विकास निर्माणका कार्यकालागि आवश्यक पर्ने जनसंख्यको मापदण्ड समेत नपुगेका कारण ग्रामीण क्षेत्रकालागि छुट्याइएको बजेट खर्च नभई फ्रिज बसेकोले आउने वर्षहरुमा ग्रामीण क्षेत्रको बजेट कटौती गरेर जनताहरु शहरमा छन् भन्ने कारण देखाउदै उक्त बजेट शहरमा लगानी गर्न थालिएको छ । यो अवस्थाले नजानिदो रुपमा ग्रामीण क्षेत्र र शहरी क्षेत्रविचको असन्तुलन अझ भयावह रुपमा गहिर्याउदै लगिरहेको छ र ग्रामीण क्षेत्र अझ पिछडिदै गैरहेको छ । त्यहाँ बसोवास गरिरहेका जनताहरुले आधारभूत आवश्यकताका सेवा तथा सुविधाहरु समेत नपाएर उनीहरुको मानव अधिकार हनन् भैरहेको छ । गाउँका जान्ने, बुझ्ने, सुझबुझ भएका शिक्षित मानिसहरु गाउँबाट पलाय र शहर केन्द्रित भएकाले अलि बोल्न तथा आवाज उठाउन सक्ने मानिसको अभावमा वर्षौदेखि चल्दै आइरहेका संस्कृति र परम्पराका नाममा गरिने जातिभेद, लिंगभेद, वादी, कमलरी, हलिया, साहु, मुखिया जस्ता मानव अधिकार विरोधि कुसंस्कारका गतिविधिहरुले पुलः प्रसय पाइरहेका छन्, यस्ता कुसंस्कारहरु पुनः मौलाउदै गैरहेकाछन् र कुनै निश्चित शोषण वर्गले ग्रामीण क्षेत्रका निमुखा जनताहरुको शोषण गरिहेको छ । यस्तो अवस्थाले जनताहरुमा अझ निरासा छाउदै गएको र पलायनको गति झन तिब्र हुदै गैरहेको कारण ग्रामीण र शहरी क्षेत्रविच भौतिक पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, सूचना, प्रविधि, वित्तिय व्यवस्था, समाज, संस्कृति, मानवीयतासम्मका गतिविधिहरुमा समेत व्यापक असन्तुलन देखिएकोले समान हक–अधिकार राख्ने ग्रामीण क्षेत्रका समस्त नेपाली जनतालाई यस्तो कष्टपूर्ण तथा नारकीय जीवनस्तरबाट माथि उठाएर मानव विकास सुचकांकको स्तरमा पुर्याउनका लागि अत्यन्तै व्यवहारिक भएर चुस्त अनुगमनकासाथ ग्रामीण विकास गर्नु अत्यावश्यक छ । 


(३)पर्यावरण संरक्षण गर्न

नेपालको ग्रामीण क्षेत्र केही दशक अघिसम्म जनसंख्या; आधारभूत आवश्यकताका न्यूनतम सेवा, सुविधाहरु; कृषि व्यवसाय, पशुपालन, कुटीर, घरेलु, साना तथा मझौला उद्यम, पेशा, व्यवसायहरु चलिरहेका कारण तत्कालीन अवस्था अनुसार सामुदायिक, सांस्कृतिक, सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, सुरक्षा, रोजगारी आदि सबै किसिमले सम्पन्न, सक्षम र व्यवस्थित थियो । प्राय सबैजसो आयामहरुमा ग्रामीण क्षेत्र र शहरी क्षेत्रविच त्यति ठूलो अन्तर तथा असमानता थिएन तर पछिल्ला केही दशकयता देश विकासका प्रक्रियाहरुमा आएका पर्याप्त विश्लेषण बिना गरिएका प्रतिकुल निर्णयहरु, चरम अनियमितता र असन्तुलाताका कारण ग्रामीण क्षेत्र विस्तारै बन्चितिकरण, अभाव र बेवास्ताको भुमरीमा फस्दै गयो र यस्तो खस्कदो अवस्था पछिल्लो समयमा आएर झन भयावह हुदै गैरहेकोछ । ग्रामीण क्षेत्रको यस्तो खस्कदो अवस्थाका कारण ग्रामीण जनताहरु गुणस्तरीय सेवा, सुविधा तथा राम्रो अवसरको खोजीमा गाउँबाट पलायन भएर शहर केन्दित हुदै गए र धान्न सक्ने क्षमता भन्दा बढि जनसंख्याको चाप तथा भार बढेका कारण शहरी क्षेत्रहरु अस्तव्यस्त हुदै गए तथा गैरहेका छन् ।



