डा. सिर्जना भण्डारी*
    #आध्यात्मिक_नारीवाद #अध्यात्म_दर्शन #जीवन_दर्शन  
आध्यात्मिक दृष्टिकोण र स्त्री सबलिकरणका उपायहरु
"स्त्री र पुरुष प्रतिस्पर्धि होइनन् पूरक तथा साझेदार हुन् !" - ओशो रजनीश
अध्यात्मिक दृष्टिकोणमा आजका स्त्री र स्त्रीको अवस्था
हामी सबैले आमरुपमा भन्दै आइएको महत्वपूर्ण कुरा सुन्दै आइरहेका छौं कि पृथ्वीलोकमा अव सत्ययुगको आगमन प्रारम्भ भएको छ । सत्युग त्यस्तो अवस्था हो जहाँ विविधताका वाबजुत बिनाकुनै भेदभाव सबैमा स्वनन्त्रता र समानताको नैसर्गीक हक–अधिकार प्राप्त हुन्छ र सबै आ–आफ्नो प्रकारले सबल, सक्षम, सशक्त र जाग्रित हुन्छन् । वर्तमान समयका स्त्रीहरु जागिरहेका छन् र सबल, सक्षम, सशक्त भैरहेका छन् । उनीहरु आफ्नो आन्तरिक आवाज सुन्न थालेका छन्, आवश्यकता अनुसार आन्तरिक रुपमा आफुसंग र वाहिरी रुपमा अरुसंग संवाद गर्दै, आफ्नो कर्तव्य, उत्तरदायित्व तथा जिम्मेदारीहरु निर्वाह गर्दै आफ्नो वाहिय र आन्तरिक विकास गरिरहेका छन् । विस्तारै वाहिर समृद्धि हासिल गर्दै आन्तरिक शान्ति हासिल गर्दै आफूभित्र उत्रिरहेका तथा अन्तरयात्रा तर्फ गहिरिरहेका छन् र परिवार, समाज, राज्य, विश्व, मानवीयता, प्रकृति तथा जगतको फराकिलो आकाशमा वर्तमान युग लनुसारको नयाँ सोच राख्ने नयाँ स्वरुपका आध्यात्मिक स्त्रीहरुले जन्म लिरहेका छन् । आजका नयाँ सोच भएका नयाँ स्वरुपका स्त्रीहरुले आध्यात्मिकतालाई अंगालेर अगाडि बढिरहेका छन् । नयाँ सोच तथा स्वरुप धारण गरेका आध्यात्मिक स्त्रीहरु न बन्धनसंग डराउछन्, न स्वतन्त्रतामा हराउछन्, न लोभ, मोहमा नै पर्छन् । उनीहरु स्वतन्त्रता र समानतामा आधारित सर्वकल्याणको अवधारणा अंगालेर निरन्तर अगाडि बढिरहेका छन् र समाजमा सौम्य आध्यात्मिक क्रान्तिको विगुल फुकिरहेका छन् । उनीहरु न पुरुषका दाषी बन्छन् न पुरुषसंग लडाइ गरिरहने पुरुषका दुस्मन हुन्छन् । उनीहरु पुरुषसरह अधिकार राख्ने सहयात्री तथा सहधर्मी हुन्छन् र एकसाथ जीवनलाई पूर्णतामा पुर्याउने साधना गर्ने संगिनी बन्नेछन् किनकी जीवन एक साधना हो र स्त्री र पुरुष साधनाका दुई बराबर हिस्सा हुन्, कुनै एक हिस्सामा कमी आयो भने जीवनको साधना भंग हुन्छ । जीवनको साधनामा भंगता आउनु भनेको मोक्षको मार्गमा अवरोध आउनु हो । तसर्थ हरेक परिवार, समाज, राज्यले स्त्रीलाई बराबर हक, अधिकार, स्वतन्त्रता, समानता, समता, सम्मान, प्रेम प्रदान गर्नु पर्दछ किनकी वास्ताविकतामा स्त्रीनै सृष्टिकर्ता तथा सृष्टिकी असलि शक्ति र ब्रम्हाण्डकी धरोहर हुन् । 
