डा. सिर्जना भण्डारी*
    #आध्यात्मिक_नारीवाद #अध्यात्म_दर्शन #जीवन_दर्शन  
स्त्रीहरुको सबलिकरणमा सौम्य आध्यात्मिक क्रान्तिको आवश्यकता
"स्त्री र पुरुष प्रतिस्पर्धि होइनन् पूरक तथा साझेदार हुन् !"  - ओशो रजनीश
स्त्री सबलिकरणमा अध्यात्मको मूलभाषा प्रेमको भूमिका
विगत केही दशकयता आधूनिकतावादले अस्तव्यस्त बनाएको वर्तमान विश्व समाजमा स्त्रीहरुको वास्तविक सबलिकरणका लागि अव अर्को एउटा आमूल बदलाव ल्याउन सक्ने परिवर्तनकारी सौम्य क्रान्तिको आवश्यकता अझै टडकारो रुपमा देखिदै आइरहेको छ । सौम्य क्रान्तिको अर्थ तथा परिभाषा बिना कुनै नोक्सान एकसाथ ठूलो परिमाण र परिणाममा गुणात्मक सकारात्मक परिवर्तन ल्याउनु हो । आगामी दिनहरुमा विश्व समाजमा स्त्रीहरुको अवस्था सुधारमा यस्तो प्रकारको आमूल बदलाव ल्याउन सक्ने परिवर्तनकारी सौम्य क्रान्तिको संवाहक केवल आध्यात्मिक क्रान्ति मात्र बन्नसक्छ । किनकी विगत लामो समयदेखि विविध कारणले सम्पूर्ण विश्व समाजमै स्त्रीहरु आफ्नो मूल स्वरुप तथा प्राकृतिक स्वभाव– प्रेम, दया, करुणा, सेवा, धैर्यता, शान्तपन, सुन्दरता, स्वतन्त्रताबाट विमुख भएका तथा बिमुख पारिएका कारण वर्तमान समयमा विश्वसमाजमा स्त्रीहरुको अवस्था अत्यन्तै समवेदनशील र नाजुक रहेको छ र यो अवस्थालाई आध्यात्मिक क्रान्तिले मात्र उचित व्यवस्थापन गर्दै समग्र मानवीयतालाई सहि ढंगले अगाडि बढाउन सक्छ र स्त्रीहरुलाई फेरी उनीहरुको आफ्नो मूल स्वभावमा सहज प्रकारले फर्कन र फूल्न, फक्रिन तथा फल्न सहयोग गर्न सक्छ । अध्यात्म विज्ञान मनुष्यलाई सौम्य, सहज, सरल र सफल जीवन जिउन सिकाउने उत्कृष्ट कलाको विज्ञान हो, यसले स्त्रीहरुको सबलिकरणको अभियानमा अत्यन्तै प्रभावकारी ढंगले लामो समयदेखि उनीहरुको मरेको तथा मारिएको आत्मविश्वास, आत्मबल, तथा आत्मसम्मानलाई पूनरजागृत गर्दै फरक प्रकारले प्रभावकारी हुनेगरि उनीहरुमा उत्प्रेरणा जगाउछ र उनीहरु स्वयंभित्र सुसुप्त अवस्थामा रहेका आफ्नै तन, मन, भाव, आत्मा अर्थात चेतनाबाट आउने आन्तरीक आवाजहरुलाई सजिलै सुन्न, पहिचान गर्न र त्यसलाई स्वीकार गरेर आफ्नो तथा अरुको जीवनमा अनुशरण गर्न सक्षम बनाउछ बिनाकुनै अपराधवोध, हिनतावोध तथा लज्जावोध भावले । 
सौम्य आध्यात्मिक क्रान्तिको माध्यमबाट यसरी स्त्रीलाई आफ्नो आन्तरीक आवाज सुन्नसक्ने प्रकारले पूर्णरुपमा स्वत्रन्त्र तथा हरप्रकारले बन्धन मुक्त गर्न सकियो भने मात्र उनले परिवार, समाज, राज्य, मानवीयता, प्रकृति, जगत तथा अस्तित्वलाई सहज मार्गमा डोर्याउन र परमात्मासम्म लिएर जाने सक्नेछिन् किनकी स्त्री प्रेमकी प्रतिमूर्ति हुन्, स्त्रीले सबैभन्दा उत्कृष्टतम ढंगले