'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २५० वटा लेख समाहित छन् !

Friday, 26 September 2025

आध्यात्मिक नारीवाद: स्त्री सबलिकरणमा अध्यात्म विज्ञानको भूमिका, खण्ड -४

डा. सिर्जना भण्डारी*

    #आध्यात्मिक_नारीवाद #अध्यात्म_दर्शन #जीवन_दर्शन  

 स्त्री सबलिकरणका तह र पक्रियाहरु

"स्त्री र पुरुष प्रतिस्पर्धि होइनन् पूरक तथा साझेदार हुन् !"  - ओशो रजनीश


विनम्र आव्हान

अध्यात्म विज्ञानका अनुसार हरेक मनुष्य जन्मजात प्राकृतिक रुपमा कोमल, प्रेमल, सुखी, खुशी, शान्त र आनन्दित स्वभावको हुन्छ तर उ हुर्कदै जाने क्रममा परिवार, समाज, राज्यका विविध सकारात्मक तथा नकारात्मक गतिविधिहरुले उसलाई कठोर र मानवीय विकार तथा क्लेशले भरिएको बनाउदै लान्छन् र उ आफूले नचाहेर पनि आफ्नो सामान्य जीवननिर्वाह तथा आफ्नो बचाउकालागि अनेक प्रकारका अस्वाभाविक व्यवहार तथा आचारणहरु गर्न बाध्य हुदै जान्छ वाहिरी प्रभावका कारण र विस्तारै यस्ता अस्वाभाविक गतिविधिहरु उसका बानी र दैनिकी बन्दै जान्छन् र आन्तरिक रुपमा उसले आफूलाई त्यस्तै ठान्न थाल्छ र संधै त्यस्तै बनेर आफू र अरुकालागि समस्या तथा चुनौती बनिरहन्छ । विगतदेखि वर्तमान समयसम्मका स्त्रीहरु ठिक यस्तै अवस्थाबाट आफ्नो जीवननिर्वाह तथा बचाउ गर्दै आइरहेका छन् । इतिहास साक्षी छ, विगत लामो समयदेखि पितृसत्तात्मक समाजले स्त्रीहरुलाई उनीहरुको प्राकृतिक तथा नैसर्गीक अधिकारबाट बन्चित गराएकोले उनीहरु आफ्नो नैसर्गीक हक–अधिकार प्राप्त गर्नकालागि अनेक किसिमले सक्दो संघर्ष गर्दै आइरहेका छन् । स्त्रीहरुले आफ्नो नैसर्गीक हक–अधिकारका लागि गरेका संघर्षका विभिन्न प्रक्रिया तथा गतिविधिहरुलाई पितृसत्तात्मक समाजले अराजकता, मनपरितन्त्र र अस्वाभाविक विषय मान्दै आइरहेको छ र उसले आजका स्त्रीहरुलाइ उनीहरुको नैसर्गीक(प्रकृति प्रदत्त) हक–अधिकार फिर्ता गर्नुको साटो उल्टै स्त्रीहरुलाई पुरुष, समाज तथा राज्य विरुद्ध प्रतिवादी, प्रतिस्पर्धी तथा लडाकु जस्ता नकारात्मक उपमाहरुमा अथ्र्याउदै उनीहरुलाई दबाउदै आइरहेको छ । तर अव पुग्यो, संधै कति संघर्ष मात्र गर्ने र आफ्नो मानव जीवनको अमूल्य समय अनुत्पादक काममा खेर फाल्ने तसर्थ अव स्त्री र पुरुष सबैले शान्तिपूर्ण ढंगले भगवान श्रीमहावीरको “अहिंसा अपनाउ, आफू बाँच र अरुलाई पनि बाँच्न देउ” र भगवान बुद्धको “प्रेम, करुणा देउ र प्रेम, करुणानै लेउ” भन्ने आध्यात्मिक दिव्य सन्देशलाई आत्मसाथ गर्दै अहिंसा, निरअहंकार, सहयोग तथा सदभावको सात्विक मार्ग अपनाउँ र स्त्रीहरुलाई पुरुष, समाज र राज्यका प्रतिवादी, प्रतिस्पर्धी तथा लडाकु जस्ता नकारात्मक उपमाहरुबाट बदलेर उनीहरुलाई अव्बल, सबल, सक्षम, प्रतिभावान, सशक्त, शान्त, सजग, योग्य जस्ता सकारात्मक उपमाहरुमा स्थिापित गर्न सबैतिर आध्यात्मिक दृष्टिकोण राखेर विभिन्न तह तथा स्तरहरुबाट स्त्रीहरुको वास्तविक सबलिकरणका विभिन्न प्रक्रिया तथा उपायहरु अपनाएर ती सबैलाई व्यवहारिक रुपमा अभ्यासमा उतारौं र समग्र समाज र प्रकृतिलाई नै उन्नत, प्रगतिशील र विकसित बनाऔं । यसकालागि पहिलो चरणमा विभिन्न तह तथा स्तरहरुबाट स्त्री सबलिकरणको प्रक्रिया प्रारम्भ गर्नु अत्यावश्यक हुन्छ ।


