लालीगुरांश (डा. सिर्जना भण्डारी)
#आध्यात्मिक_साहित्य #जीवन_दर्शन
कथा
‘ॐ मनि पद्मे हुम्... ॐ मनि पद्मे हुम्... ॐ मनि पद्मे हुम्...’
अर्थात ‘म पवित्रता(ॐ), करुणा(मनि) र प्रज्ञा(पद्मे)को संगम हुँ...
कात्तिक महिनाको विहानिपख घाँसको मैदानमा परालको बाक्लो चकटीको आसनमा बसेर स्वम्भुको डाँडाबाट काठमाडौं उपत्यकाको मनोरम प्राकृतिक दृष्य नियालिरहदा नजिकको स्वयम्भु बौद्ध गुम्बाबाट यो दिव्य महामन्त्रको अखण्ड ध्वनि गुञ्जिरहको थियो र यो दिव्य ध्वनिले मेरो मनलाई पवित्रता, करुणा र प्रज्ञाको संगमको अलौकिक दिव्यतातिर खिचिरहेको थियो । यो महामन्त्रको अलौकिक तरंगसंगै मेरो चेतना ध्यान साधनामा गहिरिदै गैरहेको थियो । विहानिपखको मौसममा सुस्तरी चलेको चिसो वतासले शिरदेखि पाउसम्म कोमल स्पर्श गरेर शरीर, मन, भावलाई ताजगी प्रदान गर्दै ठण्डापनको साक्षी बनाइरहेको थियो । वतासमा समिश्रित भएर आएका गोदाबरी र सयपत्रि फूलका अत्यन्तै मिठा–मिठा सुगन्धहरुले श्वासलाई स्वतः लामो र गहिरो बनाउदै लगिरहेका थिए ।
करिव आधा घण्टाको ध्यान साधनापछि विस्तारै म ध्यानबाट वाहिर निस्किएं, स्वयम्भु गुम्बापट्टि फर्केर हृदय अगाडि अंजलि मुद्रामा दुवै हात जोडेर विश्व शान्तिका अग्रदुत भगवान बुद्धलाई शिर र हृदय झुकाएर नमन् गर्दै म आसनबाट उठें । घर फर्कने क्रममा भिरालो बारीमा लगाइएका ढकमम्क फुलेका गोदाबरी र सयपत्रि फूलहरुको सुगन्धले बारबार आँखा र मनलाई त्यतैतिर खिचिरहेको थियो । मनमा लाग्यो एउटा सयपत्रिको फूल टिप्छु र बाटोभरि सुगन्धको आनन्द लिदै घर फर्कछु । भिरालो बारीमा भएमध्यको ठूलो सयपत्रिको फूल टिप्न हात लम्काउदै थिएं तर आश्चर्य भयो,
“केही प्रयोजनकोलागि हो भने मलाई टिप नभए नटिप...”
“... !”
म निशव्द भएं मेरो अन्तरहृदयमा यो सन्देश गुञ्जिएपछि । फूललाई हेरिरहें र फूल टिप्न अगाडि लम्काएको हातलाई पछाडि सारेर यथास्थानमा राखें तर मन दौडिन थाल्यो अन्तरहृदयमा गुञ्जिएको सन्देशको खोजतलास गर्न । तुरुन्तै मेरो मानसपटलमा झुलुक्क एउटा स्मृति आयो मैले पहिला कतै सुनेको कुरा, ‘ब्रम्हाण्डका सबै चिजहरु चैतन्य छन्’ अर्थात जीव, वनस्पति, पदार्थ सबैमा समान चेतना हुन्छ र चेतनाको विकास भएका व्यक्तिहरुले बिना प्रयोजन फूल तथा वनस्पति कहिल्यै टिप्दैनन् किनकी उनीहरुलाई थाहा छ ब्रम्हाण्डका सबै चिज तथा वस्तुहरु चेतनशील छन् तिनलाई पनि खुशी, शान्ति, दुःख, पिडा आदिको अनुभव हुन्छ र आ–आफ्नै प्रकारले व्यक्त पनि गर्दछन । श्रद्धेय परमहंस योगानन्दज्यूको ‘योगीको आत्मकथा’ पुस्तकमा पनि वहाँले यही कुरा भन्नुभएको छ, “मैले चिनेका एकजना सन्तले फूल कहिल्यै टिपेनन् ।” यही प्रसंग यो क्षणमा ममा पनि घटित भयो । सयपत्रि फुलले “केही प्रयोजनकोलागि हो भने मलाई टिप नभए नटिप...” भन्ने सन्देश दिएर मलाई बिना प्रयोजन उसको हत्या नगर्न आग्रह गरिरहेको थियो विनम्रतापूर्वक । यसअघि मलाई स्थुल शरीरमा रहेका तथा नरहेका मनुष्य, पशु, पंक्षी तथा सुक्ष्म प्राणीहरुको चेतनाले मात्र उनीहरुका आफ्ना सन्देशहरु दिने गर्थे, सुनाउथे र मसंग दोहोरो संवाद पनि गर्थे र अझैपनि गरिरहन्छन् । वनस्पतिको चेतनासंगको मेरो प्रत्यक्ष साक्षाकार भएको र अन्तरहृदयमा सन्देश गुञ्जिएको यो अनुभव पहिलो पटक भएको थियो मलाई । मैले पूर्वीय सनातन अध्यात्म दर्शनको प्रमुख विषय योग विज्ञानका युगौं पूराना शास्त्र तथा पाठ्य सामग्रीहरुमा पढेको र सुनेको मात्र थिएं, यस ब्रम्हाण्डका सबै कुरा चैतन्य छन् अर्थात ब्रम्हाण्डमा स्थित जीव, वनस्पति र पदार्थहरु सबैमा चेतना तथा जीवन छ, ती सबै फरक प्रकारले जीवित छन् र आ–आफ्नो प्रकारले एकआपसमा संवाद गर्दछन्, सहयोग, सदभाव, सेवा, दया, करुणा राख्दछन् । आत्मा अर्थात चेतनाको विकास भएका योगी, सन्त तथा चैतन्य मनुष्यहरुले मात्र यी सबै जीव, वनस्पति र पदार्थहरुसंग प्रत्यक्ष साक्षातकार र दोहोरो संवाद गर्न सक्दछन् ।
