लालीगुरांश (डा. सिर्जना भण्डारी)
#आध्यात्मिक_साहित्य #जीवन_दर्शन
कथा
“आउन गाउन मिलनको गीत, सजाउन हाम्रो पिरतीको जित...”
स्कुलको शिक्षा पूरा गरेको करिव २५ वर्षपछि हामी स्कुलदेखिका केही साथीहरु आपसमा निकटता बढाउने योजना बनाएर आन्तरिक पर्यटक भएर मकवानपुरको दामन घुम्न गएका थियौं । सबै जना अबेर साँझ चिसो जुनेली रातमा रेस्टुरेन्टको फराकिलो प्रांगणमा दाउराको ठूलो आगो ताप्दै डिजेले बजाएको सपना चलचित्रको ‘आउन गाउन मिलनको गीत, सजाउन हाम्रो पिरतीको जित...’ सुमधूर गीतमा झुम्दै बार्बीक्यु पार्टीमा रमाइरहेका थियौं । हामी आ–आफ्नो किसिमले गफिदै, कोही मदिराको नशामा, कोही जीवनको सफलताको नशामा, कोही आ–आफ्नो जोडीसंगको प्रेमको नशामा, कोही रातको जुनेलीको नशामा हाँस्दै, गाउदै, नाच्दै रमाइलो गरिरहेका थियौं । शिरमाथि खुल्ला आकाशमा जुन, तारा, नक्षेत्र, ग्रहहरु चम्किरहेका थिए, हामी हाम्रो साथीसंगी भेटघाटको उत्सवमा खुव आनन्द मानेर समय बिताइरहेका थियौं । चिसो साँझ, दाउराको आगोको राप र बार्बीक्यु पार्टीको तापले माहोल तात्तिरहेको थियो । साथीहरुबाट किसिम–किसिमका कला, प्रतिभा, सिर्जनशीलताहरु प्रष्फुटन भैरहेका थिए । कसैले मिलनका, कसैले बिछोडका गीत गाइरहेका थिए; कसैले कविता वाचन गरिरहेका थिए; कसैले अरुको आवाज नक्कल गरिरहेका थिए; कसैले चुट्कीला भनेर हँसाइरहेका थिए तर म चाहिं चुपचाप अरुका कला, प्रतिभा तथा सिर्जनात्मकताहरु हेरेर त्यसैमा मग्न भैरहेको थिएं । साथीहरुले मलाई पनि केही गरेर देखाउन जोड गरिरहेका थिए । गीत गाउने, कविता वाचन गर्ने, चुट्कीला भन्ने, नक्कल गर्ने सबै अरु साथीहरुले गरिसकेका थिए, मैले सोचें म केही अलग गर्छु यिनीहरुको भन्दा भनेर र उनीहरुलाई अवगत गराएं, म लक्षुमन प्रसाद ‘जीवनमा सफलता र असफलता’ शिर्षकमा तपाईंहरु प्रत्यकसंग पाँच–पाँच मिनेटको अन्तरवार्ता लिन्छु, यससन्दर्भमा सबैले आ–आफ्नो जीवनको विचार, दृष्टिकोण र अनुभवहरु स्पष्टसंग भन्नुहुन अनुरोध गर्छु । सबै जनाले सहज सहमति जनाएपछि मैले अन्तरवार्ता लिन शुरु गरें ।
जीवनमा सफलता केलाई मान्ने र असफलता कस्तो अवस्थालाई मान्ने भन्ने सवालको जवाफमा कसैले सफलतालाई ज्ञान आर्जन तथा सम्पति कमाइ र असफलतालाई अज्ञानता र बिपन्नताको रुपमा परिभाषित गरे; कसैले सफलतालाई इच्छा आकांक्षाको परिपूर्ति र असफलतालाई अभावको रुपमा परिभाषित गरे; कसैले सफलतालाई आफूले चाहेको प्रेम प्राप्ति तथा प्रेमको आनन्द र असफलतालाई आफूबाट छुटेको प्रेम र प्रेमको अभावले कुण्ठित भएको मन तथा भावसंग जोडेर परिभाषित गरे; कसैले सुख र खुशीको सुखद पल र दुःखको दुःखद पलका रुपमा परिभाषित गरे त कसैले जीवनको जित र हारको रुपमा परिभाषित गरे । ती सबै दृष्टिकोणहरु मध्य धेरैको मत चाहिं जीवनको सबैभन्दा ठूलो सफलता ज्ञान आर्जन तथा सम्पति कमाइ हो र असफलता अज्ञानता, अभाव तथा बिपन्नताको अवस्था भन्ने रह्यो तर उपस्थित सबै मध्य एक जनाको दृष्टिकोण अलि फरक र गहन प्रकारको रह्यो र उनको गंभिरताले मेरो मनलाई उनीतिर खिचिरहेको थियो । साँझको समय, बार्बाीक्यु पार्टी, डिजे, संगीतको त्यस्तो होहल्लाको माहोलमा पनि शान्त र गंभिर प्रकृतिको व्यवहारमा प्रस्तुत भैरहेकी श्रेया मानवको जीवनको सफलता र असफलताको सन्दर्भमा जवाफ तथा अभिव्यक्तिहरु अनौठा र सबैका कान ठाडा पार्ने प्रकारका थिए । विगत लामो समयदेखि आध्यात्मिक पृष्ठभूमिमा देखिदै आएकी श्रेया मानवले निकै गहिरो भाव प्रस्तुत गर्दै सवालको जवाफ यसरी दिएकी थिइन्,
“जीवनको सफलता तथा असफलता सबै मनुष्यको मनको अवस्था तथा मनको खेल हो; जीवनमा मन भन्दा वर या पर केही पनि छैन; मन भन्दा पर तथा गहिराईमा केवल ‘म’ छ, वास्तविक ‘म’ अर्थात ठूलो ‘म’ अर्थात मनुष्यको ‘आत्मा’ अर्थात ‘चेतना’...।”
आफ्नो जीवनका अनुभवहरुको सन्दर्भ जोड्दै उनले संक्षिप्तमा व्यक्त गर्दै गरेको जीवनमा सफलता तथा असफलता भनेको केवल मनको अवस्था तथा मनको खेल हो भन्ने अभिव्यक्तिहरु चिन्तन् गर्न योग्य थिए हामी सबैकालगि । मलाई उनको वास्तविक ‘म’ अर्थात ठूलो ‘म’ अर्थात मनुष्यको ‘आत्मा’ अर्थात ‘चेतना’ भन्ने अभिव्यक्तिहरुप्रति थप जिज्ञासा जाग्यो र उनलाई यसबारे अझ केही स्पष्ट पार्न आग्रह गरें र उनी भन्दै गइन,
“मनुष्यको जीवन त्यो हो जुन सीमित छ र दृश्य छ सबैले देख्न तथा थाहा पाउन सक्ने जुन ‘म फलानो हुँ’ भनेर पहिचान गराउने अहंकारको पर्दा तथा सानो ‘म’ हो । तर ठूलो ‘म’ अर्थात मनुष्यको ‘आत्मा’ अर्थात ‘चेतना’ त्यो हो जुन असिम छ र अदृश्य छ कसैले देख्न तथा थाहा पाउन नसक्ने, आफू स्वयंले पनि देख्न तथा थाहा पाउन नसक्ने । हामी पूर्वीय सनातनीहरुको विरासत र सबैको अमूल्य शान सनातन अध्यात्म विज्ञानका महानतम ग्रन्थहरुका अनुसार जे अदृश्य छ त्यो शाश्वत सत्य हो र जे दृश्य छ त्यो मिथ्या तथा माया हो । मिथ्याले केवल भ्रम मात्र दिन्छ, वास्तविक खुशी, शान्ति, आनन्द दिदैन । वास्तविक खुशी, शान्ति, आनन्द केवल अदृश्य र शान्त ‘म’ अर्थात आत्मा अर्थात चेतनाको खोजी र प्राप्तिले मात्र दिनसक्छ । अदृश्य, ठूलो तथा असिम ‘म’ हरेक मनुष्यको अन्तरहृदयमा रहेको छ सशक्त अस्तित्वमा स्वयं ब्रम्ह अर्थात परमात्माको प्रतिनिधित्व गरेर ।”