सबैलाई समानरुपले प्रेम गर्न जान्दछिन् र प्रेमनै ब्रम्हाण्ड संचालनको मूल साँचो, मूल नियम, मूल कानून तथा मूल संविधान हो किनकी प्रेमबिना कहीं, कतै केहीपनि सम्भव नै छैन । यसकारणले नै मानवको सभ्यता विकासक्रमा सिर्जित भएका तथा गरिएका विश्वकै हालसम्मका सबै धर्म तथा सम्प्रदाय र तिनका मूल शास्त्रहरु तथा ज्ञान, विज्ञानहरुले एउटै विषयलाई जोड दिएका छन् कि परमात्मा–इश्वर–गड–अल्ला–खुदा कुनै अलग तत्व तथा भिन्न वस्तु होइन, त्यो केवल प्रेम हो अर्थात प्रेमनै परमात्मा हो र परमात्मा नै प्रेम हो । श्रीमद् भगवद् गीता तथा वाइवलका श्लोक तथा भर्सहरुमा स्पष्ट रुपमा उल्लेख गरिएको छ, “प्रेम नै परमात्मा हो र परमात्मा नै प्रेम हो । अर्थात दि लभ इज गड एण्ड दि गड इज लभ ।” सनातन शास्त्रहरुले हरप्रकारले प्रेमलाई नै पहिलो प्राथमिकता प्रदान गर्दै आएका छन् किनकी प्रेम त्यस्तो महत्वपूर्ण तत्व र अत्यावश्यक साधना पद्धति हो जसको माध्यमबाट मनुष्यको जीवनमा वाहिरी र आन्तरिक रुपमा आरोग्य, सुख, खुशी, समृद्धि, शान्ति, आनन्द, धारणा, ध्यान, समाधि आदि सकारात्मक अवस्थाहरु घटित हुनसक्दछ । प्रेमको अभावमा मनुष्यको जीवनमा यस्ता सकारात्मक अवस्थाहरु घटित हुन सक्दैनन् र यी अवस्थाहरुको उपलव्धताबिना मनुष्यको सांसारिक मुक्ति, पारमार्थिक मोक्ष तथा परमात्मासम्म पुग्ने कुनै अर्को मार्ग तथा उपाय नै छैन । प्रेम तत्वको उचित साधना पद्धतिको माध्यमबाट प्रक्रियागत रुपमा उपलव्ध भएको ध्यान र समाधिको विशेष अवस्थामा मात्र मनुष्य सहजरुपमा परमात्मासम्म पुग्न, परमात्मामा एकाकार हुन तथा मोक्षमा उपलव्ध हुनसक्छ र परमात्माको सानिध्यता पाएपछि मात्र उ पूर्णतामा प्रेममा स्थित हुनसक्छ । यसरी परमात्माबाट प्रदत्त पूर्ण प्रेमले मात्र मनुष्यको वाहिरी र आन्तरिक जीवन व्यवस्थित बन्नसक्छ किनकी मूलरुपमा मनुष्य स्वयं प्रेमको रुवरुप हो, उभित्र प्रेम बाहेक अरु केहीपनि छैन किनकी उ परमात्माकै अभिनन अंश हो । यसकारणले ‘प्रेम नै परमात्मा हो र परमात्मा नै प्रेम हो’ भनिएको हो र प्रेमको सर्वकल्याण गर्ने बाहेक अर्को कुनै भाव हुदैन । 
ब्रम्हाण्डको मूलश्रोत प्रेम र स्त्री सबलिकरणविच अन्तरसम्वन्ध
अध्यात्म विज्ञान प्रेम र भक्ति(सच्चा तथा गहिरा प्रेमनै भक्ति बन्दछ)को पाठ पढाउने; प्रकृतिमा रहेका सबैको जित मात्र गराउने; सबैको कल्याण मात्र चिताउने र सबैलाई प्रेमपूर्ण, सहज, सरल तथा सफल जीवन जिउने कला सिकाउने सर्वोत्कृष्ट कलाको(दि बेस्ट आर्ट अफ लिभिगं) महानतम विज्ञान हो । प्रेम नै अध्यात्म विज्ञानको मूलविषय र मूलभाषा हो किनकी प्रेमनै ब्रम्हाण्डको अन्तिम सुक्ष्म कच्चा पदार्थ हो तथा मूलश्रोत हो, प्रेममै समुच्चा ब्रम्हाण्ड टिकेको छ । प्रेमनै ब्रमहाण्डको मूलविषय र मूलभाषा भएकोले प्रेम मात्र एउटा त्यस्तो विराट तत्व हो जसले सजिलै विश्ववन्धुत्व र सर्वजनहिताय, सर्वजनसुखायको भावनालाई आत्मसाथ गरेर सारा विश्व समाज, प्रकृति र अस्तित्वलाई एकसाथ लिएर सबैको उचित ढंगले सबलिकरण तथा सशक्तिकरण गर्दै समग्र मानवीयतालाई अगाडि बढाउन सक्छ । यसकारण प्रेमको अर्थ, परिभाषा तथा दायरा अत्यन्तै फराकिलो रहदै आएको छ साथसाथ चमत्कारिक र रहस्यमय पनि रहदै आएको छ किनकी आजसम्म सबै प्रकारका ज्ञान तथा विज्ञानहरुले प्रेमको वास्तविक अर्थ, परिभाषा, भाव, गहिराइ तथा दायरालाई पूर्णरुपमा समेट्न तथा मापन गर्न सकेका छैनन् र भविश्यमा पनि सक्ने छैनन् किनकी प्रेम अलौकिक तथा दिव्य तत्व हो जो सिधै परमात्माबाट मनुष्य लगायत ब्रम्हाण्ड तथा सृष्टिका सबै सिर्जनहरुमा प्रवाहित भैरहेको हुन्छ । 
सैद्धान्तिक रुपमा प्रेम एउटा सिंगो अलौकिक परमतत्व हो जो सिधै परमात्माबाट प्रवाहित भएर ब्रम्हाण्डको कणकणमा निरन्तर संचारित भैरहेको हुन्छ तर व्यवहारिक रुपमा प्रेमका तहहरु अनेक रहेका छन् जो अवस्था तथा आवश्यकता अनुसार प्रकट हुन्छन् र प्रयोग गरिन्छन् । सामान्यतया वर्तमाको मानव समाजमा प्रेमका प्रमुख १० तहहरुलाई बुझ्ने, बुझाउने र तिनलाई दैनिक जीवनका हरप्रकारका व्यवहारहरुमा अनुशरण गर्दै आइएको पाइन्छ– (१)आफू भन्दा साना व्यक्तिहरुप्रति स्नेह भाव, (२)आफू सरहका व्यक्तिहरुप्रति मैत्री भाव, (३)आफूसंग समान हैसियत राख्ने निकटतम व्यक्तिहरुप्रति मायाँ भाव, (४)आफूभन्दा निमुखा व्यक्तिहरुप्रति दया तथा करुणा भाव, (५)आफूभन्दा ठूला व्यक्तिहरुप्रति श्रद्धा तथा सम्मान भाव, (६)सबैले सम्मान तथा आदर प्रकट गर्ने मानव समाजका महान व्यक्तित्वहरुप्रति कृतज्ञता भाव, (७)आफूलाई जिउने आधार प्रदान गर्ने आफ्नो रुचि अनुसारका हरप्रकारका कर्म क्षेत्रहरुप्रति इमान्दार भाव, (८)जीवनका सजिला, अप्ठ्यारा चुनौतीहरुको सामना गर्दै जीवनमा ऐश्वर्य कमाउन प्रेरेणा प्रदान गने समाज तथा राज्यप्रति धन्यवाद र उत्तरदायित्वको भाव, (९)आफूलाई जीवनी शक्ति प्रदान गर्ने प्रकृति तथा जगतप्रति संरक्षण भाव, र (१०)सबैका आस्थाका केन्द्र देवी–देवता, भगवान–भगवती, इश्वर अर्थात परमात्माप्रति भक्ति भाव । प्रेमका यिनै १० प्रकारका तहहरुभित्र रहेर दैनिक रुपमा गरिने सबै प्रकारका व्यवहार, गतिविधि तथा कर्महरुबाट नै समुच्चा ब्रम्हाण्ड, प्रकृति, विश्व समाज, परिवार तथा व्यक्तिहरुको जीवनयापन चलिरहेको हुन्छ र हरेकको सबलिकरणको पृष्ठभूमिमा प्रेम नै रहेको हुन्छ प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा किनकी प्रेमको विषयलाई अलि गहिरिएर सुक्ष्म रुपमा हेर्ने हो भने मनुष्य लगायत हरेक प्राणीदेखि लिएर वनस्पति र पदार्थहरुसम्मलाई सुख, खुशी, प्रेरणा, समृद्धि, शान्ति, आनन्द प्रदान गरेर सबैलाई माथि उठाउने पनि प्रेप नै हो र यी सबै अवस्थाहरुबाट बिमुख गराएर सबैलाई तल झार्ने पनि प्रेम नै हो । यसकारण वर्तमान सन्दर्भमा स्त्रीहरुको सबलिकरणका लागि सर्वप्रथम आध्यात्मिक दृष्किोणबाट प्रेमको अलौकिकता, दिव्यता र यसको सैद्धान्तिक पाटोका साथसाथ व्यवहारिक पाटाहरुलाई स्त्री मैत्री बनाएर नयाँ शिराबाट यो अभियानलाई अगाडि बढाउनु अत्यावश्यक भएको हुन्छ ।
अध्यात्म विज्ञान र स्त्रीहरुको सबलिकरण
अध्यात्म विज्ञान अत्यन्तै विराट विषय हो, यसले सनातन(अनन्त– न आदि न अन्त) देखिनै ब्रम्हाण्डका सारा विषयहरुलाई समान रुपमा आफूभित्र समेटेर राखेको छ त्यसकारण अध्यात्म समानताको मूल सिद्धान्तमा आधारित सबै विषयहरुको मूल विषय तथा जननी हो । आध्यात्मिक दृष्टिकोणमा स्त्री र पुरुष दुवै मानव स्वरुप हुन् र एकसमान हुन् । अध्यात्म विज्ञानले कहिल्यै कहिं, कतैपनि स्त्री र पुरुष भनेर कुनैप्रकारले विभेद गरेको छैन, नत मनुष्यको हकमा नत प्राणीहरुको हकमा किनकी अध्यात्म विज्ञान ब्रम्हाण्ड तथा प्रकृतिको नियम हो र ब्रम्हाण्डको लागि एउटा कमिला र एउटा मनुष्य एकसमान हो अस्तित्वको दृष्टिकोणबाट, प्रकृतिमाथि मनुष्यको जति अधिकार छ कमिलाको पनि उत्तिनै अधिकार रहेको छ, कुनै विभेद छैन, सबै प्राणी हुन् र सबैभित्र उही परमात्माको अंश आत्मा अर्थात चेतना रहेको छ । अध्यात्मको दृष्टिकोणमा मनुष्य र जीवजन्तुविच त कुनै प्रकारको विभेद छैन भने मनुष्य–मनुष्यको विचमा स्त्री र पुरुष भनेर भेदभावको दृष्टिकोण राख्ने सम्भावना नै छैन । वर्तमानमा विश्व समाजमा चल्दै आइरहेका सबै प्रकारका भेदभावहरु मानव निर्मित हुन्, यी परिवर्तनशील छन् र युग सुहाउदो हुनेगरि यसमा परिवर्तन गरिनु पर्दछ र यसकालागि स्त्री र पुरुष एकसमान हुन् भन्ने अध्यात्म विज्ञानको मूलमर्म तथा मूलभावलाई आत्मसाथ गरेर अगाडि बढ्दै समग्र मानवीयताको विकासमा अग्रसर हुनु नै सहि अर्थमा आध्यात्मिक हुनु हो र आध्यात्मिक परिवर्तन ल्याउने कार्यमा अग्रसर हुनु हो । 
स्त्रीहरुको सबलिकरणका लागि समाजमा सौम्य आध्यात्मिक क्रान्तिको शुभारम्भ गर्न सर्वप्रथम सबैले ब्रम्हाण्ड तथा सृष्टिको नियमलाई आत्मसाथ गरेर आफ्नो लक्ष्यमा अगाडि बढ्नु पर्दछ । सृष्टिले समान रुपले सिर्जना गरेका ब्रम्हाण्डको आधा आकाश ओगटेका स्त्रीहरु(सबैप्रकारका जीव तथा वनस्पतिहरुमा स्त्री र पुरुष जाति हुन्छन्) केवल स्थुल तथा जड शरीर मात्र