यो अवस्थाको नकारात्मक प्रभाव समाज र देशका सबै आयामहरुका साथसाथ प्रकृति तथा पर्यावरणमा समेत झन भयावह रुपमा परिरहेको प्रत्यक्ष अनुभव हामी सबैले गरिरहेका छौं । एकातिर ग्रामीण क्षेत्र खालि हुदै गएकोले त्यहाँका अतिआवश्यक प्राकृतिक श्रोतहरु हराउदै तथा मासिदै गैरहेका छन् भने अर्कोतिर शहरी क्षेत्रले धान्न सक्ने भन्दा बढि जनसंख्याको चाप बढेकोले यसको प्रत्यक्ष नकारात्मक प्रभाव वायू प्रदुषण, आकाश प्रदुषण, सार्वजनिक स्थल प्रदुषण, माटो प्रदुषण, भूमिगत पानी दोहन र प्रदुषण, खोला, नदिनाला तथा पानीका श्रोतहरु प्रदुषण, ढलनिकास अव्यवस्था, फोहर अव्यवस्था, स्वच्छतामा कमी जस्ता स्वाथ्यका दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण र प्रत्यक्ष असर पार्ने क्षेत्रहरुमा अत्यन्तै नराम्रोसंग परिरहेको छ । बढ्दो जनसंख्याको भापसंगै बढेको सवारी साधनका चाप, शहर निकट बढ्दो औद्योगीकीकरण आदिका कारण शहरको वायू प्रदुषण अत्यन्तै धेरै बढेर मापदण्ड नाघेको; प्रदुषणले आकाश ढाकेर हावा र सूर्यको प्रकाश तथा तापको प्रवाह छेकेको; पर्याप्त शुद्ध पिउने पानीको अभाव; भूमिगत पानीको प्रदुषण तथा दोहन बढेको; पानीका श्रोतहरु दुषित हुदै गएका; ढलनिकास तथा फोहर अव्यवस्थापन सहि ढंगले गर्न नसकेको; सार्वजनिक क्षेत्रहरु अतिक्रमण तथा प्रदुषित भएका; बढ्दो जनसंख्याको आवासको माग धान्न हरियाली फाँडेर कृषियोग्य जमिनलाई निर्ममतापूर्वक योजनाबिहिन ढंगले प्लटिंग गरिएको; बढ्दो जनसंख्याको माग धान्न जथाभावी रासायनिक मल र विषादीको प्रयोग गरेर कृषिखेती गरिएको आदि अव्यवस्थित शहरीकरणका अवस्थाहरुले मानिसहरुको शारीरिक, मानसिक तथा भावनात्मक स्वास्थ्यमा गम्भिर नकारात्मक प्रभाव पारिरहेका छन् । यस्तो भयावह बेथितिले मानिसको स्वास्थ्यका साथसाथ पर्यावरण, पारिस्थिकीय प्रणाली, जैविक विविधता तथा समग्र प्रकृतिमा हदैसम्मको नकारात्मक प्रभाव परेको देखिएको छ । विकासका नाममा भैरहेका विनाशका यस्ता भयावह र असन्तुलित अवस्थाहरुलाई न्यूनिकरण गर्न र पर्यावरण संरक्षण गर्नकालागि अत्यन्तै व्यवहारिक भएर चुस्त अनुगमनकासाथ ग्रामीण विकास गर्नु अत्यावश्यक छ ताकि ग्रामीण क्षेत्र र शहरी क्षेत्रमा भौतिक विकास र मानवीय विकासका लागि आवश्यक सबै पूर्वाधारका आयामहरुमा सन्तुलनता आओस, ग्रामीण क्षेत्रमा बसोवास स्थानान्तरण होस र शहरी क्षेत्रले धान्न नसक्ने गरि बढ्दै गएको जनसंख्याको चाप घटोस ।