स्त्री सृष्टिकी मूल धरोहर भएको हुनाले नै पूर्वीय सनातन शास्त्रहरुमा युगौंअघिदेखि ब्रम्हाण्ड, प्रकृति तथा पृथ्वीलाई ‘माता’ भनेर सम्मानित सम्वोधन गरिदै आइएको छ । यदि स्त्रीलाई उचित सम्मान दिइएन भने समुच्चा सृष्टिनै बिनासतर्फ जान्छ किनकी स्त्री सृष्टि चलाउने मूल इन्जिन ‘प्रेम’ हुन्, जहाँ सम्मान हुदैन त्यहाँ प्रेम मर्छ र जहाँ प्रेम हुदैन त्यहाँ जीवन मर्छ, समाप्त हुन्छ, प्रलय आउछ । यसैकारण सनातन शास्त्रहरुमा प्राथमिकताका साथ भनिएको छ, ‘यत्र नारयस्तु पूज्यन्ते, रमन्ते तत्र देवता’ । देवताले पनि स्त्रीहरुलाई  तथा स्त्रीको प्राकृतिक शक्तिलाई आदिशक्ति भगवती स्वरुपामा मान्दछन् र पूजा आराधना गर्दछन् । यो संस्कृत श्लोकको वास्तविक अर्थ हो जहाँ स्त्रीको सम्मान हुन्छ त्यहीं देवताको विचरण तथा वास हुन्छ । सनातन शास्त्रहरु सबै विम्व हुन्, प्राचीन वैज्ञानिक हाम्रा पुर्खा ऋषिमुनिहरुले शास्त्रहरुमा विम्वहरु समावेश गरेर र अनेक उदाहरणहरु पेश गरेर प्रभावकारी ढंगले आउने नयाँ पुस्ताहरुलाई आध्यात्मिक विषयहरुको गाम्भिर्यता, मूल्य, मान्यता र महत्व बुझाउने प्रयास गरेका हुन् । देवता भनेको सकारात्मक उर्जा हो र सकारात्मक उर्जा भनेको प्रेम हो किनकी प्रेमभित्रै जीनव र जगतका सम्पूर्ण आयामहरु अटाएका हुन्छन् । सृष्टि चलाउने मूल इन्जिन प्रेम हो र स्त्री प्रेम र करुणाकी प्रतिमूर्ति हुन् । प्रेम र करुणाको मूलश्रोत स्त्रीको तन तथा शरीरमा कम हुन्छ; मन, भाव, हृदय, आत्मा अर्थात चेतनामा पूर्णरुपमा भरिएको हुन्छ किनकी शरीर त केवल साधन तथा यन्त्र हो, प्रेम र करुणाको मूलश्रोत शरीरमा हुदैन मनमा हुन्छ, मनमा भन्दा बढि भावनामा हुन्छ र भावनामा भन्दा बढि आत्मा अर्थात चेतनामा हुन्छ । तनको प्रेम भन्दा कयौं गुणा प्रभावकारी र शक्तिशाली मनको प्रेम हुन्छ, मनको प्रेम भन्दा कयौं गुणा प्रभावकारी र शक्तिशाली भावनाको प्रेम हुन्छ, र भावनाको प्रेम भन्दा कयौं गुणा प्रभावकारी र शक्तिशाली आत्मा अर्थात चेतनाको प्रेम हुन्छ । आत्मा स्वयं परमात्मा हो, परमात्मा नै प्रेम हो र प्रेम नै परमात्मा हो । स्त्री प्रेमकी प्रतिमुर्ति हुन् त्यसैले तन्त्र योगले स्त्रीलाई स्वयं आदिशक्ति भगवती जगदम्वाको रुपमा सम्मान गर्दछ, पुज्दछ, आराधना गर्दछ । तर मानव र सभ्यता विकासको क्रममा अतितका विभिन्न कालखण्डहरुमा स्त्रीप्रतिको यो शाश्वत आध्यात्मिक अवधारणाको लयमा विचलन आयो र अनाहकमा त्यसको नकारात्मक प्रभावको मारमा स्त्रीहरु पिल्सिदै गए, युग परिवर्तनसंगै निर्बल बन्दै गए र उनीहरुको जीवन विविध कारणले चुनौतीपूर्ण बन्दै गयो ।