होइनन्, उनीहरुको भौतिक अस्तित्व मात्र नभएर उनीहरुमा पनि पुरुषहरु सरह मन, भावना, आत्मा अर्थात चेतना हुन्छ भन्ने अकाट्य प्राकृतिक सत्यलाई हृदयंगम गरेर माथि उल्लेखित प्रेमका सबै तहहरुले विभूषित गर्दै सबै स्त्रीहरुलाई स्वतन्त्रतापूर्वक परिवार, समाज, राज्यमा उत्कृष्ट जीवन जिउनकालागि उनीहरुले चाहेको विषय अध्ययन गरेर सबै प्रकारका ज्ञान–विज्ञान आर्जन गर्न; घर वाहिर रुचि अनुसारका काम गरेर आफ्नो व्यक्तित्व तथा नेतृत्व क्षमताको विकास गर्न; योग, ध्यान, दान, पुण्य, परोकार, भक्ति जस्ता सेवाजन्य साधनाहरु गरेर आफ्नो जीवनको आन्तिरिक विकास(अन्तर प्रज्ञा प्रष्फुटन्) गरि जीवनमा आरोग्य, सुख, खुशी, समृिद्ध, सफलता, शान्ति, आनन्द हासिल गर्दै पूर्ण मानव बनेर बुद्धत्वको विकास गर्न अवसर प्रदान गर्नु स्त्रीको वास्तविक आध्यात्मिक सबलिकरण गर्नु हो । यसकासाथै, सबैले पारिवारीक, सांस्कृतिक, धार्मिक, सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक आदि तमाम क्षेत्रहरुमा समानता, स्वतन्त्रता, प्राकृतिक तथा कानूनी हक, अधिकारहरु प्रदान गरेर आफूसमान मान्यता दिएर आवश्यक साथ, सहयोग, सदभाव, सम्मान प्रकट गर्दै हरप्रकारले स्त्रीहरुको वाहिय तथा आन्तरिक विकास गर्न सहयोग गर्दै उनीहरुलाई मानवीयताको मूलधारमा प्रवेश गर्ने अवसर प्रदान गर्नु स्त्रीको वास्तविक सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, शैक्षिक सबलिकरण हो । वर्तमानको विश्व समाजको अवस्था र आवश्यकतालाई मध्यनजर गर्दा यस प्रकारले स्त्रीहरुको वास्तविक सबलिकरण गर्न अध्यात्म विज्ञानले सबैभन्दा प्रभावकारी ढंगले मद्धत गर्न सक्छ भन्नेमा कसैको दुईमत रहेको छैन । अध्यात्म विज्ञान हरकोहीको जीवनमा पूर्णता ल्याउने एक मात्र सम्पूर्णताको विज्ञान तथा विज्ञानहरुको पनि विज्ञान महाविज्ञान भएकोले आधूनिक समयमा प्रचलित सबै प्रकारका सिद्धान्त, तथा ज्ञान, विज्ञानमा भएका त्रुटी तथा युग सान्दर्भिक नहुने विषयहरुलाई परिमार्जन गरेर तथा नयाँ प्रकारका युग सुहाउदा प्रावधानहरु समावेश गरेर प्रकृतिको आधा हिस्सा ओगटने स्त्रीहरुको सबलिकरणमा अव अध्यात्म विज्ञानलाई आत्मसाथ गरेर अगाडि बढ्नुको अर्को विकल्प छैन । 
स्त्रीमा आध्यात्मिक जागरण ल्याउनु पहिलो आवश्यकता     