श्रेयाले बडो चित्तबुझ्दो ढंगले ‘जीवनको सफलता र असफलताको विषयलाई ‘जीवन’ तथा सानो ‘म’ र ठूलो ‘म’ तथा आत्मा अर्थात चेतनालाई फरक प्रकारको परिभाषामा ढालेर आध्यात्मिक गहिराइ छुदै त्यसको गहनता र महत्व बुझाइरहेकी थिइन् हामी सबैलाई । केही साथीहरु उठेर गैसकेका थिए, केही साथीहरुलाई श्रेया र म विच चलिरहेको यो आध्यात्मिक विषयको संवाद निद्राको ओखती जस्तो भैरहेको थियो, उनीहरु हाई काढ्दै तन्द्रामा झुल्न थालिसकेका थिए तर म चाहिं अझ बिउझिरहेको थिएं । म स्वयं पनि आध्यात्मिक प्रकृतिको व्यक्ति भएकोले ममा श्रेयाका आध्यात्मिक अभिव्यक्तिहरुप्रति बडो उत्सुकता र चाख जागिरहेको थियो किनकी उनका गहिरा र गहनतम अभिव्यक्तिहरु सुन्दै जाँदा मलाई भित्रैदेखि लाग्दै गैरहेको थियो कि अव ‘उनको र मेरो जोडी जम्ला जस्तो छ’, पछि यही शिर्षकमा मैले कविता पनि लेखें । स्कुल जीवनमा केटाकेटी नै थियौं हामी, एकआपसमा त्यति गहिरो चिनजान थिएन र त्यतिबेला अहिलेको जस्तो परिपक्वता पनि थिइए तर आज दशकौंपटि भेट्दा लाग्यो श्रेयाको र मेरो अन्तरआत्मामा गुञ्जिरहेका आवाजहरुका भावतरंगहरु एकआपसमा मिलिरहेका छन् । उनी धार्मिक आचरण, आध्यात्मिक प्रकृति भएकी र आफ्नो दृष्टिकोणमा सुस्पष्ट अभिव्क्ति अरुसमक्ष प्रस्तुत गर्ने उच्चस्तरको व्यक्तित्व भएकी अध्यात्म साधक रहिछन् । मलाई उनको सादगी, सादा जीवन, उच्च विचार, आध्यात्मिक ज्ञान, जीवनको अनुभव र उनको नेतृत्वदायि व्यक्तित्व अत्यन्तै मन पर्यो । अरु साथीहरु आ–आफ्नो कक्षमा आराम गर्न गइसकेका थिए तर श्रेया र म मात्र त्यो चिसो रातमा अबेरसम्म बसेर आगो ताप्दै आ–आफ्नो जीवनका सफलता तथा असफलताहरुलाई केलाउदै र गहिर्याउदै लगिरहेका थियौं । जीवनको सफलता, असफलता र आफूले भोगेका अनुभवहरुका सन्दर्भमा लामो अनौपचारिक दोहोरो संवाद आदान–प्रदानपछि अवचाहिं मैले उनलाई शिर्षक छुट्याएर, मोबाइलमा आवाज र भिडियो रेकर्ड पनि गर्नेगरि जीवनमा सफलता तथा असफलताको बारेमा सवाल गर्ने विचार गरें, उनी पनि सहमत भइन् र मैले सवाल गर्न प्रारम्भ गरें,
“प्रिय श्रेया मानव, तपाईंको विचार तथा दृष्टिकोणमा जीवनमा सफलता के हो ?”
“मनको अवस्था तथा मनको खेल हो ।”
“जीवनमा असफलता के हो ?”
“मनको अवस्था तथा मनको खेल हो ।”
“जीवन के हो ?”
“मनको अवस्था तथा मनको खेल हो ।”
“जीवनमा सुख, खुशी, शान्ति, आनन्द के हो ?”
“मनको अवस्था तथा मनको खेल हो ।”
“जीवनको दुःख, पिडा, बिपन्नता, अभाव के हो ?”
“मनको अवस्था तथा मनको खेल हो ।”
“... !?”
म निशव्द भएं, हरेक सवालमा ‘मनको अवस्था तथा मनको खेल हो’ भन्ने उनको जवाफ लगातार एउटै आएपछि मैले रेकर्ड बन्द गरें, मुस्कुराउदै उनीप्रति विश्मय र प्रश्नचिन्ह भावको संकेत प्रस्तुत गर्दै थोरै छड्के शैलीमा उनलाई सोधें,
“यो ‘मन’ र ‘मनको अवस्था तथा मनको खेल’ चाहिं के हो नि देवी श्रेया !? अनि जीवनमा सफलता तथा असफलता ल्याउनमा यो अवस्थाको के–कस्तो भूमिका र महत्व रहेको हुन्छ... !!??”
मेरो सवालले थोरै फड्को मारेपछि उनको चम्किलो चेहरामा अझ चमक छायो र बढो सुस्पष्टताकासाथ उनले मेरो सवालको जवाफ दिइन,
“किनकी मनुष्य भनेकै मन हो, केवल मन... । मनुष्यको शरीर जड तथा यन्त्र मात्र हो जसलाई मनले संचालन गर्दछ । मनुष्यभित्र जस्ता प्रकारका सोच, विचारहरु चल्छन्, उसको मन त्यस्तै हुन्छ, मन जस्तो छ उसको वास्तविक स्वरुप, व्यवहार तथा आचरण, उसको वास्तविक कर्म, व्यक्तित्व र समग्र जीवन नै त्यस्तै बन्छै जान्छ । मनुष्यले आफ्नो मनमा चल्ने विचारहरुको बलले जीवनका भोगाइहरुमा आउने जस्तासुकै विषय, घटना तथा पक्षहरुलाई आफूले जसरी चाह्यो त्यसैगरि परिवर्तन गरेर जीवनलाई सफलता तथा असफलता उन्मुख बनाउन सक्छ । यसो गराउन सक्ने शक्ति मनुष्यको मनमा पहिलादेखि नै विद्यमान हुन्छ उसको अर्धचेतना तथा पूर्णचेतन मनमा जन्म-जन्म देखिका पूराना स्मृति तथा संस्कारहरुका रुपमा । तिनै स्मृति तथा संस्कारका छविहरुको प्रभाव अनुसार नै उसले आफ्नो जीवनमा सफलता तथा असफलता के हो, केलाई मान्ने तथा नमान्नेदेखि लिएर जीवनका हरेक पक्षहरुमा आफ्नो परिभाषा तथा दृष्टिकोण प्रस्तुत गर्ने गर्दछ । यसर्थ, मनुष्यले जीवन जीउने क्रममा सफलता, भाव, सुख, खुशी, शान्ति, समृद्धि, सम्पन्नता, आनन्द तथा असफलता, अभाव, दुःख, अशान्ति, बिपन्नता आदिको अनुभव गर्ने र त्यसबाट खुशी हुने तथा दुःखी हुने सबै उसकै मनको अवस्था तथा मनको खेल हो, उसको मनले जन्म-जन्म देखि आजसम्म जे-जस्तो अनुभव गरेको छ त्यसैलाई सत्य भन्ने ठान्दछ र तिनै पूराना सिकाई तथा अनुभवहरुको आधारमा जीवन जीउछ ।” –सन्त श्रद्धेय श्री जे.कृष्णमूर्ति; स्वामी श्रद्धेय श्री विवेकानन्द ।
