'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २४४ वटा लेख समाहित छन् !

Wednesday, 24 September 2025

ग्रामीण विकासबाट बन्छ समृद्ध नेपाल र समृद्ध नेपाली, खण्ड -१

डासिर्जना भण्डारी*

'...हातमा कलम हुनेहरु कलम लिएर उठ... !' 

म ग्रामीण विकास र लैंगिकता विकासको विद्यार्थी हुँ, मसंग यही 'हतियार' छ गाउँनै गाउँको हाम्रो देश नेपालको आमूल परिवर्तनमा सहभागि हुनकालागि  !! 

जय जय नेपाल !!!

       #नयाँ _नेपाल #ग्रामीण _विकास #स्वरोजगार #उद्यमशीलता 


ग्रामीण विकासको आवश्यकता र महत्व


"कुनैपनि राष्ट्रको विकास भौतिक संरचनाहरुको निर्माण, औद्योगीकीकरण र शहरी क्षेत्रको विस्तारबाट मात्र हुदैन, राष्ट्रको वास्तविक विकास ग्रामीण क्षेत्रहरुको एकिकृत विकास र ग्रामीण वासिन्दाहरुको जीवस्तर उठाएर मात्र सम्भव हुन्छ किनकी वास्तविक राष्ट्र ग्रामीण क्षेत्रमा रहेको हुन्छ र हरेक मानिसको भावना र मौलिकता ग्रामीण क्षेत्रसंग जोडिएको हुन्छ ।" 
                                                            -सन्त राजनेता, सामाजिक अभियन्ता महात्मा गान्धी

समसामयिक संवैधानिक प्रसंग

गणतन्त्र भारतका वरिष्ठ कानूनविध, अर्थशास्त्री, राजनीतिज्ञ, समाज सुधारक डा.भिमराव अमबेडकर‘दलित’(१८९१–१९५६)ले ब्रिटिसराजबाट भारत स्वतन्त्र भएर भारतको नयाँ संविधान लेख्ने प्रक्रियामा त्यतिबेलानै सन् १९४७ मा भन्नुभएको थियो, “कुनैपनि देशको संविधान चाहे जतिसुकै राम्रो बनाइएको होस, यदि त्यस देशका नेतृत्व वर्ग र मानिसहरु राम्रा छैनन् भने आमजनताको कल्याणकालागि संविधान उपयोगी हुन सक्दैन र संविधानले तात्विक सकारात्मक उपलव्धि हासिल गर्न सक्दैन ।” नेपालको वर्तमान संविधान विश्वमै उत्कृष्टतम कानूनी दस्तावेजहरु मध्य एक माानिन्छ तर विडम्बना वहाँको यो दुरदृष्टि आठ दशकपछि पनि आज हाम्रो मुलुकमा चरितार्थ भैरहेको छ र यो दुर्भाग्यपूर्ण अवस्थाको प्रत्यक्ष साक्षी भैरहेका छौं हामी ।


ग्रामीण विकासको पृष्ठभूमि

ग्रामीण+विकास=ग्रामीण विकास, दुई शव्दको संयोजनबाट बनेको छ । ‘ग्रामीण’ शव्दले भौगोलिक, सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, सुरक्षा आदि दृष्किोणले निश्चित प्रकारका विशेषताहरु भएका गाउँका क्षेत्र तथा समाजहरुको प्रतिनिधित्व गर्दछ र ‘विकास’ शव्दले ती क्षेत्रका वासिन्दाहरुको सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, सुरक्षाको जीवनस्तर उकास्न गरिने प्रक्रियाहरुको प्रतिनिधित्व गर्दछ । यसर्थ ग्रामीण विकास एक त्यस्तो प्रक्रिया हो जसको माध्यमबाट ग्रामीण क्षेत्रमा वसोवास गर्ने वासिन्दाहरुको सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, सुरक्षा आदिको स्तर उठाएर उनीहरुलाई मानव विकास सूचकांकको मापदण्डमा पुर्याउने प्रयास गरिन्छ ।


