डा. सिर्जना भण्डारी*
जीवन विज्ञान आरोग्य अध्ययन केन्द्रको मार्गदर्शनः
आरोग्य पर्यटन उद्योगबाट नेपाल समृद्ध बन्न सक्छ
#आरोग्य_पर्यटन #अध्यात्म_पर्यटन
Wellness Tourism in Nepal
अध्यात्म गुरुद्वय श्रद्धेय श्री रमेश नेपाल र श्रद्धेय श्री एल.पि. भानु शर्माद्वारा बि.सं. २०६८ सालमा स्थापना गरिएको आधूनिक आध्यात्मिक संस्था जीवन विज्ञान प्रतिष्ठानले विगत डेढ दशकदेखि निरन्तर मानिसको आरोग्य जीवनको मूल आधार सनातन अध्यात्म विज्ञानका प्रमुख विषयहरु ध्यान र योग विज्ञानका पूर्णतः वैज्ञानिकतामा आधारित सैद्धान्तिक र व्यवहारिक साधना विधि तथा पद्धतिहरुलाई सबैकालागि सहज र उपयोगी हुनेगरि देश तथा विदेशमा प्रत्यक्ष भौतिक उपस्थिति र भर्चुअल जुमतन्त्र अनलाइको माध्यमबाट योग र ध्यान साधनाका प्रशिक्षणका प्रत्यक्ष तथा अप्रत्यक्ष कार्यक्रमहरु र प्रयोगात्मक अभ्यासहरु गराउदै आइरहेको छ । यसरी भौतिक रुपमा प्रत्यक्ष र भर्चुअल रुपमा जुमतन्त्रको माध्यमबाट ठूलो संख्यामा सहभागीहरुलाई ‘रोग लागेपछि उपचार गराउनु भन्दा रोग नै लाग्न नदिनु निको’ भन्ने आरोग्य जीवनको सर्वमान्य मान्यतालाई आत्मसाथ गर्दै आरोग्य जीवन जिउन सहयोग पुर्याउनुकासाथै आरोग्यताका गतिविधिहरुमा प्रत्यक्ष सहभागि भएर यसबाट प्रत्यक्ष लाभ हासिल गरि स्वस्थ तथा आरोग्य रहन हौसला र प्रेरणा प्रदान गर्दै आइरहेको छ । मानिसको आरोग्य जीवनकालागि उसको वाहिरी विकासको साथसाथ आन्तरीक विकासमा विशेष प्रकारले काम गरिनु पर्दछ भन्ने विषयमा जोड दिदै आइरहेको जीवन विज्ञान संस्थाले उच्चस्तरको मानव विकास र समाज तथा राज्यको समृद्धिकालागि ‘आरोग्य र समृद्धि’को विषयलाई प्राथमिकतामा राखेर बि.सं. २०८२, बैशाख ६ गते ऐतिहासिक ‘आरोग्य पर्यटनः नेपालको समृद्धिको आधार’ अवधारणा पत्र सार्वजनिक गरेको छ । यस ऐतिहासिक अवधारणा पत्रको मूल विषय तथा मूल आसय प्रभावकारी ढंगले मानव विकास गर्न र राज्यमा उच्चतम समृद्धि सहितको विकास हासिल गर्न नेपालमा उपलव्ध आरोग्य पर्यटनका पहिलादेखिनै उपलव्ध रहेका र सम्भावित नयाँ–नयाँ वस्तु, सेवा, सुविधा(टुरीस्ट पोडक्टस् फर वेलनेस) हरुका थप सम्भावना अध्ययन, खोजी, पहिचान, सम्वद्र्धन, प्रवद्र्धन, ब्रान्डिङ र विश्वव्यापि रुपमा प्रचार–प्रसार तथा विश्व बजारीकरण गरेर विश्व बजारमा नेपालमा उपलव्ध आरोग्य पर्यटनका उच्च गुणस्तरीय वस्तु, सेवा, सुविधाहरूको प्रचार–प्रसार गर्न जोड दिदै नेपालीहरुलाई आरोग्य पर्यटन उद्यमी बन्न र समुच्चा नेपाल मुलुकलाई आरोग्य पर्यटनको केन्द्र(हब अफ वेलनेस टुरिजम) बनाएर समृद्ध नेपाल समृद्ध नेपाली बनाउन सकिन्छ भन्ने अवधारणमा विशेष जोड दिदै आएको छ ।
आरोग्य पर्यटन प्रवद्र्धनमा जीवन विज्ञानको पहिलो प्रयास