अध्यात्म विज्ञानका यस्ता अलौकिक विषयहरु पढ्न र जान्न अत्यन्तै रुचि लाग्ने हुनाले मैले यस सन्दर्भसंग सम्वन्धित सामग्रीहरु खोजी–खोजी पढ्दै आइरहेको छु । ब्रम्हाण्डमा सबै चैतन्य छ भन्ने सन्दर्भमा अन्य सामग्रीहरु पनि धेरै छन् तर सबैले थाहा पाउन तथा सजिलै बुझ्न सक्नेगरि श्रद्धेय परमहंस योगानन्दज्यूको ‘योगीको आत्मकथा’ पुस्तकको अध्ययाय आठमा श्रद्धेय योगीले वैज्ञानिकतामा आधारित रहेर अत्यन्तै सुक्ष्म तवरले जानकारी दिने प्रयास गर्नुभएको छ भारतीय वनस्पति विज्ञ तथा वैज्ञानिक श्री जगदीशचन्द्र बोसको वैज्ञानिक आविस्कार क्रेस्कोग्राफ सुक्ष्मसंवेदी यन्त्रले देखाएका प्रामाणिक नतिजाहरु अन्तर्गत रहेर । यो सुक्ष्मसंवेदी तथा सुक्ष्मदर्शक यन्त्रले आश्चर्यजनक ढंगले ‘जड र चेतन’ पदार्थहरु अलग हुन् भन्ने सिमाना तोड्दछ र एकै हुन्, सबै जीवित छन्, सबैमा चेतना छ, कुनै भिन्नता छैन भन्ने मिलापका विन्दुहरु पुष्टि गर्दछ । यो वैज्ञानिक तथ्यांकले जीव, वनस्पति र पदार्थहरुलाई एकसमान नियम अन्तर्गत ल्याएको छ । यी सबैले निश्चित रुपले समान प्रकारले थकाइ, निराशा, सम्भावित आरोग्य लाभ, आनन्द, पिडावोध, प्रतिक्रिया, मृत्युका लक्षणहरु प्रदर्शन गर्दछन् । पुस्तकमा भनिएको छ,
“वनस्पतिहरुमा पनि संवेदनशील स्नायुतन्त्र र विविध प्रकारका भावनात्मक समवेदनाहरु भएको जीवन हुन्छ । प्रेम, सुख, खुशी, आनन्द, डर, दुःख, घृणा, उत्तेजना, मोह तथा अन्य असंख्य भावनात्मक प्रतिक्रियाहरु वनस्पतिहरुमा त्यत्तिकै सत्यताकासाथ विद्यमान छन् जति जीवजन्तुहरुमा छन् ।”
क्रेस्कोग्राफ सुक्ष्मसंवेदी यन्त्रले वैज्ञानिक प्रयोगशालाहरुमा वनस्पतिमाथि गरिएका प्रयोगका नतिजाहरुले सामान्य अवस्थामा सुचारु रुपले वनस्पतिको वृद्धि–विकास भैरहेको तथा वनस्पतिका कोषहरुमा विद्युतिय तरंगहरु चलिरहेको देखिएको थियो । केही वाहिरी हस्तक्षेप तथा अवरोध खडा गरिदिदा कोषहरुको वृद्धि–विकास रोकिएको देखिएको थियो र अवरोध हटाइदिएपछि फेरी वृद्धि–विकास हुन तथा कोषहरुमा विद्युतिय तरंगहरु चल्न शुरुभएको देखिएको थियो । वनस्पतिको डाँठमा तिखो वस्तुले घोच्दा पिडा वोध गरेर छटपटाएको, बोटबाट डाँठ काटेर अलग गर्दा केहीबेर प्राणीझैं छटपटाएर पछि मृत भएको तथा वृद्धि–विकास पूर्णतः रोकिएको देखिएको थियो । यसले यो सिद्ध गर्दछकी वनस्पतिहरुमा पनि रससंचार प्रक्रिया हुन्छ र यो क्रिया जीवहरुमा हुने रक्तसंचार प्रक्रियासंग ठ्याक्कै मिल्छ । वनस्पतिको गोलाकार नली नशा हो जसले मुटुको काम गर्छ, नलीको माध्यमबाट पाचन तरंगहरुले जरादेखि टुप्पोसम्मलाई जोडेको हुन्छ र यसैले वनस्पतिको भोजन ग्रहण, पाचन प्रक्रिया, वृद्धि–विकासका कामहरु सुचारु गरिरहेको हुन्छ ।
क्रेस्कोग्राफ सुक्ष्मसंवेदी यन्त्रले पदार्थमा गरेको प्रयोगको नतिजामा पनि त्यस्तै नतिजा देखिएको थियो । सामान्य अवस्थामा पदार्थका सुक्ष्म कण तथा अणुका विद्युतिय तरंगहरु चलिरहेका देखिएका थिए र केही वाहिरी हस्तक्षेप तथा अवरोध खडा गरिदिदा तरंगहरु रोकिएका र अवरोध हटाइदिएपछि फेरी तरंगहरु उसैगरि चलेका देखिएका थिए र पदार्थमा विषादीको प्रयोग गर्दा केहीबेर पिडावोधको कम्पन गर्दै पछि मृत अवस्थामा देखियो अर्थात सुक्ष्म कण तथा अणुका तरंगहरु चल्न पूर्णतः बन्द भएको देखिएको थियो । यो वैज्ञानिक अध्ययनले देखाए अनुसार मनुष्य तथा जीवहरुभित्र जीवन र चेतनाको जस्ता प्रक्रियाहरु छन् वनस्पति र पदार्थहरुभित्र पनि ठिक त्यस्तै प्रकारका प्रक्रियाहरु छन् । सनातन अध्यात्म विज्ञानको षट्दर्शन मध्यको पनि सबैभन्दा महत्वपूर्ण उत्तर मीमंसा अर्थात वेदान्त दर्शनले हजारौं वर्ष अघिदेखि प्रामाणिक रुपमा भन्दै आइरहेको विषय, ‘ब्रम्हाण्डका सबै चिज तथा वस्तुहरु चैतन्य छन्’ भन्ने शाश्वत सत्यलाई अस्वीकार गर्ने आधूनिक भौतिक विज्ञानलाई जवाफ दिने दरिलो आधार हो यो क्रेस्कोग्राफ सुक्ष्मसंवेदी यन्त्रका प्रयोगका वैज्ञानिक प्रामाणिक नतिजाहरु जुन इशापूर्वका पूर्वीय महाविद्याकेन्द्र तथा विश्वविद्यालयहरु तक्षशिला, नालन्दाले गर्दै तथा गराउदै आएका अध्यात्म विज्ञानका विषयहरुको अध्ययनको निरन्तरता हो । वेदान्त दर्शन र क्रेस्कोग्राफ सुक्ष्मसंवेदी यन्त्रले देखाएका नतिजाहरु मेल खाएपछि आधूनिक भौतिक विज्ञानका पश्चिमी वैज्ञानिकहरुले सम्मान प्रकट गर्दै प्राच्य तथा पूर्वीय सनातन अध्यात्म दर्शनको सम्मानमा शिर झुकाएका थिए किनकी यो वैज्ञानिक प्रयोगले ब्रम्हाण्डमा स्थित सबै चिज तथा वस्तुहरु चैतन्य छन् भनेर सबैलाई मान्य हुने ठोस सबुत सबै समक्ष प्रस्तुत गरेको थियो ।