ग्रामीण विकासको परिभाषा

विश्वको छाता संगठन सम्युक्त राष्ट्रसंघका अनुसार, “ग्रामीण विकास ग्रामीण क्षेत्रमा बसोबास गर्ने परम्परागत ढाँचामा जीवनयापन गरिरहेका जनताहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन निर्माण गरिएको एक प्रक्रिया हो जसको प्रमुख उद्देश्य ग्रामीण जनताहरुको जीवनमा गुणात्मक, परिमाणात्मक र दिगो परिवर्तन ल्याएर उनीहरुको जीवनलाई सहज बनाउनु रहेको हुन्छ ।”

विश्व बैंकका अनुसार, “ग्रामीण विकास ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनताहरुको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न निर्माण गरिएको एक विशेष रणनीति हो ।”

ग्रामीण विकास विशेष विशेषज्ञ रोबर्ट चेम्बरका अनुसार, “ग्रामीण विकास ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिव जनताहरुको विशेष समुहलाई लक्षित गरि उनीहरुको सहज जीवनयापनका लागि आवश्यक पर्ने आधारभूत आवश्यकताहरुको परिपूर्ति गरि उनीहरुलाई सहुलियत प्रदान गर्न निर्माण गरिएको विशेष प्रकारको रणनीति हो ।” 

 

ग्रामीण विकासका आधारशिला

(१)आधारभूत आवश्यकताः गाँस, वास, कपाश, शिक्षा, स्वास्थ्य, सुरक्षाको सहज उपलव्धता ।

(२)भौतिक पूर्वाधारः सडक, बिजुली, पानी, ढलनिकास, विद्यालय, अस्पताल, प्रविधि, सामुदायिक क्षेत्र तथा भवन, खेल मैदान आदि निर्माणका कार्यहरु ।

(३)सामाजिक पूर्वाधारः स्वतन्त्रता, समानता, सम्मान, शिक्षा, स्वास्थ्य, सुरक्षा आदिको व्यवहारिक कार्यान्वयन ।

(४)प्राविधिक पूर्वाधारः व्यवसायिक सिप, तालिम, प्रशिक्षण, कार्यशाला, सूचना, मानव संसाधनको विकास आदि गर्ने चुस्त कार्यक्रमहरु ।

(५)आर्थिक पूर्वाधारः कृषि, उद्यम, व्यवसाय, रोजगार तथा स्वरोजगार, सूचना आदिकालागि बजेट व्यवस्था । 


ग्रामीण विकासको आवश्यकता र महत्व

हाम्रो देश नेपाल गाउँनै गाउँको देश हो, अझैपनि यहाँका दुईतिहाइ भन्दा बढि(७०%) जनसंख्या ग्रामीण क्षेत्रमा बसोवास गर्ने भएकोले ग्रामीण क्षेत्रको विकास नै समुच्चा देशको विकास हो किनकी ग्रामीण विकासको प्रक्रियाले देशकै समग्र विकास प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ उल्लेख्य योगदान पुर्याउछ । देशमा निम्न अवस्था हासिल गर्नकालागि ग्रामीण विकासको आवश्यकता र महत्व रहेको छ–


(१)शहरीकरणको दबाब कम गर्न

कुल जनसंख्याको बसोवासको आधारमा नेपाल दुई क्षेत्रमा विभाजित छ– (१)ग्रामीण क्षेत्र, र (२)शहरी क्षेत्र । वर्तमान समयमा ग्रामीण क्षेत्रका मुख्य समस्या तथा चुनौतीहरु शहरी क्षेत्रको तुलनामा भौतिक, सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, सुरक्षा, रोजगारी सम्वन्धि आधारभूत पूर्वाधारको अपर्याप्तता तथा अभाव हुनु रहेको छ । यहीकारण ग्रामीण क्षेत्रका मानिसहरु राम्रो सुविधा र अवसरको खोजीमा शहर केन्द्रित हुदै गैरहेका छन् र गाउँबाट निरन्तर पलायन भैरहेका छन् । यो अवस्थाले गाउँ खालि हुदै गैरहेको तर शहर धान्नै नसकिने किसिमले भरिदै गैरहेको छ र गाउँ र शहरविच गहिरो असमानता देखिएको छ । रहरले तथा करले यसरी गाउँ छोडेर शहर केन्द्रित तथा पलायन भैरहेका मानिसहरुलाई गाँउमै फर्काएर जनसंख्याको दृष्टिकोणले सन्तुलन कायम गर्न ग्रामीण विकास गर्नु आवश्यकता छ ।  