उनले एक श्वासमा कहिंकतै बिराम नलगाइकन मेरो सवालको जवाफ खरर दिइन् आध्यात्मिक शैलीमा र अन्तिममा महान चैतन्य पुरुषहरुको नाम लिइन् सन्दर्भ साम्रग्रीका रुपमा जसले मैले आँ गरिसकेको मुखलाई तुरुन्दै बन्द गरिदियो किनकी मैले उनलाई सोध्न चाहेको थिएं, के र कुन आधारमा तिमी यो प्रवचन दिरहेकी छौ मलाई देवी श्रेया भनेर, तर म निशव्द भएं । एकछिन हामीले एकआपसको चेहरा हेराहेर गर्यौं चुपचाप लागेर... । आवाज बन्द भयो र शुन्य समय जस्तो शन्नाटाको माहोल बन्यो । मैले मनमनमा सोचें, यिनी पक्कै अध्ययनशील छिन् र यो बसाईलाई मैले उपलव्धिमूलक बनाउनु पर्छ । मेरो आग्रहमा उनले आफ्ना अध्ययनका सामग्रीहरु थप्दै गइन्,
श्रीमद् भगवद् गीतामा भगवान श्रीकृष्णले भन्नु भएकोछ, “मनुष्यको मननै मित्र हो र शत्रु पनि मननै हो । मननै स्वर्गको द्वार हो र नर्कको द्वार पनि मननै हो ।”
आफ्ना दिव्य उपदेशमा भगवान बुद्धले भन्नु भएकोछ, “मनुष्यको मन इमान्दार नोकर हो तर खतरनाक मालिक हो ।”
योगीको आत्मकथामा परमहंश योगानन्दले भन्नु भएकोछ, “मनुष्यको मन भौतिक संसार र पराभौतिक तथा आध्यात्मिक संसारलाई आपसमा जोड्ने पूल हो ।”
श्रद्धेय ओशो रजनीशले भन्नु भएकोछ, “मन बिना मनुष्यको अस्तित्वनै छैन किनकी शरीर र आत्मालाई जोड्न एकमात्र उपकरण मननै हो ।”
“मनुष्य एकसाथ दुईप्रकारले जीवन जीरहेको हुन्छ भौतिक तथा सांसारिक दृश्य जीवन अर्थात स्थुल संसार र पराभौतिक तथा आध्यात्मिक अदृश्य जीवन अर्थात सुक्ष्म संसार । जीवनका यी दुई फरक आयामलाई एकआपसमा जोडेर मनुष्यको जीवन सन्तुलन गर्ने काम मनले गर्दछ । मनुष्यको मन सकारात्मक तथा सम्यमित छ भने सानो ‘म’ अर्थात ‘जीवन’ र ठूलो ‘म’ अर्थात आत्मा अर्थात चेतना सहि दिशामा हुन्छ र समग्रतामा मनुष्य वास्तविक अर्थमा सफल हुन्छ तर यदि मनुष्यको मन सकारात्मक तथा सम्यमित छैन भने सानो ‘म’ अर्थात ‘जीवन’ मात्र सफल भएको हुन्छ, ठूलो ‘म’ अर्थात आत्मा अर्थात चेतना असफल नै रहन्छ । आध्यात्मिक परिभाषा अनुसार सानो ‘म’ अर्थात ‘जीवन’को सफलता भनेको मनुष्यको जीवनमा वाहिरबाट प्राप्त हुने क्षणिक सुख, खुशी, शान्ति, आनन्दको अवस्था हो र ठूलो ‘म’ को सफलता भनेको मनुष्यभित्रबाट आन्तरिक रुपमा प्राप्त हुने, कहिल्यै अन्त्य नहुने सुख, खुशी, शान्ति, आनन्दको अवस्था हो । वर्तमान समयमा संसारले सफल भनेर मान्दै आएका मनुष्यहरु मध्य अधिकांशको जीवन अर्थात सानो ‘म’ मात्र सफल भएको तथा वाहिरबाट प्राप्त हुने क्षणिक सुख, खुशी, शान्ति, आनन्दको अवस्था देखिदै आइएको छ र ठूलो ‘म’ असफल भएको देखिन्छ तथा मनुष्यभित्रबाट आन्तरिक रुपमा प्राप्त हुने, कहिल्यै अन्त्य नहुने सुख, खुशी, शान्ति, आनन्दको अवस्था नरहेको देखिन्छ । यसैकारण सफल जीवन भएका मनुष्यहरुमा ज्यादातर बेचैनी, विरक्ति, तनाव, चिन्ता, विषाद, अवषाद, विक्षिप्तता, पागलपन, हिंसा, हत्या, आत्महत्याको सोच तथा आत्महत्या जस्ता विकराल अवस्थाहरु देखिदै आइएका छन् ।
जीवनमा सफलता तथा असफलता आउनमा मनको भूमिकाका सन्दर्भमा गर्दै आइएका अध्यात्म विज्ञान तथा आधूनिक मनोविज्ञानका खोजमुलक तमाम अध्ययन तथा अनुसन्धानका प्रामाणिक तथ्यांकहरुले देखाए अनुसार मनुष्यको मननै सबै थोक हो र मनलाई राम्ररी बुझ्नु नै आफ्नो सानो ‘म’ अर्थात ‘जीवन’ र ठूलो ‘म’ अर्थात आत्मा अर्थात चेतनालाई गहिराइमा बुझेर सफल बनाउन मद्धत गर्ने एकमात्र माध्यम हो । मनलाई बुझ्न सहजता प्रदान गने विश्व चर्चित व्यक्तित्वहरुद्वारा प्रतिपादित आवश्यक पाठ्यसामग्री प्रसस्त छन् अन्तरराष्ट्रिय ज्ञानको बजारमा । सनातन अध्यात्म विज्ञानका अनुसार मनका सात खण्डहरु रहेकाछन्, यो विषय सहजै बुझ्न र बुझाउन अलि मुस्किल छ किनकी यसमा ठूलो ‘म’ अर्थात आत्मा अर्थात चेतनाको सफलतासंग सम्वन्धित विषयहरु जोडिएर आउछन् । आधूनिक मनोविज्ञानका श्रष्टा सिग्मण्ड फ्रायडका अनुसार मनका मोटामोटी रुपमा तीन खण्डहरु रहेकाछन्– चेतन मन, अवचेतन मन र अचेतन मन । सनातन अध्यात्म विज्ञानका अनुसार चेतन मनलाई 'जाग्रित' मन तथा अवस्था, अवचेतन मनलाई 'अर्धचेतन' मन तथा अवस्था र अचेतन मनलाई 'पूर्णचेतन' मन तथा अवस्था भनिन्छ । वरिष्ठ मनोविज्ञ सिग्मण्ड फ्रायडको मत तथा अनुमानित मान्यता अनुसार हामी १० प्रतिशत भन्दा कम मानिने चेतन तथा जाग्रित मनलाई मात्र जान्दछौं तथा थाहा पाउछौं, बाँकी ९० प्रतिशत भन्दा बढि हिस्सा ओगटेको अवचेतन र अचेतन मनलाई जान्न सक्दैनौं जसमा हाम्रा जन्म–जन्मका पूराना स्मृतिहरु संग्रहित भएर रहेका हुन्छन् संचित कर्म, प्रारब्ध कर्म तथा संस्कारका रुपमा । अवचेतन तथा अचेतन मनको यही ९० प्रतिशत हिस्सामा सानो ‘म’ र ठूलो ‘म’ का सम्पूर्ण गतिविधिहरु संचालन गर्नसक्ने सामर्थ्य रहेको हुन्छ । हरेक व्यक्तिमा कुनै पनि विषय तथा घटनालाई हेर्ने, बुझ्ने, त्यसप्रति दृष्टिकोण बनाउने तथा प्रतिक्रिया दिने भाव तथा शैली फरक–फरक प्रकारको रहेको हुन्छ र यसो हुनुको कारण सम्वन्धित विषय तथा घटनाको सन्दर्भमा हाम्रो अवचेतन र अचेतन मनमा संचित कर्म, प्रारब्ध कर्म तथा संस्कारका रुपमा के–कस्ता स्मृतिहरु संग्रहित भएर रहेका छन् । यिनै स्मृतिहरुको आधारमा व्यक्तिले आफूले जीवनमा भोगेका अनुभवहरुलाई सफलता तथा असफलता र सुख तथा दुःखका रुपमा आफ्नो विचार तथा दृष्टिकोण बनाउछ र त्यही अनुसार नै विषयहरुलाई परिभाषित गर्दछ । यसैकारण कारण एउटै विषय तथा घटनालाई फरक व्यक्तिले फरक प्रकारले परिभाषित गर्दछ, कसैले त्यही अवस्थालाई जीवनको सफलता मान्दछ भने कसैले त्यही अवस्थालाई असफलता मान्दछ । तसर्थ यो भन्ने गरिएको हो कि, हाम्रो जीवनमा जे पनि अनुभवहरु भएका छन् र ती अनुभवहरुप्रति जस्तो दृष्टिकोण तथा प्रतिक्रिया व्यक्त गरिन्छ त्यो सबै चेतन, अवचेतन, अचेतन मनको अवस्था तथा मनको खेल हो अर्थात समग्रमा मनुष्यको जीवन र जीवनप्रतिको उसको दृष्टिकोण पूर्णतया उसकै मनको अवस्था तथा मनको खेल हो ।