स्त्रीहरुलाई सबलिकरणको मूलधारमा ल्याउन अध्यात्म विज्ञानले सर्वप्रथम स्त्रीहरुको अन्तरआत्मामा सुसुप्त अवस्थामा रहेका जन्म–जन्मका आन्तरिक प्रतिभा, क्षमता र सिर्जनशीलता जगाउन मद्धत गर्नुपर्नेमा प्राथमिकता तथा जोड दिदै आएको छ । स्त्रीहरुको आन्तरिक प्रतिभा, क्षमता र सिर्जनशीलता जाग्रीत भएको अवस्थामा उनीहरु सहजै आफ्नो अन्तरआत्माको मूल आवाज, मौलिक ध्वनि सुन्न र तथा अन्तरभावको मूल उर्जा चिन्न सक्नेछन् र अन्तरभावको मूल उर्जामा फर्कन सक्नेछन् । यसकासाथै अन्तरभावको मूल उर्जालाई चिनेर आफ्नो जीवनमा अनुशरण गर्न सक्षम हुन्छन् । आफ्नो अन्तरआत्माको मूल आवाज सुन्ने, चिन्ने र अनुशरण गर्ने अवसर स्त्रीहरु सहज ढंगले आफ्नो जीवन विकासमा अगाडि बढ्न सक्नेछन् र आफ्नो लगायत परिवार, समाज, राज्य, मानवीयता, प्रकृति र समुच्चा अस्तित्वको समुचित विकासमा हरप्रकारले सहयोग तथा योगदान गर्न सक्नेछन् । यसप्रकारको सहयोग तथा योगदानका सकारात्मक प्रभावका कारण केवल स्त्रीहरुको मात्र सबलिकरण नभएर क्रमिक रुपमा परिवारखेखि अस्तित्वसम्म सबैको सबलिकरण तथा सशक्तिकरण हुनसक्छ । सनातन शास्त्रहरुका अनुसार स्त्रीशक्ति स्वयं आदिशक्ति माता जगदम्बाको स्वरुप भएकोले स्त्रीहरुमा समस्त आयामहरुलाई एकसाथ लिएर अगाडि बढ्नसक्ने अद्भूत शक्ति तथा क्षमता हुन्छ । तसर्थ, आध्यात्मिक दृष्टिकोण अनुसार स्त्रीहरुलाई उनीहरुको अन्तरआत्माको आवाज सुन्नसक्ने र अन्तरभावको मूल उर्जा चिन्नसक्ने, आफ्नो मूल स्वरुपमा फर्कनसक्ने बन्न मद्धत गर्नु र उनीहरुलाई केवल स्थुल शरीरधारी छोरी, श्रीमती, आमाका रुपमा मात्र नहेरेर शास्वत आत्मा अर्थात चेतनाका रुपमा बुझेर त्यही रुपमा सम्मान गर्नु सबैको सबलिकरण तथा सशक्तिकरणका लागि अत्यावश्यक छ । 
प्रकृतिको नियम अनुसार स्त्री प्रेम उर्जाकी सर्वोत्कृष्ट प्रतिमुर्ति भएकी हुनाले यसप्रकारको सम्मान पाएका स्त्रीहरुले जव प्रेम गर्छन तव उनीहरु आफ्नो प्रेमपात्र(जे पनि हुनसक्छ– मनुष्य, प्राणी, वनस्पति, वस्तु तथा पदार्थ) प्रति पूर्ण रुपले समर्पित हुन्छन् प्रेमको वास्तविक अर्थ खुलाउछन् । स्त्रीहरुको प्रेम माथि उल्लेखित प्रेमका सबै आयामहरुमा उत्तिकै समर्पित, गहन र गहिरो हुन्छ किनकी उनीहरुले आफ्नो प्रेमपात्रलाई गर्ने प्रेममा केवल व्यवहार नभएर निस्काम भक्ति, पूजा, समर्पण हुन्छ र अन्तरहृदयदेखि नै प्रेम पोख्छन बिना केही प्राप्त गर्ने अपेक्षा निश्कपट र निस्काम भावले । प्रेमको यस्तो निश्कपट र निस्काम अवस्था स्त्री लगायत सबैको सबलिकरणका लागि उत्तिकै महत्वपूर्ण हुन्छ । तसर्थ, समान रुपले सबैको कल्याण तथा सबलिकरणका लागि स्त्रीहरुलाई पुनः उनीहरुको मूल स्वरुपमा फर्काउन अत्यावश्यक हुन्छ र यसकालागि अध्यात्म विज्ञानले सुझाएका सुत्र तथा उपायहरुको अनुशरण गर्नु आवश्यक हुन्छ ।  अध्यात्म विज्ञानले सुझाएका सुत्र तथा उपायहरु अनुसार सर्बप्रथम त स्त्रीहरुलाई उचित सम्मान र आवश्यक स्वतन्त्रता प्रदान गरेर उनीहरु स्वयंलाई आफ्नो शरीर, मन, भावना, आत्मा अर्थात चेतनाको विषयमा निर्णय गर्न दिनुपर्दछ । आवश्यक रेखदेखमा उनको शरीर, विचार, मन, भाव, चेतना तथा समग्र जीवनमाथिको अधिकार उनैलाई दिनुपर्दछ अन्यथा बन्धनमा स्त्रीशक्ति फूल्न, फक्रन र फल्न सक्दैन किनकी बन्धन अभावको अवस्था हो, अभावमा स्त्रीशक्ति ओइलाउछ र मर्छ  । 