अधिकांश ग्रामीण क्षेत्रहरुको जीविकाको प्रमुख श्रोत कृषिमा आधारित छ तर कृषि व्यवसाय अहिलेसम्म पनि परम्परागत ढाँचाका चलिरहेको हुनाले जनसंख्याको ठूलो हिस्सा तथा जनश्रम कृषिमा सहभागि तथा निर्भर रहेका भएपनि देशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको नगन्य योगदान रहदै आएकोछ र धोरै जनसंख्या सहभागि तथा निर्भर रहेका उद्यम तथा सेवा क्षेत्रहरुको कुल गार्हस्थ उत्पादनमा उल्लेख्य योगदान रहदै आएकोछ । जहाँ मानिस कम काम गरिरहेका छन् उनीहरुले बढि कमाइरहेका छन् र उनीहरुको जीवनस्तर राम्रो छ तर जहाँ मानिसहरु बढि काम गरिरहेका छन् उनीहरुको जीवनस्तर न्यून रहेकोछ । यो अवस्थाले गाउँ र शहरविच तथा पुरै देशैभरि धेरै प्रकारका असन्तुलनाताहरु सिर्जना गरेको छ । गाउँ र शहरविचका असन्तुलनताकै कारण राम्रो कमाइ तथा रोजगारी, गुणस्तरिय शिक्षा, स्वास्थ्य, सुरक्षाको खोजीमा शहरको धान्नसक्ने क्षमता भन्दा बढि संख्यामा मानिसहरु शहरकेन्दित भैरहेका छन् र यसका नकारात्मक प्रभावहरु शहर र गाउँमा फरक–फरक प्रकारले देखिएका छन् । शहरमा सामाजिक अपराधहरु बढिरहेका छन्; वायू, भूमि, पानी आदि समग्र पर्यावरण दुषित भैरहेको छ; आधारभूत आवश्यकताको अपर्याप्ता भएर मानिसहरुको जीवनस्तर खस्किदै गैरहेको छ; मानवीय विकारयुक्त समस्याहरु– प्रतिस्पर्धा, देखासेखी, द्वन्द, हिंसा, गरिवी, अभाव, मानसिक तथा शारीरिक अस्वस्थता तथा महामारी आदिको प्रकोप बढ्दै गैरहेको छ भने अर्कातिर गाउँ खालि हुदै गैरहेको छ; धेरै सम्भावना भएका खेतीयोग्य र उतपादनशील उर्वर घरबारी, खेतहरु बाँझिदै झाडी तथा बनपाखामा परिणत भैरहेका छन्; गाउँ जनसंख्या अल्पसंख्यामा परेकोकाराण वन्यजन्तुहरुको अतिक्रमण बढिरहेको छ र गाउँ बिरानो बन्दै गैरहेको छ, कोही गाउँ फर्केर ती समस्याहरुसंग जुध्न चाहदैनन् । जसकोकारण कृषि उत्पादनमा ह्रास आउदै गएको छ र कृषि प्रधान देश भइकन पनि कृषि उत्पादनका सामग्रीहरुमा समेत हामी आयातमुखी र परनिर्भर बन्दै गैरहेका छौं । यी सबै समस्या र असन्तुलनताहरुबाट निजाद पाउनकालागि ग्रामीण क्षेत्रको विकास गरेर राम्रो कमाइ तथा रोजगारी, गुणस्तरिय शिक्षा, स्वास्थ्य, सुरक्षाको व्यवस्था गाउँमै उपलव्ध गराएर शहरबाट जनसंख्याको धान्न नसकिने चाप घटाएर शहर र गाउँविच रहदै आएको असन्तुलनता घटाउन अत्यन्तै व्यवहारिक भएर चुस्त अनुगमनकासाथ ग्रामीण विकास गर्नु अपरिहार्य भएकोछ ।