सनातन आध्यात्म विज्ञानको मान्यता अनुसार मनुष्यको वाहिरी जीवन तथा आन्तरिक जीवनमा अनुभवमा आउने क्रियाकलापहरु कुनैपनि राम्रो–नराम्रो, सहि–गलत, सफलता–असफलता, सुख–दुःख भन्ने केहीपनि पूर्वनिर्धारित छैन, प्रकृतिले त्यसको मापदण्ड तोकेको छैन र कसैले पनि मापदण्ड तोक्न सक्दैन किनकी कुनै पनि घटना तथा विषय उपर सबैको दृष्टिकोण आ-आफ्नै प्रकारको रहेको छ । मनुष्यले यस्ता अनुभवहरु उपर जे–जस्ता प्रतिक्रियाहरु दिन्छ तथा जस्तो दृष्टिकोण बनाउछ ती सबै उसको मनको अवस्थाका परिणामहरु हुन्, तसर्थ मानिसका सबैप्रकारका विचार तथा दृष्टिकोणहरु पूर्णतः मनको अवस्था तथा मनको खेल हो भन्ने मान्यता व्वहारिक र सर्वमान्य सत्य हो । यसैकारण जीवनमा सफलता के हो भन्ने सन्दर्भमा कसैले ज्ञान आर्जनलाई, कसैले सम्पति कमाइलाई, कसैले पद तथा मान, प्रतिष्ठाको स्थितिलाई, कसैले सुमधूर सम्वन्धलाई, कसैले इच्छा पूर्ति, कसैले प्रेम प्राप्ति आदिलाई मान्ने गर्दछन् । त्यसैगरि असफलता के हो भन्ने सन्दर्भमा सफलताको विपरित अवस्था अज्ञान, बिपन्नता, मानहानि, खराव सम्वन्ध, अभाव, खालिपनलाई मान्ने गर्दछन् ।
मनुष्यको मन अत्यन्तै चन्चल र परिवर्तनशील हुन्छ, यसैकारण मनलाई बादरको संज्ञा पनि दिने गरिएको छ । कुनै विषय तथा घटनाप्रति वर्तमानमा एक किसिमको दृष्टिकोण रहेको हुन्छ, केही समयको अन्तरालपछि तथा भविश्यमा त्यही विषय तथा घटनाप्रति अर्कै दृष्टिकोण बन्न सक्छ । मन परिवर्तनशील भएको कारण मनलाई मनुष्यले आफूले चाहे अनुकुल हुनेगरि अवस्था र आवश्यकता अनुसार पुनरसंरचित तथा रिप्रोग्राम गर्न सक्छ । मनलाई आफ्नो अनुकुल हुनेगरि पुनरसंरचित गर्ने सबैभन्दा उत्तम र सहज उपाय वाहिरबाट नयाँ–नयाँ विषय सान्दर्भिक तथा व्यवहारिक ज्ञान लिएर मनभित्र रहेका पूराना संसार तथा ज्ञानहरुलाई वाहिर निकाल्नु पर्दछ र यसकालागि आफ्नो र अरुको जीवनका अनुभवहरुबाट सिक्नुपर्दछ । सिकिएका आफू अनुकुल हुने नयाँ–नयाँ संस्कार तथा ज्ञानहरु विस्तारै चेतन मन हुदै अवचेतन मनमा र अवचेतन मन हुदै अचेतन मनमा गएर संग्रहित हुन्छन् र ९० प्रतिशत हिस्सामा समाहित भएर कुनै विषय तथा घटनाप्रति हाम्रो विचार तथा दृष्टिकोण निर्माण गर्न मद्धत गर्दछन् । यो भन्दा पनि अझ प्रभावकारी र दिगो उपाय पूर्वीय सनातन अध्यात्म विज्ञानको प्रमुख विषय योग विज्ञान तथा ध्यान विज्ञानका पूर्णतः वैज्ञानिकतामा आधारित योग साधना तथा ध्यान साधनाका विधि र पद्धतिहरुको निष्ठापूर्वक दैनिक जीवनमा प्रयोगात्मक अभ्यास गर्नु हो । योग तथा ध्यान साधना जोकोही व्यक्तिले सजिलै गर्नसक्छ र आफ्नो मनको अवस्थालाई आफू अनुकुल हुनेगरि पुनरसंरचित गर्नसक्दछ ।
जीवनमा सफलता तथा असफलताकने सन्दर्भमा सबै महान व्यक्तित्वहरुको अभिव्यक्तिका सार र सन्देशहरु एकै प्रकारका रहदै आएकाछन् कि सफलता त्यस्तो अवस्थालाई मान जसले आफ्नो जीवनको वाहिरी र आन्तरिक सुख, खुशी, समृद्धि, शान्ति, आनन्दका पलहरु ल्याउदछ र हरप्रकारले सानो ‘म’ र ठूलो ‘म’ को सन्तुलित विकास गर्न सहयोग गर्दछ र काम, क्रोध, लोभ, मोह, राग, द्वेश, घृणा जस्ता नकारात्मक विकारयुक्त भावहरुबाट दुर राख्दछ । अध्यात्म विज्ञान र आधूनिक मनोविज्ञान दुवैका सिद्धान्तहरुले मान्दछन् कि ‘मनुष्यको सफलतानै जीवनको सबैभन्दा ठूलो असफलता हो’ । यस सन्दर्भमा सबैका आ–आफ्नै प्रकारका तर्क–बितर्क–कुतर्कहरु रहदै आएका भएपनि यसको मूल सन्देश मनुष्य सफलता कमाएं भन्ने भावले भरिएपछि उसमा प्रमुख रुपमा अहंकार र आलस्यता बढ्दै जान्छ जसले उसको वाहिय अर्थात भौतिक विकास र आन्तरिक अर्थात आध्यात्मिक विकास दुबैलाई रोकिदिन्छ । किनकी भौतिक संसारको सफलताको परिभाषा अपूर्ण छ जसले भौतिक तथा मनुष्यको वाहिरी विकासलाई नै सफलता मान्दछ र भौतिक विकास संगसंगै मनुष्यको आन्तरिक तथा अध्यात्मिक विकास पनि हुनुपर्छ भन्नेमा उति जोड दिदैन । तर जीवन भोगाईका अनुभवहरुले देखाए अनुसार आन्तरिक विकास बिनाको वाहिय विकासले वस्ताविकतामा मनुष्यलाई सफल नभई लंगडो बनाउछ । यसकारण सनातन अध्यात्म विज्ञानले प्रारम्भदेखिनै जोड दिदै आइरहेको छ कि जीवनलाई पूर्णरुपमा सफल बनाउन अर्थात मनुष्यको सानो ‘म’ र ठूलो ‘म’ दुवैको समान स्तरमा विकास गर्न उसको वाहिय र आन्तरीक दुवै विकासलाई एकसाथ लैजानु पर्दछ अध्यात्म साधनालाई जीवनमा निष्ठापूर्वक अनुशरण गरेर किनकी अध्यात्म साधना वैज्ञानिकताले युक्त एकमात्र प्रभावकारी माध्यम हो जसले मनुष्यको जीवनमा वाहिर समृद्धि र भित्र शान्तिले भरिदिने सामर्थ्य राख्दछ ।