प्रकृतिमा रहेका सबैप्रकारका जीवहरुमा जीवन र चेतना हुन्छ, यो कुरा हामी सबैलाई थाहा छ । वनस्पति र पदार्थहरुमा पनि यस्तै प्रकारको जीवन र चेतना हुन्छ भन्ने विषयलाई पछिल्ला वैज्ञानिक खोजका नतिजाहरुले पुष्टि गरिसकेका छन् । विभिन्न समयमा गरिएका प्रयोगात्मक अभ्यास तथा अध्ययनका तथ्यांकहरुले प्रमाणित गरिसकेका छन् कि सुमधूर संगीत, मिठो बोलि, प्रेम भाव, सुन्दरता जस्ता सकारात्मक अवस्थाहरु मनुष्य लगायत सबै जीव, वनस्पति र पदार्थहरुलाई पनि मनपर्छ किनकी उनीहरु पनि आ–आफ्नै प्रकारले आवाज सुन्न सक्दछन्, सुन्दरता देख्न सक्छन्, हेरचाह, प्रेमका भावहरु बुझ्न तथा अनुभूति गर्न सक्दछन् । यसप्रकारको सकारात्मक अवस्थामा सबै जीव, वनस्पति र पदार्थहरु पनि आ–आफ्नो प्रकारले खुशी हुन्छन्, सुखको अनुभव गर्छन्, नाच्छन्, स्त्री पशुहरुले दुध धेरै दिन्छन्, वनस्पति राम्रो फस्टाउछन् र उब्जनी तथा फसल राम्रो र धेरै दिन्छन् ।
विशेष प्रकारको क्षमता भएका व्यक्तिहरुले भौतिक रुपमा पशु, पंक्षी तथा प्राणीहरुलाई आफ्नो सन्देश पठाएको; उनीहरुको सन्देश ग्रहण गरेको; उनीहरुलाई विभिन्न प्रकारका ध्वनिहरु निकालेर समुहमा आफ्नो वरिपरि बोलाएर जम्मा गरेको; उनीहरुसंग खेलेको, छोएको, उनीहरुकै लवजको आवाज निकालेर भाषा आदान–प्रदान तथा दोहोरो संवाद गरेको जस्ता घटनाहरु हामीले सुन्दै, देख्दै र अनुभव गर्दै आइरहेका छौं । यो प्रामाणिक भौतिक संसारको भौतिक विज्ञानको एउटा फरक पाटो हो र अनौठो तथा आश्चर्य लाग्छ यस्ता कुराहरु सुन्दाखेरी । पराभौतिक संसार अन्तर्गत पर्ने अध्यात्म विज्ञानमा अझ आश्चर्य र अपत्यारिलो लाग्ने अर्को चमत्कारिक पाटो पनि छ तर यो चमत्कार तथा जादु नभएर शुद्ध विज्ञान हो र भौतिक तथा इन्द्रियजनित विज्ञान भन्दा अलि फकर इन्द्रियातीत विज्ञान हो जो भौतिक रुपमा दृश्यमा छैन, सुन्न, छुन, सुघ्न, स्वाद लिन तथा कुनै प्रकारले अनुभव गर्न सकिदैन तर छ, अत्यन्तै सशक्त रुपमा अस्तित्वमा छ । आत्मा अर्थात चेतनाको विकास भएका चैतन्य मनुष्यहरुले आन्तरिक रुपमा अर्थात बिना कुनै भौतिक गतिविधि मौन अवस्थामै रहेर आफ्नो अन्तरहृदयमा निरन्तर तरंगीत भैरहेने विद्युतिय तरंगहरु तथा आभामण्डल अर्थात अंग्रेजीमा क्वान्टम फिल्डको माध्यमबाट सबैप्रकारका जीव, वनस्पति र पदार्थहरुसंग साक्षातकार र दोहोरो संवाद गर्न सक्दछन् ।
डेढ दशकदेखि आफू चक्र ध्यान साधना तथा कुण्डलिनी योग साधना गर्दै आएकोले ध्यान साधनाको गहन अवस्थामा विभिन्न परालौकिक अनुभवहरु हुदै आइरहेका थिए र छन् । ध्यान साधनाको गहिराइमा निकै अघिदेखि नै शरीरमा रहेका र शरीरमा नरहेका दुवै प्रकारका मनुष्यहरुको आत्मा अर्थात चेतनासंग मेरो साक्षातकार र दोहोरो संवाद भैरहेको थियो । ध्यान साधनाको निरन्तरता र गहनतासंगै आधूनिक भौतिक विज्ञानले जड, अचेतन तथा मृत मान्दै आइरहेका वनस्पति र पदार्थहरुका चेतनाका विद्युतिय तरंगहरु अनुभूति गर्ने, तिनीहरुसंग साक्षातकार हुने, तिनीहरुको सन्देश ग्रहण हुने र दोहोरो संवाद हुनेक्रम बढिरहेको थियो मेरो अन्तरहृदयको अनुभूतिमा । यो क्रम विस्तारै क्रमशः स्थुल शरीरमा रहेका तथा नरहेका मनुष्यहरुको चेतना हुदै पशु, पंक्षी, प्राणी तथा सुक्ष्म जीवाणुहरु, वनस्पति र पदार्थहरुसम्म पुग्यो । सामान्य जीवनयापन गरिरहेका सांसारिक मनुष्यहरुलाई यस्ता विषयहरु सुन्दा चमत्कार, जादु, काल्पनिक गफ तथा अन्धविश्वास जस्तो लाग्न सक्छ तर यो शुद्ध विज्ञान हो । सनातन अध्यात्म विज्ञानको प्रमुख विषय योग विज्ञानका पूर्णतः वैज्ञानिकतामा आधारित योगीक साधनाका विधिहरुको निरन्तर निष्ठापूर्वक प्रयोगात्मक अभ्यास गरेर यस्ता पराभौतिक, परालौकिक, दिव्य उपलव्धिहरु हासिल गर्न सकिन्छ जसलाई सनातन अध्यात्म दर्शनका शास्त्रहरुले सिद्धि तथा निधिका रुपमा विस्तारमा व्याख्या गरेका छन् । भगवान हनुमानजी प्रति समर्पित हनुमान चालिसामा उधृत ‘...अष्ट शिद्धि, नव निधिका दाता...’ श्लोक यही विज्ञानलाई संवोधन गर्ने विषयमा आधारित रहेको छ । योगीक साधनाको माध्यमबाट आफ्नो आत्मा अर्थात चेतनाको विकास गरेर शिद्धि तथा निधिहरु हासिल गरिसकेपछि ब्रम्हाण्को परमचेतना तथा सुपरकन्ससमा एकाकार भैसकेको साधकको चैतन्य चेतनाले ब्रम्हाण्ड तथा प्रकृतिमा स्थित सबैप्रकारका जीव, वनस्पति र पदार्थहरुको चेतनाबाट तरंगीत हुने विद्युतिय तरंग सुन्न सक्ने, उनीहरुसंग दोहोरो संवाद गर्न सक्ने दिव्य शक्ति तथा क्षमता प्राप्त गर्दछ ।