(२)शहर र गाउँको असन्तुलन घटाउन 

विगतमा देशको समग्र विकास प्रक्रियालाई जानेर या नजानेर गाउँ बन्चित र शहर केन्द्रित गरिदै आइएका कारण आज भौतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, सुरक्षा, आर्थिक तथा उद्यम–व्यवसाय, रोजगारी आदि सबै आयामहरुमा ग्रामीण र शहरी क्षेत्रविच अत्यन्तै फराकिलो असमानताको खाडल देखापरेको । यो विकराल असमानताले ल्याएको परिणाम स्वरुप वर्तमान समयमा ग्रामीण क्षेत्रमा जनताहरुको जीविकोपार्जनका लागि अतिआवश्यक आधारभूत आवश्यकताहरु भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगारी आदिको न्यूनतम उपलव्धता समेत पर्याप्त र गुणस्तरीय नभएका कारण ग्रामीण क्षेत्रका विद्यार्थी, बिरामी, पेशाकर्मी, व्यवसायि, बेरोजगार मानिसहरु गुणस्तरीय सेवा र अवसरको खोजीमा शहर प्रवेश गरिहेका छन्, ती मध्य अधिकांश शहरमै पलायन हुन्छन् र उतै स्थायी रुपमा बसोवास गर्दछन् अनेक दुःख कष्ट सहेर भएपनि भविश्यमा आफू र आफ्नो परिवारको राम्रो जीवनस्तर प्राप्त गर्ने आशमा । ग्रामीण क्षेत्रबाट यसरी जनसंख्या पलायन भएका कारण ग्रामीण क्षेत्रमा पर्याप्त विद्यार्थीहरुको अभावमा विगत लानो समयदेखि विद्यालयहरु बन्द तथा समायोजन गरिदै आइएको छ । त्यस्तै जनसंख्या पलायनले पर्याप्त स्वास्थोपचारको मागमा कमी आएको कारण स्वास्थ्य चौकीहरु पनि बन्द तथा समायोजन गर्न थालिएको छ । यस्तो अवस्थाले गाउँमा बसोवास गर्दै आइरहेकाहरुका लागि शिक्षा आर्जन र स्वास्थ्य उपचार जस्तो अतिआवश्यक सेवा झन मुस्किल बन्दै गैरहेकोछ । यसकासाथै जनसंख्या पलायनले गर्दा ग्रामीण क्षेत्रमा पर्याप्त कामदार तथा श्रमिकहरुको अभाव भएको कारण कृषि व्यवसाय, कुटीर, घरेलु तथा साना उद्योगहरु पनि धरासायि हुदै गैरहेका छन् । यो अवस्थाले व्यक्ति, परिवार, गाउँ र देशकै अर्थव्यवस्थामा प्रत्यक्ष तथा अप्रत्यक्ष नकारात्मक प्रभाव पार्नुको साथै जनता–जनताविचको असमानता र असन्तुलन पनि झनझन बढाइरहेको छ । 