मनुष्यको जीवन, मनको अवस्था र यसको शक्तिको सन्दर्भमा वाहिर आएका सबै सिद्धान्त र महान व्यक्तिहरुको अभिव्यक्तिको सार र सन्देश एकै रहेको पाइन्छ कि मानवीयता र सारा चराचर जगतको कल्याणका लागि मनुष्यको जीवनमा सफलता त्यस्तो अवस्थालाई मान्नु पर्दछ जसले आफ्नो र अरुको अपरिहार्य आवश्यकताहरु पूरा गर्न सकोस्, सबैलाई वाहिरी समृद्धि र आन्तरिक शान्तिका साथ दिगो सुख, खुशी, समृद्धि, शान्ति र आनन्द प्रदान गर्न सकोस् । काम, क्रोध, लोभ, मोह, राग, द्वेश जस्ता मानवीय विकार तथा क्लेशहरुबाट सदा दुर राख्न सकोस् किनकी यो अवस्था सफलता होइन, यो अवस्थाले मनुष्यको समग्र जीवनलाई असफलतातिर लान्छ । जीवनमा वास्तविक सफलता हासिल गर्नकालागि आध्यात्म विज्ञान र आधूनिक मनोविज्ञानका प्रभावकारी विधिहरुको अनुशरण गरि मनलाई पुरसंरचित गरेर मानवीय विकार तथा क्लेशहरुबाट मुक्त भएर जीवनमा तटस्थता, वैराग्यता तथा स्वीकारपूर्ण त्याग हासिल गर्न सक्नु पर्दछ किनकी यो अवस्था नै जीवनको वास्तविक सफलता हो जसले र मनुष्यको पारमार्थिक तथा आध्यात्मिक विकास गर्दछ उ मुक्ति तथा मोक्षको अधिकारी हुन्छ । श्रीमद् भगवद् गीतामा भगवान श्रीकृष्णले भन्नु भएको छ, "वास्तविक मुक्ति तथा मोक्षको अधिकारी त्यो व्यक्ति मात्र हुन्छ जसले सांसारिक जीवनमा रहेर तटस्थ जीवन जिएकोछ, सांसारिक भोगमा लिप्त नभइकन निस्काम कर्महरु गर्दै पूर्णतः साक्षी भावमा रहेर जीवनमा वैराग्यता हासिल गरेको छ ।"
सांसारिक जीवनको भोगविलासको रमझमबाट आफूलाई तटस्थ तथा साक्षी राखेर जीवनमा वैराग्यता (स्वीकारपूर्ण त्याग) साध्न आम मनुष्यकालागि उति सहज छैन, यसकालागि गहिरो अध्यात्म साधनाको अपरिहार्यता हुन्छ । गहिरो साधनाबाट मात्र मनुष्यले प्रत्याहार अर्थात मनलाई भड्काउने आफ्ना ज्ञान तथा कर्म इन्द्रियहरुलाई निग्रह गर्न तथा नियन्त्रणमा राख्न सक्दछ । इन्द्रियहरु मनुष्यको नियन्त्रणमा आए भने मात्र उसले आफ्नो मनलाई स्वर्गको द्वार, असल नोकर, शरीर र आत्मा अर्थात चेतनालाई जोड्ने पूलको रुपमा आफ्नो जीवनको सफलताको लागि उपयोग गर्न सक्दछ । यहाँ उठाइएको विषय जीवनको सफलता तथा असफलता के हो भन्ने शिर्षक तथा सन्दर्भलाई गहिरिएर हेर्दा यसलाई मन अर्थात माइन्ड र भाव अर्थात हृदय तथा मुटुको द्वन्दका रुपमा पनि मान्न सकिन्छ किनकी मन वाहिरी विषय तथा कम्प क्षेत्र हो र भाव आन्तरिक विषय तथा अकम्प क्षेत्र हो । मन र भावविचको भिन्नतामा अत्यन्तै सुक्ष्म सीमारेखा भएकोले आधूनिक मनोविज्ञानले मन र भावलाई त्यति स्पष्टसंग छुट्याउन सकेको छैन तर सनातन अध्यात्म विज्ञानले यी दुईविच अत्यन्तै सुक्ष्म भिन्नता भएपनि स्पष्ट बुझ्ने गरि यी दुईविचको भिन्नता छुट्याइ दिएर सहजता प्रदान गरेको छ । मन त्यो हो जो मनुष्यको ज्ञान, वुद्धि, विवेकद्वारा परिचालित हुन्छ, आफूले चाहे अनुसार लामो, छोटो समय लगाएर मनलाई पुनरसंरचना तथा रिप्रोग्राम गर्न पनि सकिन्छ तर भाव अन्तरहृदयको अत्यन्तै सुक्ष्म विद्युतिय तरंग हो जो सिधै प्रकृति तथा परमात्माबाट परिचालित हुन्छ, यो संधै सकारात्मक, दयावान, करुणाकार हुन्छ र भाव तथा अन्तरहृदयको आवाज तथा तरंगमाथि मनुष्यको केनै प्रकारको नियन्त्रण रहदैन, हुनै सक्दैन किनकी यो मनुष्यको अधिकार क्षेत्रभित्र छदैछैन, यसको श्रोत अन्तै कतै छ ब्रम्हाण्डको सृष्टिकर्ता परब्रम्ह अर्थात परमात्माको अधिनमा । तर मनको श्रोत मनुष्यसंगै छ, मनलाई सम्झाउन र बुझाउन सकिन्छ, मन सहि गलत हुन सक्छ तर भाव संधै सहि हुन्छ, कहिल्यै मनुष्यको हृदयबाट आफू तथा अरुको हितको प्रतिकुल हुने भाव प्रष्फुटित हुदैन । मनमाथि भावको प्रत्यक्ष प्रभाव हुन्छ तर भावमाथि मनको प्रभाव हुदैन, भैहाले पनि अत्यन्तै पातलो, कमजोर र क्षणिक हुन्छ । अधिकांश मनुष्यहरु यही अज्ञानताका कारण झुक्किने गर्दछन । उदाहरणकालागि आकर्षण र प्रेमको विषयलाई लिन सकिन्छ- आकर्षण मनबाट हुन्छ र वाहिरी प्रभाव तथा चुनौतीहरुका कारणले ढिलोचाँढो आकर्षणमा परिवर्तन आउन सक्छ । आज मनपरेको व्यक्ति, वस्तु तथा सेवा अर्कोदिन मन नपर्न पनि सक्छ तर प्रेम अन्तरहृदयको भावबाट हुन्छ र वाहिरी प्रभाव तथा चुनौतीहरुका कारण प्रेममा कहिल्यै कुनैपनि प्रकारको परिवर्तन आउदैन । त्यसैले बोलिचालीको भाषामा भन्ने गरिन्छ प्रेम अन्धो हुन्छ तर प्रेम कहिल्यै अन्धो हुदैन, प्रेमसंग त दिव्य दृष्टि हुन्छ जसले संधै सबैको भलाई मात्र हेर्दछ र देख्दछ किनकी यो अन्तरहृदयको सर्वकल्याण भावबाट प्रष्फुटित भएर आएको हुन्छ । प्रेम अन्धो हुन्छ भन्ने भनाई त मन केन्द्रित तथा मनबाट नियन्त्रित मनुष्यहरुको भाषा तथा दाबी हो जो संधै मन र भाव तथा हृदयको अन्तरद्वन्दमा फसिरहन्छन् । मनुष्यको मन धुर्त तथा खुराफाति हुन्छ, आफ्नो फाइदा मात्र हेर्ने स्वार्थी तथा मौका परस्त हुन्छ यसैकारण यसले आफू र अरुको अहित हुने काम जानीजानी पनि गर्दछ तर त्यस्तो काम गर्नुअघि हृदयको भावले संकेत गर्छ कि तिमी कसैको अहित हुने काम नगर भनेर, जस्तो मद्यपान, धुम्रपान नगर यसले तिमी स्वयं र अरुलाई पनि हानि गर्छ तर स्वार्थी मन मान्दैन र दुर्व्यसन गर्छ अनि पछि पछुताउछ । यस्तो व्यक्ति संधै मनको नियन्त्रणमा रहन्छ किनकी उसले अन्तरहृदयको भाव तथा सन्देश सुन्दैन, अनुशरण गर्दैन । तर जो व्यक्ति अन्तरहृदयको भाव तथा सन्देश सुन्छ उसले मनको खुराफाति तथा स्वार्थीपनलाई इन्कार गर्छ र मनलाई आफ्नो नियन्त्रणमा राखेर सहज जीवनयापन गर्दछ । अन्तरहृदयको भावको सन्देश अनुसार चल्ने व्यक्तिले प्रेम अन्धो हुन्छ कहिल्यै भन्दैन, प्रेमसंग दिव्य दृष्टि हुन्छ र प्रेमनै परमात्मा हो भन्छ किनकी हृदयको भाव तथा सन्देश संधै सबैको भलाई चाहने सकारात्मक, दयावान, करुणाकार मात्र हुन्छ । मन र भावको अन्तरद्वन्द प्राय सबैको अनुभवमा आएको हुन्छ, अहित हुने भए पनि त्यो काम गर भनेर उक्साउने 'मन' हो र अहित हुने काम कहिल्यै कुनै परिस्थितिमा पनि नगर भन्ने 'भाव' हो ।