स्वस्थ हरप्रकारले स्वस्थ तथा आरोग्य जीवन जीउनका लागि नियमित रुपमा विहान डेढ घण्टा प्रातः भ्रमण, योग साधना र ध्यान साधना गर्नु मेरो दैनिक जीवनको प्राथमिकतामा रहदै आएको छ । यसक्रममा संधैझैं विहान साढे पाँचबजे घरबाट प्रातः भ्रमणकोलागि म निस्कें नजिकैको हरियाली पार्क वरिपरि घुम्ने उद्देश्यले । हरियो पानी भएको सुन्दर तालको छेउमा योगासन र प्राणायामका नियमित अभ्यासहरु गरिसकेर घर फर्कने क्रममा बाटो मैले कागको एउटा समुहले मरेर सडेको मूसालाई लुछीलुछी खाइरहेका देखें । त्यो दृश्य मैले हेरिरहें एकछिन् र मनमा स्वस्फूर्त विचार प्रवाहित भयो, प्रकृतिले पनि कस्तो–कस्तो नियम निर्धारण गरिदिएको होला, एक जीवले अर्को जीवलाई हिंसा गरेर आफ्नो आहार बनाउने तथा खाने; केही जीवले ताजा रुचाउने, केही जीवले सडिसकेको सिनो पनि झन रुचाएर खाने; मनुष्य लगायत केही जीवहरु साकाहारी र मांसाहारी दुवै हुने, केही जीवहरु मांसाहारी मात्र हुने र केही जीवहरु साकाहारी मात्र हुने ! यी कागहरु चाहिं कुन वर्गमा पर्छन होला... !? यस्तै विचारहरुको मनमा मडारिरहेको समयमा अचानक मेरो अन्तरहृदयमा सन्देश गुञ्जियो,
“...तँ सानो छँदा तैंले रुंघेको दुध दुहुने ढुंग्रोबाट तँलाई झुक्याएर हामीले नौनी घिउ खाएको बिर्सिस, हामी मांसाहारी र साकाहारी दुवै हौं... !?”
म झसंग भएं, मेरो अन्तरहृदयमा गुञ्जिएको कागहरुको यो सन्देश सुनेर । आफू तीन, चार कक्षामा पढ्दाखेरी हुने गरेको दैनिक जीवनयापनको यो विषय मैले त्यसयता सायदै मेरो स्मृतिमा ल्याएको थिएं होला किनकी त्यो विषय मेरो स्मृति ल्याउनु पर्ने तथा आउनु पर्ने कुनै त्यस्तो महत्वको विषय थिएन तर आज कागहरुको चेतनाले मलाई अचानक ती दिनहरुमा फर्काइदियो । अन्तरहृदयबाट यो आवाज सुन्ने बित्तिकै त म झस्किएं तर विस्तारै सामान्य र अत्यन्तै आनन्दित हुदैगएं म दुई कारणले- पहिलो, मैले पूर्वीय सनातन अध्यात्म विज्ञानका विषयहरुमा सुन्दै र पढ्दै आएको विषय ब्रम्हाण्ड तथा प्रकृतिमा रहेका समस्त जीव, वनस्पति र पदार्थहरु सबै चैतन्य छन्, उनीहरु सबैमा समान प्रकारको जीवन, आत्मा अर्थात चेतना छ र एकले अर्काको चेतनालाई सुन्न, बुझ्न, साक्षातकार गर्न र दोहोरो संवाद गर्न सक्छन्, र दोस्रो, वातावरणका कुचिकार मानिने यी सुन्दर पंक्षी कागहरुले मलाई मेरो स्मृतिबाट बिलिनि हुनलागेको वाल्यकालको स्वतन्त्रता, निर्धक्कता, पारिवारीक वातसल्यको अनुपम मस्ती र आनन्दको क्षणमा पुर्याइदिएका थिए । ती दिनहरुमा म तीन कक्षामा पढ्थें, माताजीले संघैजसो भन्ने गर्नुहुन्थ्यो,
“...नानी यो दुध दुहुने ढुंग्रो हेरिराख है, कागले नौनी घिउ लैजाला, म पाडी छोडेर भैंसी पगारेर आउछु, म दुध दुहिसक्छु अनि स्कुल जालिस... ।”
“...हस्... ।”
हस् भनेर म भैंसी दुहुदा थुन मुलायम पार्न आवश्यक पर्ने ढुंग्रोको एकछेउमा लगाइएको नौनी घिउ रुघेर माताजीलाई मद्धत गर्न तयार हुन्थें र दुध दुहुने ढुंग्रोको नौनी घिउ रुघ्न बस्थें तर म ढुंग्रो मात्र रुघ्थें ढुंग्रोको नौनी घिउ रुघ्न सक्दिनथें । मैले रुघ्दारुघ्दै कागले नौनी घिउ लगिसक्थ्यो अनि म माताजीको गाली खान्थें, ‘...आ... साह्रै लाटी छे यो त...’ भनेर । गाली खाँदाखाँदा मेरो सानो मस्तिकमा ढुंग्रोको नौनी चोर कागबाट बचाउने एउटा जुक्ति आयो, मैले आफूले लगाएको स्कुलको पोसाक सट खोलेर ढुंग्रो छोपिदिएं र नौनी चोरी हुनबाट बचाएं तव बल्ल माताजी मसंग खुशी हुनुभयो । दुध दुहिसकेर पाडी छोड्ने, बाँध्ने र अरु व्यवस्था मिलाउन्जेल बिरालोबाट दुध बचाउन फेरी रुघ्नु पर्नेहुन्थ्यो । यहाँपनि माताजी नआउन्जेल मैले उही जुक्ति लगाएं सटले ढुंग्रोको दुध छोपिदिएं ताकि छेउमा म्याउँ–म्याउँ गरेर बसिरहेको बिरालोले दुध देख्न नसकोस र नजिक नआओस भनेर । लामो समयसम्म मेरो यस्तै दिनचर्या चलिरह्यो हरेक विहान माताजीलाई दुध दुहुन मद्धत गरिसकेर खुशी भएर उफ्रिदै स्कुल पढ्न जाने ।
स्कुल जान तयारी गर्ने क्रममा एकदिन सट नभेटेपछि मैले कोठा वाहिर निस्केर आगनमा काम गर्दै गर्नु भएको माताजीलाई ठूलो स्वरमा सोधें,
“मेरो दुध छोप्ने सट खोइ, मैले भेटिन, कहाँ छ... !?”