ग्रामीण क्षेत्रमा जनसंख्या पलायनले आवश्यक जनघनत्व घटेकोले वर्तमान समयमा विकास निर्माणका कार्यकालागि आवश्यक पर्ने जनसंख्यको मापदण्ड समेत नपुगेका कारण ग्रामीण क्षेत्रकालागि छुट्याइएको बजेट खर्च नभई फ्रिज बसेकोले आउने वर्षहरुमा ग्रामीण क्षेत्रको बजेट कटौती गरेर जनताहरु शहरमा छन् भन्ने कारण देखाउदै उक्त बजेट शहरमा लगानी गर्न थालिएको छ । यो अवस्थाले नजानिदो रुपमा ग्रामीण क्षेत्र र शहरी क्षेत्रविचको असन्तुलन अझ भयावह रुपमा गहिर्याउदै लगिरहेको छ र ग्रामीण क्षेत्र अझ पिछडिदै गैरहेको छ । त्यहाँ बसोवास गरिरहेका जनताहरुले आधारभूत आवश्यकताका सेवा तथा सुविधाहरु समेत नपाएर उनीहरुको मानव अधिकार हनन् भैरहेको छ । गाउँका जान्ने, बुझ्ने, सुझबुझ भएका शिक्षित मानिसहरु गाउँबाट पलाय र शहर केन्द्रित भएकाले अलि बोल्न तथा आवाज उठाउन सक्ने मानिसको अभावमा वर्षौदेखि चल्दै आइरहेका संस्कृति र परम्पराका नाममा गरिने जातिभेद, लिंगभेद, वादी, कमलरी, हलिया, साहु, मुखिया जस्ता मानव अधिकार विरोधि कुसंस्कारका गतिविधिहरुले पुलः प्रसय पाइरहेका छन्, यस्ता कुसंस्कारहरु पुनः मौलाउदै गैरहेकाछन् र कुनै निश्चित शोषण वर्गले ग्रामीण क्षेत्रका निमुखा जनताहरुको शोषण गरिहेको छ । यस्तो अवस्थाले जनताहरुमा अझ निरासा छाउदै गएको र पलायनको गति झन तिब्र हुदै गैरहेको कारण ग्रामीण र शहरी क्षेत्रविच भौतिक पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, सूचना, प्रविधि, वित्तिय व्यवस्था, समाज, संस्कृति, मानवीयतासम्मका गतिविधिहरुमा समेत व्यापक असन्तुलन देखिएकोले समान हक–अधिकार राख्ने ग्रामीण क्षेत्रका समस्त नेपाली जनतालाई यस्तो कष्टपूर्ण तथा नारकीय जीवनस्तरबाट माथि उठाएर मानव विकास सुचकांकको स्तरमा पुर्याउनका लागि अत्यन्तै व्यवहारिक भएर चुस्त अनुगमनकासाथ ग्रामीण विकास गर्नु अत्यावश्यक छ । 


(३)पर्यावरण संरक्षण गर्न

नेपालको ग्रामीण क्षेत्र केही दशक अघिसम्म जनसंख्या; आधारभूत आवश्यकताका न्यूनतम सेवा, सुविधाहरु; कृषि व्यवसाय, पशुपालन, कुटीर, घरेलु, साना तथा मझौला उद्यम, पेशा, व्यवसायहरु चलिरहेका कारण तत्कालीन अवस्था अनुसार सामुदायिक, सांस्कृतिक, सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, सुरक्षा, रोजगारी आदि सबै किसिमले सम्पन्न, सक्षम र व्यवस्थित थियो । प्राय सबैजसो आयामहरुमा ग्रामीण क्षेत्र र शहरी क्षेत्रविच त्यति ठूलो अन्तर तथा असमानता थिएन तर पछिल्ला केही दशकयता देश विकासका प्रक्रियाहरुमा आएका पर्याप्त विश्लेषण बिना गरिएका प्रतिकुल निर्णयहरु, चरम अनियमितता र असन्तुलाताका कारण ग्रामीण क्षेत्र विस्तारै बन्चितिकरण, अभाव र बेवास्ताको भुमरीमा फस्दै गयो र यस्तो खस्कदो अवस्था पछिल्लो समयमा आएर झन भयावह हुदै गैरहेकोछ । ग्रामीण क्षेत्रको यस्तो खस्कदो अवस्थाका कारण ग्रामीण जनताहरु गुणस्तरीय सेवा, सुविधा तथा राम्रो अवसरको खोजीमा गाउँबाट पलायन भएर शहर केन्दित हुदै गए र धान्न सक्ने क्षमता भन्दा बढि जनसंख्याको चाप तथा भार बढेका कारण शहरी क्षेत्रहरु अस्तव्यस्त हुदै गए तथा गैरहेका छन् ।