हरकोहि मनुष्यको वाहिरी तथा आन्तरिक विकासकालागि अध्यात्म विज्ञानले ध्यान र योगका साधनाहरुलाई प्राथिमिकतामा राखेको छ र अध्यात्म विज्ञानका सकारात्मक लाभहरुका सन्दर्भमा गरिएका वैज्ञानिकतामा आधारित अध्ययन, अनुसन्धान तथा खोजका नतिजाहरुले उजागर गरेकाछन् कि स्त्रीहरु पुरुषहरुको तुलनामा अति सहज रुपले चाँढैनै ध्यान साधनामा प्रवेश गर्न सक्छन् किनकी स्त्रीहरु विचार होइनन् भावना हुन्, उनीहरुको अनाहद तथा हृदय चक्र बढि सक्रिय तथा क्रियाशिल हुन्छ र हृदय चक्र प्रेमको प्रतिक हो, यसकारण स्त्रीहरुलाई प्रेमकी प्रतिमूर्ति भनिएको हो प्राकृतिक रुपमा । पुरुषहरुको आज्ञा चक्र तथा तेस्रो नेत्र बढि सक्रिय तथा क्रियाशील हुन्छ जुन विचार, विश्लेषण, तर्क, वुद्धि, विवेक, दृढता, संकल्पको प्रतिक हो । वैज्ञानिकता आधारित अध्ययन तथा खोजका तथ्यांकहरुका आधारमा भन्ने हो भने यदि स्त्रीहरुमाथि गरिएका दमन, भेदभाव र लगाइएका बन्धन तथा पावन्दिहरु फुकाइदिने तथा यसबाट उनीहरुलाई मुक्त गरिदिने हो भने उनीहरु सहजै आफूभित्रको अन्तरयात्रा गर्न सक्छन् र ध्यानकी देवी बनेर आफू लगायत सबैको सबलिकरण तथा सशक्तिकरणको संवाहक बन्न सक्छन् । तसर्थ वर्तमान समयमा परिवार, समाज, राज्यलाई, प्रकृति सबैलाई हरप्रकारले सहज दिशामा अगाडि बढाउन र विकास गर्न स्त्री र पुरुषको विचमा प्रतिस्पर्धा नभई एकरुपता ल्याउन अति आवश्यक छ । स्त्री र पुरुषविच एकरुपता तव आउछ जव स्त्रीलाई देवी भनेर उच्च मान्यता प्रदान गरेर धर्म, संस्कृति, परम्परामा जकडिदैन र दाषी भनेर अवमूल्यन पनि गरिदैन, आम मानवको रुपमा जिवित स्वतन्त्र, सोच्नसक्ने, बुझ्नसक्ने, तर्क–वुद्धि–विवेक भएका शाश्वत आत्मा अर्थात चेतनाको रुपमा सम्मानसाथ हेरिन्छ । स्त्रीहरुलाई उचित सम्मान गरियो र आवश्यक स्वतन्त्रता दिइयो भने उनीहरु आफू लगायत परिवार, समाज, राज्य, प्रकृति तथा समुच्चा अस्तित्वलाई समेत विकसित गराएर पूर्णतामा स्थित गराउन सक्ने अदम्य सामथ्र्य राख्दछन् ।