परिवारका सदस्यहरु र नजिकका छिमेकीहरु मेरो कुरा सुनेर मरिमरि हाँस्नु हुन्थ्यो, म पनि वहाँहरु संगै हाँस्थें तर किन हाँसेको हो सबैजना मलाई थाहा थिएन । पछि आफू किशोरी अवस्थामा प्रवेश गर्दैजाँदा आफ्नो शरीरमा आएका शारीरिक परिवर्तनहरुपछि र माताजीले ‘अव त्यसो भन्नु हुदैन है’ भन्नु भएपछि बल्ल थाहा पाएं वहाँहरु वाल्यकालमा मैले त्यसो भन्दा किन मरीमरी हाँस्नु भएको रहेछ भनेर । कागहरुको चेतनाले पुर्याइदिएको वाल्यकालको यो मिठो स्मृतिमा हराएको यस घडिमा यी पंक्तिहरु लेख्दै गर्दा त्यतिबेला वालअवोध पनमा नबुझेको चूरो कुरा बल्ल पो गहिराइमा बुझेर यसपटक म मन खोलेर हाँसे... ।
मौन अवस्थामा अन्तरहृदयमा निरन्तर भैरहने यस्ता पराभौतिक तथा परालौकिक दिव्य स्मृतिहरु धेरै छन् मसंग । फूलविरुवाहरु अत्यन्तै मनपर्ने माली प्रकृतिको व्यक्ति भएकोले मैले घरको बगैचामा, कौशीमा फूलविरुवाहरु धेरै लगाएको थिएं । एकदिन म घरको कौशीमा गमलाबाट जरा वाहिर निस्केका, मरेका, सुकेका फूलविरुवाहरु व्यवस्थित गर्दै थिएं र मरिसकेको विरुवा ओखलेर माटो मात्र भएको अठार इन्चको गमलालाई अलि भारी भएकोले गोडाले ठेल्दै ठाउँ सार्दै थिएं, यसक्रममा मेरो अन्तरहृदयमा सन्देश आयो,
“तैंले हामीलाई लडाउने भइस्, अलि विस्तारै गर... !”
म अन्तरहृदयमा जीव, वनस्पति र पदार्थहरुको चेतनाको सन्देश सुन्न अभ्यस्त भैसकेको थिएं त्यसैले यो सन्देश सुनेर र मैले आश्चर्य त मानिन तर गमलामा विरुवा थिएन, हामीलाई लडाउलिस भन्ने सन्देश कसको थियो मैले थाहा पाइन र सोधें,
“मलाई यो सन्देश दिने तिमीहरु को हौ... ?”
“हामी माटोका जीवाणुहरु हौं, गमला लड्यो या फुट्यो भने हामी छरिन्छौं र घाम र हावामा सेकिएर हामी मर्छौं, गमला लड्न नदे... !”
अव बल्ल चाहिं चकित भएं म र हृदयमा मनन् भयो कि, हो त नि, माटोभित्र त माटोमाथि भन्दा कयौं गुणा बढि सुक्ष्म जीवाणुहरु जीवन जीरहेका हुन्छन् । म सचेत भएं र गोडाले जथाभावी ठेलिरहेको गमलालाई विस्तारै हातले ठेल्दै गन्तव्यमा पुर्याएं । गमलाको मरेको विरुवा ओखल्दा र गमलालाई गोडाले ठेलेर सार्दा भुईंमा पोखिएर छरिएको माटो सबै सनक्क सोहरेर उठाएर गमलामै हालेर माथिबाट ओभानो माटोले छोपिदिएं र उनीहरुलाई भनें,
“माटोका जीवाणुहरुको पनि मेरो जस्तै जीवन हुन्छ, होसियारी गर्नुपर्छ भन्नेमा म सचेत थिइन, मलाई यो नयाँ र अत्यन्तै महत्वपूर्ण ज्ञान दियौ तिमीहरुलाई, धन्यवाद । मैले तिमीहरुलाई लडाइन, अव तिमीहरु पनि मलाई धन्यवाद भन... ।”
“...धन्यवाद ।”
उनीहरुले पनि मलाई धन्यवाद भने । त्यसदिन फुर्सद निकालेर म कौशीमा भएका गमलाका सबै बोटविरुवाहरुको गोडमेल, काटछाँट, मलजल गरेर व्यवस्थापन गर्ने उद्देश्यले कौशीमा गएको थिएं । मरेका फूलविरुवाहरु निकालेर माटो र गमला व्यवस्थित गरेपछि म फूलविरुवाहरुका सुकेका पात, हागा काट्न थालें । यस क्रममा फूलविरुवाहरुले मसंग गुनासो गरे,
“तँ समय–समयमा हामीलाई हेर्न र हेरविचार गर्न आउदिनस्; तैंले काम अराएको मान्छेले हामीलाई राम्रोसंग हेरविचार गर्दैन; समयमा आवश्यकता अनुसार पानी हाल्दैन, गोडमेल गर्दैन, मलको मात्रा मिलाएर हाल्दैन त्यसैले हामी सुक्यौं, मर्यौं; तँ भ्याउदिनस भने र तँलाई हामी चाहिएको छैन भने कुनै अर्को उपाय गर तर यसरी स्याहार, पानी, मलजल बिना हामीलाई सुकाएर नराख; हामी बढ्न, फूल्न, फल्न सकेनौं; हाम्रो विकास रोकियो; चाहिदैन भने जरैसंग ओखलेर नष्ट गर तर यसरी बेस्याहार राख्दा र हाम्रो आवश्यकता नपुग्दा हामीलाई पिडा हुन्छ... ।”
म फेरी छक्क परें र आश्चर्यचकित पनि भएं किनकी यसअघि वनस्पति तथा फूलविरुवाहरुसंग भएका साक्षातकार तथा दोहोरो संवादहरुमा यसप्रकारुको विषय आएकै थिएन । उनीहरुको फूल, फल, रंग, प्रकार, प्रजाति, जाति, वंश, अक्सिजन, कार्वनडाइ अक्साइड, क्लोराप्लास्ट, कोषिका जस्ता वनस्पतिय प्रणालीका विषयहरुमा दोहोरो संवाद गर्ने गर्थें म उनीहरुबाट नै उनीहरुको आधारभूत जानकारीहरु लिने उद्देश्यले । तर त्यसदिन फरक प्रकारको संवाद भएको थियो र थाहा नै नपाएको ज्ञान पाइरहेको थिएं मैले उनीहरुको संवेदनशिलताको सन्दर्भमा उनीहरुबाटै । फूलविरुवाहरुको यसप्रकारको गुनासो सुनेर उनीहरुप्रति दया–करुणा भावले भरिदै मैले उनीहरुसंग क्षमा मागें र आफूले नभ्याएको तथा यस्तो समवेदनशिलता नबुझेको कारण यो अवस्था भएको हो तर अव म