सबल स्त्रीहरुको निर्बलिकरणको वास्तविकता र समाधान
सबलिकरणका उपायहरु त्यहीं खोजिन्छन् जहाँ निर्बलिकरणका नकारात्मक प्रभाव तथा परिणामहरुले कुनै विश्चित वर्ग तथा समुदायमाथि अमानवीय समस्या तथा चुनौतीहरु खडा गरेका हुन्छन् । केही शताव्दी अघिसम्म विश्व समाजका अधिंकाश समुदाय तथा सम्प्रदायहरुमा स्त्रीहरु सबल, सक्षम, सशक्त, समान, स्वतन्त्र र आफ्नो नैसर्गीक हक–अधिकार सम्पन्न थिए । पछिल्ला युगहरुमा विकास र आधुनिकताको बहानामा मानव समाजको विकासक्रमसंगै कहिले संस्कारको नाममा, कहिले धर्मको नाममा, कहिले मानप्रतिष्ठाको नाममा, कहिले सुरक्षाको नाममा स्त्रीहरुलाई क्रमशः निर्बलिकरण गर्दै लगियो । विभिन्न कालखण्डहरुमा परिवार, समाज, राज्य सबैले स्त्रीको प्रकृति तथा परमात्मा प्रदत्त ब्रम्हाण्ड हाँक्न सक्ने सिर्जन शक्ति तथा प्रजनन् क्षमता र प्रेमको शक्ति माथिनै निर्मम प्रहार गर्यो र स्त्रीहरुको महाशक्तिको दुरुपयोग गरेर स्त्रीहरुको सबैभन्दा ठूलो शक्तिलाई सबैभन्दा ठूलो कमजोरीको मान्यता दिदै क्रमिक रुपमा स्त्रीहरुलाई चारदिवार भित्र बन्द गरिदियो र स्त्रीहरुको प्रकृति प्रदत्त महाशक्तिलाई सदुपयोग गर्नुको साटो दुरुपयोग गर्यो, स्त्रीहरुलाई पूर्णतः दबायो र उनहरुका हक–अधिकार, शक्ति, क्षमता, प्रतिभा, सिर्जनशीलता आदि सबै आफ्नो नियन्त्रणमा राख्यो । स्त्रीहरुमाथि गरिएको यसप्रकारको दमनको नकारात्मक प्रभाव केवल स्त्रीहरुमाथि मात्र नपरेर स्वयं पुरुष, पछिल्लो पुस्ता, समाज, राज्य र प्रकृतिमाथि नै पर्यो । यो अवस्थाको विक्रित रुप तथा नकारात्मक परिणामहरु आजको विश्व समाजले छरिएको परिवार, विभेदयुक्त समाज, अर्थतन्त्र, विक्रित धर्म, थिचिएको मानवीयता, प्रदुषित पर्यावरण, बिनासउन्मुख प्रकृति आदि विभिन्न प्रकारले भोग्दै आइरहेके छ । 
इतिहास गवाह छ, स्त्रीहरुलाई बारबार अमानवीय किसिकमले दबाइयो यसको परिणामस्वरुप पुरुषहरुमा अहंकार बढ्यो र उसको जीवन पतनतिर गयो; स्त्रीहरुको प्राकृतिक स्वतन्त्रता खोसियो, उनीहरुको अस्तित्वलाई समेत अस्वीकार गरियो यसको परिणामस्वरुप पछिल्ला पुस्ताहरुको हुर्काइमा असन्तुलन आयो र समाज अपराधउन्मुख भयो; स्त्रीको मूल ब्रम्हाण्डिय सिर्जनशीलता प्रजनन् शक्ति लाई नै कमजोरी मानेर नियन्त्रणमा लिइयो यसको परिणामस्वरुप गर्भपतन, भू्रणहत्या, शिशुहत्या, स्त्रीहत्या, बहु पतिवाद, बेश्यावृत्ति, मानिसनै उपभोग्य वस्तु आदिका कारण पुरै मानवीयता नै शंकटमा पर्यो; स्त्रीहरुको नैसर्गीक स्वतन्त्रता, हक–अधिकार खोसेर चारदिवारमा कैद गरियो यसको परिणामस्वरुप मानव जीवनको रथको एउटा पांग्रो