(४)युवा तथा प्रतिभा पलायन रोक्न

माानिस नैसर्गीक रुपमै विकास प्रेमि प्राणी हो, उ जे छ त्यसैमा सन्तुष्ट भएर बस्दैन र अझ राम्रो अवसरको खोजी गरिरहन्छ तसर्थ आफू तथा आफ्नो परिवारको जीवनमा तत्काल भैरहेको अवस्था भन्दा झन राम्रो अवस्थाको अपेक्षा राख्नु र त्यसकालागि उपयुक्त अवसरहरुको खोजी तथा सदुपयोग गर्नु हरेक मानिसको प्राकृतिक स्वभाव हो । पछिल्लो चरणमा विश्वव्यापिकरण तथा भु–मण्डलीकरणका कारण विश्वभरिका मानिसहरुको जीवनशैलीमा उल्लेख्य सकारात्मक परिवर्तन आएको छ र यू.एन.डि.पि.को मानव विकास सूचकांक अनुसार उनीहरुको जीवनस्तर पनि उल्लेख्य रुपमा उकासिएका तथ्यहरु विश्वस्तरका पछिल्ला प्रामाणिक तथ्यांकहरुले देखाएका छन् । मानिसको जीवनस्तर उकासिनुको मुख्य कारणहरुमा गुणस्तरिय शिक्षा, स्वास्थ्य र रोजगारीका राम्रा अवसरहरु प्रमुख देखिएका कारण आजका विश्वभरिकै युवा पुस्ताहरुको पहिलो रोजाईमा उच्च शिक्षा र राम्रो रोजगारीको अवसर पर्दै आइरहेको छ । उच्च शिक्षा र राम्रो रोजगारीको अवसरको खोजी र प्राप्तिका लागि उनीहरु आफ्नो सामथ्र्यले भ्याएसम्म गाउँबाट सानो शहर, सानो शहरबाट, ठूलो शहर, ठूलो शहरबाट राजधानी शहर, राजधानीबाट छिमेकी देश तथा समुद्र पारीका विकसित देशमा गैरहेका छन् । 


उच्च शिक्षा र राम्रो रोजगारीको अवसरको खोजी गर्नु र प्राप्त गर्नु व्यक्ति, परिवार, समाज र देशकैलागि अत्यन्तै सकारात्मक उपलव्धिको विषय हो तर यसको कारण र परिणामको विश्लेषण गर्दा नेपालको सन्दर्भमा यो अवस्था त्यति सुखद देखिएको छैन किनकी यो अवस्थाले युवाहरुको प्रतिभाको विकास मात्र नभएर युवा तथा प्रतिभा पलायनको भयावह र डरलाग्दो अवस्थाको चित्र देखाइरहेको छ । ठूलो संख्यामा युवाहरुको उच्च शिक्षा र रोजगारीको राम्रो अवसरको खोजीको प्रमुख कारण सामान्य अवस्था नभएर आफ्नो देशका सबै आयामहरुमा भैरहेको चरम बेथिति र अनियमितताले युवाहरुमा आएको चरम निराशा रहेको छ । यहीकारण यसरी गाउँ, शहर र देशबाट वाहिरीएका यूवाहरु उच्च शिक्षा र उच्च कमाइ हासिल गरिसकेपछि पनि पुनः स्वदेश फर्केर आएनन्, उनीहरुमा स्वदेश फर्किने रुचि तथा जागरनै देखिएन । यसरी मातृभूमिलाई नै मायाँ मारेर स्वदेश नफर्किनेहरुको ठूलो संख्याले विदेशमा रहेका ती युवा तथा प्रतिभाहरुको अभावको पिडा बोकिरहेको यस्तो नाजुक स्थितिमा अझ निराशा थप्ने अवस्था देखिइरहेको छ । वर्तमान समयमा पनि ठूलो संख्यामा विदेसिने युवा तथा प्रतिभाहरुको संख्या दिनदिनै बढिरहेको र वर्तमान समयमा । तिब्र रफ्तारमा भैरहेको युवा तथा प्रतिभा पलायनका कारण ग्रामीण क्षेत्र लगायत पूरै देशनै युवाबिहिन तथा प्रतिभाबिहिनताको भयावह अवस्थाबाट गुज्रीरहेको छ । युवा तथा प्रतिभा पलायनको यस्तो डरलाग्दो अवस्था रोक्नकालागि ग्रामीण युवाहरुलाई उनीहरुको स्थानीय क्षेत्रमै गुणस्तरीय शिक्षा र रोजगारीका राम्रा अवसरहरु लगायत सहज जीवनयापनका अन्य आधारभूत आवश्यकताहरु प्रदान गर्न अत्यन्तै व्यवहारिक भएर चुस्त अनुगमनकासाथ ग्रामीण विकास गर्नु अत्यावश्यक छ ताकि प्रतिभावान युवाहरुले उच्च शिक्षा हासिल र रोजगारीको राम्रो अवसर आफ्नै स्थानीय क्षेत्र तथा आफ्नै देशमा प्राप्त गर्न सकुन्, पलायनको क्रम रोकियोस् र पलायन भएकाहरु स्वदेश फर्केर आउने क्रम बढेर जाओस् । 