यसअघि आधूनिक वैज्ञानिक आध्यात्मिक संस्था जीवन विज्ञान प्रतिष्ठानको नेतृत्वमा बि.सं. २०८० साल चैत्र १७ गतेदेखि २३ गतेसम्म विश्वका २० वटा देशबाट र नेपालका ७७ मध्य ७६ जिल्लाबाट विभिन्न क्षेत्र तथा तहका प्रतिनीधिहरु सहभागी भएका करिव ६ हजार व्यक्तिहरुको प्रत्यक्ष सामुहिक उपस्थितिमा लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान साधना कक्षमा आयोजना गरिएको सप्ताहव्यापि ‘विराट चक्र विज्ञान’को समापन पश्चात चैत्र २४ गते नेपालदेखि विश्वसम्म विराट अध्यात्म जागरणको लहर जगाउने र देशब्यापि, विश्वाव्यापि स्तरमा आध्यात्मिक गतिविधिहरु बढाएर विश्वमै नेपाललाई आरोग्य पर्यटनको केन्द्र बनाउने र नेपाललाई आरोग्य पर्यटनको माध्यमबाट समृद्ध बनाउने विराट उद्देश्य लिएर ठूलो संख्यामा उपस्थित सहभागीहरुको साथमा ‘लुम्बिनी अध्यात्म जागरण’ कार्यक्रम आयोजना गरिएको थियो र उक्त कार्यक्रममा सहभागी हुनुभएका नेपाल सरकारका तत्कालीन सम्माननीय प्रधान मन्त्री, उपप्रधान मन्त्री लगायत प्रमुख राजनीतिक दलहरुका अध्यक्ष तथा उच्चपदस्त सदस्यहरु र नेपाल सरकारका निजामती सेवाका मुख्य सचिब, प्रमुख सचिब तथा उच्चपदस्त अधिकारीहरु र सामाजिक तथा आध्यात्मिक अभियन्ताहरुको समुपस्थितिमा ऐतिहासिक आध्यात्मिक संकल्प र हस्ताक्षर सहित पांचबुदे ऐतिहासिक ‘आध्यात्मिक लुम्बिनी संकल्प पत्र’ जारी गरेको थियो । यस ऐतिहासिक क्षणमा आरोग्य पर्यटनका प्रमुख विषय, वस्तु तथा सेवाहरुमा ‘ध्यान र योग साधना’लाई पहिलो प्राथमिकतामा राखेर आगामी समयमा समुच्चा नेपाललाई नै आरोग्य पर्यटनको केन्द्र बनाउन सकिने तथ्यसहितको महत्वपूर्ण खुलासा गर्दै जारि गरिएको ऐतिहासिक आध्यात्मिक लुम्बिनी संकल्प पत्र यसप्रकार रहेको छ-
१. हामी योगभूमि, ज्ञानभूमि, बुद्धभूमि, तपोभूमि नेपाललाई मैत्रीभाव, समानता र शान्तिको प्रवद्र्धन गरी नागरीकहरुको शान्ति र समृद्धिको आकांक्षा पूरा गर्न जीवनको मूल विज्ञानमा आधारित ध्यान र योग साधनाका विधि तथा पद्धतिहरुको प्रयोगबाट मानिसको क्षमतालाई प्रयोग एवं परिचालन गर्न सबै जात, धर्म, लिंग र सम्प्रदायको घेराभन्दा माथि उठेको राष्ट्रको रुपमा रुपान्तरित गर्दै नेपाललाई विश्वशान्ति केन्द्र (World Peace Center) को रुपमा विकास गर्ने संकल्प गर्दछौं ।
२. सम्वत् २०८१ को प्रवेशसंगै हामी हाम्रै भूमिमा उत्पत्ति भएको ध्यान र योग साधनालाई देशभर प्रवद्र्धन गर्ने संकल्प गर्दछौं । साथै पूर्वीय संस्कृतिको प्रयोग, सम्वद्र्धन तथा अभिवद्र्धनका लागि शिक्षा, स्वास्थ्य, कृषि, वाणिज्य, सुरक्षा, सार्वजनिक प्रशासन र परराष्ट्र विषयसंग सम्वद्ध उपयुक्त पाठ्यक्रम एवं तालिमका लागि उपयुक्त जनशक्ति तयार गर्ने संकल्प गर्दछौं ।