भाँचियो र व्यक्ति, परिवार, समाज, राज्य, प्रकृति सबैतिरको सन्तुलन बिग्रियो; स्त्रीकालागि मात्र नयाँ–नयाँ कठोर नियमहरु बनाइए यसको परिणामस्वरुप धर्म, संस्सकृति, अध्यात्मनै कुरुप र लंगडो भयो र सत्यले हार्न र पापले टाउको उठाउन थाल्यो; स्त्रीहरुलाई केवल वस्तुको रुपमा अर्थात मन, भावना, चेतना नभएका स्थुल शरीर मात्र भएका फरक प्रकारका जड प्राणीको रुपमा प्रयोग गरियो यसको परिणामस्वरुप उनीहरुभित्र प्रतिवाद, लडाई, प्रतिस्पर्धा, आफ्नो अस्तित्व सावित गर्ने होड, द्वन्द, युद्धले ठाउँ लिदै गयो । यो अवस्थाले उनीहरु पुरुष, समाज र राज्यकै विद्रोही कहलिए र सबैतिर लैंगिक असमानताको विरोधमा द्वन्द तथा युद्धको अवस्था आयो र यही द्वन्द तथा युद्धले खाइरहेको छ भित्रभित्रै आजको व्यक्ति, समाज, राज्य, मानवीयता, प्रकृति सबैलाई । यसो हुनु सामान्य हो किनकी सनातन शास्त्रीय मान्यता अनुरुप स्त्री प्रेमकी अविरल प्रवाह हुन्, जव प्रेमको अविरल प्रवाहलाई स्वस्फूर्त मार्ग मिल्दैन, वहावको बाटो छेकिन्छ, जानीजानी थुनिन्छ, अवरोध तथा बाधा उत्पन्न गरिन्छ तव प्रेम नै प्रतिवाद, प्रतिस्पर्धा, द्वन्द, युद्धमा परिणत हुन्छ अर्थात प्रेमले प्रवाहको अर्को बाटो खोज्छ स्वस्फूर्त रुपमा किनकी द्वन्द तथा युद्ध नैसर्गीक हक–अधिकार, स्वतन्त्रता, समानताप्रतिको प्रेम हो, प्रेम नै फरक शैलीमा प्रस्तुत भएको अवस्था हो यो । 
निश्चित रुपमा द्वन्द तथा युद्ध कसैकालागि पनि हितकर र सहज अवस्था होइन तसर्थ स्त्रीहरुलाई वास्तवमै अव्बल, सबल, सक्षम तथा सशक्त बनाउनका लागि सबै सचेत हुनु अत्यावश्यक छ । स्त्रीहरुलाई अनावश्यक दमन गरेर क्रोध नदिऔं, क्रोध नदेखाउ, आत्मवोध देउ । स्त्रीलाई अहंकार नदेउँ, अहंकार नदेखाउँ, ध्यान(साधना) दिउँ तवमात्र स्त्रीहरु आफू, पुरुष र समाजसंग प्रतिवाद गर्न तथा लड्न छोड्नेछन्, आफू जाग्नेछन् र अरुलाई पनि जगाउनेछन् । हरेक स्त्रीभित्र आ–आफ्नो अन्तर आवाज, अन्तर प्रकाश तथा अन्तर चेतना रहेको हुनछ र यो नै सबैभन्दा ठूलो शक्ति हो सबैको कल्याणका लागि । हरेक स्त्रीले आफ्नो अन्तर चेतनाको आवाज प्रकाशनालाई चिन्न सके भने उनीहरु आध्यात्मिक तवरले सबैभन्दा ठूलो सौम्य क्रान्तिकारी र परिवर्तनकारी बन्न सक्छिन र समाजमा बिना कुनै हो–हल्ला, वादविवाद, लडाइ, झगडा, हिंसा, हातहतिरयार केवल आफ्नो मौन उपस्थितिले ठूला–ठूला आमूल परिवर्तनहरु आफू, परिवार, समाज, राज्य, विश्व, मानवीयता, प्रकृति, जगत तथा ब्रम्हाण्डको कल्याणका लागि ल्याउन सक्छिन् । तसर्थ स्त्रीलाई सबल र सक्षम बनाउन उनीहरुलाई भौतिक तवरले वाहिरबाट भन्दा भित्रबाट पराभौतिक तथा आध्यात्मिक तवरले बदल्नु पर्दछ आत्मा अर्थात चेतनाको तहबाट तव मात्र सबैको कल्याण सम्भव हुनसक्छ ।