विभिन्न तह तथा स्तरहरु

अध्यात्म विज्ञान हरेक मनुष्यलाई सहज, सरल, सफल तथा उत्कृष्ट जीवन जीउन सिकाउने महान कलाको (दि आर्ट अफ लिभिगं) विज्ञान हो तसर्थ अध्यात्म हरेक स्त्रीको जीवनको अत्यन्तै आवश्यक र महत्वपूर्ण हिस्सा हो, स्त्रीको सबलिकरणका प्रक्रियाहरुमा अध्यात्म विज्ञान एउटा दृढ आधार बन्नसक्छ र अनिवार्य रुपमा बनाइनु पर्दछ । मानव र मानव समाज निरन्तर समय सान्दर्भिक विकास तथा परिवर्तनका प्रक्रियाबाट अगाडि बढिरहेकोछ र विकास तथा परिवर्तनका क्रममा यसले विभिन्न कालखण्ठहरुमा स्त्रीहरुको सामुन्नेमा विविध अवसरहरुका साथसाथ अनेक प्रकारका समस्या तथा चुनौतीहरु पनि खडा गरिदिएको छ । समयक्रमसंग आएका विकासका परिवर्तनहरुले दिएका अवसरहरुको उच्चतम सदुपयोग गरेर त्यससंगै आएका समस्या तथा चुनौतीहरुको सहि ढंगले व्यवस्थापन गर्दै जानु समग्र विकास तथा परिवर्तनका प्रक्रियाहरुको महत्वपूर्ण पाटो हो । जो कोही मानिस तव मात्र अव्बल, सबल, सक्षम तथा सशक्त बन्नसक्छ जव उसमा प्रतिभा, क्षमता, दक्षता, सिर्जनशीलता तथा सकारात्मकताका गुणहरुको विकास भएको हुन्छ । व्यक्तिमा यी गुणहरुको विकास गर्न सहि समयमा सहि निर्णय लिनु अत्यावश्यक हुन्छ र हरेक व्यक्तिमा यी गुणहरुको विकास गर्ने सुवर्ण तथा उर्वर समय १५ वर्षदेखि ४० वर्षसम्मको उमेरलाई मानिन्छ । स्त्री र पुरुषको उमेरको यो सुवर्ण समयलाई तटस्थ भएर सुक्ष्मसंग स्त्री र पुरुषले प्राप्त गर्ने अवसर, स्वतन्त्रता तथा निर्भरता, समय तथा फुर्सद, पारिवारीक साथ, सहयोग तथा समर्थन, सुविधा, हेरविचार, खानपान, साहस, प्रेरणा आदिको विश्लेषण गरेर हेर्ने हो भने सबैलाई सूर्यको प्रकाश जस्तै छर्लंग हुन्छ १५ देखि ४० वर्षको उमेरमा स्त्रीहरुले बहन गर्नुपर्ने उत्तरदायित्वहरु; उनीहरुले बेहार्नुपर्ने समस्या तथा चुनौतीहरु; उनीहरुमा प्रतिभा, क्षमता, दक्षता, सिर्जनशीलता, सकारात्मकताका गुणहरुको विकास हुन नसक्नुका कारणहरु; र पुरुषको तुलनामा स्त्रीहरु पछाडि पर्नु तथा पुरुषहरु माथि परनिर्भर हुनुका कारणहरु । स्त्रीहरुको जीवनमा आइपर्ने यस्ता विभिन्न तहगत समस्या तथा चुनौतीहरुलाई तहगत रुपमै पहिचान गरि सहि ढंगले समाधन तथा व्यवस्थान गर्दै स्त्री सबलिकरणको कार्यलाई प्रभावकारी, परिणाममुखी तथा उपलव्धिमूलक बनाउनु आवश्क हुन्छ । स्त्रीहरुको जीवनमा आइपरेका तहगत समस्या तथा चुनौतीहरु निम्न रहेका छन्–(१)व्यक्तिगत तह, (२)पारिवारीक तह, (३)सांस्कृतिक तह, (४)सामाजिक तह, (५)धार्मिक तह, (६)आध्यात्मिक तह, (७)संस्थागत तह, (८)राज्य तह, (९)विश्व तह, (१०)प्राकृतिक तह ।