तर विडम्बना वर्तमान समयमा विश्व समाजका सबै स्त्रीहरु विभिन्न कालखण्डहरुमा आफूमाथि आइपरेका विविध प्रतिकुलताहरुका कारण पुरुषप्रति, समाज, राज्य र कतिपय अवस्थामा प्रकृतिप्रति नै प्रतिवादी भएकाछन् आफूलाई पुरुष समान हक–अधिकार भएका प्राकृतिक नागरिक सावित गर्नमा र आफूलाई पुरुष सरह हैसियत भएका समकक्षी बनाउनमा । यसप्रकारले बारबार आफूलाई प्रस्तुत गरिहनु स्त्रीहरुको रहर नभएर बाध्यता हो किनकी समाजले उनीहरुलाई हरेक पक्षहरुमा अनावश्यक विभेद र दमन गरेर सहन गर्न नसक्ने अत्यन्तै निकृष्ट अवस्थामा पुर्याइदियो । अवको युग सकारात्मक भावले फेरिदो स्वरुपमा अग्रसर भैरहेको छ किनकी समाजमा स्त्री, पुरुष सबैमा युग सान्दर्भिक आध्यात्मिक जागरण फैलिदै गैरहेको छ । यसप्रकारको उर्वर वाताबरण बन्दै गैरहेको अवसरमा अव हामीले यस्तो अवस्था निर्माण गर्नु आवश्यक छ कि स्त्रीहरु स्वयं जागरुक, सजक, वुद्धिमान, विवेकवान, तर्कवान, विश्लेषणवान, चेतनशील, आत्मज्ञानी बन्न सकुन् ताकि उनीहरुलाई आफूलाई सावित गर्न बारबार प्रतिवाद गर्नुपर्ने तथा प्रतिस्पर्धी बन्नुपर्ने अवस्था नै नआवोस । प्रतिवाद र प्रतिस्पर्धा कमजोरी, हिनतावोध, घृणा, असन्तुष्टि तथा अस्वीकारको लक्षण तथा प्रतिक हो । आध्यात्मिक लगायत हरप्रकरको जागरुकता नै स्त्रीहरुको वास्तविक शक्ति हो तसर्थ स्त्रीहरुलाई प्रतिवादी, लडाकु तथा प्रतिस्पर्धी होइन जागरुक मनुष्य बन्न मद्धत गरौं र उनीहरुको सबैप्रकारका प्राकृतिक, नैसर्गीक, कानूनी अधिकारहरु सहज ढंगले सम्मानसाथ उनीहरुलाई नै प्रदान गरौं । स्त्रीहरुको नैसर्गीक स्वभाव मूलरुपमा सौम्य, संवेदनशील, करुणामयि र प्रेमपूर्ण हुनेहुनाले उनीहरु स्वाभावले नै इश्वरिय तथा दिव्य शक्ति हुन् । सामान्य अवस्थामा स्त्रीहरुको यस्तो इश्वरिय शक्ति उग्रता, बाहुबल, शव्दबल तथा विचारबलमा प्रकट नभएर प्रेम, मौन, शान्ति, गहिराइ, गंभिरता, धैर्यतामा उनीहरुको वास्तविक दिव्य शक्ति प्रकट हुन्छ तर वर्तमान समयमा उनीहरु प्रतिवादि, लडाकु तथा प्रतिस्पर्धी बन्न बाध्य भएका तथा गराइएका कारण उनीहरुको सौम्य, संवेदनशील, करुणामयि र प्रेमपूर्ण सदव्य शक्ति उग्रता, बाहुबल, शव्दबल तथा विचारबलमा प्रकट भैरहेको हो र यही अवस्थाले स्त्री, पुरुष, परिवार, समाज, राज्यमा अनेक प्रकारका विकारहरु देखा परेका हुन् । तसर्थ अव सौम्य आध्यात्मिक क्रान्तिको माध्यमबाट स्त्री र पुरुषविच हरप्रकारले सामान्जस्यता कायम गरेर असामान्य बन्दै गैररहेको स्त्रीहरुमा निहित इश्वरिय तथा दिव्य शक्तिलाई पुनःस्थापित गरेर सामान्य बनाउदै लानुपर्दछ र सबैको सबलिकरण गरि विकसित मानव समाजको निर्माण गर्नुपर्दछ ।  
छिट्टै,
आध्यात्मिक दृष्टिकोण र स्त्री सबलिकरणका उपायहरु  
++++++++++++++++++++++++++
*लैंगिकता र विकासको विद्यार्थी, अध्यात्म साधक तथा वाचक, योग-ध्यान प्रशिक्षक ।
ग्रामीण विकासमा स्नाकोत्तर(Master's Degree), महिला विकासमा स्नाकोत्तर, महिला सशक्तिकरणमा विद्यावारिधी(PhD) ।
No comments:
Post a Comment