आध्यात्मिक दृष्टिकोण र स्त्री सबलिकरणका उपायहरु
स्त्रीहरुको सबलिकरणका लागि प्रमुख रुपमा तीन कुराहरुको प्राप्ति हुनु अत्यावश्यक हुन्छ– (१)प्रभावकारी शिक्षा जसले उनीहरुलाई सोच्न, विचार गर्न सक्ने क्षमता प्रदान गरोस्, (२)योग तथा ध्यान साधना जसले उनीहरुलाई आन्तरिक शान्ति प्रदान गरोस् र परमात्माको दिव्य स्पर्श मिलोस्, र (३)उचित सम्मान र निस्वार्थ प्रेम जसले उनलाई कटुताबाट बचाओस््् र करुणाले भरिदिओस् । यी तीन कुराहरुले स्त्रीहरुलाई आवश्यक मात्रामा विवेकशील र सजग बनाउछ नकि प्रतिवादी, प्रतिस्पर्धी तथा लडाकु । यी तीन कुराहरुका अतिरिक्त स्वतन्त्रता, स्वीकार्यता, हक–अधिकार, सम्मान, आत्मनिर्भरता प्राप्त गरेका परिवार, समाज, राज्य तथा विश्व समाजका स्त्रीहरु स्वतः सबल, सक्षम, सशक्त तथा योग्य हुन्छन् । तसर्थ स्त्रीलाई व्यवहारिक रुपमा साँच्चिनै अव्बल, सबल, सक्षम तथा सशक्त बनाउन संघर्ष, प्रतिस्पर्धा, द्वन्द, लडाई जस्ता नकारात्मक पाठ सिकाउने शिक्षा होइन चेतना, जागरण, जगरुकता, वुद्धि, विवेक जगाउने शिक्षा प्रदान गर्नुपर्दछ । स्त्रीलाई डरले होइन प्रेमले बदल्नु पर्दछ; तिरस्कारले होइन सम्मानले, बन्धनले होइन स्वतन्त्रताले उनीहरुको मन जित्नु पर्दछ; अधिकार खोसेर होइन अधिकार प्रदान गरेर सबल बनाउन पर्दछ । जवसम्म स्त्री र पुरुष आ–आफ्नो प्रकृति प्रदत्त स्वतन्त्र अस्तित्वमा स्थित तथा एक समान हुदैनन् तवसम्म व्यक्ति स्वयंमा, परिवार, समाज, राज्य, विश्व समाजमा प्रतिवाद, प्रतिस्पर्धा तथा लडाई चलिनै रहन्छ किनकी स्त्री र पुरुष कहिल्यै पनि एकअर्काका प्रतिस्पर्धी होइनन्, उनीहरु एकआपसका पुरुक हुन्, एकअर्काका अपरिहार्य सहयात्री हुन् । जव स्त्री र पुरुषको आपसि सम्वन्धमा मधूरता आउछ तथा लय मिल्छ, उनीहरुको जीवनको लक्ष्य र लक्ष्य हासिल गर्ने साधनाका विधि तथा उपायहरु एक हुन्छन् तवमात्र उनीहरुको जीवनमा नयाँ सिर्जनाहरु पल्लवित हुन्छन् र यो पालुवा मानवीयता तथा सर्वकल्याणका लागि जगतभरि सबैतिर समान रुपले स्वस्फूर्त रुपमा फैलिन्छन् ।