(१)व्यक्तिगत तह

वाहिरी तहका साथसाथ स्त्रीहरुमा आफू स्वयं तथा व्यक्तिगत तहबाट पनि विविध प्रकारका समस्या तथा चुनौती आइपर्दछन् अथवा सिधा भन्ने हो भने वाहिरी प्रभावहरुको कारणलेनै उनीहरुमा समस्या तथा चुनौतीका व्यक्तिगत कारणहरु उत्पन्न हुन्छन् र उनीहरु आफ्नो व्यक्तित्व तथा नेतृत्व विकास गर्न असक्षम हुन्छन् । धर्म, संस्कृति, समाज, राज्य, विश्व समाज, प्रकृतिले परिवार र समाजप्रति स्त्रीहरुले अनिवार्य रुपमा खेल्नुपर्ने भूमिकाका रुपमा निर्धारण गरिएका नीति–नियम तथा मूल्य–मान्यताहरुलाई प्राथमिकताका आधारमा अनुशरण तथा पालन गर्ने क्रममा स्त्रीहरुसंग आफ्नो व्यक्तित्व तथा नेतृत्व विकासका लागि अत्यावश्यक पर्ने समय, इच्छाशक्ति, उत्साह, जोस, जाँगर, प्रेरणा, मन, भाव, आत्मबल तथा आत्मविश्वास नै बाँकी रहदैन । खासगरि स्त्रीहरुको उर्बर उमेरमा घरको कामकाज व्यवस्थापन; परिवारीक उत्तरदायित्व व्यवस्थापन; नातागोता तथा सम्बन्ध व्यवस्थापन; सामाजिक तथा सामुदयिक भूमिका व्यवस्थापन; कार्यालयको जिम्मेदारी व्यवस्थापन गर्दागर्दै उनीहरुलाई आफ्नो व्यक्तित्व तथा नेतृत्व विकासका लागि आवश्यक पर्ने न्युनम समय तथा फुर्सद नै बाकी रहदैन र उनीहरुले आफूमा प्रतिभा, क्षमता, दक्षता, सिर्जनशीलता तथा सकारात्मकताका गुणहरु विकास गर्न सक्दैनन्, फलस्वरुप जीवनमा केही उत्पादनमूलक काम गर्न असक्षम हुन्छन् र परिवार तथा पुरुषमाथि परनिर्भर हुन्छन् । स्त्री सबलिकरणका लागि क्षमता तथा व्यक्तित्व विकास गर्नुको अर्को कुनै विकल्प छैन तसर्थ स्त्रीहरु आफू स्वयं जागरुक भएर वर्तमानमा तथा भविश्यमा आफूमाथि आइपर्न सक्ने यस्ता समस्या, चुनौती तथा बाध्यताहरुको सहि आंकलन गरेर, सबैको कल्याण हुने आध्यात्मिक भावले भरिएर सक्दो परिवारीक सम्वन्ध, अमनचयन तथा शान्ति भंग नहुनेगरि होसियार, सम्यमित र मितव्ययि भएर आफू, परिवार, समाज, राज्य सबैको हित हुनेगरि आफ्नो अनुकुल परिस्थिति बनाउने तथा मिलाउने प्रयास गर्नुपर्दछ र यसमा परिवार, समाज, राज्यले पनि स्त्रीलाई साथ, सहयोग दिनु पर्दछ ताकि स्त्रीहरुले पनि आफूमा प्रतिभा, क्षमता, दक्षता, सिर्जनशीलता तथा सकारात्मकताका गुणहरु विकास गरेर आफ्नो व्यक्तित्व र नेतृत्व निर्माण गर्दै जीवनमा अगाडि बढ्न सकुन् र संधै आफ्नो नैसर्गीक अधिकारकारको संघर्षबाट सदाकालागि मुक्ति पाउन् ।