३. नेपाल राष्ट्रमा रहेको ज्ञान, ध्यान, योग, पूर्वीय चिकित्सा पद्धतिलाई विश्वसामु उपलव्ध गराएर समग्र विश्वशान्ति एवं सह-अस्तित्वको सन्देशका लागि वैज्ञानिक पद्धतिको सञ्चार गर्न विदेशस्थित कुटनीतिक दूतावास, कुटनीतिक नियोग एवं कुटनीतिक संजालहरु मार्फत विश्वभर फैलाउने संकल्प गर्दछौं ।
४. ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिको माध्यमबाट नेपाललाई शान्ति पर्यटन केन्द्र (Peace Tourism Center) को रुपमा विकास गर्दै देशको समृद्धिमा योगदान पुर्याउने संकल्प गर्दछौं ।
५. देशभर ध्यान र योग साधनाको प्रवद्र्धन गर्न सक्रिय र समर्पित आध्यात्मिक संस्था तथा अभियन्ताहरुसंग परामर्श तथा सहकार्य गरि उपयुक्त व्यवस्था गर्ने संकल्प गर्दछौं ।
२.संक्षिप्तमा आरोग्य पर्यटन
आरोग्य पर्यटनः परिचय
आरोग्य पर्यटन ‘आरोग्य’ र ‘पर्यटन’ दुई शव्दको संयोगबाट बनेको तथा नामाकरण भएको छ । आरोग्यको शाव्दिक अर्थ मानिस शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक, सामाजिक र आध्यात्मिक रुपले स्व(आफू)मा स्थित हुनु अर्थात स्व+स्थ=स्वस्थ रहनु हो र पर्यटनको शाव्दिक अर्थ स्वमा स्थित अर्थात आरोग्य रहनकालागि आवश्यक क्रियाकलापहरु– स्वास्थ्य प्रदान गर्ने प्राकृतिक गतिविधिहरु गर्नु; खुशी प्रदान गर्ने घुमघाम र ज्ञानगुनका गतिविधिहरु गर्नु; मनोरञ्जन प्रदान गर्ने सांस्कृतिक जीवनशैली तथा स्वस्थ खानपान अपनाउनु; शान्ति तथा आनन्द प्रदान गर्ने योग र ध्यान साधना, तीर्थाटन आदि धार्मिक तथा आध्यात्मिक गतिविधिहरुमा समलग्न हुनु हो । जीवनमा समग्र आरोग्यता हासिल गर्नकालागि गरिने प्राकृतिक, सांस्कृतिक, सामाजिक, शैक्षिक, धार्मिक, आध्यात्मिक र स्वास्थ्य केन्द्रित योगीक, प्राकृतिक, आयुरवेदिक, मर्म चिकित्सा आदि क्रियाकलापहरुमा सहभागि हुन स्वदेश तथा विदेशको भ्रमण गर्नु आरोग्य पर्यटन हो । आरोग्य पर्यटनका यस्ता गतिविधिहरुले मानिसको मन–शरीर–आत्मा(माइन्ड–बडी–सोल)लाई हरप्रकारले स्वस्थ तथा आरोग्य रहन मद्धत गर्दछन् ।
आरोग्य पर्यटनः परिभाषा
विश्व अरोग्य संस्थान(ग्लोवल वेलनेस इस्टिट्युट)का अनुसार कुनै विशेष तथा सामान्य उद्देश्य राखेर र त्यसकालागि आवश्यक योजना बनाएर जीवनमा नयाँ तथा फरकपनको अनुभव गर्न; नयाँ–नयाँ ज्ञान तथा सूचनाहरु हासिल गर्न; खुशी तथा मनोरञ्जन प्रदान गर्ने विविध प्रकारका गतिविधिहरुको आनन्द लिन; स्वास्थ्य केन्द्रित योगीक, प्राकृतिक, आयुरवेदिक तथा मर्म चिकित्साका पद्धतिहरुको सेवा लिन राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा एक स्थानबाट अर्को स्थानको भ्रमण गर्ने गतिविधिहरु आरोग्य पर्यटन अन्तर्गत पर्दछन् । आरोग्य पर्यटनको प्रमुख उद्देश्य मानिसको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक आरोग्यता हासिल गरि सुदृढ, सन्तुलित र व्यवस्थित जीवनशैली गर्नु रहेको हुन्छ ।
आरोग्य पर्यटनः इतिहासदेखि हालसम्म