यो अवस्थाको नकारात्मक प्रभाव समाज र देशका सबै आयामहरुका साथसाथ प्रकृति तथा पर्यावरणमा समेत झन भयावह रुपमा परिरहेको प्रत्यक्ष अनुभव हामी सबैले गरिरहेका छौं । एकातिर ग्रामीण क्षेत्र खालि हुदै गएकोले त्यहाँका अतिआवश्यक प्राकृतिक श्रोतहरु हराउदै तथा मासिदै गैरहेका छन् भने अर्कोतिर शहरी क्षेत्रले धान्न सक्ने भन्दा बढि जनसंख्याको चाप बढेकोले यसको प्रत्यक्ष नकारात्मक प्रभाव वायू प्रदुषण, आकाश प्रदुषण, सार्वजनिक स्थल प्रदुषण, माटो प्रदुषण, भूमिगत पानी दोहन र प्रदुषण, खोला, नदिनाला तथा पानीका श्रोतहरु प्रदुषण, ढलनिकास अव्यवस्था, फोहर अव्यवस्था, स्वच्छतामा कमी जस्ता स्वाथ्यका दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण र प्रत्यक्ष असर पार्ने क्षेत्रहरुमा अत्यन्तै नराम्रोसंग परिरहेको छ । बढ्दो जनसंख्याको भापसंगै बढेको सवारी साधनका चाप, शहर निकट बढ्दो औद्योगीकीकरण आदिका कारण शहरको वायू प्रदुषण अत्यन्तै धेरै बढेर मापदण्ड नाघेको; प्रदुषणले आकाश ढाकेर हावा र सूर्यको प्रकाश तथा तापको प्रवाह छेकेको; पर्याप्त शुद्ध पिउने पानीको अभाव; भूमिगत पानीको प्रदुषण तथा दोहन बढेको; पानीका श्रोतहरु दुषित हुदै गएका; ढलनिकास तथा फोहर अव्यवस्थापन सहि ढंगले गर्न नसकेको; सार्वजनिक क्षेत्रहरु अतिक्रमण तथा प्रदुषित भएका; बढ्दो जनसंख्याको आवासको माग धान्न हरियाली फाँडेर कृषियोग्य जमिनलाई निर्ममतापूर्वक योजनाबिहिन ढंगले प्लटिंग गरिएको; बढ्दो जनसंख्याको माग धान्न जथाभावी रासायनिक मल र विषादीको प्रयोग गरेर कृषिखेती गरिएको आदि अव्यवस्थित शहरीकरणका अवस्थाहरुले मानिसहरुको शारीरिक, मानसिक तथा भावनात्मक स्वास्थ्यमा गम्भिर नकारात्मक प्रभाव पारिरहेका छन् । यस्तो भयावह बेथितिले मानिसको स्वास्थ्यका साथसाथ पर्यावरण, पारिस्थिकीय प्रणाली, जैविक विविधता तथा समग्र प्रकृतिमा हदैसम्मको नकारात्मक प्रभाव परेको देखिएको छ । विकासका नाममा भैरहेका विनाशका यस्ता भयावह र असन्तुलित अवस्थाहरुलाई न्यूनिकरण गर्न र पर्यावरण संरक्षण गर्नकालागि अत्यन्तै व्यवहारिक भएर चुस्त अनुगमनकासाथ ग्रामीण विकास गर्नु अत्यावश्यक छ ताकि ग्रामीण क्षेत्र र शहरी क्षेत्रमा भौतिक विकास र मानवीय विकासका लागि आवश्यक सबै पूर्वाधारका आयामहरुमा सन्तुलनता आओस, ग्रामीण क्षेत्रमा बसोवास स्थानान्तरण होस र शहरी क्षेत्रले धान्न नसक्ने गरि बढ्दै गएको जनसंख्याको चाप घटोस ।