यो अवस्थालाई छिट्टै व्यवस्थापन गर्छु भनें नम्र भएर । सबै फूलविरुवाहरुको हरप्रकारले सक्दो स्याहार गरें र त्यसैदिन धेरैजसो फूलविरुवाहरुलाई घरको तल झारें, केहीलाई बगैंचामा माटोमा सारें र मालीको जिम्मा लगाएं र केहीलाई आफ्नो कोठा नजिकको कौशीमा लगें ताकि आफ्नो नजर परिरहोस भनेर । यसप्रकारको समवेदनशिलता बुझेपछि मैले फूलविरुवाहरुलाई सक्दो समय दिने प्रयास गरें, केही कुराबाट बन्चित गरिन र त्यसपछिको अवस्था सबै सामान्य रहदै आएको छ । यसरी वनस्पतिहरुको भाषा बुझ्नु अगावै पनि मलाई फूलविरुवाप्रति अघाद स्नेह र रुचि थियो, अत्यन्तै मन पर्नेगर्दथ्यो, जताको घुमघामबाट फर्किदा पनि अरुहरु लगाउने तथा सजाउने सामग्रीहरु किन्थे तर म भने फूलविरुवा भाँचेर, काटेर, किनेर घरमा ल्याएर बडो प्रेमपूर्वक हुर्काउथें घुम्न गएको स्थानको रमाइलो स्मृतिको रुपमा ।
वनस्पतिहरुसंगको यसप्रकारको अलौकिक दोहोरो संवाद र अनुभूतिपछि मेरो स्नेह र रुचि अझ धेरै झांगिएर गएको छ उनीहरुप्रति र म अझ बढि संवेदनशील भएको छु । यसपश्चात मैले जीव बाहेकका अरु चिज, वस्तुहरुलाई ‘जड तथा निर्जिब’ भन्ने प्रकारको सम्वोधन गर्न छाडें र सबै जीव, वनस्पति र पदार्थ तथा चिज, वस्तुहरुलाई आफू सरह ठान्न थालें, सबैलाई आफूमा देख्न थालें र आफूलाई सबैमा देख्न थालें किनकी ब्रम्हाण्डमा केही पनि जड तथा निर्जिब छैन, सबै चैतन्य छ, एक छ, अद्वेत छ र कोहीबाट कोही अलग छैन । एकदिन विहान म प्रातः भ्रमणबाट घर फर्कदै थिएं र त्यसदिन आफ्नो जन्म कुण्डलीकोबारेमा मनमा कुरा खेलाइरहेको थिएं । एक दशकअघि पूर्वीय अध्यात्म दर्शनको मान्यता अनुसार सनातन वेदको आँखा तथा छैठौं अंग मानिने ज्योतिष शास्त्रका आधारभूत विषयहरुको अध्ययन गरेकोले यसबारे जानकार भएको कारण मैले मेरो जन्म कुण्डलीमा महायोग, राजयोग, विपरित राजयोग तथा अन्य योगहरुको अवस्था र वृहस्पति ग्रहको अवस्था, ग्रह स्थित भाव, यो ग्रहको अंश, ग्रहको दृष्टि, ग्रहले बनाएका राजयोग तथा योगहरुबारे मनमनै विश्लेषण गरिरहेको थिएं बाटो हिड्दै । यहीक्रममा मेरो अन्तरहृदयमा वृहस्पति ग्रहको सन्देश आयो,
“तेरो जन्म कुण्डलीमा हरप्रकारका अवस्थाहरु– अंश, दृष्टि, स्थित भाव, राजयोग तथा योगमा मेरो अवस्था बलियो छ... ।”
“हो वृहस्पति प्रभु, मैले जानेको ज्योतिषिय ज्ञान अनुसार मेरो जन्म कुण्डली तथा मेरो जीवनमा हजूरको उपस्थिति निकै मजबुत रहेको छ र हजूरकै शक्ति, कृपा र आशिर्वादले मलाई मेरो चेतनाको विकासमा अगाडि बढाइरहेको छ..., म हजूरको आशिर्वाद र कृपाप्रति नतमस्तक छु प्रभु... ।”
“...तथास्तु... !”
मैले नतमस्तक भएर वृहस्पति प्रभुप्रति कृतज्ञता व्यक्त गरेपछि ‘तथास्तु’ भनेर वृहस्पति ग्रह मेरो अन्तरहृदयबाट अन्तरध्यान हुनुभयो । म बाटोभरी वृहस्पति ग्रह प्रभुसंगको यो नयाँ प्रकारको अलौकिक ज्ञान, साक्षातकार र दोहोरो संवादलाई अत्यन्तै महत्वपूर्ण मान्दै प्रसन्नता र आनन्दमा मग्न हुदै घर आइपुगें र आफ्ना नियमित कर्महरुमा लागें बडो फूर्ति, उमंग र प्रेरणाकासाथ ।
अर्कोदिन पनि म प्रातः भ्रमणबाट घर फर्कदै थिएं बाटोका विच–विचमा रहेका ढुंगा, सिमेन्ट, ईंटा तथा काठका टुक्राहरु गोडाले हान्दै, ठेल्दै बाटो छेउछाउ पंछाउदै थिएं ताकि मोटरको पांग्रामा परेर उछिट्टिएर बाटो हिड्ने बटुवाहरुलाई नलागोस् । बाटो हिड्दै जाँदा एउटा अलि ठूलो इटा र सिमेन्ट जोडिएको टुक्रा अगाडि आयो त्यसलाई पनि गोडाले हानेर पंछाउन खोजें ठूलो भएपनि अलि बल लगाएर तर अलि मुस्किल भैरहेको थियो, यही क्रममा फेरी मेरो अन्तरहृदयमा सन्देश आयो,
“तैंले आफ्नो गोडामा चोट लगाउलिस्, मलाई कि अलि राम्ररी गोडाले भर लगाएर सारेर छेउ लगा कि हातले उठाएर छेउ लगा... ।”
म फेरी आश्चर्यचकित भएं किनकी पदार्थको चेतनाको सन्देश मेरो अन्तरहृदयमा मैले पहिलो पटक ग्रहण गरेको थिएं । मनमनमा लगिरहेको थियो र अत्यन्तै प्रसन्नता पनि छाइरहेको थियो कि सनातन अध्यात्म विज्ञानको योगीक सिद्धान्त अनुसार सबैभन्दा सुस्त विद्युतिय तरंग भएका पदार्थहरुको चेतनाको सन्देश पनि ग्रहण गर्न सकें मैले, सायद मेरो अध्यात्म साधना र चेतनाको विकासले सहि गति लिरहेको छ । उक्त ईंटा र सिमेन्टको टुक्रा तथा पदार्थको निर्देशन अनुसार मैले गोडाले अलि भर गरेर बाटोको मध्य भागबाट छेउ लगाएं र म आफ्नो बाटो लागें यो नयाँ प्रकारको अनुभूति दिएकोमा उक्त ईंटा र सिमेन्टको टुक्रा तथा पदार्थलाई धन्यवाद दिएर ।