समग्रतामा पर्यटनको इतिहासलाई हेर्दा विश्वव्यापि रुपमा आरोग्य पर्यटनको इतिहास निकै लामो रहेको तथा प्राचीन कालदेखि निन्तर प्रयोग तथा अभ्यास गर्दै आइरहिएको पाइन्छ । मानिसले हरप्रकारले सुदृढ, व्यवस्थित तथा आरोग्य जीवनशैली हासिल गर्नकालागि आरोग्य पर्यटन अत्यन्तै महत्वपूर्ण र निकै प्रभावकारी प्राचीन अवधारणा तथा उपचार पद्धति रहदैआएको भएपनि बीशौं शताव्दीयता मानिस र समाजको साथै भौतिक पूर्वाधारहरुको विकास हुने क्रममा खासगरि आधूनिक चिकित्सा पद्धतिमा आएको उच्चतम तथा अत्याधूनिक प्रगतिका कारण आरोग्य पर्यटनका गतिविधिहरुमा उपचार पर्यटन(मेडिकल टुरिजम)का गतिविधिहरुको मिसावट भएको र पर्यटनका आयामहरुमा नयाँ–नयाँ आधूनिक अवधारणाहरु ल्याइएका कारण आरोग्य पर्यटन ओझलमा परेको तथा यसका गतिविधिहरुमा केही सुस्तता आएको देख्न सकिन्छ । तर सन् २०१९ मा अचानक फैलिएको कोभिड महामारीले विश्वव्यापि रुपमा आम मानिसहरुमा ल्याएको चरम बेचैनी, त्रास, निराशा, तनाव, चिन्ता, अशान्ति, विषाद, अवषाद, विक्षिप्तता आदि मानसिक तथा भावनात्मक अस्वस्थताका समस्याहरुका कारण अधिकांश मानिसहरुको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक स्वास्थ्य अवस्थामा निकै गहिरो नकारात्मक प्रभाव पर्नगयो । विश्वभरि एकैपटक पर्न गएको यस्तो अत्यन्तै भयावह र शंकटग्रस्त अवस्थालाई आधूनिक चिकित्सा पद्धतिले अनेक प्रयासका वावजुद धान्न र उचित प्रकारले उपचार प्रदान गर्न तथा सही ढंगले व्यवस्थापन गर्न सकेन ।
यस्तो अवस्थाको प्रत्यक्ष नकारात्मक असर मानिसको मन–शरीर–आत्मासम्म पर्नगयो र मानिसहरु कोभिडले भन्दा उनीहरुको कमजोर आन्तरिक अवस्थाका कारण चरम बेचैनी, त्रास, निराशा, तनाव, चिन्ता, अशान्ति, विषाद, अवषाद, विक्षिप्तता र आत्महत्याको अवस्थसम्म पुगे । आधूनिक चिकित्सा पद्धतिले सक्दो उपचार दिएर पनि मानिसहरुलाई स्वस्थ, ताजगी, सहज, सरल, सुखी, खुशी, शान्त, आनन्दित र आपसी सद्भाव युक्त जीवनशैलीमा फर्काउन तथा पुूनरस्थापित गराउन नसकेको कारण कोभिड संक्रमणयता विश्वव्यापि रुपमा मानिसको वाहिय र आन्तरिक दुवै अवस्थाको विकास तथा उपचार गर्ने प्राचीन उपचार पद्धति आरोग्य पर्यटनका गतिविधिहरुतिर मानिसहरुको आकर्षण बढ्न थाल्यो । यसो हुनुको कारण थियो मानिसहरुलाई हरप्रकारले स्वस्थ, ताजगी, सुखी, खुशी, शान्त, आनन्दित गराउन सक्ने सामथ्र्य केवल आरोग्य पर्यटनमा मात्र रहेको छ भन्ने मान्यताको प्रत्यक्ष रुपमा पुष्टी हुनु किनकी आधूनिक चिकित्सा पद्धतिले केवल रोगको उपचार गर्छ तर प्राचीन आरोग्य उपचार पद्धतिले मानिसको उपचार गर्छ समग्रतामा उसको शरीर, मन, भाव, आत्मा अर्थात चेतना सबै आयामहरुको एकैसाथ । मानिसको स्वाथ्यका मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक लगायत शारीरिक आयामको सुदृढिकरणमा आरोग्य पर्यटनको अत्यन्तै