श्रेया आफ्ना अध्ययनका गहिरा अनुसन्धानात्मक ज्ञानहरु सहजै बुझ्न र जीवनमा अनुशरण गर्न सक्नेगरि वैराग्यतातिर लगेर जोड्दै अगाडि बढिरहेकी थिइन, मैले कुराकानीको विषयलाई मनुष्यको सांसारिकतिर केन्द्रित गर्न आग्रह गरें, उनी थप विषयहरु जोड्दै गइन,
सांसारिक जीवन जीउने क्रममा हरेक मनुष्यमा एक निश्चित तह तथा अवस्थामा पुगेपछि एक समयमा यस्तो एउटा अवस्था आउछकि भौतिक वस्तु तथा सेवा, सुख, सुविधा प्राप्त गरेपछि भौतिक संसारमा वास्तविक तथा आन्तरिक सुख, खुशी, शान्ति, आनन्द केहीपनि रहेनछ, यसले जीवनलाई पूर्णतामा पर्याउन, वास्तविक सफलता प्रदान गर्न, सन्तुष्टि हासिल गर्न केहीपनि दिन नसक्ने रहेछ, बरु उल्टै आफूसंग भएको थोरबहुत आन्तरिक सुख, खुशी, शान्ति, आनन्द पनि खोसेर लिने रहेछ विभिन्न बहानामा भन्ने बुझ्न थाल्छ र यो अवस्थामा उभित्र वास्तविक वैराग्यता तथा भौतिक जीवनका सबैप्रकारका तामझामहरुप्रतिको स्वीकारपूर्ण त्याग घटित हुन्छ । वास्तविक वैराग्यता नै सानो ‘म’ र ठूलो ‘म’ को सफलताको पहिलो खुडकिलो तथा प्रस्थान विन्दु हो । यस सन्दर्भमा श्रद्धेय ओशो रजनीशले भन्नु भएको छ,
“सफलता नै असफलताको जननी हो र असफलता नै सफलताको मूलश्रोत हो ।”
श्रद्धेय ओशो रजनीशका अनुसार, मनुष्यले बिना आन्तरिक तथा आध्यात्मिक विकास वाहिरी तथा भौतिक सफलता हासिल गर्यो भने त्यस्तो सफलता आधा मात्र सफलता हो, अर्धज्ञानी भयंकरी भनेजस्तै आधा सफलताले उसको जीवनमा अहंकार र आलस्य, प्रमाद(मोजमस्ती) जस्ता तमस प्रवृत्तिहरुलाई जन्म दिन्छ र यसको परिणाम पतन नै हो जसलाई क्षणिक सफलता तथा अपुर्ण सफलता मान्न सकिन्छ । यदि मनुष्यले आफ्नो आन्तरिक तथा आध्यात्मिक विकाससंगै वाहिरी विकास गर्न प्रारम्भ गर्यो भने भलै यो प्रक्रियामा उसलाई लामो समय लाग्न सक्ला तर देर आउछ दुरुस्त आउछ । यसरी प्राप्त गरेको सफलता पूर्ण, दिगो र सात्विक प्रकारको हुन्छ, समय र परिश्रम लगाएर प्राप्त भएको सफलताले अत्यन्तै आनन्द पनि दिन्छ, त्यसको मूल्य पनि बढि हुन्छ र यसले मनुष्यको जीवनमा दिगो आन्तरिक सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्द ल्याउछ ।
जीवनको यो अनुभवबाट म पनि बारबार गुज्रिएको छु लक्षुमन, आन्तरिक विकास बिनाको वाहिरी तथा भौतिक विकासले एकसमयमा सामान्य विषाद हुदै अवषाद तथा डिप्रेसनसम्म पुर्यायो मलाई । आम मान्यता अनुसार जीवन जिउन आवश्यक पर्ने सबै बस्तु, सेवा, सुविधा, मान, प्रतिष्ठा, सम्वन्ध, व्यस्तता हुदाहुदै पनि मेरो मन र भाव यो अवस्थासंग राजी भएन, खै किन पटक्कै राजी भएन, मलाई जीवनमा के नपुगेको, के नभएको जस्तो लाग्न थाल्यो । जीवनमा अचानक वैराग्यता घटित भयो र भौतिक संसार तथा सांसारिक जीवनमा सानो ‘म’ र ठूलो ‘म’ लाई सन्तुलित गरेर अगाडि बढाउन सक्ने सामर्थ्य रहेनछ भन्ने स्पष्ट बुझाइ घटित भए पश्चात एउटा लयमा हिडिरहेको मेरो जीवनले अचानक बाटो परिवर्तन गरेर भगवान श्रीकृष्णको दिव्य सन्देश 'सांसारिक जीवनमै रहेर तटस्थ तथा वैराग्यता साँध्ने' मार्ग लियो अत्यन्तै सहज ढंगले, यसकालागि मैले कुनै जटिल मेहनत तथा साधना गर्नु परेन लामो समय लगाएर । भगवान श्रीकृष्णको मार्गको अनुशरण गर्न थालेपछि मैले मेरो सम्पतिको केही अंश बिपन्नहरुको सहयोगमा, परोपकारी कार्यहरुमा लगाउने प्रण गरें, आवश्यकता भएको ठाउँमा बिना कुनै शर्त डोनरको रुपमा अगाडि उभिएं खासगरि बिपन्न युवावर्गहरुलाई उद्यमशीलतामा अगाडि बढाउने उद्देश्य राखेर, यस्ता संस्थाहरुमा आवद्ध भएं । यो कामले निरन्तरता लिरहेको छ, सबै खुशी छौं, आ–आफ्नो क्षमता, प्रतिभा र सिर्जनशीलता अनुसार जीवनमा प्रगति गरिहेका छन् यस अभियानमा संलग्न सबैले ।