(२)पारिवारीक तह

हाम्रो सनातन धर्म, संस्कृति र समाजका चल्दै आइरहेका संस्कार तथा परम्पराहरुमा स्त्रीहरुको पहिलो प्राथमिकता आफू तथा आफ्नो क्षमता, प्रतिभा, व्यक्तित्व, नेतृत्व विकास नभएर परिवारको हेरविचार तथा घरबार व्यवस्थापन हुनु पर्दछ भन्ने आम मान्यता रहदै आइरहेको छ । हरेक परिवारले स्त्रीबाट यही अपेक्षा राख्ने गर्दछ कि घरका आफ्ना आमा, दिदी, बहिनी, छोरी, बुहारीहरुले राम्ररी घरव्यवहार सम्हालुन; परिवारको हेरचाह गरुन; वंश बढाउन; घरका बालबालिका तथा वृद्ध–वृद्धाहरुको आवश्यकताहरुको ख्याल राखुन; छरछिमेक, अर्मपर्म आदि सामाजिक तथा सामुदायिक भूमिका निर्वाह गरुन अर्थात समग्रमा घरव्यवहारसंग सम्वन्धित उत्तरदायित्हरु सबै उठाउन् र पुरुषहरुलाई घर वाहिरकोको काम गर्न फुर्सद, साथ, समर्थन र सहयोग प्रदान गरुन । यस सन्दर्भमा अधिकांश स्त्रीहरु स्वयं पनि यही मान्यता राख्दछन् । परिवार र स्त्रीले यस्तो मान्यता राख्नु उति बेठिक होइन किनकी प्रकृतिले नै स्त्रीलाई जननी, प्रेम र करुणाकी प्रतिमूर्ति, सेवाभावले ओतप्रोत भएकी कोमल हृदयकी धनी बनाएको छ र प्रकृतिको नियम विपरित जानु भनेको विनास तथा दुःखलाई निम्त्याउनु हो । स्त्रीहरुको नैसर्गीक तथा प्राकृतिक उत्तरदायित्व स्त्रीसंगै रहोस र रहनुपर्छ, यस सन्दर्भमा स्वयं स्त्रीहरु पनि स्वीकार, उदार र सहयोगी भाव राख्दछन् तर वर्तमान समयमा स्त्रीहरुको विद्रोह तथा माग स्त्रीको नैसर्गीक तथा प्राकृतिक उत्तरदायित्वको आडमा मौलाएका सामाजिक अर्थात लैंगिक विभेदहरुलाई चाहिं जरैबाट अन्त्य गरौं भन्ने हो । यो सत्य हो, पुरुषहरु गर्भवती बन्न तथा बच्चा जन्माउन सक्दैनन्, बच्चालाई स्तनपान गराउन र शिशु बच्चाको हेरचाह गर्न सक्दैनन् तर यसबाहेकका अरु सबै काम सबैले गर्न सक्छन्, सबै पुरुषहरुले अनिवार्य रुपमा बुझ्नु पर्ने कुरा हो यो । स्त्रीको नैसर्गीक तथा प्राकृतिक उत्तरदायित्व बाहेकका परिवारका अरु सदस्यहरुले पनि गर्न सक्ने कामहरुमा परिवारका सबै सदस्यहरु अग्रसर भएर पारिवारीक तहबाट स्त्रीलाई आफ्नो जीवन विकास गर्ने साथ, समर्थन, सदभाव, सहयोग मिलोस । यस्तो पारिवारीक साथ, समर्थन, सदभाव, सहयोगबाट स्त्रीहरुले पनि पुरुष सरह आफ्नो जीवनमा केही उल्लेख्य उपलव्धि हासिल गर्न तथा उत्पादनमूलक हुनकालागि आवश्यक पर्ने विद्या, सिप, ज्ञान, प्रज्ञा, वुद्धि, विवेक, सम्वन्धका संजालहरु, धन आदि कमाउन सक्नेगरि उनीहरुलाई पर्याप्त समय, सहयोग, उत्साह, प्रेरणा, हिम्मत, आत्मविश्वास प्राप्त होस र उनीहरुलाई आफ्नो जीवन सार्थक बनाउने अवसर मिलोस र स्त्रीहरुको उर्बर उमेर आफ्नालागि उत्पादक नभइकन उनीहरुले सोच्दै नसोचेको अनावश्यक व्यस्ततामा यसै बितेर जाने अवस्था नआवोस् । उनीहरु पनि घर वाहिर निस्केर आवश्यक ज्ञान, सिप आर्जन गरि आफूमा प्रतिभा, क्षमता, दक्षता, सकारात्मकताका गुणहरु विकास गरेर आफ्नो व्यक्तित्व र नेतृत्व निर्माण गर्दै जीवनमा अगाडि बढ्न सकुन् र आत्मनिर्भर भएर संधै सुखी, खुशी, समृद्ध, सफल, शान्त र आनन्दित जीवनयापन गर्नसकुन् । यसप्रकार, स्त्री सबलिकरण गर्नकालागि स्त्री स्वयंको तहबाट पहिलो पहल र पारिवारीक तहबाट दोस्रो पहल हुनु अपरिहार्य छ तव मात्र स्त्रीहरु जीवनमा अगाडि बढ्न सक्नेछन् । यसरी स्त्रीहरुको वास्तविक सबलिकरणका लागि पारिवारीक रुपमा एकमत भएर आपसि समझदारी, साथ, सहयोग, सदभाव राखेर अगाडि बढ्ने भाव आध्यात्मिक नारीवाद हो ।