प्रभावकारी परिणाम तथा उपलव्धिमूलक लाभहरु देखिएका कारण मानिसहरुले आरोग्य पर्यटनको आवश्यकता र महत्व बुझ्दै गए र क्रमशः यसतर्फ आकर्षित हुदै गए । यसप्रकार आरोग्य पर्यटनका गतिविधिहरुमा मानिसहरुको क्रियाशिलता तथा सहभागिता ह्वात्तै बढेर गयो । यसरी आरोग्य पर्यटनका गतिविधिहरुमा विश्वव्यापि रुपमा आएको आवश्यकता जन्य बढोत्तरीसंगै आरोग्य पर्यटन अन्तर्गत पर्ने क्रियाकलापहरुको लोकप्रियता, माग, आपूर्ति तथा बजारको दायरा पनि उत्तिकै मात्रामा बढ्दै गएको देखिन्छ वतएमान परिप्रेक्षमा ।
मानिसको हराएको खुशीको खोजनै आरोग्य पर्यटन
सारमा भन्नुपर्दा हरेक मानिसले चाहना गर्ने खुशीको खोजनै आरोग्य पर्यटन हो । मानव सभ्यताको ऐतिहासिक पृष्ठभूमिलाई हेर्दा, युगसंगै मानिस र समाजको विकास प्रक्रिया निरन्तर चलिरहेको छ र युग अनुसारको विकास प्रक्रियासंगै मानिसको जीवनको महत्व र प्राथमिकताहरु पनि निरन्तर परिवर्तन भैरहेका छन् । खासगरिकन बीशौं शताव्दीयता मानिस र समाजको विकास हुने क्रममा व्यक्तिको जीवनमा उसको सुख, खुशी, शान्ति, आनन्द, सौहार्दता, प्रेम, करुणा, सेवा भन्दा उसले गर्ने काम तथा कर्मलाई सबैभन्दा महत्वपूर्ण मान्ने अभ्यास तथा मान्यता बढ्दै गयो । यसअनुरुप व्यक्ति, परिवार, समाज, राज्यले मानिसले गर्ने पेशा तथा व्यवसायलाई बढि महत्व तथा प्राथमिकता प्रदान गर्न थाल्यो । मानिसको पहिचान, मूल्य, मान्यता आदि सबै उसले गर्ने पेशा तथा व्यवसायबाट निर्धारित हुन थाल्यो र जीवनका हरेक पक्षमा उसले गर्ने पेशा तथा व्यवसायको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पर्नथाल्यो व्यक्तिले चाहेर तथा नचाहेर । यस्ता व्यवहारहरुको विकास हुदैजाने क्रममा वासतवमा व्यक्ति को हो, के हो, उ के चाहन्छ, उ जीवनमा सुखी, खुशी, शान्त छ कि छैन आदि पक्षहरु सबै गौण तथा महत्वहिन हुदैगए र यी विषयहरु परिवार, समाज तथा राज्य सबैको प्राथमिकताबाट पनि उत्रिदै तथा हराउदैगए, मात्र मानिसले गर्ने काम तथा पेशा, व्यवसाय ठूलो र महत्वपूर्ण हुन थाल्यो । यो अवस्थाको नकारात्मक प्रभावका कारण व्यक्तिसंग भेट्दा, बातचित गर्दा सौहार्दताको पहिलो सवालनै ‘तपाईं के काम गर्नुहुन्छ रु’ भन्नेमा सीमित भयो र उसको पूरै व्यक्तित्वनै केवल उसले गर्ने काम तथा पेशा, व्यवसायसंग जोडिन थाल्यो । व्यक्ति स्वयं, परिवार, समाज र राज्यको नजरमा कसले कस्तो स्थान, मान–सम्मान, मूल्य–मान्यता, प्रशंशा आदि पाउने भन्ने विषय समेत मानिसले गर्ने काम तथा पेशा, व्यवसायकै आधारमा तय हुने अवस्था बन्दैगयो । यसैकारण आजको समयमा हरेक व्यक्ति काम तथा पेशा, व्यवसायमा प्रतिस्पर्धी बनेर अरुलाई आफू भन्दा पछाडि पार्नेस आफ्नो पछाडि लगाउने र जसरी हुन्छ आफू अरुभन्दा अगाडि बढ्नेस र समृद्धि, सफलता, प्रशंशा, मान–सम्मान, मूल्य–मान्यता, कमाउने होड, रस्साकस्सी र तामझाम आदिमा मानिस तल्लीन हुदैगयो, यसैमा आफूलाई सीमित गर्दै गयो, यसैमा हराउदै र फस्दै गयो ।