यी सबै परालौकिक अनुभव तथा अनुभूतिहरु ग्रहण गरिरहदा कहिलेकाहीं म आफैंलाई अचम्म लाग्छ कि भौतिक अस्तिव तथा स्थुल शरीरमा रहेका र नरहेका मनुष्य, पशु, पंक्षी, वनस्पति र पदार्थहरुको आत्मा अर्थात चेतनाले मसंग सम्पर्क स्थापित गर्न सक्यो या भनौं मैले तिनीहरुको चेतनाको विद्युतिय तरंग समाउन तथा साक्षातकार गर्न सकें, यस्तो कसरी हुन्छ होला !? यो अनौठो र आश्चार्य लाग्ने कुरा नै हो किनकी सांसारिक जीवनयापन गरिरहेका आम मनुष्यहरुमा यस्तो अनुभव तथा अनुभूति सितिमिति घटित हुदैन । तर यो शुद्ध विज्ञान हो, सनातन अध्यात्म विज्ञानको अत्यन्तै सुक्ष्म तर सर्वाधिक महत्वपूर्ण विषय हो, अध्यात्म विज्ञानका अनुसार, ब्रम्हाण्डका सबै जीव, वनस्पति र पदार्थहरु चैतन्य छन् । सनातन अध्यात्म विज्ञानको प्रमुख विषय वेदान्त दर्शनका अनुसार ब्रम्हाण्ड तथा प्रकृतिमा रहेका सबै जीव, वनस्पति र पदार्थहरुमा चेतना हुन्छ; यी सबैको चेतनाको विद्युतिय तरंगहरु फरक–फरक प्रकारले तिब्र तथा सुस्त गतिमा प्रकट हुन्छन्; सबैका तरंगहरुले सबैलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित गर्दछन् । सबै जीव, वनस्पति र पदार्थहरुका चेतनाको विद्युतिय तरंगहरु आत्मा अर्थात चेतनाको विकास भएका केही सिद्ध योगी तथा चैतन्य मनुष्यले सुनेर, सुंघेर, देखेर, स्पर्श गरेर, महसुस गरेर, साक्षातकार गरेर, दोहोरो संवाद गरेर आदि माध्यमहरुबाट सहजै अनुभव तथा अनुभूति गर्न सक्छन् किनकी यो शुद्ध विज्ञान हो कुनै जादु तथा चमत्कार विलकुल होइन । यस सन्दर्भमा पुर्वीय अध्यात्म विज्ञानका दर्शन शास्त्रहरु खासगरि योग विज्ञानका शास्त्रहरुमा शताप्दियौंदेखि यी प्रसंगहरुको विस्तारमा उल्लेख गरिदै र लिपिवद्ध गरिदै आइएको छ । पछिल्लो समयमा महायोगी रामचारका(सन्१९६२–१९३२) र महायोगी पायलट बाबा(सन् १९३८–२०२४) अध्यात्म विज्ञान अन्तर्गत प्रमुख तथा अत्यन्तै महत्वपूर्ण वेदान्त दर्शनको यो विषयलाई आधूनिक विज्ञान सम्मत दृष्किोणबाट अगाडि बढाउने ज्वलन्त चैतन्य महापुरुषहरु हुनुहुन्छ ।
महायोगी श्रद्धेय रामचारकाले सनातन योग विज्ञानका वैज्ञानिक विधिहरुको अनुशरण गरेर योगीक साधनाको माध्यमबाट विकसित भएको आफ्नो चेतनाले हासिल गरेका अनेकौं चमत्कारिक उपलव्धि, सिद्धि तथा निधिहरुको प्रयोग आधूनिक तथा अत्याधूनिक भैतिक विज्ञान र आधूनिक चिकित्सा विज्ञानको प्रत्यक्ष निगरानीमा रहेर वैज्ञानिक तवरमै बारबार प्रामाणित गरेर आधूनिक भौतिक विज्ञानलाई योग विज्ञानको शक्ति समक्ष घुँडा टेक्न बाध्य गराइसक्नु भएको छ । वहाँले आफ्नो पुस्तक ‘श्वासको विज्ञान अर्थात साइन्स अफ ब्रिथ’मा योगीक साधनाको बलमा गर्न सकिने मनुष्यको चेतना र योगीक साधनाको माध्यमबाट विकसित भएको चेतनाले गर्नसक्ने अनुभव तथा अनुभूतिहरुको बारेमा विस्तार उल्लेख गर्नुभएको छ । वहाँले पटक–पटक अमेरिकाका आधूनिक तथा अत्याधूनिक भौतिक शास्त्री तथा वैज्ञानिकहरु र आधूनिक चिकित्सकहरुसंग रहेर उनीहरुका अनेक अत्याधूनिक वैज्ञाननिक उपकरणहरुको प्रत्यक्ष निगरानीमा आफ्नो शरीर, मन, भावनाका सबै गतिविधिहरुलाई घण्टौंसन्म रोकेर तथा आफ्नो नियन्त्रणमा लिएर चिकित्सक तथा वैज्ञानिकहरुको समुहले वहाँलाई पूर्णतः मृत घोषणा गरिसकेपछि वहाँ पुनः आफ्नो योगीक साधनाको बलले जीवित भएर उनीहरुलाई चकित पार्दै सामान्य जीवनमा फर्किएर वहाँले पूर्वीय सनातन अध्यात्म दर्शनको प्रमुख विषय योग विज्ञानको शक्ति विश्व सामु बारबार देखाइसक्नु भएको छ । त्यसैगरि महायोगी श्रद्धेय पायलट बाबाले पनि आफ्नो श्रृंखलावद्ध पुस्कत ‘हिमालय कह रहा है’ मा सनातन योग विज्ञानका वैज्ञानिक विधिहरुको अनुशरण गरेर योगीक साधनाको माध्यमबाट विकसित भएको आफ्नो चेतनाले हासिल गरेका अनेकौं चमत्कारिक उपलव्धि, सिद्धि तथा निधिहरुको प्रयोग आधूनिक तथा अत्याधूनिक भौतिक विज्ञान र आधूनिक चिकित्सा विज्ञानको प्रत्यक्ष निगरानीमा प्रयोग गरेर तथा गराएर वैज्ञानिक तवरमै प्रामाणिक भैसकेका विभिन्न अदभूत विषयहरु निकै मसिनो गरि उल्लेख गर्नुभएको छ ।