(३)सांस्कृतिक तह

स्त्रीहरुको सबलिकरणमा समस्या तथा चुनौतीहरु खडा गर्ने अर्को तह सांस्कृतिक संस्कार तथा परम्पराहरु र लैंगिकताका दृष्टिकोणले यीनका असमान तथा अत्यन्तै विभेदित अवैज्ञानिक मूल्य–मान्यता तथा चालचलनहरु हुन् । परिवारभित्र वर्तमानमा तथा भविश्यमा केही अशुभ घटना नघटोस्, राम्रै–राम्रो, शुभै–शुभको अवस्था बनिरहोस भनेर गरिने आस्थाका सांस्कृतिहरु संस्कार तथा परम्पराहरु– ब्रत, तीर्थ, पूजा, हवन, भाकल दान, पुण्य, परोपकार, सेवा आदि अधिकांश सनातन संस्कृतिसंग सम्वन्धित गतिविधिहरु स्त्रीहरुकै उत्तरदायित्व अन्तर्गत पारिदै आइएकाछन् । कलियुगमा परिवारको एक सदस्यले गरेका सबै धर्म, कर्म तथा दान, पुण्यका फलहरु पुरै परिवार, पित्री र आगामी पुस्ताहरुलाई समेत मिल्छ भन्ने विश्वास तथा मान्यता रहदै आएका कारण यो उत्तरदायित्व पनि आफ्नो प्राकृतिक उत्तरदायित्वका साथसाथ परिवारको हेरचाह र घरव्यवहार व्यवस्थापनको जिम्मेदारी समेत सम्हाल्दै आइरहेका स्त्रीहरुको भाग तथा जिम्मामा राखिदै आएको पाइन्छ जसले स्त्रीहरुमा अनावश्यक रुपमा उत्तरदयित्वको कार्यभार बढाएको छ । यस्ता अनुत्पादक उत्तरदायित्वका कार्यभारहरु बहन गर्नु परिरहेको हुनाले पर्याप्त समय अभावका कारण स्त्रीहरु घरवाहिर निस्केर लेखपढ, सिप, तालिम लिएर आफ्नो व्यक्तित्व तथा नेतृत्व विकासका लागि अत्यावश्यक आफूमा हुनैपर्ने गुण तथा पूर्वाधारहरु– प्रतिभा, क्षमता, दक्षता, सिर्जनशीलता तथा सकारात्मक गुणहरुको विकास गर्न सकिरहेका छैनन्, जीवनभर अनुत्पादक भएका छन् र आफ्ना साना–साना आवश्यकता र खुशीकालागि परिवारमा आश्रीत हुन बाध्य गराइएका छन् । यस्ता स्त्रीहरुलाई परिवार, समाज र राज्यले नै घुमाउरो भाषामा अनुत्पादक, बोझ तथा दायित्वको रुपमा परिभाषित गर्दै आइरहेको छ उनीहरुले घरपरिवारका लागि प्रदान गरेका अनुत्पाक श्रम(अनपेड लेवर)का रुपमा गर्दै आइरहेको योगदानको कुनै विश्लेषण तथा कदर नै नगरी । सांस्कृतिक तहबाट स्त्रीहरुको सबलिकरणका लागि आवश्यक पर्ने उनीहरुको आन्तरिक क्षमता विकास गर्न बाधा पुर्याइरहेका यस्ता समस्या तथा चुनौतीहरुको सहि व्यवस्थापन र समाधान गर्न सांस्कृतिक तहबाटै व्यक्ति, परिवार, समाज र राज्यको सहयोगमा विशेष पहल गरिनु पर्दछ । यस्तो पहललाई सार्थक बनाउनका लागि स्त्री, परिवार र समाजका सबै सदस्यहरुलाई अध्यात्म विज्ञानको वैज्ञानिकतामा आधारित भएर सनातन संस्कृति विज्ञानका विज्ञान सम्मत र तर्क सम्मत तथ्यहरु राम्ररी बुझाएर र वास्तविकतामा आधारित रहेर स्वार्थवस लादिएका अन्धविश्वास र देखासेखीका आडमा मौलाएका कुरीति तथा कुसंस्कारहरुलाई समय सान्दर्भिक हुनेगरि सुधार तथा परिमार्जन गरेर अगाडि बढ्नु पर्दछ ताकि स्त्रीहरुमा यस्ता अवैज्ञानिक तथा अन्धविश्वासमा आडमा मौलाएका कुरीति तथा कुसंस्कारहरुको उत्तरदायित्वको अनावश्यक कार्यबोझ कम होस र उनीहरु आफ्नो व्यक्तित्व र नेतृत्वको विकास गरेर पुरुष सरह जीवनमा सहजताका साथ अगाडि बढ्न सकुन् र आत्मनिर्भर भएर संधै सुखी, खुशी, समृद्ध, सफल, शान्त र आनन्दित जीवनयापन गर्न सकुन् ।