हामी सबैले सुन्दै, पढ्दै र बुझ्दै आएको अत्यन्तै व्यवहारिक सत्य, एक स्त्री जागरुक भइन भने पुरै परिवार, समाज, राज्य, विश्व समाज, मावीयता, प्रकृति, जगत, ब्रम्हाण्ड नै जाग्रित हुन्छ, त्यसैले यो सत्यलाई आत्मसाथ गरौं र स्त्रीलाई लड्न नसिकाऔं, उनीहरुलाई आफूभित्र प्रवेश गरेर आत्मबल, आत्मविश्वास, आत्मसम्मान, आत्मज्ञानले भरिन सक्ने अध्यात्म विज्ञानका मूल विषयहरु योग विज्ञान तथा ध्यान विज्ञानका पूर्णतः वैज्ञानिकतामा आधारित योग तथा ध्यान साधनाका सैद्धान्तिक र व्यवहारिक ज्ञानहरु सिकाऔं किनकी जीवन र जगतको वास्तविक वोध तथा शाश्वत सत्यलाई व्यक्ति पूर्णरुपमा आफूभित्र उत्रिएपछि मात्र बुझ्न तथा जान्न सकिन्छ र व्यक्तिलाई आफूभित्र उत्रन सिकाउने तथा मद्धत गर्ने मानव विकासको इतिहासमा हालसम्मको खोजले उजागर गरे अनुसार एक मात्र उपाय तथा विधि योग तथा ध्यान साधना नै हो । 
स्त्री सबलिकरणका तह र प्रक्रियाहरु
वर्तमान समयमा स्त्रीहरुलाई पुरुष, समाज तथा राज्य विरुद्ध प्रतिवादी, प्रतिस्पर्धी तथा लडाकु जस्ता नकारात्मक आवरणहबाट बदलेर अव्बल, सबल, सक्षम, सशक्त, सजग, योग्य जस्ता सकारात्मक आवरणहरुमा स्थिापित गर्न सबैतिर आध्यात्मिक दष्टिकोण राखेर विभिन्न तह तथा स्तरहरुबाट विभिन्न प्रक्रिया तथा उपायहरु अपनाउनु र ती सबैलाई व्यवहारिक रुपमा अभ्यासमा उतार्नु अपरिहार्य देखिएको छ– 
विभिन्न तह तथा स्तरहरु
(१)व्यक्तिगत तह, (२)पारिवारीक तह, (३)सांस्कृतिक तह, (४)सामाजिक तह, (५)धार्मिक तह, (६)आध्यात्मिक तह, (७)संस्थागत तह, (८)राज्य तह, (९)विश्व तह, (१०)प्राकृतिक तह ।
विभिन्न प्रक्रिया तथा उपायहरु
(१) योग तथा ध्यान साधनाको माध्यमबाट स्त्रीमा आत्मजागृत गराएर
(२)स्त्री सबलिकरणको गुरुयोजना निर्माण र प्रभावकारी कार्यान्वयन गरेर
(३)आधूनिक, अत्याधूनिक र आध्यात्मिक सबैप्रकारका शिक्षाको अवसर प्रदान गरेर
(४)परिवार, समाज, राज्य, विश्व समाजबाट लैंगिक बिभेधका प्रावधानहरु हटाएर
(५)स्त्रीलाई आफ्नो शरीर, मन, भावनामा रहेर निर्णय लिने स्वतन्त्रता प्रदान गरेर
(६)मन तथा भावबाट स्त्रीप्रतिका प्रतिकुल पितृसत्तात्मक सोच बदलेर 
(७)स्त्रीलाई अवला, कमजोर, अधूरो मान्ने सोच बदलेर
(८)घरबाटै पुरुषलाई स्त्रीको सम्मान गर्न सिकाएर
(९)शिक्षाको माध्यमबाट स्त्रीमा आत्मबल, आत्मविश्वास, आत्मसम्मान जगाएर
(१०)स्त्री सृष्टिकी मूल हुन् भन्नेबारे स्त्रीकोे गरिमा सबैलाई बुझएर 
(११)प्रतिवादी नाराको ठाउँमा चेतना र समझदारीको नारा लगाएर
(१२)पुरुष स्त्रीको सच्चा, सहयोगी, समवेदनशील साथी बनेर
छिट्टै,
स्त्री सबलिकरणका तह र प्रक्रियाहरु विस्तारमा
++++++++++++++++++++++++++
*लैंगिकता र विकासको विद्यार्थी, अध्यात्म साधक तथा वाचक, योग-ध्यान प्रशिक्षक ।
ग्रामीण विकासमा स्नाकोत्तर(Master's Degree), महिला विकासमा स्नाकोत्तर, महिला सशक्तिकरणमा विद्यावारिधी(PhD) ।
No comments:
Post a Comment