(४)युवा तथा प्रतिभा पलायन रोक्न

माानिस नैसर्गीक रुपमै विकास प्रेमि प्राणी हो, उ जे छ त्यसैमा सन्तुष्ट भएर बस्दैन र अझ राम्रो अवसरको खोजी गरिरहन्छ तसर्थ आफू तथा आफ्नो परिवारको जीवनमा तत्काल भैरहेको अवस्था भन्दा झन राम्रो अवस्थाको अपेक्षा राख्नु र त्यसकालागि उपयुक्त अवसरहरुको खोजी तथा सदुपयोग गर्नु हरेक मानिसको प्राकृतिक स्वभाव हो । पछिल्लो चरणमा विश्वव्यापिकरण तथा भु–मण्डलीकरणका कारण विश्वभरिका मानिसहरुको जीवनशैलीमा उल्लेख्य सकारात्मक परिवर्तन आएको छ र यू.एन.डि.पि.को मानव विकास सूचकांक अनुसार उनीहरुको जीवनस्तर पनि उल्लेख्य रुपमा उकासिएका तथ्यहरु विश्वस्तरका पछिल्ला प्रामाणिक तथ्यांकहरुले देखाएका छन् । मानिसको जीवनस्तर उकासिनुको मुख्य कारणहरुमा गुणस्तरिय शिक्षा, स्वास्थ्य र रोजगारीका राम्रा अवसरहरु प्रमुख देखिएका कारण आजका विश्वभरिकै युवा पुस्ताहरुको पहिलो रोजाईमा उच्च शिक्षा र राम्रो रोजगारीको अवसर पर्दै आइरहेको छ । उच्च शिक्षा र राम्रो रोजगारीको अवसरको खोजी र प्राप्तिका लागि उनीहरु आफ्नो सामथ्र्यले भ्याएसम्म गाउँबाट सानो शहर, सानो शहरबाट, ठूलो शहर, ठूलो शहरबाट राजधानी शहर, राजधानीबाट छिमेकी देश तथा समुद्र पारीका विकसित देशमा गैरहेका छन् । 


उच्च शिक्षा र राम्रो रोजगारीको अवसरको खोजी गर्नु र प्राप्त गर्नु व्यक्ति, परिवार, समाज र देशकैलागि अत्यन्तै सकारात्मक उपलव्धिको विषय हो तर यसको कारण र परिणामको विश्लेषण गर्दा नेपालको सन्दर्भमा यो अवस्था त्यति सुखद देखिएको छैन किनकी यो अवस्थाले युवाहरुको प्रतिभाको विकास मात्र नभएर युवा तथा प्रतिभा पलायनको भयावह र डरलाग्दो अवस्थाको चित्र देखाइरहेको छ । ठूलो संख्यामा युवाहरुको उच्च शिक्षा र रोजगारीको राम्रो अवसरको खोजीको प्रमुख कारण सामान्य अवस्था नभएर आफ्नो देशका सबै आयामहरुमा भैरहेको चरम बेथिति र अनियमितताले युवाहरुमा आएको चरम निराशा रहेको छ । यहीकारण यसरी गाउँ, शहर र देशबाट वाहिरीएका यूवाहरु उच्च शिक्षा र उच्च कमाइ हासिल गरिसकेपछि पनि पुनः स्वदेश फर्केर आएनन्, उनीहरुमा स्वदेश फर्किने रुचि तथा जागरनै देखिएन । यसरी मातृभूमिलाई नै मायाँ मारेर स्वदेश नफर्किनेहरुको ठूलो संख्याले विदेशमा रहेका ती युवा तथा प्रतिभाहरुको अभावको पिडा बोकिरहेको यस्तो नाजुक स्थितिमा अझ निराशा थप्ने अवस्था देखिइरहेको छ । वर्तमान समयमा पनि ठूलो संख्यामा विदेसिने युवा तथा प्रतिभाहरुको संख्या दिनदिनै बढिरहेको र वर्तमान समयमा । तिब्र रफ्तारमा भैरहेको युवा तथा प्रतिभा पलायनका कारण ग्रामीण क्षेत्र लगायत पूरै देशनै युवाबिहिन तथा प्रतिभाबिहिनताको भयावह अवस्थाबाट गुज्रीरहेको छ । युवा तथा प्रतिभा पलायनको यस्तो डरलाग्दो अवस्था रोक्नकालागि ग्रामीण युवाहरुलाई उनीहरुको स्थानीय क्षेत्रमै गुणस्तरीय शिक्षा र रोजगारीका राम्रा अवसरहरु लगायत सहज जीवनयापनका अन्य आधारभूत आवश्यकताहरु प्रदान गर्न अत्यन्तै व्यवहारिक भएर चुस्त अनुगमनकासाथ ग्रामीण विकास गर्नु अत्यावश्यक छ ताकि प्रतिभावान युवाहरुले उच्च शिक्षा हासिल र रोजगारीको राम्रो अवसर आफ्नै स्थानीय क्षेत्र तथा आफ्नै देशमा प्राप्त गर्न सकुन्, पलायनको क्रम रोकियोस् र पलायन भएकाहरु स्वदेश फर्केर आउने क्रम बढेर जाओस् । 