(४)सामाजिक तह

सबै सम्प्रदाय, जातजाति, संस्कृति, भाषा, पहिरन, खानपान भएका मानिसहरुको विविधतायुक्त संयुक्त स्वरुप समाज हो । केही सम्प्रदाय, जातजाति, संस्कृतिका स्त्रीहरु औषत भन्दा सबल रहेकाछन्, केहीका औषत रुपमा सबल रहेकाछन् भने केहीका औषत भन्दा निकै तल दुर्बल तथा कमजोर रहेकाछन् । प्रकृतिको नियम अनुसार स्त्री कमजोर जात तथा वर्ग हुदैहोइन, सबैभन्दा बलवान सृष्टिकर्ता स्वयं आदिशक्ति जगदम्बा शक्तिस्वरुपा हुन् तर स्त्रीमाथि समाजका बनाबटी, असमान, विभेदित एकपक्षिय तथा पुरुषपक्षिय मूल्य–मान्यताका अनावश्यक बोझहरु लादेर पुरुषसत्ताले आफूखुशी आफूलाई उत्कृष्टताको स्वघोषणा र स्त्रीहरुलाई दुर्बल, कमजोर र अवला घोषणा गरिदियो । तर प्रकृतिको नियम अनुसार यहाँ केहीपनि स्थिर छैन, मानव र मानव समाज दुवै परिवर्तनशील छ, दिनप्रतिदिन आधूनिक र विकसित बन्दै गैरहेको छ । आधूनिकताले अवसर र चुनौती दुवै ल्याएको आजको जटिल सामाजिक परिस्थितिमा आफूलाई समाज अनुरुप तथा समय सान्दर्भिक बनाउने उद्देश्यले स्त्रीहरु पनि पुरुषसंग एकसाथ भएर परम्परातग मूल्य–मान्यतामा आधारित आफ्ना प्राकृतिक र पारिवारीक उत्तरदायित्व संगसंगै आधूनिक मूल्य–मान्यताहरुलाई पनि आत्मसाथ गरिरहेका छन् । तर यो अवस्थाले स्त्रीहरुको व्यस्तता झन बढाएको छ र कतिपय अवस्थामा त यस्तो व्यस्ताका कारण स्त्रीहरुको जीवन अस्तव्यस्त र तनावग्रस्त भएको पनि देखिदै आइएको छ किनकी एकातिर पितृसत्तात्मक समाजले स्त्री मात्रकालागि निर्माण गरेका हरहालमा स्त्रीहरुले मात्र पालन गर्नुपर्ने चालचलन, रीतिरिवाज, संस्कार, परम्पराका मूल्य–मान्यताहरुको कार्यबोझका कारण अति व्यस्त भएका स्त्रीहरु अर्कोतिर आधूनिक सोच अनुसारको स्त्री सशक्तिकरणमा आधारित जीवनशैली अंगालेका कारण दोहोरो, तेहोरो सामाजिक बोझको मारमा पर्दै अति व्यस्तपछि अस्तव्यस्त हुदै आइरहेका छन् । आफूले निर्वाह गदैआइरहेका प्राकृतिक उत्तरदायित्व, घरव्यवहार व्यवस्थापन, नातागोता तथा सम्बन्ध व्यवस्थापन, सामाजिक तथा सामुदायिक भूमिका व्यवस्थापनका साथसाथ आजको आधूनिक जीवनशैलीमा सुहाउने बन्न सशक्त स्त्री बन्ने तथा बनाइने होड तथा प्रतिस्पर्धामा स्त्रीहरुमा परम्परागत रुपमा गर्दै आइरहेका घरव्यवहार व्यवस्थापन भन्दा वाहिर पर्ने कार्यहरुको समेत कार्यभार बढेकोले आफ्नो धान्नसक्ने क्षमता भन्दा बढि दोहोरो, तेहोरो कार्यभार सम्हाल्न मुस्किल भएले स्त्रीहरुको जीवन अस्तव्यस्त र तनावग्रस्त हुदै गैरहेको सजिलै अनुमान गर्न सकिन्छ । 