मेरो जीवनमा ती श्री सम्पतिहरुको उपस्थितिले त्यति आनन्द प्रदान गर्न सकेका थिएनन् मलाई जति तिनैको माध्यमबाट गरिरहेको परोपकार तथा सेवा भावको कामबाट मिलिरहेको छ । ती श्री सम्पतिहरुले बरु उल्टै मेरो आन्तरिक सुख, खुशी, शान्ति, आनन्द लिएका थिए मबाट किनकी मैले तिनैको रखबारी गर्नु पर्थ्यो हरपल कसैले चोरीदेलाकी, कसैले ठगिदेलाकी भनेर... । तर अव यो अवस्था छैन, म श्री सम्पतिको लोभ र मोहबाट माथि उठिसकेको छु, मेरो मन अव जीवनका आधारभूत आवश्यकतामा जीउन राजी भएको छ र यो राजीको अवस्थाले जीवनमा वैराग्यता छाएको छ । मलाई अव मनुष्यको प्राकृतिक आवश्यकता भन्दा अरु केही पनि चाहिएको छैन जीवनमा, बरु आवश्यकता भएकाहरुलाई सक्दो दिन सकौं भन्ने सर्वकल्याणको भावले मन, भाव, आत्मा, चेतना भरिन थालेको छ र म क्रमशः वाहिरी र आन्तरिक दुवै प्रकारले हलुका हुदै गैरहेको छु । अव स्पष्टरुपमा बुझिसकेको छु कि मनुष्यले जति लिने तथा पाउने अपेक्षा राख्छ उतिनै उमाथि परिवार, समाज, प्रकृति र परमात्माको ऋण बढ्दै जाने रहेछ र ऋण संधै बोझ हुनेरहेछ मुक्ति र मोक्षकालागि त्यसैले म अव मेरो जीवनमा कत्तिपनि ऋण तथा त्यसको बोझ बढाउन चाहन्न । यसप्रकारको दिने भावलाई सनातन अध्यात्म दर्शनले वास्तविक प्रेमको परिभाषित गरेको छ । प्रेम एक विहंगम दृष्टि हो, यसका स्रिुपहरु अनन्त छन् । स्नेह, मैत्री, मायाँ, दया, करुणा, कृतज्ञता, क्षमा, सेवा, दान, पुण्य, परोपकार, आस्था, श्रद्धा, भक्ति, समर्पण सबै प्रेमकै स्वरुपहरु हुन् । हरेक मनुष्यको जीवनमा प्रेम अत्यन्तै आवश्यक छ किनकी मुक्ति तथा मोक्षको मार्ग यही एक मात्र हो ।
परोपकार, सेवा, सर्वकल्याण, दया, करुणा सबै प्रेमका स्वरुप हुन् जसले मनुष्यलाई आन्तरिक सुख, खुशी, शान्ति, आनन्द प्रदान गर्दद्धन् किनकी प्रेम स्वयं परमात्मा हो, परमात्मा सतचितआनन्द हो र यो अनेक स्वरुपमा मनुष्यको जीवनमा आउन सक्छ । यसअघि मलाई प्रेम प्राप्त गर्ने विषय हो जस्तो लाग्थ्यो तर अव प्रेम प्राप्त गर्ने तथा पाउने विषय मात्र नभएर त्यो भन्दा बढि प्रेम अरुलाई दिन जान्नु र प्रेममा जीउन जान्नु चाहिं वास्तविक प्रेम रहेछ भन्ने बुझें र यही भावलाई अनुशरण गरेर जीवन जिरहेको छु किनकी जीवनका सबै अवस्था तथा अनुभवहरु मनकै अवस्था तथा मनकै खेलको कारण हुने भएकोले मैले अध्यात्म विज्ञान र आधूनिक विज्ञानका वैज्ञानिकतामा आधारित विभिन्न प्रक्रिया, विधि तथा पद्धतिहरुको प्रयोगात्मक साधना गरेर मेरो मनलाई सम्झाएं, प्रत्याहारको माध्यमबाट मनलाई नियन्त्रणमा राखें, मनलाई आफ्नो मित्र बनाएं, मनलाई पुरसंरचित गरें र जीवनमा अनुभव भैरहेका सजिला, अप्ठ्यारा सबै प्रकारका अनुभवहरुलाई मनुष्य जीवनको कर्मचक्रको भुक्तानको रुपमा सहर्स स्वीकार गरें, सन्तोष साँधे त्यसैले अव अरुले परिभाषा गर्ने गरेको जस्तो सफल जीवनको तामझाम, देखासेखी, प्रतिस्पर्धा नभएपनि म मेरो जीवनमा अत्यन्तै सुखी, खुशी, समृद्ध, सफल, सहज, सरल, शान्त र आनन्दित छु, सबैप्रति धन्यता, कृतज्ञता, क्षमाशिलता भावले भरिएको छु र अव जीवन सदा यस्तै रहने तथा राख्ने संकल्प गरेको छु परमात्मासंग मैले । प्रेमका यी विभिन्न स्वरुपहरु मध्य मायाँ तथा आपसि सम्वन्धसंग सरोकार राख्ने प्रेमको मनुष्यको जीवनमा अत्यन्तै धेरै मूल्य तथा महत्व रहेको हुन्छ, त्यसप्रति पनि आफूलाई स्वतन्त्र र उदार राख्न थालेकोछु किनकी मनुष्य सामाजिक प्राणी हो, मायाँ तथा प्रेम पाउनु तथा प्रदान गर्नु उसको प्राकृतिक क्रिया र नैसर्गीक अधिकार हो, आफ्ना नजिकका सम्वन्धिहरुको मायाँबिना मनुष्य आन्तरिक रुपमा सुखी, खुशी, शान्त, आनन्दित रहन सक्दैन, जीवनको मूलश्रोत नै प्रेम हो अनि प्रेम नै परमात्मा हो... ”
लामो श्वास लिएर केहीबेरको आवाज बिहिन सन्नाटापछि श्रेयाले हाँस्दै भनिन्,
“कति म मात्र तिमीलाई आफ्ना कुराहरु सुनाइरहुँ, अव म तिम्रो अन्तरवार्ता लिन्छु है, के रहेछ तिम्रो विचार तथा दृष्टिकोण जीवनमा सफलता र असफलता के हो भन्ने सन्दर्भमा ।”
मैले मुन्टो हल्लाएर सहमति जनाएं, उनी सवाल गर्न थालिन र मैले पनि मुस्कुराउदै उनकै शैलीमा सवालको जवाफ दिदै गएं,
“प्रिय लक्षुमन प्रसाद, तिम्रो विचार तथा दृष्टिकोणमा जीवनमा सफलता के हो ?”
“प्रेमको भाव तथा अलौकिक प्राप्ति ?”
“जीवनमा असफलता के हो ?”
“प्रेमको अभाव तथा खालिपन ?”
“जीवन के हो ?”
“तिमीले भने जस्तै सानो ‘म’ ‘अहंकार’ र ठूलो ‘म’ ‘प्रेम’ ।”
“जीवनमा सुख, खुशी, शान्ति, आनन्द के हो ?”
“प्रेमको भाव तथा अलौकिक प्राप्ति ?”
“जीवनको दुःख, पिडा, बिपन्नता के हो ?”
“प्रेमको अभाव तथा खालिपन ?”
“... !?”
श्रेया निशव्द भएर मन्द मुस्कुराउदै एकोहोरो मलाई हेरिराखिन् र एकछिनपछि खित्का छोडेर हाँसिन् र हाँस्दै सोधिन,
“आठ कक्षामा पढ्दा संधै तिम्रो अघिल्लो डेस्कमा हुने तिम्री कोपिला कहाँ छिन् हिजोआज... !?”
“अष्ट्रेलियामा... !”
श्रेयाको प्रश्न पूरा हुन नपाउदै मैले जवाफ दिसकेछु तर मलाई थाहै भएन, सायद श्रेयाको मनमा यो सवाल आउनुअघिनै म अष्ट्रेलियामा रहेको मेरो अकम्पको प्रेम कोपिलाको स्मृतिमा डुबिरहेको थिएं, त्यसो त मेरो स्मृतिमा उनी नआएको र म उनको स्मृतिमा नडुबेको क्षणनै कुनै हुदैन... !
हाँसिरहेकी श्रेया एक्कासी गंभिर भइन् र भावुक हुदै मलाई मायाँलु नजरले हेरेर भनिन्,
“देवदाषहरु केवल मुभिमा मात्र हुदैनन्, वास्तविक जीवनमा हुन्छन् र यिनै वास्तविक जीवनका देवदाषहरुलाई मुभिमा उतारिने रहेछ भन्ने ज्वलन्त प्रमाण पाएं मैले तिमीमा लक्षुमन ।”
“म मेरो खुशीले देवदाष भएको हुँ श्रेया, तर मेरो मधूशालामा मुजरा र मदिरा होइन भगवान श्रीकृष्णको वासुरीको सुमधूर दिव्य नाद र परमात्मा प्रदत्त प्रेमको अमृत गुञ्जिरहन्छ सदा कोपिलाको स्मृतिसंग घुलमिल भएर... ।”
“... !?”