(५)मानव संसाधानको विकास गर्न

विकास प्रक्रियाका महत्वपूर्ण पूर्वाधार तथा प्रमुख तत्वहरु मध्य सबैभन्दा महत्वपूर्ण पूर्वाधार मानव संसाधनलाई मानिन्छ । नेपाल भरिका पूरै जनसंख्या मध्य अझैपनि तीन भागमा दुई भाग जनताहरु ग्रामीण क्षेत्रमै बसोवास गर्दै आइरहेका छन् । देशको कुल भू–भागमा दुई तीहाइ अर्थात ७०% भन्दा बढि ग्रामीण क्षेत्रमा रहेका जनाताहरुको जीवनशैली सुधार गरेर उनीहरुको जीवनस्तर उक्सिने गरि मानव संम्साधनको विकास नगरेसम्म देशको समग्र विकास प्रक्रिया सहज ढंगले अगाडि बढाउन सम्भव छैन किनकी विश्वव्यापि खोजको तथ्यांकले उजागर गरे अनुसार देशको विकास प्रक्रियाको सबैभन्दा ठूलो वाधा त्यहाँको मानवीय संसाधनको उचित विकास हुन नसक्नु हो । ठूलो संख्यामा ग्रामीण क्षेत्रमा रहेका नेपाली जनताहरुको सबैप्रकारका आधारभूत आवश्यकताहरु परिपूर्ति हुनेगरि भौतिक, सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, सुरक्षा, रोजगारीका अवसर जस्ता आधारभूत पूर्वाधारहरु उपलव्ध गराएर उनीहरुको जीवनस्तर उकास्न र उनीहरुलाई विकासकालागि मानव संसाधनका रुपमा तयार गर्न सकिन्छ । तर विगत लामो समयदेखि जानेर या नजानेर विकासका प्रक्रियाहरुमा ग्रामीण क्षेत्र बन्चितिकरणमा परेको कारण पिछडिएको र उचित पूर्वाधारको अभावमा ग्रामीण क्षेत्रका जनताहरुमा रहेको श्रमशक्ति समय अनुकुल हुनेगरि सिपयुक्त नभएको तथा विकसित मानव सरसाधनको मापदण्डभित्र पर्न नसकेको अवस्था सबै माझ जगजाहेर छ । विकास प्रक्रियाका सबै कामहरु तव मात्र सहि ढंगले अगाडि बढ्न सक्छ जव विकासका अन्य पूर्वाधारहरुको साथसाथ प्रमुख पूर्वाधार मानवीय संसाधन सिपयुक्त, प्रतिभाशाली, दक्ष, क्षमतावान तथा सिर्जनात्मक हुन्छ र उसले आफ्नो जिम्मेदारीका सबै कामहरु खुशी भएर कुशलतापूर्वक सम्पन्न गर्नसक्छ । यसप्रकारको मानव संसाधनको विकास गरि समग देशकै विकास प्रक्रियालाई अग्रगतिमा अगाडि बढाउनकालागि अत्यन्तै व्यवहारिक भएर चुस्त अनुगमनकासाथ ग्रामीण विकास गर्नु अत्यावश्यक छ ताकि विकास प्रक्रियाकालागि आवश्यक हरप्रकारले सिपयुक्त, प्रतिभाशाली, दक्ष, क्षमतावान तथा सिर्जनात्मक मानवीय संसाधन स्थानीय स्तरमै सहजै उपलव्ध हुनसकुन् ।


छिट्टै,

ग्रामीण विकासका मुख्य श्रोत तथा आयामहरु
(१)शिक्षा र जागरुकता
(२)स्वास्थ्य र स्वच्छता
(३)कृषि र रोजगार
(४)पूर्वाधार र परिबहन
(५)सामुदाय र सक्रियता


++++++++++++++++++++++++++
*ग्रामीण विकासमा स्नाकोत्तर(Master's Degree), महिला विकासमा स्नाकोत्तर, महिला सशक्तिकरणमा विद्यावारिधी(PhD) । लेखक, अध्यात्म साधक तथा अध्यात्म वाचक, योग-ध्यान प्रशिक्षक ।