यसको नकारात्मक परिणाम स्वरुप मानिस आफूबाट विस्तारै दुर हुदै गयो । अरुका कारणले, अरुलाई देखाउनका लागि गरिएका व्यवहारहरुका कारणले, अरुकालागि जीवन जीउने कारणले, अरुलाई देखाउनका लागि जीवनका गतिविधिहरु गर्न थालेको कारणले निरन्तर उसको आफूसंगको दुरीको फासला बढ्दै गयो । यो दुरीसंगै मानिसले आफ्ना सारा स्वास्थ्य, सम्वन्ध, सुख, खुशी, हाँसो, शान्ति, आनन्द आदि सकारात्मक पक्षहरु क्रमशः गुमाउदै गयो र एक विन्दुमा पुगेपछि सदाकालागि गुमायो नै फेरी फर्कन नसक्ने गरि । यसको नकारात्मक परिणाम स्वरुप मानिस हाँस्न, रमाउन, मनोरञ्जन गर्न, परिवार, नातागोता तथा सम्वन्धीहरुसंग गुणस्तरीय सम्वन्ध स्थापित गर्न तथा गुणस्तरीय समय व्यतीत गर्न, खुशी हुन नै बिर्सियो र विस्तारै तनाव, चिन्ता, विषाद, अवषाद, विक्षिप्ततादेखि आत्महत्यासम्मको दलदलमा फस्दै तथा भासिदै गयो । यस्तो अवस्थाबाट गुज्रिरहेको मानिस जीवनको एक विन्दुमा पुगेपछि झस्कियो, आफूले जीवनमा गर्दै आएको कर्म, पेशा तथा व्यवसायमा उच्चता हहासिल गर्ने होडको भागदौड र प्रतिस्पर्धामा आफ्ना सारा स्वास्थ्य, सम्वन्ध, सुख, खुशी, शान्ति, आनन्द आदि सकारात्मक पक्षहरु गुमेकोमा चिन्तित् हुनथाल्यो र त्यसपछि बल्ल चिन्तन् गर्न थाल्यो आफ्नो जीवनमा सुख, शान्ति, समृद्धिकालागि यी महत्वपूर्ण सकारात्मक पक्षहरु कसरी फेरी फिर्ता ल्याउने भनेर । आफ्नो जीवनका अत्यन्तै महत्वपूर्ण सकारात्मक पक्षहरुलाई जीवनमा पूनः फिर्ता ल्याउने उपायको खोजी गर्दैजाने क्रममा उसले आरोग्यताका क्रियाकलापहरु– प्राकृतिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, योगीक जीवनशैली, घुमफीर, मनोरञ्जन आदिलाई यसको माध्यम बनायो र पुनः केही हदसम्म आफ्नो पुरानो अवस्थामा फर्कन सक्षम भयो । यसकारण मानिसको हराएको खुशीको खोजनै आरोग्य पर्यटन हो भनेर आरोग्य पर्यटननको परिभाषा गर्नु आजको सन्दर्भमा उक्तिसंग देखिन्छ ।
छिट्टै,
आरोग्य पर्यटनका प्रकार तथा वस्तु र सेवाहरु
क्रमशः
@आरोग्य पर्यटनका प्रकार
@आरोग्य पर्यटनका विषय, वस्तु र सेवाहरु
@नेपालमा आरोग्य पर्यटनका संभावनाहरु
@नेपालको सन्दर्भमा आरोग्य पर्यटनको महत्व र आवश्यकता
@आरोग्य पर्यटनको लाभ र हानिहरु
@समृद्ध नेपाल र आरोग्य पर्यटनको योगदान
@आरोग्य पर्यटनका चुनौती र समाधानका उपायहरु
@नेपालको सन्दर्भमा आरोग्य पर्यटन र आत्मनिर्भरता
@आरोग्य पर्यटन प्रवद्र्धनमा आध्यात्मिक पर्यटनको भूमिका
++++++++++++++++++++++++++++
*'ग्रामीण विकास' र 'लैंगिकता र विकास'को विद्यार्थी ।
*अध्यात्म साधक तथा अध्यात्म वाचक, योग र ध्यान साधनाको प्रशिक्षक ।
No comments:
Post a Comment