(५)मानव संसाधानको विकास गर्न

विकास प्रक्रियाका महत्वपूर्ण पूर्वाधार तथा प्रमुख तत्वहरु मध्य सबैभन्दा महत्वपूर्ण पूर्वाधार मानव संसाधनलाई मानिन्छ । नेपाल भरिका पूरै जनसंख्या मध्य अझैपनि तीन भागमा दुई भाग जनताहरु ग्रामीण क्षेत्रमै बसोवास गर्दै आइरहेका छन् । देशको कुल भू–भागमा दुई तीहाइ अर्थात ७०% भन्दा बढि ग्रामीण क्षेत्रमा रहेका जनाताहरुको जीवनशैली सुधार गरेर उनीहरुको जीवनस्तर उक्सिने गरि मानव संम्साधनको विकास नगरेसम्म देशको समग्र विकास प्रक्रिया सहज ढंगले अगाडि बढाउन सम्भव छैन किनकी विश्वव्यापि खोजको तथ्यांकले उजागर गरे अनुसार देशको विकास प्रक्रियाको सबैभन्दा ठूलो वाधा त्यहाँको मानवीय संसाधनको उचित विकास हुन नसक्नु हो । ठूलो संख्यामा ग्रामीण क्षेत्रमा रहेका नेपाली जनताहरुको सबैप्रकारका आधारभूत आवश्यकताहरु परिपूर्ति हुनेगरि भौतिक, सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, सुरक्षा, रोजगारीका अवसर जस्ता आधारभूत पूर्वाधारहरु उपलव्ध गराएर उनीहरुको जीवनस्तर उकास्न र उनीहरुलाई विकासकालागि मानव संसाधनका रुपमा तयार गर्न सकिन्छ । तर विगत लामो समयदेखि जानेर या नजानेर विकासका प्रक्रियाहरुमा ग्रामीण क्षेत्र बन्चितिकरणमा परेको कारण पिछडिएको र उचित पूर्वाधारको अभावमा ग्रामीण क्षेत्रका जनताहरुमा रहेको श्रमशक्ति समय अनुकुल हुनेगरि सिपयुक्त नभएको तथा विकसित मानव सरसाधनको मापदण्डभित्र पर्न नसकेको अवस्था सबै माझ जगजाहेर छ । विकास प्रक्रियाका सबै कामहरु तव मात्र सहि ढंगले अगाडि बढ्न सक्छ जव विकासका अन्य पूर्वाधारहरुको साथसाथ प्रमुख पूर्वाधार मानवीय संसाधन सिपयुक्त, प्रतिभाशाली, दक्ष, क्षमतावान तथा सिर्जनात्मक हुन्छ र उसले आफ्नो जिम्मेदारीका सबै कामहरु खुशी भएर कुशलतापूर्वक सम्पन्न गर्नसक्छ । यसप्रकारको मानव संसाधनको विकास गरि समग देशकै विकास प्रक्रियालाई अग्रगतिमा अगाडि बढाउनकालागि अत्यन्तै व्यवहारिक भएर चुस्त अनुगमनकासाथ ग्रामीण विकास गर्नु अत्यावश्यक छ ताकि विकास प्रक्रियाकालागि आवश्यक हरप्रकारले सिपयुक्त, प्रतिभाशाली, दक्ष, क्षमतावान तथा सिर्जनात्मक मानवीय संसाधन स्थानीय स्तरमै सहजै उपलव्ध हुनसकुन् ।


छिट्टै,

ग्रामीण विकासका मुख्य श्रोत तथा आयामहरु
(१)शिक्षा र जागरुकता
(२)स्वास्थ्य र स्वच्छता
(३)कृषि र रोजगार
(४)पूर्वाधार र परिबहन
(५)सामुदाय र सक्रियता


++++++++++++++++++++++++++
*ग्रामीण विकासमा स्नाकोत्तर(Master's Degree), महिला विकासमा स्नाकोत्तर, महिला सशक्तिकरणमा विद्यावारिधी(PhD) । लेखक, अध्यात्म साधक तथा अध्यात्म वाचक, योग-ध्यान प्रशिक्षक ।

No comments:

Post a Comment