त्यसमाथि परिवर्तनशील समाजका मूल्य–मान्यताहरुमा स्थापित भएर शसक्त स्त्री बनेर आधूनिक समाज अनुरुप देखिने क्रममा उच्च शिक्षाको अध्ययन, घरपरिवारको पेशा व्यवसाय व्यवस्थापन, कार्यालयको काम व्यवस्थापन, घरपरिवारको आर्थिक व्यवस्थापन आदि घरवाहिरका जिम्मेदारीहरुमा समेत स्त्रीहरुको समलग्नता बढिरहेका कारण आजका स्त्रीहरुको काँधमा थप उत्तरदायित्व आएको छ । यो अवस्थाले उनीहरुको जीवनमा प्रगति पनि ल्याएको छ, उनीहरुको व्यक्तित्व, नेतृत्व विकासमा उल्लेख्य प्रगति भएको छ तर जानेर, नजानेर उनीहरुले उठाईरहेका यस्ता दोहोरो, तेहोरो उत्तरदायित्व तथा जिम्मेदारीहरुका भारले उनीहरु झनझन थिचिदै गैरहेका छन् । समाजको बद्लिदो वास्तविक अवस्थालाई ध्यानमा राखेर स्त्री सबलिकरणमा समाजको तहबाट सिर्जित यस्ता दोहोरो, तेहोरो कार्यबोझले सिर्जना गरेका समस्या तथा चुनौतीहरुलाई समाजकै तहबाट सहि ढंगले व्यवस्थापन तथा समाधान गर्ने प्रयास गर्नुपर्दछ ताकि स्त्रीहरुलाई प्राकृतिक, परम्परागत र आधूनिक समाजले सिर्जित गरेका यस्ता दोहोरो, तेहोरो कार्यबोझहरुबाट मुक्ति मिलोस र उनीहरु आफ्नो व्यक्तित्व र नेतृत्वको विकास गरेर पुरुष सरह जीवनमा सहजताका साथ अगाडि बढ्न सकुन् र आत्मनिर्भर र सबल भएर पुरुष बराबर हैसियतमा हातेमालो गर्दै संधै सुखी, खुशी, समृद्ध, सफल, शान्त र आनन्दित जीवनयापन गर्न सकुन् ।



छिट्टै, बाँकी 

स्त्री सबलिकरणका तह र पक्रियाहरु

(५)धार्मिक तह

(६)आध्यात्मिक तह, 

(७)संस्थागत तह, 

(८)राज्य तह, 

(९)विश्व तह, 

(१०)प्राकृतिक तह


++++++++++++++++++++++++++
*ग्रामीण विकासमा स्नाकोत्तर(Master's Degree), महिला विकासमा स्नाकोत्तर, महिला सशक्तिकरणमा विद्यावारिधी(PhD) । लेखक, अध्यात्म साधक तथा अध्यात्म वाचक, योग-ध्यान प्रशिक्षक ।

No comments:

Post a Comment