क्रेस्कोग्राफ सुक्ष्मसंवेदी यन्त्रका आविस्कारक श्री जगदीशचन्द्र बोसले स्थापित गर्नुभएको वैज्ञानिक तथ्यांक सहितको मान्यताका अनुसार, पदार्थमा चेतनाको गति सबैभन्दा सुस्त हुन्छ, पदार्थमा भन्दा वनस्पतिमा चेतनाको गति अलि तिब्र हुन्छ तर जीवहरुको भन्दा निकै सुस्त हुन्छ । जीवहरु मध्यमा मनुष्यमा चेतनाको गति अत्यन्तै तिब्र हुन्छ र योग विज्ञानको साधनाको माध्यमबाट मनुष्यले चेतनाको विकासको गतिलाई अझ तिब्र बनाएर उ चैतन्य स्वरुप भएर सतचितआनन्दमा स्थित हुनसक्दछ, परमचेतना अर्थात सुपरकन्ससका मूलस्पवरुप परमात्मामा एकाकार हुनसक्छ र यसक्रममा उसलाई विविध प्रकारका दिव्य परालौकिक विषयहरुको अनुभव तथा अनुभूतिहरु हुन सक्दछन् । यस सन्दर्भमा योगीक साधना अन्तर्गत विशेषगरि श्वास तथा प्राणको आयाम प्राणायामको साधनाबाट वैज्ञानिक प्रामाणिकता र मान्यता प्राप्त तथ्यांकहरुका अनुसार निम्न तथ्यहरु सार्वननिक भएका तथा गरिएका छन्–
( श्वासको सिधा सम्वन्ध हाम्रो मनको स्थिति र कम्पनहरुसंग हुन्छ, एक मिनेटमा लिने श्वासको संख्या प्रतिमिनेट ११ पटक भन्दा तल आयो भने हामी हाम्रो वरपर हुने कम्पन तथा विद्युतिय तरंगहरु सुन्न तथा महसुस गर्न सक्छौं । हाम्रो वरिपरि रहेका जनावर, किरा, चरा आदि प्राणीहरुको आवाज सुन्न र तिनीहरुसंग साक्षातकार र दोहोरो संवाद गर्न सक्छौं । ठूला योगी, सन्त तथा योगीक साधकहरुको समक्षमा हिंसक तथा खतरनाक जनावरहरु पनि नतमस्तक हुन्छन् किनकी योगीले साधनाको बलले ती जनाबरहरुका शरीरबाट निस्कने उर्जाको कम्पन तथा विद्युतिय तरंगबाट उसको मनसाय तथा भावना बुझेर त्यसै अनुसार व्यवहार गरेर जनाबरको मन जित्न सक्छन् र आफ्नो अनुकुल हुनेगरि नियन्त्रणमा लिन सक्छन् । बौद्ध धर्मक ग्रन्थहरुमा उल्लेख रहेको पाइन्छ, हात्ती लगायतका जनाबरहरुले भगवान बुद्धलाई अगाडिका घुँडा र सुँढ भुईंमा टेकेर नतमस्तक भएर प्रणाम गर्थे ।
( श्वासको संख्या प्रतिमिनेट ९ पटक भन्दा कम भयो भने वनस्पति तथा पर्यावरणका भाव तरंगहरु सुन्न, बुझ्न सकिन्छ र उनीहरुसंग साक्षातकार तथा दोहोरो संवाद गर्न सकिन्छ ।
( श्वासको संख्या प्रतिमिनेट ७ पटक भन्दा कम भयो भने बेजान, मृत तथा जड मानिने पदार्थहरुको कम्पन तथा भाव तरंग थाहा पाउन सकिन्छ र ती चिजहरुसंग साक्षातकार तथा दोहोरो संवाद गर्न सकिन्छ । यी जड मानिने वस्तु तथा पदार्थहरुले कसरी काम गर्छन् भनेर सहजै बुझ्न सकिन्छ किनकी वेदान्त दर्शन भन्छ ब्रम्हाण्डका सबै सृष्टिहरु चैतन्य छन्, सृष्टिका समस्त चिजवस्तुहरुमा चेतना छ र तिनीहरु फरक प्रकारले जीवित छन्, फरक प्रकारको उर्जाको आवृत्ति अर्थात फ्रिक्वेन्सी तथा तरंगमा साक्षातकार तथा संवाद गर्दछन् ।
( अध्यात्म साधकमा योगीक साधना जति गहिरो हुन्छ त्यतिनै ब्रम्हाण्डमा भएका सबै जीव, वनस्पति, पदार्थ तथा चिज, वस्तुहरुका सबैप्रकारका सुक्ष्म कन्पन तथा भाव तरंगहरु सुन्न र तिनीहरुसंग साक्षातकार तथा दोहोरो संवाद गर्न सकिन्छ । योगीक साधनाको बलले आज्ञा चक्रको जागरण पश्चात सुृष्टिका अति सुक्ष्म जीव, वनस्पति, पदार्थ तथा चिज, वस्तुहरु देख्न, महसुस तथा अनुभूति गर्न सकिन्छ । अध्यात्म साधनाको यही अवस्थामा पुगेर ऋषिमुनिहरुले ब्रम्हाण्डको वास्तविक रहस्य र ब्रम्हाण्डमा संधै घट्ने घटनाहरुबारे जानकारी लिन सक्षम भएका हुन् ।
( हाम्रो शरीर जति स्थिर हुन्छ उति नै कम संख्यामा श्वास लामो र गहिरो श्वास लिइन्छ । जति–जति शरीर स्थिर हुदैजान्छ र श्वासको संख्या घट्दै–घट्दै जान्छ उति–उति हाम्रो वोधको क्षमता बढ्दै जान्छ ब्रम्हाण्डका सबै जानकारीहरु अनुभूतिमा आउन प्रारम्भ हुन्छन् । योग विज्ञानका अनुसार श्वासमा सिद्धि हासिल गरेर सामान्य मनुष्यले जीवनमा गर्न नसकिने दिव्य चमत्कारिक कार्यहरु गर्न सकिन्छ ।
( सनातन योगको निष्ठापूर्वक साधना गर्ने योगीहरु वर्षौंसम्म पनि आफ्नो श्वासलाई नियन्त्रणमा राख्न सक्छन् र त्यसको नयाँ–नयाँ अनुभव लिन सक्छन् । श्वासमा नियन्त्रण गरेर नै शरीरका सबै आयामहरुका ठूला भन्दा ठूला अस्वस्थता तथा बिमारीहरुका विषाक्तता जरैदेखि उखलेर फालेर पूर्ण रुपमा निको गर्न सकिन्छ ।
( योगीहरुलाई वाहिरका तथा आन्तरिक कुनैपनि घटनाहरुले फरक पार्दैन, उनीहरु अधिकांशत समय आफ्नो चैतन्य चेतनामा स्थित रहेका हुन्छन् । तर आम मनुष्य यस्ता कुरा मान्न तथा पत्याउन सक्दैनन् र अन्धविश्वास भनेर नकारिदिन्छन्, यसमा उनीहरुको केही दोष छैन अज्ञानतावस शाश्वत सत्यलाई स्वीकार गर्न सक्दैनन् ।
अस्तु
शिवोहम् ! शिवोहम् !! शिवोहम् !!!
No comments:
Post a Comment