श्रेयाको आवाजमा शुन्यता थियो तर उनको चम्किलो चेहरामा सवालै सवालका पूर्णताका लहरहरु सलबलाइरहेका थिए । मैले उनका सवालका ज्वारभाटाहरुलाई एकएक गर्दै साम्य पार्ने प्रयासमा मेरो अकम्प तथा अन्तरहृदयको प्रेमनगरमा वर्षौंदेखि दबेर रहेका कोपिला र मेरा विषयका स्मृतिहरु खोल्न थालें । म अन्तरहृदयदेखि नै अत्यन्तै खुशी थिएं किनकी यतिका वर्षपछि मलाई यो अवसर मिलेको थियो र म मेरो अकम्प क्षेत्रमा दबेर रहेका मेरा अन्तरभावहरुलाई म बाहेक अर्को कोही शुभचिन्तक समक्ष धक फुकाएर साझा गर्दै थिएं,
“हो, मैले कोपिलाको खुशी रोजें र जान दिएं उनलाई आफ्नो जीवनबाट सदाकालागि । त्यसको बदलामा उनले मलाई नयाँ जीवन शुरु गर्न सुझाव दिएर गइन तर म उनको जीवनबाट वाहिर निस्किन सकिन या भनौं निस्किन चाहिन र वर्षौंसम्म उस्तै अन्तरभावमा प्रस्तुत भइरहें भौतिक संसारमा उनी मेरोलागि गैर हुन् भनेर जान्दाजान्दै पनि । उनी भौतिक संसारका प्राप्तिहरुको रमझममा रमाएका तस्वीरहरु बग्रेल्ती देखें र मैले उनको खुशीमा अझ अर्को आयाम थपिदिन केही वर्षपछि उनको बारबारको आग्रह मान्दिएं र हृदयमा उनी भएपनि मेरो मनमा र जीवनमा अर्को पात्रलाई सामेल गरें, मैले विवाह गरें तर हृदय संधै उनकै नामले मात्र धड्कीरह्यो । तर आठ कक्षा पठ्दादेखिको हाम्रो प्रेम सम्वन्धको त्यो उच्च विन्दुबाट न म पछाडि हट्न सकें न उनी पछाडि हट्न सकिन तर तुलनात्मक रुपमा चाहिं मेरो गहिराइ बढि रहेको कोपिला स्वयंलाई महसुस भएछ पछिपछि, त्यसैले उनी कहिलेकाहीं मलाई ‘क्रेजी मान्छे’ भनेर गाली गर्दै लेख्ने गर्छिन । पछिपछि उनको हृदयको अवस्था पनि मेरै जस्तो भएका कुराहरु एकपछि अर्को गर्दै मसंग साझा गर्दै गइन् । वर्तमान समयमा हाम्रो मन र जीवनमा आ–आफ्नो सुखी घरसंसार छ, उनको घरसंसारमा उनका दुईवटा कोपिलाहरु छन् र मेरो घरसंसारमा मेरा तीनवटा कोपिलाहरु छन् तर अन्तरहृदयको भावमा केवल उनी र म मात्र छौं अर्थात हाम्रो कम्प क्षेत्रमा एउटा संसार छ र अकम्प क्षेत्रमा अर्को संसार छ र हाम्रोलागि यी लौकिक र अलौकिक दुवै संसार अत्यन्तै सुन्दर छन् ।
म त जहाँ कोपिलाले छोडिन् त्यहीं रहिरहें संधै न अगाडि गएं न पछाडि हटें । सबै कुराहरुमा मनलाई सम्झाएं, आमने सामने तथा भौतिक स्पर्श मात्र प्रेम होइन, त्यो त केवल आकर्षण हो, त्यो भन्दा धेरै गुणा प्रेमको प्राप्ति, भावनाको स्पर्श, मायाँलु नजरको स्पर्श हो, गहिरो चाहनाको अनुभूति हो जहाँ आत्मा अर्थात चेतना स्वयं उपस्थित र सहभागी हुन्छ पूर्ण रुपमा । प्रेम भौतिक रुपमा गरिने प्राप्ति होइन; प्रेममा जीउने हो; निशर्त प्रेममा पाउने तथा लिने आकांक्षा शुन्य हुन्छ; मात्र प्रेम पात्र खुशी, शान्त र सुरक्षित रहोस् भन्ने भाव हुन्छ; आफूलाई कस्तो लाग्छ; के हुन्छ त्यसको लेखाजोखा हुदैन; प्रेम पात्रलाई केही नहोस् वाहिरी तथा आन्तरिक रुपमा; त्यति मात्र ख्याल हुन्छ; आफ्नो इच्छा गौण हुन्छ; प्रेम पात्रको खुशी र शान्ति प्रमुख प्राथमिकतामा हुन्छ किनकी अन्तरहृदयको भावबाट प्रष्फुटित भएको दिव्य प्रेममा शर्त, अपेक्षा, गुनासो केहीपनि हुदैन । आफूले चाहेको प्रेम पात्रको सानिध्यता पाउनु परमात्माको सबै भन्दा ठूलो आर्शिवाद त हो तर भौगोलिक दुरीका कारण उनको सानिध्यता, उनको भौतिक स्पर्श नपाए पनि उनको हृदयको भावको स्पर्श, मायाँलु नजरको स्पर्श पनि ठूलै आशिर्वाद हो परमात्माको, जुन संधै मसंगै छ.... !
केही समयपछि सायद जीवनका भोगाइहरुमा कोपिलालाई विस्तारै जीवनले सिकाउदै गएकोले होला अहिले उनी जीवनका भौतिक उपलव्धिहरुमा केही पनि रहेनछ, तिमीलेनै भनेझैं यो सबै मनको अवस्था तथा मनको खेल रहेछ, वास्तविक जीवन र जीवनको सफलता त अन्तरहृदयको प्रेमको भाव र अलौकिक प्रेमको प्राप्ति रहेछ भन्ने निष्कर्षमा पुगेकी छिन र उनले यस सन्दर्भमा एउटा मिठो कविता* पनि लेखेर पठाएकी छिन्, म हामीविचको संवाद सकिएपछि तिमीसंग साझा गर्छु । अहिले हामी पहिला जहाँ थियौं त्यहीं फर्केका छौं अन्तरभावको प्रेमनगरमा र फेरीपनि हामी त्यही आठ कक्षा पढ्दाकै अन्तरभावको आनन्दमा, एउटा अलग्ग प्रकारको अलौकिक संसारमा पुगेकाछौं विश्वका अलग–अलग उतरी र दक्षिणी ध्रुवका भूगोलमा आ–आफ्नो जीवनयापन गर्दै र रहदै आएका भएपनि । तिमीले जीवनका सबै विषय, घटना तथा अनुभवहरु ‘मनको अवस्था तथा मनको खेल हो’ भनेपछि म तिम्रो अभिव्यक्तितिर खिचिएको हुँ, तिम्रा कुरा सुन्न किनकी कोपिलाले पनि मसंग यस्तै भाव व्यक्त गरेर, मनलाई नै खुडकिलो बनाएर तिमीले भने जस्तै सानो ‘म’ बाट ठूलो ‘म’ तिरको यात्रा प्रारम्भ गरेकी रहिछिन् र आफ्नो अन्तरहृदयको गहिराइमा वास्तविक सफलता भनेको निश्छल प्रेमको प्राप्ति रहेछ, प्रेम स्वयं परमात्माको प्रतिविम्व रहेछ भन्ने अन्तरज्ञान भएपछि देवदाषको जीवनमा पारो बनेर पुनः फर्केकी रहिछिन् । त्यसैले म पनि त बुझौं आखिर के रहेछ यो 'मन' भन्ने चिज भनेर तिम्रो विचार खोतलिरहेको हुँ मैले.... ! मलाई पनि जीवनको वास्तविक सफलताको अनुभव गर्ने अवसर दिएकीले म कोपिलाप्रति अत्यन्तै आभारी छु, सायद म संधैनै निश्छल प्रेमको आकाक्षीं रहेकोले सफलता र असफलता के हो भन्ने सन्दर्भमा स्वस्फूर्त 'प्रेमको भाव तथा अलौकिक प्राप्ति' भन्ने जवाफ आएको हो मबाट जो कोपिलाको कारण भएको थियो... !
खुव आनन्द आयो र यो बसाई अत्यन्तै फलदायि रह्यो मेरोलागि, धेरै धन्यवाद साथी प्रिय श्रेया... ।”
“धन्यवाद... !”
*कविता
हाम्रो दिव्य प्रेम !!!
प्रेमको कुनै रुप हुदैन
यो त हृदयको मिठो अनुभूति हो
जव कसैको याद स्वयंको भन्दा
अधिक मधूर र मिठो लाग्छ
त्यहि मिठास नै शास्वत प्रेम हो
उसैको यादमा डुब्नु दिगो प्रेम हो
उसलाई पलभर नभुल्नु दिव्य प्रेम हो !
प्रेमको कुनै रंग हुदैन
यो त अदृश्य जगमग ज्योति हो
प्रेमले मनका कुनाकुनामा प्रकाश छर्छ
इहलोक, परलोक ज्योर्तिमय बनाउछ
आफैंभित्रको सुख र शान्ति प्रकट गरि
पलपल परम–आनन्दमा जिउन सिकाउछ
प्रेमले नै जीवन स्वर्गतुल्य बनाउछ !
प्रेमको कुनै जात हुदैन
यो त स्वयंको हृदयबाट प्रष्फुटित श्रद्धा हो
यसले कसैलाई ठूलो सानो भन्दैन
सबैमा उही एउटै परमात्मा देखाउछ
सबैलाई आफूभित्र समेट्न सिकाउछ
तँ र म को भेद छुट्याउदैन
हामी भन्ने समुहिक भाव जगाउछ !
प्रेमको कुनै स्वाद हुदैन
यो त निरन्तर वर्षिरहने अमृत वर्षा हो
जसले महा ओखतीको काम गर्छ
जीवनका अवषादहरुबाट मुक्ति दिलाउँछ
स्थुल–मन–भाव र चेतन शरिरलाई
सवल, स्वस्थ्य र तनदुरुस्त बनाउछ
शरिरबाटै परमात्माको मार्ग सदृश्य गराउछ !
प्रेमको कुनै आकार हुदैन
यो त निराकार शास्वत सत्य हो
जो सीमाहिन विराट स्वरुपमा छ
पुरै ब्रम्हाण्ड प्रेममै टिकेको छ
प्रेमकै कारण तिमी छौ, म छु
निराकार प्रेमको कुण्डमा तैरीरहेछौं
जो अनुभूतिमा मात्र छ, दृश्यमा शुन्य छ !
No comments:
Post a Comment